शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९६५ - लेनदेन

भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।४।१७

०७३-CI-१६८०

 

मुद्दा: लेनदेन

 

पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. मल्हनीया वडा नं. ७ बस्ने स्व. मोतीलाल चौधरीको धर्मपत्नी सजनी देवी थरूनी

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला सप्तरी गा.वि.स. पटेर्वा वार्ड नं. ८ बस्ने भोलाई चौधरीको छोरा जिवछप्रसाद चौधरी

 

लेनदेनको विषयमा सर्वाधिक महत्त्वपूर्ण प्रमाण तमसुक लिखत नै हो । वादीले पेस गरेको दाबीको लिखत अन्यथा प्रमाणित नभएसम्म सद्दे नै मान्नुपर्ने । विशेषज्ञबाट परीक्षण हुँदासमेत लिखत जालसाज हो भन्ने स्पष्ट हुन नआएको अवस्थामा अदालतले अनुमानकै भरमा वादीबाट पेस भएको लिखतलाई अन्यथा मान्न नमिल्ने ।

(प्रकरण नं.२)

सक्कल तमसुक नै पेस भएकोमा उक्त तमसुक अन्यथा प्रमाणित नभएको अवस्थामा वादी प्रतिवादीका साक्षी नबुझेको कारणबाट मात्र मुद्दाको निर्णयमा अन्यथा असर पर्ने अवस्था नदेखिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री केशव पाण्डे

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने : 

मा. न्यायाधीश श्री किरणप्रसाद शिवाकोटी 

सप्तरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री राजकुमार वन

मा. न्यायाधीश श्री उमेशकुमार सिंह

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत पुनरावेदन पत्रसहित मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

प्रतिवादीहरूका लोग्ने, बुबा मोतीलाल चौधरीले मसँग २०५७ साल चैत्र मसान्तभित्र बुझाउने भाखा गरी मिति २०५७।९।१७ मा रू.८०,०००।- (असी हजार रूपैयाँ) कर्जा लिई रीतपूर्वक कपाली तमसुक गरिदिनु भएकोमा तमसुकमा उल्लिखित भाखाभित्र साँवा ब्याज केही पनि नबुझाएकोले पटकपटक ताकेता गर्दासमेत नबुझाएको र पछि निजको मृत्यु भएपश्चात् विपक्षीहरूलाई तिर्नु बुझाउनु भन्दा वास्ता नगरेकाले साँवा रू.८०,०००।- तथा लिखत मितिदेखि आजसम्म १० वर्षको हुने ब्याज रू.८०,०००।- (असी हजार रूपैयाँ) समेत जम्मा रू.१,६०,०००।- र लागेको कोर्ट फीसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।

मिति २०५५।१।१ देखि आमा सजनी देवी थरूनीबाट खानोमानो अलग गरी बसेकोमा आमाबाट मिति २०६८।१।३० मा र.नं. १९४४६ बाट अंश भरपार्इसमेत गरी छुट्टीभिन्न भएकाले लेनदेन व्यवहारको २२ नं. बमोजिम मैले ऋण तिर्नुपर्ने 

होइन । फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बद्रीनारायण चौधरीको प्रतिउत्तर जिकिर ।

मिति २०५५।१।१ देखि आमा सजनी देवी थरूनीबाट खानोमानो अलग गरी बसेकोमा आमाबाट मिति २०६८।१।३० मा र.नं. १९४४६ बाट अंश भरपाईसमेत गरी छुट्टीभिन्न भएकाले लेनदेन व्यवहारको २२ नं. बमोजिम मैले ऋण तिर्नुपर्ने 

होइन । फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विनोद चौधरीको प्रतिउत्तर जिकिर ।

मेरो पति मोतिलाल चौधरी जीवित रहेको अवस्थामा कसैसँग ऋण लिए नलिएको विषयमा केही भन्नुभएको थिएन । पतिको मृत्युपश्चात् मात्र मुद्दा दिएको देखिन्छ । तसर्थ सक्कल लिखत झिकाई अ.बं. ७८ नं. को प्रक्रिया पूरा गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सजनी देवी थरूनीको प्रतिउत्तर जिकिर । 

वादीबाट दाबीको सक्कल लिखत पेस गर्न लगाई प्रतिवादीमध्येका सजनी देवी थरूनीलाई देखाई अ.बं. ७८ नं. बमोजिमको प्रक्रिया पुर्‍याई नियमानुसार गरी पेस गर्नु भनी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६९।३।७ मा भएको आदेश ।

लिखतमा लागेको सहीछाप मेरो श्रीमान्‌को हो कि होइन मलाई थाहा छैन । उक्त सक्कल लिखत किर्ते जालसाज हो । कसरी कहाँ को को भई किर्ते गरेका हुन् थाहा छैन । लिखतमा भएका मानिसहरूले नै किर्ते गरे होलान् भन्नेसमेत बेहोराको प्रतिवादी सजनीदेवी थरूनीले अ.बं. ७८ नं. बमोजिम सुरू सप्तरी जिल्ला अदालतमा गरेको बयान ।

वादीले पेस गरेको सक्कल लिखत हेर्दा रीतपूर्वकको देखिन्छ । प्रतिवादी बद्रीनारायण चौधरी र विनोद चौधरी लिखत भएको मितिमा एकासगोलमा बसेकोमा २०६८ सालमा आएर मात्र अंश भरपाई गरी भिन्न भएको देखिन्छ । लोग्ने तथा बाबुले घर खर्चका लागि लिएको ऋणको दायित्व सबै प्रतिवादीहरूमा रहेको हुँदा वादीले प्रतिवादीहरूबाट लिखतबमोजिमको सावाँ रू.८०,०००/- (असी हजार रूपैयाँ) र सोको कानूनबमोजिम हुने ब्याजसमेत भरिपाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६९।६।१ मा भएको फैसला ।

म पुनरावेदक प्रतिवादीबाट छोराहरू मिति २०५५।१।१ मा नै छुट्टी भिन्न भइसकेको प्रमाण पेस हुँदाहुँदै पनि सो प्रमाणको मूल्याङ्कन नै नगरिएको र अ.बं.को ७८ नं. बमोजिम तमसुक जालसाज हो भनी बयान गरिसकेपछि उक्त तमसुकलाई जाँचमा पठाउने आदेश गर्नुपर्नेमा सो नगरी गरिएको सुरू सप्तरी जिल्ला अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ अनुसार प्रत्यक्ष कानूनी त्रुटि रहेकाले सुरू सप्तरी जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सजनी देवी थरूनीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीले प्रतिउत्तर पत्रमा तथा अ.बं. ७८ नं. बमोजिम सुरू अदालतसमक्ष बयान गर्दासमेत वादीले पेस गरेको सक्कल लिखत किर्ते जालसाज हो भन्ने जिकिर लिएको अवस्थामा सो सम्बन्धमा कुनै प्रमाण नै नबुझी वादी दाबी ठहर्‍याई भएको सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मु. ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीका नाउँमा म्याद सूचना जारी गरी प्रत्यर्थी हाजिर भएपछि वा म्याद व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।११।११ मा भएको आदेश ।

कपाली तमसुकमा गरेको सहीछाप आफ्नो पतिको होइन भनी किटानीसाथ प्रतिवादी सजनी देवी थरूनीले सवाल ३ को जवाफमा भन्न नसकेको आधारमै उक्त कपाली तमसुकको जाँच गर्न पठाउन पर्ने होइन । अन्य प्रतिवादीहरूले पनि मैले अपुताली खाएको छैन । त्यसैले उक्त रकम तिर्नुपर्ने होइन भनी बद्री नारायण चौधरीले र म पहिले नै छुट्टी भिन्न भई बसेकाले उक्त कपाली तमसुकको दायित्व वहन गर्नु नपर्ने हो भनी विनोद चौधरी थारूले प्रतिवाद गरेकोबाट पनि प्रतिवादीहरूले उक्त कपाली तमसुकको अस्तित्वलाई स्वीकार गरेको देखिन्छ । अतः सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको वादी जिवछप्रसाद चौधरीले पुनरावेदन अदालत राजविराजमा पेस गरेको लिखित प्रतिवाद ।

यसमा विवादित २०५७।९।१७ को तमसुक लिखतमा परेको सहीछाप पुनरावेदक प्रतिवादी सजनी देवीका स्वर्गीय पति मोतिलाल चौधरीको हो, 

होइन ? सम्बन्धित विशेषज्ञबाट परीक्षण गर्न पठाई परीक्षण प्रतिवेदन प्राप्त गरी पेस गर्नू । परीक्षणका लागि सरकारी कार्यालयमा रहेको मोतिलाल चौधरीको सहीछाप परेको कुनै समकालीन लिखत छ वा 

छैन ? अ.बं.१३३ नं. बमोजिम पुनरावेदकबाट कागज गराई खुलाई सो लिखत झिकाई परीक्षणका लागि पठाउनु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।२।३ मा भएको आदेश ।

यसमा पूर्वआदेशबमोजिमको लिखत झिकाउँदा जिल्ला प्रशासन कार्यालय, सप्तरीको मिति २०७२।३।७ को पत्रसाथ रजिस्ट्रर अभिलेखको फोटोकपीसम्म पठाएको देखियो । यस प्रकारको फोटोकपी लिखतसँग विवादित लिखतमा परेको सहीछाप परीक्षण गर्न मिल्ने देखिएन । तसर्थ, पुनरावेदकका वारेसले आज पेस गरेको र.नं.३५२३ मिति २०४८।१०।१९ को लिखतमा परेको मोतिलालको सहीछापसँग विवादित लिखतमा परेको मोतिलाल चौधरीको सहीछाप भिडाई परीक्षण गरी पठाउन राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटार ललितपुरमा पठाउनु र यथाशीघ्र परीक्षण प्रतिवेदन प्राप्त गरी पेस गर्नू । लाग्ने दस्तुर पुनरावेदक प्रतिवादीबाट लिनु भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।४।१८ मा भएको आदेश ।

कपाली तमसुकमा भएको सहीछाप मोतीलाल चौधरीको हो वा होइन भनी परीक्षण गर्न यस अदालतबाट मिति २०७२।२।३ मा भएको आदेशानुसार सो लिखत परीक्षण भई प्राप्त मिसिल संलग्न प्रतिवेदनमा निजको औंठाछाप अस्पष्ट भई निर्क्यौल गर्न नसकिएको भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादी बद्रीनारायण चौधरी र विनोद चौधरी लिखत भएको मितिमा एकासगोलमा बसेकोमा २०६८ सालमा आएर मात्र अंश भरपाई गरी भिन्न भएको देखिन्छ । लोग्ने तथा बाबुले घर खर्चका लागि लिएको ऋणको दायित्व सबै प्रतिवादीहरूमा रहने हुँदा र वादीले पेस गरेको सक्कल लिखत रीतपूर्वकको देखिँदा सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६९।६।१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०७३।४।२४ मा भएको फैसला ।

मैले सुरू सप्तरी जिल्ला अदालतमा प्रतिउत्तरपत्रमार्फत प्रतिवाद गर्दा नै म प्रतिवादीको पति स्व. मोतिलाल चौधरी जीवित रहेकै अवस्थामा कसैसँग ऋण लिए नलिएको सम्बन्धमा केही पनि भन्नुभएको थिएन । सक्कल कपाली तमसुक झिकाई अ.बं. ७८ नं. बमोजिम सनाखत गरी सद्दे किर्तेतर्फ बयानसमेत गराइपाउँ भन्ने बेहोरा प्रस्ट उल्लेख गरेको छु । मैले सम्मानित अदालतको आदेशानुसार अ.बं. ७८ नं. बमोजिम बयान गर्दा स.ज. ३ मा उक्त सक्कल लिखत किर्ते जालसाज हो भनी उल्लेखसमेत गरेको 

छु । मेरो सुरू प्रतिउत्तर जिकिर, पुनरावेदन जिकिर तथा मैले सप्तरी जिल्ला अदालतमा गरेको सद्दे किर्तेतर्फको बयानलाई मध्यनजर नगरी, वादी प्रतिवादीहरूको साक्षीसमेत नबुझी र विशेषज्ञले दिएको रायविपरीत अनुमानको भरमा मात्र उक्त विवादित कपाली तमसुकमा लागेको सहीछाप मेरो पतिको हो भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०७३।४।२४ मा सुरू फैसला सदर गर्ने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३७, मुलुकी ऐन, अ.बं. को १८४ (क), अ.बं.को १८५, अ.बं. को १८५(क) नं. बमोजिम त्रुटिपूर्ण रहेकोले उक्त फैसलालाई दोहोर्‍याई हेरी पुनरावेदनको निस्सा प्रदान गरी वादी दाबी ठहर नहुने गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सजनी देवी थरूनीको तर्फबाट यस अदालतमा परेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन ।

यसमा यी निवेदक प्रतिवादीका पति मोतिलाल चौधरीले गरेको भनिएको मिति २०५७।९।१७ को कपाली तमसुकलाई यी निवेदक प्रतिवादी सजनीदेवी थारूले अ.ब. ७८ नं. बमोजिम बयान गर्दा किर्ते भनी नामकरण गरेको देखिन्छ । सो लिखत गरिदिने कारणी मोतिलाल चौधरी स्वर्गीय भइसकेपछि प्रस्तुत लेनदेन मुद्दा परेको देखिन्छ । यसरी प्रतिवादीले विवादित तमसुकलाई किर्ते भनी अ.ब. ७८ नं. बमोजिम बयान गरेको अवस्थामा उक्त विवादित लिखत सद्दे किर्ते के 

हो ? यकिन गरी फैसला गर्नुपर्नेमा सो नगरी उक्त लिखत सद्दे भनी दाबीबमोजिम रकम भराइदिने गरी पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०७३।०४।२४ को फैसलामा मुलुकी ऐन, अ.बं. १८४ क, प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको कानूनी त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत मुद्दाको सुरू, पुनरावेदन रेकर्ड मिसिल र भए प्रमाण मिसिलसमेत झिकाइ विपक्षीलाई सूचना म्याद जारी गरी आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७४।०२।०७ मा भएको आदेश ।

प्रतिवादी सजनीदेवी थरूनीले ७८ नं. बमोजिम बयान गर्दा स.ज. ३ मा पति र वादीबिच कुनै कारोबार भएको मलाई भनेको पनि थिएन र मलाई थाहा जानकारी पनि थिएन, छैन । उक्त सक्कल लिखतमा लागेको सहीछाप मेरो श्रीमान्‌को हो कि होइन मलाई थाहा छैन भनी अस्पष्ट बयान गरेको पाइन्छ । तथापि पुनरावेदन अदालतको आदेशानुसार उक्त कागज जाँचका लागि पठाइएकोमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको मिति २०७३।०२।३१ को विशेषज्ञको रायको दफा (१) मा स्पष्टसँग नमुना र विवादित लिखतको शिर पुछारमा लागेको ल्याप्चेहरूको रेखा प्रस्ट नहुँदा तुलनात्मक अध्ययन गर्न सकिएन भनी राय व्यक्त गरेको पाइन्छ भने दस्तखतका सम्बन्धमा दफा २ (ख) मा स्पष्टसँग विवादित वि. २ र नमुना २ का दस्तखतहरूका लेखन दक्षता, लेखन गति (Speed), छायाङ्कन (Shading), ढल्काई (Slant), बहाव (Fluency), अक्षरहरूको अवस्थिति (Alignment) आदि लेखन गुणमा समानता देखिन्छ भने यी अक्षरहरूबिचको खाली स्थान (Spacing) तथा केही अक्षरको बनावटमा केही अन्तर देखिन्छ भनी स्पष्टसँग नमुना र विवादित लिखतको दस्तखत मिले भिडेको तथ्य स्थापित भएको देखिन्छ । केही अक्षर बनावटमा अन्तर आउनुको कारण नमुना कागज र विवादित लिखत लगभग १० वर्ष अन्तरालको हुँदा स्वाभाविक विषय हुँदासमेत विवाद जनाएको लिखत किर्ते नभई सद्दे रहेको स्पष्ट हुँदा सो आधारमा वादी दाबी ठहर गरेको सुरूलगायत पुनरावेदन अदालतको फैसला न्यायसङ्गत हुँदा सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रत्यर्थी वादी जिवछप्रसाद चौधरीले यस अदालतमा पेस गरेको लिखित प्रतिवाद ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकलाई इजलासबाट पुकार हुँदा निजको तर्फबाट कोही उपस्थित हुन नआएको र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री केशव पाण्डेले मोतिलाल चौधरीले वादी जिवछप्रसाद चौधरीसँग २०५७ सालको चैत्र मसान्तसम्म बुझाउने भाखा राखी रू.८०,०००।- कर्जा लिई मिति २०५७।९।१७ मा तमसुक गर्नुभएको र उक्त तमसुक पेस भएको अवस्था छ । उक्त तमसुकलाई पुनरावेदक प्रतिवादी सजनीदेवी थरूनीले किर्ते जालसाज भनी अ.बं. ७८ नं. बमोजिम बयान गरे तापनि उक्त लिखत के कसरी किर्ते जालसाज हो भन्ने पुष्टि हुने प्रमाण गुजार्न सक्नुभएको छैन । लिखत विशेषज्ञबाट समेत जाँच हुँदा पनि किर्ते जालसाज हो भनी पुष्टि हुन नसकेको अवस्थामा लिखतबमोजिमको रकम र सोको कानूनबमोजिम हुने ब्याजसमेत वादीले प्रतिवादीहरूबाट भरिपाउने भनी सुरू सप्तरी जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला कानूनसम्मत हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

उपर्युक्तबमोजिमको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीहरूका लोग्ने तथा बुबा मोतिलाल चौधरीले २०५७ साल चैत्र मसान्तसम्मको भाखा राखी मसँग मिति २०५७।९।१७ मा रीतपूर्वक कपाली तमसुक गरी रू.८०,०००।- कर्जा लिएकोमा उक्त कर्जा नतिर्दै निजको मृत्यु भएकोमा निजको हक खाने विपक्षी प्रतिवादीहरूसँग माग गर्दासमेत आजसम्म पनि नबुझाएकाले सो साँवा र १० वर्षको हुने ब्याज तथा कोर्ट फीसमेत विपक्षी प्रतिवादीहरूबाट दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी रहेकोमा वादी दाबीबमोजिमको साँवा ब्याज वादीले प्रतिवादीहरूबाट भराइलिन पाउने भनी सुरू सप्तरी जिल्ला अदालतबाट फैसला भएको रहेछ । सो फैसलाउपर प्रतिवादीमध्येकी सजनी देवी थरूनीको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत राजविराजबाट सुरू फैसला सदर हुने ठहरी फैसला भएकोमा सो फैसलामा चित्त नबुझाई प्रतिवादी सजनीदेवी थरूनीको यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको देखिन्छ । 

अब सुरू सप्तरी जिल्ला अदालतबाट वादी दाबी ठहर गरी भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू मध्येका बद्रीनारायण चौधरी र विनोद चौधरीले सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसलाउपर पुनरावेदन अदालतमा पुनरावेदन नगरी बसेबाट निजहरूले सुरू सप्तरी जिल्ला अदालतबाट वादी दाबीबमोजिमको रकम निजहरूसमेतबाट भराइदिने गरी भएको फैसलालाई स्वीकार गरी बसेको देखिँदा निजहरूको हकमा थप केही बोलिरहनु परेन । यी पुनरावेदक प्रतिवादी सजनी देवी थरूनीको पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा प्रतिवादीहरूका पति तथा पिता मोतीलाल चौधरीले २०५७ साल चैत्र मसान्तसम्म बुझाउने भाखा राखी मसँग मिति २०५७।९।१७ मा रू.८०,०००।- कर्जा लिई कपाली तमसुक गरिदिएकोमा सो रकम नतिर्दै निजको मृत्यु भएकोले साँवा रू.८०,०००।- र  सोको १० वर्षको हुने ब्याज रू.८०,०००।- समेत जम्मा रू.१,६०,०००।- निजको हक खाने हकवालाहरू विपक्षी प्रतिवादीहरूबाट दिलाई भराइपाउँ भनी वादी जिवछप्रसाद चौधरीको सप्तरी जिल्ला अदालतमा कानूनको म्यादभित्रै फिराद परेको देखिन्छ । यी पुनरावेदक प्रतिवादी सजनी देवी थरूनीले आफ्नो स्वर्गीय पति मोतिलाल चौधरीले वादीबाट कर्जा लिएको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको हुँदा उक्त रकम तिर्नुपर्ने होइन, सक्कल लिखत अ.बं. ७८ नं. बमोजिम देखाई सुनाइपाउँ भनी प्रतिउत्तर जिकिर लिएकोमा सुरू सप्तरी जिल्ला अदालतको आदेशानुसार निजको अ.बं. ७८ नं. बमोजिम भएको बयानमा निजले उक्त लिखत जालसाजी हो भनी बयान गरेको पाइन्छ । तर को कसले के कसरी जालसाजी गरे भनी स्पष्ट खुलाउन सकेको पाइँदैन । पुनरावेदन अदालत राजविराजको आदेशानुसार विशेषज्ञबाट लिखत परीक्षण भएकोमा लिखतमा लागेको औंठाछाप र नमुना औंठाछाप प्रस्ट नहुँदा तुलना गर्न नसकिएको भन्ने प्रतिवेदन रहेको देखिन्छ । लिखतमा लागेको सहीछाप आफ्नो लोग्नेको होइन भनी यी पुनरावेदक प्रतिवादीले यकिनसाथ भन्न नसकेको र उक्त लिखतलाई जालसाज भनी जिकिर लिए पनि को कसले के कसरी जालसाज गरे भनी यकिनसाथ खुलाउन सकेको पाइँदैन । प्रमाण ऐन, २०३१ को दफा २८ मा “कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुने छ भनी कुनै नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिमाथि नै हुने छ” भन्ने उल्लेख भएको पाइन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम वादीबाट पेस भएको लिखत जालसाज हो भनी जिकिर लिने यी पुनरावेदक प्रतिवादीले उक्त लिखत जालसाजबाट भएको भन्ने पुष्टि हुने कुनै प्रमाण गुजार्न सकेको पाइँदैन । लेनदेनको विषयमा सर्वाधिक महत्त्वपूर्ण प्रमाण तमसुक लिखत नै हो । वादीले पेस गरेको दाबीको लिखत अन्यथा प्रमाणित नभएसम्म सद्दे नै मान्नुपर्ने हुन्छ । विशेषज्ञबाट परीक्षण हुँदासमेत लिखत जालसाज हो भन्ने स्पष्ट हुन नआएको अवस्थामा अदालतले अनुमानकै भरमा वादीबाट पेस भएको लिखतलाई अन्यथा हो भनी मान्न मिल्ने देखिएन । अतः तमसुक लिखत जालसाज हो भन्ने प्रतिवादीको भनाइ प्रमाणबाट पुष्टि हुन नसकेको हुँदा त्यसतर्फको निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

३. जहाँसम्म साक्षी प्रमाण बुझिएन भन्ने पुनरावेदक प्रतिवादीको जिकिर छ, त्यसतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुवै पक्षका साक्षी नबुझिएको अवस्था छ । वादीको साक्षी बुझिएको र प्रतिवादीको साक्षी नबुझिएको भन्ने अवस्था छैन । वादीबाट सक्कल तमसुक नै पेस भएको अवस्था रहेको र उक्त तमसुक अन्यथा प्रमाणित नभएको अवस्थामा वादी प्रतिवादीको साक्षी नबुझेको कारणबाट मात्र प्रस्तुत मुद्दाको निर्णयमा अन्यथा हुने गरी असर पर्ने अवस्था देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ५४ को मनसाय बुझ्न नपर्ने प्रमाण पनि बुझ्नुपर्ने भन्ने होइन । कुनै ठोस वस्तुनिष्ठ र अकाट्य प्रमाण रहेको अवस्थामा त्यस्तो प्रमाण बुझ्नुपर्ने नै हुन्छ, ताकी उक्त प्रमाणबाट सत्यतथ्यपूर्ण निर्णयमा पुग्न सकियोस् । तर प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीले नै लिखत जालसाज हो भनी यकिनसाथ भन्न नसकेको र लिखत परीक्षणबाट समेत जालसाज हो भनी यकिन नभएको देखिन्छ । वादीबाट पेस भएको तमसुक लिखत नै प्रस्तुत मुद्दामा अकाट्य प्रमाण रहेको हुँदा र उक्त तमसुक लिखत अन्यथा प्रमाणित हुन नसकेको अवस्था हुँदा साक्षी नबुझी भएको फैसला बदर गरिपाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

४. तसर्थ, वादी दाबीको लिखतबमोजिमको रकम रू. ८०,०००।– (असी हजार रूपैयाँ) र सोको कानूनबमोजिम हुने ब्याजसमेत वादीले यी पुनरावेदक प्रतिवादीसमेतबाट भरिपाउने भनी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६९।०६।०१ मा भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत राजविराजबाट मिति २०७३।०४।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी सजनीदेवी थरूनीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.तिलप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत : कुबेर पाण्डे 

इति संवत् २०७९ साल साउन १७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु