निर्णय नं. ३४२० - लिखत बदर

निर्णय नं. ३४२० ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको दे.पु.नं. ५२६
फैसला भएको मिति : २०४५।३।२९।४ मा
पुनरावेदक/वादी : चिवतन, चैनपुर गा.पं. वडा नं. ६ बस्ने चीनबहादुर लामा
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ बस्ने हर्षमाया तामाङनीसमेत
मुद्दा : लिखत बदर
(१) आफ्नो हक स्थापित गराउने प्रमाण नै कानूनी रुपबाट निस्कृय भई गएपछि त्यस्तो निस्कृय प्रमाणबाट हक स्थापित हुन नसक्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : म.क्षे.अ.का २०४३।१।२ का फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी चीनबहादुरले दिएको निवेदनमा यसअदालतबाट अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. विपक्षी मध्येकी सानो मसिनीले मसँग रु.६,०००।– लिई चैनपुर गा.पं. वडा नं. ५ का कि.नं.९३, ९५, ९७ समेतका कित्ता जग्गाहरू र कि.नं.९३ मा बनेको फुसको घर समेत २०३२।७।२० मा राजीनामा गरी दिई पारित गरी नदिए उपर नालेश परी कारवाही भइरहेको अवस्थामा मलाई राजीनामा गरिदिए मध्येका कि.नं.९३ र ९७ को पुरै जग्गा घर समेत रु.७,०००।– मा २०३४।२।१२ मा हर्षमायालाई राजीनामा गरी २०३४।२।१३ मा पारित समेत गरिदिएकोले मेरो राजीनामा सदर गरी उक्त पछिल्लो राजीनामा बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. विपक्षीसँग खिचोला मुद्दा समेत परेकोले जग्गाधनी खान नसक्ने भई बिक्री गर्ने म र लिने हर्षमायाको मन्जूरी भई २०३४।२।१३ मा पारित गरिदिएको हुँ । लिखत पासतर्फ अ.बं. ७८ नं बमोजिम लिखतको नामाकरण बयान समेत गरिदिएको छु । हर्षमायालाई दिएको राजीनामा सदर गराई फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सानो मंसिनी तामाङ समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. दावा लिएको लिखत कीर्ते जालसाजी ठहरी पारित हुन नसक्ने ठहरेकाले सोही आधारमा भएको लिखत बदरको दावी हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतको फैसला ।
५. शुरुले खारेज गरेको इन्साफ बदर गरी दावी अनुसार न्याय पाउँ भन्ने समेत वादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. लगाउको दे.पु.नं.२२५/३३ फौ.पु.नं. ७३।३०३ का मुद्दाहरूबाट वादी दावी नपुग्ने ठहरी फैसला भएकाले वादी दावी खारेज गर्ने गरेको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति २०४०।१।६ को फैसला ।
७. नारायणी अञ्चल अदालतको फैसलामा प्रत्यक्ष कानूनी त्रुटी हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको चीनबहादुर लामाले म.क्षे.अ.मा दिएको निवेदनमा उक्त म.क्षे.अ.बाट पुनरावेदनको अनुमति प्रदान गरिएको रहेछ ।
८. आजै किनारा भएको दे.पु.नं.१२९३ को लिखत पास जालसाजी मुद्दामा वादी चीनबहादुरको दावीको लिखत कीर्ते जालसाजी ठहरी पारित नहुने ठहर भएको हुँदा सो आधारमा हक भएको देखाई सानो मसिनीले हर्षमायालाई गरिदिएको २०३४।२।१३ को लिखत बदरमा नालिश गर्ने वादीलाई हकदैया नै नभई खारेज हुने हुँदा खारेज गर्ने गरेको समेत नारायणी अञ्चल अदालतको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४३।१।२ को फैसला ।
९. म.क्षे.अ.को त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी चीनबहादुर लामाको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनगर्ने अनुमति प्राप्त भई यसइजलास समक्ष पेश हुनआएकोमा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनी म.क्षे.अ.बाट भएको निर्णय मिले नमिलेको के रहेछ भनी निर्णय दिन पर्ने देखिन आयो ।
१०. मबाट रुपैयाँ लिई राजीनामा लेखिदिएको जग्गाहरू विपक्षीले हर्षमायालाई राजीनामा लेखी बिक्री गरिदिएकोले ०३३।७।१० को राजीनामा सदरै राखी ०३४।२।१२ को राजीनामाको लिखत बदर गरिपाउँ भन्ने मुख्य फिराद दावी भएको प्रस्तुत मुद्दामा दावीको लिखत नै कीर्ते जालसाज ठहर भई लिखत पारित नै नहुने ठहर भई फैसला भएको हुँदा सोही लिखत बदर गराई पाउँ भनी नालेश गर्न वादीलाई हकदैया नै नहुने भनी दावी खारेज भई निर्णय भएको देखिन्छ ।
११. यसमा यी वादीले यिनै विपक्षी सानो मसिनी तामाङनी उपर दिएको फौ.पु.नं. ४११ को लिखत पास जालसाजी मुद्दामा मिति ०३३।७।१० मा भएको लिखत कीर्ते जालसाजबाट गरिएको प्रमाणित भई आजै यस इजलासबाट निर्णय भएको, उक्त मिति ०३३।७।१० को राजीनामा कायमै राखी यी विपक्षी सानो मसिनी तामाङनीले विपक्षी हर्षमाया तामाङनीलाई गरिदिएको ०३४।२।१२ को राजीनामा लिखत बदर गरिपाउँ भन्ने पुनरावेदन दावी रहेको देखिँदा आफ्नो हक स्थापित गराउने प्रमाण नै कानूनी रुपबाट निष्क्रिय भई गएपछि त्यस्तो निष्क्रिय प्रमाणबाट हक स्थापित हुनसक्ने नहुँदा फिराद दावी नै खारेज हुने ठहराएको म.क्षे.अ.को इन्साफमा कुनै कानूनी त्रुटी विद्यमान रहे भएको देखिन नआउँदा इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्बत् २०४५ साल आषाढ २९ गते रोज ४ शुभम् ।