शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५४४    ने.का.प. २०३९ अङ्क ३

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३८ सालको रिट नं. ११४३

आदेश भएको मिति  :     २०३९।३।७ मा

निवेदक      : जि.झापा हल्दिवारी गा.पं.वडा नं.३ बस्ने व्यवरी सिंह राजबंशी

विरुद्ध

विपक्षी :भूमीसुधार कार्यालय झापाका भू.सु.अ.माधवप्रसाद शर्मा, जि.झापा हल्दीवारी गा.पं.वडा   नं.३ बस्ने भरतकुमार सुवेदी

बिषय : उत्प्रेषणको आदेश वा जो चाहिने अन्य आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

(१)   जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार पत्नी छोरा मध्येमा एकजनालाई रोजे पछि मात्र मोहियानी हक प्राप्त हुन्छ । त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णयलाई बदर गर्ने ठहराएको ०३८।३।२१।१ को निर्णय बदर हुनु पर्ने भनी प्रस्तुत निवेदनमा दावी गरेको छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयको जस्तो हालत हुन्छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयलाई बदर गराउन निमित्त रिटको निवेदन दर्ता गर्ने यी निवेदकले आफ्नो अधिकार देखाउन पर्ने, मोहियानीहकको अधिकार छ भनी देखाउन जग्गाधनीको स्वीकृति लिएको हुनुपर्‍यो । ०३७।१२।१३ को निर्णय बदर भई रहेको अवस्थामा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नैन बिनोद

विपक्षी तर्फबाट      : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा र विद्वान वरिष्ठ अधिवक्ता श्री       शम्भुप्रसाद ज्ञवाली

उल्लिखित मुद्दा :   

आदेश

न्या.बासुदेव शर्मा

१.     विपक्षी भू.सु.का.को मिति ०३८।३।२१ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भन्ने कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३८।५।१।२ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।

२.    संक्षिप्त तथ्य : विपक्षी मानकुमार सुवेदीले सट्टापट्टा गरी लिएका जग्गा ०३१ सालमा नै मरी आफैँ जग्गाधनी हरिप्रसाद राजबंशीले जोती भोगी आएको थिएँ । ०३३ सालमा भू.सु.का.बाट बचत ऋण असुल गर्दा जग्गाधनीले मोहीले खाएको ऋण तिर्न भनेबाट धानको नगद ब्याज समेत बुझाई गा.पं.ले भरपाई गरी दिएको ०२८ सालको बाली लगाउने अवस्थामा मिठाईको छोरा भन्न आए । निज को हुन ? परिचयसमेत पाएको   छैन । मिठाईको छोरा भए ऋण कर्जा बुझाउँछु भनी देखिनु पर्ने सो नसकेकोले मिठाईको छोरा भनी विश्वास गर्न नसकिने हुँदा मोही लगत कट्टा गरी पाउँ भन्ने समेत विपक्षी मानकुमार सुवेदीको उजुरी परेकोमा दावीको जग्गामा मेरो बाबु म जन्मनु भन्दा अघिदेखि नै जोती ०२१ सालमा नापी हुँदा मोही दर्ता भई ज.ध.लाई बाली बुझाई आएको ०३२ सालमा बाबु परलोक भएपछि मैले जोतेको । ०३७।१२।१३ मा भू.सु.का.बाट मेरो नाममा मोही नामसारी समेत गरी सकेको छ भन्ने वादी दावी झुठ्ठा हो भन्ने बाबरी सिंह राजबंशीको प्रतिउत्तर परेकोमा दावीको जग्गामा प्रतिवादीको पिता मोही हुँदाको बखतदेखि नै जोत भोग छोडेको प्रमाण पुग्न आएको हुँदा सो आधारमा वादी दावी बमोजिम दिने मिति ०३७।१२।१३ को निर्णयबाट भएको नामसारी बदर समेत गरी दिने ठहराई विपक्षी भूमिसुधार कार्यालयबाट ०३८।३।२१ मा निर्णय भएको रहेछ सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

३.    संक्षिप्त जिकिर : म निवेदकले भू.सु.का.मा पेश गरेको प्रमाणहरुको भू.सं.ऐन, ०२१ को खुलम खुल्ला उल्लंघन गरी निर्णय गरेको छ । निवेदकले विवादग्रस्त जग्गा पिता मिठाई लालको मृत्युपछि जोतखन गरी जग्गाधनीलाई बाली बुझाई भरपाई लिएको र निवेदकको नाममा मोही नामसारी दर्ता गरी दिने भन्ने निर्णय गरी सकेको छ । त्यही जग्गाको मोहियानी हक सम्बन्धी विवाद सुनी आफैंले गरेको निर्णय बदर गरी भू.सु.का.झापाले गरेको निर्णयबाट अ.बं.८५ को उल्लंघन भएको छ । निवेदकले पेश गरेको भरपाईलाई समेत वास्ता नगरी मिति ०३८।३।२१ मा गरेको फैसला अ.बं.१८४क.र १८५ को विपरीत छ । मोही मिठाई लालको म निवेदक सहोदर पुत्र भएको तथ्यलाई पञ्चायतको सरजमिन मुचुल्का र जि.का.झापाबाट प्राप्त नागरिकताको प्रमाणपत्रले प्रमाणित गर्दछ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) बमोजिम पिता मिठाइ लालको मृत्यु पछि मोहियानी हकमा म निवेदकको दर्ता हुने निर्विवाद छ । यस्तो स्थिति बिद्यमान हुँदा हुँदै भू.सु.का.झापाले गरेको निर्णय भू.सं.ऐन, ०२१ को २६(१) को प्रतिकूल छ भन्ने समेत रहेछ ।

४.    विपक्षीद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने ०३८।५।३ का आदेशानुसार विपक्षीद्वारा प्राप्त लिखितजवाफ निम्न प्रकारको रहेछ :

५.    यस जिल्लामा भूमिसुधार लागू हुँदा भू.सु.का.बाट खटिएका टोलीले फिल्डमा मोहीको १ नं.लगत लिँदा मिठाई लाल राजबंशीको छोरा बाबरी राजबंशी भन्ने समेत नदेखिएको साथै गा.पं.को प्रधान पन्चलाई झिकाई कागज गराउँदा कि.नं.३१९ को जग्गा बिगाहा ३१८१० मिठाई राजबंशी मरेपछि आजसम्म बुधारु राजबंशीले नै जोते भोगेको रहेछन् भनी कागज गरी दिएबाट भू.सु.ऐन दफा २५(१) अनुसार निवेदकले जोत भोग गरेको नदेखिएको साथै मर्ने मोहीको परिवार भित्र निवेदकको नाम उल्लेख नदेखिँदा निजको नाम लगतबाट समेत कटाई दिने गरी कानूनको परिधिभित्र रही मिति ०३८।३।२१ मा यस कार्यालयबाट गरिएको निर्णय मनासिव हुँदा निवेदकको रिट निवदन खारेज गरी दिनु हुन अनुरोध गरेको छौं भन्ने भूमिसुधार अधिकारी झापा ।

६.    कि.नं.३१९ जग्गाको साविक मोही मिठाईलाल राजबंशी ०३१ सालमै मरी सकेको । निवेदकले मिठाई लालको छोरा बनी बाबरी र कुसुमलाल दुई दाजु भाइ देखाई आफ्नो नाममा मोही नामसारी गराउन मिति ०३७।१२।१३ मा दर्खास्त दिई सम्बन्धित जग्गाधनीलाई बुझ्दै नबुझी सोही दिनमै निवेदकका नाउँमा नामसारी गरी दिने गरेको भू.सु.का.को निर्णय भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) प्रतिकूल भई कानूनी प्रभाव शुन्य भएको सो कानूनी प्रभाव शुन्य निर्णयको आधारमा मात्र निवेदकको कानून बमोजिमको मोही हक सृजना हुन सक्ने होइन । कानून बमोजिमको हक प्राप्त नभएको हकदैया विहिन यी निवेदनको प्रस्तुत रिट निवेदन लाग्न नसक्ने प्रष्ट छ । यी निवेदकको लेखाई अनुसार दुई छोरा देखिए पछि भू.सु.ऐनको दफा २६ (१) अनुसार ति मध्ये कसलाई मोहीको रुपमा पत्याउने भन्ने कुरा जग्गावालाको अधिकार भित्रको कुरा हुन आउँछ । जग्गावालाले नै नपत्याई यी निवेदकलाई कानून बमोजिमको मोही हक प्राप्त हुन सक्ने प्रश्न नै आउँदैन । निवेदकको रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत भरतकुमार सुवेदी ।

७.    तारेखमा रहेको निवेदक बाबरी तर्फका विद्वान अधिवक्ता नैन विनोद र उपस्थित विपक्षी भरतकुमारको वारेस तिर्थ डंगोललाई रोहवरमा राखी निवेदक तर्फका विद्वान अधिवक्ता श्री नैन बिनोद न्यौपानेको र विपक्षी भूमिसुधार कार्यालय तर्फबाट बहस निमित्त खटिनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा तथा विपक्षी भरतकुमार सुवेदी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको बहस सुनियो ।

८.    प्रस्तुत मुद्दामा रिट निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।

९.    यसमा बावरी सिंहले मोहियानी हक प्राप्त गर्ने बिषयमा आफ्ना बाबु मिठाईलालको मोहियानी हक नामसारी गरी पाउँ भनी निवदेन गरेकोमा जग्गाधनी वनदेवी राजबंशी भनी लेखाएको भूमिसुधार अधिकारीबाट निर्णय हुँदा नामसारी हुने ठहराई ०३७।१२।१३ मा निर्णय भएकोबाट निजले हक प्राप्त गरेको भनिएको छ । जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६ (१) अनुसार पत्नी छोरा मध्येमा एकजनालाई रोजे पछि मात्र मोहियानी हक प्राप्त हुन्छ ।  त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णयलाई बदर गर्ने ठहर्‍याएको ०३८।३।२१।१ को निर्णय बदर हुनु पर्ने भनी प्रस्तुत निवेदनमा दावी गरेको छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयको जस्तो हालत हुन्छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयलाई बदर गराउन निमित्त रिटको निवेदन दर्ता गर्ने यी निवेदकले आफ्नो अधिकार देखाउन पर्ने हुन्छ । मोहियानी हकको अधिकार छ भनी देखाउन जग्गाधनीको स्वीकृति लिएको हुनु पर्‍यो । ०३७।१२।१३ को निर्णय बदर भैरहेकै अवस्थामा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हेरम्बराज

इतिसम्वत् २०३९ साल आषाढ ७ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु