शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९०० - सरकारी छाप दस्तखत किर्ते

भाग: ५९ साल: २०७४ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा 

फैसला मिति : २०७४।६।२५

०७३-CR-०२६५

 

मुद्दाः- सरकारी छाप दस्तखत किर्ते

 

पुनरावेदक / प्रतिवादी : जिल्ला धादिङ गा.वि.स. लापा वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला सामाखुसी बस्ने शान्तिमाया तामाङ

विरूद्ध

प्रत्यर्थी / वादी : अध्यागमन कार्यालयको पत्र जाहेरीले नेपाल सरकार

 

फौजदारी मुद्दामा कुनै व्यक्तिले आफूले गरेको कार्यको मात्र दायित्व बहन गर्नुपर्ने भएकोले निजले गरेको कार्य प्रमाणबाट शंकारहित तवरले पुष्टि हुन आएको अवस्थामा मात्र सो कार्यको लागि कानूनमा तोकिएको सजाय निजले भोग्नु पर्ने । 

(प्रकरण नं.५)

प्रमाण ऐन, २०३१ को दफा २५ ले दाबी प्रमाणित गर्ने भार वादी पक्षमा निहित गरेकोमा साक्षी प्रमाण पेस गरी दाबी प्रमाणित गराउनुको सट्टा प्रतिवादी लाभकर्ता भएको कारणबाट कसुरदार रहेको भन्ने जिकिर प्रत्यक्षतः प्रमाणित नभएको अवस्थामा लाभकर्ता भएको कारणले गर्दै नगरेको अपराधको दण्डको भागी बनाउन न्यायको रोहमा उचित हुन नसक्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता दिलकुमारी राई

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता संजिवराज रेग्मी

अवलम्बित नजिर : 

सम्बद्ध कानून : 

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री महमद जुनैद आजाद

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री चण्डीराज ढकाल

माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे

 

फैसला

न्या.ओमप्रकाश मिश्र: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम यस अदालतबाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- 

मिति २०७०।६।१८ तदनुसार ४ अक्टोवर २०१३ का दिन उडान नं.९W ०२६४ बाट आएकी नेपाली राहदानी नं. ०५७५०३९९ बाहक शान्तिमाया तामाङको इन्ट्री रिफ्युज तथा श्रम स्टीकरमा शंका लागेको कारणले आवश्यक कारवाहीको लागि पत्रसाथ मानिस पठाइएको भन्नेसमेत व्यहोराको अध्यागमन कार्यालय त्रि.अ.वि.को पत्र ।

आवश्यक कारवाहीको लागि सक्‍कल कागजातसहित मानिस पठाइएको भन्‍ने व्यहोराको अध्यागमन विभागको पत्र ।

म यसभन्दा पहिले पनि विदेश गई आईसकेकी छु । दुबईमा मैले पहिला काम गरेको होटलले आर्टिस्टको भिसा पठाई दिएकोले म दिदी, दाजु, फुपूहरूसँग सरसल्लाह गर्न तथा रकम लिन दिल्ली गएकी 

थिएँ । सोही क्रममा दिल्लीमा बाहिर घुम्न जाँदा एकजना इण्डियन व्यक्तिसँग भेटघाट भई कुराकानी हुँदा निजले तिम्रो श्रम स्टीकर म यहीँबाट गराइदिन्छु तिमी नेपाल जानु पर्दैन भनेकोले मैले पनि नेपाल जानु आउनुभन्दा यहीँबाट गराउन मन्जुर भई निजलाई मेरो पासपोर्ट डकुमेन्टहरू तथा भा.रू.१७,०००।- समेत दिएकी थिएँ । निजले २५ दिनपछि मलाई अर्कै मान्छेसँग मेरो पासपोर्ट तथा डकुमेन्टहरू दिई पठाई निजले तपाइँको काम भयो, तपाइँ यहाँबाट टिकट काटी दुबई जानसक्नु हुन्छ भनेकाले मैले विश्‍वासमा परी त्यही टिकट काटी दुबई गएकोमा दुबई एरपोर्टमा तपाइँको आई टेष्ट म्याच गरेन तपाइँ नेपाल फर्कनुहोस् भनी मलाई त्यहाँबाट फर्काई दिएकोमा म दिल्ली हुँदै काठमाडौं एयरपोर्ट आउँदा अध्यागमन कार्यालयले तपाइँको श्रम स्टीकर शंकास्पद छ भनेपछि मात्र सो सम्बन्धमा थाहा पाएकी हुँ भन्‍ने व्यहोराको शान्तिमाया तामाङले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

शान्तिमाया तामाङको राहदानी नं. ०५७५०३९९ मा टाँसिएको श्रम स्वीकृतिक निस्सा (स्टीकर) यस विभागबाट जारी नभएको भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार विभागको मिति २०७०।६।२३को पत्र ।

प्रतिवादी शान्तिमाया तामाङले विदेश जानको लागि नक्‍कली श्रम स्टीकर, सरकारी छाप, हस्ताक्षर प्रयोग गरी सरकारी छाप  दस्तखत किर्ते गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी शान्तिमाया तामाङको उक्त कार्य मुलुकी ऐन, किर्ते कागजको महलको १, ९ र १२ नं. बमोजिम अपराध भएकोले सोही महलको ९ नं. र १२ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

म आफैँले श्रम स्टीकर प्रयोग गरेको होइन । भारतको नयाँ दिल्लीमा बस्दा त्यहाँ एकजना मानिसले भारतबाटै दुबई जान पाइन्छ भनेकोले निजलाई पासपोर्ट र कागजातहरू दिएको र निजले मेरो नाउँको पासपोर्टमा श्रम स्टीकर लगाई दिएको थियो । सो श्रम स्टीकर नक्‍कली भएको मैले थाहा नपाई म दुबई गएको थिएँ । दुबईको एअरपोर्टमा आईटेष्ट म्याच भएन भनी फिर्ता पठाएकोमा काठमाडौंको एअरपोर्टमा आएपछि मात्र सो स्टीकर नक्‍कली भएको थाहा भयो । म आफैँले नक्‍कली श्रम स्टीकर प्रयोग गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी शान्तिमाया तामाङले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

प्रतिवादीले मौकामा र अदालतमा आई नक्‍कली श्रम स्टीकर प्रयोग भएको पासपोर्ट मैले प्रयोग गरी विदेश गएको भनी बयान गरिदिएको समेतका तत्काल प्राप्‍त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको भनी अहिले नै विश्‍वास गर्न नसकिँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई मुलुकी ऐन, अ.वं. ११८ को देहाय ५ बमोजिम प्रतिवादी शान्तिमाया तामाङबाट नगद धरौट रू.१००००।- वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्‍नु भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट भएको आदेश ।

प्रतिवादीको मुखसाबिती बयानको बयानका आधारमा नक्‍कली स्टीकर टाँस भएको राहदानी प्रयोग गरेको वारदात यकिन हुन आउँदछ । प्रतिवादीले त्यसप्रकारको स्टीकर टाँस भएको राहदानी उपयोग गरेतर्फ साबित भएपनि सो स्टीकर निजले बनाएर टाँसेको नभई एजेण्टले सो कार्य गरेकोबाट नक्‍कली स्टीकर बनाउने टाँस्ने कसुरजन्य कार्यमा यी प्रतिवादी संलग्न भएको देखिन आएन । तसर्थ यी प्रतिवादीलाई मुलुकी ऐन किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५० जरिवाना हुने ठहर्छ । नक्‍कली स्टीकर बनाई सरकारी छाप दस्तखत भएको कागज किर्ते गरेतर्फ यी प्रतिवादी संलग्न भएको भनी वादी नेपाल सरकारले प्रमाणित हुने गरी प्रमाण गुजार्न नसकेकोले र सो नक्‍कली स्टीकर बनाउने टाँस गर्ने कार्यमा यी प्रतिवादीको संलग्नता यकिन हुन नआएकोले मुलुकी ऐन, किर्ते कागजको १२ नं. को थप सजाय गर्नुपर्ने हुन आएन भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट भएको फैसला ।

प्रतिवादीलाई किर्ते कागजको महलको १२ नं. बमोजिम थप सजाय हुनुपर्नेमा यी प्रतिवादीले भारतको दिल्लीमा गई नेपालको श्रम स्वीकृत टाँस गरी दिल्लीबाट नै विदेश गई फर्की आएको प्रमाण हुँदाहुँदै काठमाडौं जिल्ला अदालतबाट किर्ते श्रम स्वीकृत स्टीकर बनाउन रकम दिएको कुरा प्रतिवादीलाई थाहा जानकारी पाई सो श्रम स्टीकर टाँस गर्ने गराउने कसुर अपराध गरेको प्रमाणबाट पुष्टि भइरहेको हुँदाहुँदै पनि प्रतिवादीलाई किर्ते कागजको महलको १२ नं.बमोजिम थप सजायतर्फ दाबी नपुग्ने ठहर्‍याएको हदसम्मको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम प्रतिवादीलाई थप सजायसमेत गरिपाउँ भन्नेसमेत व्यवहारको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीका नाउँमा जारी भएको राहदानी प्रयोग गरी विदेश जानको लागि नक्‍कली श्रम स्टीकर सरकारी छाप हस्ताक्षर प्रयोग गरी सरकारी छाप दस्तखत किर्ते गरेको भन्‍ने अभियोग रहेकोमा किर्ते कागजको ९ नं. बमोजिम मात्र सजाय गरी थप सजाय नगर्ने गरेको सुरू फैसला किर्ते कागजको १२ नं. को व्याख्याको सन्दर्भमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि प्रत्यर्थी झिकाई नियमानुसार गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।

नक्‍कली स्टीकर प्रयोग गरी सरकारी छाप दस्तखत किर्ते गरेको आधारमा ९ नं. बमोजिम सजाय गरिसकेपछि ऐ.१२ नं. बमोजिम कैद नहुने भनी अर्थ गर्नु न्यायोचित हुने देखिँदैन । किर्ते कागजको १२ नं. ले सरकारी अड्‍डाको छाप वा सरकारी कर्मचारीको दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको अरू नं. ले हुने सजायमा एक वर्ष थप कैद हुन्छ भन्‍ने कानूनी व्यवस्था गरेको देखिन्छ । प्रत्यर्थी प्रतिवादीले नक्‍कली स्टीकर लगाएको राहदानी प्रयोग गरेकोमा विवाद नभई प्रमाणित भएको आधारमा किर्ते कागजको महलको ९ नं. बमोजिम सजाय भएको छ । सरकारी छाप दस्तखत भएको राहदानी जस्तो कागजमा नक्‍कली स्टीकर लागेको कुरा प्रमाणित भइरहेको अवस्थामा त्यस्तो कागज प्रयोग गर्ने प्रतिवादीले सरकारी छाप दस्तखत किर्ते नगरेको भनी किर्ते कागजको महलको १२ नं. बमोजिम सजाय नगर्ने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई निज प्रत्यर्थी शान्तिमाया तामाङलाई उक्त १२ नं. बमोजिम समेत १ वर्ष कैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट भएको फैसला ।

म प्रतिवादीले बयानको क्रममा सो राहदानी प्रयोग गरेको तथ्यसम्म स्वीकार गरे तापनि सो राहदानीमा टाँसिएको श्रम स्टीकर नक्‍कली स्टीकर थियो थिएन ? त्यसमा सरकारी छाप वा दस्तखत हुने हो वा होइन ? सो म प्रतिवादीले बनाई टाँसेको हो होइन र सो कसुरजन्य कार्यमा मेरो संलग्नता भएको देखिने अवस्था छ छैन र नक्‍कली स्टीकर बनाई टाँसी सरकारी छाप दस्तखत भएको कागज किर्ते गरेको नगरेको वा कुनै लाभ लिएको वा नलिएको सो प्रमाणद्वारा किटानीका साथ अभियोग लगाई सोअनुसार फैसला गर्नुपर्नेमा मेरो संलग्नता भएको हो भनी प्रमाणित हुने गरी वादी नेपाल सरकारले कुनै पनि प्रमाण पेस गर्न सकेको छैन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार फौजदारी मुद्धामा आफ्नो वादी दाबी प्रमाणित गर्ने भार अभियोजन पक्षमा हुन्छ । जहाँ शंका र दुविधा हुन्छ त्यस्तो अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने हाम्रो फौजदारी न्यायको सिद्धान्त विद्यमान रहेको छ । प्रस्तुत मुद्दामा मउपर लगाइएको अभियोग शंकारहित तवरले पुष्टि हुन सक्ने अवस्था छैन । काठमाडौं जिल्ला अदालतले म पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन किर्ते कागजको महलको नं. १ को कसुरमा ऐ.को ९ नं. बमोजिम रू.५०।- जरिवाना हुने ठहर्‍याई गरेको फैसला र सोलाई केही उल्टी गरी म निवेदक प्रतिवादीलाई ऐ.महलको १२ नं. बमोजिम थप १ वर्ष कैद सजायसमेत हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसलामा गम्भीर कानूनी त्रुटि भएको र सर्वोच्च अदालतबाट प्रतिपादित र स्थापित नजिरको पालनासमेत नगरेकोले उक्त फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा ३ बमोजिम दोहोर्‍याई हेरी न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी शान्तिमाया तामाङको यस अदालतमा परेको निवेदन ।

यसमा यी प्रतिवादीले प्रयोग गरेको भनेको श्रम स्टीकर यीनै प्रतिवादीले बनाएको भन्ने वस्तुनिष्ठ प्रमाणबाट समर्थित भएको देखिँदैन । प्रतिवादीले श्रम स्वीकृतिको स्टीकर निजले खडा गरेको देखिने प्रमाणको अभावमा निजलाई किर्ते कागजको १२ नं. बमोजिम थप सजायसमेत गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति २०७२।५।२९ को फैसलामा किर्ते कागजको १, ३, ९ र १२ नं. को व्याख्यात्मक त्रुटि देखिनुका अतिरिक्त प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) का आधारमा मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत व्यहोराको यस अदालतबाट भएको आदेश । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी शान्तिमाया तामाङको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री दिलकुमारी राईले प्रतिवादी शान्तिमाया तामाङ वैदेशिक रोजगारीमा जाने उद्देश्यले भारतबाट दुबई गएकोमा त्यहाँको एयरपोर्टमा पासपोर्टमा आई टेष्ट म्याच नगरेकोले फिर्ता गरेकोमा फर्केर नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले निजको पासपोर्टमा लागेको श्रम स्वीकृतिको स्टीकर नक्‍कली भएको भनी पक्राउ गरी मुद्दा चलाएको 

हो । प्रतिवादी वैदेशिक रोजगारको दलालमार्फत दुबई काम गर्नु जान लागेकाले उक्त पासपोर्टमा श्रम विभागको स्टीकर लगाउने, भिसा लगाउने लगायतका सबै काम ती दलालले नै गरेका थिए । यी प्रतिवादी सो स्टीकर बनाउन तथा लगाउने कार्यमा सरिक भएकी 

होइनन् । निज उक्त स्टीकर लगाएको पासपोर्ट बोकेको मात्र हो । कुनै अपराध गरेबापत सजाय गर्दा त्यसमा प्रतिवादीको सहभागितालाई आधार बनाइनु 

पर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादीलाई गरिएको सजायको अपराधमा निजको सहभागिता नरहेकोले न्यायको रोहमा पुनरावेदन अदालतको फैसला मिलेको छैन । उल्टी गरी प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिइयोस भनी बहस प्रस्तुत गर्नुभयो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मीले यी प्रतिवादीसमेतले आफ्नो पासपोर्टमा श्रम विभागको नक्‍कली स्टीकर लगाई दुबईसम्म गई फर्के आएको अवस्थामा पक्राउ परेको देखिएकोले निजले सो नक्‍कली स्टीकरको फाइदा लिएको हुँदा अभियोग मागदाबीबमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसला कानूनसम्मत हुँदा सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ, छैन? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी शान्तिमाया तामाङले विदेश जाने प्रयोजनको लागि नक्‍कली श्रम स्टीकर सरकारी छाप र हस्ताक्षर प्रयोग गरी सरकारी छाप दस्तखत किर्ते गरेकोले निजउपर मुलुकी ऐन, किर्ते कागजको महलको १,९,१२ नं. बमोजिमको कसुरमा ऐ महलको ९ र १२ नं. को सजायको मागदाबी लिइएको अभियोग पत्र दायर भएको 

रहेछ । निज प्रतिवादीले अदालतसमक्ष बयान गर्दा सो श्रम स्टीकर बनाई प्रयोग गरेको होइन, एजेण्टले बनाई दिएको स्टीकर प्रयोग भएको रहेछ । भनी स्टीकर प्रयोग भएको कुरा स्वीकार गरी बयान गरेको 

देखिन्छ । काठमाडौं जिल्ला अदालतबाट किर्ते कागजको ९ नं. बमोजिम रू.५०।- जरिवाना गरी सरकारी छाप दस्तखत किर्ते गरेको आरोपबाट सफाई दिएकोमा पुनरावेदन अदालतबाट सो फैसला केही उल्टी भई किर्ते कागजको १२ नं. बमोजिम थप १ वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोमा सोउपर प्रतिवादीको यस अदालतमा दोहोर्‍याई पाउन निवेदन परी निस्सा भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेस हुन आएको देखियो ।

३. प्रतिवादी शान्तिमाया तामाङ दिल्लीबाट दुबई जाँदा दुबई एयरपोर्टबाट निजलाई इन्ट्री रिफ्युज गरी फर्काइएकोमा प्रतिवादी फर्केर नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयलाई निजको पासपोर्टमा टाँसिएको श्रम स्टीकरमा शंका लागेको अवस्थामा प्रस्तुत मुद्दाको अनुसन्धान कार्य प्रारम्भ भएको छ । अनुसन्धानको क्रममा निज प्रतिवादीको पासपोर्टमा लागेको उक्त स्टीकरको सम्बन्धमा वैदेशिक रोजगार विभागमा बुझ्दा यी प्रतिवादी शान्तिमाया तामाङको राहदानी नं. ०५७-५०३९९ मा टाँसिएको श्रम स्वीकृति निस्सा (स्टीकर) वैदेशिक रोजगार विभागबाट जारी नभएको भनी वैदेशिक रोजगार विभागको मिति २०७०।६।२३ को मिसिल संलग्न पत्रबाट देखिन्छ । पुनरावेदक प्रतिवादी शान्तिमाया तामाङले ऐजेण्टले नक्‍कली स्टीकर टाँसेर दिएको पासपोर्ट निजबाट प्रयोग भएको कुरालाई स्वीकार गरेर अनुसन्धानको क्रममा एवं अदालतसमक्ष बयान गरेबाट निजको पासपोर्टमा टाँस भएको स्टीकर नक्‍कली भएको तथ्यमा विवाद भएन । 

४. अब उक्त कार्यमा प्रतिवादीको संलग्नता छ छैन भन्ने सन्दर्भमा हेर्दा, यी प्रतिवादीले अनुसन्धानको क्रममा एवं अदालतमा बयान गर्दा दिल्लीमा एक जना मानिसले श्रम स्टीकर लगाउन नेपाल जानु पर्दैन यहीँबाट हुन्छ भनेकोले भा. रू.१७,०००।- र पासपोर्ट दिएको र निजले नै सो स्टीकर पासपोर्टमा लगाई ल्याएको हो भनी उल्लेख गराएको 

देखिन्छ ।  फौजदारी मुद्दामा कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक आरोप प्रमाणित गर्ने भार वादी पक्षमा 

रहन्छ । प्रमाण ऐन, २०३१ का दफा २५ मा "फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने" भनी कानून व्यवस्था रहेको देखिएकोले समेत प्रस्तुत मुद्दामा यी प्रतिवादीले आरोपित कसुर गरेको कुरा प्रमाणित गर्ने भार वादी पक्षमा रहेको देखियो तर वादी पक्षबाट यी प्रतिवादीले सो स्टीकर बनाएको वा बनाउनमा निजको संलग्नता रहेको कुरा पुष्टि गर्ने कुनै प्रमाण पेस भएको देखिँदैन । सो स्टीकर यी प्रतिवादी आफैँले बनाएको वा सो बनाउनमा निजको कुनै तवरले संलग्नता रहेको छ भन्‍ने दाबी वादी पक्षले लिन सकेको नदेखिनुका साथै सो कुरालाई समर्थन गर्ने कुनै प्रमाण मिसिल संलग्न रहेको देखिँदैन । यहाँ वादी पक्षले प्रस्तुत वारदातको प्रतिवेदकलाई समेत अदालतमा बकपत्र गर्न उपस्थित गराउन सकेको देखिँदैन । यसबाट वादीले प्रतिवादीको कसुर प्रमाणित गर्ने दायित्व पूरा गर्न सकेको देखिन आएन ।

५. कुनै पनि कार्य अपराध हुनको लागि सो कार्य गर्ने व्यक्तिले मनसायसहित सो कार्य गरेको 

हुनुपर्दछ । मुलुकी ऐन किर्ते कागजको १२ नं. बमोजिम सजाय हुनको लागि सो नम्बरमा उल्लिखित कार्य आरोपीले गरेकै देखिनु पर्दछ । किर्ते कागजको महलको १२ नं. मा "सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको अरू नम्बरले हुने सजायमा एक वर्ष र उसै अड्डाको कर्मचारीले किर्ते गरेमा दुई वर्ष थप कैद हुन्छ ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो व्यवस्थाअनुसार कुनै व्यक्तिले सरकारी अड्डाको छाप वा सरकारी कर्माचारीको छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्ने कार्य गरेको हुनु पर्दछ । उक्त नं. बमोजिम सजाय गर्नलाई आरोपित व्यक्तिले सोअनुसारको कसुर गरेकै हुनुपर्दछ । प्रस्तुत वारदातमा यी प्रतिवादी शान्तिमाया तामाङले निजको पासपोर्टमा टाँस भएको श्रम स्वीकृतिको नक्‍कली स्टीकर आफैँ बनाई टाँस गरेको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिँदैन । अपराधिक कार्यमा संलग्न व्यक्तिले मनसायसहित गरेको कार्यको दायित्व मात्र निजले बहन गर्नुपर्दछ भन्ने कुरामा विवाद हुन सक्दैन । फौजदारी मुद्दामा कुनै व्यक्तिले आफूले गरेको कार्यको मात्र दायित्व बहन गर्नुपर्ने भएकोले निजले गरेको कार्य प्रमाणबाट शंकारहित तवरले पुष्टि हुन आएको अवस्थामा मात्र सो कार्यको लागि कानूनमा तोकिएको सजाय निजले भोग्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज प्रमाण हेर्दा किर्ते भनिएको स्टीकर बनाउने कार्यमा यी प्रतिवादीको संलग्नता रहेको तथ्यको पुष्ट्याई साक्षी प्रमाणबाट वादी पक्षले गराउन सकेको देखिएन ।

६. प्रमाण ऐन, २०३१ को दफा २५ ले दाबी प्रमाणित गर्ने भार वादी पक्षमा निहित गरेकोमा साक्षी प्रमाण पेस गरी दाबी प्रमाणित गराउनुको सट्टा प्रतिवादी लाभकर्ता भएको कारणबाट कसुरदार रहेको भन्ने जिकिर प्रत्यक्षतः प्रमाणित नभएको अवस्थामा लाभकर्ता भएको कारणले गर्दै नगरेको अपराधको दण्डको भागी बनाउन न्यायको रोहमा उचित हुन सक्दैन । फौजदारी मुद्दामा शंकाको सुविधा अभियुक्तले पाउने भनी फौजदारी कानूनको सर्वमान्य सिद्धान्त रहिआएको छ । प्रस्तुत मुद्दामा प्रतिवादीले कुनै कसुर गरेको प्रमाणित हुने कुनै विश्‍वसनीय सबुद प्रमाण नभएको अवस्थामा निजबाट बरामद भएको पासपोर्टमा श्रम विभागको नक्‍कली स्टीकर टाँस भएको आधारमा मात्र उक्त स्टीकर निजले नै बनाई टाँस गरेको हो भनी शंका र अनुमानको भरमा निजलाई कसुरदार ठहर गर्न मिल्दैन । यी प्रतिवादी वैदेशिक रोजगारको लागि दुबई जान भनी दिल्लीबाट हवाइजहाजमा जाँदा दुबईको विमानस्थलबाट फिर्ता हुनु परेको देखिन्छ । सो कार्यमा निजको लाखौं रूपैयाँ खर्च भएको देखिन्छ तर निजको उद्देश्यअनुसार वैदेशिक रोजगारी प्राप्त गर्ने कार्य भएको देखिँदैन । जसबाट निजको लगानिको रकमसमेत डुबेको देखिन्छ । यसको मूल कारण निजको पासपोर्टमा टाँस भएको नक्‍कली स्टीकर नै रहेको छ । यसरी हेर्दा निज प्रतिवादी आफैँ पनि उक्त नक्‍कली स्टीकर बनाउने कार्यबाट पीडित भएको देखिएको अवस्थामा सो नक्‍कली स्टीकरबाट यी प्रतिवादीले लाभ लिएको भनी अभियोग दाबीसँग सहमत हुने अवस्था रहँदैन । प्रतिवादी शान्तिमाया तामाङलाई आरोपित कसुरबाट सफाई दिनुपर्नेमा कसुरदार ठहर गरी किर्ते कागजको महलको ९ नं. बमोजिम सजाय गरेको जिल्ला अदालतको फैसला केही उल्टी गरी ऐजन महलको ९ र १० नं. बमोजिम १ वर्ष कैद सजाय गरेको पुनरावेदन अदालत, पाटनको फैसला कायम रहनसक्ने देखिएन ।

७. तसर्थ, माथि विवेचित आधार, कारण एवं प्रमाणबाट प्रतिवादी शान्तिमाया तामाङलाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ नं. बमोजिम रू.५०।- जरिवाना हुने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी ऐजन महलको १२ नं. बमोजिम थप १ वर्ष कैद सजाय हुने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट मिति २०७२।५।२९ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई पुनरावेदक प्रतिवादी शान्तिमाया तामाङले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा पुनरावेदन अदालतको फैसला उल्टी भई प्रतिवादी शान्तिमाया तामाङले आरोपित कसुरबाट सफाई पाउने ठहरी फैसला भएकोले काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।१०।२० मा भएको फैसलाको तपसिल खण्डको १ नं. र पुनरावेदन अदालत, पाटनबाट मिति २०७२।५।२९ मा भएको फैसलाबमोजिमको लगत कट्टा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू -------१

प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाई दिनू -------------------------------२

 

उक्त रायमा सहमत छु ।

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृतः रामु शर्मा

इति संवत् २०७४ साल असोज २५ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु