निर्णय नं. १०३१० - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७६।४।१६
कसुर ठहर मितिः- २०७६।३।३१
सजाय निर्धारण मितिः- २०७६।४।१६
०६८-CR-१००६
मुद्दा: जबरजस्ती करणी
पुनरावेदक / वादी : जुगमानी थारूको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला कैलाली वलिया गा.वि.स. वडा नं. ९ बस्ने गोविन्द खड्का
अपराधका सम्बन्धमा समाजमा रहेको चेतनाको स्तर, आर्थिक सामाजिक परिवेश, पीडितलाई पुग्न जाने थप सामाजिक क्षति, पारिवारिक तथा सामाजिक प्रतिष्ठा, इज्जत तथा सामाजिक पृष्ठभूमि र संस्कारसमेतले असर गरेको
हुने ।
(प्रकरण नं.९)
पीडित पक्ष जाहेरवाला अदालतमा नआएको भन्दैमा स्पष्टरूपमा जबरजस्ती करणी गरेको चिह्नहरू रहेको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई नजर अन्दाज गरी प्रतिवादीलाई सफाइ दिन नमिल्ने ।
(प्रकरण नं.११)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७४, अंक ५, नि.नं.९८१२
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने :
माननीय न्यायाधीश श्री राधाकृष्ण उप्रेती
बर्दिया जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री रमेश पोखरेल
मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू
पुनरावेदन अदालत, नेपालगञ्ज
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेकोछ ।
तथ्य खण्ड
मिति २०६२।५।१८ गते राति मेरी छोरी वर्ष १२ की पीडित आफ्नै घरमा सुतिरहेको अवस्थामा अं.२:०० बजे राति जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं. ९ बस्ने कृष्णबहादुर खड्काको छोरा वर्ष अं. ३२ को गोविन्द खड्का हाम्रो घरमा आई ढोका खोली घरभित्र प्रवेश गरी चक्कुसमेत देखाई पीडित छोरीलाई जबरजस्ती घरबाट बाहिर लगी धानखेतमा पुर्याई जबरजस्ती करणी गरी भागी गएकाले निज गोविन्द खड्कालाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
पीडितको स्वास्थ्य परीक्षण गर्दा कन्याजाली फुटेको र रक्तस्राव भएको, योनिभित्र घर्षण चिह्न भेटिएको, आंशिक सञ्चो भएको भन्नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाबाट भएको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
जिल्ला बर्दिया, शिवपुर गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा रब्लु थारूको खेत, पश्चिम विनोद चन्दको खेत, उत्तर मन्सुराम चौधरीको खेत, दक्षिण सोगीराम थारूको खेत यति चार किल्लाभित्र रहेको रब्लु थारूको धानखेत सो धानखेतको बिच भागमा धान ढलेको, माडिएको करिब ४ फिट गोलाई बराबरको भाग रहेको सोही नजिक पुरूषले लगाउने हरियो रंगको अंग्रेजीमा DMAX लेखेको कट्टु थान १ फेला परेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६२।५।१८ गतेका राति म आफ्नै घरमा सुतेको थिएँ । सोही राति अं.२:०० बजेको समयमा जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं. ९, चिसापानी बस्ने वर्ष ३२ को गोविन्द खड्का मेरो घरमा आई ढोका खोली भित्र पसी डरत्रास देखाई बढ्ता बोलेमा चक्कुसमेत हानिदिन्छु भनी मलाई आफ्नो साथमा तानी लगेका र कराउन खोज्दा हातले मेरो मुखसमेत थुनी मेरो घरदेखि अं. ४५० मिटर टाढा धानखेतमा पुर्याई मैले लगाएको हरियो सेतो रंगको मेड्डी पल्टाई आफ्नो हाफपाइन्ट तथा कट्टुसमेत खोली आफ्नो लिङ्ग मेरो योनिमा घुसारी योनिभित्र पसाएको र योनि दुखेको कारणले समेत गर्दा बचाउका लागि कराउन खोज्दा, मेरो मुखसमेत थुनी दिई मलाई डरत्राससमेत देखाएको र सो कुरा कसैलाई भनेमा मारिदिन्छु भनेको थियो । जबरजस्ती करणी गर्ने मानिस मेरै गाउँमा ससुराली भएका अं. वर्ष ३२ का गोविन्द खड्का हो । निजको अनुहार हेर्दा चिनेको हो भन्नेसमेत बेहोराको पीडितले मौकामा गरेको कागज ।
मिति २०६२।५।१७ गतेको राति म तथा मेरो कान्छो छोराको छोरी वर्ष १२ की पीडिता एउटै कोठामा सुतेका थियौं । सो राति अं.२:०० बजेको समयमा जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं. ९ घर भई मेरै गाउँमा ससुराली भएको वर्ष अं.३२ को गोविन्द खड्काले ढोका खोली भित्र पसी मेरी नातिनी वर्ष १२ की पीडितालाई समाई बाहिरतर्फ तानी लग्न खोज्दा यो के गरेको हो ? भनी मैले विरोध गर्दा निजले मलाई चक्कुसमेत देखाई बढ्ता नबोल मारी दिउँला भनेकाले म डरले गर्दा केही बोल्न सकिनँ । निजले नातिनीलाई जबरजस्ती गरी लगी गएका हुन् । निजले नातिनीलाई नै मारिदेला भन्ने डरले गर्दा हल्लाखल्लासमेत
गरिनँ । सोही राति अं. ४:०० बजेको समयमा नातिनी घर आएकी थिइन् । निजलाई मैले सोध्दा निज गोविन्द खड्काले धान खेतमा लगी मलाई जबरजस्ती करणी गरेको हो भनेकी थिइन् भन्नेसमेत बेहोराको बुझिएका नकरू थारूले मौकामा गरेको कागज ।
मिति २०६२।५।१८ गते राति म आफ्नै घरमा थिएँ । मैले सुनेअनुसार सोको भोलिपल्ट जिल्ला बर्दिया, शिवपुर गा.वि.स. वडा नं. ५ बस्ने वर्ष १२ की पीडितलाई गोविन्द खड्काले मिति २०६२।५।१८ गते राति घरबाट जबरजस्ती उठाई तानी धानखेतमा लगी जबरजस्ती करणी गरेका थिए । पछि म घटनास्थलमा जाँदा धान खेतमा धानसमेत माडिएको भाँचिएको थियो । निज प्रतिवादी गोविन्द खड्का राम्रो प्रकृतिका मानिस होइनन्, निजले नै जबरजस्ती करणी गरेकामा विश्वास लाग्छ भन्नेसमेत बेहोराको बुझिएका सरस्वती चौधरी, मञ्जु ढकाल, कृष्ण गिरी, सन्तवीर चौधरी, जानकी थापासमेतले गरिदिएको एकै मिलानको घटना विवरण कागज ।
प्रतिवादी गोविन्द खड्काले मिति २०६२।५।१८ गते राति अं. २:०० बजेको समयमा पीडितलाई डरत्रास देखाई निजको घरबाट धानखेतमा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.विपरीत कसुर अपराध गरेकाले निजलाई सोही महलको ३(२) बमोजिम सजाय हुन तथा ऐ. को १० नं.बमोजिम प्रतिवादीको अंशबाट पीडितलाई आधा अंशसमेत दिलाई भराई पाउँ भन्ने अभियोगपत्र ।
प्रतिवादी गोविन्द खड्काका नाउँमा अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जीको म्यादमा हाजिर नभई फरार रही म्याद गुजारी बसेकाले निजको अंश रोक्का रहेको मुचुल्का मिसिल सामेल रहेको ।
प्रतिवादी गोविन्द खड्का फरार रही निजको नाममा वारेन्ट तथा म्यादी पुर्जी जारी हुँदासमेत हाजिर नभई फरार नै रहेको पाइएकाले प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं.१९० नं.बमोजिम मिति २०६४।३।१७ का आदेशले मुलतबी रही मिति २०६७।१।१० का आदेशले मुलतबीबाट जगाई पुनः दर्ता भई कारबाही प्रक्रिया अघि बढेको देखिन्छ ।
पीडितको स्वास्थ्य परीक्षण गर्दा कन्याजाली फुटेको, रक्तस्राव भएको, योनिभित्र घर्षण चिह्न भेटिएको भन्ने देखिए तापनि पीडितको कागजबमोजिम निजलाई घरबाट उठाई लाँदा देख्ने व्यक्ति निजको हजुरबुबाले सोको प्रतिकार र पछि हल्लाखल्ला गरी गाउँ समाजलाई कहीँकतै मौकामा खबरखाबर केही नगरी चुप लागी बसेको अवस्थाबाट समेत जाहेरी बेहोरा पीडितको कागजसमेत शंकास्पद देखिन्छ । त्यस्तै अनुसन्धानका क्रममा किटान गर्ने जाहेरवाला, पीडित, पीडितको हजुरबुबालगायत बुझिएका कुनै व्यक्ति अदालतमा उपस्थित भई बकपत्र गरी मौकाको भनाइ लेखाइलाई पुष्टि गर्न नसकेको प्रस्तुत मुद्दामा प्रतिवादी गोविन्द खड्काले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको मिति २०६७।१।३१ को फैसला ।
पीडितको कागजबाट जाहेरी समर्थित भएको र पीडितको शारीरिक जाँचबाट कन्याजाली फुटेको भई सो ठाउँबाट रक्तस्रावसमेत भएको, योनिभित्र घर्षणका चिह्न भेटिएको र आंशिक सन्चो भइसकेको, करणी भई सोको लक्षण चिह्नहरू, परीक्षण समय र घटना समयको शारीरिक चिह्न मिल्दोजुल्दो पाइएको भन्नेसमेतका तथ्यबाट जबरजस्ती करणीको वारदात पुष्टि भएको अवस्थामा वादी पक्षका साक्षीहरू, पीडित जाहेरवाला तथा पीडितको बाजेलाई मुलुकी ऐन, अ.बं. ११५ नं.बमोजिम बुझी नाबालक पीडितलाई न्यायको अनुभूति दिलाउनु पर्नेमा प्रतिवादीलाई सफाइ दिने ठहर गरेको बर्दिया जिल्ला अदालतको २०६७।१।३१ को त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जमा दायर गरेको पुनरावेदनपत्र ।
घटनाको जानकारी कसरी कुन स्रोतबाट प्राप्त भयो मिसिलबाट खुलेको अवस्था छैन न त मौकामा कागज गर्ने पीडित, जाहेरवाला, पीडितको हजुरबुबा कोही अदालतमा उपस्थित भई आफ्नो मौकाको भनाइलाई पुष्टि गर्न सकेको अवस्था छ । यस्तो अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणीजस्तो गम्भीर कसुरमा सजाय गर्न न्यायोचित नहुने हुँदा प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू बर्दिया जिल्ला अदालतको मिति २०६७।१।३१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६७।८।१९ गतेको फैसला ।
वादी पक्षका पीडित जाहेरवालासमेतका व्यक्ति बकपत्र गर्न नआउँदैमा पीडितको शारीरिक परीक्षणबाट जबरजस्ती करणी भएको तथ्य स्थापित भएको अवस्थामा म्याद गुजारी बसेका प्रतिवादीलाई कसुर ठहर नगरी सफाइ दिएको फैसला त्रुटिपूर्ण
छ । पीडितको कागजबाट जाहेरी समर्थित भएको छ । पीडितको शारीरिक जाँचबाट कन्याजाली फुटेको भई सो ठाउँबाट रक्तस्रावसमेत भएको र योनिभित्र घर्षणका चिह्न भेटिएको तथा आंशिक सञ्चो भइसकेको भन्ने तथ्यबाट जबरजस्ती करणीको वारदात पुष्टि भएकाले प्रतिवादी गोविन्द खड्कालाई सफाइ दिने गरी भएको तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
पीडितको मेडिकल रिपोर्टबाट जबरजस्ती करणी भएको पुष्टि भएको देखिएकोमा सो मेडिकल रिपोर्टलाई प्रमाणमा ग्रहण नगरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिई पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०६७।८।१९ मा भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ र अदालती बन्दोबस्तको १८४क नं. को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षीलाई झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०६८।११।१२ को आदेश ।
अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो । वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले वारदातपश्चात् प्रतिवादी फरार रहेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट कन्याजाली फुटेको, योनिबाट रक्तस्राव भएको र योनिभित्र घर्षणका चिह्न भेटिएको भन्नेबाट जबरजस्ती करणी भएको स्वतः प्रमाणित छ । पीडितउपर जबरजस्ती करणी भएको कुरा स्वास्थ्य परीक्षणबाट देखिएको छ । प्रतिवादीलाई किटानी गरी मौकामा जाहेरी परी पीडितले आफूउपर जबरजस्ती करणी भएको भनी कागज गरेको अवस्था छ । प्रतिवादी अनुसन्धानको क्रममा फरार रही अदालतबाट जारी भएको म्यादमा समेत उपस्थित भएको अवस्था छैन । जबरजस्ती करणीजस्तो गम्भीर कसुरमा अदालतमा पीडित तथा जाहेरवाला बकपत्र उपस्थित नभएको भन्ने कुरा प्रतिवादीलाई निर्दोष प्रमाणित गर्ने आधार हुन
सक्दैन । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि भएको अवस्थामा अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सफाइ दिएको सुरू र पुनरावेदन तहको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी प्रतिवादीउपर अभियोग दाबीअनुसारकै कसुर ठहर हुनुपर्छ भनी बहस गर्नुभयो ।
प्रस्तुत मुद्दामा अभियोग मागदाबी पुग्न नसक्ने ठहर गरी प्रतिवादीलाई सफाइ दिएको सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला मिलेको छ वा छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
प्रतिवादी गोविन्द खड्कालाई तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा ऐ. ३ नं. को देहाय २ बमोजिम सजाय गरी ऐ.१० नं.बमोजिम प्रतिवादीको अंशबाट पीडितलाई आधा अंशसमेत दिलाई पाउँ भन्ने अभियोग रहेको देखिन्छ । प्रतिवादी गोविन्द खड्कालाई सफाइ दिने ठहर गरेको सुरू बर्दिया जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६७।८।१९ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी मिति २०६८।११।१२ मा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहबाट प्रस्तुत मुद्दा पेस भएको देखिन्छ । तर प्रस्तुत मुद्दाका सन्दर्भमा फौजदारी कसुर र सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ८ मा कुनै व्यक्ति कुनै कसुरका सम्बन्धमा अदालतबाट कानूनबमोजिम कसुरदार ठहर भइसकेपछि मात्र अदालतले त्यस्तो व्यक्तिलाई त्यस्तो कसुरको सम्बन्धमा सजाय निर्धारण गर्नुपर्ने व्यवस्था रहेको पाइन्छ । र दफा ९ मा दफा ८ बमोजिम कसुरदारलाई सजाय निर्धारण गर्दा छुट्टै सुनुवाइ गरी निर्धारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । जसअनुसार सर्वप्रथम यी प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको हो वा होइन अर्थात् यी प्रतिवादी कसुरदार हुन् होइनन् भन्ने सम्बन्धमा प्रतिवादीका हकमा निर्णय गर्नु पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मेरी छोरी वर्ष १२ की पीडित आफ्नै घरमा सुतिरहेको समयमा मिति २०६२।५।१८ गते राति अं.२ बजे कैलाली जिल्ला, बलिया गा.वि.स. वडा नं.९ बस्ने गोविन्द खड्काले घरभित्र पसी चक्कुसमेत देखाई जबरजस्ती घरबाट बाहिर धानखेतमा लगी जबरजस्ती करणी गरेकाले कानूनबमोजिम कारबाही गरिपाउँ भनी यी प्रतिवादीउपर किटानी जाहेरी परेको देखियो ।
३. पीडितको मौकाको कागज हेर्दा आफू घरमा सुतिरहेको बेला अं. राति २ बजे तत्काल नचिनेको लोग्ने मानिस आई मलाई समाई तान्दै गर्दा डरले चिच्याएँ । मैले चिच्याएको हजुरबुबाले थाहा पाई कराउन लाग्दा नकरा बुढा चक्कुले हानी मारी दिन्छु भनेपछि हजुरबा डरले बोल्नु भएन । त्यसपछि निजले मलाई लतार्दै धानखेतमा लगी पल्टाई आफ्नो लिङ्ग निकाली जबरजस्ती मेरो योनिमा घुसारी योनिभित्र पसायो । आफूलाई दुखी पीडा भई चिच्याउन खोज्दा मेरो मुख थुनी डरत्रास देखाई जबरजस्ती करणी गरेको हो । मलाई करणी गर्ने मानिस जबरजस्ती करणी गर्ने बेला निजको अनुहार हेर्दा चिनेँ । निज मेरो गाउँमा ससुराली भएका गोविन्द खड्का हुन् भनी यी प्रतिवादीलाई पहिचान गरी निजउपर किटान गरी नाबालिका वर्ष १२ की पीडितले मौकामा कागज गरेको देखियो । घटनास्थलको प्रकृति हेर्दा धान ढलेको, माडिएको र पुरूषले लगाउने हरियो रङ्गको DMAX लेखेको कट्टु पाइएको भन्ने उल्लेख भएको देखिएको छ । मौकामा बुझिएका नकरू थारूले मौकामा कागज गर्दा उक्त घटना भएको रात यी प्रतिवादी गोविन्द खड्का पीडितको घरमा आई पीडितलाई जबरजस्ती घरबाहिर लिएर गएको, प्रतिवादीले चक्कुसमेत देखाई मारी दिने धम्की दिएकाले तत्काल केही गर्न नसकेको र पीडितलाई प्रतिवादीले धान खेतमा लगी जबरजस्ती करणी गरेको भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ ।
४. पीडितको मिति २०६२।५।२४ को स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा कन्याजाली फुटेको, सो ठाउँबाट रक्तस्रावसमेत भएको, योनिभित्रको घर्षण चिह्न भेटिएको र आंशिक सञ्चो भएको, करणी भई सोको लक्षण चिह्नहरू भएको र परीक्षण गर्दा अत्यन्त पीडा भएको र परीक्षण समयको र घटना समय तथा शारीरिक चिह्न मिल्दो-जुल्दो रहेको भनी उल्लेख भएको देखिन्छ ।
५. प्रतिवादीउपर मौकामा किटानी जाहेरी दरखास्त परी पीडितले तत्काल कागज गर्दा यिनै प्रतिवादीले आफूउपर जबरजस्ती करणी गरेको भनी स्पष्ट उल्लेख गरिदिएको एवम् पीडितको योनिसमेतबाट रगतजस्तो पदार्थ बगेको थियो, निज प्रतिवादी गोविन्द खड्काले नै जबरजस्ती करणी गरेका हुन् भनी पीडितलाई आफ्नै घरबाट रातको समयमा जबरजस्ती प्रतिवादीले लैजाँदा प्रत्यक्षदर्शी रहेका पीडितका हजुरबुबा नकरू थारूले गरेको कागजलाई उल्लिखित स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत समर्थन गरेको पाइयो ।
६. त्यसैगरी मलाई करणी गर्ने मानिस जबरजस्ती करणी गर्ने बेला निजको अनुहार हेर्दा चिनेँ निज मेरो गाउँमा ससुराली भएका गोविन्द खड्का हुन् भनी पीडितले मौकामा यी प्रतिवादीलाई स्पष्टरूपमा पहिचान गरी किटानी कागज गरेको पाइन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा आंशिक सञ्चो भएको भन्ने देखिए तापनि वारदात मिति २०६२।५।१८ मा भएको र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन मिति २०६२।५।२४ मा भएकाले आंशिक सञ्चो हुनु स्वाभाविक नै मान्नु पर्ने हुन्छ । पीडितको स्वास्थ्य अवस्था आंशिक सञ्चो हुनुले पनि पीडित यसअघि प्रतिवादीले गरेको जबरजस्ती करणीको पीडाबाट स्वास्थ्य अवस्था ठीक नभएको प्रस्ट देखिएको छ ।
७. प्रस्तुत मुद्दामा सुरू र पुनरावेदन तहको अदालतबाट प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिँदा मुख्यरूपमा जाहेरी दर्खास्त एवम् पीडितको कागज नै शंकास्पद रहेको एवम् जाहेरवाला पीडित र मौकामा कागज गर्ने व्यक्ति अदालतमा उपस्थित भई बकपत्र नगरेको भन्ने तथ्यलाई मूल आधार बनाएको देखिएको छ ।
८. यस सम्बन्धमा हेर्दा घटना भएको समयमा यी पीडितको उमेर १२ वर्ष मात्र रहेको देखिन्छ । नाबालिका पीडितले आफूउपर भएको करणीको घटना सम्बन्धमा सविस्तार परिवारलाई जानकारी गराई पीडितको पिताको तर्फबाट जाहेरी दरखास्त परेको अवस्था छ । राति आफ्नै घरमा सुतिरहेकी पीडितको घरमा आई प्रतिवादीले चक्कु देखाई जबरजस्ती घरबाट बाहिर लगी धानखेतमा पुर्याई जबरजस्ती करणी गरेको भन्ने कुराको मिथ्या आरोप पीडितका बुबा तथा हजुरबुबाले यी प्रतिवादीउपर लगाउनु पर्ने कुनै अवस्था छैन । त्यसमा पनि वारदातस्थल धान खेतमा भएको धान माडिएको तथा पुरूषले प्रयोग गर्ने कट्टु बरामद भएको देखिएको छ । उल्लिखित तथ्यलाई पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनले पुष्टि गरिरहेको सन्दर्भमा प्रस्तुत मुद्दामा जाहेरी दरखास्त, पीडितको मौकाको कागज तथा प्रत्यक्षदर्शी पीडितको हजुरबुबाको कागजको बेहोरालाई शंकास्पद मान्न मिल्ने देखिएन ।
९. सामान्यतः जबरजस्ती करणी मुद्दाको वारदातमा प्रत्यक्षदर्शी हुँदैन । जबरजस्ती करणी लुकिछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा साक्षी हुन सक्दैन । त्यस्तो अवस्थामा पीडितको भनाइलाई आधिकारिक मानी प्रमाणमा लिनु पर्ने
हुन्छ । प्रमाण ऐन, २०३१ को दफा १८ ले अनुसन्धानको क्रममा बुझिएका व्यक्तिले अदालतमा बकपत्र गरेको अवस्थामा निजको मौकाको भनाइलाई प्रमाणमा लिनुपर्ने व्यवस्था गरेको पाइन्छ । तर मौकाको कागज गर्ने व्यक्ति अदालतमा उपस्थित नभए पनि मिसिल संलग्न अन्य प्रमाणको मूल्याङ्कन नै नहुने, मूल्याङ्कन गर्नु नपर्ने भन्ने होइन । मिसिल संलग्न भएसम्मका प्रमाणहरूको विवेचनाबाट कसुर गरेको हो होइन भनी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । त्यसमाथि जबरजस्ती करणीको अपराध अन्य अपराधभन्दा संवेदनशील विषय हो । तर पीडित पक्ष, जाहेरवाला अदालतमा उपस्थित नहुनाका पछाडि विभिन्न तत्त्वले भूमिका खेलेको हुनसक्छ । अपराधका सम्बन्धमा समाजमा रहेको चेतनाको स्तर, आर्थिक सामाजिक परिवेश, पीडितलाई पुग्न जाने थप सामाजिक क्षति, पारिवारिक तथा सामाजिक प्रतिष्ठा, इज्जत तथा सामाजिक पृष्ठभूमि र संस्कारसमेतले असर गरेको हुन्छ ।
१०. नाबालिकामाथि हुने जबरजस्ती करणीजस्तो घृणित तथा आफूउपर आजीवन सामाजिक दाग लाग्ने अपराधमा अन्य वस्तुगत तथा विश्वसनीय र ठोस प्रमाणबाट कसुर पुष्टि भएको अवस्थामा पीडिता जाहेरवाला तथा मौकामा कागज गर्ने व्यक्ति अदालतमा उपस्थित नभएको भनी त्यसको फाइदा प्रतिवादीलाई दिँदै जाने हो भने जबरजस्ती करणी मुद्दामा प्रतिवादीले सजायबाट सधैँ उन्मुक्ति पाउने अवस्था रहन्छ ।
११. यस्तो अवस्थामा पीडितले न्यायको अनुभूति गर्नुको साटो थप अन्याय सहनुपर्ने स्थिति उत्पन्न हुन जान्छ । पीडितले आफूउपर भएको घृणित कार्य तथा आपराधिक कार्यको बारेमा स्पष्ट रूपमा मौकामा कागज गर्दा खुलाई दिएको र सो कुरा स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समर्थित भएको अवस्थामा त्यस्तो पीडितको मौकाको भनाइलाई प्रत्यक्ष र विश्वसनीय प्रमाणको रूपमा लिनुपर्ने हुन्छ । यस सम्बन्धमा यसै अदालतबाट “जबरजस्ती करणी अपराधमा चश्मदिद गवाह पीडित नै हुन्छन् । पीडितले मौकामा व्यक्त गरेको कुरा नै सत्य हुन्छ किनकि त्यसबेला आफूलाई परेको पीडा मानसपटलबाट हटेको नहुने” (ने.का.प. २०७४, भाद्र, नि.नं. ९८१२) भनी न्यायिक सिद्धान्तसमेत स्थापित भएको अवस्था छ ।
१२. एउटा निर्दोष बालिकाले आफूलाई जबरजस्ती करणी नगरेको भए प्रतिवादीउपर किटानी गरी करणी गर्दाकै अवस्थामा प्रतिवादीलाई चिनेको भनी मौकामा कागज गर्नुपर्ने कुनै कारण, परिस्थिति तथा बाध्यता सिर्जना हुने स्थिति रहँदैन । निर्दोष नाबालिकाले प्रतिवादीउपर घृणित आरोप लगाउनु पर्ने कुनै कारणसमेत देखिन आउँदैन । पीडित पक्ष जाहेरवाला अदालतमा नआएको भन्दैमा स्पष्टरूपमा जबरजस्ती करणी गरेको चिह्नहरू रहेको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई नजर अन्दाज गरी प्रतिवादीलाई सफाइ दिन मिल्दैन ।
१३. जबरजस्ती करणीजस्तो मुद्दामा पीडिताको स्वास्थ्य परीक्षणबाट देखाइएका कुराहरू विशेषज्ञद्वारा वैज्ञानिक पद्धति अपनाई जाँच गरिने भएकाले त्यस्तो प्रमाण अति महत्त्वपूर्ण हुन्छ । त्यस्तो प्रमाणले वास्तविक तथ्यहरूलाई उजागर गर्दछ र त्यस्तो प्रमाण भरपर्दो, प्रत्यक्ष र विश्वसनीय प्रमाणको रूपमा लिनु पर्ने हुन्छ । पीडित पक्ष अदालतमा नआएको भन्दैमा जबरजस्ती करणीको वारदात स्थापित नहुने भनी भन्न मिल्दैन । जबरजस्ती करणीको कसुर स्थापित हुन पीडित अदालतमा उपस्थित हुनै पर्छ भनी पूर्वसर्तको रूपमा लिनु पनि हुँदैन । पीडित पक्ष तथा जाहेरवाला अदालतमा उपस्थित नभए पनि कसुर प्रमाणित हुने अन्य पर्याप्त प्रमाण भएमा कसुरदार ठहर गर्न बाधा नपर्ने हुन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, मौकामा पीडितले गरेको किटानी कागज, मौकामा बुझिएका व्यक्तिहरूका भनाइ, प्रतिवादी मौकाबाटै फरार रहनु तथा उल्लिखित न्यायिक सिद्धान्तसमेतबाट यी प्रतिवादी गोविन्द खड्काले वर्ष १२ की पीडित नाबालिकालाई जबरजस्ती करणी गरेको स-प्रमाण पुष्टि हुन आयो ।
१४. प्रतिवादी गोविन्द खड्का वारदातपश्चात् नै फरार रहेको देखिन्छ । निजको नामको वारेन्ट पुर्जी र म्यादी पुर्जी मिति २०६२।११।१६ गते निज प्रतिवादीको घर दैलोमा टाँस भएको देखिन्छ । सो म्यादपश्चात् पनि प्रतिवादी अदालतमा हाजिर हुन नआई म्याद नै गुजारी बसेको देखियो । त्यसैगरी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई विपक्षी झिकाउने गरी मिति २०६८।११।१२ मा आदेश भएको देखिन्छ । प्रतिवादी गोविन्द खड्का घरमा फेला नपरेकाले निजका एकासगोलका बाबु कृष्णबहादुर खड्काले मिति २०६९।२।१९ मा १५ दिने म्याद सूचना बुझिलिई सहिछाप गरेको देखियो । तत्पश्चात् पनि प्रतिवादी अदालतमा हाजिर नभई सो म्यादसमेत गुजारी बसेको देखियो । यसरी रीतपूर्वक तामेल भएका वारेन्ट पुर्जी, म्यादी पुर्जी तथा प्रत्यर्थी झिकाउने म्याद सूचनामा समेत प्रतिवादी गोविन्द खड्का अदालतमा उपस्थित नभई म्यादै गुजारी फरार भई बसेको देखिन्छ ।
१५. पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कन्याजाली फुटेको, सो ठाउँबाट रक्तस्रावसमेत भएको, योनिभित्रको घर्षण चिह्न भेटिएको, घटनास्थलबाट पुरूषले लगाउने हरियो रङको DMAX लेखेको कट्टुसमेत बरामद भएको, प्रतिवादी गोविन्द खड्काले पीडितलाई जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास लाग्छ भन्ने मन्जु ढकालको घटना विवरण कागज र प्रतिवादी वारदातपश्चात् फरार रहेकोसमेतका उल्लिखित वस्तुगत प्रमाणहरूबाट वर्ष १२ की पीडितउपर जबरजस्ती करणी भएको भन्ने तथ्यतः पुष्टि हुन आयो । अतः बर्दिया जिल्ला अदालतबाट प्रतिवादी गोविन्द खड्कालाई अभियोग दाबीको कसुरबाट सफाइ दिने ठहर गरेको मिति २०६७।१।३१ को फैसलालाई सदर कायम गरेको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६७।८।१९ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी गोविन्द खड्काले तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. तथा ऐ.३ नं. को देहाय २ बमोजिमको कसुर गरेको ठहर्छ ।
सजाय निर्धारणसम्बन्धी ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी सजाय निर्धारणका लागि यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. तथा ऐ.३ नं. को देहाय २ बमोजिम यस इजलासबाट कसुर ठहर भइसकेकाले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ दफा ८ तथा दफा ९ बमोजिम सजाय निर्धारणका लागि सुनुवाइ गर्नुपर्ने देखिन आयो ।
प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले यसअघि नै मिति २०७६।३।३१ मा प्रतिवादीउपर अभियोग दाबीअनुसारको कसुर ठहर भई निर्णय भइसकेको अवस्था छ । प्रतिवादीले कसुर गरेको अवस्था तथा कसुरको गाम्भीर्य हेर्दा अभियोग दाबीअनुसार नै सजाय ठहर गरी प्रतिवादी गोविन्द खड्कालाई सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
अब कसुरदार ठहर भएका यी प्रतिवादी गोविन्द खड्कालाई के कति सजाय हुनुपर्ने हो सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो । निज प्रतिवादीको हकमा उल्लिखित वस्तुगत प्रमाणहरूसमेतका आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम सजाय निर्धारण गर्नुपर्ने
देखियो । प्रतिवादी फरार रहेको अवस्था भए पनि उक्त ऐनको दफा १०(३) ले सजाय निर्धारण गर्न मिल्ने देखिन्छ । प्रतिवादीलाई सजाय निर्धारण गर्दा उक्त ऐनको दफा १५ ले निर्धारण गरेको कसुरको गम्भीरता र कसुरदारको दोषको मात्रा, कसुर गर्दाको परिस्थिति, कसुरको गम्भीरता बढाउने वा घटाउने अवस्थाहरू, कसुरदारको आचरण र विगतको क्रियाकलापसमेतलाई हेर्नुपर्ने हुन्छ ।
साथै अपराधको गाम्भीर्य, पीडितलाई पुगेको हानि, पीडितको अवस्था, अभियुक्तले गरेको अपराधको चरम सीमा, मात्रा, अपराध गरेको तरिका समय र परिस्थितसमेतलाई विचार गरी सजाय ठहर गर्नुपर्ने हुन्छ । प्रतिवादी गोविन्द खड्काले वर्ष १२ की पीडित नाबालिकालाई रातको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थाबाट अमानवीय, अनैतिक तथा अभद्र तरिकाबाट जबरजस्ती लतार्दै लगी धानखेतमा जबरजस्ती करणी गरेको अवस्था छ । पीडितलाई बोल्न कराउन नदिई मुखसमेत थुनी करणी गरेको र बोलेमा मार्ने धम्की दिई विवस, बाध्यता तथा आफ्नो काबुमा पारी जबरजस्ती करणी गरेको देखिन्छ । जबरजस्ती करणी गरेपश्चात् पनि सो कुरा कसैलाई भनेमा मारिदिने धम्कीसमेत दिई यी प्रतिवादीले जबरजस्ती करणी गरेको देखिन आयो ।
आफ्नो वृद्ध भएका हजुरबुबा मात्र रहेको समयमा मौका पारी यी प्रतिवादीले हजुरबुबासमेतलाई हतियार चक्कुसमेत देखाई मार्ने धम्की दिई पीडितलाई जबरजस्ती लतारी घरबाट लगेको देखिन्छ । प्रतिवादी गोविन्द खड्का राम्रो चाल चलन भएका व्यक्ति
होइनन् । खराब आचारण भएका मानिस हुन् । पीडितलाई डर त्रास देखाई धानखेतमा लगी जबरजस्ती करणी गरेको हो भनी सरस्वती चौधरी, कृष्ण गिरीले मौकामा कागज गरेको देखिन्छ ।
बालबालिकाको विरूद्ध कसुर गरेको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा ३८(ब) ले कसुरको गम्भीरता बढाउने अवस्थाको सिर्जना गरेको छ । शिव सुन्दर प्राथमिक विद्यालय सुन्दरपुर बर्दियाको मिति २०६३।९।११ को पत्रबाट पीडितको जन्ममिति २०५०।१०।१३ भनी उल्लेख भएको देखिँदा वारदात भएको मिति २०६२।५।१८ मा निज पीडित ११ वर्ष ७ महिना ५ दिनको भई १२ वर्ष ननाघेकी नाबालिका रहेको देखिएको अवस्था छ ।
प्रतिवादी वारदातपश्चात् नै फरार रहेको देखियो । अनुसन्धान तथा अदालतमा उपस्थित भई आफ्नो भनाइ राख्ने तथा न्यायिक निरूपणमा कुनै सहयोग नगरी अपराधबाट उन्मुक्ति पाउन फरार रहेको देखिन्छ । वस्तुतः अपराधको प्रकृति, कसुरको गम्भीरता, प्रतिवादीको आचरण, नाबालिकाउपरको कसुरसमेत हेर्दा प्रतिवादीको कार्य अत्यन्तै घृणित, अमानवीय र गैरकानूनी देखिई उल्लिखित वस्तुगत प्रमाणहरूबाट अभियोग दाबीअनुसार नै प्रतिवादी गोविन्द खड्कालाई सजाय गर्नुपर्ने देखिन आयो ।
तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणी महलको दफा ३ को देहाय २ को कानूनी व्यवस्था हेर्दा दश वर्ष वा सोभन्दा माथि सोह्र वर्षमुनिको बालिकालाई जबरजस्ती करणी गर्नेलाई सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था देखिन्छ ।
तसर्थ माथि विवेचित तथ्यगत आधार, कानूनी व्यवस्था, प्रतिपादित न्यायिक सिद्धान्तसमेतबाट प्रतिवादी गोविन्द खड्कालाई अभियोग दाबीको कसुरबाट सफाइ दिने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६७।८।१९ को फैसला मिलेको नदेखिँदा बदर भई सजायको उद्देश्यसमेतलाई विचार गर्दा प्रतिवादीले गरेको कसुरको प्रकृति र निजले आपराधिक कार्य गर्दा अपनाएको कार्य प्रकृति तथा वारदात घटना परिस्थितिसमेतलाई मध्यनजर गरी तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. तथा ऐ. ३ नं. को देहाय २ नं. को कसुरमा ऐ. ३(२) नं.बमोजिम ८(आठ) वर्ष कैद हुने र सोही ऐन महलको १० नं. ले आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई दिने कानूनी व्यवस्था भएपनि निज बालिकालाई मनोवैज्ञानिक हानिसमेत पुग्ने कार्य गरेको देखिएकाले क्षतिपूर्तिस्वरूप पीडितले प्रतिवादी गोविन्द खड्काबाट रू.५०,०००।– (पचास हजार) रूपैयाँ भराई लिन पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
प्रतिवादी गोविन्द खड्कालाई ८(आठ) वर्ष कैद सजाय हुने ठहरेकाले प्रतिवादी हाल बेरूजु हुँदा लगत कसी असुल गर्नु भनी सुरू बर्दिया जिल्ला अदालतमा लेखी पठाउनू ........................................................१
प्रतिवादीबाट पीडितले क्षतिपूर्तिबापत रू.५०,०००।- (पचार हजार) रकम भरी पाउने ठहरेकाले कानूनबमोजिम पीडितलाई उक्त क्षतिपूर्तिबापतको रकम प्रतिवादीबाट भराई दिनु भनी सुरू बर्दिया जिल्ला अदालतमा लेखी पठाउनू .................................२
पीडितले प्रस्तुत फैसलाको प्रतिलिपि माग गर्न आएमा निःशुल्क रूपमा फैसलाको प्रतिलिपि उपलब्ध गराइदिनू ......................................................३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ...........४
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृतः- भरतकुमार दाहाल
इति संवत् २०७६ साल श्रावण १६ गते रोज ५ शुभम् ।