शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५४१ - अंश

भाग: १२ साल: २०२७ महिना: बैशाख अंक:

निर्णय नं. ५४१        ने.का.प. २०२७

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२६ सालको दे.फु.नं. १०६

निवेदक : ल.पु.जि.बागमती पारी बाकपोट बस्ने मे.क.बल्लभ शमशेर ज.ब.रा.समेत

विरुद्ध

विपक्षी : ल.पु.ई.पुल्चोक आनन्द निकेतन घर भई हाल भारत बंगलोर बस्ने ले.जनरल आनन्द शमशेर ज.ब.रा.समेत

मुद्दा : अंश

(१) अंशबण्डाका १० नं.छोरालाई मानु छुट्याएको देखिएमाखाने प्रबन्ध समेत मिलाउने हुँदा मानाचामलमा माग दावी गर्ने छैन भनी छोराको कागज गराई इज्जत आमद अनुसार अरु परिबन्दबाट खान लाउन पुर्‍याएको नदेखिएमाछोरा माथिको स्नेह पुरा रहेछ भन्ने नदेखिएमाबाबुले छोरालाई अंश दिनपर्ने ।

          यो मुद्दामा अंशबण्डाका १० नं. ले छोरालाई अंश दिन कर नलाग्ने भन्नेसमेत प्रतिवादी गरे पनि प्रतिवादीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तीपत्रको व्यहोराबाट र आफ्नो मुमाको बकसको व्यहोरा परेको बिन्तीपत्रमा भएका ख.नि.तोकको व्यहोराबाट माईला र कान्छाछोरालाई मानुछुट्याएको देखिएकोले र आनन्दनिकेतन बिक्री भएपछि ०१५ साल चैत्रमा खाने परिबन्द समेत मिलाउने हुँदा माना चामलमा माग दावी गर्ने छैनौं भनी छोराहरुको कागज गराएको भए पनि अरु परिबन्दबाट इज्जत आमद अनुसार खान लाउन पुर्‍याएको नदेखिएको र आफू एक्लो छोरा भई आफूमा आउने आफ्ना मुमाको सम्पत्ति आफूले एकलौटी बकस खान निमित्त मानु छुट्याई पाउँ भन्ने छोराहरुको मञ्जुरीको लिखतै नभई वादी मे.क.बल्लभ शम्सेर समेत मानु छुट्टिएको छोराहरुले नपाउने परिबन्द पारी खड्गनिसाना तोकबाट मुमाको सम्पत्ती एकलौटी पाउने भएकोबाट छोराहरु माथिको स्नेह पुरारहेछ भन्ने नदेखिने हुनालेसमेत डिभिजन बेञ्चमा रायबाझी नभएको प्रतिवादीले वादीलाई अंश दिनुपर्ने कुरामा यसतहबाट केही बोली रहनुपरेन ।

 (प्रकरण नं. ११)

(२) परिआएको खर्चगर्ने र सम्पत्ती संरक्षण गर्नेसमेत संयुक्तपरिवारको मुख्यमालिकको अभिभारा को कर्तव्य भएकोले निज घरको मालिकले खर्च गरेको कारण आफ्नो एक्लौटी नहुने ।

          संयुक्त परिवारको मुख्य मालिकले परी आएको खर्च गर्नु र आफ्नो सम्पत्तीको संरक्षण गर्न समेत अभिभाराको कर्तव्य भएकैले र त्यस्तो घरका मालिकले खर्च गरेको कारणले आफ्नो एक्लौटी हुन्छ भन्ने जिकिर मुनासिव देखिंदैन ।

(प्रकरण नं. १२)

वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट  : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

उल्लेखित मुद्दा :

फैसला

          न्यायाधीश श्री हेरम्वराज 

          १.   अन्याय मध्येका जनरल आनन्द शम्सेर हामीहरुको पिता हुनुहुन्छ, हामीहरुको मुमा लिलेन्द्र राज्य लक्ष्मीबाट दाजु युधिष्ठीर शम्सेर १, म बल्लभ शम्सेर १, म फाल्गुण शम्सेर १, भाइ नहकुल शम्सेर १, सहदेव शम्सेर १ समेत छोराहरु जन्मेपछि बुबा आनन्द शम्सेरले हामी छोराहरुलाई हेलाहाको दृष्टिले देख्न थाल्नु भयो । बुबाका साथमा मिली बस्न नसकी अंशबण्डा नगरी सम्पूर्ण पैत्रिक सम्पत्ती बुबाकै नेतृत्वमा सगोलमा राखी ०३ सालदेखि म बल्लभ शम्सेर ०१४ साल कात्र्तिकदेखि म फाल्गुण शम्सेर मानो सम्म छुट्याई बेगल बसी आएका छौं र पैतृक सम्पत्तीमा अंश भाग बण्डा लाग्ने ७ अंशियार छौं, हामीहरु समेतको मञ्जुरीबाट हामीहरुको समेत हक लाग्ने पैतृक सम्पत्ती आनन्द निकेतन भवन र क्याम्प परखाल भित्रको जग्गा बंगला लगापात मात्र श्री ५ को सरकार अन्तरगत आर.टि.ओ. नामक सरकारी संस्थालाई रु.१०,५७,४०६।२५ मा फार्छे राजीनामा गरी बिक्रीबाट आएको रुपैयाँ र अरु सम्पुर्ण सम्पत्ती आफैंले कब्जामा राखी अन्याय मध्येका डि.रामप्रसादलाई भएको कागजपत्र जग्गाको लगत स्याहा श्रेस्ता समेत जिम्मा दिई मजकुर बुबा स्वदेश छाडी बिदेश भारतमा गई बंगोलरमा रहनु भएको छ । यता रामप्रसादलाई हाम्रो जग्गा जमिनको के कस्तो कागजात तपाईको जिम्मा छ । बिर्ता उन्मूलन ऐन, २०१६ अनुसार बिर्ता जग्गा रैकरमा परिणत गर्ने म्याद पनि यहि चैत्र मसान्त मात्र भएकाले बिर्ता जग्गा रैकरमा परिणत गराउनलाई म्याद जान लाग्यो, अर्कोतिर जग्गा जमिनबाट उठ्ती भई आउने जग्गाको आयस्ता समेत बुबा बिदेशमा हुनु भएकोले हामी अंशियारहरुको जिम्मा दिनुहोस् भनी अघिदेखि हामीहरुको तहबिलको हाकिम भई काम काज गर्ने रामप्रसादलाई भन्दा दिनु भन्ने जनरल साहेवको मलाई अडर छैन, कागजपत्र पनि दिन देखाउन सक्तिन भनी यही चैत्र २० गते जबाफ दिनु भयो, अंशबण्डाको १० नं.मा उल्लेखित बाबुको जिउ छंदै अंश दिन छोराहरुले बाबुलाई बाध्य गराउने छैन भन्ने प्रतिबन्धात्मक वाक्यांश लागु हुँदैन, किनकि सोही ऐनको दोश्रो वाक्यांशमा म अहिले छुट्टिन्न भन्ने छोरालाई बाबुले कर लगाई छुट्याउन पनि हुँदेन भन्ने उल्लेख भएको छ र हामीलाई हाम्रा बुबाबाट प्रचलित मुलुकी ऐन लागू हुनु भन्दा १७ बर्ष अघि २००३ सालदेखि नै मानो छुट्याई राख्नु भएबाट छुट्याई दिन नमिल्ने भन्ने कुरा यस बिषयमा प्रश्नै उठ्न सक्तैन । रामप्रसाद जिम्मा रहेको हाम्रो जग्गा जमिनको लगत स्याहा श्रेस्ता खिची सो बमोजिम हाम्रा भाग बण्डामा पर्न आउने फाँटवारी हिसाब समेत दिलाई बिर्ता उन्मुलन ऐन अन्तरगत बिर्ता जग्गा रैकरमा परिणत गर्नालाई कागजपत्र हामीसंग नभएकोले म्याद नजाने प्रबन्ध निमित्त सम्बन्धित अङ्गलाई लेखी पठाउन परे लेखीपठाई रैकरमा परिणत नगरी म्याद गुजार्ने नियत गरी नोक्सान गरी दिएमा सजाय गरिपाउँ भन्नेसमेत ०२०।१२।८।६ मा ल.पु.जि.अ.मा परेको फिरादपत्र ।

          २.  वादीको भाग कुनै कानूनमा आधारित नभएको प्रष्ट छ, म मजकुर ज.आनन्द शम्सेर ज.ब.रा.को नोकर भएको हुँदा मेरो दायित्व र उत्तरदायी पूर्णत मकजुर ज.आनन्द शम्सेर प्रति मात्र छ । उहाँको जिवनकालमा त्यसमाथि २००३ सालदेखि छुट्टी भिन्न भएका छोराहरु प्रति म कतै उत्तरदायी हुन सक्तिन । वादीहरु मकहाँ आएको र सो किसिमको जबाफ दिएको कुरा होईन । वादीहरुले मसंग र मैले वादीसंग सम्पर्क राख्नु पर्ने कुनै आवश्यक नभएको र बखत बखतमा बल्लभ शम्सेरको विरुद्ध ललितपुर मेजिष्ट्रेटज्यूमा उजुरी गरेको हुँदा उजुरी गर्‍यो भन्ने रिस फेर्न फिराद गरेको हुँदा फिरादपत्र खारेज हुनुपर्ने भन्नेसमेत डि.रामप्रसाद उपाध्यायको ०२१।६।१२।१ को प्रतिउत्तरपत्र ।

          ३.  मबाट अंश पाउने भन्ने र मेरो निर्देशनमा काम गर्ने रामप्रसाद बेसरोकार व्यक्तिलाई पक्ष बनाई दुई बिषयको दावीमा अ.बं.७२ नं. अनुसार फिराद लाग्न नसक्ने खारेज गरिपाउँ । अंशबण्डाको १० नं. ले बुबाले अंशबण्डा छुट्याई दिएमा बाहेक बाबुलाई कर लगाई अंश पाउने अधिकार वादीहरुको नभएको र वादीलाई अंश दिनुपर्ने पनि केही नभएको हुँदा वादीको गैरकानूनी बेमनासिव दावीबाट फुर्सत पाउँ, मसंग पुर्खाका पालाको आर्जनको सम्पत्ती बाहेक केही मेरो आफ्नो पौरखबाट आर्जेका सम्पत्ती छ सो सम्पत्ती मध्ये ०३।९।१७।४ को खड्गनिशाना बमोजिममा कान्तीकुमारी देवी राणाबाट मेरो हक जति गैह्र मलाई मेरो एउटै छोरा भई अहिले म छंदै त यस्तो गर्दछन् तिनीहरुले पछि मेरो छोरालाई के गर्न बाँकी राख्लान् । तसर्थ मेरो जेथा समेत गैह्र यसै बिन्तीपत्रबाट बकस लेखी दिया मेरो हक छोरा आनन्द शम्सेरलाई एकलौटि खाने गरी बक्स दिइसकेको हुनाले त्यसकलममा पछि म जिवित नरहेकोले बण्डा लाग्छ भन्नेसमेत कुनै तहबाट दावी खिचोला गरी छोरालाई दुःख दिन नपाउने गरिपाउँ भनी निवेदन गर्दा यसमा लेखिए बमोजिम गरी दिनलाई ऐनले पनि दिन लिन पाउने हुनाले सदर गरी खड्गनिसाना बमोजिम आधी हक मेरो एकलौटी भई वादीहरुले अंश हकमा दावी गर्न नपाउने दोश्रो दिदीज्यू सानु महारानीका १०५० को जग्गा रोपनी ७७।।१ मा पनि एकलौटि हकको भई त्यस बिषयमा मुद्दा परी सर्वोच्च अदालतबाट ०२३।११।२९।३ मा फैसला भई जिती मेरो नाउँमा एकलौटि हक गरी भोग गरी आएको छ, अंश दिनुपर्ने केही छैन । हाम्रा सगोल अंश लाग्ने पुलचोकको आनन्द निकेतन बिक्री गर्दा सो बिक्रीबाट आएको रुपैयाँ छोरा समेतका अंशियारहरुलाई रुपैया भाग लगाई दिइ रुपैयाँ पाएको लिखत समेत गरी दिएका छन् । निजहरुले पाउने अंश भन्दा पनि बढी पाइसकेकोले समेत अंश दिनुपर्ने होईन । आफूले प्राप्त गरेको कुराको उल्लेखसम्म नगरी गरेको दावीबाट वादी झुठ्ठा कुरामा चलेको रहेछ भन्ने देखिन आएकोछ भन्नेसमेत ज.आनन्द शम्सेर ज.ब.रा.को ०२४।८।२८।५ को प्रतिउत्तरपत्र ।

          ४.  वादीले अंश पाएको भन्ने कुनै प्रमाण दाखिल हुन नसकेकोले वादी बल्लभ शम्सेर ज.ब.रा. २००३ सालमा र फाल्गुण शम्सेर ज.ब.रा. २०१४ सालमा मानु छुट्टिएको कायम गरी प्रतिवादी र वादी समेतबाट तायदातीको फाँटवारी लिई आउनु भनी ७ दिनको तारेख तोकी तायदाती दाखिल भएपछि पेशगर्नु भन्ने ०२४।९।२५।३को ल. जिल्ला अदालतको आदेश ।

          ५.  मानु छुट्टिएको महिना नखुलेकोमा चैत्र मसान्त कायम गरी तायदाती लिनु भन्ने ल.पु.जि.अ.को ०२५।२।२०।२ को आदेश ।

          ६.  तायदाती फाँटवारी लिई आउनु भनी प्रतिवादी ज.आनन्द शम्सेर ज.ब.रा. का नाउँमा पक्राउ पुर्जि जारी भई गएकोमा फेला नपरेकोले पक्राउ पुर्जि फिर्ता दाखिल गरेको छु भन्नेसमेत ०२५।३।२६।३ को अर्दलीको प्रतिवेदन ।

          ७.  वादी बल्लभ शम्सेरबाट ०२५।४।७।२ मा तायदाती फाँटवारी पेश हुन आएको रहेछ।

          ८.  जिल्ला र अञ्चल अदालतमा दायर भएका मुद्दाहरुलाई सर्वोच्च अदातबाट नै हेरी दिनु भन्ने हुकुम बक्स पाउँ भन्ने ज.आनन्द शम्सेर ज.ब.रा.ले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको क. ४९६३ नं.को बिन्तीपत्रका श्री सर्वोच्च अदालत यसमा लेखिएको व्यहोरा साँचो भया निवेदकको अंश मुद्दा र त्यसबाट उठेका अरु मुद्दाहरु समेत जिल्ला वा अञ्चल जहाँ जहाँ परेका छन् त्यस सर्वोच्च अदालतबाट झिकाई बाँकी सबूद प्रमाण बुझी ऐनका म्यादैमा ऐनबमोजिम गरी किनारा गरी नतिजा जाहेर गर्नु भनी ताहां लेखी पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकम बक्सेका छ भनी मौसुफका बिशेष जाहेरी बिभागबाट ०२५।७।१३।३ मा लेखी आए बमोजिम यस अदालतमा प्रस्तुत मुद्दा सरी आएको रहेछ ।

          ९.  जग्गा जमिनको लगत स्याहा श्रेस्ता दिएनन् दिलाई पाउँ भन्नेसमेत प्रतिवादी मध्येका डि. रामप्रसादका उपर र अंशबण्डा छुट्याई पाउँ भनी प्रतिवादी मध्येका ज.आनन्द शम्सेर ज.व.रा.समेत २ जना उपर एउटै फिरादपत्रमा दावा लिएको देखियो, अ.बं.७२ नं. ले यस्तो दुई बिषयको वादी दावाबाट इन्साफ गर्न नमिल्ने हुनाले खारेज हुनु पर्छ भन्ने विपक्षी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरका हकमा अ.बं.७२ नं.को खिलाप हुँदा स.अ.बाट प्रतिपादित सिद्धान्त अनुसार फिराद जम्मै खारेज नगरी एक बिषयमा मात्र ईन्साफ गर्न मिल्ने हुनाले फिरादपत्रको दोश्रो प्रकरणमा दावा लिएको प्रतिवादी मध्येका रामप्रसादका उपर वादीहरुको दावीमा इन्साफ गरी रहन आवश्यक परेन । प्रतिवादी मध्येका ज.आनन्द शम्सेर ज.ब.रा.बाट वादीहरुले अंश पाउने नपाउने के हुन भन्नेतर्फ हेर्दा ०३।९।१७।४ का खड्गनिसानाले मुमा कान्तीराज्य लक्ष्मी देवीको आधी हक मेरो एकलौटी भई निज वादीहरुले अंशमा दावी गर्न नपाउने सगोल अंश हक लाग्ने पुलचोक आनन्द निवेकतन बिक्री गर्दा आएको रुपैयाँ छोरा समेतका अंशियारहरुलाई भाग लगाई दिइ रुपैयाँ पाएको लिखत समेत गरी दिएका छन् । पाउने अंश भन्दा पनि बढी पाइसकेकोले अंश दिनुपर्ने होईन भन्ने नै प्रतिवादी ज.आनन्द शम्सेर ज.ब.रा. को मुख्य प्रतिवादी जिकिर भएको, घर हुँदा सासुज्यू र जनरल साहेवसंगै नछुट्टि राज भएकोले वहाँहरुको भाग कट्टा गरी हामीहरुले नै रु.४०,०००। आफ्नो भागमा पर्ने लिएकोमा छोरा माईला, साईला, काईलाले पछि पुगेन भनी अंशमा कट्टा हुने गरी ३५,०००। पछि लिएछन् । मैले त्यो थाहै पाईन । अहिले जनरल साहेब पाल्नु भई हामीले पाउनु पर्ने जग्गाहरु छुट्याई बण्डा गरी दिन्छु भन्नु हुँदा छोराहरुले सायद सापटी लिएको रु.३५,०००। फर्काउनु पर्छ भनेर होकी नमिली झगडा गर्ने गरी हिंड्न थाले, बण्डा गर्न पाए झन्जट पनि छुट्ने ३ जना मानिसको १ कमिसन राखी हाम्रो बण्डा गरी घर बिक्री हुँदा भए बमोजिम गरी सबैको भाग छुट्याई दिनु भन्ने प्रमांगी पाउँ भनी प्रतिवादी ज.आनन्द शम्सेरको श्रीमतीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्र र बण्डा हुन नपाएको बारे मेरो जाहानले मलाई लेखेको पत्र यसैसाथ खामी चढाएको छु । सबै व्यहोरा पाउमा त्यसैबाट जाहेर हुने नै छ ताबेदारलाई पनि पत्रमा लेखिआएको कुरा सुचित लागेकोले पाउमा झिंजो बिन्ती चढाएको छु भनी प्रतिवादी ज.आनन्द शम्सेर ज.ब.रा. ले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको बिन्तीपत्रमा बण्डा गर्न पाए झन्झट पनि छुट्ने भन्नेसमेत आफ्नो श्रीमतीको बिन्तीपत्र लेखाईलाई उचित लागेको भनेबाट छोराहरुलाई अंश दिने मनसाय व्यक्त भइसकेको यस्तोमा हाल प्रतिवादी दिँदा मात्र अंश दिन पर्ने होईन भन्ने प्रतिवादीको भनाई युक्तिसंगत देखिएन । वादीहरुलाई प्रतिवादी ज.आनन्द शमशेरले अंशबण्डा छुट्याई दिनुपर्ने नै ठर्हछ । अब वादीहरुले प्रतिवादीबाट के कति अंशबण्डा पाउने हुन भन्नेतर्फ नै सर्बप्रथम वादी मध्येका बल्लभ शमशेर ज.ब.रा २००३ सालमा र वादी मध्येका फाल्गुण शमशेर ०१४ खालमा प्रतिवादीसंग मानो छुट्टिएको मिति कायम गरी ललितपुर जिल्ला अदालतले अंशबण्डा गर्न पर्ने तायदाती फाँटवारी ल्याउन भनी वादी प्रतिवादीलाई तारेख तोकिएकोमा प्रतिवादीतर्फबाट खारेज गुजारी तायदाती फाँटवारी पेश नगरेबाट अंशबण्डाका २२ नं. ऐनबमोजिम पक्राउ गर्न पठाउँदा प्रतिवादी फेला नपरेको भनी अर्दलीको प्रतिवेदन परी वादी मध्येका बल्लभ शमशेरबाट २०२५।४।७ गते तायदाती फाँटवारी पेश भएको देखियो, उक्त तायदातीलाई नै वादीको प्रतिवादीको अंशबण्डा गर्नुपर्ने फाँटवारी कागज मान्नु पर्ने हुनाले सो तायदातीमा देखिएको वादी बल्लभ शमशेरबाट पेश हुन आएको तायदातीमा सुना चाँदी समेतका सामानहरु मध्ये टिकाको छाप्रि तोला ५५० को नकुल शमशेरले लगी सकेकाले निजैसंग होला भनी प्रतिवादी आनन्द शमशेर ज.ब.रा को वा.बमबहादुरले दरखास्त दिएको देखिएबाट उक्त टिकाको छाप्रि चाँदी तोला ५५० रहे भएकोमा वादी प्रतिवादीको मुख मिलेकोले ०३।९।१७।४ का खड्गनिसानाले आधी प्रतिवादीको भाग कटाई आधी २७५ तोलाको तोला १ को रु.७ ले हुने रु.१९२५। को ७ भाग लगाउँदा जनही रु.२७५। का दरले २ भाग वादीहरुले पाउने, बाँकी सुना चाँदी समेतका गरगहना समेतको अंशबण्डा लगाई पाउँ भन्ने वादीहरुको दावी भएको उक्त सुना चाँदी जवाहरात समेतका गरगहना भएको सबूद प्रमाण नपुगेकोले हाल त्यसतर्फ बण्डा हुनु पर्छ भन्ने वादीहरुको दावा पुग्न सक्दैन, स्वर्गेवासी श्री ३ महाराजा विर शमशेर ज.ब.रा. बाट खूद मलाई नै बक्सेको पेवा रुपैयाँ तपसीलमा लेखिए बमोजिमको गहनाहरु र मेरै रुपैयाँबाट उसै बखत हाम्रो बण्डा हुनु अगाडि र पछाडि खरीद गरेको विर्ता जग्गाहरु र मेरो अंश भागमा आउने घर फर्निचर जग्गा जमिन जवाहरात नगद जिन्सी सुना, चाँदी कसम तमन लत्ता कपडा समेत गैर मेरा जहाँ जे रहेको सबै सम्पत्ति अहिले नै छोरा नानी आनन्द शमशेर ज.ब.रा ले एकलौटी खाने गरी बकस दिइसकेको हुनाले त्यस कलममा पछि छोरालाई दुःख दिन नपाउने गरिपाउँ भनी श्री ३ वीर जेठा रानी मुमा कान्तीकुमारी देवीले चढाएको बिन्तीपत्रमा यसमा लेखिए बमोजिम गरी दिनलाई ऐनले पनि दिन लिन पाउने हुनाले र आजैदेखि मानु समेत छुट्याई दिएकाले रजिष्ट्रेशन पास गराई रहनु नपर्ने गरी हामीबाट सदर गरी बक्सेको छ भनी ०३।९।१७।४ मा तत्कालिन प्राइमिनिष्टर श्री ३ पद्य शमशेर ज.ब.रा.बाट ख.नि.सदर भएको मिसिल सामेल रहेको नक्कलबाट देखिन्छ । उक्त ख.नि.ले ज.आनन्द शमशेरको जिम्मा रहेको गैर श्री सम्पत्तिमा आधा हक प्रतिवादीको कायम गरेको देखिन्छ । आधा हक प्रतिवादीकै राखी बाँकी आधा श्री सम्पत्तिमा वादी प्रतिवादी समेत ७ अंशियारहरुले बण्डा छुट्याई लिन दिन पर्ने ठर्हछ । आनन्दनिकेतन बिक्री गर्दा रु.१०,५०,०००। आएको छ । त्यसमध्ये रु.७५,०००। पचहत्तरका दरले सापट दिएको छौं, नपुग समेत बण्डा हुनुपर्ने भन्ने वादीबाट आएको तायदाती फाँटमा उल्लेख भएको पाइन्छ । उपरोक्त माथि उल्लेख भएको ०३।९।१७।४ का ख.नि.ले उक्त घर बिक्रीगर्दा आएको रकममा आधा प्रतिवादीको आमाको भाग ज.आनन्द शमशेरको भागमा कट्टाहुँदा बाँकी आधा रु.५,२५,०००। पाँचलाख पच्चिसहजारमा वादी प्रतिवादी समेतका ७ अंशियारले बराबरका दरले अंश पाउनेमा जनही रु.७५,०००। पचहत्तर हजारका दरले जनही भाग बण्डा पाउने देखिन्छ । अंशबण्डा गर्दा कट्टि गर्ने गरी उक्त आनन्द निकेतन बिक्री गर्दा आएको रुपैयाँ मध्येबाट रु. ७५,०००। पचहत्तर हजारका दरले रुपैयाँ बुझी लिएँ भनी वादी समेतका अंशियारले ज. आनन्द शमशेरबाट उक्त घर बिक्री गर्दा आएको रुपैयाँ बुझी लिएको भरपाई प्रतिवादी तर्फबाट पेश भएको र उक्त रुपैयाँ लिएमा वादीहरु समेतले स्वीकार गरेकोले आफ्ना भागमा पर्ने रुपैयाँ लिई पाइसकेको र प्रतिवादीका हकको समेत रु.५,२५,०००। पाँचलाख पच्चिसहजार पनि भाग बण्डालगाई नपुग पाउँ भन्ने वादीहरुको भनाई मनासिव देखिएन, वादीले देखाएको तायदातीमा उल्लेख भएको टिकाको छाप्री तोला ५५० को आधी २७५ का दरले र ललितपुर मालमा प्रतिवादीका नाउँमा दर्ता भएको पूर्व मूल बाटो दक्षिण रानी गल्ली पश्चिम आनन्द निकेतनको पर्खाल र उत्तर आर.टि.ओ.को जग्गा यति ४ किल्लाभित्रको प्रचलित रोपनी १ को रु.१,०००। एकहजार दरले जम्मा रु.६,०००। छ हजार मोल जाने जग्गा माथि उल्लेखित ख.नि.ले प्रतिवादीको हक आधी ३ रोपनी कटाई आधी ३ रोपनीमा वादी प्रतिवादी समेतका ७ अंशियारले जनही ६ आना ३ पैसा २ दामका दरले मोल बिगो रु, ४५३।१२।२ का दरले पर्ने जग्गा कित्ता एक श्री फुपुज्यू सानु महारानीका नाउँमा का.पोता लगतमा १०५० नं.मा दर्ता भएको हाल प्रतिवादीले मालमा रैकरमा परिणत गरेको चारैतर्फ साथ भएको प्रचलित गरेको चारैतर्फ साथ भएको प्रचलित मोलले रोपनी १ को रु, ,०००। एक हजार दरले जम्मा रोपनी ७७ को जम्मा रु.७७,०००। सत्तहतर हजार मोल पर्ने जग्गा बण्डा हुनुपर्ने भन्ने वादीले तायदातीमा उल्लेख गरेको जग्गा वादीहरुका फुपु सासु महारानी ०३ सालमा नै परलोक भएकी भन्ने बलेन्द्रविक्रम शाहको आनन्द शमशेरको जग्गा दर्ता मुद्दाबाट देखिनाले उक्त ०३।९।१७।४ का ख.नि.ले ७७ रोपनीमा आधा ३८।। प्रतिवादीको हकमा कटाउँदा बाँकी ३८।। वादी प्रतिवादी समेतका ७ अंशियारले जनही रोपनी ५।। प्रचलित दर रोपनी १ को रु.१,०००। ले ५५०। मोल जाने जग्गा समेत अंश भाग बण्डा छुट्याई लिनु दिनुपर्ने ठर्हछ । अतःमाथि उल्लेख भए बमोजिम जम्मा रु.१०,०५,८६४। (दशलाख पाँचहजार आठसय चौसठ्ठी) मोल बिगो पर्ने बढी श्री सम्पत्तिको अंश पाउँ भनी वादीहरुले दावी गरेको ठर्हछ भन्ने मा.न्या.नयनबहादुरको राय,

          १०. वादी बल्लभ शमशेरले पेश गरेको तायदातीमा देखाइएको गोङ्गबु जग्गा रोपनी ७७ लाई प्रतिवादी ले.ज.आनन्द शमशेर ज.ब.रा को प्रतिउत्तरमा ०३।९।१७।४ का खड्गनिसानाले आमाको भाग पनि लाग्ने हो भनी जिकिर लिन नसकी साहेबज्यू बलेन्द्रविक्रम शाहसंग मुद्दा परी मेरो एकलौटी खर्च गरी सर्वोच्च अदालतबाट ०२३।११।१९।३ मा फैसला भई बिती मेरो नाउँमा एकलौटी हक गरी भोग गरी आएको छु भन्नेसम्म जिकिर भएको मुद्दा परी जितेको कारणले हाल अरु अंशियारलाई अंश दिनुपर्ने होईन भनी मुख्य अंश दिनुपर्ने पिताले भन्न पाउने नदेखिने र अंशबण्डाको १८ नं.मा मानो नछुट्टि संगबसेको अंशियारहरु छन् भने अंशियारहरुले कमाएको धन र लाएको ऋण सबै अंशियारलाई भाग लाग्छ ऐनबमोजिम अंश गरी लिनु दिनु पर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था देखिन्छ । साहेबज्यू बलेन्द्र विक्रमसंगको जग्गा दर्ता मुद्दामा प्रतिवादी ले.ज.आनन्द शमशेर ज.व.रा. ले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाउनु भएको बिन्तिपत्रमा पनि दिदीज्यूका शेषपछि सन्तान भए उनीहरुले पाउने नभए दाज्यू भाइले खानु भन्ने शर्तनामा भएको भन्ने उल्लेख गरिएको देखियो । त्यस बिन्तिपत्रको लेखाईबाट नै दाजु भाइले खान पाउने शर्तनामा भएको कुरा मानिएको देखिन्छ । अतः माथि उल्लेखित प्रतिवादीका जिकिर बमोजिममा पछि मुद्दा गरेका कारणले मात्र प्रतिवादीले एकलौटी पाउने नदेखिएकोमा त्यसतर्फ पनि आधा खड्गनिसानाले प्रतिवादीको भाग कटाई आधाबाट ७ अंशियारले बण्डा पाउने भन्नेसम्म माननीय न्यायाधीश नयनबहादुरज्यूको रायसंग सहमत नहुँदा उक्त सम्पत्ति वादी प्रतिवादीहरुले कानूनबमोजिम भाग हिस्सा पाउने देखिंदा वादी प्रतिवादी समेतका अंशियारले जनही रोपनी ११ एघारका दरले रोपनी १ को प्रचलित बिक्री दर रु.१०००। ले जनहि रु.११,०००। एघार हजार पर्ने जग्गा रोपनी ११ का दरले भाग वादीहरुलाई अंशबण्डा छुट्याई दिनुपर्ने ठर्हछ । तर सहयोगी माननीय न्यायाधीश नयनबहादुरसंग माथि उल्लेखित बिषयमा सम्म राय सहमत नहुँदा प्रस्तुत केश निर्णयको लागि सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री रङ्गनाथको राय भएको ०२६।११।२७।३ को डिभिजन बेञ्चको फैसला ।

          ११. यसमा तारेखमा रहेका वादीहरुको वा.नातिचा महर्जन रोहवरमा रही ०२७।१।२९।३ मा पेश भई वादीहरुतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र प्रतिवादी ले.ज. आनन्द शमशेर तारेखमा नरहे पनि निजतर्फबाट बहस गर्न उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुतमुद्दामा प्रतिवादी पिता ले.ज.आनन्द शमशेर ज.ब.रा.बाट जन्मेका हामी छोरा ५ र बुबा समेतको ७ भाग लगाई हामी २ जनाको अंश दिलाइपाउँ भन्ने मुख्य दावी भएको यो मुद्दामा अंशबण्डाका १० नं.ले छोरालाई अंश दिन करनलाग्ने भन्नेसमेत प्रतिवादी परे पनि प्रतिवादी श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्ति पत्रको व्यहोराबाट र आफ्नो मुमाको बकसको व्यहोरा परेको बिन्तिपत्रमा भएका खड्ग निसाना तोकको व्यहोराबाट माइला र कान्छा छोरालाई मानु छुट्याएको देखिएकोले र आनन्दनिकेतन बिक्री भएपट्टि १५ साल चैत्रमा खाने परिबन्द समेत मिलाउने हुँदा माना चामलमा माग दावी गर्ने छैनौ भनी छोराहरुको कागज गराएको भए पनि अरु परिबन्दबाट इज्जतआमदअनुसार खान लाउन पुर्‍याएको नदेखिएको र आफू एकलो छोरा भई आफुमा आउने आफ्ना मुमाको सम्पत्ति आफूले एकलौटी बकस खान निमित्त मानु छुट्याई पाउँ भन्ने छोराहरुको मञ्जुरीको लिखतै नभई वादी मे.क.बल्लभ शमशेर समेत मानु छुट्टिएको छोराहरुले नपाउने परिबन्द पारी खड्गनिसाना तोकबाट मुमाको सम्पत्ति एकलौटी पाउने भएकोबाट छोराहरु माथिको स्नेह पुरा रहेछ भन्ने नदेखिने हुनाले समेत डिभिजन बेञ्चमा रायबाझी नभएको प्रतिवादीले वादीलाई अंश दिनुपर्ने कुरामा यस तहबाट केही बोली रहनु परेन । साथ साथै १४ भागको १ भागका दरले हर एक वादीले पाउने र वादी प्रतिवादीका दरखास्त तायदातीमा मिलेको जग्गाहरु समेतको सम्पत्तिमा समेत डिभिजन बेञ्चमा मतैक्य भएको देखिएकोले बोली रहनु परेन ।

          १२. गोङबुको जग्गा रोपनी ७७ को हकमा मुमाको भाग आधा लगाई बाँकी आधामा अंशियारको ७ बण्डा गरी जम्मा १४ भागको १ भागका दरले वादीहरुले पाउने हुन्की भनी शंका गर्नलाई उपरोक्त खड्गनिशाना तोकको आधारमा मुमाको भाग प्रतिवादीले एकलौटी पाउने गरी प्रतिवादीका मुमाको भागमा यो जग्गा पर्ने रहेछ कि रहेन छ भनी विचार गरेमा सानु महारानीको नाउँमा काठमाडौं पोता लगतमा १०५० नं.मा अघि दर्ता भएको बखतमा पनि सन्तान नभएमा फिर्ता भई आउने भनी सो कित्तालाई दिदीज्यूहरुको शेषपछि सन्तान नभएमा दाजु भाइले खानु भन्ने शर्तनामा भएको भनी प्रतिवादीले ०२३।६।९।१ मा बि.ज.नं. १६१६ को बिन्तीपत्र चढाएको प्रमाणको मिसिल सामेल रहेकोबाट सानु महारानीका भाइ ले.ज.आनन्द शम्सेरले मात्र खान पाउने हो की भन्नलाई यो जग्गा सानु महारानीलाई भोग गर्ने गरी उहाँकै नाउँमा दर्ता गराए पनि ०३ सालमा परलोक भएपछि प्रतिवादीले खाइरहेकै कुरामा श्री साहेबज्यू बलेन्द्रबिक्रमले उजूर गरेको भनी प्रतिवादी ले.ज.आनन्द शम्सेर प्रतिवादी श्री साहेबज्यू बलेन्द्रबिक्रम शाह भएको दे.फु.नं.१३८५ को रैकरमा परिणत गरिपाउँ भन्ने मुद्दामा ०२३।११।२९।२ मा डिभिजन बेञ्चको फैसलाबाट देखिएको छ । यो जग्गाहरु प्रतिवादीले आफंैले आर्जन गरेको नभई दिदीलाई दिएको भए पनि कारणबस आफैंमा रहन आएको गोश्वरा सम्पत्ती हुन गएछ । प्रतिउत्तरपत्रमा दिदीज्यू सानु महारानीको १०५० नं.को जग्गामा पनि एकलौटी हकको भई मुद्दा परी मेरो एकलौटी खर्च गरी सर्वोच्च अदालतबाट ०२३।११।२९।३ मा फैसलामै जिती मेरा नाममा एकलौटी हक गरी भोग गरी आएको छु । यसप्रकार अंश दिनुपर्ने समेत केही छैन भन्ने जिकिर लिएका हकमा संयुक्त परिवारको मुख्य मालिकले परी भएको खर्च गर्नु र आफ्नो सम्पत्तीको संरक्षण गर्न समेत अभिभाराको कर्तब्य भएकैले र त्यस्तो घरका मालिकले खर्च गरेको कारणले आफ्नो एकलौटी हुन्छ भन्ने जिकिर मनासिव देखिंदैन । प्रतिवादीले आफ्नो मुमाको भाग बक्स पाएको देखिएकोले सो समेत हिसाब भई १४ भागकादरले हरेक वादीले पाउँछ । सोबमोजिम ठहर्‍याई ०२६।११।२७।३ को डि.बे. मा मा.न्या.श्री नयनबहादुरले व्यक्त गर्नुभएको राय मुनासिवछ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

देहाय बमोजिमको सम्पत्ती छुट्याई पाउँ भनी दण्ड साजको ४६ नं. २ बर्ष म्याद भित्र वादी या प्रतिवादीको दरखास्त परेमा कोर्ट फी ऐन, २०१७ को दफा १३ बमोजिम सयकडा २।५० वादीसंग दस्तुर लिई वादीहरुको अंश भाग छुट्याई दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु.................. १

प्रतिवादीका तायदाती दरखास्तमा लेखिएको मोल रु.३८५०। को चाँदीको टिकाको छाप्रि तोला ५५०। को मा वादी जवान १ के १४ भागको १ भाग मोल रु.२७५। का दरले वाद ि२ जनाले पाउने जग्गा १ प्रतिवादीले कुमारी स्थानलाई पुजा आजा चलि रहेछ भनी लेखेको पूर्व मूल बाटो, दक्षिण रानी गल्ली, पश्चिम आनन्द निकेतनको पर्खाल, उत्तर आर.टि.ओ. को जग्गा यति ४ किल्ला भित्रको मोल रु.६,०००। जाने जग्गा रोपनी ६ को वादी जवान१के १४भागको १भागको मोल रु.४२४।५७ कादरले ऐ.ऐ. जग्गा२ चारैतर्फ रैकर साँध भएको रु.७७, ०००। मोलजाने गोङबु छाउनीको रोपनी ७७को वादीजवान १के १४भागको १भाग रु.५५००।का दरले ऐ ऐ जग्गा ३

वादी जवान १ ले पाउने बिगो रु.६२०३।५७ को कोर्ट फी, कोर्ट फी ऐन, २०१७ को दफा ६ को खण्ड (क) ले लाग्ने रु.२६८।१५ का दरले वादी जना २ के लाग्ने जम्मा रु.५३६।३० मध्ये फिराद दर्ता गर्दा आएको रु.१५ कटाई बाँकी रु.५२१।३० का हकमा कोर्ट फी ऐन, २०१७ को दफा १५(९) बमोजिम अंश छुट्याउँदा प्रतिवादी ले.ज.आनन्द शम्सेर ज.ब.रा.संग कोर्ट फी रु.५३६।३० असुल गरी लिनु । प्रतिवादीसंग असुल नभए वादी बल्लभ शम्सेर ज.ब.रा. फाल्गुण शम्सेर ज.ब.रा. हरुसंग असुल गर्नु भनी ऐ ऐ.............................२

प्रतिवादीबाट कोर्ट फी रु.१५। भराई पाउँ भनी वादीहरुको ऐनका म्याद ३ बर्ष भित्र दरखास्त परेमा दस्तुर केही नलिई प्रतिवादीबाट वादीहरुलाई भराई दिने............................३

बक्स भएको हु.प्र. बमोजिम यो फैसला भएको नतिजा जाहेर गर्न बिशेष जाहेरी बिभाग राजदरवारमा जनरल विभाग मार्फत लेखी पठाई दिनु.......................४

नियमबमोजिम गरी मिसिल बुझाई दिनु......................५

 

प्र.न्या.श्री भगवतीप्रसाद र

न्या.श्री रत्नबहादुर विष्ट

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल जेष्ठ ९ रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु