शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६३४ - कुटपिट

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६३४     ने.का.प. २०४५                 अङ्क ११

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको फौ.पु.नं. १८

फैसला भएको मिति : २०४५।९।२०।३ मा

 

निवेदक/प्रतिवादी : का.प.जि.वार्ड नं. ६ जनगाल बस्ने शम्भुबहादुर खत्रीसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.गा.पं.वा.नं.६ बस्ने वीरबहादुर खड्कासमेत

 

मुद्दा : कुटपिट

 

(१)                मिलापत्र गाउँ न्यायिक समितिबाट नभई गाउँपञ्चायतका प्रधानपञ्चबाट भएको देखिएकोले सो मिलापत्र कानून बमोजिम भएको भन्न नमिल्ने ।

(प्रकरण नं. २०)

 

निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा विशेष जाहेरी विभाग मार्फत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४२।४।७।२ मा भएको फैसला फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदकहरुले विन्तिपत्र चढाउनु भएकोमा यस्मा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको कुटपिट मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएअनुसार यस अदालतको फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    प्रधानपञ्चको लागि निर्वाचनमा फिरादी मध्ये वीरबहादुर उम्मेदवार भई निर्वाचन लडी बिजयी भएकोले इवी लिई बराबर भनाभनसम्म भएको थियो । ०३३।७।११।४ का दिन अं.११ बजे अन्यायीहरु नचिनेको ८ जना सहित बा.अं. ७२६ नं. को मिनी बस चढी बनेपा तिरबाट आई फिरादी वीरबहादुरको घर नजिकै उत्रे र नचिनेका ८ जना अरनिको राजमार्गकै छेउमा उभिरहे । अन्यायहरु फिरादी वीरबहादुरका घर आँगन मुनिको चौरमा आई परालको कुनिउँ लगाई रहेका फिरादी वीरबहादुरलाई अन्यायी टिकाबहादुर, पृथ्वीबहादुरले गोद भनी बचन दिने अन्यायी कृष्णबहादुर, शम्भु, केदार, विसु हात हाल्ने भई फलामे डण्डी र फलामका लठ्ठी समेतले कुटपिट गरी पिता पति वीरबहादुरलाई एक्कासी हुलबाँधी कुटपिट गर्न लागेको देखी कुटपिटबाट बचाउनु फिरादी दिलकुमारी र सुवर्णकुमारी आई चौरमा आउँदैका अवस्थामा यिनीहरुलाई पनि नछोड भन्दै अन्यायी टिकाबहादुर तथा पृथ्वीबहादुरले बचन दिनासाथ अन्याय कृष्णबहादुर, शम्भु, गोकर्ण, सकुले फिरादी सुवर्णकुमारीलाई र अन्यायी केदार, रामचन्द्र र अनिरुद्रले फिरादी दिलकुमारीलाई हात मुक्का गरी फलामे किला ठोकेको लठ्ठी र फलामे डण्डी समेतले कुटपिट गरी तथा हुल बाँधी आई कुटपिट गर्न लागेको देखी फिरादी बुद्धिबहादुर तथा फिरादी नन्दकुमारी छुट्याई दिन भनी किन कुटपिट गरेको भन्दै वीरबहादुरको आँगन मुनिको चौरमा आउँदै थिए । अन्यायी टिकाबहादुर तथा पृथ्वीबहादुरले यिनीहरुलाई पनि ठोक भनी बचन दिनासाथ अन्यायी कृष्णबहादुरले लाठीले तिघ्रामा हाने र फलामे डण्डीले बुद्धिबहादुरलाई शम्भु खत्रीले घुँडाको पाङग्रेतो फुट्ने गरी हाने । वीसु खड्का र सकले पनि लठ्ठी, घुसा, लात प्रहार गरे फिरादी नन्दकुमारीलाई अन्याय विष्णु, हर्कबहादुर र शम्भुले लठ्ठी हात मुक्का प्रयोग गरी कुटपिट गरेकोले फिराद गर्न आएको छु । घा जाँच फाराममा उल्लेख भए गरे मुताविक चोटपटक लाग्ने गरी हामी फिरादीलाई कुटपिट गरे गराएमा अन्यायहरुलाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने समेत जना ५ को एउटै फिरादपत्र ।

३.    हामी प्रतिवादीहरुले वादीहरुका दावा  अनुसार प्र.पं.वीरबहादुरलाई हामीले कुटेको र म वीरबहादुर र पृथ्वीबहादुरले बचन दिई कुटपिट गरेको होइन, २०३३ सालको कार्तिक ११ गते म टिकाबहादुरको धान काट्ने खेतमा थिएँ । वीरबहादुरको छोरा पुष्करबहादुर सुसिलबहादुर समेतले हामी केदारबहादुर, समेतलाई कुटपिट गर्न थाले । वादीहरुलाई मैले वचन दिई कुटपिट गरेको छैन भन्ने टिकाबहादुरको व्यहोरा, मैले कुटपिट गरेको छैन भन्ने व्यहोराको वीसु खड्काको व्यहोरा र म उक्त कुटपिटको दिन त्यस ठाउँमा छैन भन्ने अनिरुद्र र उक्त समयमा भैंसी लिन म अन्यत्रै गएको थिएँ झुठ्ठा दावा गरेको हुन् भन्ने पृथ्वीबहादुर, शम्भुबहादुर कार्तिक ११ गते म विसुको बाबु टिकाबहादुरको धान काट्न मेसिन ल्याई आउँदा हामीहरुको घरनेर गौडो बाटोमा पुग्नासाथ वादी वीरबहादुरलाई कुटपिट गर्न आएको डरले भागें, रामचन्द्र सकलबहादुरलाई कुटपिट गरे कृष्णबहादुरको घरमा लुकी बसेका वादी समेतका हुल आई आँगनमा ल्याई कुटपिट गरे भन्ने समेत रामचन्द्र, विसु खड्का समेत जना २ र हामीले कुटपिट गरेको छैन खसीबोका ल्याउन भनी उक्त समयमा मकवानपुरतर्फ गएको हो भन्ने कृष्णबहादुर भन्ने मिनबहादुर र हर्कबहादुर समेत जना २ र हामी गोकर्णबहादुर ५ जनाले यस अदालतमा कुटपिट फिराद गरेका हौं । हामीहरुलाई वादी वीरबहादुर समेत १८ जनाले हुल गरी कुटपिट गर्दा घा खत केश फाराममा छ । हामीले दिएको दावा समेत आफ्नो व्यहोरा उल्लेख गरेका हौं हामीले कसरी वादीहरुलाई कुटपिट गर्‍यौं होला भन्ने समेत गोकर्णबहादुर समेत जना ५ समेत जना १२ को एउटै प्रतिउत्तरपत्र ।

४.    प्रतिवादीहरु बनेपातिरबाट जनगालतर्फ मिनीबस चढी आई सेतो पाटीनेर औखे र वादीका बाबु छोरी कुन्यौ लगाई रहेका ठाउँतर्फ गए र एक्कासी कृष्णबहादुर, शम्भु, विसुले वीरबहादुरलाई कृष्णबहादुरले फलामको डण्डीले र अरुले फलामे काँडाको डण्डीले हिर्काए । वीरबहादुर मुर्छित भई लडे, वीरबहादुरका श्रीमतीहरु बुद्धिबहादुर र निजको श्रीमती समेत आए गोकर्णबहादुर, कृष्णबहादुर, हर्कबहादुर, समेतले बुद्धिबहादुरलाई र श्रीमती समेतलाई कुटी प्रतिवादीहरु सबै भागे भन्ने समेत रुद्रध्वजको बकपत्र ।

५.    २०३३ साल कार्तिक ११ गतेका दिनको अं.११ बजेको टायममा पृथ्वीबहादुर, शम्भुबहादुर समेत जना २ ले भैसी लिई आएका थियौं र सो तालढुंगाको बाटोमा पुग्दा सितारामलाई भैंसीले हानेकोले पञ्चायतको मानिसले पक्राउ गरी घा खर्च दिई मिलापत्र भएकोसम्म थाहा छ भन्ने कृष्णबहादुर र हरिलालको बकपत्र ।

६.    २०३३।७।११ गतेका दिन अं.११ बजे वादी वीरबहादुरका घर मुनी आई पुगेको थिएँ । वादी प्र.वादीहरु सडक माथि चउरमा लडन्त गरी रहेको रहेछ गुहार बाबा भनेको सुनी झटपट वारदात भएको ठाउँमा पुग्दा वादीहरु रगतपक्ष भइरहेको देखें प्रतिवादीहरु भागी गए भन्ने डम्बरबहादुरको बकपत्र ।

७.    २०३३।७।११ गतेका दिन अं.११ बजे मिनिबसबाट केही व्यक्तिहरु झरी वादीहरुलाई प्रतिवादीहरुले कुटेको हो भन्ने इन्द्रबहादुर, जोगबहादुर, चित्रबहादुर, गणेशबहादुर, रामचन्द्रको बकपत्र ।

८.    वादी दावा बमोजिम प्रतिवादीहरु मध्ये प्र.टिकाबहादुर मरिसकेको भनी दुबैपक्षबाट छलफलमा जनिएको र पृथ्वीबहादुर समेत कुट्न बचन दिने भई चोट छाड्नेमा कृष्णबहादुर भन्ने मिनबहादुर खड्का र वीसु खड्का, केदार खड्का अनिरुद्र खड्का, गोकर्णबहादुर खत्री, सहकुल खत्री, रामचन्द्रखत्रीले हुल गरी कुटपिट गरेको देखिएकोले कुटपिटका ७ नं., , १३, १८ नं. बमोजिम हुने गरी कुटपिट गरेको ठहर्छ भन्ने समेत शुरु का.प.जि.अ.को मिति २०३५।१।१८ को फैसला ।

९.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको मिति ०३५।२।२९ मिति ०३५।३।८ र मिति ०३७।२।२१ समेतको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

१०.    वादी बुद्धिबहादुरलाई दावी अनुसार बायाँ घुँडाको पांग्रा खुस्कने गरी प्रहार छाडेकोमा प्र.शम्भु भन्ने देखिएको छ र साथै केश फारामबाट पनि सो हड्डी टुटेको एक चोट भन्दा बढी नदेखिएकोले सो चोट प्र.शम्भुले मात्र पारेको ठहर्छ र अरु पृथ्वीबहादुर समेतले पारेको भनी जि.अ.बाट गरेको ठहर कानूनसंगत भएन, अरु वादीहरुलाई साधारण चोट पारी कुट्नेमा प्र.शम्भु बाहेक गैर प्रतिवादीहरुले हुल बल गरी चोट कुटपिट पारेको ठहर्छ भन्ने मिति ०३७।१२।१६ गतेको बा.अं.को पुनरावेदन फैसला ।

११.    सो फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी म.क्षे.अदालतमा दिएको निवेदनउपर यसमा यो यो घा चोट यस यसले पारेको भन्ने र कुटपिटको दावी समेत वादीले फिरादमा लिन नसकेको सो कुटपिट भएको र यो यसले यो घा चोट पारेको हो भन्ने साक्षीले पनि किटानीसाथ बकपत्र गर्न नसकेको, शम्भुबहादुर र पृथ्वीबहादुरले वारदात वारदातको दिन गा.पं.मा मिलापत्र गरेका छौं भनी जिकिर लिएको त्यस मिलापत्रबाट निजहरु वारदात स्थानमा उपस्थित रहे नरहेको भन्ने कुरामा प्रमाण लाग्न सक्ने देखिएको यस स्थितिमा वादीलाई प्रतिवादीले कुटपिट गरेको ठहर्‍याएको बा.अं.अ.को फैसला त्रुटिपूर्ण देखिनाले पुनरावेदनको अनुमति दिइएको छ भन्ने व्यहोराको ०३९।१।१६ को सिंगलबेञ्चको आदेश ।

१२.    इन्साफ बागमती अञ्चल अदालतको मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४०।५।५ को फैसला ।

१३.    सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने विसु खड्का समेतको निवेदन परेकोमा नि.नं.१०७९ मा प्रमाण ऐनको दफा ५४ को त्रुटि भएको आधारमा पुनरावेदनको अनुमति दिइएकोले एकै लगाउको प्रस्तुत मुद्दा हुँदा सोही आधारमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मिति ०४१।१।१३ को आदेश ।

१४.    सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने शम्भुबहादुर र पृथ्वीबहादुरको निवेदनमा निवेदकहरु वारदात भएको दिन ०३३।७।११ मा तालढुंगा पञ्चायतमा भैंसीले हानेको सम्बन्धमा मिलापत्र गर्न गएको भनी सो मिलापत्र समेत पेश गरी बयान गरेको छँदाछँदै त्यस्तो खास प्रमाण छाडी निजहरु समेतले कुटपिट गरेको ठहराएको म.क्षे.अ.को फैसलामा प्रमाण ऐनको दफा ५४ को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।१।१३ को आदेश ।

१५.   यसमा निर्णयार्थ डिभिजन बेञ्चमा पेश हुँदा वादी प्रतिवादीहरुको लेखाई घा जाँच केश फाराम साक्षीहरुको बकाईबाट कुटपिट वारदात भएको भन्ने देखिन्छ । पुनरावेदक प्रतिवादी शम्भुबहादुर र पृथ्वीबहादुर खत्री भैसीले हानेको मुद्दामा ०३३।७।११ मा तालढुंगा पञ्चायतमा मिलापत्र गरेको भनी मिलापत्रको नक्कल पेश गरेको पाइन्छ ।

१६.    यसमा प्रधानपञ्च हरिबहादुरज्यूले गराउनु भएको मिलापत्र भन्ने विषयमा लेखिएको र गा.पं.ऐन, ०१८ को दफा ४३ ले मिलापत्र गराई दिएको भन्ने उल्लेख भएको छ । तर सो मिलापत्रबाट शम्भुबहादुरसंग मिलापत्र भएको देखिँदैन । साथै गाउँपञ्चायत ऐन, २०१८ को दफा ४३, दफा ४२ बमोजिम साक्षी बसी सहिछाप गराउन सो मिलापत्रको कागज नजिक अदालतमा पठाई दिनु पर्ने व्यवस्था भएको दफा ४२ ले दफा ४१ को उपदफा (४) बमोजिम गठित गाउँ न्याय समितिबाट मात्र मिलापत्र गराउन पाउने व्यवस्था भएको छ । यस स्थितिमा अधिकार विहीन प्रधानपञ्चले मात्र गराएको मिलापत्रलाई प्रमाणमा लिन मिल्ने स्थिति रहेन । वादीको बुझिएको साक्षीहरु रुद्रध्वज थापा क्षेत्री समेत जना ९ ले वादीहरुलाई प्रतिवादीहरुले कुटपिट गरेको देखेको हुँ भनी किटानी बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरुले कुटपिट  नगरेको भए त्यसरी किटानी गरी बकपत्र गर्नु नपर्ने प्रतिवादीहरुका साक्षी सुरथ महतले सहकुल समेतका ५ जना कुटपिटका चोटबाट जग्गामा लडिरहेको नचिनेका १५।२० जनाले कुटी भागे वादीहरुले झुठ्ठा उजूर गरेको हो भन्ने र विष्णु खड्काले वादीले प्रतिवादीलाई कुटे भन्ने वादीलाई प्रतिवादीले कुटेको भन्ने कुरा थाहा छैन भन्ने र कान्छी खत्रीले सहकुल समेत ५ जनालाई कुटपिटका चोटबाट लडिरहेको छन् भन्ने सुनेको । यसले कुटेको भनी भन्न सक्दिन । वादीहरुले प्रतिवादीहरुउपर झुठ्ठा दावी गरेको हो भन्ने र हरिलाल सापकोटा र कृष्णप्रसाद सापकोटाले प्रतिवादी पृथ्वीबहादुर, शम्भुबहादुरले भैंसी ४ वटा ल्याएको सिताराम तामांगलाई हानेकोले पञ्चायतले पक्राउ गरी मिलापत्र गराएको हो अरु थाहा छैन भनी बकपत्र गरेको पाइन्छ । तर प्रतिवादीहरुले कुटेको होइन भनी किटान गर्नसकेको छैन । ती साक्षीहरुको बकाई पनि एक आर्कासंग मिल्दैन । त्यस्तो बकपत्रलाई आधार मान्न मिल्ने स्थिति पनि हुँदैन । घा जाँच केश फारामबाट वादीहरु सबैलाई घा चोट लागेको देखिन्छ । प्रतिवादीहरुले कुटपिट गरेको होइन भन्ने तथ्ययुक्त प्रमाण केही देखिँदैन । तसर्थ वादीहरुको साक्षीको बकाई र घा चाँच केश फाराम समेतबाट वादीहरुलाई प्रतिवादीहरुले कुटपिट गरेको भन्ने देखिन आयो । अतः बुद्धिबहादुरलाई बायाँ घुडाको पाङग्रा खुस्कने र फुट्ने गरी चोट छाड्ने शम्भु खत्री मात्र ठहर्छ । अरु वादीहरुलाई प्र.शम्भु बाहेक गैर्‍ह प्रतिवादीहरुले हुलबल गरी कुटपिट गरी चोट पारेको ठहर्छ भनी बागमती अञ्चल अदालतले गरेको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने श्री सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

१७.   श्री ५ महाराजाधिराज सरकारका हजूरमा विशेष जाहेरी विभाग मार्फत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको उक्त फैसला फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी प्रतिवादीहरुमध्येका शम्भु खत्री र पृथ्वीबहादुर खत्रीले विन्तिपत्र चढाउनु भएकोमा दोहोर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएअनुसार फुल बेञ्चको लगतमा दर्ता भई आज निर्णयार्थ यस इजलासमा पेश हुनआएको    रहेछ ।

१८.    यसमा निवेदक प्रतिवादीहरुका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले वारदातका दिन अर्थात मिति २०३३ कार्तिक ११ गतेका दिन मेरा पक्षहरु वारदात स्थलमा थिएनन । वारदातका दिन मेरा पक्षहरु भैंसीले हाने भन्ने मुद्दामा सितारामसंग मिलापत्र गर्न साल्मे तालढुंगा गाउँपञ्चायतमा गएका छन् र मिलापत्रको कागज पनि मिसिलमा पेश भइराखेको छ । गाउँपञ्चायत ऐनको दफा ४३ मा गाउँपञ्चायते मिलापत्र गराउन सक्ने व्यवस्था गरेको छ । यसरी मेरा पक्षहरु वारदातका दिन अन्यत्र रहेको कुरा मिलापत्रको कागजले प्रमाणित गर्दा पक्षहरुले कुटपिट गरेको ठहर्‍याई निजहरुलाई सजायँ गरेको यस अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छैन । मेरा पक्षहरुले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । वादीहरुका तर्फबाट निजहरुका वारिस नरहरि घिमिरेले कुटपिटको वारदात घटेकोमा विवाद छैन । गाउँपञ्चायत ऐनको दफा ४१(४) को व्यवस्था अनुसार गठित गाउँ न्यायिक समितिले मात्र मिलापत्र गराउन सक्नेमा गाउँपञ्चायतका प्रधानपञ्चबाट मिलापत्र गराएको छ । कानूनबमोजिम नभएको मिलापत्रलाई प्रमाणमा लिन मिल्दैन । यस अदालत डिभिजन बेञ्चबाट भएको निर्णय मनासिब नै हुनाले उक्त निर्णय सदर गरी पाउँ भन्ने समेत बहस गर्नुभयो ।

१९.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा बुद्धिबहादुरलाई बायाँ घुँडाको पांग्रा खुस्कने, फुट्ने गरी चोट छोड्ने शम्भु खत्री मात्र ठहर्ने र अरु वादीहरुलाई प्रतिवादी शम्भु बाहेक गैर प्रतिवादीहरुले हुल बल गरी कुटपिट गरी चोट पारेको ठहर्‍याई यस  अदालतको डिभिजन बेञ्चबाट मिति २०४२।४।७।२ मा भएको फैसला फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका हजुरमा विशेष जाहेरी विभाग मार्फत निवेदकहरु पृथ्वीबहादुर खत्री र शम्भु खत्रीले विन्तिपत्र चढाउनु भएकोमा फुल बेञ्चबाट दोहोर्‍याई हेरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएअनुसार प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलासमा पेश हुनआएको देखिन्छ ।

२०.   यसमा मिति २०३३।७।११।४ का दिन यी निवेदक प्रतिवादी शम्भु खत्री र पृथ्वीबहादुर खत्री समेतका अन्य प्रतिवादीहरुले वादीहरुलाई कुटपिट गरेको हुनाले प्रतिवादीहरुलाई कुटपिट गरेकोमा सजायँ गरी पाउँ भनी वादीहरुको फिरादपत्र परेको देखिन्छ । निवेदक प्रतिवादीहरु शम्भु खत्री र पृथ्वीबहादुर खत्रीले उक्त वारदातका दिन हामी आफ्नो गाउँघरमा थिएनौ । २०३३ साल कार्तिक ८ गते विहानै भैंसी किन्न घरबाट हिंडेको ऐ.११ गते भैंसी किनी बाटोमा ल्याउँदा तालढुङ्गा भन्ने ठाउँमा सिताराम स्याङताङलाई एउटा भैंसीले हानी घाइते गराएकोले ऐ.११ गते बेलुकी भैंसीले हानेकोमा मिलापत्र गरेपछि हामी बाबु छोरा र भैंसीलाई छोडी दिएको उक्त दिन सिद्धिमानको घरमा बसी भोलिपल्ट १२ गते घर फर्केका हौं भन्ने प्रतिउत्तर दिएको पाइन्छ । यस्तै गरी निवेदकहरुले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको विन्त्रिपत्रमा पनि म शम्भु र पृथ्वीबहादुर खत्री वारदात मिति २०३३।७।११ मा भैंसीले हानेको मुद्दामा मिलापत्र गर्न साविक तालढुङ्गा पञ्चायतमा गएका  थियौं । सो कुरा प्रमाणको लागि मिति ०३३।७।११ गतेको मिलापत्र पेश गरेका छौं । वारदातका समयमा अन्यत्र रहे भएका हामीले कुटपिट गरेकोमा ठहर गरेको तथ्य एवं कानूनको आधारमा मिलेको छैन भन्ने उल्लेख भएको पाइन्छ । यसरी यी निवेदक प्रतिवादीहरुले वारदातका दिन हामी तालढुङ्गा गाउँपञ्चायतमा मिलापत्र गर्न गएका थियौं भनी आफूहरु अन्यत्र रहेको जिकिर लिएको पाइन्छ । निवेदक प्रतिवादीहरु साक्षी हरिलाल सापकोटाले २०३३ साल कार्तिक ११ गतेका दिन म शम्भुबहादुर र पृथ्वीबहादुर साल्मे तालढुङ्गामा छौ सो दिन शम्भुबहादुर र पृथ्वीबहादुरको भैंसीले सितारामलाई हानेकोले पञ्चायतको मानिसले समाई पञ्चायतमा लगी घा खर्च दिलाई सोही दिन मिलापत्र भएको अरु कुरा मलाई थाहा छैन भन्ने बकपत्र गरेको छ । यस्तै व्यहोराको बकपत्र यी निवेदक प्रतिवादीहरुका साक्षी कृष्णप्रसाद सापकोटाले गरेको पाइन्छ । मिसिल संलग्न रहेको मिलापत्रको नक्कल हेर्दा त्यसमा श्री साल्मे गा.पं.कार्यालय साल्मे तालढुङ्गा भन्ने शिरमा लेखेको विषयमा प्र.पं.श्री हरिबहादुरज्यूले गराउनु भएको मिलापत्र भन्ने लेखी गा.पं.ऐन, २०१८ को दफा ४३ नं.बमोजिम मिलापत्र गराई दिएको छ भन्ने लेखिएको छ । यसरी उक्त मिलापत्र गा.पं.का प्रधानपञ्चबाट भएको देखिन्छ । गाउँपञ्चायत ऐन, २०१८ को दफा ४३ अनुसार मिलापत्र गराउन दफा ४२ बमोजिम साक्षी बसी सहिछाप गराउन सो मिलापत्रको कागज र दुवैपक्षलाई नजिक अदालतमा पठाई दिनुपर्छ । ऐ.ऐनको दफा ४२ नं. मा दफा ४१ को उपदफा (४) बमोजिम गठित गाउँ न्यायिक समितिबाट मिलापत्र गराउन पाउने व्यवस्था गरिएको छ । तर उपरोक्त मिलापत्र लेखिएबमोजिम गाउँ न्यायिक समितिबाट नभई गाउँपञ्चायतका प्रधानपञ्चबाट भएको देखिएकोले सो मिलापत्र कानून बमोजिम भएको भन्न नमिल्ने हुँदा त्यसलाई प्रमाणमा लिन मिल्ने देखिएन । यसका साथै निवेदक प्रतिवादीहरुले वारदातका दिन हामी साल्मे गा.पं.मा मिलापत्र गर्न गएका थियौं भनी आफूहरु अन्यत्र रहेको भनी लिएको जिकिर पनि मनासिब देखिएन ।

२१.    मिसिल संलग्न रहेको घा जाँच केश फाराम वादी प्रतिवादीहरुको लेखाई तथा साक्षीहरुको बकाईबाट कुटपिटको वारदात भएको कुरामा विवाद रहेन । वादीका साक्षी गणेशबहादुर थापाले प्रतिवादीहरु कृष्णबहादुर, शम्भु खत्री र बिसु खड्का समेतले वीरबहादुरलाई हातमा लिएको लाठाले कुटे भनी किटानी साथ अदालतमा  बकपत्र गरेको देखिन्छ । त्यस्तै गरी वादीकै साक्षीहरु चित्रबहादुर खत्री, कृष्णबहादुर, इन्द्रबहादुर सार्की, हरिबहादुर विष्ट, रुद्रध्वज थापा समेतले प्रतिवादीहरुले वादीहरुलाई कुटपिट गरेको देखेका हौं भनी किटानी साथ बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरुका साक्षी कान्छी खत्रीले बिसु समेत पाँचजना रगतपक्ष भई लडी रहेका रहेछन यसले कुटेको भनी म भन्न सक्दिन भनी बकपत्र गरेको, प्रतिवादीहरुकै साक्षी कृष्णप्रसाद सापकोटा र हरिलाल सापकोटाले २०३३ साल कार्तिक ११ गते म, पृथ्वीबहादुर र शम्भुबहादुर साल्मे तालढुङ्गामा छौं अरु वादी प्रतिवादीहरु कहाँ छन् मलाई थाहा छैन । शम्भुबहादुर र पृथ्वीबहादुरले ल्याएको भैंसीले बाटोमा सिताराम तामाङलाई हानेकोले पञ्चायतका मानिसले पक्राउ गरी घा खर्च दिई मिलापत्र भएकोसम्म थाहा छ अरु कुरा मलाई थाहा छैन भनी छुट्टाछुट्टै बकपत्र गरेको देखिन्छ । यसरी प्रतिवादीका साक्षीहरुले प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको होइन भनी किटानी साथ बकपत्र गरेको देखिँदैन । वादीहरुका साक्षीहरुको बकपत्र तथा घा जाँच केश फाराम समेतका तथ्ययुक्त सबूद प्रमाण समेतबाट वादीहरुलाई प्रतिवादीहरुले कुटपिट गरेको भन्ने देखिन आयो । तसर्थ बुद्धीबहादुरलाई बायाँ घुँडाको पांग्रा खुस्कने र फुट्ने गरी चोट छाड्ने शम्भु खत्री मात्र ठहर्छ । अरु वादीहरुलाई प्रतिवादी शम्भु खत्री बाहेक गैर प्रतिवादीहरुले हुलबल गरी कुटपिट गरी चोट पारेको ठहर्छ भनी बागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिब ठहर्छ । मुलुकी ऐन अ.बं.२०४ नं. अनुसार प्रतिवादी शम्भु खत्रीलाई शुरु कैद महिना ।६ जरिवाना रु.४०३।३३ को सयकडा १० प्रतिशतले थप कैद दिन ।।९ र जरिवाना रु.४०३।३३ तथा प्रतिवादी पृथ्वीबहादुर खत्रीलाई शुरु जरिवाना रु. ४०३।३३ असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिई मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.महेशरामभक्त माथेमा,

न्या.प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४५ साल पौष २० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु