निर्णय नं. १५४९ - दर्ता बदरसमेत ।

निर्णय नं. १५४९ ने.का.प. २०३९ अङ्क ४
फुलबेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३७ सालको दे.फु.नं. ३६
फैसला भएको मिति : २०३८।९।३।६ मा
निवेदक : भक्तपुर यालाछे व्यासी बस्ने कर्णबहादुर बासुकला
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने हाकुराम भन्ने न्हुछेबहादुर बासुकला,ऐ.ऐ.बस्ने मानकुमारी
मुद्दा : दर्ता बदर समेत
(१) फिल्डबुकमा समेत आफ्नो हक देखाई नापी गराएको मितिबाट प्रतिवादीले जग्गामा हक कायम गरी जग्गामा हात हालेको हुने हुँदा वादीको जग्गा समेत घुसाई आफ्नो नाउँमा नापी गराएको भए सो नापी गराएको मितिबाट २ बर्ष भित्र असर पर्ने पक्षले तत्कालिन ज.मि.को १८ नं.बमोजिम फिराद गर्नु पर्ने ।
(प्रकरण नं. १३)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. प्रस्तुत मुद्दा डिभिजनबेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भन्ने निवेदक वादी कर्णबहादुरको परेको निवेदनमा यसमा व्यहोरा साँचो भए त्यस अदालत डिभिजनबेञ्चबाट ०३६।८।२३।१ मा छिनिएको दर्ता बदर समेत मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरिई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : ००८ सालको नापीमा काशीनाथ बासुकलाका नाउँमा भ.पु.लकुण्डोल मौजाको कि.नं.१०५।३२३ न.नं.४।१४ मा दर्ता भएको जग्गा रोपनी १०।९ मध्ये रोपनी १ मेरो बाबु कमलबहादुरको नाउँमा ००९।१२।२९ मा नामसारी भई ०११ सालमा बाबु परलोक भएपछि ०१९।२।२३ मा नामसारी गरी मेरा नाउँमा भई सकेपछि उक्त खेत विपक्षीले समेत कमाई बाली असूल गर्ने लगत कापीमा सहिछाप गरी बुझाएको छ । ०२१ सालदेखिको बाली बाँकीमा यस अदालतमा नालेस परी कारवाही चलिरहेकै छ । ०२२ सालमा नापी हुँदा मेरो १। छुट्टै देखाई नापी गर्नु पर्नेमा नदेखाई अरु जग्गामा घुसाई ०२३।४।७ मा दर्ता गराई ल्याए भन्ने भन्ने ०२५।३।५ गते प्रमाणका मानिसद्वारा सुनी गई हेर्दा भ.पु.झौखेल गा.पं.वार्ड नं.८ (ग) कि.नं.५११, ५२५, ५३४ र ५३७ मा प्र.न्हुछेबहादुरले ५–१४–२ कि.नं.५१०, ५१३ मा प्र.रामचन्द्रले १।९। प्र.तुलसीभक्तले कि.नं.५००, ५२६ बाट २।६ र प्र.मानकुमारीले ५०४, ४२७ बाट २–१०–० समेत दर्ता गराएको रहेछ। विपक्षीहरुले झुठ्ठा व्यहोराबाट गराएको दर्ता बदर गरी न्हुछेबहादुरबाट १।३ तुलसीभक्तबाट २।।। रामचन्द्रबाट २।।। मानकुमारीबाट २।।। मेरो छुट्याई उक्त जग्गा रोपनी १।११।२ मेरै हक कायम गरी पाउँ भन्ने समेत ०२५।४।६ को फिरादपत्र ।
३. वादी दावाको जग्गा मैले कमाएको छैन । मैले आफ्नो हकबाट ०२२।१०।३ मा कि.नं.५११, ५३४, ५२५, ५३७ को जग्गा दर्ता गरेको । ०२३।४।१७ मा दर्ता गरेको ०२५।३।५ मा थाहा पाएको भनी २ बर्ष गुज्री सकेपछि दायर हुन नसक्ने नालेस म्याद भित्रको नहुँदा खारेज गरी पाउँ भन्ने समेत हाकुराम भन्ने न्हुछेबहादुरको प्रतिउत्तरपत्र रहेछ ।
४. अन्य प्र.तुलसी भक्त समेतले प्रतिवादी नदिई सुरु म्यादै गुजारी बसेका रहेछन् ।
५. वादीको साविक बमोजिम १–५ वादीको हुनेमा साविक र हालको क्षेत्रफलको अनुपातमा हाल सर्भेको ठहर उक्त नम्बरको प्र.न्हुछेको दर्ताबाट ०–१२–३ प्र.तुलसी भक्तको दर्ताबाट ०–२–३ प्र.मानकुमारीको दर्ताबाट ०–२–३ र प्र.रामचन्द्रको दर्ताबाट ०–२–३ समेत जम्मा १–५ जग्गा वादीकै हक ठहर्छ भन्ने समेत सुरु भक्तपुर जिल्ला अदालतको ०३०।३।३१ को फैसला रहेछ ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी र प्र.न्हुछेबहादुरको पृथक पृथक पुनरावेदन परेकोमा प्र.न्हुछेबहादुरको ०–८–० जग्गा बढी भएको उतारबाट देखिएकोले नपुग वादीलाई दिलाई दिनु पर्ने नदिएको भन्ने वादी जिकिर बमोजिम जग्गा रोपनी ०–६–२ को हकमा सुरुको इन्साफ केही गल्ती देखिएको नपुग ०–६–२ र सुरुले प्र.न्हुछेको दर्ताबाट वादीको कायम गरी दिने ठहराएको ०–१२–३ समेत प्र.न्हुछेबहादुरको दर्ताबाट जम्मा रोपनी १–३–१ वादीको हक कायम गरी दिने र अरुमा सुरुको इन्साफ मनासिव ठहराई मिति ०३१।४।१३ मा बागमती अञ्चल अदालतबाट फैसला भएको रहेछ ।
७. मुद्दा दोहर्याई पाउँ भन्ने प्र.न्हुछेबहादुरको निवेदन परेकोमा इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भन्ने बक्स भएको हु.प्र.बमोजिम म.क्षे.अ.बाट निर्णय हुँदा भक्तपुर जिल्ला अदालतको इन्साफ मनासिव छ बा.अं.अ.को इन्साफ केही गल्ती ठहर्छ भन्ने समेत ०३४।९।१५ मा फैसला भएको रहेछ ।
८. प्र.हाकुराम भन्ने न्हुछेबहादुरको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई डिभिजनबेञ्चबाट निर्णय हुँदा विवादास्पद जग्गाको मिति ०२२।२।५ मा नापी आरम्भ भई प्र.न्हुछेबहादुर बासुकलाले २२।१०।३ मा दर्ता गराएको देखिएको र सो नापी दर्ताको मितिबाट २ बर्ष नघाई ०२५।४।६ मा मात्र प्रस्तुत फिराद परेको देखिन्छ । वादीको हदम्याद नघाई परेको फिरादपत्र खारेज हुने ठहर्छ । खारेज हुने फिरादपत्र लिई कारवाही किनारा गरेको सुरुको इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को फैसला गल्ती ठहर्छ भन्ने ०३६।८।३३ मा निर्णय भएको रहेछ ।
९. निवेदक वादी कर्णबहादुर बासुकलाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले ऐनले दर्ता तोकिएको अधिकारीबाट ०२३।१२।४ मा दर्ता प्रमाणित भई दस्तखत भई दर्ता भएको हुँदा सो मितिबाट २ बर्ष भित्रै फिराद परेकोले हदम्याद नाघेको भनी खारेज गर्ने गरेको डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने र विपक्षी प्र.न्हुछेबहादुरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले नापी भएको बखत ०२२।१०।३ मा नापी डोरमा नै साविक भिडाई दर्ता भएको छ सो दर्ता भएको मितिबाट २ बर्ष नघाई ०२५।३।५ मा मात्र फिराद परेको हुँदा खारेज गर्ने गरेको डिभिजनबेञ्चको इन्साफ सदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
१०. यसमा निर्णय तर्फ विचार गर्दा मेरो साविक १–५–० जग्गा घुसाई भु.पु.झौखेल गा.पं.वार्ड नं.८ (ग) कि.नं.५११, ५२५, ५३४ र ५३७ मा न्हुछेबहादुरले कि.नं.५०० र ५२६ मा तुलसी भक्तले कि.नं.५०४ र ५२७ मा मानकुमारीले कि.नं.५१० र ५१३ मा रामचन्द्रले दर्ता गरेको बदर गरी दामासाहीले बढ भएको समेत न्हुछेबहादुरको जग्गा मध्येबाट १–३–१ तुलसीभक्तको जग्गा मध्येबाट ०–२–३ रामचन्द्रको जग्गा मध्येबाट ०–२–३ मानकुमारीको जग्गा मध्येबाट ०–२–३ मेरै हक कायम गरी पाउँ भन्ने वादी कर्णबहादुर बासुकलाको प्रस्तुत फिराद ०२५।४।६ मा दर्ता भएको र ०२२।१०।३।१ मा मैले दर्ता गरेको २ बर्षपछि म उपर दर्ता बदर गरी पाउँ भन्ने फिराद दायर हुनै नसक्ने खारेज गरी पाउँ भन्ने प्र.हाकुराम भन्ने न्हुछेबहादुरको प्रतिउत्तरपत्र साथ निज न्हुछेबहादुरले पेश गरेको रसीद नक्कलबाट पछाडि ०२२।१०।३।१ भन्ने मिति जनाई झौखेल वार्ड नं.८(ग) कि.नं. ५११, ५२५, ५३४ र ५३७ मा भिडी दर्ता भन्ने जनिएको समेत देखिन आएको छ।
११. मुख्यतः प्रस्तुत मुद्दामा हदम्याद नघाई फिराद परेको भनी खारेज गर्ने गरेको डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन भन्ने कुरामानै सर्वप्रथम विचार गर्नु पर्ने हुन आएको छ। त्यसतर्फ विचार गर्दा वादी दावीको जग्गा नापी नक्सा भएको नि.भक्तपुर प्र.झौखेल वार्ड नं.८(ग) को सर्भेबाट भएको नक्सामा काम सुरु मिति ०२२।२।५ र काम समाप्त मिति ०२२।२।३१ भने जनिएको देखिएबाट सो नक्साबाट ०२२।२।५ मा नापी नक्सा सुरु भई ०२२।२।३१ मा समाप्त भएको प्रष्टै छ ।
१२. ज.मि.को १८ नं.बमोजिम नालेस गर्ने हदम्याद सुरु हुने दिन प्रतिवादीले सो जग्गा आफ्नो भनेको दिन नै हो त्यस्तो भन्नलाई ति प्रतिवादी रोहवरमै भई आफ्नो भनी नापीमा लेखाएको दिन हुन्छ ।
१३. वादी दावीको जग्गा प्रतिवादीले सो नापनक्सा भएको बखत फिल्डबुकमा जग्गाधनीमा समेत आफ्नो हक देखाई नापनक्सा गराएको देखिन्छ । यसरी हक देखाई नापी गराएको भएपछि सो फिल्डबुकमा समेत आफ्नो हक देखाई नापी गराएको मितिबाट प्रतिवादीले जग्गामा हक कायम गरी जग्गामा हात हालेको हुने हुँदा वादीको जग्गा समेत घुसाई आफ्नै नाउँमा नापी गराएको भए सो नापी गराएको मितिबाट २ बर्ष भित्र असर पर्ने पक्ष वादीले तत्कालिन ज.मि.को १८ नं.बमोजिम फिराद गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा वादी दावीको जग्गा प्रतिवादीले जग्गाधनी समेत आफूलाई देखाई नापी नक्सा गराएको नापीको काम समाप्त भएको मिति ०२२।२।३१ को मितिबाट समेत २ बर्षको हदम्याद नाघी ०२५।४।६ मा मात्र वादीको फिराद परेको देखिएकोले तत्कालिन ज.मि.को १८ नं.को २ बर्षको हदम्याद नाघी फिराद परेको देखिन आयो, तसर्थ हदम्याद नाघी परेको प्रस्तुत फिरादबाट कारवाही किनारा गरेको सुरुको इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को फैसला उल्टी ठहराई ०३६।८।२३ मा डिभिजनबेञ्चबाट खारेज हुने ठहर्याई गरेको इन्साफ मनासिव ठहर्छ । मुद्दा दोहर्याए वापत लाग्ने कोर्ट फि दाखिल भएको देखिएकोले अरु केही गर्नु परेन मिसिल नियम बमोजिम बुझाई दिनु ।
मेरो सहमती छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायधीश श्री हेरम्वराजको राय
ज.मि.को १८ नं.बमोजिम नालेस गर्ने हदम्याद सुरु हुने दिन प्रतिवादीले सो जग्गा आफ्नो भनेको दिन हो । त्यस्तो भन्नलाई ति प्रतिवादी रोहवरमै भई आफ्नो भनी नापीमा लेखाएको दिन हुन्छ कि प्रतिवादी रुजु नरही आफ्नो नाउँमा दर्ता गराएको दिन हुन्छ । तसर्थ प्रस्तुत फिराद हदम्याद नाघी परेको ठहराई खारेज गर्ने गरेको डिभिजनबेञ्चको इन्साफ मनासिव ठहराएको सहयोगी न्यायाधीशहरुको रायसँग मेरो पनि सहमति छ ।
न्यायाधीश,
इतिसम्वत् ०३८ साल पौष ३ गते रोज ६ शुभम् ।