निर्णय नं. १०९४५ - भ्रष्टाचार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७८।५।२९
०७२-CR-१७४४
मुद्दा: भ्रष्टाचार
पुनरावेदक / प्रतिवादी : जिल्ला गुल्मी बलेटक्सार गाउँ विकास समिति वडा नं. ३ बस्ने खिमानन्द ज्ञवाली
विरूद्ध
प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत लालमणी आचार्यको प्रतिवेदनले नेपाल सरकार
निर्णय गर्ने अख्तियारी नै नभएको व्यक्तिले कसैको अनुकूल निर्णय गराइदिन्छु वा गराइदिएँ भनी घुस/रिसवतको माग गरेको भन्ने आरोपका सम्बन्धमा निर्णय गर्ने अख्तियारीप्राप्त व्यक्ति तथा सो प्रक्रियामा सारभूत भूमिका रहने अधिकारीहरूसमेत उपर अनुसन्धान नगरी अख्तियारी नै प्राप्त नभएको व्यक्तिउपर मात्र गरिएको अनुसन्धानले वास्तविकताको पूर्ण रूपमा उजागर गर्न नसक्ने हुँदा अपूर्ण अनुसन्धानले आरोप दाबी खम्बिर गर्न मद्दत गर्न नसक्ने ।
(प्रकरण नं.२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री नरेन्द्रप्रसाद पाठक र श्री लवकुमार मैनाली र विद्वान् अधिवक्ता श्री विमल ज्ञवाली
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशील देवकोटा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
नेपालको संविधान
मुलुकी देवानी संहिता, २०७४
सुरू तहमा फैसला गर्नेः-
अध्यक्ष मा. न्यायाधीश श्री मोहनरमण भट्टराई
सदस्य माननीय न्यायाधीश श्री प्रभा बस्नेत
विशेष अदालत काठमाडौं
फैसला
न्या.सपना प्रधान मल्ल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतसमक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला धनकुटा ताङखुवा (तांखुवा) गा.वि.स. वडा नं. ६ स्थायी घर भएका भक्तबहादुर भट्टराईले जिल्ला गुल्मी, बलेटक्सार गा.वि.स. वडा नं. ३ स्थायी घर भई हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटामा कार्यरत शाखा अधिकृत वर्ष ३५ का खिमानन्द ज्ञवालीले तत्कालीन अवस्थामा म गा.वि.स. सचिव हुँदा सिफारिस गरिएको विषयको सम्बन्धमा अख्तियारमा परेको मुद्दा मिलाइदिने र त्यसको लागि आयोगका कानून विज्ञसमेतलाई मिलाउनुपर्ने भएकोले रू.१,५०,०००।- (एक लाख पचास हजार) रकम माग गरेकोले निज अख्तियारकै कर्मचारी भएकोले मसँग घुस/रिसवत मागेको हुँदा निजलाई घुस/रिसवत दिई काम गराउने उद्देश्य नभएकोले घुस/रिसवत माग गर्ने कर्मचारीलाई कारबाही गर्न उपयुक्त हुने देखिएकोले सो कुराको जानकारी यस आयोगमा गराएको छु । निजले मसँग रकमको बारेमा कुराकानीको सन्दर्भमा तपाइँको काम सम्पन्न गर्नको लागि मैले रू.१,००,००० (एक लाख) दिएर मिलाएको छु र मेरो लागि पनि केही पैसा चाहिन्छ । त्यसैले ढिला नगरी पैसा दिनुस् भनी रकम माग गरेकोले निजलाई दिनका लागि यस आयोगबाटै रू.१,५०,००० (एक लाख पचास हजार) नगदै मलाई उपलब्ध गराइपाऊँ । मबाट निजले घुस / रिसवत लिएको अवस्थामा फेला पारेमा निजलाई दशी प्रमाणसहित पक्राउ गरी भ्रष्टाचार निवारण ऐन तथा अन्य प्रचलित कानूनअनुसार कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको भक्तबहादुर भट्टराईको उजुरी निवेदन ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवाली बस्ने धनकुटा न.पा. ६ स्थित क्षेत्रीय प्रशासन कार्यालयको क्वाटरमा आयोगको टोलीको जिउ खानतलासी गरी प्रवेश गर्न दिएको भन्नेसमेत बेहोराको प्रवेश मुचुल्का र अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवाली बस्ने धनकुटा न.पा. ६ स्थित क्षेत्रीय प्रशासन कार्यालयको क्वाटरमा प्रवेश गरी निज खिमानन्द ज्ञवालीको भान्साकोठामा खानतलासी गर्दा रातो झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा रू.१,०००।– र ५००।– दरका जम्मा रू.१,५०,०००।–, निजको नामको परिचयपत्र, नोकिया मोबाइल र आइफोनसमेत बरामद भएको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवालीले निवेदकसँग रू.१,५०,०००।– घुस रिसवत लिइसकेको अवस्थामा निजलाई पक्राउ गरी निजको शरीर तथा निवास खानतलासी गर्दा भान्छाकोठामा लुकाइछिपाइ राखेको अवस्थामा रू.१,५०,०००।– बरामद भएको हुँदा उक्त रकम रीतपूर्वक बरामद गरी निज खिमानन्द ज्ञवालीलाई पक्राउ गरी यसै प्रतिवेदनसाथ दाखिला गरेका छौँ भन्नेसमेत बेहोराको प्रहरी निरीक्षक पुष्पराज मल्लसमेतको प्रतिवेदन ।
म निवेदक भक्तबहादुर भट्टराईसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवालीले म गा.वि.स. सचिव हुँदा सिफारिस गरेको विषयको मुद्दा र त्यसको लागि कानून विज्ञसमेत मिलाउनुपर्छ भनी मसँग रू. १,५०,०००।– माग गरेकोमा सो सम्बन्धमा पैसा चाहिन्छ ढिलो नगरी चाँडो रकम दिनुहोस् भनी निजले मसँग गरेको कुराकानी टेलिफोन वार्तालाप र श्रव्य दृश्यसमेतको सिडी यसै निवेदनसाथ पेस गरेको छु । सिडीबाट समेत सम्पूर्ण बेहोरा छर्लङ्ग हुने छ भन्नेसमेत बेहोराको भक्तबहादुर भट्टराईको निवेदनसहित पेस भएको सिडी ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवालीले निवेदकसँग रू.१,५०,०००।– घुस रिसवत लिइसकेको अवस्थामा निजलाई पक्राउ गरी निजको शरीर तथा निवास खानतलासी गर्दा भान्छाकोठामा लुकाइ छिपाइ राखेको अवस्थामा रू.१,५०,०००।– (एक लाख पचास हजार) बरामदीको क्रममा क्यामराले खिचिएको दृश्य तथा संवादलाई सि.डी.मा राखी यसै प्रतिवेदनसाथ पेस गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी निरीक्षक पुष्पराज मल्लको प्रतिवेदन ।
खिमानन्द ज्ञवालीको ९८४६०७१४३२ नं. को मोबाइलबाट निजले निवेदक भक्तबहादुर भट्टराईको ९८४२०४३२९० मा ११ पटक सम्पर्क गरेको निवेदकको अफिस जिल्ला निर्वाचन कार्यालय संखुवासभाको ल्यान्डलाइन ०२९-५६०२७३ मा २ पटक सम्पर्क गरेको देखिएको भन्नेसमेत बेहोराको प्राप्त कल डिटेल ।
खिमानन्द ज्ञवालीले दिएको बयान सम्बन्धमा निजले साँचो बोलेका हुन् होइनन् भनी यकिन गर्नका लागि निजलाई पोलिग्राफ टेष्ट गराउँदा Using the ESS, and evidence-based, normed and Standardized protocol for test data analysis, the grand total score of -१३ exceeds the cut-score of -४ for deceptive classifications. The Level of statistical significance, is calculated at p=.००१, which is less than the required alpha boundary (a =.०५), and indicates that only a small proportion of truthful persons (०.१%) can be expected to produce and equal or lower test score. These results support the conclusion that there is DECEPTION INDICATED by the physiological response to the test stimulus questions during the examination. भन्ने बेहोराको पोलिग्राफ परीक्षण रिपोर्ट ।
निवेदकले पेस गरेको सिडीमा भएको खिमानन्द ज्ञवालीको आवाज र यस आयोगबाट नमुना लिइएको खिमानन्द ज्ञवालीको आवाज छुट्टाछुट्टै सिडीमा राखी परीक्षणका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएकोमा The speaker’s identification traits match with confidence level of more than ९९% match probability is more than ६०% भन्नेसमेत बेहोराको VOICE SPECTRUM ANALYSIS रिपोर्ट प्राप्त भएको ।
मिति २०७१।१०।०९ मा यस आयोगमा मेरो नामबाट दिएको निवेदनमा भएको दस्तखत र बेहोरासमेत मेरो हो । निज खिमानन्द ज्ञवालीसँग तांखुवा गा.वि.स. को कि.न. २४८ को क्षेत्रफल ११-७-२-० जग्गा कृष्ण राज लिम्बुले आफ्नो नाममा दर्ता गरेकोमा सोसम्बन्धी उजुरी यस आयोगमा परेपछि उक्त जग्गा दर्ताको लागि सिफारिसकर्ता तत्कालीन समयमा म गा.वि.स. सचिव/कार्य सञ्चालक समिति अध्यक्ष रहँदा सिफारिस गरेकोले बयानको लागि बोलाउँदा मिति २०७१।०६।२ मा पहिलो पटक भेट भएको हो । दशैँपछि कार्तिक महिनातिर निजले फोन गरी धनकुटा बोलाएकोमा पटकपटक फोन गरेपश्चात् धनकुटा गएँ । निजले होटलमा बोलाई तपाइँले बरबाद गर्नुभएछ ठाडो सिफारिस दिनुभएछ यसमा कसैले बचाउन सक्दैन माथि पनि कानून विज्ञलगायतलाई मिलाउनुपर्छ मलाई के सहयोग गर्नुपर्छ गर्नुहोलाभन्दा मैले के गर्नुपर्यो त भने वहाँले १ लाख वा १०/२० हजार बढी लाग्ला र मेरो लागि पनि विचार गर्नुहोला भन्ने मनसाय व्यक्त गर्नुभयो वहाँले मुद्दा हेरेको अवस्था रहेकोले तत्काल प्रतिवाद गर्न सकिनँ तर सम्मानित आयोगमा कार्यरत अनुसन्धान अधिकृतले रकम माग्दा साह्रै दुःख लाग्यो त्यसपश्चात् आयोगमा उजुरी गरी आयोगबाट नै रकम बुझिलिई निजलाई मिति २०७१।१०।१० गते निजको डेरामा नै रू.१,५०,०००।– दिएको हुँ भन्नेसमेत बेहोराको भक्तबहादुर भट्टराईले अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान कागज ।
म २०६१ सालदेखि वालिङ बहुमुखी क्याम्पसमा लगातार ७ वर्ष काम गरेँ । २०६९ सालमा लोकसेवा पास गरेपछि मिति २०६९।०६।०१ देखि क्षेत्रीय प्रशासन कार्यालय, धनकुटामा प्रशासन अधिकृत भई काम गरेँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, धनकुटामा स्थापना भएपछि मेरो यस कार्यालयमा सरूवा भयो । म अख्तियार दुरूपयोग अनुसन्धान आयोग धनकुटामा २०७० कार्तिकदेखि कार्यरत छु । मिति २०७१।१०।१० गते म बस्ने गरेको सरकारी निवास क्षेत्रीय प्रशासन कार्यालयको क्वाटरमा खडा गरिएको मुचुल्कामा रोहबरमा भएको सहीछाप मेरो हो । बरामद भएको रकम मेरो कोठाबाट बरामद भएको हो तापनि सो रकम दिने व्यक्तिले मैले निजलाई दिएको ऋण सापटीको रकम तिरी बुझाई गएको रकम
हो । भक्तबहादुर भट्टराईले आयोगसमक्ष पेस गरेको सिडिमा भएको अडियो, भिजियोल सुनी देखी पाएँ । उक्त सिडीमा भएका सबै अडियो भिडियोमा मेरो दृश्य र वार्तालाप छैन । कहीँकहीँ मेरो बोलीजस्तो पनि लाग्छ तर भिजुयोल प्रस्ट छैन । यो एकदमै जथाभावी (Random) रूपमा खिचिएको भिडियो हो । यसमा मेरो विश्वास छैन । निज भक्तबहादुर भट्टराईसँग मेरो धेरै पटक टेलिफोनमा कुरा भएको छ । किनकि उनी मेरो दौत्य सम्बन्ध भएका साथी हुन् । उनी मेरो कोठामा पनि आएका हुन् । उनले मलाई तिर्न रहेको रकम जो उनले गत वर्ष मसँग ऋण सापटी लिएका थिए दिएर पनि गएका हुन् । निवेदक भक्तबहादुर भट्टराईको विरूद्धमा आयोगमा उजुरी परेको होइन । मैले विस्तृत अनुसन्धान गरेको धनकुटा जिल्ला तांखुवा गा.वि.स. वडा नं. ९ को कित्ता नं. २४८ को जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रयोजनका लागि तयार भएको मालपोत कार्यालय, धनकुटाको सक्कल फाइल हेर्दा निज तांखुवा गा.वि.स.मा सचिव रहँदा एउटा सिफारिस गरेका रहेछन् । त्यो सिफारिसको आधारमा निजलाई बुझ्नुपर्ने व्यक्तिमा राखी मैले कार्यालयमा बोलाई बयान लिएँ । बयानमा उनले सम्पूर्ण विवरण दिए । सो अनुसन्धान गरी उक्त दर्ता कार्यमा संलग्न पदाधिकारीहरू मालपोत कार्यालय, धनकुटाका तत्कालीन प्रमुखसमेत र छुट दर्ता समितिमा रही उक्त जग्गा दर्ता गर्न सिफारिस गर्ने पदाधिकारीलाई मैले आयोगको निर्णयबमोजिम पौष १५।१६ गतेतिर विशेष अदालतमा मुद्दा दायर गरेको हुँ । निजको विरूद्ध उजुरी परेको विषयमा मबाट अनुसन्धान गरेकोभन्दा पनि मैले निजलाई बुझ्नुपर्ने मानिसमा राखी बुझेको मात्र हुँ । निवेदक भक्तबहादुर भट्टराईसँग मेरो चिनजान क्षेत्रीय प्रशासन कार्यालयमा हुँदादेखि नै भएको हो । मैले विस्तृत अनुसन्धान गरेको फाइल धनकुटा जिल्ला तांखुवा गा.वि.स. वडा नं. ९ मा अवस्थित कित्ता नं. २४८ को सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको विषयमा मिसिल कागजात हेर्दा मैले तत्कालीन तांखुवा गा.वि.स.का गा.वि.स. सचिव भक्तबहादुर भट्टराईले गरेको सिफारिस रहेकोले मैले उनलाई बुझ्नुपर्ने व्यक्तिमा राखी बयान लिएको थिएँ । निजले गरेको बयानको सविस्तार उल्लेख गरी आयोगमा प्रतिवेदन पेस गरेको थिएँ । आयोगले निजलाई मुद्दा चलाउने निर्णय गरेन । छुट जग्गा दर्ता समितिका पदाधिकारी र टिप्पणीमा सहीछाप गर्ने पदाधिकारीलाई गरी उक्त मुद्दामा २ जनालाई मात्र मुद्दा चलाउने निर्णय गर्यो । उक्त मुद्दा मिति २०७१ पौष १६।१७ तिर विशेष अदालतमा दर्ता गरेको हुँ । कानूनले साथी नाता पर्नेको अनुसन्धान गर्न बन्देज गरेको पाइन र अनुसन्धान गरेँ । निज भक्तबहादुर भट्टराईले धनकुटा जिल्ला तांखुवा गा.वि.स. वडा नं. ९ मा अवस्थित कित्ता नं. २४८ को सिफारिस गरेको देखिएको हुँदा निजसँग बुझ्नुपर्ने देखिएको हो । निजलाई मुद्दा नचलाउन सिफारिस गरेबापत मैले निजसँगबाट रू.१,५०,०००।- लिएको होइन । निज भक्तबहादुर भट्टराईसँग मेरो झैझगडा र रिसइवी भए जस्तो
लाग्दैन । मैले निजसँग कुनै पनि वार्तालापमा पैसाको कुराकानी गरेको छैन । निजले खातामै राखिदिउँला भनी मलाई ठग्न खोजे त्यसैले मैले हुँदैन त्यो नगर्नु टेन्सन हुन्छ भनेको हुँ । निजसँग गत वर्षदेखि नै फोनमा कुराकानी भइरहन्थ्यो । निजसँग रकम सापटी दिँदा सामान्य कागज गराए जस्तो लाग्छ तर कहाँ राखेँ भन्ने याद छैन । म पछि खोजी पेस गर्ने छु भन्नेसमेत बेहोराको प्रतिवादी खिमानन्द ज्ञवालीले अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष बयान कागज ।
जिल्ला धनकुटा तांखुवा गा.वि.स.को सार्वजनिक जग्गा कृष्णराज लिम्बूको नाममा दर्ता भएको उजुरीको अनुसन्धानको सिलसिलामा निज निवेदक भक्तबहादुर भट्टराई गा.वि.स. सचिव हुँदा सिफारिस गरिएको विषयको मुद्दा मिलाइदिन प्रतिवादी खिमानन्द ज्ञवालीले घुस/रिसवत मागेको र सो कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृतसमेतको विरूद्धमा मुद्दा दायर भइसकेपछि निज निवेदकसँग उक्त मुद्दामा बचाएको भनी पटकपटक फोन गरी घुस/रिसवत रकम माग गरी निवेदकले यस आयोगमा उजुरी गरी आयोगबाटै रू.१,५०,०००।– उपलब्ध गराई सो रकम घुस/रिसवत लिएपश्चात् आयोगको टोलीले निजलाई पक्राउ गरी दशी प्रमाणसहित आयोगमा दाखिला गरेको देखिन आएको हुँदा निज शाखा अधिकृत खिमानन्द ज्ञवालीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) द्वारा परिभाषित कसुर गरेको देखिँदा निजलार्इ बिगो रू.१,५०,०००।– (एक लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) तथा ३(१)(घ) बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको आरोपपत्रको मागदाबी ।
भक्तबहादुर भट्टराई जिल्ला निर्वाचन कार्यालय संखुवासभाका शाखा अधिकृत हुन् उनी मेरा गत २ वर्षदेखिका मिल्ने साथी हुन् । निजसँग चिनजान र मित्रता भइसकेपछि २०७० सालको दशैंअघि एक पटक रू.१ लाख र अर्को पटक रू.५० हजार ऋण सापटी दिएको थिएँ सोही ऋण सापटीको रकम निज उजुरकर्ताले मलाई तिरे बुझाएको हो । सोही रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बरामद गरेको हो मैले निज भक्तबहादुर भट्टराईबाट घुस रिसवत माग गरेको होइन घुस / रिसवत पनि लिएको होइन छैन । आरोपपत्रको मागदाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी खिमानन्द ज्ञवालीले विशेष अदालतमा गरेको बयान ।
थुनछेक प्रयोजनको लागि निज प्रतिवादी खिमानन्द ज्ञवालीबाट रू.१,५०,०००।- धरौटी माग भई र.नं.२७४१ मिति २०७१।११।३ मा सो धरौटी राखी तारेखमा रहेको ।
निवेदन बेहोरा सम्बन्धमा मैले आफूले लेखेको बेहोरा होइन । म जिल्ला निर्वाचन कार्यालय संखुवासभामा कार्यरत रहँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले मलाई धनकुटा लिई गई निज प्रतिवादी खिमानन्द ज्ञवालीलाई पैसा दिएपछि टोलीले नै बनाएको निवेदन हो । निवेदनको बेहोरा हुबहु मेरो होइन । सहीछाप घटना घटिसकेपछि मैले गरेको हो । मसँग गराएको हो । मिति २०७०।०५।०८ र २०७०।०६।०५ गते दुईपटक ऋण सापट लिएको रकमको सामान्य कागजमा मैले सहीछाप गरिदिएको हो भन्नेसमेत बेहोराको उजुरकर्ता भक्तबहादुर भट्टराईले विशेष अदालतमा गरेको बकपत्र ।
वादी पक्षका साक्षीहरू जितमान जिमी, नारायणप्रसाद चिमोरिया, पुश्करराज नेपाल, चन्द्रबहादुर खड्का, विमल अधिकारी, विजय मुनिकार, पुष्पराज मल्ल, रश्मी सिलवाल, गोपाल थापा मगर र प्रतिवादिका साक्षी गोपालबहादुर भट्टराई, ईन्दु भुसाल र सुरेश काफ्लेसमेतले बकेको बकपत्र मिसिल सामेल रहेको ।
आरोपपत्रसाथ पेस भएको सि.डि. विशेष अदालतको आदेशानुसार लिपिबद्ध गरी मिसिल सामेल रहेको ।
मैले खिमानन्द ज्ञवालीसमेतका व्यक्तिहरूको दबाबमा अदालतमा त्यसरी बयान गरेको हुँ भन्नेसमेत बेहोराको बयान कागज अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त भई मिसिल सामेल
रहेको ।
उजुरकर्ता भक्तबहादुर भट्टराईले मिति २०७१।१०।९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता गराएको दर्ता नं.६८७४ (क) को निवेदनमा यी प्रतिवादीले निवेदकबाट रकम माग गरेको भनी उल्लेख भएको बेहोरा, सो आयोगबाट सोही मितिमा विभिन्न नम्बरहरू टिपी उपलब्ध गराइएको रू.१,५०,०००।- र सोही रकम प्रतिवादीबाट बरामद भएको बेहोरा मिति २०७१।१०।१० मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदकले पेस गरेको टेलिफोन वार्ता र श्रव्य दृश्य (audio visual) बाट सुनिए अवलोकन गरिएको बेहोरा तथा निज निवेदक भक्तबहादुर भट्टराईले मिति २०७१।१०।१९।२ मा अनुसन्धानको क्रममा गरेको बयान बेहोरा एवम् सोही अख्तियार दुरूपयोग आयोगबाट टिपिएका नम्बरका नोटहरू बरामद भएका नोटका नम्बरसँग मिले भिडेको अवस्थाको साथै बरामदी मुचुल्काका गोपालबहादुर थापा, रश्मी सिलवाल र पुष्पराज मल्लसमेतका व्यक्तिहरूले विशेष अदालतमा गरेको बकपत्रको बेहोरा, तथा रकम बरामद भएको कुरा स्वयम् प्रतिवादीले अनुसन्धानको क्रममा र विशेष अदालतमा समेत स्वीकार गरेको अबस्थासमेतबाट यी प्रतिवादीले अनुसन्धान गरेको मुद्दामा निवेदकलाई मुद्दा नचलाई दिएबापत रकम माग गरिलिएको भन्ने कुरा स्थापित भएकोमा प्रतिवादीले सो रकम निवेदक भक्तबहादुर भट्टराईलाई सापटी दिएकोमा सोही रकम फिर्ता लिएको भनी कसुरमा इन्कार रही गरेको अनुसन्धानको क्रमको र विशेष अदालतको बयान उपर्युक्त आधारबाट तथ्ययुक्त रहेको देखिन आएन । मिसिल संलग्न उक्त वस्तुगत आधारबाट यी प्रतिवादी खिमानन्द ज्ञवालीले निवेदक भक्तबहादुर भट्टराईबाट रू.१,५०,०००।- घुस रिसवत लिएको कुरा स्पष्ट हुन आयो । अत: यी प्रतिवादी खिमानन्द ज्ञवालीले रू.१,५०,०००।- निवेदक भक्तबहादुर भट्टराईबाट घुस रिसवत लिई आरोपित कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम रू. १,५०,०००।- जरिवाना हुने र सोही दफा ३(१) को (घ) बमोजिम ६(छ) महिना कैदसमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको विशेष अदालत काठमाडौंको मिति २०७२।११।१४ को फैसला ।
विशेष अदालत काठमाडौंबाट मलाई कसुरदार ठहर गर्दा उजुरकर्ता भक्तबहादुर भट्टराईसमेतउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी मिति २०७१।०९।१३ को आयोगको निर्णयानुसार मिति २०६९।०९।१६ मा सम्मानित विशेष अदालतसमक्ष मुद्दा दायर भइसकी सम्पन्न भइसकेको कार्यमा मैले घुस/रिसवत लिएको भनी मिति २०७१।१०।१० गते मेरो भान्साकोठाबाट रू.१,५०,०००।- बरामद भएको, उक्त नोटहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रमाणित गराइएका रकम भनी प्रमाणित भएको आधारबाट कसुर कायम गरिएको छ । उक्त रकम मेरो साथबाट बरामद भएको भनी अभियोजनकर्ताले भन्न सकेको छैन र मबाट बरामद नभएको कुरा मौकाको बरामदी मुचुल्काबाट समेत पुष्टि भएको छ । उक्त रकम मेरो भान्साकोठाबाट बरामद भएको छ । यसरी मैले भक्तबहादुर भट्टराईलाई ऋण सापटी दिएको रकम मेरो श्रीमतीलाई फिर्ता दिएको भनी उजुरकर्ता भक्तबहादुर भट्टराईले सम्मानित अदालतमा गर्नुभएको बकपत्रले पुष्टिसमेत गरेबाट कुनै निकायबाट रकम लिई मलाई फिर्ता दिएकै कारणबाट उक्त कार्यलाई भ्रष्टाचारको कार्य ठानी सजाय गर्न कदापि मिल्दैन । निवेदक भक्तबहादुर भट्टराईले मिति २०७२।१।३१ मा सम्मानित विशेष अदालतसमक्ष बकपत्र गर्दा निवेदनको बेहोरा मैले आफूले लेखेको होइन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले खिमानन्द ज्ञवालीलाई पैसा दिएपछि टोलीले नै बनाएको निवेदन हो, सहीछाप घटना घटेपछि बेलुका चार बजेतिर मलाई गराइएको हो, म मिति २०७१।१०।९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा आई रकम बुझेको होइन, म २०७१।१०।९ गते संखुवासभामा मेरो कार्यस्थलमै थिएँ, मेरी श्रीमती बिरामी आफू पनि प्रेसरको बिरामी भएको अवस्थामा अत्यन्त तनाव र पीडाको अवस्थामा सहीछाप गराइएको हो कुन कुन कागजमा सहीछाप गरे मलाई थाहा भएन, मैले घर किन्दाखेरिको ऋण बढी ब्याजको तिर्न भनी खिमानन्द ज्ञवालीसँग मिति २०७०।५।८ गते एक लाख र मिति २०७०।६।५ गते रू. ५०,०००।- गरी रू.१,५०,०००।- ऋण सापटी लिई सामान्य कागज गरिदिएको हुँ, सापटी दिएको पैसा माग्न फोनमा र भेटघाटमा कुराकानी हुने गर्दथ्यो, सोही कुराकानीको विषयलाई फोन कल डिटेलको आधारबाट यो घटना घटाइएको हो भनी उल्लेख गरेको बेहोरालाई अनदेखा गरी मलाई कसुरदार ठहर गरिएको फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला उल्टी गरी आरोप दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी खिमानन्द ज्ञवालीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी खिमानन्द ज्ञवालीले मौकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष बयान गर्दा बरामद भएको रकम उजुरकर्ता भक्तबहादुर भट्टराईले लिएको ऋण रकम फर्काएको हो भनी आरोपित कसुरमा इन्कार रहेको र अदालतमा पनि सोही बेहोराको बयान गरेको, उजुरकर्ता भक्तबहादुर भट्टराईले अदालतसमक्ष बकपत्र गर्दा पनि बरामद भएको रकम प्रतिवादीसँग लिएको ऋण तिरेको लेनदेनको रकम हो भनी बकपत्र गरेको तथा मिसिल संलग्न मिति २०७० । ५।८ र २०७०।६।५ को लिखतबाट समेत निजहरूबिच रू. १,५०,०००।- लेनदेन भएको देखिएको अवस्थामा प्रतिवादीलाई कसुरदार ठहर्याई सजाय गरेको विशेष अदालत काठमाडौंको फैसला विचारणीय देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ता कार्यालयलाई पेसीको सूचना दिई नियमबमोजिम गरी पेस गर्नुहोला भन्ने बेहोराको यस अदालतको मिति २०७४।१।१० को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक / प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री नरेन्द्रप्रसाद पाठक र श्री लवकुमार मैनाली र विद्वान् अधिवक्ता श्री विमल ज्ञवालीले उजुरकर्ताले प्रतिवादी खिमानन्द ज्ञवालीसँग ऋण सापटी लिएको विषयमा दुईबिच भेटघाट र फोनमा कुराकानी हुने गरेको, उजुरकर्तासमेतउपर अनुसन्धान भएको विषयमा पहिले नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरी सो कार्य सम्पन्न भइसकेकाले सो विषयमा रिसवत माग्नुपर्ने र दिनुपर्ने कारण नरहेको, उजुरकर्ताले अदालतसमक्ष प्रतिवादी निर्दोष हुन् भनी बकपत्र गरिदिएको, प्रतिवादीले अख्तियारद्वारा प्रदान गरिएको रकम आफैँले नबुझी निजको भान्साकोठाबाट बरामद भएको र प्रतिवादी र उजुरकर्ताबिचको लेनदेनको कागजसमेत अदालतसमक्ष पेस भएको अवस्थामा प्रतिवादी खिमानन्द ज्ञवालीलाई आरोप दाबीबमोजिम कसुरदार ठहर हुने गरी विशेष अदालत काठमाडौंबाट भएको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी निज प्रतिवादीलाई सफाइ दिलाइपाउँ भनी तथा प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सुशील देवकोटाले प्रतिवादी र उजुरकर्ताबिच फोनमा रकमको बारेमा कुराकानी भएको, रिसवतबापत लिएको रकम निजको भान्सा कोठाबाट बरामद भएकोसमेतका प्रमाणहरूका आधारमा प्रतिवादीलाई आरोप दाबीबमोजिम कसुरदार ठहर्याएको विशेष अदालत काठमाडौंको फैसला न्यायोचित भएकोले सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटामा कार्यरत शाखा अधिकृत खिमानन्द ज्ञवालीले म गा.वि.स. सचिव हुँदा सिफारिस गरेको विषयको मुद्दा मिलाइदिने भनी रू. १,५०,०००।- माग गरेको हुँदा मलाई रकम उपलब्ध गराई मबाट घुस लिएको अवस्थामा फेला परेमा पक्राउ गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गरिपाउँ भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको भक्तबहादुर भट्टराईको निवेदनका आधारमा अनुसन्धान तहकिकात भई प्रतिवादी खिमानन्द ज्ञवालीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को कसुरमा सोही दफाबमोजिम कैद तथा जरिवाना गरिपाउँ भन्ने आरोप माग दाबी रहेकोमा प्रतिवादीलाई आरोप मागदाबीबमोजिम रू. १,५०,०००।- जरिवाना र ६ महिना कैद सजाय हुने ठहर्याएको विशेष अदालत काठमाडौंको फैसलामा चित्त नबुझाई प्रतिवादीले यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । आफूले घुस/रिसवत नमागेको, उजुरकर्तासँग व्यक्तिगत चिनजानीका हिसाबले निजलाई सापट दिएको रकम माग गर्ने सम्बन्धमा भेटघाट र फोनमा कुराकानी हुने गरेको, उजुरकर्तासमेत उपर अनुसन्धान भएको विषयमा आयोगले मुद्दा चलाई सो विषय कुनै रकम माग नगरेको र गर्नुपर्ने कारण नरहेको, आफू स्वयम्ले कुनै रकम नबुझेको, सापट रकम फिर्ता गरेको भनी मेरी श्रीमतीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा रकम बुझाइएको र सोही रकम बरामद गरिएको, उजुरकर्तासँग भएको लेनदेनको कागज अदालतसमक्ष पेस गरिएको तथा उजुरकर्ताले समेत प्रतिवादी निर्दोष रहेको भनी अदालतसमक्ष बकपत्र गरिदिएकोसमेतका प्रमाणहरूबाट म निर्दोष साबित भइरहेको अवस्थामा कसुरदार ठहर गरेको विशेष अदालत काठमाडौंको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी आरोप दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक/प्रतिवादीको पुनरावेदन जिकिर रहेको पाइन्छ ।
दुबै पक्षको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा, विशेष अदालत, काठमाडौंको मिति २०७२।११।१४ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, धनकुटा जिल्ला, ताङ्खुवा गा.वि.स. वडा नं.९ स्थित कि.नं. २४८ को पर्ती जग्गालाई छुट जग्गाका रूपमा कृष्णराज लिम्बुको नाममा दर्ता गरेको सम्बन्धमा यस मुद्दाका उजुरकर्ता भक्तबहादुर भट्टराईसमेत उपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा अनुसन्धान गरिएको सम्बन्धमा निज उजुरकर्तालाई मुद्दा नचलाई मुद्दा मिलाइदिएको भनी प्रतिवादी खिमानन्द ज्ञवालीले घुस/रिसवत माग गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मिति २०७१।१०।०९ मा भक्तबहादुर भट्टराईको उजुरी परेको र सोही मितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रू.१,५०,०००।- रकम बुझेको मिसिल संलग्न उक्त निवेदन र रकम बुझेको भरपाईबाट देखिन्छ । सो जग्गा दर्तासम्बन्धी अनुसन्धान सम्पन्न भई कृष्णराज लिम्बू, सुरेशकुमार थपलिया, टंकप्रसाद दवाडी र अभयकृष्ण जोशीसमेतउपर आरोपपत्र दायर गर्ने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग (उपसचिवस्तर) बाट मिति २०७१।०९।१४ मा निर्णय भएको मिसिल संलग्न उक्त निर्णयको प्रमाणित प्रतिलिपिबाट देखिन्छ । जग्गा दर्तासम्बन्धी उक्त मुद्दामा प्रतिवादी खिमानन्द ज्ञवालीले उजुरकर्ता भक्तबहादुर भट्टराईको बयान लिएको मिसिल संलग्न उक्त बयान कागजबाट देखिए तापनि मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने व्यक्ति खिमानन्द ज्ञवाली नभएको उक्त निर्णयबाट देखिन आयो । उजुरकर्ता र प्रतिवादी खिमानन्द ज्ञवालीबिच बारम्बार फोन वार्ता भएको भनी पेस भएको कल डिटेलका सम्बन्धमा प्रतिवादी र उजुरकर्ता दुवैले सोही सापटी लिएको रकम फिर्ता माग गर्ने सम्बन्धमा कुराकानी हुने गरेको भनी अदालतसमक्षको बयान तथा बकपत्रमा उल्लेख गरेको पाइन्छ । एकातर्फ उजुरकर्ता र प्रतिवादीबिच आपसी सम्बन्धका आधारमा लेनदेन व्यवहार चलेको निजहरूको अदालतसमक्षको एकै मिलानको बेहोराबाट देखिन्छ भने अर्कोतर्फ अगाडि नै सम्पन्न भइसकेको उजुरकर्तासमेतउपरको अनुसन्धानमा निज प्रतिवादीले निर्णय गर्ने हैसियत राखेको वा गरेको देखिँदैन । निर्णय गर्ने अख्तियारी नै नभएको व्यक्तिले कसैको अनुकूल निर्णय गराइदिन्छु वा गराइदिएँ भनी घुस/रिसवतको माग गरेको भन्ने आरोपका सम्बन्धमा निर्णय गर्ने अख्तियारी प्राप्त व्यक्ति तथा सो प्रक्रियामा सारभूत भूमिका रहने अधिकारीहरूसमेत उपर अनुसन्धान नगरी अख्तियारी नै प्राप्त नभएको व्यक्तिउपर मात्र गरिएको अनुसन्धानले वास्तविकताको पूर्ण रूपमा उजागर गर्न नसक्ने हुँदा अपूर्ण अनुसन्धानले आरोप दाबी खम्बिर गर्न मद्दत गर्दैन ।
३. माथि विश्लेषण गरिए अनुसार जग्गा दर्तासम्बन्धी मुद्दाको सम्बन्धमा प्रतिवादीले रकम माग गरे वा नगरेको यकिन नभए तापनि मिति २०७१।१०।१० गते प्रतिवादी बस्ने क्वाटरको भान्सा कोठाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिएको रू. १,५०,०००।- रकम रातो झोलामा बरामद भएको बरामदी मुचुल्काबाट देखिन्छ । बरामद भएको रकमका सम्बन्धमा प्रतिवादी खिमानन्द ज्ञवालीले आफूले उजुरकर्ता भक्तबहादुर भट्टराईलाई ऋण सापट दिएकोमा सोही रकम फिर्ता गरेको भनी आफू बाहिर निस्केको समयमा आफ्नी श्रीमतीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिएको रकम दिई आफूलाई फसाएको भनी अनुसन्धानको क्रममा र अदालतसमक्ष समेत बयान गरिदिएको पाइन्छ ।
४. उजुरकर्ताले अदालतसमक्षको बकपत्रमा स.ज. ७ मा प्रतिवादीसँग आफूले रकम सापट लिएको, सोही विषयमा आफूहरूबिच बारम्बार कुराकानी भएको कल डिटेलका आधारमा प्रतिवादीउपर यो घटना घटाइएको हुनसक्छ भनी, स.ज. १० मा आफ्नो नाउँको निवेदन तथा सम्पूर्ण कागजातहरूमा मिति २०७१।१०।१० गते बेलुकी चार बजेतिर घटना भइसकेपछि सहीछाप गरिदिएको भनी तथा स.ज. १२ मा प्रतिवादीसँग आफूले मिति २०७०।०५।०८ गते एक लाख रूपैयाँ र २०७०।०६।०५ गते पचास हजार रूपैयाँ गरी जम्मा एक लाख पचास हजार रूपैयाँ ऋण सापटी लिएको भनी उल्लेख गरिदिएको
पाइन्छ । मिति २०७०।०५।०८ गते र २०७०।०६।०५ गतेको लेनदेनको सक्कल कागज विशेष अदालतसमक्ष प्रतिवादीले पेस गरेको उक्त सक्कल कागजहरूबाट देखिन्छ । उक्त कागजातहरूलाई विशेष अदालत काठमाडौंले रजिस्ट्रेसन नभएको भनी प्रमाणमा ग्रहण नगरेको देखियो । मुलुकी देवानी संहिता, २०७४ लागु हुनुअघि लिने दिने दुवैको हस्ताक्षर भएको लेनदेनको लिखत पेस भएको र रकम लेनदेन भएको भनी दुवै पक्षले अदालतसमक्ष स्वीकार गरेको अवस्थामा सो लिखत अन्यथा प्रमाणित नभएसम्म रजिस्ट्रेसन नभएकै आधारमा लेनदेनको कारोबार भएको तथ्य स्थापित गर्न पर्याप्त नरहेको भनी मान्न मिल्ने देखिएन । मिसिल संलग्न श्रव्य दृश्यसमेतले उजुरकर्ता र प्रतिवादीबिच आपसी सम्बन्ध रहेको तथ्य स्थापित गरेको पाइन्छ ।
५. माथि विश्लेषण गरिएअनुसार उजुरकर्ता भक्तबहादुर भट्टराई ऋणी र प्रतिवादी खिमानन्द ज्ञवाली दाता भई ऋण सापटी लेनदेनको कारोबार रहेको अवस्थामा ऋणीबाट सापट रकम फिर्ता हुने र लिने अपेक्षाकृत स्थितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा उपलब्ध गराइएको रकमलाई सापटी रकम फिर्ता भनी बुझाई सोही रकम बरामद गरिएको सन्दर्भमा सो रकम बरामद भएकै आधारमा शंकारहित तवरबाट आरोप दाबी पुष्टि हुन सक्दैन । यसै सन्दर्भमा प्रतिवादीले घुस/रिसवत माग गरी स्वत:स्फूर्त रूपमा घुस/रिसवत लिएको पुष्टि नभएको अवस्थामा निजको साथबाट अख्तियार दुरूपयोग आयोगद्वारा उपलब्ध गराइएको रकम बरामद भएको तथ्यबाट कसुर स्थापित हुन सक्छ वा सक्दैन भनी हेर्दा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा “कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुस रिसवतबापत रकम उपलब्ध गराउन सक्ने छ” भन्ने साबिकको व्यवस्थाबमोजिम आयोगबाट सो रकम उपलब्ध गराई प्रतिवादीको साथमा कुनै तवरबाट पुर्याई सोही रकम बरामद गरिएको
देखिन्छ । सो व्यवस्था संविधानविपरीत रहेको भनी अधिवक्ता विष्णुप्रसाद घिमिरे वि. सङ्घीय संसद्, नयाँ बानेश्वर, काठमाडौंसमेत भएको मु. नं. ०७४-WC-००२० को संविधानसँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाउँ मुद्दा दायर भएको र सो मुद्दामा यस अदालतको संवैधानिक इजलासबाट “राज्य कोषको रकम भ्रष्टाचार प्रयोजनका लागि उपलब्ध गराउन प्रचलित कुनै ऐनले अनुमति प्रदान गरेको
देखिँदैन । ऐनद्वारा अख्तियारी प्रदान नगरिएको अवस्थामा नियममा प्रावधान समावेश गरेर रिसवत प्रयोजनका लागि राज्य कोषको रकम प्रदान गर्नु मनासिब हुँदैन । विवादित नियमावलीमा रिसवतको रकम जफत हुने ऐनमा रहेको प्रावधान प्रतिकूल व्यवस्था गरिएकोसमेत देखिन्छ । रिसवतको रूपमा दिइएको र बरामद गरिएको रकम पुनः आयोगले नै फिर्ता लिने गरेको पाइन्छ । पहिले रकम दिने, रिसवत लिन दुरूत्साहन दिने, रकम दिलाउने, त्यसपछि मानिस पक्राउ गर्ने, मुद्दा चलाउने र सजाय दिलाउने, बरामद गरेको रकम आफैँसँग राख्ने र पुनः अर्को व्यक्तिलाई त्यसैगरी समात्ने कार्य प्रणालीबाट मातृ-ऐनमा रहेको रिसवतको रकम जफत हुने प्रावधानलाई सङ्कुचित पारेको वा नियमले अपवादको अवस्था सिर्जना गरेको देखिन आउँदछ । यसबाट स्वच्छ अनुसन्धानप्रतिको विश्वसनीयतासमेत कमजोर बन्न जाने अवस्था देखियो । माथि उल्लिखित समग्र पक्षमा विचार गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको प्रावधानलाई अमान्य र बदर भनी घोषित गर्नु आवश्यक, मनासिब र वाञ्छनीय देखिने” “अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आज मिति २०७८ साल वैशाख ८ गतेदेखि लागु हुने गरी अमान्य र बदर हुने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उल्लिखित सिद्धान्तको अनुसार नियमावलीको बदर भइसकेको व्यवस्थाबमोजिम आयोगबाट रकम दिई, दिलाई, सोही रकम प्रतिवादीबाट बरामद गरिएकै मात्र आधारमा प्रतिवादीलाई घुस/रिसवत लिएको कसुरदार ठहर गर्नु न्यायसङ्गत नहुने देखिन्छ । आफू निर्दोष रहेकोले सुरू फैसला उल्टी गरी सफाइ दिलाइपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर मनासिब देखिन आयो ।
६. तसर्थ, प्रतिवादी खिमानन्द ज्ञवालीले उजुरकर्ता भक्तबहादुर भट्टराईसँग निजउपर अनुसन्धान भएको जग्गा दर्तासम्बन्धी सिफारिसको कार्यमा निजलाई मुद्दा नचलाइदिएबापत घुस/रिसवत माग गरेको वा स्वतः स्फूर्त रूपमा स्वेच्छाले रकम लिने दिने गरेको भन्ने कुरा वस्तुनिष्ठ प्रमाणहरूद्वारा पुष्टि हुन नसकेको, आरोप दाबी उजुरकर्ताकै अदालतसमक्षको बकपत्रबाट समेत खण्डित भइरहेको तथा अन्य प्रमाणहरूबाट आरोप दाबी पुष्टि हुन नसकी प्रतिवादीले उजुरकर्तालाई दिएको ऋण सापटी फिर्ता हुने अपेक्षाकृत स्थितिको फाइदा उठाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रकम उपलब्ध गरी, गराई, प्रतिवादीबाट बरामद गरिएको कार्य र सोको व्यवस्था संविधानविपरीत रहेकोले प्रमाणमा ग्राह्य हुन नसक्ने भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भएकोसमेतका माथि विवेचित आधार, कारण, प्रमाणहरू र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादी खिमानन्द ज्ञवालीलाई भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा ३(१) को कसुरमा सोही दफाबमोजिम ६ (छ) महिना कैद र रू. १, ५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) जरिवाना हुने गरी कसुरदार ठहर्याएको विशेष अदालत काठमाडौंको मिति २०७२।११।१४ को फैसला त्रुटिपूर्ण देखिएकाले उल्टी भई निज पुनरावेदक प्रतिवादी खिमानन्द ज्ञवालीलाई आरोप दाबीबाट सफाइ हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी खिमानन्द ज्ञवालीले आरोप दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले निजको नाउँमा कायम रहेको ल. नं. ८१२ को लगत कट्टा गर्नु भनी विशेष अदालत, काठमाडौंमा लेखी पठाइदिनू .............................१
प्रतिवादी खिमानन्द ज्ञवालीले आरोप दाबीबाट सफाइ पाउने ठहरेकाले निजले विशेष अदालतमा र.नं. २७५१ बाट बुझाएको धरौटी रकम रू. १,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ मात्र) फिर्ता माग्न निवेदन गरे नियमानुसार फिर्ता दिनु भनी विशेष अदालत, काठमाडौंमा लेखी पठाइदिनू...............................२
प्रतिवादी खिमानन्द ज्ञवालीले आरोप दाबीबाट सफाइ पाउने ठहरेकाले निजले यस अदालतमा र.नं. २७३० बाट बुझाएको धरौटी रकम रू. १२,०००।- (बाह्र हजार रूपैयाँ मात्र) फिर्ता माग्न निवेदन गरे नियमानुसार फिर्ता दिनू.............................................................३
प्रतिवादीले आरोप दाबीबाट सफाइ पाउने ठहरेकाले निजको सेवा सुविधाको हकमा कानूनबमोजिम गर्नु भनी दरबन्दी रहेको सम्बन्धित विभागमा लेखी पठाइदिनू.४
सरोकारवालाले नक्कल मागे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू...........................................५
फैसलाको प्रतिलिपि साथै राखी फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू................६
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू..........................................७
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत : विकाशकुमार रजक
इति संवत २०७८ साल भदौ २९ गते रोज ३ शुभम् ।