निर्णय नं. १८१२ - उत्प्रेषण

निर्णय नं. १८१२ ने.का.प. २०४० अङ्क ११
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको रिट नं. १३४९
आदेश भएको मिति: २०४०।१०।१५।१ मा
निवेदक : सप्तरी जिल्ला स्थित राम जानकी गूठीका महन्त सुरेत भगत बैरागीसमेत
विरूद्ध
विपक्षी : भूमिसुधार कार्यालय सप्तरीका भू.सु.अधिकारी कृष्णप्रसाद कोइरालासमेत
विषय : उत्प्रेषण
(१) निवेदकले जिकिर गरे बमोजिम बुझ्नै पर्छ भनी अ.बं.१३९ नं.मा बाध्यात्मक रूपमा व्यवस्था गरेको नपाइने ।
(प्रकरण नं. ८)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
आदेश
न्या.बासुदेव शर्मा
१. विपक्षी भूमिसुधार अधिकारीले २०३९।९।२६ गते गरेको निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत २०३९।११।१८।४ मा पर्नआएको रिट निवेदनपत्रको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।
२. सप्तरी जिल्ला सारस्वर गा.पं.वडा नं.२ स्थित कि.नं.४५ को ज.वि.४–०–१३ जग्गा निवेदक राम जानकी गूठीको धनित्वमा रही म निवेदक उमेदश्वरले २–०–० र म निवेदक टेकन १–१–१३ जग्गाको कबुलीयत अनुसार मोही रही भोगचलन गरी आएको छु । मोही प्रमाणपत्र पाउँ भनी ०३९।११।२६ गतेको तारेख पाएको छु । प्रत्यर्थी नं.२ ले झुठ्ठा कुरा उल्लेख गरी उक्त जग्गा मध्ये ०–६–१२ जग्गा ०३२।२।५ को कबुलीयत अनुसार मोही भएको भनी मोही प्रमाणपत्र दिने विपक्षी भूमिसुधार अधिकारीले २०३९।९।२६ मा निर्णय गर्यो । हामी निवेदकहरूलाई बुझ्दै नबुझी गरेको निर्णय नियमको विपरीत छ अ.बं.१३९ नं.को त्रुटि भएको छ । प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि छ । गृहस्थ आश्रम गरेको र गूठीको जग्गा बेचेको धर्मलोप मुद्दा चल्दा धर्मलोप ठहरी ०३५।१२।६।२ मा अन्तिम निर्णय भएको छ । अ.बं.१८४क र १८५ को विपरीत छ । संविधानको धारा १६ तथा ७१ अन्तर्गत निवेदन गरेका छौं । उत्प्रेषण वा अन्य आदेश जारी गरी अन्तिम आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदनपत्र रहेछ ।
३. विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नुभन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको २०३९।११।१९।५ को सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश रहेछ ।
४. साविक महन्त रामकृष्ण भगतले गरी दिएको कबुलीयत र भर्पाई समेत भएको हाल गूठीका महन्त सुरेत भगत बैरागीले सालसालै कूत बुझी भर्पाई गरी दिएको स्वीकार गरी ०३९।९।२० मा बयान समेत गरेको देखिँदा मोही ठहराई गरेको निर्णय कानुनसंगत छ । रिट खारेज हुन अनुरोध छ भन्ने समेत भूमिसुधार कार्यालय सप्तरीको लिखतजवाफ रहेछ ।
५. साविक महन्त आफ्नो पदमा रहेको अवस्थामा गरी दिनुभएको कबुलीयत म मोहीबाट कूत बुझी भर्पाई गरी दिएको भनी बयान समेत गरेकोले रिट निवेदन खारेज भागी छ, भन्ने समेत गुर्दि मण्डलको लिखतजवाफ रहेछ ।
६. नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकको वारेस कृष्णचन्द्रलाई बेञ्चबाट तीनपटक सम्म बोलाउन लगाउँदा उपस्थित नभएको र रिट निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले गर्नुभएको बहस र विपक्षी भू.सु.का.तर्फबाट खटिई आउनु भएका सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले गर्नुभएको बहस समेत सुनियो ।
७. रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपरेको छ ।
८. यसमा भू.सु.का.सप्तरीबाट निर्णय गर्दा पेटबोलीबाट देखिएका व्यक्तिहरूलाई नबुझेकोले अ.बं.१३९ नं.विपरीत भएको भनी निवेदनमा जिकिर लिएको देखिन्छ । अ.बं.१३९ नं.हेर्दा नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न हुन्छ भनी उल्लेख भएको पाइन्छ । निवेदकले जिकिर गरे बमोजिम बुझ्नै पर्छ भनी अ.बं.१३९ नं.मा बाध्यात्मक रूपमा व्यवस्था गरेको पाइँदैन । तसर्थ अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा निवेदकले जिकिर गरे बमोजिमको कानुनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमबमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल माघ १५ गते रोज १ शुभम् ।