निर्णय नं. २९५८ - लिखत बदर

निर्णय नं. २९५८ ने.का.प. २०४४ अङ्क १
फुल बेञ्च
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको दे.फु.नं. १०४
मुद्दा : लिखत बदर
निवेदक/वादी: लम्जुङ आमडाँडा गा.पं. वडा नं. ३ को हाल परिवर्तित चिनी पञ्चायत वडा नं. ७ बस्ने भोजबहादुर सेढाई क्षेत्री
विरुद्ध
विपक्षी/प्रतिवादी :ऐ. ऐ. बस्ने इश्वरीदत्त सेढाईसमेत ।
ऐ वडा नं.२ बस्ने रिदादत्त सेढाई ।
फैसला भएको मिति : २०४२।११।२८।३ मा
§ अंश मुद्दाको खारेजी फैसलाको आधारमा वादी दावी खारेज गर्ने गरेको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने ।
(प्रकरण नं. १०)
निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोलाः- यस अदालतको डिभिजन बेञ्चबाट मिति २०३६।११।२७।२ मा भएको उपरोक्त लिखत बदर मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हुकुम प्रमांगी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. बाजे लक्ष्मीदत्तका २ श्रीमती मध्ये जेठी मेरी बज्यै र कान्छी विपक्षी मध्ये इश्वरीदत्तकी आमा प्यामकुमारी हुन् । जेठीतर्फका छोरा मेरा बाबु इन्द्रबहादुर कान्छीतर्फका विपक्षी इश्वरीदत्त दुई भाइ हुन् । बाबु इन्द्रबहादुर २००३ साल देखि विक्षिप्त भई घरबाट निस्की हिड्नु भएको आमा पोइल जानु भएको र बाजे लक्ष्मीदत्त २०२२ सालमा निधन भएकोले विपक्षी आमा प्यामकुमारी इश्वरीदत्त र मेरा बाबु इन्द्रबहादुर ३ अंशियार मात्र बाँकी रहेको र अंशियारहरू बीच अंशबण्डा भएको छैन । ९१ सालमा बाजे लक्ष्मीदत्तको दर्ताको जि.मु. इश्वरीदत्त जिम्माको पूर्व रिदादत्त पश्चिम चमेरे खोला उत्तर भवदत्त दक्षिण चिरञ्जीवी यति चार किल्लाभित्रको गौली डाँडा भन्ने पाखो स्वाराविज पाथी ।१ एक पाथीको तिरो रु. ।८८ लाग्ने विपक्षी जिम्मा रहेको पाखो जग्गा विपक्षी मध्ये इश्वरीदत्त असामी रिदादत्त साहू भई रु. १,८००।– मा मिति २०३१।२।३ गते घरसारमा लिनु दिनु गरी दुवै पक्षको मिलोमतोले पास गर्ने म्याद गुजारी विपक्षी रिदादत्तले असामी इश्वरीदत्तका नाममा नालिश दिई प्रतिउत्तर नफिराई अदालतबाट पारीत हुने ठहराई फैसला भएको रहेछ । हाल विपक्षीको आमा प्यामकुमारी परलोक भइसकेकोले मेरो बाबुको समेत अंश हक लाग्ने जग्गा अंशियारको मञ्जूरी नलिई अंश मुद्दा पर्दा पर्दै लिनु दिनु गरेको लिखत मध्ये आधा लिखत बदर गरिपाउँ भन्ने समेत भोजबहादुर सेढाई क्षेत्रीको फिराद दावी ।
३. लक्ष्मीदत्तका नाममा दर्ता भएका जग्गाहरू लाखौं रुपैयाँ मोलिने जग्गाहरू बाँकी छन् । त्यस्तोमा घर व्यवहार चलाउन मञ्जूर लिई रहन नपर्ने हुँदा वादी दावी खारेज गरी उक्त लिखत सदर गरिपाउँ भन्ने समेत रिदादत्तको प्रतिउत्तर जिकिर ।
४. वादीका बाबुले मौकैमा मेरा बाबुबाट अंश लिई पाइसकेको हुनाले हाल निज वादी समेत मेरो अंशियार पर्न सक्दैनन् अर्थात् मेरो एकलौटी सम्पत्ति मैले खुस गरेको अवस्थामा त्यस्तो व्यवहार बदर गर्न पाउने हकदैया वादीलाई नहुनाले अ.बं. १८० नं. अनुसार वादी दावी खारेज गरिपाउँ भन्ने समेत इश्वरीदत्त सेढाईको प्रतिउत्तर ।
५. लिखत बदर मुद्दा दायर गर्न वादी हक पुग्ने नदेखिँदा वादी दावा खारेज हुने ठहर्छ भन्ने समेत शुरु मनाड्ड तथा लमजुड्ड जिल्ला अदालतको फैसला ।
६. वादीको अंशमा दावा पुग्न नसक्ने ठहरेको हुँदा आफ्नो अंश देखाई आफ्नो हक गराउन लिखत बदरमा पुनरावेदक वादीले लिएको दावा लेनदेन व्यवहारको १० नं. को व्यवस्थाले लाग्न नसक्ने हुन आएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरुको इन्साफ मनासिब छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको यस सर्वोच्च अदालतमा निवेदन पर्न आएकोमा मिति २०३५।४।२९ को डिभिजन बेञ्चबाट अनुमति प्रदान गर्ने आदेश भएको रहेछ ।
८. यसमा यिनै वादी प्रतिवादी भएको अंश मुद्दामा बाबुको अख्तियारनामा बेगर वादीले नालिश गर्न अ.बं. ८२ नं. ले हकदैया नपुग्ने भनी वादी दावी खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णय मनासिब ठहराइएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरी आजै यस बेञ्चबाट फैसला भएकोले प्रस्तुत मुद्दामा आफ्नो अंश देखाई आफ्नो हक जति बदर गराउन वादीले लिएको वादीको हकमा उक्त अंश मुद्दाबाट वादीको हकदैया कायम हुन नसकेको हुनाले अ.बं. ८२ नं. बमोजिम वादी दावी खारेज हुने ठहराएको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मिति २०३६।११।२७।२ मा यस अदालत डिभिजन बेञ्चको फैसला ।
९. उक्त फैसला फुल बेञ्चबाट दोहोराई पाउँ भनी निवेदक वादीको श्री ५ महाराजाधिराजका हजुरमा विन्तिपत्र परेकोमा उक्त मुद्दा दोहोराई हेरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको छ । यसमा निवेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विपक्षी प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री विश्वराज पाण्डेले गर्नु भएको बहस समेत सुनियो ।
१०. यसमा निर्णयतर्फ हेर्दा यिनै वादी प्रतिवादी भएको अंश मुद्दामा वादीको हकदैया कायम हुन नसकेको भन्दै अ.बं. ८२ नं. बमोजिम वादी दावी खारेज हुने ठहराएको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ भनी अंश मुद्दाका फैसलाको आधारमा प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय गरेको देखिन्छ । प्रस्तुत मुद्दामा निर्णयाधार बनाएको अंश मुद्दामा वादी दावी खारेज गर्ने गरेको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने र कानून बमोजिम ठहर निर्णय गर्न मिसिल लमजुड्ड जिल्ला अदालतमा पठाउने ठहरी आजै निर्णय भएको पाइन्छ । प्रस्तुत मुद्दामा सो अंश मुद्दाको खारेजी फैसलाको आधारमा वादी दावी खारेज गर्ने गरेको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने ठहर्छ । अंश मुद्दाको साथ प्रस्तुत मुद्दा कानून बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षलाई तारेख तोकी मिसिल नियम बमोजिम लमजुड्ड जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल फाल्गुण २८ गते रोज ३ शुभम् ।