शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०१ - अवैधानिक संघ संस्था खोले खोलाए भन्ने

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६०१            ने.का.प. २०२८

डिभिजन बेञ्च

न्यायाधीश श्री वासुदेव शर्मा

न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२७ सालको फौ.फु.नं. ६६६ र ७०९

फैसला भएको मिति  २०२८।२।२।१

पुनरावेदक : श्री ५ को सरकार

विरुद्ध

विपक्षी : का.जि.महाराजगञ्ज वालुवाटार बस्ने विश्वकान्त मैनाली  समेत

मुद्दा : अवैधानिक संघ संस्था खोले खोलाए भन्ने

(१)   प्रहरीमा गरेको साबिति कागज बाहेक अभियुक्तलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधारको अभावमा मुद्दा चलाएमाशंकाको आधारमा उक्त मुद्दा चलाएको हुने ।

            त्यो कारवाईका उठानको व्यहोरा र यी पुनरावेदकहरू सावित भएको भनेको कागजको धेरै असामन्जस्यहरू देखिन्छन्, यसबाट यो प्रष्ट हुन्छ कि प्रहरीले केही ठोस आधारमा प्रस्तुत केश चलाउन नसकी केवल शंकाको आधारमा मात्र चलाएको रहेछ, यसको पुष्टि यसबाट पनि हुन्छ कि प्रहरीमा भएको साविती कागजको वाहेक अभियुक्तहरूलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधार मिसिलमा देखिदैन ।

(प्रकरण नं. ३३)

(२)   केही कार्य नै नहुने कुनै निस्कृय पत्र (कागज) बाट एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिएमासाक्षी प्रमाणसम्बन्धी सिद्धान्तको अपहेलना गरेको हुने ।

            भरतशम्सेरलाई लेखेको भनेको पत्र जो बरामद भएको छ, त्यसलाई अञ्चल अदालतले एक बलियो आधार सम्झेको छ, मिसिलसामेल रहेको उक्तपत्रलाई हेर्दा त्यसको कुनै प्रमाणिकता छैन, फेरी जबसम्म कुनै पत्र पाउने व्यक्तिको हातमा पर्दैन, त्यसबाट केही कार्य नै हुँदैन, त्यस्तो निस्कृय पत्रबाट, एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिनु साक्षी प्रमाण सम्बन्धी सिद्धान्तको अपहेलना गर्नु हो ।

(प्रकरण नं. ३४)

(३)   कुनै संघको सदस्यहरूले रगतले सही गर्दैमा राजनैतिक उद्देश्यले प्रेरित भएको भन्न नमिल्नेसो गरेमा लक्ष्य प्राप्त गर्न दिलो ज्यान लगाउने भन्नेसम्म संकल्प गरेको हुने ।

            मिसिलसामेल रहेको हिमाली सामाजिक संघको माइनुटबुक हेर्दा त्यसमा कुनै राजनैतिक उद्देश्यको झलक पाइंदैन, त्यस संघमा सम्मिलित हुने सदस्यहरूले रगतको छाप लगाउँदैमा कुनै राजनैतिक उद्देश्यले प्रेरित भएका छन् भन्न पनि मिल्दैन । एकसंघमा सम्मिलित नवयुवकहरूले आफ्ना लक्ष्य प्राप्त गर्न दिलोज्यान लगाउने भन्नेसम्म संकल्प गरेको देखिन्छ ।

(प्रकरण नं. ३५)

पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता श्री हरिगोविन्द सिंह

प्रतिवादीबाट : अधिवक्ता श्री प्रेमकृष्ण पाठक

उल्लेखित मुद्दा :    

फैसला

     न्यायाधीश श्री वासुदेव शर्मा

      १.     सुरेन्द्रप्रसाद आचार्य समेतले नेपालमा पञ्चायती व्यवस्थाको अन्त गरी समाजवादी व्यवस्था कायम गर्ने र राजधानीमा अव्यवस्था उत्पन्न गर्ने विभिन्न कार्य गरी वर्तमान व्यवस्थाको अन्त गर्ने कामको लागि हिमाली सामाजिक संघ नामक एउटा संघ खडा गरेका छौं, यसमा तिमीहरू जस्तो नवयुवकले भाग लिनै पर्छ, यसमा सदस्य हुने प्रत्येक व्यक्तिले यो संस्था राजनैतिक उद्देश्यले प्रेरित भएको संस्था हो भन्ने लागि त्यसवारे अ.स.इ. गोविन्दमान श्रेष्ठमार्फत जाहेर गरी सो माइन्यूट बुकमा दर्खास्त गरी सो माइन्युट बुक नै हात पारी दाखिल गर्न ल्याएका छौ, कानूनबमोजिम होस् भन्ने अनुरोध छ भन्नेसमेत हर्षबहादुर पाण्डे र कृष्णमान श्रेष्ठको जाहेरी दरखास्त ।

      २.    सुरेन्द्रप्रसाद अचार्यले वर्तमान पञ्चायती व्यवस्थाको अन्त गरी दलगत राजनैतिक उद्देश्यले प्रेरित भएको समाजवादी राजनैतिक सिद्धान्तमा आधारित नेपाल हिमाली सामाजिक संघ नामको दलगत राजनैतिक उद्देश्यले प्रेरित भएको संघ संस्था खोलेर यसमा प्रत्येक नवयुवकलाई रगतको सहीछाप गराउँदै हिडेका छन्, हाल हामीलाई पनि सदस्य बन भनी भनेकाले निजको भनाईबाट राजनैतिक संघ संस्था देखिएकोले खवर गरेको छु भनी म छेउ का.जि.सामाखुसि बस्ने हर्षबहादुर पाण्डे र कृष्णमान श्रेष्ठ समेतले भन्न आएकाले निजहरूलाई समेत उपस्थिति गराई भएको व्यहोराले अनुरोध गर्दछु भन्ने अ.स.इ.गोविन्दमान श्रेष्ठको प्रतिबेदन ।

      ३.    संघको उद्देश्य राजनैतिक हो भन्ने वुझिएकोले निजहरू पक्राउ गरी ल्याउनु भन्ने आदेशनुसार निज सुरेन्द्रप्रसाद आचार्य समेतलाई पक्राउ गरी यसै प्रतिवेदन साथ दाखिल गर्न ल्याएका छौ, कानूनबमोजिम होस् भन्ने का मु.अ.स.इ.कृष्णबहादुर प्रधान समेतको प्रहरी प्रतिवेदन।

      ४.    सबैले औलाको रगत झिकी रेखात्मक र लेखात्मक सही गरी हिमाली सामाजिक संघ भनी खोलेका थिए । अहिले देखाइएको माइन्यूट बुक भनिएको कापीमा त्यंही हामीहरूले सहीछाप गरेका छौ भन्नेसमेत हरिहरकृष्ण खतिवडाले गरेको कागज ।

      ५.    संघको गोप्यता भंग नहोस् भनी त्यसरी रगतले सही गराइएको हो, राजनैतिक उद्देश्यले प्रेरित भएको सदस्य हुन गएकोमा कानूनबमोजिम जो ठहर्छ भन्नेसमेत कृष्णप्रसाद अर्यालले गरेको ठाडो कागज ।

      ६.    सुरेन्द्रप्रसाद आचार्य जो हिमाली सामाजिक संघको अध्यक्ष भएका छन् निजले माइन्यूट बूकमा सहि गर्ने म समेतका मानिसहरूलाई वोलाई सो हिमाली सामाजिक संघ खडा गरी यस्तो काम राजनैतिक उद्देश्यको हो र यो काम कम्युनिष्ट विचारधाराको हो भनी सुरेन्द्रप्रसाद आचार्य भन्दथे । राजनैतिक संघ खोली सदस्य भएकोमा कानूनले जो ठहर्छ भन्नेसमेत अर्जुन थापाले प्रहरीमा गरेको ठाडो कागज ।

      ७.    म समेतले हाम्रो संघको माइन्यूटबूकमा आफ्नो हातको बूढी औंलाबाट रगत झिकी त्यसमा सहीछाप लगाएको हो, त्यसो गर्नाको मुख्य कारण हामीले जे जस्तो काम गरेर जस्तो सुकै आपति भए पनि त्यसको सामना गरी लड्नु पर्छ भनी हामीहरूले आफ्नो रगतले सहीछाप र कलम सो पुस्तिकामा सहीछाप गरेका छौं । हामीले खोलको संघमा कानूनले हुने जो सजाय हुन्छ भोग्नु मन्जूर छ भन्नेसमेत कृष्णबहादुर महर्जनले प्रहरीमा गरेको कागज ।

      ८.    संघको गोप्य कुरा प्रकाशमा नआओस् भन्ने उद्देश्यले बढी विश्वासको लागि रगतको छाप लगाएको सम्झी मैले पनि आफ्नो रगत झिकी रगतको छाप लगाई दिएकोछु । सुरेन्द्र, गोपाल, अर्जुनले समेत समाजवादी काम गर्नुपर्छ भनी भनेकोले निजहरूले भनेअनुसार समाजवादी काम गर्न भनी उद्देश्य राखी सो संघको सदस्यता प्राप्त गरेको छु । तर अहिले बुझ्दा सो संघको वास्तविक उद्देश्य राजनैतिक हो भन्ने थाहा पाएं । त्यसरी सदस्यता भएकोमा जो ठहर्छ भन्नेसमेत सुमन ढकालको प्रहरीमा गरेको ठाडो काजग ।

      ९.    म समेतले प्रहरीबाट वरामत हुन आएको हाम्रो संघको माइन्यूट पुस्तिकामा दाहिने हातको बूढी औंलामा काँटाले घोची रगत निकाली सो माइन्यूट पुस्तिकामा औंठाको छाप लगाएको हो र हस्ताक्षर पनि गरेको छु । सक्रियरूपले काम गरुन् र गारौं भन्ने उद्देश्य लिई सबै साथीहरूले विश्वास गरुन् भन्ने हामीले रगतले सहीछाप र औंठाको छाप लगाएको छु, रगतको छाप लगाउनु पर्छ भनी साथी सुरेन्द्रप्रसाद आचार्यले भन्नु भएकोले सो औंठाको छाप लगाएको छु, म समेतका साथीहरू मिली खोलेको संघ राजनीति संघ जस्तो देखिन आयो भन्नेसमेत गोपालकृष्ण खतिवडाले प्रहरीमा गरेको ठाडो कागज ।

      १०.    रगतले सहीछाप गर्नुपर्ने कारण चाहिं हाम्रो संघको काम कुराहरू गोप्य रहुन भनी वा सुरक्षित रहोस् भनी रगतले सहीछाप गरेका छौं । समाजवादी कार्य गर्न भनी खोलेको हो यसमा कानूनले जो ठहर्छ भन्नेसमेत ताराबहादुर लामाले प्रहरीमा गरेको ठाडो कागज ।

      ११.    पाटन निवासी वंगाराम श्रेष्ठले साम्यवादी गुट खडा गरेकोमा उक्त गुटमा प्रवेश गर्न साम्यवादीहरूलाई बढी विश्वास पार्नको लागि हिमाली सामाजिक संघको माइन्यूट बूकमा सबै कार्यकताहरूको रगतको ल्याप्चे सहीसमेत गरी गराएको छु । संघको विधान तयार भएको थिएन । पछि सबैको सल्लाहबाट बनाउने विचार गरेका थियौं । भरतसम्शेर प्रतिबन्धित गोर्खा परिषद्का नेता तथा प्रतिबन्धित नेपाली कांग्रेसका नेता हुन् र निज कलकत्तामा बस्दछन्, निजले भरतसम्शेरसँग कुनै सम्बन्ध बढाई भरतसम्शेरबाट मद्दत मागेको भन्ने कुरा निजको पत्रबाट देखिन्छ, के कस्तो मद्दत हो निजैबाट थाहा हुने छ । सामान्यतामा हेर्दा राजनैतिक मद्दत जस्तो देखिन्छ भन्नेसमेत सुरेन्द्रप्रसाद आचार्यको प्रहरीमा गरेको ठाडो कागज ।

      १२.   आफ्नो जिउको १ थोपा रगत रहेसम्म उक्त खोलिएको संघको मुख्य उद्देश्य पूर्ण गर्नुमा कटिबद्धता दर्शाउनु परेको कारणबाट रगतले सहीछाप गर्नु परेको हो, हामीहरूले खोलेको उक्त हिमाली सामाजिक संघ वर्तमान निर्दलीय पञ्चायती प्रणालीमा यथेष्ट रूपमा विकास नभएको देखि अरू बढी प्रभावकारी विकास गर्न गराउने प्रेरणाले सो संघ खोलेको हो र उक्त विकास आदि कार्यहरू गर्न तथा गर्न लगाउँदा पर्न आउने कुनै पनि बाधा अड्चनहरूको सामना गर्नुनै यस संघको उद्देश्य हो । यस संघमा काम गरी हाम्रा लक्ष्य अनुसार समाजको सुधार गर्नु हो भन्नेसमेत नारायणकृष्ण खतिवडाले प्रहरीमा गरेको ठाडो कागज ।

      १३.   यो हिमाली सामाजिक संघ, राजनैतिक उद्देश्यले प्रेरित भई खोले खोलाए प्रचार गरे गराएको भन्ने प्रष्ट हुन आउँछ, जुन कुरा संघ संस्था नियन्त्रण ऐन, २०१९ को प्रतिकूल छ । हाल फेला नपरेको आनन्दप्रसाद समेत उपर संघ संस्था नियन्त्रण (संशोधन सहित) ऐन, २०१९ को दफा ३ को अपराधमा मुद्दा दायर गर्ने र सुरेन्द्रसमेत जना १२ लाई संघ संस्था नियन्त्रण (संशोधन सहित) ऐन, २०१९ को दफा ३(४)अनुसार सजाय हुने भन्नेसमेत सरकारी अभियोक्ता र प्रहरीको संयुक्त प्रतिवेदन ।

      १४.   देशको सामाजिक सुधार कार्यमा साथी साथीमा धोका नहोस् भन्ने उद्देश्यले रगतको रेखात्मक सही लगाएको र राजनैतिक उद्देश्यले प्रेरित भई संघ खोलेको होइन सामाजिक संघको मतलव गाउँ गाउँमा गई समाजको सुधार गर्नु हो भन्नेसमेत सुमन ढकालले बाग्मती अञ्चल अदालतमा गरेको बयान ।

      १५.   समाज सुधार गर्ने उद्देश्यले संघ खोल्ने प्रस्ताव पाससम्म गरेका हुन् संघ खोलेको छैन, राजनैतिक उद्देश्य भएको संस्था खोलेको छैन, व्यवस्थाको विरोध गर्ने उद्देश्य गरेको पनि छैन, प्रहरीमा मैले राजी खुशीले कागज गरेको पनि होईन, मैले नभनेको कुरा प्रहरी कर्मचारीले लेखि मलाई हप्काई डरत्रास देखाइ मेरा हस्ताक्षरको सहीछाप गराएका हुन भन्नेसमेत सुरेन्द्रप्रसाद आचार्यले अदालतमा गरेको बयान ।

      १६.    रगतको ल्याप्चे सही मेरा नाम लेखिएकोमा लागेको र लेखात्मक सही समेतले मेरो हो, संविधान बनाइएको छैन, सो संघ खोल्न कसैले पनि आर्थिक सहायता दिएको छैन, वर्तमान व्यवस्थाको विरूद्ध काम गर्ने म समेतको उद्देश्य होइन, राजनीतिको उद्देश्य लिएको पनि होइन, समाज सुधार निमित्त संघ खोलेको छु, हो भन्नेसमेत कृष्णप्रसाद आचार्यले अदालतमा गरेको बयान ।

      १७.   सो हिमाली सामाजिक संघको उद्देश्य बाटो बनाउने, पुस्तकालय खोल्ने आदि समाज सुधार गर्ने उद्देश्य हो । सो संघ खोल्न आदि समाजसुधार गर्ने उद्देश्य हो । सो संघ खोल्न कसैबाट पनि आर्थिक सहायता चन्दा लिए पाएको छैन, संविधान बनाएको छैन, रगतको कारण एक थोपा रगत शरिरमा भएसम्म देश नरेशको निमित्त देशसुधार गर्न हामी तत्पर रहने छौं भन्नु हो, सोही उद्देश्यले रगतको सही गरेका छौं, प्रहरीबाट प्रस्तुत गरेका अभियोग लगाइएको प्रतिवेदन सुनाउँदा सुनें राजनीति उद्देश्यले सो संघ खोलेको होइन, पञ्चायतको विरोध गर्ने उद्देश्य पनि छैन भन्नेसमेत नारायणकृष्ण खतिवडाले अदालतमा गरेको बयान ।

      १८.   सो संघको विधान नियम बन्न पाएकै थिएन, संघ खोलेको ४ दिन पछि पक्राउमा पर्‍यो यसै कारण बन्न नपाएको हुनुपर्दछ, मैले गरिएको खुनद्वारा अर्थात आफ्नै बुढी औंलाबाट रगत निकाली त्यसैबाट गरेको सहीछाप र लेखात्मक सहीछापसमेत मेरो हो, विश्वास दिलाउन निमित्त पछिसम्म धोका नहोस् भनी आफ्नै रगत झिकी सहीछाप गर्ने आधुनिक चलनअनुसार भएको हो । अरु कारण छैन, राजनीति भन्ने नै थाहा छैन । तसर्थ, प्रहरी प्रतिवेदन गलत छ भन्नेसमेत कृष्णबहादुर महर्जनले अदालतमा गरेको बयान ।

      १९.    मेरो नाउँ लेखिएकोमा लागेको रगतको ल्याप्चे र लेखात्मक सहीछाप समेत मेरै हो । राजनैतिक उद्देश्ले प्रेरित हिमाली सामाजिक संघ खोले खडा गरेको नहुँदा प्रहरीबाट लगाइएको अभियोग सजाय हुनुपर्ने होइन, मैले आजसम्म राजनैतिक उद्देश्यले प्रेरित कुनै संघ संस्थामा काम गरेको पनि छैन भन्नेसमेत अर्जुन थापाक्षेत्रीले अदलतमा गरेका बयान ।

      २०.   हामीमा विश्वासघात नहोस, देश नरेशको भलाइका लागि जस्तो सुकै परिआए पनि काम गरौं भन्ने भावनाले उत्प्रेरित भई भएको हो । अर्थात आफ्नै औंलाको रगत झिकि दायाँ हातको वुढी औंलाले सहीछाप भएको हो, दलगत राजनीतिक भावनाले प्रेरित हिमाली सामाजिक संघ खोलिएको नहुँदा प्रहरीले लगाएको अभियोग गलत हो, दलगत राजनीतिक उद्देश्य भएको कुनै संघ संस्थामा भाग लिएको छैन भन्नेसमेत गोपालककृष्ण खतिवडाले अदालतमा गरेको बयान ।

      २१.   हिमाली सामाजिक संघको माइन्यूट बुकमा लेखिएको रेखात्मक र लेखात्मक सहीछाप मेरै हो, गाउँको बाटो घाटो बनाउने, स्कूल खोल्ने, नाटक देखाउने, विभिन्न कार्यहरू सक्रिय रूपले गरुँ भन्ने उद्देश्यले रगतले सहीछाप गरेको हो राजनीतिक उद्देश्यले संघ खोलिएको होइन भन्नेसमेत ताराबहादुर लामाले अदालतमा गरेको बयान ।

      २२.   उक्त ल्याप्चे र सहीछापहरू मेरो हो, गाउँ फर्क राष्ट्रिय अभियानको सफलताका लागि हामीले पनि केही गर्नुपर्छ र वर्तमान निर्दलीय पञ्चायती व्यवस्था नै हाम्रो देशको लागि उपयुक्त छ र यसैको माध्यद्वारा देशको कल्याण हुन्छ भन्ने कुरामा म पूर्ण रूपले विश्वास गर्छु र यसको अनुरूप आफ्नो आचरण राखेको छु । उपरोक्त हिमाली सामाजिक संघको उद्देश्य कुनै किसिमले वर्तमान निर्दलीय पञ्चायती व्यवस्थाको विरूद्ध नभएको र गाउँ घरको सामाजिक उत्थान हुने कुनै कामको लागि संघ खोल्ने अवैधानिक नहुने हुनाले मैले उपरोक्त कापिमा सहीछाप गरेको छु, म कुनै किसिमको राजनैतिक गतिविधिमा कहिले पनि भाग लिएको छैन र त्यस्तो काममा विश्वास पनि गर्दिन, म माथि लगाएका अभियोग झुठ्ठा हुँदा फुर्सत पाउँ भन्नेसमेत आनन्दप्रसाद श्रेष्ठले अदालतमा गरेको बयान ।

      २३.   हिमाली सामाजिक संघको माइन्यूट बुकमा सहीछाप मेरै हुन, उक्त संघको कार्य हाम्रो गाउँ घरको सामाजिक सुधारको दिशामा प्रयत्न गर्नु हो । यस संघको स्थापनाको उद्देश्य राजनैतिक हो भन्ने मलाई कहिले पनि थाहा भएन र यसको उद्देश्य राजनैतिक होइन भन्नेसमेत द्धारीका महर्जनले अदालतमा गरेको बयान ।

      २४.   कुनै संघ संस्था खोले नखोलेको कुरा मलाइ थाहा छैन, प्र.आनन्दप्रसादले कुनै संघ संस्था खोल्ने काममा सम्मिलित भयो होला जस्तो मलाइ लाग्दैन, निज आनन्दप्रसाद पढ्ने र व्यापार गरी खाने असल नियतका मानिस हुन, कुनै पनि त्यस्तो अवैधानिक संघ संस्था खोल्ने खुलाउने काममा लाग्ने किसिमको मानिस होइन, निजलाई संघ संस्था खोल्ने भनी प्रहरीले किन अभियोग लगाए म जान्दिन भन्नेसमेत कान्छाबहादुर महर्जनको वकपत्र ।

      २५.   निज आनन्दप्रसाद श्रेष्ठ असल नियतका मािनस हुन निज समेत भई अवैधानिक संघ संस्था खोल्ने खुलाए भन्ने आरोप किन लगाए मलाइ थाहा छैन भन्नेसमेत सुसिलकुमार गुरूङ्गको वकपत्र ।

      २६.   आनन्दप्रसाद समेत भई कुनै पनि संघ संस्था खोल्ने खोलाएको मलाइ थाहा छैन प्रहरीले किन त्यस्तो लेखे म जान्दिन भन्नेसमेत भक्तराज रन्जीतकारले अदालतमा गरेको वकपत्र ।

      २७.   राजनीति भनेको कुरा मलाइ थाहा छैन, समाजवाद भन्ने कुराको नाम मैले अघि सुनेको थिएन र यो समाजवाद भन्ने कुरा के हो त्यो पनि मलाई थाहा छैन, अन्तर्राष्ट्रिय तत्व कसलाई भन्छ त्यो पनि थाहा छैन, व्यवस्था विरोधी व्यक्तिसँग मेरो भेटघाट छैन, अहिले चलीरहेको पञ्चायती व्यवस्थाको विरोध गर्ने र त्यसको उद्देश्यको विपरित काम गर्ने व्यक्तिलाई व्यवस्था विरोधी व्यक्ति भन्छ, यो पञ्चायती व्यवस्थाको विरोधमा काम गर्न कुनै व्यक्ति भएको मलाई थाहा छैन, संस्था खोलेको कुरा जानकारी मलाई भएपछि मैले अ.स.इ.गोविन्दमानलाई भनी दिएको छु, अभियुक्तहरू मध्ये सुरेन्द्रप्रसाद लगायत सबैलाई चिन्दछु भन्नेसमेत हर्षबहादुर पाण्डेले अदालतमा गरेको बयान ।

      २८.   मैले एस.पि.लाई दिएको पत्रमा लेखिएबमोजिमको कुरा गरी रहेको थिए, पञ्चायती व्यवस्थालाई अन्त गरी, अव्यवस्थाको स्थिति ल्याई समाजवादी व्यवस्था कायम गर्नपर्छ भनी उनिहरूले कुरा गरिरहेका थिए र हामी त्यहाँ पुगेपछि हामीलाई पनि यो कुरा भन्नुभयो । मेरा दाजु अ.स.इ. गोविन्दमान श्रेष्ठसँग कुरा भएपछि मैले यो कुरामा मञ्जुरी दिइन, तर सुरेन्द्रप्रसाद समेतउपर कारवाई चलाउनलाई प्रमाण चाहिएकोले तिमी पनि त्यसमा सदस्य बनी सहीछाप गरी देउ भनी दाजुले भन्नु भएको थियो, रगतले सहीछाप गर्नुभन्दा अघि अर्जुनसँग महाराजगञ्जमा भेट भई कुराकानी भएको थियो । यो संस्थाको कार्यक्रमको हकमा बाहिरी तबरले सामाजिक काम गर्ने अर्थात बाटोघाटो कुलो इत्यादि बनाउन, तर भित्र जनतालाई हात लिई अव्यवस्था फैलाउने हो, तर अव्यवस्था कसरी फैलाउने भन्ने कुरा मलाई थाहा छैन भन्नेसमेत कृष्णमान श्रेष्ठले अदालतमा गरेको बयान ।

      २९.   अभियुक्त सुरेन्द्रप्रसाद आचार्य गोपालकृष्ण खतिवडा र अर्जुन थापाको हकमा कम्यूनिष्ट विचारधाराले प्रभावित व्यक्ति सुरेन्द्रप्रसादको अध्यक्षतामा स्थापित भएको दलगत राजनैतिक उद्देश्यले प्रेरित संघको अध्यक्ष, सचिव र सदस्य हुन, संघ संस्था (नियन्त्रण) ऐन, २०१९ को संशोधन ऐन, २०२६ को दफा २ को (१) को उपदफा (२) अन्तर्गत अपराध गरेको स्पष्ट हुँदा यो अभियुक्त सुरेन्द्रप्रसाद आचार्य गोपालकृष्ण खतिवडा र अर्जुन थापाले उक्त अपराध गरेको ठहर्छ र उक्त ऐनको दफा ३ अनुसार निजलाई तजविजि वर्ष १ एक कैदको सजाय हुन्छ । अभियुक्त नारायणकृष्ण खतिवडा, ताराबहादुर लामा, सुमन ढकाल, कृष्णबहादुर महर्जन, कृष्णप्रसाद अर्याल, आनन्दप्रसाद श्रेष्ठ द्वारीका महर्जन, यी अभियुक्तहरूले प्रमाण निमित्त पेश भई रहेको माइन्यूट बुकमा सही गरेको देखिन्छ । तर सो संघ दलगत राजनैतिक उद्देश्यले प्रेरित भई खोलिएको संस्था रहेछ भनी जानी जानी यो संघको सदस्यता स्वीकार गरेको देखिन आउँदैन । अतः यी अभियुक्तहरूको विरुद्ध अभियोग प्रमाणित हुँदैन र निज अभियुक्तहरूले रिहाई पाउने ठहर्छ भन्नेसमेत ०२७।५।८।२ मा बाग्मती अञ्चल अदालतको फैसला ।

      ३०.   वाग्मती अञ्चल अदालतले २०२७।५।८ गतेमा हामीलाई जनही १ वर्ष कैद गर्ने गरेको फैसला उल्टाई पाउँ भन्नेसमेत सुरेन्द्रप्रसाद आचार्य, गोपालकृष्ण खतिवडा र अजुर्न थापाको फौजदारी नम्बर ६६६ को र राजनैतिक संघ हो भन्ने कुरा अदालतको फैसलाबाट ठहर्ने भएको र सुरेन्द्रप्रसाद समेतका केही अभियुक्तहरूलाई सजाय भएको पनि छ । अभियुक्तहरूले संघको सदस्य भएको कुरा स्वीकार गरेको देखिन्छ । यस्तो राजनैतिक उद्देश्यले प्रेरित भएको संघको सदस्यता स्वीकार गर्नुको अर्थ जानी जानी राजनैतिक गतिविधिमा भाग लिएको भन्ने कुरा देखिन आउँदाआउँदै पनि अभियुक्तहरूलाई सफाई हुनु न्याय सङ्गत भएन, अभियोग लगाइएका विश्वकान्त मैनाली र लक्ष्मीकान्त श्रेष्ठका हकमा पनि ठहर फैसला हुन पर्नेमा ठहर फैसला नभएको हुँदा अञ्चल अदालतको फैसला कानून सङ्गत भएन भन्नेसमेत श्री ५ को सरकारको फौजदारी ७०९ नम्बरका पुनरावेदन ।

      ३१.   यसमा तारेखमा रहेका प्रतिवादी सुरेन्द्रप्रसाद आचार्य, गोपालकृष्ण खतिवडा र अर्जुन थापा समेतलाई रोहवरमा राखी पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटी उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री हरीगोविन्द सिंह प्रधान र प्रतिवादी पुनरावेदक सुरेन्द्रप्रसाद आचार्यतर्फका विद्वान अधिवक्ता श्री प्रेमकृष्ण पाठकको बहससमेत सुनी प्रस्तुत मुद्दा बुझ्दा प्रतिवादीहरू अवैध संघ संस्थाका सदस्य भएको हो, होइन र त्यस विषयमा निजहरूलाई वादी श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिरअनुसार सजाय दिन पर्ने नपर्ने के रहेछ भनी त्यस कुराको निर्णय दिनुपर्ने देखियो ।

      ३२.   अभियुक्तहरूले संघको सदस्य भएको कुरा स्वीकार गरेको देखिन्छ । त्यस्तो राजनैतिक गतिविधिमा भाग लिएको भन्ने कुरा देखिन आउँदा आउँदै पनि अभियुक्तहरूलाई सफाई हुनु न्यायसङ्गत भएन, अभियोग लगाइएको विश्वकान्त मैनाली र लक्ष्मीकृष्ण श्रेष्ठका हकमा पनि ठहर फैसला हुनु पर्नेमा ठहर फैसला नभएको हुँदा अञ्चल अदालतको फैसला कानून सङ्गत भएन, भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन जिकिर र प्रहरीमा गरेको बयानलाई अदालतमा इन्कार गरेतापनि इन्कारको सबूद प्रमाण प्रतिवादीहरूले गुजार्न नसकेको र भरत सम्शेरलाई लेखेको चिठ्ठी मुकुन्दले टाइप गर्न दिएकोले हामीलाई केही थाहा नभएको यस्तोमा प्रमाण लिन नमिल्ने, अर्को आधार सुरेन्द्रप्रसाद आचार्यको घरबाट साम्यवादी पुस्तकहरू बरामद भएकोबाट पनि कसूरदार ठहर्छ भन्ने कुराको हकमा बरामद भएको प्रस्तुत पुस्तकहरू सरकारबाट प्रतिबन्ध लगाएको नभएको किताब पढ्ने स्वतन्त्रतासमेत भएको र ती पुस्तकहरूको यो संघप्रति कुनै सम्बन्ध समेत नभएकाले कसूरदार ठहराउन नमिल्ने प्रतिवादीहरूको बयानलाई प्रमाण लिएको हकमा प्रहरीमा गरेको बयानमा पनि हामीले कहीं पनि राजनैतिक उद्देश्यले खोलेको र जाहेरीमा लेखेको कुरालाई समर्थन गरेको छैन भन्नेसमेत प्रतिवादीहरूको जिकिर रहेछ ।

      ३३.   पुनरावेदकहरूलाई अञ्चल अदालतले तीन आधारमा दोषी ठहराई निर्णय गरेको देखियो । ती आधारहरूमा विश्लेषण गरी हेर्दा निम्नलिखित ठहरमा पुग्न सकिन्छ :

            प्रहरीमा सावित भएको भनेको हकमा विचार गर्दा जुन किसिमबाट यी पुनरावेदकहरू सम्मिलित भएको हिमाली सामाजिक संघमा आफ्नो मानिसहरूलाई प्रवेश गराई तिनीहरूबाट थाहा पत्ता लिई त्यसपछि त्यसको आधारमा हिमाली सामाजिक संघलाई राजनैतिक उद्देश्यले प्रेरित भएको भन्ने दोष लगाई कारवाई र सजाय गरियो त्यो कारवाईको उठानको व्यहोरा र यी पुनरावेदकहरू सावित भएको भनेको कागजको धेरै असामन्जस्यहरू देखिन्छन् । यसबाट यो प्रष्ट हुन्छ कि प्रहरीले केही ठोस आधारमा प्रस्तुत केश चलाउन नसकी केवल शंकाको आधारमामात्र चलाएको रहेछ । यसको पुष्टि यसबाट पनि हुन्छ कि प्रहरीमा भएको साविति कागजको बाहेक अभियुक्तहरूलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधार मिसिलमा देखिंदैन ।

      ३४.   भरतसम्शेरलाई लेखेको भनेको पत्र जो बरामद भएको छ त्यसलाई अञ्चल अदालतले एक बलियो आधार सम्झेको छ, मिसिल सामेल रहेको उक्त पत्रलाई हेर्दा त्यसको कुनै प्रमाणिकता छैन । फेरी जबसम्म कुनै पत्र पाउने व्यक्तिको हातमा पर्दैन, त्यसबाट केही कार्यनै हुँदैन । त्यस्तो निस्क्रिय पत्रबाट एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिनु साक्षी प्रमाणसम्बन्धी सिद्धान्तको अपहेलना गर्नु हो ।

      ३५.   मिसिल सामेलरहेको हिमाली सामाजिक संघको म्याइन्यूट बुक हेर्दा त्यसमा कुनै राजनैतिक उद्देश्यको झलक पाइदैन, त्यस संघमा सम्मिलित हुने सदस्यहरूले रगतको छाप लगाउँदैमा कुनै राजनैतिक उद्देश्यले प्रेरित भएकोछन् भन्न पनि मिल्दैन एकसंघमा सम्मिलित नवयुवकहरूले आफ्नो लक्ष्य प्राप्त गर्न दिलो ज्यान लगाउने भन्नेसम्म संकल्प गरेको देखिन्छ ।

      ३६.   माथि लेखिएका बुँदाहरूको आधार वादी श्री ५ को सरकारले जुन प्रहरी प्रतिबेदनबाट यो मुद्दा चलाएको छ र अं.अ.ले ठहर गरेकोछ त्यसलाई दोषी ठहरगर्नु पर्याप्त मान्न नमिल्ने हुँदा यी पुनरावेदकहरू सुरेन्द्रप्रसाद,गोपालकृष्ण र अर्जुन थापाहरूलाई सफाई हुनेठहर्छ ।

      ३७.   प्रहरी प्रितिवेदनबाट चलेको यो मुद्दामा पुनरावेदन परेको बाहेकका अरूहरूलाई सजाय दिने पर्याप्त प्रमाणको अभावमा अञ्चल अदालतले सफाई दिएको मुनासिवै हुँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

तपसिल

देहायका प्रतिवादीहरूकै शुरु बाग्मती अञ्चल अदालतका २०२७।५।८।२ का फैसलाले कैद वर्ष एकका दरले गर्ने गरेको सजाय नलाग्ने हुँदा सो लगत कट्टा गर्नु भनी लगत दिनु......................१

का.जी.महाराजगञ्ज वालुवाटार बस्ने सुरेन्द्रप्रसाद आचार्य १, का.जि. महाराजगञ्ज बालुवाटार बस्ने गोपालकृष्ण खितवडा १, का.जी.महाराजगञ्ज वालुवाटार बस्ने अर्जुन थापा १,

वो फैसलाको प्रतिलिपि एक जानकारी निमित्त महान्याधीवक्ताको कार्यालयमा पठाई दिनु....................२

 

न्या.श्री सुरेन्द्रप्रसाद सिंह

 

उक्त रायमा म सहमत छु ।

 

इति सम्वत् २०२८ साल जेष्ठ २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु