निर्णय नं. ३४२१ - कर्तव्य ज्यान

निर्णय नं. ३४२१ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५४९
आदेश भएको मिति : २०४५।२।१९।४ मा
पुनरावेदक/वादी : सुमत्रा तेलीको जाहेरीले श्री ५ सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : नवलपरासी गुठीसूर्यपूरा गा.पं.वा.नं. ९ बस्ने काशीनाथ गुप्तासमेत
मुद्दा : कर्तव्य ज्यान
(१) जाहेरवालीले चिनेको भनी बकपत्र गरेको हकमा अघिदेखि बेइज्जती मुद्दा प्रतिवादीहरूसँग परेको देखिएबाट केवल उनको बकपत्रलाई मुख्य आधार मानेर कसूरदार ठहर्याउन नमिल्ने ।
(प्रकरण नं. १९)
(२) केवल शंकाको भरमा प्रतिवादीहरूलाई कसूरदार ठहर्याउन मिल्ने नदेखिने । फौज्दारी मुद्दामा शड्ढाको सुविधा अभियुक्तले पाउने ।
(प्रकरण नं. १९)
पुनरावेदक/वादीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की
प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. ०३९ साल पौष ५ गते अं. ११।१२ बजेको समयमा काशीनाथ गुप्ताले मेरो पति रामगति तेलीलाई बोलाई लिई गई ऐ.सूर्यपूरा गा.पं. वडा नं. ९ बस्ने जानकी ब्राम्हण ऐ.बस्ने नसाणुद्दिन मुसलमान ऐ.बस्ने दुधानाथ गुप्ता र काशीनाथ गुप्ता समेत जाना ४ भई मिलोमतो गरी पति रामगति तेलीलाई कर्तव्य गरी मारी लाश समेत बेपत्ता गरेको हुँदा निजहरूलाई पक्राउ गरी कानून बमोजिम कारवाई समेत गरिपाउँ भन्ने समेत सुमित्रा तेलीको ०३९।९।९ को जोहरी दर्खास्त ।
३. घटना घटेको भनिएको ठाउँ डिवनी गाउँदेखि पश्चिम अं. २०० गज आठिराएको खेतको कुनामा अं.४ ईन्च गोलाईमा रगत खसी जमेका र माडिएको, दक्षिण दश हरिजनको खेतको आलीमा ३ ईन्ची गोलाईमा रगत जमेको, त्यसको दक्षिण अं. ३०० गज पर त्रिवेणी हरिजनको खेत आलीमा २ ईन्च गोलाईमा रगत जमेको भन्ने समेतको घटनास्थलको प्रकृति मुचुल्का ।
४. मैले रामगति तेलीलाई बोलाएको र कर्तव्य गरी मारेको समेत होइन मोहरम र रामगतिको बीचमा झगडा भएको हुँदा रामगतिलाई मोहरमले मारेको होकी भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको प्र. काशीनाथ गुप्ताले प्रहरीमा गरेको बयान कागज ।
५. प्रहरीको मद्दत साथ मेरो लोग्नेको लाश खोज तलाश गर्दै रहेकोमा ०३९।९।२४ गतेका दिन यु.पि.को झुलनी पुलदेखी अं. २०० गज पारी वापरहास नहरको पानीमा मेरो श्रीमानको लाश फेला परेकोले प्रहरी समेतको मद्दत लिई रामगतिको लाशलाई अस्पतालमा राखी जाहेर गर्न आएको छु भन्ने समेत ०३९।९।२५ को सुमित्रा तेलीको दर्खास्त ।
६. मर्ने रामगति तेली र प्र. सुधानाथका बीचमा झगडा भएको मुद्दा समेत चलेकोले जाहेरीमा लेखिएका व्यक्तिले मारेको शंका लाग्छ भन्ने केही व्यक्ति र जाहेरीमा लेखिएका व्यक्तिले रामगतिलाई कर्तव्य गरी मारेका शंका लाग्दैन भन्ने समेत धेरै जसो व्यक्तिले बकी लेखाई दिएको सरजमीन मुचुल्का ।
७. धार भएको हतियार प्रयोग गरी मारेको भन्ने रामगति तेलीको लाशजाँच प्रतिवेदन ।
८. प्रतिवादी काशिनाथ गुप्ताले दुधानाथ गुप्ता, जानकी ब्राम्हाण, नसुणुद्दिन र मोहरम समेतको मिलोमतोबाट रामगति तेलीलाई कर्तव्य गरी मारेको सिद्ध हुनआएको हुँदा ज्यानसम्बन्धी महलको १३(३) अनुसार सजायँको माग दावी गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।
९. २०३९।९।५ गतेका दिनमा खेतमा र राती घरमै थिएँ, रामगति कहिले मरे थाहा छैन र कसले मारे थाहा छैन सो दिनको राती म रामगतिलाई बोलाउन आएको छैन । म निर्दोषछु भन्ने समेत प्र. काशिनाथ गुप्ताले अदालतमा गरेको बयान ।
१०. मलाई हर्नियाको बिरामीले औषधी उपचार गर्न ०३९ साल पौष ४ गते भारत निचरोल गई सरकारी अस्पतालमा भर्ना भई ऐ.७ गते सम्म उही अस्पतालमा बसी ८ गते मात्र म घर आएको हुँदा म ०३९।९।५ गते भारतको सरकारी अस्पतालमा भएको र मेरो गाउँ देखि २० कि.मि. टाढा भएको हुँदा अरु प्रतिवादीहरूसँग भेट भएन म घर आएपछि रामगति हराए भनी सुनेको हुँ, मेरो भाइ काशिनाथले बोलाई म समेतले मारेको होइन, जाहेरवालाको लोग्नसँग गाली बेइज्जती मुद्दा परेको थियो, सोही रीसइवीबाट जाहेरी दिएको हुन रामगतिलाई म समेतले मारेको होइन, भन्ने समेत दुधनाथ गुप्ताले अदालतमा गरेको बयान ।
११. ०३९ साल कार्तिक महीनामा मेरी श्रीमती विरामी भएकोले श्रीमतीलाई लिई ५० कोष टाढा पर्ने भारतमा मेरो ससूरालीमा गई म समेत बिरामी हुँदा औषधी उपचार गरी २।४ दिन पछि मात्र घर आई मेरा नाउँको म्याद जारी भएको भन्ने थाहा पाएकोले निवेदन साथ हाजिर हुनआएको छु, २०३९ साल पुष ४ गते काशिनाथ गुप्ता समेतसंग भेटघाट भएको र जाहेरी दर्खास्त अनुसार म समेतको मिलोमतोबाट रामगति तेलीलाई कर्तव्य गरी मारेको भन्ने कुरा झुठ्ठा हो कसले मारे मलाई थाहा छैन दुधानाथ र रामगति तेलीको गाली बेइज्जती मुद्दामा दुधानाथतर्फबाट म साक्षी बसेको हुँदा सोही रिसइवीले झुठ्ठा जाहेरी दिएका हुन भन्ने समेत नसाणुद्दिन मुसलमानले मिति ०४०।१०।१२ मा अदालतमा गरेको बयान ।
१२. प्रतिवादी मध्ये जानकी ब्राम्हाणका नाउँमा जारी भएको ७० दिने म्यादी पुर्जी मिति ०३०।११।२० मा तामेल भएको म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसेको ।
१३. जोहरवाला तथा सरजमीनका मानिस र प्रतिवादीका साक्षीको बकपत्र भई मिसिल संलग्न रहेको, प्रतिवादी मध्येका जानकी ब्राम्हाणले ७० दिने पुर्जीमा समेत हाजिर नभई फरार हुँदा निजका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राख्ने, प्र. मध्येको काशीनाथ गुप्ता र दुधानाथ गुप्ता, नसुणुद्दिन मुसलामान समेतका प्रतिवादीकै कर्तव्यबाट मारे मराएको भन्ने ठोस सबूदको अभावमा प्रहरी प्रतिवेदन दावी अनुसार ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सजायँ गर्न मिल्दैन निजहरूले सफाई पाउने ठहर्छ । अ.बं. १८६ नं. बमोजिम साधक जाहेर गर्ने ठहर्छ भन्ने समेत मिति २०४१।१०।८ को नवलपरासी जिल्ला अदालतको फैसला ।
१४. उक्त नवलपरासी जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेतको वादी श्री ५ को सरकारतर्फबाट प.क्षे.अ. मा पुनरावेदन परेको ।
१५. शुरु नवलपरासी जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला । पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ गरिपाउँ भन्ने समेतको श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको ।
१६. जाहेरवालीले अदालतमा बकपत्र गर्दा मृतकलाई काशीनाथले बोलाई लगेको भनेको साथै सरजमीनका फदमी मसुसलमानले पनि वारदातको रात मर्ने रामगतिलाई एकजनाले बोलाई लगेको भनी देखाएको सोही रात देखि मृतक बेपत्ता समेत भएको देखिएको, दुधानाथको घरदेखि अं. ७५ गज फरकमा ३ ठाउँमा रगत खसी जमेको र सो रगत मान्छेको देखिएबाट प्र.हरूले सफाई पाउने ठहर्याएको मिलेको नदेखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत स.अ. संयुक्त इजलासको २०४४।१०।१९ को आदेश ।
१७. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान सह–न्यायाधिवक्ता श्री जितबहादुर कार्कीले जोहरवालाले अदालतमा आई प्रष्टसँग बकपत्र गरेको छ । दुधानाथको घर नजिकै मृतकको रगत जमेको छ, अघिदेखि रीसइवी समेत भएको हुँदा प्र.हरूले नै कर्तव्य गरी मारेका हुन् भन्ने समेत र प्रतिवादीहरू तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले प्र.हरू आरोपित कसूरमा इन्कार छन् । मार्न पर्ने सम्मको रिसइवी केही छैन । अघिदेखि रीसइवी भएको जाहेरवालीले गरेको बकपत्र प्रमाण योग्य छैन सरजमीनका बकपत्र गर्ने व्यक्तिले आफूले देखेको भन्न सकेका छैनन्, तसर्थ प.क्षे.अ. को इन्साफ सदर हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१८. अब प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
१९. निर्णयतर्फ विचार गर्दा यसमा रामगति तेलीको मृत्यु भएकोमा विवाद छैन । निज रामगतिको मृत्यु प्र.हरूको कर्तव्यबाट भए नभएको के रहेछ भनी मुख्य रुपमा विचार गर्नु पर्ने देखिन आएको छ । प्र.काशीनाथ आरोपित कसूरमा इन्कार रही अधिकार प्राप्त अधिकारी एवं जिल्ला अदालतमा बयान गरेको पाइन्छ । प्र. नसुणुद्दिन र प्र. दुधानाथ अदालतमा हाजिर भई आफूलाई लागेको अभियोगमा इन्कार देखिन्छन् । प्रतिवादीहरूको इन्कारीलाई निजहरूका साक्षीहरूले पुष्टी हुने गरी बकपत्र गरेको दखिन्छ । जाहेरवाली सुमित्राले काशीनाथलाई चिनेको भनी बकपत्र गरेको हकमा अघिदेखि बेइज्जती मुद्दा प्रतिवादीहरूसँग परेको देखिएबाट केवल उनको बकपत्रलाई मुख्य आधार मानेर कसूरदार ठहर्याउनु मिलेन । अन्य सर्जजिनका फदमि महाजन र लालजि आफैंले प्र.हरूलाई देखे चिनेको र निजहरूले मारेको भनी यकीनसाथ भन्न सकेको पाइँदैन । यस्तो अवस्थामा केवल शंकाको भरमा प्रतिवादीहरूलाई कसूरदार ठहर्याउन मिल्ने देखिन्न, फौज्दारी मुद्दामा शंकाको सुविधा अभियुक्तले पाउने सिद्धान्त रहेको हुँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफमा कुनै त्रुटी नदेखिँदा सदर हुने ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल ज्येष्ठ १९ गते रोज ४ शुभम् ।