निर्णय नं. १०९६६ - दर्ता बदर दर्ता हक कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कुमार रेग्मी
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला मिति : २०७९।३।२९
०७३-CI-११६१
मुद्दा : दर्ता बदर दर्ता हक कायम
पुनरावेदक / प्रतिवादी : नरबहादुर राईको श्रीमती खोटाङ जिल्ला, सुङ्देल गाउँ विकास समिति वडा नं. ४ बस्ने ध्यान सरी राईसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : खोटाङ जिल्ला, वाक्सीला गाउँ विकास समिति वडा नं. ६ स्थित पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीलाको तर्फबाट अख्तियारप्राप्त ऐ. विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्र राई
घरसारको लिखत छ भन्दैमा मात्र स्वत: उक्त लिखतले मान्यता पाउन नसक्ने । उक्त लिखत वैधानिक र वास्तविक व्यवहारमा लागु हुने खालको हुनुपर्ने । लिखत गर्नुको तर्कसङ्गत र कानूनसङ्गत आधार कारणसमेत खुलेको हुनुपर्ने ।
(प्रकरण नं.५)
जग्गामा हक कायम हुने गरी गरिने घरायसी लिखत एक संवेदनशील विषय हो । कुनै पनि जग्गामा कानूनबमोजिमको हकको स्रोत पुष्टि नभई त्यस्तो जग्गा उपर व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन सक्दैन । कुनै जग्गामा कानूनबमोजिमको हक स्थापित हुनका लागि सोहीबमोजिमकै स्रोत हुन आवश्यक हुने ।
(प्रकरण नं.५ र ७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री चुडामणि पोखरेल, श्री विनोद शर्मा र श्री आशिष लुइटेल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७५, अङ्क १०, नि.नं.१०११७
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री इश्वरीप्रसाद गौतम
खोटाङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
मा.निमित्त मुख्य न्यायाधीश श्री कुमार चुडाल
माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल
पुनरावेदन अदालत राजविराज (हाल उच्च
अदालत, जनकपुर राजविराज इजलास)
फैसला
न्या.कुमार रेग्मी : पुनरावेदन अदालत राजविराज हाल उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७३।३।२७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र ऐ. ऐनको दफा ३३(१) अन्तर्गत यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
खोटाङ जिल्ला, वाक्सीला गाउँ विकास समिति, वडा नं.९ बस्ने जगीधन राईको एकलौटी हकभोग भएको विद्यालयको हाट लाग्ने जग्गा चौताराडाँडाले छिनेको पूर्व, विद्यालयको साँध पश्चिम, हरिप्रसादले पञ्चायतलाई दिएको जग्गा साँध दक्षिण, चौताराडाँडा उत्तर यति चारकिल्लाभित्रको मानेडाँडाबारी विजन मुठी ।।।८ मध्ये विजन मुठी ।।।४ के पोत रू.१ लाग्ने कृष्णबहादुर जिम्मा-१, स्कुलको जग्गादेखि पश्चिम, पूर्व जराङखालीको साँध, स्कुलको साँध दक्षिण, हरिप्रसादले पञ्चायतलाई दिएको जग्गादेखि उत्तर यति चारकिल्लाभित्रको ऐ.बारी विजन मुठी ।।।८ मध्ये विजन मुठी ।।।४ के पोत रू.१ पैसा लाग्ने ऐ. जिम्मा-१ समेत साबिक खोटाङ जिल्ला, वाक्सीला मानेडाँडा पञ्चायत वडा नं.९ भई हाल ऐ.वाक्सीला गाउँ विकास समिति वडा नं.५ को जग्गा दाता जगीधन राईले पृथ्वी माध्यमिक विद्यालय, बुद्धबजार वाक्सीलालाई र.नं.३६८, मिति २०३८।७।७ गते मालपोत कार्यालय, खोटाङबाट दानपत्र रजिस्ट्रेसन पारित गरिदिई पृथ्वी उच्च माध्यमिक विद्यालय, वाक्सीलाको हकभोगको भई अविच्छिन्न रूपले भोगचलन गरी आएको नापीका बखत कि.नं.४३४ क्षेत्रफल २-३-३-२ कायम भएको उल्लिखित कि.नं.का जग्गा विद्यालयको नाममा दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा लिन बाँकी भएकोले विद्यालयको नाममा दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा लिन आवश्यक कारबाही भइरहेको अवस्थामा मालपोत कार्यालय, खोटाङमा आगजनी भई तत्सम्बन्धी मिसिल फाइल जली नष्ट भएकोले पुनः निवेदन दिई दर्ता प्रक्रियाका लागि तयारी भइरहेकोमा उक्त कि.नं.४३४ को क्षेत्रफल २-३-३-२ मध्ये विपक्षी ध्यानसरी राईले कित्ताकाट गरी कि.नं. १४५० क्षेत्रफल १-११-०-१ कायम गरी अनधिकृत रूपबाट आफ्नो नाममा दर्ता गराई कित्ताकाट गर्दै बिक्री गर्ने क्रममा कि.नं. १४६९ क्षेत्रफल १-६-०-१ मध्ये उत्तर पूर्व क्षेत्रफल ०-१५-२-३ कि.नं. १४७३ मूल्य रू.५०,०००।- कायम गरिदिने ध्यानसरी राई लिने दिनेश राई भई र.नं.२८०७ मिति २०६८।१२।१५ मा हालैको बकसपत्र पारित गरी लिनुदिनु गरेको कुरा मिति २०६९।६।९ मा हालैको बकसपत्रको नक्कल सारी लिई हेर्दा थाहा भएकोले विद्यालयले जगीधन राईबाट दानपत्र रजिस्ट्रेसन पारित गरी लिएको जग्गा विपक्षी ध्यानसरी राईले आफ्नो नाममा दर्ता गराई कित्ताकाट गरी विपक्षी दिनेश राईलाई हालैको बकसपत्र पारित गरी लिनुदिनु गरी जग्गा दर्ता गरी जग्गामा दाबी खिचोला गरेकोले दाबी खिचोला मेटाई कि.नं. १४७३ क्षेत्रफल ०-१५-२-३ को जग्गाको लिखत दर्ता बदर गरी विद्यालयको नाममा दर्ता गराई विद्यालयको हक कायम गराइपाउँ भन्नेसमेत बेहोराको पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीलाको फिराद दाबी ।
वादीले दिएको फिराद दाबी झुठ्ठा हो । हामीले लिनु दिनु गरेको जग्गा विद्यालयको नभई म ध्यानसरी राईको हकभोगको भई जग्गाधनी प्रमाण पुर्जासमेत भएकोले दर्ता बदर भई वादीको नाममा दर्ता हुने
होइन । वादीले दाबी लिएको साबिक कि.नं.४३४ को जग्गा मेरो बाजे कृष्णबहादुर राईको हकभोगको भई मानेडाँडा पाखाबारी विजन मुठी ।।।६ मध्ये विजन ।।।२ मुठी विजनको जग्गा बाजे कृष्णबहादुर राईबाट रू.९९।- मा २०२३ सालको बालीदेखि नै हकभोग गरिखानु भनी मिति २०२३।११।१३ गते घरसारी राजीनामा दिएकोले मेरो हक भई रकम तिरो बुझाई आई मेरो बाबु रूद्रबहादुर राईको नाममा ७ नं. फाँटवारीमा मानेडाँडा विजन मुठी ।।।८ कायम भएको नापीका समयमा नापी भई मेरो नाममा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिन बाँकी रहेकाले छुट जग्गा दर्ता गरिपाउँ भनी मालपोत कार्यालय, खोटाङमा तत्कालै निवेदन दिई कारबाही चलिरहेकोमा मिति २०६२।३।५ गते आगजनी हुँदा जली नष्ट भएकोले आवश्यक कागजात जुटाई मिति २०६६।३।३ गते मालपोत कार्यालय, खोटाङमा र हुलाकमार्फतसमेत निवेदन पठाई जग्गा दर्ताको सिलसिलामा मिति २०६६।३।५ गते ३५ दिने छुट जग्गा दर्ता हक दाबीसम्बन्धीको सार्वजनिक सूचना मालपोत कार्यालय, खोटाङबाट प्रकाशित भएकोमा सो म्यादभित्र कोही कसैको पनि हक दाबी, विरोध नभएकोले स्थलगत सर्जमिन, अमिनसमेतको रोहबरमा उक्त विपक्षी विद्यालयका शिक्षक प्रतिनिधि छत्रकुमार राईसमेतका व्यक्तिहरूले उक्त कि.नं. का जग्गा सरकारी संघ-संस्था सामुदायिक वनसमेत कसैको नभई ध्यानसरी राइको हकभोगको भएको हुँदा निजका नाममा दर्ता हुनुपर्ने हो भनी स्थलगत सर्जमिन मुचुल्कामा लेखाई दिएअनुसार मालपोत कार्यालय, खोटाङले मिति २०६८।३।२ गते टिप्पणी आदेश उठाई छुट जग्गा दर्ता समितिबाट सिफारिस भएका आधारमा मिति २०६८।३।१० गते मेरो नाममा दा.खा. दर्ता भएको जग्गालाई कित्ताकाट गरी कि.नं.१४७३ को क्षेत्रफल ०-१५-२-३ जग्गा मैले दिनेश राईलाई हालैको बकसपत्र लिखत पारित गरिदिएको हुँदा उक्त जग्गाको लिखत बदर भई विद्यालयको नाममा दर्ता हुने होइन, हाम्रो हक कायम राखी दर्तासमेत सदर कायम राखिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीमध्येका ध्यानसरी राईको र ध्यानसरी राईको नाममा दर्ता कायम रही जग्गाधनी प्रमाण पुर्जासमेत भएको उक्त जग्गा ध्यानसरी राईले बाजेबाट राजीनामा लिई निजको हकभोग भई जग्गा दर्ता गर्न छुट भएको जग्गा दर्ता गरी मैले हालैको बकसपत्र पारित गरी लिएको जग्गाको दर्ता बदर भई विद्यालयको नाममा दर्ता हुने होइन, हामीले जग्गा लिनुदिनु गरी पारित भएको लिखत बदर नगरी दर्ता सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ध्यानसरी राई र दिनेश राईसमेतको एकै मिलानको प्रतिउत्तर जिकिर ।
वादी दाबीको जग्गा जगीधन राईले विद्यालयलाई दान दिएको जग्गा हुँदा विद्यालयको नाममा दर्ता हुनुपर्ने हो । के कारणले ध्यानसरी राईको नाममा दर्ता भएको हो मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको वादीका साक्षी कुमारध्वज राईले सुरू अदालतमा गरेको बकपत्र ।
वादी दाबीको जग्गा कृष्णबहादुर राईबाट घरायसी बकसपत्र पाई मालपोत कार्यालय खोटाङबाट दर्ता गराई लालपुर्जा लिई निजले हकभोगको जग्गा दिनेश राईलाई दिएको हुँदा सो जग्गाको दर्ता बदर भई विद्यालयको नाममा दर्ता हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी जुक्तबहादुर राईले सुरू अदालतमा गरेको बकपत्र ।
अदालतको आदेशानुसार भई आएको स्थलगत नक्सा मुचुल्का सुरू मिसिल संलग्न रहेको ।
फिराद दाबीमा उल्लिखित कि.नं.४३४ को क्षेत्रफल २-३-३-२ को जग्गालाई कित्ताकाट गरी कि.नं.१४५० कायम भएको क्षेत्रफल १-११-०-१ जग्गा ध्यानसरी राईका नाममा दर्ता गर्ने गरी मिति २०६८।३।१० मा मालपोत कार्यालय खोटाङबाट भएको निर्णय बदरतर्फ वादीले कुनै नालिस उजुर गरेको अवस्था नदेखिँदा उक्त मालपोत कार्यालय खोटाङले प्रतिवादी ध्यानसरी राईका नाममा उल्लिखित जग्गा दर्ता गर्ने गरी गरेको मिति २०६८।३।१० को निर्णय बदर नभई यथावत् कायम रहिरहेको अवस्थामा दिने प्रतिवादी ध्यानसरी राई लिने प्रतिवादी दिनेश राई भई मिति २०६८।१२।१५ मा र.नं.२८०७ बाट भएको कि.नं.१४७३ को क्षेत्रफल ०-१५-२-३ को जग्गाको दर्ता बदर गरी दर्ता हक कायम गरिपाउँ भन्ने फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू खोटाङ जिल्ला अदालतबाट मिति २०७१।३।२० मा भएको
फैसला ।
विद्यालयले दानपत्रबाट प्राप्त गरेको विवादित जग्गा विपक्षी ध्यानसरी राईले दूषित दर्ता गराई कित्ताकाट गरी कि.नं.१४७३ बाट दिनेश राईलाई र.नं.२८०७ मिति २०६८।१२।१५ मा बकसपत्र लिखतबाट लिनु दिनु गरेकाले एक पटक विद्यालयलाई दानपत्र पारित गरी हक हस्तान्तरण गरिसकेको जग्गा गैरकानूनी रूपमा सोही जग्गा आफ्नो नाउँमा दर्ता गराई पुनः बिक्री गर्ने कार्यले कानूनी मान्यता पाउन नसक्ने, दूषित दर्ताबाट विपक्षीहरूको हक सिर्जना हुन नसक्ने हुँदा मालपोत कार्यालय खोटाङबाट पारित भएको र.नं. ३६८ मिति २०३८।७।७ को दानपत्रको लिखतलाई महत्त्व नै नदिई खोटाङ जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी विद्यालयको फिराद दाबीबमोजिम विपक्षी ध्यानसरी राईले निजको नाममा दर्ता गराई विपक्षी दिनेश राईको नाममा हालैको बकसपत्रबाट गएको जग्गा ध्यानसरी राईको नाउँमा यथास्थितिमा ल्याई दर्ता बदर गरी विद्यालयको नाउँमा दर्ता हक कायम गराइपाउँ भन्नेसमेत बेहोराको पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीलाको पुनरावेदन अदालत राजविराजमा दायर पुनरावेदनपत्र ।
यसमा जगीधन राईबाट मिति २०३८।७।७ मा दानपत्र लिखत रजिस्ट्रेसन पारित गराई वादी पृथ्वी माध्यमिक विद्यालय वाक्सीला, खोटाङले जग्गा प्राप्त गरेको भनी हक प्राप्तिको स्रोतसमेत खुलाई दाबी गरेको देखिएको र विवादित जग्गा प्रतिवादीमध्येकी ध्यानसरी राईले घरसारको लिखतका आधारमा गराएको दर्ताउपर जालसाजीतर्फ दाबी गरी छुट्टै मुद्दासमेत चलाएको अवस्थामा प्रमाणको समुचित विवेचना र मूल्याङ्कन गरी इन्साफ गर्नुपर्ने निर्णय बदरतर्फ दाबी नगरेको भन्ने आधारमा विद्यालयको जग्गामा दाबी नपुग्ने ठहर गरेको सुरू फैसला फरक पर्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीका नाउँमा म्याद जारी गरी झिकाई आए वा म्याद व्यतीत भएपछि नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत राजविराजको मिति २०७२।३।८ को आदेश ।
दिने ध्यानसरी राई र लिने दिनेश राई भई कि.नं.१४७३ को ०-१५-२-३ जग्गा बकसपत्रको लिखतद्वारा हक हस्तान्तरण गरेको जग्गाको स्रोतको सम्बन्धमा यी पुनरावेदक प्रतिवादीले चार किल्ला उल्लेख गरी जगीधन राईको एकलौटी हकभोगको जग्गा निजले मिति २०३८।७।७ मा पुनरावेदक वादी पृथ्वी उच्च माध्यमिक विद्यालयको नाममा दानपत्र रजिस्ट्रेसन पारित गरिदिएको भन्ने उल्लेख गरेको देखियो । मिति २०३८।७।७ मा पारित दानपत्रमा उल्लिखित चार किल्ला र भई आएको नक्सा मुचुल्का हेर्दा विरोधाभासको स्थिति देखिँदैन । यसरी प्रत्यर्थी / प्रतिवादी ध्यानसरी राई करिब १० वर्षकी नाबालिग हुँदा के कारणले बाजे कृष्णबहादुर राईले दाबीको जग्गा घरायसी छोडपत्र गरिदिएको भनी स्पष्ट आधार कारण नभएको लिखतलाई आधार लिई दाबीको साबिक जग्गाधनीले २०३८ सालमा मालपोत कार्यालयबाट दानपत्र पारित गरिदिएको ४ किल्लाभित्र परेको कि.नं.४३४ को जग्गा प्रतिवादी ध्यानसरी राईले छुट जग्गा भनी दर्ता गरी बिक्री गरेकोसमेतका कार्य गैरकानूनी देखिएकोले दाबी नपुग्ने ठहर्याएको सुरू खोटाङ जिल्ला अदालतको मिति २०७१।३।२० को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबीबमोजिम दर्ता लिखतसमेत बदर भई कि.नं.४३४ को जग्गामा वादीको हक कायम हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०७३।३।२७ को फैसला ।
पुनरावेदक प्रतिवादीमध्येकी म ध्यानसरी राईले दर्ता गरेको जग्गा र विपक्षीले दान पत्रबाट पाएको जग्गाको चार किल्ला भिड्छ भिड्दैन भन्ने सम्बन्धमा वस्तुनिष्ठ प्रमाणको मूल्याङ्कन नगरी सतही रूपमा दाबीको जग्गाको स्रोत सोही दानपत्रको लिखत हो भन्नु अनुमानमा आधारित छ । यदि कि.नं. ४३४ को जग्गा वादी दाबीबमोजिमको चौहद्दीभित्रको भए किन वादीले कि.नं. ४३४ कित्ताकाट भई कि.नं. १४५० को जग्गामा मात्र विवाद खडा गरी बाँकीको जग्गामा दाबी नलिएको हो सो खुल्न सकेको छैन । हजुरबुबाले नातिनीलाई कानूनबमोजिम घरायसी राजीनामा गरी दिएको जग्गालाई जग्गा पाउनेको उमेर १० वर्षको मात्र रहेको भनी साबिकदेखि अविच्छिन्न रूपमा भोगचलन गरी आएको जग्गा विधिवत् रूपमा मालपोत कार्यालयबाट ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी स्थलगत सर्जमिनसमेतको आधारमा मिति २०६८।३।१० गतेको निर्णयबाट विधिवत् दर्ता भएको सम्बन्धमा प्रमाण मूल्याङ्कन नगरी केवल मिति २०३८।७।७ को दानपत्रको लिखतलाई मात्र आधार मानी खोटाङ जिल्ला अदालतको फैसला उल्टी हुने गरी तत्कालीन पुनरावेदन अदालत राजविराजले मिति २०७३।३।२७ मा गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण फैसला उल्टाई बदर गरी खोटाङ जिल्ला अदालतबाट मिति २०७१।३।२० मा भएको फैसला सदर गरी न्याय पाउँ भन्ने बेहोराको ध्यानसरी राई र दिनेश राईको यस अदालतमा दायर पुनरावेदनपत्र ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाका पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री चुडामणि पोखरेल, श्री विनोद शर्मा र श्री आशिष लुइटेलले दाबीबमोजिम कि.नं. ४३४ को जग्गाको स्रोत भनेको मिति २०२३।११।१३ को घरायसी राजीनामा छोडपत्रको लिखत हो । २०२३ सालमै पुनरावेदक प्रतिवादी ध्यानसरी राईलाई उक्त जग्गा भोग गरी खानु भनी बाजे कृष्णबहादुर राईले दिएकोमा ध्यानसरी राईको उमेरकै कारणले उक्त कानूनबमोजिमको राजीनामा लिखतलाई गलत व्याख्या गरी मालपोत कार्यालयको मिति २०६८।३।१० गतेको निर्णयबमोजिम साबिक कि.नं. ४३४ को जग्गा कित्ताकाट गरी कि.नं. १४५० को जग्गा ध्यानसरी राईको नाममा दर्ता गराई आफ्नो कानूनबमोजिम प्राप्त हकभोगको जग्गाको केही भाग दिनेश राईलाई बिक्री गरेको कानूनसम्मत कार्यलाई गैरकानूनी भनी वादी दाबीबमोजिम दर्ता लिखतसमेत बदर भई कि.नं. ४३४ को जग्गामा वादीको हक कायम हुने भनी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला बदर गरिपाउँ भन्ने बहससमेत सुनियो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी पुनरावेदक प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदन तथा मिसिल संलग्न कागज प्रमाणहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको मुख्य जिकिर भनेको साबिक कि.नं. ४३४ को जग्गा २०२३ सालमा मेरो हजुरबुबाले कानूनबमोजिम घरायसी राजीनामा छोडपत्रको लिखत गरी दिएकोमा नापी हुँदा दर्ता हुन नसकेकोले उक्त छुट जग्गा दर्ताको लागि निवेदन दिएअनुरूप विधिवत् रूपमा मालपोत कार्यालयको मिति २०६८।३।१० गतेको निर्णयबाट साबिक कि.नं. ४३४ को क्षेत्रफल २-३-३-२ जग्गालाई कित्ताकाट गरी कि.नं. १४५० मा कायम भएको क्षेत्रफल १-११-०-१ जग्गा म पुनरावेदक प्रतिवादी ध्यानसरी राईको नाउँमा दर्ता भएकोले उक्त जग्गाको केही भाग पुनरावेदक प्रतिवादी दिनेश राईलाई बिक्री गरेको हो । प्रत्यर्थी वादीले दाबी लिएबमोजिम मिति २०३८।७।०७ को दानपत्रमा उल्लिखित चार किल्ला साबिक कि.नं. ४३४ को जग्गासँग भिड्छ भिड्दैन भनी यकिन नगरी, २०२३ सालको घरायसी लिखतलाई गलत व्याख्या गरी, मालपोत कार्यालयबाट जारी ३५ दिने सार्वजनिक सूचनामा र स्थलगत सर्जमिन मुचुल्कालगायतका प्रमाणको मूल्याङ्कन नगरी दानपत्रको लिखतलाई मात्र आधार मानी पुनरावेदन अदालत राजविराजले गरेको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी सुरू अदालतको फैसला सदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको मुख्य जिकिर देखियो ।
३. अब माथि विवेचित पृष्ठभूमिमा प्रस्तुत मुद्दाको प्रमुख विवाद विवादित कि.नं. ४३४ को जग्गाको स्रोत प्रत्यर्थी वादीले लिएको दाबीबमोजिम मिति २०३८।७।७ को दानपत्रको लिखत भई वादीको हक कायम हुनुपर्ने जग्गा हो ? वा पुनरावेदक प्रतिवादीहरूले लिएको जिकिरबमोजिम मिति २०२३।११।३३ को घरायसी छोडपत्रको लिखत भई प्रतिवादी ध्यानसरी राईको हक स्वामित्वको जग्गा हो ? भन्ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो । कुनै पनि जग्गामा कुनै पनि व्यक्तिको हक सिर्जना हुनको लागि प्राथमिक र महत्त्वपूर्ण मापदण्ड भनेको उक्त जग्गाको साबिकको स्रोत के कस्तो भन्ने नै हुन्छ । प्रस्तुत मुद्दामा जगीधन राईको एकलौटी हकभोगको जग्गा र.नं. ३६८ मिति २०३८।७।७ मा दानपत्र रजिस्ट्रेसन पारित गरी प्रत्यर्थी वादी पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीला, खोटाङलाई हक हस्तान्तरण गरी दिएकोले विवादित कि.नं. ४३४ को जग्गामा प्रत्यर्थी वादीको हक कायम हुनुपर्ने भनी दाबी गरेको देखिन्छ । दाबी लिएबमोजिमको दानपत्रको लिखत मिति २०३८।७।७ मा मालपोत कार्यालय खोटाङबाट कानूनबमोजिम रजिस्ट्रेसन पारित भएको मिसिल संलग्न दानपत्रको प्रतिलिपिबाट देखिन
आयो । यसरी कानूनबमोजिम रजिस्ट्रेसन पारित भएको दानपत्रको लिखतलाई अन्यथा भन्न सकिने अवस्था देखिँदैन । साथै उक्त दानपत्रको लिखतको सम्बन्धमा पुनरावेदक प्रतिवादीले कुनै किसिमको विरोध र विवाद उत्पन्न गरेको मिसिल सामेल कागजबाट देखिँदैन । त्यसैगरी दानपत्रमा उल्लिखित चार किल्लाभित्रको जग्गा कि.नं. ४३४ को जग्गा होइन भनी पुनरावेदक प्रतिवादीले सुरू अदालतमा जिकिर लिन सकेकोसमेत देखिँदैन ।
४. जहाँसम्म दानपत्रमा उल्लिखित चार किल्लाभित्र कि.नं. ४३४ को जग्गा पर्छ पर्दैन भन्ने सम्बन्धमा यकिन हुन नसकेको भन्ने पुनरावेदक प्रतिवादीको जिकिरलाई विचार गर्दा प्रत्यर्थी वादीको दाबीबमोजिम मिति २०३८।७।७ को दानपत्रमा उल्लिखित चार किल्लाको जग्गाको हालको अवस्थालाई हेर्दा उक्त चार किल्लाभित्रको जग्गाको आकार प्रकृति र चरित्रमा सामान्य फरक पर्न सक्ने कुरालाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ । चार किल्लाको आकार प्रकृति र चरित्रमा फरक परे पनि विद्यालयको हाट लाग्ने जग्गा, चौतारा डाँडाले छिनेको, विद्यालयको साँध, हरिप्रसादले पञ्चायतलाई दिएको जग्गा, मानेडाँडा भनी दानपत्रमा उल्लिखित चार किल्लाको स्थानहरूलाई पुनरावेदक प्रतिवादीले समेत रहे भएको भनी स्वीकार गरेको र सोही चार किल्लाभित्र कि.नं. ४३४ को जग्गा रहेको मिसिल संलग्न कागजातबाट देखिन्छ । मिति २०७०।१०।०३ गते भएको नक्सा मुचुल्कामा पुरानो व्यवहार चलनबमोजिमको चार किल्लाअनुसारको स्थानहरू उल्लेख नहुनु स्वाभाविक रहेको भए तापनि मिति २०३८।७।७ को दानपत्रको चौहद्दी र नक्सा मुचुल्कामा उल्लिखित बेहोरा हेर्दा विवादित भएको देखिन आउँदैन ।
५. अर्कोतर्फ कि.नं. ४३४ को स्रोतका सम्बन्धमा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले आफ्नो हकभोगको स्रोत २०२३ सालको घरायसी छोडपत्र लिखत भएको भन्ने जिकिरको सम्बन्धमा विचार गर्दा प्रतिवादीले उक्त लिखतको सक्कल प्रति उपलब्ध गराउन सकेको देखिँदैन । घरसारमा लिखत गरेको छ भन्दैमा मात्र स्वत: उक्त लिखतले मान्यता पाउन सक्ने हुँदैन । सो लिखत वैधानिक र वास्तविक व्यवहारमा लागु हुने खालको हुनुपर्ने हुन्छ । लिखत गर्नुको तर्कसङ्गत र कानूनसङ्गत आधार कारणसमेत खुलेको हुनुपदर्छ । यस सम्बन्धमा कृष्णबहादुर गुरूङ वि. विश्वराज खनाल भएको जग्गा सार्वजनिक कायम गरिपाउँ भन्ने मुद्दामा “घरसारमा तयार हुने सरकारी अड्डाबाट प्रमाणित गराउनु नपर्ने घरसारको लिखत जुनसुकैबेलामा पनि आपसमा मिलेर तयार गर्न सकिने भएकोले त्यस्ता लिखतलाई प्रमाणमा ग्रहण गर्न निकै सतर्क हुनुपर्ने हुन्छ ।” भनी (ने.का.प.२०७५, नि.नं. १०११७, अङ्क १०) मा व्याख्या भएको
पाइन्छ । प्रस्तुत मुद्दामा घरायसी छोडपत्रको लिखत हेर्दा ६९ वर्षको हजुरबुबा कृष्णबहादुर राईले करिब १० वर्षीय नातिनी ध्यानसरी राईसँग रू. ९९ कर्जा लिएबापत जग्गा भोग गरी खानु भनी मिति २०२३।११।१३ मा गरिदिएको घरसारको लिखतको आधारमा पुनरावेदक प्रतिवादीले जग्गा दाबी गरेको देखियो । यसरी नाबालिग करिब १० वर्षीय नातिनीबाट हजुरबुबाले कर्जा लिएको भन्ने कारण देखाई सो कर्जाबापत जग्गा भोगचलनको लागि हदमुनिको तमसुक लिखित गरिदिएको भन्ने विषय वास्तविक व्यवहारमा समेत जायज र विश्वसनीय देखिँदैन । घरसारको लिखत भनेको जस्तो पनि विषयमा जेसुकै तरिकाबाट तयार गर्न मिल्ने हुँदैन र उक्त लिखतले स्वत: कानूनी मान्यता प्राप्त गर्ने अवस्था पनि हुँदैन । अझ जग्गामा हक कायम हुने गरी घरायसी लिखत गरिदिने विषय भनेको एकदमै संवेदनशील विषय हो । प्रस्तुत मुद्दामा उक्त घरायसी छोडपत्रको लिखत दाताले गर्नुपर्ने कुनै स्पष्ट आधार कारण पुनरावेदक प्रतिवादीले प्रस्तुत गर्न नसकेको र नाबालिग नातिनीले हजुरबुबालाई कर्जा दिएको भन्ने अपरिपक्व र कच्चा कारण देखाई जग्गा भोगचलनको लागि दिएको भन्ने उक्त घरायसी राजीनामाको लिखतले कानूनी मान्यता पाउने अवस्था देखिँदैन । यसरी हेर्दा पुनरावेदक प्रतिवादीले प्रत्यर्थी वादी दाबीबमोजिमको विवादित जग्गा मिति २०२३।११।१३ को घरायसी राजीनामा छोडपत्रबाट आफ्नो हकभोगको भएको भनी लिएको जिकिरसँग सहमत हुन सकिने अवस्था देखिएन ।
६. त्यसैगरी मालपोत कार्यालयले पुनरावेदक प्रतिवादी ध्यानसरी राईको नाममा कि.नं. ४३४ को जग्गा कित्ताकाट गरी कि.नं. १४५० को जग्गा दर्ता गर्ने भनी मिति २०६८।३।१० मा गरेको निर्णय बदरतर्फ प्रत्यर्थी वादीको कुनै मागदाबी नभएको अवस्थामा सो निर्णय बदर गर्न मिल्दैन भन्ने पुनरावेदक प्रतिवादीको जिकिरका सम्बन्धमा हेर्दा, मालपोत कार्यालयले जग्गा दर्ताको लागि निर्णय गरिसकेकोमा उक्त जग्गाको हकभोगसम्बन्धी विवाद उत्पन्न भएको अवस्थामा सो मालपोत कार्यालयको निर्णय बदरको लागि दाबी नलिएको भनी जिकिर लिँदैमा विद्यालयको नाममा रहेको सार्वजनिक हकभोगको जग्गालाई अरूको नाममा दर्ता कायम गर्ने कार्यलाई कानूनसम्मत मान्न
सकिँदैन । प्रस्तुत मुद्दामा दाबीबमोजिमको दानपत्रको लिखत मालपोत कार्यालयबाट र.नं. ३६८ मिति २०३८।७।७ मा रजिस्ट्रेसन पारित भई दानपत्रमा उल्लिखित चार किल्ला हाल कि.नं. ४३४ को जग्गा प्रत्यर्थी वादी पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीलाको नाममा कानूनबमोजिम हक हस्तान्तरण भएको अवस्था देखिन्छ । यसरी विद्यालय जस्तो सार्वजनिक निकायको हकभोगमा रहेको जग्गा भन्ने स्थापित भएको अवस्थामा मालपोत कार्यालयबाट उक्त जग्गालाई पुनरावेदक प्रतिवादी ध्यानसरी राईको नाममा दर्ता गर्ने गरी भएको निर्णयलाई यथावत् राखिराख्नु भनेको गैरकानूनी कामलाई प्रवर्द्धन गर्नुसरह हुने हुँदा मालपोत कार्यालय खोटाङबाट कि.नं. ४३४ को जग्गा कित्ताकाट गरी कि.नं. १४५० को जग्गा ध्यानसरी राईको नाममा दर्ता गर्ने गरी निर्णय भएकोमा सो निर्णय बदर गरी पुनरावेदन अदालत राजविराजले कि.नं. ४३४ को जग्गामा वादीको हक कायम हुने भनी गरेको फैसला मिलेकै देखिन आयो ।
७. तसर्थ, कुनै पनि जग्गामा कानूनबमोजिमको हकको स्रोत पुष्टि नभई त्यस्तो जग्गाउपर व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन सक्दैन । कुनै जग्गामा कानूनबमोजिमको हक स्थापित हुनका लागि कानूनबमोजिमकै स्रोत हुनु आवश्यक हुन्छ । प्रस्तुत मुद्दाको सम्बन्धमा विवादित कि.नं. ४३४ जग्गामा हक कायम हुने मूल आधार नै उक्त जग्गाको स्रोत
हो । प्रस्तुत मुद्दाको सन्दर्भमा माथि विवेचित आधार र कारणहरूबाट मिति २०२३।११।२३ को घरायसी लिखत कानूनबमोजिमको रहेको मान्न सकिने अवस्था नभएको हुँदा उक्त लिखतको आधारमा पुनरावेदक प्रतिवादी ध्यानसरी राईले विवादित जग्गामा आफ्नो हक भएको भन्ने जिकिरसँग सहमत हुन सकिएन । प्रत्यर्थी वादी दाबीबमोजिम र.नं. २६८ मिति २०३८।७।७ को दानपत्रबाट यी प्रत्यर्थी वादी पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीलालाई जग्गा हस्तान्तरण भएको अवस्थामा विद्यालयको हकभोग भएको जग्गालाई पुनरावेदक प्रतिवादी ध्यानसरी राईले आफ्नो नाममा दर्ता गरी विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको कार्य गैरकानूनी भएको भन्ने वादी दाबी मिलेको देखिँदा पुनरावेदक प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन ।
८. अत: सुरू खोटाङ जिल्ला अदालतको मिति २०७१।३।२० को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबीबमोजिम दर्ता लिखतसमेत बदर भई कि.नं. ४३४ को सम्पूर्ण जग्गामा वादीको हक कायम हुने भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०७३।०३।२७ मा भएको फैसला कानून र न्यायको रोहमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तिलप्रसाद श्रेष्ठ
इजलास अधिकृत : रेश्मा बुद्धाचार्य
इति संवत् २०७९ साल असार २९ गते रोज ४ शुभम् ।