शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९५४ - अंश

भाग: २९ साल: २०४४ महिना: बैशाख अंक:

निर्णय नं. २९५४  ने.का.प. २०४४ अङ्क १

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.फु.नं. ५४

मुद्दा : अंश

 

निवेदक/वादी :का.न.पं. वडा नं. २९ हाल डिल्लीबजार बस्ने माकली थापासमेत

        ऐ.ऐ बस्ने प्रल्हाद जंग थापा

विरुद्ध

विपक्षी/प्रतिवादी :  ऐ. ऐ. बस्ने उमा दिव्यश्वरी थापासमेत

            ऐ.ऐ बस्ने उत्तम जंग थापा

            ऐ.ऐ बस्ने किशोरजंग थापा

 

फैसला भएको मिति :  २०४०।९।१५।६ मा

 

§  अंश हक छोडपत्र गर्न नपाउने कानूनी प्रावधान भएको देखिन्न, रजिष्ट्रेशनको महलको १ नं. को देहाय १ मा अरु कुनै किसिमले आफ्नो हक छोडी दिएको लिखतको रजिष्ट्रेशन गराउनु पर्छ भन्ने भएकोले सो बमोजिम अंशियारले अंश छोडपत्र गरी दिन उक्त कानूनले बाधा पुर्‍याएको नदेखिने ।

(प्रकरण नं. १४)

§  पाउनु पर्ने अंशमा जहिले सुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन तर जुन अंशको लागि उजूर गर्ने हो सो अंश हक भई बमोजिम छोडपत्र गरी दिएकोछ भने पुनः अंश पाउँ भनी उजूर लाग्ने स्थिति नहुने ।

 (प्रकरण नं. १५)

§  कानून बमोजिमको अंश छोडपत्रको कागजमा अंशबण्डाको ३० नं. आकर्षित नहुने ।

(प्रकरण नं. १६)

§  न्याय मानवीय मूल्यमा आधारित कानूनले निर्धारित गरेको बाटो देखि अलग्ग  हुँदैन । कानूनमा नै अंश हकको छोडपत्र गर्न सक्ने कानूनी व्यवस्था छ र सम्बन्धित दुवै व्यक्तिले कानून बमोजिम आफ्नो राजीखुशीबाट अंश हक छोडपत्र गरी दिएको छ भने न्याय अन्यायको लेखा जोखा गर्ने अथवा परिकल्पना गर्ने अवस्था नरहने ।

(प्रकरण नं. १७)

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना

फैसला

न्या.त्रिलोकप्रताप राणाः- प्रस्तुत मुद्दा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय सहमत हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को दफा ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.  तथ्य यस प्रकार छ : स्वर्गीय केशरजंगको म फिराद माकली र प्रतिवादी उमा दिव्यश्वरी पट्टिका उत्तमजंग, किशोरजंग समेत ५ जना अंशियार हौं । २०२१।३।३१।६ मा हामी वादीलाई जनही १,०००।रुपैयाँ लोग्ने पिता केशरजंगले दिई अंशको छोडपत्र गरिएको र २०२१।६।१४ मा नलिएको रकम लिएको भनी कागज गराएको छ, सो कागजबाट हामीहरूको रीतपूर्वकको बण्डा नभएकोले फिराद दर्ता मितिलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई दुई भाग अंश छुट्याई पाउँ भन्ने वादीहरूको फिरादपत्र ।

३.  विपक्षीले बुबाबाट अंश पाएकोमा चित्त नबुझे म्यादभित्र उजूर गर्नु पर्ने नगरी हामी २००६ सालमा अंश लिई बण्डापत्र पास गरी छुट्टि आआफ्नो खति उपति व्यहोरी आएको हुँदा झुठ्ठा दावी लिई फिराद गरेकोले फूर्सद पाउँ भन्ने उत्तमजंग, किशोरजंगको प्रतिउत्तर ।

४.  वादीले अंश लिई अंश छोडपत्र गरी सकेपछि अहिले झुठ्ठा दावा लिई फिराद गरेको हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको उमा दिव्येश्वरीको प्रतिउत्तर ।

५.  अंश वापत रु. ३,०००।लिई उमादिव्यश्वरीलाई अंश छोडपत्र पास गरी दिई सकेपछि पुनः अंशमा दावा गर्न नपाउने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।

६.  उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको वादीहरूले निजहरूका पति बाबु केशरजंग थापासँगबाट अंश वापत रु. २,०००।बुझी लिई अंश हकमा दावी छाडी अंश छोडपत्र मिति २०२०।३।२१।६ मा रजिष्ट्रेशन पास गरी दिएको र फेरी सोही मिति मै निज केशरजंगले यिनै वादी मध्येका प्रल्हादजंगलाई रिझ वापत भनी तपसीलको लागि केही जग्गा जमीनहरू बकसपत्र पास गरी दिएको र पछि फेरी केशरजंग थापा परलोक भएपछि निज मर्ने केशरजंगको चल अचल सम्पत्तिमा दावी नगर्ने गरी रु. ३०००।प्रतिवादी मध्येका उमा दिव्यश्वरीबाट बुझी लिई निजलाई छोडपत्र पास गरी दिएको मिति २०२१।६।१४ गतेको प्रतिलिपि नक्कल संलग्न देखिन आएको यस्तो आफ्नो राजीखुशीले अंश छोडपत्र गरी दिइसकेपछि यसमा चित्त नबुभेको भए अंशबण्डाको ३२ नं. को ऐनका म्याद ३ महिनाभित्र वादी मध्येका प्रल्हादजंगले आफू उमेर पुगेका मितिले ३ महिनाभित्र उजूर गर्नु पर्नेमा नगरी हाल मात्र अंश पाउँ भन्न आएकोले अघि १ पटक छोडपत्र गरी चित्त बुझाई बसी सकेपछि हाल अंश पाउँ भन्ने निज वादीहरूको दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु  इन्साफ मनासिब देखिनाले पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने मिति २०३६।९।१६।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

७.  उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा प्रत्यक्षतः कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरूको निवेदन डिभिजन बेञ्च समक्ष पेश हुँदा अंशबण्डाको ३० नं. को प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि हुनुका साथै प्रस्तुत प्रश्न सार्वजनिक महत्वको विषय समेत देखिन्छ न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०३७।६।९।५ को आदेश।

८.  यसमा वादी प्रतिवादीहरू प्रस्तुत फिराद दायर भएको मिति २०३३।१।२४ गते मानु छुट्टिएको कायम हुन्छ । सो मिति भन्दा अघिल्ला दिन अर्थात् २०३३ साल बैशाख २४ गते सम्मको अंशबण्डा गर्नु पर्ने चल अचल धन र ऋण समेत गैर श्रीसम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई कानून बमोजिम गरी नियम बमोजिम पेश गर्नु भन्ने मिति २०३९।६।७।५ मा डिभिजन बेञ्चको आदेश ।

९.  यसमा छोडपत्र भनेको कागजमा बुबासंग हामीहरूले भाग पाउने धनमाल र छोरा प्रल्हादको विवाह खर्च समेत तपाई खसम बुवासँग घरसार मै बुझी लिई दिइसकेको बाँकी अचल घर जग्गामा रीतपूर्वक बण्डा गरी लिनलाई जग्गा जमीन टुक्रा र घर पनि साँगुरो पर्ने भएकोले अचल घर जग्गाको अंश भाग वापत हामी आमा छोरा जना दुइलाई जनही ने.रु. १,०००।का दरले जम्मा ने.रु. २,०००।बुझीभनी लेखिएको र हाल डिभिजन बेञ्चको आदेश बमोजिम झिकाई आएको तायदाती हेर्दा घरहरू र जग्गाहरू प्रशस्त देखिएको हुनाले ती छोडपत्र भनिएको कागजमा लेखिएका कुराहरू कागज मिलाउनको लागि मात्र लेखेको बनावटी देखिने आफूले राखेको अनजान श्रीमती र त्यसबाट जन्मेको नाबालख छोरालाई दवावमा पारी त्यस्तो असमान व्यवहार गरी अस्वभाविक कार्य भएको भन्न नमिल्ने नदेखिने, मिसिल सामेल रहेको चल अचल सम्पत्ति मध्येको कुनै पनि एक सम्पत्तिमा यी वादीहरूको अंश वापत भोग भएको भन्ने कुरा प्रतिवादीले भन्न देखाउन नसकेको । एकै परिवारमा जन्मेका सन्तानमा कुनै काखा कुनै पाखा र कुनै भाइले सम्पूर्ण सम्पत्ति पाउने कुनै भाइलाई मुख लुकाउने ठाउँसम्म नहुने यो प्राकृतिक न्यायसंग मेल नखाने र बण्डापत्रको लिखत छ भनेर देखाउन पनि नसकेको हुनाले वादीहरूको माग दावी बेमनासिब भन्न पनि नमिलेको हुँदा असमान व्यवहार युक्त लिखत भएको फितलो आधारमा न्याय मर्ने गरी वादीले अंश नपाउने भन्ने सहयोगी माननीय न्यायाधीशको रायसँग सहमत हुन सकिएन । झिकाई आएको तायदातीबाट कानून बमोजिम गरी वादी दावी बमोजिम अंश भाग छुट्याई दिनु भनी मिसिल जिल्ला अदालतमा पठाउन पर्ने ठहर्छ ।

१०. उपरोक्त व्यक्त भए अनुसार सहयोगी माननीय न्यायाधीशसँग राय सहमत नहुँदा निर्णयार्थ कानून बमोजिम फुल बेञ्च समक्ष पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको राय ।

११.  यसमा निर्णयतर्फ हेर्दा वादीहरू अंशियार हुन् भन्ने कुरामा प्रतिवादीहरूको सहमति देखिन्छ दुबैको बीच अंश छुट्याई बण्डापत्रको कागज खडा गरी अंशबण्डा भएको भन्ने कुरा मिसिलबाट देखिन आउँदैन । आफ्नो आफ्नो भागको अचल दाखिल खारेज गराई छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेको भन्ने कुराको पनि कुनै सबूद प्रमाण ल्याउन सकेको पाइँदैन तथापि वादीहरूको लोग्ने बाबुलाई वादीहरूले मिति २०२०।३।२१।६ मा एउटा कागज गरिदिएको देखिन्छ । सोही कागजको आधारमा क्षेत्रीय अदालतले वादीहरूले अंश नपाउने ठहर गरेको पाइन्छ । उक्त कागजलाई वादीहरूले बदर गराउन नसकेको अवस्था क्षेत्रीय अदालतको उक्त  निर्णयलाई अन्यथा गर्न मिलेन । तसर्थ सम्माननीय सहयोगी प्रधान न्यायाधीशको रायसँग सहमत नहुँदा निर्णयार्थ फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश निर्णयार्थ फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहज्यूको राय ।

१२. वादी पुनरावेदकतर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले २०२०।३।२१ र २०२१।६।१४ को अंश छोडपत्रको लिखतमा अंशबण्डाको कागज भन्न मिल्दैन, अंशबण्डा भएको छ भनी प्रतिवादीले भन्न सकेको छैन अंशियारमा विवाद नभएकोले अंश नपाउने स्थिति छैन सबै अंशियारहरू समान हुन्छन् । समान रुपले अरु अंशियार सरह मेरो पक्षले अंशको सम्पत्ति पाएको छ भनी प्रतिवादीले भन्न र देखाउन सकेको छैन । आफ्नोआफ्नो भोगको अचल दाखिल खारेज गराई छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको कुरा पनि देखिन्न । अंशबण्डाको महलको ३० नं. को समेत त्रुटि भएको र न्याय र कानूनको दृष्टिबाट समेत मेरो पक्षले अंश पाउनु पर्छ अंश भाग छुट्याई दिने ठहराएको सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीको राय मनासिब छ भनी र विपक्ष प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुंगानाले वादीहरूले आफ्नो अंश हक वापत रुपैयाँ बुझी लिई अंश छोडपत्र गरेकोले अंशबण्डा हुनु पर्दैन । अंश हकको छोडपत्रमा चित्त नबुझेको भए सो तर्फ ऐनको म्यादभित्र उजूर गर्नु पर्ने त्यस्तो उजूर पनि छैन । यिनै वादीले २०२०।३।२१ मा आफ्नो बाबुबाट र २०२१।६।१४ मा प्रतिवादीबाट अंश वापत रुपैयाँ बुझी लिई अंश छोडपत्र गरेको र अंश छोडपत्र भएकोमा अंशबण्डाको ३० नं. आकर्षित हुँदैन । न्याय भन्नु कानूनको परिधिभित्र रहनु हो । दिने लिनेको बीच अंश हकको छोडपत्र भएपछि अंश घटी बढी भएको छ भन्नु परिकल्पना हो, अंशमा वादी दावी पुग्न नसक्ने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिब ठहराएको माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब छ भनी बहस समेत गर्नु भयो ।

१३. यसमा दुवै पक्षतर्फबाट रहनु भएका विद्वान कानूनी व्यवसायीहरूको बहस समेत सुनी डिभिजन बेञ्चबाट राय बाझी भई आएको प्रस्तुत मुद्दामा कुन राय मनासिब छ र वादीले अंश पाउने नपाउने के हो भनी हेर्दा २०२०।३।२१ मा वादीहरूले जनही १०००।लोग्ने पिता केशरजंगबाट रुपैयाँ लिई अंश छोडपत्रको लिखत पास गरी दिएको र लोग्ने पिता केशरजंग परलोक भएपछि निज मर्ने केशरजंगको चल अचल सम्पत्तिमा दावी गर्ने गरी रु. ३,०००।प्रतिवादी मध्येको उमादिव्यश्वरीबाट रुपैयाँ बुझी लिई २०२१।६।१४ मा अंश छोडपत्रको लिखत पास गरी दिएको पाइन्छ ।

१४. अंश हक छोडपत्र गर्न नपाउने कानूनी प्रावधान भएको देखिन्न रजिष्ट्रेशनको महलको १ नं. को देहाय १ मा अरु कुनै किसिमले आफ्नो हक छोडी दिएको लिखतको रजिष्ट्रेशन गराउनु पर्छ भन्ने भएकोले सो बमोजिम अंशियारले अंश छोडपत्र गरी दिन उक्त कानूनले बाधा पुर्‍याएको देखिन्न । उक्त अंश हक छोडपत्रको लिखत कानूनको रीत पुगेको छैन भन्ने वादीहरूको भनाई पनि छैन । वादी आमा माकली थापाले छोरा वादी प्रल्हादजंग नाबालख हुँदाकै अवस्थामा २०२०।३।२१ मा अंश हक छोडपत्र गरेकोमा वादी प्रल्हादजंग सावालख भएपछि ऐनको म्यादभित्र उक्त अंश हक छोडपत्रतर्फ उजूर गर्नु पर्नेमा त्यस्तो उजूर भएको देखिन्न ।

१५. पाउनु पर्ने अंशमा जहिले सुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन तर जुन अंशको लागि उजूर गर्ने हो सो अंश हकमै कानून बमोजिम छोडपत्र गरी दिएको छ भनी पुनः अंश पाउँ भनी उजूर लाग्ने स्थिति हुँदैन ।

१६. अंशबण्डाको ३० नं. मा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेकोमा वा  बण्डा बमोजिम आफ्नोआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैनभन्ने लेखिएकोले अंश हक छोडपत्रको लिखतमा नरम गरम मिलेको छ छैन हेर्नु पर्ने अवस्थाको नहुँदा कानून बमोजिमको अंश छोडपत्रको कागजमा अंशबण्डाको ३० नं. आकर्षित हुँदैन ।

१७. न्याय मानवीय मूल्यमा आधारित कानूनले निर्धारित गरेको बाटो देखि अलग हुँदैन। कानूनमा नै अंश हकको छोडपत्र गर्न सक्ने कानूनी व्यवस्था छ र सम्बन्धित दुवै व्यक्तिले कानून बमोजिम आफ्नो राजीखुशीबाट अंश हक छोडपत्र गरी दिएको छ भने न्याय अन्यायको लेखाजोखा गर्ने अथवा परिकल्पना गर्ने अवस्था रहँदैन ।

१८. अतएव वादीहरूले कानून बमोजिम अंश हक छोडपत्रको लिखत पास गरी सकेको र उक्त लिखत बदर समेत गराउन नसकेकोले हाल अंश पाउँ भन्ने वादीहरूको दावी पुग्न नसक्ने ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिब ठहराएकोमा मा.न्या.श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

न्या.गजेन्द्रकेशरी बास्तोला

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल पौष १५ गते रोज ६ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु