शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०८ - अ

भाग: १४ साल: २०२९ महिना: बैशाख अंक:

निर्णय नं. ७०८       ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री मीनबहादुर थापा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह

माननीय न्यायाधीश श्री वृषबहादुर थापा

माननीय न्यायाधीश श्री जयदेव भट्ट

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०२३ सालको दे.फु.नं. ७३

फैसला भएको मिति : २०२९।९।१५।६

निवेदक    : भारत वहराइच बर्नपुर रेहवा बस्ने कुँवर इन्द्रप्रताप नारायण सिंह मरी मुद्दा सकार गर्ने उमासुन्दरी देवी

विरुद्ध

विपक्षी     : ऐ.ऐ.बस्ने राजमाता बसन्त कुँवरवा

मुद्दा : अंश

(१)  कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि वा सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने ।

          यसमा बाबाराजा विजयबहादुर सिंहले आर्जेको नेपाल सरहद जिल्ला बर्दिया तप्पे रजहट मौजे डेउडाकला १ भवानीपुर १ पडरीया १ सुकैपुर ।। तप्पे फ्रैना मौजे वंगाई १ समेत ४।। मौजा बाबाको शेषपछि सगोलका जेठा दाजु रुद्रप्रताप नारायणका नाममा दर्ता गराई भोगचलन गरिआएको निज दाजु परलोक हुनुभएपछि भतिजा विजयप्रतापले एकलौटी आफ्नो नाममा दर्ता गराएको सो मौजाहरूमा मेरो भाग आधा पंक्ति दिलाइपाउँ भन्ने वादीको दावी परी मुद्दा चलेको रहेछ । वादी प्रतिवादी दुवै पक्ष विदेश भारतका नागरिक भए पनि नेपाल अधिराज्यमा भएको उक्त जिमिदारी मौजाहरूमा वादीले भाग पाउने नपाउने समेत यहाँको कानूनबमोजिम न्याय लिन दुवैपक्षले यहाँको अदालतको अधिकार क्षेत्रमा आफूलाई समर्पण गरेको र निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तअनुसार कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि या सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने हुनाले वादी दावीको नेपाल अधिराज्यमा भएको जिमिदारी मौजाहरूमा आधा भाग दिलाइपाउँ भन्ने वादीको नालिस तत्काल प्रचलित अंशबण्डाको ६१ नं. बमोजिम हदम्याद नाघेको भन्न मिल्ने अवस्था छ छैन उक्त जिमिदारी मौजाहरूमा वादीले पाउने नपाउने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

(प्रकरण नं. १३)

(२)  नेपाल अधिराज्यमा भएको सम्पत्तिमा नेपालको कानूनबमोजिम वादीले अंश पाइसकेको सबूद गुज्रन नआए अंशबण्डाको १।२ नं. बमोजिम अंश पाउने ठहर्ने ।

          अब नेपाल अधिराज्यमा भएको वादी दावीको जिमिदारी मौजाहरू कहिलेको आर्जन रहेछ भन्नेतर्फ वादी इन्द्रप्रताप सिंह गुजाराले अन्दाजी ३० वर्षदेखि भिन्न बसी आएको भनी २०११ सालमा दिएको प्रतिवादीमा उल्लेख गरेको प्रतिवादीकै लेखाइअनुसार सो भिन्न भएको भनेको मितिले ३० बर्ष अघि १९८१ सालतिर पर्न आउने र वादी दावीको जिमिदारी मौजाहरू १९६३ सालदेखि भोग भई आएको भन्ने देखिएकोले वादी सगोल छँदैका अवस्थाको आर्जन रहेछ भन्नमा कुनै शंका छैन । नेपाल अधिराज्यमा भएको सम्पत्तिमा नेपालको कानूनबमोजिम वादीले अंश पाइसकेको सबूद गुज्रन नआएकोले वादी दावीको जिमिदारी मौजाहरूमा अंशबण्डाको १।२ नं. बमोजिम आधि वादीले पाउने नै देखिन्छ ।

(प्रकरण नं. १७)

निवेदक तर्फबाट : व.अ. मधुप्रसाद शर्मा, अ. होराप्रसाद जोशी

विपक्षी तर्फबाट   : अ.अब्दुल हसिव सिद्धक,

उल्लिखित मुद्दा :

फैसला

    न्या. वासुदेव शर्मा

     १.   प्रस्तुत मुद्दा ०२३।१०।१८।३ को फुल बेञ्चबाट फैसला भएकोमा दोहर्‍याइपाउँ भन्ने वादी पक्षको निवेदन परेकोमा व्यहोरा साँचो भए अब यो मुद्दा पेशीमा चढाउँदा हाजिर भएसम्मका न्यायाधीशको फुल बेञ्च गरी एकपटक कुन बेञ्चको राय मनासिव रहेछ जाँचिदिनु भनी त्यहाँ पठाउन हुकूम बक्सेको छ भन्ने विशेष जाहेरी विभाग राजदरवारबाट ०२३।१२।११।६ मा हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

     २.   मुद्दाको तथ्य यसप्रकार छ : मेरो बाबा राजा बिजयबहादुर सिंहले आर्जेको नेपाल तराई जिल्ला बर्दिया तप्पे रजहट मौजे देउपाक्ला १ मौजे भवानीपुर १ मौजे पडरिया १ मौजे सुकपुर ।। तप्पे फेना मौजे बनगाउँ १ समेत ४।। मौजा जिमिदारी भई बाबाका नाउँमा दर्ता रहेको उहाँको शेषपछि सगोलका दाजु रुद्रप्रताप नारायणका नाउँमा दर्ता गरी हामी दाजु भाइले सगोलमा भोगचलन गरिआएकै थियौं । दर्तावाला दाजु राजा रुद्रप्रताप १० साल भाद्रमा परलोक हुनुभएको मौजा दाखिल दर्ता गराउनलाई मलाई थाहा नदिई नावालख भतिजा विजयप्रतापले बर्दिया मालमा दर्खास्त दिई कारवाई हुन लागेको थाहा पाई आधा मेरो नाउँमा दर्ता दाखिल गरिपाउँ भनी दर्खास्त दिई कारवाई हुँदा मेरो सबूद लोप गराई राजा रुद्रप्रतापको जायजात तालुकदारीमा कुँवर इन्द्रप्रतापको हक छैन भन्ने भारतीयतर्फका कचहरीबाट फैसला भएको देखिएको र कं.रु. ५०००। इन्द्रप्रताले रुद्रप्रतापबाट कर्जाको रुपमा मागेको चिठ्ठी लेखाइबाट सगोल हुन् भन्ने पुष्टि नहुने भई आफ्नु हक भए अंश मुद्दातर्फको हक बेहक न्यायविभागबाट गराई ल्याएमा सोबमोजिम हुने भई लेखिएको मौजा विजयप्रतापको नाउँमा दर्ता बहाली गरिदिने भनी बर्दिया मालले ०११।८।१३ मा फैसला गरेको, कर्जा भोगेकोले अलग भन्ने हकलाई राज्यबाट खर्च गर्न बजेट दरवन्दी पनि रहेको बजेटमा नलेखिएको कलममा आडर नलिई लिन नहुने र राज्यको राम दाजुले र घरव्यवहार मैले गरेको हुँदा ट्रयाक्टर खरीद गर्न त्यस्तो चिठ्ठी लेखेको दाजुले लेखेको सगोल भन्ने चिठ्ठी पनि मसँग छ । फैसलाले अलग भन्ने हकलाई पनि आखिर न्यायाधीश फैजावादबाट फैसला हुँदा सगोल देखिएको छु । अंशबण्डा लिइसकेको भए फेरिस्त बण्डा कागजसमेत दाखिल हुनुपर्ने राज्य छँदा गुजारा पाइरहेको राज्य छुटेपछि सो पनि छुट्योई मेरो अंश दिन नपरोस् भनी बखेडा गरेको र मालले प्रमाण दिएको फैसलामा अपील परे नपरेको विचार नगरी बहाली दिएको हुँदा यस नेपाल राज्यका मौजाहरूमा आधा आधा सम्पत्ति दिलाई भराई पाउने र मैले पाउने अंश दिइसकेको छ भनी झुठ्ठा कुराको दर्खास्त दिने प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत ०११।८।२९ को कुँवर इन्द्रप्रताप सिंहको फिराद ।

     ३.   बाजे ससुरा रघुनाथ सिंहलाई अंग्रेज सरकारले सन्तान दरसन्तानलाई इलाका रेहुवा जिल्ला वहराइच बक्सेको मजकुर राजाका शेषपछि गद्दी नियमअनुसार कान्छा भाइले गद्दिनसिनबाट गुजारासम्म पाउने भन्ने वसियत दर्खास्त साहेब कमिशन र बहादुर फैजावादको इजलासमा २६ जुन सन ७४ इश्वीमा कानूनअनुसार सुरक्षित गरेको बाजे ससुरा रघुनाथ सिंहको शेषपछि ससुरा राजा विजयबहादुर सिंह गद्दिनसिन भई उहाँको शेषपछि सन् १९१२ वा १३ मा लोग्ने राजा रुद्रप्रताप नारायण सिंह गद्दिनसिन भएको केही पछि वादीले खानदानको नियम विरुद्ध चालचलन गरेमा लोग्नेले मनाही गर्दा नमानी वसियतअनुसार गुजारा लिई अन्दाजी ३० वर्षदेखि भिन्न बसी आफ्नो खतीउपती गरेको वादीको वेदनापुरमा केही बगैंचाहरू २००० विगाहा जग्गा गुजराको भई निजका नाउँमा दर्ता बहाल भएको र राज्य छुटेपछि सो जग्गा बगैंचा सरकारले वादीलाई नै थामेको छ, राज्यकै दौलतले आर्जेको र सबै अनुकुल मिलाई वादीले गुजारा पाएकोले अंश पाइँन भन्ने वादीको जिकिर निरर्थक हो वादी अघिदेखि भिन्न भएको लोग्नेबाट सरहदको जिमिदारीमा अंश लिन नसकी लोग्ने स्वर्गे भएपछि दावी गरेकोले अंशबण्डाको ६१ नं.को ऐन प्रमाणसमेत बाट वादीले जिमिदारीमा अंश पाउने होइन फजुली दावाबाट फुर्सत गराइपाउँ भन्नेसमेत रानी वसन्त कुँवरवा तथा विजयप्रताप सिंहसमेतको प्रतिवादी ।

     ४.   राज्यतर्फबाट वादीले गुजारा पाएकै भए पनि गुजारा पाई अलग भएपछि यो जिमिदारी आज्र्यको भए वादीको हक नपुग्ने सम्झन हुन्थ्यो, त्यसो नभई सगोलमा छँदै आर्जेको भन्ने दावीमा भिन्न भएपछि आर्जेको भन्ने प्रतिवादीले जिकिर गर्न नसकी सगोल छँदाकै आर्जन हो भन्ने कुरामा स्वीकार भई राज्यकै आयस्ताबाट आर्जेको राज्यकै जायज्यथा हो भन्ने जिकिर लिएकोले पुख्र्यौली आर्जन सम्पत्ति भन्नुपर्ने वादीका बाजे रघुनाथ सिंहले दिएको वसियत दर्खास्तमा साना भाइले गुजारासम्म पाउने भन्ने लेखिएको हुनाले वादीले अंश नपाउने हो कि भन्नलाई भारततर्फको तालुकमा राजा हुनेबाहेक अरुलाई गुजारासम्म पाउने स्थिति बन्देजको कागज देखिएको त्यस तालुकभित्रको मौजामा अंशपाउँ भन्ने दावी नभई राय नेपाल तराइको जमीनमा अंश पाउँ भन्ने दावी भएको थिति बन्देजको कागजको लेखाइको अभिप्रायले तालुक राज्य मौजाबाहेक अरु विर्ता खरिदी अचल घर कोठी र चल सम्पत्तिसमेतमा अंश पाउने देखिएको वादीका साक्षीका बकाइबाट अंश भइसकेको भन्न नहुने र भिन्न बसेको भन्न र लिनुदिनु गरेको लिखत प्रमाण पेश हुन कतैबाट नआएको गुजारा पाउने गरेको थिएँ भन्ने वादीको भनाई भए पनि गुजारा भनेको हाम्रो नेपालीमा मानाचामल खर्च पाई मानोसम्म छुट्टिएको भन्ने अर्थ हुने त्यस्तो मानाचामल सरहको गुजारालाई अंश लिई पाइसकेको भन्न मनासिव नपर्नेसमेतबाट अंशबण्डाका ३ नं. बमोजिम जिमिदारी आदि यो वादीले अंश हकदर्ता भोगचलन गरी खान पाउने ठहर्छ भन्नेसमेत बाँके अमिनीको ०१२ साल भाद्र २८ गतेको फैसला ।

     ५.   सोउपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

     ६.   बण्डा लिखत पेश गरेको नदेखिएतर्फ वादी प्रतिवादीहरू हिन्दु नागरिक भएका र धेरै हैसियत भारततर्फ भई भारततर्फको अंश पाएको वा उजूर परिरहेको भनी वादीले लेख्न नसकेको बण्डा कागज दाखिल हुन नसके पनि भिन्न वा सगोल अरु व्यवहारिक प्रमाणलाई हेरी निरोपण गर्नुपर्ने वादीकै लेखाइबाट निज गद्दी पाउने व्यक्ति नभई राज्य नियमअनुसार गुजारासम्म पाउने व्यक्ति देखिएको मजिद खाँ मुसलमानसँगको वेदखली मुद्दामा हाइकोर्ट सम्मबाट सगोलकै ठहरिएको भन्नेतर्फ पनि यस फैसलालाई अकाट्य प्रमाण सम्झी अंशियार सम्झनुपर्ने हो कि भन्न पनि यिनै वादी इन्द्रप्रताप नारायण बहुरानीतर्फ धर्मपुत्र रहन गएको समेत देखिएको हुनाले त्यस तथ्यलाई स्वीकार गरेको पक्षमा त्यस्ता व्यक्तिको रहुवा राज्यतर्फ सम्पर्क रहँदै नरहनेमा राजा रुद्रप्रताप नारायणले विशेष विचार राखेको नभई रेहुवा राज्यको जमीनबाट पनि जग्गा जमीन दिएकै देखिएको हुनाले वेदखली मुद्दामा सगोलको भनी ठहर्‍याउने मौका दिएको दाजु रुद्रप्रताप नारायणको सुभेक्षाको कारवाईसम्म रहेछ भन्ने सिद्ध हुने नेपाल सरहदको जिमिदारी पुर्खौली भन्ने जिकिरतर्फ रुद्रप्रताप नारायण सम्वत् १९५६ मा राजा भएको भन्ने लेखेको र वादीले पनि जिमिदारी यसप्रकारबाट आर्जन भएको मेरोसमेत हक लाग्ने भनी प्रष्ट गरी लेख्न नसकेको अपीलाटका वारेसले पेश गरेको रसिद हेरिएमा ६२ सालसम्म अब्दुल हक र सो सालदेखिलाई सो मौजाको जिम्दार रुद्रप्रताप नारायण कायम भएको भन्ने देखिएकोले पुर्खाकै पालामा आर्जन नभएको राजा रुद्रप्रताप नारायणले आर्जेको देखिन आएको वादीलाई गुजारा निमित्त प्रशस्त जग्गा दिएको फाराम कागजबाट देखिएको एकपटक गुजारा पाई उजूर नगरी सन्तोष मानी बसेपछि अंशबण्डाको ३४ नं.ले त्यसलाई पनि अंश भन्नु परी फेरि पनि अंशमा दावी गर्न नपाउने र कं.रू.५०००। को चिठ्ठीबाट कर्जा मागेको देखिएको मेरो सप्रने बिग्रने खेतीमा निर्भर छ भन्नेबाट जीविका निमित्त जग्गा पाएकै र ट्रयाक्टरद्वारा जोत्नुपर्ने खण्ड परेबाट जग्गा थोरै पाएको भनी शंका गर्न पनि नपर्ने लेखिएका प्रमाणले धेरै बर्ष अघि खतीउपती मानो छुट्याई बसेको देखिन आएकोमा एक दुई मोटामोटी शंकाबाट सगोल ठहराई दोहरो अंश दिलाउने गरी इन्साफ गर्दा न्यायको विपरित पर्न जाने हुँदा वादीले बढी अंशमा दावी गरेको ठहर्छ भन्ने बाँके बर्दिया अपीलको ०१२।८।२३ को फैसला ।

     ७.   सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

     ८.   राज्य कायम छउन्ज्याल गुजारा र राज्य विलीन भएपछि अंश पाउने हुँदा उसतर्फको ज्यथा जति पनि अंश पाउनुपर्ने बाँकी छ भन्ने अपीलाट वादीको भनाई र बहसमा जिकिर देखिएको यिनीहरुका खानदानका बन्देज मुताविक गुजारा दिई पाइआएका देखिएकोले राज्य विलिन भएपछि राजाका साथमा भएको अन्य ज्यथा सम्पत्ति अंशबण्डा हुन गर्नुपर्ने नपर्नेसमेत आफ्ना देशका कानून व्यवहारबमोजिम हक गराएको पक्का सबूद बेगर यत्तिकैबाट यस राज्यको जिमिदारी हक अंश छुट्याई पाउँछ भनी छुट्याइदिन प्रमाण नपुग्ने र उसतर्फ धेरै ज्यथा सम्पत्ति भएको वादीको भनाई भएकोले बाध्य भई आफ्नो अंश खोजी गर्न वादीलाई करै लागिरहेको देखिँदा उक्त जिकिर गरिएबमोजिम गुजारा पाई खाइआएकै भए पनि राज्य विलिन भएपछि राजाको अन्य ज्यथासमेत पाएको कानूनअन्तर्गत पक्का सबूद ल्याएका बखत उजूर परेमा ठहरेबमोजिम हुने भई अहिलेको यस उजूरबाट उपरोक्त मुख्य सबूदवेगर यस राज्यको अंश हक पाउँछ भनी दिलाउन नहुने हुँदा श्रेस्ताबाट देखिएको भोगचलनवाला जिम्दार रुद्रप्रताप परलोक भएपछि निजका छोरा विजयप्रतापका नाउँमा दर्ता सरी कामदाम गरेको सदर ठहर्छ भन्ने ०१४।१२।१७।१ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

     ९.   ०१६।४।९।६ को डिभिजन बेञ्चबाट रिभ्युको निस्सा भई हेरिने भएकोमा पहिले पश्चिमाञ्चल उच्च अदालतबाट हेरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भई उक्त उच्च अदालतमा गएको पछि फेरि सर्वोच्च अदालतबाट हेरिदिनु भन्ने ०१८।४।३२।४ को हुकूम प्रमांगी बक्स भई आएकोमा ०१९।२।१५।२ को फुल बेञ्चबाट निर्णय हुँदा अंश मुद्दातर्फको हकबेहक न्याय विभागबाट गराई ल्याएमा सोबमोजिम हुने भनी बर्दिया मालबाट ०११।८।१३।१ मा फैसला भएपछि मौजाहरू आधा आधा पंक्ति दिलाई भराइपाउने र खास मैले पाउने अंशलाई दिइसकेको छ भनी झुठ्ठा कुराको मालमा दर्ता दिनेहरूलाई सजाय गरिपाउँ भन्ने फिराद जिकिर लिई अदालतमा उजूर गरेकोले अंशकै नाताबाट नेपाल राज्यभित्रको जग्गा जिम्दारी आधा पाउँ भन्ने दावी गरेको देखिन आएकोले अंशबण्डातर्फ उजूर नहुँदा खारेज गरिपाउँ भन्ने प्रतिवादी पक्षको जिकिर मनासिव देखिएन, झगडा परेको मौजाहरू पुर्खौली भन्ने वादीतर्फको र राज्य पाएपछि राज्यकै आयस्ताबाट रुद्रप्रताप सिंहले आज्र्येको भन्ने प्रतिवादीको जिकिर वहस भएको सोबमोजिम दुवै पक्षबाट लिखत प्रमाण पेश गर्न नसकेको खाली सुर्केपुरबाहेक अरु ४ मौजा १९६२ सालमा जि.अब्दुलहरूले पटवारी खान्गी मालमा बुझाएको र त्यसपछि १९६३ सालमा सो मौजाहरूको पटवारी खान्गी जि.रुद्रप्रताप तर्फबाट बर्दिया मालमा बुझाएको रसिदसम्म देखियो वादी इन्द्रप्रताप सिंह गुजारा लिई अन्दाजी ३० वर्षदेखि भिन्न भएको भनी २०११ सालबाट ३० वर्षअघि १९८१ साल पर्ने भएकोले ८१ सालमा वादी मानु छुट्टी बसेको भन्ने प्रतिवादीकै भनाइबाट कायम गरे पनि त्यसै अघि वादी सगोल भइबसेको देखिएबाट प्रतिवादीका भनाइबमोजिम सो मौजाहरू ६३ सालमा आर्जेको भए पनि सगोलकै आर्जन देखियो । अंशबण्डाको ३७ नं.ले मानो नछुट्टिई सँगै बसेको अंशियारहरू छन् भन्ने अंशियारहरूले कमाएको धन र लाएको ऋण सबै अंशियारहरूलाई भाग लाग्छ भन्ने उल्लेख भएको र वादी इन्द्रप्रताप सिंह राजा रुद्रप्रतापको भाइ होइन भनी प्रतिवादीले भन्न नसकेको र मिसिलबाट पनि भाइ नै देखिएकोले नेपाल सरहदभित्रको सगोल अवस्थामा आर्जेका अचल सम्पत्तिमा वादीले अंश पाउँदैन भनी उक्त ऐनले भन्न भएन, सं.१८७४ इश्वीको वसियत दर्खास्तबमोजिम जेठा दाजु इष्टेटको गद्दिवाला र भाइले गुजारासम्म पाउने इष्टेट र इष्टेटको आम्दानीमा अंशबण्डा गराई माग्ने भाइको अधिकारलाई तोडिदिएको छ भन्ने प्रतिवादी जिकिरका हकमा सो वसियत दर्खास्त भारतको इस्टेटसम्बन्धी मात्रको देखिएकोले नेपाल अधिराज्यभित्रको सम्पत्तिमा सो व्यवस्था लागू नहुने भई नेपाल अधिराज्यकै कानूनबमोजिम गर्नुपर्ने देखिन्छ । गुजारा लिई ३० बर्ष अगाडि नै वादी भिन्न बसेकोले वादीको अंशमा दावी गर्ने हक छैन भन्ने बुँदाका हकमा सो गुजारा लिँदा अरु अंशमा दावी गर्ने छैन भनी वादीले गरेको छोडपत्र प्रतिवादीबाट पेश हुन नसकेकोले र गुजारालाई अंश भनी भन्न नहुने भएबाट वादीले अंश पाउने नै देखिन्छ । वादीलाई बहुरानीले धर्मपुत्र राखेकोले अंश नपाउने भन्ने जिकिरलाई प्रतिवादीले पेश गरेको सं.१९२९ सालको प्रिविकाउन्सील अपील नं.१४ को कारवाई रेकर्डसम्बन्धी किताव (रेकर्ड अफ प्रोसिडिङ) को पेज २५२ मा उल्लेख गरिएको इच्छापत्रको व्यहोराबाट बहुरानीले सं.१९०७ मा वादीलाई इच्छापत्रद्वारा शेषपछिको बकसपत्र गरिदिएको र उक्त रेकर्डको पेज ३९७ मा वहराइचको तहसीलदारको अदालतमा सन् १९२६ मा बहुरानीले गरेको बयानबाट ६ अप्रील सन् १९२६ मा आफ्नो सम्पत्ति सबै बकसपत्रबाट कुँवर इन्द्रप्रताप नारायणलाई बकसपत्र गरिदिएको हुँ भनी बयान गरेको देखिएबाट समेत कुँवर इन्द्रप्रताप नारायणलाई निज बहुरानीले धर्मपुत्र राखेको नभई बकसपत्रसम्म गरिदिएको देखिएको धर्मपुत्र राखेको भए बकसपत्र गरिदिनुपर्ने आवश्यक पर्ने थिएन र सो १९०७ साल अनुसार सम्वत् १९६४ सालमै अर्काको धर्मपुत्र भइसकेको वादीलाई प्रतिवादी तर्फबाट सं.१९८० सालतिर गुजारा दिनुपर्ने अवस्था पनि नपर्ने भएबाट वादी बहुरानीको धर्मपुत्र भएको भन्ने कुरा प्रमाणित हुन आएन उपरोक्त कारणहरूबाट वादीले अंशवापत दावी गरेको नेपाल सरदहको ४।। मौजामा वादीले आधा हक अंश पाउने ठहर्छ । राज्य विलिन भएपछि विदेशतर्फको अन्य ज्यथासमेत पाएको पक्का सबूद ल्याएकाबखत उजूर परेमा ठहरेबमोजिम हुने भनी ०१४।१२।१७।१ मा डिभिजन बेञ्चबाट भएको फैसला मनासिव नभई, शुरु बाँके अमिनीले गरेको इन्साफ मनासिव छ भन्ने ठहर भएको ।

     १०.  सो उपर चित्त बुझेन दोहर्‍याइपाउँ भन्ने राजमाता बसन्त कँुवरवाको विन्तिपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजूरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए दोहर्‍याई ऐन सवालबमोजिम गरिदिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसुफमा निजी सचिवालयबाट लेखिआएको ०१९।११।२६।१ को हुकूम प्रमांगी ।

     ११.   वादी दावीबमोजिम आधा सम्पत्ति वादीले पाउने नपाउने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ । राजा रघुनाथ सिंहले इलाका रेहुवा प्रगन्ना फखरपुर जिला वहराइच तत्कालीन सरकारबाट पाउनु भएकोमा कान्छा भाइले राजा नहुनेबाट गुजारासम्म पाउने वसियतअनुसार अं.३० वर्षदेखि वादीले गुजारा लिई भिन्न बसी आफ्नो खतीउपति गरेको वादीको वेदनापुरमा कोठी बगैंचा वगियाहरू र २००० विगाहा जति गुजाराको भई त्यसको १३६१ फसलको कृषि कर कं.रू. ४९८। वादीले नै तिरेको वादी दावीको जिम्दारीमा वादीले अंश पाउने होइन भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोमा मैले गुजारा निमित्त २००० विगाहा जग्गा पाएको नभई नामसम्म दाजुले भारततर्फ दर्ता गराएका हुन् भन्ने वादीले अपीलमा जिकिर लिएको भए पछि मिसिल सामेल रहेको तहसील केशरगञ्ज डिष्ट्रिक्ट वहराईचको ३०।१२।५४ को फैसला नक्कलबाट कृषिकर कं.रू.४५८। वादी इन्द्रप्रताप नारायणसँग असुल गर्ने भन्ने देखिएको सो कृषिकर पट्टि वादीले नकारात्मक कुरा केही भन्न नसकेबाट वादीको जिकिरअनुसार निजको नाममा दर्ता गराइदिएको मात्र नभई निज वादी अघि नै भिन्न बसी छुट्टै व्यवहार गरिआएको र निजलाई गुजारा निमित्तको जमीन दिएको रहेछ भन्ने कुरा प्रष्ट हुन आएको छ । यद्यपि हाम्रो मुलुकको अंशवण्डको ऐनले भाइभाइको बराबर अंश हुने हो तर त्यसको साथसाथै वादीमाथि अर्को विशेषता के देखिन आएको छ भने उपरोक्त उल्लेख भएबमोजिम रेहुवा राज्यको चलनअनुसार गुजारा निमित्त वादीले भारततर्फ केही सम्पत्ति पाइसकेको छ । तत्काल प्रचलित अंशबण्डाको ६१ नं.मा लिखत र भोग नभएकोमा अघि बण्डा भई बाँकी रहेकोमा बण्डा पाउँ भन्न आएमा भिन्न हुनेको दुई जीउ जीउसम्म मात्र उजूर लाग्छ नत्र लाग्दैन भन्ने व्यवस्था भएको देखिन्छ, वादी दावीका मौजाहरू बण्डा हुन बाँकी रहेको भए दाजु राजा रुद्रप्रताप जीवित छँदै उजूर गर्नुपर्नेमा निज दाजु परलोक भइसकेपछि मात्र यो उजूर गरेको देखिएकोले उक्त अंशबण्डाको ६१ नं.को हदम्याद नाघिपरेको यो उजूरीबाट मुद्दा चल्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने मिति २०२३।१।१८।३ को फुल बेञ्चको फैसला ।

     १२.  यस बेञ्चसमक्ष निवेदक वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्रीमधुप्रसाद शर्मा विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले प्रतिवादी पक्षले प्रमाण दिएको वसियतनामा भारतमा भएकोले नेपालको सम्पत्तिमा सो वसियतनामा प्रमाण लिन मिल्दैन भारततर्फ गुजारा लिइसकेको भन्ने हकमा त्यस्तो गुजारा लिएकोलाई अंशबण्डा लिएको मान्न मिल्दैन । वादीलाई बहुरानीले धर्मपुत्र लिएको नभई शेषपछिको बकसपत्रसम्म दिएको मिसिलबाट देखिएको छ । केही अंशबण्डा लिएको केही बण्डा हुन बाँकी रहेकोमा सम्म साविक अंशबण्डाको ६१ नं.लाग्ने हो अंशबण्डा भएकै देखिँदैन भने उक्त अंशबण्डाको ६१ नं.लाग्ने प्रश्न आउँदैन नेपालको कानूनबमोजिम केही अंशबण्डा भइसकेको प्रमाणको अभावमा केही बण्डा भई केही बण्डा हुन बाँकी रहेको भन्न नमिल्ने र रुद्रप्रताप नारायण जीवत नभए पनि हाम्रो पक्ष इन्द्रनारायण एक जिउ जीवित रहेकोले अंशबण्डाको ६१ नं. बमोजिम भिन्न हुनेको दुई जीउसम्म उजूर नगरेको भन्न मिल्ने अवस्था पनि नभएकोसमेत हुँदा नेपालको कानूनबमोजिम यहाँको सम्पत्तिमा आधा हाम्रो पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादीहरूको वारेस विद्वान अधिवक्ता श्री अव्दुल हसिवसिद्दिकले वसियतनामाबमोजिम वादीले गुजारासम्म पाउनेमा गुजारा लिई पाइसकेको समेत हुँदा अंशमा दावा पुग्ने अवस्था छैन । गुजारा पाएको पनि अंश सरह नै हो । यहाँको जग्गा जिम्दारी बण्डा हुन बाँकी रहेको भए त्यस्तोमा साविक अंशबण्डाको ६१ नं.मा भिन्न हुनेको दुई जीउ जीउसम्म मात्र उजूर लाग्ने व्यवस्था हुँदा दाजु रुद्रप्रतापनारायण जीवित छँदै उजूर गर्नुपर्नेमा सो ऐनको म्याद नाघिसकेकोले वादीको उजूर खारेज हुनुपर्छ भन्नेसमेत बहस जिकिर लिनुभयो ।

     १३.  यसमा बाबाराजा विजयबहादुर सिंहले आर्जेको नेपाल सरहद जिल्ला बर्दिया तप्पे रजहट मौजे डेउडाकला १ भवानीपुर १ पडरीया १ सुकैपुर ।। तप्पे फ्रैना मौजे वंगाई १ समेत ४।। मौजा बाबाको शेषपछि सगोलका जेठा दाजु रुद्रप्रताप नारायणका नाममा दर्ता गराई भोगचलन गरिआएको निज दाजु परलोक हुनुभएपछि भतिजा विजयप्रतापले एकलौटी आफ्नो नाममा दर्ता गराएको सो मौजाहरूमा मेरो भाग आधा पंक्ति दिलाइपाउँ भन्ने वादीको दावी परी मुद्दा चलेको रहेछ । वादी प्रतिवादी दुवै पक्ष विदेश भारतका नागरिक भए पनि नेपाल अधिराज्यमा भएको उक्त जिमिदारी मौजाहरूमा वादीले भाग पाउने नपाउने समेत यहाँको कानूनबमोजिम न्याय लिन दुवैपक्षले यहाँको अदालतको अधिकार क्षेत्रमा आफूलाई समर्पण गरेको र निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तअनुसार कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि या सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने हुनाले वादी दावीको नेपाल अधिराज्यमा भएको जिमिदारी मौजाहरूमा आधा भाग दिलाइपाउँ भन्ने वादीको नालिस तत्काल प्रचलित अंशबण्डाको ६१ नं. बमोजिम हदम्याद नाघेको भन्न मिल्ने अवस्था छ छैन उक्त जिमिदारी मौजाहरूमा वादीले पाउने नपाउने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

     १४.  प्रतिवादी राजमाता बसन्त कुँवरवाका पति रुद्रप्रताप नारायण र आफू राजा विजयबहादुर सिंहका छोरा २ भाइ भएको नाताले उक्त जिमिदारी मौजाहरूमा आधा मेरो हक भनी वादीले दावी गरेकोमा निज वादी अंशियार भाइ नै होइन भन्नेतर्फ प्रतिवादीले कुनै जिकिर लिन नसकेकाले त्यसतर्फ अरु विचार गरिरहनु परेन ।

     १५.  २६ जुन १८७४ इश्वीको वसियत दर्खास्तअनुसार जेठो दाजुले इष्टेटको गद्दी र कान्छा भाइले गद्दिनसिनबाट गुजारासम्म पाउने र वादीलाई वेदनापुरमा केही बगैंचाहरू र २००० विगा जग्गा गुजारा निमित्त दिई अन्दाजी ३० वर्षदेखि निज भिन्न बसी आफ्नो खेती उपति व्यहोरी आएकाले निजलाई अंश दिनु नपर्ने भन्ने प्रतिवादी पक्षको मुख्य जिकिर भएको हकमा सो गुजारा लिएको भन्ने कुरा वादी पक्षले स्वीकारै गरेको भए पनि सो वसियत दर्खास्त भारतको इष्टेटसम्बन्धी मात्रको देखिएको नेपाल अधिराज्यमा भएको सम्पत्तिमा सो वसियतको शर्त व्यवस्था लागू हुन नसक्ने र नेपाल अधिराज्यभित्रको अचल सम्पत्ति नेपालकै कानूनबमोजिम हुने हुनाले सो वसियतअनुसार गुजारा लिएपाएको भन्ने सम्बन्धमा यहाँबाट कुनै कुरा बोल्न निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तअनुकुल नहुने हुँदा वादीले गुजारा लिइसकेको भन्ने कुरालाई केही अंश लिइसकेको कायम मानी नेपाल अधिराज्यमा भएको वादी दावीको जिमिदारी मौजाहरू बण्डा हुन बाँकी रहेकोमा भिन्न हुनेको दुई जीउ जीउसम्मको उजूर नभएको भनी तत्काल प्रचलित अंशबण्डाको ६१ नं.को हदम्याद लगाउन मिल्ने देखिएन । नेपाल अधिराज्यमा भएको सम्पत्तिमा नेपालको कानूनबमोजिम केही बण्डा भई केही बण्डा हुन बाँकी रहेको भन्ने भनाई नभएकाले प्रस्तुत मुद्दामा उक्त अंशबण्डाको ६१ नं.को हदम्याद लाग्ने प्रश्नै आउँदैन ।

     १६.  वादीलाई बहुरानीले धर्मपुत्र राखेकोले अंश नपाउने भन्ने प्रतिवादीको अर्को जिकिरको हकमा एक त सो धर्मपुत्र राखेको भन्ने कुरा भारतको व्यवहार भन्ने उल्लेख छ उसमा पनि प्रतिवादीबाटै पेश भएको सन् १९२९ को प्रिविकाउन्सिल अपील नं.१४ को कारवाइको रेकर्डसम्बन्धी पेज २५२ मा उल्लेख गरिएको इच्छापत्रको व्यहोराबाट बहुरानीले सन् १९०७ मा वादीलाई इच्छापत्रद्वारा शेषपछिको बकसपत्र गरिदिएको र उक्त रेकर्ड पेज ३९७ मा बहराइचको तहसीलदारको अदालतमा सन् १९२६ मा बहुरानीले गरेको बयानबाट ६ अप्रिल सन् १९२६ मा आफ्नो सम्पत्ति सबै बकसपत्रबाट कुँवर इन्द्रप्रताप नारायणलाई दिएको हुँ भनी बयान गरेको देखिएको धर्मपुत्र राखेको भए बकसपत्र गरिदिनुपर्ने कारण नपर्ने समेत हुँदा उक्त उल्लेख भएबमोजिम धर्मपुत्र राखेको भन्ने कुरा प्रमाणित हुन आएन ।

     १७.  अब नेपाल अधिराज्यमा भएको वादी दावीको जिमिदारी मौजाहरू कहिलेको आर्जन रहेछ भन्नेतर्फ वादी इन्द्रप्रताप सिंह गुजाराले अन्दाजी ३० वर्षदेखि भिन्न बसी आएको भनी २०११ सालमा दिएको प्रतिवादीमा उल्लेख गरेको प्रतिवादीकै लेखाइअनुसार सो भिन्न भएको भनेको मितिले ३० बर्ष अघि १९८१ सालतिर पर्न आउने र वादी दावीको जिमिदारी मौजाहरू १९६३ सालदेखि भोग भई आएको भन्ने देखिएकोले वादी सगोल छँदैका अवस्थाको आर्जन रहेछ भन्नमा कुनै शंका छैन । नेपाल अधिराज्यमा भएको सम्पत्तिमा नेपालको कानूनबमोजिम वादीले अंश पाइसकेको सबूद गुज्रन नआएकोले वादी दावीको जिमिदारी मौजाहरूमा अंशबण्डाको १।२ नं. बमोजिम आधि वादीले पाउने नै देखिन्छ ।

     १८.  तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट वादी दावीको जिमिदारी मौजाहरूमा वादीको अंश हक आधा पाउने ठहराई २०१९।२।१५।२ को फुल बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । अंशबण्डाको ६१ नं.को हदम्याद नाघेको उजूर पनि ०२३।१०।१८।३ को फुल बेञ्चले वादी खारेज गर्ने ठहराएको मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी इन्द्रप्रताप नारायण सिंहको सकार गर्ने उमासुन्दरी देवीको ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रू.१३८।७८ नलाग्ने हुँदा सो जरिवाना वादी इन्द्रप्रताप नारायण सिंहलाई बाँके बर्दिया अपीलको १२।८।१७ को फैसलाले गर्ने गरेको दण्ड भा.रु. १३६६। को ने.रु. १३८७।८ मा कट्टा गरी बाँकी रू.१२४८।३० फिर्ता दिनेसमेत गरी उक्त ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाबमोजिम दिएको लगत काटिदिनु भनी कानूनबमोजिम लगतदिनु....१

प्रतिवादी राजमाता वसन्त कुँवरवाके १९।२।१५।२ को फुल बेञ्चको फैसलाबमोजिम दण्ड रू.१३६६। मात्र लाग्ने कायम गरी निजलाई बाँके बर्दिया अपीलको १२।८।२३ को फैसलाले दण्ड रू.२२८९। लाग्ने गरेको नलागने हुँदा रू.३४१।। कटाई बाँकी फिर्ता दिने गरेको समेत सुरु अपीलको फैसलाबमोजिम लगत काटी दण्ड भा.रु. १३६६ को ने.रु. २१८६।६० असुल गर्नेसमेत गरी उक्त १९।२।१५।२ को फुल बेञ्चको फैसलाबमोजिम दिएको लगत कायम राख्नु ०२३।१०।१८।३ को फुल बेञ्चका फैसलाले उक्त १९।२।१५।२ को फुल बेञ्चका फैसलाबमोजिमको लगत काटिदिने गरेकोमा सोअनुसार गर्नुपर्दैन ।उक्त ०२३।१०।१८।३को फुल बेञ्चको फैसलाबमोजिमको लगतकाटिदिनु भनीऐ..........२

ऐ ऐ.के बाँके अमिनीको १२।५।२८ को फैसलाले गर्ने गरेको दण्ड भा.रु. २२८९। बाँके बर्दिया अपीलको १२।८।२३ को फैसलाले लिने गरेको जिताउरी रू.३४१।। समेत ०१९।२।१५।२ को फुल बेञ्चको फैसलाबाट लगत कट्टा हुने भइसकेको हुँदा ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाले पनि उक्त कलमको लगत कट्टा गर्ने गरी लगत दिएको दोहरा परेको देखिँदा ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाबमोजिम कसिएको उक्त कलमको लगत काटिदिनु भनी ऐ.............३

वादी कुँवर इन्द्रप्रताप नारायण सिंके डिभिजनबेञ्को १४।१२।१७।१ को फैसलाले गर्ने गरेको दण्ड भा.रु. १३६।। फुल बेञ्चको ०२३।१०।१८।३ को फैसलामा नलाग्ने लगत कट्टा हुने भइसकेको हुँदा ०२३।१०।१८।३ को फैसलाबमोजिमको लगत काटिदिनु भनी ऐ................४

वादी इन्द्रप्रताप नारायणसिंके १९।२।१५।२ को फुल बेञ्चको फैसलाबमोजिम दसौंद रू.४३७०।२० लाग्ने हुँदा लगत कास्ने र बाँके बर्दिया अपीलको १२।८।२३ को फैसलाले गर्ने गरेको दण्ड भा.रु. १३६६।। र डिभिजन बेञ्चको १४।१२।१७।१ को फैसलाले गर्ने गरेको दण्ड भा.रु. १३६।।। नलाग्ने हुँदा लगत कट्टा गरिदिने समेत भनी लगत दिएको ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाले सो कलमको लगत काटिदिने गरेकोमा उक्त ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाबमोजिम गर्नुपर्दैन ०१९।२।१५।२ को फुल बेञ्चको फैसलाबमोजिम लगत कायम राख्नु भनी ऐ...५

वादी कुँवर इन्द्रप्रताप नारायणसिंके देहायको जिमिदार मध्ये आधिचलन दर्ता बहाली गरिदिनु भनी बर्दिया माललाई लेखिपठाउने गरी १९।२।१५।२ को फुल बेञ्चको फैसलाबमोजिम लगत दिएको कायम राख्नु सो कलमको लगत कट्टा गरिदिने गरेको ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाबमोजिम गर्नुपर्दैन भनी ऐ..........................६

     असामी           लगत विगाहा मालपोत          जिखान्गी    पटवारी खान्गी

तप्पे रजहट मौजे डेउदाक्ला

सोह्र आना             ५३६।।।.४    १७१०।      १६६।।।।।१  ४१।।

ऐ सुकैपुर आठ आना     १४,,      ३३।।ऽ।१            ।।।ऽ।।१

ऐ पडरिया सोह्र आना     ३५०।।।.३    ८००।।।।।२  ७५.।।।३    १८।।।:३

मौजे भवानीपुर खुदे ऐ    २६५ऽ३      ५३०     ४९।।     १२।।।।

मौ तप्पेफैना मौजे वंगाइ ऐ.           २३४।।ऽ।।।  ५८८।।।१   ५५।।।     १३।।।ऽ।२

प्रतिवादी राजमाता वसन्त कुँवरवाके निजतर्फबाट रहेका वकिलको फी.रु. २०। वादी इन्द्रप्रतापको सकार गर्ने उमासुन्दरी देवीबाट भराइदिने गरी ०२३।१०।१८।३ को फुल बेञ्चको फैसलाबमोजिम दिएका लगत काटिदिनु भनी ऐ.७

वादी कुँवर इन्द्रप्रताप नारायणसिंहको सकार गर्ने उमा सुन्दरी देवीके मुद्दा दोहर्‍याउँदा निजले राखेको कोर्टफी रू.११०।२२ प्रतिवादी राजमाता वसन्त कुँवरवाबाट भराइपाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केहीनलिई भराइदिनु भनी ऐ...........................८

नियमबमोजिम मिसिल बुझाइदिनु..............................९

 

त्रैलोक्यराज अर्याल,

जयदेव भट्ट,

 वृषबहादुर थापा,

सुरेन्द्रप्रसाद सिह,

चन्द्रप्रसाद प्रधान,

रङ्गनाथ उप्रेती,

प्रकाशबहादुर के.सी.

 

उक्त रायमा हामीहरूको सहमती छ

 

न्या. मीनबहादुर थापा, न्या. हेरम्बराजको राय,

     यसमा विदेश भारतबाट आफ्ना दाजुसँग केही सम्पत्ति बुझिसकेपछि दाजुको देहान्त वाद भाउजुका नाउँमा जग्गामा हक गराइपाउँ भनी गरेको फिराद तत्कालीन अंशबण्डाको ६१ नं.ले दायर हुन नसक्ने भनी नेपाल कानून प्रयोग गरी नेपालको अचल जग्गा बारेमा ०२३।१०।२८।३ को फुबलेञ्चमा राय व्यक्त गरिसकेकोले अन्यथा गर्नुपर्ने देखिएन ।

 

प्र.न्या. श्री रत्नबहादुर बिष्टको राय

     यसमा प्रमाणमा पेश भएको २६ जुन १८७५ इश्वीको वसियत दर्खास्तअनुसार जेठो दाजुले इष्टेटको गद्दी र कान्छा भाइले गद्दिनसिनबाट गुजारासम्म पाउने वादी प्रतिवादीहरूको खानदानमा व्यवस्था भइराखेको पाइन्छ । वादी प्रतिवादीहरू विदेश भारतको नागरिक भएका र विदेशमा जन्म भएका अंशियार दाजुभाइको नाताले नेपाल अधिराज्यको सम्पत्तिमा अंश हकको दावी गर्न आएको समेत देखिनाले धेरै सम्पत्ति भएको भारततर्फ वसियतको बन्देज मुताविक पहिले गुजारासम्म लिई पाइआएको वादीले राज्य विलिन भएपछि राजाको साथमा भएको अन्य जेथा सम्पत्तिमा भारतको सम्पत्ति अंश हक दिलाइदिन नमिल्ने देखिन्छ । तसर्थ राज्य विलिन भएपछि भारतर्फ अंश पाएको पक्का सबूद ल्याई उजूर गर्न आएमा ठहरेबमोजिम हुने भई हाल यो नालिसबाट नेपाल अधिराज्यमा भएको जिमिदारी मौजाहरूको हक अंश दिलाउन नमिल्ने ठहराई ०१४।१२।१७।१ को म समेतको डिभिजन बेञ्चबाट राय व्यक्त भएकोमा अन्यथा गर्न मिल्ने देखिएन ।

 

इति सम्वत् २०२९ साल पुष १५ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु