नेपाल कानून पत्रिका

शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२७३ - मानाचामल

भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १०

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१।५।५।५

०६८-CI-०२१६

 

मुद्दा : मानाचामल ।

 

पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं. १६ बस्ने राम खड्का

विरूद्ध

विपक्षी/वादी : भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं. १६ बस्ने सरिता खड्का

 

§  सन्तानको उचित स्याहार सम्भारलगायतका पूरा गर्नुपर्ने अभिभावकीय दायित्व पूर्णरूपमा अभिभावकमा रहेको देखिने । आफ्नो मात्र अंश लिई भिन्न भएकी पुनरावेदककी जेठी श्रीमतीको साथमा वादी सरिता खड्का रहेको तथ्यलाई पुनरावेदकले स्वीकार गरे पनि निजको पालन पोषणको लागि आफूले यो यस्तो व्यवस्था गरेको छु भनी कुनै प्रमाण गुजार्न सकेको देखिएन । वादीको आमा र पुनरावेदकबीच भएको अंश मुद्दा निर्णय भई कार्यान्वयनको क्रममा विवाह खर्च पर सारेको भन्ने बाहेक पुनरावेदकले आफ्नो सन्तानप्रतिको कुनै संरक्षकीय दायित्व निर्वाह गरेको नदेखिने ।

(प्रकरण नं. )

§  विवाह खर्चसगोलमा रहेका अंशियारहरूका बीच अंशबन्डा हुँदाका बखत तत्काल कायम रहेको सम्पत्तिको आधारमा विवाह नभएका अंशियारहरूको लागि खर्चको व्यवस्था गरिने गरी कानूनबाट सिर्जना भएको अधिकार हो जसको सम्बन्ध बन्डा हुँदाका बखत विवाह नगरेका तथा विवाह भएका अंशियारबीच मात्र रहेको हुने ।

§  विवाह खर्चसम्बन्धी शब्दले नै नेपाली समाजमा चलिआएको परम्परागत संस्कार र विधिपूर्वक विवाह गर्दाको बखत आवश्यक पर्ने रकमको लागि खर्चको व्यवस्था गरिएको हो भनी मान्न सकिन्छ । यसरी छुट्ट्याइएको खर्च विवाह गर्नुअगाडि नै कुनै पनि अंशियारले अन्य प्रयोजनको लागि खर्च गर्न सक्तैन । यस्तो अन्य काममा खर्च गर्न नसकिने रकम कलमलाई आधार बनाई आफ्नो बालबच्चालाई इज्जत आमद अनुसार खान लाउन र आवश्यकता अनुसार स्वास्थ्य उपचार र उचित शिक्षा दीक्षा दिनुपर्ने दायित्वबाट कुनै पनि अभिभावक पन्छिन नमिल्ने ।

§  भरणपोषणको लागि नियमितरूपमा खर्चको प्रबन्ध मानाचामलबाट गरिन्छ भने बन्डा हुँदाका बखत अविवाहित अंशियारको विवाह गर्ने कार्यमा हुने खर्चको व्यवस्था विवाह खर्चका रूपमा गरिन्छ । यसरी फरक प्रसङ्ग र सन्दर्भमा प्रयोग हुने दुई भिन्नभिन्न अधिकारमध्ये एउटा अधिकार विवाह खर्च प्राप्त गरिसकेको हुँदा मानाचामल भराउन पर्दैन भन्ने कानून अनुरूप मान्न नसकिने ।

(प्रकरण नं. )

 

पुनरावेदक/ प्रतिवादीका तर्फबाट :

विपक्षी/वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अंशबन्डाको महलको १० नं.

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या.श्री बलभद्र बास्तोला

पुनरावेदन तहमा फैसला गर्नेः-

मा.न्या.श्री पुरूषोत्तम भण्डारी

मा.न्या.श्री प्रकाशकुमार ढुंगाना

 

फैसला

न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनबाट मिति २०६७ पौष २८ गते भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ :

            विपक्षी पिताले पढ्ने लेख्नेलगायतका मप्रतिको कुनै पनि दायित्व पूरा नगरेको हुँदा हाल आफू विपक्षीसँग भिन्न भई बसेकी आमाको साथमा रहे बसेको छु । म फिरादीलाई विपक्षीले खानलाउन नदिई घरबाट निकाला गरेको हुँदा मिति २०५७।७।१० गतेलाई मानो छुट्टिएको मिति कायम गरी उक्त मितिदेखि स्वेच्छाले खान लाउन नदिएसम्म तथा अंश कार्यान्वयन भई भोगचलन नभएसम्म म फिरादी सरिता खड्कालाई प्रतिमहिना रू.,५००।- का दरले मिति २०५७।७।१० देखि २०६५।१।१० सम्मको वार्षिक रू.,५००।-*१२ = १८,०००।- का दरले ८ वर्ष ६ महिनासम्मको वार्षिक रू.१८,०००।-* ८ वर्ष = ,४४,०००।- र ६ महिनाको रू.,०००।- ‍गरी जम्मा रकम रू.,५३,०००।– (अक्षरूपी एक लाख त्रिपन्न हजार रूपैयाँमात्र) मुलुकी ऐन, अंशबन्डाको १० नं. बमोजिम विपक्षीबाट मानाचामल भराई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको सरिता खड्काको तर्फबाट सुरू भक्तपुर जिल्ला अदालतमा पेस भएको फिरादपत्र ।

            विपक्षीलाई सम्पूर्ण खर्च मैले दिएको छु । विपक्षीले आमाको कुरामा लागी मलाई दुःख दिने नियत लिई फिराद दायर गरेको हुँदा प्रस्तुत फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राम खड्काको तर्फबाट पेस भएको प्रतिउत्तरपत्र ।

            जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. १६ स्थित साढे दुई तलाको १२ कोठाको घरमध्ये ८ वटा कोठा बहालमा लगाएको हुँदा घरबहाल मासिक रू.,०००।- आम्दानी हुन्छ । सो घरमा बहालबाट उठेको रकमले घर व्यवहार चलाउने खर्चमात्र पुग्छ । अन्य जागिर व्यवसाय केही छैन भन्नेसमेत व्यहोराको प्रतिवादी राम खड्काले सुरू जिल्ला अदालतमा गरेको कागज ।

            जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. १६ स्थित साढे दुई तलाको १२ कोठा भएको पक्का घर छ । सो घरका १२ कोठामाप्रति कोठा रू.,५००।- का दरले जम्मा घर बहाल रू.१८,०००।–(अठार हजार मात्र) प्रति महिना प्रतिवादी तथा मेरो बुबा राम खड्काको मासिक आम्दानी हुन्छ । म र आमा मैया खड्का छुट्टै अरूको घरमा डेरा लिई बसेका छौं । घर बहालबाट आउने रकम पनि नदिएको र हेरविचार पनि नगरेको भन्नेसमेत व्यहोराको वादी सरिता खड्काले सुरू जिल्ला अदालतमा गरेको कागज ।

            मैया खड्का र प्रतिवादी राम खड्का तथा प्रतिवादीका घरमा बसेको त्रि-स्टार इङ्गलिस स्कुलबीच भएको सर्तनामा कागजबाट घरभाडा मासिक रू.१५,०००।- पाउने देखिएको र प्रतिवादीको अन्य आय स्रोत छ भनी वादी स्वयम्ले भन्न लेखाउन नसकेको अवस्थामा वादीले उक्त घरबाट आउने आयबाट मात्र मानाचामल पाउने अवस्था देखिन आयो । वादी प्रतिवादी सगोलका अंशियार देखिएकाले परिवारका सदस्य सरह इज्जत आमद अनुसार खान लाउन पाउने कानूनी र नैसर्गिक हक हो । सगोलका परिवारले आफ्नो सदस्यलाई इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने विषय कानूनी दायित्व वा कर्तव्यकै रूपमा रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादीले आफ्नो फिरादमा मिति २०५७।७।१० गतेबाट मानाचामल दावी गरेकाले वादीका ५ अंशियार हुँदा यी वादीले मासिकरूपमा रू.,०००।- प्रतिवादी राम खड्काबाट मानाचामलको रूपमा पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६६।७।१६ को फैसला ।

            मैया खड्काले अंश मुद्दा दिई ४ भागको १ भाग अंश लिइसकेकी छन् भने सरिताले आफ्नो विवाह खर्च छुट्ट्याई लिई पाइसकेको कुरा उक्त मिति २०५७।१।२९ गतेको दे.मि.नं.३७५।१००६ को भक्तपुर जिल्ला अदालतको फैसलाले पुष्टि गरी रहेकोमा पुनः विपक्षी वादीलाई मानाचामल भराउन मिल्ने होइन । विपक्षीले सुरू फिरादमा मिति २०५७।७।१० देखिको मानाचामल माग गरेकी छन्, उक्त समयमा विपक्षी नाबालक थिइन् । नाबालक अवस्थाको मानाचामल माग गर्दा कि त कोही संरक्षक भई मुद्दा गर्नुपर्छ कि ८ वर्षअघिदेखि के स्रोतले खाई बसी आएकी थिइन् उक्त तथ्य देखाउनुपर्दछ । निजले सो देखाउन सकेकी छैनन् । मेरो आयस्रोत तथा विपक्षीको आमाले पाइआएको रकमबाट निजको पालनपोषण भइरहेकोमा हाल आएर मानाचामलमा माग दावी गर्दैमा कुनै कुराको सोधपुछ नै नगरी भएको सुरू फैसला कानूनविपरीत रहेको हुँदा उक्त फैसला बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राम खड्काको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

            वादी सरिता खड्काले मिति २०५७।७।१० गतेदेखि मासिक रू.,५००।- (पन्ध्र सय) का दरले विपक्षी प्रतिवादीसँग मानाचामल खर्च भराई पाउँ भन्ने दावी भएकोमा वादी दावी भन्दा बढी पाउने ठहर गरी मासिक रू.,०००।- (दुई हजार) का दरले मानाचामल खर्च भराइदिने गरी भएको सुरूको फैसला फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, .बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६७।५।१० को पुनरावेदन अदालत, पाटनको आदेश ।

            वादी र प्रतिवादी सगोलका अंशियार देखिएकाले परिवारका सदस्य सरह इज्जत आमद अनुसार खान लाउन पाउने कानूनी र नैसर्गिक हक रहेको हुँदा निज प्रत्यर्थी वादीले प्रति महिना रू.,५००।- का दरले मानाचामल भराई पाउने अवस्था देखिन आउँछ । फिरादीले नै प्रति महिना रू.,५००।- का दरले मानाचामलतर्फ दावी लिएकोमा मागदावी भन्दा बाहिर गई प्रति महिना रू.,०००।- का दरले मानाचामल भराउने ठहर भएकोमा मागदावी भन्दा प्रति महिना रू.,००।- बढी भराउने गरी भएको सुरू भक्तपुर जिल्ला अदालतको २०६६।७।१६ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भै प्रति महिना रू.,५००।- का दरले अंश नछुट्टिएसम्म मानाचामल भराई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६७।९।२८ को   फैसला ।

            विपक्षीको आमालाई २०५० सालतिर रू.,०००।- को दरले खर्च दिएकोमा सोहीबाट विपक्षी वादीले समेत खाने लाउने गरेकी थिइन् । विपक्षीको आमा मैया खड्कालाई अंश दिंदाको बखत नै वादी सरिता खड्काले विवाह खर्च लिई पाइसकेको अवस्थामा पुनः मानाचामल भराइनु कानूनविपरीत हुन्छ । मेरो आम्दानीको एकमात्र स्रोत मध्यपुर थिमी नगरपालिका वडा नं. १६ स्थित कि.नं. ९०६ को क्षेत्रफल ०---० मा बनेको दुई तले घरको मासिक आउने भाडाबापतको रू.१५,०००।- मात्र रहेको र विपक्षीसँगै रहेकी निजकी आमाले रू.,३१२।५० मासिकरूपमा बुझी लिएको हुँदा सोतर्फ विचार नै नगरी गरिएको फैसला बदरभागी छ । विपक्षी नाबालक भई सम्पूर्ण व्यवहार पालन पोषण निजकी आमा र आफूले सोही घरको आम्दानीबाट गरी आएको हुँदा तथ्यको विवेचना नगरी गरिएको सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी गरिपाँउ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी राम खड्काको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्र ।

            नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा देहाय अनुसार दावी तथा प्रतिउत्तर जिकिर रहेको देखियो ।

            विपक्षी पिताले पढ्ने लेख्नेलगायतका मप्रतिको कुनै पनि दायित्व पूरा नगरेको हुँदा हाल आफू विपक्षीसँग भिन्न भई बसेकी आमाको साथमा रहे बसेको मिति २०५७।७।१० लाई मानो छुट्टिएको मिति कायम गरी सोही मितिदेखि मासिक रू.,५००।- का दरले मानाचामल भराई पाउँ भन्ने फिराद दावी र विपक्षी वादीको सम्पूर्ण खर्च आफूले भरिरहेको अवस्थामा आमाको कुरामा लागी मलाई दुःख दिने नियतले प्रस्तुत फिराद दायर गरेको हुँदा झुट्ठा फिराद दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेकोमा सुरू जिल्ला अदालतबाट वादी दावी भन्दा रू.५००।- (पाँचसय) बढी अर्थात मासिक रू.,०००।- दुई हजार मानाचामल भरिपाउने गरी भएको फैसला पुनरावेदन अदालत, पाटनबाट माग दावी भन्दा बढी भराउन नमिल्ने भनी दावी अनुसारको रू.,५००।- (पन्ध्र सयमात्र) भरिपाउने भनी केही उल्टी गरी निर्णय भएको पाइयो ।

            पुनरावेदन अदालतको फैसलालाई चुनौती दिँदै यस अदालतसमक्ष पुनरावेदन दिएका प्रतिवादीको पुनरावेदनपत्र तथा मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको निर्णय मिले नमिलेको विचार गरी निर्णय दिनुपर्ने देखिन आयो ।

            . यसमा फिरादीकी आमा मैया खड्काले अंश मुद्दा दायर गरी अंश पाउने ठहर हुँदाका बखत वादी सरिता खड्काको हकमा समेत विवाह खर्च छुट्ट्याउने गरी निर्णय भएको देखिन्छ । वादी नाबालक नै रहेको अवस्थामा

बाबु आमाबीच अंशबन्डा भएको र बन्डापश्चातवादी आमाको साथैमा नै रहे बसेको देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको महलको १० नं. मालोग्ने वा बाबु आमाले स्वास्नी वा छोराछोरीलाई इज्जत आमद अनुसार खान

लाउन र आवश्यकता अनुसार उचित शिक्षा दीक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्दछ, सो नगरे अंश दिनुपर्छभन्ने कानूनी व्यवस्था हेर्दा आफ्नो सन्तानको उचित स्याहार सम्भारलगायतका पूरा गर्नुपर्ने अभिभावकीय दायित्व पूर्णरूपमा अभिभावकमा रहेको देखिन आयो । आफ्नो मात्र अंश लिई भिन्न भएकी पुनरावेदककी जेठी श्रीमतीको साथमा वादी सरिता खड्का रहेको तथ्यलाई पुनरावेदकले स्वीकार गरे पनि निजको पालन पोषणको लागि आफूले यो यस्तो व्यवस्था गरेको छु भनी कुनै प्रमाण गुजार्न सकेको देखिएन । वादीको आमा र पुनरावेदकबीच भएको अंश मुद्दा निर्णय भई कार्यान्वयनको क्रममा विवाह खर्च पर सारेको भन्ने बाहेक पुनरावेदकले आफ्नो सन्तानप्रतिको कुनै संरक्षकीय दायित्व निर्वाह गरेको देखिएन ।

             . विवाह खर्च परसारिसकेको हुँदा मानाचामल भराउन नपर्ने भन्ने पुनरावेदकको जिकिरतर्फ विचार गर्दाविवाह खर्चसगोलमा रहेका अंशियारहरूका बीच अंशबन्डा हुँदाका बखत तत्काल कायम रहेको सम्पत्तिको आधारमा विवाह नभएका अंशियारहरूको लागि खर्चको व्यवस्था गरिने गरी कानूनबाट सिर्जना भएको अधिकार हो  जसको सम्बन्ध बन्डा हुँदाका बखत विवाह नगरेका तथा विवाह भएका अंशियारबीच मात्र रहेको हुन्छ । यसरी विवाह खर्चसम्बन्धी शब्दले नै नेपाली समाजमा चलिआएको परम्परागत संस्कार र विधिपूर्वक विवाह गर्दाको बखत आवश्यक पर्ने रकमको लागि खर्चको व्यवस्था गरिएको हो भनी मान्न सकिन्छ । यसरी छुट्ट्याइएको खर्च विवाह गर्नुअगाडि नै कुनै पनि अंशियारले अन्य प्रयोजनको लागि खर्च गर्न सक्तैन । यस्तो अन्य काममा खर्च गर्न नसकिने रकम कलमलाई आधार बनाई आफ्नो बालबच्चालाई इज्जत आमद अनुसार खान लाउन र आवश्यकता अनुसार स्वास्थ्य उपचार र उचित शिक्षा दीक्षा दिनुपर्ने दायित्वबाट कुनै पनि अभिभावक पन्छिन मिल्दैन । भरणपोषणको लागि नियमितरूपमा खर्चको प्रबन्ध मानाचामलबाट गरिन्छ भने बन्डा हुँदाका बखत अविवाहित अंशियारको विवाह गर्ने कार्यमा हुने खर्चको व्यवस्था विवाह खर्चरूपमा गरिन्छ । यसरी फरक प्रसङ्ग र सन्दर्भमा प्रयोग हुने दुई भिन्नभिन्न अधिकारमध्ये एउटा अधिकार विवाह खर्च प्राप्त गरिसकेको हुँदा वादीलाई मानाचामल भराउन पर्दैन भन्ने पुनरावेदन जिकिरलाई कानूनअनुरूप मान्न सकिएन ।

            . अत: माथि विवेचित आधार र कारणबाट अंशप्राप्त नगर्दाको अवस्थासम्म वादीलाई फिराद दावीबमोजिम मासिक रू १५००।- (रूपैयाँ पन्ध्रसय) मानाचामल भरिपाउने ठहराई पुनरावेदन अदालत, पाटनबाट मिति २०६७।९।२८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने  ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल निमयानुसार गरी बुझाइदिनू ।

                       

उक्त रायमा सहमत छु ।

न्या. जगदीश शर्मा पौडेल

 

इति संवत् २०७१ साल भदौ ५ गते रोज ५ शुभम् ।

इजलास अधिकृतः- चन्द्रप्रकाश तिवारी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु