शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९७४ - अंश

भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७७।११।१७

मुद्दाः अंश

 

०६९-CI-०३०८

पुनरावेदक / वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १६ बस्ने सोमबहादुर थापाको छोरा ताराबहादुर थापा

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ऐ.ऐ बस्ने ताराबहादुरको श्रीमती मनु थापा

 

०६९-CI-०३०९

पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, उपमहानगरपालिका वडा नं. १६ बस्ने ताराबहादुरको श्रीमती मनु थापा

विरूद्ध

प्रत्यर्थी / वादी : ऐ.ऐ बस्ने सोमबहादुर थापाको छोरा ताराबहादुर थापा  

 

सगोलमा रहँदा सामूहिक प्रयासबाट आर्जित सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने देखिने । यदि सम्पत्तिको केही भाग निजी थियो भने पनि त्यसलाई सामूहिक सम्पत्तिमा मिसाइयो भने (blended in common stock) सो सम्पत्तिलाई सबै अंशियारको अंश हक लाग्ने सगोलको सम्पत्ति भनी मान्नुपर्ने । यसरी सगोलको सम्पत्तिमा मिसाइएको अवस्थामा निजी आर्जनको सम्पत्तिले समेत सगोलको सम्पत्तिको स्वरूप धारण गर्ने ।

(प्रकरण नं.५)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री सपना सुवेदी

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र विद्वान् अधिवक्ता श्री विशेश्वर ढकाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री जयराज जोशी

कास्की जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने: 

मा.का.मु.मुख्य न्यायाधीश श्री ऋषिराज जोशी

माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा

पुनरावेदन अदालत पोखरा

 

फैसला

न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः

तथ्यगत बेहोरा

पिता सोमबहादुर थापाको ४ वटी श्रीमतीहरूमा जेठी भूमिसरा थापा, माहिली खगीसरा थापा, साहिली डिल्लीसरा थापा र कान्छी पवित्रा थापा भई निज माता पिताबाट जेठी आमातर्फ छोरा एक मानबहादुर, माइली आमातर्फ दाजु सूर्यबहादुर र म फिरादीको जायजन्म भएको हो । माइली मेरी आमाको २०२१ सालतिर कालगतिले परलोक भइसकेको छ । साहिली आमातर्फ छोरा चोकबहादुर थापा, चित्रबहादुर थापा र प्रेमबहादुर थापा गरी ३ छोराहरूको जायजन्म भएको छ । अन्य जायजन्म भएका ५ छोरीहरूको विवाह दान भइसकेको छ । उल्लिखित अंशियारा परिवारहरू ठुलो परिवार भएका कारण पिताले २०३५ सालमा घरसारमा मानो अलग गरी आ-आफ्नो खती उपती गरी खाई आएका हौं । २०४० सालमा विपक्षी मनुसँग मेरो विवाह भई विपक्षीलाई लिई जागिरको सिलसिलामा ब्रिटिस आर्मीमा गएको र निजबाट दुई छोरी समिता थापा र श्रद्धा थापाको जायजन्म भएको हो । पेन्सनबाट निस्की घरमा फिर्ता भई पुन: जापान गएको हुँ । कमाई गरेको धन पैसाजति विपक्षीलाई पठाउने गरेको र सोही धन पैसाबाट विभिन्न ठाउँमा राजीनामा गरी जग्गा खरिद गरेको थियो । तर पछि उक्त जग्गाहरूमा तेरो हक लाग्दैन भन्ने विपक्षीबाट जवाफ पाएको हुँदा उक्त जग्गा मेरोसमेत हकको भएको हुँदा अंशबण्डाको महलको १, २, १० नं.समेतका आधारमा सोही ऐनको २०, २१, २२, २३ नं.बमोजिम तायदाती फाँटवारी लिई नाबालक २ छोरीहरूको विवाह खर्च परसारी हामी २ अंशियारा हुँदा २ भाग लगाई सो २ भागको १ भाग अंश मलाई दिलाइपाउँ भन्नेसमेत बेहोराको ताराबहादुर थापाको फिराद दाबी । 

मेरा बाबु ब्रिटिस आर्मीमा अफिसर तहको जागिरबाट पेन्सनमा निस्कनु भएको हो । विपक्षी पति ताराबहादुरसँग विवाह भई २ छोरीको जन्म भएको; विपक्षी वादीको धेरै परिवार भएको, घरको आर्थिक स्थिति अति कमजोर भएको हुँदा मेरा बुबाले दिएको धन सम्पत्ति तथा दौलत र मैले निजी आर्जनबाट आर्जेको धन पैसाबाट खरिद गरेका विभिन्न ठाउँमा रहे भएको जग्गा विपक्षी वादीलाई अंश भाग लगाउनुपर्ने जग्गा होइन । निजबाट आर्जन भएको धन पैसा मैले लिए खाएको छैन । फिराद मागदाबी झुट्टा हो, झुट्टा फिराद दाबीबाट अलग फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको मनु थापाको प्रतिउत्तर जिकिर । 

भाउजू मनु थापाका नाममा रहेको सम्पत्ति वादी दाजुले कमाई गरेको सम्पत्तिबाट खरिद भएको, वादीको हकको सम्पत्ति हो । दाजु भाउजूको सम्पत्तिमा हाम्रो दाबी छैन भनी मुलुकी ऐन अ.बं.१३९ नं.बमोजिम बुझिएका प्रेमबहादुर थापाले गरेको बयान । 

अदालतका आदेशानुसार बुझिएका प्रतिवादीका साक्षी प्रतिमान वाटाजु, आसबहादुर गुरूङले गरेको बकपत्र मिसिल सामेल रहेको ।

राजीनामाबाट प्राप्त गरेको अन्य सम्पत्तिमा वादीको हक लाग्ने होइन भन्नेसमेतको प्रतिउत्तर जिकिर पुग्न नसक्ने ठहर्छ । पेटबोलीबाट बुझिएका व्यक्तिहरूले अंश पाइसकेको भनी बयान गरेकाले छोरीहरू सविता र श्रद्धाले फाँटवारी लिँदा भएको आदेशबाट अंशियारा कायम गरिएको हुँदा स्रेस्ता मिले-भिडेसम्मको सम्पत्तिबाट वादीले ४ (चार) भागको १(एक) भाग अंश छुट्याई लिन पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कास्की जिल्ला अदालतको मिति २०६०।१०।२५ को फैसला ।

सुरू फैसलामा चित्त बुझेन । मैले काम गरेको स्थान, मलाई प्राप्त भएको बकस र मैले विगतमा पनि र हाल पनि रोजगारी भई कार्यरत भएको प्रमाण पेस गर्दा गर्दै मैले पेस गरेका तथ्यगत र स्पष्ट आधारलाई प्रमाणमा नलिई हालैको बकसपत्रबाट प्राप्त गरेको सम्पत्तिसमेत बण्डा लाग्ने भनी सुरूले स्त्री अंशधनको १ नं. र अंशबण्डाको १८ नं. विपरीत गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी न्याय इन्साफ पाउँ भन्ने बेहोराको प्रतिवादी मनु थापाको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदनपत्र ।

मुलुकी ऐन, अंशबण्डाको महलको १८ नं. मा भएको प्रावधान प्रतिकूल हुने गरी बकसपत्रबाट पाएको सम्पत्तिसमेत बण्डा लाग्ने भनी गरेको सुरू फैसला प्रमाणको मूल्याङ्कन गर्दा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाई आए वा अवधि नाघेपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत पोखराको आदेश । 

मनु थापाले हालैदेखिको बकसपत्रबाट पाएको कि.नं. १८१ को २-४-२-३ जग्गासमेत भागबण्डा लाग्ने गरी भएको सुरू कास्की जिल्ला अदालतको मिति २०६०।१०।२५ को फैसला मुलुकी ऐन, अंशबण्डाको १८ नं. तथा स्त्री अंशधनको महलको ४ नं. विपरीत देखिन आउँदा सो हदसम्म केही उल्टी भई उक्त कि.नं. १८१ को जग्गासम्म मात्र बण्डा लाग्न नसक्ने हुँदा सो हदसम्म सुरू फैसला केही उल्टी भई अरूमा सुरू फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०६३।३।११ को फैसला ।

मैले विदेशमा कमाएको सम्पूर्ण रकम विपक्षी श्रीमती मनु थापालाई पठाएको; सोही रकमबाट विपक्षीले जग्गा जमिनहरू खरिद गरेकीमा सो सम्पत्तिमा तेरो हक लाग्दैन भनी विपक्षीले म विदेशबाट फर्केपछि भनेकीले मैले आफ्नो अंश हक कायम गराउन प्रस्तुत मुद्दा दिएको हो । सुरू कास्की जिल्ला अदालतबाट सम्पूर्ण जग्गाहरू र घरसमेतबाट मैले बण्डा पाउने गरी इन्साफ भएको थियो । मेरोसमेत अंश हक लाग्ने ठहरेको कास्की लामाचौर गा.वि.स.को. कि.नं. १८१ क्षे.फ. २-४-२-३ जग्गा मिति २०४६।१०।१५ मा खरिद गरी लिँदा पनि मेरो लाखौं रूपैयाँ लगानी भएको थियो । त्यो जग्गा पास गर्दा बढी राजस्व तिर्नुपर्ने हुन आएकोले राजस्व कम लाग्छ भनी मालमा भनेकोले प्रतिवादी मनु थापाको नाउँमा हालैको बकसपत्रबाट लिएको हो । निज प्रतापराज श्रेष्ठले मनु थापालाई कुनै नाता सम्बन्ध व्यवहार नभएको अवस्थामा हालैको बकसपत्र पारित गरिदिनुपर्ने अवस्था छैन । लिखतको महलमा मितबहिनीले व्यवहारमा सहयोग गरेबापत हालैको बकसपत्र गरेको भनी नाता उल्लेख गरेमा राजस्व कम तोकिन्छ भनेर सो बेहोरा लेखिएको 

हो । उल्लिखित जग्गा विपक्षीको दाइजो पेवाको पनि 

होइन । बकसपत्रको लिखतलाई बकस गरिदिने व्यक्तिको हैसियत स्रोत र प्राप्तकर्ताबिचको व्यवहार नाता सम्बन्ध एवं समग्र परिस्थिति अध्ययन अनुसन्धानविना बकस दिने व्यक्तिसमेत बुझ्दै नबुझी अनुमानको भरमा पुनरावेदन अदालत पोखराबाट निर्णय भएको छ । निजी आर्जनको सम्पत्ति प्रमाणित हुन लिखतको अतिरिक्त त्यस्तै रूपले व्यवहार प्रमाणबाट पनि स्पष्ट देखिनुपर्ने हुन्छ । केही राजस्व कम गर्न सकिन्छ कि भनी लिएको मात्र हो । उक्त जग्गामा मैले छुट्टीमा आई लाखौं रूपैयाँ लगानी गरी तीन तल्लाको ठुलो ढलान घर बनाएको छु । लोग्ने लामो समय बाहिर हुँदा श्रीमतीको अवस्था कस्तो हुँदोरहेछ, त्यसको पीडित म पनि बनेको छु । मेरो नाउँमा कुनै जग्गा छैन, भएजति श्रीमतीको नाउँमा रहेको र श्रीमतीले मलाई जग्गा जमिनमा हक छैन भनेकी र वरपर बुझ्दा चाल ठिक नपाएपछि अंश मुद्दा दिएको हुँ । तसर्थ, आफ्नो बसोबासको घरसहितको उल्लिखित विवादित मुख्य जग्गा केवल बकसबाट खरिद गरेको भन्ने आधारले मात्र निजी ठहर गरी जग्गा बण्डा नपाउने भनी फैसला हुँदा म अन्यायमा परेकोले सो हदसम्म फैसला बदर गरी उल्लिखित कि.नं. १८१ क्षे.फ. २-४-२-३ जग्गाबाट समेत अंश भाग लगाइ न्याय पाउँ भन्ने बेहोराको वादी ताराबहादुर थापाको यस अदालतमा परेको पुनरावेदनपत्र ।

दान बकसबाट प्राप्त भएको मैले तायदाती फाँटवारीमा पेस गरेको मेरो निजी सम्पत्तिमा वादीको हक लाग्ने होइन । आफ्नो योग्यता क्षमताबाट विदेशमा बसी रोजगारी गरी स्व:आर्जन गरेको जग्गा जमिन श्री सम्पत्ति विपक्षीलाई बण्डा नलाग्ने स्त्री अंशधनको १ नं. तथा अंशबण्डाको १८ नं. ले आफूखुसी गर्न पाउने मेरो अधिकार सुरक्षित रहेको हुँदा विपक्षीको दाबी नपुग्ने इन्साफ भई सुरू कास्की जिल्ला अदालत तथा पुनरावेदन अदालत पोखराबाट मलाई हराई भएको हदसम्मको फैसला उल्टी गरी न्याय पाउँ भन्ने बेहोराको मनु थापाको यस अदालतमा परेको पुनरावेदनपत्र ।

यिनै वादी पुनरावेदकले प्रस्तुत मुद्दाको प्रतिवादी मनु थापा अर्कै व्यक्ति राजबहादुर गुरूङसँग विवाह भई गइसकेकीले धनमालसमेत भराइपाउँ भनी कास्की जिल्ला अदालतमा मिति २०६५।२।२१ मा दिएको नालिस कारबाहीयुक्त अवस्थामा रहेको हुँदा मुलतबी राखिपाउँ भनी वादी तर्फबाट निवेदन परेको देखिन्छ । यिनै प्रतिवादी मनु थापाले पनि कास्की जिल्ला अदालतमा यी वादीउपर सम्बन्ध विच्छेद मुद्दा दिएकोसमेत अवस्था छ । ती मुद्दाहरूमा हुने निर्णयबाट प्रस्तुत मुद्दाका वादीले पाउने अंश प्रमाणित हुने देखिएकोले उक्त मुद्दाहरूको निर्णय भई पुनरावेदन परी आएपछि वा पुनरावेदनको अवस्था नाघेपछि फैसलासहितको मिसिल प्राप्त भएपछि जगाई कारबाही किनारा गर्ने गरी अ.बं.१२ नं. अनुसार प्रस्तुत पुनरावेदनहरू मुलतबिमा राखिदिएको छ । तारेखमा रहेका दुवै पक्षको तारेख टुटाई मुद्दा मुलतबिमा रहेको जानकारी कास्की जिल्ला अदालतलाई दिनु भन्ने यस अदालतको मिति २०६६।३।२४ को आदेश ।

यस अदालतको मिति २०६६।०३।२४ को आदेशबमोजिम यिनै पुनरावेदकले प्रतिवादी मनु थापाउपर धनमाल मुद्दा र यिनै प्रतिवादी मनु थापाले कास्की जिल्ला अदालतमा वादीउपर सम्बन्ध विच्छेद मुद्दा दिएकोसमेत अवस्था छ । ती मुद्दाहरूमा हुने निर्णयबाट प्रस्तुत मुद्दाका वादीले पाउने अंश प्रभावित हुने देखिएकोले उक्त मुद्दाहरूको निर्णय भई पुनरावेदन परी आएपछि वा पुनरावेदनको अवस्था नाघेपछि फैसलासहितको मिसिल प्राप्त भएपछि जगाई कारबाही किनारा गर्ने गरी अ.बं. १२ नं.बमोजिम प्रस्तुत मुद्दा मुलतबी रहेकोमा उक्त आदेशबमोजिमको सम्बन्ध विच्छेद मुद्दामा सुरू कास्की जिल्ला अदालतको मिति २०६६।११।११ को फैसाला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत पोखराबाट मिति २०६७।१०।०४ मा फैसला भई सुरू मिसिल प्राप्त भएको देखिँदा प्रस्तुत मुद्दा मुलतबीबाट जगाई देवानी दायरीमा दर्ता गरी मुलतबी रहँदाका अवस्थामा तारेखमा रहेका पुनरावेदकलाई झिकाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।६।९ को आदेश ।

दुवै पक्षबाट पुनरावेदन पर्न आएको देखिँदा सो पुनरावेदनपत्र अ.बं. २०२ नं. को प्रयोजनार्थ परस्पर एकअर्कालाई जानकारी गराई पेस गर्नु भन्ने मिति २०७३।१२।१६ को यस अदालतको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र विद्वान् अधिवक्ता श्री विशेश्वर ढकालले वादी ताराबहादुर थापा ब्रिटिस सेनामा भर्ती भई कमाएको रूपैयाँ श्रीमतीका नाउँमा पठाई सोही रकमबाट प्रतिवादीले विवादको कि.नं.१८१ समेतका जग्गा खरिद गरेको र  घर बनाएको हो; वादीको आयस्रोत, मिसिल संलग्न प्रमाणबाट देखिइरहेको अवस्था छ; तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिमा वादीको अंश हक हुने हुँदा कि.नं. १८१ को जग्गा बण्डा नलाग्ने गरी भएको पुनरावेदन अदालतको फैसला सो हदसम्म उल्टी गरी तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्ति बण्डा लगाइनुपर्दछ भनी बहस जिकिर गर्नुभयो । पुनरावेदक प्रतिवादी मनु थापाको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री सपना सुवेदीले प्रतिवादीले विदेशमा रहँदा पनि रोजगार गरी आय आर्जन गरेको; नेपालमा रहँदा पनि विद्यालयमा पढाउने तथा अन्य रोजगारीका कार्यहरू गर्ने गरेको हुँदा निजी आर्जन प्रशस्त रहेको; प्रतिवादीले जग्गा खरिद गर्दा वादीले कुन कति रकम प्रतिवादीलाई दिएको भनी खुलाउन नसकेको; विवादको कि.नं. १८१ को जग्गा माइतीतर्फको दाजुबाट हालैको बकसपत्रबाट प्राप्त भएको मिसिल कागजातबाट देखिएको अवस्थामा वादीले सो जग्गाबाट अंश पाउने होइन; पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो । 

अब यसमा पुनरावेदन अदालत पोखराको मिति २०६३/३/११ को फैसला मिलेको छ वा 

छैन ? कि.नं. १८१ बण्डा लाग्ने हो वा होइन ? वादी तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, पुनरावेदक वादी प्रतिवादी अंशियार रहेको, निजहरूका बिच अंशबण्डा हुन बाँकी रहेको, दुईवटी छोरीसहित चार जना अंशियार रहेकोसमेतका कुरामा विवाद नदेखिएको हुँदा सो हदसम्म थप विवेचना गरिरहन परेन । वादीले विदेशमा रोजगारीमा रही कमाएको सम्पत्तिबाट श्रीमतीको नाममा जग्गा जमिनलगायतका सम्पत्ति जोडेको हुँदा तायदातीमा उल्लेख भएको सबै सम्पत्तिबाट एक भाग अंश पाउनुपर्दछ भनी दाबी गरेको देखिन्छ । प्रतिवादी मनु थापाले कि.नं. १८१ को जग्गा बकसपत्रबाट प्राप्त गरेको हुँदा सो जग्गाबाट वादीले अंश पाउने होइन भनी जिकिर गरेको पाइयो । तसर्थ, उल्लिखित जग्गाबाट वादीले अंश पाउने हो वा होइन भन्ने विषयमा केन्द्रित रहेर निर्णय दिनुपर्ने हुन आएको छ ।

३. वादी ताराबहादुर थापा लामो समय बेलायती सैनिक सेवामा रहेको र अवकाशपछि बेलायतबाट फर्किएर आई जापानमा रोजगारीका लागि गएको र काम गरेको तथ्यमा विवाद 

देखिँदैन । वादीले कमाई गरेको सम्पत्ति प्रतिवादीका नाममा पठाएको र सोही रकमले प्रतिवादीको नाममा सम्पत्ति जोडिएको भन्ने वादीको जिकिरमा विश्वास गर्नु नपर्ने कुनै उचित कारण खुलाइ प्रतिवादीतर्फबाट जिकिर गरिएको पाइएन । वादी ताराबहादुर थापा बेलायती सेनामा कार्यरत रहँदाको अवस्थामा निजकी श्रीमती मनु थापाको नाममा मिति २०४६/१०/१५ मा जग्गा प्राप्त गरिएको देखिन्छ । प्रतिवादी मनु थापाले कि.नं. १८१ को विवादित घर जग्गा बाबुले दिएको पैसा, आफूले विदेशमा कमाएको रकम तथा नेपालमा शिक्षक पेसा गरी कमाएको रकमबाट आर्जन गरेको स्त्री अंशधनअन्तर्गतको सम्पत्ति हो भनी जिकिर गरेको देखिन्छ । निजको उक्त जिकिरबाट नै उक्त कि.नं. १८१ को जग्गा बकसको रूपमा पाएको होइन भन्ने तथ्य समर्थित भएको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार एकाघर सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा सम्पत्ति रहेको भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने हुन्छ । यसरी गरिने अनुमान खण्डन गर्ने दायित्वसमेत सम्पत्ति निजी हो भनी दाबी गर्ने पक्षमा नै रहन्छ । “निजी आर्जनको सम्पत्ति हुन लिखतको अतिरिक्त व्यवहार प्रमाणबाट पनि निजी आर्जनको स्पष्ट देखिनुपर्ने” भनी यस अदालतबाट मोदनारायण मिश्रको मुद्दा लगायत अन्य कतिपय मुद्दाका सन्दर्भमा व्याख्या भएकोसमेत देखिन्छ । यस दृष्टिले हेर्दा उल्लिखित घर र जग्गालाई प्रतिवादी मनु थापाले आफूखुस गर्न पाउने निजी वा स्त्री अंशधनअन्तर्गतको सम्पत्ति रहेछ भनी मान्न मिलेन ।

४. मुलुकी ऐन, अंशबण्डाको महलको १८ नं.बमोजिम “कसैवाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं.बमोजिम पाएको सम्पत्ति” निजी मानिने र आफूखुश गर्न पाउने हुन्छ । विवादित जग्गा मनु थापाले व्यवहारमा सहयोग गरेको आधारमा जग्गादाता प्रतापराज श्रेष्ठले बकसपत्र गरेर दिएको भन्ने बेहोरासम्म बकसपत्र लिखतमा लेखिएको देखिन्छ । तर निज मनु थापाले दातालाई व्यवहारमा सहयोग गरेको, रिझाएको वा त्यसप्रकारको अवस्था र सम्भावनासम्म पनि रहेको देखिँदैन । निज जग्गादातासँग प्रतिवादी मनु थापाको जग्गा नै बकस गरेर दिने-लिनेसम्मको कुनै नाता सम्बन्ध रहेको अवस्था पनि देखिएन । मितबैनी भनी लिखतमा लेखाएको कुरालाई नै सही सद्दे रूपमा वास्तवमा नै बकसपत्रको व्यवहार भएको मान्ने निश्चयात्मक आधार मान्न सकिने अवस्था 

देखिँदैन । बकसपत्रको व्यवहार भएको कुरा अन्य प्रमाण तथा व्यवहारबाट समर्थित हुन आएको पाइएन । केवल जग्गा लिँदा बकसपत्रको लिखत गरिएकोसम्मको कारणबाट मात्र सो सम्पत्तिलाई निजी तवरले आर्जन गरेको भनी मान्न मिल्ने हुँदैन ।

५. विवादित कि.नं. १८१ को जग्गा बकसपत्रबाट प्राप्त गरिसकेपछि सो जग्गामा यिनै वादी प्रतिवादीहरूको सामूहिक प्रयास र लगानीमा घर निर्माण भएको देखिन्छ । सो घर प्रतिवादी मनु थापाको निजी आर्जनबाट निर्माण गरेको भनी देखिने कुनै विश्वसनीय वा भरपर्दो प्रमाण पेस हुन आएको 

देखिँदैन । प्रमाणबाट घर सगोलको लगानीबाटै बनेको देखिन आएको छ । सगोलमा रहँदा सामूहिक प्रयासबाट आर्जित सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने हुन्छ । यदि सम्पत्तिको केही भाग निजी थियो भने पनि त्यसलाई सामूहिक सम्पत्तिमा मिसाइयो भने (Blended in common stock) सो सम्पत्तिलाई सबै अंशियारको अंश हक लाग्ने सगोलको सम्पत्ति भनी मान्नुपर्ने हुन्छ । यसरी सगोलको सम्पत्तिमा मिसाइएको अवस्थामा निजी आर्जनको सम्पत्तिले समेत सगोलको सम्पत्तिको स्वरूप धारण गर्न पुग्दछ । यस दृष्टिले विचार गर्दासमेत कि.नं. १८१ को जग्गा र सो जग्गामा रहेको घरसमेतबाट वादीले अंश पाउने नै देखिन आयो ।

६. अतः कि.नं. १८१ को जग्गा बण्डा नलाग्ने भनी गरिएको पुनरावेदन अदालत पोखराको मिति २०६३/३/११ को फैसला केही उल्टी हुन्छ र कि.नं. १८१ को जग्गा, सो जग्गामा रहेको घरलगायत तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश दिलाई चलनसमेत पाउने ठहर्छ । प्रतिवादी मनु थापाको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरू तपसिलबमोजिम गर्नू :

तपसिल 

१. माथि ठहर-खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भई कि.नं. १८१ मा रहेको घर जग्गासमेत बण्डा लाग्ने ठहरेकोले सोसमेतका तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट ४ भागको १ भाग अंश वादीलाई छुट्याइदिनु भनी सुरू कास्की जिल्ला अदालतमा लेखी पठाइदिनू ।

२. सुरू कास्की जिल्ला अदालतको फैसलाअनुसार वादीले दाखेल गर्नुपर्ने नपुग कोर्ट फी प्रतिवादीले पुनरावेदन गर्दा पुनरावेदन अदालतमा र.नं. १६८४ मिति २०६१।३।२२ मा रू. ६६७५।- दाखेल गरेको देखिँदा सो रकम सदर स्याहा गर्नु भनी उच्च अदालत पोखरामा लेखी पठाइदिनु र वादीले यस अदालतमा र.नं. ५६३ मिति २०६३।८।२४ बाट दाखिल गरेको कोर्ट फी रू. ४५७०।- नियमानुसार वादीलाई फिर्ता दिनू ।

३. प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रू.१००१।२५ जफत हुन्छ, सदर स्याहा गर्नू ।

४. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी, फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।    

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत:- रूद्रप्रसाद अर्याल 

इति संवत् २०७७ साल फागुन १७ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु