शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०५०२ - अंश दर्ता

भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७६।१०।५

०७२-CI-०४५८

 

मुद्दा : अंश दर्ता

 

पुनरावेदक / प्रतिवादी : झमन राउत कंकरको नाति रामदेव राउत कंकरको छोरा जिल्ला पर्सा, गा.वि.स. पकहा मैनपुर वडा नं. ३ बस्‍ने गुदर राउत कंकरसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला पर्सा, गा.वि.स. पकहा मैनपुर वडा नं.३ बस्ने सतन राउत कंकर मरी मु.स.गर्ने निजको श्रीमती वृजमती देवी

 

लिखतमा बकसपत्र उल्लेखसम्म गरेको आधारमा मात्र अन्य तथ्य प्रमाण नहेरी सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्ने हो भने टाठाबाठा अंशियारले सहजै रूपमा अरू अंशियारहरूलाई निरअंशी बनाउन सक्ने र त्यस्तो कार्य अंशबन्डाको महलको उद्देश्य र भावनाविपरीत हुने । 

(प्रकरण नं.१६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, वैतनिक विद्वान्‌ अधिवक्ताद्वय श्री इन्दीरा सिलवाल र श्री रजिता थापा

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महादेव प्रसाद यादव र विद्वान्‌ अधिवक्ताहरू श्री राजिव आचार्य एवं श्री प्रमोद प्रसाद

अवलम्बित नजिर :

ने.का.प.२०६९, अङ्क ३, नि.नं.८७८८

ने.का.प.२०७६, अङ्क ३, नि.नं.१०२१७

सम्बद्ध कानून : 

मुलुकी ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

मा.न्या.श्री श्यामसुन्दर अधिकारी

पर्सा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या.डा.श्री कुलरत्‍न भुर्तेल

मा.न्या.श्री तिलप्रसाद श्रेष्‍ठ

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्‍याउने निवेदन परी निस्सा प्रदान भई पुनरावेदनसरह दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

झमन राउतको छोराहरू फौजदार राउत, रामदेव राउत, रामवरण राउत, शिवनाथ राउत, वैजनाथ राउतसमेत ५ जना हुन् । फौजदार राउतको १ मात्र छोरा म वादी सतन राउत हुँ । रामदेव राउतको छोरा प्रतिवादी गुदर राउत हुन । गुदर राउतको पत्‍नी प्रतिवादी राधिका तथा छोराहरू प्रतिवादी परमानन्द, नवल, वृजेश, श्रीलालसमेत ४ भाइ 

हुन् । झमन, फौजदार, रामदेव, शिवनाथ, वैजनाथ तथा निजहरूको पत्नीहरू र रामवरणको पत्नीसमेत अघिपछि परलोक भइसक्नु भएको छ । शिवनाथ र वैजनाथको कुनै सन्तान छैन । रामवरणको २ छोरी मात्र सन्तान भएकोमा निजहरूको विवाह भइसकेको छ । सगोलको परिवारको सम्पत्ति प्रतिवादीहरूको नाउँमा रहेको छ । सगोलको परिवारको जग्गा जमिनको बाली आयस्तासमेत निजहरूले एकलौटी पार्न लागेको र पारिवारिक संख्यामा वृद्धि भई सधैँ गृह कचिङ्गल भइरहने गरेको छ । मैले सगोलमा बस्नुभन्दा भिन्न भई बस्नु नै श्रेयस्कर ठानी प्रतिवादीहरूलाई भेला जम्मा गराई तपाइँहरूले सगोलको परिवारको जग्गा जमिनको बाली आयस्ता एकलौटी नपारी मेरो अंश छुट्याई दिनुहोस् भनी अनुरोध गर्दा मेरो अंशहक छुट्याउन इन्कार गर्नुभयो । प्रतिवादीहरूको र मेरोबिचमा चुल्हो मानो छुट्टिएको कुनै लिखत प्रमाण नहुँदा यो फिराद परेको अघिल्लो दिनलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई सो सम्पत्तिमा ३ खण्डको १ खण्ड मेरो अंशहक छुट्याई मेरो नाउँमा दर्ता गरी लागेको कोर्ट फीसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादीको फिराद पत्र ।

वादीले फिराद पत्रमा देखाउनु भएको पुस्तावली ठिक हो । वादी दाबीबमोजिम वादीले हामी प्रतिवादीहरूबाट अंशहक पाउनु पर्ने होइन । २०२२ सालअघिदेखि नै हामी वादी प्रतिवादीहरू छुट्टाछुट्टै बसी आएका छौं । हामीहरूले बकस पत्रबाट पाएको मुलुकी ऐन, अंशबन्डाको १८ नं. बमोजिम आफूखुसी गर्न पाउने कसैको अंश हक नलाग्ने जग्गाहरू 

हुन् । सोही जग्गाहरूबाट अंश हक लिन पाइन्छ कि भनी लोभलालच गरी छुट्टी भिन्न भइसकेको वादीले एकासगोलको भनी झुट्टा बेहोरा देखाई दिएको फिराद हकदैयाको अभावमा खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू गुदर, राधिका, परमानन्द र वृजेशको संयुक्त प्रतिउत्तर पत्र ।

प्रतिवादीहरू नवल राउत, श्रीलाल  राउत र रामवरण राउतको नामको म्याद मिति २०६८।६।३० मा तामेल भएकोमा निजहरूले प्रतिउत्तर नफिराई सुरू म्याद नै गुजारी बसेको । 

वादी प्रतिवादीहरूले पेस गरेको आ-आफ्नो जिम्माको तायदाती फाँटवारी मिसिल सामेल रहेको । 

वादी तथा प्रतिवादीहरूबिच अंशबन्डा भइसकेको भन्ने प्रमाण प्रतिवादी पक्षबाट पेस दाखिला हुन नसकेको अवस्थामा अंशबन्डाको १, २, ३, ४ र ५ नं. अनुसार वादी प्रतिवादीहरूको नाउँमा भएको सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड सम्पत्ति वादीले अंश पाउने ठहर्छ भन्ने सुरू पर्सा जिल्ला अदालतको मिति २०७०।१०।२१ को फैसला । 

वादी दाबीबमोजिम वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर गरेको सुरू फैसलामा हाम्रो चित्त बुझेन । वादीका पिता फौजदार राउतकै पालामा २०२२ सालअघि नै आ-आफ्नो अंशहक लिई हामी अलग भिन्न भएका अंशियार हौं । हामीले स्वआर्जनबाट खरिद गरेको र बकस पत्रबाट प्राप्त गरेका जग्गाहरूमा अंश पाइन्छ कि भनी गलत मनसाय लिई वादीले अंशमा दाबी गरेकोमा दाबीबमोजिम अंश पाउने ठहर गरेको सुरू फैसला त्रुटिपूर्ण रहेको हुँदा उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको पुनरावेदन पत्र ।

यसै लगाउको दायरी नं. ०७१-DP-०१९८ को अंश दर्ता मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दाको अन्तरप्रभावी देखिँदा यसमा पनि  अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।८।१७ को आदेश । 

प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित जग्गा सगोलको आर्जनबाट खरिद गरी सगोलमै भोग चलन गरी आएको हुँदा सो जग्गामा सबै अंशियारको अंशहक निहित रहेकोले सुरू फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको वादीको लिखित प्रतिवाद । 

सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७०।१०।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।२।१ मा भएको फैसला ।

म राधिका कंकरनीले मेरो सहोदर आमा लक्ष्मीनिया कंकरनीबाट कि.नं. १०६ को जग्गा बकसपत्र प्राप्त गरेको हुँ । आमाले छोरीलाई बकस पत्र गरिदिएको जग्गासमेत रूपैयाँ तिरी लिएको भन्नु गलत हो । म गुदर राउत कंकरको नामको कि.नं. १०, १३७, ५२ र ९० को जग्गा र म राधिका कंकरनीको नामको कि.नं. १३२, २१६, १०६, १५२, २०७०, ३१०, १५१ र २६१ को जग्गाहरू बकस पत्रबाट प्राप्त गरेका जग्गाहरू हुन् । त्यस्तो जग्गा अन्य अंशियारबिच बन्डा लाग्ने होइन । म गुदर राउत कंकरको नाममा रहेको कि.नं. ६४ को घर जग्गा स्ववासीमा दर्ता रहेको हुँदा त्यस्तो सम्पत्ति पनि अंश बन्डाको १८ नं. बमोजिम निजी ठहर्ने हुँदा सो सम्पत्तिसमेत बन्डा लाग्ने होइन । हामीले विभिन्न व्यक्तिहरूबाट विभिन्न मितिमा बकसपत्रबाट उक्त सम्पत्ति प्राप्त गरेका हौं । ती सम्पत्तिहरू बकसपत्रबाट प्राप्त गरेको भन्ने कुरामा विवाद छैन । ती जग्गा प्राप्त गर्दाको लिखतमा नै काममा सहयोग गरी रिझाएबापत भन्ने बेहोरा उल्लेख भएको हुँदा निजी तवरले प्राप्त गरेको सम्पत्ति भन्ने देखिन आएको छ । यस्तो अवस्थालाई असत्य मानी थैली हालेर नै खरिद गरेको भनी अनुमान गर्नु कानून एवं न्यायसङ्गत हुँदैन । हामीहरूले मूल्य तिरी जग्गा खरिद गरेका होइनौं । वादीले सगोलको सम्पत्तिबाट खरिद गरी लिखतमा बकस पत्र उल्लेख गरेको मात्र हो भनी दाबी गरेको बेहोरा झुट्ठा हो । सगोलको कुन सम्पत्ति बिक्री गरी उल्लिखित सम्पत्ति खरिद गरिएको हो ? वा सगोलको कुन व्यापार व्यवसायबाट आर्जित सम्पत्तिबाट सो सम्पत्ति खरिद गरिएको हो ? वादीले भन्न सक्नु भएको छैन । सगोलका सम्पत्तिबाट खरिद गरेको भनी वादीले सम्पत्तिको स्रोतसमेत देखाउन सक्नुभएको छैन । हामी वादीको घरको मुख्य व्यक्ति नभएकोले वादीले हामीबाट अंश पाउनु पर्ने होइन । अघिल्लो पुस्ता बाबुहरूकै बिच घर सारमा छुट्टी भिन्न भई अलगअलग बसी छुट्टाछुट्टै व्यवहार गरी आएको र म गुदर राउत कंकर र म राधिका कंकरनीले छुट्टाछट्टै मितिमा विभिन्न व्यक्तिहरूबाट बकस पत्रबाट प्राप्त गरेको सम्पत्तिसमेत बन्डा गर्ने ठहर गरेको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।२।१ को फैसलामा मुलुकी ऐन, अंशबन्डाको ३०, १८ नं., स्त्री अंश धनको ५ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४, २६ र २८ समेतका कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट ने.का.प.२०६९, अङ्क ८, नि.नं. ८८६९ मा समेत प्रतिपादन भएको सिद्धान्तसमेतबाट गम्भीर त्रुटि भएको हुँदा उक्त फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी वादीको दाबी खारेज गर्ने गरी इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी गुदर राउत कंकरसमेतको निवेदन पत्र ।

प्रतिवादी राधिकादेवीको नाममा दर्ता भएका जग्गामध्ये हाल कि.नं. १३२, २१६, १०६, १५२, २०७०, ३१०, १५१, २६१ र प्रतिवादी गुदर राउतको नाममा आएको कि.नं. १०, १३७, ५२, ९० समेतका जग्गाहरू निजका नाममा बकसपत्रबाट प्राप्‍त भएको देखिँदा ने.का.प. २०६९, अङ्क ८, नि.नं.८८६९, पृष्ठ ११७३ मा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत बन्डा हुने गरी पुनरावेदन अदालतबाट फैसला भएको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ उपदफा (१) खण्ड (ख) अनुसार प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षीहरू झिकाई आएपछि निमयानुसार गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७२।४।२० को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न रहेका कागजातहरूको अध्ययन गरियो ।

पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, वैतनिक विद्वान्‌ अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापाले पुनरावेदक प्रतिवादीहरूको वादी अंशियार होइनन् । प्रतिवादीहरूले वादीलाई अंश दिनु पर्ने होइन । आफ्नो पिताकै पालामा वादी अलग भिन्न भएका अंशियार हुन् । निजले प्रतिवादीबाट अंश पाउने अवस्था छैन । यस्तो अवस्थामा प्रतिवादीहरूको निजी आर्जनको जग्गासमेतबाट बन्डा लाग्ने ठहर्‍याएको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छैन । सो फैसला उल्टी हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान्‌ अधिवक्ताहरू श्री राजिव आचार्य एवं श्री प्रमोद प्रसादले प्रतिवादीहरूले वादी अलग भिन्न भएको अंशियार भने पनि सोको प्रमाण दिन सक्नु भएको छैन । वादी र प्रतिवादीहरूको बिचमा कानूनबमोजिम अंशबन्डा भएको छैन । वादीले सगोलको सम्पत्तिबाट खरिद गरिएका जग्गाहरूबाट अंश पाउने ठहर्‍याएको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तानुसारको बहससमेत सुनी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूको मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ 

छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्‍ने हो होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले एकासगोलको श्रीसम्पत्तिहरू एकलौटी पारी हिनामिना गर्न लागेको र अंशहक माग गर्दा दिन इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी ३ खण्डको १ खण्ड मेरो अंशहक दिलाई पाउँ भन्ने वादीको मुख्य फिराद दाबी । वादी निजको पिताकै पालामा २०२२ सालअघि नै छुट्टी भिन्न भइसकेका हुन् । वादी हाम्रो अंशियार नभएको हुँदा अंश दिनु पर्ने होइन भन्ने प्रतिवादी गुदर राउतसमेतको संयुक्त प्रतिउत्तर जिकिर ।

३. वादी प्रतिवादीहरूको नाउँमा भएको सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड सम्पत्ति वादीले अंश पाउने ठहर्छ भनी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७०।१०।२१ मा भएको फैसला । सो फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।२।१ मा भएको फैसला । उक्त फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीहरूको निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

४. म राधिका कंकरनीले आमा लक्ष्मीनिया कंकरनीबाट बकस पत्र प्राप्त गरेको कि.नं. १०६ को जग्गासमेत रूपैयाँ तिरी लिएको भन्नु गलत हो । म गुदर राउत कंकरको नामको कि.नं. १०, १३७, ५२ र ९० को जग्गा र म राधिका कंकरनीको नामको कि.नं. १३२, २१६, १०६, १५२, २०७०, ३१०, १५१ र २६१ को जग्गाहरू बकस पत्रबाट प्राप्त गरेको र म गुदर राउत कंकरको नाममा रहेको कि.नं. ६४ को घर जग्गा स्ववासीमा दर्ता रहेको जग्गा हो । सो जग्गाहरू अंशबन्डाको १८ नं. बमोजिम निजी ठहर्ने हुँदा अन्य अंशियारबिच बन्डा लाग्ने होइन । उल्लिखित जग्गाहरू हामीले विभिन्न व्यक्तिहरूबाट विभिन्न मितिमा बकसपत्रबाट प्राप्त गरेको भन्ने कुरामा विवाद छैन । ती जग्गा प्राप्त गर्दाको लिखतमा नै काममा सहयोग गरी रिझाएबापत भन्ने बेहोरा उल्लेख भएको हुँदा निजी तवरले प्राप्त गरेको सम्पत्ति भन्ने देखिन आएको अवस्थामा थैली हालेर नै खरिद गरेको भनी अनुमान गर्नु कानून एवं न्यायसङ्गत 

हुँदैन । हामीहरूले मूल्य तिरी जग्गा खरिद गरेका 

होइनौं । वादीले सगोलको सम्पत्तिबाट खरिद गरी लिखतमा बकस पत्र उल्लेख गरेको मात्र हो भनी दाबी गरेको बेहोरा झुट्ठा हो । सगोलको कुन सम्पत्ति बिक्री गरी उल्लिखित सम्पत्ति खरिद गरिएको हो ? वा सगोलको कुन व्यापार व्यवसायबाट आर्जित सम्पत्तिबाट सो सम्पत्ति खरिद गरिएको हो ? वादीले भन्न सक्नु भएको छैन । सगोलको सम्पत्तिबाट खरिद गरेको भनी वादीले सम्पत्तिको स्रोतसमेत देखाउन सक्नु भएको छैन । हामी वादीको घरको मुख्य व्यक्ति नभएकोले वादीले हामीबाट अंश पाउनु पर्ने होइन । अघिल्लो पुस्ता बाबुहरूकै बिच २०२२ साल अघि नै घर सारमा छुट्टी भिन्न भई अलगअलग बसी छुट्टाछुट्टै व्यवहार गरी आएको र म गुदर राउत कंकर र म राधिका कंकरनीले छुट्टाछुट्टै मितिमा विभिन्न व्यक्तिहरूबाट बकस पत्रबाट प्राप्त गरेको सम्पत्तिसमेत बन्डा गर्ने ठहर्‍याएको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्‍ने प्रतिवादी गुदर राउत कंकरसमेतको पुनरावेदन जिकिर ।

५. मूल पुर्खा झमन राउतको फौजदार राउत, रामदेव राउत, रामवरण राउत, शिवनाथ राउत र वैजनाथ राउत गरी ५ जना छोराहरू रहेको देखिन्छ । फौजदार राउतको एक मात्र छोरा वादी सतन राउत र रामदेव राउतको एक मात्र छोरा प्रतिवादी गुदर राउत रहेको देखिन्छ । गुदर राउतको पत्‍नी प्रतिवादी राधिका तथा छोराहरू प्रतिवादी परमानन्द, नवल, वृजेश, श्रीलालसमेत रहेको पाइन्छ । प्रतिवादी रामवरण राउतको छोरा नभई दुई छोरी मात्र सन्तान भएकोमा निजहरूको विवाह भइसकेको भन्ने देखिन्छ । शिवनाथ र वैजनाथ राउतको कुनै सन्तान नभई निसन्तान रहेको भन्ने देखिन्छ । झमन, फौजदार, रामदेव, शिवनाथ, वैजनाथ तथा निजहरूको पत्नीहरू र रामवरणको पत्नीसमेतको मृत्यु भइसकेको भन्ने देखिन्छ । हाल जीवित रहेका सन्तानहरूमा फौजदार राउतको एक मात्र छोरा वादी सतन राउत र रामदेव राउतको एक मात्र छोरा प्रतिवादी गुदर राउत एवं प्रतिवादी रामवरण राउतको समेत मृत्यु भई निजको विवाहिता छोरी कुमरिया देवीसमेत रहेको भन्ने पुस्तेवारीमा वादी प्रतिवादीहरू दुवै पक्षको बिचमा मुख मिलेकै देखिन्छ ।

६. वादी सतन राउत कंकरको पिता फौजदार राउत कंकर २०२२ सालभन्दा पहिले नै अलग भिन्न भएका अंशियार हुन् भनी प्रतिवादी गुदर राउतसमेतले जिकिर लिएको पाइन्छ । तर निजहरूले यो मितिमा यो यति जग्गा वा सम्पत्ति बन्डा गरी छुट्टी भिन्न भएको हो भनी उल्लेख गर्न र सोको सबुत प्रमाण पेस गर्न सकेको देखिँदैन । वादी सतन राउतको पिता फौजदार राउत, प्रतिवादी गुदर राउतको पिता रामदेव राउत र प्रतिवादी रामवरण राउतको बिचमा अंशबन्डा भइसकेको भन्ने कुनै लिखत प्रमाण मिसिलमा पेस भएको देखिँदैन । साबिक मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं बमोजिम व्यवहार प्रमाणबाट समेत निजहरूको बिचमा अंशबन्डा भइसकेको भन्ने पनि कुनै प्रमाणसमेत मिसिल संलग्न रहेको देखिँदैन । वादीको पिता फौजदार राउतले २०२२ भन्दा पहिले नै प्रतिवादीहरूसँग अंश लिई भिन्न भएको भन्ने कुनै ठोस प्रमाण मिसिल संलग्न रहेको देखिँदैन । अतः वादी प्रतिवादीहरूको बिचमा रीतपूर्वक अंशबन्डा भएको भन्ने प्रमाण नहुँदा वादी प्रतिवादीहरू एकासगोलका अंशियार भएको देखिएकोले वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आयो । 

७. पुनरावेदक प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारी हेर्दा, प्रतिवादी गुदर राउत कंकरको नाममा कि.नं. ६४ को जग्गा दर्ता रहेको र हालको कि.नं.१० साबिक कि.नं.६ को जग्गा र.नं.३२१७ मिति २०४९।११।१० मा मिनाकुमारी वरैबाट, हालको कि.नं. १३७ साबिक कि.नं. १३८ को जग्गा र.नं. ८८७२ मिति २०५३।३।९ मा ब्रह्मदेव हजारा दुसाधबाट, हालको कि.नं. ५२ साबिक कि.नं. ४५५ को जग्गा र.नं. २५३३ मिति २०४४।१२।४ मा रामलखन महतोबाट, हालको कि.नं. ९० साबिक कि.नं. ५५२ को जग्गा र.नं. ४२९८ मिति २०४८।१२।२४ मा अनुर मियाँबाट गुदर राउत कंकरले हालैको बकसपत्रको लिखतबाट प्राप्‍त भई दर्ता रहेको जग्गा हो भनी उल्लेख गरेको देखिन्छ । 

८. त्यसैगरी गुदर राउत कंकरको श्रीमती प्रतिवादी राधिका कंकरनीको नाममा दर्ता रहेको कि.नं.१३२ को जग्गा र.नं.१७८०/ख मिति २०६२।८।२४ मा रामदेव राउत कंकरबाट, हालको कि.नं. २१६ साबिक कि.नं. ६४० को जग्गा र.नं. ८३५५ मिति २०५९।२।२० मा सुनर हजारा दुसाधबाट, हालको कि.नं. १०६ साबिक कि.नं. ६० को जग्गा र.नं. ६६३४ मिति २०५२।२।१५ मा लक्ष्मीनिया कंकरनीबाट, हालको कि.नं.१५२ साबिक कि.नं. ६४४ को जग्गा र.नं.१७०४ मिति २०५८।६।२८ मा भिखम हजारा दुसाधबाट, हालको कि.नं. २०७० साबिक कि.नं. २०५१ को जग्गा र.नं.८५६८/क मिति २०६८।२।०९ मा अम्बिकाप्रसाद कुर्मीबाट, हालको कि.नं.३१० साबिक कि.नं.२५२ को जग्गा र.नं.२६६५/ग मिति २०६५।१०।२२ मा कमलोद्विन मियाँ दर्जीबाट, हालको कि.नं. १५१ साबिक कि.नं. ६४३ को जग्गा र.नं.१७०३ मिति २०५८।६।२८ मा किशोरी हजारा दुसाधबाट र कि.नं. २६१ को जग्गा र.नं.७१७७/ख मिति २०६२।३।२४ मा दीनानाथ प्रसाद वरैबाट राधिका कंकरनीले हालैको बकसपत्रको लिखतबाट प्राप्त गरेको जग्गा हो भनी उल्लेख गरेको देखिन्छ । 

९. हामीहरूले बकस पत्र गरिदिने व्यक्तिलाई भइपरी आएको काममा सहयोग गरी दिई रिझाएबापतमा उक्त जग्गाहरू बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको हो । साबिक मुलकी ऐन, अंशबन्डाको महलको १८ नं. अनुसार उक्त सम्पत्ति बन्डा हुने होइन भन्‍ने नै प्रतिवादीहरूको मुख्य जिकिर रहेको 

देखिन्छ । प्रतिवादी रामवरण राउत कंकरसमेतका अन्य प्रतिवादीहरूको नाममा बन्डा गर्नु पर्ने कुनै सम्पत्ति रहेको भन्ने देखिँदैन ।

१०. प्रत्यर्थी वादी सतन राउतले पेस गरेको तायदाती फाँटवारी हेर्दा, निजको पिता फौजदार राउत कंकरको नाउँमा सर्वे नाप नक्सा भएको कि.नं. २३ (गाउँ) को ०-०-२, ऐलानी मिनही घडेरी जग्गा रहेको भन्ने देखिन्छ ।

११. प्रतिवादी राधिका कंकरनीको नाममा दर्ता रहेको साबिक कि.नं. ६० को ०-३-५ जग्गा साबिकमा प्रतिवादी गुदरका पिता रामदेवले छोरा गुदरको सासू लक्ष्मीनियालाई राजीनामा पास गरिदिएको भन्ने देखिन्छ । तत्पश्‍चात् लक्ष्मीनियाले प्रतिवादी गुदरको श्रीमती निज लक्ष्मीनियाकै छोरी प्रतिवादी राधिकादेवीलाई बकस पत्र गरिदिएको भन्ने देखियो । साथै प्रतिवादी गुदरका पिता रामदेवको नाउँमा दर्ता रहेको कि.नं. १३२ को ०१५५० व.मि. जग्गा छोरा बुहारी राधिका कंकरनीलाई मिति २०६८।८।२४ मा बकस पत्र गरेको भन्‍ने देखिन्छ ।

१२. साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा "....... कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । अंशबन्डाको महलको यो व्यवस्थाअनुसार दान बकसबाट पाएको सम्पत्ति बन्डा नलाग्ने कुरामा विवाद छैन । तर त्यस्तो बकस पाउँदा कसैबाट निजी तवरले पाएको हो वा होइन । जे जति सम्पत्तिहरू बकस पत्र प्राप्त भएको छ ती सम्पत्तिहरू सही अर्थमा रिझाएबापत बकस पाएको हो होइन भन्ने कुरा पनि विचारणीय देखिन्छ । 

१३. अंशको हक भन्ने कुरा कुनै व्यक्ति, खास नाताभित्रका अंशियार भएको नाताले मात्र प्राप्त हुने नैसर्गिक हक हो । यही अवधारणामा आधारित रहेर नै प्रमाण ऐन, २०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्न सक्ने कानूनी व्यवस्थासमेत गरेको देखिन्छ । प्रतिवादीहरूको नाममा रहेका उक्त जग्गाहरू निजहरूले प्राप्त गरेको लिखतमा बकस पत्र उल्लेख भएको तथ्यमा विवाद देखिँदैन । तथापि बकस पत्रको लिखतबाट सगोलको अवस्थामा प्राप्त गरेको देखिन्छ । सो बकस पत्र लिखतबाट प्राप्त सम्पत्तिबाहेक अन्य बन्डा गर्नुपर्ने सम्पत्ति आधारभूत रूपमा रहेको भन्ने देखिँदैन । त्यसैले कुनै सम्पत्तिका सम्बन्धमा कसैको निजी ठहर्‍याई त्यस्तो सम्पत्तिबाट कसैलाई अंशहक जस्तो नैसर्गिक हकबाट वञ्चित गर्नु पर्दा शङ्कारहित तवरबाट निजी देखिएको स्थिति स्थापित हुनुपर्दछ ।

१४. प्रस्तुत मुद्दामा उल्लिखित सम्पत्ति बकस पत्रबाट प्राप्त गरेको भन्ने देखिए पनि कतिपय पैतृक जग्गालाई घुमाउरो तरिकाले बकस पत्रको माध्यमबाट प्रतिवादी राधिकाले प्राप्त गरेको भन्ने देखिन्छ । लिखतमा बकस पत्र उल्लेख हुँदैमा अदालतले त्यसको स्वाभाविकता नै परीक्षण गर्न नसक्ने वा त्यसको औचित्यभित्र प्रवेश गर्न नसक्ने गरी अदालतको भूमिकालाई सङ्कुचित तुल्याउँदा अंशबन्डाको महलको १८ नं को कानूनी व्यवस्थाको मर्म र भावनासमेत विपरीत हुन जान्छ । बकसपत्र भनी लिखतमा उल्लेख भएको आधारलाई अन्य मिसिल संलग्न प्रमाणसँग तुलना गरी स्वतः बन्डा नलाग्ने भनी व्याख्या गरिनु प्रस्तुत मुद्दाको तथ्यबाट मनासिब देखिन आएन ।

१५. सगोलको अंशियारले सम्पत्ति प्राप्‍त गर्दा लिखतमा बकस पत्र शब्द लेखी अरू अंशियारलाई अंशहकबाट वञ्चित गर्ने उद्देश्य लिई अंशबन्डा गर्नु नै नपर्ने स्थिति आइपर्न सक्दछ । प्रस्तुत मुद्दाको तथ्य हेर्दा अरू अंशियारहरूमध्येको वादीको नाउँमा २(दुई) धुर ऐलानी जग्गा बन्डा गर्नुपर्ने सम्पत्तिबाहेक अरू केही रहेको देखिन आएको छैन । २०२२ सालमा अंशबन्डा भएको भए वादीको नाउँमा कुनै न कुनै पैतृक सम्पत्ति दर्ता हुनु पर्ने थियो । सो रहेको देखिँदैन ।

१६. अर्कोतर्फ भएको पैतृक सम्पत्ति पनि सम्धिनीको नाउँमा लगी पुनः बुहारीको नाउँमा बकस पत्रको माध्यमबाट ल्याउने कार्य भएको देखियो । प्रतिवादी गुदर र निजको श्रीमतीको नाउँमा मात्र धेरै जग्गाहरू दर्ता रहेको पाइन्छ । सगोलको अवस्थामा निजहरूले सम्पत्तिहरू प्राप्‍त गरेको र लिखतमा बकस पत्र उल्लेखसम्म गरेको आधारमा मात्र अन्य तथ्य प्रमाण नहेरी सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्ने हो भने टाठाबाठा अंशियारले सहजै रूपमा अरू अंशियारहरूलाई निरअंशी बनाउन सक्ने हुन्छ । जुन अंशबन्डाको महलको कार्य र भावनाविपरीत हुन्छ । 

१७. पुनरावेदक सानुमाया महर्जनसमेत विरूद्ध प्रत्यर्थी बुद्धिलाल महर्जनसमेत भएको मुद्दा नं.२०६७-CI-१५९८ समेतको अंश चलन  मुद्दा (ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८८) मा "लिखतमा बकस पत्र शब्द प्रयोग गर्दैमा त्यसमा उल्लिखित सम्पत्ति स्वतः बन्डा नलाग्ने प्रकृतिमा पर्ने होइन । तर बकस पत्र दाता र प्राप्त कर्ताको सम्बन्ध, बकसपत्र दिनु पर्ने कारणको औचित्यको प्रामाणिक विश्लेषण गरी निष्कर्ष निकाल्नु पर्ने हुन्छ" भनी र पुनरावेदक गोपालबहादुर थापा विरूद्ध प्रत्यर्थी समिना थापासमेत भएको मुद्दा नं. ०७२-CI -०९४५ को अंश  मुद्दा (ने.का.प. २०७६, अङ्क ३, नि.नं. १०२१७) मा "कसैले कसैको सेवा, सुश्रुसा, पालन पोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति त्यस्तो सेवा सुश्रुसा, पालन पोषण, सहयोग गर्ने व्यक्तिलाई नि:शुल्क दिएको बकस वास्तविक अर्थमा बकस मानिने । यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म हुने । वास्तविक बकस पाएको भन्ने कुराको पुष्टि विश्वसनीय कागज प्रमाणहरूबाट हुनुपर्ने । बकस पाएको कुरामा अदालत सन्तुष्ट हुने खालको कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा विवादको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने" भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भएकोसमेत देखिन्छ ।

१८. कसैले कसैको सेवा, सुश्रुसा, पालनपोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति त्यस्तो सेवा सुश्रुसा, पालन पोषण, सहयोग गर्ने व्यक्तिलाई नि:शुल्क दिएमा त्यसरी पाएको बकसलाई वास्तविक अर्थमा बकस पाएको मानिन्छ । यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने उक्त अंशबन्डाको महलको भावना र मर्म हो । यी पुनरावेदक प्रतिवादीहरूले हालैदेखिको बकस पत्रको माध्यमद्वारा विवादित जग्गाहरू प्राप्त गरेकै आधारमा मात्र उक्त विवादित जग्गाहरू वास्तविक बकसको मूल्य मान्यताअनुसार पाएको भनी अर्थ गर्न मिल्ने 

देखिँदैन । यस्तोमा हालैको बकस पत्र प्राप्त गर्नेले कुन रूपबाट बकस पाएको हो भन्ने कुराले अंशबन्डाको १८ नं. को प्रयोजनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्था रहन्छ । 

१९. प्रस्तुत मुद्दामा तायदाती फाँटवारीमा उल्लिखित गरिएका जग्गाहरूमध्ये सम्पूर्ण जग्गाहरू प्रतिवादी राधिका कंकरनी र प्रतिवादी गुदर राउत कंकरका नाममा बकस पत्रबाट प्राप्त भएको भन्ने देखिएको छ । यी पुनरावेदक प्रतिवादीहरू गुदर राउत कंकर र राधिका कंकरनीले लिखतको कैफियत महलमा रिझबापत भनी उल्लेख गरेको भए पनि अलग अलग वतनमा रहेका बकस पत्र गरिदिने विभिन्न व्यक्तिहरूलाई के कसरी के कुन काम वा सेवा गरेबापत रिझाएका 

हुन् । सो कुरा बकस पत्रको लिखतको कैफियत महलमा स्पष्ट रूपमा उल्लेख गरेको देखिँदैन । बकस पत्र दाताहरू र यी बकस पत्र प्राप्त कर्ताहरूबिचको सम्बन्ध हेर्दा केही बाहेक बकस पत्र दिन पाउने स्वाभाविक नाता सम्बन्धभित्रका मानिससमेत रहेको 

देखिँदैन । पुनरावेदक प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूबाट प्राप्त गरेका विभिन्न जग्गाहरू वास्तविक बकस पाएको भन्ने कुराको पुष्टि विश्वसनीय कागज प्रमाणहरूबाट हुनुपर्दछ । कसैलाई कुनै काम वा सेवा गरेबापत रिझिए बकस पत्र दिन पाउने हाम्रो परम्परामा स्थापित मान्यता हो । तर यतिका जना व्यक्तिहरूलाई सेवा गर्ने र रिझाउने तथा यतिका कित्ता जग्गाहरू बकस पत्र पाउने कुरा स्वाभाविक र विश्वासलायक देखिँदैन ।

२०. वादीले यी जग्गाहरू सगोलको आर्जनबाट खरिद गरेको र लिखतमा मात्र बकस पत्र भनी उल्लेख गरेको हो भनी दाबी गरेको देखिन्छ । एकै नाता पुस्ताका व्यक्तिहरूमध्ये केहीको नाममा यतिका धेरै कित्ता जग्गाहरू देखिनु र बकस पत्रबाट प्राप्त भएको भन्ने देखाइनु तर केही अंशियारको नाममा कुनै पनि सम्पत्ति रहेको नदेखिएको अवस्थाबाट प्रतिवादीहरूले प्राप्त गरेको उक्त बकसपत्रको औचित्य अझ शंकास्पद देखिन आएको छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले वास्तविक बकस पाएको कुरामा अदालत सन्तुष्ट हुने खालको कुनै प्रमाण पेस गर्न सकेको देखिँदैन । यो स्थितिमा कुनै एक हाँगाका अंशियारले अर्को हाँगा पुस्ताका अंशियारलाई अंश हकबाट वञ्चित गर्ने उद्देश्यले केवल लिखतमा बकस पत्रको बेहोरा उल्लेख गरेको आधारले मात्र अरू अंशियारलाई त्यस्तो सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्नु कानूनसम्मत र न्यायोचितसमेत हुँदैन ।

२१. यिनै पुनरावेदक प्रतिवादी गुदर राउतसमेत र प्रत्यर्थी वादी रामवरण राउत कंकर मरी मु.स.गर्ने निजको छोरी कुमरियादेवी भएको यसै लगाउको मुद्दा नं. ०७२-CI-०४५७ को अंश दर्ता मुद्दामा वादी रामवरण राउत कंकरले प्रतिवादीहरूको नाममा दर्ता रहेका सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड सम्पत्ति अंश पाउने ठहर गरेको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुने ठहरी आज यसै इजलासबाट फैसला भएको छ ।

२२. उल्लिखित आधार कारण र यस अदालतबाट प्रतिपादन भएका उक्त सिद्धान्तसमेतबाट प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू गुदर राउत कंकर र राधिका कंकरनीले बकस पत्रबाट प्राप्त गरेको भनेको सम्पत्ति लिखतमा बकस पत्र उल्लेख भएकै कारणले मात्र त्यस्तो सम्पत्ति बन्डा नलाग्ने प्रकृतिको सम्पत्तिभित्र पर्छ भन्ने मान्यतासँग सहमत हुन सकिएन । सो सम्पत्ति वादी सतन राउत कंकरको लागि पैतृक सम्पत्ति भई अंशहक लाग्ने नै हुन 

आउँदछ । वस्तुतः वादी प्रतिवादीहरूको नाउँमा भएको सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड सम्पत्ति वादीले अंश पाउने ठहर्‍याएको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडा फैसला मिलेकै देखिन आयो । प्रतिवादीहरूको पुनरावेदन जिकिर र यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने गरी निस्सा प्रदान भएको आदेशसमेत सँग सहमत हुन सकिएन ।

२३. तसर्थः विवेचित आधार, कारण र प्रमाणहरूसमेतबाट वादी प्रतिवादीहरूको नाउँमा भएको सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड सम्पत्ति वादीले अंश पाउने ठहर्छ भनी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७०।१०।२१ मा भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।२।१ को फैसला मनासिब नै देखिएकोले सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृत : नारदप्रसाद भट्टराई

इति संवत् २०७६ साल माघ ५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु