शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८३० - ज्यान मार्ने उद्योग

भाग: ५९ साल: २०७४ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका

माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई

फैसला मिति : २०७३।११।०१

०६८-CR-०८०४

 

मुद्दा : ज्यान मार्ने उद्योग

 

पुनरावेदक / वादी : बद्धो खातुनीको जाहेरी नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी, सत्तेरझोरा गाउँ विकास समिति वडा नं. ६ बस्ने ऐजुव खाँ मियाँसमेत

 

आपराधिक कार्य (Actus reus) लाई हामी परम्परागतरूपमा बुझ्न अभ्यस्त छौं । जबकी उद्योगको अपराध हुनको लागि हातहतियार नै प्रयोग हुन वा शारीरिक आक्रमण हुन अनिवार्य हुँदैन । तर यस्ता विवाद हामीसमक्ष आउँदा हाम्रो प्रथम दृष्टि के कस्तो हतियार प्रयोग भएको छ भन्ने;  त्यस्तै गरी शरीरको के कुन भागमा चोट परेको छ भन्दा पनि चोट कति गम्भीर छ भन्नेतर्फ जान्छ । हतियार पनि महत्त्वपूर्ण होला, चोटको गाम्भीर्य पनि सान्दर्भिक होला तर घटनाक्रमको समग्रताको सन्दर्भमा के मनसाय राखी गर्न खोजिएको हो, के गरिसकिएको छ, के हुन बाकी छ, र सो कार्य इच्छित परिणामको के कति नजिक छ भन्ने कुरालाई पनि उत्तिकै महत्त्वका साथ हेरिनु पर्ने । 

(प्रकरण नं. १६)

वस्तुतः मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सँधै मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गरिनुपर्छ । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्ने यकिन गरिनुपर्छ । अर्थात्‌ प्रतिवादीले कसुर गर्ने मनसाय राखेको भन्ने स्पष्टरूपमा भन्न नसकिए पनि सम्भावित परिणामबारे जानकारी राखेको थियो वा सामान्य समझको व्यक्तिले यस्तो परिणामबारे जानकारी वा ज्ञान राख्दछ भन्न सकिने अवस्था थियो भने कसुरदारले मनसाय राखेको रहेछ भन्ने मान्नु पर्ने । 

(प्रकरण नं. २०)

वस्तुतः उद्योगको कसुरमा आपराधिक कार्य (Actus reus) हुनको लागि “मर्नेसम्मको काम गरेको” हुनुपर्छ तर सो कार्य जे पनि हुन सक्छ, यसको सूची अनन्त बन्न सक्छ । त्यसैले उद्योगको कसुरमा के कार्य गर्‍यो भन्नेभन्दा पनि के कस्तो परिस्थितिमा के कति गम्भीर कार्य गर्‍यो र सो कार्य पूर्ण अपराधको कति नजिक छ भन्ने हेरिनु पर्ने । 

(प्रकरण नं. २३)

पुनरावेदक / वादीको तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

ने.का.प. २०३७, नि.नं.१३९२, पृ.१४८

ने.का.प. २०४३, नि.नं.२६१७, पृ.६९१

ने.का.प. २०४३, नि.नं.२८२६, पृ.८१०

ने.का.प. २०४६, नि.नं.३८१४, पृ.९६८

ने.का.प. २०५१, नि.नं.४८९०, पृ.६२२

ने.का.प. २०५५, नि.नं.६६०९, पृ.२७५

ने.का.प. २०६५, नि.नं.७९३६, पृ.१४२

ने.का.प. २०६६, नि.नं.८१३६, पृ.३०८

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा.जिल्ला न्या.श्री माधवप्रसाद पोखरेल

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या.श्री जनार्दनबहादुर खड्का

माननीय न्यायाधीश श्री रामचन्द्र यादव

 

फैसला

न्या.डा. आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र दायरी हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

मिति २०६३।४।२८ गते बिहान ७:३० बजेको समयमा सतेरझोरा ६ मा मस्तकिम मियाँको चिया पसल उत्तरपट्टी सार्वजनिक बाटोमा मेरो पति सजलुम खाँ मियाँलाई ऐजुब खाँ मियाँसमेतले खुकुरी प्रहारी गरी गर्दन काटेकाले मेरो पतिको घाँ जाँचकेश फाराम गरिपाउँ भन्ने निवेदन ।

जिल्ला सुनसरी, सतेरझोरा गाउँ विकास समिति वडा नं. ६ स्थित इनरूवा सतेरझवार जाने बाटो दक्षिणमा मस्तकिम खाँको चिया पसल यति ४ किल्लाभित्र पर्ने बाटोमा ऐजुव खाँ मियाँसमेतले सजलुम खाँ मियाँलाई खुकुरी प्रहार गरी काटी सख्त घाइते बनाएको भनी देखाएको घटनास्थल ।

मिति २०६३।४।२८ गते बिहान ७:३० बजेको समयमा सतेरझोरा ६ मा मुस्तकिम मियाँको चिया पसल उत्तरपट्टि सार्वजनिक बाटोमा मेरो पति सजलुमा खाँ मियाँलाई महिउद्दिन खाँले समाती ऐजुव खाँ मियाँसमेतले खुकुरी प्रहार गरी गर्दन काटेकाले अपराधीलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने वद्धो खातुन मियाँइनीको जाहेरी दरखास्त ।

जग्गाको विषयलाई लिएर दगा धरेकोमा मिति २०६३।४।२८ गते मस्तकिम मियाँको चिया पसलमा चिया खाइरहेको अवस्थामा दाइको छोरा र मेरो छोराबीच भनाभन हुँदा ऐजुव खा मियाँले कान्छो छोरालाई खुकुरी फर्सा लिएर आयज भन्ने बित्तिकै निजले खुकुरी र फर्सा ल्याएको देखी म भाग्न लाग्दा महिउद्दिन खाँ मियाँले मलाई समाती दाजु ऐजुवले धारिलो हतियार खुकुरीले मलाई मार्ने छिनाउने उद्देश्य राखी प्रहार गर्दा मेरो बायाँ हातले रोक्न लाग्दा हातको हत्केला काटियो । सो पछि म भाग्न लाग्दा महिउद्दिनले झन दरो गरी समाती भाग्न उम्कन पाइन । ऐजुवले मेरो घाँटीमा खुकुरी फेरी प्रहार गरेपछि म भुइँमा लडेँ। सो पछि मलाई केही थाहा भएन । मेरो होस खुल्दा म धरान घोपा अस्पतालमा उपचारमा रहेछु । मेरो घाँटीको भागमा गहिरो गरी काटेको छ । उपचार नभएको भए मेरो मृत्यु हुने थियो । जग्गाको निहुँमा ज्यान मार्नको लागि योजना बनाई दाजु ऐजुव खाँ, भतिजा सजान, सद्दाम, महिउद्दिन, उमर र भाउजु सहिदासमेत भई यस्तो घटना घटाई मेरो ज्यान मार्ने उद्योग गरेकाले कारवाही गरिपाउँ भन्ने सजलुम खाँ मियाँले खुलाई दिएको कागज ।

उक्त समयमा म मदरसा सतेरझोरामा 

थिएँ । मैले सजलुम मियाँलाई धारीलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको छैन । मेरो नाम किन लेखाए थाहा भएन । ऐजुव खाँ मियाँसमेतले धारिलो हतियार खुकुरी प्रहार गरी सजलुम खाँ मियाँलाई सख्त घाइते बनाएको सुनी थाहा पाएको भन्नेसमेत महिउद्दिन खाँ मियाँको बयान ।

सो घटना मेरो घरनजिक भएको हो । सो स्थानमा झगडा भएपछि सद्दामले खुकुरी ल्याई बुबा ऐजुवलाई दिई उक्त खुकुरीबाट ऐजुव खाँले भाइको घाँटीमा प्रहार गरी सख्त घाइते बनाएको हुन् । सो समयमा मदरसामा पढाई रहेको थिएँ । सो वारदातमा थिएन भन्ने अलिहुसेन समेतले गरी दिएको कागज ।

ऐजुव खाँसमेतका प्रतिवादीहरूले सजलुम खाँलाई खुकुरी गर्दनमा प्रहार गरेको भन्ने थाहा पाएको हुँ । महिउद्दिन खाँ उक्त समयमा मदरसामा पढाइरहेका थिए भन्ने सुनेको हुँ भनी दुखी खाँसमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

यी प्रतिवादीहरूले गर्दन जस्तो संवेदनशील अङ्गमा खुकुरीले काटी ज्यान मार्ने उद्योग वारदात घटाएको पुष्टि हुन आएकाले प्रतिवादीहरू ऐजुव खाँ, सजान खाँ, सदाम खाँ, महिउद्दिन खाँ मियाँ, उमर खाँ मियाँ र सहिदा खातुनको उल्लिखित कार्य ज्यानसम्बन्धी महलको १ र १५ नं. को कसुर गरेकाले सो कसुरमा निज प्रतिवादीहरूलाई सोही महलको १५ नं. अनुसार सजाय हुन माग दाबी लिएको छ अभियोग दाबी ।

सो मितिमा म मदरसा स्कुलमा बिहान ७:३० बजेको समयमा विद्यार्थीलाई पढाउँदै थिएँ । सो समयमा कसैसँग भेट भएन घटनास्थलमा गएको पनि छैन । सो सजलुमको चोट उनीहरूको दाजुभाइ झगडा बाट भएको भन्ने सुनेको हुँ, मैले ज्यान मार्ने उद्योग गरेको होइन भन्ने महिउद्दिन खाँले गरेको बयान ।

प्रतिवादी महिउद्दिनलाई अ.बं.४७ नं. बमोजिम तारेखमा राख्ने आदेश ।

म चियाखान गएको थिएँ । पीडितले मसँग नहर सफा गरेको पैसा माग गर्दा बुबालाई भन्नुभन्दा पैसा नदिने भनी पीडित कुँदेर घर गई मुसल लिई आई मेरो टाउकोमा हाने सोपश्चात म बेहोस भएँ । अन्य कुरा मलाई थाहा भएन । बुबा सो स्थानमा हुनुहुन्थ्यो, अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भनी प्रतिवादी सजान खाँको बयान ।

उक्त समय र दिनमा म घरमा थिएँ । मेरो उपस्थिति नै नभएकोमा किन मलाई भने थाहा भएन । मेरो छोरा आएपछि थाहा पाएको हो । म घटनामा संलग्न नभएको हुँदा सजाय हुनुपर्ने होइन भनी प्रतिवादी सइदा खातुनको बयान ।

प्रतिवादी सइदा र सजानलाई अ.बं. नं. ४७ बमोजिम तारेखमा राख्ने आदेश ।

उक्त दिन म मदरसामा पढिरहेको 

थिएँ । घरमा ९ बजे आउँदा बहिनीले झगडाको खबर सुनाइन, म मदरसामा पढ्न आई महिउद्दिन सँग मात्र भेट भएको थियो । किन जाहेरी दिए मलाई थाहा भएन, यससम्बन्धी मलाई केही थाहा भएन, मलाई लगाएको अभियोगबमोजिम सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी सद्दाम खाँले गरेको बयान ।

म खेतमा सो दिन ६ बजेनै मकै छर्ने भनेर गएको थिएँ । १० बजे फर्किँदा थाहा भयो । कसैसँग भैट भएको थिएन । घटनास्थलमा म नभएको हुँदा केही थाहा छैन । मलाई आरोप किन लगाए थाहा भएन । मलाई सजाय हुनुपर्ने होइन भनी प्रतिवादी उमेर खाँले गरेको बयान ।

प्रतिवादी सद्दामलाई रू.३,०००।– धरौटी माग भई निजले धरौटी राखी तारेखमा बसेको र उमरलाई तारेखमा राख्ने आदेश भएको ।

सो बेलामा म सप्तरी गएको थिएँ । मेरो छोराहरू र घाइते सजलुमबीच काटाकाट भएको भनी खबर पाएपछि सिधै धरान घोपा अस्पतालमा छोरालाई हेर्न गएँ । पानीको विषयमा मेरो छोरासँग झगडा भएको हो । ऐजुव खाँले सजलुमलाई खुकुरी प्रयोग गरी घाँटीमा काटेको भनी प्रहरीमा लेखाएछन् मैले काटेको होइन । यी घाइते मेरा भाइ हुन् । फोटो निजकै हो मेरो छोरासँग घटना घटेको रहेछ भनी अदालतमा आई प्रतिवादी ऐजुव खाँले गरेको बयान ।

प्रतिवादी ऐजुव खाँलाई ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादीहरूलाई अ.बं. ११८ नं. को देहाय २ बमोजिम पुर्पक्षका निमित्त थुनामा राख्न आदेश भई थुनामा रहेको ।

दवियाले ऐजुवले सजलुमलाई हानेँ । त्यहाँ पानीको बैठक थियो । उपचार हुन नसकेको भए पतिको ज्यान मर्ने अवस्था थियो । महिउद्दिनले समातेको हो । मार्ने नियतले घाँटीमा काटेको हो भनी जाहेरवाला वद्धो खातुनले गरेको बकपत्र ।

मिति २०६३।४।२८ गते ७:३० बजे बिहान चिया पसल पुगेको हुँ । त्यहाँ नहर पानीको विषयमा कुरा भएको थियो । मेरो दाजु ऐजुव खाँ बसी रहेको 

थिए । मलाई देखेपछि ऐजुवले मेरो श्रीमतीसँग मुख चलाएको भने । मैले मुख चलाएको होइन भने, निजका छोरा सद्दाम पनि त्यहीँ थिए । छोरालाई घरबाट खुकुरी फर्सा लिई आइज भनेपछि छोराले खुकुरी ल्याई ऐजुवलाई दिए । ऐजुवले मलाई हान्‍ना लाग्दा म भाग्न खोज्दा महिउद्दिनले मलाई समाते र ऐजुवले मलाई घाँटीमा खुकुरीले हाने । मानिस आई मलाई घोपा अस्पतालमा लगे । प्रतिवादीले मलाई ज्यानै लिने गरी खुकुरीले हानेको हुन् जग्गासम्बन्धी रिसइवी थियो भनी सजलुम खाँ मियाँले गरेको बकपत्र ।

प्रतिवादीका साक्षीहरूले ज्यान मार्ने नियतले सो घटना गएको होइन भनी बकपत्र गरेका रहेछन ।

ऐजुवले सजलुमलाई काट्‌यो महिउद्दिनलाई देखिन । पानीको विषयमा झगडा भएको हो भनी घटनास्थलमा बस्ने मुसहरू सरदारले गरेको बकपत्र ।

घटना भएको ठाउँमा मेरो छोराको चिया पसल छ । त्यहाँ ऐजुव र सलजुमबीच भनाभन हुँदाहुँदै हात हालाहाल भयो । दोहोर कुटपिट भयो । ऐजुवले छोरा सद्दामलाई घरबाट खुकुरी ले भने । छोराले खुकुरी ल्याएपछि ऐजुवले खुकुरीले सजलुमलाई घाँटीमा 

हानेँ । अर्को पटक हान्न खोज्दा सजलुमले खुकुरी समात्यो हातसमेत काट्‌यो त्यसपछि मोटर साइकलमा राखी घोपामा लगि उपचार गरेको हो, पानीको विषय लिएर भनाभन भएको हो । ऐजुव आफैँ भागी गयो भन्नेसमेत घटनास्थलमा बस्ने सरवर खाँको बकपत्र ।

प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको नै कसुर गरेको भन्न मान्न नमिल्ने हुँदा सबै प्रतिवादीले ज्यान मार्ने उद्योगको अभियोगबाट सफाई पाउने 

ठहर्छ । प्रस्तुत मुद्दाको घटनाक्रम र अवस्थालाई दृष्टिगत गर्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत गरिदिएको छ भन्ने सुरू सुनसरी जिल्ला अदालतको फैसला ।

प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम ज्यान मार्ने उद्योगतर्फ सजाय गर्नुपर्नेमा सो नगरी सफाई दिई मुद्दालाई कुटपिटतर्फ परिणत हुने ठहर्‍याई भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

पीडितको कागज एवं अदालतमा भएको बकपत्रसमेतको आधारमा प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरबाट सफाई दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अदालती बन्दोबस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरबाट भएको आदेश ।

यसमा मिति २०६३।४।२८ को घाँ जाँच केश फाराम तयार गर्ने विशेषज्ञ चिकित्सकलाई बुझ्ने पर्ने भएकाले वि.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका डा. विजय थापालाई दिन किटान गरी झिकाई बकपत्र गराई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरबाट भएको आदेश ।

पीडितको रगत बढी गएर रक्तचाप घटेको होला । मैले सामान्य उपचार गरेको हुँ । पीडितको अवस्था खतराजनक थियो भन्नेसमेत व्यहोराको घा जाँच  केश फाराम तयार गर्न डा. विजय थापाको बकपत्र ।

ज्यान मार्ने मुद्दाको कसुर कायम गर्नका लागि तेस्रो तत्त्वको उपस्थिति अनिवार्य हुनुपर्नेमा तेस्रो पक्षको आकस्मिक उपस्थिति वा हस्तक्षेप भएको देखिँदैन । यसरी दुवै पक्षबीच एक आपसमा भनाभन र कुटपिटसमेत भएको भनी अन्य व्यक्तिहरूको भनाईबाट पुष्टि भएको पीडित घाइतेलाई उपचारको लागि मोटर साइकलमा लगेको अवस्थासमेतलाई विचार गर्दा अभियोग माग दाबीअनुसारको यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर गरेको देखिएन । तसर्थ सबै प्रतिवादीहरूले ज्यान मार्ने उद्योग अभियोगबाट सफाई दिने कुटपिटमा परिणत गर्ने गरेको सुनसरी जिल्ला अदालतको मिति २०६५।२।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मिति २०६७/३/१४ मा पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला ।

वारदातस्थल चिया पसल अगाडि हो । सो ठाउँमा बिहानको समयमा धेरै व्यक्ति चिया खान उपस्थित भएको देखिएका छन्, त्यस्तो ठाउँमा वारदात हुँदाको अवस्थामा बचाउका लागि अन्य व्यक्तिले हस्तक्षेप गरेनन् होला भनी अनुमान गर्न मिल्दैन । साथै पीडितलाई तत्काल मोटरसाइकलमा राखी इनरूवा अस्पताल पुर्‍याइएको छ । सो ठाउँमा उपचार हुन नसक्ने भनी वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्धचेतन अवस्थामा उपचार भएको छ । निज पीडितलाई तत्काल उपचारको लागी समयमा अस्पताल नपुर्‍याएको भए निजको ज्यान जाने अवस्था थियो । पीडितको घाउँ जाँच केश फारामबाट उल्लिखित तथ्य देखिएको र मिसिल संलग्न सिलगुडी अस्पतालमा उपचार गरेका बिल रसिदहरूले वारदातको गहन स्वरूपको पुष्टि भएको छ । यस्तो अवस्थामा तेस्रो पक्षको उपस्थित नभएको भनी प्रतिवादीहरूलाई सफाई दिने गरी भएको उक्त फैसलामा मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन हुन सकेको छैन । आफ्नो कार्यको परिणाम स्वरूप पीडितको मृत्यु हो भन्ने थाहा पाई प्रतिवादीहरू भागी फरार भएको, पीडितलाई अर्धचेतन अवस्थामा तत्काल उपचार गरी बचाएको, अदालतमा भएको चिकित्सकको बकपत्रबाट सो तथ्य स्थापित पनि भएको अवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (इस्लामुद्दिन जोलाह विरूद्ध श्री ५ को सरकार ने.का.प. २०४३, अंक ८, पृष्ठ ८१०, नि.नं. ८१५० (२०६५।१०।२८) मुद्दामा मनसाय भएको कुरा कार्यले पनि प्रमाणित गर्ने कुरा हो । प्रतिवादीको हुलको संख्या, हातमा लिएको खुकुरी जस्तो धारिलो हतियार, घाउको संख्या, बरामद भएको हतियार, त्यस्तो धारिलो हतियार प्रहार गर्नु नै प्रतिवादीको मनसाय प्रमाणित हुने हो भन्ने सिद्धान्तको प्रतिपादिन भएको छ । उक्त प्रतिपादिन सिद्धान्तविपरीत भएको उक्त फैसला त्रुटिपूर्ण छ । अतः सफाई दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, विराटनगरको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरी पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्ने नेपाल सरकारको मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्ने यस अदालत पर्न आएको निवेदन ।

यसमा पीडितको घाउँ जाँच प्रकृतिबाट घाँटी जस्तो संवेदनशील अंगमा ८ सेन्टिमीटर गहिरो काटिएको देखिएको र खुकुरी जस्तो हतियारले घाँटीमा प्रहार गरेको स्थिति स्वयं जघन्य हुने हुँदा प्रमाणको मूल्याङ्कन एवम् ज्यानसम्बन्धी महलको १५ नं. को गलत प्रयोगसम्बन्धी प्रश्न विद्यमान भई पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ एवम् अ.वं. १८४क नं. समेतको त्रुटि विद्यमान भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ, नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६८।९।२२ मा यस अदालतबाट भएको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ताको श्री ज्ञानप्रसाद भुसालले प्रतिवादीहरू उपर किटानी जाहेरी परेको छ । धारिलो हतियार खुकुरीले घाँटी जस्तो संवेदनशील अंगमा प्रहार गरेका छन् । धारिलो हतियार खुकुरीले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समज भएको जसले पनि अनुमान गर्न सक्ने हुँदा प्रतिवादीहरूले पीडितलाई मार्ने मनसाय थिएन भन्न मिल्दैन । घटनास्थलबाट खुकुरी बरामद भएको छ । पीडित र प्रतिवादीहरूको बीच पहिलेदेखि नै जग्गासम्बन्धी विवाद रहेको देखिन्छ । पीडित सजलुम खाँलाई प्रतिवादीहरूले कुटपिट गरेका छन् । मार्नेसम्मको कार्य भएको तर तत्काल उपचार गरिएको कारण पीडितको ज्यानसम्म बच्न गएको हुँदा प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी र प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री सुनिल पोखरेलले प्रतिवादीमध्येका महिउद्दिन खाँ मौकामा पक्राउ परी कसुरमा इन्कार रही बयान गरेको छन् । वारदात भिडभाड ठाउँमा भएकोले कसको चोटले पीडित घाइते भएको भनी खुल्न सकेको छैन । ज्यानै मार्ने मनसायले प्रहार गरेको देखिँदैन । तसर्थ सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, विराटनगरको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

उपरोक्तबमोजिम विद्वान्‌ उपन्यायाधिवक्ता तथा विद्वान्‌ अधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरूपण गर्नुपर्ने देखिन आयो ।

(क) पीडितउपर भएको कार्य ज्यान मार्ने उद्योगको परिभाषाभित्र पर्छ वा पर्दैन  र  प्रस्तुत मुद्दामा ज्यान मार्ने उद्योगको अभियोग स्थापित हुन सक्छ वा सक्दैन ।

(ख) प्रतिवादीहरूलाई ज्यानमार्ने उद्योगको कसुरबाट सफाई दिने र प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत गर्ने गरेको सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ वा छैन, पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ।

 

२. सर्वप्रथम पहिलो प्रश्नतर्फ हेर्दा यहाँ केही तथ्यहरू बारे प्रकाश पार्दै उठाइएको प्रश्नमा प्रवेश गर्नु उपयुक्त देखिन आयो । प्रस्तुत मुद्दाको उठान पीडित सजलुम खाँकी श्रीमती वद्धो खातुन मियाँइनीको जाहेरीबाट भएको छ । जाहेरीमा ऐजुव खाँले सजलुम खाँलाई ज्यान मार्ने योजना बनाई २०६३/४/२८ गते बिहान ७:३० बजे सुनसरी जिल्ला, सतेरझवार गाउँ विकास समिति वडा नं. ६ स्थित मस्तकिम खाँको चिया पसल अगाडि ज्यान मार्ने उद्देश्यले खुकुरीले घाँटीमा हान्दा श्रीमान् सख्त घाइते भएको कुरा जाहेरीमा उल्लेख भएको छ । पीडितलाई तत्काल उपचारको लागि इनरूवा अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकी धरान स्थित घोपा अस्पतालमा राखी उपचार गरिएको भन्ने कुरा पनि मिसिलमा उल्लेख भएको 

छ । पीडितको घाउजाँच प्रतिवेदनमा Cut injury over (Lt) Side of neck, lateral to middle, cut injury extending backward up to ८ cm below sub-occipital region भन्ने उल्लेख भएको पाइन्छ । साथै अस्पतालमा पुग्दा बिरामी अर्धचेतन अवस्थामा रहेको, पल्स ७० प्रति मिनेट, ब्लड प्रेसर ७०/५० रहेको भन्ने पनि उल्लेख भएको पाइन्छ । घाँटीमा नै खुकुरी प्रहार भएको हो भन्ने पीडित सजलुम खाँ र घटनाको प्रत्यक्षदर्शी भनिएका मलुद खाँ तथा अलि हुसेन खाँको कागजबाट समेत देखिन्छ । त्यस्तैगरी जुन खुकुरीबाट चोट प्रहार गरिएको भनिएको छ सो खुकुरी वारदात घटेको भनिएको स्थानबाट बरामद भएको भन्ने पनि बरामदी मुचुल्काबाट देखिन्छ ।

३. मिसिल संलग्न यी तथ्यहरूको पृष्ठभूमिमा अब पीडितउपर भएको कार्य ज्यान मार्ने उद्योगको परिभाषाभित्र पर्छ वा पर्दैन ? अर्थात्‌ अभियोग पत्रमा दाबी लिइएबमोजिम ज्यान मार्ने उद्योगको अभियोग स्थापित हुन सक्छ वा सक्दैन भन्नेतर्फ हेर्दा उद्योगको सैद्धान्तिक पक्ष, मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. मा उल्लिखित कसुर कायम हुनको लागि आवश्यक पर्ने तत्त्वहरू र ज्यान मार्ने उद्योगको कसुरमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू समेतको सन्दर्भमा यस इजलाससमक्ष प्रस्तुत मुद्दामा ती तत्त्वहरू विद्यमान छन् वा छैनन् भनी हेर्नुपर्ने हुन आयो ।

४. प्रारम्भमा नै के कुरा स्पष्ट गर्न जरूरी छ भने ‘‘ज्यान मार्ने उद्योग” बारे अहिलेसम्मको हाम्रो दृष्टिकोण अधुरो र अपुरो छ । जसरी उद्योगको अपराधलाई एउटा अलगै वर्गको अपराध हो भनी हेर्नु र बुझ्नु पर्ने हो सो हुन सकेको छैन । त्यसैले यसको सैद्धान्तिक र विधिशास्त्रीय पक्षको विषद विश्लेषण यहाँ सान्दर्भिक देखिन आयो ।

५. सैद्धान्तिकरूपमा हेर्दा उद्योगको अपराध “अपूर्ण अपराध” हो भन्ने देखिन्छ । अर्थात्‌ जुन कार्य गर्ने मनसाय वा सोच, समझ राखी पूर्ण अपराध घटाउने कार्य गरिएको हुन्छ, उद्योगमा पनि सोही मनसाय राखी कार्य गरेको हुन्छ यद्दपि कार्य भने पूर्ण हुन पाएको हुँदैन । यसलाई स्पष्ट पार्दै विधिशास्त्री George Fletcher ले उद्योगलाई “असफल अपराध” भनेका छन् । असफल अपराधको दृष्टान्त दिँदै उनी भन्छन: घटना यस्तो पनि हुन सक्छ हत्याराले बन्दुक हानी सकेको हुन सक्छ तर सही निसाना लगाउनमा उ चुक्छ; बैंक लुट्न गएको व्यक्ति बैंकमा प्रवेश गरी बन्दुक पनि सोझ्याउछ, तर रकम लुटनु भन्दा पहिले उ पक्राउ पर्छ; बलत्कारीले बलत्कार गर्ने प्रयास गर्छ तर पीडितले आफू गर्भवति भएको भन्दै ऊबाट बच्दछिन्; हत्याराले कफिमा विष हालिसकेको हुन्छ तर जसलाई विष दिन खोजिएको हो सो व्यक्तिले कफि पिउनु अगाडि सो कफि पोख्छ । यी सबै पूर्ण हुन नसकेका आपराधिक कार्यहरू हुन् र यी सबैले उद्योगको कसुरमा दायित्व श्रृजना गर्न सक्छन्: उनकै शब्दमा भन्दा:

Attempts are cases of failure. A would-be killer shoots, but his aim is off. A woman sent on robbery enters a bank and pulls a gun, but is arrested before she gets the money. A man tries to rape a woman, but she dissuades by telling him that she is pregnant. A man puts poison into his intended victim’s coffee cup, but the latter spills the coffee before drinking it. All of these frustrated crimes are candidates for liability as criminal attempt.

 

६. माथिका सबै दृष्टान्तहरूमा आपराधिक कार्य र आपराधिक मनसाय दुवै तत्त्वको उपस्थिति हुँदाहुँदै पनि जुन मनसाय वा नियत राखेर कार्य गर्न खोजिएको छ, सो कुरालाई विशेष महत्त्वका साथ हेरिन्छ । उद्योगमा गर्न खोजिएको कार्य पूरा नहुने भएकै कारणबाट प्रसिद्ध अपराध शाश्त्रीद्वय स्मिथ र होगन (Smith & Hogan) ले यसलाई “अपूर्ण अपराध” (inchoate offence) भनेका छन्। अपूर्ण अपराध भएकै कारणले उद्योगको प्रकृति एवम् स्वरूप विशिष्ट हुन्छ । यही विशिष्टतालाई मद्यनजर गर्दै उद्योग भन्न नमिल्ने कसुरहरू यसमा नपरून भन्नको लागि यसमा मनसाय तत्त्वलाई विशेष सतर्कतापूर्वक हेरिन्छ । उदाहरणार्थ हत्याको पूर्ण अपराध आवेशमा आई, होश नपुर्‍याई वा हेलचेक्र्याइँ गरे पनि घट्न सक्छ भने उद्योग आपराधिक मनसाय नराखी घट्दैन । यस कुरालाई हाम्रो न्यायिक परिपाटीमा हामीले पनि स्वीकार गरेका छौं । उद्योगसम्बन्धी कसुरमा आपराधिक कार्य र मनसायबीच रहेको यही सम्बन्धलाई स्पष्ट गर्दै अपराधशास्त्री C. S. Kenny ले भनेका छन्:-

Essence of attempt lies in the intention rather than in the acts done in furtherance thereof. In other words, the criminality is constituted more by mens rea than by the actus reus. Yet, mens rea alone is not a crime, the court requires physical evidence; but so much as necessary to establish mens rea. 

 

७. त्यसो भए आपराधिक कार्य (actus reus) को कुन चरणमा उद्योगको अपराध हुन जान्छ त भन्ने अर्को प्रश्न यसै सन्दर्भमा हाम्रो सामु उत्पन्न 

हुन्छ । यस बारे विभिन्न मुलुकमा अपनाइएको न्यायिक व्यवहार र दृष्टिकोणमा सामान्यरूपको विविधता पाइन्छ । उदाहरणार्थ अमेरिकी अदालतहरूको दृष्टिमा उद्योग ठहर्नको लागि अभियुक्त तयारीको चरणबाट सारभूतरूपमा अघि बढ्दै (Taking substantial steps) खतरनाकरूपले आफ्नो उद्देश्यको नजिक (In dangerous proximity to the end) पुग्नुपर्छ भनिएको छ । यस बारेमा एउटा मुद्दामा भनिएको पनि छ: 

The crux of determination of whether the acts are sufficient to constitute an attempt is whether, when given the specific intent to commit an offense, the acts taken in furtherance thereof are such that there is dangerous proximity to success in carrying out the attempt. 

 

८. खतरनाकरूपले अपराधको नजिक भनी सम्भवतः के कुरालाई भन्न सकिएला भने कुनै कार्य घट्यो र सो कार्यबाट स्वभाविकरूपमा निस्कने सम्भावित परिणमलाई बीचैमा नरोकेको अवस्थामा पूर्ण अपराध घट्न सक्थ्यो भने त्यस्तो कार्य खतरनाकरूपले पूर्ण अपराधको नजिक हुन्छ र त्यस्तो कार्य गर्ने व्यक्तिलाई उद्योगमा सजाय हुन सक्छ । उद्योगको कसुरबारे स्पष्ट गर्दै न्यायमूर्ती होम्स (Justice Holmes) ले भनेका छन्:

“An act is punishable as an attempt, if, supposing it to have produced Its natural and probable effect, it would have amounted to a substantive crime” 

 

९. यी समस्त कुराहरूबाट अमेरिकामा मनसाय, सम्भावित परिणाम र परिणामको कति नजिकबाट आपराधिक कार्य घट्न गएको छ यी कुराहरू न्यायको रोहमा हेरिन्छन् र कुनै कार्य उद्योग हो वा होइन भनी निर्णय निष्कर्षमा अदालत पुग्दछ भन्ने हेरिन्छ ।

१०. उद्योगसम्बन्धी अपराधको विधिशास्त्रीय अध्ययन गर्दा के पनि देखिन्छ भने अमेरिकी अदालतहरूले आपराधिक कार्य (Actus reus) को जुन मानक खडा गर्न खोजेका छन्, त्यही मानक संयुक्त अधिराज्यमा खडा गर्न खोजिएको छैन । अर्को शब्दमा भन्दा संयुक्त अधिराज्यमा उद्योगको अपराध कायम हुनको लागि अमेरिकामा जस्तो “खतरनाकरूपले आफ्नो उद्देश्यको नजिक” पुग्नु आवश्यक हुँदैन, तयारीको चरणबाट अघि बढी आपराधिक कार्य गर्न थाल्नु नै उद्योगको कसुर कायम गर्न पर्याप्त हुन्छ । संयुक्त अधिराज्यको फौजदारी उद्योग ऐन, (Criminal Attempt Act) १९८१ को दफा १ को उपदफा (१) मा उद्योगलाई परिभाषा गर्दै भनिएको छ: 

“If with intent to commit an offence to which this section applies, a person does an act which is more than merely preparatory to the commission of the offence, he is guilty of attempting to commit the offence.” 

 

११. यो कुरा स्पष्टै छ कि माथिको परिभाषामा कतिपय अमेरिकी राज्यहरूका कानूनमा भए जस्तो अपराध घटाउने सन्दर्भमा गम्भीर प्रयास गरेको मानिने कुनै कार्य “Conduct constituting substantial step toward the commission of the offense” वा अमेरिकी अदालतहरूले भनेजस्तो खतरनाक रूपले आपराधिक उद्देश्यको नजिक पुगेको (within dangerous proximity to the criminal end)  हुनु आवश्यक देखाइएको छैन । तयारीभन्दा अघि बढेर अपराध घटाउन चालिएको सामान्य कदम (Slightest conduct towards commission of an offence)  पनि आपराधिक कार्यको वर्गभित्र पर्न सक्छ ।  उद्योगको अपराधमा अपराधीको मनसाय र आपराधिक कार्य दुवै विद्यमान हुनुपर्ने आवश्यकतालाई भने माथिको परिभाषामा स्पष्टैसँग राखिएको छ ।

१२. बेलायतमा तयारी र उद्योगलाई छुट्‍याउने सन्दर्भमा तयारीभन्दा अघि बढेर पूर्ण अपराध हुनको लागी आवश्यक पर्ने कार्यहरू मध्ये कुनै कार्य गरिसकेको छ भने सो उद्योग हो भनिएको छ । किङ्स बेन्चले एउटा मुद्दामा यस विषयमा स्पष्ट पार्दै भनेको छः The completion [ or attempted completion] of one of a series of acts intended by a man to result in killing is an attempt to murder, even though the completed act would not, unless followed by other acts, result in killing. It might be the beginning of an attempt but would none the less be an attempt. 

१३. यद्यपि कुन कार्य तयारीसम्म हो र कुन उद्योग हो भनी छुट्याउन प्रत्येक मुद्दामा भएको कार्य, वातावरण र परिस्थितिलाई हेर्नुपर्छ । तर बेलायत र सो पद्धतिलाई अनुशरण गर्ने देशहरूको मत के छ भने उद्योग हुनुको लागी तयारीको चरणबाट अभियुक्त अघि बढेकै हुनुपर्छ यद्यपि उसले अपराध घटाउन गर्नुपर्ने सबै कार्य गरिसकेको भने नहुन सक्छ, जुन जरूरी पनि छैन ।

१४. बेलायतमा जस्तै भारतीय कानूनमा पनि उद्योगको कसुरमा कार्य (actus reus) लाई भन्दा मनसाय (intention) र ज्ञान (knowledge) लाई महत्त्वपूर्ण मानिएको छ । जहाँ तयारीभन्दा अघि बढेर हत्याको कसुर गर्न अभियुक्तले केही कार्य गर्छ र सो कार्य पूरा हुँदा हत्या गरेको मानिन्छ भने अपूर्ण कसुर चाहिँ हत्याको उद्योग मानिन्छ भन्ने भारतीय कानूनको मत छ । उद्योगबारे भारतीय दण्ड संहिता (Indian Penal Code) १८६० को दफा ३०७ मा देहायको व्यवस्था गरिएको छ: 

Attempt to Murder - Whoever does any act with such intention or knowledge, and under such circumstances that, if he by that act caused death, he would be guilty of murder, shall be punished with imprisonment of either description for a term which may extend to ten years, and shall also be liable to fine; and, if hurt is caused to any person by such act, the offender shall be liable either to 1[ imprisonment for life], or to such punishment as is hereinbefore mentioned.

 

१५. माथिको व्यबस्थामा उद्योगको कसुरमा सजाय हुन मनसाय (Mensrea) र ज्ञान (Knowledge) दुवै तत्त्वलाई उत्तिकै महत्त्वका साथ हेरिएकोछ । मनसायपूर्वक गरिएको कुनै कार्य वा कुनै कार्यको स्वभाविक परिणाम यो हुन सक्छ भन्ने वा जानकारी भई गरिएको कुनै कार्य पूर्ण हुन नपाएको स्थितिमा उद्योगमा सजाय हुन सक्छ । यसको अर्थ के पनि हो भने तयारीको चरणबाट अघि बढेर अभियुक्तले केही कुरा गरेको छ तर जुन परिणाम निस्कनु पर्ने हो सो निस्केको छैन, जस्तो बन्दुक फायर गरिएको छ र सो मुद्दाको विशेष परिस्थितिमा कार्य पूर्ण हुँदा हत्याको कसुर हुन सक्थ्यो तर कार्य पूर्ण भएको छैन, त्यस्तै गरी कुनै कलिलो उमेरको बच्चाको मृत्यु होस भन्ने मनसाय राखी निर्जन स्थानमा छाडिएको छ, विष खुवाउने नियतले विष किनी खानामा मिसाइएको छ र पीडितको टेवलमा राखिएको छ वा उसको नोकरलाई दिइको छ तर पीडितले खाइसकेको छैन भने पनि उद्योगको कसुर कायम हुन्छ । यसरी हेर्दा भारतीय कानूनले तयारी र उद्योगको बीचमा झिनो विभाजन रेखा मात्र कायम राखेको छ । दण्ड विधानमा आपराधिक कार्यको गाम्भीर्यतालाई मनसाय वा ज्ञानतत्त्वलाई जति जोड दिइएको छैन । भारतीय कानूनमा उद्योगको सम्बन्धमा रहेको व्यवस्थाको बारेमा भारतीय सर्वोच्च अदालतले भनेको छः- 

It is not necessary that the injury actually cause to the victim of the assault should be sufficient under ordinary circumstances to cause the death of the person assaulted.  What the court has to see is whether the act, irrespective of the result, was done with the intention or knowledge and under circumstances mentioned in this section. An attempt in order to be criminal need not be the penultimate act. It is sufficient in law, if there is present an intent coupled with some overt act execution there of.  

 

१६. ज्यान मार्ने उद्योगको सन्दर्भमा विभिन्न मुलुकहरूको उपरोक्त कानूनी व्यवस्था तथा दृष्टिकोण उपरोक्त विवेचनाहरूको सन्दर्भमा हाम्रो कानूनी व्यवस्था कस्तो छ? यहाँ सान्दर्भिक प्रश्न उठ्छ । स्पष्टै छ, हामी कहाँ उद्योगबारे सर्वस्वीकृत दृष्टिकोणको विकास हुन अझै बाँकी छ । यस्ता मुद्दामा आपराधिक कार्य (Actus reus) लाई हामी परम्परागतरूपमा बुझ्न अभ्यस्त छौं । जबकी उद्योगको अपराध हुनको लागि हातहतियार नै प्रयोग हुन वा शारीरिक आक्रमण हुन अनिवार्य हुँदैन । तर यस्ता विवाद हामीसमक्ष आउँदा हाम्रो प्रथम दृष्टि के कस्तो हतियार प्रयोग भएको छ भन्ने; त्यस्तै गरी शरीरको के कुन भागमा चोट परेको छ भन्दा पनि चोट कति गम्भीर छ भन्नेतर्फ जान्छ । हतियार पनि महत्त्वपूर्ण होला, चोटको गाम्भीर्य पनि सान्दर्भिक होला तर घटनाक्रमको समग्रताको सन्दर्भमा के मनसाय राखी गर्न खोजिएको हो, के गरिसकिएको छ, के हुन बाँकी छ, र सो कार्य इच्छित परिणामको के कति नजिक छ भन्ने कुरालाई पनि उत्तिकै महत्त्वका साथ हेरिनु पर्छ । यी कुराहरूलाई हामीले कदापी भुल्न मिल्दैन ।

१७. मुलुकी ऐनको विभिन्न महल र अन्य विशेष ऐनहरूमा उद्योगको कसुरमा सजायको व्यवस्था गरिए पनि उद्योगलाई स्पष्टसँग परिभाषा गरिएको छैन । तर मसौदाको रूपमा आएको अपराध संहितामा “आपराधिक षडयन्त्र, उद्योग दुरूत्साहन र मतियार” लाई अलगै परिच्छेदमा राखी अलगैरूपमा ती कसुरहरूलाई हेर्न खोजिएको देखिन्छ । त्यति हुँदाहुँदै पनि उद्योगको विषयमा अलगै परिभाषा दिइएको 

छैन । उद्योगबारे भनिएको छः- “जुन कसुरको उद्योग गर्न खोजिएको हो सो कसुर हुन असम्भव भएमा पनि उद्योग मानिनेछ” यसबाट कार्यको सम्भावित परिणाम होइन कि कार्य स्वयम्‌, कार्य गरेको परिस्थिति र मनसाय हेरी निर्णय निष्कर्षमा पुग्नु पर्ने तर्फ संकेत गर्न खोजिएको देखिन्छ । यहाँ सन्दर्भ ज्यान मार्ने उद्योगको हुँदा सो सम्बन्धमा ज्यानसम्बन्धीको १५ नं. मा गरिएको व्यवस्थाको विश्लेषण गर्नुपर्ने हुन आएको छ । उक्त १५ नं. मा देहायको व्यवस्था रहेको पाइन्छ:- 

“ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँचवर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ ।” 

 

१८. उपर्युक्त व्यवस्थामा ज्यान मार्ने उद्योगको परिष्कृत परिभाषा नदिईए पनि परिभाषाजन्य व्यवस्थाहरू विद्यमान रहेका छन् । उक्त व्यवस्थाको विश्लेषण गर्दा उद्योग ठहर्नको लागि देहायका तत्त्वहरू विद्यमान हुनुपर्ने देखाइएको छ :-

● अपराधिक कार्य वा वारदात मनसायपूर्वक घटाइएको हुनुपर्ने ।

● त्यस्तो आपराधिक कार्यअन्तर्गत गोली चलाउने वा बम हान्ने वा घातक हतियारले  काट्ने वा मार्नको लागि अरू जुनसुकै कार्य गरिएको हुनुसक्ने ।

● कार्य गम्भीर हुनुपर्ने अर्थात् “मर्नेसम्मको” भए पनि कुनै कारणले ज्यान मर्न नपाएको           अवस्था हुनुपर्ने ।

 

१९. ज्यानसम्बन्धी महलको माथि वर्णित १५ नं.मा स्पष्टसँग उल्लेख भएको तत्त्व “मनसाय” हो जसले उद्योगको सैद्धान्तिक पक्षसँग तादाम्यता 

राख्दछ । अर्थात् उद्योगमा पनि त्यही आपराधिक मनसाय रहनु पर्छ, जुन कर्तव्य ज्यानको कसुरको लागि आवश्यक हुन्छ । यहाँ कुत्सित मनसाय, निर्ममता, दयाहिनता त्यही श्रेणीको हुनुपर्छ जुन कर्तव्य ज्यानमा हुन्छ । यस बारेमा विधिशास्त्री यच.यल.ए.हार्ट (H.L.A. Hart) ले कसैको संयोगिक हस्तक्षपको कारण उद्योग सफल हुँदैन, अपराध घटाउने सीपमा कमी भए पनि क्रूरता वा दुष्ट्याईँमा भने पूर्ण अपराध र उद्योगमा केही फरक हुँदैन भन्ने धारणा राख्छन् । यस कुरालाई स्पष्ट गर्दै उनी भन्छन्: 

“… There seems to be no difference in wickedness, though there may be in skill, between the successful and the unsuccessful attempt…... Very often an unsuccessful attempt is merely the accidental failure to commit the crime because somebody unexpectedly intervenes and frustrates the attempt.

 

२०. अपराध घटाउन मनसाय तत्त्व आवश्यक पर्छ भने यसलाई कहाँबाट खोज्ने भन्ने अर्को सान्दर्भिक प्रश्न पनि यहीँ निर उठ्छ । वस्तुतः मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सँधै मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गरिनुपर्छ । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्ने यकिन गरिनुपर्छ । अर्थात्‌ प्रतिवादीले कसुर गर्ने मनसाय राखेको भन्ने स्पष्टरूपमा भन्न नसकिए पनि सम्भावित परिणामबारे जानकारी राखेको थियो वा सामान्य समझको व्यक्तिले यस्तो परिणामवारे जानकारी वा ज्ञान राख्दछ भन्न सकिने आवस्था थियो भने कसुरदारले मनसाय राखेको रहेछ भन्ने मान्नु पर्ने हुन्छ । यहाँ यस अदालतले इस्लामुद्दिन जोलाहाको मुद्दामा व्यक्त गरेको धारणा सान्दर्भिक देखिन्छ । सो मुद्दामा भनिएको छ :-

“ज्यान मार्ने उद्योगका मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ, कुनैमा अभियुक्तले गरेको आपराधिक क्रियाबाट उसको मनसाय पत्ता लगाउनु पर्छ”

 

२१. त्यस्तै गरी ज्यान मार्ने उद्योग मुद्दामा आपराधिक मनसाय र कार्यको सम्बन्धबारे स्पष्ट गर्दै एक अर्को मुद्दामा यस अदालतले भनेको छः-

“ज्यान मार्न उद्योगको कसुर हुनका लागि पीडितलाई लागेको चोट वा घाउको मात्रा र परिमाण महत्त्वपूर्ण हुने नभई ज्यान मार्ने मनसायले प्रहार गरिएको र ज्यान मर्न नपाएको बाधक तत्त्वको विद्यमानता थियो वा थिएन भन्ने नै महत्त्वपूर्ण हुन आउछ” ।

 

२२. त्यस्तै गरी अपराधीको कार्यबाट नै मनसाय तत्त्वको खोजी गरिनु पर्ने भन्ने बारे यस अदालतले राधेश्याम तेलीको मुद्दामा अझ स्पष्ट गर्दै भनेको छ: 

“कुनै व्यक्तिले गरेको कार्य कस्तो छ भनी हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्त्व पहिल्याउन सकिने 

हुन्छ । अपराधजन्य कार्यभन्दा अलावा अन्य आधारबाट निकाल्न खोजिने मनसाय तत्त्व वस्तुगत परीक्षणमा आधारित 

रहँदैन । त्यसैले यस्तो माध्यम असम्भव नभएपनि जोखिमपूर्ण भने अवस्य 

हुन्छ । अपराधजन्य कार्य नै मनसाय तत्त्व पहिल्याउने ससक्त एवं भरपर्दो माध्यम हो । वस्तुगत परीक्षणमा आधारित भएर निकालिने निष्कर्ष हुँदा यस्तो निष्कर्ष सधै कसी लगाएर जाँच्न सकिने हुन्छ”

 

२३. मनसाय तत्त्व बारेमा यति भनेर अब आपराधिक कार्यतर्फ हेरौं: ज्यानसम्बन्धीको १५ नं. मा आपराधिक कार्यहरूको एउटा सूची दिइएको छ, जस्तो “गोली चलाउने, बम हान्ने वा घातक हतियारले काट्ने आदि”। स्पष्ट नै छ यी अपराधिक कार्यका दृष्टान्त मात्र हुन् । उद्योगमा यस्ता कार्यको सूची लामै हुन सक्छ । उदाहरणार्थ मार्छु नै भन्ने मनसायले वा मर्छ भन्ने जान्दाजान्दै कुनै ठाउँमा कैयौँ दिनसम्म थुन्नु, विष हाल्नु, शरीरमा आगो लगाउनु वा ढोका थुनी घरमा आगो लगाउनु वा कोठाभित्र अक्सिजन सकिने स्थिति पार्नु वा तेजाब खन्याउनु, जाडोमा कठाङग्रिएर मर्छ भनी नाबालक वा असक्त व्यक्तिलाई चिसो निर्जन ठाँउमा छाडिदिनु आदि आदि । यसरी हेर्दा ज्यान मार्ने उद्योग ठहर्नको लागि सो गर्ने मनसाय राखी गरिने जुनसुकै कार्य पनि आपराधिक कार्यको वर्गभित्र पर्न सक्छ । सम्भवतः यही कुरालाई दृष्टिगत गरी विधिकर्ताले “ज्यान मार्नको लागि अरू जुनसुकै कुराको उद्योग गरी” भन्ने शब्द समूहको प्रयोग पनि ज्यानसम्बन्धीको १५ नं. मा गरेको रहेछ भन्ने 

देखिन्छ । वस्तुतः उद्योगको कसुरमा आपराधिक कार्य (Actus reus) हुनको लागि “मर्नेसम्मको काम गरेको” हुनुपर्छ तर सो कार्य जे पनि हुन सक्छ, यसको सूची अनन्त बन्न सक्छ । त्यसैले उद्योगको कसुरमा के कार्य गर्‍यो भन्ने भन्दा पनि के कस्तो परिस्थितिमा के कति गम्भीर कार्य गर्‍यो र सो कार्य पूर्ण अपराधको कति नजिक छ भन्ने हेरिनु पर्छ । यो पक्षलाई ध्यान नदिई कस्तो हतियार प्रयोग गर्‍यो भन्ने वा एकाकिरूपमा चोट मात्र हेरी वा प्रयोग भएको हतियार मात्र हेरी अमुक कार्य उद्योग हो वा होइन भनी ठहर्‍याउन खोज्यौं भने हामी एउटा अन्यौलपूर्ण स्थितिमा पुग्दछौं । कहिले बन्दुक फायर भई चोट लागेको वा खुकुरीले गर्धनमा नै हान्दा पनि उद्योग ठहर्‍याउँदैनौं । भने कहिले छुरा प्रहार गरेकोमा पनि उद्योग ठहर्‍याउँछौं ।

२४. संक्षेपमा, उद्योग ठहर्नको लागि केवल तयारी मात्र नभई अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य माथि भनिए झै खतरनाकरूपले पूर्ण अपराधको नजिक (Dangerous proximity to the end) 

हुनुपर्छ । अर्थात्‌ ज्यानसम्बन्धीको १५ नं. मा उल्लिखित भाषामा भन्ने हो भने “मर्नेसम्मको काम” गर्दा पनि “कुनै कारणले” ज्यान मर्न नपाएको हुनुपर्छ ।

२५. अब यहाँ ज्यानसम्बन्धीको १५ नं. मा “कुनै कारणले” भन्ने उल्लेख भएकोले सो कारण के हुन सक्ला भन्ने जिज्ञासा उत्पन्न हुनसक्छ । यसलाई हाम्रो अदालतले पटकपटक व्याख्या गरेको छ यद्यपि ती सबै व्याख्याहरू उद्योगको विधिशाश्त्रलाई स्पष्ट गर्ने वा यस विषयमा मातहतका अदालतहरूलाई मार्गदर्शन गर्ने किसिमका छैनन् । यस अदालतले सजिलोसँग व्यक्त गर्ने गरेको धारणा तेस्रो पक्षको हस्तक्षेपको विद्यमानता हो । “अभियुक्तले ज्यान मार्न भनी गरेको कार्य तेस्रो तत्त्वको अप्रत्यासितरूपमा अपर्झट उपस्थिति हुन गएको कारणले सम्पन्न हुन नपाएको हुन्छ” । भन्ने नै मोटामोटीरूपमा यस अदालतको दृष्टिकोण रहेको देखिन्छ ।  तर यहाँ स्पष्ट हुनुपर्ने कुरा के छ भने तेस्रो तत्त्वको उपस्थिति भनेको सदा सर्वदा त्यस्तो तत्त्वको भौतिक उपस्थिति मात्र नहुन सक्छ । यसो भन्नु ज्यानसम्बन्धी १५ नं. मा प्रयुक्त “कुनै कारणले” भन्ने शब्दावलीको साङ्गोपाङ्गो अर्थ हुन सक्दैन । “कुनै कारण” भनेको यथार्थमा जुनसुकै कारण हुनसक्छ; अर्थात्‌ हस्तक्षेपकारी तत्त्व केही पनि हुन सक्छ । जस्तो, अपराधीसँग सो कार्य सम्पन्न गर्ने सीप वा समय, स्रोत र साधनको अभाव हुनु, पक्राउ पर्छु भन्ने डरले भाग्नु, लखेट्दै गएकोमा विपरीत दिशाबाट गाडी आई हर्न लगाउनु वा बत्तीको प्रकाशमा आफ्नो पहिचान खुल्छ भनी घाइतेलाई छाडी भाग्नु, मर्‍यो भनी छाडेकोमा तत्काल मद्दत पुगी अस्पताल लगी उपचार हुन सक्नु आदि आदि;  अर्थात्‌ कारण अनेक हुन सक्छन् । अझ कतिसम्म भने पूर्ण अपराध हुन असम्भव स्थितिमा  पनि उद्योग कसुर कायम हुन सक्छ । कुरा यति मात्र हो कि कुनै तेस्रो तत्त्वको उपस्थिति वा हस्तक्षेपकारी परिस्थितिको कारण मनसाय राखी गरिएको कार्य पूरा हुन पाएको स्थिति हुँदैन ।

२६. संक्षेपमा ज्यानसम्बन्धी महलको १५ नं. वा अन्य कुनै अपराधको उद्योगबारे विधिसम्मत् व्याख्या गर्दा यो व्यवस्थाको उद्देश्य र समाजमा पार्ने प्रभाव बारे पनि हामी सबैको ध्यान जानु आवश्यक 

छ । उद्योगलाई कसुरको रूपमा परिभाषित गरेर राज्यले अपराधको रोकथाममा सकारात्मक योगदान दिनसक्छ भने पूर्ण अपराध र तयारीको बीचमा एउटा निश्चित वर्गको अपराधलाई स्वीकार गर्दै उपयुक्त दण्ड प्रदान गरी दण्डहीनतालाई रोक्ने प्रयास पनि गरेको हुन्छ । ज्यानसम्बन्धीको १५ नं. को व्याख्या गर्दा हामीले यी कुराहरूलाई बिर्सन मिल्दैन । उद्योगको अपराधलाई अलग्गै वर्गको अपराधको रूपमा स्वीकार गर्नुको उद्देश्य बारेमा बेलायतको कानून सुधार आयोगले भनेको कुरा यहाँ स्मरणीय देखिन्छ । आयोगले भनेको छ :

“The present offense of attempt is the product of a delicate balancing exercise between two needs. On the one hand there is a need to allow effective intervention to prevent harm. On the other, there is a need to ensure that only sufficiently culpable individuals, whose conduct brings with it a clear threat of harm, are labeled and punished as ‘attempters’.”

 

२७. उपर्युक्त सैद्धान्तिक सन्दर्भमा प्रस्तुत मुद्दामा पीडित उपरको कार्य ज्यान मार्ने उद्योगको परिभाषाभित्र पर्छ वा पर्दैन भनी हेर्दा यहाँ प्रतिवादी ऐजुब खाँले सजलुम खाँलाई घाँटीमा खुकुरीले प्रहार गरेको कुरा स्पष्ट देखिएको छ । यो वारदातको विषयमा सुरू र पुनरावेदन अदालतले प्रश्न नै उठाएको छैनन्, न त वारदात नै घटेको होइन भनी प्रतिवादीको तर्फबाट पुनरावेदन नै परेको छ ।

२८. मिसिल अध्ययन गरी हेर्दा, मिति २०६३।४।२८ गते बिहान ७:३० बजे बिहान ऐजुव खाँसमेतले सजलुम खाँलाई खुकुरी प्रहार गरी गर्दन काटी ज्यान मार्ने उद्योग गरेकोले सजाय गरिपाउँ भन्ने वद्धो खातुन मियाँइनको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । जाहेरीमै “ऐजुब खाँले सजलुम खाँलाई काटी मार्ने हिसाबले गर्दनमा 

हाने । बायाँ हातले रोक्न खोज्दा देब्रे हातको हत्केला केही काटी गर्दनको हड्डीसमेत आधी गर्धन काटी मर्न बाँच्नको दोसाँधमा रहेका निज सजलुमलाई तत्काल मोटरसाइकलमा राखी पछाडिबाट अर्को मानिसले समाती बीचमा राखी इनरूवा अस्पताल लगे अस्पतालले यहाँबाट उपचार हुन सक्दैन भनेपछि वी.पी. मेमोरियल धरानमा लगेको” भन्ने उल्लेख भएको पाइन्छ । घाइते सजलुम खाँ मियाँको भनाई हेर्दा मस्तकिम खाँको चिया पसल अगाडि पीडित र प्रतिवादीबीच सम्पत्तिसम्बन्धी विवाद भई भनाभन, झगडा भएपछि “सद्दाम खाँले खुकुरी ल्याई बाबु ऐजुव खाँलाई दिएपछि ऐजुव खाँले आफूलाई घाँटीमा प्रहार गरेपछि आफू भुइँमा लडी केही थाहा नपाएको” भनी लेखाई दिएको पाइन्छ । सुरू मिसिल संलग्न पीडित सजलुम खाँको घाउँजाँच केस फाराम हेर्दा घाँटीको बायाँ भागमा ८ सेन्टिमिटर लम्बाई भएको काटिएको घाउँ रहेको, अस्पतालमा पुग्दा पीडित अर्धचेत अवस्थामा रहेको र निजको मुटुको चाल, रक्तचाप आदि असन्तुलित रहेको, पीडितको अवस्था खतराजनक रहेको भन्ने उल्लेख भएको देखिन्छ ।

२९. वारदातको स्वरूप हेर्दा घटनास्थल मस्तकिम मियाँको चिया पसल अगाडि सार्वजनिक बाटोमा घटेको भन्ने देखिएको छ । बिहानको समयमा पसल अगाडि घटना घटेको हुँदा तत्कालै तेस्रो पक्षको हस्तक्षेप भई पीडितलाई तुरून्त अस्पताल पुर्‍याएको देखिएको छ । पीडित सजलुम खाँले अनुसन्धान अधिकारीसमक्ष गरेको मौकाको कागजलाई समर्थन गरी अदालतमा बकपत्र गरेको तथा जाहेरवालाले किटानी जाहेरी दरखास्त दिई सो जाहेरी दरखास्तलाई समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ । पीडितको घाउजाँच केस फाराममा घाँटीको बायाँ भागमा ८ सेन्टिमिटर लम्बाईको काटिएको घाउ चोट लागेको भन्ने व्यहोरा उल्लेख भएको र सो घाउजाँच गर्ने विशेषज्ञ डा. विजय थापाले “पीडितको घाँटीको अगाडिको भागबाट पछाडि गर्दनसम्म ८ से.मी. जति लम्बाई हुने जति काटिएको र पीडितको रक्तचाप ७०/५० भएकोले पीडितको अवस्था खतराजनक थियो” भनी बकपत्र गरेको देखिन्छ । यहाँ घाँटीमा नै ताकेर हानिएको र आठ / आठ से.मी. को चोट हुँदा मर्नेसम्मको कार्य गरिसकेको रहेछ भन्नु पर्ने हुन आयो । प्रतिवादीले हातमा लिएको खुकुरी जस्तो धारिलो हतियारले घाँटी जस्तो संवेदनशील अंगमा प्रहार गरेको, लागेको घाउ गम्भीर देखिएको र हतियारसमेत बरामद भएको देखिँदा प्रतिवादीको पीडितलाई मार्ने मनसाय थिएन वा त्यस्तो चोटबाट निज मर्न सक्छ भन्ने जानकारी थिएन भन्न मिल्ने देखिएन । अन्य व्यक्तिहरूको घटनास्थलमा उपस्थिति रहेको र पीडितलाई तत्काल अस्पताल पुर्‍याएको कारण ज्यानसम्म मर्न नपाएको देखिँदा पुनरावेदन अदालत, विराटनगरले प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई दिने सुरू फैसला सदर गर्दै कुटपिटमा परिणत गरेको मिलेको देखिएन ।

३०. अब उक्त वारदातमा को कसको संलग्नता थियो भन्नेतर्फ विचार गर्दा पीडितको मौकाको कागज, जाहेरी दरखास्त र जाहेरवाला तथा पीडितको बकपत्र तथा मौकामा कागज गर्ने अलि हुसैनसमेतको कागजसमेतबाट प्रतिवादी ऐजुव खाँले नै खुकुरी प्रहार गरेको भन्ने पुष्टि हुन आयो । अन्य प्रतिवादीहरूको संलग्नताको हकमा पीडित सजलुम खाँको शरीरमा लागेको चोट हेर्दा र जाहेरी तथा पीडितको कागज एवं बकपत्रमा बायाँ हत्केलामा समेत चोट लागेको भनिए पनि घा जाँच फारामबाट घाँटीमा मात्र चोट देखिई चोट मूलभूतरूपमा एउटा मात्र हुँदा अन्य प्रतिवादीहरूले हतियार प्रयोग गरेको भनी मान्न मिलेन । पीडितले सद्दामले दविया, उमरले फर्सा र ऐजुबले खुकुरी लिएको भनी उल्लेख गरेको भए पनि अन्य व्यक्तिले पनि प्रहार गरेको भनी उल्लेख गरेको देखिएन । प्रतिवादीहरू र पीडित एकै गाउँ र ठाउँको दाजुभाइ, भतिजा नाता भित्रको देखिएको छ, चिया पसलमा पानीका विषयमा छलफल चलेको अवस्था हुँदा अन्य प्रतिवादीहरूको घटनास्थलमा उपस्थिति स्वभाविक हुने नै भयो । तर ऐजुव खाँ बाहेकका अन्य व्यक्तिहरूको उक्त चोट छाड्नमा संलग्नता रहेको भन्ने मिसिलबाट देखिँदैन । प्रतिवादीहरू र पीडितबीच जग्गा जमिन, पानीलगायतका विषयमा पहिलेदेखि मनोमालिन्य रहेको पनि देखिन्छ । यसबाट उद्योगको मनसाय पुष्टि हुन आउछ, तसर्थ मनसाय यकिन गर्ने सन्दर्भमा यो परिस्थिति र परिवेशलाई अदालतले जानकारीमा लिनुपर्ने हुन्छ । तर साथ साथै यस्तो अवस्थामा धेरैभन्दा धेरै व्यक्तिहरूलाई वारदातमा दोषी देखाउने पीडित पक्षको चाहाना रहेको जाहेरी,  कागज, बकपत्रहरूबाट देखिन्छ । पीडित पक्षको यस्तो चाहनालाई रोक्नु र वारदातलाई सन्तुलितरूपमा बुझ्नु पनि अदालतको कर्तव्य हुन आउँछ । सो सन्दर्भमा समेत प्रस्तुत मुद्दालाई हेर्दा यहाँ अन्य प्रतिवादीहरू वारदातस्थलमा उपस्थित हुँदैमा कसुरमा संलग्न भएका रहेछन भन्न मिल्ने देखिएन । प्रतिवादीमध्ये महिउद्दिन खाँले पीडितलाई समायो भनी पीडितले बकपत्र गरेको छ तापनि महिउद्दिन खाँले समस्त वारदातमा आफ्नो संलग्नता नरहेको भनी इन्कारी बयान दिएको र सो कुरालाई  निजको साक्षीको बकपत्रबाट समेत पुष्टि भएको देखिँदा निजले समाती खुकुरी प्रहार गर्ने कार्यलाई सहज बनाएको भन्ने शंकारहित तवरबाट पुष्टि हुन आएको पाइएन । अन्य प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा वारदातमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ । सहिदा खातुन, मोहम्मद सद्दाम खाँ मियाँ, मोहम्मद सजान खाँ मियाँ र उमर खाँ मियाँ लगायतको प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भन्ने आरोपलाई वादी पक्षले शंकारहित तवरले पुष्टि गर्न सकेको पाइएन । यस स्थितिमा ऐजुब खाँ बाहेकका अन्य प्रतिवादीहरूलाई दोषी करार गर्न मिलेन ।

३१. तसर्थ, माथि विवेचित आधार र कारणहरूबाट घाइतेलगायत मौकामा बुझिएका व्यक्ति तथा जाहेरवालाको बकपत्रबाट समेत पीडित सजलुम खाँको तत्काल उपचार नभएको भए प्रतिवादी ऐजुब खाँको मार्ने योजना पूर्ण सफल भई पीडितको ज्यान मर्न सक्ने देखिँदा पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६७।३।१४ मा प्रतिवादीहरूलाई ज्यान मार्ने कसुरबाट सफाई दिई मुद्दा कुटपिटमा परिणत हुने ठहर्‍याएको सुरू फैसला सदर गरेको फैसला सो हदसम्म मिलेको देखिएन । उक्त फैसला उल्टी भई प्रतिवादी ऐजुव खाँ मियाँले पीडित सजलुम मियाँ खाँलाई खुकुरी प्रहार गरी मलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को कसुर गरेको देखिँदा सोही नं. बमोजिम निजलाई ५ वर्ष कैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू सहिदा खातुन, मोहम्मद सद्दाम खाँ मियाँ, मोहम्मद सजान खाँ मियाँ, महिउद्दिन खाँ मियाँ र उमर खाँ मियाँको हकमा अभियोग दाबी पुग्ने नदेखिँदा ज्यानसम्बन्धी महलको १५ नं. बाट निजहरूलाई सफाई दिएको सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६७/३/१४ मा भएको फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको निजहरूको हकमासम्म पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा ठहरेबमोजिम प्रतिवादी ऐजुव खाँ मियाँले ज्यान मार्ने उद्योग गरेको ठहरी निजलाई ५(पाँच) वर्ष कैदको सजाय हुने ठहरेकोले ज्यान मार्ने उद्योगमा कैद वर्ष ५(पाँच) को लगत कसी निज प्रतिवादी मिति २०६४।६।१० देखि २०६५।२।२१ सम्म (८ महिना ११ दिन) थुनामा रहेको देखिँदा उक्त थुनामा रहेको अवधि कट्टा गरी बाँकी (४ वर्ष ३ महिना १९ दिन) कैद लगत कसी नियमानुसार असुल गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू ------१

अन्य प्रतिवादीहरू सहिदा खातुन, मोहम्मद सद्दाम खाँ मियाँ, मोहम्मद सजान खाँ मियाँ, महिउद्दिन खाँ मियाँ र उमर खाँ मियाँले आरोपित कसुरबाट सफाई पाउने ठहरेकोले निजहरूको हकमा केही गरी रहनु परेन ----२

प्रस्तुत मुद्दाको फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू-३

 

उक्त रायमा सहमत छु ।

न्या. मीरा खडका

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७३ साल फागुन १ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु