शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४१४ - जग्गा खिचोला दर्ता बदर

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४१४ ने.का.प. २०४५      अङ्क ४

 

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको दे.पूर्णइजलास नं. ८२

फैसला भएको मिति : २०४५।२।३२।३ मा

 

निवेदक/वादी : नुवाकोट, वेलकोट गा.पं.वा.नं.५ बस्ने तीर्थबहादुर थपलिया

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने होमनाथ मुडवरी मरी मुद्दा सकार गर्ने ऐ.को श्रीमती ऐ.ऐ बस्ने गोकुलकुमारी मुडभरी

 

मुद्दा : जग्गा खिचोला दर्ता बदर

 

(१)                 झगडा परेको जग्गा वादी दावीको ४ किल्लासंग मिली भिडेको देखिने, प्रतिवादीको किल्लासंग भिडेको नदेखिने यस्तो स्थितिमा विवादको जग्गा वादीको राजीनामाको जग्गा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीका नाममा ७ नं. नापी गोश्वाराले दर्ता गरेको दर्ता बदर हुने ।

(प्रकरण नं.  १२)

 

निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गान्धी पण्डित

 

फैसला

न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको निर्णय दोहोर्‍याई पाउँ भनी तीर्थबहादुर थपलियाले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनपत्रहरू र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४२।५।१९।४ को पत्र तथा पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई दिनु हुकूम बक्सेको छ, भनी मौसुफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।६।७ मा लेखी आई पूर्णइजलासको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ :

२.     विर्ता जग्गा हुँदा हाल वेलकोट गाउँपञ्चायत मार्फत नुवाकोट मालमा बुझाउनु पर्ने हो सो मालमा विर्तातर्फको लगत नं. ६३ मा दाता उत्तरकुमारी खसम देवदत्त पनेरुका नाममा दर्ता भई निज देवदत्त वितेपछि यी उत्तरकुमारीको हक भई देवदत्तका नामबाट उत्तरकुमारीले आफ्नो नाममा नामसारी दर्ता गरी भोगचलन गरिआएको पूर्व भवनाथको खेत भनी  लेखिएको विष्णुप्रसादको खेत पश्चिम २ खोलाको दोभान उत्तर वेतनी खोलाको दक्षिण भवनाथको खेत भनेको विष्णुप्रसादको खेत ५।। मध्येसिहान खण्डतर्फ रोपनी २।।। विष्णुप्रसादले र पुच्छर खण्डतर्फको रोपनी २।।। प्रचलित तिरो रु.६।७१ लागेको सिमले भन्ने खेत कित्ता १ नुवाकोट जिल्ला मदानपुर गाउँपञ्चायत पाखुरे बस्ने उत्तरकुमारी पनेरुबाट मौखिक शर्तमा लेखाए बमोजिम खाने गरी विष्णुप्रसादले रु.५००। र मैले रु.५००। समेत एउटै राजीनामाबाट मिति २०३१।१०।९ मा रु.१०००। मा २०३१ सालको बाली देखिलाई जोताहाको अस्थायी निस्सा समेत सौम्पि राजीनामा पारित गरी लिई मेरो हक हुन आई यो २०३४ सालको समेत सालसालै स्थानीय वेलकोट गाउँपञ्चायत समेतमा तिरो तिरी रसिद प्राप्त गरिआएको मेरो हकको जग्गामा सबूद प्रमाणको अलावा नापी टोली नं. ५ फिल्डबुक भरी कि.नं.२२१ लेखाउनु देखाउनु गरी लालपूर्जा प्राप्त गर्ने अवस्थामा विपक्षीले विर्तावार सूर्यजंग समेतको जिम्मावाला तोरणबहादुर मार्फत विर्तावाललाई तिरो बुझाई आएको ०१३ साल देखि विर्तावारले खोजी नगरेकोले मेरो नाममा रैकरमा परिणत गरेको जग्गा मेरा नाममा दर्ता गरिपाउँ भनी ७ नं. नापी गोश्वारामा उजुरी निवेदन गरेको कुरा प्रकाशमा आई विपक्षीका नाममा दर्ता होस् भनी उक्त गोश्वारामा मेरो उजुरी परी कारवाही चल्दै जाँदा आखिर मिति २०३५।१।७ मा आएर जग्गा नाप जाँच ऐनको दफा ६ को उपदफा (७) अनुसार होमनाथको प्रमाण बलियो देखिएकोले गा.पं. वेलकोट गा.पं. वडा नं. ५ को कि.नं.२२१ निजका नाममा अस्थायी दर्ता गरिदिने गरी पर्चा गरिदिएको छ । सो न्यायसंगत नहुँदा मेरो हकको जग्गालाई सो जग्गा देखि करीव २०० गज फरकको हेरफेरमा रहेको जग्गाको नाताले विपक्षीले आफ्नो जग्गा भनी लिखत खिचोला गर्नुभएकोले विपक्षीको परिणत दर्ता र त्यसैको माध्यम बाट ना.गो.ले गरेको पर्चा बदर गरी सो लिखत खिचोला समेत मेटाई पाउँ भन्ने वादी दावी रहेछ ।

३.     वादीले दावी लिनु भएको उक्त जग्गाको सबूद प्रमाण पेश गर्न सक्नु भएको छैन । देवदत्त पनेरुकी श्रीमती उत्तरकुमारीबाट विपक्षी र विष्णुप्रसादले लिएको जग्गा दुबैको ४ किल्ला एउटै राखी दर्ता गराएको दर्तालाई कानूनी दर्ता भन्न मिल्दैन र वादीले दाङमै कालीका गा.पं. जिम्मा भूमिकर लागेको जग्गा राजीनामा गरी लिएको जग्गाले मेरो वेलकोट गा.पं. जिम्माको लगतमा मेरा नाममा दर्ता भएको जग्गामा वादी देवदत्तको जग्गा भनी दावी लिएको मिल्दैन नुवाकोट जिल्ला वेलकोट गा.पं. वडा नं. ५ तल्लोती गाउँ बस्ने गंगाप्रसाद र वादीको दाताको छोरा इन्द्रप्रसाद र विष्णुप्रसाद समेतको जग्गा मुद्दामा बागमती अञ्चल अदालतबाट नक्शा हुँदा झगडा परेको जग्गाको उत्तर सीमाना म प्रतिवादीको जग्गा भनी देखाएबाट वादी दावीको जग्गा मेरो हो भन्ने प्रष्ट छ । सो जग्गा वादीका दाताका छोरा इन्द्रप्रसाद समेतको मुद्दा परी जिल्ला अदालतबाट निज हार्नु भएको सो हारेको जग्गा र मेरो समेत किल्ला भित्र पारी उत्तरकुमारीले विपक्षीलाई राजीनामा गरिदिन मिल्दैन र नुवाकोट जिल्ला अदालत वेलकोट पाखुरे बस्ने हरिदत्त ढकालको र देवदत्तको एकाघरको दाजु भवनाथ पनेरु समेत भएको तिरो दपोट मुद्दामा निज भवनाथले बयान गर्दा सिमले मध्ये माटो ।।१२।१० शेरजंग सूर्यजंग थापाको विर्र्ता जग्गा र म मोही भन्ने उल्लेख छ । सो जग्गामा जग्गा दपोट नठहरी विर्ता नै ठहरी नुवाकोट मालबाट मिति २०२४।७।२१ मा फैसला समेत भएको हुँदा मेरो दर्ताको विर्ता जग्गाको सबूद पेश गर्न नसकेको भन्ने वादी दावी निराधार छ र मेरो दर्ताको जग्गा पूर्व टिकादत्त पश्चिम ठाडो खोल्सी उत्तरपट्टी खोला भनेको वेतुनी खोला दक्षिण सिमले भनेकोमा हाल कुलो छ । सो किल्ला भित्रको मध्ये पूर्व धर्मदत्तको साँध पश्चिम दशरथ खोल्सो उत्तर बेतनी खोला दक्षिण नन्दप्रसाद गंगाप्रसादको खेत समेत ४ किल्लाभित्रको शेरजंग थापाको विर्ता जग्गाको म मोही भई कमाएको जग्गा हुँदा विर्ता उन्मूलन ऐन, २०१६ (संशोधित २०२४) को दफा ७ ले तोकि दिएको म्याद भित्र विर्तावालाले दर्ता नगर्नु भएबाट उक्त ऐनको दफा  ७ को उपदफा (४) बमोजिम मैले आफ्नो नाममा खोलाले लगी बाँकी रहेको सिमले खेत माटो मुरी ।१० दर्ता गरी ०१६ साल देखि भूमिकर बुझाई सो भन्दा अघि बाबुको पालादेखि विर्तावालाको तालुकदार रहेको बखत निजलाई नभए विर्तावालालाई आएस्ता वादी बुझाई अवछिन्न भोगचलन गरिआएको छु । भूमिसम्बन्धी ऐन, २०२१ को नियमबमोजिम १४ र १ नं. फाराम समेत लिएको हुँदा हाल सर्भे नापीमा मेरा नाममा दर्ता छ । विपक्षीले भोगचलन गर्न सक्नु भएको छैन । अतः यो जग्गा मैले नै खिचोला गर्‍यो भन्न मिल्दैन । वादी दावी झुठ्ठा हो भन्ने प्रतिउत्तर जिकिर रहेछ ।

४.     जग्गामा प्रतिवादीकै बलियो प्रमाण देखिँदा प्रतिवादीले जग्गा खिचोला गर्‍यो खिचोला मेटाई पाउँ परिणत दर्ता गर्‍यो सो दर्ता बदर गरी ७ नं. नापी कार्यालयबाट निजकै नाममा दर्ता गर्ने गरी गरिएको पर्चा निर्णय समेत बदर गरिपाउँ भनी वादी दावीमा प्रमाणित पुष्टि गर्न नसकेकोले वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने विशेष अदालत नुवाकोटको फैसला ।

५.     उक्त फैसलामा चित्त नबुझी वादी तीर्थबहादुर थपलियाको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

६.     वादीले फिरादमा रो. २१२० मेरो जग्गा भन्ने उल्लेख गरी फिराद दिएको र निजले वेल्कोट गा.पं. बाट लिएको रसिदमा जग्गा २।। मात्र जनिएकोले रसिदबाट दावा पुष्टि हुन आएन । विवादको जग्गामा वादीको भोग देखिएन । प्रतिवादीको रसिद जोताहा अस्थायी निस्सा र निजको प्रतिवादी जिकिर अनुसार कर्णेल शेरजंगको तहविलबाट बाली बुझाई लिएको ०११।०१२ सालको रसिदबाट समेत प्रतिवादीकै भोग रहेको पुष्टि हुनआएकोले विवादको हाल नापीबाट कायम हुनआएको कित्ता नम्बर २२१ को जग्गामा प्रतिवादीको हक भोग रहेको र दर्ता प्रमाण समेतबाट कानूनी स्वामित्व समेत प्रतिवादीकै देखिन आयो । नक्शाको किल्लामा दुबै थरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा प्रतिवादीको जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारमा उल्लिखित किल्लाबाट समेत प्र.कै किल्ला मिल्न भिड्न आएको यथार्थ रुपबाट प्रमाणित हुनआएकोले शुरु विशेष अदालतको फैसलामा लेखिएको सबूतप्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने ठहराएको उक्त विशेष अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति २०३८।११।१० को फैसला रहेछ ।

७.     उक्त इन्साफमा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा वादी दावीको जग्गा ल.नं. ६३ मा वादीका दाताका लोग्ने देवदत्तका नाममा मिति २०३०।७।१५ मा रैकरमा परिणत भई सो जग्गा उत्तरकुमारीबाट मिति २०३१।१०।९ मा वादीले रजिष्ट्रेशन पास गरी खरीद गरिलिएको देखिन्छ । उक्त जग्गा विर्ता जग्गा हो भन्ने कुरामा विवाद देखिन्न वादीको दाता विर्तावाला उत्तरकुमारी नबुझी वादी दावी पुग्न नसक्ने ठहराएको विशेष अदालतको फैसला मनासिव ठहराएको म.क्षे.अ.को फैसलामा अ.बं. १३९ नं. अनुसार जग्गा मिच्नेको १८ नं. र लेनदेनको व्यवहारको ४० नं. समेतको प्रत्यक्ष कानूनी त्रुटी भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मिति २०४०।१।११।१ को आदेश ।

८.     विशेष अदालतको फैसलामा लेखिएको सबूद प्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ सदर गरेको म.क्षे.अ.बाट भएको २०३८।११।१०।१ को इन्साफ मनासिव ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।९।१३।५ को फैसला ।

९.     श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकूम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।६।७ मा लेखी आएको पत्र  साथ प्राप्त न्यायिक समितिले मुद्दा दोहोराउन जाहेर गरेको सिफारिश पर्चाको प्रतिलिपिमा प्रस्तुत मुद्दाको विवादको जग्गा विर्ता जग्गा भएको र निवेदक तीर्थबहादुर थपलियाका दाता उत्तरकुमारीका पति देवदत्त पनेरुका नाममा २०१६।१२।८।२ को परिणत निवेदन बमोजिम मिति २०३०।७।१५ मा ल.नं. ६३ दर्ता रैकरमा परिणत भई निज देवदत्त बितेपछि देवदत्तका नामबाट उत्तरकुमारीले आफ्नो नाममा नामसारी दर्ता गरी भोगचलन गरिआएको जग्गा मध्ये २।।। जग्गा मिति २०३१।१०।९ मा तीर्थबहादुर थपलियाले राजीनामा गरी लिएको र यस मुद्दाका प्रतिवादीको नाममा मिति २०३३।१०।१६ मा परिणत दर्ता भएको देखिन्छ । यसबाट निवेदक तीर्थ बहादुरका दाताको नाममा भएको दर्ता निर्विवाद रुपमा पहिलो दर्ता देखिएको र सोही जग्गा मध्ये तीर्थ बहादुर थपलियाले राजीनामा पारित गरी लिएपछि निजको दर्ता जेठो देखिन्छ । पहिलो दर्तालाई मात्र कानूनी मान्यता प्राप्त हुने भनी यस्तै किसिमको अन्य दे.वि.नं. १००, ९९, १०१, ५११, ९८, ५१० का मुद्दाहरूमा सर्वोच्च अदालतको एउटै डिभिजनबेञ्चबाट एउटै मितिमा निर्णय भएको र साथै वादी गंगाप्रसाद पनेरु भएको दे.वि.नं. ९८ को मुद्दामा दाता उत्तरकुमारीले दर्तालाई मान्यता दिएर सर्वोच्च अदालतले फैसला गरेको देखिन्छ । यस मुद्दामा मात्र वादीतर्फको २०३० सालको दर्तालाई मान्यता नदिई ०३३ सालको प्रतिवादीको दर्ता भनिएकोलाई कानूनी मान्यता दिइएकोले विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ को समेत प्रतिकूल गरी एउटै मितिमा एउटै बेञ्चबाट परस्पर प्रतिकूल हुने गरी निर्णय भएको मिलेको देखिएन । दे.वि.नं. ९८ को जग्गा खिचोला मुद्दामा ईन्द्रप्रसादको हक भएको देखाई सर्वोच्च अदालतबाट फैसला भएको छ सो जग्गा पनि नुवाकोट मालको विर्तातर्फ लगत नं. ६३ मध्यकै उत्तरकुमारीको नाम दर्ताको जग्गा भएकोमा एउटै लगत र कित्ताको जग्गामा एउटै दर्तालाई एक मुद्दामा पहिलो मितिको मानी निर्णय हुनु र अर्को मुद्दामा पहिलो दर्तालाई मान्यता नहुनुबाट एउटै प्रश्नमा दुईवटा भिन्नभिन्न निर्णय हुन गएकोले त्रुटिपूर्ण देखिएको छ भन्ने उल्लेख भएको छ ।

१०.    निवेदक वादीतर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादको जग्गा २०१६ सालमा रैकर परिणत गरिपाउँ भन्ने निवेदन बमोजिम २०३० सालमा देवदत्तको नाममा दर्ता भएको २०३१ सालमा देवदत्तका नामबाट निजको श्रीमती उत्तरकुमारीका नाममा नामसारी भई निजबाट वादीले खरीद गरी लिएको लगत नं. ६३ को जग्गा हो । सो लिखत बदरमा कसैको उजूर परेको छैन । नक्शाबाट समेत ४ किल्ला भिड्छ । तसर्थ विवादको जग्गा वादीको भन्ने प्रष्ट देखिएको छ । वादीका दाताको २०३० सालको दर्तालाई मान्यता दिई यही वादीका दाताको छोरा इन्द्रप्रसाद पनेरु प्रतिवादी नन्दप्रसाद पनेरु समेत वादी भएको २०३९ साल दे.वि.नं. ९८ को जग्गा खिचोला मुद्दामा प्रस्तुत मुद्दा निर्णय भएकै इजलासबाट निर्णय भएको छ । प्रस्तुत मुद्दामा सो २०३० सालको दर्तालाई मान्यता नहुने भनी गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मिलेको छैन । बदर हुनु पर्दछ, भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गान्धी पण्डितले विवादित जग्गा प्र.तर्फबाट २०३३ सालमा रैकरमा परिणत गरेको ९ नं. लगतको हो । वादीले २०३० सालमा रैकरमा परिणत गरेको ल.नं. ६३ को जग्गा विवादको जग्गा होइन । प्रतिवादीको ४ किल्लासँग विवादको जग्गा भिड्छ वादीको ४ किल्लासंग भिड्दैन तसर्थ सबूद प्रमाण समेतको आधारमा शुरुदेखि सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको निर्णय मिलेकै हुँदा सदर हुनु पर्दछ, भन्ने समेत बहस गर्नुभयो ।

११.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१२.    यसमा निर्णयतर्फ हेर्दा २०३० सालमा रैकर परिणत भई ल.नं. ६३ मा देवदत्त पनेरुका नाममा दर्ता भई निजका श्रीमती उत्तरकुमारीका नाममा नामसारी भएको जग्गा राजीनामाबाट हक भई नापीमा कि.नं.२२१ मा लेखाई देखाई गरेको भनी विवादको जग्गामा वादीले दावी लिएको देखिन्छ । सो वादी दावीको २०३० सालमा देवदत्त पनेरुको नाममा परिणत दर्ता भएको दर्तालाई पहिलो दर्ता भएको आधारमा मान्यता दिई प्रतिवादीको दर्तालाई मान्यता नदिई निवेदक वादी गंगाप्रसाद नन्दप्रसाद पनेरु विपक्षी प्रतिवादी इन्द्रप्रसाद पनेरु भएको २०३९ सालको दे.वि.नं. ९८ को जग्गा खिचोला मुद्दा एक, निवेदक वादी होमनाथ पनेरु विपक्षी प्रतिवादी इन्द्रप्रसाद पनेरु विष्णुप्रसाद पनेरु समेत भएको २०३९ सालको दे.वि.नं. ९९ को जग्गा खिचोला मुद्दा एक, निवेदक वादी धर्मदत्त पनेरु विपक्षी प्रतिवादी इन्द्रप्रसाद पनेरु समेत भएको २०३९ सालको दे.वि.नं. १०१ को जग्गा खिचोला मुद्दा एक, निवेदक वादी तोरणबहादुर पाण्डे क्षेत्री विपक्षी प्रतिवादी देवनाथ पनेरु भएको २०३९ सालको दे.वि.नं. १०० को जग्गा खिचोला मुद्दा एक, समेतमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०४१।९।१३ मा निर्णय भई अन्तिम रुपमा रहेको पाइन्छ । सो प्रमाणको मुद्दामा भएको अन्तिम फैसलाबाट वादीले उत्तरकुमारीबाट राजीनामा गरी लिएको जग्गाको देवीदत्त पनेरुको नामको रैकर परिणतलाई मान्यता दिनु पर्ने देखिन आयो । विवादको कि.नं.२२१ को जग्गामा वादी दावीको किल्ला नभिड्ने भन्ने हकमा म.क्षे.अ.बाट गराइएको मिति २०३८।९।२९ गतेको नक्शाको पूर्व किल्लामा वादीले भवनाथको र विष्णुप्रसादको भनेकोमा प्रतिवादीले धर्मदत्तको भनेकोमा निज धर्मदत्त पनेरु वादी ईन्द्रप्रसाद र विष्णुप्रसाद पनेरु प्रतिवादी भई चलेको २०३९ सालको दे.वि.नं. १०१ को जग्गा खिचोला मुद्दामा प्रतिवादीहरूको हक देखिएकोले वादी दावी नै नपुग्ने ठहरी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४१।९।१३ मा अन्तिम फैसला भई प्रतिवादी जिकिर बमोजिम धर्मदत्तको कायम नभई विष्णुप्रसाद समेतको कायम भइराखेको देखिन्छ । यस्तै दक्षिण किल्लामा पनि वादीले आफ्नो दावी बमोजिम भवनाथ र विष्णुप्रसादको खेत भनेको प्रतिवादीले नन्दप्रसाद र गंगाप्रसादको खेत भनेकोमा निज नन्दप्रसाद र गंगाप्रसाद वादी र ईन्द्रप्रसाद विष्णुप्रसाद प्रतिवादी भएको २०३९ सालको दे.वि.नं. ९८ को जग्गा खिचोला मुद्दामा वादीको जिकिर बमोजिम विष्णुप्रसादकै कायम भई सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४१।९।१३ मा फैसला भई अन्तिम रुपमा रहेको प्रमाण मिसिल समेतबाट निवेदक वादीले दावी लिएको किल्ला कायम हुनआएको पाइन्छ । पश्चिम किल्ला वादीले दुई खोलाको दोभान भनेकोमा प्रतिवादीले दशरथ खोला भनेको नक्शाबाट न.नं. २ को दशरथ खोलाको नजिक सिंहानमा न.नं. ३ को दोभान देखिएको उत्तर किल्ला वेतनी खोला देखिएकोले समेत सो झगडा परेको न.नं. ५ को जग्गा वादी दावीको ४ किल्लासँग मिली भिडेको देखिन्छ । प्रतिवादीको किल्लासँग भिडेको   देखिन्न । यस्तो स्थितिमा विवादको कि.नं.२२१ अर्थात् झगडाको न.नं. ५ को जग्गा वादीको राजीनामाको जग्गा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीका नाममा ७ नं. नापी गोश्वाराले दर्ता गरेको दर्ता बदर हुने ठहर्छ ।

१३.    वादी दावी नपुग्ने ठहर्‍याएको शुरु (विर्ता जग्गा सम्बन्धी मुद्दा हेर्ने) शुरु विशेष अदालत नुवाकोट र म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।९।१३ गतेको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

निवेदक वादी तीर्थबहादुर थपलियाके निजले फिराद गर्दा राखेको कोर्ट फी रु.४५।अरु दस्तुर रु.५ ।क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.३। यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.६।७५  र मुद्दा दोहोर्‍याई ल्याउँदा राखेको कोर्ट फी रु.४।५० समेत जम्मा कोर्ट फी अरु दस्तुर रु.६४।२५ विपक्षी प्रतिवादीबाट भराई पाउँ भनी प्रतिवादीको जायजात देखाई ऐनका म्यादभित्र वादीको दर्खास्त परे दस्तुर केही नलिई वादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु............................................१

मिसिल नियमबमोजिम गरी बुझाई दिनु.......................२

 

उक्त रायमा हामीहरूको सहमत छ ।

न्या.गजेन्द्रकेशरी बास्तोला,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल ज्येष्ठ ३२ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु