निर्णय नं. १५४६ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

निर्णय नं. १५४६ ने.का.प. २०३९ अङ्क ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३८ सालको रिट नं. १०५५
आदेश भएको मिति : २०३९।३।३ मा
निवेदक : जिल्ला दाङ सौडियार गा.पं.वडा नं.७ बस्ने रेश्मीराज पाण्डे
विरुद्ध
विपक्षी : उच्चस्तरीय आयोग दाङदेउखुरी,साडीयार गा.पं.वा.नं.७ बस्ने सुगलु चौधरी
बिषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ
(१) कुनै पनि पक्षको हितमा असर पर्ने गरी कुनै निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका कानूनले प्रदान गरेकोमा आफ्ना कुरा भन्न पाउने समयावधी बाँकी छँदै निर्णय गर्नु कानून विपरीत हुन जान्छ भन्ने कुरा कुनै पनि न्यायको आसनमा बस्ने व्यक्तिमा हुनु पर्ने सामान्य ज्ञानको कुरा हो । प्रस्तुत मुद्दाको निर्णयबाट सो ज्ञानको सहारा लिएको भन्न सकिने स्थिति छैन जसले गर्दा प्रतिवादी नपर्दै मुद्दाको निर्णय हुन गयो जसलाई कानूनको प्रत्यक्ष त्रुटि गरेको भन्नु पर्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना
विपक्षी तर्फबाट : विद्वान अ.स.अ.श्री रमेश झा र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. विपक्षी आयोगको ०३७।११।४ र ०३८।३।१५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ :
२. सोहियार गा.पं..वडा नं.६क.को कि.नं.७ र ७क.को कि.नं.८७, ९०, १८९ को जग्गा मेरो नाममा जोत पोत दर्ता भई म आफैंले तिरो भोग चलन गरी आएको जग्गा हो । उक्त जग्गा धेरै अघिदेखि मोही भई कमाई आएकोले मोही कायम गरी पाउँ भनी विपक्षी सुगलु चौधरीले विपक्षी आयोगमा निवेदन दिनु भएछ । मेरो नाममा आएको म्यादमा हाजिर भई तारेखमा रही आएकोमा मेरो कुनै बयान कागज गराएको थिएन । मेरो मिति ०३६।२।१३ को तारेख गुज्रन गएकोले सो गुज्रेको तारेख थामी पाउन श्री ५ महाराजाधिराज सरकारमा विन्ती चढाएकोमा तारेख थामी दिनु भन्ने हु.प्र.बक्स भएकोले सूचना तामेल भएको मितिले ३५ दिन भित्र हाजिर हुन आउनु भनी विपक्षी आयोगले जारी गरेको सूचना मिति ०३७।१।१३ मा तामेल भई म्यादै भित्र हाजिर भई तारेखमा रहेको थिएँ । बिपक्ष आयोगले एकातर्फ गुज्रेको तारेख थाम्न मलाई सूचना गर्दै अर्को तर्फ रीतपूर्वक तामेल भई आएको म्यादमा हाजिर नभई म्याद गुजारी उजुरवालाको दावीलाई स्वीकार गरी बसेको भनी विपक्षी मोही कायम हुने ठर्हछ भनी मिति ०३७।११।४ मा फैसला भएछ। ०३७।१०।२५ मा जारी भएको ३५ दिने सूचना ०३७।१२।१३ मा तामेल भएकोले म्यादै भित्र म उपस्थित भई तारेखमा पनि रहेकोले आयोगले यसमा प्रत्युत्तर बयान नहुँदै प्र.वा.शिवादेवीले ०३६।२।१३ को तारेख गुजारेको भन्नु पर्नेमा ०३५।११।६ मा तामेल भएको म्यादैमा प्रतिवादी हाजिर नभई गुजारेको भन्ने निर्णय फैसलामा उल्लेख हुन गएको देखिएको सामान्य भूल भएकाले त्यसलाई सच्याउने र हु.प्र.बाट तारेख थामी तारेखमा रहेका रेश्मीराजको तारेख टुटाई दिने भनी ०३८।३।१५।२ मा निर्णय भएको रहेछ ।
३. उल्लिखित दुवै फैसला र मिसिलबाट विपक्षी सुगलुको उजुरीबाट मलाई झिकाइयो । तर, मेरो बयान गराइएन । प्रतिवाद गर्न मौका दिइएन । प्रतिवाद गर्न हाजिर भएकोलाई प्रतिवाद गर्न नदिई उल्टै म्यादमा हाजिर हुन प्रतिवाद गर्न नआएको भनी गरेको फैसला मलाई हराउने प्रबृत्त धारणाबाट प्रेरित भई बदरभागी छ । विपक्ष आयोगले मलाई हराउने प्रबृत्त धारणा लिई मेरो अनुपस्थितिमा एकतर्फी सर्जमिन गराएको छ । मेरो गुजे्रको तारेख थाम्ने म्याद छँदाछँदै आफैंले तारेख थामी मुद्दाको कारवाई हुने छ भनी मिति ०३७।५।२२ मा मलाई सूचना गरेको, सो सूचना तामेल नभएको सम्म पनि नहेरी ०३७।११।४।१ मा फैसला गरेको छ । यसबाट उक्त फैसला अं.बं.५५ को समेत विपरीत भएको छ र हु.प्र.बाट तारेख थामी पाएको आफ्नै कार्यालयको मिसिल रेकर्डमा प्रष्ट हुँदा हुँदै सो विपरीत फैसला गरेको र पछि मिति ०३८।३।१५ मा गरेको फैसला पनि सोही अनुरुप भएकोले उक्त फैसलाहरु कानून एवं हु.प्र.विपरीत भई बदरभागी छ । उक्त फैसला बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३८।४।२९।५ को आदेश ।
५. वादीको जग्गा मैले धेरै अघिदेखि कमाई आएको मोही हुँ भन्ने कुरा सर्जमिनबाट र साथै विपक्षले अन्यथा भन्न नसकेकोबाट समेत प्रमाणित भई रहेको छ । विपक्ष तारेख गुजारी बस्नु हुनेछ भने यस अवस्थामा प्राकृतिक न्याय सिद्वान्त विपरीत भयो भन्न पाउने आधार विपक्षको नरहेको भन्ने प्रष्ट रहेको छ रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत सुगलु चौधरीको लिखितजवाफ ।
६. वादी हाजिर रहेको प्रतिवादी हाजिर नरहेको यस मुद्दामा वादीको सबूत प्रमाण सबै बुझी निर्णय गर्नु पर्ने व्यवस्था अ.बं. १८५ क.मा प्रष्ट छ । यस आयोगमा कारवाही चलिरहेको समस्त मुद्दाहरुमा तारेख गुज्रिएकाको हकमा ३५ दिने सूचना दिई हाजिर हुन आएमा थामी दिने भन्ने हु.प्र.बक्स भई आए अनुसार सूचना गएकोमा तारेख थाम्नु भन्दा पहिले नै मुद्दा निर्णय भैसकेकोले सोही व्यहोरा सुनाई दिएको मिसिलबाट देखिनाले अ.बं.५५ नं.समेतको विपरीत भए गरेको भन्न मिल्दैन । साँध सँधियार लगायत बुझिएका समस्त सरजमिनका मानिसहरुले दावी जग्गाको मोही सुगलु चौधरी नै हुन् र अघिदेखि कूत तिर्ने शर्तमा कमाएका हुन भनी बकी लेखी दिएका भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२) अनुसार मुख्य वार्षिक उब्जनीको एक बाली मात्र कमाए पनि सो जग्गा कमाउने व्यक्ति स्वतः परिच्छेद ७ अन्तर्गत हक प्राप्त मोही हुने प्रष्ट कानूनी व्यवस्था हुनाले उक्त अनुसार जग्गा कमाई आएको सुगलु चौधरीले मोही हक नपाउने प्रश्नै भएन । यस आयोगबाट भएको निर्णय कानून अनुकूल छ रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उच्चस्तरीय आयोग दाङ्गको लिखितजवाफ ।
७. निवेदन तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना र विपक्षी आयोग तर्फका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा तथा विपक्ष सुगलु चौधरी तर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो ।
८. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो ? निर्णय दिनु परेको छ ।
९. यसमा निर्णय तर्फ हेर्दा बाबु बाजेका पालादेखि जग्गा मोहीमा कमाई आएकोले मोही कायम गरी पाउँ भन्ने प्रत्यर्थी सुगलु चौधरीको निवेदनबाट उच्चस्तरीय आयोग दाङ्ग देउखुरीले कारवाई निर्णय गरेकोमा प्रस्तुत रिट निवेदन पर्न आएको छ ।
१०. उक्त उजुरी निवेदनको सम्बन्धमा हाजिर हुने सूचना प्राप्त गरी निवेदक ०३५।१२।२ मा उक्त आयोगसमक्ष हाजिर भई तारेखमा रहेको र ०३६।२।१३ मा सो तारेख गुजारेको भन्ने देखिन्छ ।
११. सो गुजारेको तारेख सम्बन्धमा ०३५ दिन भित्र आयोगमा हाजिर हुन आए हुकुम प्रमांगी अनुसार तारेख थामी मुद्दा कारवाई किनारा हुने छ भन्ने ०३७।१०।२५ मा उक्त आयोगबाट सूचना तामेल भएको र म्याद भित्र हाजिर भई तारेखमा रहेको भन्ने छ । उक्त तथ्यलाई ०३८।३।१५।२ को आयोगको आदेशले पनि समर्थित गरेको पाइन्छ ।
१२. यसरी बक्स भएका हु.प्र.बमोजिम तारेख थामी माग्न हाजिर हुन आउनु भन्ने सूचना जारी भई सो तामेल हुन अगावै ०३७।१।४ मा उक्त आयोगबाट प्रत्यर्थी सुगलु चौधरी मोही कायम हुने ठर्हछ भन्ने निर्णय भएको देखिन्छ । आफैंले पठाएको सूचना तामेल भए नभएको र सो बमोजिम पक्ष हाजिर हुने अवधि व्यतित भए नभएको कुराको कुनै विचारै नगरी मुद्दामा पुर्याउनु पर्ने न्यूनतम दृष्टिसम्म नपुर्याई बक्स भएका हुकुम प्रमांगीलाई निष्कृय बनाई निवेदकले प्रतिवाद गर्न पाउने अवसरबाट बञ्चित तुल्याई यो निर्णय भएको देखिन्छ । कुनै पनि पक्षको हितमा असर पर्ने गरी कुनै निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका कानूनले प्रदान गरेकोमा आफ्नो कुरा भन्न पाउने समयावधि बाँकी छँदै निर्णय गर्न कानून विपरीत हुन जान्छ भन्ने कुरा कुनै पनि न्यायको आसनमा बस्ने व्यक्तिमा हुनु पर्ने सामान्य ज्ञानको कुरा हो । प्रस्तुत मुद्दाको निर्णयबाट सो ज्ञानको सहारा लिएको भन्न सकिने स्थिति छैन । जसले गर्दा प्रतिवादी नपर्ने मुद्दाको निर्णय हुन गयो जसलाई कानूनको प्रत्यक्ष त्रुटि गरेको भन्नु पर्ने हुन आयो ।
१३. अतः उपरोक्त कारणबाट उच्चस्तरीय आयोग दाङ्ग देउखुरीको ०३७।११।१४।१ र ०३८।३।१५।२ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । पुनः कानून बमोजिम निर्णय गर्नु भनी विपक्ष उच्चस्तरीय आयोग दाङ्ग देउखुरीको नाममा परमादेशको आदेश समेत जारी गरिएको छ । विपक्ष कार्यालयको जानकारीको निमित्त यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा फिर्ता पठाई नियमबमोजिम फाइल बुझाइदिनु ।
म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०३९ साल आषाढ ३ गते रोज ५ शुभम् ।