निर्णय नं. ३४२८ - ज्यान

निर्णय नं. ३४२८ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पू.नं. ४०९
फैसला भएको मिति : २०४५।२।४।३ मा
पुनरावेदक/प्रतिवादी : मकवानपुर श्रीपुर छतिवन गा.पं. वडा नं. २ बस्ने मानबहादुर थिंग
विरुद्ध
विपक्षी/वादी : धन सिं लामाको जोहरीले श्री ५ को सरकार
मुद्दाः ज्यान
(१) ज्या.सं.को ४ नं. को कानूनी व्यवस्था अनुसार लाशको सदगद गर्दा पुर्जी लिई मात्र गर्नु पर्नेमा सो नगरी जलाएको देखिएबाट कसूर नगरेको भन्न नमिल्ने ।
(प्रकरण नं. ४९)
(२) मृत्यु भएको २ दिनपछि गाउँका मानिसहरूको सल्लाह समेत भई लाश जलाएको देखिएबाट र अन्य सबूद प्रमाणबाट दबाउने नै मनसाय थियो भन्ने पुष्टि समेत नभएबाट ६ महीना कैद गरेको नमिलेकोले ज्या.सं. को ४ नं. ले रु.१०।– जरिवाना हुने ।
(प्रकरण नं. ४९)
पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल
विपक्षी वादीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी.
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।
२. मिति ०३८ साल माघे संक्रान्तीको दिन मकवानपुर जिल्ला छतिवन गा.पं.वा.नं. २ बसन गाउँ बस्ने मानबहादुर डिमडुङ र ऐ.ऐ बस्ने गोपालबहादुर रुम्वा वनमा शिकार खेल्न भनी वनमा पुगेपछि निज गोपालबहादुर रुम्वाले वन्दुकले हानी लाश पारी पचाएको रहेछ । के कसो व्यवहारबाट त्यसो भयो भनी बुझ्दा गाउँको वार्ड अध्यक्ष अर्जुनबहादुर, गा.पं.स. मानबहादुर थिंङ तामाङ, मुकुन्दबहादुर वोगटी क्षेत्री, विष्णुलाल वोम्जन, अवास मिया, गोकुल समेत ६ जनाले मृतककी श्रीमती समेतलाई हात लिई मिलोमतो गरी खास बन्दुकले हानी मारी सो लाशलाई जाँचबुझ गर्दै नगरी बेपत्ता पारी क्रिया समेत गरेको हुँदा कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको धन सिंह लामाले मिति ०३८।१२।६ मा हुलाकबाट दिएको जाहेरी दर्खास्त ।
३. मृतक मानबहादुर डिमडोङलाई शिकार खेल्न भनी जंगलमा लगी बन्दुकले हानी मारेका र वार्ड अध्यक्ष अर्जुनबहादुर लामिछाने समेतका मानिसहरूको मिलोमतोबाट लाश समेत दबाई काजक्रिया समेत गरी गराई सकेकोले निजहरूलाई पक्राउ गरी शुरु जाहेरीमा लेखीए बमोजिम कारवाही र अन्य सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाला धनसिंह लामाको सनाखत कागज ।
४. २०३८ साल माघ १ गते संक्रान्तीको दिन बेलुकी पख पनि अघि पछिकै जस्तै दुबै जना गाउँ देखि पूर्वमा भएको वरेशन जङ्गलमा कालिज शिकार खेल्न भनी भरुवा बन्दुक लिई गई गोपालबहादुरले कालिजको शिकार हान्दा निजको साथमा गएको मानबहादुर डिमडुङलाई भरुवा बन्दुकको गोली लागी वनमै घाइते भएको छ भनी ज्वाई गोपालबहादुर रुम्बाले भन्न आयो विरामी लोग्नेलाई लिन जान पर्यो भनी माघ १ गतेको राती ११–१२ बजेको समयमा मर्ने मानबहादुरकी श्रीमती चिनीमाया मुलनस्यायाले म सुतिरहेको वेलामा भन्न आएकीले मर्नेको माहिला भाइ लालबहादुर, साहिंला भाइ कान्छाराम, भनेको साहिंला बाबुको छोरा दमबहादुर डिमडुङ, कान्छा बाबुको छोरा टुडुबहादुर डिमडुङ मर्नेकी श्रीमती चिनीमाया, मर्नेकी आमा र जगतबहादुर रुम्वा समेत ८ जना वसन भन्ने जङ्गलमा गई हेर्दा निज मानबहादुर डिमडुङ मरी सकेको र निजको छातीमा बन्दुकको छर्रा लागी अं.१½ इन्च जतिको प्वाल परिरहेको देखी त्यहाँबाट फर्की आई भोलिपल्ट छतिवन गा.पं.वा.नं. २ वसान गाउँ बस्ने पद्मबहादुर स्याङतान, मानबहादुर स्याङतान, रामथिङ्ग, सोमबहादुर मुलन, मोति थोकर, इन्द्रबहादुर रुम्वा, टेकबहादुर मुलन, चन्द्रबहादुर थोकर, वीरबहादुर सिंगतान, ज्ञानबहादुर भन्ने विचार मान स्याङतान, विरबहादुर न्यासुर र हालको गा.स.स. पद्मबहादुर तामाङ समेत जम्मा भई सरसल्लाह हुँदा शिकार हान्न लाग्दा मानबहादुरलाई गोली लाग्न गई मृत्यु हुन गएको देखिँदा आफन्त नाता गोताको कुरा भएकोले लाश सदगत गर्नु पर्यो भनी मर्ने मानबहादुरको लाशलाई जङ्गलबाट लगी जलाएको हो भन्ने समेत व्यहोराको प्रहरीमा मानबहादुर थिङ तामाङले गरेको बयान कागज ।
५. मिति २०३८ साल माघे सक्रान्तीको दिन ज्वाई नाता पर्ने गोपालबहादुर रुम्वा र मेरो लोग्ने मानबहादुर शिकार खेल्न भनी वसन जङ्गलमा गएपछि म सहितको परिवार घरमा सुती निदाएको अवस्थामा गोपालबहादुर रुम्वा आई कालिजलाई बन्दुकले हान्दा जेठानलाई लागिन गई घाइते भएकोले लिन जानु पर्यो भनी भनेकोले सुतिरहेका सासू, देवर र गा.स.स.पद्मबहादुर समेतका ७–८ जना जुनेली रातमा त्यहाँ जाँदा लोग्ने मानबहादुरको छातीमा गोली लागी मरिसकेकोले रुँदै कराउँदै घर आई भोलिपल्ट गाउँलेहरू सहित भएर छलफल गर्दा मारौं भनी मारेका होइन कालिज शिकार गर्दा अचानक लाग्न गई मरेकोले अड्डामा गई जाहेर गरी रहन पर्देन भनी गाउँले समेतले भनेकोले जङ्गलबाट लोग्नेको लाश चिहान डाँडामा जलाएर काजक्रिया समेत गरी बसेको छु भन्ने समेत व्यहोराको चिनीमायाको बयान कागज ।
६. गोपालबहादुर रुम्वाले कालिजलाई शिकार हान्दा मानबहादुरलाई लाग्न गई मरेकोले लाश सदगत गरेको भन्ने कुरा घटना भएको २।३ दिनपछि थाहा पाएको हो भन्ने समेत व्यहोराको मिति ०३९।८।७ गते भएको सरजमीन मुचुल्का ।
७. ज्वाई गोपालबहादुर रुम्वासँग शिकार खेल्न गएको दाजु मानबहादुर डिमडुङलाई शिकार हान्दा गोली लागी घाइते भयो भनी ज्वाईले खबर गर्न आएकोले जानु पर्यो भनी भाउजू चिनीमायाले मलाई भन्न आएकीले हामी परिवार र गा.स.स. मानबहादुर थिङसमेतका मानिसहरू जंगलमा जाँदा छातीमा गोली लागी मरीसकेकोले त्यहीं छोडी भोलिपल्ट गाउँलेहरू सहित सर सल्लाह हुँदा ज्वाई जस्तो मान्छेले मारौं भन्ने विचारबाट मारेको होइन त्यसैले उजूर नगरौं भनी जंगलबाट लाश ल्याई च्यानडाँडामा जलाएका हौं भन्ने समेत व्यहोराको लालबहादुर डिमडुङ तामाङले गरेको बयान कागज ।
८. भिनाजु गोपालबहादुर रुम्वा र जेठो दाजु मानबहादुर शिकार खेल्न माघे संक्रान्तीको दिन वसन वनमा गएकोमा भिनाजुले शिकार हान्दा दाजु मानबहादुरलाई लाग्न गई घाइते भएको छ त्यहाँ जानु पर्यो भनी दाजु लालबहादुरले भनेकोले हामी सपरिवार र गा.पं.स. मानबहादुर सहितका गाउँलेहरू त्यहाँ जाँदा छातीमा गोली लागी दाजु मरिसकेकोले फर्की आई भोलिपल्ट गाउँ सल्लाह हुँदा मारौं भन्ने विचारबाट मारेको नभई शिकार हान्दा अचानक छर्रा लागेको कुरा उजूर गर्दा दुःख हुन्छ भनी भनेकाले आमा र भाउजु बाहेक हमीहरूले दाजु मानबहादुर डिमडुङको लाश च्यानडाँडामा जलाएर दाह संस्कार गरेका हौं भन्ने समेत व्यहोराको कान्छा डिमडुङ तामाङको बयान कागज ।
९. मिति २०३८।१०।१ गते मेरै ज्वाई गोपालबहादुर र भाइ मानबहादुर वसान गाउँमा शिकार खेल्न गएकोमा शिकार हान्दा छर्राले भाइ मानबहादुरलाई लाग्न गई मरेकोले गाउँको कुरा कतै जाहेर नगरी गाउँमै मिलाउने भन्ने हामी गाउँलेहरूको सल्लाह अनुसार भोलि पल्ट च्यानडाँडामा लाश जलाएर सदगत गरेका हौं भन्ने समेत व्यहोराको पद्मबहादुर डिमडुङ तामाङले गरेको बयान कागज ।
१०. २०३८ साल माघे संक्रान्तीको दिन भिनाजु नाताको गोपालबहादुर रुम्वा र दाजु पर्ने मानबहादुर डिमडुङ शिकार खेल्न वसन जङ्गलमा गएकोमा शिकार हान्दा अचानक छर्राले दाजु मानबहादुरलाई लाग्न गई मरेकोले गाउँलेहरूको सल्लाहले मारौं भन्ने नियतले बन्दुक हानेको नभई शिकार हान्दा लाग्न गएकोले उजूर नगर्ने भनी भोलिपल्ट च्यानडाँडामा लाश जलाएर दाहसंस्कार गरेको हो भन्ने समेत व्यहोराको टुडुबहादुर डिमडुङले गरेको बयान कागज ।
११. २०३८ साल माघे संक्रान्तीको दिन साँझमा भाइ पर्ने गोपालबहादुर रुम्बा र उनकै जेठान नाताका मानबहादुर शिकार खेल्न भनी वसन जङ्गलमा गएकोमा शिकार हान्दा छर्राले मानबहादुलाई लाग्न गई मरेकोले यो कुरा अड्डामा जाहेर नगरी गाउँमै मिलाउने भन्ने सबैै गाउँलेहरूको सल्लाह अनुसार च्यानडाँडामा लगी जलाएर दाहसंस्कार गरेका हौं भन्ने समेत व्यहोराको जगतबहादुर रुम्वा तामाङले गरेको बयान कागज ।
१२. मिति २०३८।१०।१ गते गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ शिकार खेल्न वसन जङ्गलमा गएकोमा गोपालबहादुरले शिकार हान्दा भरुवा बन्दुकको छर्रा गोलीबाट मानबहादुरलाई लागी मर्न गएकोले गाउँको कुरा गाउँमै मिलाउने भन्ने सल्लाह अनुसार र जङ्गलबाट लाश च्यानडाँडामा ल्याई जलाएको हो भन्ने समेत व्यहोरा पद्मवहादुर स्याङतानले गरेको बयान कागज ।
१३. मिति २०३८।१०।१ गते गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ शिकार खेल्न वसन जङ्गलमा गएकोमा गोपालबहादुरले कालिज शिकार हान्दा बन्दुकको छर्राले मानबहादुरलाई लाग्न गई मर्न गएकोले गाउँको कुरा गाउँबाटै मिलाएर जाहेर नगर्ने भन्ने गाउँलेहरूको सल्लाह अनुसार जङ्गलबाट लाश ल्याई च्यानडाँडामा जलाएका हौं भन्ने समेत व्यहोराको लालबहादुर स्याङतानले गरेको बयान कागज ।
१४. मिति २०३८।१०।१ गते गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ वसन जङ्गलमा शिकार खेल्न गएकोमा गोपालबहादुरले कालिजलाई बन्दुक हान्दा त्यसको गोली छर्राले मानबहादुरलाई लाग्न गई मर्न गएकोले गाउँको कुरा गाउँमै मिलाई जाहेर नगर्ने भन्ने गाउँलेहरूको सल्लाह अनुसार जङ्गलबाट लाश ल्याई च्यानडाँडामा जलाएको हो भन्ने समेत व्यहोराको इन्द्रबहादुर रुम्वाको बयान कागज ।
१५. मिति २०३८।१०।१ गते गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ बेलुकी वसन भन्ने ठाउँमा शिकार खेल्न गई कालिजलाई बन्दुक हान्दा मानबहादुरलाई छर्रा लागी मर्न गएकोले गाउँको कुरा गाउँमै मिलाउनु पर्छ भन्ने हामी गाउँलेहरूको सल्लाह अनुसार जङ्गलबाट भोलिपल्ट लाश ल्याई च्यानडाँडामा जलाएका हौं भन्नेसमेत व्यहोराको टेकबहादुर मुलन तामाङले गरेको बयानकागज ।
१६. मिति २०३८।१०।१ गते गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ तामाङ बेलुकी वसान गाउँमा शिकार खेल्न गएकोमा कालिजलाई बन्दुक हान्दा त्यसको गोलीबाट मानबहादुरलाई लाग्न गई मर्न गएकोले गाउँको कुरा गाउँमा मिलाउनु पर्छ अचानक लाग्न गएकोले जाहेर नगर्ने भन्ने गाउँलेहरूको सल्लाह अनुसार जङ्गलबाट लाश ल्याई च्यानडाँडामा जलाएका छौं भन्ने समेत व्यहोराको वीरबहादुर सितान तामाङले गरेको बयान कागज ।
१७. शिकार खेल्न भनी गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ गएकोमा शिकार हान्दा बन्दुकको छर्राले मानबहादुरलाई लाग्न गई मरेकोले गाउँको कुरा गाउँमै मिलाउने, अचानक लागेको हुँदा जाहेर नगर्ने भन्ने गाउँलेहरूको सल्लाह अनुसार जङ्गलबाट लाश ल्याई च्यानडाँडामा जलाएका हौं भन्ने समेत व्यहोराको विचार मान स्याङतान तामाङले गरेको बयान कागज ।
१८. शिकार खेल्न भनी गोपालबहादुर रुम्वा र मानबहादुर डिमुडुङ गएकोमा गोपालबहादुरले शिकार हान्दा छर्राले लागी मानबहादुर मर्न गएकोले गाउँको कुरा गाउँमा मिलाई अचानक लाग्न गएकोले जाहेर नगर्ने सल्लाह अनुसार जङ्गलबाट लाश ल्याई च्यानडाँडामा जलाएका हौं भन्ने समेत व्यहोराको वीरबहादुर न्यासुर तामाङको बयान कागज ।
१९. २०३८ साल माघ १ गते बेलुकी गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ तामाङ शिकार खेल्न वसान जङलमा गई कालिजलाई शिकार हान्दा अचानक छर्राले मानबहादुरलाई लाग्न गई मरेकोले गाउँको कुरा गाउँमै मिलाउन पर्छ अचानक लाग्न गएकोले जाहेर नगर्ने भन्ने गाउँलेहरूको सल्लाह अनुसार जङ्गलबाट लाश ल्याई च्यानडाँडामा जलाएको हो भन्ने समेत व्यहोराको पद्मबहादुर वल तामाङले गरेको बयान कागज ।
२०. २०३८।९।२५ गते देखि म गाउँ घरमा नभई सिन्धुली जिल्लामा कमलामाईको मेला भएकोले हेर्न त्यहाँ गई मेला भरी माघ ९।१० गते तिर घर फर्की आएकोले मानबहादुर डिमडुङ तामाङको कसरी मृत्यु हुन गयो । मैले कुनै किसिमको सल्लाह नगरेकोले केही पनि थाहा छैन भन्ने समेत व्यहोराको अर्जुनबहादुर लामिछानेले गरेको बयान कागज ।
२१. मिति २०३८ सालको माघे संक्रान्त्री मनाउन भनी मेरो ससुराली बागमती अञ्चल ललितपुर प्यूटार बस्ने साला रामबहादुर हाम्रो परिवार लिन पौष २५ गते आएकोले निजैको साथमा ससुराली गई १०।११ दिन बसी माघ ८।९ गते घर फर्की आएपछि मानबहादुर डिमडुङ मर्यो भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको मुकुन्दबहादुर बोगटीले गरेको बयान कागज ।
२२. ०३८ साल पौष १५ गते देखि सामरीको घरमा बसी फाल्गुण महीनाको २१।२२ गते मात्र छतिवनको घरमा फर्की आएकोले मलाई केही पनि थाहा छैन भन्ने समेत व्यहोराको गाउँलेप्रसाद न्यौपानेले गरेको बयान कागज ।
२३. २०३८ साल पौष २७ गते देखि नै चितवनको देवघाटमा माघ १ गते लाग्ने मेला भर्न गई नारायणघाट देवघाटमा बसी माघ ६–७ गते मात्र फर्की आएकोले मानबहादुर डिमडुङ् मर्यो भन्ने २ महीना पछि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको विष्णुलाल बोम्जन तामाङको बयान कागज ।
२४. ०३८ साल फाल्गुण महीनातिर वसान गाउँको मानबहादुर डिमडुङ मर्यो भन्ने सुनेको हुँ तर मैले अन्य व्यक्तिहरूसंग सरसल्लाह गरी लाश दवाएको छिपाएको छैन भन्ने समेत व्यहोराको अवास मियाँले गरेको बयान कागज ।
२५. जाहेरी दर्खास्त, सरजमीन मुचुल्का र प्रतिवादीहरूको बयान कागज समेतबाट गोपालबहादुर रुम्बाले वसान जंगलमा शीकार खेल्न गएको मानबहादुर डिमडुङलाई गोली हानी मारी दिएकोले निज उपर ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ हुन र अन्य प्रतिवादीहरू मध्ये मानबहादुर थिङ तामाङले ज्यान मारेको कुरा जाहेर नगरी दवाई छिपाई जलाएकोले ज्यानसम्बन्धीको ५ नं. र २५ नं. बमोजिम र अन्य लालबहादुर डिमडुङ समेतका १७ जनालाई ज्यानसम्बन्धीको २५ नं. बमोजिम कारवाही सजायँ हुन र अर्जूनबहादुर, गोकुलप्रसाद न्यौपाने, मुकुन्दबहादुर वोगटी, बिष्णुलाल वोम्जन, अवास मियाँ र चिनीमायालाई सबूद नपुग्ने हुँदा मुद्दा नचलाउने भन्ने समेत व्यहोराको मिति ०३४।८।११।६ को प्रहरी प्रतिवेदन ।
२६. शिकार खेल्न गएको लोग्नेलाई गोपालबहादुर रुम्बाले हानेको बन्दूकको छर्राले लागी घाइते भएको छ भनी मानबहादुरकी श्रीमती चिनिमायाले भन्न आएकीले मर्नेकी आमा र भाइहरु लगायतका गाउँलेहरु वसान जंगलमा जाँदा छातिमा गोली छर्रा लागी मानबहादुर डिमडुङ्ग मरिसकेकोले गाउँको कुरा गाउँमै मिलाएर जाहेर नगर्ने भन्ने गाउँलेहरुको सल्लाह अनुसार भोलिपल्ट वसान जंगलबाट लाश ल्याई च्यानडाँडामा जलाएका हौं भन्ने समेत व्यहोराको मकवानपुर जिल्ला अदालतमा प्रतिवादी मानबहादुर थिंगले गरेको बयान ।
२७. मिति २०३८।१०।१ गते राती १०।१२ बजेतिर भाउजु आएर जुवाँई गोपालबहादुरसंग दाजु मानबहादुर शिकार खेल्न गएकोमा शिकार हान्दा दाजुलाई लाग्न गई घाइते भएको छ भनी भनेकोले भाउजु आमा, म, कान्छा भाइ र अन्य गाउँलेहरू समेत बसान गाउँमा जाँदा दाजु मरिसकेकोले मार्ने नियत लिई मारेको भन्ने नलागी शिकार हान्दा लाग्न गई मरेको सम्झी त्यस्तोमा जाहेर गरी जँचाउनु पर्छ भन्ने हामी तामाङ जातीलाई थाहा नभएकोले सदगत गरेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी लालबहादुर डिमडुङले गरेको बयान ।
२८. जुवाँई गोपालबहादुर र लोग्ने मानबहादुर मिति ०३८।१०।१ गते कालिजको शिकार खेल्न गएकोमा लोग्ने घाइते भएछ भनी गोपालबहादुरले भन्न आयो भनी मर्नेकी श्रीमतीले भन्न आएकी हुँदा मर्नेकी आमा भाइहरू र मानबहादुर तामाङ समेतका गाउँलेहरू त्यँहा जाँदा मानबहादुर डिमडुङको छातीमा प्वाल परी मरीसकेकोले भोलिपल्ट गाउँलेहरूको सल्लाह अनुसार जंगलबाट लाश ल्याई च्यानडाँडामा जलाई सदगत गरेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी पदमबहादुर डिमडुङले गरेको बयान ।
२९. शिकार खेल्न बसान जंगलमा गएको गोपालबहादुर रुम्वाले हानेको छर्रा गोलीले लाग्न गई मानबहादुर घाइते भएको छ भनी मर्नेकी श्रीमतीले भनेकोले म सहितका मृतकका परिवार र अन्य गाउँलेहरू सहित जङ्गलमा जाँदा मानबहादुरको छातीमा गोली लागी मरिसकेको भोलिपल्ट गाउँको कुरा गाउँमै मिलाउने अचानक गोली लागी मरेको हुँदा जाहेर नगर्ने भनी सल्लाह भई च्यानडाँडा लगेर जलाएको हो भन्ने समेत व्यहोराको प्रतिवादी कान्छाराम डिमडुङले गरेको बयान ।
३०. शिकार खेल्न भनी गोपालबहादुर रुम्वा र लोग्ने मानबहादुर डिमडुङ वसान जङ्गलमा गएकोमा शिकार हान्दा मानबहादुरलाई गोली लाग्न गई घाइते भएको छ भनी गोपालबहादुरले भनेकोले जानु पर्यो भनी मृतककी श्रीमती चिनीमायाले भन्न आएको हुँदा त्यसै रात मृतककी आमा, दाजुभाइ र अन्य गाउँलेहरू सहित ८ जान त्यहाँ जाँदा मानबहादुरको छातीमा गोली लागी मरिसकेकोले जाहेर गरी लाश जँचाई सदगत गर्न पर्छ भन्ने थाहा नभएकोले गाउँलेहरू समेत भई भोलिपल्ट लाश उठाई सदगत गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी जगतबहादुर रुम्वाले गरेको बयान ।
३१. मिति ०३८।१०।१ गते मानबहादुर गोपालबहादुर रुम्वा वनमा कालिज शिकार खेल्न गएकोमा गोपालबहादुरले हानेको बन्दुकको छर्राले मानबहादुर घाइते भएको छ भनी गोपालबहादुर आई भनेकोले हेर्न भनी मृतककी आमा, दाजु भाइ र अन्य गाउँलेहरू समेत हेर्न जाँदा मरिसकेकोले भोलिपल्ट मलामी जानु पर्यो भनी गाउँलेहरूले भनेकोले जाहेर गर्नुपर्छ भन्ने थाहा नभएकोले लाशलाई जलाई दिएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी लालबहादुर भन्ने मानबहादुर स्याङताङले गरेको बायन ।
३२. मानबहादुर गोपालबहादुर शिकार खोल्न भनी वनमा गई गोपालबहादुरले कालिजलाई हान्दा मानबहादुरलाई लाग्न गई घाइते भयो भनी गोपालबहादुरले भन्न आएकोले जानु पर्यो भनी मर्नेकी श्रीमती चिनिमायाले भन्न आएको हुँदा चिनिमाया, निजको सासू र म समेतका ८ जना जंगलमा जाँदा मानबहादुरको छातीमा प्वाल देखिएको र निज मरिसकेकोले मारौं भनेर मारेको होइन लाश जलाउनुु पर्छ भनी सल्लाह भएकोले लाश सदगत गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी टुडुबहादुर डिमडुङले गरेको बयान ।
३३. गोपालबहादुर, मानबहादुर डिमडुङ वनमा शिकार खेल्न गएकोमा मानबहादुर घाइते भई मर्यो भनी बाबु जगतबहादुरले भनेकोले सुनेको हुँ । म सदगत गर्न गएको छैन । अरुले किन पोले थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी ईन्द्रबहादुर स्याङताङले गरेको बयान ।
३४. शिकार खेल्न गएको मेरो लोग्ने मानबहादुर डिमडुङ मर्यो मलामी जान पर्यो भनी मृतककी श्रीमती चिनीमाया र भाइ लालबहादुरले भन्न आएको हुँदा गाउँलेहरू सहित भएर जाहेर गरी जँचाउन पर्छ भन्ने थाहा नभएकोले लाश सदगत गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी पदमबहादुर बल तामाङले गरेको बयान ।
३५. मानबहादुर वनमा मर्यो भनी मिति ०३८।१०।२ गते विहान गाउँमा खलबल गरेकोले म समेतका गाउँलेहरू वनमा जाँदा छातीमा प्वाल परी रगत बगी मरिसकेकोले मरेकोलाई किन राख्ने जलाई दिनु पर्छ भन्ने सल्लाह भएकोले सदगत गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी वीरबहादुर सिङतानको बयान ।
३६. शिकार खेल्न गोपालबहादुर रुम्वा र मानबहादुर डिमडुङ वनमा गएकोमा गोपालबहादुरले शिकार हान्दा छर्राले मानबहादुरलाई लाग्न गई घाइते भएको छ भन्ने गोपालबहादुर रुम्वाले मर्यो भनी भनेको स्वास्नीले भनेकीले मरेको लाश जलाउनु पर्यो भन्ने गाउँलेहरूको सल्लाह अनुसार सदगत गरेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर मुलन तामाङले गरेको बयान ।
३७. मिति ०३८।१०।२ गते मानबहादुर जंगलमा मरिरहेछ भन्ने मर्नेका भाइ लालबहादुरले भनेबाट म समेत गाउँलेहरू सहित जंगलमा गएर लाश ल्याई जलाएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी विचारमान तामाङले गरेको बयान ।
३८. मानबहादुर र गोपालबहादुर शिकार खेल्न वनमा गएकोमा शिकार हान्दा मानबहादुरलाई लाग्न गई घाइते भएको छ भनी गोपालबहादुरले भनेको भनी मृतककी पत्नी सहितका गाउँलेहरू हेर्न जाँदा मरी सकेको रहेछ मलामी जान पर्यो भनी भन्न आएकोले जंगलबाट लाश ल्याई जलाएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी वीरबहादुर नेसुर तामाङले गरेको बयान ।
३९. मेरो लोग्ने जंगलमा मरी रहेछ जाउँ भनी मर्नेकी पत्नीले बोलाई त्यहाँ जाँदा मानबहादुर मरिसकेको रहेछ । जाहेर गर्नुपर्छ भन्ने थाहा नहुँदा मर्नेको परिवार सहितको सल्लाहबाट जलाएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रबहादुर थोकरले गरेको बयान ।
४०. शिकार खेल्न गोपालबहादुर र मानबहादुर गएकोमा मानबहादुर घाइते छ भनी गोपालबहादुरले मर्नेकी पत्नीलाई खबर गरेकोले त्यहाँ जाँदा निजको मृत्यु भइसकेकोले मलामी जान पर्यो भनी गाउँलेहरू सहित भएर लाश जलाएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी मोतिलाल थोकरले गरेको बयान ।
४१. मानबहादुर र गोपालबहादुर शिकार खेल्न गएकोमा मानबहादुर घाइते भयो भनी गोपालबहादुरले मृतककी पत्नीलाई खबर गरेकोले गाउँलेहरू सहित हेर्न जाँदा निज मरिसकेकोले म समेतका १८ जना जंगलमा गई लाशल्याई जलाएका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी रामेथिङ तामाङले गरेको बयान ।
४२. मानबहादुर मरेकोले मलामी जान भनी बोलाएकोले जंगलमा जाँदा निज मरिसकेको रहेछ त्यस लाशलाई गाउँलेहरूले जलाएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी सोमबहादुर मुलनले गरेको बयान ।
४३. यी प्रतिवादीहरू अशिक्षित भएकोले जाहेर गरेनौं भन्ने भनाई भएको र यिनैको मिलोमतोबाट कसूरदारलाई दवाई छिपाए भन्ने कुरा मौकामा भएको सरजमीन समेतबाट खुल्न नआएको एवं जाहेरवाला समेत अदालतमा उपस्थित गराउन नसकेकोले मानबहादुर उपर ज्यानसम्बन्धीको ४ र २५ र लालबहादुर समेत उपर ज्यानसम्बन्धीको २५ नं. बमोजिम सजायँको माग दावी बमोजिम सजायँ गर्न नमिली सफाई पाउने ठहर्छ । र प्रतिवादी गोपालबहादुर रुम्वा फरार हुँदा निजको हकमा मुलतवी रहन्छ भन्ने समेत मकवानपुर जिल्ला अदालतबाट मिति ०४०।८।२८।४ मा भएको फैसला ।
४४. आरोपित कसूरमा प्रहरी तथा अदालतमा समेत सावित भएका प्रतिवादीहरूलाई जाहेरवालालाई उपस्थित नगर्दैमा ज्ञान नभएर जाहेर नगरेको भन्ने प्रतिवादीहरूको भनाईले अपराधबाट फुर्सत पाउने हुँदा शुरुको फैसला बदर गरी प्रतिवेदन दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारले म.क्षे.अ.मा गरेको पुनरावेदन पत्र ।
४५. प्र.मध्येका मानबहादुर थिङसमेतले लाशजाँच गराई रीतपूर्वक पुर्जी लिनुबेगर लाश सदगत गरेमा सावित भएबाट प्र.मानबहादुर थिङलाई ज्यानसम्बन्धीको २५ नं. ले १ वर्ष ६ महीना कैद र ४ नं. ले थप कैद ६ महीना समेत जम्मा कैद वर्ष दुई हुने ठहर्छ । अन्य प्रतिवादीहरूलाई रु.२०।– का दरले जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति ०४३।१।२३ को फैसला ।
४६. कर्तव्य दबाउने नियत लिई कसूरदारलाई दबाउने भगाउने समेत केही नगरेको र म गाउँपञ्चायतको सदस्य नभई वडा समितिको सदस्य भएको हुँदा ज्यानसम्बन्धीको २५ नं. लगाई मलाई सजायँ गर्ने गरेको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्र. मानबहादुर थिंगको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
४७. यसमा प्रतिवादी मध्येका गोपालबहादुर रुम्वा उपर ज्यानसम्बन्धीको १३(१) अन्तर्गतको माग दावी भएकोमा अन्य अभियुक्तहरूलाई म.क्षे.अ.बाट पुनरावेदनको म्याद नदिएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(३)(ग) को व्याख्या सम्बन्धी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति ०४४।३।१८ को आदेश ।
४८. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता अर्जनप्रसाद लम्साल तथा विपक्षी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री बलराम के.सी.को बहस समेत सुनी म.क्षे.अ.बाट भएको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुनआएको छ ।
४९. यसमा पुनरावेदक प्रतिवादी मानबहादुरलाई ज्यान सं. को ४ नं. को कसूर गरेको भन्ने समेतको माग दावी भई प्रहरी प्रतिवेदन दायर भएको देखिन्छ । ज्या.सं.को ४ नं. को कानूनी व्यवस्था हेर्दा अपहत्या वा कर्तव्य गरी मर्ने मानिसको लाश कानून बमोजिम जाँच भइसकेपछि सो लाश जलाउनु, गाडनु, फाल्नु जो गर्नुपर्छ गर्नेको निमित्त लाशजाँच गर्ने प्रहरी कर्मचारीले र सरकारी अभियोक्ता भए निजले समेत सहिछाप गरी पुर्जी गरिदिनु पर्छ । सो पुर्जी नलिई त्यसै लाश जाउन, गाड्न, फाल्न हुँदैन । सो बमोजिम पुर्जी गरी नदिने वा पूर्जी नलिई लास जलाउने, गाड्ने, फाल्नेलाई दश रुपैंया जरिवाना गर्नुपर्छ । लाशजाँच भई नसक्दै दबाउनका मतलवले लाश जलाउने, गाड्ने, फाल्ने वा सो कुरा गर्न लगाउनेलाई अरु कानूनले हुने सजायँमा सो गरे बापत ६ महीना थपी कैद गर्नुपर्छ भन्ने उल्लेख भएको पइन्छ । निज पुनरावेदक प्रतिवादी मानबहादुरले मिति ०३९।८।१४ गते जिल्ला अदालतमा बयान गर्दा मानबहादुर डिमडुङ, गोपालबहादुर रुम्वासँग शिकार खेल्न जंगलमा गएको बखत बन्दूकको छर्रा लागी मरेको र सदगत गरौं भनी गाउँका मानिस समेतको मत सल्लाहबाट लाश सदगत गराएका हौं भनी साविती बयान गरेको देखिन्छ । उपरोक्त उल्लिखित ज्या.सं.को ४ नं. को कानूनी व्यवस्था अनुसार लाशको सदगत गर्दा पुर्जी लिई मात्र गर्नु पर्नेमा सो नगरी जलाएको देखिएबाट कसूर नगरेको भन्न मिलेन अब निज प्रतिवादी मानबहादुरले लाश दबाउनका मतलवले लाश जलाएको हो कि भन्नलाई मानबहादुर डिमडुङको ०३९।१०।१ मा मृत्यु भएको र ०३९।१०।२ गते अर्थात २ दिनपछि गाउँका मानिसहरूको सल्लाह समेत भई लाश जलाएको देखिएबाट र अन्य सबूद प्रमाणबाट दबाउने नै मनसाय थियो भन्ने पुष्टि समेत नभएबाट म.क्षे.अ.ले ६ महीना कैद गरेको नमिलेकोले केही उल्टी हुन्छ । ज्या.सं. को ४ नं. ले रु.१०। जरिवाना हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी मानबहादुर थिङके माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहरेकाले म.क्षे.अ.को मिति ०४३।१।२३ गतेको फैसलाले कायम रहेको लगत कट्टा गरी निजलाई रु.१०। जरिवाना हुने हुँदा निज मानबहादुर बेरुजु हुँदा लगत कसी निज प्रतिवादीबाट रु.१०। असूल गर्नु भनी लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु ...............................१
मिसिल नियमबमोजिम बुझाई दिनु.......................................................१
उक्त रायमा म सहमत छु ।
न्या. महेशराम भक्त माथेमा
इति सम्वत् २०४५ साल ज्येष्ठ ४ गते रोज ३ शुभम् ।