निर्णय नं. ११४३० - उत्प्रेषण / परमादेश
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
माननीय न्यायाधीश श्री कुमार रेग्मी
आदेश मिति : २०७७।११।२३
०७५-WO-०५१७
मुद्दा : उत्प्रेषण / परमादेश
निवेदक : काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपन, नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपाको तर्फबाट अधिकारप्राप्त तत्कालीन अध्यक्ष तथा हाल संयोजक रहेको राजनीतिक दल र आफ्नोसमेतको हकमा ऋषिराम कट्टेल
विरूद्ध
विपक्षी : काठमाडौं जिल्ला का.म.न.पा. कान्तिपथ स्थित निर्वाचन आयोगसमेत
कानूनले स्पष्ट रूपमा कुनै काम गर्न मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारबाहीलाई अनुमति प्रदान गर्न नमिल्ने । जुन काम कुरा कानूनले प्रत्यक्षरूपमा गर्न पाइँदैन भनेको छ सो कुरा अप्रत्यक्षरूपमा समेत गर्न नपाइने ।
(प्रकरण नं.३)
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम पहिले नै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू एकीकरण गरी नयाँ दल निर्माण हुँदासमेत सोही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनी ऐनमा व्यवस्था भएका प्रावधानहरूको उल्लङ्घन गर्ने गरी दल दर्ता गर्न मिल्ने नदेखिने । यसरी दफा १० बमोजिमको निर्णय गर्दा दफा ६ को उल्लङ्घन गर्न नमिल्ने ।
(प्रकरण नं.४)
निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दण्डपाणी पौडेल र श्री कुमारप्रसाद आचार्य
विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमराज पाण्डेय तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान एवं विद्वान् अधिवक्ताहरू श्री रमेश बडाल, श्री रूद्रप्रसाद नेपाल, श्री केदारप्रसाद कोईराला, श्री भक्तिराम घिमिरे र श्री राजाराम घिमिरे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
नेपालको संविधान
राजनीतिक दलसम्बन्धी ऐन, २०७३
आदेश
न्या.कुमार रेग्मी : नेपालको संविधान, २०७२ को धारा ४६ र धारा१३३(२),(३) तथा सर्वोच्च अदालत नियमावली २०४९बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :-
तथ्य खण्ड
म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी दलको विधान २०६९ बमोजिम नाम नेपाल कम्युनिष्ट पार्टी अङ्ग्रेजीमा Communist Party of Nepal,संक्षिप्त नेपालीमा नेकपा र अङ्ग्रजीमा CPN रहेको राजनीतिक दल निर्वाचन आयोगको मिति २०७०।०४।२२ को निर्णयअनुसार दर्ता भएको राजनीतिक दल हो । नेपालको संविधान, २०७२ को धारा २६९ को प्रयोजनको लागि नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाममा निर्वाचन आयोगमा मिति २०७४।०५।२२ को निर्णयअनुसार नेपालको संविधान, २०७२, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम विधिवत् दर्ता भएको राजनीतिक पार्टी हो । यसरी नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा दर्ता भइरहेको अवस्थामा निर्वाचन आयोगको मिति २०७५।२।२३ को निर्णयले नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता नं. ३२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दर्ता नं. ३७ बिच एकीकरण भई बनेको भनिएको राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगले क्रमसंख्या १४५ मा नयाँ दल दर्ता गरेको रहेछ ।
निर्वाचन आयोगको मिति २०७५।०२।२३ को निर्णय, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ मा दल दर्तासम्बन्धी व्यवस्था भएको र दफा ६(१) को व्यवस्थाअनुसार “दफा ५ मा जुनसुकै कुरा लेखेको भए पनि देहायको अवस्थामा दल दर्ता हुने छैन” भनिएको र दफा ६(१)(ङ) मा “दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता नहुने” भन्ने व्यवस्थाविपरीत निवेदक दलको नामसँग मूल नाम र संक्षिप्त नाम तथा कोष्ठभित्रको नामसमेत मिल्न गएकाले त्यसउपर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३, ४४ बमोजिम निर्वाचन आयोगमा उजुरीसरहको निवेदन दिई कारबाही हुँदा निवेदकको दाबी खारेज हुने भनी निर्वाचन आयोगबाट मिति २०७५।०७।०९ मा निर्णय भएको रहेछ ।
साबिकदेखि आयोगमा दर्ता कायम रहेको दलहरूमध्येबाट एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक दलहरू एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामबाट राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ को दफा १०अनुसार कानूनबमोजिम एकीकरण भई दर्ता हुन आएको देखिँदा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाममा एकीकरण कायम गरी दर्ता गर्ने गरेको मिति २०७५।०२।२३ को निर्णय राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम कानूनसम्मत् रहेको र निवेदकले दाबी गरेको नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अलग अलग नामका दल भएको हुँदा सोही ऐनको दफा ६ को उपदफा (१) को खण्ड (ङ) अनुसार आयोगमा दर्ता कायम रहेको नामसँग मिल्ने नदेखिएकाले निवेदकको निवेदन खारेज हुने ठहर्छ भन्ने निर्वाचन आयोगको मिति २०७५।०७।०९ गते निर्णय फैसला भएको रहेछ ।
मूल नाम नेपाल कम्युनिष्ट पार्टी र कोष्ठभित्र रहने नाम छुट्टै अलग्गै पार्टी हो भन्ने प्रस्टसँग खुल्ने हुनुपर्छ । मूल नाम, कोष्ठभित्रको नाम र छोटकरीमा एउटै नाम रहेको छ । यी दुवै मूल नाम र कोष्ठभित्रको नाम एउटै भएको र दुवै नाम निवेदक पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र संक्षिप्त नाम नेकपासँग मिलेकोले वदर गरिपाउँ भन्ने निवेदन माग भएकोमा त्यसतर्फ विचारै नगरी मिति २०७५।०२।२३ को निर्णय नेपालको संविधान २०७२ को धारा १७(२) (ग), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) विपरीत भएकाले बदरभागी रहेको प्रस्ट छ ।
मिति २०७५।०७।०९ को निर्वाचन आयोगको निर्णय फैसलामा उल्लेख भएका सातवटा दलहरूको मूल नाम एउटै भएको भन्ने उल्लेख भए पनि कोष्ठभित्रका छुट्टाछुट्टै दल हुन् भन्ने नाम र अर्थ खुल्ने पहिचान राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कोष्ठभित्रको अर्थ अलग अलग भन्ने देखिन्छ । जसबाट प्रत्येक दलका मूल नाम एउटै भए पनि अलग अलग दल हुन भन्ने पहिचान रहेको पाइन्छ तर विपक्षी दलको मूल नामको संक्षिप्त नाम नै कोष्ठभित्रको नाम रहेको छ । अर्थात् मूल नाम र कोष्ठभित्रको नाम एउटै छ । निवेदक पार्टी नेपाल कम्युनिष्ट पार्टी पूरा नाम र संक्षिप्त नाम नेकपा र विपक्षी पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सँग हुबहु मिल्न गएकोले निर्वाचन आयोगको निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) विपरीत भई गलत र दूषित मनसायले न्यायिक मनको प्रयोग नगरी गलत व्याख्या भएको प्रस्ट छ ।
दुईवटा छुट्टाछुट्टै नाम र पहिचान भएका दल आपसमा एकीकरण भएका दल, एक दल अर्को दलमा गाभिएको नभई नयाँ नाम राखिआएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा “दफा ४ बमोजिम दर्ता भएका दल दुइ वा दुईभन्दा बढी दलहरू एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने छ” भन्ने व्यवस्था छ । यसै दफा १० को उपदफा (३) मा “उपदफा २ बमोजिम निवेदनमा त्यस्ता दलहरूमध्ये कुनै दलका नाममा गाभिने वा नयाँ नाम एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने छ” भन्ने व्यवस्थाअनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) साबिक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) मा गाभिएको नभई दुवै दलका नाम दर्ता खारेज भई नयाँ नाममा एकीकरण भई दर्ता नम्बर १४५ कायम भएको छ । नेपालको संविधान, २०७२ को धारा १७ (२)(ग) बमोजिम राजनीतिक दल खोल्ने स्वतन्त्रता तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ मा दफा ४ बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने छ भन्नेसमेतको व्यवस्थाविपरीत निर्वाचन आयोगबाट निर्णय भएको छ ।
नेपालको संविधान, २०७२ को धारा २७० बमोजिम प्रत्यक्ष रूपमा राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउन नमिल्ने भएकाले विपक्षी निर्वाचन आयोग, विपक्षी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) साबिककै रूपमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टीलाई अप्रत्यक्षरूपमा प्रतिबन्ध लगाउने बदनियतपूर्वक कलुषित मनसायले मूल नाम पनि नेपाल कम्युनिष्ट पार्टी र कोष्ठभित्र पनि छोटकरीमा सोही नाम (ने क पा) राखेको छ । म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टीले नेपालको संविधानको धारा २६९(३) बमोजिम दल दर्ता गर्दा दलको विधान पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने भएकाले पेस गरेको छु । उक्त पेस गरिएको विधानमा आफ्नो पार्टीको नाम संक्षिप्तमा नेकपा भनिने छ भनी प्रस्ट उल्लेख भएको छ र सोहीअनुसार दल दर्ता भएको हुँदा निवेदक पार्टीको मूल नाम र संक्षिप्त दुवै नाम एकै राखी विपक्षी पार्टीले कोष्ठभित्र संक्षिप्त नाम राखेबाट अलग अलग दल हुन भन्ने नदेखिई फरक पहिचान कहीँकतैबाट देखिँदैन ।
यसरी मूल नाम र संक्षिप्त नाम र कोष्ठभित्र राखेको विपक्षीको छोटकरी नामको पूरा नामको उच्चारण गर्दा एउटै नाम देखिएको प्रस्ट छ । कुनै पनि नामको अर्थ र त्यसको उद्देश्यसमेत देखिने हुँदा पूर्ववत दर्ता रहेकै निवेदक दल र हाल आएर एकीकरण भएको दलको नाम एउटै देखिएको प्रस्ट छ । म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा र म आफ्नोसमेतका संवैधानिक एवं कानूनी हकको गम्भीर रूपमा हनन भएकाले विपक्षी निर्वाचन आयोगबाट विपक्षी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गरेको मिति २०७५।०२।२३ को निर्णय आदेशलाई सदर गर्ने गरेको आयोगको मिति २०७४।०७।०९ गतेको निर्णय फैसला नेपालको संविधान, २०७२ को धारा १७(१) र १७(२)(ग) धारा २७०, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४, ५, ६(१)(ङ), ९, १० विपरीत भएकोले निर्वाचन आयोगको २०७५।०७।०९ को निर्णय फैसला उत्प्रेषणको आदेशले बदर गरी परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल कम्युनिष्ट पार्टी र आफ्नो हकमा समेत ऋषिराम कट्टेलको तर्फबाट पर्न आएको रिट निवेदन पत्र ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षी निर्वाचन आयोगको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र अन्य विपक्षीको हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूको नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७५।०८।२४ मा भएको आदेश ।
२०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा दर्ता भएका ६० राजनीतिक दलमध्ये ८ दल, अर्को संविधानसभा सदस्य निर्वाचन २०७० मा दर्ता भएका १४३ दलमध्ये ७ दल मूल नाम नेपाल कम्युनिष्ट पार्टी उल्लेख गरी कोष्ठभित्र अन्य पहिचान खुलाई दर्ता भएका थिए । साथै नेपालको संविधानको धारा २६९ बमोजिम साबिकमा दलको रूपमा आयोगमा दर्ता भएका दललाई संविधानबमोजिम दर्ता हुनका लागि सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाबमोजिम दर्ता भएका दलमध्ये नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) गरी जम्मा ७ राजनीतिक दल साबिकदेखि मूल नाम नेपाल कम्युनिष्ट पार्टी उल्लेख गरी कोष्ठभित्र अन्य पहिचान खुलाई दल दर्ता भएको देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ प्रारम्भ भएपछि ऐ. ऐनको दफा ४ को उपदफा (२) मा ऐन प्रारम्भ हुँदाका बखत दर्ता कायम रहेका दल दर्ता हुनुपर्ने छैन र त्यस्तो दल यसै ऐनबमोजिम दर्ता भएको मानिने छ भन्ने कानूनी व्यवस्था रहेको छ । साबिकदेखि निर्वाचन आयोगमा दर्ता कायम रहेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका दलहरू नयाँ दर्ता भएका दल नभई निर्वाचन आयोगबाट संविधानको धारा २६९ को उपधारा (१), (२), (३), (४) र (५) बमोजिमका सर्त र कार्यविधिहरू तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिमका सबै प्रक्रियाहरू पूरा गरी दर्ता भएका राजनीतिक दलहरू हुन् । ऐनको दफा १० को उपदफा (१) मा दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरू एक आपसमा सम्झौता गरी एकीकरण हुन सक्ने व्यवस्थाअनुरूप यस आयोगबाट आवश्यक जाँचबुझ गरी यो ऐन र यस ऐनबमोजिमका कार्यविधि र सर्तहरू पूरा भएको देखिएकोले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता कायम गरी दलले माग गरेको चिह्न र झण्डा प्रदान गरिएको हो ।
नेपालको संविधानको धारा २६९ मा समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दलको गठन, दर्ता र सञ्चालन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । जहाँसम्म राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१) को खण्ड (ङ) बमोजिम दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्न मिल्ने भएमा आयोगमा दर्ता हुन नसक्ने भन्ने जिकिर लिएको सम्बन्धमा रिट निवेदकको राजनीतिक दलको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको । एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) हो । कोष्ठभित्र रहेको (ने क पा) छुट्टै पहिचान खुल्ने आधार हो । २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा र नेपालको संविधानको धारा २६९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दर्ता भई समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरू निरन्तर क्रियाशील रहेका र यी राजनीतिक दल एउटै नभई फरक फरक भएकाले आयोगले एकीकरण गर्ने गरी निर्णय गरेको हो । अत: उल्लिखित आधार कारणबाट रिट निवेदन खारेज भागी हुँदा खारेज गरिपाउन सादर अनुरोध गर्दछु भन्नेसमेत बेहोराको निर्वाचन आयोगको तर्फबाट ऐ.का नि.सचिव शंकरप्रसाद खरेलको यस अदालतमा पेस हुन आएको लिखित जवाफ ।
निर्वाचन आयोगमा दर्ता रहेको साबिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेत २ वटा दलहरू एकीकरण गरी हाम्रो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) हुने गरी निर्वाचन आयोगले प.सं.रा.द.३.२.३०२२ मिति २०७५।२।२३ मा दल दर्ता गरी हामीलाई जानकारी गराएबमोजिम यस राजनीतिक दल क्रियाशील रूपमा कार्यरत रही प्रतिनिधि सभामा बहुमत प्राप्त दलको रूपमा कार्यरत रही आएको छ । एकीकरण पूर्व पनि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेत २ वटा दलहरूको नाम कोष्ठमा उल्लेखबाहेक एउटै नाम रहे भएको अवस्थामा विपक्षीको राजनीतिक दलको नाम जेसुकै भए तापनि कोष्ठमा सहित हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । निर्वाचन आयोगमा हाम्रो दल एकीकरण हुनुभन्दा अगाडि कायम रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल कम्यूनिट पार्टी (मालेमा) साम्यवादी, नेपाल कम्युनिष्ट पार्टी (माले-समाजवादी) समेतका दलहरू निर्वाचन आयोगमा दर्ता रही हामी साबिक २ दलहरूबाहेक अन्य दलहरू क्रियाशील रहेको अवस्थामा हाम्रो दलको नाम कोष्ठमा अन्य कुनै दलको नभएकोले विपक्षीको राजनीतिक दलको नामभन्दा पृथक् र भिन्न रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । रिट निवेदक ऋषिराम कट्टेलको दल नेपाल कम्युनिष्ट पार्टी भएको र संक्षिप्तमा नेकपा भनी विपक्षीले रिट निवेदनमा उल्लेख गर्नुभएकोमा निजको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र रही कोष्ठमा केही पनि नरहे नभएकोबाट निजको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र भएको तर हामो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) हुने गरी दल दर्ता भएकोले यसरी दर्ता भएको दलका विरूद्धमा विपक्षी रिट निवेदकले निर्वाचन आयोगमा उजुरी गरी उक्त आयोगले दुवै पक्षको सुनुवाइ सम्पन्न गरी मिति २०७५।०७।०९ मा निर्णय फैसला टिप्पणी सदर गरी हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रूपमा रहेको भनी निर्णय फैसला गरी हामीलाई मिति २०७५।०२।२३ मा प्रदान गरेको दल दर्ता भएको पत्रलाई कायम गरेको अवस्था हुँदा प्रस्तुत रिट निवेदनको औचित्य छैन खारेज गरिपाऊँ ।
यस दलको अन्तरिम विधान, २०७५ को धारा २ मा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रहने छ भनिएको छ । संक्षिप्तमा नेकपा भनिने र अङ्ग्रेजीमा Nepal Communist Party (NCP) र संक्षिप्तमा NCP भनिने छ भनी स्पष्ट रूपमा उल्लेख भएको छ । विपक्षीले आफ्नो रिट निवेदनको प्रकरण १ मा उल्लेख गरेको निजको दलको नाम नेपाल कम्युनिष्ट पार्टी र अङ्ग्रेजीमा Communist Party of Nepal भनी उल्लेख गर्नुभएको छ । त्यसकारणले पनि निजको पार्टीको नाम र हाम्रो पार्टीको नाम मिल्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा नाम जुधेको वा नाम मिल्ने भनी भन्न मिल्दैन । नेपालको संविधानको धारा १७(२)(ग) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ दफा ६(१)(ङ) विपरीत भनी विपक्षीले भन्दैमा हुने होइन । हाम्रो दल हाल सरकारमा रहेको अवस्थामा त्यसको प्रभावले गैरकानूनी क्रियाकलाप बढेको भन्ने विपक्षीको प्रकरण ४(ङ) को जिकिर झुट्ठा हो । निवेदक राजनीतिक दलको अस्तित्व मेटाउने कार्य हामीबाट भएको छैन । हाम्रो र विपक्षीको जस्तै अन्य राजनीतिक दलहरू पनि रहेको कुरा हामीले प्रकरण २(ख) मा उल्लेख गरिसकेका छौं । यस्तो अवस्थामा रिट निवेदकको राजनीतिक दललाई अन्यथा भएको छ भन्न मिल्दैन । जहाँसम्म हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाम र कोष्ठमा एउटै भएको भन्ने प्रश्न छ, यसमा नाम र कोष्ठ एउटै भन्न मिल्दैन । नाम तीनवटा शब्दहरू रहेको तर कोष्ठमा तीनवटा अक्षर मात्र रहेको तथा यस्ता दलहरू निर्वाचन आयोगमा दर्ता नै रहिरहेको अवस्थामा अन्यथा अर्थ लगाई दायर भएको रिट निवेदन खारेजभागी छ । अतः उपर्युक्त आधार कारण प्रमाणहरूसमेतको आधारमा विपक्षीको रिट निवेदक खारेज गरिपाउँ भन्नेसमेत बेहोराको का.जि.का.म.न.पा.वडा नं. ४ धुम्बाराही र वडा नं. ३२ पेरिस डाँडा स्थित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को केन्द्रीय अध्यक्ष के.पी. शर्मा (ओली) र अध्यक्ष पुष्प कमल दाहालको यस अदालतमा पेस हुन आएको लिखित जवाफ ।
निर्वाचन आयोगमा दर्ता रहेको साबिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेत २ वटा दलहरू एकीकरण गरी हाम्रो राजनीतिक दल नेपाल कम्युनिष्ट पाटी (ने क पा) हुने गरी निर्वाचन आयोगले प.सं.रा.द.३.२.३०२२ मिति २०७५।२।२३ मा दल दर्ता गरी हामीलाई जानकारी गराएबमोजिम यस राजनीतिक दल क्रियाशील रूपमा कार्यरत रही प्रतिनिधि सभामा बहुमत प्राप्त दलको रूपमा कार्यरत रही आएको छ । एकीकरण पूर्व पनि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेत २ वटा दलहरूको नाम कोष्ठमा उल्लेख बाहेक एउटै नाम रहे भएको अवस्थामा विपक्षीको राजनीतिक दलको नाम जेसुकै भए तापनि कोष्ठमा सहित हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । रिट निवेदक ऋषिराम कट्टेलको दल नेपाल कम्युनिष्ट पार्टी भएको र संक्षिप्तमा नेकपा भनी विपक्षीले रिट निवेदनमा उल्लेख गर्नुभएकोमा निजको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रही कोष्ठमा केही पनि नरहे नभएको अवस्थामा निजको पार्टीको नाम नै नेपाल कम्युनिष्ट पार्टी मात्र भएको, हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) हुने गरी दल दर्ता भएकोले यसरी दर्ता भएको दलका विरूद्धमा विपक्षी रिट निवेदकले निर्वाचन आयोगमा उजुरी गरी उक्त आयोगले दुवै पक्षको सुनुवाइ सम्पन्न गरी मिति २०७५।०७।०९ मा निर्णय फैसला टिप्पणी सदर गरी हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रूपमा रहेको भनी निर्णय फैसला गरी हामीलाई मिति २०७५।०२।२३ मा प्रदान गरेको दल दर्ता भएको पत्रलाई कायम गरेको अवस्थामा प्रस्तुत रिट निवेदनको औचित्य छैन खारेज गरिपाऊँ ।
यस दलको अन्तरिम विधान, २०७५ को धारा २ मा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रहने छ भनिएको छ । संक्षिप्तमा नेकपा भनिने र अङ्ग्रेजीमा Nepal Communist Party (NCP) र संक्षिप्तमा NCP भनिने छ भनी स्पष्ट रूपमा उल्लेख भएको छ । विपक्षीले आफ्नो रिट निवेदनको प्रकरण १ मा उल्लेख गरेको निजको दलको नाम नेपाल कम्युनिष्ट पार्टी र अङ्ग्रेजीमा Communist Party of Nepal भनी उल्लेख गर्नुभएको छ । त्यसकारणले पनि निजको पार्टीको नाम र हाम्रो पार्टीको नाम मिल्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा नाम जुधेको वा नाम मिल्ने भनी भन्न मिल्दैन । नेपालको संविधानको धारा १७(२)(ग) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ दफा ६(१)(ङ) विपरीत भएको भनी विपक्षीले भन्दैमा हुने होइन । निवेदक राजनीतिक दलको अस्तित्व मेटाउने कार्य हामीबाट भएको छैन । हाम्रो र विपक्षीको जस्तै अन्य राजनीतिक दलहरू पनि रहेको कुरा हामीले प्रकरण २(ख) मा उल्लेख गरिसकेका छौं । यस्तो अवस्थामा रिट निवेदकको राजनीतिक दललाई अन्यथा भएको छ भन्न मिल्दैन । जहाँसम्म हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पाटी (ने क पा) नाम र कोष्ठमा एउटै भएको भन्ने प्रश्न छ यसमा नाम र कोष्ठ एउटै भन्न मिल्दैन । नाम तीनवटा शब्दहरू रहेको तर कोष्ठमा तीनवटा अक्षर मात्र रहेको तथा यस्ता दलहरू निर्वाचन आयोगमा दर्ता नै रहिरहेको अवस्थामा अन्यथा अर्थ लगाई दायर भएको रिट निवेदन खारेजभागी छ । अतः उपर्युक्त आधार कारण प्रमाणहरूसमेतको आधारमा विपक्षीको रिट निवेदक खारेज गरिपाउँ भन्नेसमेत बेहोराको का.जि.का.म.न.पा.वडा नं. ४ धुम्बाराही र वडा नं. ३२ पेरिस डाँडा स्थित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को अख्तियार प्राप्त व्यक्ति ऐ.का केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठको तर्फबाट यस अदालतमा पेस हुन आएको लिखित जवाफ ।
यसमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गरेउपर निवेदकले दिएको उजुरीलाई खारेज गर्ने गरी निर्वाचन आयोग कान्तिपथ काठमाडौबाट मिति २०७५।०७।०९ को फाइल झिकाउने भन्ने यस अदालतको मिति २०७६।०३।१६ को आदेशअनुसार मिसिल प्राप्त भएको रहेछ ।
अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुनआएको प्रस्तुत मिसिल अध्ययन गरी निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री दण्डपाणी पौडेल र श्री कुमारप्रसाद आचार्यले तथा निर्वाचन आयोगको तर्फबाट उपस्थित विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमराज पाण्डेय, विपक्षी दलको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान, विद्वान् अधिवक्ताहरू श्री रमेश बडाल, श्री रूद्रप्रसाद नेपाल, श्री केदारप्रसाद कोइराला, श्री भक्तिराम घिमिरे र श्री राजाराम घिमिरेसमेतले आ-आफ्नो पक्षको तर्फबाट गर्नुभएको बहससमेत सुनियो ।
निवेदकतर्फका विद्वान् अधिवक्ताहरूले आफ्नो पक्षको रिट निवेदन मागदाबीलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी दलको विधानबमोजिम नाम नेपाल कम्युनिष्ट पार्टी अङ्ग्रेजीमा “Communist Party of Nepal” संक्षिप्त नाम नेकपा र अङ्ग्रेजीमा “CPN” रहि निर्वाचन आयोगको निर्णयअनुसार विधिवत् दर्ता भएकोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नयाँ दल दर्ता हुँदा “दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता नहुने” राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) को कानूनी प्रावधान हुँदाहुँदै त्यसतर्फ विचारै नगरी हामीले दिएको उजुरी दाबी नपुग्ने भनी निर्वाचन आयोगबाट निर्णय फैसला भएकोले सो निर्णय फैसला उत्प्रेषणको आदेशले बदर गरी परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी होस् भनी बहस प्रस्तुत गर्नुभयो भने विपक्षी दलको तर्फबाट बहसमा उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले दल दर्ता हुँदा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रहने भनिएको र संक्षिप्तमा नेकपा भनिने अनि अङ्ग्रेजीमा “Nepal Communist Party (NCP)” र संक्षिप्तमा “NCP” भनिने भनी स्पष्ट उल्लेख भएको अवस्थाले पार्टीको नाम मिल्ने देखिँदैन । त्यसैले नाम जुधेको वा मिलेको भन्न नमिल्नुको साथै हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाम र कोष्ठ रहेकोले एउटै भन्न मिल्दैन । त्यसैले हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको दलको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रूपमा रहेकोले रिट निवेदनको औचित्य नै नहुँदा खारेज गरिपाउँ भन्ने तथा निर्वाचन आयोगको तर्फबाट बहसमा उपस्थित विद्वान् नायब महान्यायाधिवक्ताले कोष्ठभित्र रहेको (ने क पा) छुट्टै पहिचान खुल्ने आधार भएको र राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध भई निर्वाचनमा भाग लिई क्रियाशील रहेको पार्टी हुँदा आयोगबाट एकीकरण गर्ने निर्णय भएकोले रिट निवेदन खारेजभागी हुँदा खारेज होस् भनी आ-आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
आ-आफ्नो पक्षको तर्फबाट विद्वान्हरूले प्रस्तुत गर्नुभएको उल्लिखित बहस जिकिरसमेत सुनी मिसिल कागजातसमेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा निवेदकले माग गरे जस्तो निवेदक दलको नामसँग मिल्ने गरी आयोगमा पछि अर्को दल दर्ता भएको छ छैन, निर्वाचन आयोगबाट दल दर्ता गर्ने गरिएको निर्णय कानूनी प्रावधानअनुसार भएको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा प्रस्तुत मिसिलबाट निर्णयमा पुग्नुपर्ने देखिन आएको छ ।
अब, दल दर्ता सम्बन्धमा भएको संवैधानिक र कानूनी व्यवस्थालाई हेर्ने हो भने नेपालको संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था गरी धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धमा व्यवस्था गर्दै समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नको लागि त्यसको प्रचार प्रसार गर्न गराउन वा सो प्रयोजनको लागि अन्य आवश्यक काम गर्न सक्ने छन् भन्ने व्यवस्था गरिएको पाइन्छ । सो धारामा प्रयुक्त धारा १७ को उपधारा (२) को खण्ड (ग) लाई हेर्दा राजनीतिक दल खोल्ने स्वतन्त्रताको व्यवस्था भएको पाइन्छ । धारा २६९ को उपधारा ३ मा दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेस गर्दा सम्बन्धित राजनीतिक दलको विधान र घोषणा पत्र लगायतका कागजात पेस गर्नुपर्ने छ भनिएबाट राजनीतिक दलको विधानलाई दल दर्ताको अनिवार्य कागजातको रूपमा संविधानमा नै व्यवस्था भएको देखिन्छ । उक्त व्यवस्थाअनुसार राजनीतिक दल खोल्ने स्वतन्त्रताअन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी अधिकारको उपयोग र उपभोग गर्न पाउने संवैधानिक व्यवस्था भएको पाइन्छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६ मा दल दर्ता हुन नसक्ने अवस्थाबारे उल्लेख गरिएको छ । जसअन्तर्गत दफा ६(१)(ङ) मा “दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा” कुनै राजनीतिक दल दर्ता हुन नसक्ने स्पष्ट कानूनी व्यवस्था गरेको पाइन्छ ।
प्रस्तुत मिसिलबाट देखिएको विवादको मूल विषय भनेको मूल नाम पनि नेपाल कम्युनिष्ट पार्टी र कोष्ठभित्र पनि छोटकरीमा सोही नाम नेकपा राखिनुले पार्टीको मूल नाम र संक्षिप्त नाम एकै राखेकोबाट अलग दल हो भन्नलाई फरक पहिचान केहि देखिँदैन भन्ने नै रहेको र हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाम र कोष्ठमा एउटै भन्न मिल्दैन नाम जुधेको वा मिल्ने भनी भन्न नमिल्ने हुँदा राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१)(ङ)विपरीतसमेत छैन भन्ने विपक्षीको लिखित जवाफ रहेको सन्दर्भमा हेर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा दलहरू एकीकरण हुन वा गाभिन सक्ने सम्बन्धमा व्यवस्था भई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ८ मा दल एकीकरण हुने वा गाभिनेसम्बन्धी व्यवस्थाको बारेमा नियम ९ मा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुन नहुने भन्ने व्यवस्था गरिएको र नियम ९ कै उपनियम १ मा ऐन तथा यस नियमावलीबमोजिम दल दर्ता गर्दा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुने छैन भनि र उपनियम (२) मा दल दर्ताको लागि निवेदन दिने दुई वा सोभन्दा बढी दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित दलसँग परामर्श गरी सम्भव भएसम्म त्यस्ता दलहरूको सहमतीबमोजिम छुट्टाछुट्टै रूपमा पहिचान हुने गरी दल दर्ता गर्ने छ भन्ने व्यवस्था गर्दै उपनियम (३) मा उपनियम (२) बमोजिम परामर्श गर्दा सम्बन्धित दलहरूबिच सहमती नभएमा आयोगले त्यस्ता दलहरूको छुट्टाछुट्टै पहिचान हुने गरी दल दर्ता गर्ने छ भन्ने व्यवस्था रहेको पाइन्छ ।
२. प्रस्तुत विवादको सम्दर्भमा हेर्दा, साबिकमा निर्वाचन आयोगमा दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बिच दल एकीकरण गर्ने सम्बन्धमा दुवै दलका केन्द्रीय समितिबाट छुट्टाछुट्टै निर्णय भई संयुक्त रूपमा समेत मिति २०७५।०२।०३ मा निर्णय भई नेपाल कम्युनिष्ट पार्टी नामबाट दल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन परेको देखिन्छ । छलफलको क्रममा उक्त नाम अस्वीकार भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता कायम गरी दलले मागेको चिह्न र झण्डा प्रदान गर्ने भनी विपक्षीमध्येको निर्वाचन आयोगबाट मिति २०७५।०२।२३ मा निर्णय भएको भन्ने देखिएको छ । निवेदकले माग गरेको विषयतर्फ हेर्दा मूल नाम नेपाल कम्युनिस्ट पार्टी र कोष्ठभित्र छोटकरीमा ने क पा राखिनुले अलग नाम नभई पार्टीको नाम एउटै भयो भनी गरिएको उजुरीउपर कारबाही गरी मिति २०७५।०७।०९ मा निर्णय गर्दा विपक्षीमध्येको निर्वाचन आयोगबाट विपक्षी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गरेकोलाई सदर गर्ने गरेको देखिएको छ ।
३. यसरी नेपाल कम्युनिष्ठ पार्टी (ने क पा) संक्षिप्तमा नेकपा र नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा एउटै नाम हो वा होइन भन्ने प्रश्नका सन्दर्भमा हेर्दा, जहाँसम्म कोष्ठभित्र लेखिएको कुरा त केही फरक छ नि भन्ने भनाइ हो सो सम्बन्धमा विचार गर्दा सामान्यतयाः प्रयुक्त भएको अक्षरको उच्चारण र अभिव्यक्त भएपश्चात त्यसबाट बुझिने अर्थमा कुनै भिन्नता महसुस हुन्छ हुँदैन त्यो नै महत्त्वपूर्ण कुरा हुने भएकोले त्यसतर्फ हेर्दा भिन्नता नदेखिई मिल्दोजुल्दो देखिन आएकोले त्यसले सारभूत भिन्नता राख्नेसमेत देखिँदैन । अर्कोतर्फ स्वयम् विपक्षीको तर्फबाट पेस भई मिसिल समावेश भएको पार्टीको अन्तरिम विधानको बाहिरी मुख पृष्ठ र भित्र पार्टीको नाम उल्लेख भएकोमा समेत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उल्लेख भएको देखिएबाट दुई पार्टीको नाम फरक परेको भन्ने नदेखिई एकआपसमा एउटै मिले भिडेको भन्ने नै देखिन्छ । कानूनले स्पष्ट रूपमा कुनै काम गर्ने मिल्दैन भनि प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारबाहीलाई अनुमति प्रदान गर्न मिल्दैन । जुन काम कुरा कानूनले प्रत्यक्षरूपमा गर्न पाइँदैन भनेको छ सो कुरा अप्रत्यक्षरूपमा समेत गर्न पाइँदैन ।
४. विपक्षीहरूले दर्ता गराएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा मिति २०७५।०२।२३ मा नयाँ दलको रूपमा दर्ता गरेको भनी उल्लेख भएको र उही नाममा एउटा पार्टी सुरूमा मिति २०७०।०४।२२ मा र पछि मिति २०७४।०५।२२ मा नै दर्ता भइरहेकोमा निर्वाचन आयोगबाट पहिले दर्ता भइसकेको पार्टीको नामसँग मिल्ने गरी विपक्षीहरूको मागबमोजिम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) संक्षिप्तमा नेकपा दर्ता गर्ने गरी मिति २०७५।०२।२३ मा भएको निर्णयलाई सदर गर्ने गरी गरेको विपक्षीमध्येको निर्वाचन आयोगको मिति २०७५।०७।०९ को निर्णय फैसला माथि उल्लेख भई विवेचना भएको आधार एवम् कारण तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) को प्रत्यक्ष उल्लङ्घन गरी भएको समेतबाट कानूनअनुरूप भएको भनि मान्न मिल्ने देखिन आएन । सोको थप पुस्ट्याईं मिसिल संलग्न निर्वाचन आयोगमा पछिल्लो दर्ता भएको पार्टीको अन्तरिम विधानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामकरण गरी उल्लेख भएको बेहोरासमेतबाट प्रस्ट भएको देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम पहिले नै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू एकीकरण गरी नयाँ दल निर्माण हुँदासमेत सोही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनी ऐनमा व्यवस्था भएका प्रावधानहरूको उल्लङ्घन गर्ने गरी दल दर्ता गर्न मिल्ने देखिँदैन । यसरी दफा १० बमोजिमको निर्णय गर्दा दफा ६ को उल्लङ्घन गर्न मिल्दैन ।
५. तसर्थ, माथि उल्लेख भई विवेचना भएको कानूनी आधार कारणसमेतबाट नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५।०२।२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५।०७।०९ को निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्थाविपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ । निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानूनबमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ । आदेशको प्रतिलिपि साथै राखी सोको जानकारी विपक्षीहरूलाई दिनु र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृतः- मनिता गुरूङ
इति संवत् २०७७ साल फाल्गुण २३ गते रोज १ शुभम् ।