निर्णय नं. ३४१९ - आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्याए

निर्णय नं. ३४१९ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पु.नं. ३४७, ३४८
फैसला भएको मिति : २०४५।२।२७।५ मा
पुनरावेदक/प्रतिवादी : भक्तपुर कटुन्जे गा.पं. वडा नं. ६ बस्ने माधवप्रसाद तिमिल्सीना
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग
पुनरावेदक/प्रतिवादी : भक्तपुर कटुन्जे गा.पं. वडा नं. ६ बस्ने यादवप्रसाद तिमिल्सीना
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग
मुद्दा : आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्याए
(१) राष्ट्र सेवक वा कुनै व्यक्तिले आपूmलाई गैरकानूनी फाइदा र सरकारी मान्यता प्राप्त कुनै संस्थालाई गैरकानूनी हानी पुर्याउने कुनै काम कुरो गरेमा भ्रष्टाचारको आरोप या अभियोग नमान्न र भष्ट्राचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने भन्न नसकिने ।
(प्रकरण नं. ३८)
(२) हस्ताक्षर परीक्षणको सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञले अदालत समक्ष आई बकपत्र गरिदिएको कुराको खण्डन हुनसकेको पनि नपाइँदा विशेषज्ञको रायलाई अन्यथा भन्न नमिल्ने ।
(प्रकरण नं. ३९)
(३) आफू लगायत परिवारका नावालक व्यक्तिहरूका नाउँमा समेत विभिन्न खाता खोली रकम जम्मा गराउनु, यसरी जम्मा भएको रकम अत्यन्त छोटो अवधि भित्र नै जम्मा हुन गएको देखिन आउनु र उक्त रकम कहाँबाट कसरी प्राप्त भएको हो ? सो सम्बन्धमा कुनै प्रमाण पेश गर्न सकेको मिसिल प्रमाणबाट देखिन नआउनुले वारदातमा प्रतिवादीहरू कसूरदार रहेनछन् भन्न नसकिने ।
(प्रकरण नं ४१)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना विद्वान अधिवक्ता श्री शम्भु थापा विद्वान अधिवक्ता श्री जयकान्तलाल दास विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षी वादीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।
२. नेपाल बैंकको काठमाडौं अफिसबाट राष्ट्र बैंक राष्ट्र ऋण विभागको बोधार्थ र राष्ट्र बैंक बैकिङ्ग कार्यालय काठमाडौंको रकम जम्मा गरेको (क्रेडिष्ट मुडभाईस) सूचना बमोजिम रु.११,७५,५५०।– नारायण थापा नामको चल्ती खाता नं. २१,७९३ मा जम्मा गराई भुक्तानी गरेको सम्बन्धमा छानबीन गर्दा, बैंकमा रहन पर्ने खाता खोल्न दिएको दर्खास्त र डेविट भौचर हराउन नपाओस्, राष्ट्र बैंकबाट आएको एड्भाइस ने.बैं. मा दाखिल भएको र दर्ता विभागीय दर्ता भएको कुनै संकेत नभई बीच बीचबाट नै भौचर बनाउने ठाउँमा पुगेको देखिन, वेरीतको पत्रको आधारमा भौचर बन्नु पहिले आएको एड्भाईसमा मसी परी सहिछाप नबुझिने भनी चलानीसाथ राष्ट्र बैंकमा फिर्ता पठाएपछि अर्को एड्भाईस आउँदा चलानीसाथ नआई एड्भाईस मात्र आएको र सो लाई आधार मानी रकम जम्मा गरिदिन नेपाल बैंकका कर्मचारी र नेपाल राष्ट्र बैंकका कर्मचारी समेतको मिलेमतोबाट बैंकको रकम लगेको देखिन आएकोले भ्र.नि.ऐन अन्तर्गत अनुसन्धान गरी दोषीलाई सजायँ गरी बैंकको रकम असूल उपर गराई पाउँ भन्ने समेत व्यहोराको ने.वै. लिमिटेड काठमाडौंको ०३६।१०।२५ को पत्र ।
३. श्यामबहादुर श्रेष्ठका नामबाट महा–प्रबन्धकलाई सम्बोधन गरी लेखिएको रजिष्टर पत्र हेर्दा नारायण थापाले लेखी दिएको ०३६।१०।२७ को पत्रसाथ मुद्दती रसिद तथा ड्राफ्ट समेत सक्कल प्राप्त हुनआएको हुँदा सो को प्रतिलिपि जानकारीको लागि पठाइएको भन्ने ने.बैं.लि. प्रधान कार्यालय कानून विभागको ०३६।१०।२८ को पत्र । मैले नेपाल राष्ट्र बैंकको पत्र कीर्ते गरी जम्मा रु.१६,७५,५५० झिकी, मेरो कपोल कल्पित नामबाट विभिन्न बैंकहरूमा मुद्दती खातामा जम्मा गरेको ने.बैं.लि. हेटौंडाको नाममा रु.१,३९,९५०।– को ड्राफ्ट बनाएको र खाता नं. २१,७९३ चल्ती खाताबाट झिक्न बाँकी रकम रु.८५,६६०।– र राष्ट्रिय वाणिज्य बैंकमा १० थान मुद्दती रसिदबाट रु.९५,०००।– गरी बैंक रकम रु.११,७५,५५०।– ने.बैं.लि. ले रोक्का गरी उठाई लिन हुन भन्ने समेत व्यहोराको चल्ती खाता नं. २१,७९३ का नारायण थापाको ०३६।१०।२० को पत्र ।
४. एड्भाईस मैले बुझेर लिएपछि भौचर बनाउने माधवप्रसाद तिमलसीनालाई दिएको तर निजले क्रेडिट एड्भाईसमा मसी पोखिई दस्तखत अस्पष्ट भएको हुँदा राष्ट्र बैंकमा नै फिर्ता पठाएपछि उक्त क्रेडिट एडभाईस दोस्रो पटक भौचर बनाई माधवप्रसादले पेश गरेको र दस्तखत मिलेकोले मैले पास गरेको भन्ने वि.प्र. विभागमा राजेन्द्रमान जोशीले गरेको बयान ।
५. पैसाको सुरक्षार्थ एकपटक फिर्ता गरिएको एड्भाईसको चलानी पत्र हुनु पर्दछ । नत्र पास गर्न मिल्दैन तर रु.११,७५,५५०।– को दोश्रा पटकको क्रेडिट एड्भाईस पास गर्दा म समक्ष पहिला फिर्ता पठाएको चिठ्ठी नथी नभएको सो को जानकारी नहुँदा सही गरी पठाएको सम्म हुँ । क्रेडिट एड्भाईस दर्ता भएको छाप नहुँदा सो दर्ता भए नभएको हेर्ने काम इन्चार्जको हो भन्ने समेत व्यहोराको राजेन्द्रमणि आदिले वि.प्र.वि. मा गरेको बयान कागज ।
६. प्राप्त क्रेडिट एड्भाईसमा विभागका सम्बन्धित अधिकृतहरूले नियमित तरीकाबाट सही गरी भौचर बनाई पठाएकोले अनियमित भएको होला भनी शंका गर्न भएन । ७½% विकास ऋण पत्रको भुक्तानी ने.रा. बैंकको चेकबाट मात्र हुन्छ भन्ने मलाई कुनै सूचना थिएन भन्ने समेत तेजराज मानन्धरको वि.प्र.वि. मा भएको बयान मेरो भाइ ने.बैं.मा नोकरी गर्दथे । मेरो परिवार समेतको नाउँमा जम्मा भएको रसिद फोटो हेरें । छोरा छोरीको नाम मिल्छ वतन मिल्दैन । रकम मैले जम्मा नगरेको हुँदा उक्त मुद्दती खातामा जम्मा भएको रकम हाम्रो सम्पत्ति होइन । खाताको सही यादवप्रसादको देखिएकोले को कसको मिलेमतोबाट रकम झिकी हाम्रो परिवारको नाउँमा राखेछन् । यस विषयमा निजले छाडी गएका कागजात र ड्राफ्टहरू लिई महा–प्रबन्धकसँग सल्लाह समेत गरेको भन्ने समेत व्यहोराको माधवप्रसाद तिमलसीनाले वि.प्र.वि. मा गरेको बयान ।
७. मैले बुझेको चिठ्ठी दर्तावाला कहाँ नपुगेको कारणले उक्त पत्र दर्ता हुन नसकेको होला, पत्र ने.बैं.ले फिर्ता गरेको भन्ने थाहा नभई साधारण पत्र समान राखेको हुँदा यस विषयमा मेरो कुनै मिलेमतो नभएको र पत्र कसरी हरायो मलाई थाहा छैन । भन्ने समेत व्यहोराको राजेन्द्रप्रकाश शर्माले वि.प्र.वि.मा गरेको बयान ०३६।६।२ मा ने.रा.बैंक राष्ट्र ऋण विभागको रु.११,७५,५५०।– ने.बैं.लि. काठमाडौं अफिसको खातामा जम्मा गरिदिनु भनी लेखेको पत्रको अन्तमा भएको दस्तखत मेरो दस्तखतसँग मिलाउन खोजेको देखिन्छ । सो पत्र यस विभागबाट इस्यू भएको होइन । उक्त पत्रको टेलिग्राम र टेलेक्स छाप अक्षर फरक देखिन्छ । पातलो कागजमा भएको दस्तखत मेरो होइन भन्नेसमेत व्यहोराको यमबहादुर विष्टको वि.प्र.विभागमा भएको बयान ।
७. देखाइएका मुद्दती रसिद र दर्खास्त फर्म समेत हेरें, उक्त रकम मेरो होइन, र मैलै जम्मा गरेको पनि छैन । काका माधव र यादवले मलाई थाहा नदिई खाता खोली उक्त रुपैयाँ राखी दिएको भए उहाँलाई नै थाहा होला भन्ने महेशकुमार तिमलसीनाले विषेश प्रहरी विभागमा गरेको बयान ।
८. ०३६।६।२ को केड्रिट एडभाईसमा भएको दस्तखत मेरो होइन । सो एडभाईसको फाराम ने.रा. बैंकको होइन र सोमा साँवा व्याज समेत लेखिएको देखिँदैन । नारायण थापाको खातामा एडभाईस अनुसारको रकम जम्मा गर्नु भनि ने.बैं.लि. ले लेखी पठाएको छैन भन्ने मोहनकृष्ण श्रेष्ठले विशेष प्रहरी विभागमा गरेको बयान ।
९. यादवप्रसाद तिमलसिनालाई वाणिज्य बैंकमा २०३६ सालतिर वचत खाता खोल्न परिचय गरिदिएको छु । बचत खाता नं. १५४०६ को खाता खोल्नु भएको दर्खास्त फर्म र दस्तखत नमुना कार्डमा भएको दस्तखत मेरो हो, भनी शुभाषराम काफ्लेले विशेष प्रहरी विभागमा गरेको बयान ।
१०. यादवप्रसादलाई चिन्दछु । ने.बैं.लि. भोटाहिटी शाखामा बचत खाता नं. १२६०४ खोल्न परेकोले फर्ममा मैले परिचय गरिदिएको भनी शिशिरराज प्याकुरेलले ऐ.मा गरेको बयान ।
११. नारायण थापाको चल्ती खाता नं. २१७९३ मा भएको दस्तखत हेरें । खाता नं. मैले चढाएको हो । सो फर्म कहाँ छ जानकारी छैन । फाइलिङ गरी साँचो विनोद शर्माले राख्ने हुँदा म जवाफदेही छैन भनी रश्मीला श्रेष्ठले ऐ.मा गरेको बयान ।
१२. यादव शर्माको वचत खाता नं. ७३१५ को फाराममा भएको दस्तखत मेरो हो । निजको खाता खोल्न परिचयसम्म गरिदिएको हुँ भनी लेखनाथ रेग्मीले ऐ.मा गरेको बयान ।
१३. विशेष प्रहरी विभागमा कारवाहीको लागि फाइल गएपछि माधवप्रसादको दाजु भन्ने व्यक्ति मेरो घरमा आएको, रकम गुम गराउनमा तपाईको भाइ उपर पनि शंका देखिएकोले रुपैयाँ दाखिला गर्न लगाउनु होस् भनी भनेको भनी आनन्दभक्त राजभण्डारीले ऐ.मा गरेको बयान ।
१४. २०३६।५।१२ मा नारायण थापाको नाउँमा खोलिएको खाता मैले नियमबमोजिम नै खोलेको दर्खास्त फाराम पनि भएको, खाताबाट जालसाजी रुपले रुपैयाँ निकालेको थाहा भएपछि दर्खास्त फाइलबाट चोरी भएको थाहा भयो भनी विनोद प्र. शर्माले ऐ.मा गरेको बयान ।
१५. यसमा माधवप्रसाद तिमिल्सीना, यादवप्रसाद तिमिल्सीना, राजेन्द्रमान जोशी, राजेन्द्रमणि आदि तेजराज मानन्धर, विनोदप्रसाद शर्मा र राजेन्द्र प्रकाश शर्मा आपसमा मिली कृत्रिम व्यक्ति नारायण थापाको नाउँबाट चल्ती खाता खोली खोलाई नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण विभागको रु.११,७५,५५०।– रकम ट्रान्सफर गर्ने बारेको ने.बैं.लि. काठमाडौं अफिसको नाउँको ०३६।३।१ को बोधार्थ पत्र र ने.रा.बैंक बैंकिङ कार्यालय ड्राफ्ट टि.टि. फाँटको ७½% विकास ऋण २०३६ को साँवा तथा व्याज रु.११,७५,५५०।– भुक्तानी वापत रकम जम्मा गरेको भन्ने ०३६।६।२ को ने.बैं.लि. काठमाडौं अफिसको नाउँको कृत्रिम पत्र तयार पारी (क्रेडिट एडभाईस) ने.बैं.लि. काठमाडौंमा पेश गराई सोही कृत्रिम पत्रहरूको आधारमा भौचर खडा गरी गैरकानूनी किसिमले कल्पित व्यक्ति नारायण थापाका नाउँमा खोलिएको चल्ती खाता नं. २१७९३ मा उक्त रु.११,७५,५५०।– जम्मा गरी गराई खा.नं. २१७९३ बाट भुक्तानी दिलाउनु गरी सकेपछि, सम्बन्धित कागजातहरू झिकाई निजहरूलाई गैरकानूनी फाइदा र ने.बैं.लि. लाई गैरकानूनी हानी पुर्याई भ्रष्टाचारपूर्ण कार्य गरिआएको संकलित सबूद प्रमाणको आधारमा देखिएकोले सबूद प्रमाणको आधारमा निजहरू जवान ६ उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गत र यादवप्रसाद तिमिल्सीना उपर ऐ.को दफा ८ अन्तर्गत कारवाहीमै हदैसम्म सजायँ हुन्, भ्र.नि.ऐन, २०१७ को दफा २ अन्तर्गत बिगो रु.११,७५,५५०।– मध्ये कल्पित व्यक्ति चल्ती खाता नं. २१७९३ मा नारायण थापाले जनरल मैनेजर ने.बैं.लि.लाई सम्बोधन गरिदिएको ०३६।१०।२७ को निवेदनमा उल्लेख भए मुद्दती रसिदहरू र ड्राफ्ट अनुसारको रा.वा. बैंकमा खोलेको मु. हिसाव नं. १७२६० को दिनेश शर्माको नाउँको ६ महिने मुद्दती रसिद अनुसारको रु.५०,०००।– मु.हि.नं. ११७२५८ को महेश शर्मा नाउँको ६ महिने मुद्दती रसिद अनुसारको रु.५०,०००।– मु.हि.नं. १७२५९ को दिपा शर्मा नाउँको ६ महिने मुद्दती रसिद अनुसारको ५०,०००।– मु.हि.नं. १७२६२ को ज्योती शर्मा नाउँको ६ महिने मुद्दती रसिद अनुसारको रु.५०,०००।– मु.हि.नं. १७२६१ शुरेस शर्मा नाउँको ६ महिने मुद्दती रसिद अनुसारको रु.५०,०००।– मु.हि.नं. १७२५७ को रमेश शर्मा नाउँको ३ महिने मुद्दती रसिद अनुसारको रु.५०,०००।– मु.हि.नं. १७२०९ को यादवराज शर्मा नाउँको ३ महिने मुद्दती रसिद अनुसाको रु.३,००,०००।– र मिति ०३६।१०।२७, संकेत नं. १३६, रामबहादुर श्रेष्ठ, रा.वा. बैंक हेटौंडा शाखाबाट पाउने गरी बनाइएको ड्राफ्टको रु.१,३९,९५०।– ने.बैं.लि. मा खोलेको मु.हि.नं. ४२।९९६ को माधवराज शर्मा नाउँको ६ महिने मुद्दती रसिद अनुसार रु.१,००,०००।– मु.हि.नं. ४२,९९५ को माधवराज शर्मा नाउँको छ महिने मुद्दती रसिद अनुसारको रु.१,००,०००। मु.हि.न. ४२।२४०१ को महेश शर्मा, रमेश शर्मा, दिनेश शर्मा नाउँको ६ महिने रसिद अनुसारको रु.१,५०,०००। र कल्पित व्यक्ति नारायण थापाको नाउँबाट ने.बैं.लि. काठमाडौं अफिसमा खोलेको चल्ती खाता नं. २१७९३ मा रहेको रु.८५,६५०। मध्येबाट रु.८५,६०० समेत जम्मा रु.११,७५,५५०। ने.बैं.लि. काठमाडौं अफिसलाई दिलाई भराई दिनु हुन भन्ने समेत व्यहोराको मिति ०३८।५।३१ को विशेष प्रहरी विभागबाट बागमती विशेष अदालत समक्ष दायर भएको आरोपपत्र देखिन्छ ।
१६. आरोपित कसूर मैले गरेको होइन रु.११,७५,५५०।– ने.रा.बैंक राष्ट्र ऋण शाखाबाट टि.टि शाखालाई पत्र लेखी ने.बैं.लि. लाई दिएको बोधार्थमा नारायण थापाको चल्ती खातामा जम्मा गरिदिन लेखी आएको पत्र दर्ता भई विभागमा बुझाई विभागबाट पास गरी भौचर सहित पछि म कहाँ पेश हुँदा एडभाईसमा रहेको दस्तखतमा मसी परी दस्तखत अस्पष्ट भएकोले रा.बै.मा फिर्ता गरिदिन विभागमा पठाए पछि सोको कभरिङ्ग लेटरमा इन्चार्ज र मेरो फाइनल दस्तखत भएकोमा पछि दैनिक एडभाईसका साथ सो पनि पेश भएछ सहिछाप र खाता नं. मिलेको देखि रिचेकिङ्गको लागि तेजराम समक्ष पेश हुन राजेन्द्र जोशी मार्फत पठाएको छु भनी प्र. राजेन्द्रमणी आ.दी.ले बागमती विशेष अदालतमा दिएको बयान ।
१७. राष्ट्र बैंकको ऋण शाखा र टि.टि. शाखाबाट नारायण थापा नाउँको चल्ती खातामा जम्मा गरिदिन भनी रु.११,७५,५५०।– आएको र ग्यारेण्टी विभागबाट फिर्ता गएको मलाई थाहा नभएको, भौचर मिलेको देखिएकोले मैले पनि पास गरिदिएको हो । मिलेमतोबाट पास गरिदिएको होइन भन्ने समेत व्यहोराको प्र. तेजराम मानन्धरले ऐ.अदालतमा दिएको बयान ।
१८. नारायण थापाले प्रतिमा थापाद्वारा परिचय गराई फाराम नमूना कार्ड म समक्ष पेश गरेपछि ईनिसियल गरी पैसा बुझाई अधकट्टी साथ पेश भएपछि काउण्ट नं. राखी बुकमा चढाई स. लेखापाल समक्ष पठाएको छु । मैले हेर्दा सबै मिलेको देखि पठाएको, म विदा बसेको अवस्था हराएको दर्खास्तको वारेमा मलाई मात्र जिम्मेवार ठहर्याउन मिल्ने होइन भन्ने समेत व्यहोराको प्र. विनोदप्रसाद शर्माले अदालतमा गरेको बयान । पहिलाको क्रेडिट एडभाइस राष्ट्र बैंकमा फिर्ता पठाइएको मलाई थाहा छ । दोस्रा पटक आएको उक्त क्रेडिट एडभाइसको सम्बन्धमा लेखिएको रकम मेरो अधिकार भन्दा बाहिरको हुँदा सहीसम्म गरी राजेन्द्रमणी कहाँ पेश गरको हुँ कतिपय चिठ्ठीपत्र दर्ता नभए पनि कारवाही गरिन्छ भन्ने समेत व्यहोराको प्र. राजेन्द्रमान जोशीले अदालतमा गरेको बयान ।
१९. मैले उक्त पत्र बुझी हेड असिस्टेण्ट कहाँ पठाई दिएको हो । यादवप्रसाद र माधवप्रसाद दुबैलाई चिन्दिन । खाम बन्दी रहेको अवस्थाको पत्र बुझेको हुँदा पत्रको व्यहोरा मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्र. राजेन्द्रप्रसाद शर्माले अदालतमा गरेको बयान ।
२०. राष्ट्र बैंकबाट आएका पत्रहरूमा मैले भौचर खडा गरी पेश गर्दथें । शारीरिक अस्वस्थताको कारण उपचार गराउन बाहिर जानु पर्ने कारण राजीनामा दिई औषधी उपचार गर्न गएँ । पटनामा उपचार गराई विरगन्जमा आई आफ्नो व्यवस्था गरी बसें । यादवप्रसादलाई नारायण थापा बनाई मैले खाता खोलाएको होइन । नावालक रमेश, महेश, दिनेश, सुरेश, ज्योति, दिपा समेतका नाउँमा रा.वा.बैंकमा खोलिएको खाताको मुद्दती रसिदहरू मेरो हो । जुन सम्पत्ति मेरो पैत्रिक र व्यवसायको रकम हो । काठमाडौं क्षेत्रीय प्रबन्धक समेत (समक्ष मैले गरेको बयान इच्छानुकूलको हो । भौचर हाकिम समक्ष पेश गरेको हुँ भन्ने समेत) व्यहोराको प्र. माधवप्रसाद तिमिल्सिनाले अदालतमा गरेको बयान ।
२१. नारायण थापा भन्ने व्यक्ति म होइन । निजको नाउँबाट मैले दस्तखत गरी खाता खोलाएको पनि छैन । आफ्नो व्यवसायको सिलसिलामा वीरगन्ज बसेको थिएँ । मेरो नाउँको मुद्दती रसिदको रकम पारिवारिक सम्पत्ति हो । गैरकानूनी रुपको रुपैयाँ होइन । सो रकम बैंकले उठाई लिन पनि पाउँदैन भन्ने समेत व्यहोराको यादवप्रसाद तिमिल्सिनाले अदालतमा गरेको बयान ।
२२. यादवप्रसादको खाता खोल्न शुद्ध भावनाले परिचय गराई दिएको छु । निजसँग कुनै मिलेमतो छैन भन्ने समेत व्यहोराको शुभाषराज काफ्लेको बयान ।
२३. बैंकमा खाता खोल्नको लागि यादवप्रसादलाई परिचयसम्म गराई दिएको छु । कुनै किसिमको मिलेमतो छैन भन्ने व्यहोराको लेखनाथ रेग्मीले गरेको बयान ।
२४. ने.बैं.लि. को नारायण थापाको चल्ती खाता नं. २१७९३ को दर्खास्त नमूना पत्रमा २१७९३ नं. को खाता नं. र हिसाव नं. भन्ने ठाउँमा चढाई मैले राखेकी, फाराम कसरी हरायो म भन्न सक्दिन भन्ने समेत व्यहोराको रश्मिला श्रेष्ठको बयान ।
२५. राष्ट्र बैंकबाट प्राप्त नारायण थापा नाउँको विकास ऋण पत्रको रकम रु.११,७५,५५०।– राष्ट्र बैंकसँग रकीन्सीलियसन गर्न खोज्दा नमिलेको, हाम्रो बैंकको हिसावमा जम्मा नदेखिए पनि आवश्यक कारवाहीको लागि ने.बैं.लि. प्रधान कार्यालयको कानून विभागलाई सौम्पिएको, कानून विभागबाट कर्मचारीहरूको बयान पनि गराइएको, सो फाइलै कारवाहीको सिलसिलामा वि.प्र.वि. मा नै पठाइएको भन्ने समेत व्यहोराको बुझिएको का.मु. महाप्रबन्धक गोपिकृष्ण श्रेष्ठको बयान कागज ।
२६. ने.बैं. बाट बयान कारवाही भएपछि माधवप्रसादका दाजु म कहाँ आएको, नारायण थापा नाउँको चिठ्ठी र साथमा रसिदहरू पनि प्राप्त भएको भन्ने समेत व्यहोराको बुझिएका आनन्द भक्तराज भण्डारीले गरेको बयान ।
२७. मैले आनन्द भक्तलाई नचिनेको, निज कहाँ नगएको, पैत्रीक सम्पत्ति ०३३।०४४ मा नै आमा र भाइ माधव, यादव जिम्मा दिएको आरोपपत्र बारे मलाई केही थाहा नभएको भन्ने समेत व्यहोराको मधुप्रसाद तिमिल्सिनाले अदालतमा गरेको बयान ।
२८. नेपाल राष्ट्र बैंकिङ कार्यालयबाट नारायण थापाका नाउँमा पठाइएको ०३६।६।२ को साँवा तथा व्याज भुक्तानी बापत रु.११,७५,५५०।– को पत्रमा भएको मोहनकृष्णको सही मेरो होइन । अक्षर मिल्दैन । पत्र जाली जस्तो देखिन्छ । मैले एडभाईस पठाएको छैन भन्ने समेत व्यहोराको बुझिएको मोहनकृष्ण श्रेष्ठको बयान ।
२९. ०३६।६।२ मा लेखिएको पत्रको प्याड राष्ट्र बैंक बैकिङ कार्यालयको प्याड जस्तो हो, साइज मिल्दैन, पत्रमा लागेको दस्तखत मोहनकृष्ण श्रेष्ठको होइन भन्ने समेत व्यहोराको बकिएका रुद्रनाथ शर्माको बयान ।
३०. विवादित विकास ऋण पत्रको पुछारमा भएको दस्तखत मेरो होइन उक्त प्याड पनि राष्ट्र बैंकको नभई नक्कली हो । क्रेडिट एडभाईसको बोधार्थ हाम्रो विभागमा प्राप्त नभएको भन्ने समेत व्यहोराको बुझिएका मानबहादुर बिष्टले गरेको बयान ।
३१. यादवप्रसाद साथी हुँदा सोही नाताले परिचय गरिदिएको, अन्य मिलेमतो नभएको भन्ने बुझिएका शिसिर राज प्याकुरेलले गरेको बयान ।
३२. यादवप्रसादले विभिन्न शाखामा जम्मा गरेको रकम निजैको हो भनी मान्न नमिल्ने देखिएको सो रकम जम्मा गरेको श्रेस्ताहरू पनि बदनियत पाइएको, जम्मा भएको रकम बारेमा गो.प. मा सूचना प्रकाशित हुँदा कोही उपस्थित हुन नसकेको, सोही रकमका चेकहरू हुलाकबाट दाखिला भएको, आदि कारणहरूबाट प्र.यादवप्रसाद नारायण थापा बनी दावी अनुसारको कसूर गरेको देखिन आएकोले भ्र.नि.ऐन, ०१७ को दफा ८ बमोजिम १ वर्ष कैद हुन्छ । प्र.मध्येका माधवप्रसाद सोही स्वीकृत नहुँदै लामो समयसम्म अनुपस्थित रही, इलाज पछि पनि कार्यालयमा उपस्थित हुने चेष्टासम्म नगरी बाहिर नै बसेको, गो.प. मा रकम विषयको सूचना प्रकाशित हुँदा आधिकारिक रुपले दावी गर्न नसकेको वारदात भएकै बैंकमा निजको पदाधिकार कायम रहेकोबाट समष्टिगत आधार प्रमाणले योजनाबद्ध भ्रष्टाचार गरेको प्रमाणित भएकोले प्र.माधवप्रसादले पनि दावी अनुसारको कसूर नगरेको मान्न नमिल्ने देखिँदा भ्रष्टाचार निवारण ऐन, ०१७ को ७(२) अनुसार १ वर्ष २ महीना कैद हुन्छ । प्र.तेजराज मानन्धर, राजेन्द्रमणी आदि, बिनोद शर्मा, राजेन्द्रप्रकाश शर्माले भ्र.नि.ऐन, ०१७ को दफा ७(२) अन्तर्गतको कसूर गरेको भन्ने आधार प्रमाण पुगेको नदेखिँदा सफाई पाउने ठहर्छ । विगोको हकमा दावी अनुसारको ने.बैं.लि. र रा.वा. बैंकमा खोलिएका मुद्दती खाताका रकमहरू, हेटौंडा शाखाबाट भुक्तानी पाउने गरी रामबहादुर श्रेष्ठका नाउँमा काटिएको ड्राफ्टको रकमबाट एवं नारायण थापाको खाता नं. २१७९३ बाट रु.८९,६००।– समेत जम्मा रु.११,७५,५५०।– ने.बैं.लि. काठमाडौं अफिसले भरी पाउने समेत ठहर्छ भन्ने समेत व्यहोराको बागमती विशेष अदालतको ०४०।२।५ को फैसला ।
३३. भ्र.नि.ऐन, २०१७ अन्तर्गत प्रवेश नै हुन नसक्ने प्रस्तुत मुद्दालाई सो ऐनको प्रयोग गरी भएको अन्यायपूर्ण विशेष अदालतको फैसला बदर गरिपाउँ भन्ने यादवप्रसाद तिमिल्सिना, भ्र.नि.ऐन, ०१७ को दफा ७(२) प्रयोग गरी गरिएको बा.वि.अ. को फैसला कानून प्रतिकूल हुँदा बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र. माधवप्रसाद तिमिल्सिना र माधवप्रसाद र यादवप्रसादको हकको फैसला कायमै राखी राजेन्द्रमान, राजेन्द्रमणी, विनोद शर्मा, तेजराम, राजेन्द्र प्रकाशलाई सफाई दिएको फैसला नमिलेको हुँदा निजहरूलाई पनि आरोपपत्र बमोजिम सजायँ गरिपाउँ भनी श्री ५ को सरकारतर्फबाट समेत पृथक–पृथक गरी म.क्षे.अ. मा पुनरावेदन पर्न गएकोमा, प्र.माधवप्रसादको भौचर उठाएको विवाद नभएको ६ अंकलाई ७ गरी सच्याएको कुरामा सावित रहेको, बैंक कारोवारमा भौचरको उठान गर्ने व्यक्तिको जिम्मेवारी महत्वपूर्ण हुने, यस्तो महत्वपूर्ण काम कारवाही नै निजबाट नै भएको कुरा प्रमाणित भएकोबाट माधवप्रसादलाई कसूरदार ठहराएको इन्साफ मनासिव नै देखिएको, प्र. यादवप्रसादको हकमा ठूलो रकम परिवारका नावालक सदस्यका नाउँमा राख्नु पर्ने समुचित कारण खुलाउन नसकेको, सोही रकम गो.प. मा सूचना प्रकाशित गर्दा दावी गर्न नआएको समेत आधार प्रमाणबाट निज पनि यस कसूरमा कसूरदार होइनन् भन्न सकिने अवस्था नहुँदा सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर मनासिव मान्न नसकिएको र अन्य प्रतिवादीहरूको हकमा लापरवाहीलाई नै कसूरमा संलग्नता रहेको मान्न मिल्ने नहुँदा निजहरूलाई पनि दावी वमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति ०४२।१।२० को फैसला देखिन्छ ।
३४. प्रस्तुत मुद्दाको प्रकृतिको मनन गर्दा कीर्तेसँग आबद्ध छ । कीर्ते कार्यको मुद्दाको डायरी भ्र.नि.ऐन, २०१७ अन्तर्गत हुने होइन । मेरो योजनावद्ध नियत प्रमाणित भए नभएको सम्बन्धमा अदालतमा नै छ । गो.प. मा सूचना प्रकाशित हुँदैमा बैंकमा रहेको रकम जफत हुने कुनै ऐन नियम छैन । तसर्थ विशेष अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गरेको म.क्षे.अ. को इन्साफमा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी माधवप्रसाद तिमल्सीनाबाट यस अदालतमा पर्न आएको निवेदनमा प्रमाणको उचित मूल्यांकन गरी निर्णय गर्नु पर्नेमा सो गरेको देखिन नआएकोले पुनरावेदन गर्ने अनुमति प्राप्त भएको देखिन्छ भने सोही व्यहोरा दर्शाई पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्र.यादवप्रसादले दिएको निवेदनमा विशेषमा दिएको प्रतिवेदनलाई रीत पुर्याई प्रमाणमा नलगाएको देखिएको आधारमा निजको हकमा पनि पुनरावेदन गर्ने अनुमति प्रदान गरेको पाइन्छ ।
३५. प्रस्तुत विषयको विवादित सहिछापको सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञलाई झिकाई पेश गर्नु भन्ने यस अदालतको आदेशानुसार विशेषज्ञबाट मिति ०४५।१।२ मा बकपत्र समेत भएको रहेछ ।
३६. नियमबमोजिम पेशीमा चढी पेश हुनआएकोमा निवेदहरूतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री जयकान्तलाल दास र विद्वान अ.श्री श्यामप्रसाद खरेल र श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । म.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने विषयमा नै मुख्यतः निर्णय दिन पर्ने देखिन आयो ।
३७. यसमा नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण विभागको क्रेडिट एडभाईस (Creadit Advice) बैंक लि. मा पेश गरी नारायण थापा भन्ने व्यक्तिको उक्त बैंकमा रहेको चल्ती खाता नं. २१७९३ मा रु.११,७५,५५०।– जम्मा गराई सो रकम झिक्न सोही बैंकका कर्मचारी प्र.माधवप्रसादले भौचर उठाई कारवाही चलाई रकम समेत झिकी सकेको कुरामा विवाद देखिन आएन । साथै प्रस्तुत वारदात नै नभएको भन्ने जिकिर पनि कहीं कतैबाट देखिन आएको नपाइँदा वारदात भएको होइन रहेछ कि भन्न पनि मिलेन ।
३८. अब प्रस्तुत वारदातलाई भ्र.नि.ऐन, अन्तर्गत कारवाही गर्न नमिल्ने भन्ने हकमा, राष्ट्र सेवक वा कुनै व्यक्तिले आफूलाई गैरकानूनी फाइदा र सरकारी मान्यता प्राप्त कुनै संस्थालाई गैरकानूनी हानी पुर्याउने कुनै काम कुरो गरेमा भ्रष्टाचारको आरोप या अभियोग नमान्न र भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने भन्न पनि सकिने देखिन आएन ।
३९. यि प्रतिवादीहरू उक्त वारदातामा संलग्न नरहेको भन्ने जिकिरतर्फ हेर्दा मुद्दाको प्रकृती कीर्तेसँग आबद्ध हुँदा भ्र.नि. ऐन आकृष्ट हुन नसक्ने भनी पुनरावेदनमा उल्लेख गरेकोबाट वारदातमा आफ्नो संलग्नता स्वयं स्वीकारेको देखिन्छ । प्र.यादवप्रसादको माध्यमबाट नारायण थापाको नाउँमा सोही बैंकमा चल्ती खाता खोली उक्त रकम झिकेको पाइन्छ । नारायण थापा भन्ने व्यक्ति विवादको केन्द्रबिन्दु देखिएका छन् । विवादित नारायण थापाको नाउँमा जम्मा भएको रुपैयाँको संरक्षक विषयमा बैंकको गो.प.मा सूचना प्रकाशित गरेको पाइन्छ । आफ्नो संरक्षणको रुपैयाँ हो भनी यी प्रतिवादीहरूबाट दावी भएको पनि पाइँदैन र नारायण थापाको पुष्ट्यांई पनि दिन सकेको देखिँदैन । बैंकमा रहेको हस्ताक्षर परीक्षणको सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञले नारायण थापा भन्ने व्यक्तिको हस्ताक्षर र प्र.यादवप्रसादको हस्ताक्षर मिल्न भिड्न आएकोले नारायण थापा भन्ने व्यक्ति यादवप्रसाद नै हुन् भनी यस अदालत समक्ष आई बकपत्र गरिदिएको देखिन्छ । सो कुराको खण्डन हुनसकेको पनि नपाइँदा विशेषज्ञको रायलाई अन्यथा भन्न पनि मिलेन ।
४०. नारायण थापाकै खाताबाट रकम झिकी प्र. यादवप्रसादले आफू लगायत परिवारका नाबालक व्यक्तिहरूका नाउँमा समेत जम्मा गरेको तथ्य निजले विभिन्न बैंकमा खाता खोली जम्मा गरेको रकम र विवादित रकम मिल्न भिड्न आएकोबाट पुष्टि हुनआएको देखिन्छ । निजले जम्मा गरेको रकमको स्रोत प्रस्तुत विवाद निम्ताएको गहण प्रमाण मानिएको, तर सो तथ्य युक्तिसंगत रुपले खुलाउन पनि सकेको नपाइँदा यस सम्बन्धमा पुनरावेदन जिकिर पत्यार लायक मान्न सकिने देखिन आएन ।
४१. यसर्थ विवादित खातावाला नारायण थापा यो व्यक्ति हो भनी यी प्रतिवादीहरूले पुष्टि गर्न नसक्नु, नारायण थापा भन्ने व्यक्तिको सहीछाप र प्र. यादवप्रसादको सहीछाप मिल्न भिड्न आएको भनी विशेषज्ञले अदालत समक्ष आई बकपत्र गरिदिनुबाट प्र.यादवप्रसाद तिमल्सीना नै कल्पित नारायण थापा होइन रहेछन् भन्न सकिने अवस्था देखिएन । साथै नेपाल राष्ट्र बैंकबाट प्राप्त क्रेडिट एडभाईस ९ऋचभबमष्त ब्मखष्अभ० बमोजिम ने.बैं.लि. बाट झिकिए बमोजिम जतिकै रकम प्र. यादवप्रसादले आफू लगायत परिवारका नाबालक व्यक्तिहरूका नाउँमा समेत विभिन्न खाता खोली रकम जम्मा गराउनु, यसरी जम्मा भएको रकम अत्यन्त छोटो अवधि भित्र नै जम्मा हुन गएको देखिन आउनु, र उक्त रकम कहाँबाट कसरी प्राप्त भएको हो ? सो सम्बन्धमा कुनै प्रमाण यी प्रतिवादीहरूले पेश गर्न सकेको मिसिल प्रमाणबाट देखिन नआउनुले यस वारदातमा यी प्रतिवादीहरू कसूरदार रहेनछन् भन्न सकिने अवस्था नरहँदा, यी प्रतिवादीहरुले नै आरोपित कसूर गरेको ठहर गरी म.क्षे.अ. बाट भएको फैसलामा कुनै पनि कानूनी त्रुटी विद्यमान रहे भएको नपाइँदा इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पु.वे.प्र. माधवप्रसाद तिमल्सिना के माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको फैसला मनासिव ठहरेकोले पुनरारावेदन गरे बापत अ.बं. २०३ ले शुरुले गर्ने गरेको कैद वर्ष १,२ महीनाको सयकडा ५ ले थप कैद दिन २१ हुनेमा निज पूर्पक्षको लागि ०३८।९।२९ देखि ०४०।२।५ सम्म थुनामा रहेको थप हुने कैद समेत भुक्तान गरी सकेको देखिँदा केही गरी रहनु परेन .................................१
पु.वे.प्र. यादवप्रसाद तिमल्सिना के ऐ.ऐ ठहरेकाले पुनरावेदन गरे बापत शुरुले गर्ने गरेको कैद वर्ष १ को सयकडा ५ ले हुने थप कैद दिन १८ बेरुजु हुँदा लगत कसी कानून बमोजिम असूल गर्ने भनी का.जि.अ. मा लगत दिनु...............२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु .............................................................३
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इति सम्वत् २०४५ साल ज्येष्ठ २७ गते रोज ५ शुभम् ।