निर्णय नं. ४५७६ - लिखत दर्ता बदर

निर्णय नं. ४५७६ ने.का.प. २०४९ (ख) अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्वत् २०४६ सालको दे.पु.नं.५०६
फैसला भएको मिति: २०४९।४।११।१ मा
पुनरावेदक/प्रतिवादी: मोरङ विराटनगर न.पं. वा.नं.५ बस्ने फणिन्द्र कुमार खड्का
विरुद्ध
वादी: विराटनगर न.पं. वा.नं.६ बस्ने अर्जनु भन्ने चेतेन्द्रबहादुर खड्कासमेत
मुद्दा : लिखत दर्ता बदर
(१) अंश हक जस्तो नैसर्गिक हकलाई कानुनतः प्रचलन या उपयोग गर्न नसक्ने नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पू.क्षे.अ.को फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(७) तथा १३(५)(ख)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. पिता योगेन्द्रबहादुर खड्का भन्ने गोपालकृष्ण खड्काको २ पत्नीमा स्व. जेठी पत्नीबाट हामी फिरादीहरु २ भाइ र जीवित कान्छी पत्नी पवित्रा देवी तर्फको जेठा लिलाबहादुर, माहिला विपक्षी फणिन्द्रकुमार, साहिला दिपककुमार, काहिला राजेश तथा कान्छा विमलकुमार समेत (९) नौ जना अंशियारमा घरसारमा मिति २०४०।९।१० मा अंशबण्डा लिखत गरी २०४०।९।१२ मा मा.पो.का. मोरङबाट रजिष्ट्रेशन पास गराएको उक्त लिखतमा “म बाचुन्जेल मेरो खुशी गरी र शेष पछि बाँकी सबै भाइ छोराहरुले बण्डा गरी खाने” भनी बुबाले लेखि दिनु भएको २०४३।१०।९ गते बुबा परलोक हुनु भएपछि निजको जग्गाहरु खोज्दा ०४३।२।१९ को पारीत शेष पछिको बकसपत्र लिखतको आधारमा बुबाको नामको जग्गा विपक्षीहरुले नामसारी गराएको थाहा पाई ०४३।११।५ गते उक्त बकसपत्रको नक्कल प्राप्त गरी हेर्दा मोरंग जिल्ला कंचनवारी गा.पं. वडा नं.८ को कि.नं.३९१ को ०–३–६, सुन्सरी जि. रामगन्ज बेल गाछिया गा.पं. वडा नं.४(क) को कि.नं.१११ को १–६–७, वडा नं.४(ख) को कि.नं.४० को ०–१–१४, कि.नं.४३ को ०–१–४ कि.नं.४१ को ०–१–१० वडा नं.६(क) को कि.नं.२२१ को १–०–०, कि.नं.२४१ को ०–७–० समेत जम्मा ३–१–१ जग्गाको बकसपत्र पारीत गराएको देखिन आयो । उक्त जग्गामा हामी अंशियारहरुको ७ बण्डा लाग्ने हुनाले सो हिसाबले हामी फिरादीहरुको २ बण्डा भागमा हुने जग्गा बिगाहा ०–१७–८ को लिखत बदर गरी दर्ता समेत बदर गरी हाम्रो नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेत फिरादपत्र ।
३. हामी वादी प्रतिवादीहरु समेत ०४०।९।१०।१ को बण्डा पत्र बमोजिम अंश बण्डा गरी आ–आफ्नो अंश भाग लिई पिता म समेतका मेरा सगोलका भाइहरुसंग साथ बस्नु भएको र विपक्षी दाजुहरु अलग बस्नु भएको अवस्थामा पिताजी बिरामी भएको अवस्थामा मैले स्याहार सम्हार गरी रिझाएकोले पिताले आफ्नो अंश भागमा परेको सम्पत्ति मलाई शेष पछिको बकसपत्र पारीत गरी दिनु भएको, दान बक्सको १ नं.बमोजिम पिताजीले आफू खुस गर्न पाउने सम्पत्ति हुँदा लिखत र दर्ता बदर हुनुपर्ने होइन भन्नेसमेत प्र.फणिन्द्र कुमार खड्काको प्रतिउत्तरपत्र ।
४. यसमा वादी दावीको जग्गा मध्ये कि.नं.३९१ को ०–३–६ जग्गासम्म अंशबण्डाबाट वादी प्रतिवादीका पिताका भागमा परेको र शेष पछि बाँकी रहे सबै भाइ छोराले बाँडी खानु भनी लेखेकोबाट ७ भागको २ भाग जग्गाको सम्म शेष पछिको लिखत र दर्ता बदर भई वादीका नाउँमा दर्ता कायम हुने ठहर्छ । सो बाहेक अरु जग्गा शेष पछि सबैले बाँडी खाने भन्ने बण्डा पत्रमा उल्लेख नहुँदा अरुमा वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत मो.जि.अ.को ०४४।५।२४।४ को फैसला ।
५. मोरंग जि.अ.को फैसलामा चित्त बुझेन उल्टाई पाउँ भन्ने समेत प्रतिवादी फणिन्द्र कुमार खड्काको कोशी अं.अ.मा परेको पुनरावेदनपत्र ।
६. गोपाल कृष्णको मृत्यु पश्चात प्रतिवादीले पाएको शेषपछिको बकसपत्रबाट प्रतिवादीको हक सृजना हुनु भन्दा पहिले नै शेष पछि सबै भाइ छोराले बराबर खान पाउने भन्ने बण्डापत्रमा उल्लेख वाक्यांश अनुसार स्थापित हकाधिकारलाई पछिको शेष पछिको बकसपत्रले निष्कृय गराउन सक्ने अवस्था नहुँदा शुरुको फैसला मनासिब ठहर्छ भन्ने समेत कोशी अं.अ.को मिति २०४५।१।३०।५ को फैसला ।
७. शुरु जि.अ.को फैसला सदर गरेको कोशी अं.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी फणिन्द्र कुमार खड्काको पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
८. को.अं.अ.को फैसलामा कानुनको व्याख्या सम्बन्धी त्रुटि देखिंदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४)(ख) बमोजिम पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ, भन्ने समेत पू.क्षे.अ.को ०४५।४।२१ को आदेश ।
९. कि.नं.३९१ को जग्गा मध्येबाट वादीको हक जति ७ खण्डको २ खण्ड लिखत बदर भई प्रतिवादीको नामको दर्ता समेत बदर हुने ठहर्याएको शुरुको इन्साफ सदर गरेको कोशी अं.अ.को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ भन्ने समेत पू.क्षे.अ.को मिति २०४६।३।२०।३ को फैसला ।
१०. पू.क्षे.अ.को फैसलामा कानुनको व्याख्याको प्रश्नमा त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी फणिन्द्रकुमार खड्काको यस अदालतमा परेको निवेदनपत्र ।
११. मोरंग जि.अ.को फैसला मनासिब ठहर्याएको कोशी अं.अ.को फैसला सदर गरेको पू.क्षे.अ.को फैसलामा दान बकसको १ र ५ नं.को व्याख्यात्मक त्रुटि विद्यमान देखिंदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १५(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ, भन्ने समेत यस अदालतको मिति २०४६।७।१०।५ को आदेश ।
१२. नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले वादी प्रतिवादीहरु समेत बीच २०४०।९।१२ मा भएको बण्डा पत्रमा शेष पछि बाँकी रहेको सबै भाइ छोराले बाँडी खाने भन्ने उल्लेख भएको, गोपालकृष्ण जीवित छँदै निजले आफ्नो हकको जग्गा शेष पछिको बकसपत्र गरिदिएकोमा प्रस्तुत मुद्दा परेको हो । सर्वोच्च अदालतबाट समतुलिया देवी कनुआइनु वि. महेश्वर साह कानू समेतको मुद्दामा पास भएको अंशबण्डाको लिखतमा बन्देज लगाएको भए पनि त्यो वैध नहुने भन्ने सिद्धान्त प्रतिपादन भइरहेको छ । प्रस्तुत मुद्दामा उक्त अंशबण्डाको लिखतमा नै बाचुन्जेल मेरो खुसी गरी र शेष पछि बाँकी रहेको सबै भाइ छोराहरुले बण्डा गरी खानु भनी उल्लेख गरेको हुँदा बाँची रहेकै अवस्थामा शेष पछिको बकसपत्र गरी दिएको सदरै हुनुपर्दछ भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नु भयो ।
१३. प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्रीहरी अर्यालले शेष पछि सबैको हक लाग्ने धनी बण्डापत्र गरी दिई सकेपछि शेष पछि एक जनाले मात्र खान पाउने गरी शेष पछिको बकसपत्र गरी दिएको नमिलेको हुँदा बदर गरी दिएको तह तह अदालतबाट भएको फैसला न्यायसंगत नै छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. यस्मा वादी प्रतिवादीका पिता गोपाल कृष्ण खड्काले अंश बण्डाबाट प्राप्त गरेको कि.नं.३९१ को जग्गाको हकमा निजले प्रतिवादीलाई पारीत गरी दिएको शेष पछिको बकसपत्र ७ भाग को २ भाग बदर गरी निजको नामको दर्ता समेत बदर गर्ने ठहर्याएको मोरंग जि.अ.को फैसला सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१५. यसमा वादी प्रतिवादी एका सगोलका अंशियार रहे भएको र वादी दावीको जग्गा पिता गोपाल कृष्ण खड्काको अंश भागमा परेकोमा विवाद देखिएन । गोपालकृष्ण खड्काले मिति २०४३।२।१९ मा फणिन्द्रकुमार खड्कालाई गरी दिएको शेष पछिको बकसपत्रमा उल्लेखित कित्ता जग्गाहरु मध्ये केवल कि.नं.३९१ को जग्गाको ७ खण्डको २ खण्ड सम्मको लिखत बदर हुने अन्य यथावत रहने गरी भएको फैसला उपर वादी पक्षबाट पुनरावेदन परेको देखिन आएकोले बकसपत्रबाट फणिन्द्रकुमारको हक हुन आएको अन्य कित्ताको जग्गाको लिखतको सम्बन्धमा केही विचार गर्न परेन ।
१६. गोपाल कृष्णले फणिन्द्र कुमारलाई शेष पछिको बकसपत्र गरी हक छाडी दिएको जग्गा मध्ये कि.नं.३९१ को जग्गा पनि, गोपालकृष्णको अंश हकको नै देखिन आएको, यसमा वादी पक्षको अन्यथा जिकिर पनि नरहेको, आफ्नो अंश हकको जग्गा नै गोपाल कृष्णले हक हस्तान्तरण गरेको देखिंदा आफ्नो हकको अंश हक जति आफू खुस गर्न पाउँछ भनी अंश बण्डाको १९(४) मा कानुनी व्यवस्था गरेको अंश हक जस्तो नैसर्गिक हकलाई कानुनतः प्रचलन या उपयोग गर्न नसक्ने नपाउने भन्न मान्न मिल्ने नहुँदा गोपालकृष्णले आफ्नो अंश हकको कि.नं.३९१ को जग्गा फणिन्द्र कुमारलाई शेष पछिको बकसपत्र गरी दिएको देखिंदा कि.नं.३९१ को हकमा ७ खण्डको २ खण्ड सम्मको मिति २०४३।२।१९ को शेष पछिको बकसपत्रको लिखत बदर हुने ठहर्याएको मोरंग जिल्ला अदालतको फैसलालाई सदर गरेको कोशी अञ्चल अदालत र पू.क्षे.अ.को निर्णय समेत सो हदसम्म कानुनी त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
इन्साफ खण्डमा लेखिए बमोजिम मोरंग जिल्ला अदालतको मिति २०४४।५।२४ को फैसला अनुसार कायम भएको लगत कट्टा गरी दिनु भनी सम्बन्धित अदालतमा लेखि पठाउन का.जि.अ.त. मा लगत दिनु ...१, वादी दावीको कि.नं.३९१ को जग्गामा समेत वादीको हक पुग्न सक्ने नभई लिखत बदर नहुने ठहर भएकोले इन्साफ खण्डमा लेखिए बमोजिम सो हदसम्म ७ खण्डको २ खण्ड लिखत बदर नहुने हुँदा व्यहोरा जनाई मोरंग जि.अ.मा लगत दिन का.जि.अ.मा लेखि पठाउनु ...२ कोर्टफीको हकमा इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरकोले ऐन अनुसार गर्नु भनी सम्बन्धित अदालतमा लगत दिन का.जि.अ.मा लेखि पठाउनु ...३, मिसिल नियमानुसार गरी बुझाई दिनु ...४
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इतिसम्वत् २०४९ साल श्रावण ११ गते रोज १ शुभम् ।