शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९४७ - अंश चलन

भाग: ६४ साल: २०७९ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७७।१२।१६

 

मुद्दा:- अंश चलन

 

०६९-CI-१०७७

पुनरावेदक / वादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने करूणा स्वाँर

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने सुशिला स्वाँर

 

०६९-CI-१०९०

पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने सुशिला स्वाँर 

विरूद्ध

प्रत्यर्थी / वादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने करूणा स्वाँर

 

मर्ने व्यक्तिको जीवनकालमा उसको स्याहार सम्भार र औषधी उपचार गरेको प्रमाण पेस नगरेसम्म र प्रमाणका आधारमा सो तथ्य पुष्टि नभएसम्म कानूनी रूपमा अलग भई बसेको व्यक्ति मरी परेको अपुतालीमा कुनै एउटा अंशियार हकवाला वा व्यक्तिको मात्र अपुताली एवं अंश हक कायम हुन नसक्ने । 

(प्रकरण नं.८)

 

वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गोपी शर्मा सुवेदी

प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नन्दप्रसाद अधिकारी

अवलम्बित नजिर :

ने.का.प.२०६७, अङ्क ८, नि.नं.८४४५

ने.का.प.२०७१, अङ्क १२, नि.नं.९३१७

ने.का.प.२०७४, अङ्क ११, नि.नं.९९०१

ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७७

ने.का.प.२०७७, अङ्क ५, नि.नं.१०५०२

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः-

मा.जिल्ला न्यायाधीश श्री टेकनारायण कुँवर

काठमाडौं जिल्ला अदालत

फैसला संशोधन गर्ने :

मा.जिल्ला न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ 

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री एकराज आचार्य

माननीय न्यायाधीश श्री प्रकाश चन्द्र गजुरेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः-

 

तथ्य खण्ड

विपक्षी ससुरा गणेशबहादुर स्वाँर र सासू विनितादेवी स्वाँरबाट विपक्षी पति चन्द्रभूषण स्वाँर र विपक्षी आमाजु सुशिला स्वाँरको जायजन्म भएको 

हो । सासूको आफ्नै कालगतिले मिति २०५४/५/२८ मा निधन भएको र आमाजु सुशिला स्वाँरले विवाह नगरी अविवाहित बस्नुभएकोले हामीहरू जम्मा ३ जना मूल अंशियारहरू रहेका छौं । मूल अंशियारहरूबिच हालसम्म अंशबण्डा भएको छैन । विपक्षी पति र म फिरादीबिच आफ्नो जातीय परम्पराबमोजिम मिति २०४१/१/२७ मा विवाह भई हामीबाट मिति २०४३/९/१७ मा एक मात्र छोरी चारूकलाको मात्र जायजन्म भएको र हाल उनको समेत विवाह भइसकेको छ । म फिरादीले आफ्नो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन हरसम्भव प्रयास गर्दा पनि २०४९ भाद्र महिनामा विपक्षी पतिले कलावती स्वाँरलाई दोस्रो श्रीमतीको रूपमा विवाह गर्नुभयो । निजसँग विवाह गरेपश्चात् मलाई हेला र बेवास्ता गर्न थाल्नुभयो । तैपनि मैले घरको इज्जत बचाउनको लागि विपक्षी पतिले दोस्रो विवाह गरेउपर पनि कुनै उजुर बाजुर नगरी सही बसी आएकी थिएँ । विपक्षी सौता कलावतीबाट दुई छोराहरूको जायजन्म भएको छ । यसरी विपक्षी पति तथा सौताले हेला गर्न थालेपछि निज पतिबाट अंश माग गर्दा मसँग कुनै सम्पत्ति छैन । मैले आफ्नो भागको अंश पाएको छैन, मैले कहाँबाट दिनु र जेजति सम्पत्ति सबै बुबा र दिदीको जिम्मामा छ भन्नुभयो । तसर्थ, फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिहरूलाई मूल अंशियारहरू गणेशबहादुर स्वाँर, आमाजु सुशिला स्वाँर, पति चन्द्रभूषण स्वाँर, सौता कलावती स्वाँर, छोराहरू दिवासिस स्वाँर, सिवासिस स्वाँर र म फिरादी गरी ५ भागको १ भाग अंश छुट्याई अदालतबाटै चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको मिति २०६५/६/६ को वादी करूणा स्वाँरको फिरादपत्र ।

विपक्षी वादीले जम्मा ३ जना मूल अंशियारहरू रहेकोबारे आफ्नो फिराद दाबीमा उल्लेख गरेकी छन् । विपक्षीका पति चन्द्रबहादुर स्वाँरले आफ्नो अंश भागको सम्पत्ति निजको पिता म प्रतिवादी गणेशबहादुर स्वाँरबाट र.नं. २४९७ मिति २०६१/२/१८ बाट अंश बुझेको भरपार्इ रजिस्ट्रेसन पारित भइसकेबाट वादीका मूल अंशियार प्रतिवादी चन्द्रभूषण सिंह स्वाँरले निजको अंश भाग बुझिसकेको हुँदा विपक्षी वादीले हामीबाट अंश पाउने अवस्था 

छैन । अंशियारमध्येकी म सुशिला स्वाँरले पनि आफ्नो अंश भाग प्रतिवादी पिता गणेशबहादुर स्वाँरबाट मिति २०६५/६/२७ मा अंश बुझी अंश बुझेको भरपाई पारित गरी अंश दिई लिइसकेको अवस्था भई ३ जना अंशियारमध्ये चन्द्रभूषण, सुशिला र गणेशबहादुरको अंश छुट्टिसकेको अवस्थामा छुट्टी भिन्न भएका हामी प्रतिवादीउपर लिएको दाबी अ.बं. ८२ नं. ले खारेज भागी छ । विपक्षी वादीको कुनै पनि सम्पत्ति हामीहरूको जिम्मामा छैन । पारित अंश भरपाईसमेतको आधारमा मूल अंशियारहरूबिच नै हालसम्म अंशबण्डा भएको छैन भन्ने वादी दाबी मिथ्या एवम् बनावटी रहेको छ । विपक्षी वादीको दाबी आफ्नो पतिसँग मात्र सीमित हुने कानूनी व्यवस्था रहेको छ । तसर्थ, विपक्षीलाई हामी प्रतिवादीहरूसमेतलाई प्रतिवादी बनाउने हकदैया नभएको हुँदा अ.बं. ८२ नं. को रोहमा फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गणेशबहादुर स्वाँर र सुशिला स्वाँरको मिति २०६५/९/१४ को संयुक्त प्रतिउत्तर जिकिर ।

त्यसैगरी प्रतिवादीहरू चन्द्रभूषण स्वाँर र कलावती स्वाँरका नाममा म्याद सूचना जारी हुँदा निजहरूले प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको देखिन्छ ।

अदालतको आदेशबमोजिम वादी प्रतिवादीका साक्षीहरूले गरेको बकपत्र तथा तायदाती फाँटवारी तथा मालपोत कार्यालयबाट प्राप्त लिखतको प्रमाणित प्रतिलिपिहरू मिसिल सामेल रहेको ।

यसमा दुवै अंशियार बाबु गणेशबहादुरसँग पहिल्यै छुट्टी भिन्‍न भई बसेका अंशियार भए तापनि गणेशबहादुरको निधनपश्चात् अब आएर दुई जना मुख्य अंशियारको रूपमा गणेशबहादुरका छोरा छोरी सुशिला स्वाँर र चन्द्रभूषण स्वाँर मात्र रहेको देखिनाले स्व. गणेशबहादुरको नाममा रहेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई समन्यायको दृष्टिकोणबाट हेर्दासमेत दुई भाग गरी बण्डा लगाउन उपयुक्त 

देखिन्छ । त्यसरी बण्डा गरिसकेपछि प्रतिवादी चन्द्रभूषण स्वाँरको भागमा पर्ने १ भागबाट वादीले ५ भागको १ भाग अंश पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६७।८।१३ गतेको फैसला । 

मैले पिताबाट २०५६ सालमा हा.व.बाट प्राप्त गरेको का.जि.नगर ५ कि.नं. ४८९ को क्षे.फ.०-९-०-३ सम्पत्ति सम्बन्धमा कुनै विवाद नरहेको र विपक्षीले मैले प्राप्त हा.व. लिखतलाई कुनै चुनौती नदिएको अवस्था भएको र फैसलाको ठहर खण्डमा समेत विवाद नरहेको भनी व्याख्या भएको साथै विपक्षीले मबाट अंश नपाउने भनिएको छ तर मेरा नामको सम्पत्तिलाई पिता गणेशबहादुर स्वाँरका नामको सम्पत्ति भन्दै तपसिल खण्डमा बण्डा हुने सम्पत्तिअन्तर्गत उल्लेख गरिएका कारणले उक्त सम्पत्ति मेरो नामको भएको हुँदा मेरो नामको सम्पत्तिबाट विपक्षीलाई बण्डा नलाग्ने भनिएबाट उक्त सम्पत्ति तपसिल खण्डबाट हटाई फैसला संशोधन गरिपाउँ भनी जिल्ला अदालत नियमावली, २०५२ को नियम ५१ बमोजिम निवेदन दिँदासमेत कुनै विचार नगरी मिसिल संलग्न फैसलाको ठहर खण्ड अध्ययन गरी दर्ता स्रेस्तासमेत नबुझी मिति २०६८।९।२० गते आदेश हुँदा उक्त जग्गा बण्डा नलाग्ने भनी फैसलाको ठहर खण्डमा उल्लेख भएको नदेखिँदा निवेदन मागबमोजिम सो जग्गा तपसिल खण्डबाट हटाइने गरी संशोधन गर्न मिलेन भनी आदेश गरिएको छ जुन फैसला संशोधनसम्बन्धी कानूनी सिद्धान्त प्रतिकूल र जिल्ला अदालत नियमावली, २०५२ को नियम ५२ समेतका विपरीत भई त्रुटिपूर्ण छ । तसर्थ, उक्त फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिरबमोजिम इन्साफ गरिपाउँ भन्‍ने प्रतिवादी सुशिला स्वाँरको पुनरावेदनपत्र ।

यसमा प्रत्यर्थी वादीका पति चन्द्रभूषण स्वाँरले मिति २०६१।२।१८ मा आफ्ना पिता गणेशबहादुर स्वाँरबाट अंश बुझी लिनुभएको तथ्यमा विवाद नरहेको स्थितिमा मुद्दा चल्दा चल्दैको अवस्थामा निज गणेशबहादुरको देहान्त भएको भनी निजका नामको सम्पत्तिसमेत बण्डा गर्ने गरेको सुरूको फैसला अपुतालीसम्बन्धी कानूनी प्रावधानको सम्बन्धमा समेत विचारणीय भई सुरूको इन्साफ फरक पर्न सक्ने देखिएकोले छलफलको लागि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार पेस गर्नु भन्‍ने मिति २०६९।२।४ को आदेश ।

वादीका स्वर्गीय ससुरा गणेशबहादुरको नाममा रहेको कैलाली र काठमाडौंमा रहेका जग्गाको हकमा हेर्दा वादीका पति चन्द्रभूषण स्वाँर र दिदी सुशिला स्वाँर स्व. गणेशबहादुरका हकवाला रहे भएको तथ्यमा विवाद देखिँदैन । यी दुवै हकवाला पिता गणेशबहादुरसँग अंश बुझी छुट्टी भिन्‍न भएको स्थितिमा स्वर्गीय गणेशबहादुरको नाममा रहेको सम्पत्तिलाई २ भाग बण्डा लगाई चन्द्रभूषण स्वाँरको भागमा पर्ने १ भागबाट ५ भागको १ भाग अंश पाउने ठहर्‍याई सुरूले गरेको फैसलालाई अन्यथा भन्‍न मिलेन । जहाँसम्म प्रतिवादी सुशिला स्वाँरले पिता गणेशबहादुरबाट ०५६ सालमा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको कि.नं. ४८९ को जग्गाबाट वादीले अंश पाउने हो होइन भन्‍नेतर्फ हेर्दा गणेशबहादुरको नाममा दर्ता रहेको कि.नं. ४८९ को जग्गा सगोलको सम्पत्ति रहेकोमा विवाद देखिन्‍न । सो सम्पत्ति हालैदेखिको बकसपत्र पारित गरी लिँदा वादीका पतिको मन्जुरी लिएको पनि देखिँदैन । उक्त लिखत पारित गरी लिँदा पिता गणेशबहादुर स्वाँर, छोरा चन्द्रभूषण स्वाँर र अविवाहित छोरी सुशिला स्वाँर ३ जना अंशियार रहेको र पिता गणेशबहादुरले आफ्नो अंश भागसम्म मुलुकी ऐन, अंशबण्डाको १९(४) नं. ले हक हस्तान्तरण गर्न पाउने नै हुँदा निजले आफ्नो अंश भागसम्म प्रतिवादी सुशिला स्वाँरलाई हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्‍न मिलेन । अतः सो जग्गामा गणेशबहादुरको अंशको हक हिस्सा पनि वादीले पाउँछ भन्‍न मिलेन । सो कि.नं. ४८९ को जग्गालाई ३ भाग गरी स्व. बाबुको १ भाग र प्रतिवादी सुशिला स्वाँरको १ भाग गरी २ भाग प्रतिवादी सुशिला स्वाँरको हुन्छ र प्रतिवादी चन्द्रभूषणको १ भागलाई पुनः ५ भाग लगाई सोबाट १ भाग वादीले अंश पाउने देखिन आयो । अतः उक्त कि.नं. ४८९ लाई २ भाग गरी १ भागबाट ५ भाग गरी १ भाग वादीले अंश पाउने ठहर्‍याई सुरूले गरेको फैसला सो हदसम्म मिलेको देखिएन । तसर्थ, कि.नं.४८९ को हकमा सम्म सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।८।१३ गते भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म सुरू फैसला केही उल्टी भई कि.नं. ४८९ को जग्गालाई ३ भाग गरी प्रतिवादी चन्द्रभूषण स्वाँरको १ भागलाई पुनः ५ भाग लगाई सोबाट १ भाग अंश प्रत्यर्थी वादी करूणा स्वाँरले पाउने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०६९।७।२३ मा भएको फैसला ।

मेरा पति चन्द्रभूषण स्वाँर मिति २०६१।२।१८ मा मनवा गा.वि.स.को हकमा मात्र पिता गणेशबहादुर स्वाँरसँग अंश बुझी अन्य सम्पत्तिको हकमा सगोलमा बाबु छोरा बसेको कुरा उक्त मितिको पारित लिखतको बेहोराले आफैँ बोलिरहेको छ । यसैगरी प्रतिवादीमध्येकी सुशिला स्वाँरले पिता गणेशबहादुर स्वाँरबाट मिति २०६५।६।२७ मा सम्पूर्ण अंश बुझीलिई अंश भरपाई गर्दा सम्पूर्ण सम्पत्तिबापत अंश लिएको तथा अन्य श्री सम्पत्तिमा कुनै हकदाबीसमेत नगर्ने भनी अंश भरपाईमा प्रस्ट रूपमा उल्लेखसमेत भई अंश हकबापत सम्पूर्ण सम्पत्ति लिइसकेको कुरामा कुनै न्यायिक विवेचना नै गरिएको छैन । आंशिक रूपमा अंश बुझेको र पूर्ण रूपमा अंश बुझेको कुरालाई एउटै अर्थ गर्न कदापि 

मिल्दैन । सम्पूर्ण अंश हक प्रतिवादी सुशिला स्वाँरले बुझी लिएकोमा पिता तथा ससुराको नाममा रहेको काठमाडौं तथा कैलाली जिल्लाअन्तर्गतको घर जग्गाहरूमा प्र. सुशिला स्वाँरको हक कदापि लाग्न सक्दैन । पिता तथा सशुरा गणेशबहादुर मेरा पति तथा प्रतिवादीमध्येका चन्द्रभूषण स्वाँर आंशिकरूपमा अंश बुझी सगोलमा रहेको तथा पिताको मृत्युपश्चात् सामाजिक परम्पराअनुसार गर्ने काजक्रियालगायत अन्य सेवा कार्य आदि सम्पूर्ण गर्नुपर्ने कुराहरू पति चन्द्रभूषण स्वाँरले गरेको करा मनवा गा.वि.स. कैलालीको सिफारिससमेतले प्रस्ट पारिरहेको सन्दर्भको व्याख्या नै नगरी स्व. गणेशबहादुर स्वाँरको नाउँमा रहेका घर जग्गाहरूसमेत २ भाग गरी १ भाग अंश सुशिला स्वाँरले पाउने र १ भागमध्येबाट म पुनरावेदकले पाउने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेको हुँदा विद्यमान अंशबण्डाको महलको तथा अपुतालीको महलको समग्र व्यवस्थाबाट म पुनरावेदक वादीको पतिको एकलौटी हक हुने हो । एकलौटी कायम गरी सोबाट ५ भाग लगार्इ १ भाग म पुनरावेदकले पाउने गरी सुरू तथा पुनरावेदनको फैसला उल्टी गरिपाऊँ । कानूनबमोजिम सम्पूर्ण सम्पत्तिबापतको ०६५ सालमा अंश हक बुझिलिई अब कुनै दाबीसमेत नगर्ने गरी अंश भर्पाईसमेत गरेको अवस्थामा पिताको नाउँमा रहेको सम्पत्ति मु. ऐन अपुतालीको महलको ६ नं. बमोजिम सँगै बसेको छोरा मेरा पति चन्द्रभूषण स्वाँर रहेभएकोमा सुरू तथा पुनरावेदन अदालतले विद्यमान अंशबण्डाको महल तथा अपुतालीको महलको उक्त ६ नं. को न्यायिक विवेचना नगरी गरेको प्रस्ट छ । विपक्षी प्र.सुशिला स्वाँरको नाममा कुनै लिखतसमेत नगरेको अवस्थामा सो नं. बमोजिम पिताको नामको सम्पत्तिसँगै बसेको छोरा मेरा पति चन्द्रभूषण स्वाँरले एकलौटी पाउनेमा २०६५ सालमा अंश लिई सम्पूर्ण दाबी छाडेकी विपक्षी सुशिला स्वाँरसमेतले पाउने गरी भएको फैसलामा मु. ऐन अंशबण्डाको महल अपुतालीको महलको ६ नं., अ.ब. १८४(क),१८५, प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको प्रत्यक्ष त्रुटि भएको अवस्था रहेको 

छ । ससुरा गणेशबहादुर मुद्दा पर्दापर्दैको अवस्थामा मृत्यु भएकोमा निजको नाउँको सम्पत्ति सगोलमा रहेको मेरा पतिको नाममा मात्र हुने गरी फैसला गर्नुपर्नेमा छुट्टि भिन्न भइसकेकी छोरी सुशिला स्वाँरसमेत सगोलमा रहेको सरह मानी पिताको भागको सम्पत्ति २ भाग गरी १ भाग सुशिला स्वाँरले पाउने बाँकी १ भागमध्येबाट म पुनरावेदक वादीले पाउने गरी भएको फैसलाले मलाई असर परेको हुँदा सोही हदसम्म उक्त फैसला उल्टी हुनुपर्छ । सगोलमा रहेको अवस्थामा हालैदेखिको बकसपत्रको माध्यमबाट २०५६ सालमा मूल सडकको छेउको मूल्यवान् का.जि., का.म.न.पा., वडा नं.५ को कि.न.४८९ को क्षे.फ. ०-९-०-३ घरजग्गा सगोलको रहेकोमा विवाद नरहेको तथा सो जग्गा बण्डासमेत नभएको अवस्था रहेकोमा सुरू जिल्ला अदालतबाट न्यायसम्मत तरिकाबाट हाल कायम रहेको मुल २ अंशियारहरूबिच २ भाग लगाउने गरी भएको फैसलालाई मुलुकी ऐन अंशबण्डाको महलको १९४ नं. बमोजिम स्व.ससुराको भागको सम्पत्तिसमेत गरी २ भाग प्रतिवादी सुशिला स्वाँरले पाउने र बाँकी १ भागमध्येको ५ भाग लगाई सोबाट १ भाग मैले पाउने गरी पु.वे.अ.बाट भएको फैसला विद्यमान अंशबण्डाको कानूनी व्यवस्थाविपरीत छ । पिताले सगोलमा छँदा विपक्षीलाई आफ्नो भाग लिखत गरिदिएको नभर्इ सगोलका अंशियारको बिचमा राखेको सम्मको अवस्था हो । सोलाई पिताले आफ्नो भाग दिएको भनी अर्थ गर्नु विद्यमान अंशबण्डाको कानूनी प्रावधान तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त तथा मु. ऐन अंशबण्डाको महलको १९(४) तथा प्रमाण ऐन, २०३१ को दफा ६(क) समेतको विपरीत रहेको छ । मुल अंशियार मुद्दा पर्दापर्दाकै अवस्थामा मृत्यु भएको अवस्थामा सगोलमा छँदा भएको हक हस्तान्तरणलाई अंशबण्डा भएसरह मानी मृत ससुराको भागसमेत गरी सुशिला स्वाँरले २ भाग पाउने र मेरा पतिले १ भाग मात्र पाउने र सो भागबाट मैले ५ भागको १ भाग पाउने गरी फैसला गर्नु न्यायको रोहमा कुनै पनि हालतमा न्यायपूर्ण मान्न नमिल्ने भर्इ न्यायिक मनको अभाव रहेको हुँदा समानुपातिकरूपमा २ भाग लगाइ सोको १ भागबाट ५ भाग लगाइ १ भाग लगाउने गरी सुरू जिल्ला अदालतले गरेको फैसला कायम गरिनुपर्छ । सम्पूर्ण प्रतिवादीहरू मिली मलाई केही कसो गरी कम अंश दिने नियतवश प्रतिवादीहरू मिली गरेको हकहस्तान्तरणलगायतका कार्यहरूले मेरो हक कदापि जान सक्दैन । म फिरादीले पतिसमेतलाई प्रतिवादी बनार्इ दायर गरेको प्रस्तुत मुद्दामा पति तथा सौता कलावती स्वाँर तथा चन्द्रभूषण स्वाँरले मौन सहमति गरी सुरू म्यादै गुजारी बसेको तथ्यले सो कुरा पुष्टि गर्दछ । सोतर्फ सुरू तथा पुनरावेदन अदालतबाट कुनै न्यायिक विवेचना नगरी भएको प्रस्ट रहेको हुँदा ससुरा गणेशबहादुरको नाममा कायम रहेको काठमाडौं तथा कैलाली जिल्लाअन्तर्गतको घरजग्गाहरू मेरा पति चन्द्रभूषण स्वाँर एकासगोलमा रही सामाजिक परम्पराअनुसार अन्य गर्नुपर्ने सेवा कार्य आदिलगायत काजक्रियासमेत गरेको हुँदा पतिको एकलौटी कायम गरी सोबाट पनि ५ भाग लगाइ १ भाग दिलाइपाउँ र एकासगोलको परिवारमा रहेको अवस्थामा २०५६ सालमा हा.ब.को माध्यमबाट का.जि.का.म.न.पा. वडा नं.५ को कि.न.४८९ को प्र. सुशिला स्वाँरका नाममा आएको मूल सडकको छेउको मूल्यवान् घरजग्गालाई सगोलको सम्पत्ति स्वीकार गरी फेरी सोही सम्पत्तिलाई मृत ससुरा गणेशबहादुरको भाग गरी २ भाग प्रतिवादी सुशिला स्वाँरले मात्र पाउने गरी फैसला भएको हुँदा उक्त फैसला आफैँमा विरोधाभाषपूर्ण रहेको पुष्टि हुन्छ । उक्त मितिमा पारित लिखतको कानूनी आधार तथा परिवेश विश्लेषण नै नगरी एकै प्रकृतिको अंशियारहरूबिच विभेद गरी भएको फैसला समन्यायको स्थापित सिद्धान्तबमोजिम कदापि मिल्दैन । पुनरावेदन अदालत पाटन तथा सुरू जिल्ला अदालतले सम्बद्ध प्रमाणको समुचित मूल्याङ्कन र विश्लेषण नगर्नुका साथै कानूनको गलत व्याख्या गरी, न्यायिक मनको प्रयोग नै नगरी मनोगत र हचुवा तर्क अघि सारी फगत प्रतिउत्तर तथा पुनरावेदन जिकिरकै भरमा आंशिक अंश बुझी सगोलमा रहेको मेरा पति चन्द्रभूषण स्वाँर आफ्ना पिता गणेशबहादुर स्वाँरसँग द्वन्द्वकालको स्थितिमा पुर्ख्यौली सम्पत्तिको सुरक्षाको खातिर आफ्नो व्यवहार मिलाउन सम्स मनवा गा.वि.स.को हकमा अंश भरपाई गरिलिएको आधारमा स्व. गणेशबहादुरको नामको काठमाडौं तथा कैलाली जिल्लाअन्तर्गतको जग्गालाई पतिको एकलौटी कायम नगरी सोबाट समेत २ भाग लगाई सोको १ भागबाट ५ भाग लगाइ १ भाग दिलाउने गरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला सोही हदसम्म उल्टी गरिपाउन र प्र.सुशिला स्वाँरको नाममा २०५६ सालमा हा.ब.को लिखतको माध्यमबाट हक हस्तान्तरण भर्इ आएको कि.नं.४८९ को मूल सडकको छेउको मूल्यवान् घरजग्गालाई २ भाग लगाइ सोको १ भागलाई ५ भाग लगाइ सोको १ भाग लगाउने गरी भएको सुरू फैसला उल्टी हुने गरी ३ भाग लगाइ १ भागको ५ भागको १ भाग वादीले पाउने गरी भएको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसलाबमोजिम २ भाग लगाइ सोको १ भागलाई ५ भाग लगाइ १ भाग दिलाउने गरी भएको सुरू फैसला कायम गरिपाउँ भन्‍ने बेहोराको वादी करूणा स्वाँरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

म सुशिला स्वाँरले मिति २०५६/८/१७ मा पिता गणेशबहादुरबाट हालैको बकसपत्रबाट प्राप्त का.जि का.म.न.पा. वडा नं. ५ कि.नं. ४८९ को क्षे.फ. ०-९-०-३ जग्गा वादीका पतिले अंश पाइसकेको नदेखिएको भन्ने अर्थ गरी वादीका पतिलाई साक्षी राखेको नदेखिएको भनी ३ भागको १ भागबाट वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला जिल्ला अदालतको फैसलाको ठहर खण्डका विपरीत छ । विवादको सम्पत्तिका सम्बन्धमा काठमाडौं जिल्ला अदालतको फैसलाको ठहर खण्डको प्रकरण ८ पृष्ठ ५ मा मैले प्राप्त गरेको बकसपत्र सम्बन्धमा कुनै विवाद रहेको पाइँदैन भनिएको र ठहर खण्डमा मबाट वादीका पतिले अंश पाउने भनी कहीँकतै उल्लेखसमेत नभएको अवस्था र तपसिल खण्डमा सम्पत्तिको विवरण उल्लेख गर्ने क्रममा मेरो नामको सम्पत्तिलाई गणेशबहादुर स्वाँरको नामको भनी बण्डा हुने कोटीमा राखिदिएको कारण म पुनरावेदकले विवादको सम्पत्तिबाट फैसलाको ठहर खण्डले बण्डा लाग्ने पनि नभनेको र मेरो नामको सम्पत्तिलाई पिताका नामको सम्पत्ति भनी उल्लेख गरेकोले फैसला संशोधन गरिपाउँ भनी काठमाडौं जिल्ला अदालतमा मिति २०६८/९/१९ मा निवेदन माग गरेकोमा अत्यन्त गलत ढङ्गबाट “उक्त जग्गा बण्डा नलाग्ने भनी फैसलाको ठहर खण्डमा उल्लेख भएको नदेखिँदा निवेदन मागबमोजिम तपसिल खण्डबाट हटाइने गरी संशोधन गर्न मिलेन” भनी आदेश भएको हुँदा मैले मेरो पुनरावेदनमा उक्त कुरा गलत रहेको भनी दाबी जिकिर लिएको सन्दर्भमा कुनै विवेचना नै नभई मेरो नामको सम्पत्तिबाट पनि बण्डा पाउने ठहर गरिएको अत्यन्तै हचुवापूर्ण छ । सुरू जिल्ला अदालतबाट फैसला हुँदा फैसलाको ठहर खण्डको कुन हरफमा सुशिला स्वाँरका नामको सम्पत्ति पनि बण्डा लाग्ने भनिएको छ फैसलाले बोल्दैन भने झिकाइएका दर्ता स्रेस्तासमेतबाट विवादको कि.नं. ४८९ को सम्पत्ति गणेशबहादुरका नामको होइन भन्ने कुरा पुष्टि भएपछि मेरो नामको जग्गा गणेशबहादुरका नामको भनी तपसिल खण्डमा उल्लेख भएको कारण फैसलामा अनर्थ लाग्ने गरी आदेश गर्न बोल्न मिल्ने होइन । विवादको कि.नं. ४८९ को सम्पत्ति मैले प्राप्त गरेको लिखतउपर मैल अंश पाउने भनिएका वादीका पतिले दाबी नगरेको निजले मेरो बकसपत्रउपर चुनौती नदिएको र वादीसमेतले स्वयम् बकसपत्रउपर कुनै चुनौती नदिएको अवस्थामा म सुशिला स्वाँरबाट पनि अंश पाउने नभनिएको अवस्था र त्यसउपर वादीको पुनरावेदन पनि नपरेको अवस्थामा कुनै पनि दाबी जिकिर नगर्ने प्रतिवादी चन्द्रभूषणले पनि मेरो बकसपत्रबाट प्राप्त सम्पत्ति पाउने ठहर गर्नु र सोबाट वादीलाई अंश दिलाउने गरी गरेको फैसला सुरू फैसलासमेतका विपरीत हुनुका साथै दान बकसको ५ नं. समेतका विपरीत भई अन्यायपूर्ण 

छ । विपक्षीका पतिले उत्तरधिकारी भएकै नाताले यदि अंश पाउने हो भने निजले आफ्नो भाग पाउने कुरा विवाद हुन सक्दैन । फैसलामा मनुवाको भागमा पाएको अर्थ गरी अन्य सम्पत्ति दुई भाग हुने अर्थ गरिएको छ जुन सरासर गलत छ । मेरो जिकिर विपक्षीका पतिले अंश पाइसकेको अवस्था हुँदा दोहोरो पाउनु 

होइन । विपक्षीले विपक्षीका पतिबाट मात्र अंश पाउनुपर्छ भन्ने हो साथै पिताका शेषपछि पिताको अंशभाग अपुतालीको १, २, ३ नं. बमोजिम स्वतः मैले पाउनु पर्छ भन्ने हो । यदि त्यसो नहुने हो भने मेरो वैकल्पिक जिकिर के हो भने विपक्षीका पतिले कैलाली मनुवाको सम्पत्ति अंश पाई अन्यत्र बाँकी रहेको मान्ने हो भने यी गणेशबहादुरका नाममा दर्ता रहेका कैलाली मनुवा गा.वि.स.का सम्पत्ति पिता एकलौटी भएका नाताले अपुतालीबापत मैले पिताको रेखदेख पालनपोषण गरेका नाताले पाउनुपर्ने र पिताको नामको कैलाली टिकापुरको कि.नं.३२ र ४७ तथा काठमाडौंको कि.नं. ४९० र ४९२ चार कित्ता जग्गामा ३ भाग लगाई १ भाग मेरो र पिताको १ भाग अपुतालीको महलबमोजिम मैले पाउनुपर्ने र बाँकी १ बाट मात्र विपक्षीले अंश पाउनुपर्ने मा सोतर्फ कुनै कुराको विचार नपुर्‍याई पुनरावेदनबाट भएको फैसला हचुवापूर्ण र मुलुकी ऐन, अपुतालीको महलको १, २, ३, ने.का.प. २०४५ को पृ.९६ नि. नं. ३३५२ तथा ने.का.प. २०४७ को पृ. ५३९ नि.नं. ४१८० समेतमा स्थापित सिद्धान्तविपरीत भई त्रुटिपूर्ण छ । सुरू फैसलाको ठहर खण्डले मबाट अंश पाउने अवस्था नहुँदा नहुँदै पनि तपसिल खण्डमा मेरो सम्पत्तिलाई गणेशबहादुरका नामको सम्पत्ति भनी बण्डामा हाली दिएको र सोलाई आधार मानी पुनरावेदनबाट गलत व्याख्या गरी बण्डा लाग्ने ठहर गरेको र पिता गणेशबहादुरको नामको सम्पत्ति बण्डा भइसकेको, अलग रहेको कर्तव्यविहीन छोरालाई उत्तराधिकारी मानी २ भाग लगाउने गरेको फैसला मु.ऐ.अ.बं. १८४(क), १८५, प्रमाण ऐनको दफा ३, ५४ अंश तथा अपुतालीसम्बन्धी कानून र सम्मानित सर्वोच्च अदालतबाट स्थापित नजिरसमेतका विपरीत भई त्रुटिपूर्ण हुँदा बदर गरी मेरो जिकिरबमोजिम गरिपाउँ भन्‍ने बेहोराको प्रतिवादी सुशिला स्वाँरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा वादी करूणा स्वाँर तथा प्रतिवादी मुद्दा सकार गरी आफ्नो हकमा समेत सुशिला स्वाँरको दोहोरो पुनरावेदन परेको देखियो । यसरी दुवै पक्षको तर्फबाट पुनरावेदन परेको हुँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ एक अर्को पक्षको पुनरावेदनको जनाउ एक अर्को पक्षलाई दिई अरू नियमानुसार गरी पेस गर्नु भन्‍ने बेहोराको मिति २०७४।१२।०७ मा यस अदालतबाट भएको आदेश । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री गोपी शर्मा सुवेदीले वादीका पति चन्द्रभूषण स्वाँर बाबुसँग सगोलमा रहेबसेको र प्रतिवादी सुशिला स्वाँरले पिता गणेशबहादुर स्वाँरबाट मिति २०६५।६।२७ मा सम्पूर्ण अंश बुझीलिएकोमा स्व. गणेशबहादुर स्वाँरको नाममा रहेका घर जग्गाहरूसमेत २ भाग गरी पुनः१ भाग अंश सुशिला स्वाँरले पाउँने र १ भागमध्येबाट यी पुनरावेदक / वादीले पाउने तथा हा.ब.बाट कि.न.४८९ को प्र.सुशिला स्वाँरका नाममा आएको घर जग्गालाई २ भाग प्रतिवादी सुशिला स्वाँरले मात्र पाउने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला नमिलेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी सुरू फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

पुनरावेदक / प्रतिवादी सुशिला स्वाँरका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नन्दप्रसाद अधिकारीले वादीका पतिले आफ्ना बाबुबाट अंश लिइसकेको अवस्था हुँदा विपक्षी / वादीले निजको आफ्ना पतिबाट मात्र अंश पाउने हो । प्रतिवादीको अन्य सम्पत्ति र हालैको बकसबाट पाएको सम्पत्तिबाट समेत बण्डा हुने होइन । वादीका ससुरा मेरो पक्षका बाबुलाई मेरो पक्षले अन्तिम अवस्थासम्म रेखदेख हेरचाह पालनपोषण गरेको हुँदा निज गणेशबहादुर स्वाँरको भागको सम्पत्ति पनि अपुतालीको महलले मेरो पक्षले पाउनुपर्नेमा सोसमेत २ भाग लाग्ने गरी बण्डा हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी बकस र मेरा पक्षको नामको सम्पत्ति तथा बाबुका नामको सम्पत्ति अपुतालीको महलअनुसार मेरो पक्षको कायम हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

विद्वान् अधिवक्ताहरूको बहस सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादी / प्रतिवादीको दोहोरो पुनरावेदन पर्न आएको हुँदा कसको जिकिर पुग्न सक्ने हो ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, विपक्षी ससुरा गणेशबहादुर स्वाँर र सासू विनितादेवी स्वाँरबाट विपक्षी पति चन्द्रभूषण स्वाँर र विपक्षी आमाजु सुशिला स्वाँरको जायजन्म भएको, सासूको मिति २०५४/५/२८ मा निधन भएको र आमाजु सुशिला स्वाँर अविवाहित भई हामीहरू जम्मा ३ जना मूल अंशियारहरूबिच हालसम्म अंशबण्डा भएको छैन । विपक्षी पति चन्द्रबहादुर र मबाट एक मात्र छोरी चारूकलाको जायजन्म विवाह भइसकेको छ । विपक्षी पतिले कलावती स्वाँरलाई दोस्रो श्रीमतीको रूपमा विवाह गरी सौता कलावतीबाट दुई छोराहरूको जायजन्म भएको छ । यसरी विपक्षी पति तथा सौताले हेला गर्न थालेकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिहरूलाई मूल अंशियारहरू गणेशबहादुर स्वाँर, आमाजु सुशिला स्वाँर, पति चन्द्रभूषण स्वाँर, सौता कलावती स्वाँर, छोराहरू दिवासिस स्वाँर, सिवासिस स्वाँर र म फिरादी गरी ५ भागको १ भाग अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्ने बेहोराको मिति २०६५/६/६ को वादी करूणा स्वाँरको फिरादपत्र भएकोमा विपक्षीका पति चन्द्रबहादुर स्वाँरले आफ्नो अंश भागको सम्पत्ति निजको पिता म प्रतिवादी गणेशबहादुर स्वाँरबाट र.नं. २४९७ मिति २०६१/२/१८ बाट अंश बुझी भरपाई रजिस्ट्रेसन पारित भइसकेकोले हामीबाट अंश पाउने होइन, आफ्नै पतिबाट पाउने हो । अंशियारमध्येकी म सुशिला स्वाँरले पनि आफ्नो अंश भाग प्रतिवादी पिता गणेशबहादुर स्वाँरबाट मिति २०६५/६/२७ मा अंश बुझी अंश बुझेको भरपाई पारित गरी अंश दिई लिइसकेको अवस्था भई ३ जना अंशियारमध्ये चन्द्रभूषण, सुशिला र गणेशबहादुरको अंश छुट्टिसकेको अवस्थामा छुट्टी भिन्न भएका हामी प्रतिवादीउपर लिएको दाबी अ.बं. ८२ नं. ले खारेज भागी छ । हामी प्रतिवादीहरूसमेतलाई प्रतिवादी बनाउने हकदैया नभएको हुँदा अ.वं. ८२ नं. को रोहमा फिराद खारेज गरिपाउँ भन्ने बेहोराको प्रतिवादी गणेशबहादुर स्वाँर र सुशिला स्वाँरको मिति २०६५/९/१४ को संयुक्त प्रतिउत्तर पत्र भएकोमा सुरू अदालतबाट गणेशबहादुरको निधनपश्चात् अब आएर दुई जना मुख्य अंशियारको रूपमा गणेशबहादुरका छोरा छोरी सुशिला स्वाँर र चन्द्रभूषण स्वाँर मात्र रहेको देखिनाले स्व. गणेशबहादुरको नाममा रहेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई समन्यायको दृष्टिकोणबाट हेर्दासमेत दुई भाग गरी बण्डा लगाउन उपयुक्त देखिन्छ । त्यसरी बण्डा गरिसकेपछि प्रतिवादी चन्द्रभूषण स्वाँरको भागमा पर्ने १ भागबाट वादीले ५ भागको १ भाग अंश पाउने ठहरी फैसला भएकोमा सो फैसलाउपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत पाटनबाट सुरू फैसला केही उल्टी गरी भएको फैसलाउपर वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन पेस भएको देखिन्छ ।

३. आंशिक अंश बुझी सगोलमा रहेको मेरा पति चन्द्रभूषण स्वाँर आफ्ना पिता गणेशबहादुर स्वाँरसँग द्वन्द्वकालको स्थितिमा पुर्ख्यौली सम्पत्तिको सुरक्षाको खातिर आफ्नो व्यवहार मिलाउनसम्म मनवा गा.वि.स.को हकमा अंश भरपाई गरिलिएको आधारमा स्व. गणेशबहादुरको नामको काठमाडौं तथा कैलाली जिल्लाअन्तर्गतको जग्गालाई पतिको एकलौटी कायम नगरी सोबाट समेत २ भाग लगाई सोको १ भागबाट ५ भाग लगाइ १ भाग दिलाउने गरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला सो हदसम्म र प्र.सुशिला स्वाँरको नाममा २०५६ सालमा हा.ब.को लिखतको माध्यमबाट हक हस्तान्तरण भर्इ आएको कि.नं.४८९ को मूल्यवान घरजग्गालाई २ भाग लगाइ सोको १ भागलाई ५ भाग लगाइ सोको १ भाग लगाउने गरी भएको सुरू फैसला उल्टी हुने गरी ३ भाग लगाइ १ भागको ५ भागको १ भाग वादीले पाउने गरी भएको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसलाबमोजिम २ भाग लगाइ सोको १ भागलाई ५ भाग लगाइ १ भाग दिलाउने गरी भएको सुरू फैसला कायम गरिपाउँ भन्‍ने वादी करूणा स्वाँरको पुनरावेदन जिकिर रहेको देखियो ।

४. कि.नं.४८९ म सुशिला स्वाँरले मिति २०५६/८/१७ मा पिता गणेशबहादुरबाट हालैको बकसपत्रबाट प्राप्त जग्गाबाट वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला जिल्ला अदालतको फैसलाको ठहर खण्डको विपरीत छ । उक्त जग्गा बण्डा लाग्न सक्ने होइन । विपक्षीका पतिले अंश पाइसकेको अवस्था हुँदा दोहोरो पाउनुपर्ने होइन । विपक्षीले विपक्षीका पतिबाट मात्र अंश पाउनुपर्छ । यदि त्यसो नहुने हो भने विपक्षीका पतिले कैलाली मनुवाको सम्पत्ति अंश पाई अन्यत्र बाँकी रहेको मान्ने हो भने यी गणेशबहादुरका नाममा दर्ता रहेका कैलाली मनुवा गा.वि.स.को सम्पत्ति पिता एकलौटी भएका नाताले अपुतालीबापत मैले पिताको रेखदेख पालनपोषण गरेका नाताले पाउनुपर्ने र पिताको नामको कैलाली टिकापुरको कि.नं.३२ र ४७ तथा काठमाडौंको कि.नं. ४९० र ४९२ चार कित्ता जग्गामा ३ भाग लगाई १ भाग मेरो र पिताको १ भाग अपुतालीको महलबमोजिम मैले पाउनुपर्ने र बाँकी १ बाट मात्र विपक्षीले अंश पाउनुपर्नेमा सोतर्फ कुनै कुराको विचार नपुर्‍याई पुनरावेदनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्‍ने प्रतिवादी सुशिला स्वाँरको पुनरावेदन जिकिर रहेको देखियो ।

५. वादीका पति चन्द्रभूषण स्वाँर र आमाजु दिदी सुशिला स्वाँर स्व. गणेशबहादुरका हकवाला रहे भएको र यी मूल ३ अंशियारमध्ये विपक्षीका पति चन्द्रबहादुर स्वाँरले आफ्नो अंश भागको सम्पत्ति निजको पिता प्रतिवादी गणेशबहादुर स्वाँरबाट मिति २०६१/२/१८ मा र अर्को अंशियारमध्येकी प्रतिवादी सुशिला स्वाँरले पनि आफ्नो अंश भाग प्रतिवादी पिता गणेशबहादुर स्वाँरबाट मिति २०६५/६/२७ मा अंश बुझी लिर्इ अंश बुझेको भरपाई पारित गरी अंश दिई लिई अलग अलग भई बसेको अवस्था देखिन्छ ।

६. यसरी अंश भरपाई लिखत पारित गर्दा प्रतिवादी चन्द्रभूषण स्वाँरले आफ्ना पिता प्रतिवादी गणेशबहादुर स्वाँरबाट मिति २०६१/२/१८ को अंश भरपाई पारित लिखतबाट कैलाली जिल्ला मुनुवा गा.वि.स. अन्तर्गतका कि.नं.१५, ६५, ३७ र १०८ जग्गाहरू निज प्रतिवादी चन्द्रबहादुरको र मिति २०६५/६/२७ मा प्रतिवादी सुशिला स्वाँरले आफ्ना पिता प्रतिवादी गणेशबहादुरबाट अंश भरपाई लिखत पारित गर्दा सोही कैलाली जिल्ला मुनुवा गा.वि.स. वडा नं. १ अन्तर्गतका कि.नं.३८, ५७, ६८, १२५, १२९, ५९३ र ९३१ जग्गा निज प्रतिवादी सुशिला स्वाँरको नाममा रहनुका साथै तत्कालीन काठमाडौं न.पा. वडा नं. ५ को कि.नं.४८९ क्षे.फ.०-९-०-३ जग्गा गणेशबहादुर स्वाँरबाट २०५६/८/१७ मा यी प्रतिवादी सुशिला स्वाँरका नाउँमा हालैको बकसपत्रबाट आएको देखिन्छ । 

७. त्यस समयमा वादी करूणा स्वाँरका ससुरा र प्रतिवादी सुशिला स्वाँरका पिता गणेशबहादुरका नाउँमा काठमाडौं म.न.पा. वडा नं.९ को कि.नं.४९० क्षे.फ.०-१४-१-२१/२ र ऐ. को कि.नं.४९२ क्षे.फ. ०-३-३-३ तथा कैलाली जिल्ला टिकापुर न.पा. वडा नं. ९ण कि.नं.३२ क्षे.फ.०.०२७८.६७ व.मि. जग्गा र सोमा बनेको घरसमेत, ऐ. वडा नं. ९ढ कि.नं.४७ क्षे.फ.०१३४७०.०४ व.मि., ऐ. जिल्ला मुनुवा गा.वि.स. वडा नं.१ कि.नं.३५ क्षे.फ.१-१०-१०, ऐ. को कि.नं. ५५ क्षे.फ.०-१२-५, ऐ. वडा नं. २ को कि.नं. १०९ क्षे.फ.२-७-१५, ऐ. को कि.नं. १५८ क्षे.फ.०-८-० र ऐ. को कि.नं. १२९ क्षे.फ.२-०-० जग्गाहरू रहेको छ । त्यसतर्फ वादी प्रतिवादी दुवैको दाबी रहेको छ ।

८. प्रतिवादी गणेशबहादुर स्वाँरको मिति २०६७/३/६ मा मृत्यु हुनुपूर्व निज काठमाडौं वा कैलाली बसेको, कोसँग रहे बसेको र कसले लालन पालन गरेको यकिन छैन । निजको काजक्रिया भने हिन्दु संस्कारअन्तर्गत छोरा (वादी करूणा स्वाँरका पति) चन्द्रभूषण स्वाँरले गरेको देखिन्छ । यसरी मुद्दा चल्दाचल्दैका अवस्थामा वादीका ससुरा गणेशबहादुर स्वाँरको मिति २०६७/३/६ मा मृत्यु भएपश्‍चात् मूल अंशियारमा वादीका पति चन्द्रभूषण स्वाँर र आमाजु प्रतिवादी सुशिला स्वाँर दुई जना रहे भएकोले दुवै अंशियार बाबु गणेशबहादुरसँग पहिल्यै छुट्टी भिन्न भई बस्दै आएका छन् । वादीका पति चन्द्रबहादुर स्वाँर र प्रतिवादी आमाजु सुशिला स्वाँर अंश भरपाईबाट साबिकमै अलग भई बसी रहेको अवस्थामा पिता गणेशबहादुर स्वाँरको मृत्यु भएको हुँदा निजको नाउँमा रहेको सम्पत्तिमा कस्तो हक लाग्ने भन्‍ने नै मुख्य विवाद रहेको देखिन्छ । यस्तो अवस्थामा कानूनीरूपमा नै अंश भरपाईको लिखतबाट अलग अलग भई बसेका अंशियार मरेमा त्यसअघि र मृत्यु हुँदाको समयसम्म निज कोसँग बसेका थिए ? निजको स्याहार संहार र उपचार कसले गरेको थियो ? त्यसलाई महत्त्वपूर्ण आधारको रूपमा लिएर केलाएर हेर्नुपर्दछ । यसतर्फ हेर्दा स्व. बाबु/ससुरा गणेशबहादुर स्वाँर जीवनकालमा आफूसँग बस्ने गरेको र आफूले नै उचित स्याहार सम्भार र औषधी उपचार गर्दै आएको भनी दुवै पक्षले जिकिर लिए पनि त्यसलाई पुष्टि हुने तथ्यगत र आधिकारिक प्रमाण दुवै पक्षबाट पेस हुन सकेको पाइँदैन । मर्ने व्यक्तिको जीवनकालमा उसको स्याहार सम्भार र औषधी उपचार गरेको प्रमाण पेस नगरेसम्म र प्रमाणका आधारमा सो तथ्य पुष्टि नभएसम्म कानूनी रूपमा अलग भई बसेको व्यक्ति मरी परेको अपुतालीमा कुनै एउटा अंशियार हकवाला वा व्यक्तिको मात्र अपुताली एवं अंश हक कायम हुन सक्तैन । यसै सन्दर्भमा यस अदालतबाट ने.का.प. २०६७, अङ्क ८, नि.नं. ८४४५ को अंश हक कायम मुद्दामा “बाबुको नाममा रहेको सम्पत्ति आफ्नो जीवनकालमा कसैलाई लिखत गरी नदिएको एवं के कुन व्यक्तिहरूले पालन पोषण, स्याहार संस्कार गरेको भन्ने तथ्य प्रमाणबाट खुल्न नसकेको अवस्थामा बाबुको शेषपछि सन्तानहरूको बराबर हक हुनु न्यायोचित र कानूनसम्मत हुने ।” भनी नजिरसमेत प्रतिपादित भएको छ । अतः वादीका पति चन्द्रबहादुर स्वाँर आमाजु सुशिला स्वाँर दुवैले प्रमाणबाट स्व. पिता गणेशबहादुर स्वाँरलाई आफूसँगै राखी निजको स्याहार सम्भार हेरविचार र औषधी उपचार गरेको भन्‍ने पुष्टि हुन नसक्दा स्व. गणेशबहादुर स्वाँरका नाममा बाँकी रहेको सम्पत्तिमा चन्द्रभूषण स्वाँर र सुशिला स्वाँर दुई मूल अंशियारबिच आधा-आधा भागबण्डा लाग्ने देखिन्छ ।

९. उल्लिखित सन्दर्भमा यसै अदालतबाट ने.का.प. २०७६, अङ्क १, नि.नं.१०१७७ को अंश चलन मुद्दामा “मूल अंशियारबिचमा बन्डा नभए पनि तल्लो पुस्ताका अंशियारहरूले आफ्नो पति पिताबाट प्राप्‍त गर्ने अंशहक बन्डा गरी दिनुपर्ने हुन्छ । अन्यथा तल्लो पुस्ताका अंशियारहरूको जीवनयापनमा नै समस्या आउने सक्ने हुन्छ । मूल अंशियारको बिचमा बन्डा नभए पनि पछिल्लो पुस्ताका छोरा छोरीहरूले मूल अंशियारबिचको हकहिस्सा छुट्याई आफ्नो आफ्नो पिता पतिको हिस्साबाट अंश पाउने ।” भनी नजिरसमेत प्रतिपादित भएको छ । अंश नैसर्गिक अधिकार हो, कुनै पनि अंशियार आफ्नो अंश हकबाट कुनै पनि अवस्थामा वञ्चित हुन सक्दैन । अझ परिवारभित्रको असहाय, कमजोर र परित्यक्त अंशियार सदस्यको अंश हक झनै सुनिश्‍चित हुनुपर्दछ । वादी स्व. गणेशबहादुर स्वाँरका छोरा चन्द्रभूषण स्वाँरको जेठी पत्‍नी रहेकी छिन् । निजका पति चन्द्रभूषण स्वाँरले अर्को श्रीमती विवाह गरेर बसेर निजको जेठी श्रीमती एउटा छोरीकी आमासमेत यी वादी एक प्रकारले पति चन्द्रभूषण स्वाँरबाट उपेक्षित र परित्यक्त अवस्थामा रहेकी छिन् । यिनको जीवनयापनको लागि अंश हकको सम्पत्तिबाहेक अन्य कुनै बलियो आधार देखिँदैन । वादीको अंश हक उनको पति चन्द्रभूषणको अंश भागसँग जोडिएको छ, यस कारणले निजले आफ्ना पति चन्द्रभूषण स्वाँरबाट अंश लिए पाएको नदेखिँदा निज प्रतिवादी चन्द्रभूषण स्वाँरको सम्पूर्ण १(एक) भाग सम्पत्तिलाई ५(पाँच) भाग लगाई सो ५(पाँच) भागको १(एक) भाग अंश यी वादी करूणा स्वाँरले पाउने देखिन आयो ।

१०. प्रतिवादी सुशिला स्वाँरले मिति २०५६/८/१७ मा पिता गणेशबहादुरबाट बकस पाएको भनेको  का.जि.का.म.न.पा. वडा नं. ५ कि.नं. ४८९ को क्षे.फ. ०-९-०-३ जग्गाको हकमा प्रतिवादी सुशिला स्वाँरले सुरू काठमाडौं जिल्ला अदालतको फैसलाको ठहर खण्डले मबाट वादी करूणा स्वाँरले अंश पाउने अवस्था नहुँदा नहुँदै पनि तपसिल खण्डमा मेरो सम्पत्तिलाई गणेशबहादुरको नाउँको सम्पत्ति भनी बण्डामा हालिदिएको मिलेन, पिता गणेशबहादुरबाट हालैको बकसपत्रबाट पारित गरिलिएकोले सो जग्गा बण्डा गर्नु नपर्ने मेरो एकलौटी हुने हो भनी जिकिर लिए पनि  फैसलामा उल्लेख भएर विवादित रूपमा उल्लेख हुन आयो । उक्त बकसपत्र हेर्दा बकसपत्रमा समान हकवाला वादीका पति चन्द्रभूषणलाई साक्षी राखेको तथा २०६१ र २०६५ सालमा अंश भरपाई हुँदासमेत वादीका पति प्रतिवादी चन्द्रभूषण स्वाँरको कुनै मन्जुरी लिएको पनि देखिँदैन । सो सन्दर्भमा यसै अदालतबाट ने.का.प. २०७७, अङ्क ५, नि.नं.१०५०२ को अंश दर्ता मुद्दामा फैसला हुँदा “लिखतमा बकसपत्र उल्लेखसम्म गरेको आधारमा मात्र अन्य तथ्य प्रमाण नहेरी सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्ने हो भने टाठाबाठा अंशियारले सहजै रूपमा अरू अंशियारहरूलाई निरअंशी बनाउन सक्ने र त्यस्तो कार्य अंशबन्डाको महलको उद्देश्य र भावनाविपरीत हुने ।” त्यस्तै ने.का.प.२०७४, अङ्क ११, नि.नं.९९०१ को अंश मुद्दामा “एकासगोलको अंशियारको नाममा भएको सम्पत्ति सगोलकै अन्य अंशियारको नाममा बकसपत्रको माध्यमबाट हस्तान्तरण हुँदैमा सो सम्पत्तिमा अन्य अंशियारको अंश हक लाग्दैन भनी अर्थ गर्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) को व्यवस्थाअनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियारमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति भनी अनुमान गर्नुपर्ने ।” र ने.का.प.२०७१, अङ्क १२, नि.नं.९३१७ हालैदेखिको बकसपत्र बदर मुद्दामा “मुद्दा परेपछि वादीसमेतका अंशियारको अंशहक पुग्ने विवादित जग्गा वादीहरूको मन्जुरी नलिई प्रतिवादीहरू दिने र लिने भई पारित भएको हा.ब. लिखत कायम रहन सक्ने नदेखिने ।” भनी नजिरहरूसमेत प्रतिपादित भएको छ । विवादित कि.नं.४८९ लाई वादी प्रतिवादीबिच नरम करम मिलाई रीतपूर्वक बण्डा नगर्दैका अवस्थामा प्रतिवादी सुशिला स्वाँरले आफ्ना पिता, वादीका ससुराबाट प्राप्त गरेको भनेको उक्त विवादित कि.नं. ४८९ जग्गामा यी वादीको एकलौटी हक स्थापित हुन नसक्ने हुँदा सोसमेत बण्डा लाग्ने देखिन आयो ।

११. स्व. गणेशबहादुर स्वाँरको नामको सम्पत्तिलाई २ भाग लगाई प्रतिवादी चन्द्रभूषणको १ भागलाई ५ भाग लगाई ५ भागको १ भाग यी वादी करूणा स्वाँरले पाउने देखिँदा स्व.गणेशबहादुरको नाममा रहेको तायदाती फाँटवारीमा उल्लिखित काठमाडौं म.न.पा. वडा नं.९ को कि.नं.४९० क्षे.फ.०-१४-१-२१/२ र ऐ को कि.नं.४९२ क्षे.फ. ०-३-३-३ तथा कैलाली जिल्ला टिकापुर न.पा. वडा नं. ९ण कि.नं.३२ क्षे.फ.०.०२७८.६७ व.मि. जग्गा र सोमा बनेको घरसमेत, ऐ. वडा नं. ९ढ कि.नं.४७ क्षे.फ.०१३४७०.०४ व.मि., ऐ. जिल्ला मुनुवा गा.वि.स. वडा नं.१ कि.नं.३५ क्षे.फ.१-१०-१०, ऐ. को कि.नं. ५५ क्षे.फ.०-१२-५, ऐ. वडा नं. २ को कि.नं. १०९ क्षे.फ.२-७-१५, ऐ. को कि.नं. १५८ क्षे.फ.०-८-० र ऐ. को कि.नं. १२९ क्षे.फ.२-०-० घरजग्गा र बकसको कि.नं.४८९लाई चन्द्रभूषण स्वाँर र सुशिला स्वाँरको दुई भाग गरी प्रतिवादी चन्द्रभूषण स्वाँरको भागमा पर्ने १ भागबाट वादीले ५ भागको १ भाग अंश पाउने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।८।१३ मा भएको फैसला मिलेको नै देखिन आयो । 

१२. तसर्थ, माथि विवेचित आधार र कारणबाट पुनरावेदन अदालत पाटनबाट मिति २०६९/७/२३ मा सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी कि.नं. ४८९ को जग्गालाई ३ भाग गरी प्रतिवादी चन्द्रभूषण स्वाँरको १ भागलाई पुनः ५ भाग लगाई सोबाट १ भाग अंश प्रत्यर्थी वादी करूणा स्वाँरले पाउने गरी भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भई यी पुनरावेदक वादी करूणा स्वाँरले प्रतिवादीहरूबाट स्व.गणेशबहादुरको नाममा रहेको काठमाडौं म.न.पा. वडा नं.९ को कि.नं.४९० क्षे.फ.०-१४-१-२१/२ र ऐ को कि.नं.४९२ क्षे.फ. ०-३-३-३ तथा कैलाली जिल्ला टिकापुर न.पा. वडा नं. ९ण कि.नं.३२ क्षे.फ.०.०२७८.६७ व.मि. जग्गा र सोमा बनेको घरसमेत, ऐ. वडा नं. ९ढ कि.नं.४७ क्षे.फ.०१३४७०.०४ व.मि., ऐ. जिल्ला मुनुवा गा.वि.स. वडा नं.१ कि.नं.३५ क्षे.फ.१-१०-१०, ऐ. को कि.नं. ५५ क्षे.फ.०-१२-५, ऐ. वडा नं. २ को कि.नं. १०९ क्षे.फ.२-७-१५, ऐ. को कि.नं. १५८ क्षे.फ.०-८-० र ऐ. को कि.नं. १२९ क्षे.फ.२-०-० घरजग्गा र बकसको कि.नं.४८९ समेतलाई २(दुई) भाग गरी प्रतिवादी चन्द्रभूषण स्वाँरको १(एक) भाग सम्पत्तिलाई ५(पाँच) भाग लगाई सो ५(पाँच) भागको १(एक) भाग अंश छुट्याई चलन चलाई पाउनेसमेत ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादीले प्रतिवादीहरूबाट स्व. गणेशबहादुरका नामको र कि.नं.४८९ जग्गाबाट दुई भागको एक भागलाई पुनः पाँच भाग लगाई सो पाँच भागबाट एक भाग अंश पाउने ठहरी फैसला भएकोले प्रतिवादी चन्द्रभूषण स्वाँरको एक भागबाट पाँच भाग लगाई सो पाँच भागमध्ये एक भाग बण्डा छुट्याइदिनु भनी सुरूमा लेखी पठाउनू.........१

बण्डा छुट्याउँदा लाग्ने दस्तुर वादीबाट असुल गर्नू....२

सरोकारवालाले नक्कल मागे लाग्ने दस्तुर लिई नक्कल दिनू.............................................................३

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू.............................४

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृत :- सुरेश के.सी.

इति संवत् २०७७ साल चैत्र १६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु