शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९४२ - कर्तव्य ज्यान

भाग: ६४ साल: २०७९ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७६।१०।१

०७४-CR-१६५६

 

मुद्दाः- कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : इन्द्रमाया सिटौलाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं.१ बस्ने सिक्किमे कान्छी भन्ने रूकमाया राईसमेत

 

प्रतिवादीहरू फरार रहनुको अर्थ निजहरू विरूद्धको अभियोग स्वतः प्रमाणित हुने भन्ने  होइन । कुनै पनि कसुर प्रमाणको आधारमा स्थापित हुने वा नहुने न्यायिक मान्यता हो । प्रतिवादी फरार रहँदैमा प्रमाणको भार वादीबाट प्रतिवादीमा स्वतः सर्छ र कसुरदार नै हुन्छ भनी मान्न नमिल्ने । प्रतिवादी फरार रहेकै आधारमा कसुरदार ठहर्‍याउने हो भने न्यायको मान्य सिद्धान्तसमेत पराजित हुन जाने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुली

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दिपक खनाल

झापा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी

माननीय न्यायाधीश श्री मदन पोख्रेल

उच्च अदालत विराटनगर, इलाम इजलास

 

फैसला

न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

मिति २०६५।९।१३ गते बिहान ६:०० बजे झापास्थित सुरूङ्गा ८ मा मेरो श्रीमान्‌ हेमप्रसाद सिटौलाको लास फेला परेकोले जाहेरी पछि दिने गरी हाल सद्‌गतका लागि लास जिम्मा पाउँ भन्ने बेहोराको इन्द्रमाया सिटौलाको निवेदन ।

जिल्ला झापा सुरूङ्गा गा.वि.स. ८ स्थित ग्रावेल सडकको पश्चिम किनारामा दक्षिण टाउको उत्तर खुट्टा, दुवै हात सोझो पारी उत्तानो अवस्थामा लास रहेको, लासको १ फिट पूर्व दक्षिण मोहडापट्टि निजले चलाएको रिक्सा चेन खुस्किएको अवस्थामा रहेको रिक्साको सिटमा निजले लगाएको सुरूवाल, एक जोर चप्पल रहेको र चप्पल नजिक फुटेको हरियो चुरा र चुरोटको ठुटो रहेको ओठ पिल्सिएको, काटिएको जस्तो देखिएको अवस्थामा मृतक हेमप्रसाद सिटौलाको लास रहेको भन्नेसमेत बेहोराको लासजाँच मुचुल्का ।

मिति २०६५।९।१२ गते राति इलाम दानावारी बस्ने सिक्किमे कान्छी भन्ने रूकमाया राई, निजको छोरा नविन राई, रामबहादुर गुरूङ, विजय राईसमेतले मेरो श्रीमान्‌लाई कुटपिट गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ईन्द्रमाया सिटौलाको जाहेरी दरखास्त ।

प्रतिवादीहरूलाई खोजतलास गर्दा तीमध्ये प्रतिवादी नविन राईलाई झापा सुरूङ्गा ५ स्थित हिँड्दै गरेको अवस्थामा फेला पारेको हुँदा पक्राउ गरी आवश्यक कारबाहीका लागि पेस गरेको भन्नेसमेत बेहोराको प्रहरी जवान श्री खम्बसिंह बानियाको प्रतिवेदन ।

मृतकको मृत्युको कारण भिषेराको रिपोर्टपछि मात्र पत्ता लाग्ने भन्नेसमेत बेहोराको हेमप्रसाद सिटौलाको पोस्टमार्टम रिपोर्ट ।

मिति २०६५।९।१२ गते राति मेरो साथी मिलन राई र म घरतर्फ आउने क्रममा रामबहादुर गुरूङ र विजय राईले मृतक हेमप्रसाद सिटौलालाई कुटपिट गर्दै गरेको देखी मसमेतले कुटपिट गर्न हुँदैन भनी छुट्याई केही तलसम्म पुर्‍याएकोमा पछि मृतक हेमप्रसाद सिटौलाले तपाइँहरू जानुहोस् भनेपछि हामी गएको हो । भोलिपल्ट मृत्यु भयो भन्ने थाहा पाएँ । मृतक रक्सीले मातेका थिए । के कारणबाट मृत्यु भएको हो थाहा भएन । मैले कुटपिट गरेको छैन भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी नविन राईले बयान ।

हेमप्रसाद सिटौलालाई मिति २०६५।९।१२ गते राति नविन राईले लिई गएका हुन् । भोलिपल्ट निजको लास देखेँ ओठमा काटिएको थियो । को कसले कुटपिट गरे देखिन । घट्नास्थलमा रूकमाया राईले लगाएको जस्तो रंगको चुराका टुक्राहरू लास नजिक थियो । के कसरी मृत्यु भयो थाहा भएन भन्नेसमेत बेहोराको कौशीला राईको कागज ।

मिति २०६५।९।१२ गते राति सिक्किमे कान्छी र हेमप्रसाद सिटौला मेरो माइती घरमा आएका थिए । बास मागे बास दिएनौँ । रक्सी बोकेर आएका रहेछन् । रूकमाया राई (सिक्किमे कान्छी) र हेमप्रसाद सिटौलाले रक्सी खाए । हेमप्रसाद सिटौलालाई मेरो बाबु रामबहादुर गुरूङले एक झापड हिर्काउनुभयो पछि नविन राईसमेत आई हेमप्रसाद सिटौलालाई लिई गएका हुन् । भोलिपल्ट मर्‍यो भन्ने थाहा पाएँ । के कारणबाट मर्यो थाहा भएन भन्नेसमेत बेहोराको विष्णु सुव्वाको कागज ।

मिति २०६५।९।१२ गते राति झापा सुरूङ्गा गा.वि.स. ८ बस्ने मृतक हेमप्रसाद सिटौला र सिक्किमे कान्छी भन्ने रूकमाया राई मेरो घरमा आएका थिए । निजहरूले रक्सी सेवन गरेको थिए । केही समयपछि रामबहादुर गुरूङले रिक्सावालालाई एक झापड हिर्काउनुभयो । सोही बेला नविन राईसमेत आई हेमप्रसाद सिटौला र सिक्किमे कान्छी भन्ने रूकमाया राईलाई लिई गएका हुन् । भोलिपल्ट रिक्सावालाको मृत्यु भयो भन्ने थाहा पाएको हो । को कसले कर्तव्य गरी मारे थाहा भएन भन्नेसमेत बेहोराको जीवनकुमार राईको कागज । 

मिति २०६५।९।१२ गते बिहान झापा सुरूङ्गा ८ स्थित बाटोमा रिक्सावाला मानिस छ भन्ने थाहा पाई गई हेर्दा रिक्सावाला हेमप्रसाद सिटौला रहेछन् । निजको के कसरी मृत्यु भयो थाहा भएन । मिति २०६५।९।१२ गते राति सिक्किमे कान्छीले लिएर आएकी थिई भन्नेसम्म सुनेको हुँ भन्नेसमेत बेहोराको बमबहादुर खवासको कागज । 

मिति २०६५।९।१२ गते राति सिक्किमे कान्छीले रिक्सा राखेको छ भनेकी हुँदा हुन्छ भनी दिएँ । पछि रिक्सा लिन आए । रिक्सा लिन आउने नविन राई र मिलन राई हुन् । निजहरूको स्वरबाट 

चिनेँ । त्यतिकैमा म सुतेँ । मिति २०६५।९।१३ गते बिहान बमबहादुरको घर अगाडि बाटोमा रिक्सावाला मरेको छ भन्ने थाहा पाएँ । मिति २०६५।९।१२ गते राति निज हेमप्रसाद सिटौला र सिक्किमे कान्छी भन्ने रूकमाया राई, विजय राईको घरमा आएको र रक्सीसमेत खाएको भन्नेसम्म सुनेँको हुँ । कुटपिट भएको थाहा भएन भन्नेसमेत बेहोराको कृष्णमाया अधिकारीको कागज । 

मिति २०६५।९।१२ गते राति म आफ्नै घरमा थिएँ । सो राति कुनै घटना घटेको थाहा 

भएन । भोलिपल्ट बिहान मात्र रिक्सावाला हेमप्रसाद सिटौला मरेको भन्ने सुनी लास हेर्दा ओठमा काटेको थियो । घटनाबारे बुझ्दा मिति २०६५।९।१२ गते राति सिक्किमे कान्छी भन्ने रूकमाया राई र हेमप्रसाद सिटौला, विजय राईको घरमा आई रक्सी खाई मातेको र नविन राईसँग गएको भन्नेसम्म सुने । के कारणबाट मृत्यु भयो थाहा भएन भन्नेसमेत बेहोराको सेमन्तराज गौतम, रामप्रसाद प्रसाई, मोहनप्रसाद ढुङ्गेल, विमल सुव्वा र अशोक राईसमेत जना ५ ले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई, रामबहादुर गुरूङ, मिलन भन्ने लिलन राई, विजय राई र नविनकुमार राईसमेतको कुटपिटबाट मृतक हेमप्रसाद सिटौलाको मृत्यु भएको पुष्टि हुन आएकोले फरार रहेका अभियुक्तहरूको नाउँमा अदालतबाटै कानूनबमोजिम वारेण्टसहितको म्यादीपुर्जी जारी गरी निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. को १३(३) नं. बमोजिम सजाय हुन तथा प्रतिवादी मिलन भन्ने लिलन राईको उमेर १३ वर्षको हुँदा निजलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।

म र मेरो साथी मिलन राई घरतर्फ फर्की आउँदा विजय राईको घरमा झगडा भइरहेको सुनी के भएको रहेछ भनी हेर्दा मृतक हेमप्रसाद सिटौलालाई रामबहादुर गुरूङले कुटपिट गरी रहेका थिए । मैले छुट्याएको मानिस को रहेछ भनी सोद्धा रिक्सावाला रहेछन् । मेरी आमा रूकमाया राई रिक्सा चढी आउनुभएको हो । मृतकले अत्यधिक रक्सी खाएको, मैले आमालाई घर पुर्‍याए, रिक्सावालालाई जाउभन्दा बाटो देख्दिन बाटोसम्म पुर्याइदेउ भनेकोले म र साथी मिलन राईले कृष्ण लामाको दोकानसम्म पुर्‍याएपछि अब म जान सक्छु भनी मृतकले भनेकोले म घरमा आई सुतेँ । साथी आफ्नै घर गयो । भोलिपल्ट बिहान रिक्सावाला मरिरहेको छ भनेपछि थाहा पाएँ । मैले मृतकलाई कुटेको छैन । मातेको अवस्थामा कुटपिट भई राखेको देखी छुट्याएर सजिलो बाटोसम्म पुर्‍याइदिएको हो । मौकाको बयान बेहोरा र सहीछाप मेरो हो भन्ने प्रतिवादी नविन राईको सुरू अदालतमा भएको बयान ।

मुलुकी ऐन, अ.बं. ११८ को देहाय ५,१० नं. बमोजिम प्रतिवादी नविनकुमार राईबाट रू.५०००।- (पाँच हजार) नगद धरौट वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्नू । दिन नसके थुनामा राख्न पठाइदिनु भन्ने सुरू अदालतको मिति २०६५।१०।२० गतेको आदेश भई आदेशबमोजिमको नगद धरौट राखी तारेखमा रहेका प्रतिवादी नविनकुमार राई तारेख गुजारी बसेको ।

फरार प्रतिवादीहरू वर्ष १३ को मिलन भन्ने लिलन राई, रूकमाया राई, रामबहादुर गुरूङका नाममा जारी भएको म्याद पुर्जी मिति २०६५।११।३० मा तामेल भएको तामेली मिसिल सामेल रहेको देखिन्छ । 

प्रतिवादी विजय राईको मतदाता नामावलीमा सतबहादुर राई बुबाको नाम जितबहादुर राई मतदाता परिचय पत्र नं. ९१४३६१ जिल्ला झापा सुरूङ्गा गा.वि.स. वार्ड नं. ८ घर नं. क ५१० जन्ममिति २०३३।७।१३ उल्लेख भएको प्रहरी चौकी सुरूङ्गाबाट लेखी आएको भन्ने बेहोराको च.नं. ३८८ मिति २०६७।७।१० को जिल्ला सरकारी वकिल कार्यालय झापाको पत्र ।

मिति २०६५।१०।१३ को वस्तुस्थिति मुचुल्काको बेहोरा र सहीछाप मेरो हो भन्ने विमल सुब्बा र रामप्रसाद प्रसाईको सुरू अदालतमा भएको बकपत्र । 

प्रतिवादीलाई मैले चिनेको छैन, मेरो श्रीमान्‌ रिक्सा चलाउने मजदुर भएकोले रिक्सामा चढेर गएका हुन् भन्नेसमेत बेहोराको जाहेरवाला इन्द्रमाया सिटौलाको सुरू अदालतमा भएको बकपत्र ।

फरार प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई, रामबहादुर गुरूङ र मिलन भन्ने लिलन राईको इलाम जिल्ला अदालतबाट अंश रोक्का मुचुल्का भई मिसिल सामेल रहेको । 

प्रतिवादी नविनकुमार राईले आरोपित कसुर गरेको नदेखिँदा निजले कसुरबाट सफाइ पाउने र प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई, रामबहादुर गुरूङ र मिलन भन्ने लिलन राईका नाममा जारी भएको म्याद मिति २०६५।११।३० मा तामेल भएकोमा सो म्यादभित्र उपस्थित नभई फरार रहेको देखिँदा निजहरूको हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुल्तबीमा राखी दिने र प्रतिवादी विजय राईको नामको म्याद तामेल हुन सकेको नदेखिँदा निजको हकमा जिल्ला अदालत नियमावली, २०५२ को नियम १९(क) को उपनियम (४) बमोजिम तामेलीमा राखिदिने ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६८।१।२७ को फैसला ।

फरार प्रतिवादी रामबहादुर गुरूङ, मिलन भन्ने लिलन राई र सिक्किमे कान्छी भन्ने रूकमाया राईको हकमा मिति २०६८।१।२७ को फैसलाले मुल्तबीमा रहेकोमा निज प्रतिवादीहरूको अंश रोक्का मुचुल्का मिति २०६७।१२।७ मा भई आएको मितिले अ.बं. १९० नं. को म्याद व्यतीत भइसकेको देखिँदा मुल्तबीबाट जगाइदिएको छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०७०।१२।९ गतेको आदेश ।

प्रतिवादी सिक्किमे कान्छी भन्ने रूकमाया राईको हकमा यी प्रतिवादी चढी आएको रिक्सावालाको मृत्यु भएको, मृतकको ओठ काटेको र घटनास्थलमा निजले लगाएको जस्तो रङ्गको चुराको टुक्राहरू लास नजिक थियो भन्ने कौशिला राईको कागज तथा यी प्रतिवादीले आरोपित कसुर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाइको सबुद प्रमाण पेस गरी प्रतिवाद गर्न सक्नुपर्नेमा सो नगरेकोसमेतका आधार प्रमाणबाट यी प्रतिवादीको मृतकलाई मार्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आएको साथै प्रतिवादी रामबहादुर गुरूङ र अर्का प्रतिवादी विजय राईले मृतकलाई कुटपिट गर्दै गरेको देखी आफूले छुट्याएको, मृतकले रक्सी खाएका थिए भनी अनुसन्धानका क्रममा र अदालतमा सहअभियुक्त नविनकुमार राईले बयान गरेको र यी प्रतिवादीले आरोपित कसुर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाइको सबुद प्रमाण पेस गरी प्रतिवाद गर्न सक्नुपर्नेमा सो नगरेकोसमेतका आधार प्रमाणबाट प्रतिवादी रामबहादुर गुरूङको समेत मृतकलाई मार्ने कार्यमा संलग्नता पुष्टि हुन आएकोले प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङलाई वादी दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अर्का प्रतिवादी मिलेन भन्ने लिलन राईको आरोपित कसुरमा संलग्नता रहेको नदेखिएको र समान अवस्थाका प्रतिवादी नविनकुमार राईले सफाइ पाउने ठहर फैसला भएकोले निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०७१।१।२२ गतेको फैसला ।

झापा जिल्ला अदालतबाट प्रतिवादी रूकमाया राई र रामबहादुर गुरूङलाई ज्यानसम्बन्धी महलको १३(३) नं. को बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको फैसलाको साधक जाँचका लागि मिसिल उच्च अदालत विराटनगर, इलाम इजलाससमक्ष पठाएको देखिन्छ ।

मृतकको मृत्यु के कारणबाट भएको हो Post mortem Report बाट खुल्दैन । मृतकलाई प्रतिवादीहरूले मार्नुपर्नेसम्मको कुनै कारण मिसिल संलग्न कागजातबाट देखिएको छैन । मृतकको लास नजिक प्रतिवादी रूकमायाले लगाएको जस्तो रंगको चुराका टुक्राहरू थिए भनी कुनै एक जना मानिसले अनुसन्धानमा गरिदिएको कागज तथा फरार रहेकै आधारमा प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङलाई कसुर कायम गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी वादीलाई सूचना दिई पेस गर्नु भन्नेसमेतको उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७३।९।२१ को आदेश ।

मृतक हेमप्रसाद सिटौलाको मृत्यु के कसरी भएको भन्ने सम्बन्धमा सम्बन्धित चिकित्सकले मृत्युको कारण भन्न नसकेको, मृतकको शरीरमा मृत्यु हुन सक्ने चोटपटक नदेखिएको, जाहेरवाला इन्द्रमाया सिटौला तथा वस्तुस्थिति मुचुल्काका विमल सुब्बा र रामप्रसाद प्रसाईसमेतले मृतकलाई यी प्रतिवादी सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङले कर्तव्य गरी मारेको भनी भन्न नसकेको तथा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षबाट शंकारहित तवरले अभियोग दाबी प्रमाणित गर्न नसकेको अवस्थामा अदालतमा उपस्थित नभई फरार रहेका प्रतिवादीहरू रूकमाया राई र प्रतिवादी रामबहादुर गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको झापा जिल्ला अदालतको मिति २०७१।१।३० को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी रूकमाया राई र रामबहादुर गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७३।१२।२ को फैसला ।

प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसलामा चित्त बुझेन । मिति २०६५।९।१२ गते राति हेमप्रसाद सिटौलालाई प्रतिवादी रामबहादुर गुरूङले एक झापड हिर्काए भनी विष्णु सुब्बा र जिवनकुमार राईले मौकामा कागज गरेको, प्रतिवादी नविन राईले मृतकलाई प्रतिवादी रामबहादुर गुरूङले कुटपिट गरेको भनी पोल गरेको, घटनास्थल प्रकृति मुचुल्कामा मृतकको ओठ काटिएको र प्रतिवादी रूकमायाले लगाएको जस्तो रङ्गको चुराका टुक्राहरू लासनजिक रहेको भन्ने कौशिला राईको कागज रहेकोमा निज प्रतिवादीहरू आफ्नो निर्दोषिता साबित गर्नुपर्नेमा फरार रहेको तथ्यसमेतले कसुरदार देखिएको अवस्थामा निजहरूलाई सफाइ दिएको उच्च अदालतको फैसला मिलेको छैन । अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन । 

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुलीले घटनास्थलमा प्रतिवादी रूकमायाले लगाएको जस्तो रंगको चुराका टुक्राहरू देखिएको छ । वारदातमा सँगै रहेका छोरा प्रतिवादी नविन राई पक्राउमा परेकोमा निजको आमा रूकमाया फरार रहेको साथै प्रतिवादी रामबहादुरले मृतकलाई कुटपिट गरेको मौकाको कागजसमेतबाट देखिएको अवस्थामा निजसमेत फरार रहेकोले सजायबाट बच्न निजहरू फरार रहेको हुँदा उच्च अदालतबाट सफाइ दिने गरी भएको फैसला मिलेको छैन । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

विद्वान् उपन्यायाधिवक्ताको उल्लिखित बहस सुनी पुनरावेदनसहित मिसिल संलग्न कागजातहरू अध्ययन गरी निर्णयतर्फ विचार गर्दा उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

मिति २०६५।९।१२ गते राति मेरो श्रीमान्‌लाई कर्तव्य गरी मारेको हुँदा कारबाही गरिपाउँ भन्ने ईन्द्रमाया सिटौलाको जाहेरी परी अनुसन्धानको क्रममा सङ्कलित प्रमाणहरूको आधारमा प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई, रामबहादुर गुरूङ, नविन राई र विजय राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. को १३(३) नं. बमोजिम र प्रतिवादी मिलन भन्ने लिलन राईलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम सजाय हुन अभियोग दायर भएकोमा प्रतिवादीहरूमध्ये नविनकुमार राईले सफाइ पाउने, विजय राईको हकमा तामेलीमा र फरार प्रतिवादीहरू रूकमाया राई, रामबहादुर गुरूङ र मिलन भन्ने लिलन राइको हकमा मुल्तबीमा राख्ने गरी फैसला भएकोमा मुल्तबीमा रहेका प्रतिवादीहरूको हकमा मिति २०७०।१२।९ को आदेशले मुद्दा जागी कारबाही हुँदा प्रतिवादी मिलन भन्ने लिलन राईले सफाइ पाउने र प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङलाई सर्वस्वसहित जन्मकैद हुने गरी सुरू अदालतबाट भएको फैसलामा सर्वस्वसहित जन्मकैद हुने प्रतिवादीहरूको हकमा साधक जाँचको लागि पेस हुँदा उच्च अदालत विराटनगर, इलाम इजलासबाट प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङले सफाइ पाउने ठहर्‍यार्इ भएको फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखियो ।

ओठ पिल्सिएको, काटिएको जस्तो देखिएको अवस्थामा मृतक हेमप्रसाद सिटौलाको लास रहेको भन्ने लास जाँच मुचुल्का र मृतकको लास सद्‌गतका लागि जिम्मा पाउँ भन्ने मृतककी पत्नीको निवेदनसमेतको आधारमा हेमप्रसाद सिटौलाको मृत्यु भएको कुरामा विवाद देखिँदैन । 

२. आरोपित कसुरमा यी प्रतिवादीहरूलाई सजाय हुने हो वा होइन भन्ने सम्बन्धमा मिसिल संलग्न वारदात र सोसँग सम्बन्धित तथ्यहरू हेर्दा जाहेरवाली इन्द्रमाया सिटौलाले मिति २०६५।९।१३ मा कसुर गरेकोमा कसैउपर पोल नगरी सद्गतको लागि लास बुझ्न निवेदन दिएकोमा मिति २०६५।९।२१ गते प्रतिवादीहरू सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङसमेतको नाम उल्लेख गरी जाहेरी दिएको देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण उल्लेख नगरी The cause of death could be ascertained only after the biochemistry reports भन्ने उल्लेख भएको पाइन्छ । मृतकको भिषेरा परीक्षणमा The cause of death could not be ascertained भन्ने 

देखिन्छ । मौकामा कागज गर्ने कौशिला राईसमेतका व्यक्तिले पनि मृतकको मृत्यु के कसरी भयो थाहा छैनसमेत भनी मौकामा कागज गरेको र रामप्रसाद प्रसाई र विमल सुब्बाले पनि प्रतिवादीहरूले कुटपिट गरी निजको मृत्यु भएको देखिनँ भनी बकपत्र गरेको देखिन्छ । 

३. श्रीमान्‌लाई कुटपिट गरी हत्या गरेको भनी प्रतिवादीहरूको नाम उल्लेख गरी जाहेरी दिएकी जाहेरवाली इन्द्रमाया सिटौलाले प्रतिवादीहरूलाई चिन्दिन, मेरो श्रीमान्‌ रिक्सा चढेर गएका हुन् भन्ने सुनेको हुँ । अन्य कुनै कुरा मलाई थाहा छैनसमेत भनी बकपत्र गरेको पाइन्छ ।

४. प्रतिवादी रूकमाया राईले लगाएको जस्तो रंगका चुराका टुक्राहरू लासनजिक रहेको भन्ने कौशीला राईको र मृतकलाई रामबहादुर गुरूङले झापड हिर्काएको भन्ने विष्णु सुव्वा तथा जिवनकुमार राईको मौकाको कागज तथा मृतकलाई प्रतिवादी रामबहादुर गुरूङले कुटपिट गरेको भनी प्रतिवादी नविन राईले गरेको बयान साथै आफ्नो निर्दोषिता साबित गर्नुपर्नेमा फरार रहेकोसमेतको आधारमा यी प्रतिवादीहरू कसुरदार रहेको भन्नेसमेत पुनरावेदन जिकिर रहेको देखिन्छ । प्रतिवादीहरू हालसम्म पक्राउ नपरी फरार रहेको पाइन्छ । जाहेरवालीले वारदातको भोलिपल्ट मृतकको मृत्यु भएको थाहा पाई सुरूमा मृतकको काजक्रिया सद्‌गदका लागि लास जिम्मा लिन निवेदन दिएकोमा त्यसको केही दिनपछि मात्र प्रतिवादीहरूउपर जाहेरी दरखास्त दिएको 

देखिन्छ । जाहेरवालीलगायत मौकामा कागज गर्ने कसैले पनि वारदात भएको प्रत्यक्ष देखेको पाइँदैन । लासनजिक रहेको प्रतिवादी रूकमायाले लगाएको जस्तो रंगको चुराका टुक्राहरू निजकै हो भनी यकिनसाथ मौकामा कागज गर्ने कौशिला राईले भन्न सकेको पाइँदैन । साथै ती चुराका टुक्राहरू बरामद भएको पनि देखिँदैन । मृतक हेमप्रसाद सिटौलालाई रामबहादुर गुरूङले झापडले हिर्काएको भन्ने विष्णु सुब्बा र जिवनकुमार राईले मौकामा कागज गरेको देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा लासमा ओठ पिल्सिएको, काटिएको जस्तो देखिएकोसम्म उल्लेख भए तापनि मृत्युको कारण खुलेको पाइँदैन । साथै प्रतिवादीले मृतकलाई हिर्काएको स्थल र वारदातस्थल फरक रहेको 

पाइन्छ । मृतकलाई प्रतिवादी रामबहादुर गुरूङले कुटपिट गरेको भन्ने प्रतिवादी नविन राईले समेत पोल गरेको देखिन्छ । निजको पोल पनि अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेको देखिँदैन । प्रतिवादीहरूले नै मृतकलाई कर्तव्य गरी मारेको भन्ने प्रस्तुत मुद्दामा वारदात देख्ने चश्मदिद गवाह देखिँदैन । यसरी प्रमाणको अभावमा मृतक हेमप्रसाद सिटौलालाई यी प्रतिवादी सिक्किमे कान्छी भन्ने रूकमाया राई र रामबहादुर गुरूङले कर्तव्य गरी मारेको भन्न मिल्ने देखिएन । 

५. जहाँसम्म आफ्नो निर्दोषिता साबित गर्नुपर्नेमा प्रतिवादीहरू सुरू मौकादेखि फरार रहेको भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । विधायिकी कानूनले स्पष्ट व्यवस्था नगरेसम्म प्रमाणको भार प्रतिवादीमा सर्न सक्दैन । प्रतिवादीहरू फरार रहनुको अर्थ निजहरू विरूद्धको अभियोग स्वतः प्रमाणित हुने भन्ने पनि होइन । कुनै पनि कसुर प्रमाणको आधारमा स्थापित हुन नहुने न्यायिक मान्यता हो । प्रतिवादी फरार रहँदैमा प्रमाणको भार वादीबाट प्रतिवादीमा स्वतः सर्छ र कसुरदार नै हुन्छ भन्ने हुँदैन । प्रतिवादी फरार रहेकै आधारमा कसुरदार ठहर्‍याउने हो भने न्यायको मान्य सिद्धान्तसमेत पराजित हुन पुग्दछ ।

६. तसर्थ, सहअभियुक्त नविन राईको प्रतिवादी रामबहादुर गुरूङउपरको पोल र विष्णु सुब्बा, जिवनकुमार राई र कौशिला राइको मौकाको कागज स्वतन्त्र प्रमाणबाट पुष्टि हुन सकेको नदेखिएकोले प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद हुने सुरू अदालतको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसलालाई अन्यथा मान्न 

मिलेन । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

७. अतः माथि उल्लिखित आधार, कारणबाट यी प्रतिवादीहरूले मृतक हेमप्रसाद सिटौलालाई कर्तव्य गरी मारेको वस्तुनिष्ठ प्रमाणको अभावमा सुरू झापा जिल्ला अदालतको मिति २०७१।१।३० को फैसला उल्टी गरी प्रतिवादीहरू सिक्किमे भन्ने रूकमाया राई र रामबहादुर गुरूङलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७३।१२।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको लगत कट्टा गरी विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डम्बरबहादुर शाही

 

इजलास अधिकृतः मेघनाथ चापागाँई

इति संवत् २०७६ साल माघ १ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु