निर्णय नं. ११२२३ - सरकारी छाप दस्तखत किर्ते
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला मिति : २०७९।०२।११
०७२-CR-१८०१
मुद्दा : सरकारी छाप दस्तखत किर्ते
पुनरावेदक/वादी : जिल्ला सिराहा, खिरौना गा.वि.स. वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने मुनिया खातुनको छोरा जावेद खानको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला सिराहा, खिरौना गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराही बस्ने स्व. अब्दुल लतिफ खाँकी कान्छी श्रीमती रोक्सना बेगमसमेत
एउटै लिखतका सम्बन्धमा किर्ते जालसाजी ठहराई बिगोबमोजिमको जरिवाना हुने ठहराई लगाउको अर्को मुद्दामा फैसला भइसकेको अवस्थामा पुन: सोही लिखतको सम्बन्धमा चलेको मुद्दाबाट थप छुट्टै जरिवाना गर्नु कानूनसङ्गत नदेखिने ।
(प्रकरण नं.३)
पुनरावेदक/वादी : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल
प्रत्यर्थी/प्रतिवादी : विद्वान् अधिवक्ता श्री भेषराज नेउपाने
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहको फैसला गर्ने :
मा. न्या. श्री किरणकुमार पोखरेल
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहको फैसला गर्ने :
मा. न्या. श्री मोहनबहादुर कार्की
मा. न्या. श्री विदुर विक्रम थापा
पुनरावेदन अदालत पाटन
फैसला
न्या. सुष्मालता माथेमा: पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१७ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा यस अदालतबाट मिति २०७३।१।८ मा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:
मुद्दाको संक्षिप्त तथ्य
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ मा रहेको मेरी आमा मुनिया खातुन र सौतेनी आमा रोक्सना बेगमको संयुक्त नाममा दर्ता भएका कि.नं. १२४, ३४८, ३९६ र ४११ को जग्गा तथा घर सौतेनी आमा रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदसमेतले मेरो आमा मुनिया खातुनको नेपाली नागरिकताको प्रमाण पत्र किर्ते गरी नक्कली बनाई उक्त जग्गा विनोदकुमार नेउपानेलाई बिक्री गरेकोले बिक्री कार्यमा संलग्न शाहिद हुसेन भन्ने महमद शाहिद र रोक्सना बेगमलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जावेद खानले महानगरीय प्रहरी बृत्त बौद्धमा पेस गरेको जाहेरी दरखास्त ।
मैले भारत घरमा ब्रुस बनाएर नेपालमा ल्याई काठमाडौंमा बेच्ने काम गर्दछु । यसै सिलसिलामा २०६५ साल पौष महिनाको दोस्रो हप्तातिर सिनामंगलमा रहेको नेपाल टेलरको साहुलाई भेट्न भनी जाँदै गर्दा मेरो सामान्य चिनजानका नौसाद आलमले मलाई बोलाई तिमीसमेतले मुनिया खातुनको नेपाली नागरिकता प्रमाणपत्रलाई किर्ते गरी नक्कली बनाई निजसमेतको हकको जग्गा बिक्री गर्दा राजीनामाको लिखतमा तिमीसमेत साक्षी बसेका रहेछौ, को-को मिलेर उक्त कार्य गरेका हौ भनी सोधेपछि मात्र मैले थाहा पाएको
हुँ । सो कुरा मलाई थाहा नभएकोले प्रहरीमा भन्छु भनी हिँडिरहेको अवस्थामा मलाई प्रहरीले पक्रेका हुन् । म पक्राउ परेपछि मुनिया खातुनको नक्कली नागरिकता बनाई रोक्सना बेगमसमेतले जग्गा बिक्री गरेको थाहा पाएँ । जाहेरवालाको आमा मुनिया खातुनको नक्कली नेपाली नागरिकता प्रमाणपत्र को कसको संलग्नतामा तयार भएको हो सो सम्बन्धमा मलाई केही थाहा
भएन । मेरो संलग्नता छैन । रोक्सना बेगमसमेतले उक्त कार्य गरेको हुनुपर्छ । लिखतमा भएको सहीछाप मेरो होइन । अन्य प्रतिवादीहरूसँग मेरो चिनजान र सम्बन्ध केही पर्दैन भन्नेसमेत बेहोराको प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदको मौकाको बयान कागज ।
जाहेरवालाको सौतेनी आमा रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदसमेतले सरकारी छाप दस्तखत भएको मुनिया खातुनको नागरिकता प्रमाण पत्र किर्ते गरी नक्कली बनाई जाहेरवालाको आमा मुनिया खातुन र रोक्सना बेगमको संयुक्त नाममा दर्ता भएको जग्गा बिक्री गरेको थाहा पाएको थिएँ । २०६५ साल पौष महिनाको दोस्रो हप्तातिर प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदलाई भेटेको थिएँ । जाहेरवालाको आमासमेतको जग्गा रोक्सना बेगमसमेतले किर्ते गरी बिक्री गरेका हुन् । जग्गा बिक्रीको क्रममा तयार गरिएको राजीनामाको लिखतमा म साक्षीमा बसेको हुँ भनी बताएका थिए । पछि उनी प्रहरीद्वारा पक्राउ परेका रहेछन् । यिनै शाहिद हुसेन भन्ने महमद शाहिद र रोक्सना बेगमसमेतले जाहेरवालाको आमा मुनिया खातुनको नागरिकता किर्ते गरी नक्कली बनाई मुनिया खातुनसमेतको संयुक्त नाममा दर्ता भएको जग्गा बिक्री गरेका हुन् भन्नेसमेत बेहोराको संजिव कुमार शाह र अजय महतोको एकै मिलानको मौकाको कागज ।
मेरो जाहेरवाला मुनिया खातुन, प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदसमेतसँग चिनजान
छ । म जाहेरवालाको काठमाडौं महानगरपालिका वडा नं. ९ मा रहेको घरमा कोठा भाडामा लिई बसेको छु । सोही घरमा भाडामा बस्ने अर्का व्यक्ति मुन्नासँग भेटघाट गर्न भनी यी प्रतिवादी महमद शाहिद पनि आउने गर्थे । यस कारण निज प्रतिवादीसँग मेरो पनि कुराकानी बोलचाल हुने गर्दथ्यो । जाहेरवाला र जाहेरवालाको आमा मुनिया खातुन सिराहा स्थित घरमा बस्थे । काठमाडौंको घरमा रोक्सना बेगम बस्थिन् । जाहेरवालासमेतको घर निजको सौतेनी आमा रोक्सना बेगमसमेतले बिक्री गरेको कुरा थाहा पाई जाहेरवालासमेत भई को कसले के कसरी बिक्री गरेका रहेछन् भनी बुझ्दा उक्त जग्गा बिक्री गर्ने कार्यमा यी चिनजानका पक्राउमा परेका प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदको संलग्नताबाट भएको रहेछ । निजहरूले जाहेरवालाको आमा मुनिया खातुनको नागरिकता किर्ते गरी नक्कली बनाई घरजग्गा बिक्री गरेको थाहा भयो । त्यसपछिका दिनमा यी प्रतिवादी मसमेत भाडामा बसेको घरमा आउन छाडे । यी प्रतिवादीले मसँग नाटकीय हिसाबले सिनामंगलमा भेट्न आए, अनि उक्त जग्गा बिक्रीको कुराकानी हुँदा रोक्सना बेगम र मसमेत भई मुनिया खातुनको नागरिकताको प्रमाणपत्र किर्ते गरी नक्कली बनाई बिक्री गरेको भन्दै राजीनामाको लिखतमा मसमेत साक्षी बसेको हुँ भनी मलाई बताएका थिए । रोक्सना बेगम कहाँ छन् भन्दा म भोलि ल्याउँछु भनी त्यहाँबाट हिँडेका हुन् । पछि केही खबर गरेनन् भागे । हाल निज प्रहरीद्वारा पक्राउमा परेका
रहेछन् । यिनै प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिद र रोक्सना बेगमसमेतले मुनिया खातुनको नागरिकताको प्रमाण पत्र किर्ते गरी नक्कली बनाई जग्गा बिक्री गरेका हुन् भन्नेसमेत बेहोराको नौसाद आलमको मौकाको कागज ।
पति अब्दुल लतिफ खान प्रहरी सेवामा रहँदा भएको कमाईबाट सौता रोक्सना बेगमको नाममा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ को कि.नं. १२४, ३४८, ३९६ र ४११ को जग्गा र घर पास गरिदिनुभएको थियो । पतिको मृत्युपछि गाउँघरको सल्लाहबमोजिम सौताको नाममा रहेको उक्त घरजग्गा हामी दुईको नाममा संयुक्त दर्ता गरेका थियौं । म र छोरा सिराहास्थित घरमा बस्थ्यौं । सौता रोक्सना बेगम काठमाडौंको घरमा बस्दै आएकी थिइन् । मेरो आउने जाने काम भई नै रहन्थ्यो । निज सौता पनि सिराहास्थित घरमा आउने जाने गरेकी
थिइन् । यसै क्रममा २०६४ साल चैत्र महिनामा म र छोरा सिराहाबाट काठमाडौंमा रहेको घरमा आउँदा रोक्सना बेगमलाई नदेखेपछि घरमा डेरा गर्ने मानिसहरूलाई सोधपुछ गर्दा सामानसमेत लिएर हिँडेको जानकारी पायौं । कतै जग्गा बिक्री गरी हिँडेकी त होइनन् भनी मालपोत कार्यालय डिल्लीबजारमा गई बुझ्दा उक्त घर जग्गा बिक्री गरेको थाहा भयो । को को भई बिक्री गरेका रहेछन् भनी बुझ्दा सौता रोक्सना बेगमसमेतले मेरो नागरिकताको प्रमाण पत्र नक्कली बनाई जग्गा बिक्री गरेको तथा बिक्रीको क्रममा राजीनामाको लिखतमा साक्षीको महलमा यी पक्राउ परेका प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदले दस्तखत गरेको अवस्था देखिँदा निजै शाहिद हुसेन भन्ने महमद शाहिद र सौता रोक्सना बेगमले मेरो नागरिकताको प्रमाण पत्र किर्ते गरी नक्कली नागरिकता तयार गरी उक्त नक्कली नागरिकता पेस गरी मेरोसमेत हकको घरजग्गा विनोदकुमार नेउपानेलाई बिक्री गरेकोले किर्ते गर्ने व्यक्तिहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मुनिया खातुनको मौकाको
कागज ।
प्रतिवादीहरू शाहिद हुसैन भन्ने महमद शाहिद र रोक्सना बेगमसमेतका व्यक्तिहरू मिली मुनिया खातुनसमेतको हकको काठमाडौं नगरपालिका वडा नं. ९ को कि.नं. १२४, ३४८, ३९६ र ४११ मा रहेको घरजग्गा बिक्री गरी लिए खाएको र दुई जनाको संयुक्त नामको घर जग्गा जानी बुझीकन विनोदकुमार नेउपानेले उक्त घर जग्गा खरिद गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरूको यस प्रकारको कार्य मुलुकी ऐन, किर्ते कागजको महलको १, ७ र १२ नं.बमोजिमको कसुर देखिएकोले निजहरूलाई ऐ. को दफा ७ र १२ नं.बमोजिम सजाय हुन तथा प्रतिवादीहरूले लिए खाएको बिगो रू.३८,००,०००।- समेत भराई सोबमोजिम जरिवाना गरी फरार प्रतिवादीहरू रोक्सना बेगम र विनोदकुमार नेउपानेलाई कानूनबमोजिम म्याद जारी गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोग पत्र ।
मुनिया खातुनका नाउँको नक्कली नागरिकता मसमेत मिलेर बनाएको होइन । म उक्त राजीनामाको लिखतमा साक्षी बसेको पनि होइन । मउपरको जाहेरी झुठ्ठा हो । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेका बयान बेहोरा ठिक साँचो हो र सोमा भएको सहीछाप मेरै हो । अनुसन्धानको क्रममा नौसाद आलम र अजय महतोले गरेको कागज बेहोरा झुट्टा हो । निजले किन त्यस्तो झुट्टा कागज गरिदिए मलाई थाहा
भएन । अभियोग दाबीबमोजिम कसुर अपराध गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदले सुरू अदालतमा गरेको बयान ।
मुनिया खातुन र रोक्सना बेगमको संयुक्त नाममा रहेको उल्लिखित घरजग्गा मैले राजीनामा पारित गरी लिएको हुँ । घर किन्ने सिलसिलामा सोम गौतम भन्ने मानिसले सो घरजग्गा देखाउँदा शाहिद हुसेनले म रोक्सना बेगमको भाइ हुँ भनी बताउँदै सो घरजग्गा बेचबिखन गराउने कार्यमा संलग्न भएका
थिए । जग्गा राजीनामा हुँदा सोम प्रसाद र शाहिद हुसेनसमेत लिखतमा साक्षी बसेका छन् । प्रतिवादी रोक्सना बेगमसँगै घरमा एकजना मुसलमानी महिला पनि थिइन् । मलाई जग्गा देखाउने मानिस र बिक्रीमा संलग्न शाहिदले मैले नचिनेको बुर्का लगाएर बसेकी महिला नै जग्गावाला मुनिया खातुन हुन् भनेका थिए । दाम काम मिलेपछि मालपोत कार्यालयमा गई लाग्ने दस्तुर तिरी डोर कर्मचारीले जग्गा लिने दिनेको नागरिकता भिडाई सहीछाप गराएपछि सो घरजग्गा मेरो नाममा आएको हो । मुनिया खातुनका नाउँको नक्कली नागरिकता बनाउने कार्यमा मेरो कुनै संलग्नता छैन र उक्त नागरिकता नक्कली हो भन्ने मलाई थाहा पनि थिएन । यदि थाहा भएको भए मैले त्यति ठुलो धनराशि उक्त घर जग्गामा लगानी गर्ने थिइनँ । उक्त घटनाबाट म आफैँ पीडित छु । मलाई किन प्रतिवादी बनाइयो म आश्चर्यमा परेको छु । अड्डाको उपस्थितिमा जग्गा लिनुदिनु हुँदा दिने व्यक्ति असली वा नक्कली के हो त्यो हेर्ने कार्यसमेत अड्डाकै हो । अड्डाले गरेको गल्तीको कारण मैले त्यति धेरै पुँजी लगाएर खरिद गरेको सम्पत्ति विवादमा आएको छ । म निर्दोष छु, अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी विनोदकुमार नेउपाने निवेदनसहित सुरू अदालतमा उपस्थित भई गरेको बयान ।
प्रतिवादी रोक्सना बेगमका नाउँको म्याद बेपत्ते तामेल भई आएकोले यस अदालतको मिति २०६७।३।२२ गतेका आदेशानुसार निज प्रतिवादी रोक्सना बेगमका नाउँको राष्ट्रिय दैनिक गोरखापत्रमा मिति २०६७।६।२ प्रकाशित म्यादमा समेत हाजिर भएको देखिएन ।
घरजग्गा खरिद बिक्री गर्दा दलालमार्फत नै गरिन्छ । दलालमध्येका महमद शाहिद हुसेन जग्गाधनीका आफन्ती हुन् । अर्का दलाल सोमप्रसाद गौतममार्फत घरजग्गा लिने कुरा मिलेको हो । हामी मुसलमान भएकोले बुर्का लगाएर मालपोत जान मिल्दैन । असजिलो हुने हुँदा डोर खटाएर पास गरौं भनी आग्रह आएकोले उक्त घरजग्गा ३८ लाख रूपैयाँ मूल्य गरी सोही घरमा बसी डोरमार्फत मालपोत कार्यालयको ढड्डा स्रेस्ता सबै भिडाउन लगाई सबै ठिक छ भनी नगद भुक्तानी गरी डोरकै उपस्थितिमा लिखत पारित गर्ने काम भएको हो । प्रतिवादी विनोदकुमार नेउपाने जालसाजी कामकाज गरी हिँड्ने व्यक्ति होइनन् । निजमाथिको आरोप निराधार हो । प्रतिवादी विनोदकुमार नेउपानेले झुट्टा आरोपबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको एकै मिलानको प्रतिवादी विनोदकुमार नेउपानेका साक्षी प्रमोदकुमार अधिकारी र रमेशप्रसाद तिमिल्सिनाले गरेको बकपत्र ।
मसमेत भई प्रतिवादीको नमुना हस्ताक्षर र लिखत तुलना गरी राय प्रतिवेदन दिएको हो । हाम्रो प्रयोगशालामा प्राप्त भएका विवादित लिखत र नमुना लिखत परीक्षण गर्दा हाम्रो परीक्षणमा उल्लेख भएअनुसार कुनै यकिन राय दिन नसकिएको जानकारी गराइएको छ भन्नेसमेत बेहोराको लिखत परीक्षण गर्ने प्र.ना.उ. विशेषज्ञ अम्बिकाप्रसाद धितालले गरेको बकपत्र ।
मसमेत भई प्रतिवादीको नमुना हस्ताक्षर र लिखत तुलना गरी राय प्रतिवेदन दिएको हो । विवादास्पद प्रलेख नमुना एकआपसमा भिडाउँदा यकिन राय दिन नसकिने भनी उल्लेख गरिएको
छ । जुन कुरा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ भन्नेसमेत बेहोराको लिखत परीक्षण गर्ने प्र.ना.नि नगेन्द्र वरसिं थापाले गरेको बकपत्र ।
मैले दिएको जाहेरीमा भएको बेहोरा र सहीछाप मेरै हो । रोक्सना बेगम, साहिद मियाँ र विनोदकुमार नेउपानेले मेरो आमा मुनिया खातुनको सट्टा अर्को आइमाई लगी जग्गा पास गरिएको हो । प्रतिवादी विनोदकुमार नेउपाने एक पटक मेरो घरमा आई रोक्सना बेगम कहाँ छ म विनोदकुमार नेउपाने हो भन्नुभयो । उहाँसँग अरू तीन जना हुनुहुन्थ्यो, अरू दुई जनालाई म चिन्दिनँ । रोक्सना बेगमको माइती कहाँ हो भनी सोधेकोले चाबहिलमा हो भनी चिनाइदिएको थिएँ । शाहिद र गुड्डु खानलाई एकपटक देखेकोले निजहरूलाई चिन्दछु । शाहिद र गुड्डुको संलग्नतामा यस्तो काम भएको रहेछ । गुड्डुको घर पाकिस्तान हो भने शाहिदको घर भारत यु.पी. हो । मुनिया खातुनको नागरिकतामा शाहिद हुसेनले आफ्नो मानिसको फोटो टाँस गरेको सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको जाहेरवाला जावेद खानले गरेको बकपत्र ।
मिति २०६५।१०।१० मा मौकामा गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरो नै हो । प्रतिवादीहरूले के कसरी किर्ते गरे त्यो मलाई थाहा भएन । उक्त कार्यमा रोक्सना बेगम, सहिद मियाँ र विनोद नेउपानेले मिलेर गरेका हुन् भन्ने कुरा सुनेको हुँ । म तीन वर्षदेखि जाहेरवालाको घरमा बस्ने भएकोले शाहिद हुसेन भन्नेलाई म राम्रोसँग चिन्दछु । जाहेरवालाको घरको एक कोठामा मुन्ना भन्ने व्यक्ति बस्ने गरेकाले निजलाई भेट्न शाहिद हुसेन भन्ने महमद शाहिद आउने जाने गर्दा निजलाई चिनेको हुँ, क्रिकेट खेल्नसमेत आउँथे, क्रिकेट पनि सँगै खेलिन्थ्यो भनी मौकामा बुझिएका नौसाद आलमले गरेको बकपत्र ।
बुझिएका व्यक्तिहरू अजय महतो र संजिवकुमार साहका नाउँमा यस अदालतबाट जारी भएको अ.बं. ११५ नं.बमोजिमको म्याद तामेल गर्न पठाउँदा क्रमशः मिति २०६८।०१।२७ र मिति २०६८।०२।०४ मा बेपत्ते तामेल भएको देखिँदा उक्त तामेली म्याद बदर गरिदिएको छ । अब निजहरूले अनुसन्धानको क्रममा कागज गर्दा खुलाएको अजय महतो र संजिवकुमार साहको स्थायी वतनमा पुनः म्याद जारी गरी यथाशीघ्र तामेल गराई पेस गर्नु भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।८।९ को आदेश ।
मुलुकी ऐन, अ.बं. ११५ नं.बमोजिम मौकामा बुझिएका व्यक्तिहरू संजिवकुमार साहको नाउँको म्याद मिति २०६८।९।१५ मा र अजय महतोका नाउँको म्याद मिति २०६८।९।२४ मा बेपत्ते तामेल भई निजहरू सुरू अदालतमा हाजिर भएको देखिएन ।
पीडित मुनिया खातुनको नक्कली किर्ते नेपाली नागरिकता बनाउने प्रतिवादीहरू रोक्सना बेगम र प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदलाई मुलुकी ऐन, किर्ते कागजको १ र ७ नं. को कसुरमा ऐ. को ७ र १२ नं.बमोजिम जनही एक वर्ष कैदको सजाय हुने ठहर्छ । अर्का प्रतिवादी विनोदकुमार नेउपानेले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।१२।१२ को फैसला ।
प्रतिवादीहरूले आरोपित कसुर गरेको तथ्यमा अदालत सहमत भइसकेपश्चात् प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम कैद सजाय भइसकेको तर प्रतिवादीहरूले लिए खाएको बिगो रू.३८,००,०००।- भराई बिगोबमोजिम जरिवाना गर्नुपर्नेमा सोतर्फ केही नबोली भएको सुरू फैसलामा सो हदसम्मको त्रुटि रहेको छ । अर्का प्रतिवादी विनोदकुमार नेउपानेसमेतले नक्कली नागरिकता बनाई जग्गा खरिद कार्यमा संलग्न भएको भनी किटानी जाहेरी दिई सोही जाहेरीलाई समर्थन हुने गरी जाहेरवालाले बकपत्र गरेको अवस्थामा प्रतिवादी विनोदकुमार नेउपानेलाई सफाइ दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा सुरू फैसला सो हदसम्म बदर गरी अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र ।
मुनिया खातुनको भइरहेको नेपाली नागरिकताको प्रमाण पत्र नक्कली किर्ते बनाउने प्रतिवादीहरू रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदलाई किर्ते कागजको १ र ७ नं. को कसुरमा सोही महलको ७ र १२ नं.बमोजिम जनही एक वर्ष कैद गरी किर्ते कागजको ७ नं. को सजाय सम्बन्धमा केही नबोली गरिएको सुरू अदालतको मिति २०६८।१२।१२ को फैसला प्रमाण मूल्याङ्कन र कानून व्याख्याको रोहमा समेत फरक पर्न सक्ने हुनाले छलफल निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली (संशोधनसहित), २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई म्याद जारी गरी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७१।२।२८ को आदेश ।
प्रत्यर्थी प्रतिवादीहरू रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदलाई मुलुकी ऐन, किर्ते कागजको महलको १ र ७ नं. को कसुरमा सोही महलको ७ र १२ नं.बमोजिम जनही एक वर्ष कैद सजाय हुने तथा प्रतिवादी विनोदकुमार नेउपानेले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।१२।१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको सो हदसम्म पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१७ को फैसला ।
मुनिया खातुन र प्रतिवादी रोक्सना बेगमको संयुक्त नाउँको कि.नं. १२४, ३९६, ३४८ र ४११ को जम्मा ०-४-०-० जग्गा तथा सोमा बनेको घरसमेत र. नं. ४८९८ख मिति २०६४।९।३० मा मुनिया खातुनको नेपाली नागरिकता पेस गरी राजीनामाको लिखत पास गरेको देखिन्छ । प्रतिवादी विनोदकुमार नेउपानेले प्रतिवादीहरूसँग मिलेमतो गरी उक्त जग्गा राजीनामा पारित गरी लिएका छन् । यी प्रतिवादीले दुईवटा व्यक्तिको नाउँमा रहेको साझा जग्गा एकै व्यक्तिबाट राजीनामा गरी लिएको अवस्थाबाट यी प्रतिवादीको कसुरमा संलग्नता भएको स्पष्ट देखिएको अवस्थालाई अनदेखा गरी प्रतिवादी विनोदकुमार नेउपानेलाई सफाइ दिएको फैसलामा मुलुकी ऐन, किर्ते कागजको १, ७ र १२ नं. को व्याख्यात्मक त्रुटिरहेको छ । त्यसैगरी प्रतिवादीहरूले पीडितको नाउँको नागरिकता किर्ते गरी नक्कली बनाई मुनिया खातुनसमेतको हकको जग्गा बिक्री गरी बिगो रू.३८,००,०००।- खाएको भन्ने राजीनामा लिखतबाट देखिएको
छ । मुलुकी ऐन, किर्ते कागजको ७ नं. मा सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुने व्यवस्था रहेको छ । काम भइसकेको रहेनछ भने बिगोको आधी जरिवाना हुन्छ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ । प्रतिवादीहरूले रू.३८,००,०००।– बिगो खाई मासिसकेको अवस्थामा प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना हुनुपर्ने बाध्यात्मक कानूनी व्यवस्थाको अनदेखा गरी दुई जना प्रतिवादीहरूलाई वादी दाबीभन्दा कम कैद मात्र सजाय गर्ने र अर्का प्रतिवादी विनोदकुमार नेउपानेले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा न्यायिक मनको प्रयोग भएको नदेखिएकोले प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा दायर गरेको निवेदन ।
मुलुकी ऐन, किर्ते कागजको ७ नं. मा सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुन्छ । काम भइसकेको रहेनछ भने बिगोको आधी जरिवाना हुन्छ भन्ने कानूनी व्यवस्था रहेको छ । उल्लिखित व्यवस्थाबमोजिम किर्ते गरी सम्पत्ति लिइसकेको देखिएको अवस्थामा बिगोबमोजिम जरिवाना पनि गर्नुपर्नेमा किर्ते कागजको १२ नं.बमोजिम प्रतिवादीहरू रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदलाई जनही एक वर्ष कैद सजाय मात्र गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७१।११।१७ मा भएको फैसलामा उक्त किर्ते कागजको ७ नं. को त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिदिएको छ । सम्बन्धित सुरू, रेकर्ड र भए प्रमाण मिसिलसमेत झिकाई आएपछि साथै राखी नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७३/१/८ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सुरू तथा रेकर्ड मिसिल अध्ययन गर्दा जाहेरवाला जावेद खानले आफ्नो आमा मुनिया खातुन र सौतेनी आमा रोक्सना बेगमको संयुक्त नाममा दर्ता स्रेस्ता भएको काठमाडौं महानगरपालिका वडा नं. ९ स्थित कि.नं. १२४, ३९६, ३४८ र ४१४ मा रहेको घर जग्गा मेरो आमाको नामको नागरिकताको प्रमाणपत्र किर्ते गरी किर्ते नागरिकता बनाई विनोदकुमार नेउपानेलाई राजीनामा पारित गरिदिएकोले उक्त नागरिकता किर्ते बनाउने कार्यमा संलग्न शाहिद हुसेन भन्ने महमद शाहिद र रोक्सना बेगमसमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी परेको जाहेरीका आधारमा अनुसन्धान तहकिकात भएको प्रस्तुत मुद्दामा अनुसन्धानबाट प्रतिवादीहरू शाहिद हुसेन भन्ने महमद शाहिद, रोक्सना बेगम र विनोदकुमार नेउपानेको आपसी मिलेमतोमा मुनिया खातुनको नेपाली नागरिकता प्रमाणपत्र किर्ते गरी नक्कली बनाई निजसमेतका नाउँको घरजग्गा विनोदकुमार नेउपानेलाई राजीनामा पारित गरिदिएकोले प्रतिवादीहरूलाई मुलुकी ऐन, किर्ते कागजको महलको १, ७ र १२ नं. को कसुरमा सोही महलको ७ र १२ नं.बमोजिम सजाय गरी लिए खाएको रू.३८,००,०००।- बिगोसमेत भराई बिगोबमोजिम जरिवाना गरिपाउँ भनी अभियोग पत्र दायर भएको
रहेछ । सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीमध्येका रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदले मुलुकी ऐन, किर्ते कागजको १ र ७ नं. को कसुर गरेको ठहर्याई उक्त कसुरमा निजहरूलाई सोही महलको ७ र १२ नं.बमोजिम जनही एक वर्ष कैदको सजाय हुने र अर्का प्रतिवादी विनोदकुमार नेउपानेलाई अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्याई फैसला भएकोमा सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सुरू अदालतकै फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७१/११/१७ मा फैसला भएको रहेछ । पुनरावेदन अदालतको उक्त फैसलामा चित्त नबुझेकाले मुद्दा दोहोर्याई हेरिपाउन माग गरी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा निवेदन दर्ता भएकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्नका लागि मिति २०७३/०१/०८ मा निस्सा प्रदान भई आज सुनुवाइको लागि यस इजलाससमक्ष पेस हुन आएको रहेछ ।
पुनरावेदकका तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन हेर्दा पुनरावेदन अदालत पाटनको फैसलाउपर चित्त नबुझेका बुँदाहरूलाई देहायअनुसार उल्लेख गरेको देखिन्छ:
(क) घर जग्गा खरिद बिक्रीको लिखत किर्ते जालसाज ठहरेकोमा घर जग्गा लिने प्रतिवादीमध्येका विनोदकुमार नेउपानेलाई अभियोग माग दाबीबाट सफाइ दिएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा मुलुकी ऐन, किर्ते कागजको महलको १, ७ र १२ नं. को व्याख्यात्मक त्रुटि रहेको,
(ख) प्रतिवादीहरूमध्येका रोक्सना बेगम र महमद शाहिदका हकमा अभियोग ठहर भएको भए पनि बिगोबमोजिम जरिवाना गरी बिगोसमेत भराइदिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको अवस्थामा सो बिगोतर्फ केही नबोली भएको फैसला त्रुटिपूर्ण रहेको,
उपर्युक्तअनुसारको पुनरावेदन जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले मुनिया खातुनको नागरिकता किर्ते तवरले बनाइएको र सोही किर्ते नागरिकताका लिई अर्कै मानिस मुनिया खातुन बनी मालपोत कार्यालयको डोर कर्मचारीसमक्ष रोक्सना बेगमसहित उपस्थित भई रोक्सना बेगम र नक्कली मुनिया खातुनले ल्याप्चे सहीछाप लगाई विनोदकुमार नेउपानेलाई पीडितसमेतको हकको घरजग्गा राजीनामा पारित भएको तथ्य स्थापित भएको छ । मुनिया खातुनको भइरहेको सक्कली नागरिकतालाई किर्ते गरी नक्कली नागरिकताको प्रमाणपत्र बनाउने कार्यमा प्रतिवादीहरू संलग्न रहेको प्रस्ट छ । यस्तो अवस्थामा सुरू तथा पुनरावेदन अदालतले प्रतिवादीहरूलाई सजाय गर्दा कानूनले निर्दिष्ट गरेको प्रावधानलाई पालना गरी सोहीअनुरूप इन्साफ गर्नुपर्ने हुन्छ । प्रतिवादीहरूले पीडितसमेतको घरजग्गाको मोल बिगो अठ्तिस लाख कायम गरी खरिद बिक्री गरेको देखिएको अवस्थामा किर्ते कागजको ७ नं.बमोजिम बिगो रकम पीडितलाई प्रतिवादीहरूबाट भराई बिगोबमोजिम जरिवाना गर्नुपर्ने हुन्छ । दुई तहको अदालतको फैसलामा बिगो भराउनेतर्फ कुनै कार्य गरिएन जसबाट कानूनको प्रत्यक्ष त्रुटि भएको छ । प्रतिवादीहरूले बिगो खाएको प्रमाणित भएकोले निजहरूबाट पीडितलाई बिगो भराइ सफाइ पाएका प्रतिवादीलाई समेत कानूनबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी विनोदकुमार नेउपानेको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भेषराज नेउपानेले मेरो पक्षले जग्गा पारित गरिलिँदा दाताहरू दुवैजना मालपोत कार्यालयले खटाएको डोरसमक्ष उपस्थित भई कायम भएको मोल रू.३८,००,०००।– बुझिलिई लिखत पारित भएको हो । जग्गा पारित गरिदिने व्यक्ति यथार्थ हुन् कि होइनन् भनी जाँच गर्ने कार्य पारित गर्ने अड्डाको हो । मालपोतबाट खटी गएका कर्मचारीले असावधानीपूर्वक गरेको कार्यको परिणामको भार प्रतिवादीले बोक्न मिल्दैन । प्रतिवादी विनोदकुमार नेउपाने नक्कली नागरिकता बनाउने कार्यमा संलग्न नभएको र बनाउन पनि आवश्यक नभएकोले निजको हकमा अभियोग मागदाबीबाट सफाइ दिएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
माथि उल्लेख भएबमोजिम पुनरावेदकका तर्फबाट पुनरावेदनमा लिइएका जिकिरहरू, दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू र मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण गर्नुपर्ने देखिन आयो :
(क) प्रतिवादीहरूलाई प्रस्तुत मुद्दाबाट बिगोबमोजिमको जरिवाना नगरी दुई जना प्रतिवादीहरूलाई कैदको मात्र सजाय गरी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिन्छ वा देखिँदैन ?
(ख) मुनिया खातुनको नाउँको नागरिकता किर्ते गर्ने कार्यमा प्रतिवादी विनोदकुमार नेउपानेको संलग्नता रहेको देखिन्छ वा देखिँदैन ?
२. अब निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूमा विचार गर्दा प्रस्तुत मुद्दामा मुनिया खातुन र रोक्सना बेगमको संयुक्त नाममा दर्ता रहेको कि.नं. १२४, ३४८, ३९६ र ४११ मा रहेको घरजग्गा र नं ४८९८ख मिति २०६४।९।३० मा पीडित मुनिया खातुनको नामको सहीछाप गरी निजको नागरिकता पेस गरी रोक्सना बेगमसमेतले प्रत्यर्थी प्रतिवादी विनोदकुमार नेउपानेलाई बिक्री गरेको पाइन्छ । राजीनामाको लिखत पारित गरी लिँदा दिँदा पेस गरेको मुनिया खातुनको नामको सरकारी छाप लागेको नेपाली नागरिकताको प्रमाण पत्रमा लागेको ल्याप्चे सहीछाप र सुरू काठमाडौं जिल्ला अदालतले नमुनाको रूपमा लिएको मुनिया खातुनको ल्याप्चे सहीछाप र मुनिया खातुनले पेस गरेको निजको नाउँको सक्कल नागरिकता एकआपसमा नमिल्ने भनी राष्ट्रिय विधि-विज्ञान प्रयोगशाला खुमलटार ललितपुरको च.नं. ५७३ मिति २०६८।८।२९ को पत्रबाट लेखी आएको पाइन्छ । किर्ते जालसाजी गरेको भनी किटानी जाहेरी परेको, जाहेरी बेहोरालाई समर्थन गरी जग्गाधनी मुनिया खातुनले बकपत्र गरेकोसमेतका प्रमाणहरूको रोहमा विचार गर्दा प्रत्यर्थी प्रतिवादी रोक्सना बेगम र विनोद नेउपानेका बिचमा लिनुदिनु गरेको र नं. ४८९८ख को राजीनामाको लिखत पारित गर्दा मुनिया खातुनको नामको नेपाली नगरिकता किर्ते गरेको ठहर्याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेको देखिन आएन ।
३. जहाँसम्म प्रतिवादीहरू रोक्सना बेगम र शाहिद हुसेन भन्ने मोहमद शाहिदलाई बिगोबमोजिम जरिवाना नगरेको हदसम्म सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने पुनरावेदन जिकिर छ, सो सम्बन्धमा हेर्दा किर्ते कागज हुँदाका अवस्थामा प्रचलनमा रहेको साबिक मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. मा “सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुन्छ । काम भइसकेको रहेनछ भने बिगोको आधी सजाय हुन्छ” भन्ने व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पीडित मुनिया खातुनसमेतको घरजग्गाको मोल कायम गरी लिनु दिनु गरे तापनि उक्त मोलको घरजग्गा यसै लगाउको ०७२-CI-०४४३/०७२-CI-१६८१ को जग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम मुद्दामा आज यसै इजलासबाट पारित र.नं. ४८९८ख मिति २०६४।९।३० को पारित राजीनामाको लिखत र दृष्टिबन्धकको लिखत पूरै बदर भई लिखतमा उल्लिखित घरजग्गा वादीको नाममा दाखिला खारेज भई दर्तासमेत हुने ठहरी पीडितले विवादित घरजग्गा फिर्ता पाउने ठहराई फैसला भइसकेको अवस्था देखिन्छ । यसै गरी लगाउको किर्ते जालसाजी मुद्दा (०७२-CR-१७९६/०७२-CR-०३२६) मा आज यसै इजलासले प्रतिवादी रोक्सना बेगमलाई लिखतको बिगोबमोजिमको रू.३८,००,०००।- जरिवाना हुने ठहर्याएको सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी फैसला भएको अवस्था देखिन्छ । एउटै लिखतका सम्बन्धमा किर्ते जालसाजी ठहराई बिगोबमोजिमको जरिवाना हुने ठहराई लगाउको अर्को मुद्दामा फैसला भइसकेको अवस्थामा पुन: सोही लिखतको सम्बन्धमा चलेको प्रस्तुत मुद्दाबाट थप छुट्टै जरिवाना गर्नु कानूनसङ्गत देखिन आएन । यस प्रकार मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. मा उल्लेख भएअनुसार लगाउको मुद्दाहरूबाट पारित लिखत बदर भई सम्पूर्ण घर जग्गा पीडित वादी मुनिया खातुनको नाममा कायम हुने गरी फैसला भइसकेको र लिखतमा खुलेको मूल्य बिगोबमोजिमको रू. ३८ लाख जरिवाना हुने पनि ठहरेको अवस्थामा मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. को त्रुटि रहेको पनि देखिन आएन ।
४. प्रत्यर्थी प्रतिवादी विनोदकुमार नेउपानेलाई सफाइ दिएको मिलेन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा, जाहेरवाला जावेद खानले दिएको जाहेरी दरखास्तमा पीडित मुनिया खातुनको सरकारी छाप लागेको नागरिकता किर्ते गर्ने कार्यमा यी प्रत्यर्थी संलग्न रहेको भनी उल्लेखसम्म पनि भएको पाइँदैन । जाहेरवालाले अदालतमा गरेको बकपत्रमा पनि विनोदकुमार नेउपानेले के कसरी किर्ते कार्यमा संलग्न भएका थिए सो प्रस्ट गर्न सकेको देखिँदैन । प्रत्यर्थी विनोदकुमार नेउपानेको बयान हेर्दा विवादित जग्गा पास गर्दा मलाई जग्गा देखाउने मानिसले दाता रोक्सना बेगमसँग बुर्का लगाएर बसेकी मानिस मुनिया खातुन हुन् भनी बताएका र दामकामको कुरा मिलेपछि लाग्ने दस्तुर मालपोत कार्यालयमा बुझाएको र डोरबाट जग्गा पारित गरिलिने क्रममा डोर कर्मचारीले दाताहरूको नागरिकता भिडाई निजहरूको सहीछापसमेत लगाई जग्गा राजीनामा पारित गरी लिएको हुँ, मुनिया खातुनको नागरिकता किर्ते हो भन्ने थाहा पाएको भए त्यति धेरै रकम लगानी गरी उक्त घरजग्गा किन्ने नै थिइनँ भनी कसुरमा पूर्ण रूपमा इन्कारी रही बयान गरेको पाइन्छ । यी प्रतिवादीका साक्षी रमेश प्रसाद तिमिल्सिनाले दाताहरूले मेरै रोहबरमा प्रतिवादीमध्येका विनोदकुमार नेउपानेबाट ३८ लाख रूपैयाँ बुझी डोरबाट जग्गा राजीनामा पारित गरिलिएको र सरकारी छाप लागेको नागरिकताको प्रमाणपत्र किर्ते गर्ने कार्यमा संलग्न भएका होइनन् भनी बकपत्र गरेको देखिन्छ । मौकामा कागज गर्ने सन्जिव कुमार शाह, अजय महतो र नौसाद आलमले पनि किर्ते कार्यमा अन्य प्रतिवादीहरूको संलग्नता रहेको भन्दै यी प्रत्यर्थी विनोदकुमार नेउपानेलाई पोल गरेको
देखिँदैन । सहअभियुक्त शाहिद हुसेन भन्ने महमद शाहिदले पनि यी प्रत्यर्थीको संलग्नतामा किर्ते कार्य भएको हो भनी बयान गर्न नसकेको अवस्थासमेतका आधार प्रमाणबाट प्रत्यर्थी विनोदकुमार नेउपानेले पीडित जाहेरवालाकी आमा मुनिया खातुनको सरकारी छाप लागेको नेपाली नागरिकता किर्ते बनाउने कार्यमा संलग्नता रहेको देखिन नआएकोले अभियोग मागदाबीबाट सफाइ दिने ठहर्याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखियो ।
५. अत: प्रतिवादीहरू रोक्सना बेगम र प्रतिवादी शाहिद हुसेन भन्ने महमद शाहिदलाई मुलुकी ऐन, किर्ते कागजको महलको १ र ७ नं. को कसुरमा प्रस्तुत मुद्दाबाट सोही महलको ७ र १२ नं.बमोजिम जनही एक वर्ष कैदको सजाय हुने ठहर्याई प्रतिवादी विनोदकुमार नेउपानेलाई अभियोग माग दाबीबाट सफाइ दिने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तिलप्रसाद श्रेष्ठ
इजलास अधिकृत:- लोकनाथ पराजुली
इति संवत् २०७९ साल जेठ ११ गते रोज ४ शुभम् ।