शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४१६ ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४३ सालको रिट नं. २५३७

आदेश भएको मिति : २०४५।२।२४।२ मा

 

रिट निवेदिका : सुनसरी, सिमरीया गा.पं. वडा नं. ७ बस्ने जिमिदारनी देवी थरुनी

विरुद्ध

विपक्षी : का.मु. भूमिसुधार अधिकारी, भू.सु.का.सुनसरीसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)                 अधिकार प्राप्त अधिकारीले सबूद प्रमाणको मूल्यांकन गरी अधिकार क्षेत्र भित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं.  १०)

 

रिट निवेदककोतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.     सुनसरी जिल्ला सिमरिया गा.पं. वडा नं. ८(ख) कि.नं.७ को भीट अवल ज.वि. ०१३ र ऐ.ऐ कि.नं.८ को धनहर दोयम ज.वि. ०१७१३ १/३ समेत जग्गाको विपक्षीको पति मोही भएको । भिट अवल जग्गा मध्ये ०० मा बाँस भएको, कूत पनि नबुझाएको धरौट पनि नराखेको ०१३/३ को विगहा १ को पटुवा मन ७ १/३ ले हुने पटुवा मन ११२७ को पटुवा मन १ को रु.४५०।ले हुने ६९९।१५ र धनहर दोयम जग्गा ०१७१३ १/३ को विगहा १ को ११ १/३ मनले धान मन १०७ दिए, धान पटुवा नदिए धान मनको रु.९४।हुने रु.९५२।७५ समेतले हुने रु.१६५१।९० दिलाई भराई मोहीबाट निष्काशन गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षीको ०४१।१२।२६ को दावी । म्यादै भित्र बजार दर भाउले हुने रु.११४८।६५ वादीले बुझ्न इन्कार गरेबाट सिमरिया गा.पं. मा धरौट राखेको छु भन्ने समेत व्यहोराको मेरो प्रतिवाद । वजार भाउ प्रति मन रु.९०। ले हुने रु.११४८।६५ मिति ०४१।१२।३० मा गा.पं सिमरियामा धरौट रहेको ०४१।१२।२६ मा ज.ध.लाई जनाउ दिएको भन्ने समेत गा.पं. को पत्र । विपक्षी मोहीले कानून बमोजिम भिट अवलको पटुवा मन ७ १/३ प्रति विगहा १ को बुझाउनु पर्ने मोहीको कर्तव्य हुन आउँछ । तर प्र. मोही जिमिदारनी देवी थरुनीले कानून बिपरीत सबै जग्गाको प्रति विगहा १ को प्रति मन ११ १/३ को दोयम जग्गाको हिसाव गरी धरौट राखेको देखियो । मिसिल संलग्न प्रमाणको आधारमा वादी जग्गाधनीले भीट अवल ०१३ का पटुवार र धनहर दोयम ०१७१३ १/३ जग्गाको कानून बमोजिम कूत रु.१४३५ । पाउनु पर्नेमा  सिमरिया गा.पं. को पत्रबाट मोहीले ११४८।६५ मात्र धरौट राखेको छ भन्ने देखियो । अतः जग्गावालाले पाउने कूत बापतको बिगो रु.१४३५।को सयकडा ९०प्रतिशत ले हुने रु.१२९१।५० भन्दा पनि कम रु.११४८।६५ मात्र प्रतिवादी मोहीले धरौट राखेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश अनुसार कूत बुझाएको ठहर्दैन । सो नठहरनाले ऐनको दफा २९ को उपदफा (१) अनुसार उक्त दुबै कित्ता जग्गाबाट प्रतिवादी मोही निष्काशन हुने ठहर्छ भनी विपक्षी अधिकारीज्यूले मिति २०४३।१।१४ मा निर्णय गर्नु भएबाट प्रस्तुत रिट निवेदन गर्न आएकी छु ।

३.     नेपाल राजपत्र भाग ३ आश्विन २९ गते २०३० सालमा श्री ५ को सरकार भूमिसुधार मन्त्रालयको सूचनाले कूतको दर तोकेको छ जस अनुसार प्रति विगहा भीट अवलतर्फ मकै प्रति विगहा ८ मन २० शेर र धनहर दोयम जग्गामा धान प्रति विगहा ११ मन २० शेर तोकेको छ मैले म्यादभित्र कूत धरौट राखेको भन्ने कुरामा विवाद छैन । कानूनले निर्धारित कूतको हुने रकम धरौट राखेको छु ०४१ सालको बजार भाउ धान मनको रु.९०।मकै मनको ८०।छ यस्तोमा समेत पटुुवा बुझाउने पर्ने कर्तव्य हुने भनी गरिएको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ग) को प्रतिकूल रहेबाट बदरभागी छ । कानून बमोजिम पाउने कूतको हिसाब गरिएको खण्डमा मैले राखेको धरौट ९० प्रतिशत भन्दा कम छैन । किनकी दर रेटको अनुपात रहेकै हो भने मकै र पाटाको भाउको अन्तर पाँच दोवरमा फरकमा छ । यस अवस्थामा भू.सु. अधिकारीबाट गरिएको निर्णयमा भू.सु. ऐनको दफा ३६(३) को प्रतिबन्धात्मक वाक्याँशको समेत प्रत्यक्ष त्रुटी छ । अतः उक्त त्रुटिपूर्ण निर्णयबाट निवेदकलाई संविधानको धरा १०(१), ११(२)(ङ) द्वारा प्रदत्त गरेको हकमा आघात पारेको हुनाले उत्प्रेषण लगायतको आदेश जारी गरी उक्त त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.     विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति ०४३।३।३१।३ को आदेश ।

५.     अधिकार प्राप्त अधिकारीले प्रमाणको मूल्यांकन गरी कानून अनुसार गरेको निर्णयमा दावी अनुसार रिट जारी हुनु पर्ने अवस्था नहुँदा विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत राजमति रौनियारको लिखितजवाफ ।

६.     रिट निवेदिकाले यस कार्यालयमा दिएको मिसिल संलग्न प्रतिउत्तर पत्रबाट धनहर दोयम कि.नं.८ को जग्गाको ८ मन २५ शेर र कि.नं.७ को भिट अवल जग्गालाई धनहर हिसाबले हुने कूत धान ४ मन ३३½ का दरले हुने जम्मा रु.११४८।६८ सम्बन्धित गा.पं. मा धरौट राखेको छ भन्ने देखिएको । तर उक्त कि.नं.७ को जग्गा भीट अवल भएको र भीट अवल जग्गाको नियमानुसार ७ मन २० शेर र पटुवा कूत निर्धारण भएको । बजार भाउको दर रेट कार्यालयले संकलन गरी मूल्य निर्धारण कमिटी गठन हुँदा पटुवा प्रति मनको रु.४५०।र धान मन १ को रु.९०।मूल्यांकन कायम भएको कार्यालयको रिकर्डबाट देखिएको र भिट अवल जग्गामा मकै खेती लगाएकोले मकै कूत बुझाउँछु भनी वादीले दावी गर्नु पर्नेमा प्रतिवादी रिट निवेदिकाले जिकिरसम्म नलिई धनहर जग्गा भनी प्रतिउत्तर लेखमा खुलाई सोही हिसावले ९० प्रतिशत भन्दा कम धरौटी राखेकोलाई मान्यता नदिई मोही निष्काशन हुने ठहरी भएको यस कार्यालयको मिति ०४३।१।१४ को निर्णय न्यायोचित हुँदा रिट खारेज हुन सादर अनुरोध छ भन्ने समेत भूमिसुधार कार्यालय सुन्सरीको लिखितजवाफ ।

७.     रिट निवेदकको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले श्री ५ को सरकार  भू.सु. मन्त्रालयको सूचना २०३०।६।९ को राजपत्रमा प्रकाशित कूत तोकेको छ । तोक अनुसारको कूत धरौट निवेदकले राखेको छ । कानूनले तोके भन्दा बाहेकको दावीमा न्यायिक मनको अभावमा मोही समेत निष्काशन गरेको प्रत्यर्थी भू.सु. कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र प्रत्यर्थी राजमति रौनियारतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटीले रिट निवेदकले ९० प्रतिशत भन्दा कम धरौट राखेकोलाई कूत बुझाएको भन्न नमिल्ने हुँदा मोही निष्काशन गर्ने गरेको भू.सु.का.को निर्णय मा कुनै त्रुटी छैन भन्ने समेत बहस गर्नुभयो ।

८.     प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने देखिन आएको छ ।

९.     यस्मा निर्णयतर्फ हेर्दा जग्गावालाले पाउने कूत बापतको बिगो रु.१४३५। को सयकडा ९० प्रतिशतले हुने १२९१।५० भन्दा पनि कम रु.११४८।६५ मात्र प्रतिवादी मोहीले धरौट राखेकोले कूत बुझाएको  ठहर्दैन । मोही निष्काशन हुने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार अधिकारीले मिति ०४३।१।१४ मा निर्णय गरेको देखिन्छ ।

१०.    प्रत्यर्थी राजमति रौनियारले कूत दावी गरिदिएको फिरादमा ज.वि. ०१४ मा पटुवा लागेको भन्ने छ । रिट निवेदिकाले प्रतिवाद गर्दा पनि उक्त जग्गामा वादी लेख बमोजिम धान र पाट लगाएको भन्ने उल्लेख गरेको पाइन्छ । सो लेखाइको आधारमा अधिकार प्राप्त अधिकारीले सबूद प्रमाणको मूल्यांकन गरी अधिकार क्षेत्र भित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल ज्येष्ठ २४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु