निर्णय नं. ३४३५ - कर्तव्य ज्यान

निर्णय नं. ३४३५ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४५२
सम्वत् २०४४ सालको फौ.सा.नं. १०६
फैसला भएको मिति : २०४५।३।२२।४ मा
पुनरावेदक/वादी : प्र.ज.रामजी गिरी तथा निर्मला गुरुङसेनीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.कास्की कृस्ती नाच्नेचौर गा.पं.वार्ड नं. ३ वस्ने भिमलाल पौडेलसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) केवल सह–अभियुक्तको पोल उजुरले मात्र कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा दोषी ठहराउन न्यायोचित नपर्ने ।
(प्रकरण नं. २५)
पुनरावेदक, वादीतर्फबाट : विद्वान उप–न्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.महेशरामभक्त माथेमा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन दर्ता भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. २०४०।८।१० गते बेलुका अं. ४ बजेको समयमा मेरो कान्छा बाबु परशुबहादुर गुरुङ घर डेराबाट बाहिर निक्ली जानु भएकोमा घर फर्की नआएको हुँदा बेलुका केही खोजखबर नगरी बेलुका त्यसै सुत्यौं, भोलिपल्ट बिहान पावर हाउसमा पानी जाने फोरवेको पानी भित्र मानिसको लाश देखिएको भनी वरपरका मानिसहरूले भनेबाट गई हेर्दा मेरा कान्छा बाबुको लाश देखिएकोले र उक्त मेरा कान्छा बाबु कर्तव्यबाट मरेको धारिलो हतियारले हानेको घाउचोट देखिएकोले अनुसन्धान गरी कानूनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाली निर्मला गुरुङसेनीको जाहेरी दर्खास्त ।
३. मृतक परशुबहादुरको पानीमा डुबीरहेको लाश बाहिर निकाली हेर्दा निधारमा अं. ५ ईन्च चौडाई, १ इन्च लामो छुरीले हानेजस्तो घाउ भएको देखिएको तालुमा धारिलो हतियारले हानेको घाउ जाँच्दा ९ इन्च लम्बाई, ४ इन्च चौडाई देखिएको, छाला चोक्टा चोक्टा परी भित्रको हाड निक्लिएको बायाँ आँखा माथि छुरीले रोपेको जस्तो घाउ देखिएको, दायाँ आँखा मुनी १ इन्च गोलाई भएको निल डाम देखिएको, मुख अर्धखुल्ला दुवै आँखा चिम्लिएको दुवै हात खुला रहेको खुट्टा पहेँलो भएको देखियो भन्ने समेत व्यहोराको मौकाको लाशजाँच मुचुल्का ।
४. तिलाबहादुर गुरुङको घर डेराबाट खानतलासी गर्दा दलिनमा घुसारिएको बञ्चरो र छुरी समेत बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
५. निज मृतक परशुबहादुरले श्रीमतीसंग मेरो प्रेम सहवास भई स्वास्नी बनाई लगेकोमा निज मृतकले बराबर बेइज्जती गर्दै हिंडेको हुँदा २०४०।८।१० गते शनिबार डिउटी सकी डेरातर्फ जान लाग्दा निज मृतकले रक्सीको झोकमा मेरो स्वास्नी लाने हैनस् भनी लम्की धम्की गर्यो, म तर्किएर डेरातर्फ गएँ, मलाई साह्रै रीस उठी रहेकोले निज मृतकलाई खतम गर्ने उद्देश्यले चौकिदार गंगा चापाई, अपरेटर नारायणबहादुर के.सी.र भिमलाल पौडेलहरू मिली निज मृतकलाई मार्ने सल्लाह भई रक्सी खाने निहुँ गरी मृतक परशुबहादुरलाई बोलाउ भनी साथीहरूलाई भनें र मैले बञ्चरो र छुरी लिन घर गई आइसकेपछि मृतक परशुबहादुर रक्सी खाई लरबराएको थियो, मैले बञ्चरोको पासोले तालुमा हानेँ, नारायण के.सी.ले घाँटी अठ्यायो, मैले पुनः तालुमा छुरी हानेपछि मृतक परशुबहादुर मर्यो र उपरोक्त साथीहरू मिली पानी घटाउने बढाउने साँचो अगाडि ठाडो कुलामा फाल्यौं भन्ने समेत व्यहोराको अभियुक्त तिलबहादुरले प्रहरीमा गरेको बयान ।
६. मृतकको मस्तिष्कमा कुनै चोट नपरी निधारमा हाडै देखिने घाउको कारणले मात्र मृत्यु भएको जस्तो लाग्दैन, साथै फोक्सोमा फिज पानी दाहिने मुटुमा केही रगत, पेट ज्यादै फुलेको र पानी भएको कारणले समेत पानीमा डुबी मरेको हुनुपर्छ भन्ने राय भएको गण्डकी अञ्चल अस्पतालको पोष्टमार्टम रिपोर्ट ।
७. २०४०।८।१० गतेका दिन ज्वरो आई भोलिपल्ट ११ बजे बिहान उठी कार्यालय गएको हुँ, बिरामीको कारणले गर्दा छुट्टी मागी पुनः घरमा गई सुतेको अवस्था नहरमा लाश भेटिएकोले पानी बन्द गरेका छन् भनी कपडा धुन गई फर्की आएकी मेरी श्रीमतीले भनेबाट थाहा पाएको हुँ, परशुबहादुरलाई म समेत भई मारेको होइन, म समेतलाई किन पोल गरे थाहा छैन, निजसंग रीसइवी केही छैन भन्ने समेत व्यहोराको अभियुक्त गंगाप्रसाद चापाईले प्रहरीमा गरेको बयान ।
८. २०४०।८।१० गते बेलुका पदमसिंकी छोरीको विवाहमा अपरेटर भीमलालसंग फुर्से खोलामा गई रातको १२ बजेसम्म बसी भिमलालको घरमा आई सुतेँ भोलिपल्ट नहरमा पानी बन्द गर्न आएपछि मानिस मरी लाश परेको कुरा थाहा भयो, मैले परशुबहादुरलाई चिनेको नहुँदा मैले मारेको मराएको समेत छैन, तिलबहादुरले म समेतलाई किन झुठ्ठा पोल उजूर गरे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी नारायणबहादुर के.सी.ले प्रहरीमा गरेको बयान ।
९. २०४०।८।१० गते बेलुका तिर म र मेरो साथी भई फुर्से खोला मेरो घरतर्फ गई खाना खाई पदमसिंको छोरीको विवाहमा गई रातको अं. १२ बजेतिर फर्केँ, मेरो घरमा सुतेको र भोलिपल्ट मेरो दाँईमा काम गरी नारायणबहादुर आफ्नो घरतर्फ फर्केका हुन् । त्यसपछि नहरमा पानी बन्द गर्न भनी मानिसहरू आएपछि निज परशुबहादुर मरेको भन्ने थाहा भयो, तिलबहादुरलाई चिन्दछु, परशुबहादुरलाई भने चिन्दिन म समेत भई निजलाई मारे मराएको होइन भन्ने समेत व्यहोराको प्र. भिमलाल पौडेलले प्रहरीमा गरेको बयान ।
१०. यसमा मृतक परशुबहादुरकी श्रीमती तिलबहादुरले लगेको हुँदा तिलबहादुरकै लोग्ने स्वास्नीको मिलेमतोबाट मारेको हुनुपर्छ, किनकी तिलबहादुरको स्वास्नी मनमाया ज्यादै नराम्रो चालचलन भएकी आइमाई हुँदा निजले नै षड्यन्त्र गरी परशुबहादुरलाई कर्तव्य गरी मारेका होला प्रतिवादी मध्ये भिमलाल पौडेल, गंगाप्रसाद चापाई र नारायण के.सी.ले मारे जस्तो लाग्दैन भन्ने व्यहोराको घटनास्थलमा भएको सरजमीन मुचुल्का ।
११. तिलबहादुर गुरुङ, गंगाप्रसाद, नारायणबहादुर, भिमलाल, मनमाया समेतले मु.ऐन, ज्यानसम्बन्धीको १ नं. बिपरीत कसूर गरेको देखिँदा अभियुक्त तिलबहादुर गुरुङको हकमा ज्यानसम्बन्धी १३ नं. को देहाय ३ बमोजिम सजायँ हुन र नारायणबहादुर के.सी.उपर ऐ. ऐनको १३ नं. को देहाय ४ अनुसार, भिमलाल पौडेल, गंगाप्रसाद चापाई समेत उपर ऐ.को १७ नं. को देहाय ३ बमोजिम, मनमायाको ऐ. १६ नं. बमोजिम सजायँको माग दावी गरी तिलबहादुरले लगाएको पाइन्ट र परशुबहादुरको रगत लागेको उनीको कमिजको पीस जाँच गर्नको लागि प्रहरी प्रधान कार्यालय सेरोलोजी शाखामा पठाइएको प्रतिवेदन प्राप्त भई नआएकोले हिरासतमा रहेका अभियुक्त तिलबहादुर, नारायणबहादुर, भिमलाल, गंगाप्रसाद समेतलाई यसैसाथ प्रस्तुत गरी पक्राउमा फेला नपरी लुकिछिपि हिंडेकी मनमायालाई अदालतबाट कानून बमोजिम गरिपाउन सक्कल मिसिल र अभियुक्त, दसीका सामान सहितको प्रहरी प्रतिवेदन ।
१२. मृतक परशुबहादुरलाई चिन्दछु, मृतकसँग मेरो खास नाता नभए तापनि आश्विन महीनामा निजकी श्रीमतीलाई मैलै स्वास्नी बनाई राखेको थिएँ, र छु परशुबहादुरको मृत्यु कसरी भयो सो मलाई थाहा छैन, निजको लाश पार्दीको बिजुली पावर हाउसमा फेला परेको कुरा मार्ग ११ गते विहान मात्र सुनेको हुँ, निज मृतकसँग मेरो कुनै भेटघाट छैन, प्रहरीमा मलाई कागज नसुनाई बयान लेखाएकोले के–के लेखे भन्न सक्दिन प्रहरीले पक्राउ गरी लगेकोले म डराई मारी दिएको हुँ भनी लेखाएमा उम्केर जान पाउँला भनी मारेको हुँ भनी कागज गरिदिएको हुँ भन्ने समेत व्यहोराको प्र.तिलबहादुर गुरुङले अदालतमा गरेको बयान ।
१३. २०४० साल मार्ग १० गते अफिस छुटी म बेलघारी बस्ने पदमसिंह गुरुङको छोरीको विवाहमा गई त्यहीँ बसी बेलुका राति घरमा आई सुतो, भोलिपल्ट बिहान दाँई हाली खाना खाई १० बजे अफिस गएको हुँ, उक्त दिन बिहान मात्र निज परशुबहादुर मर्यो भन्ने थाहा पाई हेर्न गएको हुँ । प्रतिवादी तिलबहादुर घमण्डी र पागल जस्तो मानिस भएको र मसँग घरायसी झगडा इवीका कारणले प्रहरीमा झुठ्ठा पोल गरेको हुनुपर्छ, मैले मृतक परशुबहादुरलाई मारे मराएको समेत होइन भन्ने समेत व्यहोराको प्रतिवादी भिमलाल पौडेलको बयान ।
१४. ०४०।८।१० गते बेलुका म भिमलाल पौडेलको घरमा गई उक्त रात त्यहीँ सुती भोलिपल्ट बिहान १० बजे अफिसतर्फ भिमलाल र मसँगै गएको हुँ उक्त दिन तिलबहादुरसँग भेटघाट भएको छैन । पावर हाउसमा मानिस मरेको छ भन्ने सुनेको थिएँ के कसरी मरे सो कुरा मलाई थाहा छैन, मृतक परशुबहादुरलाई मैले चिनेको छैन, तिलबहादुरको र मेरो एकै अफिसमा जागिर भएको र निज पागल जस्तो टाइपको मानिस हुँदा मसँग केही रीसइवीको कारणले यो झुठ्ठा पोल उजूर गरेको हुनुपर्छ म निर्दोष छु भन्ने समेत व्यहोराको नारायणबहादुर के.सी.ले अदालतमा गरेको बयान ।
१५. २०४०।८।१० गते म बिरामी भइरहेको हुँदा म बस्ने सरकारी क्वाटरमा थिएँ । परशुबहादुरलाई मैले चिनेको छैन, कसरी मरे थाहा पनि छैन । बेरामी भएकोले लाश हेर्न पनि गइँन र तिलबहादुर गुरुङसँग अफिसको ड्युटी सम्बन्धमा कहिलेकाँही ढिलो आउने म तोकिएको समयभन्दा बढी निजलाई कुरी बस्नु पर्ने भएकोले सोही कुरा हाकिमसँग भनिदिएको कारणबाट मसँग निज रिसाएका थिए, त्यही कारणबाट पोल उजूर गरेको हुनुपर्छ मैले कुनै कसूर गरेको नहुँदा झुठ्ठा प्रहरी प्रतिवेदन दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको गंगाप्रसाद चापाईले अदालतमा गरेको बयान ।
१६. प्र.का.साक्षी लक्ष्मीप्रसाद प्र.को साक्षी तथा सरजमीनका मानिस पदमसिंह थापा मगर, सिता भण्डारी, नन्दलाल पौडेल समेत र प्र.तिलबहादुरका साक्षी क्षेत्रबहादुर गुरुङ र जाहेरवाला निर्मला गुरुङस्यानी समेतको बकपत्र भई मिसिल सामेल रहेको । प्रतिवादी मनमायाका नाउँमा तामेल भएको म्यादी पुर्जीको म्यादभित्र उपस्थित नभई गुजारी बसेको ।
१७. प्रहरी प्रतिवेदनमा उल्लेख भएबमोजिम प्रहरी प्रधान कार्यालयबाट रसायनिक परीक्षण भई प्राप्त हुनआएको ।
१८. प्रतिवादी तिलबहादुर गुरुङलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार सर्वश्वसहित जन्मकैद हुन्छ । अन्य प्रतिवादीहरू नारायणबहादुर के.सी., भिमलाल पौडेल, गंगाप्रसाद चापाईले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४२।२।२७ को कास्की जिल्ला अदालतको फैसला ।
१९. प्र. मध्ये भिमलाल पौडेल, नारायणबहादुर के.सी.गंगाप्रसाद चापाईलाई सफाई दिने गरी गरेको शुरुको फैसला उपर चित्त बुझेन भनी श्री ५ को सरकारको र शुरु जिल्ला अदालतले सर्वश्वसहित जन्मकैद पार्ने गरी गरेको फैसलामा चित्त बुझेन भन्ने प्र.तिलबहादुर गुरुङको छुट्टा–छुट्टै प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
२०. प्रतिवादी तिलबहादुरको प्रहरीमा भएको बयान अनुरुप नै बञ्चरो छुरी निजकै घरबाट बरामद भई प्रहरीमा भएको साविती कागजलाई पुष्टि भएको देखिएकोले शुरु कास्की जिल्ला अदालतले प्र.तिलबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको र प्रतिवादी भिमलाल पौडेल, नारायणबहादुर के.सी.र गंगाप्रसाद चापाईका हकमा निजहरू प्रहरी एवं अदालतमा इन्कारी बयान गरेको तथा सह–अभियुक्तको पोल बाहेक अन्य स्वतन्त्र प्रमाणबाट निज प्रतिवादीहरू विरुद्ध आरोप समर्थित नभएकोले समेत निज प्र.भिमलाल पौडेल, नारायणबहादुर के.सी.र गंगाप्रसाद चापाईलाई सफाई दिएको मनासिव ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत संयुक्त इजलासको मिति २०४४।२।२२।६ को फैसला ।
२१. प्रतिवादीहरूले प्रहरीमा बयान गर्दा प्र.तिलबहादुरले पोल गर्नु पर्ने कारण बताउन असमर्थ छन् । प्र.तिलबहादुरले एक्लै लाश फाल्न सक्ने स्थिति छैन । प्र.तिलबहादुरले अधिकारप्राप्त अधिकारी समक्ष सत्य र वास्तविक तथ्य बताएको हुँदा प्रतिवादीको पोल मात्र भनी अमान्य गर्न नमिल्ने हुँदा वादी दावी अनुसार सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन ।
२२. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान उप–न्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
२३. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिले तर्फ निर्णय दिनु पर्ने हुन आयो ।
२४. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी तिलबहादुर गुरुङले मृतक परशुबहादुर गुरुङको स्वास्नीलाई लगेको र सोही रिसइवीले मृतकले गाली बेइज्जती गरी हिंडेकोले मिति ०४०।८।१० गते बेलुका लम्की धम्की भई मृतकलाई बञ्चरो, छुरीले हानी मारेको भन्ने प्रहरीमा साविती बयान गरेको देखिन्छ । प्र.तिलबहादुरले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान बमोजिम मृतकलाई मार्न प्रयोग गरिएका लठी, बञ्चरोले, छुरी बरामद भएको देखिँदा प्रहरीमा भएको सावितीलाई समर्थित भएको देखिन आयो । लाशजाँच मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट समेत कर्तव्यबाट नै मरेको देखिन आएकोले प्र.तिल बहादुरलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजायँ गरेको मनासिव देखिन आयो ।
२५. अन्य प्रतिवादीहरू भिमलाल पौडेल नारायणबहादुर के.सी.गंगाप्रसाद चापाईलाई प्रतिवादी मध्येका तिलबहादुरले एकैसाथमा गई मृतकलाई मारेर फालेको भनी बयान गरी पोल गरेको देखिनु बाहेक अन्य सबूद प्रमाण केही देखिँदैन । केवल सह–अभियुक्तको पोल उजूरले मात्र कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा दोषी ठहराउन न्यायोचित नपर्ने हुनाले भिमलाल, नारायणबहादुर र गंगाप्रसादलाई सफाई पाउने ठहर्याई गरेको शुरु कास्की जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन परी निर्णय भएको हुँदा साधकतर्फ विचार गरी रहन परेन, साधकको लगत कट्टा गरिदिनु मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल आषाढ २२ गते रोज ४ शुभम् ।