शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४३६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४

निर्णय नं. ३४३६ ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको रिट.नं. २०५५

आदेश भएको मिति : २०४५।२।६।५ मा

 

निवेदक : जि.झाप धाईजन गा.पं. वार्ड नं. ३ बस्ने ठूलो सोरेन मेचे

विरुद्ध

प्रत्यर्थी : जि.झापा धाईजन गा.पं. वार्ड नं. ३ बस्ने नवीन प्रसाईसमेत

 

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                 जग्गा धनी परिवर्तन भएको भन्ने कुरा मोहिलाई जानकारी दिएको वा जानकारी भएको मान्न सकिने अवस्था देखिँदैन,  मोहिले साविक जग्गाधनीका नाउँमा कूत धरौट राख्नु पर्ने अन्य प्रयोजन छैन, जग्गाधनी साविककै यथावत कायम छ भन्ने धारणामा नै धरौटी राखेको मान्नु पर्ने ।

(प्रकरण नं.  ९)

(२)                 कूत बाली बापत प्रत्यर्थी कार्यालयमै बाली धरौट रहेको अवस्थामा कूत नबुझाई धरौटी समेत नराखी अर्काको नाउँमा रहेको धरौटीलाई समावेश गर्न खोजी मोहीले आफ्नो दायित्व पुरा नगरी मोही हकबाट निष्काशन हुन नसक्ने मनासिव माफिकको सबूद प्रमाण समेत पेश गर्न नसकेको भनी विवादित जग्गाबाट कूत भराई मोहीलाई निष्काशन हुने ठहराएको प्रत्यर्थीको फैसला त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं.  १०)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

आदेश

न्या.प्रचण्डराज अनिल : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.     जि. झापा धाईजन गा.पं. वार्ड नं. ३ को कि.नं.९३ को ज.वि. ३–२–० को साविक जग्गाधनी प्रेमप्रसादले २०३८।१।२८ मा विपक्षी नवीन प्रसाईलाई हक हस्तान्तरण गर्नु भएको रहेछ । कानून बमोजिम जानकारी गराउनु पर्नेमा मलाई अवगत नगराएकोले २०३९,०४०,०४१ सालको कूत मैले साविक जग्गाधनीलाई नै बुझाएको छु । भर्पाई लिनेदिने गरेको छैन । २०४२ सालको बाली साविक जग्गाधनी प्रेमप्रसादकै नाउँमा नगदीमा परिणत गरी रु.३,३२७।५० भू.स.का.झपामा धरौटीमा राखेको छु । विपक्षी नवीन प्रसाईले उल्लिखित जग्गा २०३८।२।२८ मा साविक जग्गाधनी प्रेमप्रसादसँगबाट हस्तान्तरण गरी लिनुभएको तथ्यसंग निजले प्रस्तुत विवादको सम्बन्धमा भू.सु.का झापामा दिनुभएको निवेदन विपक्षी कार्यालयबाट प्राप्त भएपछि मात्र ज्ञात गरेको   हुँ । अतः २०३९,०४०,०४१ सालमा निजलाई बाली बुझाउन सक्ने स्थिति नै थिएन । २०४२ सालको बाली साविक जग्गाधनीको नाउँमा धरौटी राखेकोले उक्त कथन पुष्टि हुन्छ ।

३.     यस स्थितिमा विपक्षी नवीन प्रसाईले २०४२ सालको बाली भराई उक्त जग्गाको मोहियानी हकबाट निष्काशन गरिपाउँ भनी दिनुभएको निवेदनमा मैले उल्लिखित कुराको प्रतिवाद गरेको थिएँ । विपक्षी भु.सु.का.ले कानूनले तोकेको म्यादभित्र कूत नबुझाई धरौटी समेत नराखेको भन्ने समेत आधारमा निर्णय गरी मोही हकबाट निष्काशन हुने र कूत समेत लिन पाउने ठहराइयो ।

४.     नयाँ जग्गाधनी अस्तित्वमा आएको बारे मलाई ज्ञात नगराएको हुँदा साविक जग्गाधनीलाई नै कूत बुझाउनु मेरो कर्तव्यलाई आत्मसात गरी निजले पनि कूत बुझी भर्पाई दिन इन्कार गरेको हुँदा मैले दिएको निवेदनमा भु.सु.का.ले २०४२।११।१० मा गरेको आदेश अनुसार रु.३,३२७।५० धरौटी राखेको हुँ । अतः मिति २०४३।७।१३ को भु.सु.का को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी यो रिट निवेदनको अन्तिम निर्णय नभएसम्म भू.स.का.को फैसला कार्यान्वित नगर्नु भन्ने विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

५.     यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु । साथै प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म भू.सु.का.झापाका भु.सू.अ. को फैसला कार्यान्वित नगर्नु भन्ने विपक्षी भु.सु.अ. झापाका नाउँमा अन्तरिम आदेश जारी गरिएको आदेश छ भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४३।९।१० को आदेश ।

६.     २०३८, २०३९, २०४० सालको बाली विपक्षीले मेरा पितालाई हाम्रो धाईजन चामल तेल मिलमा बुझाई भर्पाई प्राप्त गरेको प्रमाण पेश गरेका छन् । सो बाट निजलाई जग्गा हस्तान्तरण भएको कुरा थाहा थिएन भन्न मिल्दैन । गैर जग्गावाला प्रेमप्रसाद शिवाकोटीका नाउँमा बाली धरौट राखेको परिप्रेक्षामा विपक्षीले जग्गावाला म प्रत्यर्थीलाई बाली नबुझाएको र धरौट पनि नराखेको कुरा प्रमाणित हुन्छ । तसर्थ जग्गावालालाई कूत बाली नबुझाउने विपक्षीलाई भू.सु.ऐन, २०२१ को दफा २९(१) प्रयोग गरी मोही निष्काशन हुने ठहराएको निर्णय कानूनसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी नवीन प्रसाईको लिखितजवाफ ।

७.     हाल जग्गाधनीले ३–४ वर्ष देखि कूत बुझी भर्पाई सरह मिलको पर्चा निवेदकले पाई आएकोमा धरौटी राख्दा भने साविक जग्गा धनीका नाउँमा राख्न पर्ने कारण र स्थिति समेत कुनै व्यहोरा उल्लेख नगरी राखेको धरौटी मान्य हुनसक्ने अवस्था देखिएन । कानूनका परिधिमा रही भए गरेको फैसलाबाट निवेदकको हक हनन् नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी भूमिसुधार कार्यालयको लिखितजवाफ ।

८.     नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता सिन्धुथान प्याकुर्‍याल प्रत्यर्थी कार्यालयतर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र प्रत्यर्थी नवीन प्रसाईका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस समेत सुनियो ।

९.     यस्मा निर्णयतर्फ विचार गर्दा फाइल संलग्न धाईजन चामल तेल मिलको भर्पाईबाट निवेदकले जग्गाधनीलाई कूत बापत धान बुझाएको भन्ने देखिएन । साविक जग्गाधनी प्रेमप्रसादको जग्गा मोहिको हैसियतले कमाई रहेकोमा विवाद देखिँदैन । २०३८ सालमा जग्गाधनी परिवर्तन भई नवीन प्रसाई भएको भन्ने कुरा मोहिलाई जानकारी दिएको वा जानकारी भएको मान्न सकिने अवस्था देखिँदैन । मोहिले साविक जग्गा धनीका नाउँमा कूत धरौट राख्नुपर्ने अन्य प्रयोजन छैन, जग्गाधनी साविक कै यथावत कायम छ भन्ने धारणामा नै धरौटी राखेको मान्नुपर्ने अवस्था देखिन्छ ।

१०.    अतः यसरी २०४२ सालको कूत बाली बापत प्रत्यर्थी भु.सु.का.मै बाली धरौटी रहेको अवस्थामा कूत नबुझाई धरौटी समेत नराखी अर्काको नाउँमा रहेको धरौटीलाई समावेश गर्न खोजी मोहीले आफ्नो दायित्व पुरा नगरी मोही हकबाट निष्काशन हुन नसक्ने मनासिव माफिकको सबूद प्रमाण समेत पेश गर्न नसकेको भनी विवादित जग्गाबाट कूत भराई यी निवेदक मोहिलाई निष्काशन हुने ठहराएको प्रत्यर्थी भूमिसुधार कार्यालयको मिति २०४३।७।१३ को फैसला त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । २०४२ सालको बाली साविक जग्गा धनीले बुझी भर्पाई दिन इन्कार गरेको भनी भु.सु.का.मा धरौट राखेको हाल जग्गाधनीले प्राप्त गर्ने देखिँदा साविक जग्गाधनी प्रेमप्रसादका नाउँमा रहेको उक्त धरौट हाल जग्गाधनी नवीन प्रसाईका नाउँमा कायम गरिदिनु भनी प्रत्यर्थी भूमिसुधार कार्यालय झापाका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जाकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल जेष्ठ ६ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु