शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८१० - कर्तव्य ज्यान

भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११

निर्णय नं. १८१०     ने.का.प. २०४० अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको फौ.पु.नं. ३७२

सम्वत् २०३९ सालको फौ.सा.नं. ६९

फैसला भएको मिति : २०४०।११।१२।६ मा

पुनरावेदक/वादी : प्रहरी पदमकुमारको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : बाँके भगवानपुर गा.पं.वडा नं.४ बस्ने मुन्ना अहिर समेत

मुद्दा : कर्तव्य ज्यान

(१)                कर्तव्य गरी मार्नमा सहयोग गरेको भन्ने कुरा किटानी साथ लेखाउन नसकेबाट कुनै कुराबाट कर्तव्य गरी मार्नमा सहयोग पुर्‍याएको भन्ने कुरा देखिन आउँदैन ।

(प्रकरण नं. २२)

फैसला

न्या.बासुदेव शर्मा

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३९।२।१० गतेको फैसला मिलेको नहुँदा प्र.मुन्ना अहिरको हकमा उक्त फैसला बदर गरिपाउँ भन्ने श्री ५ को सरकारतर्फको पुनरावेदनपत्र र मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाँचको लागि प्राप्त हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

२.    भगवानपुर गा.पं.वार्ड नं.४ दोदरा गाउँमा एउटी आइमाई झुण्डी मरेकी छ भनी काशीराम तिवारी ऐ.गा.पं.का प्रधानपञ्च रामचन्द्र उपप्रधानपञ्च समेत यस थानामा आई मौखिक प्रतिवेदन गरेको थानाबाट मलाई खटाई पठाएकोमा घटनास्थलमा पुगी हेर्दा होली अहिरको जेठी स्वास्नी फूलमती अहिरनी घाँटीमा पासो लगाई खटीयामा मरेकी देखिएकोमा कानुनी कारवाही गरिपाउँ भन्ने प्रहरी पदमकुमारको प्रतिवेदन रहेछ ।

३.    ससुरा बुहारीको झगडा भएको हो के कारणले झगडा भएको मलाई थाहा छैन लोग्ने र ससुरा फूलमतीसँग झगडा गरी बस्थे सो रात ससुराले मेरो घरबाट निक्लीजा म कहाँ बस्न पर्दैन भन्दै थिए बुहारीले मेरो घर हो हिस्सा छुट्याई देउ म जान्छु भनेकोमा निजको समान तत्कालिन लगाएको हसुली माग्दै थिए बुहारीले नदिने कुरा गर्दै थिइन भोलि बिहान मुन्ना अहिरले मेरो बुहारी झुण्डी मर्‍यो भनेकोले म गई हेरे फूलमतीको घाँटीमा डोरीले बाँधी फुसको छानोको कोरामा सोही डोरीको अर्को टुप्पा माथि झुण्डी मरेको थाहा पायौं मृतकको घाँटीमा हसुली हेर्दा थिएन कसले कुन समयमा झिक्यो मलाई थाहा छैन भन्ने महावीर अहिरको प्रहरी थाना भगवानपुरमा भएको कागज रहेछ ।

४.    फूलमति झुण्डी मर्ने रात हामी सबै खटीयामा थियौं गर्मीले गर्दा एकै ठाउँमा बसी कुराकानी गरिरहेका थियौं अं.राति ९ बजे होली अहिरले खाना खान घर जान्छु भनी गएको हामीहरू खाना खाइरहेको हुँदा खलियानमा थिए रात अं.११ बजे होली खानालाई खलियानमा फिर्ता आएको हामी सुती हाल्यौं भोलिपल्ट बिहान उठी आफ्नो काम गर्दा होलीलाई देख्यौं दुबर अहिर जंगलमै रहेको अवस्था होलीको खलिहानमा गई होली सुती रहेको छस् तेरो स्वास्नी घरमा झुण्डी मरेको छ भनेकोले हामीले सुनेको हो केही समय पछि एकजना प्रहरी आई निजलाई साथमा लिई गाउँतर्फ गएको हो भन्ने समेत चिल्लर अहिरले प्रहरीमा गरेको कागज रहेछ ।

५.    बालकृष्ण जोशीले सो ठाउँमा जाँदा मृतकको सासू परछता अहिरनीले धब्बा खुनवाला लिपी पोती दिएको रहेछ खुनका धब्बा मेट्ने सहित खुर्की प्रहरीले आफ्नो कब्जामा लिएको हाम्रो मञ्जूरी छ भन्ने परछता अहिरनीको कागज रहेछ ।

६.    २०३७ सालमा बैशाख १५ गते गाउँको उत्तर खलिहानमा मैले अरहर पिटी रहेको त्यहाँ गई फूलमतीले मेरो हिस्सा दे भनी कराई रहेकोमा तिमी अहिले घर जाउ अरहर पिटी गल्ला जम्मा भएपछि गरौला भन्दा नमानी साह्रै ढिपी गरी रहेकीले मलाई रिस उठी मेरो हातमा रहेको लठ्ठीले ५।६ चोट अंग जीउमा हिर्काएकोले त्यसबेला भाइ नाता पर्ने चिल्लर नरेश भन्साउदिन समेतका मानिसले बीच घेराउ गरी दिएकोले छाडेको थिएँ ऐ.१६ गते सासू घर फर्की आई बाबु मुन्नासँग हिस्सा दे भनी गाली गलोज गरी रहेकी थिइन म पुग्दा यसलाई मारी दिनु पर्छ, तब मात्र झगडा हल्ला हुँदैन भनी खानपिन गरी खलिहानमा गई रातको अं.१०,११ बजेको हुँदो हो म घरमा पुगे पछि मेरो कान्छी स्वास्नी कानी अहिर भन्ने पनि आफ्नो खाटमा सुतेकी फूलमतीको खुट्टा कान्छीले समातिन मैले उसको छातीमा चढी लातले हात दबाई दुबै हातले घाँटीको रूद्रघण्टी दबाई दिएँ निज खटीयामा सुतेकी थिइन कराउने मौका पाइनन् दवाव गर्दा एकछिन छटपटाएकी थिइन बोल्न नपाउँदै मरी नजिकै चिल्लार अहिर र नन्का अहिरले पनि थाहा पाइसकेकोले मैले सोही ठाउँमा बोलाई के गर्ने भनी भन्दा चिल्लरले कसलाई घाँटीमा डोरी बाँधी माथि लट्काई दिनुपर्छ पासो लगाई हत्या गरेको जस्तो देखाएपछि बाचिन्छ भनेकोले डोरीले निजको घाँटीमा बाँधी पछ्यौराको कोरोमै अर्कासित बाँधी दिएका थियौं काममा चिल्लर नन्का समेतले मद्दत गरेको हुन लास उठाउन नसकेको हो हडबडीले गई खटीयामा नै रहन गएको हो म आफ्नो खलिहानमा सुते ०३७ साल बैशाख १७ गते गुहु अहिरले उठाएकोले घरमा फूलमती मरेको खबर भनेकोले घरमा आएँ सो घटना गर्ने गराउनेमा मेरो आमा बाबुको सहमति थिएन निजहरूले भनेको पनि थिएनन् भन्ने समेत व्यहोराको प्र.होलीले प्रहरीमा गरेको कागज रहेछ ।

७.    ०३७ साल बैशाख १३ गते राति सौता फूलमती ससुरा मुन्ना अहिर लोग्ने होली अहिरको झगडा भएको हो अं.राति १०,११ बजेको समयमा लोग्ने होली अहिरले तेरो सौता सुतेको खटीयामा गई फूलमतीको घाँटी अठ्याएको र मैले सौताको खुट्टा समाती मारेको हो फूलमतीलाई ससुरा मुन्नाले घाँटीमा च्यापेर चिल्लरले दुबै हात दबाई मारेको हो चिल्लरले डोरी बाँधी दिएका हुन भन्ने समेत व्यहोराको कानी अहिरनीको प्रहरीमा भएको कागज रहेछ ।

८.    ०३७ साल बैशाख महीना हो गते बार थाहा छैन ७, ८ दिन जति भयो होली र मेरी जेठी बुहारीको बीच झैझगडा भई छोराले २।४ चोट पैनाले र हातले हानेको थाहापाएको हुँ म बाहिर आँगनमा सुते मेरो स्वास्नी घरको मोहरीनिर सुतेकी थिइन बुहारी फूलमती पहिला सुत्ने गरेको ठाउँमा सुतेको थिइन छोरा होली खाना खानलाई खलिहानमा आएका हुन् खाना खाई खलिहानतर्फ गएको देखेको हुँ राति आए नआएको थाहा छैन बिहान मेरो स्वास्नी परछटा अहिरनीले मलाई बोलाई हेर बुहारी फूलमतीले फाँसी लगाएर मरिछ भनेकीले हेर्न जाँदा लास प्रकृतिमा उल्लेख भएबमोजिम देखेको हुँ होली र बुहारी कानीको सहमत भएको मलाई पूरा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मुन्ना अहिरले गरेको कागज रहेछ ।

९.    फूलमति मर्नु भन्दा एक दिन अघि साँझको बेला खलिहानमा निजले लठ्ठीले पिटेको थिए त्यस बखत बीच बचाउ गर्दा निजसँग मेरो बोलचाल बन्द थियो निज होली अहिरले लेखाए अनुसार फूलमतीलाई मार्नु मराउनुमा मेरो सहमति थिएन घटनाको दिन रातको बेलामा पनि खलिहानमै थिए ०३७।१।२२ गतेको बयानबाट खुलेकै छ । होलीले स्वयम् फूलमतीलाई मारी झुण्ड्याएको घाँटीमा अठ्याएको हुनुपर्छ । रिसले मलाई फकाउने प्रयास गरे भन्ने समेतको मुन्ना अहिरको प्रहरीमा भएको कागज रहेछ ।

१०.    कर्तव्य गरी फूलमती अहिरनीलाई मारेमा निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको नं.१३(३) बमोजिमको अपराध गर्नेमा होली अहिर भएको हुँदा निजलाई सोही बमोजिम सजाय हुने र खुट्टा समाउने मुन्ना अहिर कानो अहिरनीलाई सोही ऐनको १३ को (४) बमोजिम अपराध गरेको हुँदा निजहरू जना २ लाई सोही ऐन बमोजिम सजाय हुने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

११.    मैले सौता फूलमतीलाई कर्तव्य गरी मारे मराएको होइन मैले खुट्टा समाती मारेको भनी कुरा गरेको होइन प्रहरीले कुटपिट गरेबाट डरले भनेको हुँ ससुरा मुन्ना अहिर हुन् निजको र अरू कसैको सहमति थिएन । अरू को के भई मारी मराएका हुन् मैले नदेखेकोले थाहा छैन लाठी डोरी समेतको सामान हामै्र घरबाट बरामद गरी ल्याएका हुन् निजलाई कर्तव्य गरी मारेको वा कसरी लगाई मारेको हो म भन्न सक्दिन भन्ने प्र.कानी अहिरनीको अदालतमा भएको बयान रहेछ ।

१२.   ०३७ साल बैशाख १५ गते खलिहानमा गई झगडा गरेकोले ५।६ चोट कुटेको पनि हो चिल्ला समेतका मानिसहरू बीच घेराउ गरी दिएको र भोलिपल्ट बाबुसँग हिस्सा देउ भनी गाली गलोज गरिरहेको मसँग भनी झगडा गर्न लागेकोले मारी दिनुपर्‍यो भनी रात १०,११ बजे घर पुगे गाउँले सुतेका थिए कान्छी स्वास्नी कानी पनि आई खाटमा सुतेकी फूलमतीको खुट्टा कान्छीले समाती मैले उसको छातीमा चढी लातले दुबै हात दबाई हातले घाँटीको रूद्रघण्टी दबाई दिएँ एकछिन पछि छटपटाई बोल्न नपाउँदै मरी शान्त भएकी थिई त्यसपछि फाँसी लगाई मरेकी भन्नलाई डोरीले निजको घाँटीमा बाँधी घरको छपराको कोरामा डोरी बाँधी दिने म खलिहानमा गएको सो घटना गर्नेमा म र कान्छी स्वास्नी कानी बसेका अरू कोही सहमति थिएन भन्ने समेत व्यहोराको प्र.होली अहिरको अदालतमा भएको बयान रहेछ ।

१३.   बुहारीको घाँटीमा डोरीले बाँधी घरको कोरोमा डोरी बाँधेको थियो फूलमती कसरी लागेको देखेको हुँ मारे मराएको मैले नदेखेकोले थाहा छैन भन्ने समेत मुन्ना अहिरको अदालतमा बयान भएको रहेछ ।

१४.   होलीको जेठी स्वास्नी मारे मराएमा प्र.मुन्नाको सहमति छैन भन्ने समेत मुन्ना अहिरको साक्षीको बकपत्र रहेछ ।

१५.   कर्तव्यबाट फूलमतीको मृत्यु भएको देखिन्छ प्र.होली अहिरले भने फूलमतीलाई बराबर झगडा गर्ने र घाँटीको रूद्रघण्टीमा दबाई मारेको कुरा प्रहरी र अदालतमा समेत स्वीकार गरेको देखिएबाट प्र.कानी अहिरनीले होली अहिरलाई फूलमतीको खुट्टा समाती मार्न सहयोग गरी दिएकै ठहर्छ प्र.होली अहिरलाई ज्यानसम्बन्धीको १३(३) नं.ले सर्वस्वसहित जन्मकैद हुन्छ । प्र.कानी अहिरनीलाई ज्यानसम्बन्धीको १३(४) ले जन्मकैद हुन्छ । प्र.मुन्ना अहिर अपराधमा सम्मिलित भएको नठहरी सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको बाँके जिल्ला अदालतको फैसला रहेछ ।

१६.    प्र.मुन्ना अहिरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुनुपर्ने भन्ने श्री ५ को सरकारतर्फबाट परेको पुनरावेदनपत्र रहेछ ।

१७.   प्र.होली अहिरलाई ज्यानसम्बन्धीको १३(३) र प्र.कानी अहिरनीलाई ज्यानसम्बन्धीको १३(४) बमोजिम सजाय गरेको मनासिव देखियो । होली अहिरले फूलमतीको घाँटी अठ्याएको र मैले सौताको खुट्टा समाती मारेको हो भनी बयान गरेकोबाट होली अहिरले घाँटी अँठ्याई सकेको अवस्थामा मुन्ना अहिरलाई घाँटी च्यापेको भन्ने कुरा पत्यारलायक देखिँदैन यदि घाँटी च्यापेकै भए होली अहिरले आफ्नो बयानमा समेत उल्लेख गर्नुपर्ने हो नगरिएकोबाट निजको भनाई सत्य साँचो नभई शंकास्पद देखिन आयो सहअभियुक्त प्र.कानी अहिरको पोल अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा पोलको आधारमा प्र.मुन्ना अहिरले कसूर गरेको भन्न मिल्ने देखिएन । तसर्थ मुन्नालाई सफाई दिएको मिलेन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन इन्साफ शुरू जिल्ला अदालतको मनासिव ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३९।२।१० को फैसला रहेछ ।

१८.   बुहारीले ससुरा उपर झुठ्ठा पोल गर्नुपर्ने कारण अवस्था छैन मुन्ना अहिर घरको मुख्य मानिस हुँदा घटना हुँदा सँग साथ भई रही जाहेरी सम्म यकीन गरेको मुन्ना अहिर निर्दोष व्यक्ति भन्ने न्यायसंगत छैन । सरजमीनका अधिकांश व्यक्तिले मुन्नालाई कसूरदार देखाई बकी दिएको छन् मुन्ना अहिरको हकमा फैसला बदर गरी दावी अनुसार गरिपाउँ भन्ने समेत श्री ५ को सरकारतर्फको पुनरावेदनपत्र रहेछ ।

१९.    श्री ५ को सरकारको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारको बहस समेत सुनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव के रहेछ निर्णय दिनुपरेको छ ।

२०.   यसमा प्र.होली अहिरलाई ज्यानसम्बन्धीको १३(३) र प्र.कानीलाई १३(४) बमोजिम सजाय गरिएको शुरू अदालतको इन्साफ मनासिव ठहरी म.प.क्षे.अ.ले इन्साफ गरेको पाइन्छ ।

२१.   मर्ने फूलमतीको बाँधिएको डोरीले घाँटीमा कुनै दवाब नपारेको र खुनको दाग लागेको साडी रगत मुख नाकबाट निस्केको खाटमा घोप्टो परी लास रहेको भन्ने ०३७।१।१८ को लास प्रकृति मुचुल्कामा उल्लेख भएको ।

२२.   सरजमीनको लेखाई समेतबाट मारिने फूलमतीलाई प्र.कानी अहिरनीले होली अहिरलाई फूलमतीको खुट्टा समाती मार्न सहयोग पुर्‍याएकोले प्र.होली अहिरलाई ज्यानसम्बन्धीको १३(३) र प्र.कानी अहिरनीलाई ज्यानसम्बन्धीको १३(४) बमोजिम सजाय गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । प्र.होलीअहिरको अदालतमा भएको बयानमा समेत मुन्नाले मृतक फूलमतीलाई कर्तव्य गरी मार्नमा सहयोग गरेको भन्ने कुरा किटानी साथ लेखाउन नसकेबाट मुन्ना अहिरले फूलमतीलाई कुनै कुराबाट कर्तव्य गरी मार्नमा सहयोग पुर्‍याएको भन्ने कुरा देखिन आउँदैन । तसर्थ मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले उपरोक्त बुँदा र प्रमाणको आधारमा शुरूको इन्साफ सदर गरी प्रतिवादी मुन्ना अहिरलाई सफाई दिएको मिलेन भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन भनी गरेको इन्साफ मनासिवै  छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । साधकको लगत कट्टा गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४० साल फल्गुण १२ गते रोज ६ शुभम् ।



 

ूमा मेरो असहमतिका आधारहरू माथि उल्लेख गरेको कारणबाट यहाँ उल्लेख गर्न आवश्यक भएन । बहुमतको रायबमोजिम गर्नु ।

 

 

इतिसम्वत् २०४० साल पौष २९ गते रोज ६ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु