निर्णय नं. १०९७० - ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७९।१।११
०७१-CR-०९१२
मुद्दा : ज्यान मार्ने उद्योग
पुनरावेदक / प्रतिवादी : जिल्ला बारा, भवानीपुर जीतपुर गा.वि.स. वडा नं. ९ बस्ने हरिफ महतोको छोरा भरत महतो कोइरी
विरूद्ध
प्रत्यर्थी / वादी : महेन्द्र महतो कोइरीको जाहेरीले नेपाल सरकार
ज्यान मार्ने उद्देश्यले साङ्घातिक प्रहार गरेको र कुटपिट गरेको कसुर फरक
हुने । एउटै वारदातमा पनि विविध घटनाको कसुर हुन सक्ने हुँदा सोहीबमोजिम कसुरअनुसारको अनुसन्धान र अभियोजन गरिनुपर्ने । कुनै पनि कसुरलाई कसुरदारले गरेको कार्यको सिर्जित परिणामबाट हेरिनुपर्ने र न्यायिक निरूपण गर्नुपर्ने ।
(प्रकरण नं.९)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणप्रसाद देवकोटा
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्री
अवलम्बित नजिर :
ने.का.प.२०६५, अङ्क २, नि.नं.९९६१
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः-
मा. जिल्ला न्यायाधीश श्री ब्रजेश प्याकुरेल
बारा जिल्ला अदालत
पुनरावेदन फैसला गर्नेः-
माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।०२।३० को फैसलाउपर मुद्दा दोहोर्याइपाउँ भनी प्रतिवादी भरत महतो कोइरीको तर्फबाट परेको निवेदनमा साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
प्रतिवादी भोला महतोसमेत जग्गाको विषयलाई रिसइवी लिई ज्यान मार्ने धम्की दिई आइरहेका थिए । यस्तैमा मिति २०६५।०३।२१ गते मेरो सम्धिनीको नाममा दर्ता रहेको खेतमा मेरो पत्नीसमेत धान रोपाइँ गरिरहेका थिए । सोही समयमा प्रतिवादी भरत महतो र निजका भाइ तथा छोरासमेतले हात हातमा फर्सा, भाला, खुकुरीसमेतका हतियार बोकी आए । भरत महतोले यसको बुबाले मलाई धेरै सताएको छ, यसको ज्यान मारी फालिदेउ भनी बचन दिनासाथ भरत महतोसमेतका प्रतिवादीहरूले चारैतिरबाट छोरा रामेश्वर महतोलाई घेरी उम्कन नदिई ज्यान मार्ने मनसायले प्रतिवादी भरत महतोले टाउकोमा फर्सासमेत प्रहार गरी टाउको काटी घाइते बनाएका हुन् । मेरो श्रीमतीसमेत तत्काल घटनास्थलमा पुगेको कारण निजको ज्यान जोगिन गएको हो । बचाउका लागि आएका मेरो श्रीमती रामसखिया, अच्छेलाल महतो, प्रेमचन्द्र महतो, उर्मिला कोइरिनसमेतलाई प्रहार गरी घाइते बनाएकोले निज प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगतर्फ कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महेन्द्र महतो कोइरीको मिति २०६५।०३।२७ को जाहेरी दरखास्त ।
जिल्ला बारा, इनर्वासिरा गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा धान खेत, पश्चिममा रमौली गाउँ, उत्तरमा खेत, दक्षिणमा खेत यति चार किल्लाभित्र बाटोमा जग्गासम्बन्धी विषयमा भरत महतो तथा रामेश्वर महतो कोइरीबिच झगडा हुँदा रामेश्वर महतो कोइरीसमेत घाइते भई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको भन्ने मिति २०६५।०३।२९ को घटनास्थल प्रकृति मुचुल्का ।
म आफ्नो कवाडको पसल जीतपुरमा गएको बेला मेरो दाजु भरत महतो कोइरी तथा जाहेरवाला महेन्द्र महतो कोइरीको घर परिवारबिच झै-झगडा कुटपिट भएको रहेछ । सो वारदातमा जाहेरवालाको छोरा रामेश्वर महतो र प्रेमचन्द्र महतोसमेतसँग वादविवाद भई प्रेमचन्द्रले घरबाट बन्दुक ल्याई दाजु भरतलाई प्रहार गर्न खोज्दा स्थानीय मानिसहरूले निजलाई सम्झाई बुझाई गर्दा नमानेकोले स्थानीय मानिसहरूसमेत भई नियन्त्रणमा लिने क्रममा को-कसले चलाएको लाठी लागी निज रामेश्वर महतो घाइते भए मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी मदनप्रसाद महतो कोइरीले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६५।०४।२३ गरेको बयान ।
मिति २०६५।०३।२१ का दिन घटनास्थलदेखि केही पर खेतमा काम गरिरहेको अवस्थामा जाहेरवालाका छोरा रामेश्वर महतो कोइरीसमेतलाई प्रतिवादी भरत महतो कोइरीसमेतले हात हातमा फर्सा, खुकुरी बोकी चारैतिरबाट घेरा हाली कुटपिट गरी भरत महतो कोइरीले रामेश्वर महतोको टाउकोमा खुकुरीले प्रहार गरी घाइते बनाई ज्यानसमेत मार्न आटेकाले त्यहाँ पुगेका अच्छेलाल महतोसमेतलाई कुटपिट गरी घाइते बनाएको हो भन्नेसमेत बेहोराको शिवशंकर प्रसाद कुशवाहा, माधव पासवान, सत्यनारायण सहनी, चिन्तानन्द गिरी र सलिम अन्सारीले मिति २०६५।०४।२६ मा गरिदिएको घटना विवरण कागज ।
भरत महतो कोइरी र जाहेरवाला महेन्द्र महतो कोइरीबिच झै-झगडा भइरहेको अवस्थामा निजको छोरा प्रेमचन्द्र महतोले घरबाट बन्दुक निकाली प्रहार गर्न खोज्दा गाउँलेहरूले नियन्त्रणमा लिनको लागि कुटपिट गर्दा निज घाइते भएका हुन् भन्नेसमेत बेहोराको प्रभु महतो कोइरी, आदेश महतो कोइरी, प्रभुनाथ सिंह, राजकुमार सहनी र जयनाथ सहनीले मिति २०६५।०४।२६ मा गरिदिएको वस्तुस्थिति मुचुल्का ।
वारदातको क्रममा प्रतिवादीहरूले प्रहार गरेको चोटबाट हामीहरूलाई समेत चोट लागी घाइते भएको भन्नेसमेत बेहोराको अच्छेलाल महतो, उर्मिला देवी महतो कोइरीन, रामसुखी देवी महतो कोइरीनको तथा प्रतिवादी भरत महतो, भुवाल महतो, मदन महतो, भोला महतो र धुरेन्द्र महतोसमेतका मानिसहरूले जग्गासम्बन्धी विषयमा झै-झगडा गर्न थालेपछि विवाद बढ्न गई लाठी, फर्सासमेतले प्रहार गर्न लागेको र सोही क्रममा टाउकोमा चोट लागी घाइते भएको
हो । भरत महतो कोइरीले टाउकोमा हानेको हो । हाल मेरो टाउकोमा चोट लागेको सन्चो भइसकेको छ भन्ने रामेश्वर महतो कोइरीलगायतका पीडितहरूले मिति २०६५।०४।२७ मा गरेको घटना विवरण कागज ।
रामेश्वर महतो कोइरी र अच्छेलाल महतो कोइरीको टाउकोमा काटेको र ७/७ टाँका लागेको भन्नेसमेत बेहोराको मिति २०६५।०३।२३ को घा केस फाराम ।
रामसुखी देवी कोइरी र उर्मिलादेवी कोइरीनको शरीरमा घा चोट लागेको भन्नेसमेत बेहोराको मिति २०६५।०३।२३ को घा केस फाराम ।
मिति २०६५।०३।२१ गते दिनको ११:०० बजे भरत महतो कोइरीसमेतका प्रतिवादीहरूले वारदातस्थलमा घेरा हाली खुकुरी, फर्सा, लाठीसमेतले टाउकोसमेतमा प्रहार गर्दा घाइते रामेश्वर महतो कोइरीसमेतलाई तत्काल उपचारको लागि अस्पताल लगेकोमा उपचार भई ज्यान बच्न गएको हो । यसरी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं.बमोजिमको कसुरमा प्रतिवादीहरू भरत महतो कोइरी, भुवाल महतो कोइरी, भोला महतो कोइरी, मदन महतो कोइरी र धुरेन्द्र महतो कोइरीलाई सोही महलको १५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने मिति २०६५।०५।१ को अभियोग माग दाबी ।
मिति २०६५।०३।२१ गते दिनको ११:०० बजेको समयमा मेरो भाइ भरत महतो र गाउँकै रामेश्वर महतोबिच झगडा भइरहेछ भन्ने कुरा सुनी म गाउँमा जाँदा झगडा सकिएको थियो । गाउँका मानिसहरूले प्रेमचन्द्र महतोलाई हतियार निकालेको कारण पक्राउ गरी प्रहरीको जिम्मा लगाइदिएका थिए । मैले रामेश्वरलाई वारदात स्थलमा घेरा हाली खुकुरी, फर्सा, लाठीले प्रहार नगरेको हुँदा यस मुद्दामा मलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मदनप्रसाद महतो कोइरीले बारा जिल्ला अदालतमा गरेको मिति २०६५।५।२ को बयान ।
यी प्रतिवादी मदन महतोसमेत वादी भई मिति २०६५।४।१२ मा दायर भएको फौ.नं. १६५ को कुटपिट मुद्दाको मिसिलबाट निज घटनास्थलमा उपस्थित रहेको देखिँदा यस मुद्दामा अनुसन्धानको क्रममा तथा अदालतसमक्ष बयान गर्दा वारदातस्थलमा उपस्थित थिएन भनी गरेको बयान पत्यारलाग्दो देखिएन । अतः हाल प्रतिवादी मदन महतो कसुरदार देखिँदा पछि कारबाही गर्दै जादा ठहरेबमोजिम हुने गरी मुलुकी ऐन, अ.बं.११८ को देहाय २ बमोजिम थुनामा राख्न कारागार कार्यालयमा पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०६५।०५।०२ मा बारा जिल्ला अदालतबाट भएको आदेश ।
मेरो तथा जाहेरवालासमेतको खेत एकै ठाउँमा छ । केही दिनअघि दमकलले पानी पटाउन नदिएको कुराको रिसइवीले रामेश्वर महतो कोइरी र प्रेमचन्द्र महतो कोइरीले मलाई कुटपिट गरी प्रेमचन्द्र महतोले हतियार निकालेको कारण पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको हो । अभियोग मागदाबीबमोजिम मैले रामेश्वर महतोलाई घेरा हाली खुकुरी, फर्सा, लाठीले प्रहार गरेको होइन, मउपरको अभियोग मागदाबी झुठा हो भन्ने बेहोराको प्रतिवादी भरत महतो कोइरीले बारा जिल्ला अदालतमा उपस्थित भई मिति २०६५।०७।०१ मा गरेको बयान ।
प्रतिवादी भरत महतो कोइरीलाई पुर्पक्षको निमित्त थुनामा राख्नुपर्ने अवस्था नभई मिसिल कागजबाट अ.बं.११८ नं. को देहाय ५/१० बमोजिमको अवस्था विद्यमान हुँदा पछि कारबाही गर्दै जादा ठहरेबमोजिम गर्ने गरी निजलाई रू.१२,०००।- नगद धरौट वा सो बराबरको जेथा जमानी लिई धरौट तारेखमा राख्ने, दिन नसके थुनामा राख्न कारागार कार्यालयमा पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०६५।०७।०१ मा बारा जिल्ला अदालतबाट भएको आदेश ।
मेरो तथा जाहेरवालासमेतको खेत एकै ठाउँमा रहेको र मेरो भाइको खेतमा रहेको दमकल बोरिङबाट जाहेरवालाले खेतमा पानी पटाइरहेकोले सोही विषयमा विवाद भएको र त्यसै क्रममा मेरो भाइलाई कुटपिट गरिरहेकोमा गाउँलेले भनेको सुनी हामी सो खेतमा गयौं । त्यसै क्रममा रामेश्वरको भाइ प्रेमचन्द्रले बन्दुक निकालेकोले सोही रिसले गाउँलेहरू जम्मा भई लाठीले हिर्काएको हुँदा सोही लाठीले टाउको फुटेको हो । मैले हिर्काएको होइन, छैन । म निर्दोष छु । अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भुवाल महतो कोइरीले बारा जिल्ला अदालतमा उपस्थित भई मिति २०६५।०७।०३ मा गरेको बयान ।
प्रतिवादी भुवाल महतोसरहका प्रतिवादी मदन महतो कोइरीलाई पुनरावेदन अदालत हेटौंडाको मिति २०६५।०६।०३ को आदेशानुसार तारेखमा राखी कारबाही भइरहेको हुँदा पछि कारबाही गर्दै जादा ठहरेबमोजिम गर्ने गरी हाल यी प्रतिवादी भुवाल महतोलाई मुलुकी ऐन अ.बं.४७ बमोजिम तारेखमा राख्नु भनी बारा जिल्ला अदालतबाट मिति २०६५।०७।०३ मा भएको आदेश ।
मेरो दाइको खेत र जाहेरवालाको खेत एकै ठाउँमा रहेको, दाइको खेतमा रहेको दमकलबाट जाहेरवालाले पानी पठाउँदा सो किन गरेको भन्ने विषयमा विवाद भएको हो । सोही विवादमा जाहेरवालाको छोरा प्रेमचन्द्र महतोले निकालेको बन्दुक खोस्ने क्रममा गाउँलेहरूले पक्रन खोज्दा रामेश्वर महतोको टाउको फुटेको हो । म सो समयमा जितपुर बजारमा थिएँ । फोन गरेपछि गाउँमा आएँ । सो बेला प्रेमचन्द्रलाई बन्दुकसहित प्रहरीलाई बुझाएको थाहा पाएँ । म उक्त घटनामा संलग्न नभएको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी भोला महतोले बारा जिल्ला अदालतमा उपस्थित भई मिति २०६५।७।४ मा गरेको बयान ।
मेरो बुबासँग जग्गासम्बन्धी कुनै विवाद नभई गाउँकै अर्का हरी महतो कोइरीको छोरा भरत महतोको जाहेरवालासँग जग्गासम्बन्धी विवाद भएको हो । वारदातको दिन म बिउ उखेल्न गएको थिएँ । त्यहाँ हल्ला भएको सुनी हामी सबै गाउँले गयौं । त्यहाँ पुग्दा जाहेरवाला र भरत महतोको बिच विवाद हुँदै थियो । जाहेरवालाको छोराले बन्दुक निकाली हान्न खोज्दा गाउँलेहरूले समात्न खोजे । त्यसै क्रममा टाउको फुट्न गएको हो । मैले हिर्काएको होइन । झुठा अभियोगबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी धुरेन्द्र महतोले बारा जिल्ला अदालतमा उपस्थित भई मिति २०६५।०७।०४ मा गरेको बयान ।
प्रतिवादीहरू धरेन्द्र महतो र भोला महतो आरोपित कसुरमा इन्कार रहेको देखिँदा तथा मिसिल कागजातसमेतका आधारमा प्रतिवादहरूलाई थुनामा राखी कारबाही गर्नुपर्ने अवस्था नदेखिँदा पछि कारबाही गर्दै जाँदा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीहरूलाई मुलुकी ऐन अ.बं. ४७ नं.बमोजिम तारेखमा राख्नु भनी बारा जिल्ला अदालतबाट मिति २०६५।०७।०४ मा भएको आदेश ।
कुटपिट भएको स्थान नजिक मैले पठाउने स्कुल रहेको र सो कुटपिट हुँदा म सो स्कुलमा नै हुँदा भोला महतोको भाइलाई जाहेरवालाहरूले कुटपिट गरेकोमा भोला महतोले छुट्याउन जाँदा निजलाई समेत कुटपिट गरेका हुन् । अभियोग दाबीबमोजिम प्रतिवादीले कसुर नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी भोला महतो कोइरीको साक्षी तरूण सहनीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
भाइलाई बचाउन जाँदा प्रतिवादी भुवाललाई स्वयं जाहेरवालाहरूले कुटपिट गरे । प्रतिवादी भुवालले कुटपिट गरेका होइनन् । निजलाई अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी भुवाल महतो कोइरीको साक्षी गजेन्द्र सहनीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६५।०३।२१ गते १०/११ बजेतिर धानको बिउ उखेल्न गएको बेला उक्त घटना वारदात देखेको हुँ । १००/१२५ जति मानिसहरू थिए । को कसले कुटपिट गरे सो मलाई थाहा भएन भन्नेसमेत बेहोरका प्रतिवादी धुरेन्द्र महतोको साक्षी रामप्रसाद महतो कोइरीले बारा जिल्ला अदालतमा गरेको
बकपत्र ।
अभियोग दाबीबमोजिमको कसुर प्रतिवादी मदन महतोले गरेका होइनन् । धेरै मानिसहरू रहेको बेला को कसले कुटपिट गरे थाहा भएन, जग्गासम्बन्धी झगडाको रिसइवीले जाहेरी दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी मदन महतोको साक्षी जयनाथ सहनी मलाहले बारा जिल्ला अदालतमा गरेको
बकपत्र ।
झगडा हुँदा प्रेमचन्द्रले नलकटुवा बन्दुक निकाली भरत महतोउपर देखाउँदा अन्य मानिसहरूले सो बन्दुक खोसी प्रेमचन्द्रलाई प्रहरीमा बुझाइदिए । को कसले कुटपिट गरे सो थाहा भएन । भरतका परिवारका अन्य मान्छेहरू पछि आएका थिए भन्नेसमेत बेहोराको प्रतिवादी भरत महतो कोइरीको साक्षी उदेश महतो कोइरीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू भरत, भोला, धुरेन्द्र भुवाल र मदनसमेतले हातमा लाठी, फर्सा र खुकुरी बोकी भरतले वचन दिएकोमा खेतको विषयमा प्रतिवादीहरूले कुटपिट गरेका हुन् भन्नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने घाइते रामसखी महतो कोइरीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू भरत महतोले फर्सा, भोला महतोले खुकरी, भुवाल महतो, मदन महतो र धुरेन्द्र महतोले लाठी, फाटाले कुटपिट गरे । रामेश्वरको टाउकोमा भरतले प्रहार गरे । रामेश्वरलाई सबै जनाले लाठीले कुटपिट गर्दा रामेश्वर बेहोस भएका हुन् भन्नेसमेत बेहोराको उर्मिलादेवी महतो कोइरीनले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू भरत महतोले फर्साले टाउकोमा, भोला महतोले खुकुरी तथा अन्य मदन, भुवाल र धुरेन्द्रले लाठीबाट प्रहार गरेका हुन् । भरत महतोले ज्यान मार्ने उद्देश्यले मारी फालिदेउ भन्ने वचन दिएकाले प्रतिवादीहरूले कुटपिट गरेका हुन् भन्नेसमेत बेहोराको पीडित रामेश्वर महतो कोइरीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
झगडा छुटाउन र रामेश्वरलाई बचाउन जाँदा मसमेतलाई प्रतिवादी भोलाले खुकुरीले काटे । मदन, भुवाल, धुरेन्द्र, भरतसमेतले लाठीले कुटपिट गरेका हुन् भन्नेसमेत बेहोराको अच्छेलाल महतोले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू भरत महतो, भोला महतो, मदन महतो, भुवाल महतो र धुरेन्द्र महतो तथा अरू २०/२५ जना मानिसहरू थिए । यी पाँच जनाले रामेश्वर महतोलाई फर्सा, खुकुरी तथा लाठीले कुटपिट गरेको हो । अच्छेलाल, रामसखी देवी, उर्मिला, प्रेमचन्द्र र म महेन्द्रसमेतलाई छुटाउन जाँदा कुटपिट गरी घाइते बनाएका हुन् । खेतको बारेमा घटना वारदात भएको हो भन्नेसमेत बेहोराको महेन्द्र महतो कोइरीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडित रामेश्वर महतो कोइरी तथा अच्छेलालको घा केस फाराम हेर्दा टाउकोमा काटेको र ७ वटा टाँका लगाएको देखिन्छ । पीडित रामेश्वरको टाउकोमा लागेको गम्भीर चोटको कारण CT Scan समेत गर्नुपर्ने चिकित्सकको राय देखिन्छ । मानिसको टाउको जस्तो संवेदनशील स्थानमा टाँका लगाउन पर्ने गरी काटेको चोटलाई साधारण मान्न सकिँदैन । वारदातमा घाइते भएकी रामसखिया दासी, उर्मिला देवी, प्रहरीमा कागज गर्ने रामेश्वर महतो, घाइते अच्छेलाल महतो तथा जाहेरवाला महेन्द्र महतोसमेतले वारदातमा प्रतिवादी भरतले रामेश्वरलाई फर्साले हानेको भन्ने भनाइसहितको बकपत्र गरेको हुँदा प्रतिवादी भरत महतोलाई निर्दोष मान्न सकिएन । निजकै चोट प्रहारबाट रामेश्वरको टाउकोमा गम्भीर चोट लागेको पुष्टि हुन आएको हुँदा प्रतिवादी भरत महतोले अभियोग दाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं.बमोजिम कसुर अपराध गरेको हुँदा निजलाई ऐ. १५ नं.बमोजिम ५ वर्ष (पाँच वर्ष ) कैद सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरूका सम्बन्धमा विचार गर्दा अन्य प्रतिवादीहरू अदालतमा उपस्थित भई कसुरमा इन्कार रहेको अवस्था देखिन्छ । यिनीहरूको विरूद्धमा प्रमाणका व्यक्तिहरूले समेत किटानसाथ लेखाउन सकेको पाइँदैन । प्रतिवादी भोला महतोले खुकुरी प्रहार गरेको भनी बकपत्रमा लेखाए पनि जाहेरवालाले सुरू जाहेरी दिँदा यस्तो बेहोरा किटानसाथ लेखाउन सकेको देखिँदैन । उल्लिखित अवस्थाहरूबाट अन्य प्रतिवादीहरूको कसुरजन्य कार्यमा संलग्नता रहेको नदेखिँदा निजहरूले अभियोग दाबीअनुसारको कसुर गरेको भन्न सकिने अवस्था देखिएन । तसर्थ, अन्य प्रतिवादीहरू विरूद्धको अभियोग पुष्टि हुन सकेको अवस्था नहुँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बारा जिल्ला अदालतको मिति २०६६।१२।०५ को फैसला ।
प्रस्तुत मुद्दाको तथ्यमा सँधियारबिच साँधको विषयमा तत्काल उत्पन्न झगडाबाट दुई परिवारबिच कुटपिट भई दुवैतर्फका केही व्यक्ति घाइते भइरहेको २०६५ सालको बारा जिल्ला अदालतको स.फौ.नं. ३०/१६३/५०/०६५/०००३६ को नि.नं. १५२ को फैसलाबाट कुटपिटको वारदात कायम भएको अवस्था छ । एउटै वारदात एउटा मुद्दामा कुटपिटको वारदात कायम हुने र अर्को मुद्दामा ज्यान मार्ने उद्योग कायम हुने विरोधाभाषपूर्ण अवस्था रहेको देखिन्छ । त्यस्तै घाइतेहरूको मौकाको कागज र अदालतको बकपत्र तथा एउटा घाइतेको भनाइ र अर्को घाइतेको भनाइ फरक फरक छ, एकरूपता छैन । तसर्थ, एकरूपता नभएका विरोधाभाषयुक्त बकपत्र या भनाइहरूलाई आधार बनाई मलाई सजाय गरेको मिलेको छैन । फौजदारी मुद्दा त्यसमा पनि ज्यान मार्ने उद्योग जस्तो गम्भीर अपराधमा प्रतिव्यक्ति प्रतिप्रमाण कसुरदार प्रमाणित हुन सक्नुपर्छ । प्रस्तुत मुद्दामा त्यस्तो केही छैन । प्रतिवादीले घातक तथा धारिलो हतियार प्रयोग गरेको भन्ने पुष्टि हुन नआएको, पीडित मर्ने अवस्थासम्म पुगेको नदेखिएको र पीडित के कस्तो अवस्थामा परी मर्न पाएका रहेनछन् भन्नेसमेत खुल्न नआएको, चोटपटकसम्म लागेको भन्ने देखिन आएको स्थितिमा ज्यानसम्बन्धीको १५ नं. को अवस्था विद्यमानता थियो भनी मान्न सकिने अवस्था नदेखिएको भनी श्री ५ को सरकार विरूद्ध गोकुलबहादुर गुरूङको मुद्दामा नजिर सिद्धान्त प्रतिपादन भएको देखिन्छ (ने.का.प. २०५६ अङ्क ५ पृष्ठ ३८५ नि.नं. ६७२७) । उक्त नजिर सिद्धान्तसमेतको विपरीत मलाई हराई ५ वर्ष कैद गर्ने गरी भएको सुरू बारा जिल्ला अदालतको फैसला हरहालतमा बदरभागी छ, बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भरत महतो कोइरीले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पेस गरेको पुनरावेदन पत्र ।
प्रतिवादीहरू भुवाल महतो कोइरी, भोला महतो कोइरी, मदनप्रसाद महतो कोइरी, धुरेन्द्र महतो कोइरी आ-आफ्नो हात हातमा खुकुरी, हँसिया, लाठीसमेतको हातहतियार लिई वारदात स्थानमा मौजुद रहेको तथा जाहेरवाला महेन्द्र महतोको जाहेरी दर्खास्त तथा बकपत्र, घाइते तथा प्रत्यक्षदर्शीहरू रामेश्वर महतो, अच्छेलाल महतो, उर्मिलादेवी महतो, रामसखीदेवीसमेतको मौकाको कागज एवं निजहरूको अदालतको बकपत्र बेहोराबाट स्थापित भइरहेको अवस्थामा मौकामा कागज गर्ने घटनामा पीडित भएका व्यक्तिहरूले अदालतमा आई गरेको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्नेमा सो बकपत्र बेहोरालाई प्रमाणमा ग्रहण नगरी उल्लिखित प्रत्यर्थी प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी सुरू अभियोग दाबीबमोजिम प्रत्यर्थी प्रतिवादीहरू भुवाल महतो कोइरी, भोला महतो कोइरी, मदनप्रसाद महतो कोइरी र धुरेन्द्र महतो कोइरीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पेस गरेको पुनरावेदन पत्र ।
घा जाँच केस फारामबाट मर्नेसम्मको चोट नदेखिइरहेको र ज्यान मार्नेसम्मको मनसाय तत्त्वको विद्यमानताको सन्दर्भमा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम नेपाल सरकारको पुनरावेदनबाट विपक्षी प्रतिवादीहरूलाई म्याद जारी गरी झिकाई पुनरावेदक भरत महतो कोइरीको पुनरावेदनबाट पुनरावेदन सरकारी वकिल कार्यालय हेटौंडालाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८।०८।२० मा भएको आदेश ।
प्रमाण ऐन, २०३१ को दफा २५ ले आफूले लिएको दाबी प्रमाणित गर्ने भार फौजदारी मुद्दामा वादीको हुन्छ । प्रस्तुत मुद्दामा ज्यान मार्नेसम्मको घटना भएको तर ज्यान भने मर्न नपाएको भनी वादीले आफ्नो दाबीलाई पुष्टि गर्न शंकारहित प्रमाण मौजुद गर्न सकिरहेको अवस्था छैन । यदि अन्य प्रमाणद्वारा वादीले दाबी पुष्टि गर्न नसकेको अवस्थामा केवल अनुमान र प्रहरीमा भएको बयानकै आधारमा दोषी कायम गर्नु न्यायोचित हुँदैन भनी सम्मानित सर्वोच्च अदालतबाट एउटा मुद्दामा बोलिएको पनि छ (ने.का.प. ०६० अङ्क ९/१० नि.नं. ७२८५) । उपर्युक्त आधार प्रमाण कानून एवं नजिर सिद्धान्तहरूसमेतलाई मध्यनजर गरी हामी प्रतिवादीहरूले सफाइ पाउने परिबन्दबाट भएको सुरू इन्साफ यथावत् सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको भुवाल महतो कोइरी, भोला महतो कोइरी र मदनप्रसाद महतो कोइरीले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पेस गरेको संयुक्त लिखित प्रतिवाद ।
भरत महतो कोइरीको फर्साजस्तो घातक हतियारको प्रहारबाट पीडित घाइतेको टाउको जस्तो संवेदनशील भागमा घाउचोट परेको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट स्थापित भई घटनाबाट प्रभावित भई घाइतेसमेत भएकी रामसखियाको बकपत्र तथा प्रहरीमा कागज गर्ने अच्छेलाल एवं जाहेरवाला महेन्द्र महतोले प्रतिवादीमध्येको भरतले रामेश्वरलाई फर्साले टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् भनी अदालतमा उपस्थित भई मौकाको आफ्नो बेहोरा समर्थन गर्दै बकपत्र गरिदिएबाट पुष्टि भएकोले निजलाई ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम कसुरमा सोही १५ नं.बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहराएको सुरूको इन्साफ मिलेकै देखियो । अन्य प्रतिवादीहरू भुवाल महतो, भोला महतो कोइरी, मदनप्रसाद महतो कोइरी र धुरेन्द्र महतो कोइरीको हकमा परेको नेपाल सरकारको पुनरावेदनतर्फ भरत महतो कोइरीले प्रहार गरेको चोटले पीडित घाइते भएको भन्ने देखिएको, आरोपित कसुरमा प्रतिवादीहरू इन्कार रहेको अवस्था भएकोले भरत महतो कोइरीबाहेकको अन्य प्रतिवादीहरूको उक्त वारदात घटनामा संलग्नता रहेको भन्ने तथ्ययुक्त ठोस प्रमाण मिसिलमा रहेको नदेखिँदा निजहरूलाई दाबीबमोजिम आरोपित कसुरमा सफाइ दिने गरी सुरूबाट भएको इन्साफ पनि मिलेकै
देखियो । अतः बारा जिल्ला अदालतबाट मिति २०६६/१२/५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।०२।३० को फैसला ।
प्रस्तुत मुद्दामा पीडित भनिएका रामेश्वर महतोको घाउ जाँचको रिपोर्टमा अङ्गभङ्ग भएको, अङ्ग छिनालिएको वा फुकालिएको भन्ने केही छैन । टाउकाको घाउ यद्यपि ७ टाँका लागेको भन्ने लेखेको छ तर त्यो घाउ घातक (Fatal) छ कि छैन उक्त रिपोर्टमा उल्लेख छैन । सिटी स्क्यानको परिणाम गम्भीर नदेखिएपछि त्यो गर्नुपर्ने भनेर लेखेकै कारण ज्यान मर्ने सम्भावनाको भन्न मिल्दैन । ज्यान मार्नेसम्मको कार्य भइसकेको तर ज्यान भने मर्न नपाएको वा अरू कुनै तेस्रो व्यक्तिको अवरोधले गर्दा ज्यान बच्न गएको अवस्था नै ज्यान मार्ने उद्योग हो र ज्यानसम्बन्धी महलको १५ नं. को अवस्थाको विद्यमानताको पुष्ट्याईं नभएको अवस्थामा मलाई १५ नं. को सजाय गरेको विलकुलै हचुवा छ (ने.का.प. ०४२ अङ्क ५ नि.नं. २३७५ तथा ने.का.प. ०५६ अङ्क ५ नि.नं. ६७२७) । एकै वारदात कायम भई यस मुद्दाका पीडित भनिएकाहरूलाई कुटपिटमा सजाय भएकोलाई पुनरावेदन अदालत हेटौंडाले सदर गरेको अवस्थामा अर्को मुद्दामा त्यही वारदातलाई ज्यान मार्ने उद्योग नामकरण गरी मलाई सजाय गर्नु नितान्त गलत भएको छ । अतः ज्यान मार्ने उद्योग ठहर्याई मलाई ज्यानसम्बन्धीको १५ नं. को कसुरमा सोहीबमोजिम भनी ५ वर्ष कैद सजाय गर्ने सुरू बारा जिल्ला अदालतको मिति २०६६।१२।५ को फैसला र त्यसैलाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।२।३० को फैसलासमेत प्रमाण ऐन, २०३१ को दफा ३, दफा १०, दफा १८, दफा २५, दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश, मुलुकी ऐन, अ.बं. १८४क नं., १८५ नं., १८९ नं.समेतको त्रुटि विद्यमान हुँदा प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को अवस्था विद्यमान हुँदा प्रस्तुत मुद्दा दोहोर्याई हेरी सुरू तथा पुनरावेदन फैसला बदर गरी म बिलकुल निर्दोष व्यक्तिलाई सफाइ दिने गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भरत महतो कोइरीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम प्रतिवादी भरत महतो कोइरीले ज्यान मार्ने उद्योगको मनसायले गरेको हो होइन भन्ने सम्बन्धमा विवेचना नगरी दोहोरो कुटपिट भएको भन्ने आधारमा ज्यान मार्ने उद्योगको कसुर ठहर गरी निवेदक प्रतिवादीलाई सजाय गरेको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.को व्याख्यामा गम्भीर कानूनी त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । प्रस्तुत मुद्दाको सुरू, प्रमाण र भए रेकर्ड मिसिल झिकाई विपक्षीलाई म्याद सूचना दिई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।०९।३० को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी भरत महतो कोइरीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नारायणप्रसाद देवकोटाले मेरो पक्ष पुनरावेदक भरत महतो कोइरीसमेत र जाहेरवालासमेतका विपक्षीबिच घटेको मिति २०६५।३।२१ को विहान ११ बजेको वारदात दोहोरो कुटपिटको वारदात हो । सो वारदात सम्बन्धमा पुनरावेदक भरत महतो कोइरीसमेतले दिएको कुटपिट मुद्दामा यी जाहेरवाला महेन्द्र महतो तथा पीडित भनिएका रामेश्वर महतोलाई पनि सजाय भएको अवस्था छ । यसरी एउटै वारदातको सम्बन्धमा परेको एउटा मुद्दामा कुटपिटको वारदात कायम हुने र प्रस्तुत मुद्दामा भने ज्यान मार्ने उद्योग कायम हुने जस्तो विरोधाभाषपूर्ण अवस्था रहन गएको छ । भरत महतोले घातक हतियार प्रहार गरेको भने तापनि हातहतियार यही नै हो भन्ने खुलेको छैन र त्यस्तो कुनै हतियार बरामद भएको पनि अवस्था छैन । जाहेरवालाको जाहेरी बेहोरा, घाइतेहरूको मौकाको कागज तथा अदालतमा गरेको बकपत्रको कथन फरकफरक भई निजहरूको भनाइ आपसमा नै बाझिएको स्थिति छ । प्रतिवादी भरत महतो कोइरी निर्दोष रहेकोले निजलाई अभियोग दाबीबमोजिम ज्यान मार्ने उद्योगको कसुरमा सजाय गर्ने गरी भएको सुरू तथा पुनरावेदन तहको फैसला नमिलेकोले उल्टी गरी निजलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्रीले पीडित रामेश्वरको टाउको जस्तो संवेदनशील अङ्गमा फर्सा जस्तो घातक हतियारले यी पुनरावेदक प्रतिवादी भरत महतोले प्रहार गरेको र सो प्रहारको फलस्वरूप टाउकोमा गम्भीर चोट लागी ७/७ वटा टाँका लगाउनु परेको अवस्था छ । जाहेरवाला तथा प्रतिवादीबिच जग्गाको विषयमा विवाद रहेको भन्ने बुझिएको छ । यसबाट प्रस्तुत वारदातमा यी प्रतिवादीले ज्यान मार्ने मनसायले पीडित रामेश्वर महतोउपर हतियारले प्रहार गरेको तथ्य स्पष्ट भएको देखिन्छ । यस्तो अवस्थामा सुरू बारा जिल्ला अदालतले प्रतिवादी भरत महतोलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको १५ नं. अनुसार ५ वर्ष कैद सजाय गर्ने गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मिलेको छ । अतः उक्त फैसला सदर कायम हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै जाहेरवाला महेन्द्र महतो कोइरीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शिवप्रसाद सिग्देल र अधिवक्ता श्री निलकण्ठ उपाध्यायले पीडित रामेश्वरको टाउको जस्तो संवेदनशील अङ्गमा फर्साले प्रहार गरेकोमा तुरून्त नारायणी अस्पतालमा लगी उपचार गरेको कारण पीडितको ज्यान बच्न पाएको अवस्था हो । निज पीडितको टाउकोमा ७ टाँका लगाउनु परेको र डाक्टरको सल्लाहमा CT Scan समेत गर्नुपरेको थियो । यसअघि देखि नै यी प्रतिवादीले पीडितको परिवारसँग वादविवाद गरिरहेको र सोही कुराको रिसइवी साँधी मार्ने उद्देश्यले टाउको जस्तो संवेदनशील भागमा हतियारले प्रहार गरेकोले निजलाई ज्यान मार्ने उद्योगको कसुर अपराधमा ५ वर्ष कैद सजाय गर्ने गरी भएको बारा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको हुँदा उक्त फैसलाहरू सदर नै हुने गरी फैसला गरिपाउँ भनी बहस गर्नुभयो ।
उल्लिखित बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।०२।३० मा भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादी भरत महतो कोइरीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन
आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०६५।०३।२१ मा भरत महतो कोइरीसमेतका प्रतिवादीहरूले घेरा हाली खुकुरी, फर्सा, लाठीसमेतले रामेश्वर महतो कोइरीसमेतलाई टाउकोसमेतमा प्रहार गर्दा घाइते भएकोमा निज रामेश्वर महतोलाई तत्काल उपचारको लागि अस्पताल लगेकोमा उपचार भई ज्यान बच्न गएकोले प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं.बमोजिमको कसुरमा प्रतिवादीहरू भरत महतो कोइरी, भुवाल महतो कोइरी, भोला महतो कोइरी, मदन महतो कोइरी र धुरेन्द्र महतो कोइरीलाई सोही महलको १५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको अभियोग दाबी रहेको पाइन्छ । प्रतिवादी भरत महतोले अभियोग दाबीअनुसार मुलकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं.बमोजिम कसुर अपराध गरेको हुँदा निजलाई ऐ. १५ नं.बमोजिम ५ वर्ष कैद सजाय हुने र अन्य प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी सुरू बारा जिल्ला अदालतबाट फैसला भएको देखियो । बारा जिल्ला अदालतको सो फैसलाउपर दुवै पक्षको तर्फबाट पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर गरी भएको फैसलामा चित्त नबुझाई प्रतिवादी भरत महतो कोइरीको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट मिति २०७१।०९।३० मा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भएपछि प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।
३. यसमा प्रतिवादीहरू भुवाल महतो, भोला महतो कोइरी, मदनप्रसाद महतो कोइरी र धुरेन्द्र महतो काइरीको हकमा निजहरूलाई अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर नेपाल सरकारको तर्फबाट चित्त बुझाई बसेको देखिँदा निजहरूको हकमा प्रस्तुत पुनरावेदनबाट थप केही बोलिरहनु परेन । पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर प्रतिवादी भरत महतो कोइरीको तर्फबाट परेको प्रस्तुत पुनरावेदनपत्र हेर्दा, मिति २०६५।३।२१ को वारदात कुटपिटको वारदात भएको र सो सम्बन्धमा आफूले दिएको कुटपिट मुद्दामा यी जाहेरवाला महेन्द्र महतो तथा पीडित भनिएका रामेश्वर महतोलाई पनि सजाय भएको अवस्था रहेको, घातक हतियारले प्रहार गरेको भने तापनि त्यस्तो कुनै हतियार बरामद नभएको, जाहेरी बेहोरा र घाइतेको बयान तथा बकपत्रको कथन बाझिएको अवस्था रहेको हुँदा आफू निर्दोष रहेकोले अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भनी जिकिर लिएको देखिन्छ । अब प्रतिवादी भरत महतो कोइरीको सोही पुनरावेदन जिकिरमा मात्र केन्द्रित भई विवेचना गर्नुपर्ने देखियो ।
४. मिसिल संलग्न कागजात अध्ययन गर्दा, भरत महतोसमेतका प्रतिवादीहरूले चारैतिरबाट छोरा रामेश्वर महतोलाई घेरी उम्कन नदिई ज्यान मार्ने मानसायले प्रतिवादी भरत महतोले टाउकोमा फर्सासमेत प्रहार गरी घाइते बनाएकोमा श्रीमतीसहित तत्काल घटनास्थलमा पुगेको कारण निजको ज्यान जोगिन गएको, बचाउका लागि आएका श्रीमती रामसखिया, अच्छेलाल महतो, प्रेमचन्द्र महतो, उर्मिला कोइरिनसमेतलाई प्रहार गरी घाइते बनाएकोले निज प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगतर्फ कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महेन्द्र महतो कोइरीको तर्फबाट मिति २०६५।०३।२७ मा जाहेरी दरखास्त परेको देखिन्छ । पीडित रामेश्वर महतो कोइरीको घा केस फाराम हेर्दा निजको टाउकोमा काटेको घाउ रहेको र ७ वटा टाँका लगाएको देखिन्छ । निज रामेश्वरको टाउकोमा लागेको गम्भीर चोटको कारण सिटी स्क्यान (CT Scan) गर्नुपर्ने भनी चिकित्सकको रायसमेत रहेको देखिन्छ । पीडित रामेश्वर महतो कोइरीको परिवारसँग प्रतिवादी भरत महतो कोइरीको वादविवाद झै-झगडा रिसइवी भइरहेको भन्ने तथ्य मिसिल संलग्न कागजातबाट खुल्न आएको छ । प्रतिवादी भरत महतो कोइरीले फर्साले निज रामेश्वर महतो कोइरीको टाउकोमा प्रहार गरेको भनी जाहेरवाला तथा पीडितले अदालतसमक्ष बकपत्र गरेको अवस्था छ । घटनाबाट पीडित व्यक्ति स्वयं प्रत्यक्षदर्शी प्रमाण हुन्छ । निज पीडितको कथन घाँ जाच प्रतिवेदनबाट वस्तुगत रूपमा पुष्टि भएको स्थितिमा प्रमाणमा लिन मिल्ने हुन्छ ।
५. साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. मा “कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्न हुँदैन” भन्ने कानूनी व्यवस्था रहेको छ । सोही महलको १५ नं. मा “ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको छ ।
६. यसरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. ले ज्यान मार्ने उद्योगलाई अपराधको रूपमा परिभाषित गरी सोही महलको १५ नं. मा के कस्तो अवस्थामा ज्यान मार्ने उद्योगको कसुर हुने र त्यस्तो अपराधको लागि कस्तो सजाय हुने भन्ने व्यवस्था गरिएको पाइयो । यसबाट ज्यान मार्ने उद्योगको अपराधमा कर्तव्य ज्यानको अपराधको लागि आवश्यक पर्ने आपराधिक कार्य र आपराधिक मनसाय दुवै तत्त्वहरूको विद्यमान हुनुपर्दछ तर परिणाममा भने पीडितको मृत्यु भएको हुनु हुँदैन ।
७. यसै सन्दर्भमा यस अदालतबाट ने.का.प. २०६५, अङ्क २, नि.नं.९९६१ मा प्रकाशित पुनरावेदक/ वादी नेपाल सरकार र प्रत्यर्थी/ प्रतिवादी शैलेश कोइरालासमेत भएको ज्यान मार्ने उद्योग मुद्दामा “वारदातको प्रकृति एवं पृष्ठभूमि, व्यक्तिहरूको संलग्नता, पूर्वरिसइवी एवं इविलाग र मनसायको विद्यमानता, पूर्वतयारी एवं योजना र सोच, प्रयोग भएको साधन एवं हतियार, पीडितलाई चोट लागेको शरीरको भाग, चोटको प्रकृति र संख्या, पीडितको तत्काल मर्ने बाँच्ने दोसाँधको अवस्था, पीडितले तत्काल प्राप्त गरेको उद्धार र उपचारको व्यवस्था आदिले पनि तत्काल तेस्रो पक्षको उपस्थिति भए नभएको अवस्थालाई गौण र तेस्रो पक्षको उपस्थितिको तुलनामा पीडितलाई लागेको गम्भीर प्रकृतिको चोटलाई नै गम्भीर मानी प्राथमिकता दिई सोलाई नै उद्योगको कसुरलाई पुष्टि गर्ने पर्याप्त आधारको रूपमा लिन सकिने” भनी व्याख्या भएको छ ।
८. उल्लिखित कानूनी व्यवस्था एवं नजिर सिद्धान्तको रोहमा प्रस्तुत मुद्दाको तथ्य विवेचना गर्दा, घाइते रामेश्वर महतो कोइरीको टाउकोमा ७ टाँका लगाउन पर्ने गरी काटेको घा चोट परेको घा केस फारामबाट देखिन्छ । खेतमा कुलो लगाउने विषयमा समेत वादविवाद झैझगडा भएको भन्ने तथ्य पनि खुल्न आएको छ । घाइते पक्ष र प्रतिवादी पक्षको परिवारको बिचमा वादविवाद रिसइवी भइरहेको भन्ने पनि छ । खेतमा धान रोपाइँको अवस्थामा वारदात भएको भन्ने जाहेरी बेहोरासमेतबाट देखिन्छ । पुनरावेदक प्रतिवादीको प्रहारको कारण घाइते रामेश्वर महतो कोइरीलाई टाउकोमा गम्भीर चोट लागेको भन्ने घाइते तथा जाहेरवालाको बकपत्रलाई घा केस फारामले पनि पुष्टि गरेको छ । सो चोटको कारण नारायणी अस्पतालमा उपचार गर्न घाइतेलाई लगिएको छ । टाउकोको सिटी स्क्यान (CT Scan) गर्नुपर्नेसम्मको चोट परेको देखिन्छ । घाइतेको टाउको जस्तो संवेदनशील अङ्गमा चोट परी ७ वटा टाँका लगाउन परेको स्थिति छ । यसरी टाउको जस्तो संवेदनशील अङ्गमा ७ टाँका लाग्ने गरी प्रहार गरेको कार्यबाट प्रतिवादीले पीडितलाई ज्यान मार्ने मनसाय लिएर पीडितको टाउकोमा प्रहार गरेको पुष्टि हुन आयो ।
९. अर्कोतिर यसमा दुवै पक्षबिच कुटपिट भएको स्थिति रहेको छ । ज्यान मार्ने उद्देश्यले साङ्घातिक प्रहार गरेको र कुटपिट गरेको कसुर फरक हुन्छ । एउटै वारदातमा पनि विविध घटनाको कसुर हुन सक्ने हुँदा सोहीबमोजिम कसुरअनुसारको अनुसन्धान र अभियोजन हुने हुन्छ । कुनै पनि कसुरलाई कसुरदारले गरेको कार्यबाट सिर्जित परिणामबाट हेरिनुपर्ने र न्यायिक निरूपण गर्नुपर्ने हुन्छ । उल्लिखित कानूनी सिद्धान्तबमोजिम प्रतिवादीले पीडितको टाउको जस्तो संवेदनशील अङ्गमा ७ टाँका लाग्ने गरी प्रहार गरेको र यसबाट पीडितलाई गम्भीर प्रकृतिको चोट लागेको अवस्था देखिनु नै निज प्रतिवादीले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.को ज्यान मार्ने कसुर गरेको स्थापित हुने आधार रहेको देखिन्छ ।
१०. यसप्रकार प्रतिवादी भरत महतो कोइरीले ज्यान मार्ने उद्योगको कसुर गरेको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएकोले सोही कसुरमा निज प्रतिवादी भरत महतो कोइरीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहराएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।०२।३० को फैसला कानून र न्यायको रोहमा अन्यथा देखिन आएन । अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्ने पुनरावेदक प्रतिवादी भरत महतो कोइरीको पुनरावेदन जिकिर एवं यस अदालतबाट मुद्दा दोहोर्याई पाउने अनुमति दिँदा लिइएका आधारहरूसँगसमेत सहमत हुन सकिएन ।
११. अत: माथि विवेचित आधार कारणहरूबाट प्रतिवादी भरत महतो कोइरीले पीडित घाइते रामेश्वर महतो कोइरीको टाउको जस्तो संवेदनशील भागमा साङ्घातिक प्रहार गरी टाउकोमा गम्भीर काटेको घाउचोट लागेको भन्ने तथ्य पुष्टि भएकोले निज प्रतिवादी भरत महतो कोइरीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. अन्तर्गतको कसुरमा सोही १५ नं.बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहराएको बारा जिल्ला अदालतको मिति २०६६।१२।०५ को फैसलालाई सदर गर्ने गरी भएको तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।०२।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी भरत महतो कोइरीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुष्मालता माथेमा
शाखा अधिकृतः कल्याण खड्का
इति संवत् २०७९ साल वैशाख ११ गते रोज १ शुभम् ।