निर्णय नं. ३५७३ - कर्तव्य ज्यान

निर्णय नं. ३५७३ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०४४ सालको फौ.सा.नं. ६३
फैसला भएको मिति : २०४५।३।७।३ मा
वादी : मन पौड्यालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : केन्द्रीय कारागारमा थुनामा रहेको रामकाजी पौड्याल खत्री क्षेत्री
मुद्दा : कर्तव्य ज्यान
(१) प्रहरी र अदालतमा समेत घटनाको विवरण उल्लेख गरी वारदातमा प्रयोग गरेको खुकुरीलाई समेत सनाखत गरी सावित भई बयान गरेकोबाट अभियुक्तको मगज बिग्रेको भन्न सकिने अवस्था नभएको ।
(प्रकरण नं. १४)
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. करिब डेढ महिना पहिले मेरो पति रामकाजीको मगज बिग्रेको हुनाले निजलाई पाटनको मानसिक अस्पतालमा भर्ना गरी १५ दिन पछि उपचार गराई केही निको भएपछि घरमा आएका थिए । २०४०।९।२७ गते दिउँसो दिनभरी घरमा नआई साँझ परेपछि घरमा आई बेसुरका कुरा गर्न लागेकाले डर लागेको हुँदा तल्ला घरकी आना तमाङ्गनीलाई साथी बोलाई ल्याई सुतेकोमा निज पति आना सुतेको कोठामा पसी आनालाई समाती जवर्जस्ती बलात्कार गर्न लागेकोले छुट्याउन भनी जाँदा मलाई पनि पिटेकोले म आनाको आमालाई बोलाउँन भनी गई हल्ला गर्दा आनाको आमा उठी दुवैजना भर्याङ्ग चढी माथि जान लाग्दा माथि छपाछप खुकुरीले काटेको आवाज आएकोले मार्ला भनी भाग्न लाग्दा निजले हामीलाई लखेटे । आनाको आमा लडेकीले निजलाई काटी हाल्यो म चाहीं भागी बाँचे । निज तलतिर लागे पछि आफ्नो घरको चोटाहरुमा गई हेर्दा आना, छोरी उर्मिला, छोरा चिरन्जीवी र ध्रुव समेत ४ जनालाई काटी मारी सकेको दृष्य देखेको हुँदा प्रहरी अधिकृत समेतको डोरैमा यो जाहेरी दर्खास्त दिएकी छु । अपराधीको खोज तलास गरी ज्यानसम्बन्धीका महल बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मन पौडेल क्षेत्रीनीको २०४०।९।२८ को जाहेरी दर्खास्त ।
३. चिरन्जीवी पौडेलको लाश हेर्दा दायाँ हातको हत्केला मुनी अं.२ लामो काटेको घाउ, चिउडोमा काटेको ठूलो चोट भएको, च्यापुदेखि पछाडि गर्दनको आधी भाग सम्म पुग्ने गरी काटेको धारिलो हतियारको गहिरो चोट, दाहिने कान समेत काटिएको देखिएको, ध्रुव पौडेलको लाश हेर्दा टाउकाको पछाडि पट्टिको भाग धारिलो हतियारले काटेको ठूलो चोट । पिठ्यूँको भागमा २ वटा गहिरो चोट, दायाँ कानको भाग समेत काटेको देखिएको, उर्मिला पौडेलको लाश हेर्दा पछाडि पट्टि गर्धनमा टाउकाको भाग समेत काटिने गरी धारिलो हतियारले काटेको, ठूला ठूला २ वटा चोट कान देखि गर्धन कन्चट सम्म पुग्ने गरी धारिलो हतियारले हानेको ठूलो चोट, योनीबाट वीर्य झरी पेटिकोटमा लागि सुकिरहेको देखिएको भन्ने समेत व्यहोराको मिति २०४०।९।२८ को लाश प्रकृति मुचुल्का ।
४. गाउँका श्री राम गौतमको जग्गा बाबुका पालादेखि मोहियानीमा कमाई आएकोमा मोहियानीको क्षति पूर्ति लिई जग्गा छाड्ने सम्बन्धमा गाउँ समाज मै छलफल हुँदा गाउँकै तिर्थप्रसाद पौडेलले मेरो मुखमा थुकी दिएकाले निज तिर्थप्रसाद समेत सँग रीस उठिरहेको थियो यस्तैमा मिति २०४०।९।२७ का रात मेरी श्रीमतीले साथ ल्याएकी आना तमाङ्गनी मेरै घरमा सुतिरहेको हुँदा निज सँग करणी गर्न माग्दा कराएकीले मेरै घरको खुकुरीले निज आना तामाङ्गनीलाई काटी मारी दिएँ र त्यसपछि क्रमशः मेरै छोरी उर्मिला, छोरा चिरन्जीवी, ध्रुवसमेत जना ४ लाई काटी मारी सकेपछि बाहिर निस्कदा दुइजना आइमाई भागिरहेको देखी खुकुरीले काटी मारी दिएकोमा निज ठुली माया तामाङ्गनी परिछन् । ठूली मायालाई मारी सकेपछि शत्रुहरुलाई पनि काट्ने मनसायले तिर्थप्रसादको घरतर्फ गइरहेकोमा बेलबहादुरको घर अगाडि वारीमा तिर्थप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल समेतलाई फेलापारी विष्णुप्रसादलाई पहिला खुकुरीको २–३ चोट प्रहार गरेपछि निज मरे होलान भन्ने ठानी तिर्थप्रसादलाई पनि खुकुरीले काटी मारी दिएको हुँ । विष्णुप्रसाद चाहीं मरेका रहेनछन् । लेखिएबमोजिम तिर्थप्रसाद समेत जना ६ लाई म एक्लैले प्रहरीले बरामद गरी देखाएको खुकुरीले काटी मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रामकाजी पौडेल क्षेत्रीले प्रहरीमा गरेको बयान कागज ।
५. मिति २०४०।९।२७ गतेका राती अभियुक्त रामकाजी पौडेलले आफ्नै घरमा सुतेकी आना तामाङ्गनी १, आफ्नै छोरा चिरन्जीवी पौडेल १, ध्रुव पौडेल १, छोरी उर्मिला पौडेल १ समेत जना ४ लाई खुकुरीले काटी मारी गुहारमा आएकी ठूली माया तामाङ्गनी समेतलाई वारीमा काटी मारेपछि गुहार दिन आएका तिर्थप्रसाद पौडेललाई बेलबहादुरको घर अगाडि वारीमा सोही खुकुरीले काटी मारेका हुन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
६. गुहार मागेको सुनी, भाइ तिर्थप्रसाद र राजाराम समेत गई रहेकोमा बेलबहादुरको घर अगाडि वारीमा पुग्दा रामकाजीले हातमा लिएको खुकुरीले मलाई एक प्रहार गरेपछि म भूइँमा लडे । त्यसपछि भाइ तिर्थप्रसादलाई खुकुरीले काटी मारी दिएका हुन । निज रामकाजीले आफ्नै घरमा छोरा २, छोरी १ र आना तामाङ्गनी १ निजकी आमा ठुली माया १ समेतलाई काटी मारी आएका रहेछन भन्ने समेत व्यहोराको आत्मानाथको र म, आत्मानाथ र तिर्थप्रसाद समेत गुहार दिन गई रहेकोमा बेलबहादुरको घर अगाडि वारीमा पुग्दा रामकाजीले हातमा लिएको खुकुरीले दाजु तिर्थप्रसादलाई काटी मारी दिएका हुन म चाहीं भागी बाँचे भन्ने समेत व्यहोराको राजाराम पौडेलको प्रहरीमा भएको कागज ।
७. जाहेरी दर्खास्त, अभियुक्त रामकाजी पौडेल खत्री क्षेत्रीको साविती बयान कागज, बुझिएका आत्मानाथ र राजारामको कागज, सरजमीन मुचुल्का, लाश जाँच प्रतिवेदन, अभियुक्तले अपराध गर्दा प्रयोग गरेको बरामद भई आएको खुकुरी समेतका संकलित सबूद प्रमाणबाट अभियुक्त रामकाजी पौडेल खत्री क्षेत्री नै चिरन्जीवी पौडेल क्षेत्री १, ध्रुव पौडेल क्षेत्री १, उर्मिला पौडेल क्षेत्री १ र आना तामाङ्गनी १ समेत जवान ४ लाई मुलुकी ऐन ज्यानसम्बन्धीका महलको १ नं.को विपरीत खुकुरीले काटी कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले निज अभियुक्त रामकाजी पौडेल खत्री क्षेत्रीउपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ बमोजिम कारवाही भई सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
८. मिति २०४०।९।२७ गते बेलुका सिरानी मुनी खुकुरी राखी सुतें । एकछिन पछि उठी खुकुरी हातमा लिई आना सुतेको कोठामा गई आनालाई त सँग सुत्छु भन्दा म तपाइकी छोरी होइन र भनेकीले निजलाई करणी गरिन । यसले हल्ला गर्छ भन्ने लागी खुकुरीले निजको शरीरमा हाने । र सँगै सुतेकी छोरी उर्मिलालाई पनि खुकुरीले हानी मारी दिएपछि छोराहरु चिरनकुमार र ध्रुवकुमार सुतेको कोठामा गई खुकुरीले काटी मारी दिएपछि घरबाट निस्की बाहिर आउँदा २ जना आइमाई भेटे । एकजना आनाको आमा ठूली तामाङ्गनी रहछिन् । निजलाई वारीमा भेटी सोही खुकुरीले ठाउँ ठाउँमा हाने लडेपछि त्यहाँबाट बाटामा टर्च बाल्दै आएका मध्ये पहिलोलाई खुकुरीले हानी लडाई दोश्रोलाई २–३ पटक खुकुरीले हानी लडाएँ । तेश्रो व्यक्ति चाहीं भाग्यो भोलिपल्ट मलाई पकडेर ल्याउँदा तिर्थप्रसाद पौडेल मरेका र निजका दाजु आत्मानाथ बाँचेका रहेछन् । सो घटना म एक्लैले गरेको हुँ । काटौं मारौं भन्ने मनमा लागि काटी मारेको हुँ । कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको प्रतिवादी रामकाजी पौडेलले अदालतमा गरेको बयान ।
९. मिति २०४०।९।२८ मा मैले दिएको जाहेरीमा लागेको लेखिएको कुराहरु भए गरेको हो तर सो जाहेरीमा लागेको सहिछाप मेरो हो होइन याद भएन । बच्चु भन्ने गोतामेको जग्गा कमाएकोमा सो जग्गा जग्गाधनीलाई नै छोडी देउ भनी गाउँघरमा मिटिङ्ग बसी मेरो लोग्ने रामकाजीलाई कुटपिट गरेको कारणबाट निजको मगज समेत बिग्रिसकेकोले सोही बेसुरमा हत्या गरेका हुन । त्यस्तो मगज बिग्रेको मानिसले हत्या गरेको भए पनि निजलाई सजायँ गराउन मेरो मञ्जूर छैन भन्ने समेत व्यहोराको जाहेरवाली मन पौडेल क्षेत्रीको अदालतमा भएको बकपत्र ।
१०. मर्ने चिरन्जीवी पौडेल, ध्रुव पौडेल, उर्मिला पौडेल र आना तामाङ्गनी समेत खुकुरीको प्रहारबाट कर्तव्य भई मरेका भन्ने जाहेरी दर्खास्त, लाश प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट र सरजमीन लगायत प्रतिवादी रामकाजी कै बयान कागज समेतबाट स्पष्ट देखिन्छ । अब को को भई कर्तव्य गरी मारेको हो भनी हेर्दा प्रतिवादी कै कर्तव्यबाट मरेका हुन भन्ने कुरा जाहेरी सरजमीन समेतको भनाई एवं बकाईका साथै प्रतिवादीकै प्रहरी एवं अदालतको साविती बयान र प्रहार गरेको खुकुरी समेत बरामद भई आएको देखिँदा कुनै शंका गर्न नपरी निजै रामकाजीले मारेकोे भन्ने स्पष्ट हुँदा निज प्रतिवादी रामकाजी पौडेललाई प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धी महलको १३ नं. को देहाय दफा १ बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतबाट मिति २०४२।८।२७ मा भएको फैसला ।
११. सो फैसलामा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत प्रतिवादी रामकाजी पौडेलको पुनरावेदनपत्र ।
१२. शुरु ललितपुर जिल्ला अदालतले प्रतिवादी रामकाजीलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायँ गरेको मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।२८।२ को फैसला
१३. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको साधक निर्णय दिनु पर्ने हुनआएको छ ।
१४. यसमा निर्णयतर्फ हेर्दा मौकाको जाहेरी दर्खास्त लाश प्रकृति मुचुल्का, सरजमीनका बकाई, लाश जाँच प्रतिवेदन समेतबाट अभियुक्त रामकाजी पौडेलको छोरा चिरन्जीवी पौडेल, धु्रव पौडेल, छोरी उर्मिला पौडेलले र आना तामाङ्गनी समेत कर्तव्यबाट मरेको भन्ने देखिन्छ । मृतक आफ्नो छोरा छोरी आना तामाङ्गनीलाई पनि रामकाजीले खुकुरीले काटी मारेको भनी अभियुक्तको श्रीमती मन पौडेलको किटानी जाहेरी दर्खास्त परेको पाइन्छ । अभियुक्त रामकाजी पौडेलले अदालतमा बयान गर्दा आना सुतेको कोठामा खुकुरी लिई गएँ र आना भन्ने केटीलाई म तँ सँग सुत्छु भनेँ म तपाईको छोरी होइन र काका भनिन् र मैले निजलाई करणी गरिन । मैले करणी गर्छु भनी तुच्छ बचन बोली हालेँ अब यसले हल्ला गरिदिन्छे भन्ने मनमा लागी हातमा भएको खुकुरीले निजको शरीरमा हानेँ छोरी उर्मिलालाई पनि खुकुरीले हानी मारी दिएँ । छोरा चीरनकुमार पौडेल र ध्रुवकुमारलाई पनि धमाधम काटँे । आना तामाङ्गनीको आमा ठूली तामाङ्गनीलाई खुकुरीले ठाउँ ठाउँ हानेँ त्यहाँबाट ओर्लदा बाटोमा टर्च बाल्दै आएको मानिसलाई खुकुरीले हानेँ । भोलिपल्ट मलाई पक्राउ गरी ल्याउँदा तिर्थप्रसाद पौडेल मरेको रहेछ । काटौं मारौं भन्ने मनमा लागी काटी मारेको हुँ भनी आफूले गरेको अपराधको विवरण उल्लेख गरी आरोपित कसूर स्वीकारी बयान गरेको देखिन्छ । जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा लोग्ने रामकाजीको मगज बिग्रिसकेको सोही बेसूरमा हत्या गरेका हुन् भनी किटान गरेको छ । मर्ने आना तामाङ्गनी संगको करणीको कुरामा हल्ला गर्छ भन्ने लागी खुकुरीले हानी निज आना तामाङ्गनी समेत ६ जनालाई काटी कर्तव्य गरी मारेमा प्रहरी र अदालतमा समेत घटनाको विवरण समेत उल्लेख गरी वारदातमा प्रयोग गरेको खुकुरीलाई समेत सनाखत गरी सावित भई बयान गरेकोबाट निज अभियुक्त मगज बिग्रेको भन्न सकिने अवस्था छैन । जाहेरवालाको अदालतमा भएको बकपत्र, लाश जाँच प्रतिवेदन, लाश प्रकृति मुचुल्का समेतबाट अभियुक्त रामकाजी पौडेलको साविती पुष्टि भइराखेको देखिन्छ । अभियुक्त रामकाजी पौडेलले आरोपित कसूर गरेको होइन भन्ने कुराको कुनै सबूद प्रमाण देखिँदैन । अभियुक्त रामकाजी पौडेलले क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्नसकेको पनि छैन । यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर अभियुक्त रामकाजी पौडेल निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ मर्ने उर्मिला पौडेल समेत ६ जनालाई अभियुक्त रामकाजी पौडेलले कर्तव्य गरी मारेको ठहर्याई निजलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको ललितपुर जिल्ला अदालतको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल आषाढ ७ गते रोज ३ शुभम् ।