निर्णय नं. ३४२२ - उत्प्रेषण

निर्णय नं. ३४२२ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको रिट.नं. २४५९
आदेश भएको मिति : २०४५।२।२० मा
रिट निवेदक : जि. सप्तरी गा.पं. कोइलाडी वडा नं. २ मौजे कोइलाडी बस्ने राधादेवी राजपुतनी
विरुद्ध
विपक्षी : श्री भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सप्तरीसमेत
विषय : उत्प्रेषण
(१) केवल मिति नखुलेको कारणले मात्र एकपटक प्रकाशित भइसकेको २ नं. अनुसूचीलाई प्रकाशित भएको होइन भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह
विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं व्यहोरा संक्षेपमा यसप्रकार रहेछ :–
२. जि. सप्तरी गा.पं. गोइठी वार्र्ड नं. १ को कि.नं.२१८ को ज.वि. १–४–१६ र कि.नं.२२३ को ज.वि. ०–६–७ समेत जग्गा मेरो पेवा जग्गा हो । कि.नं.२२३ को जग्गा पर्ति भवानीप्रसाद सिंहले मोहीमा जोत्नु हुन्छ र कि.नं.२१८ को जग्गा म आफैंले जोत आवाद गर्दै थिएँ र २०२९ सालदेखि विन्देश्वर वरवरियालाई मोहीमा जोत्न दिएकी र ०३५।५।११ गते सो जग्गा अमरेन्द्रकुमार सिंहलाई बकसपत्र गरिदिएँ र अमरेन्द्रकुमार सिंहबाट ०४१।९।१९ गते कौसलेन्द्र नेपालले खरीद गरी लिनु भएको छ, कि.नं.२२३ को जग्गाको ०३९ सालको बाली दुर्गालाल समेतले लुटपीट गरेको भनी मेरो सप्तरी जि.अ. मा लुटपीटको मुद्दा परेपछि उक्त कि.नं.२१८ र २२३ को जग्गाको मोहियानी प्रमाणपत्र पाउँ भनी विपक्षीले मलाई जग्गाधनी देखाई भू.सु.का.सप्तरीमा निवेदन दिनु भयो र मैले कि.नं.२२३ को मोही भवानीप्रसाद हुनुुहुन्छ विपक्षीले सो जग्गा मोहीमा कमाएको छैन भनी प्रतिवाद गरेको थिएँ । विपक्षीले पेश गरेका भर्पाई समेत हामीलाई नसुनाई दुर्गालालले राधादेवी नाउँको जग्गाको ४ नं. जो.अ.नि. प्राप्त गरेको २ नं. अनुसूची प्रकाशित भएको ज.ध.ले २ नं. प्राप्त गरेको अनुसूची उपर उजूर नगरेको ०३७ सालको कूत बुझी भराई गरिएको ०३९ सालको कूत ज.ध. को सगोलको लोग्नेले बुझी भर्पाई गरिदिएको हुँदा राधादेवी नाउँको कि.नं.२२३ को र कोसलेन्द्र नेपालका नाउँको कि.नं.२१८ को जग्गाको वादी मोही कायम हुने ठहर्छ भनी भू.सु.अ. बाट ०४२।१२।११ गते फैसला भयो जुन फैसलामा निम्न त्रुटी देखिन्छ ।
३. यो जग्गा मेरो पेवा भएको र कि.नं.२२३ को जग्गाको मोही मेरो पति भवानीप्रसाद सिंह भएको रेकर्ड सर्भे फिल्डबुक तथा ज.ध. दर्ता प्रमाण पूर्जाबाट देखिने र विपक्षीले पेश गरेको ४ नं. जो.अ.नि.मा मिति छैन, कि.नं.२१७ र २११ को उल्लेख छ । कि.नं.२१८ र २२३ मा हाल विपक्षीले दावी गर्नु भएको छ ४ नं. जो अ.नि. मा चौहदी पनि लेखेको छैन । २ नं. अनुसूची सम्बन्धित वार्डमा अहिलेसम्म प्रकाशित भएको छैन । प्रकाशित भएको भए मिति खुलाउन सक्नु पर्ने । २०३७, २०३८, २०३९ सालको भर्पाई हामीलाई देखाई सुनाई अ.बं. ७८ नं. बमोजिम बयान गराउनु पर्ने सो समेत नगरी अ.बं. ७८ नं. को बिपरीत छ २०२२–२०३० सालको भर्पाई पेश गर्न सक्नु पर्ने सक्नु भएको छैन । अतः भू.सुु.का.सप्तरीको ०४२।१२।११ को निर्णयबाट संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ अन्तर्गतको संवैधानिक हक तथा कानूनी हक समेत हनन् भएकोले उक्त निर्णय उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी संवैधानिक तथा कानूनी हकको संरक्षण तथा प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेशानुसार प्राप्त लिखितजवाफको तथ्य एवं व्यहोरा संक्षपमा यसप्रकार रहेछ :–
५. कि.नं.२२३ र २१८ को कूत धान राधादेवी र भवानीप्रसाद सिंहले ०३७।११।१३, ०३८।११।१२ र ०३९।११।७ गतेमा कूत बुझी भर्पाई गरिदिएको र २ नं. अनुसूची नियमानुसार प्रकाशन भएको देखिएको र भवानीप्रसाद सिंहका नाउँमा २ नं. अनुसूची प्रकाशन भएको नदेखिएको दुर्गालाल देवले कि.नं.२१८ र २२३ को जग्गा मोहीमा कमाएको देखिँदा यस कार्यालयको मिति २०४२।१२।११ गतेको फैसला कानूनसंगत भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.सप्तरी ।
६. विवादित जग्गा मैले भू.सं. ऐन, २०२१ को दफा २५(१) अन्तर्गत भू.सु. लागू हुँदा भू.सं. नियमावली, २०२१ को नियम ३ नं. बमोजिम १ नं. फाराम भरी नियम ६ बमोजिम २ नं. अनुसूची प्रकाशन भई ३५ दिनभित्र उजूर नपरी लगत प्रकाशन अन्तिम भई ४ नं. जो.अ.नि. समेत पाएको छ । विपक्षीको लोग्ने भवानीप्रसादले ०३९।११।७ र विपक्षी राधादेवीले ०३७।११।१३ तथा ०३८।११।२२ मा विवादित जग्गाको कूतवाली बुझी भर्पाई गरिदिएको छ । भू.सु.का.सप्तरीको निर्णय कानून बमोजिम रीत पुगेको छ, अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत दुर्गालाल देव वैश्य ।
७. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहको र विपक्षी कार्यालयको तर्फबाट उपस्थित का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टको बहस जिकिर समेत सुनियो ।
८. रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
९. निर्णयतर्फ विचार गर्दा यसमा कि.नं.२१८ र २२३ को जग्गामा विपक्षी मोही नभएकोमा मोही कायम गर्ने ठहर्याएको भू.सु.का.सप्तरीको २०४२।१२।११ को निर्णय बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर देखियो ।
१०. यसमा विवादित साविक कि.नं.२१७ हाल कि.नं.२१८ र साविक कि.नं.२११ को हाल कि.नं.२२३ को जग्गाको मोही दुर्गालाल देवलाई देखाई सम्बन्धित वार्डमा २ नं. अनुसूची प्रकाशित भएको देखिन्छ, रिट निवेदक राधादेवीले २ नं. अनुसूची सम्बन्धित वार्डमा प्रकाशित भएको भए मिति खुलाउनु पर्ने भन्ने जिकिर लिएको देखिन्छ, तर विपक्षी दुर्गालाल देवका नाउँमा प्रकाशन भएको २ नं. अनुसूचीलाई रिट निवेदकले अस्वीकार गर्न नसकी मिति खुलेको हुनुपर्ने भन्ने जिकिर लिएको देखिन्छ । केवल मिति नखुलेको कारणले मात्र एकपटक प्रकाशित भइसकेको २ नं. अनुसूचीलाई प्रकाशित भएको होइन भन्न मिल्ने देखिँदैन । यसरी प्रकाशन भइसकेको २ नं. अनुसूची उपर रिट निवेदकको कुनै उजूर परेको देखिँदैन, विपक्षी दुर्गालाल देवले ४ नं. अनुसूची समेत प्राप्त गरेको देखिन्छ, साथै विपक्षी दुर्गालाल देवलाई कूत बुझी स्वयं राधादेवी र निजको सगोलको लोग्ने भवानीप्रसाद सिंहले भर्पाई समेत गरिदिएको पाइयो । सबूद प्रमाण समेतको मूल्यांकन गरी विवादित जग्गाको मोही विपक्षी दुर्गालाल देव कायम हुने ठहर्याई गरेको भू.सु.का.सप्तरीको मिति २०४२।१२।११ को निर्णय त्रुटिपूर्ण नभई कानूनसंगत नै देखिन्छ, यस्तो स्थितिमा रिट जारी गर्न मिलेन । अतः रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम बुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल ज्येष्ठ २० गते रोज शुभम् ।