शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९६४ - लेनदेन (कारोबार)

भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।४।१७

०७३-CI-०४००

 

मुद्दाः लेनदेन (कारोबार)

 

पुनरावेदक / वादी : बुद्धिबहादुर भण्डारीको छोरी, निर्मलकुमार घिमिरेकी श्रीमती दोलखा जिल्ला मालुतिलाहार गा.वि.स. वडा नं.१ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने रूपा भण्डारी

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : विन्देश्वर साहको छोरा काठमाडौं जिल्ला मुलपानी गा.वि.स. वडा नं.३ स्थितमा रहेको आशुतोष प्रिन्टर्स प्रा.लि.का प्रोपाइटर धनुषा जिल्ला ठेराकचुरी गा.वि.स. वडा नं.८ घर भई हाल भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं.८ को परिवर्तित अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं.१ बस्ने शितल साह पूर्वे

 

किस्ताको भाखा आसामीले नघाई उक्त किस्ता रकम नतिरेको अवस्थामा आफूले लगानी गरेको रकम उठाउनका लागि सम्बन्धित साहुले आसामीउपर मुद्दा दायर गरी कानूनी उपचार खोज्न नपाउने वा सम्पूर्ण रकम तिर्ने बुझाउने भाखा नाघेपछि मात्र नालिस गर्न पाउने भन्ने कुरा न्यायोचित नहुने ।

(प्रकरण नं.४)

तमसुकबमोजिम प्रतिवादीले वादीलाई रकम बुझाउनु पर्ने तेस्रो, चौथो र पाँचौं किस्ताको रकम बुझाउने भाखा बाँकी नै भए तापनि पहिलो दुईवटा किस्ताको भाखा प्रतिवादीले नघाइसकेको देखिँदा उक्त तमसुकलाई अदालतले ग्रहण गरी इन्साफ गर्न मिल्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री धिर्जराज पोखरेल र श्री जगतबहादुर कार्की

 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री शंकर सुवेदी, श्री टीकाराम भट्टराई र श्री शिवप्रसाद रिजाल

अवलम्बित नजिर :

ने.का.प.२०७२, नि.नं.९३४८, पृ.३०१

सम्बद्ध कानून :

मुलुकी देवानी कार्यविधि संहिता, २०७४

 

सुरू तहको फैसला गर्ने : 

श्री बालमुकुन्द दवाडी 

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहको फैसला गर्ने :

माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती

माननीय न्यायाधीश श्री युवराज सुवेदी

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.तिलप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनबाट मिति २०७२/११/०२ मा भएको फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन दायर भएकोमा मिति २०७३/०४/३० मा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई सुनुवाइको लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : 

मुद्दाको संक्षिप्त तथ्य

विपक्षी प्रतिवादीसँग म फिरादीको धेरै अघिदेखि चिनापर्ची भई लेनदेन कारोबार भइरहेकोमा २०६७/०६८ सालको शैक्षिक सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरबाट कक्षा १ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तक छपाई गर्ने जिम्मा विपक्षी प्रोपाइटर रहेको आशुतोष प्रिन्टर्स (छापाखाना) को नामबाट विपक्षीले लिनुभएको रहेछ । सो पुस्तक छपाई, वितरणलगायतका कार्यमा नाफा नोक्सान बराबर बेहोर्ने गरी विपक्षीले मलाई साझेदार बनाएकोले मिति २०६७/१०/०१ मा विपक्षीसँग किताब छाप्ने र बिक्री गर्ने गरी लिखित सम्झौता भएपछि किताब छाप्ने प्रयोजनका लागि विभिन्न व्यक्तिसँग ऋण कर्जा लिई २०६९/०२/०५ सम्ममा मैले विपक्षीलाई जम्मा रू.४२,००,०००/- (बयालिस लाख रूपैयाँ) दिएकोमा विपक्षीले मलाई पटकपटक गरी मिति २०६९/०८/३० सम्ममा जम्मा रू.१५,००,०००/- (पन्ध्र लाख रूपैयाँ) फिर्ता दिनुभएकोले साँवा रू.२७,००,०००/- (सत्ताइस लाख रूपैयाँ) मैले विपक्षीबाट फिर्ता पाउन बाँकी रहेको हुँदा सो रकम किस्ता किस्ता गरी ५ वर्षभित्रमा बुझाउने र मिति २०७०/०३/३० गतेभित्रमै रू.५,००,०००/- (पाँच लाख रूपैयाँ) पहिलो किस्ता दिने कबोल राखी विपक्षीले मिति २०६९/०८/३० को तमसुक कागज लेखी मलाई दिनुभएकोमा भाखामा विपक्षीले उक्त रकम नदिई मसमेतलाई प्रतिवादी बनाई मिति २०७१/०८/०२ मा काठमाडौं जिल्ला अदालतमा हिसाब यकिन गराइपाउँ भनी मुद्दा दायर गरेको भन्ने मेरो नाउँमा म्याद प्राप्त भएपछि थाहा हुन आएकोले विपक्षीले आफ्नै हातले लेखिदिएको मिति २०६९/०८/३० को तमसुक कागजमा उल्लेख भएको साँवा रू.२७,००,०००/- (सत्ताइस लाख रूपैयाँ) र उक्त तमसुक भएको मिति २०६९/०८/३० गतेदेखि आजसम्मको ब्याज रू.५,३३,७५०/- (पाँच लाख तेत्तिस हजार सात सय पचास रूपैयाँ) गरी जम्मा साँवा ब्याज रू.३२,३३,७५०/- (बत्तिस लाख तेत्तिस हजार सात सय पचास रूपैयाँ) र भरिभराउ हुँदासम्मको ब्याजसमेत विपक्षीबाट दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको वादी रूपा भण्डारीको फिराद दाबी ।  

वादी र वादीका पतिले मेरो नामको आशुतोष प्रिन्टर्समा ४२ लाख लगानी गरेको नभई ०६७/०६८ को शैक्षिक सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीबाट कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक छपाई गरी वितरण गर्न मेरो फर्मले अनुमति पाएकोले वादीका पति निर्मल घिमिरेले साझेदार बनाउन गरेको प्रस्तावलाई मैले स्वीकार गरी लगानीको अनुपातमा नाफा घाटा भएमा पाउने बेहोर्ने सर्तमा निज निर्मल घिमिरेले रू.११,४२,०००/- सो काममा लगानी गरेका थिए । लगानी गरेको नाताले मैले विपक्षीको पतिलाई विभिन्न मितिमा रू.३६,५३,४४५/- भुक्तानी गरिसकेको छु । कारोबार हुने क्रममा हामीहरूबिच विवाद भएपछि विपक्षीका पतिको योजनामा केही अपरिचित व्यक्तिसमेतको सहयोगमा प्रमाण खडा गर्ने नियतले मेरो इच्छाविपरीत लिखत खडा गरेको हुँदा सो कागज सक्कलै हेरी अ.बं.७८ नं. बमोजिम बयान गर्न पाऊँ । उक्त कागजमा लेखिएको बेहोरामध्ये रू.१५,००,०००/- वादीहरूलाई बुझाइसकेको बेहोरा साँचो हो । वादीसँग भन्दा पनि निजको पति निर्मल घिमिरेसँग मेरो कारोबार भएको हो । सो कागजबमोजिम प्रतिवर्ष ५ लाखका दरले रकम बुझाउने सर्त भए पनि भाखा पूरा नहुँदै वादीले प्रस्तुत मुद्दा दायर गरेका 

हुन् । विपक्षीका पतिले महोत्तरीको बर्दिवास र पशुपति गौशालामा पुस्तक बिक्री वितरणको डिपो चलाएकोमा रू.५४,००,५५६।५० मूल्य बराबरको पुस्तक बिक्रीको हिसाब मलाई नदिएका, पुस्तक बिक्री वितरणको कारोबारभन्दा बाहेक विभिन्न व्यक्ति र संस्थाबाट मैले भुक्तानी पाउनुपर्ने रू.३,६९,६५८/- समेत वादीका पतिले बुझिलिई जम्मा रू.८२,८१,६५९।५० (बयासी लाख एकासी हजार छ सय उनान्साठी रूपैयाँ पचास पैसा) वादी एवं निजको पतिबाट मैले नै फिर्ता पाउनुपर्ने मेरो हिसाबबाट देखिँदा वादीलाई मैले कुनै रकम तिर्नु बुझाउनुपर्ने छैन, होइन भन्नेसमेत बेहोराको प्रतिवादी शितल साह पूर्वको प्रतिउत्तर जिकिर ।

वादी प्रतिवादीबिच मिति २०६९/०८/३० मा भएको रू.२७,००,०००/- को सक्कल कपाली तमसुक वादीको तर्फबाट पेस भई सुरू मिसिल सामेल खामबन्दी रहेको । 

प्रतिवादी शितल साहले वादी रूपा भण्डारीलाई तमसुक कागजबमोजिम रू.२७,००,०००/- रूपैयाँ तिर्नु बुझाउनुपर्ने हो भन्नेसमेत बेहोराको वादीका साक्षी अजय सिंहको बकपत्र । 

प्रस्तुत लेनदेन दुवै पक्षबिच भएको होइन । यो पुस्तक छपाई सम्बन्धमा निर्मल घिमिरे र शितल साहबिच भएको सम्झौता हो । लेनदेनको कपाली तमसुक होइन । वादीको माग दाबीबमोजिम प्रतिवादीले रकम दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी प्रमोदकुमार साहको बकपत्र ।  

लिखत भएको मिति २०६९/०८/३० बाट ५ वर्षमा दाबीको रूपैयाँ वादीलाई बुझाउने भन्ने भाखा म्याद उल्लेख भएको देखिन आएको, यसरी लिखतमै दाबीको रकम चुक्ता गर्ने अन्तिम म्याद ५ वर्ष रहेको भन्ने भएकोमा सो भाखा म्याद समाप्त नहुँदै अपरिपक्व अवस्थामै सो लिखतअनुरूपको साँवा ब्याज भराइपाउँ भनी प्रस्तुत दाबी पर्न आएको देखिएको, लिखतबमोजिमको रकम प्रतिवादीले नबुझाएको अवस्थामा भाखा पूरा भएपछि कानूनका म्यादभित्र दाबी लिई वादी आउन पाउने नै हुँदा र त्यसरी दाबी पर्न आएको अवस्थामा सोही मुद्दाबाट ठहरेबमोजिम हुने नै हुँदा भाखा बाँकी रहँदैका अवस्थामा पर्न आएको प्रस्तुत मुद्दाबाट दाबीबमोजिमको बिगो भराइदिन मिलेन । वादीको दाबी हाललाई नपुग्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७२/०२/२८ को फैसला । 

मुलुकी ऐन, लेनदेन व्यवहारको ५ नं. को देहाय २ नं. बमोजिम रकम बुझाइएका भरपार्इ र दरपिठ भएका कागज प्रमाणहरू नभएको भाखामा लिखतबमोजिमको रकम नबुझाएपछि भाखा नाघेका मितिबाट मुद्दा गर्नुको कारणतर्फ फैसलामा उल्लेख नगरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी ऐन, अ.बं.१८४(क) र १८५ को कानूनी सिद्धान्तविपरीत भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी विपक्षीका हस्तलेखनबाट खडा भएको मिति २०६९/०८/३० का तमसुक कागजबमोजिमको साँवा ब्याज रकम विपक्षीबाट दिलाई भराई न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी रूपा भण्डारीको पुनरावेदन । 

जुन लिखतको आधारमा फिराद परेको हो, सो लिखतअनुसार रू.२७ लाख पाँच वर्षमा बुझाउने र सोमध्ये रू. ५ लाख २०७० जेठ असारसम्ममा बुझाउने उल्लेख छ । फिरादमा पूरै २७ लाखको साँवा ब्याज भरी पाउन माग गरिएको छ । लिखतको मिति २०६९/०८/३० गतेदेखि ५ वर्ष भाखा भुक्तान हुन अझै ३ वर्ष बाँकी नै छ । दिएको भाखा भुक्तान नहुँदै प्रस्तुत नालिस परेकोमा सो कुरा सुरू अदालतले पनि स्वीकार गरेको अवस्थामा फिराद खारेज गर्नुपर्नेमा इन्साफतर्फ बोली वादी दाबी नपुग्ने भनी गरेको फैसला मुलुकी ऐन अ.बं. ८५ नं. र अ.बं. १८० नं. विपरीत छ । वादी दाबीको लिखत रकम लेनदेन गरेको लिखत नभई विपक्षी पति पत्नीले ठुलै दबाबमा पारी मलाई सहीछाप गराएको लिखत हो । हतार हतार खडा गरिएको लिखत हुँदा निलो मसीले ल्याप्चे लागेको, सो लिखत मुलुकी ऐन कागज जाँचको महलमा भएको कानूनी व्यवस्थाको अनुकूल नभएको देखिँदादेखिँदै उक्त लिखतको वैधानिकताको सम्बन्धमा मुलुकी ऐन, अ.बं. ७८ नं. को आधारभूत प्रक्रियासमेत पूरा नगरी लिखत परीक्षणसमेत नगरी भएको फैसला मुलुकी ऐन, अ.बं. ७८, १९२, १८४क तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५, ८ समेतको विपरीत हुँदा वादी दाबी पुग्न सक्दैन भन्ने हदसम्मको सुरू अदालतको फैसला खण्ड सदरै राखी पछि भाखा नाघेपछि पुनः दाबी पाउने गरी अप्रत्यक्षतः वादी दाबीको लिखतलाई मान्यता दिई सो लिखतबमोजिम मैले वादी दाबीको रकम भविष्यमा तिर्नु बुझाउनुपर्ने गरी भएको फैसलालाई आंशिक उल्टी गरी फिराद खारेज हुने ठहर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शितल शाह पूर्वेको पुनरावेदन । 

यसमा यसै लगाउको हिसाब गराइपाउँ भनी परेको मुद्दामा मिति २०६९/०८/३० मा प्रत्यर्थी प्रतिवादीले प्रतिवर्ष रू.५,००,०००/- का दरले बुझाउने छु भनी कागज गरेकोमा सो रकम नबुझाएको अवस्थामा दायर गरिएको मुद्दामा पाँच वर्ष पुगेपछि नालिस गर्न सक्ने नै हुँदा वादी दाबी नपुग्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७२/०२/२८ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा सोको अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नुहोला भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२/०७/१९ को आदेश । 

कागजमा उल्लिखित भाखा सकिने मितिभन्दा ३ वर्षअगावै अपरिपक्व अवस्थामा प्रस्तुत फिराद पर्न आएको देखिएको, पेस भएको कागज करकापपूर्ण तवरबाट भएको हो भनी प्रतिवादीले कहीँकतै उजुरी गरेको नदेखिएको समेतका आधारहरूबाट सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२/०२/२८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी र प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२/११/०२ को फैसला । 

पुनरावेदन अदालतको फैसला चित्त बुझेन । मिति २०६९/०८/३० को तसमुक कागज प्रतिवादी स्वयंले लेखेर दिएका हुन् । उक्त कागजमा निजले म पुनरावेदकलाई रू.२७,००,०००/- तिर्न बाँकी रहेको कुरा आफैँ लेखेका छन् । उक्त रकम ५ किस्तामा बुझाउने भनी लेखिएकोमा २०७० सालको असारसम्ममा पहिलो किस्ता रू.५,००,०००/- र मिति २०७०/०८/२९ मा दोस्रो किस्ता रू.५,००,०००/- दिने सर्त भएकोमा उक्त दुवै किस्ता नदिई विपक्षीले मेरो विरूद्धमा हिसाब गराइपाउँ भनी मुद्दा दायर गरेपछि विपक्षीले रकन नतिर्न खोजेको प्रस्ट भई प्रस्तुत मुद्दा गर्नुपरेको अवस्थातर्फ विचार नगरी भाखा परिपक्व नभई मुद्दा दायर गरेको भनी भएको फैसला त्रुटिपूर्ण छ । तमसुकमा रकम बुझाउने एउटा मात्र भाखा नभई ५ वर्षसम्ममा रकम बुझाउने भन्ने उल्लेख भएको र विपक्षीले पहिलो ३ किस्ता नबुझाई भाखा नघाएकोले सोही मितिबाटै विपक्षीसँग रूपैयाँको दाबी लिने म्याद सुरू भएकोमा फिराद अपरिपक्व भनी गरिएको फैसला ने.का.प. २०४४ नि.नं.२९८८ पृ.१५२ र ने.का.प. २०४५ नि.नं.३४१० पृ.३००, ने.का.प. २०७२ नि.नं. ९३४८, पृ.३०१ मा प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूल भई उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा मुलुकी ऐनको अ.बं. १८४(क) विपरीत त्रुटिपूर्ण हुँदा प्रस्तुत मुद्दालाई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेरी वादी दाबी नपुग्ने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी वादी दाबीबमोजिमको साँवा ब्याज प्रतिवादीबाट दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी रूपा भण्डारीको पुनरावेदन ।

यसमा दाबीको मिति २०६९/०८/३० को लिखतमा नै किस्ताबन्दीमा रकम बुझाउने सर्तसमेत उल्लेख भएको र सर्तबमोजिम किस्ता नबुझाएमा वादीको तमसुकबमोजिम भाखा पूरा भएको रकमको हकमा दाबी गरी फिराद पर्न सक्नेमा वादीको सम्पूर्ण फिराद दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०७२/११/०२ को फैसलामा मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २ नं. को व्याख्यात्मक त्रुटि देखिनुका अतिरिक्त ने.का.प. २०७२ को अङ्क २, नि.नं.९३४८ मा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) का आधारमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७३/०४/३० को आदेश । 

लिखतको मिति २०६९/०८/३० गतेदेखि ५ वर्ष भाखा भुक्तान हुन अझै ३ वर्ष बाँकी नै छ । दिएको भाखा भुक्तान नहुँदै प्रस्तुत नालिस परेकोमा सो कुरा सुरू अदालतले पनि स्वीकार गरेको अवस्थामा फिराद खारेज गर्नुपर्नेमा इन्साफतर्फ बोली वादी दाबी नपुग्ने भनी गरेको फैसला मुलुकी ऐन अ.बं. ८५ नं. र अ.बं. १८० नं. विपरीत छ । पेस भएको लिखतमा समेत निलो मसीले ल्याप्चे लागेकोमा सो लिखत मुलुकी ऐन कागज जाँचको महलमा भएको कानूनी व्यवस्थाको अनुकूल नभएको देखिँदादेखिँदै उक्त लिखतको वैधानिकताको सम्बन्धमा मुलुकी ऐन, अ.बं. ७८ नं. को आधारभूत प्रक्रियासमेत पूरा नगरी लिखत परीक्षणसमेत नगरी भएको फैसला मुलुकी ऐन, अ.बं. ७८, १९२, १८४क तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५, ८ समेतको विपरीत हुँदा फिराद खारेज हुने ठहर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शितल शाह पूर्वेको लिखित प्रतिवाद ।     

अदालतको ठहर

नियमानुसार पेसी सूचीमा चढी सुनवाइका लागि आज यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा विवादको मूल विषयलाई हेर्दा प्रतिवादी शितल साहसँग पुस्तक छपाई, बिक्री वितरणलगायतका कार्यमा सम्झौता गरी सो किताब छाप्ने प्रयोजनका लागि विपक्षीलाई जम्मा रू.४२,००,०००/- (बयालिस लाख रूपैयाँ) दिएकोमा विपक्षीले मलाई पटक पटक गरी जम्मा रू.१५,००,०००/- (पन्ध्र लाख रूपैयाँ) फिर्ता दिई बाँकी रू.२७,००,०००/- (सत्ताइस लाख रूपैयाँ) किस्ता किस्ता गरी ५ वर्षभित्रमा बुझाउने र मिति २०७०/०३/३० गतेभित्रमा पहिलो किस्ताको रूपमा रू.५,००,०००/- बुझाउने सर्त राखी आफ्नै हातले तमसुक लेखी मिति २०६९/०८/३० मा मलाई दिएकोमा भाखाबमोजिम रकम फिर्ता नदिई मसमेतलाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा हिसाब यकिन गराइपाउँ भनी मुद्दा दायर गरेकोले विपक्षीको उक्त कार्यबाट पैसा फिर्ता नगर्ने विपक्षीको नियत प्रस्ट भएको हुँदा मिति २०६९/०८/३० को तमसुक कागजमा उल्लेख भएको साँवा रू.२७,००,०००/- (सत्ताइस लाख रूपैयाँ) र तमसुक भएको मितिदेखि भरिभराउ हुँदासम्मको ब्याजसमेत विपक्षीबाट दिलाइ भराइपाउँ भनी वादी रूपा भण्डारीको फिराद परेको रहेछ । तमसुक कागजमा उल्लिखित पैसा फिर्ता गर्ने भाखा बाँकी नै रहेको देखिँदा अपरिपक्व अवस्थामै दायर भएको फिराद दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२/०२/२८ मा फैसला भएकोमा सो फैसलाउपर वादी एवं प्रतिवादीसमेतको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट समेत सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुने ठहर्‍याई मिति २०७२/११/०२ मा फैसला भएको रहेछ । पुनरावेदन अदालत पाटनको उक्त फैसलामा चित्त नबुझेकाले प्रस्तुत मुद्दा दोहोर्‍याई हेरी पाउन माग गरी वादी रूपा भण्डारीको तर्फबाट प्रस्तुत निवेदन परेकोमा यस अदालतको मिति २०७३/०४/३० को आदेशले प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई सुनुवाइको लागि आज यस इजलाससमक्ष पेस हुन आएको देखियो ।  

पुनरावेदकका तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन हेर्दा पुनरावेदन अदालत पाटनको फैसलाउपर चित्त नबुझेका बुँदाहरूलाई देहायअनुसार उल्लेख गरेको देखिन्छ :

१. विपक्षीले लेखेर दिएको मिति २०६९/०८/३० को तमसुकमा रू.२७,००,०००/- म पुनरावेदकलाई तिर्न बुझाउन बाँकी रहेको र सोमध्ये पहिलो किस्ताबापत रू. ५ लाख २०७० सालको असारसम्ममा तथा दोस्रो किस्ता २०७० सालको मङ्सिर मसान्तसम्ममा दिने भनी लेखिएको,

२. कागजमा लेखिएबमोजिम उक्त दुवै किस्ता विपक्षीले मलाई नदिई मेरो विरूद्धमा हिसाब गराइपाउँ भनी मुद्दा दायर गरेपछि विपक्षीले रकम नतिर्न खोजेको प्रस्ट भई प्रस्तुत मुद्दा गर्नुपरेको अवस्थातर्फ विचार नगरी भाखा परिपक्व नभई मुद्दा दायर गरेको भनी भएको फैसला त्रुटिपूर्ण रहेको, 

३. तमसुकमा रकम बुझाउने एउटा मात्र भाखा नभई ५ वर्षसम्ममा ६ किस्तामा रकम बुझाउने भन्ने उल्लेख भएको र विपक्षीले पहिलो ३ किस्ता नबुझाई भाखा नघाएकोले सोही मितिबाटै विपक्षीसँग रूपैयाँको दाबी लिने म्याद सुरू भएकोमा फिराद अपरिपक्व भनी गरिएको फैसला ने.का.प. २०४४, नि.नं.२९८८, पृ.१५२ र ने.का.प. २०४५, नि.नं.३४१०, पृ.३००, ने.का.प. २०७२, नि.नं. ९३४८, पृ.३०१ मा प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूल रहेको,

 

उपर्युक्तअनुसारको पुनरावेदन जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट आज बहसको लागि इजलाससमक्ष उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री धिर्जराज पोखरेल र श्री जगतबहादुर कार्कीले विवादित तमसुक प्रतिवादी स्वयंले लेखेर वादीलाई दिएको, सो तमसुक अन्यथा हो भनेर प्रतिवादीले दाबी लिन सकेको अवस्था नरहेको, प्रतिवादीले वादीलाई तमसुकबमोजिम जम्मा रू.२७,००,०००/- तिर्न बाँकी रहेकोमा सो रकमलाई ५ किस्तामा बुझाउने र मिति २०७० सालको जेष्ठ/असार महिनामा रू.५,००,०००/- र त्यसपछि प्रत्येक वर्ष रू.५,००,०००/- को दरले बुझाउने भनी तमसुकमै उल्लेख भएको, प्रस्तुत मुद्दाको फिराद पर्दाको अवस्थामा रू. ५,००,०००/- को दुई किस्ता प्रतिवादीले वादीलाई बुझाउने भाखा नाघिसकेको अवस्थामा प्रतिवादीले वादीसमेतलाई विपक्षी बनाई हरहिसाब गराइपाउँ भन्ने मुद्दा गरेको कारण प्रस्तुत मुद्दा गर्नुपरेको र यस्तो परिस्थितिमा कागजमा उल्लिखित भाखा पर्खिरहनु पर्दैन भनी ने.का.प. २०७२, नि.नं. ९३४८, पृष्ठ ३०१ मा नजिर सिद्धान्तसमेत प्रतिपादित भइसकेको अवस्थामा सोतर्फ कुनै विवेचना नगरी वादी दाबी नपुग्ने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो फैसलालाई उल्टी गरी वादीको फिराद दाबी एवं पुनरावेदन जिकिरबमोजिम हुने ठहर गरी फैसला गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

यसैगरी प्रत्यर्थी प्रतिवादी शितल साहको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री शंकर सुवेदी, श्री टीकाराम भट्टराई र श्री शिवप्रसाद रिजालले प्रस्तुत मुद्दामा दाबी गरिएको लिखत अपरिपक्व (Premature) अवस्थाको हुँदा अपरिपक्व लिखतलाई अदालतले ग्रहण गरी फैसला गर्न नमिल्ने हुँदा वादी दाबी नपुग्ने ठहर गरेको हदसम्म फैसला सदर हुनुपर्ने भए पनि फिराद खारेजयोग्य हुँदा खारेज गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

माथि उल्लेख भएबमोजिम पुनरावेदकका तर्फबाट प्रस्तुत पुनरावेदनमा लिइएका जिकिरहरू, दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू र मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण गर्नुपर्ने देखिन आयो : 

१. किस्ता किस्तामा रकम बुझाउने भनी तमसुकमै भाखासमेत उल्लेख भई कुनै एक  किस्ताको भाखा नाघेको अवस्थामा साहुले आसामीउपर नालिस गर्न मिल्ने देखिन्छ वा देखिँदैन ? र,

२. वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिन्छ वा देखिँदैन ?    

 

२. उपर्युक्त प्रश्नहरूमध्ये सर्वप्रथम प्रस्तुत मुद्दामा किस्ता किस्तामा रकम बुझाउने भनी तमसुकमै भाखासमेत उल्लेख भई कुनै एक किस्ताको भाखा नाघेको अवस्थामा साहुले आसामीउपर नालिस गर्न मिल्ने देखिन्छ वा देखिँदैन ? भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गरौं । प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच लेनदेन भई तमसुक भएको सम्बन्धमा विवाद देखिँदैन । सो तथ्यमा दुवै पक्षको मुख मिलेको देखिन्छ । वादी प्रतिवादीबिच पुस्तक छपाई गरी बिक्री गर्ने सम्बन्धमा आपसी सहमति भई वादीले रू.४२,००,०००/- लगानी गरेको भन्ने पेस भएको तमसुकमा उल्लेख भएको देखिन्छ । सो रकममध्ये रू.१५,००,०००/- फिर्ता गरिसकिएको र बाँकी रू.२७,००,०००/- फिर्ता गर्ने सन्दर्भमा उक्त तमसुक भएको भन्ने तमसुकको बेहोराबाट देखिएको छ । तमसुकमा परेको ल्याप्चे सहीछाप मेरो होइन भनी प्रतिवादीले भन्न सकेको स्थिति छैन भने सो तमसुक बदर गरिपाउँ भनी निजले कहीँकतै उजुरी वा नालिस गरेको पनि देखिँदैन । उक्त तमसुकमा उल्लिखित बेहोराबाट प्रतिवादीले वादीलाई बुझाउनुपर्ने जम्मा रकम रू.२७,००,०००/- (सत्ताइस लाख रूपैयाँ) रहेको भन्ने देखिएको छ भने सो रकम पाँच वर्षमा प्रतिवर्ष रू. ५,००,०००/- को दरले प्रतिवादीले वादीलाई बुझाउने र सोमध्ये रू. ५,००,०००/- २०७० सालको जेष्ठ/असार महिनासम्ममा बुझाउने भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । तसमुक मिति २०६९/०८/३० मा भएको छ । उक्त मितिलाई आधार मान्दा प्रतिवादीले वादीलाई रकम भुक्तान गर्नुपर्ने अन्तिम भाखा मिति २०७४/०८/३० हुने देखिएको छ । यद्यपि प्रतिवर्ष रू. ५,००,०००/- को दरले रकम बुझाउने भनी तसमुकमा उल्लेख भएकोले प्रतिवर्षलाई नै रकम बुझाउने भाखा भनी मान्नुपर्ने देखिएको छ । तमसुकमा उल्लिखित रू. २७,००,०००/- मध्ये २०७० को जेष्ठ/असार सम्ममा रू.५,००,०००/- बुझाउने भन्ने उल्लेख भएको पाइएबाट प्रतिवादीले वादीलाई तमसुकबमोजिम पहिलो किस्ताबापतको रू. ५,००,०००/- बुझाउने भाखा २०७० सालको असार महिना रहेको मान्नुपर्ने देखिएको छ । उक्त रकमलाई पहिलो किस्ता बुझाउने भाखा मान्दा प्रतिवादीले वादीलाई बुझाउने दोस्रो किस्ताको भाखा सो रकम बुझाएको १ वर्षपछि अर्थात् २०७१ सालको असार महिना रहेको देखिन्छ । प्रतिवादीले वादीलाई सो भाखाअनुसारको रकम तिरे बुझाएको भन्ने देखिँदैन । तमसुकमा उल्लेख भएबमोजिम भाखामा रकम नबुझाई प्रतिवादीले रकम नतिर्ने नियत राखी आफूसमेतका उपरमा हिसाब यकिन गराइपाउँ भनी मुद्दा दायर गरेकोले प्रस्तुत मुद्दा दायर गर्नुपर्ने परिस्थितिको सिर्जना भएको भन्ने वादीको भनाइ रहेको देखिएकोमा वादीको उक्त भनाइ प्रमाणको रूपमा साथै रहेको ०७१-CP-१४१८ को हिसाब यकिन गराइपाउँ भन्ने मुद्दाको मिसिलबाट पुष्टि भएको स्थिति छ । 

३. सामान्यतयाः कपाली तमसुकबाट भएको लेनदेन व्यवहारमा तससुकमा उल्लिखित भाखामा रकम नबुझाएमा सो भाखा नाघेपछि नालिस गर्ने अभ्यास हो । तत्कालीन मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २ नं. मा “तमसुक भएका मितिले दश वर्षभित्र केही ब्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालिस लाग्न 

सक्तैन । दश वर्षको बिचमा भाखापत्र गराएको वा केही ब्याज असुल गरेको रहेछ भने सो मितिले फेरी दश वर्षको म्याद पाउँछ” भन्ने उल्लेख भई भाखा नाघेको १० वर्षसम्म नालिस गर्न पाउने कानूनी हक सुरक्षित गरिएको देखिन्छ । यो कानूनी व्यवस्था विशेषतः तमसुकमा उल्लेख भएको साँवा रकम चुक्ता गर्ने विषयसँग सम्बन्धित रहेको छ अर्थात् साँवाको पूरै रकम आसामीले चुक्ता गरेको अवस्थामा मात्र लिखत फट्टा गरी व्यवहार राफसाफ हुने व्यावहारिक अभ्यास हो । मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ५ नं. को देहाय १ मा समेत साँवा तथा ब्याज भुक्तान भएको अवस्थामा तमसुक फट्टा गर्नुपर्ने वा असुली जनाउनुपर्ने वा असुली भएको भरपार्इ गर्नु गराउनुपर्ने भन्ने व्यवस्था रहेको पाइन्छ । यसको तात्पर्य साँवा रकममध्ये केही रकम चुक्ता भई केही रकम बाँकी रहेको अवस्थामा समेत आसामीले बाँकी रहेको उक्त साँवा रकम चुक्ता नगरी भाखा नघाएको अवस्थामा सो बाँकी रकमको हकमा साहुले आसामीउपर नालिस गर्न नपाउने भन्ने देखिँदैन । मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २ नं. मा उल्लिखित कानूनी व्यवस्थाअनुसार साँवाको ब्याज मात्र बुझाएको अवस्थामा पनि ब्याज बुझाएको मितिबाट हदम्याद कायम हुने व्यवस्था रहेकोमा प्रस्तुत मुद्दामा उठान भएको विषयवस्तु जस्तै किस्ता किस्तामा रकम फिर्ता गर्ने सर्त तमसुकमा उल्लेख भएको अवस्थामा नालिस गर्ने सम्बन्धमा के हुने ? भन्ने प्रश्नमा ऐन मौन रहेको देखिँदा सोतर्फसमेत विवेचना गरी निष्कर्षमा पुग्नुपर्ने भएको छ । 

४. प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच भएको तससुकमै प्रतिवादीले वादीलाई तिर्नुपर्ने जम्मा रकम रू.२७,००,०००/- लाख रहेको र उक्त रकम प्रत्येक वर्ष रू. ५,००,०००/- को दरले वादीलाई तिर्ने बुझाउने र सोमध्ये पहिलो किस्ता रू. ५ लाख २०७० सालको जेष्ठ/असारसम्ममा बुझाइसक्ने उल्लेख 

छ । प्रतिवादीले वादीलाई तिर्नुपर्ने रकम तिर्ने बुझाउने भाखा उल्लेख गरी रकम बुझाउने अवधि (प्रत्येक वर्ष रू.५,००,०००/- को दरले ५ वर्षभित्रमा) समेत तमसुकमै उल्लेख भएको र तमसुकमा उल्लिखित किस्ताको भाखा आसामीले नघाई उक्त किस्ता रकम नतिरेको अवस्थामा आफूले लगानी गरेको रकम उठाउनका लागि सम्बन्धित साहुले आसामीउपर मुद्दा दायर गरी कानूनी उपचार खोज्न नपाउने वा सम्पूर्ण रकम तिर्ने बुझाउने भाखा नाघेपछि मात्र नालिस गर्न पाउने भन्ने कुरा न्यायोचित पनि हुने देखिँदैन । 

५. तत्कालीन मुलुकी ऐन, लेनदेन व्यवहारको महलमा ब्याजको हकमा केही ब्याज तिरेमा सोही मितिबाट पुनः हदम्याद कायम हुने भन्ने कानूनी व्यवस्था गरेकोमा सो व्यवस्थाले आसामीलाई ऋण चुक्ता गर्न सुविधा प्रदान गरेको अवस्था देखिन्छ । आसामीले ऋण लिइसकेपछि सो ऋण तिर्ने दबाबमा निज हुने नै हुन्छ । यस्तो दबाबको कारण एक प्रकारले निज आफैँ पीडित (Self-Victim) हुन सक्दछ । निजले तोकिएको भाखामा रकम तिर्न सकेन तर निजसँग ब्याज वा साँवाबापतको केही रकम जुटाउन सक्ने क्षमता रहेछ भने पूरै रकम तिर्न असक्षम भए पनि ब्याज वा आंशिक साँवाको रूपमा केही रकम तिरी ऋण तिर्ने भाखा केही समय सार्न सकियोस् र दुवै पक्षको व्यवहार मिलोस् भन्ने असल मनसायका साथ विधायिकाले यस्तो व्यवस्था कानूनमा राखेको देखिन्छ । यसको अर्थ किस्ता किस्तामा रकम तिर्छु भनी आसामीले भाखा राखेको अवस्थामा सो तमसुकमा उल्लेख भएबमोजिमको भाखा पटकपटक नघाउँदासमेत अन्तिम भाखा ननाघुन्जेलसम्म साहुले नालिस गर्न नपाउने वा नालिस गर्नको लागि अन्तिम किस्ता बुझाउने भाखा म्याद पर्खनुपर्ने भन्ने होइन । तमसुकमा उल्लेख भएबमोजिम आसामीले रकम नतिरे आफ्नो रकम उठाउनको लागि कानूनी उपचार खोज्नु सम्बन्धित व्यक्ति (साहु) को कानूनी अधिकार हो । यस्तो अधिकारलाई अदालतले सीमित तुल्याउन मनासिब हुँदैन । प्रस्तुत मुद्दामा मिति २०६९/०८/३० मा तसमुक भई सो तमसुकमा प्रत्येक वर्ष रू. ५ लाखको दरले किस्ता तिरी ५ वर्षमा रकम चुक्ता गर्ने कुरा उल्लेख भएको देखिन्छ । तमसुकमै पहिलो किस्ता रू. ५ लाख २०७० सालको जेष्ठ/असारमा तिर्ने भनी भाखा राखिएकोमा सर्तबमोजिमको रकम प्रतिवादीले वादीलाई नबुझाई भाखा नघाएको र सोको १ वर्षपछि पनि तिर्नुपर्ने दोस्रो किस्तासमेत प्रतिवादीले वादीलाई तिरे बुझाएको नदेखिँदा वादीलाई प्रस्तुत फिराद दायर गर्नुपर्ने कारण परेको नै देखियो । साथै तमसुकबमोजिम प्रतिवादीले वादीलाई रकम बुझाउनुपर्ने तेस्रो, चौथो र पाँचौं किस्ताको रकम बुझाउने भाखा बाँकी नै भए तापनि पहिलो दुईवटा किस्ताको भाखा प्रतिवादीले नघाइसकेको देखिँदा उक्त तमसुकलाई अदालतले ग्रहण गरी इन्साफ गर्न मिल्ने नै देखियो ।

६. अब वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिन्छ वा देखिँदैन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा, वादी प्रतिवादीबिच मिति २०६९/०८/३० मा लेनदेनको कपाली तमसुक भएको तथ्यमा विवाद देखिँदैन । तसमुक भएको तथ्यलाई प्रतिवादीले समेत स्वीकार गरेकै देखिन्छ । उक्त तसमुकको बेहोरा हेर्दा “०६७/०६८ सालमा पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तक छपाई गर्दा वादीको जम्मा लगानी रू. ४२ लाखमध्ये १५ लाख ०६९ जेष्ठसम्ममा नगदै बुझाएको बाँकी रू.२७,००,०००/- (सत्ताइस लाख मात्र) आजको मितिमा ५ वर्षमा बुझाउने छु । सोमध्ये २०७० जेष्ठ/असारसम्ममा रू.५,००,०००/- (पाँच लाख मात्र) बुझाउने छु भनी खुशीराजीले यो कागज लेखिदिएको छु । साथै बाँकी रकम प्रतिवर्ष ५ लाखका दरले समेत बुझाउने कबुलियत गरी यो कागज लेखिदिएको छु” भन्ने बेहोरा उल्लेख भएको देखिएको छ । उक्त तमसुक प्रतिवादी स्वयंले लेखिदिएको भन्ने वादीको दाबी रहेकोमा सो दाबीलाई प्रतिवादीले अन्यथा भन्न सकेको अवस्था छैन । उक्त तमसुकमा भएको ल्याप्चे सहीछाप आफ्नो होइन भनी प्रतिवादीले जिकिर लिएको अवस्थासमेत छैन । उक्त कपाली तमसुक वादीहरूले जोर जबरजस्ती गरी गराएको भनी प्रतिउत्तरमा जिकिर लिएको भए पनि निजको उक्त जिकिर प्रमाणबाट पुष्टि हुन सकेको अवस्था छैन । निजको उक्त जिकिरबमोजिम वादीले जोर जबरजस्ती गरी सो कागज गराएको भएमा सो कागज बदर गरिपाउँ भनी कानूनले तोकेको म्यादभित्र साधिकार निकायमा उजुरी गरी कानूनी उपचार खोज्नुपर्नेमा प्रतिवादीले सो गरेकोसमेत देखिएको  छैन । 

७. जहाँसम्म तमसुकमा निलो मसी परेकोले सो तमसुक रीतपूर्वकको नभएको भन्ने प्रतिवादीको जिकिर रहेको सम्बन्धमा हेर्दा कुनै पनि लिखतमा कुन मसी प्रयोग गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको पाइँदैन । तत्कालीन मुलुकी ऐन, कागज जाँचको महलको ११ नं. मा “अड्डामा र घरायसमा हुने सहीछाप गर्नुपर्ने जुनसुकै कागज लेख्दा र सहीछाप गर्दा गराउँदा नउड्ने पक्का मसीबाट गर्नु गराउनुपर्छ” भनी उल्लेख भएको पाइन्छ । हाल प्रचलनमा रहेको मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४० ले समेत मुलुकी ऐनको उक्त कानूनी व्यवस्थालाई निरन्तरता दिएकोसमेत देखिएको छ । यसरी कानूनले नै यही मसी हुनुपर्छ भनी किटान नगरी जुनसुकै मसी भए पनि नउड्ने किसिमको पक्का मसी हुनुपर्छ भनी उल्लेख गरेको अवस्थामा नीलो मसी परेको कारणले मात्र खडा भएको कागजको रीत नपुगेको भन्ने प्रतिवादीको जिकिर कानूनसम्मत देखिएन । 

८. यसैगरी प्रतिवादीले प्रतिउत्तर पत्र एवं यस अदालतमा पेस गरेको लिखित प्रतिवादमा समेत लिखतको सम्बन्धमा अ.बं. ७८ नं. बमोजिमको प्रक्रिया पूरा गर्नुपर्ने जिकिर लिएको सन्दर्भमा हेर्दा अ.बं. ७८ नं. को व्यवस्था सबै लिखतहरूको लागि होइन । कुनै पनि लिखतको सम्बन्धमा विवाद उठेमा, दुई पक्षको मुख नमिलेमा, लिखतमा लेखिएको बेहोरा वा परेको सहीछापको विषयमा शंका उत्पन्न भएमा उक्त प्रक्रिया अपनाउनुपर्ने नै हुन्छ । तर लिखत भएको विषयमा दुवै पक्षको मुख मिलिरहेको र लिखतमा उल्लिखित बेहोरा र परेको ल्याप्चे सहीछापको सम्बन्धमा विवाद नरहेको सन्दर्भमा उक्त प्रक्रिया अपनाउनुपर्ने आवश्यकता रहँदैन । प्रस्तुत मुद्दामा प्रतिवादीले प्रतिउत्तर फिराउने क्रममा उक्त लिखत भएको तथ्यलाई स्वीकार गरी लिखतमा भएको सहीछापलाई समेत इन्कार गर्न सकेको अवस्था नहुँदा अ.बं. ७८ नं. बमोजिमको प्रक्रियालाई अवलम्बन नगरिएको विषयलाई समेत अन्यथा मान्न सकिएन ।

९. लिखतमा प्रतिवादीले वादीलाई बुझाउनुपर्ने रकम रू.२७,००,०००/- उल्लेख भएको र सोमध्ये दुई किस्ता अर्थात् रू.१०,००,०००/- को सन्दर्भमा मात्र भाखा नाघेको अवस्थामा प्रस्तुत मुद्दा परेको अवस्था देखिँदा लिखतमा उल्लिखित सम्पूर्ण रकम वा भाखा नाघेको रकमको हकमा मात्र प्रस्तुत मुद्दाबाट हेरिनुपर्ने हो ? भन्ने प्रश्न पनि प्रस्तुत मुद्दामा यक्ष प्रश्नको रूपमा रहेको देखिन्छ । यस सम्बन्धमा प्रस्ट कानूनी व्यवस्था रहेको देखिँदैन । यद्यपि ने.का.प. २०७२, नि.नं. ९३४८, पृ.३०१ मा “साहुले ऋणमा लगानी गरेको रकममा लगानी गरेको मितिबाट कानूनले हदम्याद नसकिएको अवस्थासम्म हक रहिरहेको 

हुन्छ । लिखतको भाखापूर्व धनीको हक नपुग्ने, नालेस गर्न नपाइने, नालेस गरेमा लिखतको रकम ऋणीले बुझाउनु नपर्ने र थैली भुस हुने अर्थ लगाउन मिल्ने नदेखिने” भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिन्छ । तथापि उक्त मुद्दाको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा केही फरक रहेको पाइन्छ । उक्त मुद्दाको विवादित तमसुकमा किस्ता किस्तामा रकम बुझाउने भन्ने उल्लेख नभई एकमुष्ठ तमसुकको भाखा ६ महिना रहेको देखिएको छ । तमसुकमा उल्लिखित सो भाखा नाघ्नुभन्दा २७ दिनअघि फिराद परेको देखिए तापनि प्रतिवादीको नाउँमा म्याद जाँदा भाखा नाघेपछि गएको देखिएको छ । प्रतिवादीको नाउँमा म्याद जारी भएको सोही तथ्यलाई मुख्य आधार मानी यस अदालतबाट वादीले सम्पूर्ण लिखतको रकम भराइपाउने भनी फैसला भएको देखिएको छ । तर प्रस्तुत मुद्दामा तमसुकमा उल्लिखित कुल रकमलाई प्रत्येक वर्षको किस्ता बनाई किस्ता किस्तामा बुझाउने भनी तमसुकमै उल्लेख गरेको देखिन्छ भने दुईवटा किस्ताको भाखा नाघेको अवस्थामा फिराद परेको देखिन्छ । सम्पूर्ण रकम चुक्ता गरिने भाखा पूरा हुन फिराद पर्दाको दिनसम्म ३ वर्ष बाँकी नै रहेको देखिन्छ । यसरी समग्र तमसुक एउटै भए पनि प्रत्येक वर्ष बुझाउने रकमको यकिन गरी वर्षैपिच्छे रू.५ लाखको दरले बुझाउने भनी फरकफरक रकम (Amount) को फरकफरक मितिको भाखा राखेको पाइँदा उक्त तमसुकभित्र ५ वटा फरकफरक लेनदेनका व्यवहार अन्तर्निहित रहेको मान्नुपर्ने देखिन्छ । यसरी व्यवहार नै फरकफरक गर्ने भनी तमसुकमै उल्लेख भएको अवस्थामा फिराद पर्दाको दिनसम्म जति रकमको भाखा नाघेको छ सोही रकमको हदसम्मको तमसुक ग्रहणयोग्य देखिन आएको छ ।

१०. यसप्रकार वादी प्रतिवादीबिच लेनदेन व्यवहार हुने क्रममा तमसुक भएको तथ्यमा विवाद नदेखिएको, तमसुकमा लागेको ल्याप्चे सहीछापमा समेत विवाद नरहेको, पेस भएको तमसुक बदर गरिपाउँ भनी प्रतिवादीको यसअघि कहीँकतै उजुर परेको नदेखिएको, प्रतिवादीले वादीलाई तमसुकमा उल्लिखित रू.५,००,०००/- को दरले दुई किस्ता अर्थात् जम्मा रू. १०,००,०००/- (दश लाख रूपैयाँ) तिर्ने बुझाउने भाखा नघाई सो रकम हालसम्म पनि प्रतिवादीले वादीलाई तिरे बुझाएको नदेखिएकोसमेतका आधारहरूबाट वादीले प्रतिवादीबाट रकम भराइपाउने नै देखिँदा फिराद अपरिपक्व भनी वादी दाबी नपुग्ने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०७२/११/०२ को फैसला सो हदसम्म केही नमिलेकाले केही उल्टी भई प्रस्तुत मुद्दामा पेस भएको तमसुकमध्ये प्रतिवादीले भाखा नघाएको हदसम्मको रकम अर्थात् फिराद परेको दिनसम्म वादीले प्रतिवादीलाई तिर्नु बुझाउनुपर्ने रू.१०,००,०००/- (दश लाख रूपैयाँ) वादीले प्रतिवादीबाट भराइपाउने ठहर्छ । साथै तसमुकमा ब्याजको सम्बन्धमा केही उल्लेख भएको नदेखिँदा तत्कालीन मुलुकी ऐन, लेनदेन व्यवहारको ६ नं. बमोजिम प्रतिवादीबाट वादीले ब्याज भराउन नपाउने ठहर्छ । सो हदसम्म पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । भराइपाउने ठहर भएको रू.१०,००,०००/- बाहेक तमसुकमा उल्लिखित बाँकी रकमको हकमा कानूनबमोजिम फिराद परेका बखत सोही मुद्दामा ठहरेबमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दामा केही बोलिरहनु परेन । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम वादीले प्रतिवादीबाट रू.१०,००,०००/- (दश लाख रूपैयाँ) भराइपाउने ठहरेकाले फैसला कार्यान्वयनको लागि सुरू काठमाडौं जिल्ला अदालतमा हाजिर हुन जानु भनी फैसला तयार गर्न लाग्ने समयलाई मध्यनजर गरी पुनरावेदक वादीलाई तारेख तोक्नु र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४२ बमोजिम प्रस्तुत फैसला कार्यान्वयन गर्नु भनी फैसलाको प्रतिलिपि साथै राखी सुरू काठमाडौं जिल्ला अदालतमा समेत लेखी पठाउनू----------------------१

वादीले प्रतिवादीबाट रू.१०,००,०००/- भराइपाउने ठहरेकाले सोको लाग्ने कोर्ट फी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ८३ बमोजिम प्रतिवादीबाट वादीलाई भराइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू------------------२

सरोकारवालाले नक्कल माग्न आए कानूनबमोजिमको दस्तुर लिई नक्कल दिनू-----------------------------३

प्रस्तुत फैसलाको विद्युतीय प्रति सफ्टवेयरमा अपलोड गर्नु र प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू--------------------------------------------४

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

इजलास अधिकृत:- कुवेर पाण्डे / ईश्वरीप्रसाद सुवेदी

इति संवत् २०७९ साल श्रावण १७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु