निर्णय नं. ११०४० - अपहरण गरी कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
फैसला मिति : २०७९।३।१४
मुद्दा: अपहरण गरी कर्तव्य ज्यान
०७६-CR-११८७
पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. १ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. ४ घर भई कारागार कार्यालय रौतहटमा कैदमा रहेको नरनारायण सहनीको छोरा मोहनकुमार सहनी
विरूद्ध
प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार
०७६-CR-११८८
पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ४ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. १ घर भई कारागार कार्यालय रौतहटमा कैदमा रहेको अमृत सहनीको छोरा विजुली सहनी
विरूद्ध
प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार
०७६-CR-११८९
पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ३ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. १ घर भई कारागार कार्यालय रौतहटमा कैदमा रहेको रामप्रताप सहनीको छोरा सुरेश भन्ने श्यामकुमार सहनी
विरूद्ध
प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार
०७६-CR-११९०
पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ४ को परिवर्तित ऐ. वरहथवा न.पा. वडा नं. १ घर भई हाल कारागार कार्यालय गौरमा कैदमा रहेको अमृत सहनीको छोरा दिनेश सहनी
विरूद्ध
प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार
०७६-RC-००९२
साधक/वादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. १ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. ४ बस्ने जय किशोर सहनीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ३ घर भई कारागार कार्यालयमा कैदमा रहेको रामचन्द्र सहनीको छोरा सन्तोष कुमार सहनी
आरोपित व्यक्तिले गरेको बयानमा खुलाएका घटनाका श्रृङ्खला तत् मुद्दासँगको सान्निध्यता, बयान बेहोरा पत्यारलायक छन्, छैनन भन्ने वस्तुगत अवस्था (Objective Test) समेतका समग्र अवस्थाको मूल्याङ्कन र विश्लेष्ण गरी आरोपित व्यक्तिले गरेको अनुसन्धान अधिकारी वा अदालतसमक्ष गरेको बयानको सच्चाइ पत्ता लगाएको हुन्छ । आरोपित व्यक्तिले अदालतमा इन्कार रही बयान गरेको वा अदालतमा पनि साबित रहेको भन्ने मात्रको आधारमा अदालत निष्कर्षमा पुग्न नसक्ने । साबिती होस वा इन्कारी बयान होस अन्य तथ्यहरूले समर्थन र सम्पुष्टि आवश्यकीय सर्त रहने ।
(प्रकारण नं. १०)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिकृष्ण उप्रेती तथा विद्वान् अधिवक्ताहरू श्री नारायणबहादुर कटुवाल र श्री राजु उप्रेती
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजिर :
स.अ. बुलेटिन वर्ष ६ अङ्क ३, पृ. २३
स.अ. बुलेटिन वर्ष ६ अङ्क ९ पृ. २३
स.अ. बुलेटिन, वर्ष ५ अङ्क ७ पृ. ६
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
मा. न्या. श्री मोहन राज भट्टराई
सर्लाही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्या. श्री राजेश्वर तिवारी
मा. न्या. श्री दिनेश प्रसाद यादव
उच्च अदालत जनकपुर
फैसला
न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन तथा साधकको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं. ४ स्थित पूर्व, पश्चिम ईन्दु शंकर चिनी मिलको खाली जग्गा, उत्तर गणेश कार्कीको मकैबारी र दक्षिण एकादशी खोला यत्ति चार किल्लाभित्रको खोलाको पूर्वतर्फको डिल चौरमा अगाडि फेसको भाग दक्षिण र पछाडिको भाग उत्तर पश्चिम भइरहेको पुरूषको जस्तो देखिने मानव टाउकोको अनुहारको भागको बाहिरी छाला रातो कालो भएको, टाउकोको कपाल छालासहित झरी अगाडिको तालुको भागको कपालमात्र बाँकी रहेको, टाउकोको च्यापुको भागभन्दा मुनिबाट घाँटी काटी छुट्याइएको, सडी गली दुर्गन्धित भएको अवस्थामा उक्त मानव टाउको रहेको, सो स्थानदेखि २० मिटर पश्चिम सोही एकादशी खोलाको बिच भागमा पानीको धारको दबदबे हिलोमा नयाँ आलो माटो खोतलेको जस्तो देखिएको, सो ठाउँको पानीमा हल्का पहेलो जस्तो देखिने तरल पदार्थ निस्केको पाइएको, सो ठाउँमा अन्य स्थानबाट उठाई ल्याई राखिएको झारपात हटाई हेर्दा दबदबे हिलोमा खाडल खनी गाडेको अवस्थामा टाउको काटिएको जस्तो देखिने टाउको नभएको घाँटीको भाग पश्चिम, दुवैगोडा पूर्व, दुवै हात मृतकको पछाडि पिठ्यूले थिचिएको उत्तानो पारी हिलोमा गाडेको अवस्थामा पाइएको, उक्त मृतक पुरूषको लासलाई बाहिर निकाली हेर्दा लासको मृत शरीरमा पेन्टीबाहेक अन्य कपडाहरू नभएको, घाँटी काटिएको, शरीरको भाग फुलेको, घाँटी भित्र दबेको, बायाँ कुमको माथिल्लो हातको पाखुराको भित्रीपट्टिको भागमा निलो कालो दाग रहेको, दायाँ हातको पाखुरामा ५।३ इन्चको सर्कल गोलो आकारको घाउ भएको, सोही हातको साहिँली औंला र कान्छी औंला भाँचिएको जस्तो देखिएको, छातीमुनि पेटको दायाँ भागमा छड्के लम्बाइ १६ इन्च चौडाइ ४ इन्च, बायाँ साइडमा मुनिको भागमा लम्बाइ ७ इन्च चौडाइ ३ इन्च भएको काटिएको जस्तो घाउ चोट लागेको, नाइटोदेखि माथि पेटको बायाँ भागमा १२ से.मी. लम्बाइ भएको २ वटा काटेको जस्तो देखिने तेर्सो धर्का भएको पेटको तल्लो बायाँ भागमा लम्बाइ ७ इन्च, चौडाइ ६ इन्च भएको गोलो जस्तो भएको धारिलो हतियारले घोपेको जस्तो घाउ भई सोबाट आन्द्रा भुँडी निस्केको, अण्डाकोष सुन्निएको, मलद्वारबाट फोहोर निस्केको, बायाँ कम्मरको भागमा कालो चिह्नको जस्तो दाग देखिएको, लासको गोडा देखी घाँटीमा काटिएको भागसम्मको उचाइ ५।७, भएको तराईबासी अं. २५।२६ वर्षको जस्तो देखिने यकिन नाम थर वतन खुल्न नसकेको बेवारिसे पुरूषको लास कर्तव्यबाट हत्या गरी २ टुका पारी जिउको भाग सोही एकादशी खोलाको पानी धारको दबदबे हिलोमा गाडेको अवस्थामा फेला परेको भन्ने घटनास्थल एवं लास जाँच प्रकृति मुचुल्का ।
मेरो छोरा वर्ष २४ को शैल सहनी मिति २०७१।१२।१० गते आफ्नो मान्छेहरूलाई विदेश उडाउनको लागि काठमाडौंमा लिएर गई मिति २०७१।१२।१२ गते म आउँदै छु मोटरसाइकल लिई आउनु भनी खबर गरेकोमा सोपछि सम्पर्कविहीन भएकोले खोजतलासको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा हुलिया निवेदन दिई खोजतलास भइरहेकोमा मिति २०७१।१२।१९ गते साँझ ५ बजेतिर जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा टाउको र शरीर अलग भई २ टुका पारी काटिएको पुरूषको लास फेला परेको र लास पोष्टमार्टमको लागि सर्लाही जिल्ला अस्पतालमा लगेको भन्ने हल्ला सुनी थाहा पाई अस्पतालमा आई लास हेर्दा छोरा शैल सहनीको लास रहेकोले हेरी चिनी सनाखत गरी यो सनाखत जाहेरी लेखी पेस गरेको
छु । छोराको हत्यारा पत्ता लागी तथ्य कुरा खुल्न पत्ता लाग्न आएपछि छुट्टै जाहेरी दिने छु हाललाई मृतक लासप्रति जो गर्नुपर्ने हो गराई दाह संस्कारको लागि जिम्मा लगाइपाउँ भन्ने जय किशोर सहनीको जाहेरी दरखास्त ।
जाहेरवाला जय किशोर सहनीले छोरा शैल सहनी बेपत्ता भएकोले खोजतलासको लागि तत्काल महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा दिएको हुलिया निवेदन र खोजतलासको क्रममा एनसेल कम्पनीबाट निकालिएको मृतक शैल सहनीले प्रयोग गर्ने गरेको ९८०४२४६३२६ नं. को मोबाइलको कलडिटेलको प्रतिलिपि मिसिल साथ रहेको ।
मेरो छोरा वर्ष २४ को शैल सहनी मिति २०७१।१२।१० गते काठमाडौं गई मिति २०७१।१२।१२ गते म घर फर्कि आउँदै छु भनेकोमा सोपश्चात् छोरा घरमा नआई बेपता भएकोले छोरा शैल सहनीको खोजतलासको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा गई हुलिया निवेदन दिई खोज तलास भइरहेकोमा मिति २०७१।१२।१९ गते साँझ १७:१५ बजेतिर जिल्ला सर्लाही गा.वि.स. हजरिया वडा नं.४ स्थित एकादशी खोलामा प्रहरीले लास फेला पारी पोष्टमार्टमको लागि सर्लाही जिल्ला अस्पतालमा लगी राखेको भन्ने जानकारी पाई उक्त अस्पतालमा गई हेर्दा मेरो छोरा वर्ष २४ को शैल सहनीको लास सनाखत गरी लास दाह संस्कार गर्नको लागि जिम्मा पाउँ भनी निवेदन दिँदा छोराको हत्या गर्ने व्यक्तिहरूको पत्ता लागी खुली आएको बखत छुट्टै जाहेरी दिने छु भनेकोमा सो घटना सम्बन्धमा विभिन्न स्रोतबाट बुझ्दै जाँदा छोरालाई कर्तव्य गरी हत्या गर्नेमा सन्तोषकुमार सहनी, मोहनकुमार सहनी, दिनेश सहनी, विजुली सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, नारायण सहनी र निजले ल्याएको २ जना भारतीय नागरिकसमेत भई एक आपसमा योजना बनाई मिलोमतो गरी मिति २०७१।१२।१२ गते छोरा शैल काठमाडौंबाट घरतर्फ आउँदै गरेको अवस्थामा बाटोबाटै उल्लिखित प्रतिवादीहरूले छोरा तथा मसँग भएको पूर्व रिसइवीको कारण छोरा शैल सहनीलाई अपहरण गरी लगी आफ्नो नियन्त्रणमा लिई अमानवीय तवरले कुटपिट गरी धारिलो हतियार प्रहार गरी घोची रोपी घाँटीमा काटी टाउकोलाई धरबाट छिनाई दुई टुक्रा पारी एकादशी खोलाको बगिरहेको पानीमा खाल्डो खनी पुरेको हुँदा प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्ने जय किशोर सहनीको किटानी जाहेरी दरखास्त ।
मिति २०७१।१२।२४ गते पक्राउ परेका प्रतिवादीहरू सन्तोषकुमार सहनी, मोहनकुमार सहनी, दिनेश सहनी, विजुली सहनी र सुरेश भन्ने श्यामकुमार सहनीसमेतले उक्त वारदातपश्चात् मृतकले वारदातको समयमा लगाएको कपडा सोही खोलामा गाडेको छ भनी खुलाई बताई देखाई दिएअनुसार जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा मिति २०७१।१२।१९ गते बेलुकी मृतक शैल सहनीको लास गाडेको अवस्थामा फेला परेको स्थानदेखि १३ फिट उत्तरतर्फ सोही खोलाको पानी धारको हिलोमा पोको पारी गाडेको अवस्थामा मृतक शैल सहनीले लगाएका BROOKLYN ६६ NYC B१२६२ लेखेको कालो रङको हाफ टिसर्ट थान-१, (२) भित्री रातो र बाहिर कालो रङको फुल बाहुला भएको पोलिस्टरको बाटरपुरफ ज्याकेट थान-१, (३) फुस्रो जिन्सको सेतोमा कालो जस्तो देखिने मसिनो धर्का भएको पाइन्ट थान-१, (४) सेतोमा हरियो चेक कोठे धर्का भएको फुल बाहुला भएको सर्ट थान-१ र सो पाइन्टको गोजीमा रहेको नगद रू.२२५।- समेत फेला परी बरामद गरिएको भन्ने प्रतिवादीहरूकै रोहबरमा तयार भएको बरामदी मुचुल्का ।
मिति २०७१।१२।१९ गते साँझ १७.१५ बजेतिर समयमा जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा कर्तव्य गरी हत्या गरी २ टुक्रा पारी जिउको भाग गाडेको अवस्थामा फेला परेको जाहेरवालाको छोरा मृतक शैल सहनीको हत्यामा पूर्वयोजनाअनुसार मिति २०७१।१२।१२ गतेका दिन काठमाडौंबाट घरतर्फ फर्की आउँदै गरेका शैल सहनीलाई प्रतिवादीहरूमध्येका मोहनकुमार सहनी र सन्तोषकुमार सहनीले ऐ. गतेको बेलुकी जिल्ला सर्लाही बरहथवाबाट नम्बर थाहा हुन नसकेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी निजलाई अपहरण गरी हजरिया स्थित मकैबारीमा लगी सो ठाउँमा निजहरूलाई कुरी बसेका नारायण सहनी र निजले ल्याएका २ जना भारतीय नागरिकसमेतले भई शैल सहनीको हात मुख बाँधी थुनी बोल्न कराउन नदिई कुटपिट गर्दै एकादशी खोलामा लगेकोमा सो ठाउमा कुरी बसेका दिनेश सहनी, विजुली सहनी, सुरेश भन्ने श्यामकुमार सहनीसमेतसँग भेट भई आपसी सरसल्लाह गरी पहिले जिल्ला सर्लाही रामकोट गोठाल स्थित बागमती नदीमा पुर्याई सो ठाउँबाट फर्काई घटनास्थल एकादशी खोलामा ल्याई शैल सहनीको आफ्नै मोबाइलबाट घरमा छोटो कुरा गर्न लगाई सोपश्चात् प्रतिवादीहरू आठ जना भई हत्या गरी घाँटी काटी २ टुक्रा पारी गाडेको भन्ने खुल्न आएको हुँदा शैल सहनीको हत्यामा संलग्न सन्तोषकुमार सहनी, सुरेश सहनी भन्ने श्यामकुमार सहनी, दिनेश सहनी, मोहनकुमार सहनीसमेतलाई पक्राउ गरी कानूनी कारबाहीको लागि दाखिला गरेको र उक्त घटनामा संलग्न रही हाल फरार रहेका प्रतिवादीहरू जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ बस्ने बलि सहनीको छोरा वर्ष ४५ को नारायण सहनी र भारतीय नागरिक २ जनासमेतको खोज तलास गरी कानूनबमोजिम गरिपाउँ भन्ने प्र.ना.नि. हस्तबहादुर ताम्राकारसमेतको प्रहरी प्रतिवेदन ।
मृतकको मृत्युको कारण Head Amputation (Sharp force weapon) शरीरको अन्य भागको घाउ चोटको लागि प्रयोग भएको हतियार तथा घाँटी काट्न प्रयोग भएको हतियार एउटै जस्तो देखियो भन्नेसमेत बेहोराको जिल्ला अस्पताल सर्लाहीको पोष्टमार्टम रिपोर्ट ।
पक्राउ परी आएका प्रतिवादीहरूले बताई देखाई दिएअनुसार बरामद भएका हाफ टिसर्ट, बाटर प्रूफ ज्याकेट, फुल बाहुला भएको सर्ट, जिन्सको पाइन्ट र सो पाइन्टको गोजीमा रहेको नगद रू.२२५।- समेत हेरेँ देखेँ उक्त कपडाहरू मेरो छोरा मृतक शैल सहनीले लगाउने गरेको कपडाहरू हो; हेरी चिनी सनाखत गरिदिएँ भन्ने जाहेरवाला जय किशोर सहनीले गरेको सनाखत कागज ।
अनुसन्धानको सिलसिलामा पकाउमा परी आएका प्रतिवादीहरू विजुली सहनी, मोहनकुमार सहनी, दिनेश सहनी, सन्तोषकुमार सहनी, सुरेश भन्ने श्यामकुमार सहनी र फरार प्रतिवादी नारायण सहनीसमेतको घर कोठा कानूनबमोजिम खानतलासी गर्दा उक्त अपराधमा प्रमाण लाग्ने दशीको सामानहरू फेला नपरेको भन्ने खानतलासी मुचुल्काहरू ।
जय किशोर सहनीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोषकुमार सहनीसमेत भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा मिति २०७१।१२।१९ गते बेलुकी १७.१५ बजेतिर जिल्ला सर्लाही हजरिया गा.वि.स.वाड नं. ४ स्थित एकादशी खोलामा सनाखतपश्चात् नाम थर वतन खुलेको शैल सहनीको लासको घटनास्थल एवं लास जाँच प्रकृति मुचुल्का गर्दा खिचिएका फोटोहरू र बरामद भएका कपडाहरू पक्राउमा परी आएका प्रतिवादीहरूलाई देखाई सोधपुछ गरिएको प्रारम्भिक सोधपुछको भिडियो रेकर्ड सिडीमा उतार गरी मिसिल साथ संलग्न राखिएको भन्ने प्रहरी प्रतिवेदन ।
पक्राउ परेका प्रतिवादी मोहनकुमार सहनीले प्रयोग गर्ने गरेको ९८१७४८९२३२ नं.को मोबाइलबाट मृतक शैल सहनीले प्रयोग गर्ने गरेको ९८०४२४६३२६ नं.को मोबाइलमा फोन सम्पर्क भएको, प्रतिवादी सन्तोषकुमार सहनीले प्रयोग गर्ने गरेको ९८१७८३६२१६ नं.को मोबाइलबाट मृतक शैल सहनीले प्रयोग गर्ने गरेको ९८०४२४६३२६ नं.को मोबाइलमा फोन सम्पर्क भएको देखिएको कल डिटेल मिसिलसाथ रहेको ।
मृतक शैल सहनीसँग नारायण सहनी, मोहनकुमार सहनी, दिनेश सहनी विजुली सहनी, सुरेश भन्ने श्यामकुमार सहनी र मेरो पूर्वरिसइवी भएको कारण हामीहरूले करिब २ महिनाअगाडि नै शैल सहनीलाई मार्न योजना बनाएको र मौका खोजी रहेको थियौं । एक पटक मोहनले शैललाई बोलाई बागमती नहर मुनी लगेर समाउँदा सो समय निज उम्केर भाग्न सफल भएको थियो र म चितवन जिल्लाको काभ्रे घाटमा जाली लगाउने कामको लागि गएको थिएँ । मृतक शैल सहनीले सो घटनाभन्दा केही दिन अगाडि मलाई फोन सम्पर्क गरी भिसा झरिसकेको छ घरमा आई कपडा किनमेल गर्ने र खर्च जम्मा गर्दै गर भनेको हुँदा सो घटना मिति २०७१।१२।१२ गते म नारायणघाटबाट गाडी चढेर नयाँरोडमा आई गाडीबाट ओर्लंदा सो ठाउँमा मोहन कुमार सहनीसँग भेट भयो । हामी सँगै बरहथवासम्म बसमा आएको र बरहथवामा आइपुगेपछि मोहनलाई पछि थाहा हुन आएअनुसार नारायण सहनीले ल्याएको मानिसले नम्बर थाहा नभएको भारतीय नम्बर प्लेटको कालो प्लाटिना मोटरसाइकल ल्याएर दिए । हामीहरू बरहथवा स्थित होटलमा बसेर नास्ता खाने क्रममा आज शैल सहनी काठमाडौंबाट आउँदै छ यहीँबाट उठाएर लानुपर्छ भनेको केही समयमा शैल सोही ठाउँमा आई पुगे । बेलुकीको करिब ८ बजेतिर हामीहरू तीनै जना सोही मोटरसाइकलमा चढेर हजरियातर्फ गयौं । पथलैया बजारमा पुगेपछि मैले होटलमा माछा र रक्सी खाएको थिएँ । घटनास्थल नजिकको मकैबारीमा पुग्दा हामीहरूलाई कुरी बसेका प्रतिवादीहरू नारायण सहनी र निजले ल्याएका २ जना भारतीय नागरिक, म र मोहनसमेत भई शैल सहनीको हात मुख बाँधी बोल्न कराउन नदिई कुटपिट गर्दै एकादशी खोलामा लगेको र सो ठाउँमा कुरी बसेका दिनेश सहनी, विजुली सहनी र सुरेश भन्ने श्याम कुमार सहनीसँग भेट भयो । हामीहरूले सल्लाह गरी शैललाई पहिले रामकोट गोठाल स्थित बागमती नदीमा लगेकोमा सो ठाउँमा पानी कम भएको कारण छिट्टै पत्ता लाग्छ भनी फेरी घटनास्थल एकादशी खोलामा ल्याई निजकै मोबाइलबाट घरमा मोटरसाइकल पठाई दिनु भनी निजको भाउजूसँग छोटो कुरा गर्न लगाई सोपश्चात् मोबाइल खोसी स्वीच अफ गरी हामीहरू ८ जनामध्ये मैले र सुरेश भन्ने श्यामकुमार सहनीले १।१ वटा हात, विजुली र दिनेश सहनीले १।१ वटा गोडा, मोहनकुमार सहनीले हात र छातीमा समाई थिची चल्न चट्पटाउन नदिए पछि नारायण सहनीले पहिले खुकुरीले शैलको पेटमा र जिउ भरी जथाभावी हान्दा निज छटपटाउन थाले पछि सोही खुकुरीले नारायण सहनीले ल्याएको २ जना भारतीय नागरिकले घाँटी रेटी छिनाई २ टुका पारी सो खोलाको दबदबे हिलोमाटो हातले तानी निकाली सोही खोलामा गाडेको हो भन्ने प्रतिवादी सन्तोषकुमार सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो शैल सहनीसँग पाटनरसिपमा उखुको नेटको कारोबार भएकोमा पछि निजले मलाई छाडी एक्लैले काम गरी कमाउन थालेकोमा रिसइवी
थियो । हामीहरूले शैल सहनीको हत्या गर्ने योजना बनाई करिब डेढ महिना अगाडि रातिको समयमा निजलाई बोलाई बागमती सिँचाइको नहरमुनि लगी समाउँदा सो समय निज उम्की भाग्न सफल भएका थिए । सोपश्चात् हामी मौका कुरी बसेकोमा मिति २०७१।१२।१२ गते काठमाडौंबाट एक्लै घर आउँदै छ भन्ने जानकारी भएकाले निज आउने बाटो कुर्दा प्रतिवादी सन्तोषकुमार सहनीसँग भेट भएको र शैललाई बाटोबाटै उठाएर लैजानुपर्छ भन्ने सल्लाह भयो । नारायण सहनीले पठाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बरहथवादेखि शैललाई बिचमा राखी घटनास्थल छेउको मकैबारीमा लगेको हो । सो ठाउँमा कुरी बसेका नारायण सहनी र निजले ल्याएका भारतीय नागरिक २ जनासमेत भई निज शैल सहनीको हात मुख बाँधी बोल्न कराउन नदिई एकादशी खोलामा पुर्याउँदा सो ठाउँमा बिजुली सहनी, दिनेश सहनी र सुरेश भन्ने श्यामकुमार सहनी कुरेर बसेका थिए । हामीहरू ८ जनाकै सरसल्लाहअनुसार पहिले शैललाई रामकोटगोठाल स्थित बागमती नदीमा लिएर गएकोमा उक्त स्थानमा पानी कम भएकोले पुन: एकादशी खोलामा ल्याई निजको घरमा निजको आफ्नै मोबाइलबाट छोटो कुरा गर्न दिई सोपश्चात् मोबाइल खोसी हामीहरू सबैजना भई कर्तव्य गरी हत्या गरी २ टुक्रा पारी सोही खोलाको दबदबे हिलोमा गाडेको हो भन्ने प्रतिवादी मोहनकुमार सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
करिब १७।१८ महिना अगाडि शैल सहनीको ठेक्काको साइड धनगडीमा काम गर्न जाँदा मेरो भाइ मुनेश्वरकुमार सहनीको सोही साइडमा मृत्यु भएको कारण शैल सहनीसँग मेरो पूर्वरिसइवी
थियो । शैलसँग रिसइवी भएका अन्य साथीहरूसमेतको पूर्वयोजनाअनुसार मिति २०७१।१२।१२ गते शैल काठमाडौंबाट घर आउँदै गर्दा बाटोबाटै उठाएर लगी मार्ने सल्लाहअनुसार बेलुकी ९ बजेतिर म उक्त घटनास्थलमा पुगेकोमा रातिको १० बजेतिर शैल सहनीलाई सोही घटनास्थलमा लिएर आई पहिले रामपुर गोठाल स्थित बागमती नदीमा लिएर गएकोमा सो स्थानमा पानीको सतह कम भएकोले पुन: एकादशी खोलामा ल्याई हामीहरू सबै जनाले कर्तव्य गरी मारी दुई टुका पारी गाडेको हो भन्ने प्रतिवादी दिनेश सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
करिब १७।१८ महिना अगाडि शैल सहनीको ठेक्काको साइडमा काम गर्दा मेरो साढु भाइको छोरा मुनेश्वरकुमार सहनीको मृत्यु भएको कारण शैल सहनीसँग मेरो रिसइवी थियो । अन्य साथीहरूसमेतको निज शैलसँग रिसइवी भएको कारण हामीहरूको पूर्वयोजनाअनुसार मिति २०७१।१२।१२ गते शैल काठमाडौंबाट एक्लै घर आउँदै गरेको थाहा भएपछि बाटोबाटै उठाएर लिएर गई मार्नुपर्छ भनी नारायण सहनीले मलाई भने । बेलुकी ९ बजेतिर म उक्त घटनास्थलमा पुगेँ । रातिको १० बजेतिर शैललाई सोही घटनास्थलमा नारायण सहनीसमेतले लिएर आएको हुँदा हामीहरू सबैजना भई कर्तव्य गरी हत्या गरी दुई टुक्रा पारी गाडेको हो भन्ने प्रतिवादी विजुली सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
रिसइवीको कारण हामीहरूको पूर्वयोजना बनाई मिति २०७१।१२।१२ गते शैल सहनी काठमाडौंबाट घरतर्फ आउँदै गर्दा बाटोबाटै उठाएर लगी हत्या गर्नुपर्छ भनी नारायण सहनीले भनेअनुसार सो घटनाको दिन बेलुकी ९ बजेतिर म उक्त घटनास्थलमा पुगेँ । शैल सहनीलाई नारायणसमेतले लिएर सोही घटनास्थलमा आएपछि हामीहरू सबैजना भई कर्तव्य गरी मारी २ टुक्रा पारी खोलाको दबदबे हिलोमा गाडेको हो भन्ने प्रतिवादी सुरेश भन्ने श्यामकुमार सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७१।१२।१० गते आफ्ना मानिसहरूलाई विदेश उडाउन भनी काठमाडौं गएको छोरा शैल सहनीले मिति २०७१।१२।१३ गते बिहान रातिको २:३० बजेतिर फोन गरी मोटरसाइकल पठाई दिनु भाउजू भनी बुहारी राम दुलारी देवीसँग छोटो कुरा गरेको थियो । सोपश्चात् सम्पर्कविहीन भएकोले खोजतलासको क्रममा श्रीमान् काठमाडौं गई हुलिया निवेदन दिई खोजतलासको भइरहेका बखत मिति २०७१।१२।१९ गते बेलुकी जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा दुई टुका पारी गाडेको अवस्थामा पुरूषको लास फेला परेको भन्ने जानकारी पाई श्रीमान्ले जिल्ला अस्पताल सर्लाहीमा गई लास हेर्दा छोरा शैल सहनीको लास भएको भनी सनाखत गरी सनाखत जाहेरी दिई कानूनबमोजिम दाह संस्कार गरिएकोमा हाल आएर बुझ्दै जाँदा पूर्वरिसइवीको कारण छोरा शैल सहनीलाई प्रतिवादी मोहनकुमार सहनीले फोन सम्पर्क गरी घरमा आउन भनी बोलाई मिति २०७१।१२।१२ गते छोरा शैल सहनी काठमाडौंबाट घरतर्फ आउँदै गरेको अवस्थामा बाटो कुरी बसी घरमा आउन नदिई प्रतिवादीहरूको परिपञ्चबाट बिच बाटोबाटै छोरालाई अपहरण गरी घटनास्थलमा लगी प्रतिवादीहरू नारायण सहनी, मोहनकुमार सहनी, सन्तोषकुमार सहनी, विजुली सहनी, दिनेश सहनी, सुरेश भन्ने श्यामकुमार सहनी र अन्य २ जना अपरिचित व्यक्तिसमेतले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी निर्ममपूर्वक हत्या गरी टुक्रा पारी सोही एकादशी खोलामा गाडेछन् । प्रतिवादीहरू पक्राउ परी आएपश्चात् निजहरूले बताई देखाई दिएअनुसार छोरा शैल सहनीले सो घटनाको समयमा लगाएको कपडाहरूसमेत खोलामा गाडिएको स्थानबाट बरामद गरिएको हुँदा निज प्रतिवादीहरूउपर हदैसम्म कारबाही गरिनुपर्छ भन्ने मृतकको आमा सोनवा देबीले अनुसन्धानका क्रममा गरेको कागज ।
मिति २०७१।११।१४ गते राति मोहनकुमार सहनीले श्रीमान् शैल सहनीलाई फोन गरी बोलाई बागमती नहरको मुनि लगी ज्यान मार्ने उद्देश्यले समातेकोमा उक्त समयमा निजको पञ्जाबाट उम्की भागी आएको भनी श्रीमान्ले घरमा आई भन्नुभएको थियो । मिति २०७१।१२।१० गते काठमाडौं जानुभएको श्रीमान् शैल सहनीले मिति २०७१।१२।१३ गते बिहानको राति २:३० बजेतिर भाउजूलाई फोन गरी मोटरसाइकल पठाइदिनु भनी छोटो कुरा गरेपश्चात् सम्पर्कविहीन हुनुभएकोले खोजतलास भइरहेको थियो । मिति २०७१।१२।१९ गते बेलुकी श्रीमान्को लास एकादशी खोलामा कर्तव्यबाट हत्या गरी २ टुक्रा पारी गाडेको अवस्थामा फेला परेको भनी ससुराले श्रीमान्को लास सनाखत गरी जाहेरी दिनुभएकोले घटनाको सम्बन्धमा बुझ्दै जाँदा प्रतिवादीहरू नारायण सहनी, मोहनकुमार सहनी, सन्तोषकुमार सहनी, दिनेश सहनी, विजुली सहनी, सुरेश भन्ने श्यामकुमार सहनी र नारायण सहनीले ल्याएको अन्य २ जना भारतीय मानिसहरूसमेत भई पूर्वरिसइवीको कारण पूर्वयोजनाअनुसार श्रीमान् शैल सहनीलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरी खोलामा लास गाडेको र पक्राउमा परी आएका प्रतिवादीहरूले नै देखाई दिएअनुसार श्रीमान्ले लगाएको कपडाहरूसमेत बरामदी भएको हुँदा निज प्रतिवादीहरूउपर हदैसम्म कानुनी कारबाही गरिनुपर्छ भन्ने मृतकको श्रीमती किरण देवी सहनीले अनुसन्धानका क्रममा गरेको कागज ।
देवर शैल सहनीले काठमाडौंबाट मिति २०७१।१२।११ गते फोन गरी मोहन घरमा आउँछ मेरो मोटरसाइकल र चाबी मोहनलाई दिएर पठाउनु मोहनले उखुको पैसा छोडाएर ल्याउँछ भनेकोमा मोहन घरमा आएन । १३ गते बिहानको राति २:३० बजेतिर देवर शैल सहनीले भाउजू मलाई मोटरसाइकल पठाई दिनु मात्र भन्ना साथ मोबाइल कटेको र सोपश्चात् सम्पर्क हुन सकेन । सँगै काठमाडौं गएका जीवन सहनीले बिहानै देवर शैलको ब्याग लिएर घरमा आइपुगेको हुँदा देवर शैलको बारेमा बुझ्दा काठमाडौंमा नै छ भनेकोले केही भएको हुन सक्छ भनी ससुरा देवरलाई खोज्न काठमाडौं गई खोजतलास गर्दा फेला नपरेपछि घरमा आउनुभयो । १९ गते बेलुकी जिल्ला सर्लाही हजरिया ४ स्थित एकादशी खोलामा देवर शैल सहनीलाई कर्तव्य गरी हत्या गरी २ टुक्रा पारी गाडेको अवस्थामा लास फेला परेकोले उक्त घटना प्रतिवादीहरू सन्तोषकुमार सहनी, मोहनकुमार सहनी, विजुली सहनी, दिनेश सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, नारायण सहनी र निजले ल्याएका अन्य २ जना मानिसहरूसमेतले भई देवर शैल सहनीको हत्या गरेको हुँदा उल्लिखित प्रतिवादीहरूउपर हदैसम्म कारबाही गरिनुपर्छ भन्ने मृतकको भाउजू राम दुलारी देबीले अनुसन्धानका क्रममा गरेको कागज ।
मिति २०७१।१२।१२ गते बिहान मेरो भाइको कतारको लागि उडान भएको हुँदा १० गते बिहान काठमाडौंतर्फ जाने क्रममा भाइलाई छाड्न भनी म शैल सहनीसँगै काठमाडौंमा गई सँगै गेष्ट हाउसमा बसी १२ गते बिहान भाइलाई एयरपोर्टमा छाडी सोही दिन घरमा आउँदा १२ बजेतिर कलंकीमा भएको बेला शैलको मोबाइलमा मोहन भाइको फोन आएको थियो । बसको काउन्टर देखाई गाडी भाडा र निजको झोलासमेत दिई साँझसम्म म आइपुगेमा सँगै जाउँला भनी बल्खुतर्फ गएकोमा सोपश्चात् निज फर्की आएनन् । बेलुकी म एक्लै गाडी चढेर आएँ । निजको घरमा ब्याग पुर्याउन जाँदा शैलले राति मोटरसाइकल पठाइदिनु भनी फोन गरेको थियो भन्ने कुरा निजको घर परिवारबाटै थाहा पाएको हुँ । मिति २०७१।१२।१९ गते बेलुकी जिल्ला सर्लाही हजरिया ४ स्थित एकादशी खोलामा हत्या गरी चिन्न नसकिने गरी गाडेको अवस्थामा लास फेला परेको
सुनेँ । मृतकको बाबु जय कशोर सहनीले सनाखत जाहेरी दिएर आएपछि शैल सहनीको हत्याको सम्बन्धमा बुझ्दै जाँदा पूर्वरिसइवीको कारण प्रतिवादीहरू नारायण सहनी, मोहनकुमार सहनी, सन्तोषकुमार सहनी, विजुली सहनी, दिनेश सहनी र सुरेश भन्ने श्यामकुमार सहनीसमेतले भई पूर्वयोजना बनाई काठमाडौंमा रहेका शैल सहनीलाई मोहनकुमार सहनीले परिपञ्च गरी फोन गरी एक्लै बोलाई निज आउने बाटो कुरी बसी बिचबाटोबाटै अपहरण गरी उक्त घटनास्थलमा लगी कर्तव्य गरी मारी गाडेको हुँदा निज प्रतिवादीहरूउपर कानूनबमोजिम कारबाही गरिनुपर्छ भन्ने जीवन सहनीले अनुसन्धानका क्रममा गरेको कागज ।
मिति २०७१।१२।१२ गते बेलुकी ९ बजेतिर म छिमेकी शिवकुमार महतोको किराना पसल अगाडि बसिरहेको अवस्थामा शैल सहनी पसलमा आई फ्रूटी किनेका थिए । सो समयमा शैलले मलाई दाइ कहाँ
छ ? दाइको मोटरसाइकलमा मलाई घरमा पुर्याई दिनु हामीहरू ३ जना छौं भनेका थिए । मैले मसँग चाबी छैन मोटरसाइकल घरमा नै छ भन्दा त्यसो भए भइहाल्यो भनी शैल सोही मोटरसाइकलको बिचमा बसेर हजरियातर्फ गएका थिए । उक्त मोटरसाइकल चलाउने व्यक्तिले हेलमेट लगाएर बसेकोले मैले निजलाई चिन्न सकिन । निजको जिउ डाल हठाकठ्ठा भएको अं.२६।२७ वर्षको जस्तो थियो भने सो मोटरसाइकलको पछाडि बस्ने व्यक्ति हाल पक्राउमा परी आएका प्रतिवादी सन्तोषकुमार सहनी हो । निज प्रतिवादीहरूले पूर्वरिसइवीको कारण योजना बनाई अपहरण गरी घटना स्थलमा लगी कर्तव्य गरी हत्या गरेको हुँदा निजहरूउपर कडा कारबाही गरिनुपर्छ भन्ने राज करण मुखियाको अनुसन्धानका क्रममा गरेको कागज ।
शैल सहनी मेरो भतिजो नाता पर्छ । निजले मिति २०७१।१२।१३ गते बिहानी रातिको २:३० बजेतिर फोन गरी काकी मेरो घरमा गएर मलाई मोटरसाइकल पठाइदिन भनिदिनुस् भाउजूको मोबाइल स्वीच अफ छ भनी फोन गरेपछि फोन कटेको थियो । त्यसपछि फोन सम्पर्क हुन नसकेकोले निजको खोजतलास गर्दा फेला नपरेकोमा १९ गते बेलुकी हजरिया ४ स्थित एकादशी खोलामा शैल सहनीको धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरी २ टुक्रा बनाई गाडेको अवस्थामा लास फेला परेको र सो घटना नारायण सहनी, मोहनकुमार सहनी, सन्तोषकुमार सहनी, दिनेश सहनी, विजुली सहनी र सुरेश भन्ने श्यामकुमार सहनीसमेतले भई पूर्वरिसइवीको कारण पूर्वयोजनाअनुसार कर्तव्य गरी हत्या गरेको र निजहरूलाई पक्राउ गरी निजहरूले नै खुलाई बताई देखाई दिएअनुसार शैलले घटनाको समयमा लगाएको कपडासमेत सोही खोलामा गाडिएको स्थानबाट बरामद भएको हुँदा निज प्रतिवादीहरूलाई हदैसम्म कानूनबमोजिम कारबाही गरिनुपर्छ भन्ने गायत्री देवी सहनीले अनुसन्धानका क्रममा गरेको कागज ।
जय किशोर सहनीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोषकुमार सहनीसमेत भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा मिति २०७१।१२।२४ गतेका दिन पक्राउमा परी आएका प्रतिवादी मोहनकुमार सहनीको शरीर खानतलासी गर्दा निजले लगाएको कालो निलो रङको जिन्स पाइन्टको गोजीमा ९८१७८४९२३२ नं.को एनसेलको सिमकार्डसहितको गुलाबी रंगको सामासुन कम्पनीको मोडल नम्बर GTC ३३०३i को मोबाइल सेट थान-१ फेला परी कानूनबमोजिम बरामद गरिएको खानतलासी एवं बरामदी मुचुल्का ।
मिति २०७१।१२।२४ गते मलाई पक्राउ गरेको बेला प्रहरीले मेरो शरीर खानतलासी गर्दा मैले लगाएको कालो निलो रङको जिन्स पाइन्टको गोजीमा ९८१७८४९२३२ नं. को एनसेलको सिमकार्डसहितको गुलाबी रङको सामसुन कम्पनीको मोडल नम्बर GTC ३३०३i को मोबाइल सेट थान-१ बरामद गरिएको सो मोबाइल सेट मेरो आफ्नै हो हेरी चिनी सनाखत गरिदिएँ भन्ने प्रतिवादी मोहनकुमार सहनीको कागज ।
मिति २०७१।१२।१० गते आफ्ना मानिसहरूलाई विदेश उडाउन भनी काठमाडौंतर्फ गएका शैल सहनीले मिति २०७१।१२।१२ गते बिहानको रातिको २.३० बजेतिर घरमा फोन गरी मोटरसाइकल पठाइदिनु भनी छोटो कुरा गरी सोपश्चात् सम्पर्कविहीन भएकोले निजको खोजतलास भइरहेको समयमा मिति २०७१।१२।१९ गते बेलुकी जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा मानिसको टाउको फेला परेको भन्ने जानकारी पाई उक्त स्थानमा जाँदा प्रहरीले खोजतलास गरी सोही खोलाको दबदबे हिलोमा गाडेको अवस्थामा पुरूष व्यक्तिको घाँटी काटी २ टुक्रा पारिएको अवस्थामा लास फेला पारेको र सो लास जाहेरवाला जय किशोर सहनीले निजको छोरा शैल सहनीको हो भनी सनाखत जाहेरी दिई मृतक शैल सहनीको लास बुझिलिएको थियो । सो घटनाको बारेमा बुझ्दै जाँदा मिति २०७१।१२।१२ गते काठमाडौंबाट घर फर्की आइरहेका बेला प्रतिवादीहरूको पूर्वरिसइवीको कारण पूर्वयोजनाअनुसार शैल सहनी आउने बाटो कुरी बिचबाटोबाटै निजलाई अपहरण गरी मोटरसाइकलमा राखी जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा लगी प्रतिवादीहरू नारायण सहनी, मोहनकुमार सहनी, सन्तोषकुमार सहनी, दिनेश सहनी, विजुली सहनी. सुरेश भन्ने श्यामकुमार सहनी र नारायण सहनीले ल्याएका अन्य २ जना व्यक्तिहरूसमेतले भई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी निर्ममतापूर्वक हत्या गरी २ टुका पारी खोलाको पानी धारको दबदबे हिलोमा गाडेको र हाल पक्राउमा परी आएका प्रतिवादीहरूले नै खुलाई बताई देखाइदिएअनुसार मृतक शैल सहनीले घटनाको समयमा लगाएको कपडाहरू सोही खोलामा गाडेको स्थानबाट बरामद भएको हुँदा निज प्रतिवादीहरूलाई हदैसम्म कानूनबमोजिम कारबाही गरिनुपर्छ भन्ने गगनदेव सहनीसमेतका मानिसहरूले गरिदिएको एकै बेहोरा मिलानको घटना विवरण कागज ।
जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ बस्ने जाहेरवाला जय किशोर सहनीको छोरा शैल सहनी मिति २०७१।१२।१० गते आफ्ना मानिसहरूलाई वैदेशिक राजगारीको लागि विदेश उडाउन भनी काठमाडौंतर्फ गएकोमा सोपश्चात् घरमा फर्की नआई हराई बेपत्ता भएको भन्ने सुनी थाहा पाएको हो । मिति २०७१।१२।१९ गते बेलुकी जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं.४ स्थित एकादशी खोलामा मानिसको लास फेला परेको भन्ने सुनी थाहा पाई सो स्थानमा जाँदा कर्तव्य गरी मारी खोलामा गाडेको तत्काल चिन्न नसकिने अवस्थामा फेला परेको पुरूषको लासलाई जाहेरवालाले सनाखत गरेपछि मात्र शैल सहनीको भन्ने थाहा
भयो । सो घटनाको सम्बन्धमा बुझ्दा प्रतिवादीहरू नारायण सहनी, मोहनकुमार सहनी, सन्तोषकुमार सहनी, विजली सहनी, दिनेश सहनी, सुरेश भन्ने श्यामकुमार सहनी र अन्य २ जना पुरूष व्यक्तिहरूसमेतले भई पूर्वरिसइवीको कारण पूर्वयोजनाअनुसार अपहरण गरी घटनास्थलमा लगी धारिलो हतियार प्रहार गरी मारी गाडेको र निज प्रतिवादीहरू पक्राउ परेपछि निजहरूले सो समयमा मृतक शैल सहनीले लगाएको कपडा गाडेको ठाउँ देखाई बताई दिएअनुसार कपडा बरामद भएको कुरा सुनी थाहा पाएको हो । प्रतिवादीहरूउपर कानूनबमोजिम कारबाही गरिनुपर्छ भन्ने एकै बेहोरा मिलानको लाल बाबु सहनीसमेतको घटना विवरण कागज ।
फरार रहेका प्रतिवादी नारायण सहनी र अन्य नाम थर नखुलेको २ जना भारतीय व्यक्तिहरूलाई खोजतलास गर्दा फेला नपरेकोले निजहरूको हुलिया र वतन यकिन गरी खुलाई पठाइएको भन्ने प्रहरी प्रतिवेदन ।
जाहेरवालाको छोरा मृतक शैल सहनीसँग व्यक्तिगत रिसइवी लिएका प्रतिवादीहरूले मृतकसँगको आ-आफ्नो रिसइवी साधन गर्न शैल सहनीलाई जो जसले जो जुन ठाँउमा भेटेपनि उठाई एकान्त स्थलमा लगी मार्ने र दबाउने कुराको एक आपसमा सरसल्लाह गरी योजना बनाई वारदातको दिन शैल सहनी काठमाडौंबाट एक्लै घरतर्फ आइरहेको पत्ता लगाई प्रतिवादीहरू सन्तोष सहनी र मोहन सहनीले बरहथवाको हजरिया रोडबाट नियन्त्रणमा लिई कुटपिट गरी ज्यान मार्ने उद्देश्यले घटनास्थलतर्फ लगेको, बाटोमा कुरी बसेका प्रतिवादी नारायण सहनी र निजले ल्याएका भारतीय २ जना व्यक्तिहरूसमेत भई हात बाँधी मुखमा पट्टी लगाई अपहरण गरी आफ्नो कब्जामा राखी कुटपिट गर्दै एकादशी खोलामा पुर्याएकोमा त्यहाँ कुरी बसेको प्रतिवादीहरू दिनेश सहनी, विजुली सहनी र श्यामकुमार सहनीसमेत भई मृतक शैल सहनीलाई नियन्त्रणमा लिई हत्या गरी दबाउन अनुकूल स्थानहरू खोज्दै बागमती नहर हुँदै रामकोट गोठाल भन्ने ठाँउ बागमतीसम्म पुर्याई त्यहाँ पानी कम भएकोले चाँडै फेला पर्छ भनी पुनः घटनास्थल एकादशी खोलामा फर्काई ल्याई सन्तोष र सुरेश भन्ने श्यामकुमार सहनीले १/१ वटा हात, बिजुली र दिनेश सहनीले १/१ वटा खुट्टा समाती लडाएको र मोहन सहनीले हात र छातीमा थिचेर चल्न छटपटाउन नदिएको, नारायण सहनीले साथमा बोकी ल्याएको धारिलो खुकुरीले मृतक शैल सहनीको पेटमा र अन्य भागमा निर्मम प्रहारहरू गरेको सोही क्रममा छटपटाहट गरेको मृतकलाई प्रतिवादी नारायण सहनीले ल्याएका २ जना भारतीय व्यक्तिहरूले सो खुकुरी खोसी घाँटी काटी धरबाट शिर छुट्टयाई २ टुक्रा पारी कर्तव्य गरी मारी सोही खोलाको दबदबे हिलोमा गाडेको तथा मृतकले लगाएका कपडाहरू पोको पारी सोही खोलामा गाडेको देखिएकोले प्रतिवादीहरू सन्तोष सहनी, मोहन सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, दिनेश सहनी, विजुली सहनी र नारायण सहनीलाई अपहरणतर्फ मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. २ नं. र ३ नं. अन्तर्गतको कसुरजन्य अपराधमा ऐ.महलको ३ नं. बमोजिम सजाय गरी प्रतिवादीहरू ८ जनाको समूह भई उक्त वारदात घटाएको देखिँदा ऐ. महलको ७ नं. बमोजिम प्रतिवादीहरूलाई थप सजाय गरी ऐ. महलको १२ नं. बमोजिम प्रतिवादीहरूबाट पीडित मृतकको बाबु जाहेरवालालाई क्षतिपूर्ति भराई पाउन र कर्तव्य गरी ज्यान मारेतर्फ प्रतिवादीहरूमध्ये नारायण सहनी र निजले ल्याएका नाम, थर र वतन नखुलेको २ जना भारतीय व्यक्तिहरूले मृतक शैल सहनीलाई धारिलो जोखिमी हतियार खुकुरीले पेट, घाँटी र शरीरको अन्य भागमा निर्मम प्रहारहरू गरी ज्यान मारेको देखिँदा प्रतिवादी नारायण सहनीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. र १३ (१) नं. अन्तर्गतको कसुरमा सोही महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गरिपाउन र अन्य प्रतिवादीहरू सन्तोष सहनी, मोहन सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, दिनेश सहनी र विजुली सहनीले मृतक शैल सहनीलाई मार्ने मत सल्लाह गरी अपहरण गरी नियन्त्रणमा लिई घटनास्थलमा लगी मृतकको हात खुट्टा समाती लडाउने र छाती हात थिची छटपटाउन नपाउने गरी ज्यान मार्नमा सहयोग पारिदिने कार्यहरू गरेको देखिँदा प्रतिवादीहरू सन्तोष सहनी, मोहन सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, दिनेश सहनी र विजुली सहनीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. र १३ (४) नं. अन्तर्गतको कसुरमा सोही महलको १३ (४) नं. बमोजिम जन्मकैदको सजाय गरिपाउँ भन्ने अभियोग पत्र ।
शैल सहनीलाई कसले मारेको हो थाहा
भएन । मउपरको पोल उजुरी झुट्ठा हो । अन्य प्रतिवादीहरूले के कसो गरे मलाई थाहा भएन । मैले मृतकलाई मारेको होइन । निजलाई मार्नुपर्ने कुनै कारण पनि छैन । जाहेरवालाले मेरो नाम किन पोल गरेका हुन् मलाई थाहा भएन । अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा भएको सहीछाप मेरै हो । प्रहरीले डर त्रास देखाई झुठा बयान गराएका हुन । मउपरको आरोप सबै झुठा हो भन्ने प्रतिवादी दिनेश सहनीको अदालतसमक्षको बयान ।
म ठेक्का उठाउन मिति २०७१।१२।११ गते बिहान रौतहट जिल्ला सदरमुकाम गई मिति २०७१।१२।१४ गते गाउँघर फर्की आउँदा शैल सहनीलाई मारेको भन्ने सुनेको हुँ । पछि गाउँघरमा पार्टी पोलिसीले गर्दा मेरो नामसमेत पोल गरी उजुरी गरे गराएका हुन । निजलाई मैले मारेको होइन । शैल सहनीलाई कसले कर्तव्य गरी मारेको हो मलाई थाहा छैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा प्रहरीले आफैँले तयार पारी मलाई डर त्रास देखाई जबरजस्ती सहीछाप गराएका हुन् भन्ने प्रतिवादी विजुली सहनीको अदालतसमक्षको बयान ।
मैले जाहेरवालाको छोरालाई मारेको
होइन । म एमाले पार्टीको कार्यकर्ता भएको र जाहेरवाला माओवादी पार्टीमा लागेका हुनाले सोही गाउँको पार्टी पार्टीको कारण मउपर झुठा उजुरी गरेका हुन् । निजलाई कसले मारेको हो मलाई थाहा छैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा प्रहरीले मलाई डर त्रास देखाई तयार भएको कागजमा सहीछाप गराएका हुन् बयान बेहोरा झुठा हो । मिति २०७१।१२।११ गते दिदीको घर रौतहटमा गई २०७१।१२।१४ गते घर फर्की आएको हुँ । घटना कहिले भयो मलाई थाहा
भएन । म निर्दोष छु भन्ने प्रतिवादी सुरेश भन्ने श्यामकुमार सहनीको अदालतसमक्षको बयान ।
गाउँको पार्टी पार्टीको कारणले गर्दा मेरो नाउँ पोल उजुरी गरेका हुन् । मैले शैल सहनीलाई अपहरण गरी कर्तव्य गरी मारेको होइन । निजलाई कसले किन मारेको मलाई थाहा छैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा झुठा हो; प्रहरीले मलाई जबरजस्ती सहीछाप गर्न लगाएका हुन् । प्रतिवादी दिनेश सहनी, सन्तोष सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा र श्याम सहनी, विजुली सहनीको बयानमा मेरो नाम पोल गरेको बेहोरा झुठा हो । मैले निजलाई मारेको होइन भन्ने प्रतिवादी मोहन कुमार सहनीको अदालतसमक्षको बयान ।
गाउँको पार्टी पार्टीको कारणले गर्दा मेरो नाउँ पोल उजुरी गरेका हुन् । मैले शैल सहनीलाई अपहरण गरी कर्तव्य गरी मारेको होइन । म मिति २०७१।१२।२ गते नारायणघाटमा जाली बुन्ने काम गर्न गई मिति २०७१।१२।१३ गते राति नाइट बसमा घर आएको हुँ । सो अवधिमा शैल सहनीसँग मेरो भेट भएको
छैन । निजसँग मेरो कुनै रिसइवी थिएन । निजलाई कसले किन कर्तव्य गरी मारेको हो मलाई थाहा जानकारी
छैन । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा झुठा हो प्रहरीले आफुखुसी बयान कागज लेखी मलाई जबरजस्ती सहीछाप गर्न लगाएका हुन् । प्रतिवादी मोहनकुमार सहनी, श्यामकुमार सहनी, विजुली सहनी, दिनेश सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मलाई फसाउन मेरो नाम पोल गरेका हुन् । मैले कसुर अपराध नगरेको हुँदा मलाई सजाय हुने होइन । मउपरको अभियोग दाबी झुठा हो भन्ने प्रतिवादी सन्तोषकुमार सहनीको अदालतसमक्षको बयान ।
मृतकको लास पोष्टमार्टम गर्दा मृतकको शरीरबाट टाउको धारिलो हतियारले काटेर दुई टुक्रा पारिएको पाइयो । चोट घाँटीमा थियो । लासको शरीरबाट टाउको छुट्टिएको थियो । मृतकको पेटमा तीनवटा धारिलो वस्तुले काटेको चोट थियो । छाला उप्किएको, शरीरमा औशा किराहरू परेको, बालुवा र माटो टाँसिएको थियो । मसमेत भई गरेको उक्त पोष्टमार्टम रिपोर्ट ठिक छ भन्ने डा.विजयकुमार साहको बकपत्र ।
लास पोष्टमार्टम गर्दा मृतकको शरीरबाट टाउको धारिलो हतियारले काटेर दुई टुका पारिएको पाइयो । घाँटीमा धारिलो हतियार प्रयोग गरी शरीरबाट टाउको छुट्टाएको थियो । मृतकको पेटमा तीनवटा धारिलो वस्तुले काटेको चोट थियो । छाला उप्किएको, शरीरमा औशा किराहरू परेको र बालुवाहरू टाँसिएको चोट थियो । मसमेत भई गरेको उक्त पोष्टमार्टम रिपोर्ट ठिक छ भन्ने डा.विमलकुमार यादवको बकपत्र ।
मेरो छोरा शैल सहनीलाई प्रतिवादी मोहन सहनी, दिनेश सहनी, विजुली सहनी, सन्तोष सहनी, सुरेश सहनी, नारायण सहनी र अन्य दुईजना भारतीयले कर्तव्य गरी मारेका हुन् । प्रतिवादीहरूसँग मेरो छोराको रिसइवी भएको कारणले निजहरूले मेरो छोरालाई अपहरण गरी मारेका हुन् । शैलले मिति २०७१।१२।१२ गते राति २ बजेर ३८ मिनेटमा मेरो बुहारीसँग मोबाइलमा फोन गरी मोटरसाइकल पठाइदिनु भनेको थियो । मैले तुरून्त निजलाई फोन गर्दा फोन सम्पर्क हुन सकेन । पछि निजलाई खोजतलास गर्दा निजको लास फेला परेको हो । प्रस्तुत घटनाभन्दा पहिला पनि मेरो छोरा र मोहन सहनीबिच झगडा भएको थियो । बागमतीको नहरमा राति १०।११ बजे लगी मोहनले मेरो छोरालाई कुटपिट गरेको थियो भन्ने सुनी थाहा पाएको हुँ । मिति २०७१।१२।२४ गते प्रतिवादीहरूको नाम किटान गरी मैले नै जाहेरी दिएको हो । उक्त जाहेरीमा भएको सहीछाप मेरो नै हो भन्ने जाहेरवाला जयकिशोर सहनीको बकपत्र ।
मेरो श्रीमान्लाई प्रतिवादी सुरेश सहनीसमेतले अपहरण गरी विजुली, मोहन, दिनेशसमेत भई कर्तव्य गरी मारेका हुन् । निजहरूले मेरो श्रीमान्को घाँटी काटेर हत्या गरेका हुन् । नारायण सहनी र मेरो श्रीमान्को गाउँघरमा पहिले झगडा हुँदा नारायण सहनीले तलाई कुटी कुटी मारी फालिदिन्छु भनेका थिए । मोहन र शैल उखुको कारोबार गर्दथे । नारायण सहनीको विवाह हुँदा ४५ हजार दण्ड तिराएको थियो । यिनै रिसइवीको कारणबाट प्रतिवादीहरू मिली मेरो श्रीमान्लाई अपहरण गरी मारेका हुन् । मृतकले लगाएको कपडा गाडेको अवस्थामा सन्तोषले भनेपछि गाउँले र प्रहरीसमेत भई बरामद गरी ल्याएको हो । घटना विवरण कागजमा मैले नै सहीछाप गरेको हो त्यसमा भएको बेहोरा मेरो हो भन्ने किरण देवीको बकपत्र ।
मृतक मेरो देवर शैल सहनीले मलाई मिति २०७१।१२।११ गते घरमा भएको मोटरसाइकल मोहनलाई दिनु भनी फोन गरेका थिए । मोहन मोटरसाइकल लिन आएनन् । मिति २०७१।१२।१२ गते बिहान २:३० बजेतिर निजले फोन गरी मोटरसाइकल पठाइदिनु भनेको थियो । मृतकलाई प्रतिवादी नारायण सहनी, मोहन सहनी, सुरेश सहनी, दिनेश सहनी, सन्तोष सहनी र विजली सहनीले फोन गरी बोलाई मारेका हुन् । करेन्ट लगाई खुकुरी प्रहार गरी मारेका हुन् । प्रतिवादी सन्तोष सहनीले भनेपछि मृतकको लुगाहरू बरामद भएको हो भन्ने घटना, विवरणका साक्षी राम दुलारी देवीको बकपत्र ।
मेरो छोरालाई प्रतिवादीहरू संतोष, मोहन र नारायणले अपहरण गरी विजुली, दिनेशसमेत भई खुकुरी प्रहार गरेर निजको शरीरबाट घाँटी अलग गरी मारेका हुन् । मेरो छोरासँग प्रतिवादीहरूको रिसइवी भएको कारणले प्रतिवादीहरूले पूर्वयोजना बनाई मारेका हुन् । घटना विवरण कागजमा भएको सहीछाप र बेहोरा मेरो हो भन्ने घटना विवरण कागज गर्ने सोनवा देवी सहनीको बकपत्र ।
प्रहरीले लास फेला पारेको बेला म पनि घटनास्थलमा नै थिएँ । घटनास्थल एवं लासजाँच मुचुल्कामा म साक्षी बसेको हो, मुचुल्कामा लेखिएको बेहोरा ठिक छ । सो मुचुल्काको साक्षी प्रकरणमा भएको सहीछाप मेरो हो बेहोरा ठिक छ भन्ने घटनास्थल र लास जाँच मुचुल्काका साक्षी रामआश्रय सहनीको बकपत्र ।
घटनास्थल प्रकृतिसहितको लास जाँच प्रकृति मुचुल्कामा भएको सहीछाप र बेहोरा मेरो हो भन्ने घटनास्थल मुचुल्काका साक्षी गगनदेव सहनीको बकपत्र ।
घटनास्थल लासजाँच मुचुल्कामा भएको सहीछाप र बेहोरा ठिक छ भन्ने घटनास्थल प्रकृति मुचुल्काका साक्षी नन्दु सहनीको बकपत्र ।
मिति २०७१।१२।१२ गते मेरो मोबाइल नम्बर ९८०४२४६३२६ मा साँझ ६ बजे म आउँदै छु भनी फोन गरेका थिए । सोही राति २:३० बजेतिर फोन गर्दा मोटरसाइकल पठाइदिनु भनेको
थियो । मृतक शैल सहनीलाई प्रतिवादी सन्तोष सहनी, विजुली सहनी, नारायण सहनी, दिनेश सहनी, सुरेश सहनी, मोहन सहनीहरूले मारेको मैले देखेको
होइन । उनीहरूले मारेका हुन भन्ने सुनेको हुँ । प्रहरीसमक्ष गरेको कागजको बेहोरा र सहीछाप ठिक छ भन्ने घटना विवरण कागजका साक्षी गायत्री देवी सहनीको बकपत्र ।
काठमाडौंबाट घर आउने क्रममा कलंकीसम्म शैलले झोला ल्याई मलाई घर लगिदिनु भनेका
हुन् । निजको मोबाइलमा धेरै पटक फोन आएकोले मैले कसको कल भनी सोध्दा मोहन सहनीको भनेका दिए । निजको घर जाँदा निजको आमाले राति २:३० बजेतिर शैलले मोटरसाइकल पठाइदिनु भनी फोन गरेको थियो अहिलेसम्म खोजतलास भइरहेको छ भन्नुभयो । निजको लास एकादशी खोलामा फेला परेको सुनी म त्यहाँ गएको थिएँ । प्रतिवादीहरूले कर्तव्य गरी मारेका हुन् भन्ने सुनी थाहा पाएको हुँ । मैले अनुसन्धानको क्रममा गरेको कागजको बेहोरा र सहीछाप मेरो हो भन्ने जीवन सहनीको बकपत्र ।
मिति २०७१।१२।१२ गते मृतक शैल सहनी पसलमा आएको थियो । निज पसलमा आउँदा अरू कोही मानिस थिएनन् एक्लै थिए । जाहेरवाला पनि मेरो छोरा हरायो भनी खोज्दै आएका थिए । शैल सहनीसँग शिवकुमार महतोको पसलमा भेट भएको थियो भनी मैले जाहेरवालालाई जानकारी गराएको
थिएँ । मैले अनुसन्धानको क्रममा गरेको कागजको बेहोरा र सहीछाप मेरो हो भन्ने राजकरण मुखियाको बकपत्र ।
मृतकको लास फेला परेको थाहा छ । निजलाई को कसले मारेको हो मलाई थाहा छैन । प्रतिवादीहरू निर्दोष वा दोषी हुन मलाई थाहा छैन भन्ने प्रेमलाल सहनीको बकपत्र ।
मिति २०७१।१२।१२ गते बिहानदेखि साँझसम्म म प्रतिवादी दिनेशसँगै थिएँ । दिनेशले सो दिन बिहानदेखि बेलुकासम्म ट्याक्टरबाट बालुवा लोड अनलोड गर्ने काम गरेका थिए । गाउँ समाजको पार्टी पोलिसी झगडाको कारण निजमाथि झुठा मुद्दा दिएका हुन् भन्ने प्रतिवादी दिनेश सहनीका साक्षी भरत सहनीको बकपत्र ।
मिति २०७१।१२।१२ गतेका दिन म आफ्नै घरमा थिएँ । प्रतिवादी विजुली सहनी पनि घरमै
थिए । निजको र मेरो घर नजिकै छ । निजले बिहान रमौली बेरीयातिर बहिनीको विवाहमा जाने कुरा गरेका थिए । शैल सहनीको लास भेटिएको हो निजको हत्या कसले गरेको हो थाहा भएन भन्ने प्रतिवादी विजुली सहनीका साक्षी रामचन्द्र सहनी भन्ने जयलाल सहनीको बकपत्र ।
मिति २०७१।१२।११ गते प्रतिवादी विजुली सहनी मेरो घरमा आएको र छोराको छेका भएकोले बस्न भनेपछि निज मेरो घरमा बसी १४ गते आफ्नो घर फर्किएको हो भन्ने प्रतिवादी विजुली सहनीका साक्षी मंचलिया देवी सहनीको बकपत्र ।
प्रतिवादी मोहन सहनीलाई मिति २०७१।१२।१२ गते बिहानदेखि बेलुकासम्म निजकै घरमा देखेको हुँ । निजले मृतकलाई कर्तव्य गरी मारेका होइनन् भन्ने प्रतिवादी मोहनकुमार सहनीका साक्षी राजकुमार रायमाझीको बकपत्र ।
मिति २०७१।१२।१२ गते साँझसम्म म प्रतिवादी मोहनकुमार सहनीको घरमा थिएँ । निज त्यहीँ थिए । निजले मृतकलाई मारेको होइन । कसले मारेको हो मलाई थाहा छैन भन्ने प्रतिवादी मोहनकुमार सहनीका साक्षी गणेश सिंह कार्कीको बकपत्र ।
मिति २०७१।१२।१९ गते प्रतिवादी सन्तोष सहनी साइडमा काम गर्न नारायणघाट गएका थिए । प्रतिवादीउपरको जाहेरी दरखास्त र अनुसन्धानका कागजहरू झुठा हुन् भन्ने प्रतिवादी सन्तोष सहनीका साक्षी सत्यनारायण सहनीको बकपत्र ।
मिति २०७१।१२।११ गते मकैमा पानी पटाउने दमकल बनाउन म गरूडा गएको थिएँ । त्यहाँ मैले सुरेश सहनीलाई भेटेको थिएँ । निजले शैल सहनीको हत्या गरेको जस्तो लाग्दैन भन्ने प्रतिवादी सुरेश सहनीका साक्षी नन्द मुखियाको बकपत्र ।
मिति २०७१।१२।११ गते ३ बजेतिर प्रतिवादी सुरेश सहनीलाई सञ्चो नभई उपचार गराउन गरूडा गएकाले निज घटना भएका बखत गाउँघरमा थिएनन् । निजमाथि लगाइएको अभियोग झुठा हो भन्ने प्रतिवादी सुरेश सहनीका साक्षी हरिचन्द्र सहनीको बकपत्र ।
प्रतिवेदनमा भएको बेहोरा र सहीछाप मेरो हो । पूर्वरिसइवीको कारण प्रतिवादीहरूले मृतक शैल सहनीको हत्या गरी लास खोलामा गाडेको कुरा अनुसन्धानबाट खुलेको हो । दुई टुक्रा पारी काटी गाडेको अवस्थामा लास भेटिएको र मृतकको कपडाहरू सन्तोषकुमार सहनीले खुलाएअनुसार बरामद भएको हो भन्ने कृष्णबहादुर थापाको बकपत्र ।
प्रतिवादीहरूको सल्लाहबमोजिम शैल सहनीलाई एकादशी खोलामा ल्याई सन्तोष सहनी र श्यामकुमार सहनीले मृतकको १/१ वटा हात, दिनेश सहनी र विजुली सहनीले १/१ वटा खुट्टा समाई लडाई चल्न चटपटाउन नदिई मोहन सहनीले हात र छातीमा कुल्ची अठ्याई राखी मृतकलाई मार्ने कार्यमा प्रत्यक्ष सहयोग पुर्याई दिएको देखिँदा प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ७ नं. र मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(४) नं. बमोजिमको कसुर अपराध भएको हुँदा प्रतिवादीहरूलाई सोही अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्षका दरले कैद र रू. ५०,०००।- का दरले जरिवाना एवं सोही महलको ७ नं. बमोजिम थप २ वर्षका दरले कैद सजाय हुने कानूनी व्यवस्थाबमोजिम प्रतिवादीहरूलाई ९ वर्षका दरले कैद सजाय र रू. ५०,०००।- का दरले जरिवानासमेत हुने ठहर्छ । साथै निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्म कैदको सजायसमेत हुने ठहर्छ । प्रतिवादीहरूले मृतकलाई अपहरण गरी एकान्त ठाउँमा लगी कर्तव्य गरी मारेको हुँदा पीडकबाट पीडितलाई क्षतिपूर्ति भराई दिने कानूनी व्यवस्था भएको हुँदा औचित्यता एवं मानवीयताको आधारसमेतलाई विचार गरी प्रतिवादीहरू सन्तोष सहनी, मोहनकुमार सहनी, श्यामकुमार सहनी, दिनेश सहनी र विजुली सहनीबाट रू. ५०,०००।- का दरले रू. २,५०,०००।- पीडितको परिवारले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्छ । साथै प्रस्तुत मुद्दा साधक सदरको लागि उच्च अदालत जनकपुरमा पठाइदिनु भन्ने सुरू सर्लाही जिल्ला अदालतको मिति २०७५।३।२५ को फैसला ।
घटना घट्नु अघि मेरो अन्य अभियुक्तहरूसँग भेटघाट भई सरसल्लाह गरी योजना बनाएको भन्ने कुनै ठोस प्रमाण छैन । प्रहरीमा भएको साबिती बयानको आधारमा मात्र कसुरको ठहर गर्नु न्याय कानूनसमेतबाट नमिल्ने, सहअभियुक्तको पोल आफैँमा सबुद प्रमाण होइन भन्ने नजिर रहेको छ, कुन कसुर कुन प्रमाणबाट कसरी प्रमाणित भयो भने कुरा यकिन नगरी अनुमान र हचुवा एंवम गोश्वारा तवरले मलाई दोषी ठहर गरी अभियोग दाबीअनुसार मलाई सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला उल्टी बदर गरी सफाइ दिलाइपाउँ भन्ने प्रतिवादी श्यामकुमार सहनीले उच्च अदालत जनकपुरमा गरेको पुनरावेदन ।
मौकामा जाहेरी दिँदा कोही कसैउपर शङ्कासमेत गर्न नसक्नु, घटनास्थल एवम् लास जाँच मुचुल्का हुँदा म पुनरावेदकउपर शङ्कासम्म गर्न सकेको छैन । वारदात भएपछि दोस्रो जाहेरीभन्दा केही अगाडि एक हप्ताको अवधिसम्म खडा भएको कुनै कागजमा सो वारदात म पुनरावेदकसमेत भई घटाएको भन्ने छैन । उक्त वारदातमा मेरो संलग्नता पनि छैन । मैले छाती थिचेको भन्ने कतैबाट खुलेको अवस्था छैन । पछि दिएको जाहेरीमा लेखिए पनि मौकामा नखुलाएको कुरा प्रमाणमा ग्रहण गर्न मिल्दैन । पोष्टमार्टम गर्ने विशेषज्ञ डा.विजय साह र विमलेशकुमार यादवको बकपत्रबाट एउटै हतियारले मृतकको शरीरमा चोट परेको देखिन्छ । हतियार बरामद भएको अवस्था छैन । लासमा परेको चोटबाट मृतकलाई धेरैजना भई हात खुट्टा छातीलगायत पक्रेर मारेको भन्ने कुरा स्वाभाविक देखिँदैन । एकजना व्यक्तिले हतियार प्रयोग गरेको जस्तो मिसिलमा रहेको कागजबाट पुष्टि रहेको अवस्थामा पुनरावेदकले ज्यानसम्बन्धी महलको १३(४) को कसुर गरेको पुष्टि हुने कुनै प्रमाण मिसिलमा संलग्न नभएको अवस्थामा अनुसन्धान अधिकारीसमक्ष भएको जबरजस्ती छाप लगाएको एकअर्काको पोल गरेको बयान कागजको भरमा मलाई कसुरदार ठहर गरेको सुरू सर्लाही जिल्ला अदालतको त्रूटिपूर्ण फैसला उल्टी बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी मोहनकुमार सहनीले उच्च अदालत जनकपुरमा गरेको पुनरावेदन ।
मौकामा जाहेरी दिँदा कोही कसैउपर शङ्कासमेत गर्न नसक्नु, घटनास्थल एवं लास जाँच मुचुल्का हुँदासमेत म पुनरावेदकउपर शङ्कासमेत गर्न नसक्नु, दोस्रो जाहेरीभन्दा अगाडि एक हप्ताको अवधिसम्म खडा भएको कुनै कागजमा उक्त वारदात म पुनरावेदकले घटाएको वा वारदातमा संलग्नता रहेको वा खुट्टा पक्रेको कतैबाट खुलेको अवस्था छैन । विशेषज्ञ डा. विजय साह र विमलेश कुमार यादवको बकपत्रबाट एउटै हतियारले मृतकको शरीरमा चोट परेको देखिएको छ । हतियार बरामद भएको अवस्था छैन । लासमा रहेको चोटबाट मृतकलाई धेरैजना भई हात, खुट्टा, छातीलगायत पक्रेको भन्ने देखिँदैन । एकजना व्यक्तिले हतियार प्रयोग गरेको जस्तो मिसिल कागजबाट पुष्टि भइरहेको अवस्थामा अनुसन्धान अधिकारीसमक्ष भएको जबरजस्ती छाप लगाएको प्रतिवादीहरूले एकअर्काको पोल गरेको बयान कागजको आधारमा मात्र म पुनरावेदकलाई ज्यानसम्बन्धी महलको १३(४) को कसुरमा सजाय गर्ने ठहर गरिएको सुरू सर्लाही जिल्ला अदालतको त्रूटिपूर्ण फैसला उल्टी बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी दिनेश सहनीले उच्च अदालत जनकपुरमा गरेको पुनरावेदन ।
जाहेरवालाले महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा मानिस खोजतलास गरिपाउँ भनी दिनुभएको हुलिया निवदेनमा मेरो नाम छैन । सद्गत गर्न पाउँ भनी दिएको निवेदनमा पनि मेरो नाउँ उल्लेख भएको छैन । जाहेरवालाले मिति २०७१।१२।२५ मा दिएको जाहेरीमा मेरो नाम उल्लेख गर्नुभए पनि मसँग के रिसइवी थियो त्यो कुरा खुलाउन सकेको छैन । अपराध भएको मिति र समय २०७१।१२।१९ गते साँझ १७:१५ बजे भन्नुभएबाट अभियोग दाबीको वारदात पुष्टि हुँदैन । घटना देख्ने प्रत्यक्षदर्शी कोही छैनन । मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा इन्कार रही बयान गरेकोमा आफूखुसी कागज लेखाई जबरजस्ती सहीछाप गराएका हुन् । प्रतिवादीहरूले एक अर्कालाई पोल गरी बयान लेखाएकोमा अदालतमा बयान गर्दा डर देखाई सहीछाप गराएका हुन् भनी अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई इन्कार गरेको अवस्था छ । कुन कसुर कुन प्रमाणबाट कसरी प्रमाणित भयो यकिन नगरी अनिश्चित र हचुवा एवं गोश्वरा आधारबाट विरोधाभाषपूर्ण प्रमाणको भरमा मलाई कसुरदार ठहर्याउने गरी सुरू अदालतले गरेको त्रूटिपूर्ण फैसला उल्टी बदर गरी सफाइ पाउँ भन्ने प्रतिवादी विजुली सहनीले उच्च अदालत जनकपुरमा गरेको पुनरावेदन ।
प्रतिवादीहरूको बयान, घटना विवरण कागज गर्ने व्यक्तिहरूको भनाइ, जाहेरवालाको प्रतिवादीहरूउपरको किटानी जाहेरी, मृतकको शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु धारिलो हतियारले घाँटी काटी भएको भनी उल्लेख भएको, त्यसलाई शव परीक्षण गर्ने चिकित्सकले समर्थन हुने गरी बकपत्र गरेको, मिसिल संलग्न रहेको लास जाँच मुचुल्का तथा प्रहरी प्रतिवेदनसमेतका विवेचित तथ्य प्रमाण एवं नजिर सिद्धान्तसमेतका आधारबाट मृतक शैल सहनीलाई आठै जना प्रतिवादीहरूले योजनाबद्ध रूपमा अपहरण गरी लगी बन्धक बनाई पूर्वरिसइवीका कारण ज्यानै मार्ने मनसायले कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आयो । प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी योजनाबद्ध रूपमा मृतकलाई मार्ने मनसायले योजना बनाई सोहीबमोजिम अपहरण गरी मृतकलाई बरहथवाको हजरिया रोडबाट मोटरसाइकलमा घर पुर्याइदिने भनी झुक्याई वारदात स्थलमा पुर्याई मृतकलाई बोल्न कराउन नदिई बन्धक बनाई मार्नको लागि कब्जामा लिई राख्ने कार्य प्रतिवादीहरूले गरेको र सो कार्य मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. बमोजिमको कसुर अपराध रहेको पुष्टि हुन आयो । प्रतिवादीहरूले मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ७ नं. र मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(४) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्षका दरले कैद र रू.५०,०००।- का दरले जरिवाना एवं सोही महलको ७ नं. बमोजिम थप २ वर्षका दरले कैद सजाय हुने कानूनी व्यवस्थाबमोजिम प्रतिवादीहरूलाई ९ वर्षका दरले कैद सजाय र रू. ५०,०००।- का दरले जरिवानासमेत हुने साथै निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजायसमेत हुने ठहर्याई प्रतिवादीहरू सन्तोष सहनी, मोहनकुमार सहनी, श्यामकुमार सहनी, दिनेश सहनी र विजुली सहनीबाट रू. ५०,०००।- का दरले रू. २,५०,०००।- पीडितको परिवारले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्याई सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७५।३।२५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू मोहनकुमार सहनी, विजुली सहनी, दिनेश सहनी र सुरेश भन्ने श्यामकुमार सहनीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत जनकपुरको फैसला ।
मृतकसँग मेरो रिसइवी झै-झगडा थिएन भन्ने कुरा मौकामा जाहेरी दिँदा शङ्कासमेत गर्न नसक्नु, घटना स्थल एवं लास जाँच मुचुल्का हुँदासमेत म पुनरावेदकउपर कहीँकतैबाट शङ्कासमेत गर्न नसक्नु साथै मानिस खोजतलास गरिपाउँ भनी मिति २०७१।१२।१६ मा दिएको निवेदनमा मेरो नाम उल्लेख नहुनुले पुष्टि गर्दछ । लासको पोष्टमार्टम गर्ने डा.हरूले गरेको बकपत्रमा एउटै हतियारले चोट परेको उल्लेख छ । लास प्रकृति मुचुल्काअनुसार लासमा रहेका चोटहरूबाट पनि मृतकलाई धेरै जना भई हातखुट्टा, छातीमा पक्री थिची मारेको भन्ने कुरा स्वाभाविक देखिएको छैन । अनुसन्धान अधिकारीसमक्षको बयानमा एक अर्का प्रतिवादीउपर पोल भए पनि प्रतिवादीहरूबिच आपराधिक योजना, षड्यन्त्र, ज्यान मार्नुपर्नेसम्मको अपरिहार्य कारण केही पनि प्रमाणित हुन सकेको छैन । मृतकलाई मार्नुपर्नेसम्मको रिसइवी वस्तुनिष्ठ एवं विश्वसनीय तवरले पुष्टि नभई बिना प्रमाण ज्यान मार्न संयोग पुर्याइदिएको कसुरमा सजाय गर्नु फौजदारी न्याय सिद्धान्तविपरीत छ । प्रतिवादीहरूले एक अर्कासँग कसरी सम्पर्क गरे, कहाँ जम्मा भए, सम्पर्क सूत्र के हो ? आदि कुराहरू प्रमाणित नभएकोमा जाहेरीमा मेरो नाम उल्लेख भएकै आधारमा मलाई कसुरदार ठहर गर्ने गरी भएको उच्च अदालत जनकपुरको त्रूटिपूर्ण फैसला उल्टी बदर गरी सफाइ पाउँ भन्ने प्रतिवादी मोहनकुमार सहनीले यस अदालतमा गरेको पुनरावेदन ।
मृतकसँग मेरो रिसइवी झै-झगडा थिएन भन्ने कुरा मौकामा जाहेरी दिँदा शङ्कासमेत गर्न नसक्नु, घटना स्थल एवं लास जाँच मुचुल्का हुँदासमेत म पुनरावेदकउपर कहीँकतैबाट शङ्कासमेत गर्न नसक्नु साथै मानिस खोजतलास गरिपाउँ भनी मिति २०७१।१२।१६ मा दिएको निवेदनमा मेरो नाम उल्लेख नहुनुले पुष्टि गर्दछ । कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा मेरो संलग्नतालाई जोड्न सक्ने कुनै प्रमाण उल्लेख हुन सकेको अवस्था
छैन । समग्रमा घटनाको प्रत्यक्षदर्शी कोही नभएको, अपराधसँग सम्बन्धित भौतिक प्रमाण केही नभएको अवस्थामा अनुमान र शङ्काको भरमा सन्तोष सहनीले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पोल गरेकै भरमा मलाई कसुरदार ठहर गरिएको छ । अनुसन्धान अधिकारीसमक्षको सो बयानलाई मैले अदालतमा बयान गर्दा इन्कार गरेबाट सो मेरो विरूद्ध प्रमाण लगाउन मिल्ने अवस्था छैन । पोष्टमार्टम गर्ने डा.हरूको बकपत्रमा एउटै हतियारले मृतकको शरीरमा चोट परेको भन्ने उल्लेख भएकोले मृतकलाई धेरैजना भई हातखुट्टा, छातीलगायत पक्री थिची मारेको भन्ने दाबी खण्डित भएको छ । प्रतिवादीहरूले एकअर्कासँग कसरी सम्पर्क गरे, कहाँ जम्मा भए, सम्पर्कसूत्र के हो? आदि कुराहरू प्रमाणित नगरी बिना आधार प्रमाण मृतक शैल सहनीको कर्तव्यबाट मृत्यु भएको घटनामा धेरै पछि परेको जाहेरीमा मेरो नाम उल्लेख भएकै आधारमा प्रमाणको उचित मूल्याङ्कन नगरी मलाई दोषी ठहर गर्ने गरी गरेको उच्च अदालत जनकपुरको त्रूटिपूर्ण फैसला उल्टी गरी सफाइ पाउँ भन्ने विजुली सहनीले यस अदालतमा गरेको पुनरावेदन ।
मृतकसँग मेरो रिसइवी झै-झगडा थिएन भन्ने कुरा मौकामा जाहेरी दिँदा शङ्कासमेत गर्न नसक्नु, घटनास्थल एवं लास जाँच मुचुल्का हुँदासमेत म पुनरावेदकउपर कहीँकतैबाट शङ्कासमेत गर्न नसक्नु साथै मानिस खोजतलास गरिपाउँ भनी मिति २०७१।१२।१६ मा दिएको निवेदनमा मेरो नाम उल्लेख नहुनुले पुष्टि गर्दछ । अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी सन्तोष सहनीसमेतले वारदातमा मेरो पनि संलग्नता रहेको भनी पोल गरेको भए तापनि अदालतमा बयान गर्दा मैले सो कुरा इन्कार गरेको छु । प्रतिवादी सन्तोष सहनीले पनि सो बयान बेहोरालाई इन्कार गरेका छन् । पोष्टमार्टम गर्ने डा.हरूको बकपत्रमा एउटै हतियारले मृतकको शरीरमा चोट परेको भन्ने उल्लेख भएकोले लास प्रकृति मुचुल्कामा देखाइएका चोटहरू मृतकलाई धेरैजना भई हातखुट्टा, छातीलगायतमा पक्री थिची मारेको भन्ने कुरा स्वाभाविक देखिएको छैन । घटना प्रत्यक्ष देख्ने कोही पनि छैन । वस्तुनिष्ठ एवं विश्वसनीय प्रमाण बिना नै अपहरण गरी ज्यान मार्न संयोग पुर्याइदिएको कसुरमा मलाई सजाय गरेको उच्च अदालत जनकपुरको त्रूटिपूर्ण फैसला उल्टी गरी सफाइ पाउँ भन्ने सुरेश भन्ने श्यामकुमार सहनीले यस अदालतमा गरेको पुनरावेदन ।
मृतकसँग मेरो रिसइवी झैँ-झगडा थिएन भन्ने कुरा मौकामा जाहेरी दिँदा शङ्कासमेत गर्न नसक्नु, घटना स्थल एवं लास जाँच मुचुल्का हुँदासमेत म पुनरावेदकउपर कहीँकतैबाट शङ्कासमेत गर्न नसक्नु साथै मानिस खोजतलास गरिपाउँ भनी मिति २०७१।१२।१६ मा दिएको निवेदनमा मेरो नाम उल्लेख नहुनुले पुष्टि गर्दछ । अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी सन्तोष सहनीसमेतले वारदातमा मेरो पनि संलग्नता रहेको भनी पोल गरेको भए तापनि अदालतमा बयान गर्दा मैले सो कुरा इन्कार गरेको छु । प्रतिवादी सन्तोष सहनीले पनि सो बयान बेहोरालाई इन्कार गरेका छन् । पोष्टमार्टम गर्ने डा.हरूको बकपत्रमा एउटै हतियारले मृतकको शरीरमा चोट परेको भन्ने उल्लेख भएकोले लास प्रकृति मुचुल्कामा देखाइएका चोटहरू मृतकलाई धेरै जना भई हातखुट्टा, छातीलगायतका अङ्गमा पक्री थिची मारेको भन्ने कुरा स्वाभाविक देखिएको छैन । यस्तो अवस्थामा बिना आधार प्रमाण मलाई अपहरण तथा ज्यान जस्तो सङ्गीन अभियोगमा दोषी ठहर गरिएको उच्च अदालत जनकपुरको त्रूटिपूर्ण फैसला उल्टी गरी सफाइ पाउँ भन्ने दिनेश सहनीले यस अदालतमा गरेको पुनरावेदन ।
प्रतिवादी सन्तोषकुमार सहनीको पुनरावेदन परेको नदेखिई निजको हकमा साधकको रोहमा दायर हुन आएको ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक सुरेश भन्ने श्यामकुमार सहनी एवं विजुली सहनीसमेतका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिकृष्ण उप्रेती तथा विद्वान् अधिवक्ताहरू श्री नारायणबहादुर कटुवाल र श्री राजु उप्रेतीले सहअभियुक्तको पोलकै आधारमा प्रतिवादीहरूलाई कसुरदार ठहर गरिएको छ । त्यस्तो पोललाई प्रमाणमा लिन नहुने नजिर रहेको अवस्था
छ । मौकामा जाहेरी दिँदा या घटनास्थल एवं लास जाँच मुचुल्का हुँदा कोही कसैउपर शङ्कासमेत गर्न नसकेको अवस्थामा पनि प्रतिवादीहरूलाई शङ्काको भरमा कसुरदार ठहर गरिएको सुरू फैसला सदर गरेको उच्च अदालतको फैसला उल्टी बदर गरी प्रतिवादीहरूलाई सफाइ दिलाइपाउँ भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।
अब पुनरावेदक प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम कसुर ठहर गरी सजाय गरेको सुरू सर्लाही जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत जनकपुरको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. प्रस्तुत मुद्दामा प्रतिवादीहरू सन्तोष सहनी, मोहन सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, दिनेश सहनी, विजुली सहनी र नारायण सहनीले मृतक शैल सहनीलाई अपहरण गरी हत्या गरेर खोलामा गाडेको आरोपमा अपहरणतर्फ मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. २ नं. र ३ नं.को कसुरमा ऐ. ३ नं. बमोजिम सजाय गरी प्रतिवादीहरू ८ जनाको समूह भई उक्त वारदात घटाएकोमा ऐ. महलको ७ नं. बमोजिम थप सजाय हुन र कर्तव्य गरी ज्यान मारेतर्फ निज प्रतिवादीहरूमध्ये नारायण सहनी र निजले ल्याएको नाम, थर र वतन नखुलेको २ जना भारतीय व्यक्तिहरूलाई धारिलो हतियार खुकुरीले पेट, घाँटी र शरीरको अन्य भागमा प्रहारहरू गरी ज्यान मारेकोमा ऐ. महलको १ नं. र १३ (१) नं. को कसुरमा सोही महलको १३ (१) नं. बमोजिम सजाय हुन तथा अन्य प्रतिवादीहरू सन्तोष सहनी, मोहन सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, दिनेश सहनी र विजुली सहनीलाई सो महलको १ नं. र १३(४) नं. अन्तर्गतको कसुरमा ऐ.को १३(४) नं. बमोजिम सजाय गरिपाउन अभियोग दाबी रहेकोमा निज प्रतिवादीहरूलाई ऐ.अपहरण तथा शरीर बन्धक लिनेको १, २ र ७ नं. र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ (४) नं. बमोजिमको कसुर अपराधमा सजायसमेत हुने ठहर हुनुका साथै प्रतिवादीहरूबाट रू. ५०,०००।- का दरले रू. २,५०,०००।- पीडितको परिवारले क्षतिपूर्ति भराई पाउने गरी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको उच्च अदालत जनकपुरको फैसलामा चित्त नबुझाई सो फैसला उल्टी गरी सफाइ पाउँ भन्ने दाबी लिई प्रतिवादीहरू दिनेश सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, विजुली सहनी र मोहनकुमार सहनीको यस अदालतमा पुनरावेदन परेको पाइयो । त्यस्तै प्रतिवादी सन्तोषकुमार सहनीको हकमा साधक जाँचको लागि पेस हुन आएको पाइयो भने प्रतिवादीमध्येका नारायण सहनीको मृत्यु भइसकेको भन्ने बेहोरा उच्च अदालतको फैसलामा उल्लेख भएको देखियो ।
अब प्रस्तुत मुद्दामा देहायका सवालहरूको विवेचना गरी न्यायिक निरूपणमा पुग्न पर्ने देखिन आउँछ ।
मृतक शैल सहनीको मृत्यु सम्बन्धमा के कस्ता आपराधिक कार्य (Actus Reus) रहे भएको देखिन्छ ?
मृतकलाई मार्नमा प्रतिवादीहरूको आपराधिक मनसाय (Men’s rea) रहेको के कसरी पुष्टि हुन्छ ।
मृतकलाई मार्नमा प्रतिवादीहरूको तयारी (Preparation) के कस्तो रहेको देखिन्छ ?
मृतकलाई मार्नमा को को प्रतिवादीको के कस्तो एकल वा सामूहिक संलग्नता रहेको पाइन्छ ?
पुनरावेदक प्रतिवादीउपर भएको अभियोग दाबी एवं कसुरको ठहर मिलको छ, छैन ?
पुनरावेदकहरूको अभियोग दाबीबाट सफाइ पाउँ भनी पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?
३. अब पहिलो सवालको सम्बन्धमा हेर्दा, प्रस्तुत मुद्दामा अभियोग दाबी प्रतिवादीहरूको पुनरावेदन जिकिर एवम् सुरू सर्लाही जिल्ला अदालत एवम् उच्च अदालत जनकपुरको फैसलासमेतलाई मध्यनजर गर्दा मेरो छोरा शैल सहनी मिति २०७१।१२।१० गते काठमाडौं गई मिति २०७१।१२।१२ गते म फर्कंदै छु भनेकोमा सोपश्चात् छोरा घरमा नआई हराई बेपता भएकोले खोजतलासको लागि महानगरीय प्रहरी परिसर, हनुमानढोका काठमाडौंमा गई हुलिया निवेदन दिई खोजतलास भइरहेको थियो । मिति २०७१।१२।१९ गते साँझ जिल्ला सर्लाही गा.वि.स. हजरिया वडा नं.४ स्थित एकादशी खोलामा प्रहरीले उक्त शव फेला पारेको थाहा पाई हेर्न जाँदा छोरा शैलको लास भएको सनाखत गरी दिई हत्या गर्ने व्यक्तिहरू खुल्न आएको बखत छुट्टै जाहेरी दिने बेहोराको जय किशोर सहनीले पहिलो जाहेरी दिएको देखिन्छ ।
४. मृतक शैल सहनीको खोज तलास हुँदा एकादशी खोलामा हिलोमा गाडेको अवस्थामा रहेको घाँटी काटिएको, शरीरको भाग फुलेको, पाखुराको भित्रपट्टिको भागमा निलो कालो दाग रहेको, दायाँ हातको पाखुरामा ५।३ इन्चको सर्कल गोलो आकारको घाउ भएको, सोही हातको साहिँली औंला र कान्छी औंला भाँचिएको जस्तो देखिएको, छाती मुनि पेटको दायाँ भागमा छड्के भई लम्बाइ १६ इन्च, चौडाइ ४ इन्च, सोदेखि बायाँ साइडमा मुनिको भागमा लम्बाइ ७ इन्च चौडाइ ३ इन्च काटिएको जस्तो घाउ चोट लागेको, नाइटोदेखि माथि पेटको बायाँ भागमा १२ से.मि. लम्बाइ भएको २ वटा काटेको जस्तो देखिने तेर्सो धर्का भएको पेटको तल्लो बायाँ भागमा लम्बाइ ७ इन्च, चौडाइ ६ इन्च भएको गोलो जस्तो भएको धारिलो हतियारले घोपेको जस्तो घाउ भई सोबाट आन्द्रा भुँडी निस्केको, अण्डकोष सुन्निएको भन्ने घटनास्थल लास बरामदी मुचुल्कामा उल्लेख भएको देखिन्छ । यस्तै मौकामा प्रतिवादीहरूले बयान गर्दा खुलाइदिएको स्थान अर्थात् मृतक शैल सहनीको लास गाडेको स्थानदेखि १३ फिट उत्तरतर्फ सोही खोलाको पानीको धारको हिलोमा पोको पारी गाडेको अवस्थामा मृतकले लगाएका कपडाहरू फेला परेको भन्ने बेहोराको प्रतिवादीहरूकै रोहवरमा तयार भएको बरामदी मुचुल्का मिसिल सामेल रहेको पाइयो । सोपश्चात् प्रतिवादीहरूले मृतकलाई अपहरण गरी एकादशी खोलामा लगी कर्तव्य गरी मारी मृतकको टाउको, शरीर र निजले लगाएको कपडाहरू सोही खोलाको छुट्टाछुट्टै ठाउँमा खाल्डो खनी गाडेकोमा मृतकको टाउको बाहिर निस्किएपछि टाउको फेला पारी खोज्दै जाँदा खोलामा अरू शरीरसमेत भेटिएको भनी प्र.ना.नि. हस्तबहादुर ताम्राकारसमेतको प्रहरी प्रतिवेदन मिसिल सामेल रहेबाट निज मृतकको शव पहिचान (Corpus delecti) भएको र निजको मृत्यु कर्तव्य (Homicide) बाट भएको भन्ने विवादरहित तथ्य रहेको देखिन आयो । साथै लासको पोष्टमार्टम गर्ने डा.हरू श्री विजयकुमार साह र श्री विमलकुमार यादवले आफूहरूले दिएको प्रतिवेदनलाई अदालतमा आई बकपत्र गरी थप समर्थनसमेत गरेको पाइयो । मृतकको मृत्युको कारण (Head Amputation sharp force weapon) शरीरको अन्य भागको घाउँचोटको लागि प्रयोग भएको हतियार तथा घाँटी काट्न प्रयोग भएको धारिलो हतियार एउटै जस्तो देखियो भन्नेसमेत बेहोराको पोष्टमार्टम रिपोर्ट र निजहरूको बकपत्रबाट उक्त तथ्य थप सम्पुष्टि भएको देखिन्छ ।
५. दोस्रो सवाल अर्थात् मृतकलाई मार्नमा को कसको कस्तो संलग्नता रहेको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा हेर्दा, जय किशोर सहनीले मिति २०७१।१२।२५ मा प्रतिवादीहरू सन्तोषकुमार सहनी, मोहनकुमार सहनी, दिनेश सहनी, बिजुली सहनी, सुरेश भन्ने श्यामकुमार सहनी, नारायण सहनी र निजले ल्याएका दुईजना भारतीय नागरिकसमेत भई एकापसमा योजना बनाई पूर्वरिसइवी राखी काठमाडौंबाट आउँदा आउँदै बाटैबाट अपहरण गरी, वारदात स्थलमा लगी हातहतियारसमेत प्रयोग गरी धोपी रोपी टाउको छिनाई दुई टुक्रा बनाई एकादशी खोलाको बगिरहेको पानीमा खाल्डो खनी पुरिदिएको भनी किटानी जाहेरी दरखास्त परेको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा एकअर्काका बिच पोल पोलापोल गर्दै मृतक शैल सहनीलाई अपहरण गरी पहिले सर्लाही रामकोट गोठाल स्थित बागमती नदीमा पुर्याई सो ठाउँमा पानी कम भएकोले पुर्न र लास गायब गर्न नसकिने भएकोले आपसी सल्लाह गरी घटनाथल मुचुल्कामा उल्लिखित एकादशी खोलामा ल्याई शरीरबाट टाउको काटी छिनाली फरक फरक ठाउँमा शरीर र टाउको गाडेको भनी एकै मिलानको साबिती बयान भएको देखिन्छ ।
६. सो अपहरण एवम् कर्तव्य गरी ज्यान मार्ने वारदात (Actus Reus) गर्दा गराउँदा प्रतिवादीहरूका आ-आफ्नो प्रकारको पूर्वरिसइवी एवम् आपराधिक मनसाय (Mens rea) के कस्तो रहेछ भन्ने सम्बन्धमा प्रत्येक प्रतिवादीको अवस्था हेर्नुपर्ने देखियो । यी प्रतिवादीहरूको आपराधिक मनसाय (ill intention) तर्फ हेर्दा मोहनकुमार सहनी तथा सुरेश भन्ने श्यामकुमार सहनीको मृतक शैल सहनीसँग उखुको नेटसम्बन्धी कारोबारमा पार्टनरसीप भएकोमा मृतकले प्रतिवादीलाई छोडाई एक्लै कमाउन थालेको पूर्वरिसइवी रहेको देखिन्छ । प्रतिवादी दिनेश सहनीसँग १७।१८ महिना अगाडि मृतक शैल सहनीको ठेक्काको साइट धनगढीमा काम गर्न जाँदा प्रतिवादीको भाइ मुनेश्वरकुमार सहनीको सोही साइटमा मृत्यु भएकोले पूर्वरिसइवी रहेको देखिन्छ । यस्तै प्रकारले मृतकको ठेक्काको साइट धनगढीमा काम गर्न जाँदा निज प्रतिवादीका भाइ मुनेश्वरकुमार सहनीको सोही साइटमा मृत्यु भएकोले र सो साइटमा मर्ने मुनेश्वरकुमार सहनी प्रतिवादी बिजुली सहनीको साढुभाइ भएकोले रिसइवी रहेको भन्ने देखिन्छ । यसै प्रकारले प्रतिवादी सन्तोषकुमार सहनीको मृतक शैल सहनीको बाबु जय किशोर सहनीसँग नारायण सहनीका बिच जग्गासम्बन्धी विवाद भएकोले पूर्वरिसइवी इवीलाग रहे भएको देखिएकोले निज प्रतिवादीहरूको वारदात घटाउनमा आपराधिक मनसाय रहे भएको देखिन आउँछ ।
७. फौजदारी अपराधमा घटित आपराधिक क्रियाकलापको तयारी (Preparation) महत्त्वपूर्ण आयामको रूपमा रहने गर्दछ । कुनै अपराध घटित हुन कसुरदारले आपराधिक मनसाय राखी कसुरजन्य कार्य गर्न आवश्यक क्रियाकलाप अर्थात् तयारी (Preparation) गरेको हुन्छ । प्रस्तुत मुद्दामा फौजदारी अपराध घटित गर्नका चरणका रूपमा तयारीको (Preparation) सम्बन्धमा हेर्दा प्रतिवादीहरूले मृत शैल सहनीलाई मार्न पर्याप्त तयारी गरेको देखिन्छ । प्रतिवादी सन्तोषकुमार सहनीको अनुसन्धान अधिकारीसमक्ष भएको बयान हेर्दा मृतकलाई करिब २ महिना अगाडि नै मार्ने योजना भएको देखिन्छ । पक्राउ परेका सबै प्रतिवादीहरूको अनसुन्धान अधिकारीसमक्ष भएको बयानमा प्रतिवादी मोहन सहनीले फोन सम्पर्क गरी मृतकलाई मिति २०७१।१२।१२ गते काठमाडौंबाट घर बोलाएको देखिन्छ । मृतक र प्रतिवादी मोहन सहनीको फोन सम्पर्क भएको र मृतकले निजकी भाउजू राम दुलारी देवीसँग मिति २०७१।१२।११ गते फोन गरी मोहन घरमा आउँछ मेरो मोटरसाइकल र चाबी मोहनलाई दिएर पठाउनु, मोहनले उखुको पैसा छोडाएर ल्याउँछ भनेकोमा मोहन घरमा नआएको अवस्था
देखिन्छ । मृतक शैल सहनीको चियो (Rekey) गर्ने कार्यमा प्रमुख भूमिका प्रतिवादी मोहन सहनीले निर्वाह गरेको पाइन्छ । प्रतिवादी मोहन सहनीले मृतकलाई मिति २०७१।१२।१२ गते १२ बजेतिर फोन गरेको कुरा अनुसन्धानका क्रममा कागज गर्ने जीवन सहनीले उल्लेख गरेको पाइन्छ । निजै प्रतिवादी मोहन सहनीले मिति २०७१।१२।१२ गते काठमाडौंबाट आउँदै गरेको सूचना दिएको अवस्थालाई प्रतिवादी सन्तोषकुमार सहनीको बयानले समर्थन गर्दछ । निज मृतक काठमाडौंबाट आइरहेको सम्पूर्ण सूचना प्राप्त गरेपछि प्रतिवादी सन्तोषकुमार सहनीले प्रतिवादी मोहनकुमार सहनीसँग बरथहवासम्म बस चढेर दुवैजना आएका र प्रतिवादी नारायण सहनीले ल्याएको मानिसले ल्याएको मोटरसाइकलमा बसी सन्तोषकुमार सहनी, मोहन सहनी, नारायण सहनी र २ जना नाम थाहा नभएका भारतीयसमेत भई शैल सहनीलाई नियन्त्रणमा लिई गएको र प्रतिवादी दिनेश सहनी, प्रतिवादी बिजुली सहनी र सुरेश भन्ने श्यामकुमार सहनीसमेतसँग भेट गरी पहिले रामकोट गोठाल स्थित बागमती नदीमा लगेको र तत् स्थानमा खोलामा पानी कम भएको कारण मृतकलाई मारी शव गायब गर्न कठिन हुने भएकोले पुन: एकादशी खोलामा ल्याएको देखिन्छ । सो स्थानबाट मृतककै मोबाइलबाट निजकी भाउजू राम दुलारी देवीसँग मृतकलाई छोटो कुरा गर्न लगाई स्विच अफ गरेको देखिन्छ । मृतक शैल सहनीले प्रयोग गरेको ९८०४२४६३२६ नम्बरको मोबाइल र प्रतिवादी मोहनकुमार सहनीले प्रयोग गरेको ९८१७४८९२३२ बिच सम्पर्क भएको र प्रतिवादी सन्तोषकुमार सहनीले प्रयोग गरेको ९८१७८३६२१६ र मृतकले प्रयोग गरेको ९८०४२४६३२६ फोनको Call detail समेत मिसिलमा सामेल रहेको र प्रतिवादी मोहनकुमार सहनीको पेन्टको गोजीबाट मोबाइल बरामद भएको र निज प्रतिवादीले उक्त मोबाइल सनाखतसमेत गरेको अवस्था देखिन आउँछ । मृतकलाई मार्न पहिले रामकोट गोठालमा लगेकोमा तत्पश्चात् घटनास्थल रहेको एकादशी खोलामा ल्याई हत्या गरेको देखिन
आउँछ । यसरी निज मृतक काठमाडौंबाट घर आउने, घर आउँदाको बाटोको अवस्था एवम् के कसरी मृतकलाई मार्न कहाँ लानेसमेतका कुरामा सबै प्रतिवादीहरूले एकापसमा मत सल्लाह गरी (Meeting of mind) पहिले चयन गरेको स्थानमा कम पानी भएकाले पत्ता लाग्न सक्ने आँकलन गरी वारदात भएको स्थलमा लगी वीभत्स हत्या गर्ने हर तयारीका क्रियाकलाप सम्पन्न गरेको देखिन्छ ।
८. अब मृतकलाई मार्नमा को कुन प्रतिवादीको संलग्नता रहे भएको पुष्टि हुन्छ वा हुन्न भन्ने विषयमा हेर्दा उपर्युक्त प्रकरणमा उल्लेख भएबमोजिम मृतकलाई मार्नमा प्रतिवादीहरूले आपराधिक मनसाय राखी योजना बनाई तयारीका साथ आपराधिक कार्य (Actus Reus) समेत सम्पन्न गरेको देखिन्छ । उक्त वारदातमा सबै प्रतिवादीहरूको संलग्नता रहेको भनी किटानी जाहेरी पर्नुका साथै जाहेरी बेहोरालाई समर्थन हुने गरी जाहेरवालाको बकपत्र भएको एवम् घटना विवरण कागज गर्ने व्यक्तिहरूले समेत अदालतका समक्षमा घटना स्थल, लास प्रकृतिसमेतको बेहोरा लेखाउने मानिसहरूले समेत सो वारदातमा आरोपित प्रतिवादीहरूको संलग्नता देखाउँदै बकपत्र गरेको पाइन्छ । प्रतिवादीहरूले अदालतमा आरोपित कसुर नगरेको भनी इन्कार भई बयान गरे तापनि अनुसन्धानका बखत निज प्रतिवादीहरूले एर्काको संलग्नता देखाई बयान गरेको र आरोपित कसुरमा साबित भई बयान गरेको देखिन्छ । प्रतिवादीहरूको अनुसन्धानका अवस्थामा गरेको बयानका सम्बन्धमा निजहरूको बेहोराको प्रामाणिक अवस्था हेर्दा प्रमाण ऐन, २०३१ को दफा ९(१) बमोजिम मुद्दामा कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था गर्दै ऐ. उपदफा (२) को खण्ड क(२) मा फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएका अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा “निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन” भन्ने अवस्था तथ्यगत र तार्कित (Fact based and logical) रूपमा समर्थित भएमा स्वीकारयोग्य प्रमाणको रूपमा ग्रहण गर्न सकिने अवस्था रहन्छ ।
९. प्रस्तुत मुद्दामा प्रतिवादीहरूको अनुसन्धानका बखत भएको साबिती बयान ग्रहणयोग्य प्रमाण हो वा होइन (Admissible evidence or not) भन्ने सम्बन्धमा हेर्दा प्रतिवादीहरूले अनुसन्धानका बखत आफूलाई यातना दिई स्वेच्छाविपरीत बयान गराएको भनी पटकपटक अदालतमा म्याद थप हुँदाका बखत यातना सम्बन्धमा कुनै उजुर वाजुर गरेको देखिँदैन । वारदात स्थलको अवस्था हेर्दा मृतकलाई मारी टाउको र शरीर छुट्याएको र मृतकले लगाएको कपडासमेत खोली पोको पारी एकादशी खोलाको दबदबे हिलोमा खाडल खनी पुरी छुपाएको देखिन्छ । सो शव खोलाको पानी धारको दबदबे हिलोमा खाडल खनी दबाएको र प्रतिवादीहरूले नै मृतकको लास गाडेको ठाउँ देखाएको पाइन्छ । उक्त घटानस्थलमा लासको शरीरबाट छुट्याइएको टाउको करिब २० मिटरको दुरीमा बरामद भएको पाइन्छ भने मृतकले लगाएको कपडाहरू लास रहेभन्दा १३ फिट उत्तरतर्फ खाडल खनी गाडिएको स्थानबाट बरामद भएको देखिन्छ । मिसिल संलग्न फोटो चित्रहरूबाट मृतकको शरीर, मृतकको टाउको र मृतकले लगाएका कपडाहरू फरक फरक स्थानबाट खोलाको पानीको दबदबे हिलोमा गाडी लुकाए छिपाएको अवस्थामा बरामद भएको र सो स्थानको पहिचान निजै प्रतिवादीहरूबाट खुल्न आएको पाइन्छ । निज प्रतिवादीहरूले लासको टाउको, मृतकको कपडा दबदबे हिलोमा कसैले थाहा जानकारी नपाउने गरी खाल्डो खनी पुरेको स्थितिमा प्रतिवादीहरूले नै तत् स्थानहरूको पहिचान नगराएको भए लास बरामद हुन नै कठिन हुने देखिन आउँछ । यसरी निज प्रतिवादीहरूले नै मृतकको लास, टाउको एवम् कपडा गाडी लुकाए छिपाएको कुरा अभिव्यक्त गरेको सन्दर्भसमेतबाट निजहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरा स्वेच्छापूर्वक साबिती (Volunteer confession) भएको भन्ने सम्पुष्टि हुन आउँछ ।
१०. अनुसन्धान तहकिकातको सिलसिलामा प्रतिवादीबाट भएको साबिती बयान र अदालतमा इन्कारी रहेको सम्बन्धमा सर्वोच्च अदालतबाट पर्याप्त मुद्दाहरूमा व्याख्या भई दिशा निर्देश गरेको
पाइन्छ । प्रतिवादीले अदालतमा गरेको कसुरमा इन्कारी बयान पनि तथ्य आधार प्रमाणबाट पुष्टि हुनुपर्दछ भनी मोतीबहादुर आले मगर वि. नेपाल सरकार (स.अ. बुलेटिन वर्ष ६ अङ्क ३ पृ. २३) को मुद्दामा व्याख्या भएको पाइन्छ । बरामदी मुचुल्कामा देखाएको कोदालो, खुर्पा, डोकोसमेत प्रतिवादीले देखाएको स्थानबाट बरामद भएको । स्थितिमा प्रतिवादीले अदालतमा इन्कारी बयान गरे पनि प्रमाणमा लिनुपर्ने भनी बालानन्द दाहाल वि. नेपाल सरकार (स.अ. बुलेटिन वर्ष ६ अङ्क ९ पृ. २३) को मुद्दामा सिद्धान्त प्रतिपादित भएको देखिन्छ । त्यस्तै प्रकारले लखन यादवसमेत वि. नेपाल सरकार भएको ज्यान मुद्दामा (स.अ. बुलेटिन, वर्ष ५ अङ्क ७ पृ. ६) मा आरोपितहरूको अदालतमा इन्कारी बयान भए तापनि आरोपितहरूको अनुसन्धानमा भएको साबिती बयानलाई घटनास्थल प्रकृति मुचुल्का, लासजाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनबाट समेत समर्थन भएको स्थितिमा त्यस्तो अनुसन्धानमा भएको साबिती बयानलाई प्रमाणको रूपमा ग्रहण गरी कसुर ठहर गरिएको पाइन्छ । अभियोग लागी कसुर ठहर भएमा सजाय भोग्नुपर्ने भएकोले आरोपीत व्यक्तिहरूले अदालतसमक्ष कसुर नगरेको भनी कसुरमा इन्कार भई बयान गर्नु, सजायबाट बच्न प्रयत्न गर्नु मुद्दा मामिलामा स्वाभाविकै प्रवृत्तिको मान्नुपर्ने हुन्छ । नेपालको प्रचलित फौजदारी न्याय प्रक्रियामा आरोपित व्यक्तिले अनुसन्धान अधिकारीसमक्ष अनुसन्धान तहकिकातका बखतमा बयान हुने र अदालतमा अभियोग पत्र दायर भएपछि अदालतमा पनि बयान लिने कार्य हुने गर्दछ । बयान लिने कार्यको सिलसिलामा आरोपित व्यक्तिले कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गर्ने र अदालतमा इन्कार रही बयान गर्ने वा अनुसन्धान अधिकारी तथा अदालत दुवै ठाउँमा कसुर स्वीकार गरी बयान गर्ने वा दुवै ठाउँमा इन्कार रही बयान गर्ने कार्य गरेको यत्रतत्र मुद्दाहरूमा देखिन
आउँछन् । अन्य ठोस प्रमाण एवं तथ्यले समर्पित नगरेको स्थितिमा फगत बयानको आधारमा मात्र कसुर ठहर नगरिएका पर्याप्त मुद्दाका उदाहरण रहे भएका पनि छन् । मूलत: आरोपित व्यक्तिले अनुसन्धानका बखत वा अदालतमा गरेका साबिती वा इन्कारी बयानलाई अन्य तथ्यहरूले समर्थन गरेको छ, छैन? आरोपित व्यक्तिले गरेको बयानमा खुलाएका घटनाका श्रृङ्खला तत् मुद्दासँगको सान्निध्यता, बयान बेहोरा पत्यारलायक छन् छैनन् भन्ने वस्तुगत अवस्था (Objective Test) समेतका समग्र अवस्थाको मूल्याङ्कन र विश्लेषण गरी आरोपित व्यक्तिले गरेको अनुसन्धान अधिकारी वा अदालतसमक्ष गरेको बयानको सच्चाई पत्ता लगाएको हुन्छ । अतएव: आरोपित व्यक्तिले अदालतमा इन्कार रही बयान गरेको वा अदालतमा पनि साबित रहेको भन्ने मात्रको आधारमा अदालत निष्कर्षमा पुग्न
सक्दैन । साबिती होस् वा इन्कारी बयान होस् अन्य तथ्यहरूले समर्थन र सम्पुष्टि आवश्यकीय सर्त रहने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अदालतमा इन्कार रही बयान गरेको भन्ने पुनरावेदन जिकिर लिएको भए तापनि माथि विश्लेषण गरिएको तमाम तथ्यहरूले प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई समर्थन गरेकोले निजहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ग्राह्य प्रमाण (Admissible Evidence) रहे भएको देखिन्छ ।
११. अब प्रतिवादीहरूले आफ्नो पुनरावेदन जिकिरमा एउटै हतियार प्रयोग भएकोले समान रूपमा समूहगत अपराध गरेको पुष्टि नभएको भनी जिकिर लिएको देखिन आएको छ । सो सम्बन्धमा हेर्दा, मृतकको लासजाँच गर्ने चिकित्सक डा. विजयकुमार शाहले अदालतसमक्ष बकपत्र गर्दा मृतकको लास पोष्टमार्टम गर्दा मृतकको शरीरबाट टाउको धारिलो हतियारले काटेर दुई टुक्रा पारिएको पाइयो । चोट घाँटीमा थियो । लासको शरीरबाट टाउको छुट्टिएको थियो । मृतकको पेटमा तीनवटा धारिलो वस्तुले काटेको चोट थियो भनी लास जाँच प्रतिवेदनलाई समर्थित हुने गरी बकपत्र बेहोरामा खुलाएको देखिन आउँछ । मृतक शरीरमा धारिलो हतियारको चोट भएको टाउको छुट्टयाई भिन्न स्थानमा रहेकोसमेतको अवस्था मिसिल संलग्न फोटो चित्रसमेतबाट
देखिन्छ । मृतक शैल सहनी २४ वर्षको हट्टाकट्टा व्यक्ति रहेको देखिन्छ । निजलाई अपहरण गरी हत्या गरिएको देखिन्छ । निजलाई पहिले रामकोट गोठाल र त्यसपछि पुन: फरक ठाउँ एकादशी खोलामा लगी हत्या गरिएको देखिन्छ । मृतकलाई पुन: वारदातस्थल ल्याएपछि मृतककै मोबाइलबाट निजको घरमा फोन सम्पर्क गराई भाउजू मोटरसाइकल पठाइदिनु भन्नासाथ लोकेसन भन्न नपाउँदै मोबाइल खोसी मृतकलाई सबैजना मिली समाई नारायण सहनीले मृतकको पेटसमेतका अङ्गहरूमा खुकुरीले प्रहार गरी घाइते बनाएपछि मृतक चल्न छटपटाउन थालेकाले भारतीय नागरिकहरूले सो खुकुरी लिई मृतकको घाँटी रेटी काटी छिनाली दुई टुक्रा पारेको भन्ने देखिन्छ । यसरी निजलाई काठमाडौंबाट बरथहवादेखि रामकोट गोठाल र रामकोट गोठालबाट एकादशी खोलामा लाँदाका समग्र अवस्था हेर्दा प्रतिवादीहरूको सामूहिक सहभागितामा नै वारदात स्थलमा लान सम्भव भएको देखिन्छ । निज प्रतिवादीहरूले अनुसन्धान तहकिकातमा बयान गर्दा पनि कसैले हात, कसैले खुट्टा समातेको, कसैले चोट प्रहार छोडेकोसमेतका सामूहिक संलग्नताको अवस्था देखाउँदै बयान बेहोरामा खुलाएको
देखिन्छ । मृतकको शवको लास प्रकृति मुचुल्कामा उल्लिखित अवस्थाबाहेक अतिरिक्त अवस्था हेर्दा पनि मृतकको पाखुराको भित्रपट्टिको भागमा निलो कालो दाग रहेको, दायाँ हातको पाखुरामा ५/३ इञ्चको सर्कल गोलो आकारको घाउ रहेको, सोही हातको साहिली औंला र कान्छी औंला भाँचिएको जस्तो देखिएको अवस्थाबाट अभियोगपत्रमा उल्लेख गरे जस्तै कसैले हात समाउने कार्य गरेको स्थापित हुन्छ । त्यस्तै प्रकारले छातीमुनि पेटको दायाँ भागमा छड्के भई काटिएको, नाइटोदेखि माथि पेटको बायाँ भागमा पनि काटेको जस्तो तेर्सो धर्का भएको, पेटको तल्लो भागमा धारिलो हतियारले घोपेको जस्तो घाउ भई आन्द्रा भुँडी निस्केको, अण्डकोश सुनिएको समेतका घाउ चोट देखिएकोले सो अवस्थाले पनि प्रतिवादीहरूले सामूहिक रूपमा नै मृतकको ज्यान लिएको भन्ने सम्पुष्टि भइरहेकोले पुनरावेदक प्रतिवादीहरूको एउटै हतियार प्रयोग भएको र आफू संलग्न नभएको भन्ने पुनरावेदन जिकिर पुष्टि हुन सकेको देखिँदैन ।
१२. यसरी प्रतिवादीहरूले मृतकलाई अपरहण गरी एकादशी खोलामा लगी मृतकको हात खुट्टा समाई चल्न चटपटाउन नदिई पल्टाई छाती र हात खुट्टामा टेकी मार्न सबै प्रतिवादीहरू सामूहिक रूपमा संलग्न भई धारिलो हतियारले पेटलगायत शरीरको विभिन्न भागमा प्रहार गरेपछि घाँटी छिनाली हत्या गरेको कुरा शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, जाहेरवालाको किटानी जाहेरी, घटना विवरण कागज गर्ने व्यक्तिहरूले मौकामा व्यक्त गरेको भनाइलाई अदालतमा आई बकपत्र गरी समर्थन गरिदिएको समेतको आधारमा प्रतिवादीहरूले मृतकलाई कर्तव्य गरी मारी प्रतिवादीहरूले सोही मलहको १ र १३(४) नं. बमोजिमको कसुर अपराध गरेको कुरा तथ्य प्रमाणबाट शङ्कारहित तवरबाट (Beyound Reusonable doubt) पुष्टि हुन आएको देखिँदा मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ७ नं. र मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(४) नं. को कसुरमा प्रतिवादीहरूलाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्षका दरले कैद र रू. ५०,०००।- का दरले जरिवाना एवं सोही ७ नं. बमोजिम थप २ वर्षका दरले कैद सजाय हुने र ऐ. ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजायसमेत हुने ठहर्याउनुको साथै प्रतिवादीहरू सन्तोष सहनी, मोहनकुमार सहनी, श्यामकुमार सहनी, दिनेश सहनी र विजुली सहनीबाट रू. ५०,०००।- का दरले पीडितको परिवारले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्याई सुरू सर्लाही जिल्ला अदालतले मिति २०७५।३।२५ मा गरेको फैसलालाई सदर गरेको उच्च अदालत जनकपुरको फैसलालाई अन्यथा मान्न मिलेन । त्यस्तै प्रतिवादी सन्तोषकुमार सहनीको हकमा साधक जाँचको लागि पेस भएकोमा पनि उच्च अदालत जनकपुरको फैसला मिलेकै देखिन आयो ।
१३. तसर्थ, माथि विवेचित आधार र कारणहरूबाट प्रतिवादीहरूलाई मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्षका दरले कैद र रू. ५०,०००।- का दरले जरिवाना एवं सोही महलको ७ नं. बमोजिम थप २ वर्षका दरले कैद गरी ऐ. ऐन ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजायसमेत हुने र प्रतिवादीहरूबाट रू. ५०,०००।- का दरले पीडितको परिवारले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्याई सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७५।३।२५ मा भएको फैसलालाई सदर गरेको उच्च अदालत जनकपुरको मिति २०७६।३।२५ को फैसलासमेत मिलेको देखिँदा सदर हुने ठहर्छ । सो फैसला उल्टी बदर गरिपाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीयप्रति अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. बमकुमार श्रेष्ठ
इजलास अधिकृत : मुकुन्द निरौला
इति संवत् २०७९ साल आषाढ १४ गते रोज ३ शुभम् ।