शब्दबाट फैसला खोज्‍नुहोस्

नेपाल कानून पत्रिकाको बारेमा

सर्वोच्च अदालतबाट प्रकाशन हुने यस नेपाल कानून पत्रिका (नेकाप) को प्रकाशन तत्कालीन प्रधानन्यायाधीश श्री अनिरुद्रप्रसाद सिँहको नेतृत्वमा २०१५ साल फागुन ७ गतेदेखि आरम्भ भएको हो ।

प्रकाशनको आरम्भमा नेकापमा लेख खण्ड, ऐन कानून खण्ड, ऐन कानून खण्ड (क) र निर्णय खण्ड गरी चार खण्ड थिए । लेख खण्डमा लेख रचना, ऐन कानून खण्डमा ऐन, नियम, आदेश, परिपत्र, ऐन कानून खण्ड (क) मा सनद सवाल, फुलकोर्टका निर्णय, रुक्का तथा दुई छापेहरू प्रकाशित हुन्थे र फैसला खण्डमा सर्वोच्च अदालतका निर्णयहरू प्रकाशित हुन्थे । सर्वोच्च अदालतका वार्षिक प्रतिवेदन र न्यायक्षेत्रका कामकारवाही वा समाचार पनि यसमा प्रकाशित गर्ने गरिएको थियो । प्रत्येक वर्षमा प्रकाशित हुने सबै अङ्कहरूमा क्रमशः पृष्ठसङ्ख्या हाल्ने क्रम निरन्तर भए पनि २०३७, २०३८ र २०३९ सालमा टुटेको थियो ।

नेकाप प्रकाशनको सुरूवातमा वि.सं. २०१५ साल फागुनलाई अङ्क १, चैतलाई अङ्क २ भनिएको थियो । वि.सं.२०१६ साल वैशाखलाई अङ्क ३ भनिएको र क्रमश: माघसम्ममा १२ अङ्क प्रकाशित भएको थियो । वि.सं.२०१७ साल वैशाख, जेठ र असारमा कुनै पनि अङ्कहरू प्रकाशित नभएकोमा साउनमा अङ्क १ प्रकाशित भई यसलाई प्रकाशनको तेस्रो वर्ष मानी भाग ३ को रूपमा आएको थियो । वि.सं.२०१८ सालसम्म साउन अङ्कलाई पहिलो अङ्क मानी ९ वटा अङ्क र वि.सं.२०१९ सालमा अङ्क १०,११ र १२ प्रकाशित भई त्यसपछि विशेषाङ्क भनी एउटा अङ्क प्रकाशित भएको थियो । वि.सं.२०२० सालदेखि मात्र १ देखि १२ अङ्कसम्म प्रकाशन गर्न थालियो ।

Website मा प्रकाशन गर्ने प्रयोजनका लागि कामको सिलसिलामा भेटिएका प्रकाशनका केही कमी कमजोरीहरूलाई पनि पाठकवर्गसमक्ष प्रस्तुत गर्नु हाम्रो दायित्व ठानेका छौं । त्यस्ता केही कमी कमजोरीहरूलाई यसप्रकार उल्लेख गरेका छौं ।

  • नेकाप २०१७ मा नि.नं.११८ र नेकाप २०१८ मा नि.नं.११८क प्रकाशित भएको
  • नेकाप २०२१, निर्णय नम्बर २५२ पछि पुनः निर्णय नम्बर २५२ भै दोहोरिएको
  • नेकाप २०२२, निर्णय नम्बर २८६ मूल प्रकाशनमा छुटेको, निर्णय नम्बर २९० हुनुपर्नेमा निर्णय नम्बर २ मात्रै उल्लेख भएको, निर्णय नम्बर २९५ हुनुपर्नेमा मूल प्रकाशनमा २६५ भएको
  • नेकाप २०३६, निर्णय नम्बर १२७८ दोहोरिएकाले १२७८ र १२७८क भनी कायम गरिएको
  • नेकाप २०३७, निर्णय नम्बर १३५६ नभएको, अङ्क ३ मा निर्णय नम्बर १३६५ र अङ्क ४ मा सोही निर्णय नम्बर दोहोरिएको, अङ्क ८ मा निर्णय नम्बर १४०६ र अङ्क १० मा सोही निर्णय नम्बर दोहोरिएको, अङ्क ९ मा निर्णय नम्बर १४०७ देखि १४१४ सम्म क्रमिकरूपमा रहेको र सोही निर्णय नम्बरहरू अङ्क १० मा दोहोरिएको, अङ्क ११ मा भएको निर्णय नम्बरहरू १४१३ र १४१४ अङ्क ९ र १० मा समेत भएको
  • नेकाप २०३८, अङ्क ५ देखि निर्णय नम्बर दोहोरिएकाले (१) (२) कायम गरिएको, निर्णय नम्बर १४४७ नभएको, निर्णय नम्बर १५२० नभएको
  • नेकाप २०४१ को अङ्क ४ मा निर्णय नम्बर १९८४ भई अङ्क ५ मा निर्णय नम्बर १९८५ हुनुपर्नेमा १९८६ बाट सुरू भएको
  • नेकाप २०४२, निर्णय नम्बर २४२५ हुनुपर्नेमा २४५६ भएको, निर्णय नम्बर २४१९ हुनुपर्नेमा २४२० भै यसैलाई निरन्तरता दिई २४२४ सम्म कायम भएको
  • नेकाप २०४४, अङ्क १, निर्णय नम्बर २९५१ र २९५२ मा दोहोरिएको, निर्णय नम्बर २९७४ र निर्णय नम्बर २९७५ मा एउटै निर्णय दोहोरिएको
  • नेकाप २०५०, अङ्क ९, नि.नं. ४७८९, अङ्क ११, निर्णय नम्बर ४८१९ दोहोरिएको
  • नेकाप २०५१, अङ्क ९, निर्णय नम्बर ४९५१ सँग निर्णय नम्बर ४९७३ दोहोरिएको
  • नेकाप २०५२, अङ्क ७, निर्णय नम्बर ६०३३, पृष्ठ ५६४ र नेकाप २०५२, अङ्क ९, निर्णय नम्बर ६०६७, पृष्ठ ७९६ मा एउटै निर्णय दोहोरिएको, अङ्क ५, निर्णय नम्बर ५०९९ बाट ५१०० नभई एकैचोटी ६००० भएको
  • नेकाप २०५३, अङ्क ९, निर्णय नम्बर ६२५८, पृष्ठ ६८५ र नेकाप २०५४, अङ्क ४, निर्णय नम्बर ६३५३, पृष्ठ २०६ मा एउटै निर्णय दाहोरिएको
  • नेकाप २०५७, निर्णय नम्बर ६९७६ र ६८९० मा एउटै निर्णय दोहोरिएको, निर्णय नम्बर ६०३१ र ६०४६ मा एउटै सिद्धान्त कायम भएको, निर्णय नम्बर ६८५७ र ६९४८ एउटै सिद्धान्त रहेको
  • नेकाप २०६७, निर्णय नम्बर ८३४२ मा परेको निर्णय नै निर्णय नम्बर ८४३१ मा पनि छापिएको

नेकापको २०१५ सालको पहिलो अङ्कमा बोध शमशेर वि. ज.समर शमशेरको अंश मुद्दालाई निर्णय नं.१ मानी प्रारम्भ भएको यो प्रचलन हालसम्म आइपुग्दा ९ हजारभन्दा बढी निर्णयहरू समावेश भैसकेका छन् ।

सञ्चार प्रगतिलाई आत्मसात् गर्दै नेकापले आफूलाई अहिले वेभसाइटमा पनि राखेको छ । २०६५ सालदेखिका नेकापहरू सर्वोच्च अदालतको वेभसाइटमा पढ्न र निःशुल्क डाउनलोड पनि गर्न सकिने व्यवस्थामा अरू एक फड्को मारी नेकापमा प्रकाशित भएका सबै फैसलाहरूलाई युनिकोडमा टाइप गरी सर्वोच्च अदालतको Website मा Upload गर्ने काम करिब सकिएको छ । युनिकोडमा जहाँसुकैबाट Search समेत हुन सक्ने गरी तयार गरिएको यो Electronic Version लाई सार्वजनिक गर्नु हाम्रो पछिल्लो महत्त्वपूर्ण उपलब्धि हो भन्ने ठानेका छौं ।

सर्वोच्च अदालतबाट प्रकाशित हुने नजिरहरूको खोजी गर्ने यो Website सर्वोच्च अदालत, प्रकाशन, सञ्चार तथा सम्पादन समिति, प्रकाशन, सञ्चार तथा सम्पादन शाखाले तयार पारेको हो । यसमा सर्वोच्च अदालतबाट २०१५ सालदेखि हालसम्मका कानून पत्रिकाहरूमा प्रकाशित नजिरहरू युनिकोड फन्टमा तयार गरी समावेश गरिएका छन् । यसबाट जोसुकैले आफूले चाहेअनुसार नजिर खोजी गर्न सकिन्छ । नजिरको खोजी गर्दा न्यायाधीशको नाम, फैसला मिति, निर्णय नम्बर, मुद्दाको विषय, शब्दलगायत मुद्दाको तथ्यको आधारमा समेत खोजी गर्न सकिनेछ । उपयुक्त सुझाव र सल्लाहको लागि तलको लिङ्कमा गई अमूल्य सुझाव सम्प्रेषण गरी हामीलाई सहयोग गर्न अनुरोध छ ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु