शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०३५ - बाल यौन दुराचार (पेडोफाएल)

भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७९।८।२८

०७५-CR-०४१२

 

मुद्दाः- बाल यौन दुराचार (पेडोफाएल)

 

पुनरावेदक/वादी : परिवर्तित नाम बुढानिलकण्ठ ४ को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं.५ चपली बस्ने कृष्णबहादुर भण्डारी

 

प्रतिवादीले पीडितको योनिमा औंला छिराउने र मुखले चलाउने कार्य गरेकोसमेत देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा भएको व्यवस्थाबमोजिम लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने र प्रतिवादीले पीडितको योनिमा औंला छिराउने, मुखले चलाउनेसमेतको कार्य गरेको देखिएकोले निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा परिभाषित जबरजस्ती करणीको कसुर गरेको भन्ने पुष्टि भएको देखिने । 

(प्रकरण नं. ४)

पेडोफाएल भन्नाले बालबालिकाहरू प्रति मात्र लक्षित गरी बालयौनसम्बन्धी व्यवहारमा सक्रिय हुने मानसिकतालाई बुझाउँछ । पेडोफाएलबाट ग्रस्त व्यक्तिले आफ्नो बालबालिका लक्षित यौनजन्य मनसायबमोजिम कुनै क्रिया नगर्दाको अवस्थासम्म त्यसलाई कसुरको संज्ञा दिन मिल्ने देखिँदैन । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकालाई यौनजन्य क्रियाकलापमा प्रयोग गर्नका निम्ति उनीहरूलाई सुरूमा माया गरी उपहार दिई नजिक हुने प्रयास गरेको पाइने । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकाहरूलाई डर, त्रास, धाक, धम्की जस्ता व्यवहार गर्ने गरेको नपाइने ।

कुनै व्यक्ति पेडोफाएलको परिधिभित्र पर्ने नपर्ने विषय निजको अरू बालबालिका लक्षित क्रियाकलापहरूबाट समेत देखिनुपर्ने र प्रतिवादी पेडोफाएल हो होइन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरी प्रमाणित गर्नुपर्ने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बिना दाहाल

प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री अमिता गौतम

अवलम्बित नजिर :

ने.का.प. २०७८ अङ्क ११, नि. नं. १०७७२

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

 

सुरू तहमा फैसला गर्ने: 

मा. न्या. श्री शिशिरराज ढकाल

काठमाडौं जिल्ला अदालत

 

पुनरावेदन तहमा फैसला गर्ने:

मा. न्या. श्री रेवन्तबहादुर कुँवर

मा. न्या. ऋषिप्रसाद अधिकारी

उच्च अदालत पाटन

 

फैसला

न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः 

तथ्य खण्ड

मिति २०७३।०२।११ मा दिउँसो अं. १३:०० बजेको समयमा काम विशेषले म आवास कोठाबाट बाहिर भएको र मेरो आवास कोठामा छोरी परिवर्तित नाम बुढानिलकण्ठ ३ मात्र भएको अवस्थामा कृष्णबहादुर भण्डारीले मेरो छोरी आफूखुसी खेलिरहेको र सोही घरको बाथरूममा पिसाब फेर्न गएको मौका पारी छोरीसँगै बाथरूममा जबरजस्ती प्रवेश गरी चिच्याई हो हल्ला गरेमा ज्यान मार्नेसमेतको धाक धम्की देखाई बोल्न कराउन नदिई मुख थुनी बाथरूमको ढोकामा चुकुल भित्रैबाट बन्द गरी मेरी छोरीले शरीरमा लगाएको लुगाहरू फुकाली नङ्ग्याई छोरीको संवेदनशील गुप्ताङ्ग यौनाङ्गमा हातले स्पर्श गरी छामी मुसारी मुख लगाई टोकी बाल यौन दुराचार गरी तत्काल बाथरूमको चुकुल खोली भागी फरार भएको हुँदा निज कृष्णबहादुर भण्डारीलाई खोज तलास तथा पक्राउ गरी आवश्यक अनुसन्धान र छानबिन गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७३।०२।१२ मा परिवर्तित नाम बुढानिलकण्ठ ४ ले महानगरीय प्रहरी वृत्त, महाराजगन्ज, काठमाडौंमा प्रस्तुत गरेको जाहेरी दरखास्त ।

मिति २०७३।०२।११ गते दिउँसो अं. १३:०० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं. ५ स्थित पूर्वी मोहडा भई बनेको ध्रूव कार्कीको तीनतले पक्की घर उक्त घरभित्र प्रवेश गरी हेर्दा, उत्तर दक्षिणतर्फ २/२ वटा कोठा गरी ४ वटा कोठाहरू रहेको बिचमा प्यासेज रहेको सो प्यासेजको पश्चिमतर्फको बाथरूम रहेको, सो बाथरूममा कृष्णबहादुर भण्डारीले पीडित बुढानिलकण्ठ ३ लाई ज्यान मार्नेसमेतको धाक धम्की दिई बाल यौन दुराचार (पेडोफाएल) गरेको भन्नेसमेत बेहोराको मिति २०७३।०२।११ को घटनास्थल मुचुल्का ।

मिति २०७३।०२।११ गते दिउँसो काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं. ५ मा स्थानीय जात्रा भएको कारण जात्रा हेर्न ध्रूव कार्कीको घरको अगाडि बाटोमा बसेका थियौं । सो समयमा पीडित परिवर्तित नाम बुढानिलकण्ठ ३ सोही वरपर खेलिरहेकी थिइन् । प्रतिवादी कृष्णबहादुर भण्डारी पनि जात्रा हेर्दै थिए । सोही क्रममा पीडित परिवर्तित नाम बुढानिलकण्ठ ३ पिसाब लाग्यो भनी ध्रूव कार्कीको घरभित्र रहेको बाथरूममा गएको मौका पारी प्रतिवादी कृष्णबहादुर भण्डारी पनि निज पीडितको पछि-पछि सोही बाथरूममा गई बाथरूमभित्र छिरी बाथरूमको ढोका बन्द गरी पीडित बुढानिलकण्ठ ३ लाई ज्यान मार्नेसमेतको धाक धम्की दिई शरीरको संवेदनशिल अङ्ग मुसारी, टोकी यौनाङ्गमा औंला छिराउने जस्ता कार्य गरेपश्चात् पीडित रून थालेपछि प्रतिवादी बाथरूमको चुकुल खोली भागेको हो भनी पीडित रूँदै आफ्नो कोठातर्फ जान लाग्दा के भयो भनी सोध्दा पीडितले भनेपश्चात् थाहा पाएको हुँदा निज कृष्णबहादुर भण्डारीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७३।०२।१४ मा गायत्री कार्की सुजिता वल, सुदर्शन डल्लाकोटीसमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

मिति २०७३।०२।११ गते गाउँमा जात्रा भएको हुनाले मानिसहरूको भिडभाड रमाइलो हेर्दै थियौं । दिनको अं.१३:०० बजेको समयमा म मेरो भतिजो नाता पर्ने मेरो गाउँकै ध्रूव कार्कीको घरमा बसी जात्रा हेरिरहेको अवस्थामा एकै गाउँमा बसोबास गर्ने पीडित नाम परिवर्तित बुढानिलकण्ठ ३ निजै ध्रूव कार्कीको घरको भुइँ तलामा भर्याङ मुनि रहेको बाथरूममा ढोका नलगाई पिसाब फेरेको देखि मेरो मनमा पनि के कस्तो विचार आई सोही बाथरूममा छिरी ढोकाभित्रबाट बन्द गरी निजै बुढानिलकण्ठ ३ लाई जिस्काउँदै चकलेट खाने हो नानी भनी निजको नजिक पुगी निजलाई सुमसुमाउँदै निजको छाती, योनिलगायतको भागहरूमा सुमसुमाउँदै निजले आफ्नो कट्टुसमेत लगाउन नभ्याउँदै निजको योनिमा मुखले चलाई पुनः निजको योनिमा मेरो दाहिने हातको चोरी औंला छिराई दिएकोमा पीडित नाम परिवर्तित बुढानिलकण्ठ ३ रून कराउन थालेपछि घर वरपर रहेका अन्य व्यक्तिले थाहा पाउलान् भनी निज बुढानिलकण्ठ ३ लाई यो कुरा कसैलाई नभन्नु भनी डर त्रास देखाई म सो बाथरूमको ढोका खोली बाहिरगई घरतिर गएको हुँ । सोही दिनको रातको अं.०८:०० बजेतिर म आफ्नै गाउँमा घरबाट छिमेकीको घरमा जान लाग्दा एक्कासी प्रहरी आई मलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको मिति २०७३।०२।२० मा प्रतिवादी कृष्णबहादुर भण्डारीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

पीडित बुढानिलकण्ठ ३ को स्वास्थ्य परीक्षण गर्दा निजको शारीरिक तथा मानसिक अवस्था सामान्य देखिन्छ । निजको शारीरको कुनै भागमा चोटपटक, निलडाम वा सङ्घर्षका चिह्नरू देखिँदैन भन्नेसमेत बेहोराको मिति २०७३।०२।११ मा प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीको पत्र ।

मिति २०७३।०२।११ गते बुढानिलकण्ठ जात्रा भएको कारण मेरो स्कुल बिदा भएको र ममि अफिस गएको कारण म खेल्दै ध्रूव कार्कीको घरमा पुगेको थिएँ । उक्त घरमा खेल्दा खेल्दै मलाई पिसाब आएको कारण सो घरको पहिलो तलामा रहेको बाथरूममा पिसाब फेर्न गएकोमा बाथरूम अध्यारो भएकोले गर्दा ढोका नलगाई पिसाब फेर्न बसेको अवस्थामा प्रतिवादी कृष्णबहादुर भण्डारीभित्र छिरी बाथरूमको चुकुल बन्द गरी दियो र म कराउन खोज्दा निजले मलाई कराएमा मारिदिन्छु भनी मेरो मुखमा टोकी सुसु गर्ने ठाउँभित्र निजको औंला छिराई दिएको हो । त्यसपछि मलाई दुखी रून थालेपछि निज बाथरूमको ढोकाको चुकुल खोली बाहिर निस्केर गएको हो । मेरो सुसु गर्ने ठाउँबाट रगत आएपछि कोठामा गई ममीलाई फोन गरी भनेको हो भन्नेसमेत बेहोराको पीडित बुढानिलकण्ठ ३ को कागज ।

प्रतिवादी कृष्णबहादुर भण्डारीले पीडित वर्ष ९ की बुढानीलकण्ठ ३ लाई बोल्न कराउन नदिई चिच्याए कराएमा मारिदिन्छु भनी डर, त्रास, धाक, धम्की देखाई शरीरको संवेदनशील अङ्ग मुसारी, टोकी, योनाङ्गमा औंला छिराउने जस्तो कार्य गरी बाल यौन दुराचार गरेको पुष्टि भई आएको देखिँदा निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. को स्पष्टीकरण (घ) र सोही महलको ९(क) नं. मा परिभाषित कसुर देखिँदा निज प्रतिवादी कृष्णबहादुर भण्डारीलाई सोही महलको ३  (१) नं. बमोजिम सजाय गरी सोही महलको ९(क) नं. बमोजिम थप सजायसमेत हुन सोही महलको १० र १०(ग) नं. बमोजिम निज प्रतिवादीबाटै पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेतको बेहोराको मिति २०७३।०२।२३ को अभियोगपत्र ।

मैले पीडित भनिएकी बुढानिलकण्ठ ३ लाई जाहेरीमा उल्लेख गरेअनुसारको कुनै कार्य गरेको छैन । म उक्त दिन मिति २०७३।०२।११ गते दिउँसो ११ बजेको समयमा मेरो सालो नाता पर्ने ध्रूव कार्कीको घरमा गएको थिएँ । घाम लागेको हुनाले शीतल हुन्छ भनी त्यहाँ गएको थिएँ । त्यहाँ जाँदा पीडितलगायतका अन्य दुईजना बालक र बालिका थिएँ । दुई जनामध्येकी बालिकाले मेरो मोबाइल खेल्न मागेको हुँदा मैले खेल्नको लागि दिएको थिएँ । त्यही क्रममा एक्कासी जाहेरवाला आई मेरो मोबाइल लिएर ट्वाइलेटमा गई मेरो मोबाइल खोली बिगारी दिएपछि मैले किन त्यसो गरेको भनी कराएको मात्रै थिएँ । पछि तिनले यस्तोबेहोराको जाहेरी दरखास्त दिएको रहेछ भन्ने थाहा भयो । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान मलाई नसुनाई जबरजस्ती सहीछाप गराएको हो । सो बयानमा मैले कसुरमा इन्कारी गरेको थिएँ । पीडित परिवर्तित नाम बुढानिलकण्ठ ३ ले गरेको कागज झुठ्ठा हो । अभियोग पत्रमा उल्लेख भएबमोजिम मैले सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको मिति २०७३।०२।२४ मा प्रतिवादी कृष्णबहादुर भण्डारीले सुरू अदालतमा गरेको बयान । 

मिति २०७६।०२।११ गते दिउँसो ११:०० बजे परिवर्तित नाम बुढानिलकण्ठ ३ लाई यी प्रतिवादी कृष्णबहादुर भण्डारीले बाल यौन दुराचार गरेको भन्ने उक्त घटना घटेको घर मेरै हो । उक्त दिन म घरमै थिएँ । मोबाइल फुटाइदियो भनेर प्रतिवादीले गाली गर्दै गरेको र पीडित बालिका रूँदै गरेको सुनेको हुँ । त्यसपश्चात् चार पाँचजना बच्चा पीडित र प्रतिवादीसँगै थिए । त्यहाँ कुनै दुराचार भएको देखेको थिइन । के रिसइवीले के अभियोग लागेको सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको मिति २०७३।०३।०६ मा प्रतिवादीका साक्षी विश्वनाथ कार्की भन्ने विश्व कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७३।०२।२० को कागजमा भएको सहीछाप मेरो हो । उक्त कागजमा लेखिएबमोजिम प्रतिवादी कृष्णबहादुर भण्डारीले मेरो सुसु गर्ने ठाउँमा मुखले टोकी दिएको सत्य साँचो हो । मेरो सुसु गर्ने ठाउँमा निज कृष्णबहादुर भण्डारीले मुखले र हातले चलाएका हुन् । मलाई उक्त कार्य ट्वाइलेटमा गरेका हुन् भन्नेसमेत बेहोराको मिति २०७३।०३।२९ मा पीडित परिवर्तित नाम बुढानिलकण्ठ (३) ले निजकी आमा परिवर्तित नाम बुढानिलकण्ठ ४ को रोहवरमा सुरू अदालतमा गरेको बकपत्र ।

जाहेरी दरखास्तमा भएको बेहोरा तथा सही मेरो हो । मिति २०७३।२।११ गते दिनको ०१:०० बजेको समयमा ट्वाइलेट बाथरूममा यौनाङ्ग तथा छातीमा हातले छुने चलाउने गरेका र मुखले तिघ्राको माथिल्लो भागमा निज प्रतिवादीले टोकेको र यौनाङ्गमा समेत टोकेका हुन् । सुसु गर्ने ठाउँमा रातो भई पोलेको जस्तो थियो र तिघ्राको माथिल्लो भागमा टोकेको निलडाम थियो । पहिला जात्रा जाने मानिसले घटनाको बारेमा सुनाएका र छोरीलाई घरमा आई सोध्दा निजले पनि उल्लिखित घटना बारेमा बताएकी हुन् भन्नेसमेत बेहोराको मिति २०७३।०३।२९ मा जाहेरवाला परिवर्तित नाम बुढानिलकण्ठ (४) ले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित बाथरूममा सु गर्न जाँदा प्रतिवादी पनि सँगै गएको बाथरूम भित्र गएर चुकुल लगाई नानीको लुगा खोली योनि स्तनमा हातले चलाउने योनिमा मुखले चाट्ने हातले खेलाउने गरेको पीडितलाई सोध्दा मलाई भनेको भन्नेसमेत बेहोराको मिति २०७३।०३।३० मा बुझिएकी मानिस सुमित्रा बलले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी कृष्णबहादुर भण्डारीले पीडित मेरो भान्जीलाई एक्लै भएको मौका छोपी बाथरूम गएको अवस्थामा निज प्रतिवादीले बाथरूमको चुकुलसमेत लगाई बोल्न कराउनसमेत नदिई कपडा खोली मुख तथा औंलाद्वारा गोप्य अङ्ग छोई अङ्ग चाटेको कुरा पीडित मेरो भान्जीबाट थाहा पाएको हो भन्नेसमेत बेहोराको मिति २०७३।०३।३० मा बुझिएका मानिस सुदर्शन डल्लाकोटीले सुरू अदालतमा गरेको बकपत्र ।

जाहेरी दरखास्त, पीडितको कागज, मौकामा कागज गर्ने व्यक्तिहरूको कागज तथा प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको बयानसमेतका प्रमाणहरूबाट प्रतिवादी कृष्णबहादुर भण्डारीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुर गरेको देखिँदा निजलाई सोही महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र सोही महलको १० नं. बमोजिम रू.५०,०००।- पीडितलाई प्रतिवादी कृष्णबहादुर भण्डारीबाट क्षतिपूर्ति भराएदिने ठहर्छ । मुलुकी ऐन, ९(क) नं. बमोजिम समेत सजाय गरिपाउँ भन्ने अभियोग दाबी सो हदसम्म नपुग्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।०६।०९ मा भएको फैसला ।

प्रतिवादी कृष्णबहादुर भण्डारीले बाथरूमको चुकुल लगाई बालिकालाई डर त्रास देखाई निज बालिकाको योनिमा हात औंला पसाई मुख लगाई चलाएको निज रून थालेपछि चुकुल खोली भागेको तथ्य मिसिलबाट पुष्टि भइरहेको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को (घ) मा लिङ्गबाहेकको अरू कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिन्छ भनी उल्लेख भएको छ भने सोही महलको ९(क) नं. मा कसैले कुनै नाबालिकासँग कुनै बाल यौन दुराचार गरे गराएमा यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्ष सजायको व्यवस्था गरेको अवस्थामा प्रतिवादीलाई कसुर पुष्टि भएको र कसुर गरेकोमा सोही महलको ९(क) बमोजिम थप एक वर्ष कैदको सजाय गर्ने कानूनी व्यवस्था हुँदाहुँदै तथ्ययुक्त आधार र कारणसमेत नखोली प्रतिवादीलाई थप सजाय नगरी भएको सुरूको फैसला त्रूटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।०४।०४ मा वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटनमा गरेको पुनरावेदन ।

प्रतिवादीले पीडितको योनिमा औंला प्रवेशसम्म गराएको र अन्य कार्य गरेको भन्ने तथ्ययुक्त प्रमाणबाट पुष्टि भएको नदेखिँदा निज कृष्णबहादुर भण्डारीलाई कैदको तल्लो हद अर्थात् १० वर्ष कैदको सजाय गरेको पर्याप्त नै हुने देखियो । सुरू अदालतबाट यी प्रतिवादी कृष्णबहादुर भण्डारीलाई कैदको सजाय गर्ने गरेको फैसलालाई अन्यथा भन्न सकिएन । प्रतिवादीलाई थप कैदको सजाय हुनुपर्दछ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर तथा वादी नेपाल सरकारका तर्फबाट बहस गर्नुहुने विद्वान् उपन्यायाधिवक्ताको बहससँग सहमत हुन सकिएन । सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।०६।०९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।०९।०७ को फैसला ।

प्रस्तुत मुद्दामा पीडित नाबालिका बाथरूममा पिसाब फेर्न गएको मौका पारी बाथरूममा जबरजस्ती प्रवेश गरी हल्ला गरेमा मार्ने धम्की दिई बोल्न कराउन नदिई मुख थुनी बाथरूमभित्रबाट चुकुल लगाई बालिकाको कपडा खोली यौनाङ्गमा हातले स्पर्श गरी, मुख लगाई टोकी बाल यौन दुराचार गरेको भन्ने बेहोराको जाहेरी परेकोमा सोही जाहेरीलाई समर्थन गर्ने गरी प्रतिवादीले पीडित बालिकालाई बाथरूमको ढोका थुनी निजको संवेदनशील अङ्ग सुमसुमाई टोकी योनिमा औंला छिराउँदा पीडित रून कराउन थालेकीले भागी गएको भन्ने बेहोराको बयान कागजबाट प्रतिवादीउपरको आरोपित कसुर पुष्टि भइरहेको देखिन्छ । मुलुकी ऐन, जबरजस्ती करणीका महलको १ नं. को स्पष्टीकरणको (घ) मा लिङ्ग बाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने छ भनी उल्लेख भएको छ भने सोही महलको ९(क) नं. मा कसैले कुनै नाबालकसँग बाल यौन दुराचार गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप १ वर्ष कैद सजाय गर्ने व्यवस्था रहेको छ । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि भएको अवस्थामा ऐ. महलको ३ नं. ले हुने सजायमा थप १ वर्ष कैद सजाय हुने सोही महलको ९(क) नं. को कानूनी व्यवस्था हुँदाहुँदै सोतर्फ कुनै युक्तियुक्त आधार कारण नखोली ऐ. महलको ९(क) नं. बमोजिम थप सजाय नहुने गरी भएको फैसलामा उक्त कानूनको त्रूटि भएको हुँदा बदरभागी छ ।

पीडित बालिकाको उमेर ९ वर्षको 

देखिन्छ । नाबालिकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिब क्षतिपूर्तिसमेत भराई यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्ष कैद गर्ने व्यवस्था मुलुकी ऐनको जबरजस्ती करणीको ९(क) ले गरेको कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी भएको उक्त फैसला त्रूटिपूर्ण भई बदरभागी छ । अतः उल्लिखित आधार, प्रमाण एवम् कारणसमेतबाट प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा ऐ. ९ (क) नं. बमोजिम थप सजाय नगर्ने गरी भएको उच्च अदालत पाटनको फैसला कानूनत: त्रूटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम थप सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७५।०५।१७ मा वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदन ।

यमसा जबरजस्ती करणीको महलको ९(क) नं. समेतको सजाय मागदाबी गरेकोमा सोबमोजिम सजाय थप गर्न नपर्ने गरी भएको उच्च अदालत पाटनको मिति २०७४।०९।०७ को फैसलामा उक्त ९(क) नं. को व्याख्याको सन्दर्भमा विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७७।०२।२५ को आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा नेपाल सरकार वादीको तर्फबाट उपस्थित हुनुभएको विद्वान् उपन्यायाधिवक्ता श्री बिना दाहालले साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरणको (घ) मा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने छ भनी उल्लेख भएको छ भने सोही महलको ९(क) नं. मा कसैले कुनै नाबालकसँग बाल यौन दुराचार गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप १ वर्ष कैद सजाय गर्ने भनी व्यवस्था रहेको पाइन्छ । प्रतिवादी कृष्णबहादुर भण्डारीले अभियोग दाबीबमोजिम पीडितउपर कसुर अपराध गरेको भन्ने पुष्टि भएको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. मा हुने सजायमा थप १ वर्ष कैद सजाय हुने भन्ने सोही महलको ९(क) नं. मा कानूनी व्यवस्था हुँदाहुँदै थप सजाय नहुने गरी भएको उच्च अदालत पाटनको फैसला त्रूटिपूर्ण हुँदा बदर गरी पुनरावेदनबमोजिम गरिपाउँ भनी बहससमेत गर्नुभयो ।

विपक्षी प्रतिवादी कृष्णबहादुर भण्डारीको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री अमिता गौतमले कुनै व्यक्तिले पीडित बालबालिकालाई बालयौन दुराचार गरे गराएमा जबरजस्ती करणी मानिने र उक्त कसुरमा थप सजायसमेत हुने भनी साबिकको मुलुकी ऐनमा व्यवस्था भए तापनि मुलुकी अपराध संहितामा त्यस्तो कसुरमा थप सजाय हुने भन्ने कानूनी व्यवस्था नभएको हुँदा पुनरावेदनबमोजिम हुनुपर्ने होइन भनी बहससमेत गर्नुभयो ।

उपर्युक्त विद्वान् कानून व्यवसायीले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी कृष्णबहादुर भण्डारीले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. को स्पष्टीकरण (घ) र सोही महलको ९(क) नं. मा परिभाषित कसुर गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३ (१) नं. बमोजिम सजाय गरी सोही महलको ९(क) नं. बमोजिम थप सजायसमेत हुन सोही महलको १० र १०(ग) नं. बमोजिम निज प्रतिवादीबाटै पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने अभियोग दाबी भएकोमा प्रतिवादी कृष्णबहादुर भण्डारीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुर गरेको देखिँदा निजलाई सोही महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र सोही महलको १० नं. बमोजिम रू.५०,०००।- पीडितलाई प्रतिवादी कृष्णबहादुर भण्डारीबाट क्षतिपूर्ति भराइदिने तर सोही महलको ९(क) नं. बमोजिमसमेत थप सजाय गरिपाउँ भन्ने अभियोग दाबी सो हदसम्म नपुग्ने भन्ने काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसला वादी नेपाल सरकारले चित्त नबुझाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ९(क) नं. बमोजिम प्रतिवादीलाई थप सजाय गरिपाउँ भन्ने जिकिर लिई उच्च अदालत पाटनसमक्ष पुनरावेदन गरेकोमा निज प्रतिवादीलाई जबरजस्ती करणीतर्फ सजाय ठहर गरेको मिलेको देखिँदा सदर हुने र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने उच्च अदालत पाटनबाट मिति २०७४।०९।०७ मा फैसला भएको रहेछ । उक्त फैसलामा चित्त नबुझाई प्रतिवादी कृष्णबहादुर भण्डारीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९(क) नं. बमोजिम थप सजायको माग गर्दै नेपाल सरकारले यस अदालतसमक्ष उच्च अदालत पाटनको फैसलाउपर पुनरावेदन गरेको देखियो ।

३. अब प्रस्तुत मुद्दाको वारदात सम्बन्धमा हेर्दा, आफ्नी छोरी खेलिरहेको अवस्थामा घरको बाथरूममा पिसाब फेर्न गएको मौका पारी कृष्णबहादुर भण्डारी छोरीसँगै जबरजस्ती बाथरूममा प्रवेश गरी चिच्याई होहल्ला गरेमा ज्यान मार्नेसमेतको धाक धम्की देखाई बाथरूमको ढोकाको चुकुल भित्रबाट बन्द गरी छोरीले शरीरमा लगाएको लुगाहरू फुकाली नङ्ग्याई छोरीको संवेदनशील गुप्ताङ्गमा हातले स्पर्स गरी छामी मुसारी मुख लगाई टोकी बाल यौन दुराचार गरी फरार भएको भनी जाहेरवाला बुढानीलकण्ठ ४ ले प्रतिवादी कृष्णबहादुर भण्डारीउपर किटानी जाहेरी दिएको देखिन्छ । यस्तै पीडित बुढानीलकण्ठ ३ ले मौकाको कागज गर्दा म ध्रूव कार्कीको घरमा खेल्दाखेल्दै पिसाब फेर्न बसेको अवस्थामा कृष्णबहादुर भण्डारी भित्र छिरी बाथरूमको ढोका बन्द गरी कराएमा मारिदिन्छु भनी मेरो मुखमा टोकी सुसु गर्ने ठाउँभित्र निजको औंला छिराइदिएको हो भनी लेखाइदिएकोमा उक्त बेहोरालाई समर्थन गर्दै पीडितले अदालतसमक्ष बकपत्रसमेत गरेको पाइन्छ । मौकामा कागज गर्ने व्यक्तिहरूले समेत जाहेरी दरखास्तबमोजिम बेहोरा उल्लेख गरेको र उक्त बेहोरालाई समर्थन गर्दै अदालतसमक्ष बकपत्र गरेको पाइन्छ । यसैगरी जाहेरवालाले समेत आफ्नो जाहेरीमा उल्लिखित बेहोरालाई समर्थन गरी अदालतसमक्ष बकपत्र गरिदिएको देखिन्छ ।

४. प्रतिवादी कृष्णबहादुर भण्डारीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा निजको छाती योनिलगायतको भागहरू सुमसुमाउँदै पीडितले आफ्नो कट्टुसमेत लगाउन नभ्याउँदै निजको योनिमा मुखले चलाई पुनः निजको योनिमा दाहिने हातको चोरी औंला छिराइदिएको भनी वारदात एवम् कसुर स्वीकार गरेको अवस्था छ । तर निज प्रतिवादीले अदालतसमक्ष बयान गर्दा उक्त कसुरमा आफू संलग्न नरहेको र पीडितलाई केही नगरेको भनी इन्कारी बयान गरेको देखिन्छ । निज प्रतिवादी अदालतसमक्ष कसुरमा इन्कार रहे तापनि पीडितले वारदातको सम्बन्धमा सिलसिलाबद्ध रूपमा भनेको कथन झुठ्ठा हो भनी वस्तुनिष्ठ आधारले पुष्टि गर्न सकेको मिसिलबाट देखिँदैन । पीडित केवल ९ वर्षकी अबोध बालिका भएको र निजको उमेर एवम् मानसिक अवस्थालाई मध्यनजर गर्दा निजले हुँदै नभएको बनावटी कुरा गरेर प्रतिवादीलाई आरोप गरेको होला भनी विश्वास गर्न सक्ने आधार र प्रमाण नदेखिएको हुँदा निजले वारदातको सम्बन्धमा भनेका कुरालाई अन्यथा भन्न मिल्नेसमेत देखिँदैन । यसरी मिसिल संलग्न रहेको जाहेरवालाको किटानी जाहेरी, पीडितको मौकाको कागज एवम् अदालतसमक्ष गरेको बकपत्र, जाहेरी दरखास्तलाई समर्थन गर्दै जाहेरवाला एवम् मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतसमक्ष गरेको बकपत्रसमेतलाई हेर्दा प्रतिवादी कृष्णबहादुर भण्डारीले पीडितको योनिमा औंला छिराउने र मुखले चलाउने कार्य गरेकोसमेत देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा भएको व्यवस्थाबमोजिम लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने र प्रतिवादीले पीडितको योनिमा औंला छिराउने मुखले चलाउनेसमेतको कार्य गरेको देखिएकोले निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा परिभाषित जबरजस्ती करणीको कसुर गरेको भन्ने पुष्टि भएको देखियो । 

५. अब नेपाल सरकारले प्रतिवादी कृष्णबहादुर भण्डारीउपर पेडोफाएलको अभियोगमा मुलुकी ऐनको जबरजस्ती करणी महलको ९क नं. बमोजिम थप सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकिर रहेको हुँदा सर्वप्रथम पेडोफाएल भनेको के हो र कस्तो स्थितिमा कसुरदारलाई पेडोफाएल मानिन्छ भन्ने विषयमा हेरी विवेचना गर्नुपर्ने देखिन आयो । यस विषयमा यस अदालतबाट Kenneth Joseph coombs विरूद्ध नेपाल सरकार (ने.का.प.२०७८, अङ्क ११, नि.नं. १०७७२) मा विस्तृत व्याख्या भएको छ । सो सम्बन्धमा हेर्दा, पेडोफाएल बालबालिकाहरू प्रति मात्र लक्षित गरी बालयौनसम्बन्धी व्यवहारमा सक्रिय हुने मानसिकतालाई बुझाउँछ । पेडोफाएलबाट ग्रस्त व्यक्तिले आफ्नो बालबालिका लक्षित यौनजन्य मनसायबमोजिम कुनै क्रिया नगर्दाको अवस्थासम्म त्यसलाई कसुरको संज्ञा दिन मिल्ने देखिँदैन । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकालाई यौनजन्य क्रियाकलापमा प्रयोग गर्नका निम्ति उनीहरूलाई सुरूमा माया गरी उपहार दिई नजिक हुने प्रयास गरेको पाइन्छ भने पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकाहरूलाई डर, त्रास, धाक, धम्की जस्ता व्यवहार गर्ने गरेको पाइँदैन । प्रस्तुत मुद्दाको वारदात हेर्दा प्रतिवादी कृष्णबहादुर भण्डारीले आफ्नो यौन इच्छालाई बसमा राख्न नसकी एक बालिकालाई धाकधम्की दिई जबरजस्ती बाथरूमभित्र यौनजन्य व्यवहार गरेको र निज पीडित रोई कराई चिच्याएको भन्ने देखिन्छ । यसरी हेर्दा उक्त वारदात पेडोफाएल ग्रस्त मानसिकताबाट भएको भन्दा पनि तीव्र यौन चाहना अनियन्त्रित भई जबरजस्ती करणी नै भएको भन्ने देखिन्छ । कुनै व्यक्ति पेडोफाएलको परिधिभित्र पर्ने नपर्ने विषय निजको अरू बालबालिका लक्षित क्रियाकलापहरूबाट समेत देखिनुपर्ने र यी प्रतिवादी पेडोफाएल हो होइन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरी प्रमाणित गर्नुपर्नेमा सो भएको अवस्थासमेत मिसिल संलग्न कागजातबाट नदेखिँदा यी प्रतिवादी पेडोफाएल नै हुन् भन्नेसमेत पुष्टि हुन आएको देखिँदैन । 

६. अब मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. बमोजिम थप सजाय हुनुपर्ने भन्ने जिकिर सन्दर्भमा हेर्दा, साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. मा कसैले कुनै नाबालकसँग कुनै किसिमको बाल यौन दुराचार (पेडोफाएल) गरे गराएमा जबरजस्ती करणी गरेको मानी जबरजस्ती करणीको सजायमा थप एक वर्ष कैद सजाय हुने भन्ने व्यवस्था उल्लेख भएको देखिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को स्पष्टीकरण खण्डको (ग) मा गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ भन्ने उल्लेख भएको पाइन्छ । यो व्यवस्था साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ (घ) को हुबहु रहेको देखिन्छ । ऐ. संहिताको दफा २२५ को उपदफा १ लाई हेर्दा कसैले कसैको मन्जुरी बिना अप्राकृतिक मैथुन गर्न नहुने भनी व्यवस्था गरेको र सोही दफाको स्पष्टीकरण खण्डको ३ मा बालबालिका विरूद्ध उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुने छ भनी उल्लेख भएबाट जबरजस्ती करणीको अपराधमा हुने सजायको व्यवस्था रहेको पाइन्छ । उल्लिखित दफाहरूलाई हेर्दा साबिकको मुलुकी ऐनबमोजिम नै बालबालिका विरूद्ध हुने जबरजस्ती करणी महलको १ नं. अन्तर्गतका क्रियाकलापलाई जबरजस्ती करणी नै मानिने तर उक्त कसुरमा अप्राकृतिक मैथुन पुष्टि नभएमा थप सजाय हुने भन्ने कानूनी व्यवस्था भएको देखिँदैन । यसरी प्रतिवादी कृष्णबहादुर भण्डारी पेडोफाएल भएको भन्ने विषयमा नेपाल सरकारले यकिन साथ प्रमाणित गर्न नसकेको र हालको कानूनले बालकालिकाउपर हुने कुनै पनि यौन दुराचारलाई जबरजस्ती करणी नै मानी जबरजस्ती करणीअन्तर्गत कानूनबमोजिम सजाय हुने र उक्त कसुरको सजायमा थप सजाय हुने भन्ने व्यवस्था नभएको अवस्थामा उच्च अदालत पाटनले प्रतिवादी कृष्णबहादुर भण्डारीलाई जबरजस्ती करणीको कसुरमा १० वर्ष कैद सजाय हुने र पेडोफाएलअन्तर्गत थप सजाय नहुने भनी ठहर गरेको फैसला मिलेकै देखिन आयो ।

७. अतः माथि विवेचित आधार कारणहरूबाट प्रतिवादी कृष्णबहादुर भण्डारीले ९ वर्षकी नाबालिका परिवर्तित नाम बुढानिलकण्ठ ३ लाई जबरजस्ती करणी गरेको भन्ने देखिन आएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुरमा सोही महलको ३ नं. को देहाय १ बमोजिम १० वर्ष कैद हुने भनी उच्च अदालत पाटनबाट मिति २०७४।०९।०७ मा भएको फैसला मिलेको नै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई 

 

इजलास अधिकृत: विनिता भारती

इति संवत् २०७९ साल मङ्सिर २८ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु