शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९७३ - अंश चलन

भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना

फैसला मिति : २०७८।६।१६

०७५-CI-०६९४

 

मुद्दाः- अंश चलन

 

पुनरावेदक / प्रतिवादी : स्व. गंगादत्त खतिवडाको नाति स्व. ठाकुरप्रसाद खतिवडाको छोरा सुदर्शनकुमार खतिवडाको श्रीमती काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडा नं. ४ को हाल परिवर्तित गोकर्णेश्वर नगरपालिका वडा नं.१३ बस्ने सुनिता चापागाइँ खतिवडा

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ को हाल परिवर्तित गोकर्णेश्वर नगरपालिका वडा नं.१३ बस्ने गंगादत्त खतिवडाको छोरा बुहारी ठाकुरप्रसाद खतिवडाको श्रीमती जानकी खतिवडासमेत

 

चुलो मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरेको सम्पत्ति सबै अंशियारको सगोलको सम्पत्ति रहेछ भनी अदालतले अनुमान गर्ने ।

(प्रकरण नं.४)

एकासगोलमा रहेका अंशियारका नाममा मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरिलिएको सम्पत्तिमा वादीको अंश लाग्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार महतो र विद्वान् अधिवक्ता श्री सुदिप नेपाल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मणप्रसाद फुयाल र श्री राजेश्वर अधिकारी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री कमलराज विष्ट

काठमाडौं जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री भीमकुमार ओझा

माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी

उच्च अदालत पाटन

 

फैसला

न्या.प्रकाशकुमार ढुङ्गाना : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यगत बेहोरा र ठहर यसप्रकार रहेको छः-

तथ्यगत बेहोरा

स्व. गंगादत्त खतिवडाको छोरा स्व. ठाकुरप्रसाद खतिवडाको दुईवटा श्रीमती जेठी प्रतिवादीमध्येको रेवती खतिवडा र निजतर्फको छोरा सुदर्शन खतिवडा छन् । कान्छी म वादीमध्येको जानकी खतिवडा र मेरोतर्फबाट जन्मिएको छोरा मणिराम खतिवडा भई निजको श्रीमती वादी पार्वती भट्ट भई निजहरूबाट जन्म भएका छोरा वादी मनिष खतिवडा र छोरी मनिषा खतिवडा हुन् । मणिराम खतिवडाको हाल मृत्यु भइसकेको छ । हाम्रो भएको पैतृक सम्पत्ति सबै विपक्षीहरूको जिम्मामा भएको हुँदा सबै भएको पैतृक सम्पत्ति विपक्षीहरूले आफूखुसी प्रयोग गरी हामी वादीहरूलाई खान लाउन र बासको व्यवस्थासमेतबाट वञ्चित पारेको हुँदा अहिले म वादी पार्वती भट्ट खतिवडाको सानो नोकरीबाट बच्चाहरू पढाउने र व्यवहार गरी आएका छौं । अरू आयस्रोत केही छैन । त्यसैले पैतृक सम्पत्तिमा हामी वादी प्रतिवादी सबैको बराबरी हक लाग्ने भएको हुँदा हामीले पनि पैतृक सम्पत्ति भोग चलन गर्न र आयस्ता खान पाउनुपर्छ, हामीले पनि अंश पाउनुपर्‍यो भन्दा धम्कीको जवाफ दिएको हुँदा यो फिराद दिन आएको छु । अतः विपक्षीहरूसँगबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी त्यसको अघिल्लो दिनसम्मको अंशबण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी मागी दाखिला भएको सम्पत्तिबाट विवाह गर्न बाँकी मूल अंशियार नभएको हुँदा प्रतिवादी रेवती खतिवडा-१, प्रतिवादी सुदर्शन खतिवडा-१, वादी जानकी खतिवडा-१, स्व. मणिराम खतिवडाको हक खाने पार्वती भट्ट खतिवडा, मनिष खतिवडा र मनिषा खतिवडा १ समेत जम्मा ४ अंशियार हुँदा ४ भागको २ भाग हामीलाई दिलाई अड्डैबाट चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको वादीको मिति २०७१/१/२२ को फिरादपत्र । 

स्व. ससुरा ठाकुरप्रसाद खतिवडाकी दुई पत्नीमा जेठी रेवती खतिवडा र कान्छी जानकी खतिवडा हुन् । रेवती खतिवडाको तर्फबाट एक छोरा मेरा पति सुदर्शन खतिवडा र जानकी खतिवडाको तर्फबाट १ छोरा मणिराम खतिवडा भएकोमा निजकी पत्नी विपक्षी पार्वती भट्ट हुन् । मणिराज खतिवडाको हाल परलोक भइसकेको छ । प्रस्तुत विवादमा म प्रतिवादी अंशियार नै होइन । विपक्षी वादीको मेराउपर अंश मुद्दा गर्ने हकदैया अ.बं. ८२ नं. तथा अंशबण्डाको १ नं.बमोजिम पुग्दैन । यस मुद्दामा वादीको हक लाग्ने सगोलको कुनै सम्पत्ति मेरो जिम्मामा छैन । वादी दाबी झुठ्ठा हो खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुनिता चापागाइँको प्रतिउत्तर पत्र ।

प्रस्तुत मुद्दामा नातामा विवाद छैन । वादी मनिष खतिवडा र मनिषा खतिवडाको प्रस्तुत विवादमा म प्रतिवादीउपर अंश मुद्दा गर्न अ.बं. ८२ नं. को हकदैया पुग्दैन । निजहरू अंशबण्डाको १ नं. अनुसार मेरा अंशियार होइनन । निजहरूले अंश माग्ने हक पार्वती खतिवडाउपर मात्र पुग्दछ । निजबाट अंश हक दाबी गरेका छैनन् । सो हदसम्म निज वादीको हकमा दाबी पुग्ने अवस्था छैन । पिता ठाकुरप्रसाद खतिवडाको मिति २०६५ । ५ । ३१ मा स्वर्गवास भएको हो । सो अगावै पिताको जीवनकालमा म २०५० सालमा अन्य अंशियारसँग चुलो अलग गरी बसी आएको थिएँ र मिति २०६५।३।१६ मा मानो छट्टिएको लिखत खडा गरी मिति २०६५।३।२० मा रजिस्ट्रेसन नम्बर ८०३२ग बाट मानो छुट्टिएको लिखत रजिस्ट्रेसनको महलको १ नं.बमोजिम मालपोत कार्यालय काठमाडौं, चाबहिलमा पारित गरी सोही मिति २०६५।३।१६ बाट मानो छुट्टी म अलग बसी आएको छु । सगोलको कुनै पनि सम्पत्ति मेरो जिम्मामा छैन । पिताको स्वर्गवासपछि सगोलको पैतृक सम्पत्ति बण्डा गरौं भनी मैले पटकपटक भन्दा विपक्षीले आलटाल गरी आएका छन् । बण्डा गरी स्व. पिताको नाउँदर्तामा रहेको सम्पत्तिसमेत आ-आफ्नो भाग आ-आफ्नो नाउँमा नामसारी दर्ता गरौं भनेकोमा हाल यो झुठा दाबीको मुद्दा दायर गरेका छन । विपक्षीको सम्पूर्ण दाबी झुठा हुन् । मैले विपक्षी वादीलाई खान लाउन र बासको व्यवस्थाबाट वञ्चित गरेको छैन । सगोलको पैतृक सम्पत्ति विपक्षीकै जिम्मामा छ ४ भागको १ भाग अंश छुट्टयाइदिएमा मेरो मन्जुरी छ । अन्य झुठ्ठा वादी दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुदर्शनकुमार खतिवडाको प्रतिउत्तर पत्र । 

वादी प्रतिवादीबिच अंशियार नातामा विवाद नभएको र वादीले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिपाउँ भनी दाबी लिनुभएकोमा प्रतिवादीमध्येका सुदर्शनकुमार खतिवडा मिति २०६५/३/२० गते र.नं. ८०३२ ग को मानो छुट्टिएको मिति कायम गरी भिन्न बसेको देखिँदा वादी जानकी खतिवडा, पार्वती खतिवडा र प्रतिवादी रेवती खतिवडाको हकमा फिराद परेको अघिल्लो दिन २०७१/१/२१ लाई र प्रतिवादी सुदर्शन खतिवडा, सुनिता खतिवडाका हकमा मानो छुट्टिएको लिखत पारित भएको मिति २०६५/३/२० को अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । तत् तत् मितिसम्मको वादी प्रतिवादी जिम्माको बण्डा लाग्ने सगोलको चल अचल सम्पत्तिको तायदाती फाँटवारी अंशबण्डाको २०, २१, २२ र २३ नं.बमोजिम दाखिला गराउनु भन्ने सुरू अदालतको मिति २०७०/७/१८ को आदेश । 

सुरू अदालतको आदेशानुसार वादी प्रतिवादीबाट तायदाती फाँटवारी पेस भई मिसिल सामेल रहेको । 

मेरो २ जना हजुरआमामा कान्छी हजुरआमाको नाम थाहा भएन । जेठी हजुरआमाबाट मेरो बुबा सुदर्शनकुमार खतिवडाको जन्म भएको, अरू छोरा हुनुहुन्न । छोरी देवकी खतिवडा हुनु भएकोमा वहाँको विवाह भइसकेको छ । मेरो बुबा सुदर्शनबाट छोरा सुषम खतिवडा, सर्दिल खतिवडा गरी २ छोरा र छोरी म सर्दिला खतिवडाको जन्म भएको छ । हजुरआमाको सम्पत्तिबाट मैले अंश पाउनुपर्ने हो भन्नेसमेत बेहोराको अ.बं. १३९ नं.बमोजिम बुझिएकी व्यक्ति सर्दिला खतिवडाले सुरू अदालतसमक्ष गरेको बयान । 

वादीले तायदातीमा पेस गरेको स्व.ठाकुरप्रसाद नामको दर्ता स्रेस्ता भिडेको जग्गा सम्पत्ति र प्रतिवादी सुदर्शनकुमार खतिवडाको मानो छुट्टिएको मिति २०६५।३।२० को लिखतअघि निजले पत्नी प्रतिवादी सुनिता चापागाइँको नाममा राजीनामाबाट पाएको दर्ता स्रेस्ता भिडेको जग्गाबाट ४ भागको २ भाग अंश वादीले पाउने ठहर्छ । प्रतिवादी सुनिता चापागाइँले माइती पक्षबाट बकस पाएको र मानो छुट्टिएको मितिपश्चात् प्रतिवादी सुदर्शनकुमार खतिवडाको पत्नी सुनिताको र छोरी सर्दिला खतिवडाको नाममा प्राप्त भएको जग्गाबाट वादीले अंश नपाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।०३।२६ मा भएको फैसला । 

प्रमाण ऐन, २०३१ को दफा ६(क) मा गरिएको कानूनी व्यवस्थाअनुसार एकाघरका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको हो भनी अदालतले अनुमान गर्ने छ भन्ने कानूनी व्यवस्था रहेकोमा र सगोलका अंशियारहरूको नाउँमा जुनसुकै स्रोतबाट प्राप्त सम्पत्ति पनि बण्डा लाग्ने अवस्था रहेकोमा मिति २०६५।०३।२० पश्चात्‌को सम्पत्ति बण्डा नलाग्ने गरी भएको फैसला बदर गरी उक्त विपक्षीका श्रीमती र छोरीका नाममा रहेका सम्पत्तिहरूसमेत बण्डा गर्नुपर्नेमा सोसमेत नगरी तथा हामी पुनरावेदक र विपक्षीहरूसमेत एकासगोलमा रहेको अवस्थामा मिति २०५०/०२/०५ मा श्याम श्रेष्ठबाट हा.व पाएको का.जि. गोकर्ण गा.वि.स. वडा नं. १(क)स्थित कि.नं.९६को क्षे.फ.३-४-२-०जग्गा कित्ताकाट गरी कायमी कि.नं.का जग्गाहरू मिति २०५०/०२/०५, मिति २०५६/०६/१४ र मिति २०६१/०१/१९ मा राजीनामा पास गरी प्राप्त आम्दानीबाटै जग्गाहरू खरिद गरेको अवस्था भई उक्त कि.नं. ९६ को जग्गाको सम्बन्धमा प्रमाण कागजहरूको मुल्याङ्कन नै नगरी भएको फैसला त्रुटिपूर्ण रहेकाले सो फैसला उल्टी गरी हामीहरूको फिराद दाबी एवं पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी पार्वती भट्टसमेतले उच्च अदालत पाटनमा दिएको पुनरावेदन पत्र । 

ठाकुरप्रसाद खतिवडाको अंश भागमा परेको जग्गाबाहेक अन्य कुनै सम्पत्ति बण्डा गर्नुपर्ने होइन । सुनिता चापागाइँको स्वआर्जनको सम्पत्तिमा बण्डा लाग्ने गरी भएको फैसला बदरभागी छ । २०५० सालमा अन्य अंशियारहरूसँग चुलो मानो छुट्टिइसकेको हुँदा २०५० साललाई मानो छुट्टिएको मिति कायम गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलामा मुलुकी ऐन, अंशबण्डाको १८ नं. स्त्रीअंश धनको ४।५ नं. को त्रुटि भएकाले उक्त फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी सुदर्शनकुमार खतिवडाले उच्च अदालत पाटनमा दिएको पुनरावेदन पत्र । 

यसमा सुरू जिल्ला अदालतको फैसलाउपर वादी, प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ एक अर्काको पुनरावेदन परस्पर सुनाई पुनरावेदन नगर्ने प्रतिवादी रेवती खतिवडालाई अ.बं. २०२ नं. बमोजिम छलफलको लागि उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम म्याद सूचना जारी गरी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नुहोला भन्ने मिति २०७४/०२/२५ को उच्च अदालत पाटनको आदेश ।

वादीले तायदाती पेस गरेको स्व. ठाकुरप्रसाद नामको दर्ता स्रेस्ता भिडेको जग्गा सम्पत्ति र प्रतिवादी सुर्दशनकुमार खतिवडाको मानो छुट्टिएको मिति २०६५।३।२० को लिखतअघि निजले पत्नी प्रतिवादी सुनिता चापागाइँको नाममा राजीनामाबाट पाएको दर्ता स्रेस्ता भिडेको जग्गाबाट ४ भागको २ भाग अंश वादीले पाउने र प्रतिवादी सुनिता चापागाइँले माइती पक्षबाट बकस पाएको र मानो छुट्टिएको मितिपश्चात् प्रतिवादी सुदर्शनकुमार खतिवडाको पत्नी सुनिताको र छोरी सर्दिला खतिवडाको नाममा प्राप्त भएको जग्गाबाट वादीले अंश नपाउने भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।१२।१९ मा भएको फैसला ।

म सुनिता चापागाइँ खतिवडालाई आमा मञ्जु चापागाइँले मिति २०६४।५।१९ मा का.जि.चपली वडा नं.९ग कि.नं.२०७१ को क्षे.फ.०-६-२-० जग्गा हालैदेखिको बकसपत्र पारित गरिदिनुभएको र त्यसैगरी मेरो दाजु प्रभाकर चापागाइँले म बहिनी सुनिता चापागाइँलाई मिति २०६४।११।१६ मा र.नं.४६०४ बाट हालैदेखिको बकसपत्र पारित गरी दिएको जोरपाटी ४घ कि.नं.६५८ को क्षे.फ.०-५-०-० जग्गामा मेरो हक सिर्जना हुन आर्इ अंशबण्डाको १८ नं. तथा स्त्री अंशधनको ४ र ५ नं.समेतको कानूनले मैले आफूखुस गर्न पाउने र अन्य कसैले दाबी गर्न पाउने प्रकृतिको जग्गा होइन । उल्लिखित कि.नं.२०७१ र ६५८ को जग्गा मैले डिल्लीबजार राधेमार्ग स्थित काठमाडौं फाइनान्समा दृष्टिबन्धक पास गरी २०६४।६।२ मा रू.दस लाख कर्जा लिई तायदातीमा उल्लिखित सिन्धुपाल्चोक जिल्ला भोटेचौर गा.वि.स. वडा नं.२ को कि.नं.२७७०, २७७१ र १९४३ र भोटेचौर वडा नं.३ को कि.नं.१४, ४९२, ४९४, ४९६ र १३ समेतको जग्गाहरू खरिद गरी लिएको हुँ । मेरो निजी आर्जनको सम्पत्ति अन्य अंशियारलाई अंश दिनुपर्ने अवस्थासमेत छैन । मेरो प्रमाणहरूलाई अनदेखा गरी उल्लिखित जग्गाहरूबाट समेत वादीले अंश पाउने ठहर गरेको सुरू फैसला तथा सो फैसला सदर गर्ने गरेको उच्च अदालत पाटनसमेतको फैसला नमिली त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) र (घ) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरी उच्च अदालत पाटनको फैसला उल्टी बदर गरी उल्लिखित जग्गाहरूबाट वादीले अंश नपाउने ठहर फैसला गरिपाउँ भन्नेसमेत बेहोराको निवेदक सुनिता चापागाइँ खतिवडाको यस अदालतमा परेको निवेदन । 

यसमा निवेदक सुनिता चापागाइँले मिति २०७१।८।३० मा पेस गरेको तायदातीमा आमा मन्जु चापागाइँबाट काठमाडौं चपलीको कि.नं.२०७१ को जग्गा बकस पाएको र सो जग्गा काठमाडौं फाइनान्समा धितो राखी सिन्धुपाल्चोक भोटेचौरमा जग्गा खरिद गरेकोले बण्डा लाग्नुपर्ने होइन भनी तायदातीमा उल्लेख गरेको देखिन्छ । निवेदकले कि.नं.२०७१ को जग्गा उक्त फाइनान्समा धितो राखी जग्गा खरिद गर्न रू.१० लाख कर्जा लिएको भन्ने देखिन आएको स्थितिमा तथ्य प्रमाणहरूको विवेचना नगरी बण्डा लाग्ने भनी भएको उच्च अदालत पाटनको मिति २०७४।१२।१९ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ नं.को त्रुटि रही साबिक मुलुकी ऐन, अंशबण्डाको १८ नं. र स्त्री अंशधनको महलको ४ नं. को व्याख्यात्मक त्रुटिसमेत देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१)  को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७५।१०।६ को आदेश ।

 

यस अदालतको ठहर

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार महतो र विद्वान् अधिवक्ता श्री सुदिप नेपालले पुनरावेदक सुनिता चापागाइँले आफ्नो आमा र दाजुबाट हालैदेखिको बकसपत्रको लिखतबाट प्राप्त भई हक सिर्जना हुन आएको आफूखुस गर्न पाउने कोही कसैको बण्डा नलाग्ने कि.नं. २०७१ को जग्गासमेत फाइनान्समा धितो राखी रू.दस लाख ऋण लिई सो रकमबाट खरिद गरेको विवादको कि.नं.२७७० समेतको ८ कित्ता जग्गा निज पक्षले आफूखुस गर्न पाउने कोही कसैलाई बण्डा नलाग्ने जग्गा भएकोमा सो जग्गासमेतबाट वादीले अंश पाउने ठहर गरी भएको उच्च अदालत पाटनको फैसला नमिलेकोले सो हदसम्मको उच्च अदालतको फैसला उल्टी बदर गरी सो जग्गाबाट वादीले अंश नपाउने ठहर फैसला गरिपाउँ भनी बहस गर्नुभयो । यसैगरी प्रत्यर्थी वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मणप्रसाद फुयाल र श्री राजेश्वर अधिकारीले उल्लिखित जग्गा पुनरावेदकले कोही कसैको हक नलाग्ने आफूखुस गर्न पाउने धितो राखी ऋण लिर्इ खरिद गरेको भन्ने कुरा लिखतबाट खुल्दैन । मानो छुट्टिएको मितिभन्दा अघि राजीनामाको बेहोराबाट खरिद गरेको जग्गा एकासगोलका सबै अंशियारलाई बण्डा लाग्ने हुँदा सो जग्गाबाट वादीले अंश पाउने ठहर गरेको उच्च अदालत पाटनको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा, हामी वादी प्रतिवादी गरी चार अंशियार छौं । हाम्रोबिचमा हालसम्म अशंबन्डा नभएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई चार भाग गरी दुई भाग अंश पाउँ भन्ने मुख्य फिराद दाबी रहेकोमा छोरा सुदर्शन २०६५।३।२० मा मानो छुट्टिई बेग्लै बसी आएका छन् । मेरो अंश छुट्याइदिएमा मन्जुरी छ भनी प्रतिवादी रेवती खतिवडाको प्रतिउत्तर परेको देखिन्छ । अर्को प्रतिवादी सुनिता चापागाइँले, मेरो पति २०५० सालदेखि अलग्गै बसी आएकोमा २०६५।३।२० मा मानो छुट्टिएको लिखत पास गरी छुट्टै व्यवहार गरी आएकोले वादी प्रस्तुत मुद्दामा अंशियार नै होइनन् भनी र प्रतिवादी सुदर्शनकुमार खतिवडाले हामी ४ अंशियार छौं, नातामा विवाद छैन तर मनिस र मनिसा मेरा अंशियार होइनन् । म २०५० सालदेखि अन्य अंशियारसँग चुलो छुट्टिई २०६५।३।२० मा मानो छुट्टिएको लिखत पारित गरी बसी आएको छु भनी प्रतिउत्तर फिराएको देखिन्छ । वादीले तायदातीमा पेस गरेको स्व.ठाकुरप्रसाद खतिवडाको नामको सम्पत्ति र प्रतिवादी सुदर्शनकुमार खतिवडाको मानो छुट्टिएको मिति २०६५।३।२० को लिखतअघि निजले पत्नी प्रतिवादी सुनिता चापागाइँको नाममा राजीनामाबाट पाएको दर्ता स्रेस्ता भिडेको जग्गाबाट चार भागको दुई भाग अंश वादीले पाउने ठहर्‍याई प्रतिवादी सुनिता चापागाइँले माइतीबाट बकस पाएको र मानो छुट्टिएको मितिपश्चात् प्रतिवादी सुदर्शनकुमार खतिवडाको पत्नी सुनिता र छोरी सर्दिला खतिवडाको नाममा प्राप्त भएको जग्गाबाट वादीले अंश नपाउने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसलामा वादी प्रतिवादी दुवै पक्षको तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन परेको देखिन्छ । उच्च अदालत पाटनले सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई मनासिब ठहर्‍याई सदर गरेपछि उक्त फैसलाउपर समेत चित्त नबुझाई निज प्रतिवादी सुनिता चापागाइँ खतिवडाले मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा निवेदन दिएकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेरिपाउने अनुमति प्रदान भएपछि पुनरावेदनको रोहमा आज पेस हुन आएको देखियो ।

प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, सिन्धुपाल्चोक जिल्ला भोटेचौर गा.वि.स. वडा नं.२ को कि.नं.२७७०, २७७१ र १९४३ र भोटेचौर वडा नं.३ को कि.नं.१४, ४९२, ४९४, ४९६ र १३ समेतका जग्गाहरू मैले कोही कसैको हक नलाग्ने आमा तथा दाजुबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको कि.नं. २०७१ समेतका जग्गा फाइनान्समा धितो राखी ऋण लिई खरिद गरी लिएको हुँ । मेरो निजी आर्जनको सम्पत्ति अन्य अंशियारलाई अंश दिनुपर्ने अवस्थासमेत छैन । मेरो प्रमाणहरूलाई अनदेखा गरी उल्लिखित जग्गाहरूबाट समेत वादीले अंश पाउने ठहर गरेको सुरू फैसला तथा सो फैसला सदर गर्ने गरेको उच्च अदालत पाटनसमेतको फैसला नमिलेको भनी सो हदसम्म चित्त नबुझाई प्रस्तुत पुनरावेदन गरेको देखियो । 

३. प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच नाता पुस्तेवारीमा विवाद नभई मुख मिलेको अवस्था 

देखिन्छ । विवादित उल्लिखित कि.नं.२७७० समेतको ८ कित्ता जग्गाको स्रोत हेर्दा उल्लिखित जग्गाहरू दिने चेतनाथ चौलागाई लिने सुनिता चापागाइँ भई मिति २०६४।७।२७ मा र.नं.७८५ बाट राजीनामाको बेहोराबाट पुनरावेदकले खरिद गरी लिएको 

देखिन्छ । पुनरावेदक प्रतिवादी र निजका पति सुर्दशन खतिवडाका हकमा र वादीहरूका बिचमा ०६५।३।२० लाई मानो छुट्टिएको मिति कायम भई सुरूबाट तायदाती फाँटवारी माग्ने आदेश भएकोमा सो आदेशउपर निज पुनरावेदकको मौकामा कुनै चुनौती नरही सोलाई स्वीकार गरी तायदाती फाँटवारी पेस गरेको देखिन्छ ।

४. प्रमाण ऐन, २०३१ को दफा ६(क) लाई हेर्दा, अन्यथा प्रमाणित नभएसम्म “एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो 

कानूनी व्यवस्थाअनुरूप चुलो मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरेको सम्पत्ति सबै अंशियारको सगोलको सम्पत्ति रहेछ भनी अदालतले अनुमान गर्नुपर्ने देखिन आयो । आफ्नो निजी आर्जनको आफूखुस गर्न पाउने जग्गा फाइनान्समा धितो राखी ऋण लिई सो जग्गा खरिद गरेको भन्ने पुनरावेदकले सोही बेहोरा लिखतको कैफियत महलमा उल्लेख गर्न सक्नुपर्नेमा सो बेहोरा उल्लेख गर्न सकेकोसमेत देखिन आएन । यस दृष्टिकोणबाट निजी आर्जनकै हो भनी देखिने प्रमाणको अभावमा दाबीको कि.नं.२७७० समेतको ८ कित्ता जग्गाबाट वादीले अंश नपाउने भन्ने पुनरावेदकको पुनरावेदन जिकिर कानूनसम्मत देखिन आएन ।

५. ऋण लिर्इ खरिद गरेको र बण्डा नलाग्ने भनी तायदातीमा सोको जिकिर पुनरावेदकले लिए पनि सोको तथ्ययुक्त प्रमाण पुनरावेदक प्रतिवादीले पेस गर्न नसकेको अवस्थामा एकासगोलमा रहेका अंशियारका नाममा मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरिलिएको सम्पत्तिमा वादीको अंश लाग्ने नै देखिन आयो । अतः सिन्धुपाल्चोक जिल्ला भोटेचौर गा.वि.स. वडा नं.२ को कि.नं.२७७०, २७७१ र १९४३ र भोटेचौर वडा नं.३ को कि.नं.१४, ४९२, ४९४, ४९६ र १३ समेतको जग्गाहरूबाट वादीले अंश पाउने नै देखिँदा पुनरावेदक प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान् कानून व्यवसायीले गर्नुभएको बहस र यस अदालतको संयुक्त इजलासले मुद्दा दोहोर्‍यार्इ हेर्ने अनुमति प्रदान गर्दा लिएका आधारहरूसँग यो इजलास सहमत हुन सकेन ।

६. तसर्थ, माथि विवेचित मुद्दाको तथ्य, आधार र कारणहरूबाट समेत काठमाडौं जिल्ला अदालतको मिति २०७३।३।२६ को फैसलालाई सदर गर्ने गरेको उच्च अदालत पाटनको मिति २०७४।१२।१९ को फैसला कानूनसम्मत भई मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी सुनिता चापागाइँको पुनरावेदन जिकिर पुग्न सक्तैन । मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार  अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- विनोदप्रसाद घिमिरे

इति संवत् २०७८ साल असोज १७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु