शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

भाग: २४ साल: २०३९ महिना: असार अंक:

निर्णय नं. १५४५    ने.का.प. २०३९ अङ्क ३

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रिट नं. १५७६

आदेश भएको मिति : २०३९।२।२ मा

निवेदक      : सिराहा जिल्ला पार्ताहा गा.पं.वडा नं.६ बस्ने गुदर चौधरी

विरुद्ध

विपक्षी : ऐ.ऐ.भदैया गा.पं.वडा नं.१ बस्ने रामफल साहुतेलीसमेत

बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   भूमिसुधार अधिकारीले विवादास्पद जग्गाको सम्बन्धमा निर्णय गर्दा केवल फिल्डबुक र भरपाईको आधार लिएको देखिन्छ । त्यस किसिमको प्रमाणलाई कानून बमोजिमको आधार हो भन्न मिल्ने नदेखिने, भूमिसम्बन्धि ऐन तथा भूमिसम्बन्धी नियमहरुले मोहियानी हक प्राप्तिको लागि  एक निश्चित प्रक्रिया तोकेकोमा सो अनुसार कानूनी प्रक्रिया पूरा गर्न नसक्ने व्यक्तिलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ अनुसारको मोही मान्न नमिल्ने ।

 (प्रकरण नं. ९)

आदेश

न्या.बासुदेव शर्मा

१.     विपक्षी कार्यालयको मिति २०३७।१२।५ को निर्णयको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेतका कुराको माग गर्दै नेपालको संविधानको  धारा ७१ अन्तर्गत मिति २०३८।१।१६  मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धि संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :

२.    संक्षिप्त तथ्य : निवेदकका नाउँ दर्ताको गा.पं.गोविन्दपुर वा.नं.४ (क) कि.नं.६२ को ११७ जग्गा मोहीमा कमाई आएको फिल्डबुकमा मेरो नाउँ जनिएको र मागैन चौधरीले बाली बुझेको हुनाले मोहिया हकको प्रमाणपत्र पाउँ भन्ने समेत रामफलको उजुरी र दावीको जग्गा सदा सर्वदा आफैंले जोति कमाई आएको हुनाले विपक्षी मोही नभएकोले मोहियानी प्रमाणपत्र पाउनु पर्ने होइन भन्ने समेत निवेदकको प्रतिवाद भएकोमा वादीले पेश गरेको भरपाई र फिल्डबुकको उतार समेत अध्ययन गर्दा वादी मोही होइन भन्न नमिल्ने हुँदा सोहि भरपाई र फिल्डबुकको उतार समेतको आधारमा प्रतिवादी गुदर चौधरी थारुको नाउँ दर्ताको कि.नं.६२ को ११७ जग्गाको वादी रामफल साहुतेलीको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठर्हछ भन्ने समेत गरी विपक्षी कार्यालयबाट निर्णय भएको रहेछ सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको देखिन्छ ।

३.    संक्षिप्त जिकिर : विपक्षीसँग बाली बुझाएको रसिदछैन । मगैन जग्गाधनी होइन एकाको जग्गाको बाली अर्कालाई बुझाएको भरपाईबाट मेरो हक जाने होइन । गैर सरोकारवालाबाट गराई लिएको भरपाईको आधारामा मलाई हराई विपक्षी रामफललाई मोही ठहराई दिने गरी भएको फैसला भू.स.ऐनको दफा ३४ (२) को प्रत्यक्ष त्रुटि भएको छ । फिल्डबुक प्रमाण होइन । फिल्डबुक शंकास्पद छ, त्यसमा सहिछाप परेको पनि छैन, यसप्रकार हेर्नुपर्ने प्रमाण नहेरी नहेर्नु पर्ने प्रमाण हेरी गरिएको फैसलाबाट प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.बं.१८४क.१८५ र १८९ समेतको प्रत्यक्षतः विवाद रहित त्रुटि भएको छ । मेरो कि.नं.६२ समेतका जग्गाहरुमा मोहीमहल खाली देखिन्छ भनी मालपोत कार्यालयबाट पत्र पठाएकोमा केही नबोली प्रमाण ऐनको दफा ५४ को त्रुटि गर्नु हो । तसर्थ उक्त फैसला बदरभागी छ भन्ने समेत उल्लेख भएको रहेछ ।

४.    विपक्षीद्वारा लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्नेसमेत सिं.बेञ्चको मिति २०३८।१।१७।४ का आदेशानुसार विपक्षीहरुद्वारा प्राप्त लिखितजवाफमा लिएका जिकिर यस प्रकारका रहेछन् :

५.    कि.नं.६२को जग्गा ११७मा विपक्षीको नाउँ संलग्न फिल्डबुकमा जनिएको र मागैन चौधरी प्रदत्त भरपाईको आधारमा मोहियानी प्रमाणपत्र दिनेगरी ०३७।१२।५मा निर्णय भएको । रामफल ले जग्गा जोती बाली बुझाई पेशगरेको भरपाई एवं फिल्डबुक उतारको आधारमा निज मोही होइन भन्न नमिल्ने साथै उक्तनिर्णय पूर्णतः कानून अनुरुप नै भएकोले त्रुटिपूर्ण एवम् बदरभागी होइन । यसकार्यालयबाट गरिएको निर्णयले निवेदकको हकमा आघातपुर्‍याएको नदेखिँदा रिट निवेदन खारेज हुने अनुरोध गरिन्छ भन्ने समेत नि.भूमिसुधार अधिकारी भू.सु.का. सिराहा ।

६.    भूमिसुधार तर्फबाट खटी आउनु भएको कर्मचारीको अनुसूची १ र २ नं.बमोजिम लगत प्रकाशन गरी ४ नं.अनुसार जग्गावाला र मोहीहरुको लिखित सूचना दिएर ६ नं.अनुसारको लागत प्रकाशन गरी फिल्डबुक तयार पारेको हो कुनै गैरकानूनी तवरबाट फिल्डबुक तयार भए गरेको भए उजुर गर्न सक्नु पर्ने विपक्षीले कानूनले दिएको सुविधा उपभोग नगरिनुको पछाडि यो झुठ्ठा एवं कपोल कल्पित छ भन्ने निर्विवाद छ, तसर्थ रिट खारेज योग्य छ । कबुलियत बमोजिम कूत बुझाई भरपाई र फिल्डबुकको साथै आवश्यक प्रमाणहरु बुझी मलाई मोहिको प्रमाणपत्र दिएको हुँदा भू.सु.का.सिराहाको निर्णय बदर हुनु पर्ने होइन, रिट नै खारेज हुनु पर्दछ भन्ने समेत रामफल साहु तेली ।

७.    तारेखमा रहेका निवेदक गुदर चौधरीको वारिस चन्द्रिकाप्रसाद चौधरी र विपक्षी रामफल साहुतेलीको वारेस भाइ कृष्ण के.सी.लाई रोहवरमा राखी निवेदक तर्फका विद्वान अधिवक्ता श्री बैद्यनाथ उपाध्याय र विपक्षी भूमिसुधार शाखा सिराहा तर्फबाट बहस निमित्त खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी रामफल साहुतेली तर्फका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल समेतको बहसहरु सुनियो ।

८.    प्रस्तुत रिट निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेकोछ ।

९.    वादीले पेशगरेको भरपाई र फिल्डबुकको उतारसमेतको आधारमा प्रतिवादीगुदर चौधरी थारुका नाउँदर्ताको कि.नं.६२को ११७जग्गाको वादी रामफल साहु तेलीको नाउँमा मोहिहकको प्रमाणपत्र बनाइदिने ठर्हछ भनी विपक्षी भूमिसुधार कार्यालय सिराहाबाट मिति २०३७।१२।५ मा निर्णय गरेकोपाइन्छ । लेखिएअनुसार विपक्षी भूमिसुधार अधिकारीले विवादास्पद जग्गाको सम्बन्ध मा निर्णयगर्दा केबल फिल्डबुक र भरपाईको आधार लिएको देखिन्छ । त्यस किसिमको प्रमाण लाई कानूनबमोजिमको आधारहो भन्न मिल्ने देखिँदैन । भूमिसम्बन्धी ऐन तथा भूमिसम्बन्धी नियमहरुले मोहियानी हक प्राप्तीका लागि एक निश्चित प्रकृया तोकेकोमा सो अनुसार विपक्षी रामफल साहुतेलीले उक्तप्रकृया पूरा गर्नसकेको भन्नेकुरा विद्वानसरकारी अधिवक्ताका साथ प्राप्त भइरहेको सम्बन्धित मिसिलसमेतबाट देखिनआउँदैन । उपरोक्त कानूनी प्रकृया पूरागर्न नसक्ने व्यक्तिलाई भूमिसम्बन्धी ऐन, २०२१को दफा २५अनुसारको मोही मान्न मिल्दैन । तसर्थ उपरोक्त आधारसमेतबाट मोहियानी हक प्राप्तगर्न नसक्ने व्यक्ति विपक्षी रामफल साहुतेलीलाई विवादास्पद जग्गाको मोहियानी हकको प्रमाणपत्र दिनेगरी गरेको विपक्षी भूमिसुधार अधिकारीको मिति २०३७।१२।५को निर्णय कानूनको दृष्टिबाट त्रुटिपूर्ण देखिएकोले सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदरगरी दिनेठर्हछ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी भूमिसुधार कार्यालय सिराहामा पठाई नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

इतिसम्वत् २०३९ साल जेष्ठ २ गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु