शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४३१ - अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री ।

भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल

फैसला मिति : २०८१।१०।०८

०७५-CR-१९७४

 

मुद्दाः अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री ।

 

पुनरावेदक / वादी : प्रहरीको प्रतिवेदनले वादी नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला मुस्ताङ, जोमसोम नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १७ बस्ने पेम्बा भन्‍ने पेम्ब गुरूङ

 

प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परीक्षण गर्न नसकिने विदेशका अदालतमा सोही देशको फौजदारी न्यायिक प्रक्रियाबमोजिम चलेको मुद्दाका प्रतिवादीले गरेको बहिर क्षेत्रीय (extra territorial) पोलयुक्त बयानलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई शङ्का र अनुमानका आधारमा दोषी ठहर गर्नु फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश घिमिरे 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०७५, अङ्क ६, नि.नं.१००४०

सम्बद्ध कानून :

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री रितेन्द्र थापा

नवलपरासी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दयानाथ खरेल 

माननीय न्यायाधीश श्री दर्गाबहादुर बिश्वकर्मा

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः-

तथ्य खण्ड

बाल्मिकी टाइगर रिजर्भ डिभ.–२, बेतिया, बिहार भारतको पत्र संख्या १२४ को पत्रबाट जिल्ला नवलपरासी पक्लिहवा गा.वि.स. वडा नं.२ रामनगर स्थित जंगबहादुर खवासको घरमा बाघको छाला लुकाई राखेको र बाघको हड्डी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वा.नं.१७ ढल्कु बस्ने पेम्बा गुरूङलाई बेचेको र निजको मोबाइल नं.९८१८१७०१८५ रहेको भनी भोला साहको बयानले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनाङ्क २५–१–२०१६ मा लेखेको पत्र ।

मिति २०७२।१०।११ गते अ.९:०० बजेको समयमा इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीका प्र.नि.महेश्वर उपाध्यायसमेतको प्रहरी टोलीले उल्लिखित जिल्ला नवलपरासी पक्लिहवा गा.वि.स.वडा नं. २ रामनगर स्थित जंगबहादुर खवासको घरबाट पूरा पुच्छरसम्मको लम्बाइ २ मी.७० से.मी. र ८८ से.मी. चौडाइ भएको रातो खैरौ कालो सेतो धर्का भएको बाघको छाला रहेको सो बाघको टाउको (मुख) देखि पुच्छरको फेदसम्मको लम्बाइ १ मी.९२ से.मी. रहेको बाघको छाला बरामद गरेको भन्‍ने रूदल लोनियासमेतको रोहवरमा गरेको खानतलासी तथा बरामदी मुचुल्का ।

बाल्मिकी टाइगर रिजर्भ विहार भारतको चलान नं.१२४ मिति २५ जनवरी २०१६ को पत्रअनुसार जिल्ला नवलपरासी बस्ने जंगबहादुर थापा भन्‍ने जंगबहादुर खवासको घरमा पदम नारायण चौधरी र भोला साहले काठमाडौं ढल्कु बस्ने मोबाइल नं.९८१८१७०१८५ प्रयोग गर्ने पेम्बा गुरूङलाई बिक्री गर्नको लागि एक थान पाटे बाघको छाला लुकाइ छिपाइ राखेको र बाघको १२ के.जी. हड्डी नेपाली दुई लाख रूपैयाँँमा निज पेम्बा गुरूङलाई बिक्री गरिसकेको भन्‍ने बेहोराको सूचना केन्द्रीय अनुसन्धान ब्युरोमा प्राप्त भएको सो सूचना जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई जानकारी गराउँदा मिति २०७२।१०।११ गते जंगबहादुर थापा भन्‍ने जंगबहादुर खवासलाई एक थान पाटे बाघको छालासहित पक्राउ गरिएको साथै पाटे बाघको छाला र फोटोसमेत सनाखत गरि भोला साहले बाल्मिकी टाइगर रिजर्भ विहारमा गरेको बयानअनुसार र जिल्ला वन कार्यालय नवलपरासीको च.नं.८९९ मिति २०७३।०८।१२ को पत्रानुसार प्रतिवादी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१७ ढल्कु बस्ने पेम्बा गुरूङलाई पक्राउ गरी जिल्ला वन कार्यालय नवलपरासीमा पेस गरेको भनी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो पिलर–४ को पत्र ।

मेरो नागरिकताअनुसारको नाम पेम्ब गुरूङ हो । मलाई पेम्बा गुरूङ भनेर बोलाउँछ । मेरो घर जिल्ला मुस्ताङ्ग जोमसोम- ९ हो । हाल म जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.१७ ढल्कुमा बस्छु । भारत निवासी भोला साहले बयानको क्रममा प्रमाणित गरिदिएका मोबाइल नं.९८१८१७०१८५ मैले प्रयोग गर्ने मेरो मोबाइल नम्बर हो । निज भोला साहले प्रमाणित गरिदिएको मेरो फोटो र घरको फोटो मेरो नै हो । मसँग भोला साहको भेट चितवन राष्ट्रिय निकुञ्जको हिरासतमा रहेको बेला करिब ८ वर्ष पहिला भएको थियो । फोटोमा भएको व्यक्ति भोला साहलाई म चिन्दछु । गैंडा मारी खाग ओसारपसार गरेको मुद्दामा म योभन्दा पहिला कारबाहीमा परेको हुँ । भोला साहसँग मैले बाघको हड्डी किनेको छैन । मसँग भोला साहले आफ्नै व्यवहारको लागि रू.३०,०००।- मागेको थियो । सो पैसा बाघको हड्डी बेचेबापतको नभई आफ्नै अरू लेनदेनका लागि रकम मागेको हो भनी पेम्बा भन्‍ने पेम्ब गुरूङले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

अवैध तरिकाले बाघको छाला लुकाइ छिपाइ ओसारपसार गरेको मुद्दामा प्रतिवादी जंगबहादुर खवासउपर मुद्दा चलाउने निर्णय गरी अभियोग पत्र दायर गर्दा यी प्रतिवादी र सोही छाला भएको बाघको हड्डी जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वा.नं.१७ ढल्कु बस्ने वर्ष ६३ का पेम्बा भन्‍ने पेम्ब गुरूङले दुई लाख रूपैयाँँमा खरिद गरेको र बरामद भएको पाटे बाघको छाला पनि निज पेम्ब गुरूङले नै खरिद गर्ने व्यक्ति भएको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को देहाय (क) अनुसार कसुर अपराध गरेको सप्रमाणबाट पुष्टि हुन आएको हुँदा प्रतिवादी पेम्ब गुरूङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६को (१) बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग मागदाबी ।

मैले बाघको छाला र हड्डी कस्तो हुन्छ अहिलेसम्म जानेको छैन । मैले कसैसँग बाघको छाला र हड्डी खरिद गरेको होइन र मैले पदम नारायण चौधरी, जंगबहादुर खवासलाई चिन्दिनँ । बरू मेरै नाम गरेको पेम्बा भन्‍ने मानिस गैंडाको खाग तस्करी गरेको केसमा उसको ठाउँमा मलाई प्रहरीले समाती राष्ट्रिय निकुञ्जको हिरासतमा बसेको अवस्थामा भोला साह भन्‍ने व्यक्तिलाई चिनेको हुँ । तर भोला साह भन्‍ने त्यही हो वा अरू नै कोही हो, कहाँको हो मलाई थाहा भएन । पेम्बा भन्‍ने वास्तविक व्यक्तिलाई प्रहरीले समातेपछि मलाई त्यहाँबाट मुक्त गरिएको हो । अभियोग दाबीको बेहोरा झुट्ठा हो । मैले कुनै कसुर अपराध नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन । झुट्ठा अभियोग दाबीबाट छुटकारा पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी पेम्बा भन्‍ने पेम्ब गुरूङले सुरू अदालतसमक्ष गरेको बयान । 

मिति २०७२।१०।११ गते पाटे बाघ, कालो सेतो, खैरो रङ्गको बाघको छाला जंगबहादुर खवासको घरभित्र टिनको बाकसभित्र लुकाइ राखेको अवस्थामा फेला पारेको हो । मसमेतको टोलीले बरामद गरी प्रतिवेदन दिएको हुँ । बरामदी मुचुल्का र प्रतिवेदन ठिक हो भन्‍नेसमेत बेहोराको प्रतिवेदक प्र.नि.महेश्वर उपाध्यायले अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादी पेम्बा गुरूङले अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री गरेका होइनन् । सो सम्बन्धमा सजाय पाउनुपर्ने होइन । अभियोग दाबी झुठ्ठा हो भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी राप्के गुरूङले अदालतसमक्ष गरेको बकपत्र ।

यी प्रतिवादी पेम्बा भन्‍ने पेम्ब गुरूङले बाघको हड्डी १२ के.जी. खरिद गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा (१) विपरीत कसुर गरेको देखिन आएकोले निज प्रतिवादीलाई सोही दफा २६ को उपदफा (१) बमोजिम पाँच वर्ष कैदको सजाय हुने ठहर्छ भन्‍ने सुरू नवलपरासी जिल्ला अदालतको फैसला ।

बाघको हड्डी मैले देखे जानेको छैन । मैले खरिद गरेको हो भने मलाई बिक्री गर्ने मानिस अदालतमा आई बिक्री गरी के कति रकम मबाट बुझिलिएको हो सो सम्पूर्ण तथ्यमा मेरो संलग्नताको शङ्कारहित तवरले पुष्‍टि नगरेसम्म मलाई सजाय गर्न मिल्ने होइन । मबाट हड्डी नै बरामद नभएको अवस्थामा मलाई बाघको हड्डी बिक्री गरेको भन्‍ने कुरा फौजदारी न्यायको मान्य सिद्धान्तको प्रतिकूल हुन्छ । जंगबहादुर खवासको घरमा बाघको छाला फेला पर्दैमा मलाई सजाय गर्न मिल्ने होइन । जंगबहादुरले मसँग मिली ओखेटोपहारको कारोबार गरेको र सोही बाघको हड्डीसमेत मलाई बिक्री गरेको भनी हुँदै नभएको कुरा गरी भएको सुरू नवलपरासी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोरा उल्लेख गरी प्रतिवादी पेम्बा भन्‍ने पेम्ब गुरूङले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दिएको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी पेम्ब गुरूङ सुरू अदालतमा बयान गर्दा कसुर अपराधमा इन्कार रहेको, निजको सँगसाथबाट अभियोग दाबीबमोजिमको कसुर स्थापित हुन सक्ने सामान बरामद नभएको समेत अवस्थामा उनाउ व्यक्ति भोला साहले अन्यत्र व्यक्त गरेको भनाइको आधारमा प्रतिवादीउपरको अभियोग दाबी ठहर हुने गरी सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७५।०१।०३ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ प्रतिवादीको पुनरावेदन परेको जानकारी वादी नेपाल सरकारलाई दिई नियमानुसार गरी पेस गर्नु होला भनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५।०३।१९ मा भएको आदेश ।

कुन ठाउँमा कहिले कसले मारेको बाघको छाला प्रतिवादी पेम्ब गुरूङले खरिद गरी कहाँ कसलाई बिक्री गरेको भन्‍ने पुष्‍टि हुन आएको देखिएन । प्रतिवादीबाट अभियोग दाबीको कसुरजन्य दशी बरामत हुन सकेको छैन । प्रतिवादीले मौकामा र अदालतमा इन्कारी बयान गरेको समेत आधार प्रमाणबाट प्रतिवादी पेम्ब गुरूङलाई ५ वर्ष कैद गर्ने गरेको सुरू जिल्ला अदालतको मिति २०७५।०१।०३ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी पेम्ब गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५।०७।१३ मा भएको फैसला ।

डि.एफ. ओ. एवं डेपुटी डाइरेक्टर कार्यालय बाल्मिकी टाइगर रिजर्भ विहार डिभिजन-२, बेतिया विहार भारतको को प.सं. १२४ मिति २५ जनवरी २०१६ को पत्रमा लेखिएअनुसार बाघको शिकारसम्बन्धी अनुसन्धानको क्रममा बयान गर्ने भोला साह भन्‍ने व्यक्तिले काठमाडौं ढल्कु निवासी फोन नं. ९८१८७०१८५ भएका पेम्बा गुरूङलाई बाघको हड्डी रू.२,००,०००।- मा बेचेको भनी बयान गरेका, अनुसन्धानको क्रममा प्रतिवादीले उक्त ९८१८७०१८५ नं. को मोबाइल मैले प्रयोग गर्ने गरेको नम्बर हो । निज भोला साहले प्रमाणित गरिदिएको मेरो फोटो र घरको फोटो मेरो नै हो । गैंडा मारी खाग ओसारपसार गरेको मुद्दामा पहिले कारबाहीमा परेको थिएँ । मसँग भोला साहले आफ्नै व्यवहारको लागि रू.३०,०००।- मागेको थियो भनी बयान गरेकोमा प्रतिवादीले अदालतसमक्ष बयान गर्दा बाघको हड्डी खरिद गरेको तथ्य इन्कार गरेको भए पनि भोला साह भन्‍ने व्यक्तिलाई चिनेको तथ्यलाई स्वीकार गरेको एवं ९८१८७०१८५ नम्बरको मोबाइल पनि आफ्नै भएको तथ्य स्वीकार गर्नुका साथै सो मोबाइल नं. प्रतिवादी पेम्बा गुरूङको नाउँमा दर्ता भएको तथ्य पुष्टि भइरहेको अवस्थामा यी प्रतिवादीको साथबाट दशी बरामद नभएको एक मात्र आधारमा अभियोग दाबीबाट पूर्ण सफाइ पाउने कुरा न्यायको रोहमा नमिलेको हुँदा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला बदर गरी प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङलाई अभियोग दाबीबमोजिमको कसुरमा सजाय गरिपाउँ भनी पुनरावेदक/वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पेस भएको पुनरावेदन पत्र ।

यसमा पुनरावेदनमा उल्लेख गरिएको जंगबहादुर खवास प्रतिवादी र नेपाल सरकार वादी भएको संवत् २०७२ सालको मु.नं. ०७२-CR-०४१९ को अवैध तरिकाले बाघको छाला ओसारपसार गरेको मुद्दामा मिति २०७३।०२।०३ मा नवलपरासी जिल्ला अदालतबाट भएको फैसलासहितको मिसिल उक्त अदालतबाट झिकाई आएपछि नियमानुसार पेस गर्नुहोला भनी मिति २०७८।१२।१६ मा यस अदालतबाट भएको आदेश ।

यसमा वादी नेपाल सरकार प्रतिवादी जंगबहादुर खवास भएको मुद्दा नं.०७२-CR-०४१९ को अवैध तरिकाले बाघको छाला ओसारपसार मुद्दाको फैसलासहित मिसिल झिकाउनु भनी मिति २०७८।१२।१६ र मिति २०८१।०८।११ मा आदेश भएकोमा उक्त मिसिल खोज्दा फेला नपरेको भनी नवलपरासी जिल्ला अदालतका फाँटवालाहरूको प्रतिवेदनसहित उक्त मुद्दामा प्रतिवादी जंगबहादुर खवासले कैद छुट गराइपाउँ भनी दिएको निवेदनसाथ नवलपरासी जिल्ला अदालतको मिति २०७३।०२।३१ र उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।२८ मा भएको फैसलासमेत संलग्न भएको भनी प्रतिलिपि (dumy) मिसिल पठाएको देखियो । उक्त फैसलाहरूको प्रतिलिपिको आधारमा प्रस्तुत मुद्दामा सुनुवाइ गर्न सकिने स्थिति रहेको र मुद्दा पुरानो भएको हुँदा पेसी चढाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०८१।०९।२२ मा भएको आदेश । 

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहित सुरू मिसिलसमेत अध्ययन गरियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश घिमिरेले बाघ मारेको विषयमा भारतको पश्चिम चम्पारण अदालतमा चलेको मुद्दाका प्रतिवादी भोला साहले बाघको हड्डी काठमाडौं ढल्कु निवासी यिनै प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङलाई दुई लाखमा बिक्री गरेको भनी यी प्रतिवादीको मोवाइल नं.९८१८१७०१८५ समेत उल्लेख गरेकोमा सो मोवाइल नं.आफ्नो रहेको भनी प्रतिवादीले मौकामा र अदालतमा समेत बयान गरेका छन् । प्रतिवादीले बाघको हड्डी खरिद गरेको तथ्यमा अदालतमा इन्कार रहे पनि भोला साह नाम गरेका व्यक्तिसँग पूर्वचिनजान रहेको र निजले आफूसँग रू ३०,०००।– मागेको भनी बयान गरेका छन् । उक्त रकम के कुन प्रयोजनका लागि मागेको हो भन्ने स्पष्ट रूपमा खुलाउन सकेका छैनन् । यी प्रतिवादीले भोला साहसँग अन्य कारोबारको विषयमा रकम माग गरेको भनी बयान गरे तापनि सो तथ्य पुष्टि हुने प्रमाण पेस गरेको नदेखिँदा प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि भइरहेको अवस्थामा निजले अभियोग दाबीबाट सफाइ पाउने गरी भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण रहेको हुँदा प्रत्यर्थी झिकाउने आदेश गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रस्तुत मुद्दामा प्रतिवादी पेम्बा भन्‍ने पेम्ब गुरूङलाई राष्‍ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को देहाय (क) को कसुरमा सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी रहेकोमा सुरू नवलपरासी जिल्ला अदालतबाट निज प्रतिवादीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा (१) को कसुरमा सोही दफा २६ को उपदफा (१) बमोजिम पाँच वर्ष कैदको सजाय हुने ठहर गरी भएको फैसला उल्टी गरी प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन पर्न आएको देखियो ।

उपर्युक्त तथ्य एवं पुनरावेदन जिकिर र विद्वान्‌ उपन्यायाधिवक्ताको बहससमेतका आधारमा प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, बाल्मिकी टाइगर रिजर्भ डिभ.–२, बेतिया, विहार भारतको पत्र संख्या १२४ को पत्रबाट बाघको हड्डी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१७ ढल्कु बस्ने पेम्बा गुरूङलाई बेचेको र निजको मोबाइल नं.९८१८१७०१८५ रहेको भनी भारतको पश्चिम चम्पारण अदालतमा चलेको मुद्दामा सो मुद्दाका प्रतिवादी भोला साहले बयान गरेको भनी नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनाङ्क २५–१–२०१६ मा लेखेको पत्रका आधारमा प्रस्तुत मुद्दामा यी प्रतिवादीउपर अनुसन्धान भएको देखिन्छ । भोला साह भन्ने व्यक्तिसँग पूर्वचिनजान रहेको र निजले उल्लेख गरेको मोवाइल नं.९८१८१७०१८५ आफ्नो रहेको भन्ने तथ्यलाई स्वीकार गरे तापनि मैले कुनै व्यक्तिसँग बाघको छाला र हड्डी खरिद गरेको छैन भनी प्रतिवादी आरोपित कसुरमा मौका तथा अदालतमा समेत बयान गर्दा इन्कार रहेको पाइन्छ । 

३. बाघ मारेको सम्बन्धमा भारतको पश्चिम चम्पारण अदालतमा मुद्दा चलेको अवस्थामा सो मुद्दाका प्रतिवादी भोला साहले आफूले मारेको बाघको छाला नेपालमा रहेका जंगबहादुर खवासलाई बिक्री गरेको र सोको हड्डी यी प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङलाई दुई लाखमा बिक्री गरेको भन्ने बयानका आधारमा अनुसन्धान हुँदा जंगबहादुर खवासको घरबाट बाघको छाला बरामद भएको भन्ने नवलपरासी जिल्ला अदालतमा दायर भएको वादी नेपाल सरकार प्रतिवादी जंगबहादुर खवास भएको अवैध तरिकाले बाघको छाला ओसार पसार गरेको (०७२-CR-०४१९) मुद्दाको बरामदी मुचुल्कामा उल्लेख भएको देखिए पनि यी प्रतिवादीको घरबाट दशिको रूपमा बाघको छाला, हड्डीलगायत प्रस्तुत मुद्दामा प्रमाणमा लाग्ने कुनै पनि चिजवस्तु बरामद भएको देखिँदैन । सो मुद्दाका प्रतिवादी जंगबहादुर खवासले यी प्रतिवादीलाई पोल गरेको अवस्था पनि छैन । जंगबहादुर खवासको घरबाट बरामद भएको पाटे बाघको छाला र सोको हड्डीसमेत खरिद गर्ने व्यक्ति यिनै प्रतिवादी रहेको भन्ने शङ्का र अनुमान गरी यी प्रतिवादीउपर राष्‍ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को देहाय (क) को कसुरमा सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी रहेको भए पनि सो अभियोग दाबीबमोजिम यी प्रतिवादीले बाघको हड्डी तथा छालासमेत खरिद बिक्री गरेको पुष्टि हुने तथ्ययुक्त ठोस प्रमाण वादी नेपाल सरकारको तर्फबाट पेस गर्न सकेको देखिँदैन ।

४. प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा अभियोग दाबी पुष्टि गर्ने प्रमाण पेस गर्नुपर्ने प्रमाणको भार वादी नेपाल सरकारमा निहित हुन्छ । भारतको अदालतमा चलेको मुद्दाका प्रतिवादी भोला साहले गरेको पोलयुक्त बयानका आधारमा अनुसन्धान भई प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङउपर प्रस्तुत मुद्दाको अभियोग पत्र दायर भएको भए पनि प्रतिवादीउपरको कसुर पुष्टि हुने (प्रस्तुत मुद्दामा) प्रमाण लाग्ने कुनै पनि दशीका सामान प्रतिवादीबाट बरामद हुन सकेको देखिँदैन । निज भोला साहको पोल बयान मिसिल संलग्न रहेका कागज प्रमाणबाट पुष्टि भएको देखिँदैन । प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परिक्षण गर्न नसकिने विदेशका अदालतमा सोही देशको फौजदारी न्यायिक प्रक्रियाबमोजिम चलेको मुद्दाका प्रतिवादीले गरेको बहिर क्षेत्रीय (Extra territorial) पोलयुक्त बयानलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी यी प्रतिवादीलाई शङ्का र अनुमानका आधारमा प्रस्तुत मुद्दामा दोषि ठहर गर्नु फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने हुँदा प्रतिवादी उपरको अभियोग दाबी शङ्कारहित तवरबाट पुष्टि भएको देखिएन ।

५. यसै सन्दर्भमा मानविर इजम लिम्बूको जाहेरीले पुनरावेदक/वादी नेपाल सरकार प्रत्यर्थी/प्रतिवादी लिला इजम लिम्बूसमेत भएको कर्तव्य ज्यान मुद्दामा ... भारतको इलाकाभित्र वारदात घटी उपचारकै क्रममा भारतमा नै मृत्यु भएको र नेपालमा ल्याई सद्‌गतसम्म गरेको अवस्थामा नेपालमा मुद्दा चलाउने प्रयोजनका लागि भनी तयार भएका अनुसन्धानका कागज वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएसम्म सोलाई प्रमाणमा लिई क्षेत्राधिकार ग्रहण गर्न न्यायोचित पनि हुँदैन... (ने.का.प.२०७५ अङ्क ६ नि.नं.१००४०) भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भएको पाइन्छ । भोला साह भन्ने व्यक्तिले भारतमा मारेको बाघको हड्डी यी प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङलाई बेचेको भनी भारतको पश्चिम चम्पारण अदालतमा निज भोला साह भन्ने व्यक्तिले गरेको बयान मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि हुन सकेको नदेखिँदा भोला साह भन्ने व्यक्तिले गरेको पोलयुक्त बयानलाई उल्लिखित नजिरसमेतका आधारमा प्रस्तुत मुद्दामा प्रमाणमा लिन मिलेन । अतः यी प्रतिवादीको साथबाट बाघको हड्डीसमेतका दसीका सामान बरामद हुन नसकेको भन्ने आधार लिई सुरू जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला कानूनसम्मत नै भएको देखिँदा सो फैसला अन्यथा गरिरहनु परेन । उच्च अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुरमा सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र सो फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाउने आदेश गरिपाउँ भन्ने विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिरसँग समेत सहमत हुन सकिएन ।

६. तसर्थ, माथिका विभिन्न प्रकरणहरूमा विवेचना गरिएका आधार, कारण र प्रमाणहरूबाट सुरू नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी पेम्बा भन्ने पेम्ब गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७५।०७।१३ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । सरोकारवालाले फैसलाको नक्कल माग गरेमा नियमानुसार गरी दिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गर्नू र सुरू सक्‍कल तथा रेकर्ड मिसिलहरू सम्बन्धित अदालतहरूमा पठाई यस अदालतको रेकर्ड मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत (उपसचिव): प्रेम नारायण पराजुली 

इति संवत् २०८१ साल माघ ८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु