निर्णय नं. ७०६ - अंश

निर्णय नं. ७०६ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२८ सालको देवानी फु.नं. १८६
फैसला भएको मिति : २०२९।१०।२३।६
निवेदक : का.जि.सेतोदरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा.
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने लिला शमशेर जबरा
मुद्दा : अंश
(१) तत्काल प्रचलित अ.बं.२८ नं.: बाबुबाट अंश दिलाइपाउँ भन्ने छोराको अ.बं.२८ नं. बमोजिम दावी पुग्न नसक्ने
यसमा जेठी मुमा भक्तीदेवी र उहाँको छोरा चुडाराज शमशेर ०९ सालमा छुट्टिने अवस्थामा नगद गहनाको एउटा बण्डामा लाग्ने खडा गरी उहाँहरूको भागसम्म छुट्याई बाँडी दिई हाम्रो भाग पनि देखाए तापनि लिएदिएको नभई बुबाको साथमा म समेत सगोलमा रही बसेको १६ साल वैशाख १५ गते बुबाले करकापसँग कागज गराउनु भएकोले नालिस दिई चित्त नली १६ साल वैशाख १६ गतेदेखि भिन्न बसेको छु, रीतपूर्वक बुबाको जिउ छँदै बण्डा छुट्याई राख्न श्रेय देखिएकोले सम्पत्तिको तायदाती मेरो अंश छुट्याई दिलाइपाउँ भन्ने वादीको दावी र ०९।१।२९ मा चल अचलसमेतको बण्डापत्र खडाबमोजिम वादीले आफ्नो अंश भाग लिइसकेको हुँदा अंश दिन बाँकी छैन भन्ने प्रतिवादीको जिकिर रहेछ । प्रतिवादीले पेश गरेको ०९।१।२९ को बण्डापत्र लिखत वादीलाई सुनाउँदा मेरो सही परेको भए पनि कानूनले मान्य नहुने खेश्रा सरहको कागज हो भनी बयान गरेको प्रतिवादीको भनाइबमोजिमका लागि तत्काल प्रचलित अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं. बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन, तर दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्नेकुराको निर्णय गरी दिनालाई यो फिरादपत्र ०१७।९।२२ मा दायर भएको र त्यसबखत बहाल रहेको अंशबण्डाको २८ नं.मा सम्वत् १९६४ साल पौष ४ गतेदेखि अब उप्रान्त एकै स्वास्नी वा धेरै स्वास्नी तिरको छोरा भए पनि बाबुको जीउ छउन्जेल छोराहरूको अंशमा कर लाग्दैन भन्ने उल्लेख भएको, छोराले बाबुलाई अंशमा कर लगाउन पाउने र बाबुले अंश दिन बाध्य हुनुपर्ने कानूनी व्यवस्था नभएकोले बाबुबाट अंश दिलाइपाउँ भन्ने छोरा वादीको उपरोक्त अंशबण्डाको २८ नं. बमोजिम दावा पुग्न सक्दैन । ०२८।५।१९ को फुल बेञ्चसमेतले इन्साफ ठहर गरेको मिलेको देखिएन । वादीले कोर्टफी राखी नालिस दायर गरेको हुँदा अरु केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता शुशीलकुमार सिन्हा, अधिवक्ता कृष्णकुमार वर्मा,
उल्लिखित मुद्दा :
फैसला
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार सर्वोच्च अदालतमा रहेका सबै स्थायी न्यायाधीश समेतको वृहद् फुल बेञ्च बसी दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : बुबा मे.ज.लिला शमशेरकी ३ स्वास्नीमा जेठी विवाहिता भक्तिदेवी राणा त्यसतर्फको छोरा भू.पू.मन्त्री चुडाराज शमशेर माहिली अनारदेवीतर्फबाट सन्तानै नभएको कान्छी मेरो मुमा शर्मादेवीबाट म एक छोरामात्र भएको जेठी मुमा भक्तिदेवी र उहाँको छोरा चुडाराज शमशेर ०९ साल वैशाखदेखि मानु छुट्टी भिन्न बस्नुभएको ठुली मुमा छुट्टिने अवस्था नगद गहनाको एउटा बण्डामा लाग्ने भागसम्म छुट्याई लिई हाम्रो भाग पनि देखाएको भए पनि लिएदिएको नभई बुबाकै साथमा माहिली मुमा र मेरी मुमा म सगोलै रहेबसेको हुँदा बाँडी लिन बाँकी सगोलैमा रहिआएको थियौं । रजिष्ट्रेशनको ३, ३ (क) अनुसार बण्डा र मानो छुटेको लिखत कानूनबमोजिम पास गरी दिनुलिनु भएको र बण्डा लिनुपर्ने चलअचल गैह्रको तायदाती फाँट खोली बण्डापत्र भएकोसमेत छैन माधवलालको सिकायत सुनी ०१६।१।१५ गते थुनी बुबा मुमाले करकापबाट कागज गराउनु भएतर्फ छुट्टै नालिस दिएको छु । त्यस दिनदेखि चित्त नमिली १६।१।१६ देखि भिन्न बसेको छु । अंशबण्डाको २८ नं. बमोजिम इज्जत आमदअनुसार बाबुज्यूबाट बक्सनुपर्ने थियो । रीतपूर्वक बुबाको गाथ छँदै बण्डा छुट्याई राख्न श्रेय देखी नालिस दिन आएको छु म माना छुट्टिएको सो ०१६।१।१६ का अघिल्ला मितितकको बुबाज्यूबाट चलअचल श्री सम्पत्तिको दायदाती फाँट लिई बुबा १ जेठी मुमा १ उहाँको छोरा चुडाराज शमशेर १ जना ३ को पूरा भाग र माहिली मुमा अनारदेवी १ मेरी मुमा १ म १ समेत जना २ को खण्डे भाग अड्डाबाट बण्डा छुट्याई मेरो बण्डा दिलाइपाउँ भन्नेसमेत वादी ।
३. वादी देवेन्द्र शमशेर मेरो छोरा हो । ०९।१।२९।१ मा वादीसमेत सवैको अंशबण्डा गरी छुट्याई बेग्लै बसी उसैबखत बण्डापत्र खडा गरी वादीले लिएदिएको सो बण्डापत्रका आधारमा आफूले भोगचलन गरी आएको वादीले अंशबण्डा गर्दा घर–दरवारको मोल नगदी लिएकै निजको बस्ने बन्दोबस्त मिली नसक्दा मेरो भागको घरको पश्चिम खण्डमा बस्न दिएको सो खाली गरिदेउ भन्दा नमानेकोले घरबाट उठाइपाउँ भनी मैले दरखास्त गरेकोबाट रिसाई झुठ्ठा उजूर गरेको हो । ठूलो हिरा बिक्री भई आएको मोल वादीले आफ्नो भाग ०१४।४।२४ मा रू.९५५९ र सन् २९।७।१९५७ मा रू.७८५३।३१ समेत बुझी भरपाई गरिदिएको छ । जेठो छोरा भू.पू.मन्त्री चुडाराज शमशेरले आफ्नो अंशको भाग माधव शमशेरलाई फार्छे लेखी दिँदा वादीसमेत साक्षी बसेको र वादीले आफ्नो भागमा परेको जग्गामा सिनेमाहल बनाउन नक्सा पास गराई १७९।५।२ मा काठमाडौं माल दोश्राबाट आफ्नो नाममा दर्ता गरेको छ । ०९ साल आश्विनमा विश्वज्योति सिनेमा हल चलाउन म बाट रू.११४०० को शेयरवापत दिएको भन्ने जनाई भरपाई गरिदिएको छ । अंशबण्डा गर्दा जग्गाजमीन छुट्याई आफूले भोगचलन गरेको नभए सो घरवापत भनी लिएको जनाइरहनु पर्ने थिएन । वादीलाई अंश दिनुपर्ने बाँकी छैन भन्नेसमेत प्रतिवादी ।
४. ०९।१।२९ को बण्डापत्र ०१४।४।२४ को र सन् २९।७।१९।७ को हिरा मोल बुझेको भरपाईसमेत ३ थान कागज रजिष्ट्रेशनको ३३क, ७ नं.अंशबण्डाको ३८,४६ नं.को रीत नपुगेकोले जवाफदेही गर्नुपर्ने होइन । उक्त कागज कानूनले मान्यता दिन नहुने मेरो सही परे पनि खेश्रासरहको कागज हो भन्ने वादीको बयान ।
५. अंशबण्डाको ४९ नं.ले चल जतिलाई घरसारमा भएको कागजको मान्यता हुने बण्डापत्रमा सही परेको पनि वादी आफै सावित हुनाले जाँची बुझी सही गरेको अ.बं. ३४ नं.ले सदर हुने वादीले काठमाडौं माल दोश्रामा विर्ता जग्गा दर्ता गरेको र आयस्ता पनि आफ्नो भाग तहसीलबाट बुझेको देखिएको, सिनेमाहलको जग्गा पनि दर्ता भोगचलन गरेको ०९।६।१४ गते बुबा लिला शमशेरसँग विश्वज्योतिको सिनेमा हलमा शेयर राख्न भनी सुन तोला १०० को भाउ कसी रू.१०,४०० लिएको ठूलो हिरा विक्री भई आएको भाग बुझिलिएको कागज पनि भएको वादीले पनि घरसायमा भएको बण्डापत्रमा आफ्नो भाग लिएबुझेको भोग व्यवहार गरेको दाखिल खारेज गर्नुपर्ने पनि केही नदेखिएको विर्ता जग्गा दर्ता गरी भोग गरी खाई आएकोसमेत बाट १ पटक बण्डा भई वादीले बण्डा लिइसकेको सिद्ध हुनाले अंश पाउँ भन्ने दावा हुन सक्दैन भन्ने का.ई.अ.को ०१८।६।१६।२ को फैसला ।
६. सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा अंशियार सवैको बण्डा छुट्याइएको देखिन आएको बण्डा भएपछि सगोलमा बसी आएको सबूद वादीबाट गुज्रन नआएको बण्डापत्र ऐनबमोजिम पास नभए पनि ठूलो हिरा बिक्रीबाट आएको भागशान्ति रुपैयाँ वादीले बुझिलिई भरपाई गरिदिएको समेतबाट इन्साफ सुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको ०२४।८।८।६ को फैसला ।
७. सो उपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा ०९।१।२९ मा घरसारमा बण्डापत्र गरी वादीसमेतले आफ्नो भागमा परेको बण्डा छुट्याई लिई भोगचलन गरी आएको देखिएको सो पछि प्रतिवादीसँग साथमा रहेबसेको कतैबाट देखिएन वादीले पूरा भागको ६ खण्डको १ खण्ड बुझिलिएको भन्ने बण्डापत्रबाट देखिन आएको बण्डापत्रमा ठूलो हिरा विक्री भई आएपछि भागशान्तिले बण्डा हुने भन्ने उल्लेख भएको उक्त हिरा पछि विक्री भई आएको तिमीहरूको भाग भनी प्रतिवादीले दिएको रुपैयाँ वादीले बुझी लिई भरपाई गरिदिएको पनि देखिन आयो । अंश नछुट्टिएको भए वादीले आफ्नो बुबा प्रतिवादीबाट विश्वज्योति सिनेमाहल शेयर राख्न बाबुसँग सुन तोला १०० को रू.११,४०० बुझी ०९।६।१४।२ मा भरपाई गरी दिनुपर्ने थिएन । बण्डापत्र रजिष्ट्रेशन पास नभएको भन्ने हकमा उक्त बण्डापत्रमा मेरो सही परेको हो भनी वादी सावित भएको आफूले जानी बुझी सही गरेको अ.बं.३४ नं.ले सदरै हुने, वादीले आफ्नो भागमा परेका जग्गाहरू आफ्नो नाममा विवरण नं.८९७ बाट दर्ता गरेको, बण्डा छुट्याएको नभए त्यसरी दर्ता गर्नु नपर्ने, जग्गाको सालको आयस्ता तहसीलबाट वादीले बुझी भरपाई गरिदिएको समेत देखिँदा अंशबण्डा भएको छैन भनी इन्साफ दिन न्यायोचित देखिएन । टोवाको कम्पनी गरिवनाथ सर्राफ श्री ५ कान्छी महारानी हेलन शाह धनी वादी ऋणी भई आफ्नो हकभोग तिरोको भनी पटक–पटक जग्गा घरहरू विक्री गरी फार्छे राजीनामा गरिदिएको आफ्नो भागको जग्गा वादीसमेतका अंशियारले बिक्री गर्दै अरुका हातमा पुगिसकेको समेतबाट एकपटक अंशबण्डा भई पाई दर्ता विक्री वितरणसमेत भइसकेपछि पुनः अंश दिलाइदिनु पर्छ भन्ने ऐनमा त्यस्तो व्यवस्थासमेत नहुँदा वादीको दावी पुग्न नसक्ने ठहराएको बागमती अञ्चल अदालतको मनासिव ठहर्छ भन्ने मा.न्या.श्री रङ्गनाथको राय र ०९।१।२९ मा वादीहरूको घरसारमा बण्डापत्र खडा भएको रहेछ । उक्त बण्डापत्रमा बण्डा भएको नगद सुनाचाँदी जवाहरत घर क्याम्पसमेत सबै बस्तुको केवल मोलमात्र अंकित गरेको देखिन आयो । घरजग्गा क्याम्पा अचल सम्पत्तिहरू पूर्णतयारुपबाट अंश भाग गरेको भए ती सबै घरजग्गा क्याम्पाको चौहद्धी यथार्थ खुल्नु पर्ने थियो । भाग लगाउँदा यो ठाउँको यो यसको भाग भन्ने पनि उक्त बण्डापत्रबाट खुल्न आएको देखिँदैन । त्यस्तो कागजलाई कुनै कानूनले आधारित कागज हो भन्न मिल्ने देखिँदैन । उक्त बण्डापत्रमा अचल सम्पत्ति घर क्याम्पमा जे जो जहाँ जहाँ छ बण्डा गरी बण्डापत्र खडा गरी भन्ने उक्ति पर्नु नै केवल चल सम्पत्ति मात्र भागबण्डा गरेको प्रचलित कानूनअनुसार कागज भएको नदेखिएकोले अचल घर क्याम्पा जग्गा अबण्डै रहेको भन्ने देखिन आएको बण्डापत्र कागज रजिष्ट्रेशनको ३३क नं.अनुसार रजिष्ट्रेशन पास गर्नुपर्ने सो ऐनको रीत पुगेको पनि देखिएन वादीले पटक पटक घरजग्गा विक्री गर्दा वादीले अंशबाट पाएको भए ती कागजमा सोही व्यहोरा दर्शाई रजिष्ट्रेशन पास भएको हुनुपर्ने सो नहुनु नै धेरै जग्गा हुनेले एकाघरका हरएक व्यक्तिका नाउँमा जग्गाहरू पृथक पृथक राख्नु र विक्री विक्री पनि दर्तावालाकै नामबाट हुनु कुनै असम्भव र कुनै कानूनले बाधा पुर्याएको देखिन आउँदैन । विक्री वितरण गर्दैमा अंश लिइसकेको भन्नु न्यायोचित हुँदैन । ०९।१।२९ को बण्डापत्रमा चल जतिलाई अंशबण्डाको ४९ नं.ले मान्यता दिए पनि अचलका हकमा रीतपूर्वक बण्डा भइसकेको भन्न युक्तिसंगत देखिँदैन । वादीलाई प्रतिवादीले अंश दिनुपर्ने ठहर्छ भन्ने मा.न्या.श्री प्रकाशबहादुर के.सी.को राय भएको ०२६।५।१९।५ को डिभिजन बेञ्चको फैसला ।
८. प्रतिवादीबाट पेश भएको ०९।१।२९।१ को बण्डापत्र रजिष्ट्रेशनको ३ नं. बमोजिम रजिष्ट्रेशन पास नभएको र त्यस्तो पास नभएको बण्डापत्र अंशबण्डाको ४९ नं. बमोजिम सदर कायम मान्न नमिल्ने भन्ने वादी पक्षका वकिलले वहसमा जोड दिनुभएको छ । तदनुसार पास हुनुपर्ने कानूनमा व्यवस्था भएको पनि छ । पेटबोलीबाट बुझिएका अनारदेवी शर्मा देवीहरूले ०९।१।२९ मा बण्डापत्र खडा गरी आ–आफ्नो अश लिई पाई भोगचलन गरी आएकोसमेत भनी उक्त बण्डापत्रलाई स्वीकारै गरेको देखिन आयो । उक्त बण्डापत्रको शिर व्यहोरामा म तपसीलबमोजिमको भाग राजीखुसीले बुझिलियौं भन्ने बोली परेको उक्त बण्डापत्रमा वजन पचासी क्यारेटको हिरा एक बण्डा गर्न असजिलो भएकोले विक्री भई नगदी आएपछि भागशान्तिले बण्डा हुने लेखिएको उक्त हिरा पछि विक्री भई आएको नगदीमा आफ्नो भाग बुझी लिएको भन्ने कुरामा बिरोध गर्न वादीले नसकेको उक्त बण्डापत्रमा लेखिएबमोजिम आफ्नो भाग बण्डामा परेको जग्गा आफ्नो नाममा पहिले नै दर्ता गराई यो मुद्दा परिसकेपछि मोतिमाया कुसलेनी गरिवनाथ, नेपाल टोवाको कम्पनीसमेत लाई पटक–पटक फार्छे राजीनामा पास गरिदिएको बण्डापत्रमा आयस्ता बाँडी लिने भनेको जग्गाको तहसीलबाट आफ्नो भागबण्डा बुझिलिई रसिद भरपाई गरिदिएको समेत देखाएको बण्डापत्र रजिष्ट्रेशन पास नभए पनि सो बण्डापत्र भएपछि अंशियारहरूले आ–आफ्नो बण्डा हकको जग्गा राजीनामा विक्री व्यवहार गरी रजिष्ट्रेशन पास गरिदिएको देखिएकोले अघिल्लो बण्डापत्र रजिष्ट्रेशन पास नभएको भन्नेमात्र व्यवस्था देखिँदैन । ०९।१।२९ को बण्डापत्रबमोजिम अंशियारहरूले आ–आफ्नो अंशमा चित्त बुझाई भोगचलन गरिबसेको हुँदा वादी र प्रतिवादी २ जनाका विवादबाट अरु अंशियारहरूको सम्पत्तिसमेत मिलाई बण्डा गर्दा कुनैले सम्पत्ति घटाएका र कुनैले बण्डाको सम्पत्ति कायम राखी छोडेका अवस्थामा सम्पत्तिको यथोचित विवरण नभई घटीबढी पर्न जाने र सम्पत्ति खर्च गरी सक्नेलाई फाइदा तथा जगेडा गरी राख्नेलाई नोक्सानको सामना गर्नुपर्ने अवस्थासमेत पर्न जाने देखिएकोले फेरि अंशबण्डा गर्ने भन्न न्यायोचित देखिँदैन । बण्डापत्रअनुसार गोश्वारामा राखिएका बण्डा हुन बाँकी सम्पत्ति देखिएकोमा सो अबण्डा सम्पत्तिका मात्र बण्डा पाउँ भनी सो सम्पत्ति दैयादारसमेत उपर यो मुद्दामा दावी नभएकोले त्यसतर्फ विचार गरिरहनु नपर्ने र अंशबण्डा गराइपाउँ भन्नेतर्फ वादीको दावी पुग्न नसक्ने ठहराई ०२६।५।१९ को डिभिजन बेञ्चमा मा.न्या.श्री रंगनाथ उप्रेतीले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री झपटसिंह रावल तथा सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्टको राय र ।
९. विभिन्न फुल बेञ्चहरूबाट विभिन्न किसिमका निर्णयहरू भई कुनैमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभएसम्म अंशबण्डा भएको भन्न नमिल्ने भनी निर्णय भएको र कुनैमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभए पनि अरु व्यवहारबाट बण्डा भएको देखिन्छ भने घरसारमा भएको बण्डा पनि सदर हुने भने सिद्धान्त प्रतिपादित भएको छ । यस मुद्दामा ०९।१।२९ को घरसारको बण्डापत्रलाई अचल सम्पत्ति घर क्याम्पाको सम्बन्धमा कानूनी मान्यता दिन वा अन्य व्यवहारको विचार गरी वादी र प्रतिवादीका बीचमा अंशबण्डा भएको ठहर गर्न कुनै कानूनी आधार देखिँदैन । मुद्दामा मुख्य सरोकारको किटानी र प्रष्ट कानूनी व्यवस्था छँदाछँदै अदालतले त्यसको उपेक्षा गरेर कुनै निर्णय गर्न मिल्दैन । व्याख्याको गुञ्जाइस नभएको कानूनी व्यवहारलाई घट गरी कुनै व्याख्या गर्ने वा मर्काको विचार गरेर त्यसलाई निष्किृय तुल्याउने अधिकार अदालतलाई छैन । रजिष्ट्रेशन पारित नभएको बण्डापत्र सदर हुँदैन भन्ने किटानी र प्रष्ट कानूनी व्यवस्था भएको छँदाछँदै घरसारमा भएको बण्डालाई मान्यता दिई कुनै कुनै फुल बेञ्चहरूबाट केही मुद्दाहरूमा भएका फैसलाहरूसँग सहमत हुन उचित वा कानूनसंगत आधार छ भन्ने मलाई लाग्दैन । बण्डापत्र हेर्दा कुन जग्गा वा कुन घर वा कुन घरको कुन भाग कुन अंशियारको अंशमा परेको छ भन्ने देखिने गरी कित्ता, क्षेत्रफल, चौहद्धी वा विवरण खुलाई बण्डा भएको देखिँदैन । यस स्थितिमा बण्डापत्रबमोजिम अंशियारहरूले आ–आफ्नो अंशको जग्गा आ–आफ्नो नाममा दर्ता गराएको भन्ने कुनै आधारै छैन । वादीका नाममा ०१७ सालमा एक कित्ता जग्गासम्म दर्ता भएको देखिन्छ त्यो पनि अंशबण्डाबाट पाएको भन्ने र दर्ता भएको छैन मुद्दा पर्नु अगाडि वादीले कुनै जग्गा विक्री गरेको देखिँदैन । मुद्दा परिसकेपछि क–कसले के कति जग्गा विक्री गर्यो भन्ने आधारमा मुद्दा पर्दाको कानूनी स्थितिका निर्धारण गर्न हुँदैन । ०९।१।२९ को घरसारको बण्डापत्रलाई चलसम्पत्तिको बण्डाको हकमा मात्र सदर मान्नुपर्ने देखिन्छ । अचल सम्पत्तिको हकमा कानूनले नै सो बण्डापत्र सदर हुँदैन भन्ने किटान सत्य व्यवस्था गरेको र कानूनी प्रश्नमा प्रतिरोध सिद्धान्त पनि लागू नहुने हुनाले वादीको दावी मनासिव र वादीले अचल सम्पत्तिमा अंश पाउने ठहर्छ भन्नेसमेत मा.न्या.श्री विश्वनाथ उपाध्यायको राय भएको ०२८।८।१४।३ को फुल बेञ्चको फैसला ।
१०. यस बेञ्चसमक्ष निवेदक वादीतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले प्रतिवादीले पेश गरेको ०९।१।२९ को बण्डापत्रमा अचल घर क्याम्पा यहाँनेर यसको भाग भनी नछुट्याइएको र अचल सम्पत्ति र बण्डा गरेको बण्डापत्र तत्काल प्रचलित अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं. बमोजिम रजिष्ट्रेशन पास गर्नुपर्ने पास नभएकोले उक्त बण्डापत्र मान्य हुन सक्दैन दावीबमोजिम मेरो पक्षले अंश नपाएको हुँदा पाउनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा, कृष्णकुमार वर्मा, ठाकुरप्रसाद खरेलहरूले ०९।१।२९ को अंशबण्डाको लिखत भएकै होइन भन्न वादीले सकेको छैन सो बण्डापत्रमा दाखिल खारेज गर्नुपर्ने घरजग्गाको कुनै उल्लेख छैन । घर जग्गासमेतको नगदी मालको बण्डा भएको छ । उक्त बण्डापत्र अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं.ले पास गर्नुपर्दैन यिनै वादीले पहिले दिएको करकाप मुद्दाको फिरादपत्रमा म बाबुसँग छुट्टी भिन्दै भई छुट्टै बसेको भन्ने उल्लेख गरी सही हालेको अ.बं.३४ नं.ले सदरै हुने हुँदा बाबुसँग सगोलमा रहिआएको भन्ने जिकिर पुग्न सक्ने होइन । ०९।१।२९ मा बण्डापत्र खडा गरी वादीसमेतले आफ्नो अंश लिइसकेको हुँदा हाम्रो पक्षले अंश दिनुपर्ने बाँकी छैन भन्ने बहस गर्नुभएको छ ।
११. यसमा जेठी मुमा भक्तीदेवी र उहाँको छोरा चुडाराज शमशेर ०९ सालमा छुट्टिने अवस्थामा नगद गहनाको एउटा बण्डामा लाग्ने खडा गरी उहाँहरूको भागसम्म छुट्याई बाँडी दिई हाम्रो भाग पनि देखाए तापनि लिएदिएको नभई बुबाको साथमा म समेत सगोलमा रही बसेको १६ साल वैशाख १५ गते बुबाले करकापसँग कागज गराउनु भएकोले नालिस दिई चित्त नली १६ साल वैशाख १६ गतेदेखि भिन्न बसेको छु, रीतपूर्वक बुबाको जिउ छँदै बण्डा छुट्याई राख्न श्रेय देखिएकोले सम्पत्तिको तायदाती मेरो अंश छुट्याई दिलाइपाउँ भन्ने वादीको दावी र ०९।१।२९ मा चल अचलसमेतको बण्डापत्र खडाबमोजिम वादीले आफ्नो अंश भाग लिइसकेको हुँदा अंश दिन बाँकी छैन भन्ने प्रतिवादीको जिकिर रहेछ । प्रतिवादीले पेश गरेको ०९।१।२९ को बण्डापत्र लिखत वादीलाई सुनाउँदा मेरो सही परेको भए पनि कानूनले मान्य नहुने खेश्रा सरहको कागज हो भनी बयान गरेको प्रतिवादीको भनाइबमोजिमका लागि तत्काल प्रचलित अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं. बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन, तर दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्नेकुराको निर्णय गरी दिनालाई यो फिरादपत्र ०१७।९।२२ मा दायर भएको र त्यसबखत बहाल रहेको अंशबण्डाको २८ नं.मा सम्वत् १९६४ साल पौष ४ गतेदेखि अब उप्रान्त एकै स्वास्नी वा धेरै स्वास्नी तिरको छोरा भए पनि बाबुको जीउ छउन्जेल छोराहरूको अंशमा कर लाग्दैन भन्ने उल्लेख भएको, छोराले बाबुलाई अंशमा कर लगाउन पाउने र बाबुले अंश दिन बाध्य हुनुपर्ने कानूनी व्यवस्था नभएकोले बाबुबाट अंश दिलाइपाउँ भन्ने छोरा वादीको उपरोक्त अंशबण्डाको २८ नं. बमोजिम दावा पुग्न सक्दैन । ०२८।५।१९ को फुल बेञ्चसमेतले इन्साफ ठहर गरेको मिलेको देखिएन । वादीले कोर्टफी राखी नालिस दायर गरेको हुँदा अरु केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
न्या. मीनबहादुर थापा,
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. प्रकाशबहादुर के.सी.,
न्या. विश्वनाथ उपाध्याय,
न्या. ब्रम्ह्दत्त तिवारी,
न्या. जयदेव भट्ट,
हामीहरूको सहमती छ ।
प्र.न्या. रत्नबहादुर बिष्टज्यूको राय
यसमा प्रतिवादीबाट पेश भएको ०९।१।२९ को बण्डापत्र ऐनबमोजिम रजिष्ट्रेशन पास हुनुपर्ने कानूनमा व्यवस्था भएको अघिल्लो फुल बेञ्चमा म समेतको बहुमतको रायमा व्यक्त भएकै छ तर वादीले आफ्नो भागको जग्गा पछि आफ्नो नाममा दर्ता गराई वादी र अरु अंशियारले अरुलाई बेचबिखन गरेका लिखत रजिष्ट्रेशन पास भई वादीसमेतका अंशियारले आफ्नो अंश उपभोग गरिसकेको त्यस्तो उपभोग गरिसकेकोमा पुनः अंश गर्ने भन्न नमिल्ने भएकाले अंश पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराई अघिल्लो फुल बेञ्चमा मैले आफ्नो राय व्यक्त गरिसकेको छु । तत्काल प्रचलित अंशबण्डाको २८ नं.ले छोराले बाबुलाई अंश दिनमा कर लगाउन नपाउने भनी हाल केही सहयोगी साथीहरूले वादीको दावी नपुग्ने ठहर गर्नुभएकोमा वादीले अंश पाउन बाँकिरहेको देखिएको अवस्थामा मात्र त्यस्तो भन्न मिल्ने हो वादीले अंश पाई उपभोग गरिसकेको मिसिलबाट प्रत्यक्ष देखिरहेको छ भने वादीले अंश दावी गर्न पाउने अवस्थै नआउने हुनाले यस स्थितिमा त्यस्तो भन्न उपयुक्त देखिन्न, अघिल्लो फुल बेञ्चमा म समेतको बहुमतबाट ठहर गरिएको रायलाई खण्डन गर्ने सन्तोषजनक नयाँ प्रमाण र कारण कुनै आउन नसकेकोले मेरो अघिकै राय मनासिव छ ।
न्या. हेरम्वराजको राय
अंश पाउँ भनी वादी देवेन्द्र शमशेरले आफ्ना पिता लिला शमशेरउपर फिराद गरेको यस मुद्दामा अंश दिन मञ्जुर छैन भन्ने र अंश दिनु बाँकी छ भन्ने प्रतिवादीको जिकिर नभई अंशबण्डा भइसकेको छ भन्ने प्रतिवादी हुनाले दिलाउन कर लगाउन हुँदैन भनी तत्कालीन अंशबण्डाको २८ नं. बमोजिम फिरादपत्र खारेज हुने अवस्था पर्दैन । अ.बं.१३१ नं. बमोजिम मुख नमिलेको कुरामा मात्र अदालतबाट इन्साफ दिनुपर्ने हुनाले प्रतिवादीले वादीलाई अंश दिन बाँकी छ छैन भनी यस मुद्दामा इन्साफ गर्नुपरेको छ । अर्को बोलीमा पिताले अंश दिन र पुत्रले अंश लिन मञ्जुर गरे पिता पुत्रको बीचमा अंशबण्डा हुने तत्कालिन ऐनको व्यवस्था रहेछ । दुवैको मञ्जुरी भएमात्र अंशबण्डा हुने कलममा पुत्रले अंश लिन मञ्जुर भई फिरादपत्रमा प्रस्ताव लेखेकोमा पिताले स्वीकार गरी प्रतिउत्तर दिएमा प्रस्ताव र स्वीकृति बनी ऐनले अंशबण्डा हुन सक्छ । तर पिताले पुत्रको प्रस्ताव स्वीकार नगरेमा अंशबण्डा गर्न हुँदैन थियो पुत्रको प्रस्ताव पहिले नै स्वीकार गरी पिताले अंशबण्डा गरिसकेको थिएँ भनेकोमा मञ्जुर भई पितापुत्रले लिखत गरिसकेकोबाट बण्डा गरेको रहेछ रहेनछ भन्ने कुरामा इन्साफ गर्नुपरेको छ । यस्ता प्रस्तावमा स्वीकृति दिने तरिका फिरादपत्रद्वारा होइन कि भन्ने शंका गर्न पनि प्रतिवादीसँग आफ्नो अधिकार छुट्याइने मानो छुट्याइपाउँ भन्ने जस्ता दावी गर्न पाउने हो प्रतिवादीले गरेको व्यवहारले वादीको अधिकार भंग भएको वा वादीको अधिकार प्रतिवादीबाट प्राप्त गर्ने उपाय पनि फिरादपत्र नै हो ऋणीसँग ऋण भराइपाउँ भनी लिखतबमोजिम धनीले फिराद गरेको छैन । जन्मसिद्ध अधिकार पुत्रले अंश पाउने हक प्रचलन गराउन पिताको मञ्जुरीको आवश्यकता हो । त्यस्ता आवश्यकता भई अंश गर्न मेरो श्रेय हुन्छ भन्ने फिरादमा लेखेकैले आफ्नो श्रेय प्राप्ति गर्न निमित्त फिरादपत्र दायर हुन्छ । हकदार हुनाले बैंकमा रहेको सञ्चय मैले पाउने अधिकार छ भन्ने घोषितको फैसला गराउन आवश्यक हुन्छ ।
अंश भइसकेको भनी प्रतिवादीले पेश गरेको प्रमाणमध्ये ०९।१।२९ बण्डापत्र जो गरेको हो भनी वादीको मञ्जुरी बयान छ ।
जब अंशियारहरूको अगाडि सँग नबस्ने कुराको प्रस्ताव आउँछ, त्यसबखत कि मानोमात्र छुट्टिने अंश गर्ने भन्ने सल्लाह बेश छ ।
जब मानोमात्र छुट्टिने कुराको तथ्य हुन्छ भने तत्काल प्रचलित रजिष्ट्रेशनको ३६ नं.तथा प्रचलित रजिष्ट्रेशनको १ नं. बमोजिम लिखत गरी रजिष्ट्रेशन पास गर्नुपर्ने अवस्थाको पनि हुन सक्छ ।
जब अंश गर्ने मञ्जुर हुन्छन् भने अंश गरी तत्कालिन अंशबण्डाको ४९ नं.र प्रचलित अंशबण्डाको ३० नं. बमोजिम गर्नुपर्छ । त्यसरी अंश गर्दा लिखत गर्नु नपर्ने साक्षी राखी बण्डापत्र गर्नुपर्ने वा रजिष्ट्रेशन पाससमेत गर्नुपर्ने भनी अंश हुने सम्पत्तिअनुसार हुन आउँछ । यस्तो कानूनी व्यवस्थालाई कसैले अन्यथा बोल्न हुँदैन तैपनि यसमा अपवाद देखिएका छ ।
(क) यदि कुनै अंश नभई एकाघरसँग बसेकाले बेचबिखन गर्यो भने तत्कालिन साहू आसामीको ८ नं.तथा प्रचलित लेनदेन व्यवहारको १० नं. बमोजिम उजूर गर्ने वादीको हक बदर हुने हुनाले अंशबण्डाको लिखत नभए पनि निजको अंश छुट्टिन्छ ।
(ख) त्यस्तै गरी कुनैले गरेको कसूरमा अंश सर्वश्व हुने भयो भने अंशियारसँग बण्डापत्र नभए पनि निज कसूरदारको अंश छुट्याई लिलाम हुन्छ ।
(ग) आफ्नो भाग भनी बिक्री गरेको भए अर्को अंशियारले निजको भागमा पर्न सक्दैन भनी प्रमाणित गर्दैन भने पनि व्यवहार बदर गराउन गाह्रो पर्छ ।
(घ) अंशियार बेग्लाबेग्लै छन् भन्ने देखाई कुनै मुद्दा गरेका छन् भने अदालतको फैसलाले बेग्लाबेग्लै रहँदा दायित्व व्यहोर्न पर्ने गरेको फैसलाको मान्यता दिन निमित्त दुवैथर बेग्लै बेग्लै भइसकेको देखा पर्छ ।
(ङ) केही अंश गरी बाँकी अंशबण्डा रहेकोमा लिखत र भोगलाई अंशबण्डाको ६१ नं.हालको ३५ नं. ले समान देखाउँछ । इत्यादि ।
उपरोक्त कानूनको व्यवस्था हो तसर्थ अंश छुट्याउने बण्डापत्र एउटा स्रोत हो । प्रस्तुत मुद्दामा उक्त बण्डापत्रमा अचलको घरजग्गा बण्डा गरेको भएर रजिष्ट्रशन पास हुनैपर्ने थियो । अचलको बण्डा गर्दा यति जग्गा यो साँधको यो नापको यो घरको नाप सीमाना यो भन्ने लेखेको भएमात्र सम्पूर्ण थरको यति टुक्रा यसले पाउने भएको रहेछ भन्ने र सबै घर कम्पाउण्ड एउटाका भागमा परी अरुले नगद बुझेका भएमात्र अचलको लिखत देखिने हो भागभागमा परेको घरजग्गाको विवरण छैन भने घर कम्पाउण्ड बाँडेको लिखत यसलाई मान्नु भएन । मूलबस्तुको टुक्रामा त्यही बस्तु रहन्छ । टुक्रा टुक्रा जम्मा गरेमा मूल बस्तु देखिन्छ । काठको टुक्रा काट्ने नै हो । घरजग्गाको टुक्रा भए घरजग्गा नै भए घरजग्गा नै लेखिने थियो ।
उपरोक्त बण्डापत्र चल सम्पत्तिको रहेछ भनी देखिने लिखत के छ भने निजले कम्पाउण्ड जग्गा दर्ता गर्दा वेनिस्साको भनी दर्ता गरेको छ । बण्डापत्रबाट हक भएको भनी दर्ता गरेको होइन ०२५।८।२६ मा गरिवदास २५।३।३१ मा टोवाको कम्पनी २३।४।३१ मा श्री ५ कान्छी महारानी श्री हेलेन शाह २३।९।२८ मा मोतिमायालाई देवेन्द्र शमशेरले र ०१७।१०।२३ मा केशरी लक्ष्मीलाई शर्मादेवीले फाछ्र्या गरेकोमा बण्डापत्रबाट हक हुन आएको नभनी मेरो हकको भनी लिखत भएको देखिन्छ । यी घरजग्गाहरू उक्त बण्डापत्रमा लेखेको देखिँदैन ।
घर कपाउण्डवापत चल नगदी अंशियारले बुझेको भनी लेखेको छ र सम्पूर्ण घर कम्पाउण्ड कसको भागमा परेको हो खुलाएको नहुनाले अचल घर कम्पाउण्डको लिखतले बण्डा गरेको प्रमाणित हुँदैन भक्तिदेवी र चुडाराज शमशेरले भागमा परेको लिला शमशेरको भागमा परेको जग्गादेखि उत्तरको जग्गा र घरहरू समेतको बढी लिएको भनी लेखेकोबाट यो लिखतबाहेक अरु नै शर्तनामा रहेको संकेत हुन्छ ।
त्यो ०९।१।२९।१ को बण्डापत्र खडा गरेको मात्र हो । निजले अंश बुझेको होइन भन्नालाई निजले हिराको मोल बुझेको १९७५।७।२९, ०१४।४।२४ को रसिद लिखतबाट आफ्नो अंशमा परेको दिएको मोल बुझिसकेको देखिन्छ । त्यती ठूलो हिरा बाँड्न नमिलेको भई अबण्डा रहने भनी उक्त बण्डापत्रमा लेखेको र त्यही हिराको मोल बुझेको हुनाले बण्डापत्र मात्र खडा गरेको हो बाँडेको होइन भनी पत्यार पर्दैन सम्पत्ति बुझेको निष्कर्षमा पुगिन्छ । चल सम्पत्तिको बण्डापत्र गरी बुझेपछि सगोलमा रहेको छु भनी वादीले गरेको दावी झुठ्ठा देखिन्छ । त्यसरी चल सम्पत्ति बुझिलिएपछि अरु बाँकी अबण्डा छ भने त्यो बाँड्न लगाइपाउँ भन्ने फिराद गरी चल अचलको तायदाती लिई अंश छुट्याइपाउँ भन्ने वादीको मनसाय जायज हुँदैन । अंशमा पाउनुपर्ने कुनै गोश्वारा अबण्डा छ भन्ने कानूनबमोजिमको हक वादीको सुरक्षित छ ।
फिल्ड मार्सल रुद्र शमशेर सरदार भक्तलालहरू साक्षी बसी खडा गरेको उक्त बण्डापत्र रजिष्ट्रेशन पास गर्नु नपर्ने रुपको हुनाले अंशबण्डाको ४९ नं.को रीत पुगेको हुँदा बण्डा भइसकेका कुरामा चल अचलको तायदाती लिई अंश पाउँ भन्ने वादी दावा झुठ्ठा ठहर्छ । यस बेञ्चका सहयोगी मा.न्या.हरूले व्यक्त गर्नुभएको रायमा मेरो सहमत नहुँदा आफ्नो राय छुट्टै व्यक्त गरेको छु ।
इति सम्वत् २०२९ साल मार्ग २३ गते रोज ६ शुभम् ।