शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४४२ - लिखत दर्ता बदर

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४४२ ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ६६७

फैसला भएको मिति : २०४५।३।१६।५ मा

 

पुनरावेदक/प्रतिवादी : मोरङ जिल्ला दादर वैरिया गा.पं.वा.नं. १ बस्ने जीवकुमारी पन्त

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने धर्मकान्त पन्तसमेत

 

मुद्दा : लिखत दर्ता बदर

 

(१)                 घरको मुख्यले मञ्जूर गरी सट्टापट्टा लिखत गरी पास समेत गरी दिई चित्त नबुझेको कुरामा उजूर नगरी चित्त बुझाई बसेको स्थितिमा एकाघर सगोलका अरु अंशियारले उजूर गर्न पाउने सम्बन्धित सट्टापट्टा गरी लिने सम्बन्धमा लेनदेन व्यवहारको ३६ नं. मा व्यवस्थै नहुँदा यस्तो कानूनले व्यवस्था नै नगरेको दावीको आधारमा विवादको पास भएको लिखत मध्येको वादी विपक्षीहरूको जति बदर हुने ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ।

(प्रकरण नं.  ११)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहन कृष्ण खरेल

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ :

२.     हाम्रा पति पिता भूवन कान्तले मोरङ दादर वैरियाको घर जग्गा र जीवकुमारीले मोरङ थलाहाको जग्गा खाने गरी २०३७।११।३० गते सट्टापट्टा लिखत खडा गरी पास समेत भई आआफ्नो जग्गा भोगचलन गरी उजूर गर्ने म्याद व्यतित भइसकेकोमा मानसिक स्थिति दुर्वल भई दिमागी सन्तुलन स्थिर नभएका भूवन कान्तलाई मोरङ मालपोत कार्यालयमा लिई गई थलाहा गा.पं.वार्ड नं. ७(घ) कि.नं.२२,३४,३३,२० को जग्गा पनि पिता भुवन कान्तका नाउँमा हुने र दादर वैरिया गा.पं. वार्ड नं. १ख कि.नं.४०, ६८ को जग्गा विपक्षी जीवकुमारीका नाउँमा दर्ता हुने गरी सट्टापट्टाको लिखत २०३८।१।२६ गते पारित गराएछन हाम्रो समेत अंश हक लाग्ने जग्गा हाम्रो मञ्जूरी बेगर सट्टापट्टा लिखत पास गरे गराएकाले बदर गरिपाउँ भन्ने फिराद ।

३.     वादी दावी झुठ्ठा हो । मेरो पत्नी श्यामा देवी पन्तले आमाको सम्पत्ति हात पार्ने नियतले म सद्दे मानिसलाई मानसिक स्थिति ठीक नभएको भनी झुठ्ठा दावा गरेको हो मैले आफ्नो स्वास्नी, छोरा र बृद्ध आमालाई फाइदा पुर्‍याउन कुनै काम गरेको होइन छैन । आमालाई रु.६०,०००।थपी दिने शर्त गरी सट्टापट्टाको कागज भएको थियो, शर्त अनुसार आमालाई रुपैयाँ बुझाउन नसकेबाट आमाको सम्पत्ति आमालाई फिर्ता गरी मेरो सम्पत्ति मेरै कायम रहने गरी सट्टापट्टा लिखत पास गरेको हो, झुठ्ठा दावाबाट फूर्सद गरिपाउँ भन्ने भूवन कान्तको प्रतिउत्तर ।

४.     वादी दावी अनुसार वादीहरूलाई हानी र मलाई फाइदा हुने किसिमबाट वादी समेतको हक लाग्ने सम्पत्तिमा सट्टापट्टा गरेको होइन छैन । भुवन कान्त नाउँको जग्गा मेरो नाउँमा लिने र मेरो जग्गा निजलाई दिने सट्टापट्टाको कागज गरेकोमा मेरो जग्गा मलाई फर्काएको हो भन्ने समेत जीवकुमारी पन्तको प्रतिउत्तर ।

५.     दावीको जग्गाहरू प्र.भुवन कान्तकै आर्जनको देखिई सो जग्गाहरू लिखत गरिदिन वादीहरूको मञ्जूरी लिई रहनु पर्ने कुनै पनि व्यवस्था नदेखिँदा २०३८।९।२६ को पारित सट्टापट्टाको लिखत र लिखत बमोजिमको दर्ता बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने मोरङ जि.अ. को २०४०।९।२४ को फैसला ।

६.     मोरङ जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत श्यामादेवी पन्तको पु.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

७.     यसमा कि.नं.४२ र ६८ को जग्गामा वादीहरूको ६ भागको ५ भाग हक पुग्ने सो हक जति मिति २०३८।९।२६ को सट्टापट्टाको लिखत र दर्ता समेत बदर हुने ठहर्छ भन्ने समेत पु.क्षे.अ. को २०४३।१।३१ को फैसला ।

८.     पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४३।६।१९ को आदेश ।

९.     नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीको र विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठअधिवक्ता श्री मोहनकृष्ण खरेलले गर्नु भएको बहस समेत सुनियो ।

१०.    यसमा पू. क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनु पर्ने देखिन आयो ।

११.    निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदक र विपक्षी बीच जग्गा सट्टापट्टा गर्ने लिखत भई पास समेत भएको र सो सट्टापट्टा गरिदिने वादी विपक्षीहरूको लोग्ने बाबु भई घरको मुख्य भएको देखिन आएको, त्यस्तो घरको मुख्यले मञ्जूर गरी सट्टापट्टा लिखत गरी पास समेत गरी दिई चित्त नबुझेको कुरामा उजूर नगरी चित्त बुझाई बसेको समेत देखिन आएको स्थितिमा एकाघर सगोलका अरु अंशियाराले उजूर गर्न पाउने सम्बन्धित सट्टापट्टा गरी लिने सम्बन्धमा व्यवस्था गरेको लेनदेन व्यवहारको ३६ नं. मा व्यवस्थै नहुँदा यस्तो कानूनले व्यवस्था नै नगरेको दावीको आधारमा विवादको पास भएको २०३८।९।२६ को लिखत मध्येको कि.नं.४२ र ६८ बाट वादी विपक्षीहरूको जति बदर हुने ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी पुग्न नसक्नेमा वादी दावी बमोजिम लिखत र दर्ता बदर हुने ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहरेकोले पु.क्षे.अ. को मिति २०४३।३।३१ को फैसला बमोजिमको लगत कायम राख्न परेन । कट्टा गरिदिनु भनी शुरु मोरङ जि.अ. मा लेखी पठाउन का.जि.अ.त मा लगत दिनु...................................१,

प्रतिवादी जीवकुमारी पन्तले यस अदालतमा राखेको कोर्ट फी रु.३।वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिए वादीहरुबाट दामासाहीले भराई दिनु भनी र निजले यस अदालतमा राखेको धरौटी रु.११।५० एघार रुपैयाँ पचास पैसा कानून बमोजिम निजलाई फिर्ता दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त मा लगत दिनु........२

मिसिल नियमबमोजिम बुझाई दिनु..................................३

 

उक्त रायमा मेरो सहमति छ ।

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४५ साल आषाढ १६ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु