निर्णय नं. ३४१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३४१७ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको रिट नम्बर १३५६
आदेश भएको मिति : २०४५।२।३१।२ मा
रिट निवेदक : भ.पु.जि.भ.पु.न.पं. वडा नं. २७ भार्वाचो बस्ने अष्टनारायण वाइजू
विरुद्ध
विपक्षी : ऐ.ऐ बस्ने नारायणभक्त राजलवटसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) उजूरीमा उल्लेख भएको जग्गाका कि.नं.उल्लेख नगरी उजूरी नै नपरेको जग्गाको कि.नं.उल्लेख गरी जारी गरेको वेरीतको सूचना म्यादबाट प्रतिवाद नगरेको भनी दोष लगाउन नमिल्ने यस्तोमा प्रत्यर्थीको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :–
२. जग्गा धनी केदारनाथ उपाध्याय र ऋषिराज भण्डारी जना दुईको नामको जोताहा मोहीमा मेरो आमा आसमाया वाइजूले जोती कमाई आएको रोपनी १–१०–० जग्गा सर्भे नापीमा भ.पु.जि.न.पं. वडा नं. १७(ग) कि.नं.२४७ क्षेत्रफल ३–८–० मा घुसाई विपक्षीले नाप नक्शा गराउनु भएकोमा तत्काल मेरी आमा आसमायाले उजुरी दिनु भई तत्कालिन भूमिसुधार कार्यालयबाट कित्ताकाट गरी ऐ.कि.नं.२७२ को क्षेत्रफल १–१०–० मा जोताहा मोही आमा आसमाया कायम गरी जोती कमाई आउनु भएको हो । आमा आसमाया आफ्नै कालगतिले मिति २०३०।६।८ मा परलोक हुनु भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम आमापछि मोहियानी हक म छोरा अष्टनारायणले पाउने भई साविक झै जोती कमाई आएको छु । वादी विपक्षी नारायणभक्त र प्रतिवादी म अष्टनारायण भएको खिचोला मुद्दामा आमा आसमायाले कि.नं.२०४७ बाट कित्ताकाट गराई मोहियानी हकको अस्थायी पूर्जा पाएको कि.नं.२७२ को वेरीतको निस्क्रिय पूर्जाको भरमा विपक्षीको धान बालीमा खिचोला गर्न आए भनी पर्न आएको खिचोला मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०४०।१०।२२ का दिन अधिकार क्षेत्रात्मक त्रुटीको कारण खारेज हुने ठहर्याई भएको फैसला बागमती अञ्चल अदालतबाट मिति २०४१।३।८ मा सदर फैसला भएको छ । वादी विपक्षी नारायणभक्त र प्रतिवादी आसमाया भएको जोत बदर मुद्दामा भूमिसुधार कार्यालयबाट आमा आसमाया नामको कि.नं.२७२ को जोताहा हक बदर नभई विपक्षीको उजूरी नै तामेलीमा रहने भक्तपुर जिल्ला अदालतको मिति २०२५।२।११ को फैसला बागमती अञ्चल अदालतबाट समेत मनासिव ठहरी मिति २०२५।१२।१९ मा सदर फैसला भएको छ । उक्त लेखिए बमोजिम आमा आसमायको नाम हक दर्ता कायम भई अदालतको फैसलाहरू समेत अन्तिम भइरहेको मोहीयानी जग्गामा विपक्षी नारायण भक्तले साविक कि.नं.२४० को विपक्षीको जोत हकमा मैले कि.नं.२७२ को आमाको हक देखाई खिचोला गरी दखल गर्न आएकोले सजायँ गरी कि.नं.२७४ रोपनी १–८–० मा विपक्षीकै जोत कायम गरिपाउँ भनी विपक्षी भूमिसुधार कार्यालयमा मिति २०४१।४ मा निवेदन दिनुभएको रहेछ । सो सम्बन्धमा विपक्षी भूमिसुधार कार्यालयबाट उक्त कि.नं.२४७ र कि.नं.२७२ सम्बन्धमा मलाई कुनै प्रकारको म्याद सूचना नदिई बुझ्दै नबुझी मिति २०४३।९।२० मा म बाट कुनै प्रमाण पेश हुन नसकेको तारेख समेत गुजारी बसेकोले विपक्षी नारायणभक्तको जोत ठहराई म अष्टनारायणले खिचोला गरेको ठहराई भएको फैसला समेतको कुनै जानकारी नदिई मोहीबारे नारायणभक्तको निवेदनबाट विपक्षी प्रमुख जिल्ला अधिकारीबाट मलाई पक्राउ गरी जोत दखल गरेको भनी मिति २०४४।३।२५ मा पक्राउ गरी फैसलाको नक्कल देखाउँदा व्यहोरा थाहा भई मिति २०४४।३।२६ मा भूमिसुधार कार्यालयको फैसला नक्कल सारी ३५ दिनभित्र यो निवेदन गर्न आएको छु ।
३. विपक्षी भूमिसुधार कार्यालय, भक्तपुरबाट विपक्षी नारायणभक्तको उजूरी लिई जोत दखल सम्बन्धी मुद्दा सुनी छिनेको भएमा कानून बमोजिम रीतपूर्वक मलाई सूचना दिई झिकाई बुझी प्रतिवादीको मौका दिई ठहर फैसला गर्नु पर्ने बाध्यात्मक प्रकृयाको पालना भएको छैन । असर पर्ने पक्षलाई कुनै जानकारी नदिई भएको फैसलामा मैले तारिख गुजारी बसेको सबूद प्रमाण पेश नगरेको भनी भए गरेको फैसलामा प्राकृतिक न्याय सिद्धान्त बिपरीत र कानून प्रतिकूल छ । विपक्षीले आसमायाको जोत हक कानून बमोजिम बदर गराएको छु भनी भन्न लेख्न सकेको छैन । कानून मोहीयानी जोत यथावत कायम छ । विपक्षी भूमिसुधार शाखाबाट मेरो नाममा मिति २०४१।१२।१९ मा प्राप्त हाजिर हुने विषयको एउटा पत्रमा विपक्षी नारायणभक्तले कि.नं.२७४ र कि.नं.१७२ मा मैले खिचोला गरेको उल्लेख छ । कि.नं.१७२ मेरो जोत हक सम्बन्धी नहुँदा मैले उपस्थित हुन आवश्यक सम्झिन यसरी आमा आसमायाको नाम हक मोहीयानीको जग्गामा आमा पछि मेरो जोतभोग भएको देखा देखि विपक्षीहरूबाट भएका गरेका सम्पूर्ण कारवाही कानून प्रतिकूल न्याय सिद्धान्त अधिकार क्षेत्र र प्राकृतिक न्याय सिद्धान्त बिपरीत भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम प्राप्त हक तथा नेपालको संविधानको धारा १०, ११, १५ द्वारा प्रदत्त मौलिक हकमा कुण्ठित भएकोले यो रिट निवेदन गर्न आएको छु उत्प्रेषणको आदेशद्वारा भूमिसुधार शाखा भक्तपुरको मिति २०४३।९।२० गतेको फैसला बदर गरी कानून बमोजिम हुन र गर्न परमादेश समेतको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको मिति २०४४।५।३।४ को आदेश ।
५. अष्टनारायण वाइजू र सुरेन्द्र दुवालले मलाई चलन बाली लगाउन नदिई अशान्ति गर्न आएकोले शान्ति सुरक्षा गरिपाउँ भनी नारायणभक्त राजलवटको यस कार्यालयमा निवेदन पर्न आएकोले शान्ति सुरक्षाको दृष्टिकोणबाट र वास्तविकता के हो बुझ्न निमित्त निज विपक्षी अष्टनारायण वाइजूलाई यस कार्यालयमा बोलाइएको सम्म मात्र हो र निजलाई पक्राउ गरी तारिख पुर्पक्षमा समेत केही नगरेको हुँदा निजको कपोलकल्पित झुठ्ठा निवेदन खारेज हुन सम्मानीत अदालत समक्ष विनम्र अनुरोध गर्दछु भन्ने समेत जिल्ला कार्यालय भक्तपुरको लिखितजवाफ ।
६. भ.पु.न.पं. वडा नं. १७(ग) कि.नं.२४७ मा ज.ध.को हक हिस्साको महलमा १।२ खण्ड भन्ने उल्लेख भएको ज.ध.को मोठ प्रतिलिपिबाट देखिने मोही महलमा नारायणभक्त राजलवट कायम भई ज.ध. मा किशोराम भण्डारी कायम भएको क्षेत्रफल १–१२–० कायम भएको र सोही वण्डाको कि.नं.२४७ मा पनि उक्त व्यहोरा नै उल्लेख भई मोही नारायणभक्त राजलवट र ज.ध. मा किशोराम भण्डारी कायम भएको मोठ प्रतिलिपिबाट देखिएको । रिट निवेदकले जिकिर लिएको भ.पु.न.पं. वडा नं. १७(ग) कि.नं.२७२ को मेरो मोहिया भन्ने उल्लेख गरेको पाइन्छ । २७२ मा मोही महलमा आसमाया वाइनी ज.ध. नाम थर नखुलेको दर्ता बाँकी भन्ने उल्लेख भएको मोठको प्रतिलिपि उतारबाट देखिन्छ । कि.नं.२४७ को फिल्डबुक उतार मोही महलमा नारायणभक्त राजलवट र ज.ध.मा किशोराम भण्डारी र केदारनाथ उपाध्याय भन्ने उल्लेख भएको देखिन्छ । कि.नं.२७२ को जग्गाको मोही आसमाया वाइनी हुन् निजका नाममा कायम भएको जोतमा यस कार्यालयले केही गरेको छैन र नारायणभक्त राजलवटसँग सम्बन्ध भएको केही पनि नदेखिएकोले रिट निवेदन खारेज भागी छ भन्ने समेत भूमिसुधार कार्यालय भक्तपुरको लिखितजवाफ ।
७. जग्गावालाको दर्ता मोठमा मोही म नारायणभक्त र २ नं. अनुसुचीमा र फिल्डबुकमा म नारायणभक्त छु भने कि.नं.२४७ को ३–८–० को जोतेको मोही म नै कायम गरिएको शुरु अवस्थै देखिन्छ भने सोही प्रमाणबाट मलाई मोही कायम गरी भूमिसुधार शाखा भक्तपुरबाट निर्णय भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत नारायणभक्त राजलवटको लिखितजवाफ ।
८. रिट निवेदकतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले रिट निवेदकको आमाले उजूरी गरी कित्ताकाट भई कि.नं.२७२ मा मोही जनिएकोछ । सो बदर गराउन सकेकोछैन । रिट निवेदक उपर प्रत्यर्थीले उजूर गरेकोमा कि.नं.२४७ र २७२ को सम्बन्धमा रिट निवेदकलाई बुझी निर्णय गरेको छैन । तसर्थ प्रत्यर्थी नारायणभक्तको जोत ठहराएको भूमिसुधार शाखाको निर्णय प्राकृतिक न्याय सिद्धान्त बिपरीत हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले रिट निवेदकले जिकिर लिएको जग्गामा जग्गाधनी नै कायम भएको छैन सबूद प्रमाण समेतको आधारमा भूमिसुधार कार्यालयले निर्णय गरेकोमा कुनै त्रुटी छैन भन्ने समेत र प्रत्यर्थीको वा वारिश ओमप्रसाद मैनालीले कि.नं.२४७ को जग्गामा नारायणभक्त नै मोही कायम छ । प्रमाण समेतबाट मोही कायम राखी भएको भूमिसुधार कार्यालयको निर्णय कानूनसंगत छ भन्ने समेत बहस गर्नुभयो ।
९. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१०. यस्मा निर्णयतर्फ हेर्दा भ.पु.न.पं. वडा नं. १७(ग) कि.नं.२४७ को जग्गा कमाई आएकोमा अष्टनारायणले खिचोला गरे भन्ने उजूर परेकोमा कि.नं.२४७ बाट कित्ताकाट भई कि.नं.२७२ फटके कित्ता उल्लेख भएको जग्गाधनी नखुलेको मोही महलमा आसमाया उल्लेख भएको अष्ट नारायणबाट कुनै प्रमाण पेश हुन नसकेको तारीख समेत गुजारी बसेको । २ नं. अनुसूचीबाट समेत निवेदक जोताहा देखिएकोले उक्त जग्गाको जोताहा नारायणभक्त ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय, भक्तपुरले मिति २०४३।९।२० मा निर्णय गरेको देखिन्छ ।
११. सह–न्यायाधिवक्ताले इजलास समक्ष देखाउनु भएको मिसिल सामेल रहेको भूमिसुधार शाखा, भक्तपुरले रिट निवेदकका नाममा जारी गरेको भनेको १० दिने सूचना म्याद हेर्दा नारायणभक्तले यस कार्यालयमा निवेदन गर्दा ज.ध. केदारनाथको नाममा दर्ता भएको भ.पु.न.पं. वडा नं. १७(ग) कि.नं.२७४ को जग्गामा मेरो जोत कायम भएकोमा उक्त कित्ता फोड भई कायम भएको कि.नं.१७२ को १–१०–० जग्गामा विपक्षी अष्टनारायण वाइजूले जोत खिचोला गर्यो भन्ने निवेदन परेको भन्ने उल्लेख भएको देखिन्छ । यसबाट उजूरी बमोजिम विवाद परेको कि.नं.२४७ र २७२ को जग्गा उल्लेख गरी रिट निवेदकका नाममा म्याद सूचना जारी गरी प्रतिवादको म्याद दिएको भन्ने देखिँदैन । विवाद नपरेको कि.नं.२७४ र १७२ को जग्गाको सम्बन्धमा मात्र म्याद सूचना पठाएको पाइन्छ । तर निर्णय हुँदा म्याद सूचनामा उल्लेख भएको कित्ता नं. मा निर्णय भए गरेको पनि पाइँदैन । उजूरीमा उल्लेख भएको कि.नं.२४७ र २७२ मा मोहीयानी हक बेहकको निर्णय गरेको पाइन्छ । यसरी उजूरीमा उल्लेख भएको जग्गाका कि.नं.उल्लेख नगरी उजूरी नै नपरेको जग्गाको कि.नं.उल्लेख गरी रिट निवेदकलाई जारी गरेको वेरीतको सूचना म्यादबाट रिट निवेदकले प्रतिवाद नगरेको भनी दोष लगाउन मिल्ने देखिँदैन । तसर्थ विवादित जग्गाको सम्बन्धमा आफ्नो कुरा भन्न रिट निवेदकलाई म्याद सूचना दिएको भन्न सकिने स्थिति रहेन यस्तोमा प्रत्यर्थी भूमिसुधार कार्यालय भक्तपुरले जोताहा नारायणभक्त ठहर्छ भनी गरेको मिति २०४३।९।२० को निर्णय प्राकृतिक न्याय सिद्धान्त बिपरीत भई त्रुटिपूर्ण देखिन आयो ।
१२. अतः उपर्युक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय, भक्तपुरको मिति २०४३।९।२० को त्रुटि पूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनेठहर्छ । कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाममा परमादेशका आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल ज्येष्ठ ३१ गते रोज २ शुभम् ।