निर्णय नं. ११४३४ - कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना
फैसला मिति : २०८१।०४।१६
०७८-CR-०१४८
मुद्दाः- कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर
०७८-CR-०१४८
पुनरावेदक / प्रतिवादी : प्रेमबहादुर मल्लकी छोरी धर्मराज शाहीको पत्नी मुगु जिल्ला सोरू गाउँपालिका वडा नं. ८ गिल्लाह स्थायी घर भएकी विष्णुमाया मल्ल शाही
विरूद्ध
प्रत्यर्थी / वादी : धर्मराज शाहीको जाहेरीले नेपाल सरकार
०७८-CR-०६४६
पुनरावेदक / वादी : धर्मराज शाहीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला मुगु सोरू गाउँपालिका वडा नं. ८ गिल्लाह घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ५ बस्ने प्रेमबहादुर मल्लकी छोरी धर्मराज शाहीकी श्रीमती विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाहीसमेत
प्रतिवादीले निजी रक्षाको जिकिर लिन्छ भने उक्त वारदातमा रहने मुख्य चार तत्त्वहरूमा प्रतिवादीउपर तत्काल खतरा (immediate threat), प्रतिवादी माथि नै हानि हुन सक्ने डर उत्पन्न हुने पर्याप्त कारण (reasonable fear of harm), प्रतिवादीले आफ्नो जिउ धनको रक्षाको निम्ति अनुपातिक प्रतिक्रिया (proportional response) लिएको हुनुपर्ने र आफ्नो जिउ धनको सुरक्षाको लागि अन्य विधि उपलब्ध नभएको अवस्था (no other recourse) हुनुपर्ने ।
(प्रकरण नं. ५)
गर्भावस्थामा रहेको व्यक्तिको गर्भाशय सबैभन्दा संवेदनशील अंग रहने भएकाले सो गर्भाशयमा पटकपटक प्रहार गर्नुलाई सामान्य कुटपिट वा हात हालाहालको अवस्था रहेको मान्न नमिल्ने । गर्भाशयमा परेको पीडा असह्य भई खाटमा लडेकी मृतकलाई प्रतिवादीले श्वास नगइन्जेल सलले घाँटी कसेको देखिएबाट प्रतिवादीले अनुपातिक प्रतिशोध (proportionate retaliation) लिएको मान्न नमिल्ने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री भीम ढकाल तथा विद्वान् अधिवक्ताद्वय श्री बल्लभ बस्नेत र श्री उज्जवल घिमिरे
अवलम्बित नजिर :
ने.का.प.२०७९, अङ्क ५, नि.नं.१०८७१
ने.का.प.२०७९, अङ्क ९, नि.नं.१०९३१
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
सुरू तहको फैसला गर्ने :
माननीय न्यायाधीश श्री ऋषिराम आचार्य
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहको फैसला गर्ने :
माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम
माननीय न्यायाधीश श्री नरिश्वर भण्डारी
फैसला
न्या.टेकप्रसाद ढुङ्गाना : उच्च अदालत पाटनको मिति २०७७।१०।२६ को फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादी विष्णुमाया मल्ल शाही दुवैको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा (१) बमोजिम यस अदालत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
मुद्दाको संक्षिप्त तथ्य
काठमाडौं जिल्ला, टोखा नागरपालिका, वडा नं.८ स्थित तारानाथ अर्यालको घरको माथिल्लो तल्लाको अजिता मल्ल भाडामा लिई बस्ने गरेको उत्तरतर्फको उक्त कोठाको ढोका खुल्ला अवस्थामा रही उत्तर कुनामा रहेको बक्स पलङ्गमा मुख अनुहारको भाग देखाई लासलाई सिरकले छोपेको, सो सिरक हटाइ हेर्दा मृतक लासको घाँटीनिर ५ फिट लम्बाइ, २ फिट चौडाइको कलेजी रङ्गको सल र सिरानीनिर विस्तारामा रातो पहेँलो रङ्गको गेडी भएको माला चुँडिएको अवस्थामा रहेको, पलङ्गदेखि १ फिट दक्षिणमा चुराको रातो रङ्गको टुक्रा थान २ रहेको, सोदेखि ३ फिट पश्चिममा औषधी रहेको, सोही पलङ्गनजिक नाकको फुलीको पेच रहेको मृतकको वाया हातको नाडी र हात माथिको बिच भागमा सानो घाउ चोट रहेको तल्लो ओठमा घाउ रहेको, घाँटीको दायाँ साइडमा ६ इन्च लामो १ से.मी. चौडाइको निलडाम रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।
घटनास्थलबाट उठाइएको कलेजी रङ्गको सल थान १, पहेँलो सुनको जस्तो गेडी भएको चुँडिएको माला थान १, रातो रङ्गको चुराको टुक्राहरू, नाकको फुलीको जस्तो पेच, बरामदी मुचुल्कासाथ बरामद भएका Addidas लेखेको बाहिरबाट परपल र भित्रबाट कालो रङ्गको ज्याकेट थान १, निलोमा सेतो रातो बुट्टा भएको भेष्ट थान १, कालो रङ्गको सुरूवाल थान १, कालोमा सेतो मोती लागेको सल थान १समेत बरामदी मुचुल्का ।
प्रतिवादीमध्येकी विष्णुमाया मल्ल शाही मेरी जेठी श्रीमती, प्रतिवादीमध्येकी भगवती मल्ल मेरी जेठी श्रीमतीको दिदी, गान्दिप मल्ल जेठी श्रीमतीकै दाजुको छोरा भदै र निज भदैकै केटी साथी रिता के.सी.समेतका प्रतिवादीहरू मेरी कान्छी पत्नी बसेको डेरामा प्रवेश गरी निस्की गएको समेत काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.८ मिलन टोल स्थित तारानाथ अर्यालको छिमेकीको घरमा जडान गरी राखेको सि.सि. क्यामेराको फुटेजमा देखिएको र मिति २०७५।०९।०१ गते अ.१७:०० बजेको समयमा घरधनीले मेरी कान्छी पत्नी अजिता मल्ल खाटमा सुतिरहेको देखी बोलाउँदा नबोलेपछि हारगुहार गरी छिमेकीसमेतलाई बोलाई मेरो भाइ प्रशान्त कुमार शाहीसमेतलाई खबर गरी निज तत्काल आई हेर्दा घाँटी मुखसमेतमा चोट घाउ देखी प्रहरीलाई खबर गरी प्रहरीसमेतको उपस्थिति भएको हो । जेठी श्रीमतीले मेरी कान्छी श्रीमतीसँग रिसइवी साँध्नका लागि योजना बनाई आफ्ना आफन्त अन्य प्रतिवादीहरूसमेत मिली ज्यान मार्ने उद्देश्य राखी डेरामा प्रवेश गरी निज प्रतिवादीहरूले मेरी कान्छी श्रीमती ७ महिनाकी गर्भवती अजिता मल्ललाई कर्तव्य गरी मारी निस्केको र निस्किनुभन्दा अगाडि मेरो कान्छी श्रीमतीको मोबाइलसमेत खोसी लगेको र खाटमा अजिता मल्ललाई आफैँ सुतेजस्तो गरी सुताई सिरक ओडाई डेराबाट निस्की गएको कुरा निज प्रतिवादीमध्येकी विष्णुमाया मल्ल शाहीले स्वीकार गरेकी हुँदा निजहरूलाई दण्ड सजाय गरिपाउँ भन्नेसमेत बेहोराको धर्मराज शाहीको जाहेरी दरखास्त ।
मेरो जाहेरवाला श्रीमान् र मृतक अजिता मल्लबिच अनैतिक सम्बन्ध भएको भन्ने मृतकको भाइ र आमाबाट थाहा जानकारी पाएको थिएँ । मेरो श्रीमान् निज अजिताको कोठामा गएको मेरो दिदीले प्रमाणसमेत भेटाएपछि त्यहीँबाट जिल्ला प्रहरी कार्यालय मुगुमा छलफल हुँदा मसमेत गएको थिएँ । त्यहाँ छलफलमा उनीहरूले पैसा लेनदेनको कारोबार भएकोले म निज अजिताको कोठामा गएको हुँ अरू हामीहरूबिच नाजायज सम्बन्ध केही छैन, साली भिनाको नाताले बोलचाल हुन्छ भनेपछि मैले नचाहँदा नचाहँदै पनि केही प्रमाण नभएकोले मैले मिलापत्र गरेको थिएँ । वारदात मितिमा मेरो दिदी भगवती मल्ल, भदा गान्दिपराज मल्ल र निजको केटी साथी रिता के.सी. लाई कोठा सर्नुपर्ने, कोठा खोज्न जानु छ टाइम भए तिमीहरू पनि आउ भनी बोलाई अजिता मल्ल बस्ने ठाउँतिर गयौँ । एकजना मानिसलाई कोठा खाली छ भनी सोद्धा अलि अगाडि गल्लीको छेउको घरमा कोठा खाली छ भनी देखाएको थियो । सो घरतर्फ जाँदा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ८ मिलन टोल स्थित तारानाथ अर्यालको घरको छतमा अजितालाई देखेँ । सोही घरमा अगाडि गान्दिप र रितालाई जाउ भनी घरबेटीको छोरीसँग तल्लो फ्ल्याटको कोठामा गए भने म र दिदी भगवती पनि गेटभित्र रहेकोमा म सिधै छतमा गएँ । निज अजिता मल्ल पनि लुगा उठाई निजको कोठामा छिर्ने बित्तिकै म पनि सोही निजकै कोठामा छिरेँ । निजले मलाई नचिह्नी को हो, किन आएको भनी सोधेपछि मैले माक्स खोल्दै मलाई चिनिनस् भनेँ । त्यसपछि निज अजिता मल्ल रिसाएर खाटबाट उठेर मेरो कोठामा किन आइस् कस्ले तेरो पोइले कोठा देखायो भन्दा मैले हो देखाएको हो भनेपछि हामीबिच भनाभन भयो । सोही क्रममा निजले मेरो कठाला समाउन आएपछि मैले झगडा नगर, चुप लागेर कुरा गरौं नत्र ठुलो पर्छ भन्दै निजको हात तानेर फालेँ । मैले तेरो मोबाइल देखा सबै थाहा पाइसकेँ तेरै मोबाइलमा प्रमाण छ रे मेरो श्रीमान् सधैँ भन्नुहुन्छ त्यहीँ प्रमाण लिएर चौकी जान्छु, त्यहीँ कुरा गरौंला, त्यहीँ तेरो मोबाइल लिन आउनु भन्दै थिएँ । सोही समयमा रिता के.सी. मलाई खोज्दै आइन्, किन यो कोठा पस्नुभयो फुपू यो को केटी हो भनी मलाई भन्दा निज रितालाई तिमी कुरा बुझ्दैनौ मलाई यसको मोबाइल मात्र चाहिएको छ भनेपछि रिताले मोबाइल देखेर लिएर मोबाइल त यहाँ छ भनेर देखाएपछि मैले निजलाई त्यो मोबाइल लिएर जाउ भनेँ । रिता मोबाइल लिएर गई, रिताले मोबाइल लिएर गएपछि निज अजिता मल्ल रिसाएर मेरो मोबाइल किन लिएर गइस् भन्दै निज रिताको पछि जान खोज्दा मैले निज अजितालाई समातेँ अनि ढोकाको चुकुल लगाएँ । अनि झ्याल पनि लगाउन खोज्दा निज अजिता मल्लले मेरो पछाडिबाट कपडा तान्दै तैंलै गर्न खोजेको के हो भन्दै गर्दा मैले पनि निजको कठालो समातेँ । मोबाइलबाट प्रमाण निकाल्छु अनि तँलाई र मेरो श्रीमान्लाई जेल हाल्छु अनि थाहा पाउँछेस् भनेकोमा निजले मेरो मुखमा थुक्दै हेर्दै जाउँ तेरो हिम्मत थाहा छ, मलाई अहिलेसम्म केही गर्न त सकेनस्, तँ जस्ता चार जनासम्मलाई ढालिदिन्छु थाहा छ होला नि मेरो तागत तँलाई र अब धर्मलाई यो सब कुरा थाहा भयो भने बाँचुला भन्ने आस नगर् । तेरो लास हुन्छ सिधै र तेरा बच्चा बच्चीको बिचल्ली भएर अनाथालयमा पुग्छन् । यसको नतिजा चाँडै थाहा हुन्छ भनेपछि मलाई नि रिस उठ्यो र हामी दुईबिच हानहान भयो । मैले एक मुक्का हानी निजको ओठमा घाउ बनाइदिएँ भने निजले मलाई टाउकोले हानी नाकमा चोट पुर्याइन् । त्यसपछि निजले मेरो घाँटीको सल जोरले कसी मलाई गाह्रो भयो उसले नछोडेपछि मैले नि उसको घाँटीमा भएको सल समाएर कस्न खोज्दा निजले मेरो औंला जोडले रगत आउन्जेल टोकिदिई । त्यसपछि मैले खुट्टाले निजको कोखामा हान्दा निजले टोकेको औंला छुड्यो तर अझै केहीबेरसम्म दुवैले दुवैको घाँटीको सल कसाकस भएपछि मलाई सास फेर्न गाह्रो भई मैले पुनः निजको पेटमा हान्दा निज बेडमा ढल्यो । निजको सल दुई फेरा घाँटीमा घुमेकोले मैले बेस्सरी कस्दा निजले मेरो घाँटीमा भएको सल बिस्तारै छोड्दै गई निजको हात छुटेपछि मैले नि निजको सल छोडेँ । त्यतिबेलासम्म निज बेहोस भइसकेकी थिइन् । त्यसपछि मैले निजको घाँटी कसेको सल खोलेर फालेँ । अनि मैले निजलाई सिरकले ओडाई म ढोकामा पुग्दासम्म उसले लामो सास लिँदै थियो । मैले ढोकाको भित्रको लगाएको चुकुल खोली ढोका तानेर बाहिर निस्की ढोका बन्द गरी बाहिर निस्किएको हुँ । त्यसपछि हामीहरू ट्याक्सीमा बसेर बसुन्धारा आयौं । त्यसपछि मैले रिता के.सी.सँग निज अजिता मल्लको मोबाइल मागी त्यहीँ बसुन्धारा झरी उनीहरूलाई जाउँ भने दिदीले चाहिँ कसको मोबाइल हो कताबाट ल्याएको भनी सोध्दै थियो मैले चाहिँ पछि कुरा गरौँला भन्दै हिँडे र अर्को ट्याक्सी चढेर आफ्नो कोठातर्फ आएँ भन्नेसमेत बेहोराको प्रतिवादी विष्णुमाया मल्ल शाहीले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइदिएको बयान ।
वारदात मितिमा बहिनी विष्णुमायाले मसमेतलाई कोठा खोज्न जाऔँ भनी टोखा स्थित ग्राण्डी अस्पतालको अगाडिको गल्लीतर्फ लगेकी थिइन् । सोही क्रममा बिजुलीको पोलमा फ्लाट भाडामा भन्ने लेखी टाँसेको देखी, दिएको मोबाइलमा फोन गरी उक्त घरतर्फ गयौँ । सो घरतर्फ अगाडि गान्दिप र रिता गई निज घरबेटीको छोरीसँग कुरा गर्न लाग्यो भने बहिनी विष्णुमाया मल्ल शाही पहिले नै उक्त घरको छतमा गइसकेको रहेछ, मैले निज बिहिनी बस्ने कोठामा बस्ने भएपछि छतमा लुगा सुकाउने ठाउँ छ छैन भनी हेर्न गएको होला भन्ने सोची बिस्तारै सिँढीहरू हेर्दै म माथि छततर्फ जाँदा मेरो मोबाइलमा फोन आई सो छतको छेउमा गएर मोबाइलमा कुरा गर्दै थिएँ । त्यसपछि मैले पछाडि फर्केर हेर्दा रिता के.सी. सिँढीबाट झर्दै थियो भने बहिनी पनि रितासँगै गएको छ कि भनी हेर्दै, निजलाई देखिनँ । सो छतमा रहेको उत्तरतर्फको कोठाबाट बहिनी विष्णुमाया मल्ल शाहीले गालीको शब्द बोल्दै कसैलाई गाली गर्दै कोठाको बाहिर आउँदै गरेको थियो । मैले के हो के भयो कान्छी भनी सोध्दा निजले तपाइँंलाई केही थाहा छैन हिँड्नु भनेपछि हामी दुवै जना तल ओर्लिई निजले रिता र गान्दिपलाई तिमीहरू अगाडि गएर ट्याक्सी रोक भनेपछि निजहरू ट्याक्सी लिई म र बहिनीसमेत ट्याक्सीमा बसेपछि बहिनी विष्णुमाया मल्ल शाहीले रिता के.सी.सँग मोबाइल देउ भनी मोबाइल माग्यो । रिताले बहिनीलाई मोबाइल दियो, अनि मैले कसको मोबाइल भनी सोद्धा बहिनीले तपाइँंहरूलाई थाहा छैन पछि भनौंला भनेकी थिइन् । सोपश्चात् हामी सबै आ-आफ्नो घर गएका हौँ । प्रहरी कार्यालयमा बहिनीसँग भेट भई हामीलाई किन बोलाएको भन्ने सम्बन्धमा निजलाई सोध्दा निज बहिनीले हिजो हामी गएको घरमा अजिता मल्लसँग मेरो झगडा पर्दा निज मरेको भनी भनेपछि मात्र मलाई उक्त वारदात घटनाको बारेमा थाहा जानकारी भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी भगवती मल्लले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइदिएको बयान ।
प्रतिवादी फुपू विष्णुमाया मल्ल शाहीले मिति २०७५।०९।०१ गते बिहान फोन गरी मेरोमा आउनुस् भन्नुभएको र त्यहाँ हाम्रो कामको विज्ञापनको पोष्टरसमेत टाँस्नुपर्ने भएकाले म र मेरा साथी रिता के.सी. फुपू विष्णुमाया मल्ल शाहीको कोठामा जाँदै गर्दा बसुन्धारामा साहिँली फुपू भगवती मल्लसमेत भेट भएपछि हामी तीनै जना विष्णुमाया मल्ल शाहीको कोठामा निज फुपू कोठामा हुनुहुन्थेन अनि हामी २।३ मिनेट कोठाबाहिर कुर्दा भगवती फुपूकोमा फोनमा कान्छी फुपू विष्णुमाया मल्ल शाहीको फोन आयो । फोनमा निज कान्छी फुपूले कोठाको तल साँचो लिन आउ भनेको मैले सुन्नासाथ म तल गएँ । निज फुपू एउटा मोटरसाइकलमा आउनुभएको रहेछ अनि मलाई कोठाको साँचो दिनुभयो मैले कता जान लाग्नु भयो भनी मैले सोद्धा फुपूले म त्यो केटीका कोठा हेरेर आउँछु भनी जानुभयो अनि म माथि कोठामा गएँ, खाना खाई बसिरहेको थिएँ । त्यसपछि विष्णुमाया फुपूले सबैलाई तल बोलाई ग्राण्डीतिर काम छ भनी मलाई जाउँ भनी लग्नुभयो हामी सबै सँगै गयौं । सो समयमा हामी चार जना सँगै एक अन्जान व्यक्ति केटा विष्णुमाया फुपूसँग हिँड्दै थियो । हामी ग्राण्डी हस्पिटलको गेटको दायाँ साइडको गल्ली हुँदै गयौं र गल्लीको बिच बाटोमा विष्णुमाया फुपूले मलाई एकछिन बस्दै गर भनी एकजना अन्जान केटासहित चारैजना अगाडि गए भने म त्यहाँ एक्लै बस्दै गरेँ । त्यसपछि केही समयपछि फुपू भगवती, विष्णुमाया र रिता के.सी. फर्की आए । हामीहरूले चिया पिई फुपूले मलाई टोपी किनिदिई हामी चारै जना पहिला फुपूहरू गएको बाटोतर्फ गयौं । विष्णुमाया फुपूले म र रितालाई तिमी दुईजना गई रितालाई थाहा भएको घरमा गई कोठाको बारेमा सबै सोधेर आउनु भन्नुभएपछि म र रिता के.सी. गयौं र सो घरमा पुग्दा गेटको साँचो बन्द भएकाले हामी फर्किँदै गर्दा बाटोमा दुई जना केटी भेटिएकोमा एकजना केटीले हजुरहरू कोठा हेर्न आउनुभएको होइन र ? भनी सोध्नुभयो र हामी कोठा हेर्न गयौं । घरबेटीको छोरीसँग कोठा हेर्न गई म र घरबेटीको छोरी भान्छा कोठा हेर्दै थियौं रिता अर्को कोठा हेर्दै थिइन् । एकछिनपछि रिताले भयो अब जाऔँ भने पछि हामी त्यो घरबाट निस्कियौं । निस्केर गेटदेखि बाहिर जाँदै गर्दा मैले अगाडि दुवै जना फुपू आत्तिएर जाँदै गरेको देखेँ र म पनि फुपूसम्म पुग्दा विष्णुमाया फुपूले चाँडै अगाडि गएर ट्याक्सी रोकेर राख भन्नुभयो अनि म दौडिँदै गएर ट्याक्सी रोकेँ अनि सबै जना ट्याक्सीमा चढी ट्याक्सीमा जाँदै गर्दा म अगाडि बसेको थिएँ भने दुई फुपू र रिता पछाडि बसेर विष्णु फुपू सानो स्वरले बोल्दै हुनुहुन्थ्यो, मैले केही नसुनेपछि मैले फुपू के भयो? भनी सोद्धा फुपूले केही होइन भनी टार्नुभयो । केही समयपछि बसुन्धारा पुगेपछि विष्णुमाया फुपू ट्याक्सीबाट झर्नुभयो र तिमीहरू पनि जाउ भनेकाले हामीहरू सोही ट्याक्सीमा चढी आ-आफ्नो घर गयौँ । मसमेतलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको बारेमा सबै कुरा थाहा भएको हो भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गान्दिपराज मल्लले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइ दिएको बयान कागज ।
मिति २०७५।०८।२९ गते विष्णुमाया मल्ल शाहीले मलाई अत्यन्त जरूरी काम छ, भोलि बिहानको खाना खाने गरी मेरो कोठामा आउ भनेपछि म र गान्दिपराज मल्ल निज विष्णुमाया मल्लको कोठामा जाँदै बाटोमा भगवती मल्लसमेत भेट भई हामी ३ जना विष्णुमायाको कोठामा पुग्दा निज कोठामा थिइनन्, फोन गर्दा म बाहिर छु तिमीहरू खाना खाँदै गर भनेपछि हामीले खाना बनाई खायौं । त्यस लगत्तै निज विष्णुमाया मल्ल शाही आई कोठा खोज्न जाउँ भनेपछि त्यहाँबाट पैदल नै निज विष्णुमाया मल्ल शाहीको पछाडि हिँडी गएका थियौं । तारानाथ अर्यालको घरमा पुगेपछि निज विष्णुमाया मल्ल शाहीले मलाई कोठा छ कि सोधेर आउ भनेपछि म उक्त घरमा जाँदा घरको छतमा रहेका ३ जना महिलालाई यहाँ कोठा खाली छ भनी सोध्दा निजहरूमध्ये घरबेटीको ठुली छोरीले हो खाली छ तल हिँड्नु भनेपछि म र निज घरबेटीको ठुली छोरी तल आई निजले देखाएको कोठा हेरेँ । त्यसपछि मैले निजलाई म दिदीहरूलाई बोलाई ल्याउँछु भनेपछि निजले छिटो आउनु है म ट्युसन जानुछ, म नभए नि मेरी बहिनी हुन्छ भनेपछि म बाहिर आएँ । मैले निज विष्णुमाया मल्ल शाहीलाई यहाँ कोठा खाली छ तर निज घरबेटी छोरी ट्युसन जाने बेला भयो रे हेर्न जाऔं भन्दा निज विष्णुमाया मल्ल शाहीले पहिला चिया खाएर आऔं भनेपछि हामी चारै चिया खान गयौं । त्यसै समयमा मैले मेरो एक्टिङ स्कुलको ओपनिङ्गको विज्ञापन पोष्टर टाँसे । त्यसपछि विष्णुमाया मल्ल शाहीले धुलो र जाडो लाग्छ टोपी किनिदिन्छु भनेकाले हामी चारै जना नजिकको कपडा पसलमा गई गान्दिपको लागि टोपी, आफूलाई माक्स र उनीको पन्जा, मलाई माक्स किनिदिनु भयो । टोपी माक्स लगाएर हामी सिधै सोही घरमा गएकोमा म र गान्दिप अगाडि गयौँ भने निजहरू चाहीँ पछाडि पछाडि आउँदै थिए । त्यसपछि हामी ढोकामा पुग्दा गेटमा ताल्चा लगाएकाले फर्किँदै गर्दा पछाडिबाट २ जना घरबेटीको कान्छी छोरी र हाल नामथर थाहा भएको अजिता मल्ल आउँदै हुनुहुन्थ्यो । घरबेटीको कान्छी छोरीले मलाई अघि कोठा खोज्दै आउनुभएको तपाइँं नै होइन भनी भनेपछि मैले अँ हो भनेपछि निजले मलाई घरमा आउनु भनी बोलाएपछि म र गान्दिप गयौं । अनि म र गान्दिप निजसँगै कोठामा छिरी केही कुरा गर्दै थियौं । सोही समयमा विष्णुमाया मल्ल शाही र भगवती मल्ल सो घरको माथिल्लो तल्लामा गएको देखेकी हुँ । त्यसपछि म पनि सो कोठाबाट निस्की सोही घरको माथिल्लो तल्लामा गएँ । माथि पुग्दा भगवती मल्ल चाहिँ फोन चलाएर यताउता गर्दै थिई भने विष्णुमाया मल्ल शाही चाँहि सो घरको माथिल्लो तल्लाको छतको कोठामा छिर्दै थिइन् । त्यस लगत्तै भगवती मल्ल पनि सोही कोठामा छिर्नुभयो । मलाई पनि भगवती मल्लले आइज आइज भनी कोठाभित्र बोलाइन् र म पनि सो कोठा छिरेँ । त्यसबेलामा विष्णुमाया मल्ल शाहीले अजिता मल्लको मोबाइल खोसाखोस गर्न थालेपछि भगवती मल्लले पनि विष्णुमाया मल्ल शाहीको साथ दिई मोबाइल खोसाखोस गरी खोसेपछि विष्णुमाया मल्ल शाहीले मलाई तँ मोबाइल लिएर गइहाल् म तँलाई पछि भन्छु निस्किहाल भन्नुभयो । त्यसपछि बाहिर जान लाग्दा सो ढोका भित्रबाट लक भएकोले कोठा अँध्यारो भएकाले छामेर ढोकाको लक खोली त्यहाँबाट निस्केर गएको थिएँ । म निस्केर तल घरबेटीको कान्छी छोरी र गान्दिप कुरा गर्दै गरेको कोठामा गई गान्दिपलाई सुटुक्क उता लगेँ अनि माथि झगडा होला जस्तो यहाँबाट हिँड् यहाँबाट भागौं भन्दा पनि गान्दिप गफ गर्दै थियो । एकछिनमा ढोकामा आवाज आई हेर्दा निज विष्णुमाया मल्ल शाही र भगवती मल्ल सो घरबाट छिटोछिटो बाहिर निस्केका देखेँ । त्यसपछि हामी दुवै जना निज घरबेटीको छोरीलाई हामी पछि आउँछौ भनेर निस्क्यौं । हामी घर बाहिर गएर रोडमा पुगेमा विष्णुमाया मल्ल शाहीलाई भेटेपछि उहाँले तिमीहरू छिटो छिटो अगाडि गएर ट्याक्सी रोक भन्नुभयो । अगाडि गएर गान्दिपले ट्याक्सी रोक्यो अनि सबै जना ट्याक्सीभित्र छिरेपछि मसँग निज अजिता मल्लको मोबाइल माग्नुभयो । अनि त्यसपछि के भएको भन्नु भनी भन्दा निज विष्णुमाया मल्ल शाहीले म तिमीहरूलाई पछि भेटेर भन्छु अहिले चुप लागेर बस घर जाउ भन्नुभयो । अनि ट्याक्सीबाट निज विष्णुमाया मल्ल शाही बसुन्धारामा ओर्लनुभयो भने बानेश्वरमा हामी तीन जनै झर्यौं । त्यसपछि गान्दिप र म पेप्सीकोला मेरो कोठामा गयौं भन्नेसमेत बेहोराको प्रतिवादी रिता के.सी.ले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइदिएको बयान ।
Cause of Death: LIGATURE STRAGULATION तथा Right femur of fetus has been collected भन्नेसमेत बेहोराको घाउजाँच केस फाराम ।
प्रतिवादी विष्णुमाया मल्ल शाहीको कोठाबाट कालोमा सेतो मोती लागेको सल थान १ बरामद भएको भन्नेसमेत बेहोराको खान तलासी बरामदी मुचुल्का ।
घटनास्थलबाट प्रहरीले दशीको रूपमा उठाई ल्याएको सामान मेरो कान्छी श्रीमती अजिता मल्लकै हो । घटनास्थल तथा लास जाँच मुचुल्का हुँदा घटनास्थलमा फेला पारी बरामद भई आएको चिजवस्तु वा बरामद गरेको दसी हो भनी सनाखत गरिदिएको छु भन्नेसमेत बेहोराको जाहेरवाला धर्मराज शाहीले गरिदिएको दसी सनाखत कागज ।
वारदात मिति २०७५।०९।०१ गते प्रतिवादीहरू विष्णुमाया मल्ल शाही गान्दिपराज मल्ल, भगवती मल्ल र रिता के.सी.ले वारदात घटाउन लागि रेकी गरी मृतक अजिता मल्लको गतिविधिलाई निग्रानीमा राखी ओहर दोहर गर्दै घटनास्थलतर्फ गएको र घटनास्थलमा गई अजिता मल्ललाई योजनावद्ध रूपमा कर्तव्य गरी मारी घटना घटाई घटनास्थलबाट भाग्दै गरेको स्पष्ट देखिएको सि.सि.टि.भी भिडियो फुटेज पेस गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
जाहेरवाला धर्मराज शाही मेरो आफ्नै सहोदर माइला दाजु हुन् भने मृतक अजिता मल्ल हाल आएर थाहा पाउँदा दाजु धर्मराज शाहीको कान्छी श्रीमती भई भाउजू नाता पर्छ भने प्रतिवादीहरूमध्ये विष्णुमाया मल्ल शाही जाहेरवाला धर्मराज शाहीको जेठी श्रीमती भई मेरो भाउजू नाता पर्छ । मिति २०७५।०९।०१ गते अ.१७:०० बजेको समयमा म लोकसेवा आयोगको क्लासमा थिएँ । त्यहाँबाट क्लास सकाएर म र दिपराज शाही घरमा पुग्दा प्रतिवादी विष्णुमाया मल्ल शाही कोठामै हुनुहुन्थ्यो । ऐ. अन्दाजी २०:५४ बजेतिर जाहेरवाला मेरो दाजु धर्मराज शाहीले मलाई मुगुबाट फोन गरी निज अजिता मल्ल बेडमा बेहोस तालमा सुतिरहेको छ रे, निज गर्भवती पनि छिन्, घरबेटीले आफ्नो मान्छे नआएसम्म म कहीँ लग्दिन, पहिला आफ्नो नजिकको मान्छे तुरून्त घरमा पठाउनुहोस् भनेको हुनाले तुरून्त गएर अस्पताल लगेर जाउ भन्नुभयो । मैले अजिता मल्ल गर्भवती छ रे उसलाई चक्कर लागेर गाह्रो भयो भने भोलि दाजुलाई टेन्सन हुन्छ, म निजलाई अस्पताल लिएर जान्छु पैसा छैन, पैसा दिनुस् भनी भाउजू विष्णुमायालाई भनी निजले मलाई रू.१०,०००।– दिएकाले सो पैसा लिई गएँ । त्यसपछि म र मेरो भाइ नाताको दिपराज शाही फोनबाट दाइले दिएको अजिता मल्लको डेराको लोकेसनमा गयौँ । सो घरमा अन्दाजी २१:१५ बजेको समयमा पुग्दा घरबेटी बाहिरै हाम्रै प्रतीक्षामा बसेको थियो । निज घरबेटीसँग हामी अजिता मल्लको कोठामा पुग्दा ढोका खुल्लै थियो भने निज घरबेटी र भाइ दिपराज शाही चाहिँ ढोका बाहिर बस्यो म भित्र गएँ । भित्र निज अजिता मल्ल सिरकले छोपी सुतेको जस्तो अवस्थामा देखेँ अनि मुखको ओठमा चोट देखेपछि मलाई अर्कै शङ्का लागी मैले नाकको छेउमा दुईटा औंला लगी श्वास चेक गर्दा श्वास फेरेको कुनै प्रतिक्रिया नभएपछि सो कुरा घरबेटीलाई भनेँ । कतिबेलादेखि यसरी सुत्नुभएको हो भनी सोधेँ । निजले खोई बाबु मलाई थाहा भएन भन्नुभयो । त्यसपछि सिधै १०० मा फोन गरी प्रहरीलाई जानकारी गराएको थिएँ भन्नेसमेत बेहोराको बुझिएका मानिस प्रशान्त कुमार शाहीले गरिदिएको घटना विवरण कागज ।
घटनाको वारदात मितिको सि.सि.टि.भी. भिडियो फुटेज हेर्दा अजिता मल्ल बस्ने गरेको कोठा नजिकको बाटो गएर प्रतिवादीहरू ओहर दोहर गरी हेर्ने पछि निज चारै जना प्रतिवादीहरू विष्णुमाया मल्ल शाही कालो कपडा मफलरले मुख छोपेको अवस्थामा रहेको तथा भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.समेत भागी गएबाट निजहरू चारै जना प्रतिवादीहरूको मिलेमतो संलग्नतामा निज अजिता मल्लको कोठामा गई निज गर्भवती रहेका अजिता मल्ललाई कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूलाई प्रचलित कानूनबमोजिम कारबाही गरी हुँदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका मानिस ईश्वर थापाले गरिदिएको घटना विवरण कागज ।
मिति २०७५।०९।०१ गते अ. १७:०० बजेको समयमा म लोकसेवा आयोगको क्लासमा दाइ पर्ने प्रशान्त कुमार शाहीसँग थिएँ । त्यहाँबाट हामी दाइको कोठामा चिया खान गएको थिए । सोपश्चात् दाइले खाना पकाउँदै गर्दा धर्मराज शाहीले मुगुबाट निज प्रशान्त कुमार शाहीलाई रुँदै फोन गरेको मैले थाहा पाएको थिएँ । त्यसपछि निज प्रशान्त कुमार शाहीले प्रतिवादी भाउजू नाता पर्ने विष्ष्णुमाया मल्ल शाहीसँग रकम मागी ल्याई अजिता मल्ल बिरामी छ अस्पताल लैजान जाउँ भनेपछि निजकै मोटरसाइकलमा हामी दुवै गएका हौँ । हामीलाई निज अजिता मल्लको कोठाको लोकेसन धर्मराज शाही दाइले दिई अन्दाजी २१:१५ बजेको समयमा मसमेत सो घरमा पुग्दा घरबेटी बाहिरै हाम्रै प्रतीक्षामा बसेको थियो । निज घरबेटीले हामीलाई अजिता मल्लको कोठामा लग्नुभयो । घरबेटी र म चाहिँ ढोका बाहिर बसेँ भने निज प्रशान्त कुमार शाही कोठामा जानुभयो । एक पछि कोठाबाट बाहिर निस्केर निज अजिता मल्लको सास नै चलेको छैन भनेपछि हामी सबैले प्रहरीमा खबर गरौं भनेपछि निज प्रशान्त कुमार शाहीले नै फोन गरी प्रहरीलाई जानकारी गराउनु भएको हो भन्नेसमेत बेहोराको बुझिएका मानिस दिपराज शाहीले गरिदिएको घटना विवरण कागज ।
मिति २०७५।०९।०१ गते अन्दाजी १२:३० देखि १३:०० बजेको समयमा म हाम्रो घरको छतमा म मेरी दिदी र मेरो कोठामा बस्ने अजिता मल्ल तीनै जना सुन्तला खाँदै गर्दा हाल नामथर थाहा भएका थुनामा रहेका प्रतिवादी रिता के.सी. आई कोठा खाली छ भनेपछि मेरी दिदीले ग्राउन्ड फ्लोरमा कोठा खाली छ भनेपछि निजले हामी चार जना दिदीबहिनीहरू बस्ने हो । दिदीहरू लिएर कोठा हेर्न फेरि आउँछु भनी निस्केर जानुभयो । एकछिनपछि मेरी दिदी ट्युसन पढ्न र म र अजिता मल्ल ब्युटी पार्लर जाने भनी सँगै घरमा ताला लगाएर निस्केका थियौं । त्यसपछि अन्दाजी १५:३० देखि १६:०० बजेको समयमा म र अजिता मल्ल घरमा आउँदा हाल नामथर थाहा भएका प्रतिवादी गान्दिपराज मल्ल र निज रिता के.सी. हाम्रो घरको गेटदेखि फर्कंदै गरेकोमा बाटोको मोड भेट भएकोमा मैले निज रिता के.सी.लाई अघि कोठा हेर्न आएकोले चिनी तपाइँं कोठा हेर्न आउनुभएको होइन भनी सोद्धा हो भनी अनि मैले घरको गेटको साँचो खोली भित्र जाँदा म, अजिता मल्ल, रिता के.सी र गान्दिपराज मल्ल चारै जना गेटबाट घरमा गएकोमा अजिता मल्ल सरासर माथि आफ्नो कोठामा जानुभयो भने मैले निज रिता के.सी. र गान्दिपराज मल्ललाई कोठा देखाउँदै गर्दा निज रिता के.सी. चाहिँ घरिघरि फोन गरी दिदीहरू पनि आउँदै हुनुहुन्छ भनी भन्दै हुनुहुन्थ्यो र निज कहिले कोठाभित्र कहिले कोठा बाहिर गर्दै थिइन् भने गान्दिपराज मल्लले कोठा बारेमा डिटेल्स सोध्दै हुनुहुन्थ्यो । सो समयमा निज रिता के.सी. के-कहाँ थिए मलाई याद भएन कोठाको भाडालगायतको सम्बन्धमा मैले बाबालाई फोन लगाई गान्दिपराज मल्ललाई फोन दिई कुरा गर्न लगाएको थिएँ । त्यसपछि रिता के.सी.घरि बाहिर घरि भित्र गर्दै गरेको निज कतिखेर बाहिर गयो कतिखेर भित्र आइन् पत्तै भएन अनि निजहरूले दिदीहरू अहिले आउनु भएन भोलि बिहान आउँछौं भनी निजहरू निस्केर गएका थिए । निज गान्दिपराज मल्ल र म कोठा बारेमा अन्दाजी १५ मिनेटजति कुरा गरेका हुँदा अन्य मानिसहरू घरमा आए नआएको पत्तै भएन अनि म एकछिन पढे अनि आफ्नै कोठा सुतेँ । बेलुका अन्दाजी २०:०० बजे बाबा आउनु भएपछि अजिता मल्ललाई बोलाउनु नानी भनेपछि निजको कोठा बाहिर गएर अजिता दिदी भनेर बोलाउँदा नबोलेपछि चिच्याएर ४/५ बोलाउँदा पनि नबोलेपछि मैले बाबालाई निज दिदी त बोल्नु भएन भनी म तरकारी पकाउन लागेँ त्यसपछि हाम्रो घरमा निजको आफन्त तथा प्रहरी आउनु भएपछि मात्र सो घटनाको बारेमा मलाई जानकारी भएको हो भन्नेसमेत बेहोराको समिक्षा अर्यालले गरिदिएको घटना विवरण कागज ।
मिति २०७५।०९।०१ गते बिहान अन्दाजी ०९:३० देखि म सामाखुसी स्थित अफिस थिएँ । सोही दिन अन्दाजी १६:०० बजेको समयमा कान्छी छोरी समिक्षा अर्यालले घरमा कोठा खोज्ने मान्छे आउनुभएको छ कुरा गर्नु भनी निज छोरीले निजकै मोबाइल नम्बरबाट फोन गरेपछि तिमीले किन आफ्नो मोबाइलबाट फोन गरेको राख म कल ब्याक गर्छु भनी मैले फोन गर्दा हाल नामथर थाहा भएको प्रतिवादी केटा गान्दिपराज मल्लले कुरा गरी कोठा मन पर्यो भनेपछि मैले तपाइँंहरू कति जना बस्ने अहिले कहाँ बस्नुहुन्छ भनेपछि निजले हामी तीन चार जना बस्छौँ अहिले हामी बानेश्वर बस्छौँ । तपाइँंहरू के काम गर्नु हुन्छ भनेपछि निजले हामीहरू यतै प्राइभेट सेक्टरमा काम गर्छौं भनेपछि म आज आउन भ्याउन्न भोलि बिहान ०९:३० मा अफिस जानुपर्छ तपाइँंहरू भोलि बिहानै आउनु होला त्यहीँ बेला कुरा गरौला भनी फोन राखिदिएको हो । त्यसपछि म बेलुका अ. १९:१५ अफिसबाट घर पुगी पूजा गरिसकी बस्दा बेलुका १९:५८ बजेको समयमा जाहेरवाला धर्मराज शाहीले निजको मोबाइल नम्बर ९८४८०६११३७ बाट मेरो मोबाइल नम्बर ९८५१०८२०५६ मा फोन गरी म मुगुमा छु, यहाँ मोबाइल टावर आउँदैन, टावर आएको ठाउँमा आएर फोन गर्दा मेरी श्रीमती अजिता मल्लको एक डेढ घण्टा अगाडिदेखि मोबाइल स्विच अफ छ, घरमा बत्ती छैन कि के हो भनी सोधेकोमा मैले किन बत्ती नहुनी, बत्ती छ भनेपछि फोन काटियो । फेरि निजले फोन गरी निज अजिताको मोबाइल स्विच छ नानीहरू छ भने बोलाउन पठाउनु न भनेपछि कान्छी छोरी समिक्षालाई बोलाउन पठाएकोमा निज छोरी निज अजितालाई ४।५ पटक बोलाउँदा पनि निज दिदी बोलिनन् भनी तल आइन् त्यसपछि निज अजिता मल्लकोमा हामीहरूको आउने जाने नभएकोले सोही समयमा निज अजिता मल्लको कोठाको लागि पसलेले पिउने पानी लिई आउनुभयो त्यसपछि निजसँगै म निज अजिता मल्लको कोठा बाहिर गएँ निज पानी पसलेले दिदी, दिदी भनेर चिच्याएर बोलाउँदा पनि नबोलेपछि निज पसलेले हाण्डिल तानी ढोका खोलेकोमा मैले ढोका नजिकै स्विच छ बत्ति बाल्नु भनेपछि बत्ती बाली बोलाउँदा पनि नबोलेपछि निज बाहिर आएको लगत्तै निज धर्मराज शाहीको फोन आएपछि निज अजिता मल्लको बारेमा सोधेपछि मैले निज अजिता मल्ललाई बोलाउन छोरी पठाएकोमा पनि बोलिनन् र पानी पसलको पसले आएर बोलाउँदा पनि बोलेनन् भनी भनेपछि निजले अस्पताल लगी दिनुहोस् भनेपछि तपाइँंको आफन्त पठाइदिनु अनि म अस्पताल लान सहयोग गर्छु भनेपछि निजले निजको आफन्त भाइहरू २ जना पठाइदिनु भयो अनि निजहरू कोठामा जानु भई चिच्याएर बोलाउँदा पनि निज अजिता नबोलेपछि निजहरूले प्रहरी बोलाउनु भएको हो भन्नेसमेत बेहोराको तारानाथ अर्यालले गरिदिएको घटना विवरण कागज ।
जाहेरवाला धर्मराज शाही मेरो भिनाजु नाता पर्छ भने मृतक अजिता मल्ल मेरी जेठी दिदी हुन् मिति २०७५।०९।०१ गते अ.१७:०० बजेको समयमा म आफ्नै डेराकोठामा थिएँ । मिति २०७५।०९।०२ गते दिउँसोको समयमा मेरी दिदी अजिता मल्ललाई निज बसेको काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.८ मिलन टोल स्थित तारानाथ अर्यालको घरको माथिल्लो छतको डेराकोठामा प्रतिवादीहरू विष्णुमाया मल्ल शाहीसमेतले मारेको हुँदा हाल पोष्टमार्टमको लागि दिदीको लास शिक्षण अस्पताल महराजगन्जको फोरेन्सिक विभागमा राखेको छ भन्ने कुरा आफन्तले फोन गरी बताएपछि मसमेत तत्काल अस्पताल गई दिदी अजिता मल्लको लास हेर्दा ओठमा चोट तथा घाँटीमा निलडामसमेत देखेको हुँ भन्नेसमेत बेहोराको विशेष कुमार मल्लले गरिदिएको कागज ।
जाहेरवाला धर्मराज शाही मेरो भिनाजु नाता पर्छ भने मृतक अजिता मल्ल मेरो ठुलो बुबाको जेठी छोरी भएको दिदी नाता पर्छ । मिति २०७५।०९।०२ गते दिउँसोको समयमा दिदी अजिता मल्ललाई प्रतिवादीहरू विष्णुमाया मल्ल शाहीसमेतले मारेको हुँदा हाल पोष्टमार्टमको लागि दिदीको लास शिक्षण अस्पताल महाराजगन्जको फोरेन्सिक विभागमा राखेको छ भन्ने कुरा आफन्तले फोन गरी बताएपछि मसमेत तत्काल अस्पताल गई दिदी अजिता मल्लको लास हेर्दा ओठमा चोट तथा घाँटीमा निलडामसमेत देखेको हुँ । धर्मराज शाहीकी जेठी श्रीमती विष्णुमाया मल्ल शाहीले मेरी दिदी अजिता मल्ल निजको सौताको रूपमा बसेको थाहा पाई रिसइवी साँध्नका लागि योजनावद्ध रूपमा आफ्ना आफन्त तथा अन्य प्रतिवादीहरूसमेतसँग मिली मार्ने उद्देश्य राखी डेरामा प्रवेश गरी दिदी अजिता मल्ललाई कर्तव्य गरी मारेका हुन् । घटनाको वारदात मितिको सि.सि.टि.भी. भिडियो फुटेज हेर्दा निज दिदी बसेको घरको नजिकको बाटोमा प्रतिवादीहरू ओहर दोहर गरी हेर्ने पछि निज चारै जना प्रतिवादीहरू विष्णुमाया मल्ल शाही कालो कपडा मफलरले मुख छोपेको अवस्थामा रहेको तथा भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.समेत भागी गएबाट निजहरू चारै जना प्रतिवादीहरूको मिलेमतो संलग्नता रहेको देखिँदा निज प्रतिवादीहरूलाई प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरी हदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको धरेन्द्र मल्लले गरिदिएको कागज ।
मिति २०७५।०९।०१ गते अ.१७:०० बजेको समयमा म आफ्नै डेरा कोठामा थिएँ । मिति २०७५।०९।०२ गते दिउँसोको समयमा साथी धरेन्द्र मल्लले घटनाको बारेमा जानकारी गराई पछि मसमेत तत्काल अस्पताल गई निज साथी दिदी हाल नामथर थाहा भएका अजिता मल्लको लास हेर्दा ओठमा चोट तथा घाँटीमा निलडामसमेत देखेको हुँ भन्नेसमेत बेहोराको तिलक देवकोटाले गरिदिएको कागज ।
मिति २०७५।०९।०१ गते दाइ दिपराज शाहीले मलाई प्रतिवादी विष्णुमाया मल्ल शाहीको कोठामा छु, आउ चिया खाई सँगै जाउँला भनी बोलाएपछि म त्यहाँ गई चिया खाँदै गर्दा मुगुबाट जाहेरवाला धर्मराज शाहीले फोन गरी के कुरा गरे थाहा पाइनँ निज दाइ दिपराज शाही र दाइ प्रशान्त कुमार शाही के, कहाँ गयो थाहा भएन । म सोही कोठामा बसिरहँदा अन्दाजी रातिको १२।१ बजेको समयममा निज दाइहरू फर्की आएका थिए । त्यसपछि निज दाइहरूले धर्मराज दाइले हाल नामथर थाहा भएका अजिता मल्ललाई श्रीमतीको रूपमा कोठामा राखेकोमा निजलाई कोही कसैले मारेको जस्तो छ प्रहरीसमेत आई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा राखी आएको भनी कुरा गरेपछि घटनाको बारेमा थाहा पाएको हुँ भन्नेसमेत बेहोराको संगीत कुमार शाहीले गरिदिएको कागज ।
प्रस्तुत मुद्दामा मिसिल संलग्न हुन आएको धर्मराज शाहीको जाहेरी दरखास्त, घटनास्थल लास जाँच प्रकृति मुचुल्का खानतलासी बरामदी मुचुल्का, घटनास्थलबाट प्रतिवादीहरू भाग्दै गरेको देखिने सि.सि.टी.भि. फुटेज, प्रतिवादीहरूको बयान, मृतकको पोष्टमार्टम रिपोर्ट, प्रहरी प्रतिवेदन, घटना बुझिएका मानिसहरूले गरेको घटना विवरण कागजसमेतका आधार प्रमाणहरूबाट प्रतिवादीहरू विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.समेतको संलग्नता र मिलेमतोमा ७ महिनाकी गर्भवती अजिता मल्ललाई कुटपिट गरी घाँटीमा सलले कसी निजको नियतपूर्वक ज्यान मार्ने मनसायले कर्तव्य गरी हत्या गरेको तथा निज अजिता मल्ल गर्भवती रहेको थाहा हुँदाहुँदै निज अजिता मल्लको हत्या गरी निजको पेटमा रहेको ७ महिनाको गर्भको समेत मृत्यु हुन गएको स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादीहरू विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.लाई मुलुकी अपराध (संहिता) ऐन,२०७४ को दफा १७७ को उपदफा (१) बमोजिमको कसुर अपराधमा निज प्रतिवादीहरू विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.लाई सोही ऐनको दफा १७७ को उपदफा (२) बमोजिम सजाय हुन, निज अजिता मल्ल गर्भवती रहेको थाहा हुँदाहुँदै निज अजिता मल्लको हत्या गरी निजको पेटमा रहेको ७ महिनाको गर्भको समेत मृत्यु गराई निज प्रतिवादीहरू विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.ले गर्भपतनको समेत कसुर गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १८८ को उपदफा (१) ले परिभाषित उपदफा (६) बमोजिमको कसुरमा निज प्रतिवादीहरू विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.लाई सोही ऐनको दफा १८८ को उपदफा (६) को खण्ड (ग) बमोजिम सजाय हुन तथा निज प्रतिवादीहरूले एउटै वारदातमा कर्तव्य ज्यान र गर्भपतनसम्बन्धी कसुर गरेको हुँदा निज प्रतिवादीहरू विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी.लाई सोही ऐनको दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन र सोही ऐनको दफा १८६बमोजिम निज प्रतिवादीहरूबाट मृतकको नजिकको हकवालालाई मनासिब क्षतिपूर्ति दिलाई भराई पाउनसमेतको मागदाबी लिइएको अभियोग पत्र ।
मैले म आफ्नो र श्रीमान्को सल्लाहअनुसार पहिला बसेको कोठा सर्नुपर्यो भनेर फ्ल्याट खोज्ने क्रममा संयोगबस मृतक अजितालाई देखेँपछि निज मृतक पनि काठमाडौंमै रहेको भन्ने कुरा थाहा पाएको हुँ । वारदात मितिमा मसँग जाने दिदी, भदै र भदैको साथी सोही घरमा मेरो लागि कोठा हेर्दै थियो । म चाहिँ मृतक अजिताको कोठामा गई निजसँग भनाभन हुने क्रममा मैले निजसँग बेडमा भएको मोबाइल लिएर फर्किंदा मसँग गएको रिता ढोकामा रहिछन् । निजले मलाई सोधिन् फुपू किन माथि आउनु भएको र यो कस्को कोठा हो भनेर सोध्दा यो मोबाइल लिएर तल जाउ म आई हालेँ भनेर पठाएको हुँ । त्यसपछि निज मृतक र मबिच सामान्य झगडा भएको थियो । मृतकले मलाई बेडबाट उठी र तानेर मुखमा नै थुक्दै गाली गरी र यो कुरा धर्मलाई भनिदिन्छु त्यसपछि तेरो के हालत हुन्छ भनेर धम्की दिइन् । निज मसँग जुध्न आइन् र मेरो घाँटीमा भएको सल समाती मेरो घाँटी कसी म आफ्नो बचाउको लागि मुक्का प्रहार गर्दा निज मृतकको ओठको तल काटियो र मेरो दाहिने हातको औंला कसेर टोकी दिई र रगत बग्दासमेत निजले छोडिनन् । त्यसपछि म बायाँ हातले निजको घाँटी समाती लातले पेटमा हानेको र निज मृतकले आफ्नो टाउकोले मेरो नाकमा हानी र मेरो घाँटीचाहिँ दुवै हातले कसिरहेको थियो र मलाई सास फेर्न गाह्रो भएकोले मैले निजलाई मेरो खुट्टाले धकेल्दा निज ऐया भन्दै मेरो घाँटी छोड्दै म र निज बेडमै लडेँ र म पनि निजको घाँटी छोडिदिएँ । त्यसपछि निज मृतक पेट समातेर कराउँदै बेडमा पल्टिरहेकी थिइन् र निज काँपिरहेको देखेर मैले निजलाई सिरक तानेर अलिकति जिउमा फालेर म चाहिँ फर्किएको हो । त्यसपछि के भयो मलाई थाहा छैन । निजसँग मेरो झगडा मात्र भएको हो । मेरो निजलाई मार्ने मनसाय केही थिएन । निज मृतकले नै झगडा गरेको र मेरो घाँटी समातेर मार्छु भन्दा म आफ्नो बचाउ मात्र गरेको हो । उक्त कुराको जानकारी अन्य प्रतिवादीहरूलाई छैन भन्नेसमेत बेहोराको प्रतिवादी विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
मिति २०७५।०८।२९ दिन बेलुका विष्णुमाया मल्लले मलाई फोन गरी दिज्यु भोलि फुर्सद छ भने मेरो कोठामा आउनुस् मेरो लागि फ्ल्याट खोज्नुछ, भेटघाट पनि हुन्छ भनेकाले भोलिपल्ट यात्रु प्रतीक्षालयमा रोड क्रस गर्नको लागि उभिरहेको अवस्थामा मरो दाइको छोरा गान्दिपराज मल्ल र उसको साथी रिता के.सी लाई देखेँ र निजले आफू कान्छी फुपूकोमा जान लागेको भनेकाले हामीहरू बहिनीको कोठामा गएका थियौं । बहिनीले दिज्यु भरे बाबु नानी लिन ढिलो हुन्छ, फ्ल्याट खोज्न छिटो जाउँ भनेकाले हामीहरू त्यहाँबाट फ्ल्याट खोज्न गयौं । गान्दिप किट कलेजतिरै आफ्नै विज्ञापनहरू टाँसिरहेको थियो । म बहिनी र रिता बटुवाले देखाएको टोलतिर फ्ल्याट खोज्दै हिँड्यौँ । मेरो खुट्टा एकदमै दुखेर हिँड्न सकिरहेको थिएन । त्यसकारण हामीले रितालाई तिमी अगाडितिर फ्ल्याट खाली छ भनेर सोध । हामीहरू बिस्तारै आउँछौं भनेका थियौं । रिता उताबाट फ्ल्याट खोजेर हामी भएको ठाउँनिर फर्किन् । त्यसपछि हामी चारै जना नजिकको चिया पसलमा गयौं । कपडा पसलमा गान्दिपले चिसो भयो भनेपछि उसको लागि टोपी किनिदियौं । फ्ल्याट नजिकै पुग्न लाग्दा दुईजना केटीहरू हामीहरूलाई क्रस गरेर अगाडि त्यही फ्ल्याट खाली भएको घरमा गयौं । म पनि त्यो घरको आँगन, पानी, सिँडीहरूको व्यवस्था कस्तो छ भनेर हेरिरहेको थिएँ । केही समयपछि म कपडा सुकाउनको लागि छत कस्तो छ हेरेर आउँछु भनेर माथि छततिर लागेँ । केही समय छतमा बसी तल गई हेर्दा रितालाई देखेँ र बहिनीलाई नदेखेपछि फेरि छतमा आउन लाग्दा छतको ढोकानिर बहिनीलाई भेटेँ । तिमी कता थियौ, मैले पहिले देखेन भन्दा बहिनीले म वासरूम गएको थिएँ, त्यसपछि बहिनी अगाडितिर हिँडेर दिज्यू बाबु नानी लिन ढिलो हुन्छ, कोठामा जाम भनेर भनिन् हामी दुवै जना गेटबाट बाहिर निस्किनै लाग्दा गान्दिप र रिताले सायद हामीलाई निस्केको देखेर होला तिनीहरू पनि गेटबाट निस्के । ट्याक्सीमा रिताले बहिनीलाई एउटा फोन दिएको देखेँ, मैले बहिनीकै फोन होला सोचेर केही पनि सोधिनँ भन्नेसमेत बेहोराको प्रतिवादी भगवती मल्लले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
उक्त दिन विष्णुमाया मल्ल शाही फुपूले खाना खाने गरी आउ, फुर्सद छ भने फ्ल्याट खोज्नुछ भनेर फोन गर्दा म र रिता के.सी सँगै गएको र बाटोमा भगवती फुपू देखेकोले हामी विष्णुमाया मल्लको कोठामा गएका थियौं । विष्णु फुपूले बाबु नानीको खाजा पुर्याएर आएपछि हामीहरू कोठा खोज्न निस्केको हो । त्यसपछि म आफ्नो I am you एक्टिङ क्लास खोलेको विज्ञापन पनि भिडभाड हुने ठाउँमा पोष्टर टाँस्दै गर्यौं । फ्ल्याट खोज्दै किट कलेजतिर जाँदै गर्दा मैले फुपूलाई फुपू म यतातिर पोष्टर टाँस्छु हजुरहरू जाँदै गर्नुस् म अहिले आउँछुभन्दा फुपूहरू र रिता के.सी. तीनैजना अगाडि जानु भयो । त्यसको केही समय पछि तीनै जना म भएको ठाउँमा आउनुभयो । त्यो दिन जाडो भएकोले मैले फुपूलाई आज जाडो छ भन्दा फुपूले मलाई टोपी किनिदिनुभयो । त्यो फ्ल्याट रिताले देखेको हुनाले म र रिता फ्ल्याट हेर्न अगाडि गयौं । रिता र म घरमा पुग्दा गेटमा ताल्चा लगाएको थियो । त्यसपछि हामीहरू फर्किँदा दुईजना केटीहरू हामीहरूलाई क्रस गर्दा एउटा केटीले तपाइँंहरू रूम खोज्न आउनुभएको होइन भनी सोद्धा त्यसपछि रिताले हो भनेर हामीहरू तिनी केटीहरूको पछिपछि गयौं । घरबेटीको छोरीले रूमको ढोका खोलेर हामीहरू तीनै जनाले रूमहरू हेर्न थाल्यौं । र अर्को केटी सरासर माथि गयो । मैले चाहिँ रूमको बारेमा त्यो घरबेटीको छोरीसँग बुझ्न किचेनमा पुगेर कुरा गर्दै थिएँ । रिता अर्को रूमहरू हेरिरहेको थियो । रूम हेरेर रिता म भएको ठाउँमा आयो म चाहिँ घरबेटीसँग फोनमा कुरा गर्दा आज म आउन सक्दिनँ भोलि बिहान आउनुस् भनेर फोनमा कुरा भयो । तिम्रो बाबाले भोलि बिहान आउन भनेको छ हामीहरू भोलि आउँछु भन्दा रिताले जाउँ भन्यो । अनि हामी निस्कियौं । निस्केर अलि अगाडि जाँदा मैले फुपूहरूलाई देखेँ र रूम फिक्स गर्न किन आउनु भएन भन्दा फुपूले बच्चाहरू लिन ढिलो भयो । भोलि आउँछु भन्यो । फुपूले हतार भयो गान्दिप छिटो ट्याक्सी रोक भन्दा म दौडिँदै ट्याक्सी रोकेँ । हामीहरू ट्याक्सीमा बसेर गयौं । बसुन्धारा पुगेपछि फुपूले मलाई १,०००।- ट्याक्सी भाडा दिएर झर्नुभयो । त्यसपछि हामीहरू तीन जना बानेश्वर पुग्यौं त्यहाँ भगवती फुपू झरेको र समय भएकोले हामीहरू पनि ट्याक्सीबाट झरेर बसमा पेप्सीकोला गएकोमा रूमको साँचो नभएकोले म चाहिँ साथी बोलाएर म जहाँजहाँ गएको र मलाई शङ्का लागेको ठाउँमा खोज्न गएको हो । सोही क्रममा मैले किट कलेजनिर खम्बाको मुनि साँचो भेटी रितालाई फोन गरेको र साँचो लिएर साथी र म सँगै बाइकमा पेप्सीकोला फर्की आएको हो । भोलिपल्ट विष्णु फुपूले म पेप्सीकोलाको ग्राउण्डमा आएको छु, आउ भन्नुभयो । त्यहाँ जाँदा सादा पोसाकका प्रहरीहरूले मलाई समाती रिता कहाँ छ भन्दा मैले पार्लरमा छ भनेँ र रितालाई पनि समातेको हो भन्नेसमेत बेहोराको प्रतिवादी गान्दिपराज मल्लले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
मिति २०७५।०८।२९ मा विष्णुमाया मल्ल शाही फुपूले गान्दिपलाई फोन गरी बलाएकाले मसमेत निजसँग गएको थिएँ । सो दिन म आफ्नो एक्टिङ क्लास खोलेको विज्ञापन भिडभाड हुने ठाउँमा पोष्टर टाँस्दै र खाली कोठाको बारेमा सोध्दै विष्णुमाया मल्ल शाही फुपूको पछिपछि गएको हो । म चाहिँ फ्ल्याट खाली छ भन्ने पोष्टरमा लेखेको घरमा गई कोठा हेरी त्यहाँबाट बाहिर निस्केर फुपूहरूलाई कोठाको बारेमा भन्दा निज फुपूहरूले भोक लागेको छ खाजा खाएर आउँला भनी भनेकाले चिया पसलमा गएका थियौँ । गान्दिपले चिसो भयो भन्दा विष्णुमाया फुपूले गान्दिपलाई टोपी किनिदिनुभयो । त्यसपछि हामी चारै जना अगाडि पछाडि हुँदै त्यो घरमा पुग्यौं । त्यो घरमा पुग्दा गेटमा ताल्चा लागेको थियो । गान्दिप र म त्यहाँबाट फर्किँदा बाटोमा दुई जना केटीहरूसँग भेट भयो । गान्दिप म र घरबेटीको छोरीसँग फ्ल्याटभित्र छिर्यौँ । त्यो फ्ल्याटको किचन कोठामा गान्दिप र घरबेटीको छोरीसँग कुरा गर्दै थिएँ । म अर्को कोठा हेर्दै थिएँ । त्यहीँ क्रममा भगवती मल्ल माथि गएको देखी म पनि माथि जाँदा भगवती दिदी छतमा फोनमा कुरा गरिरहेको देखेँ । म फर्किँदा एउटा कोठा हो कि ट्वाइलेट जस्तो ढोका खोलेर विष्णु दिदीले मोबाइल दिएर यो मोबाइल लिएर जाउ म एकछिनमा आउँछु भनेर भनेकाले म मोबाइल लिएर तल गान्दिप भएको फ्ल्याटभित्र गएँ । भित्र जाँदा गान्दिप मोबाइलमा कुरा गरिरहेको थियो र हामी तीनजना त्यहीँ फ्ल्याटको बारेमा कुरा गरिरहँदा त्यसको केही समयपछाडि तलको मेन ढोका खुलेको देखेँ । त्यहाँ विष्णु फुपू बाहिर निस्केको देखेँ । त्यसपछाडि गान्दिपलाई जाम भनी घरबेटीको छोरीलाई हामी पछि आउँछौं भनेर निस्कियौं भन्नेसमेत बेहोराको प्रतिवादी रिता के.सीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरूको कार्यबाट निजहरूको हकमा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ को अवस्था विद्यमान देखिन आयो । प्रमाण बुझ्दै जाँदा पछि ठहरेबमोजिम हुने नै हुँदा तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरूलाई थुनामा राख्न कारागारमा लेखी पठाइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।०९।३० मा भएको थुनछेक आदेश ।
म लोकसेवाको कक्षा सकाएर प्रशान्त कुमार शाहीसँग उहाँको कोठामा जाँदा धर्मराज शाहीको फोन आएको र निज प्रशान्त कुमारले जाम सँगै भनेकोले उक्त घटना भएको ठाउँमा गएको हुँ । उक्त घटनाको बारेमा अन्य जानकारी प्रहरीद्वारा मानिसहरू समातिएको पछि थाहा हुन आएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने दिपराज शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
अजिता मल्लको मृत्यु भएको १ दिनपछि समाचारमा आइसकेपछि थाहा भएको हो । अरू के कसरी भयो थाहा भएन । यो घटनाको बारेमा मिति २०७५।०९।१६ मा CCTV हेरेपछि नै थाहा भएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने ईश्वर थापाले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
घटना भएको दिन मलाई दाइले मुगुबाट फोन गरी मलाई मृतक अजिता मल्ल बेहोस भएकी छन् रे गर्भवती छन्, छिटो हस्पिटल लानु भनी जानकारी गराएकोले म बस्ने धापासीबाट टोखा गएको थिएँ । त्यहाँ जाँदा निज बेडमा सुतेको अवस्थामा देखेको थिएँ । मैले त्यहाँ गई पानी छम्किएर बोलाउँदा निज नबोलेपछि घरबेटीलाई कति बेलादेखि बेहोस हुनुहुन्छ भनी सोद्धा आफूलाई पनि थाहा नभएको र घरबेटीलाई फोन गरेपछि मात्र थाहा भएको रहेछ । मुख नजिकै हात लैजाँदा निज अजिता मल्लले सासको प्रतिक्रिया थाहा पाउन नसकेकाले पुलिसलाई फोन गरी जानकारी गराएको हुँ । १०-१५ मिनेटमा पुलिस आए त्यसपछि उनीहरूले डाक्टरलाई बोलाउनुभयो । राति १२ बजेपछि डाक्टर आई चेक गर्दा निज अजिता मल्लको मृत्यु भएको थाहा हुन आयो । उक्त समयमा कसले सो घटना, किन, कसरी गरायो थाहा थिएन । पछि सो घटनाको बारेमा प्रहरीबाट थाहा हुन आएको हो भन्नेसमेत बेहोराको बुझिएका मानिस प्रशान्त कुमार शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७५।०९।०१ गते म नेपाल विद्यार्थी संघ मुगुको जिल्ला अधिवेशनको लागि गाउँ गएको थिएँ । साँझ ७ बजे मेरो कान्छी श्रीमती अजिता मल्ललाई फोन गर्दा मोबाइल स्विच अफ भइरहेको थियो । मैले निरन्तर ७ बजेसम्म कल गरे पनि मोबाइल स्विच अफ नै भनेपछि मैले घरबेटी तारानाथ अर्याललाई फोन गरेको थिएँ । त्यसपछि घरबेटी बोलाउन गइसकेपछि नानी त सुतेजस्तो छिन जति बोलाए नि उठ्दैन बाबु भनेपछि मैले पक्कै पनि ऊ गर्भवती मान्छे कहिले चक्कर लागेको हुन सक्छ केही पानी छम्केर भए पनि उठाइदिनुस् या हस्पिटल पुर्याइदिनुस् भनेर भन्दा उहाँले तपाइँंको आफ्नो कोही मान्छे छ भने पठाइदिनुस् म चाहिँ केही गर्न सक्दिनँ भनेर जवाफ दिनुभयो । त्यसपछि मैले मेरो भाइ प्रशान्त कुमार शाहीलाई अजिता बिरामी छ रे अनि तुरून्त टोखामा गएर अस्पताल लग्नु भनेर भनेपछि मसँग पैसा छैन कसरी लाने भनेर मलाई भनेपछि मैले मेरी जेठी श्रीमती विष्णुलाई अजिता बिरामी छे, तिमीसँग कति पैसा छ नभए कतैबाट खोजेर भए पनि प्रशान्तलाई पैसा दिएर पठाउ भनिसकेपछि प्रशान्त टोखा गएको थियो । भाइ टोखामा गएपछि के भएको छ भनेर सोद्धा खै कुनै सासबास नै छैन, अब म पुलिसलाई खबर गर्छु भनेर मलाई फोनमा भन्दा म त्यहीँ ठाउँमा बेहोस हुन पुगेँ । त्यतिबेला मसँग रहेको साथी नन्दराज मल्ल र मेरो भाइ पुष्पराज शाहीले गाडीमा हालेर राति २ बजे मुगु जिल्लाको सदरमुकाम गमगढीमा पुर्याएका रहेछन् । र त्यसपछि मेरो होस आउने जाने भइरहेको थियो । भोलिपल्ट दिउँसो १२ बजे ताल्चा विमानस्थलबाट नेपालगन्जका म मेरो ममी आयौं र साँझ ६ बजेको बुद्ध एयरको फ्लाइटबाट काठमाडौं आइपुगेँ । म काठमाडौं आइपुगेपछि घटनामा त तेरो श्रीमती र अरू ३ जनाले गरेका रहेछन् भनेर मलाई सुनाउँदा म छाँगाबाट खसेजस्तै भएँ र मैले त्यतिबेला भनेपछि मेरी जेठी श्रीमती विष्णुमाया मल्ल शाहीले यस्तो घटना गर्न सक्छ भनेर म कल्पना पनि गर्न सक्दिनँ किनभने आजसम्म उसले कोही कसैसँग झगडा गरेको रेकर्ड पनि थिएन र एउटा कुखुराको चल्लासमेत मार्ने बेला घरभित्र लुक्ने मानिसले यो हदसम्मको घटना गर्न सक्छ भनेर मैले विश्वास गर्न सकिनँ । अझ पछिल्लो ३ वर्षदेखि ऊ डिप्रेसनको रोगी भएको हुँदा मैले टिचिङ हस्पिटल र चिरायु हस्पिटलमा नियमित उपचार गराउँदै आइरहेको थिएँ । ऊ पछिल्लो १ वर्षदेखि घरबाट कतै बाहिरतिर समेत निस्कने गर्थिन र उसले गएको वर्ष घरमै म मुगु भएको बेला आत्महत्याको समेत प्रयास गरेको थिइन र त्यतिबेला मेरै घरमा बस्ने भाई ईश्वर थापाले आफैँ चिरायु हस्पिटलमा पुर्याएका थिए । त्यसपछि मैले मेरी श्रीमती विष्णुमाया मल्ललाई घरमा एक्लै नछाड्ने भनेर भाइ प्रशान्त कुमार शाहीलाई काठमाडौंमा राखेको थिए र उपचार पनि नियमित गरिराखेको थिएँ र अर्को कुरा पोहोर साल मुगुमा मेरी जेठी श्रीमतीकी दिदीले मेरो कान्छी श्रीमती अजिता मल्ललाई कुटपिट गर्न खोजेकी थिइन् र त्यो घटना जिल्ला प्रहरी कार्यालय मुगुमा समेत पुगेको थियो । त्यतिबेला आफ्नै दिदीसमेतलाई मेरो श्रीमान्को विषयमा तपाइँंहरूलाई झगडा गरिदिन आवश्यक छैन । म आफैँ मिलाउँछु तपाइँंहरू बिचमा आउन आवश्यक छैन भनेर आफैँ जिल्ला प्रहरी कार्यालयको मुद्दासमेत मिलाएर फर्केकी थिइन् । मेरो विषयमा यतिसम्म चिन्ता गरेर सोच्ने मेरो श्रीमतीले यति गम्भीर घटना गर्न सक्छ भनेर कसैले पनि विश्वास गरेको छैन । यो घटनाको सम्बन्धमा मेरी डिप्रेसनको बिरामी श्रीमतीलाई प्रयोग गरेर निजका आफन्तहरूले झै-झगडा गर्न गएको मैले अनुमान गरेको छु भन्नेसमेत बेहोराको जाहेरवाला धर्मराज शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
निज प्रतिवादीहरूमध्ये विष्णुले मलाई मेरो लागि फ्ल्याट खोजिदिनुस् भनेर अनुरोध गरेको थियो । विष्णुमाया मल्लले एउटा किरा मार्नसमेत डराउने मानिसले मानिस मार्ला भनेर कल्पना पनि गर्न सकिन्न । जहाँसम्म मलाई थाहा छ विष्णु मल्ल डिप्रेसनकी बिरामी हुन् । प्रतिवादी विष्णुमाया मल्लले यो घटना घटाएको छैन भनेर मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको प्रतिवादी विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाहीको साक्षी हिक्मत शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
घटना घटेको दिन यी प्रतिवादीहरूले विष्णुमाया मल्लको लागि कोठा खोज्न जाने क्रममा उक्त बाटोबाट गएको हो त्यो कुरा सि.सि फुटेजबाट देखिएको हो । यी प्रतिवादीहरू लगभग ४ बजे नै उक्त ठाउँबाट आफ्नो कोठामा गएको हो । निज प्रतिवादीहरू आजसम्म कसैको मुख मुखैसमेत नलागेको र कसैलाई एक वचन अपमान हुने शब्दसमेत नबोल्ने मानिसहरूले मानिस मार्नेबाट गर्ने आँट गर्ने कुरै आउँदैन भन्नेसमेत बेहोराको प्रतिवादी भगवती मल्लको साक्षी राजबहादुर शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
मलाई के लाग्छ भने रिता के.सी र गान्दिपराज मल्लले आफूले खोलेको डान्स क्लासको विज्ञापनको पोष्टर टाँस्न र विष्णुमाया मल्लको लागि फ्ल्याट खोज्न त्यो बाटोमा गएका हुन् । प्रस्तुत घटनामा यी प्रतिवादीहरू निर्दोष हुन् । यी प्रतिवादीहरू आजसम्म पनि कसैसँग पनि मुख मुखै नलाग्ने, कसैसँग गाली गलौज र झगडासमेत नगरेको मानिसले मानिस मार्ने आँट गर्न सक्दैन भन्नेसमेत बेहोराको प्रतिवादी गान्दिपराज मल्ल र रिता के.सी.को साक्षी शिवगिता शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.५ धापासीबाट प्रतिवादी विष्णुमाया मल्ल शाही, गान्दिपराज मल्ल र रिता के.सी.लाई पेप्सीकोलाबाट र प्रतिवादी भगवती मल्ललाई शंखमुलबाट पक्राउ गरिएको हो भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदक प्र.ना.नि. गणेशबहादुर बोगटीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी रिता के.सी. को सानैदेखि चालचलन व्यवहार, बेहोरा सबै थाहा छ । उनी सानैदेखि स्वयम् सेवक तथा सामाजिक कार्यमा संलग्न रहने गर्दथिन् । उनको व्यवहार हेर्दा उनी यस्तो जघन्य अपराधमा संलग्न होलिन् भन्ने विश्वास पनि लाग्दैन र संलग्न पनि छैनन् भन्नेसमेत बेहोराको प्रतिवादी रिता के.सी.को साक्षी विकास भन्ने डेविड छत्कुलीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
वारदातपश्चात् अनुसन्धानबाट खुल्न आएका व्यक्तिहरूमध्ये विष्णुमाया मल्ललाई धापासीबाट, उनको बयानबाट घटना संलग्न अन्य दुईजना गान्दिपराज शाही र रिता के.सी.लाई पेप्सीकोलाबाट र अन्य एक जना भगवती मल्ललाई बानेश्वरबाट पक्राउ गरिएको हो भन्नेसमेत बेहोराको प्र.ना.उ. रविन कार्कीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीको संलग्नतामा उक्त घटना घटेको भनी मलाई विश्वास लाग्दैन । प्रतिवादीहरूले कोठा खोज्ने सिलसिलामा हामीलाई पनि सम्पर्क गरेका थिए । कोठा खोज्न यताउता गर्दा CCTV मा देखाएको होला । प्रतिवादी विष्णुमाया मल्ल शाही बेला बेलामा बेहोस हुने गरेको मुगुमा रहँदा काठमाडौं आएपछि पनि थाहा हुन आएको थियो । यिनलाई पटकपटक हस्पिटलसमेत लगेको थियो । करिब १ वर्षअघि चिरायु हस्पिटलमा डिप्रेसनको कारण लगिएको मलाई पनि जानकारी रहेको छ । त्योभन्दा अघि पटकपटक टिचिङ हस्पिटल पनि डिप्रेसन भएको कारण लगिएको थियो भन्नेसमेत बेहोराको प्रतिवादी विष्णुमाया मल्लको साक्षी अजयबहादुर शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
गान्दिपलाई २/३ वर्षदेखि चिनजान रहेको थियो । उसको पहिलेदेखिको आचरण, व्यवहार हेर्दा ऊ यस्तो किसिमको घटनामा संलग्न हुने मानिस होइन भन्नेसमेत बेहोराको प्रतिवादी गान्दिपराज मल्लको साक्षी मनोज कुमार शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक अजिता मल्लको शव परीक्षण गर्ने क्रममा शरीरका बाहिरी भागमा देखिएको चोटपटकहरू जस्तै आँखामा रगत जमेको, नाकबाट रगत बहेको र अनुहारको देब्रे भागमा ओठको तल माथिको भागमा निलडाम र कोतारिएको अवस्था थियो । त्यसैगरी घाँटीको अगाडिपट्टिको भागमा निलडाम र कोतारिएको अवस्था थियो । त्यसैगरी घाँटीको अगाडिपट्टिको भागमा रातो निलडाम रहेको, दाहिने हातको बाहिरी भागमा रातो निलडाम रहेको र साथै घाँटीमा पासोको डाम रहेको र शरीरको पछाडिको तल भागको विभिन्न ठाउँमा निलडाम रहेको देखिएको छ र शरीर खोली हेर्दा घाँटीको छाला पल्टाई हेर्दा घाँटीको छालामुनि निलडाम रहेको थियो । मृतक गर्भवती रहेको र पेटभित्र ७ महिनाको मृत महिला बच्चा देखिएको थियो भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको साक्षी डा. विभुती शर्मा र मणी महर्जनले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको एकै मिलान बेहोराको बकपत्र ।
मिसिल संलग्न मिति २०७५।०९।२० को घटना विवरण कागजमा लेखिएको बेहोरा र त्यसमा लागेको सहीछाप मेरो हो । घटना भएको दिन दिउँसो रिता के.सी कोठा हेर्न भनी घरमा आउनुभएको थियो । पछि दिदीहरू लिएर आउँछु भनी फर्किनुभयो । पुनः सोही दिनको अन्दाजी ३:३० बजेतिर गान्दिपराज मल्ल र रिता के.सी. फेरि कोठा हेर्न आउनुभएको थियो । मैले मृतकको मृत्यु भएको कुरा मेरो बुबाबाट सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने समिक्षा अर्यालले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७५।०९।०१ गते साँझ अन्दाजी ७ बजेतिर म अफिसबाट घर पुगेँ । अजिता मल्लको श्रीमान्ले मलाई फोन गरी अजिताको फोन उठेको छैन भनी सोध्नु भएकाले मैले मेरो छोरी समिक्षालाई अजिताको कोठामा गएर अजिताको श्रीमान्को फोन आएको छ भनी देउ भनी पठाएँ । छोरीले ३/४ पटक निज अजिताको कोठा बाहिर गई निजलाई बोलाउँदा पनि निज नबोलेको भनी मलाई सुनाएकी हुन् । त्यस लगत्तै नजिकैको पानी डेलिभर गर्ने भाइले पनि निजको कोठा बाहिर गई बोलाउँदा निज नबोलेको भनी आएपछि मसहित छोरी र निज पानी डेलिभरी गर्ने भाइ निजको कोठा बाहिर गई बोलायौं । त्यत्तिकैमा निजको श्रीमान्को फोन आयो र मैले निज नबोलेको बताएँ । उहाँले ढोको खोल्नुस् भनेपछि मैले पनि डेलिभर गर्ने भाइलाई ढोका खोल्न लगाएँ । ढोका लक गरिएको थिएन । ढोका खोल्दा निज अजिता मल्ल सिरक ओडेको र एउटा कपडाले अनुहार छोपिएको अवस्थामा पलङमा सुतिराख्नु भएको थियो । मैले निजको श्रीमान्लाई स्थिति अवगत गराएँ । उनले निजलाई अस्पताल पुर्याउनु भन्नुभयो तर मैले तपाइँंको नजिकको नातेदारलाई पठाइदिनु होइन भने मैले प्रहरीलाई खबर गरिदिन्छु, हामी कोठाभित्र गएका छैनौं र जाँदैनौं भने । निज अजिताको श्रीमान्ले करिब ४०/४५ मिनेटपछि २ जना भाइहरूलाई पठाइदिनुभयो । ती भाइहरू कोठाभित्र गई हेर्दा निज अजिताको सास नरहेको भन्ने कुरा खुल्न आयो । त्यसपछि निज भाइहरूले पुलिसलाई खबर गरिदिनुभयो र करिब २०,२५ मिनेटपछि पुलिस आई मुचुल्का उठाउनुभयो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने तारानाथ अर्यालले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
काठमाडौं जिल्ला अदालतको आदेशानुसार वादी तथा प्रतिवादी पक्षबाट पेस भएको सजायपूर्वको प्रतिवेदन मिसिल सामेल रहेको ।
यी प्रतिवादीले मौकामा बयान गर्दा मृतक अजिता मल्लको कोखामा खुट्टाले हानेको, घुँडाले पेटमा हानेपछि निज बेडमा ढलेको, निजको घाँटीको सल दुवै हातले कसेको कारणबाट निज बेहोस भएको भनेकी र अदालतमा बयान गर्दा पनि निजको घाँटी समाती पेटमा हानेको र खुट्टाले धकेल्दा बेडमा लडी र घाँटी छाडी दिएँ निज मृतक काँपी रहेको थियो भनी मृतकलाई हानेको, घाँटी सलले कसेको र सो कारणले मृत्यु भएको भन्ने देखिएकाले प्रतिवादी विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७८(२) अनुसार जन्म कैद (२५ वर्ष कैद) सजाय हुने ठहर्छ । साथै निज प्रतिवादीबाट मृतकको हकदारले रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँँ) क्षतिपूर्तिसमेत भराइलिन पाउने ठहर्छ । प्रतिवादी विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाहीले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(१) (झ) अनुसार क्षतिपूर्ति शुल्क बापत रू. २,८००।- (अठ्ठाइस सय रूपैयाँँ) कोषमा बुझाउनुपर्ने ठहर्छ । प्रतिवादीमध्येकी भगवती मल्लका हकमा विचार गर्दा निज प्रतिवादी सहप्रतिवादी विष्णुमाया मल्लको लागि डेरा खोज्न गएको, निजले कसुरदारलाई भगाउने, लुकाउने कसुर गर्न साधन उपलब्ध गराउने जस्ता कार्य गरेको अवस्था छैन, अन्य कुनै आपराधिक षड्यन्त्रमा संलग्न भएको अवस्था पनि नभएको, निजले मौकामा र अदालतमा बयान गर्दा पनि साँचो कुरा व्यक्त गरी न्यायिक प्रक्रियामा सघाउ पुर्याएको, यसपूर्व यस्तो प्रकृतिको कसुर अपराध गरेको नदेखिएको, कसुर गर्दाका परिस्थिति निजले गरेको कसुरमा दोषको मात्रासमेतलाई विचार गर्दा, यी प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(३)(ख) अनुसार १(एक) वर्ष ६(छ) महिना कैद सजाय हुने ठहर्छ । त्यस्तै प्रतिवादीमध्येकी रिता के.सी.का हकमा विचार गर्दा यी प्रतिवादीले मृतक अजिता मल्ललाई चिनेको समेत देखिँदैन, मुख्य अभियुक्त र मृतकबिच के कस्तो सम्बन्ध हो र किन झगडा भएको हो भन्ने जस्ता कुनै कुराको जानकारी रहेको देखिँदैन, आफ्नो साथी सहप्रतिवादी गान्दिपराज मल्लले फुपू दिदीको घरमा जाउँ भनेको कारणले निज सँगसँगै आएकी र तत्पश्चात् कोठा खोज्न जाने भनी कोठा खोज्न गएका र कोठा पाइएको घरमा प्रवेश गरी सहप्रतिवादी विष्णुमाया मल्ल शाही माथिल्लो तलामा गएको कारणले निजको पछिपछि जाँदा मृतकको कोठामा रहेकी विष्णुमाया मल्लले मोबाइल लिएर जाउ भनी सो मोबाइल दिएपछि मोबाइल लिएर भुईंतलामा झरेको कारणबाट यी प्रतिवादीको भूमिका मतियारसम्मको देखिएकाले मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(३) ख) अनुसार १(एक) वर्ष ६(छ) महिना कैद सजाय हुने ठहर्छ । गान्दिपराज मल्लको हकमा विचार गर्दा, कसुरमा इन्कार रही बयान गरेको, जाहेरवाला तथा अन्य सहप्रतिवादीहरूले पनि निजको संलग्नता रहेको भनी स्पष्टसँग उल्लेख नगरेका, वारदात स्थलको घरमा रहेकी घरधनीको छोरीसँग मात्रै कुरा गरेको देखिएको र वारदात स्थलमा गएको नदेखिएको अवस्थामा आफ्नो फुपू नाताकी प्रतिवादीको विष्णुमाया मल्लको अनुरोधमा कोठा खोज्न सँगै गएको आधारमा कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा कसुरदार रहेछन् भनी मान्न मिल्ने अवस्था नदेखिएकाले सफाइ हुने ठहर्छ । प्रस्तुत मुद्दामा अजिता मल्ल गर्भवती रहेको भन्ने जानकारी यी प्रतिवादीहरूलाई रहेको भन्ने मिसिलबाट नदेखिएको तथा यी प्रतिवादीहरूको मनसाय मृतकको गर्भमा रहेको भ्रूण पतन गराउने रहेको नदेखिएकाले अभियोग दाबीबमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १८८(१) को कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७७।०३।२३ को फैसला ।
प्रथमतः प्रस्तुत मुद्दामा हामी दुवै जना प्रतिवादी भगवती मल्ल र रिता के.सी.ले मुख्य अभियुक्त विष्णुमाया मल्लको इच्छित परिणाम पूरा गर्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै कसुरदार ठहर गरेको पाइन्छ । मुख्य अभियुक्तको इच्छित परिणाम पूरा गर्न अन्यले सहयोगी भूमिका निर्वाह गर्नका लागि प्रथमतः मुख्य अभियुक्तले वारदात घट्नुअघि घटित परिणामको विषयमा इच्छा राखेको थियो भन्ने तथ्य पुष्टि एवं प्रमाणित भएको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा मुख्य अभियुक्तको रूपमा प्रस्तुत गरिनु भएकी प्रतिवादी विष्णुमाया मल्लले मृतकलाई मार्ने सम्बन्धमा कुनै इच्छा नराखेको साथै मृतकलाई मार्ने परिणाम हासिल गर्ने उद्देश्य नै नभएको सम्बन्धमा मुख्य अभियुक्तको बयानलगायतबाट पुष्टि रहेको अवस्थामा सोतर्फ ध्यान नदिई भएको फैसला प्रथमदृष्टिमा नै बदरभागी छ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३६(३) (ख) को कसुर भए गरेको काममा संलग्नताको मात्राअनुसार सजाय गर्ने कानूनी व्यवस्था गरेको पाइन्छ । उल्लिखित दफाको कसुरजन्य काममा संलग्नताको मात्राअनुसार भन्ने वाक्यांशबाट कसुरजन्य कार्यमा कुनै न कुनै किसिमले सहयोग पुर्याएको देखिनुपर्ने अनिवार्य छ । प्रस्तुत मुद्दामा प्रामाणिक रूपले कसुरजन्य कार्यमा हामी पुनरावेदिकाले यो यस्तो किसिमको सहयोग पुर्याएको भन्ने प्रमाणित हुन सक्ने अवस्था कतैबाट पनि पुष्टि हुन नसकेको र पुष्टि हुन सक्ने अवस्था नभएकोले आधारहीन रूपले अन्दाज र अनुमानका भरमा हामीलाई कसुरदार कायम गरी सजाय गर्ने गरी भएको फैसला कदापि पनि न्यायसङ्गत नहुँदा फैसला बदर भागी छ भएकोले बदर गरी अभियोग दाबीबाट सफाइ दिलाइ पाउँ भन्ने भगवती मल्लसमेतको पुनरावेदन पत्र ।
म पुनरावेदकले मृतकलाई आक्रमण नगरेको मृतकले नै मलाई आक्रमण गर्नुका साथै मृतकले आक्रमण गर्दासमेत हात पन्छाई कुरा गरेको अवस्था बयानबाटै देखिन्छ । मेरो मृतकलाई मार्ने नभई कुटपिट गर्नेसम्मको मनसायसमेत केही कतैबाट देखिँदैन । मार्नुपूर्व कुनै तयारी नरहनुका साथै वारदातपश्चात्समेत लुकीछिपी उम्कने भाग्नेलगायतको कुनै क्रिया गरेको अवस्था नरहेकोले वारदात डिप्रेसनकै कारणले घटेको अवस्थासमेत भएकोले मलाई कसुरदार ठहर गरी भएको फैसला कदापि पनि नमिलेकाले फैसला बदरभागी छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २४ ले निजी रक्षासम्बन्धी कानूनी व्यवस्था गरेको पाइन्छ । उल्लिखित दफा २४(१) ले निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसुर मानिने छैन भन्ने उल्लेख गरेको पाइन्छ । त्यसैगरी दफा २४(३) ले तत्काल कुनै काम नगरेमा आफ्नो जिउ ज्यान वा सम्पत्तिलाई गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्ने मनासिब विश्वास भई वा विश्वास गर्नुपर्ने मनासिब कारण भए मात्र निजी रक्षाको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । त्यसैगरी दफा २६ (२) (क) ले आफूमाथि भएको आक्रमण विरूद्ध तत्काल रक्षा नगर्दा ज्यान जाने, चोट, अङ्गभङ्ग हुन सक्ने मनासिब विश्वास भई वा विश्वास गर्नुपर्ने मनासिब कारण भए मात्र निजी रक्षाको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा मृतकले मलाई लास बनाइदिन्छु भनी मेरो घाँटीमा सलले जोडले कसेको र मैले तत्काल रक्षा नगरेको अवस्थामा मेरो ज्यान जाने निश्चित भएकोले समेत मैले निजलाई समेत सलले बाँध्न परेको र जीवितै छाडी गएको अवस्था हुँदासमेत मलाई कसुरदार ठहर गर्ने र सजाय गर्न नमिल्ने भएकोले सोतर्फ ध्यान नदिई भएको फैसला मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४ (१) (२), २६ (२) (क) समेतको प्रतिकूल हुँदासमेत फैसला बदरभागी छ । अतः म पुनरावेदकलाई कसुरदार ठहर गरी भएको फैसला बदर भागी भएकोले बदर गरी अभियोग दाबीबाट सफाइ दिलाइ पाउँ भन्ने पुनरावेदक विष्णुमाया मल्ल शाहीको पुनरावेदन पत्र ।
जाहेरवाला धर्मराज शाहीले प्रतिवादीहरू विष्णुमाया मल्ल शाहीसमेतले मृतक अजिता मल्ललाई मनसायपूर्वक कर्तव्य गरी मारेको हुँदा आवश्यक कारबाही गरिपाउँ भन्ने बेहोराको किटानी जाहेरी रहेको देखिएको र अदालतमा आई बकपत्र गर्दासमेत घटना भवितव्य रहेको भन्ने लेखाए तापनि निज प्रतिवादीहरूको संलग्नतामै प्रस्तुत वारदात घट्न गएको भन्ने बेहोरा लेखाइदिएको छ । साथै वादी साक्षी मृतकको घरबेटी समिक्षा अर्यालले आफ्नो अनुसन्धानको घटना विवरण कागजलाई समर्थित गर्दै बकपत्रको क्रममा प्रतिवादी विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिप राज मल्ल र रिता के.सी.ले कर्तव्य गरी अजिता मल्ललाई मारेको भनी गरेको बकपत्रसमेतबाट प्रतिवादीहरू भगवती मल्लसमेतको प्रस्तुत कसुरमा संलग्नता रहेको भनी पुष्टि भएको देखिएको छ । प्रतिवादी विष्णुमाया मल्ल शाहीले अन्य कोही कसैको सहयोगविना मृतक अजिता मल्ललाई एक्लैले घाँटीमा पासो कसी कर्तव्य गरी मार्न सक्ने अवस्था नरहेको हुँदा प्रस्तुत मुद्दाका प्रतिवादीहरू सबैको मिलेमतोमा नै प्रस्तुत वारदात घटाएको पुष्टि हुन आएकाले प्रतिवादीहरू विष्णुमाया मल्ल शाही, भगवती मल्ल, रिता के.सी. र गान्दिप राज मल्ललाई अभियोग मागदाबीबमोजिज सजाय गर्नुपर्नेमा अभियोग मागदाबीभन्दा फरक कसुर कायम तथा सजाय गरेको फैसला त्रुटिपूर्ण छ । उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर ।
प्रस्तुत मुद्दामा प्रतिवादी विष्णुमाया मल्ल शाहीले मौकामा एवं अदालतमा बयान गर्दा वारदात घट्न गएको कुरालाई स्वीकारी बयान गरेको देखिन्छ । यस्तै मिसिल संलग्न रहेको घटनास्थल लास जाँच मुचुल्कामा लासको शारीरिक अवस्था महलमा विस्तारा माथि सिरकले छोपी अनुहारको भाग खुला रही मृतक लास उत्तानो अवस्थामा रहेको एवं घाँटीको दायाँ साइडमा ६ इन्च लामो १ से.मी. चौडाइको निलडाम रहेको भन्ने उल्लेख भएको र मृतकको पोष्टमार्टम रिपोर्टमा Cause of Death: Ligature Strangulation भन्ने उल्लेख भएबाट प्रतिवादी विष्णुमाया मल्ल शाहीले सलले घाँटी कसेको कारणबाट मृतकको मृत्यु हुन गएको देखिन आयो । प्रतिवादीको मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी रही पूर्वतयारी र योजनाका साथ मारेको भन्नेसमेत मिसिल कागज प्रमाणबाट खुल्न सकेको छैन । प्रस्तुत वारदातमा डेरा खोज्न जाने क्रममा अकस्मात् भेटिन निजहरूबिच वादविवाद र झैं-झगडा हुँदा अकस्मात् वारदात घट्न पुगेको देखिन्छ । यी प्रतिवादी विष्णुमाया मल्ल शाहीले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा योजनावद्ध ढङ्गले पूर्वमनसाय राखी मृतक अजिता मल्लको हत्या गरी घटनालाई अन्तिम रूप दिई परिणाममा पुर्याएको पनि देखिँदैन । यस्तै मनसायप्रेरित हत्यामा हत्यापश्चात् आफूहरूले गरेको अपराधबाट बच्नको लागि वारदातसम्बन्धी अन्य कार्य एवं प्रमाण नष्ट गर्ने प्रयास सामान्यतया हुने गरेकोमा प्रस्तुत वारदातमा सो प्रयास प्रतिवादीबाट भए गरेको पनि देखिँदैन । प्रस्तुत वारदातलाई हेर्दा प्रतिवादी विष्णुमाया मल्ल शाहीले गरेको कार्य अभियोग मागदाबीबमोजिमको कसुर नभई आवेश प्रेरित हत्या देखिन आयो । यस्तै अर्का प्रतिवादी रिता के.सी. का हकमा विचार गर्दा मुख्य अभियुक्त विष्णुमायाको प्रस्तुत वारदात आफू एक्लैले घटाएको भन्ने बयान बेहोराबाट देखिएको, निज प्रतिवादीको मौकामा र अदालतमा प्रतिवादी विष्णुमाया मल्ल शाही मृतक अजिता मल्ल बस्ने कोठामा छिरी मृतक अजिता मल्लसँग मोबाइल खोसाखोस गरी सो मोबाइल मलाई दिइन् र म तल झरेँ भन्ने बेहोरा उल्लेख गरेको र सोही मिलान बेहोराको सहप्रतिवादी भगवती मल्लले मौकामा बयान गरेको देखिन्छ । अर्का प्रतिवादी भगवती मल्लको हकमा विचार गर्दा निजले मौकामा र अदालतमा बयान गर्दा मृतक अजिता मल्लको कोठामा आफूले प्रवेश नगरेको भन्ने बेहोरा उल्लेख गरेको, सहप्रतिवादी रिता के.सी.ले मौकामा र अदालतमा निज प्रतिवादीलाई छतमा फोनमा बोल्दै गरेको देखेको भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादी गान्दिपराज मल्लको हकमा विचार गर्दा, यी प्रतिवादी भुईं तलाको फ्लाटमा भाडामा दिन राखेको कोठा हेर्नसम्म गएको तर वारदातस्थल रहेको मृतक अजिता मल्ल बस्ने गरेको कोठा वा सो घरको माथिल्लो तलाको छतसम्म पनि पुगेको समेत नदेखिएको अवस्थामा छ । अतः माथि उल्लिखित आधार कारणसमेतबाट सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७७।०३।२३ मा भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला केही बदर (उल्टी) भई निज प्रतिवादीहरूमध्येका प्रतिवादी विष्णुमाया शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७९ (१) (क) बमोजिम गम्भीर उत्तेजना वा रिसको आवेगमा ज्यान लिएको कसुरमा ऐ.दफा १७९(१) बमोजिम १०(दश) वर्ष कैद र रू.१,००,०००।- (एक लाख रूपैयाँँ) जरिवाना साथै निज प्रतिवादीबाट मृतकको हकदारले रू.५०,०००।- (पचास हजार रूपैयाँँ) क्षतिपूर्तिसमेत भराइलिन पाउने र निज प्रतिवादीले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) अनुसार क्षतिपूर्ति शुल्कबापत रू.४,०००।- (चार हजार रूपैयाँँ) पीडित राहत कोषमा बुझाउने ठहर्छ । यस्तै, प्रतिवादीहरूमध्येका प्रतिवादी भगवती मल्ल, रिता के.सी. ले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी गान्दिपराज मल्ललाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुरूको फैसला मिलेको देखिँदा सो हदसम्म उक्त फैसला सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७७।१०।२६ को फैसला ।
उच्च अदालतले मलाई आवेश प्रेरित हत्याको कसुरदार ठहर गर्दाको एक मात्र आधार र कारणको रूपमा गाली गलौज गरी मृतक र म पुनरावेदिकाबिच झगडा हुँदा म पुनरावेदिकालाई मृतकले अपशब्द प्रयोग गरी गलौज गरी तत्काल म पुनरावेदिका गम्भीर उत्तेजनामा आउने परिस्थितिसमेत सिर्जना भएको भन्ने म पुनरावेदिकाको बयान बेहोराबाट खुल्न आई सोको परिणाम स्वरूप प्रस्तुत वारदात घटित हुन पुगेको देखिएको भन्ने निर्णयाधारको आधारमा मुलुकी अपराध संहिता, २०७४ को दफा १७९(१)(क) को कसुरमा सोही दफाको उपदफा (१) बमोजिम सजाय गर्ने गरी फैसला गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७९ स्वयं आफैँमा स्वतन्त्र दफा होइन । यो दफा १७७ र १७८ को पूरक दफा हो । अर्थात्, यदि दफा १७७ र १७८ बमोजिमको कार्य भएको छ र उक्त कार्य मृतकको तर्फबाट तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै कार्यको परिणामस्वरूप प्रतिवादीले आत्मसंयमता शक्ति गुमाएको कारण घटित हुन पुगेको अवस्थामा मात्र लागु हुन्छ । अर्थात्, प्रतिवादीले गरेको कार्य दफा १७७ र १७८ सरह नै भए तापनि मृतकले गम्भीर उत्तेजना दिलाएको कारण घटित भएको देखिएको अवस्थामा सजाय घटाउने आधार अर्थात् सजायको शमन कारकसम्म (mitigating factor) हो । म पुनरावेदिकाको हक हितमा कुनै प्रतिकूल असर नपर्ने गरी यदी केही क्षणको निम्ति म पुनरावेदिकाले परिणामको कल्पना नै नगरी वा परिणामको ख्यालै नगरी केवल आफू बच्ने अभिप्राय मात्रले गरेको कुनै कार्यबाट मृतकको मृत्यु हुन गएको भनी मान्दा पनि म पुनरावेदिकाको हकमा आवेश प्रेरित हत्याको दोषी ठहर गर्न मिल्दैन । उक्त अवस्थामा म पुनरावेदिकालाई केवल मुलुकी फौजदारी संहिता, २०७४ को दफा १८२ सम्म आकर्षित हुन जाने हुनाले उच्च अदालतको फैसला निर्विवाद रूपमा त्रुटिपूर्ण भई बदरभागी छ भन्नेसमेत बेहोराको हाल कारागार कार्यालय, जगन्नाथ देवल, त्रिपुरेश्वरमा थुनामा रहेकी विष्णुमाया मल्ल शाहीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
जाहेरवाला धर्भराज शाहीले प्रतिवादीहरू विष्णुमाया मल्ल शाहीसमेतले मृतक अजिता मल्ललाई मनसायपूर्वक कर्तव्य गरी मारेको हुँदा आवश्यक कारबाही गरिपाउँ भन्ने बेहोराको किटानी जाहेरी दिएका छन् । अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीहरूको संलग्नतामै प्रस्तुत वारदात घट्न गएको भन्ने बेहोरा लेखाइदिएका छन् । वादी साक्षी मृतकको घरबेटी समिक्षा अर्यालले आफ्नो अनुसन्धानको घटना विवरण कागजलाई समर्थन गर्दै बकपत्रको क्रममा प्रतिवादी विष्णुमाया मल्ल शाही, भगवती मल्ल, गान्दिपराज मल्ल र रिता के.सी. ले कर्तव्य गरी अजिता मल्ललाई मारेको भनी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादीमध्येका विष्णुमाया मल्लले मौकामा बयान गर्दा मृतक अजिता मल्लको कोखामा खुट्टाले हानेको, घुँडाले पेटमा हानेपछि निज बेडमा ढलेको, निजको घाँटीको सल दुवै हातले कसेको कारणबाट निज बेहोस भएको भनेकी र अदालतको बयानमा पनि सोही बेहोराको बयान गरेबाट मृतकको मृत्यु यी प्रतिवादीले मृतकको घाँटीमा सलले कसेको कारणले भएकोमा विवाद देखिँदैन । निज प्रतिवादीले गरेको उक्त कार्य त्यस्तो अवस्थाको नभएबाट निजलगायत प्रतिवादीहरूको समूहले गरेको समग्र कार्यको परिणाम स्वरूप मृतक अजिता मल्लको मृत्यु भएको हुँदा प्रतिवादीहरूले अभियोग मागदाबीबमोजिम कसुर गरेको प्रस्ट देखिएको अवस्थामा निज प्रतिवादीहरूमध्ये विष्णुमाया मल्ल शाहीलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने र अन्य ३ जना प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । अतः उल्लिखित आधार कारणबाट प्रस्तुत मुद्दामा प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई कर्तव्य ज्यानतर्फ मात्र अभियोग दाबीभन्दा कम सजाय गर्ने र अन्य ३ जना प्रतिवादीहरूलाई पूर्ण सफाइ दिने गरी भएको उच्च अदालत पाटनको मिति २०७७।१०।२६ को फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सबै कसुरबापत सजाय गरी निज प्रतिवादीहरूबाट मृतकको नजिकको हकवालालाई क्षतिपूर्ति दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको धर्मराज शाहीको जाहेरीले नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा वादी नेपाल सरकार तथा प्रतिवादी विष्णुमाया मल्ल भन्ने विष्णुमाया मल्ल शाही दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन पत्रको जानकारी एक अर्कालाई परस्पर गराई पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई झिकाइ आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०७९।११।१४ मा यस अदालतबाट भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले प्रतिवादीहरूउपरको किटानी जाहेरी र सो जाहेरी बेहोरालाई समर्थन हुने गरी जाहेरवालाले बकपत्र गरिदिएको, प्रतिवादी विष्णुमाया मल्ल शाहीले मृतक अजिता मल्ललाई घाँटीमा पासो कसी एक्लैले कर्तव्य गरी मार्न सक्ने अवस्था नरहेको हुँदा प्रस्तुत मुद्दाका सबै प्रतिवादीहरूको मिलेमतोमा नै वारदात घटाएको देखिन आएको तथा घटनास्थल नजिकैबाट प्राप्त CCTV फुटेजमा प्रतिवादीहरू सबै मृतकको घरतर्फ जाने आउने कार्य गरेको देखिएको अवस्थामा प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई मात्र कसुरदार ठहर गरी अन्य प्रतिवादीहरू भगवती मल्ल र रिता के.सी. लाई मतियारतर्फ र प्रतिवादी गान्दिपराज मल्ललाई सफाइ हुने गरी भएको उच्च अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिमको कसुर ठहर गरी सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
पुनरावेदक प्रतिवादी विष्णुमाया मल्ल शाहीसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री भीम ढकाल तथा विद्वान् अधिवक्ताद्वय श्री बल्लभ बस्नेत र श्री उज्जवल घिमिरेले प्रतिवादी विष्णुमाया मल्ल शाही डिप्रेसनको बिरामी रहेको, मृतकले नै उत्तेजनामा ल्याई झगडा गर्ने मनस्थिति सिर्जना गरेको र निजले लगाएको सलले पासो कसी मार्न प्रयास गरेकोले सोबाट बच्न निजबाट आत्मरक्षाको लागि भए गरेको कार्यबाट मृतकको मृत्यु हुन गएको स्थितिमा सुरू अदालतबाट निज प्रतिवादीलाई मनसाय प्रेरित हत्याको कसुरमा जन्मकैदको सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण रहेको तथा उच्च अदालत पाटनबाट गम्भीर उत्तेजना वा रिसको आवेशबाट ज्यान लिएको भनी दश वर्ष कैद गर्ने गरी फैसला भएको हुँदा उक्त फैसलासमेत त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ । यस्तै प्रतिवादीहरू भगवती मल्ल, रिता के.सी. र गान्दिपराज मल्लको हकमा मुख्य अभियुक्तको रूपमा प्रस्तुत गरिएकी प्रतिवादी विष्णुमाया मल्लले मृतकलाई मार्नेसम्मको कुनै मनसाय नराखेको र आफ्नो आत्मरक्षाको क्रममा अकस्मात वारदात घट्न पुगेको भनी गरेको बयानलगायतका मिसिल संलग्न तथ्य प्रमाणहरूबाट पुष्टि भइरहेको अवस्थामा सोतर्फ विचार नगरी प्रतिवादी भगवती मल्ल र रिता के.सी.लाई उल्लिखित वारदातमा मतियारमा कसुरदार कायम गरी कैद सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भई बदर भागी हुँदा निज प्रतिवादीहरूले सफाइ पाउनुपर्दछ भने अर्का प्रतिवादी गान्दिपराज मल्ललाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला मिलेको देखिँदा उक्त फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दामा प्रतिवादीहरू विष्णुमाया मल्ल शाही, भगवती मल्ल, रिता के.सी. र गान्दिपराज मल्ललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) को कसुरमा दफा १७७ (२) बमोजिम सजाय हुन र सोही ऐनको दफा १८८ (१) ले परिभाषित उपदफा (६) बमोजिमको कसुरमा निज प्रतिवादीहरूलाई सजाय गरी क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्ने मुख्य अभियोग दाबी रहेको देखिन्छ । प्रतिवादीमध्येकी विष्णुमाया मल्ल शाहीले मृतकको मोबाइल हात पार्ने उद्देश्यले अन्य प्रतिवादीहरूलाई डेरा कोठाको बारेमा सोध्न लगाई मृतकको डेरा कोठामा पसी मृतकसँग झगडा गरी कुटपिट गरी गर्भवती रहेकी मृतकको पेटमा पटकपटक लात्ती प्रहार गरी सलले घाँटी कसी सोही कारणबाट निजको मृत्यु भएकाले प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७८(१) को कसुरमा ऐ. दफा १७८ (२) बमोजिम जन्मकैदको सजाय हुनेमा निजलाई १२ (बाह्र वर्ष) कैदको राय प्रस्ताव गरी, प्रतिवादी भगवती मल्ल र प्रतिवादी रिता के.सी. कसुरदारलाई कसुर गर्न सहयोग पुर्याउने मतियारको भूमिका रहेको देखिएकाले मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(३)(क) को कसुरमा सोही दफाको (३)(ख) बमोजिम १ वर्ष ६ महिना कैद सजाय र प्रतिवादी गान्दिपराज मल्लको कसुरमा कुनै संलग्नता रहेको पुष्टि नभएकाले सफाइ पाउने तथा प्रतिवादीहरूले अभियोग पत्रमा दाबी लिएको मुलुकी अपराध संहिता, २०७४ को दफा १८८(१) को कसुरबाट भने सफाइ पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखिन्छ ।
प्रस्तुत मुद्दमा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई नेपाल सरकारको प्रतिवादी गान्दिपराज मल्ल, रिता के.सी र भगवती मल्लको कसुरमा प्रत्यक्ष संलग्नता रहेकाले निजहरूलाई अभियोग दाबीबमोजिम सजाय हुन र प्रतिवादी विष्णुमाया मल्ल शाहीको हकमा अभियोग दाबीभन्दा फरक कसुर कायम भएकाले अभियोग दाबीबमोजिमको कसुर कायम होस् भन्ने बेहोराको पुनरावेदन परेको, प्रतिवादी विष्णुमाया मल्ल शाहीको निजी रक्षाको लागि भए गरेको कार्यलाई कसुर कायम हुने गरी फैसला भएकाले सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको पुनरावेदन परेको तथा प्रतिवादीहरू रिता के.सी र भगवती मल्लको कसुरमा कुनै प्रत्यक्ष संलग्नता रहेको पुष्टि नभएको अवस्थामा मतियार कायम गरी भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको पुनरावेदन परेको देखिन्छ । सो पुनरावेदनउपर उच्च अदालत पाटनबाट प्रतिवादी गान्दिपराज मल्लको हकमा सुरू जिल्ला अदालतबाट सफाइ पाउने गरी भएको फैसला सदर गरी प्रतिवादी विष्णुमाया मल्ल शाही, रिता के.सी र भगवती मल्लको हकमा सुरू फैसला उल्टी भई प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७९ (१)(क) को कसुरमा ऐ. को १७९ (१) बमोजिम १० (दश) वर्ष कैद हुने तथा प्रतिवादीहरू रिता के.सी र भगवती मल्लले अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएको देखियो । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादी विष्णुमाया मल्ल शाहीसमेतको पुनरावेदन परी पेस हुन आएको रहेछ ।
उपर्युक्त तथ्य एवम् पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दाका सन्दर्भमा दुवैतर्फबाट प्रस्तुत तर्कपूर्ण बहसलाई समेत दृष्टिगर गरी हेर्दा यसमा मुख्यत: देहायका प्रश्नहरूको निरूपण गर्नुपर्ने देखिन आयो:
(क) मृतक अजिता मल्लको मृत्यु कर्तव्यबाट भएको हो, होइन ?
(ख) पुनरावेदन माग दाबीबमोजिम प्रतिवादी विष्णुमाया मल्ल शाहीले आरोपित कसुरबाट सफाइ पाउनुपर्ने हो वा होइन ?
(ग) प्रतिवादी गान्दिपराज मल्लको हकमा सुरू काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबीको कसुरबाट सफाइ दिने गरी भएको फैसला सदर हुने ठहर्याई उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, वा छैन ?
(घ) प्रतिवादी रिता के.सी. र भगवती मल्लको हकमा सुरू फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, वा छैन ?
(ङ) वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम गर्नुपर्ने हो वा होइन ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा, मृतक अजिता मल्ललाई आफ्नो कोठाको पलङ्गमा अनुहार देखाई सिरकले छोपेको अवस्थामा निजका घरधनी तारानाथ अर्याल तथा जाहेरवालाका भाइ प्रशान्त कुमार शाहीसमेतले भेटी मृतकले सास नफेरेको जस्तो लागी तत्काल प्रहरीलाई जानकारी गराएबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । लास जाँच मुचुल्का हेर्दा लासलाई सिरकले ओडाएको देखिएको र सिरक उठाई हेर्दा मृतक लासको घाँटीनिर ५x२ लम्बाइ चौडाइको कलेजी रंगको सल र सिरानी निर समिज रहेको, गेडी माला चुँडिएको अवस्थामा रहेको, चुराको टुक्रा रहेको, सेतो मोजा रहेको, पलङ नजिकै नाकको फुलीको पेच रहेको, लासको तल्लो ओठमा घाउ रहेको, घाँटीको दायाँ साइडमा ६ इन्चको लामा १ से.मी चौडाइको निलडाम रहेको भन्ने देखिन्छ । शव परीक्षण प्रतिवेदनमा Relevant Details भन्ने महलमा "...…. The deceased was allegedly been killed by Bishnu maya malla inside her rented room….." भन्ने उल्लेख भएको, Injuries को महलमा Ligature mark present around the neck भन्ने रहेको, reddish contusion right side of lower lip, neck, right head right elbow जस्ता कुराहरू उल्लेख भएको पाइएकोबाट मृतक अजिता मल्लमाथि कुटपिट भई सलले घाँटी कसी श्वास फेर्न गाह्रो भई सोही कारणले निजको मृत्यु भएको तथ्य पुष्टि भएको देखिँदा कर्तव्यबाट नै अजिता मल्लको मृत्यु भएको देखिन आउँछ ।
३. प्रतिवादी विष्णुमाया मल्ल शाहीउपर मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिमको कसुरमा सोही दफाको उपदफा (२) बमोजिम सजाय हुन अभियोग माग दाबी रहेको देखिन्छ । उक्त दफामा रहेको कानूनी व्यवस्थालाई हेर्दा "दफा १७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुनेः (१) कसैले कसैको नियतपूर्वक ज्यान मार्ने वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरूप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिने छ । (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ ।" भन्ने व्यवस्था रहेको देखियो । उक्त अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतले भने प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ बमोजिमको कसुर गरेको भनी निजलाई जन्म कैदको सजाय हुनेमा जन्म कैदको सजाय गर्दा चर्को पर्ने भनी आधार र कारणसहित १२ वर्ष कैद सजाय गर्न उचित हुने रायसमेत प्रस्ताव गरेको देखिन्छ । यी प्रतिवादीले सो फैसलाउपर चित्त नबुझाई पुनरावेदक प्रतिवादी लामो समयदेखि डिप्रेसनको बिरामी रहेको तथा उल्लिखित वारदातमा मृतकले नै मलाई सलले पासो कसी मार्न लाग्दा मैले आफ्नो ज्यानको प्रतिरक्षा गर्दा अचानक घटना घट्न गएको भनी निजी रक्षाको जिकिर लिई पुनरावेदन दायर गरेको देखिन्छ । निजको उक्त पुनरावेदनमा उच्च अदालत पाटनले यी प्रतिवादीलाई अभियोग दाबी र सुरूको फैसलाभन्दा फरक दफा १७९ बमोजिम प्रस्तुत वारदातलाई आवेश प्रेरित हत्याको संज्ञा दिई सोही संहिताको दफा १७९ को उपदफा (१) को देहाय (क) बमोजिम दश वर्ष कैदको सजाय हुने गरी फैसला गरेको देखिन्छ । यी प्रतिवादी विष्णुमाया मल्लले यस अदालतमा दायर गरेको पुनरावेदनमा समेत निजी रक्षाको लागि भए गरेको कार्यलाई आवेश प्रेरित हत्याको संज्ञा दिई उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने जिकिर लिएको देखिन्छ । परिणामतः मृतक अजिता मल्लको मृत्यु प्रतिवादी विष्णुमाया मल्ल शाहीको कर्तव्यबाट भएकोमा विवाद नदेखिए तापनि मृतक अजिता मल्लको हत्या मनसाय प्रेरित हत्या हो ? वा उच्च अदालत पाटनबाट ठहर भएबमोजिम आवेश प्रेरित हत्या हो ? वा पुनरावेदक प्रतिवादी विष्णुमाया मल्ल शाहीको पुनरावेदन जिकिरबमोजिम निजी रक्षाको क्रममा भएको हत्या हो ? भन्ने सम्बन्धमा निर्क्योल गर्नुपर्ने देखिन आयो ।
४. प्रतिवादी विष्णुमाया मल्ल शाही डिप्रेसनको रोगी भएको र सो कारणले घटना घटेको भन्नेसमेत पुनरावेदन जिकिर रहेकोमा सोतर्फ विचार गर्दा, स्वयम् जाहेरवाला धर्मराज शाहीले अदालतमा उपस्थित भई बकपत्र गर्दा यी प्रतिवादी विष्णुमाया मल्ललाई भवितव्य घटनामा सजाय हुनुपर्ने भन्ने उल्लेख गरेको देखिन्छ । यी प्रतिवादीले मौकामा तथा सुरू अदालतसमक्ष बयान गर्दा कसुर गर्दाको अवस्थामा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी डिप्रेसनको रोगबाट ग्रस्त भएको भनी जिकिर लिन सकेको देखिँदैन । यी प्रतिवादीले मौकामा गरेको बयान र अदालतमा उपस्थित भई बयान गर्दा पनि घटनाक्रमलाई सिलसिलेवार र क्रमबद्ध रूपमा उल्लेख गरी वर्णन गरेको अवस्था, अपराध सम्पन्न गर्न अपनाएका तरिका (modus operandi), अपराध सम्पन्न भएपछि फर्किएको र बाटामा पुगेपछि अजिता मल्लसँगबाट खोसेर आफूले दिएको मोबाइल रिता के.सी. सँग लिई आफू बस्ने डेरामा गएको स्थिति, निजको मृत्यु भइसकेको भन्ने थाहा भएपछि मोबाइल आफूसँग नराखी फालेको जस्ता तथ्यहरूले प्रतिवादीले सिलसिलेवार रूपमा सावधानीपूर्वक कार्य गरेको देखिएको छ । प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्था थियो भन्ने जिकिर लिएको पनि देखिँदैन । यी प्रतिवादीले डिप्रेसनको औषधी सेवन गर्ने गरेको देखिएको छ । तर डिप्रेसनको औषधी सेवन गर्दैमा स्वतः आफूले गरेको कामको प्रकृति र परिणाम पटक्कै थाह नपाउने भन्ने पनि हुँदैन । साथै, यी प्रतिवादीले कामको परिणाम थाहा नपाएको अवस्था भए अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा पनि घटना घटाउनुको कारणलगायतका यावत् विषयमा यसरी विस्तृत र सिलसिलेवार रूपमा वर्णन गर्न सक्ने अवस्था रहने देखिँदैन । यस तथ्यबाट पनि यी प्रतिवादीले कसुर गर्दाको अवस्थामा डिप्रेसनको औषधी सेवन गरेको कारणले कामको प्रकृति र परिणाम थाहा थिएन भन्न मिल्ने अवस्था देखिएन । अर्कोतर्फ डिप्रेसनको औषधि सेवन गर्नुले मात्रै कसुरबाट उन्मुक्ति हुन सक्ने पनि होइन । यसै सन्दर्भमा, यस अदालतको पूर्ण इजलासबाट "मानसिक रोगी भए पनि अभियुक्त / प्रतिवादी होसमा रहेको वा भएको घटनाको बारेमा बताउन सक्ने वा होसपूर्वक बयान दिनसक्ने वा आफूले घटाएको घटना गलत भनेर बुझ्न सक्ने अवस्थामा रहेको वा घटना घटाई त्यसको परिणाम थाहा पाई सोबाट बच्ने होसपूर्वकको प्रयास गरेको स्थितिमा यस्तो अवस्थालाई कानूनको प्रयोजनका लागि मानसिक अस्वस्थता नमानिने र अपराधबाट उन्मुक्ति दिन नसकिने ।" भनी अभिषेक कोइराला वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०७९ भाग ६४ अङ्क ९ नि.नं. १०९३१) सिद्धान्त प्रतिपादन भएको देखियो । उपर्युक्त नजिर सिद्धान्तसमेतको आधारमा प्रस्तुत मुद्दामा प्रतिवादीले मौकामा र अदालतमा बयान गर्दाको अवस्थासम्म पनि डिप्रेसनको रोगी भएको कुराको जिकिर नलिनु, प्रतिवादीले मृतक अजिता मल्लको मृत्यु भएको थाहा जानकारी पाएपश्चात् निजको मोबाइल फोन नष्ट गर्ने कार्य गर्नु र जाहेरवालाको बकपत्रको क्रममा मात्रै सो कुरा उल्लेख हुनुबाट पनि घटना घटित हुँदाको अवस्थामा यी प्रतिवादीलाई आफूले गरेको कामको प्रकृति र परिणाम थाहा हुने अवस्थाको विद्यमानता नरहेको मानी कसुरमा सजाय हुनुपर्ने होइन भन्ने कथन जिकिरसँग सहमत हुन सकिएन ।
५. अब, प्रस्तुत वारदातमा यी प्रतिवादीले निजी रक्षाको लागि गरेको कार्यबाट मृतकको मृत्यु भएको हो, होइन भन्ने अर्को प्रश्नतर्फ हेर्दा, सिद्धान्ततः कुनै प्रतिवादीले निजी रक्षाको जिकिर लिन्छ भने उक्त वारदातमा मुख्य चार तत्त्वहरू रहेको हुनुपर्दछ; ती तत्त्वहरूमा प्रतिवादीउपर तत्काल खतरा (immediate threat), प्रतिवादी माथि नै हानि हुन सक्ने डर उत्पन्न हुने पर्याप्त कारण (reasonable fear of harm), प्रतिवादीले आफ्नो जिउ धनको रक्षाको निम्ति अनुपातिक प्रतिक्रिया लिएको हुनुपर्ने (proportional response) र आफ्नो जिउँ धनको सुरक्षाको लागि अन्य विधि उपलब्ध नभएको अवस्था (no other recourse) पर्दछन् । प्रस्तुत मुद्दामा मृतक अजिता मल्ल र यी प्रतिवादीबिच झगडा हुँदा तथा सलले घाँटी कसाकस हुँदा सहप्रतिवादी भगवती मल्ल वारदात घटेको कोठाको बाहिर नै रहेको र सो कुराको जानकारी यी प्रतिवादीलाई रहेको देखिन्छ । यस अवस्थामा यी प्रतिवादी विष्णुमाया मल्ल शाहीमाथि बेवास्ता गर्न नसकिने खतरा (immediate threat) नै आई परेको भए सहयोगको लागि गुहार गर्दा प्रतिवादी भगवती मल्ल तत्काल वारदातस्थलमा आई यी प्रतिवादीलाई सहयोग गर्न सक्ने स्थिति देखिन्छ । अर्कातर्फ, यी प्रतिवादीमाथि हानि हुन सक्ने पर्याप्त कारण (reasonable fear of harm) थियो भनी मान्ने हो भने पनि यी प्रतिवादीले मृतकको घर कोठा पत्ता लगाई अन्य प्रतिवादीहरूलाई घर कोठा खोज्ने बहाना बनाई सँगसाथ लिई गएबाट यी प्रतिवादीले निजमाथि हानि हुन सक्ने अवस्थाको पूर्वानुमान गरी तयारीपूर्ण रूपमा मृतकको घर कोठामा गएको देखिन्छ । त्यसै गरी, यी प्रतिवादीले अनुपातिक प्रतिक्रिया (proportional response) देखाएको हो, होइन भनी दृष्टिगत गर्दा, कुनै महिलाको शारिरीक वनावटबाट नै बालबच्चालाई जन्म दिइसकेको अवस्थाकी महिला यी प्रतिवादीले मृतक अजिता मल्ल सात महिनाको गर्भावस्थामा रहेको सहजै अनुमान गर्न सक्ने हुन्छ । त्यसरी गर्भवती अवस्थामा रहेकी मृतकले यी प्रतिवादीलाई गाली गलौज गरी सलले घाँटी कसेकोमा यी प्रतिवादीले भने गर्भावस्थामा रहेकी प्रतिवादीलाई पटकपटक पेटमा लात्तीले प्रहार गर्दा मृतक अजिता मल्ल खाटमा लडी यी प्रतिवादीको घाँटी कसेको सल छाडेपश्चात् पनि यी प्रतिवादीले मृतकलाई बेहोस नहुन्जेल सलले घाँटी कसेको भन्ने घटना विवरणबाट देखिन्छ । यी प्रतिवादीको मौकाको बयानअनुसार मृतकको मोबाइल मात्र हात पार्ने मनसाय रहेको भन्ने कथनलाई सत्य मान्ने हो भने मृतक र यी प्रतिवादीबिच सल कसाकस हुनु अगावै यी प्रतिवादीले मृतकको मोबाइल प्राप्त गरिसकेको अवस्थामा देखिन्छ । मृतक बेडमा लडेपश्चात् निजलाई सोही अवस्थामा छाडी वारदातस्थलबाट जानुपर्ने हुन्छ । तर यी प्रतिवादीले मृतकको गर्भावस्थाको पेटमा पटकपटक लात्ती प्रहार गरी सो लात्तीका कारण पेट दुखेर मृतक बेडमा लडेपछि पनि यी प्रतिवादीले मृतकलाई बेहोस नहुन्जेल सलले घाँटी कसेको भन्ने देखिन्छ । मृतकको मृत्युको कारण नै ligature strangulation देखिएबाट यी प्रतिवादीले मृतकको श्वास नगइन्जेलसम्म सलले घाँटी कसेको प्रस्ट हुन्छ । यस्तो परिस्थितिलाई यी प्रतिवादीले समानुपातिक प्रतिक्रिया (proportional response) देखाएको भनी मान्न मिल्ने देखिएन । अन्त्यमा, यी प्रतिवादीको मनसाय मोबाइल हात पार्नेसम्मको मात्र थियो भन्ने मान्ने हो भने पनि यी प्रतिवादीले रिता के.सी. लाई मोबाइल दिई रिता के.सी. वारदात स्थलबाट बाहिर गएपश्चात् यी प्रतिवादीसमेत वारदात स्थलबाट निस्केको भए यस्तो गम्भीर वारदात घट्ने अवस्था देखिँदैन । साथै यी प्रतिवादीको सँग साथ आएकी सहप्रतिवादी भगवती मल्ल वारदातस्थलको बाहिर रही यी प्रतिवादी र मृतकबिचको वादविवादको आवाज सुनिने दुरीमा रहेको देखिएकाले यी प्रतिवादीले निजलाई सहयोगार्थ बोलाउन सक्ने नै अवस्था देखिन्छ । यी परिस्थितिको अलावा, मृतकलाई पटकपटक पेटमा लात्ती प्रहार भई सो पीडाले निज बेडमा लडी यी प्रतिवादीको घाँटी कसेको सलसमेत छाडी सकेको अवस्थामा यी प्रतिवादी सो वारदातस्थलबाट निस्की जानुपर्नेमा त्यस्तो गरेको देखिँदैन । यी प्रतिवादीसँग आफ्नो जिउ धन बचाउन अन्य केही विधि वा उपाय उपलब्ध थिएन (no other recourse) भन्ने अवस्था पनि प्रस्ट हुन सकेको छैन । तसर्थ, प्रस्तुत वारदातमा निजी रक्षाको जिकिर लिनको निमित्त आवश्यक पर्ने तत्त्वहरूको अनुपस्थितिमा यी प्रतिवादी विष्णुमाया मल्ल शाहीको निजी रक्षाको निम्ति गरेको कार्यबाट घटना घटेकाले अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. जहाँसम्म यी प्रतिवादीको कोठा खोज्न जाँदा एक्कासि निज मृतक बसेको घरमा पुगेको र सोही क्रममा मृतकसँग झगडा हुँदा यी प्रतिवादीलाई मृतकले अपशब्द प्रयोग गरी गाली गलौज गरी तत्काल गम्भीर उत्तेजनामा आउने परिस्थिति सिर्जना भई वारदात घटित हुन पुगेको भन्ने जिकिर छ, सोतर्फ विचार गर्दा जाहेरवाला धर्मराज शाही र मृतकबिच अनैतिक सम्बन्ध रहेको कुरा यी प्रतिवादीले शङ्का गरी मृतक काठमाडौंमा नै बसेको भन्ने जानकारी पाई यी प्रतिवादी मृतक अजिता मल्लको डेराको खोजीमा रहेको देखिएको छ । यी प्रतिवादीको भित्री मनसाय आफूलाई डेरा (फ्ल्याट) खोज्ने कार्य मात्रै नभई मूल रूपमा मृतक अजिता मल्ल बस्ने स्थानको खोजी गर्नमा केन्द्रित भएको भन्ने मौकाको बयान बेहोराबाटै देखिएको छ । यस्तो अवस्थामा यी प्रतिवादी आफूलाई डेरा (फ्ल्याट) खोज्न गएको र संयोगले सो घरमा मृतक अजिता मल्ल बस्ने गरेको देखिएको भन्ने कुरामा पूर्णतः विश्वस्त हुने अवस्था देखिँदैन । यी प्रतिवादीले सोधखोज गरी मृतक बस्ने घर पत्ता लगाई अन्य प्रतिवादीहरूलाई कोठा खोज्न लगाई कोठा खोज्ने बहानामा सो घरमा पुगेको र केही समस्या आइपरेमा सामना गर्न सकिने गरी अन्य प्रतिवादीलाई आफ्नो साथमा लिएर गएको स्पष्ट देखिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७९ को उपदफा (१) मा "दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रूपैयाँँदेखि एक लाख पचास हजार रूपैयाँँसम्म जरिवाना हुने छः– (क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसुरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा, तर देहायको अवस्थामा यो खण्ड लागु हुने छैनः– (१) कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसुरदार उत्तेजित हुन गएमा, (२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसुरदार स्वयम्ले उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तो व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा, (ख) निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको विरूद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेकोमा, (ग) एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा, तर यस खण्डबमोजिमको काम गर्दा कसुरदारले अनुचित लाभ हासिल गरेको वा क्रूर वा अस्वाभाविक तवरबाट काम गरेको हुनु हुँदैन ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यस अवस्थामा यी प्रतिवादी र मृतक अजिता मल्लबिचको विवादबाट सुरू भएको झगडाबाट हत्यासम्मको वारदात घट्न पुगेको देखिँदा सो हत्यालाई आवेश प्रेरित हत्याको संज्ञा दिन मिल्छ, मिल्दैन भनी दृष्टिगत गर्नुपर्ने हुन्छ । कुनै हत्यालाई आवेश प्ररित हत्याको संज्ञा दिन उक्त वारदातमा प्रतिवादीलाई अत्यन्त तीव्र आवेश वा उक्साहट भएको हुनुपर्ने (sudden passion / provocation) र अनुपातिक प्रतिशोध (proportionate retaliation) हुनुपर्दछ भन्ने सामान्य सिद्धान्त हो । यसका साथै, यस अदालतको संयुक्त इजलासबाट "आवेशप्रेरित हत्या (homicide by provocation) ठहर्नका लागि मृतकका कार्यले अभियुक्त आकस्मिकरूपमा उत्तेजित हुनुपर्दछ र रिस थाम्न नसकी अभियुक्तले केही गर्दा मानिस मरेको हुनुपर्ने । मृतकले उठाएको उत्तेजनाको मात्रा र अभियुक्तले व्यक्त गरेको प्रतिक्रिया विचारणीय हुने, अर्थात् आवेश उठाउने कार्य र प्रतिक्रियाबिच समानुपातिक सम्बन्ध हुनुपर्ने (retaliation must be proportionate to the provocation) । अर्को पक्षबाट सामान्य उत्तेजना भएकोमा अभियुक्त रिसाई अति उग्र प्रतिक्रिया जनाएमा पनि कानूनले त्यस्तो कार्यलाई छुट नदिने । पीडित पक्षबाट भएको अति सामान्य उत्तेजक कार्यबाट पनि यदि कोही संयम गुम्ने (loss of control) किसिमबाट उत्तेजित भएको दावा लिन्छ भने कानूनले उक्त दावा स्वीकार गर्न नसक्ने ।" भनी नेपाल सरकार वि. बद्रीप्रसाद तिमल्सिना भएको कर्तव्य ज्यान र जबरजस्ती चोरी मुद्दामा (ने.का.प. २०७९ भाग ६४ अङ्क ५ नि.नं. १०८७१) नजिरसमेत प्रतिपादन भएको देखियो ।
७. उल्लिखित नजिर तथा आवेश प्रेरित हत्याको सामान्य सिद्धान्त तथा उक्त दफा १७९ को परिधिमा रही प्रस्तुत मुद्दाको तथ्य र प्रमाणलाई विश्लेषण गर्दा, यी प्रतिवादी र मृतकबिचमा वादविवाद भएको देखिन्छ । सोही क्रममा मृतकले यी प्रतिवादीले लगाएको सलले घाँटी कसेकाले यी प्रतिवादीले समेत निजको घाँटी सल कस्ने प्रयास गर्दा मृतकले निजको औंला टोकेकाले मृतकको पेटमा लात्तीले प्रहार गरेपश्चात् पुन: प्रतिवादी र मृतकबिच सल कसाकस गरेको भन्ने देखिन्छ । यसरी दुवैबिच सल कसाकस भएकाले यी प्रतिवादीले पुन: मृतकलाई पेटमा लात्ती हानेकाले मृतकलाई पीडा भई खाटमा लडेको भन्ने देखिन्छ । यसरी असह्य पीडाका कारण छटपटाउँदै गरेकी पीडितलाई यी प्रतिवादीले श्वास नगईन्जेल सलले घाँटी कसेको अवस्था घटना परिस्थितिले इन्कित गरेको छ । अब, मृतकले सुरूमा प्रतिवादीको सलले घाँटी कसेका कारण यी प्रतिवादीसमेत बल प्रयोग गर्न बाध्य भएको भन्ने कथनलाई हेर्ने हो भने, मृतकले गरेको सलले घाँटी कस्ने कार्यको प्रतिरक्षाको विरूद्धमा प्रारम्भिक रूपमा यी प्रतिवादीले पनि सोही अनुपातको मृतकको सलले निजको घाँटी कसेको मान्नुपर्दछ । यस अवस्थामा यी प्रतिवादी र मृतकबिचमा भएको वादविवादको विषयवस्तु कुनै सामान्य समझको व्यक्तिलाई (reasonable man) लाई कुनै अर्को व्यक्तिको ज्यान मर्नेसम्मको कार्य गर्न उक्साउने वा आवेशमा ल्याउने (sudden passion/provocation) सम्मको देखिँदैन । प्रस्तुत वारदात यस अवस्थामा मात्रै सीमित रहेको हुन्थ्यो भने यी प्रतिवादीउपर मृतकले नै सुरूमा ज्यान मर्न सक्नेसम्मको कार्य गरेकाले यी प्रतिवादीले पनि सोही अनुपातको कार्य गरेको (proportionate retaliation) देखिँदा आवेश प्रेरित हत्या रहेछ कि भनी मान्न सकिने अवस्था रहन्थ्यो । तर प्रस्तुत वारदातमा यी प्रतिवादी र मृतकबिच सल कसाकसपछि जे जस्तो घटना घट्न पुगेको छ, त्यसलाई आवेश प्रेरित हत्याको संज्ञा दिन मिल्ने देखिँदैन । मृतक र प्रतिवादीबिचमा भएको वारदातलाई हेर्ने हो भने, सात महिनाको गर्भावस्थाकी मृतकलाई प्रतिवादीले पटकपटक पेटमा लात्ती हानेको र प्रतिवादीले प्रहार गरेको लात्तीको पीडामा परी खाटमा लडी प्रतिवादीको घाँटी कसेको सलसमेत मृतकले छाडी सकेको अवस्थामा यी प्रतिवादीले मृतक बेहोस नभएसम्म सलले घाँटी कसिरहेको भन्ने निजको तत्काल मृत्यु भएको अवस्थाले पुष्टि गर्दछ । यसरी गर्भावस्थामा रहेको व्यक्तिको गर्भाशय सबैभन्दा संवेदनशिल अंग रहने भएकाले सो गर्भाशयमा पटकपटक प्रहार गर्नुलाई सामान्य कुटपिट वा हात हालाहालको अवस्था रहेको मान्न मिल्दैन । यसका अतिरिक्त गर्भाशयमा परेको पीडा असह्य भई खाटमा लडेकी मृतकलाई यी प्रतिवादीले श्वास नगईन्जेल सलले घाँटी कसेको देखिएबाट यी प्रतिवादीले अनुपातिक प्रतिशोध (proportionate retaliation) लिएको मान्न मिल्ने देखिँदैन । यी प्रतिवादीको प्रारम्भिक चरणमा मृतकलाई मार्ने मनसाय रहेको थिएन भनी मान्ने हो भने पनि गर्भाशयको पीडा असह्य भई खाटमा लडेकी मृतकलाई सोही अवस्थामा छाडी यी प्रतिवादी वारदातस्थलबाट जान सक्ने अवस्था रहँदारहँदै पनि यी प्रतिवादीले मृतकलाई सलले पुन: घाँटी कस्ने कार्य गरी मृतकको मृत्युसमेत सोही कार्यबाट भएको देखिँदा यी प्रतिवादी विष्णुमाया मल्ल शाहीको मृतक अजिता मल्ललाई मार्ने मनसाय रहेको पुष्टि हुन आउँछ । उल्लिखित परिप्रेक्ष्यमा यी प्रतिवादीलाई मृतकले गाली गलौज गरी सर्वप्रथम सलले घाँटी कसेको देखिएकाले सोको आवेशमा आई प्रतिवादीबाट भएको कार्यबाट मृतकको मृत्यु भएको भन्ने आधार लिई उच्च अदालत पाटनबाट मुलुकी अपराध संहिता, २०७४ को दफा १७९ को कसुर ठहर गरी भएको फैसलासँग सहमत हुन सकिएन ।
८. प्रस्तुत विवादमा प्रतिवादी विष्णुमाया मल्ल शाहीको कार्यबाट मृतक अजिता मल्लको मृत्यु भएको पुष्टि हुन आएकोमा उक्त कार्य अभियोग दाबीबमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिमको कसुर हो वा सुरू जिल्ला अदालतले ठहर गरेबमोजिमको मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ बमोजिमको कसुर हो भन्ने सम्बन्धमा समेत विवेचना गर्नुपर्ने अवस्था छ । यी प्रतिवादी विष्णुमाया मल्ल शाही डेरा (फ्ल्याट) खोज्न भनी मृतक अजिता मल्लसँग भएको मोवाइल हात पार्ने प्रयोजनको लागि निज बस्ने कोठामा गई झगडा विवाद हुँदा आपसमा हानाहान गरी घाँटीमा सल कसाकस भएको र आफूले निजको पेटमा लात्तीले हानेको कारणबाट निज विस्तारामा लडेकी र निजलाई सिरक ओडाई दिएर हिँडेकी हुँ भनी मृतक अजिता मल्ललाई आफूले हात लात्तीसमेतले हानी सलले निजको घाँटीमा कसेको कुरा मौकामा बयान गर्दा र अदालतमा उपस्थित भई बयान गर्दा पनि स्वीकार गरेको देखिन्छ । सहप्रतिवादीहरू रिता के.सी. र भगवती मल्लले पनि यी प्रतिवादी विष्णुमाया मल्ल शाही मृतक अजिता मल्लको डेरा कोठामा गएर झगडा गरेको र निजको मोबाइल प्रतिवादी रिता के.सी.लाई दिई बाहिर पठाएको भनी उल्लेख गरेका अवस्था छ । मृतकको घाँटीनेर सल रहेको, विस्तारामा गेडी माला चुँडिएको अवस्थामा रहेको, चुराको रातो टुक्रा, नाकको फुलीको पेचसमेत रहेको घटनास्थल मुचुल्काबाट देखिएको र घटनास्थल मुचुल्कामा उल्लिखित छरपष्ट सामान आफ्नो मृतक श्रीमती अजिता मल्लको हो भनी मृतकका पति जाहेरवाला धर्मराज शाहीले गरिदिएको सनाखत कागज, मृत्युको कारणमा Ligature Strangulation भन्ने उल्लेख भएकोबाट यी प्रतिवादीको बयान बेहोरालाई थप पुष्टि गरेको छ ।
९. फौजदारी कानूनको सामान्य सिद्धान्तबमोजिम कुनै कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिमको कसुर कायम हुन सर्वप्रथम अपराधका सबै चरणहरू पूरा भएको हुनुपर्दछ । अपराधका चरणहरूमा संकल्प (intention), तयारी (preparation), प्रयास (attempt) र सम्पन्नता (commission) पर्दछन् । प्रस्तुत मुद्दामा यी प्रतिवादीको बयान बेहोराबाट प्रस्तुत मुद्दाका जाहेरवाला धर्मराज शाही र मृतकबिच अनैनिक सम्बन्ध रहेको कुरा शङ्का गरी मृतक बस्ने घर पत्ता लगाई अन्य प्रतिवादीहरूसमेतलाई सँगसाथमा लिई कोठा खोज्ने बहानामा सो घरमा पुगेको देखिन्छ । यी प्रतिवादी विष्णुमाया मल्ल शाही र मृतक अजिता मल्लबिच मोबाइलको विषयमा झगडा विवाद हुँदा आपसमा हानाहान गर्दा हात लात्तीसमेतले हानी सलले निजको घाँटीमा कसेको कुरा स्वीकार गरेको देखिन्छ । निजको बयान बेहोराबाट यी प्रतिवादीको प्रारम्भिक मनसाय मृतक अजिता मल्ललाई भेटी निजको मोबाइल हात पारी सोमा रहेको जाहेरवाला श्रीमान् र मृतकबिचको अनैतिक सम्बन्धको प्रमाणहरू प्राप्त गर्ने रहेको देखिन आउँछ । सो देखिएबाट यी प्रतिवादी विष्णुमाया मल्लको मृतक अजिता मल्ललाई मार्ने मनसायसहित योजना बनाई कुनै घातक हतियार लिई वारदातस्थलमा गएको भन्ने देखिँदैन । यसका अतिरिक्त मृतकलाई मार्ने योजना बनाएको वा सो कार्य गर्नको लागि कुनै किसिमको तयारी गरेको भन्ने पनि देखिन आउँदैन ।
१०. मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ मा "(१) कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसुरदारलाई जन्मकैदको सजाय हुने छ ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाको रोहमा मृतक र प्रतिवादीबिचमा भएको वारदातलाई हेर्ने हो भने, सात महिनाको गर्भावस्थाकी मृतकलाई प्रतिवादीले पटकपटक पेटमा लात्ती हानेको र प्रतिवादीले प्रहार गरेको लात्तीको पीडामा परी खाटमा लडी मृतकले प्रतिवादीको घाँटी कसेको सल छाडी सकेको अवस्थामा यी प्रतिवादीले मृतक बेहोस नभएसम्म सलले घाँटी कसिरहेको देखिन्छ । यसरी गर्भावस्थामा रहेको व्यक्तिको गर्भाशय सबैभन्दा संवेदनशिल अंग रहने भएकाले सो गर्भाशयमा पटकपटक प्रहार गर्नुलाई सामान्य कुटपिट वा हातहाला हालको अवस्था रहेको मान्न मिल्दैन । यसका अतिरिक्त गर्भाशयमा परेको पीडा असह्य भई खाटमा लडेकी मृतकलाई यी प्रतिवादीले श्वास नगईन्जेल सलले घाँटी कसेको र मृतकको मृत्युसमेत सोही कार्यबाट भएको देखिँदा परिस्थितिजन्य प्रमाणको घटनाक्रम (chain of causation) बाट यी प्रतिवादी विष्णुमाया मल्ल शाहीले नियतपूर्वक नै अजिता मल्लको हत्या नगरेको भए पनि निजहरूबिच झगडा भइरहेको अवस्थामा निजको ज्यान जान सक्ने सात महिनाको बच्चा रहेको पेटमा लात्तीले हान्ने र लामो समयसम्म सलले घाँटी कस्ने गम्भीर कार्य गरेको पुष्टि भएकाले यी प्रतिवादीले मृतकको ज्यान जान सक्छ भन्ने जानीजानी त्यस्तो कार्य गरेको देखिँदा निजको उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ द्वारा परिभाषित कसुर देखिँदा सुरू काठमाडौं जिल्ला अदालतले निकालेको न्यायिक निष्कर्ष मनासिब देखियो ।
११. अब, अजिता मल्ललाई कर्तव्य गरी मार्ने कसुरमा अन्य प्रतिवादीहरूको के कस्तो संलग्नता रहेछ भनी प्रतिवादी गान्दिपराज मल्लको भूमिका तथा संलग्नताको सम्बन्धमा विचार गर्दा, निज प्रतिवादीलाई मुख्य अभियुक्त (Principle offender) को भूमिकामा रहेको भनी मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिमको कसुरमा सोही दफाको उपदफा (२) बमोजिम सजाय हुन अभियोग दाबी लिएको देखियो । प्रतिवादी गान्दिपराज मल्लले अनुसन्धानको क्रममा गरेको बयानमा प्रतिवादी विष्णुमाया मल्लले बोलाएको कारण साथी रिता के.सीसमेतलाई लिई प्रतिवादी विष्णुमाया मल्लको कोठामा गएको, निजहरू पुगेपछि प्रतिवादी विष्णुमाया मल्ल शाही त्यो केटीको कोठा हेरी आउँछु भनी निस्किएको, पछि प्रतिवादी विष्णुमाया मल्लले भनेबमोजिम चारै जना कोठा खोज्न भनी जाने क्रममा मलाईबिच बाटोमा छाडी अन्य प्रतिवादीहरू एक अन्जान व्यक्तिको साथ अगाडि गएको, निजहरू फर्किएपछि चिया खाजा खाई प्रतिवादी विष्णुमाया मल्लले टोपी माक्स खरिद गरी लगाउन लगाई, प्रतिवादी विष्णुमाया मल्लले पठाएको कारण रिता के.सी.को साथमा वारदात भएको घरमा गई कोठा हेरी केही समयपछि घर बाहिर निस्किँदा प्रतिवादीहरू विष्णुमाया मल्ल शाही र भगवती मल्ललाई आत्तिँदै गइरहेको देखी निजहरूले भनेबमोजिम ट्याक्सी मगाई सो स्थानबाट आ-आफ्नो घर कोठा फर्किएको हो भन्ने बेहोरा उल्लेख गरेको पाइयो । अन्य सहप्रतिवादीहरू विष्णुमाया मल्ल, रिता के.सी. र भगवती मल्लले पनि मौकाको बयान तथा अदालतमा गरेको बयानमा यी प्रतिवादी गान्दिपराज मल्लको कसुरजन्य कार्यमा प्रत्यक्ष संलग्नता भएको भनेको अवस्था देखिँदैन । यी प्रतिवादीसँगै फ्ल्याटको बारेमा कुरा गर्ने घरबेटीको छोरी समिक्षा अर्यालले अदालतमा उपस्थित भई बकपत्र गर्दा यी प्रतिवादी गान्दिपराज मल्लले कोठाको विषयमा विविध कुराहरू सोध्ने, किचेन र वाथरूममा पानी आउने नआउने जाँचबुझ गर्नुभएको र कोठा देखाइसकेपछि गान्दिपराज मल्ल र रिता के.सी गेटबाट बाहिर जानुभयो अनि मैले गेट लगाएको हुँ भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ ।
१२. मिसिल संलग्न उल्लिखित तथ्यबाट यी प्रतिवादी गान्दिपराज मल्लले आफ्नी फुपू नाता पर्ने प्रतिवादी विष्णुमाया मल्लले बोलाएकोले निजको कोठामा गएको र त्यहाँबाट निजले भनेबमोजिम डेरा खोज्ने प्रयोजनको लागि घटना भएको घरको भुईंतलासम्म गएको र भुईंतलामा रहेको भाडामा लिने भनिएको फ्ल्याटका सम्बन्धमा घरबेटीको छोरीसँग कुरा गरी उक्त घरबाट बाहिर निस्किएको सम्म अवस्था देखिन्छ । यी प्रतिवादी गान्दिपराज मल्ल वारदात भएको घरको माथिल्लो तला(छत)मा नगएको, मृतकसँग भेट भएको पनि नदेखिएको, मृतकसँग प्रतिवादी विष्णुमाया मल्ल शाहीको सम्बन्ध वा मृतक गर्भवती रहेको वा मृतक सो घरको माथिल्लो तलाको कोठामा बस्ने गरेको भन्नेसमेतका कुनै पनि कुराको बारेमा निजलाई जानकारी रहेको भन्ने देखिँदैन । यी प्रतिवादीको आरोपित कसुरमा संलग्नता पुष्टि गर्न वारदातस्थलको रूपमा देखिएको मृतक अजिता मल्ल बस्ने गरेको सो घरको माथिल्लो तलाको छत तथा मृतकको कोठासम्म पुगेको, वारदातका बारेमा अन्य प्रतिवादीहरूसँग मतसल्लाहमा बसेको वा सो घरमा कोठा खोज्ने निहुँमा गई कसुरजन्य कुनै कार्य गरेको भन्ने कुनै पनि ठोस प्रमाण अभियोजन पक्षबाट प्रस्तुत हुन सकेको अवस्था छैन । यसकारण यी प्रतिवादी गान्दिपराज मल्लको कसुरजन्य कार्यको मुख्य अभियुक्त (Principle Offender) मा हुनुपर्ने दुवै तत्त्व ज्यान मार्ने मनसाय (mens rea) रहेको वा निजले मृतकको ज्यान मार्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएको वा निजले मृतकको ज्यान मार्ने अन्य कुनै काम गरे गराएको (actus reus) पनि पुष्टि हुन सकेको देखिँदैन ।
१३. यी प्रतिवादी गान्दिपराज मल्लले कसुर गरेको कुरामा इन्कार रही बयान गरेको, जाहेरवाला तथा अन्य सहप्रतिवादीहरूले कसुरमा निजको संलग्नता रहेको भनी स्पष्टसँग उल्लेख नगरेका, यी प्रतिवादीले अन्य प्रतिवादीहरूसँग कसुरको सम्बन्धमा मतसल्लाह गरेको वा कसुर गर्नमा कुनै तरहले सघाउ पुर्याएको नदेखिएको, यी प्रतिवादीले वारदात स्थलको घरमा रहेकी घरबेटीको छोरीसँग मात्रै कुरा गरी वारदातस्थलमा नै नगएको अवस्थामा प्रतिवादी विष्णुमाया मल्लको अनुरोधमा कोठा खोज्न सँगै गएको भन्ने मात्रै आधारमा यी प्रतिवादी गान्दिपराज मल्ल कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा कसुरदार रहेछन भनी भन्न मिल्ने अवस्था देखिएन । अतः प्रतिवादी गान्दिपराज मल्लले मृतकको ज्यान मार्ने वा मार्न लगाउने कार्य गरेको वा त्यस्तो कसुरजन्य कार्यमा कुनै किसिमले मद्दत गरेको पुष्टि हुने ठोस प्रमाण पेस हुन नआएकोले निजले अभियोग दाबीबाट सफाइ पाउने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेकै देखियो । निजको हकमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
१४. अब, प्रतिवादी भगवती मल्लको हकमा विचार गर्दा, प्रतिवादी भगवती मल्लउपर समेत मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) को कसुर गरेको आरोपमा अभियोग पत्र दर्ता भएको देखिन्छ । यी प्रतिवादी भगवती मल्लले मौकामा बयान गर्दा र अदालतमा उपस्थित भई बयान गर्दा पनि आफूले अभियोग दाबीअनुसारको कसुर नगरेको भनी पूर्णत: इन्कार रही प्रतिवादी विष्णुमाया मल्लले बोलाई कोठा खोज्न जाऔँ भनी भनेका कारण कोठा खोज्ने क्रममा वारदात भएको घर र सो घरको छतसम्म पुगेकोमा मोबाइलमा फोन आई फोनमा बोलिरहेको अवस्थामा छतको कोठाबाट सहप्रतिवादी विष्णुमाया मल्ल शाहीको आवाज सुनेको, पछि निज सो कोठाबाट बाहिर आई जाऔँ भनेका कारण वारदात भएको घरबाट निस्किएका हौँ भनी बयान गरेको देखिन्छ । सहप्रतिवादी विष्णुमाया मल्लले मौकामा र अदालतमा बयान गर्दा आफू कसुरमा साबित रही यी प्रतिवादी भगवती मल्ल वारदातस्थलमा नरहेको र उक्त वारदात एक्लैले घटाएको भनी बयान गरेको पाइन्छ । परन्तु सहप्रतिवादी रिता के.सी. ले मौकामा बयान गर्दा, भगवती मल्लले मृतकको कोठामा बोलाएकाले कोठाभित्र जाँदा उक्त कोठाभित्र प्रतिवादी विष्णुमाया मल्ल शाही र मृतक अजिता मल्ल मोबाइल फोन खोसाखोस गरिरहेकोमा भगवती मल्लसमेत भई मोबाइल खोसाखोस गरी सो मोबाइल विष्णुमाया मल्लले खोसी मलाई दिई मोबाइल लिएर जाउँ भनेकाले लिई गएको हुँ भनी बयान गरेकोबाट प्रतिवादी भगवती मल्लको वारदातस्थलमा उपस्थिति रहेको भन्ने तथ्य स्थापित हुन आएको छ । प्रतिवादी भगवती मल्ल अजिता मल्ललाई कर्तव्य गरि मार्ने कार्यमा मुख्य अभियुक्तको रूपमा प्रत्यक्ष संलग्न नभए पनि सहप्रतिवादी विष्णुमाया मल्लसँगै मृतक अजिता मल्ल बस्ने घरमा गएको, विष्णुमाया मल्लको पछिपछि लागि मृतक अजिता मल्ल बस्ने तलाको छतमा गएको कुरामा विवाद देखिएन । सहप्रतिवादी सँगसँगै घरभित्र प्रवेश गरेपछि विष्णुमायालाई पछ्याउँदै छतमा गएकी, निजसँगै छतबाट तल झरी सँगै एउटै ट्याक्सी चढी आएको देखिएको र जुन उद्देश्यबाट त्यहाँ गएको भनिएको थियो सो डेरा कोठा खोज्ने कार्य नगरी हतार-हतार फर्किएर आउँदा पनि सो विषयमा विष्णुमाया मल्लसँग कुनै सोधपुछ नगरी सँगै आएबाट यी प्रतिवादी मृतक अजिता मल्ललाई कर्तव्य गरी ज्यान लिने कार्यमा अप्रत्यक्ष रूपमा विष्णुमाया मल्ल शाहीको इच्छित परिणाम पूरा गर्न सहयोगीको भूमिका निर्वाह गरेको देखियो । सहप्रतिवादीसँगै गई निजलाई मानसिक हौसला दिई सो स्थानमा अन्य व्यक्तिको उपस्थिति हुन्छ कि भन्ने कुरामा निगरानी गरी विष्णुमाया मल्ललाई सहयोग पुर्याएको देखिँदा प्रतिवादी भगवती मल्लले मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ बमोजिम मतियारको भूमिका निर्वाह गरेको देखियो । यस्तो अवस्थामा यी प्रतिवादी पूर्णतः निर्दोष रहेछन् भन्न मिल्ने अवस्था देखिएन । उल्लिखित परिप्रेक्ष्यमा उच्च अदालत पाटनबाट मिति २०७७।१०।२६ मा यी प्रतिवादी भगवती मल्लले अभियोग दाबीबाट सफाइ पाउने गरी भएको फैसला मिलेको देखिएन ।
१५. प्रतिवादी भगवती मल्लले प्रतिवादी विष्णुमाया मल्ल शाही सँगै गई निज प्रतिवादी विष्णुमाया मल्ललाई कसुर गर्न तारतम्य मिलाउने, मृतकसँग मोबाइल खोस्ने, वारदातस्थलमा पुग्ने, कसुर गरेपछि वारदात स्थलबाटै निजै प्रतिवादी विष्णुमाया मल्ल शाहीसँगै निस्किई एउटै ट्याक्सीमा फर्केबाट निज प्रतिवादी भगवती मल्लले मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ को उपदफा (३) को देहाय (ख) मा वर्णन गरिएबमोजिम कसुरदारलाई कसुर गर्न सहयोग पुर्याउने कार्यसम्म गरेको मतियार देखिन आई निज प्रतिवादीलाई सोही दफा ३६ को उपदफा (३) को देहाय (ख) बमोजिम सजाय हुने देखियो । अतः प्रतिवादी भगवती मल्ललाई निजले गरेको सहयोगको प्रकृति र भूमिकालाई दृष्टिगत गर्दा, मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ (३)(ख) बमोजिम १ (एक) वर्ष ६ (छ) महिना कैद हुने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७७।०३।२३ मा भएको फैसला मनासिब देखिन आयो । उक्त फैसला उल्टी गरी प्रतिवादी भगवती मल्लले अभियोग दाबीबाट सफाइ पाउने गरी उच्च अदालत पाटनबाट मिति २०७७।१०।२६ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी भई निजलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ को उपदफा (३) को देहाय (ख) बमोजिम सजाय गर्नुपर्ने नै देखियो ।
१६. त्यसै गरी, अर्का प्रतिवादी रिता के.सी. को हकमा विचार गर्दा, प्रतिवादी रिता के.सी.लाई पनि मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) को अभियोग लगाई सोही दफा १७७(२) अनुसारको सजायको माग दाबी लिएको पाइन्छ । यी प्रतिवादीले आफूले कसुर गरेको कुरा इन्कार गरी मौकामा तथा अदालतमा बयान गरेको देखिन्छ । उक्त इन्कारी बयान निजका साक्षीहरू शिवगीता शाही र विकास छत्कुली भन्ने डेविड छत्कुलीले गरेको बकपत्र बेहोराबाट पुष्टि भइरहेको देखिन्छ । सहप्रतिवादी विष्णुमाया मल्लले प्रतिवादी रिता के.सी. ले कुनै कसुर नगरेको र मृतक अजिता मल्ललाई आफूले मात्रै कुटपिट गरेको हो भनी कसुरमा साबित रही बयान गरेको देखिन्छ । अर्का सहअभियुक्त भगवती मल्लले पनि यी प्रतिवादीले मृतकलाई कुटपिट गरेको भनेकी छैनन्, साथै मृतक अजिता मल्ललाई यी प्रतिवादीले कुटपिट गरेको र मृतक अजिता मल्लको ज्यान लिएको भन्ने कुरा मिसिल संलग्न कुनै पनि प्रमाणबाट स्थापित हुन आएको देखिँदैन । यस अवस्थामा यी प्रतिवादीले अभियोग माग दाबीबमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुर गरेको भन्ने मान्न मिल्ने देखिएन ।
१७. परन्तु, निज रिता के.सी. पनि सहप्रतिवादी विष्णुमाया मल्लको सँगसाथ लागी मृतक अजिता मल्ल भाडामा बस्ने घरको डेरा कोठासम्म पुगेको, मृतक अजिता मल्लको साथमा रहेको मोबाइल मुख्य अभियुक्त विष्णुमाया मल्लले खोसी आफूलाई दिइ मोबाइल लिएर जा भनी अह्राएपछि निजको कुरा मानी सो कोठामा नबसी सरक्क कोठाबाट वाहिर निस्किई छतबाट तल झरेको भन्ने घटना विवरण कागज गर्ने समिक्षा अर्यालको बकपत्रबाट खुलेको छ । त्यसपछि सहप्रतिवादी विष्णुमायाले कसुर गरी वारदात स्थलबाट तल झरी ट्याक्सी खोज्न लगाई फ्ल्याट भाडाको कुरा नै नगरी ट्याक्सीमा सँगै बसी आफूसँग भएको मृतकको मोबाइल प्रतिवादी विष्णुमाया मल्लले मागी लगेकी र सो मोबाइल मागी लैजाँदासम्म मोबाइल खोसी ल्याउनुको कारण, प्रतिवादी विष्णुमाया मल्ल शाही र मृतकका बिचमा झगडा हुनुको कारण, झगडापछिको परिणामका बारेमा वा हतार हतार निस्कनुपर्नाको कारणसमेत सहप्रतिवादी विष्णुमाया मल्ललाई सोधपुछसम्म पनि गरेको मिसिलबाट देखिन आउँदैन । यी प्रतिवादीले आफूसँगै गई ज्यान मार्ने जस्तो गम्भीर कसुर गर्ने कसुरदार उक्त घरबाट हत्तार हतार निस्किएकोमा निजलाई साथमा लिई ट्याक्सीमा राखी सँगै वारदातस्थलबाट हिँडेको र आफूसँग भएको मोबाइल प्रतिवादी विष्णुमाया मल्ललाई विनासोधखोज दिएको कार्यलाई स्वाभाविक मान्न मिल्ने देखिएन । यी प्रतिवादी रिता के.सी.ले अजिता मल्ललाई कर्तव्य गरी मार्न प्रत्यक्ष संलग्न सहप्रतिवादी विष्णुमाया मल्लले इच्छित परिणाम प्राप्त गर्न र वारदातस्थलबाट सहज उम्कन सहयोगी भूमिका निर्वाह गरेको देखिन्छ । अभियोग दाबीबमोजिमको कसुरमा निजले निर्वाह गरेको त्यस्तो भूमिकालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ ले दण्डित गरेको पाइन्छ । उक्त दफामा "मतियार हुन नहुनेः (१) कुनै व्यक्ति कुनै कसुरको मतियार हुनु हुँदैन । (२) कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्याउने व्यक्ति मतियार मानिने छ । (३) मतियारलाई देहायबमोजिम सजाय हुने छः– (क) आपराधिक षड्यन्त्रमा संलग्न भई कसुर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरूद्ध कसुर गरिएको हो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट वञ्चित गराउने वा कसुर गर्न आदेश वा सल्लाह दिनेलाई त्यस्तो कसुर निजले गरेसरहको सजाय, (ख) खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए कसुर भए गरेको काममा निजको संलग्नताको मात्राअनुसार त्यस्तो कसुर गरेबापत हुने सजायको बढीमा आधासम्म सजाय ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाको रोहमा हेर्दा प्रस्तुत मुद्दाको वारदातमा यी प्रतिवादी पूर्णतः निर्दोष रहेछन् भनी मान्न मिल्ने अवस्था नदेखिई वारदात स्थलबाट झगडाको जडको रूपमा रहेको मोबाइल लिई निस्किई निजको सो कार्यबाट कसुरदारलाई कसुर गर्न थप सहयोग पुगेको हुँदा यी प्रतिवादी रिता के.सी. ले मतियारको भूमिका निर्वाह गरेको देखिँदा उच्च अदालत पाटनबाट मिति २०७७।१०।२६ मा यी प्रतिवादी रिता के.सी. ले अभियोग दाबीबाट सफाइ पाउने गरी भएको फैसला मिलेको देखिएन ।
१८. प्रतिवादी रिता के.सी.ले प्रतिवादी विष्णुमाया मल्ल शाही र मृतक अजिता मल्लको झगडाको मूल जडको रूपमा देखाइएको मोबाइल लैजाने, मुख्य प्रतिवादी विष्णुमाया मल्ल शाही र मृतक अजिता मल्ललाई झगडा गरिरहेकै अवस्थामा वारदात स्थलमा देखेकोमा एक्लै छाडी गएबाट प्रतिवादी विष्णुमायालाई वारदात घटाउन सहयोग पुगी सो वारदात घटाएपश्चात् यीनै प्रतिवादी रिता के.सी.समेतको सहयोगमा ट्याक्सी चढी वारदातस्थलबाट भागी गएको तथा यी प्रतिवादीले वारदातस्थलमा भएको झगडा वा मोबाइलको सम्बन्धमा केही खोज खबर नगरी वारदातलाई लुकाउन छिपाउनसमेत सहयोग पुर्याई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ को उपदफा (३) को देहाय (ख) मा उल्लिखित कसुरदारलाई कसुर गर्ने सहयोग पुर्याउने कार्यसम्म गरेको मतियार देखिन आई निज प्रतिवादीलाई सोही दफा ३६ को उपदफा (३) को देहाय (ख) अनुसार सजाय हुने देखियो । अतः प्रतिवादी रिता के.सी. लाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ (३)(ख) बमोजिमको कसुरमा एक वर्ष छ महिना कैद हुने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७७।०३।२३ मा भएको फैसला मनासिब भई मिलेको देखिन आयो । उक्त फैसला उल्टी गरी प्रतिवादी रिता के.सी. ले अभियोग दाबीबाट सफाइ पाउने गरी उच्च अदालत पाटनबाट मिति २०७७।१०।२६ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी भई निजलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ को उपदफा (३) को देहाय (ख) बमोजिम सजाय गर्नुपर्ने देखिन आयो ।
१९. माथि उल्लिखित आधार र कारणबाट प्रतिवादी विष्णुमाया मल्ल शाहीले अजिता मल्लको ज्यान जान सक्छ भन्ने जानीजानी त्यस्तो काम गरेको पुष्टि हुन आएकाले सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७७।०३।२३ मा प्रतिवादी विष्णुमाया मल्ल शाहीले मुलुकी अपराध संहिता, २०७४ को दफा १७८(१) अनुसार कसुर गरेकोमा सोही संहिताको दफा १७८ (२) बमोजिम जन्म कैद (२५ वर्ष) सजाय हुने ठहर्याई भएको फैसला नै मनासिब देखिँदा निजलाई दफा १७९ बमोजिमको कसुर ठहर गरी १० (दश) वर्ष कैद सजाय गरेको उच्च अदालत पाटनको मिति २०७७।१०।२६ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । साथै प्रतिवादीहरू भगवती मल्ल र रिता के.सी. ले अजिता मल्ललाई हत्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको अभियोग ठोस प्रमाणबाट प्रस्ट हुन नसके पनि वारदात स्थलसम्म जाने, अजिता मल्लबाट मोबाइल खोसेर लिने, वारदात भइरहेको स्थितिमा सोही घरको बाहिर अर्को तलामा बसेर निगरानी गर्ने तथा वारदात भइसकेपछि त्यस स्थानबाट तत्काल ट्याक्सी खोजी फर्कने कार्यमा मुख्य प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई मद्दत गरेको पुष्टि भएकोले निजहरूलाई मुलुकी आपराध संहिता २०७४ को दफा ३६ (३)(ख) बमोजिम जनही एक वर्ष छ महिना कैद सजाय हुने ठहर्छ । प्रतिवादीहरू गान्दिपराज मल्ल, भगवती मल्ल र रिता के.सी. तीन जनालाई नै सुरू अभियोग माग दाबीबमोजिमको कसुरमा सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर तथा आरोपित कसुरबाट सफाइ पाउनुपर्ने भन्ने प्रतिवादी विष्णुमाया मल्ल शाहीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२०. प्रस्तुत मुद्दामा उच्च अदालत पाटनको फैसला केही उल्टी भई सुरू काठमाडौं जिल्ला अदालतको न्यायिक निष्कर्ष नै मनासिब देखिँदा प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ को कसुर ठहर भई सजाय भएको परिप्रेक्ष्यमा सुरू काठमाडौं जिल्ला अदालतले प्रतिवादीले आफूले गरेको कसुर स्वीकार गरेको र सो स्वीकारोक्ति अन्य प्रमाणबाट पुष्टि भएको, निज यसपूर्व यस्तो प्रकृतिको कसुर अपराधमा संलग्न भएको नदेखिएको, कसुर गर्ने मनसाय र तयारीका साथ कसुर गर्न नगएको, प्रतिवादीका दुई नाबालक सन्तान रहेको, मृतक आफ्नो सौताको रूपमा देखिएकीले निजलाई सौता बन्न नदिने प्रयत्न गर्दा घटना घटेको देखिएकाले यी प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिन आएकाले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को १७ क. (१) बमोजिम १२ (बाह्र) वर्ष कैद सजाय गर्न राय प्रस्ताव गरेतर्फ समेत यस इजलासको गम्भीरतापूर्वक ध्यान आकर्षित भएको छ । सो सम्बन्धमा विचार गर्दा, प्रस्तुत वारदात घट्नुको परिस्थिति तथा यी प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट यी प्रतिवादी मानसिक रोगबाट ग्रस्त हुनुका साथै पछिल्लो समयमा निजलाई क्यान्सरजस्तो प्राणघातक रोगसमेत लागेको मिसिल संलग्न कागजातबाट देखिन आएकाले सो गम्भीर र संवेदनशील स्वास्थ्य अवस्थालाई समेत मध्यनजर गर्दा, यी प्रतिवादीको हकमा सुरू काठमाडौं जिल्ला अदालतले समेत फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ क. (१) बमोजिम घटी सजायको राय व्यक्त गरेको, प्रतिवादीले आफूले गरेको कसुरजन्य कार्यको सम्बन्धमा साँचो र यथार्थ घटना विवरण अदालतमा व्यक्त गरी न्यायिक प्रक्रियालाई सहयोग पुर्याएको, पतिले आफ्नो मर्यादा र जीवनमा प्रतिकूल असर पार्ने गरी परस्त्रीसँग अनैतिक सम्बन्ध राखी पत्नीको रूपमा नै अजिता मल्ललाई डेरा खोजी काठमाडौंमा नै राखेको बारेको आफ्नो जिज्ञासा, शङ्का र कौतुहलता साम्य पार्ने प्रयास स्वरूप अजिता मल्ललाई भेट्ने, निजको मोबाइल प्राप्त गरी सबै अनैतिक प्रमाणबारे स्पष्ट हुने आकांक्षा राखी वारदातस्थलसम्म पुगेकोमा निजसँग दोहोरो वादविवाद भई कुटपिट हुँदा अजिता मल्लको मृत्यु हुनेसम्मको गम्भीर घटना घटित हुन पुगेको अवस्थालाई समेत दृष्टिगत गर्दा, प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई जन्म कैदको सजाय गर्दा न्यायको रोहमा बढी पर्ने यस इजलासले महसुस गरेकाले सजाय घटाई निजलाई ८ वर्ष कैदको सजाय गर्न उपयुक्त हुने देखी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ क .(१) बमोजिम ८ (आठ) वर्ष कैद गर्ने गरी सजाय कायम गरिएको छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
१. माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदक विष्णुमाया मल्ल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७९ बमोजिमको कसुरमा १० वर्ष कैद गर्ने ठहर भएको उच्च अदालत पाटनको फैसला केही उल्टी भई मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ को कसुरमा जन्म कैदको सजाय हुने र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ क.(१) बमोजिम कैद सजाय घटाई ८ (आठ) वर्ष कैद हुने गरी कैद सजाय कायम भएकाले निजको नाममा राखिएको लगत संशोधन गरी यो फैसलाबमोजिम ८ (आठ) वर्षको कैद असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ।
२. प्रतिवादीहरू भगवती मल्ल र रिता के.सी.को हकमा उच्च अदालत पाटनको फैसला उल्टी भई निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(३)(ख) बमोजिम जनही १ (एक) वर्ष ६ (छ) महिना कैद हुने ठहरेको लगत व्यवस्थापन गर्नु र उक्त कैद अवधि निजहरूले भुक्तान गरिसकेको देखिँदा केही गर्नु परेन ।
३. प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी विष्णुमाया मल्ल शाहीलाई दिनू ।
४. प्रस्तुत मुद्दाको फैसला भएको जानकारी यो फैसलाको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ।
५. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी फैसलाको पीठमा जनाउनू ।
६. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.कुमार चुडाल
इजलास अधिकृत : सलिना चापागाई पौडेल
इति संवत् २०८१ साल साउन १६ गते रोज ४ शुभम् ।