निर्णय नं. ११०९२ - बहुविवाह
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
फैसला मिति: २०७८।१२।१५
०७२-CR-०२९७
मुद्दा : बहुविवाह
पुनरावेदक/वादी: मधुमाया बगालेको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी: लमजुङ जिल्ला, सिम्पानी गाउँ विकास समिति वडा नं. ४ बस्ने खड्कबहादुर थापाको छोरा गोपालबहादुर थापा भन्ने गोपालबहादुर बगालेसमेत
कुन काम वा क्रियालाई फौजदारी कसुर भनी मान्नुपर्ने, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरिसक्नुपर्ने भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने । यी सबै विधायिकी कार्यक्षेत्र (legislative function) भित्रका कुरा हुने । ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागु गर्नुपर्ने ।
(प्रकरण नं.५)
कुनै पनि व्यक्तिलाई कानूनले दिएको अधिकार वा सुविधालाई तथ्य ढाँटी दुरूपयोग गर्ने छुट नहुने । आफूलाई थाहा जानकारी भएको र नेपाल सरकार मातहतकै कार्यालयमै गई सम्बन्ध स्वीकार गरी मिलापत्र गरेको तथ्य ढाँटी लुकाई सरकारी संयन्त्रलाई क्रियाशील बनाउनु राज्यको स्रोत साधनको दुरूपयोग मान्नुपर्ने ।
(प्रकरण नं.६)
पुनरावेदक/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री भिमबहादुर गुरूङ र श्री गणेशमान प्रधान
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले
अवलम्बित नजिर:
ने.का.प २०६८, नि.नं. ८७१६, अङ्क ११
ने.का.प. २०६३, नि.नं. ७६९४, पृ. ५५४
सम्बद्ध कानून:
सुरू तहमा फैसला गर्नेः
मा.जि.न्या.श्री दिपकराज पन्त
लमजुङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.मु.न्या.श्री डम्बरबहादुर शाही
मा.न्या.श्री श्रीमणकुमार गौतम
पुनरावेदन अदालत पोखरा
फैसला
न्या. अनिलकुमार सिन्हा: पुनरावेदन अदालत पोखराको मिति २०७१।१०।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आई यस अदालतको मिति २०७२।४।७ को आदेशले दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः-
तथ्य खण्ड
जिल्ला लमजुङ, सिम्पानी गाउँ विकास समिति वडा नं ४ बस्ने गोपालबहादुर बगालेसँग २०४१ सालमा मेरो प्रेमविवाह भई २ छोरी र १ छोराको जन्मसमेत भइसकेको छ । छोराछोरी जन्मेपछि विपक्षी पतिले मलाई अपहेलना गरी झुठ्ठा धनमाल मुद्दासमेत दिई घरमा खान लगाउनसमेत नदिएकाले म २०५० सालदेखि हालसम्म माइतीको शरणमा छु । विपक्षी पति नेपाली सेनामा जागिरे हुँदा छोराछोरीको खान लगाउन शिक्षा दीक्षाको कुरा गर्दा आलटाल गर्दै आउनुभएकोमा सेवाबाट निवृत्त भएपछि कुनै किसिमको वास्ता नगरी रोजगारको लागि विदेश जानुभएकोमा निज पति घरमा आएको समयमा कुनै किसिमको वास्ता नगरी बस्नुभएकोले निजको व्यवहारमा शंका मानी बुझ्दै जाँदा विपक्षी पतिले जिल्ला लमजुङ, चिती गाउँ विकास समिति वडा नं. ५ कार्की डाँडा बस्ने फणिकबहादुर जोशीको छोरी गीता बगालेलाई विवाह गरी श्रीमती बनाई पोखरातर्फ डेरा कोठा लिई राख्दै आएको कुरा मिति २०७०।४।२ गते विपक्षी पतिको घरमा गई बुझ्दा थाहा हुन आएको हुँदा घरमा श्रीमती तथा छोराछोरी हुँदाहुँदै दोस्रो विवाह गर्ने तथा विवाहितसँग विवाह गरी आउने प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मधुमाया बगालेको जाहेरी दरखास्त ।
गोपालबहादुर बगाले मेरो जेठो छोरा
हुन् । निज छोराको करिब ३० वर्षअगाडि जाहेरवाली मधुमाया बगालेसँग विवाह भई २ छोरी १ छोराको जन्म भएको छ । छोरा बुहारीबिच करिब १६।१७ वर्षअगाडि मनमुटाव भई अलग बसेको अवस्थामा छोरा गोपालबहादुरले चिती गाउँ विकास समिति वडा नं. ५ बस्ने गीता बगालेसँग दोस्रो विवाह गरी पोखरातर्फ बस्दै आएका छन् । निज गीता बगालेबाट ३ सन्तानको जायजन्मसमेत भएको छ भन्नेसमेत बेहोराको खड्कबहादुर बगालेको घटना विवरण
कागज ।
जाहेरवाली मधुमाया मेरो दिदी
हुन् । निजको गोपालबहादुर बगालेसँग प्रेम विवाह भई ३ भान्जा भान्जीको समेत जन्म भएको छ । बालबच्चाको जन्म भएपछि प्रतिवादी गोपालबहादुर बगालेले जाहेरवालीलाई हेलाहोचो गर्दै आएपछि घर परिवारसमेतले घरमा बस्ने वातावरण नबनाएपछि जाहेरवाली माइतीको शरणमा नै बस्दै आउनुभएको थियो । गोपालबहादुर नेपाली सेनामा कार्यरत रहेकाले धेरैजस्तो समय घरबाहिर नै बस्दै आएका थिए भने जागिरबाट अवकाश लिएपछि रोजगारीको लागि विदेशतर्फ गएका हुँदा निजको आनीबानी थाहा
भएन । बिदामा घरमा आएको बखतसमेत जाहेरवालीलाई वास्ता नगर्ने हुँदा निजको व्यवहारमा शंका लागी बुझ्दै जाँदा चिती ५ बस्ने गीता भन्ने युवतीसँग विवाह गरी पोखरातर्फ डेरा लिई राख्दै आएको भन्ने थाहा पाई जाहेरवालीको घरपरिवारसँग सोधपुछ गर्दा प्रतिवादी गोपालबहादुरले बहुविवाह गरी १ बच्चासमेतको जन्म भइसकेको बुझिन आएको हुँदा कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको रामबहादुर भण्डारीको घटना विवरण कागज ।
जाहेरवालीको गोपालबहादुर बगालेसँग विवाह भई ३ बालबच्चासमेतको जन्म भएको छ । प्रतिवादी गोपालबहादुर नेपाली सेनामा कार्यरत रहेका हुँदा धेरै जस्तो समय घरबाहिर नै बिताउने हुँदा जाहेरवालीले बालबच्चा हुर्काउँदै आएकी थिइन् । जाहेरवालीको बच्चा जन्मिएपछि घरपरिवारले हेला गर्दै खान लगाउनसमेत नदिई बेवास्ता गर्दै आएका थिए । यस्तैमा सेनाबाट अवकाश लिएपछि रोजगारीको लागि विदेश गएका गोपालबहादुरले समेत जाहेरवालीलाई बेवास्ता गर्न थालेपछि बुझ्दै जाँदा प्रतिवादी गोपालबहादुरले चिती-५ माइतीघर भएकी गीतासँग दोस्रो विवाह गरी श्रीमती बनाई पोखरामा डेरा लिई राखी निजहरूबाट बच्चासमेतको जन्म भएको भन्ने बुझिन आएको हुँदा घरमा श्रीमती तथा छोराछोरीसमेत हुँदाहुँदै बहुविवाह गर्ने प्रतिवादीहरूउपर कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको पार्वती भण्डारीको घटना विवरण कागज ।
जाहेरवाली र प्रतिवादी गोपालबहादुरको धार्मिक परम्पराअनुसार विवाह भई बालबच्चासमेतको जन्म भएको अवस्थामा पछिल्लो बच्चा जन्मिएपछि घर परिवारले हेला गर्दै आएका भए तापनि जाहेरवाली घरमा नै बस्दै आएकी थिइन् । गोपालबहादुर नेपाली सेनामा जागिरे भएका हुँदा लामो समयसम्म जाहेरवालीसँग नबसी घर बाहिर नै समय बिताएका र सेवाबाट अवकाश भएपछि पोखरातर्फ डेरा कोठा लिई बस्दै आएकोमा अर्को श्रीमती राख्दै आएको भन्ने गाउँघरमा सुन्दै आएकोमा बुझ्दा चिती गाउँ विकास समितिअन्तर्गत घर भएकी जोशी थरकी युवतीसँग प्रेमविवाह गरी पोखरामा डेरा कोठा लिई श्रीमती बनाई राख्दै आएको भन्ने सुनी थाहा पाएको हुँ । यसरी घरमा श्रीमती तथा छोराछोरीसमेत हुँदाहुँदै प्रतिवादी गोपालबहादुर बगालेले अर्को विवाह गरेको र घरमा श्रीमती छ भन्ने जानी बुझी कान्छी श्रीमती बन्न आउने निज गोपालकी कान्छी श्रीमतीलाई समेत कानूनअनुसार कारबाही होस् भन्नेसमेत बेहोराको बमबहादुर थापाको घटना विवरण कागज ।
प्रतिवादी गोपालबहादुर बगाले नेपाली सेनामा जागिरे भएको समयमा मेरो बहिनी गीताले करिब १८ वर्षअगाडि प्रेमविवाह गरेकी हुन् । विवाह गरेपछि करिब १० वर्षजति निज बहिनी गीता पतिकै घरमा बसी एउटा बच्चाको जन्म भएपछि पोखरामा डेरा लिई बस्दै आएकी हुन् । निज बहिनी र गोपालबहादुरबिच प्रेम सम्बन्ध रही विवाह गरेका हुँदा घरमा अन्य कोही कसैले विवाह गर्न मद्दत गरेका होइनन् । जाहेरवाली आफ्नो पतिलाई छोडी अन्यत्र गएको भन्ने थाहा पाएपछि बहिनी गीता र गोपालबहादुरबिचको प्रेम सम्बन्धलाई हामीहरूसमेतले स्वीकृति दिएका हौँ । हाल रोजगारीको निमित्त ज्वाइँ गोपालबहादुर विदेशमा गएका छन् भने बहिनी पोखरातर्फ बस्दै आएकी छिन भन्नेसमेत बेहोराको कल्पना थापाको घटना विवरण कागज ।
प्रतिवादी गोपालबहादुर बगालेले घरमा श्रीमती तथा छोरा छोरीसमेत हुँदाहुँदै आफू जागिर गरिरहेको अवस्थामा बहुविवाह गरी डेराकोठामा श्रीमती राखेको भन्ने सुनी थाहा पाएका हौँ । यसरी बहुविवाह गर्ने प्रतिवादीहरूउपर कानूनअनुसार होस् भन्नेसमेत बेहोराको बाबुराम भण्डारीसमेतले खुलाई लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी गोपालबहादुर थापा भन्ने गोपालबहादुर बगालेले घरमा श्रीमती तथा ३ छोराछोरीसमेत हुँदाहुँदै आफू रोजगारीको लागि घरबाहिर रहेको अवस्थामा गीता जोशीसँग दोस्रो विवाह गरी श्रीमती बनाई डेरा कोठामा राखेको देखिँदा निजको उक्त कार्य मुलुकी ऐन, विहावारीको महलको ९ र ९(क) नं. विपरीत कसुर अपराध र अर्का प्रतिवादी गीता बगालेले विवाहित पुरूष गोपालबहादुरसँग प्रेमसम्बन्ध राखी विवाह गरेको देखिँदा निजको उक्त कार्य मुलुकी ऐन, विहावारी महलको नं ९, ९ (क), र १० नं. विपरीतको कसुर अपराध गरेको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन विहावारीको महलको १० नं.बमोजिम सजाय हुन मागदाबी लिएको अभियोग पत्र ।
मिति २०५२।१।२२ गते गोपालबहादुर बगालेसँग मेरो प्रेम विवाह भएको हो । निजको पहिला विवाह भइसकेको कुरा मलाई थाहा नभएको हुँदा निजसँग माइतीघरबाट नै परम्पराअनुसार विवाह भएको हो । २०५३ सालमा सिम्पानी गाउँ विकास समितिबाट विवाह दर्तासमेत भएको छ । विवाह भई घरमा जाँदा जेठीलाई देखिनँ । पछि मात्रै जेठी छन् भन्ने कुरा थाहा पाएकी हुँ । मिति २०५३।८।२० मा जेठी छोरी पूजा थापा, मिति २०५७।९।२० मा छोरा पुकार थापा र मिति २०६०।७।२९ मा कान्छी छोरी प्रकृति थापाको जन्म भई गाउँ विकास समितिबाट जन्मदर्तासमेत भएको छ । मिति २०५५।६।३० मा मैले गोपालबहादुर बगालेलाई पति कायम गरी जिल्ला प्रशासन कार्यालय लमजुङबाट नागरिकतासमेत लिएको र जेठी छोरी पूजा थापाको समेत मिति २०७०।६।२२ मा नागरिकता लिइसकेको हुँदा निज जाहेरवालीलाई २०५२ सालमा हामीहरूको विवाह भइसकेको कुरा पहिले नै थाहा थियो भन्नेसमेत बेहोराको प्रतिवादी गीता थापाले सुरू अदालतमा गरेको बयान ।
अर्का प्रतिवादी गोपालबहादुर बगालेको हकमा यस अदालतबाट जारी भएको ३० दिने समाह्वान म्याद मिति २०७०।८।२२ मा घर ढोकामा टाँस भई तामेल भएकोमा म्यादभित्र यस अदालतमा हाजिर नभई म्यादै गुजारी बसेका रहेछन् ।
मौकामा कागज गर्ने कल्पना थापा, पार्वती भण्डारी, रामबहादुर भण्डारी, बाबुराम भण्डारी, मिठी भण्डारी र जाहेरवाली मधुमाया बगालेसमेतको बकपत्र र प्रतिवादीका साक्षी पुरूषोत्तम सिलवाल, गीता थापा र सुरेश कान्त जोशीसमेतको बकपत्र मिसिल सामेल रहेछ ।
यी प्रतिवादीहरूले २०५२ सालमा विवाह गरी छोरा छोरीको जन्म भई जन्मदर्ता भइसकेको अवस्थामा मिति २०७०।४।२ गते थाहा पाएको भनी दिएको जाहेरी दरखास्तबाट मुद्दाको सुरूआत भई दायर हुन आएको अभियोग मुलुकी ऐन, बकपत्र विहावारी महलको ११ नं.बमोजिम हदम्यादभित्रको नभई हदम्याद नाघी दायर भएको देखिँदा हदम्यादका अभावमा प्रस्तुत अभियोग दाबी मु.ऐन अ.बं. १८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू लमजुङ जिल्ला अदालतबाट मिति २०७१।३।११ मा भएको फैसला ।
सुरूको फैसलामा चित्त बुझेन । प्रतिवादीहरू गोपालबहादुर बगाले र गिता बगालेले कानूनले निषेध गरेको बहुविवाहको कसुर गरेको अवस्थामा सुरू लमजुङ जिल्ला अदालतबाट हदम्याद नाघी दायर भएको भनी अ.बं. १८० नं.बमोजिम खारेज हुने ठहर्याएको फैसला त्रूटिपूर्ण एवं बदरभागी हुँदा बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुन सादर अनुरोध छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रतिवादीहरूबिच २०५२ सालमा विवाह भई छोरा छोरीहरूको जाय जन्म भई निजहरूको जन्म दर्तासमेत भइसकेको अवस्थामा मिति २०७०।४।२ मा प्रत्यर्थी प्रतिवादीले विवाह गरेको थाहा पाएको भनी प्रत्यर्थी प्रतिवादी गोपालबहादुर बगालेकी श्रीमती मधुमाया बगालेले दिएको जाहेरी दरखास्तबाट मुद्दाको सुरूवात भई दायर हुन आएको अभियोग मुलुकी ऐन, विहावारीको महलको ११ नं.बमोजिम हदम्यादभित्रको नभई हदम्याद नाघी दायर भएको देखिँदा हदम्यादका अभावमा अभियोग दाबी अ.बं. १८० नं.बमोजिम खारेज हुने ठहर्याएको सुरूको फैसलालाई अन्यथा मान्न सकिएन । अतः सुरू लमजुङ जिल्ला अदालतबाट मिति २०७१।३।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत पोखराको मिति २०७१।१०।२१ को फैसला ।
प्रतिवादी गोपालबहादुरले प्रतिवादी गिता बगालेलाई २०५२।१।२२ मा विवाह गरी ०५३ सालमा विवाह दर्ता गराएको र २०५५ सालमा प्रतिवादी गोपालबहादुर बगालेलाई पति स्वीकार गरी गिता बगालेले नागरिकता लिएको साथै ०६१ सालमा जेठी श्रीमतीसँग भएको मिलापत्र कागजबाट समेत जोहरवालीलाई प्रतिवादी गोपालबहादुरले बहुविवाह गरेको भन्ने प्रतिवादीको जिकिरअनुसार त्यसबेला नै जाहेरवालीलाई बहुविवाह गरेको कुरा थाहा जानकारी भइसकेको हुँदा हदम्याद नघाई दायर भएकोले मुद्दा खारेज हुने भन्ने फैसला बुँदा रहेको छ । बहुविवाहमा मुद्दा दायर गर्ने हदम्यादबारे मुलुकी ऐन विहावारीको महलको ११ नं. लाई हेर्दा “...अरूमा थाहा पाएको मितिले ३ महिनाभित्र नालेस नदिए लाग्न सक्दैन” भनिएको पाइन्छ । कानूनी प्रावधानअनसार उजुर गर्नलाई थाहा पाएको मिति प्रतिवादीले भनेअनुसार कायम हुने हो, वा जाहेरवालीले थाहा पाएको भनेको मिति वा अनुसन्धान गर्ने निकायले (जाहेरी दर्ता भएको) थाहा पाएको मिति कायम हुने हो ? भन्ने सम्बन्धमा विवेचना हुनुपर्ने अवस्था छ । वादी नेपाल सरकार प्रतिवादी दिपक पाण्डे भएको मुद्दामा (ने.का.प. २०६६ अङ्क ५, नि.नं. ७६९४) “सरकार वादी हुने मुद्दामा थाहा पाएको मितिबाट ऐनको हदम्याद सुरू हुने वारदातका सम्बन्धमा वादीले कहिले थाहा पायो सो नै हेर्नुपर्ने ... जाहेरवालाले थाहा पाएको मितिलाई नै वादीले स्वतः थाहा पाएको भनी अनुमान गर्न नमिल्ने...” भनी सिद्धान्त कायम भएको छ भने, वादी नेपाल सरकार प्रतिवादी गोकुलबहादुर अधिकारीसमेत भएको बहुविवाह मुद्दामा (सर्वोच्च अदालत बुलेटिन २०६८ पुस) मा पनि वादीले थाहा पाएको मितिलाई नै हदम्याद प्रयोजनका लागि कायम गरिने जाहेरवालीले थाहा पाएको मितिबाट हदम्याद गणना नहुने भन्दै हदम्यादको अभाव देखाई अभियोग दाबी खारेज गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला सम्मानित अदालतबाट बदर गरिदिएको देखिन्छ । यसबाट जाहेरवालीले थाहा पाएको मितिबाट ३ महिनाको हदम्याद नाघेको भनी अभियोगदाबी खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसला विहावारी महलको ११ नं. तथा उक्त प्रतिपादित नजिरअनुरूप नहुँदा त्रूटिपूर्ण भई बदरभागी छ । यसरी जाहेरी परेको मितिले ३ महिनाभित्रै मुद्दा दायर भएकोमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हदम्याद नाघी दायर भएको भनी खारेज गरेको सुरू जिल्ला अदालतको फैसलामा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रयोग पालनामा गम्भीर त्रूटि हुन गएको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट पेस हुन आएको मुद्दा दोहोर्याई हेरिपाउँ भनी पेस हुन आएको निवेदन ।
यसमा प्रतिवादीहरूले बहुविवाह गरेको भन्ने कुरा जाहेरवालीले पहिल्यै थाहा पाएको अवस्थामा अभियोगपत्र हदम्यादभित्र दायर हुन नआएको भनी अभियोग दाबी खारेज हुने ठहर गरी पुनरावेदन अदालत पोखराले फैसला गरेको
देखिन्छ । बहुविवाह मुद्दा सरकारवादी भई चल्ने मुद्दा भएकोले जाहेरवालीले थाहा पाएको मितिबाट हदम्याद कायम हुने नभई सरकारले थाहा पाएको मितिबाट हदम्याद कायम हुने हुँदा पुनरावेदन अदालत पोखराको मिति २०७१।१०।२१ को फैसलामा विहावारीको महलको ११ नं. र ने.का.प. २०६३, अङ्क ५, नि.नं. ७६९४, पृष्ठ ५५४, दीपक पाण्डे विरूद्ध नेपाल सरकार भएको बहुविवाह मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) समेतको आधारमा प्रस्तुत मुद्दा दोहोयाई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने बेहोराको यस अदालतको मिति २०७२।४।७ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भिमबहादुर गुरूङ र श्री गणेशमान प्रधानले यी प्रतिवादीहरूका मिति २०५३।८।२० मा जेठी छोरी, मिति २०५७।९।२० मा छोरा र मिति २०६०।७।२९ मा कान्छी छोरीको जन्म भई गाउँ विकास समितिमा जन्म दर्तासमेत भएको र गोपालबहादुर बगालेसँग २०५२ सालमा विवाह गरेको कुरा जाहेरवालीलाई पहिले नै स्पष्ट थाहा जानकारी भएकोमा अभियोग मागदाबीबमोजिम खारेज गरिपाउँ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्लेले प्रतिवादी गोपालबहादुर थापा भन्ने गोपालबहादुर बगालेले अधिकारप्राप्त अधिकारी एवं अदालतमा आई गरेको बयानमा घरमा अर्की श्रीमती हुँदाहुँदै गिता बगालेलाई विवाह गरेको हुँ भनी कसुरमा साबित रहेका छन् । त्यसैगरी प्रतिवादीमध्येकी गिता बगालेले समेत अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा आफूले गोपालबहादुर थापा भन्ने गोपालबहादुर बगालेसँग दोस्रो विवाह गरेको भनी कसुर स्वीकार गरेकी
छन् । प्रतिवादी दीपक पाण्डे विरूद्ध वादी नेपाल सरकार भएको बहुविवाह मुद्दामा (ने.का.प. २०६३, नि.नं. ७६९४, पृ. ५५४) मिति २०५२।८।१६ मा विवाह भएको बेहोरा पहिले नै थाहा भएको भन्ने आधारमा विहावारीको ११ नं. को हदम्याद नघाई अभियोग पत्र दायर भएको मान्न नमिल्ने भनी सिद्धान्त प्रतिपादन भएको छ । अभियोक्ताले थाहा पाएको मितिलाई नै थाहा पाएको मिति कायम हुनुपर्छ । थाहा पाएको मितिबाट हदम्याद सुरू हुने हुँदा प्रतिवादीहरूलाई बहुविवाहमा कसुरदार ठहर्याई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत अभियोग दाबी ऐनको हदम्यादभित्र छ, छैन भन्ने प्रश्नको निरूपण गर्दै पुनरावेदन अदालत पोखराको मिति २०७१।१०।२१ को फैसला मिलेको छ, छैन, प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी गोपालबहादुरले घरमा श्रीमती तथा छोराछोरीसमेत हुँदाहुँदै प्रतिवादी गिता बगालेसँग दोस्रो विवाह गरी मुलुकी ऐन, विहावारीको महलको ९ र ९(क) नं. विपरीतको कसुर गरेको हुँदा सोही महलको १० नं.बमोजिम सजाय हुन र प्रतिवादी गिता बगाले पनि प्रतिवादी गोपालबहादुरको घरमा श्रीमती छ भन्ने जानकारी हुँदाहुँदै निजसँग प्रेम सम्बन्ध राखी विवाह गरेको हुँदा निजलाई मुलुकी ऐन, विहावारीको ९, ९(क) र १० नं. विपरीतको कसुरमा सोही १० नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा मुलुकी ऐन, विहावारी महलको ११ नं.बमोजिम हदम्यादभित्रको नभई हदम्याद नाघी दायर भएको देखिँदा हदम्यादका अभावमा प्रस्तुत अभियोग दाबी मुलुकी ऐन, अ.बं. १८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू लमजुङ जिल्ला अदालतबाट मिति २०७१।३।११ मा भएको फैसलालाई पुनरावेदन अदालत पोखराले समेत सदर गरेको देखिन्छ । सो सन्दर्भमा सर्वप्रथम हदम्यादतर्फ नै विचार गर्नुपर्ने देखियो ।
३. प्रतिवादी गोपालबहादुर बगालेले सुरू अदालतबाट जारी भएको म्यादमा हाजिरै नभई सुरू म्यादै गुजारी बसेको देखिन्छ भने अर्को प्रतिवादी गीता बगालेले प्रतिवादी गोपालबहादुर बगालेसँग मिति २०५२।१।२२ गते माइतीघरबाटै परम्पराअनुसार विवाह भएको हो । निजको पहिले विवाह भइसकेको कुरा मलाई थाहा थिएन । २०५३ सालमा सिम्पानी गाउँ विकास समितिबाट विवाह दर्तासमेत भएको छ । घरमा जेठी श्रीमती छन् भन्ने कुरा पछि थाहा पाएकी हुँ । मतर्फबाट मिति २०५३।८।२० मा जेठी छोरी मिति २०५७।९।२० मा छोरा र मिति २०६०।७।२९ मा कान्छी छोरीको जन्म भई गाउँ विकास समितिमा जन्म दर्तासमेत भएको छ र मिति २०५५।६।३० मा मैले जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिइसकेकी छु । यसरी मैले गोपालबहादुर बगालेसँग २०५२ सालमा विवाह गरेको कुरा जाहेरवालीलाई पहिले नै स्पष्ट थाहा जानकारी हुनुका साथै गाउँ विकास समितिदेखि लिएर जिल्ला प्रशासन कार्यालयसम्म विवाह दर्ता छोरा छोरीको जन्मदर्ता एवं मेरो नागरिकताको प्रमाणपत्रबाट समेत थाहा जानकारी भइसकेको अवस्थामा हाल बहुविवाहमा सजाय हुने होइन भन्नेसमेत बेहोरा अदालतमा उपस्थित भई बयान गर्दा लेखाएको
पाइन्छ ।
४. यसै गरी मौकामा कागज गर्ने खड्कबहादुर बगालेले अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्दा प्रतिवादी गोपालबहादुर बगाले मेरो छोरा तथा जाहेरवाली जेठी बुहारी हुन् । निजहरूबिच १६।१७ वर्ष पहिले मनमुटाव भई अलग बसेका थिए । सोही अवस्थामा १७ वर्ष पहिले छोरा गोपालबहादुरले गीता बगालेलाई विवाह गरी ल्याएका हुन् भनी लेखाएको पाइन्छ । घटना विवरणका कल्पना थापाले प्रतिवादीहरू गोपालबहादुर बगाले र गीता बगालेबिच २०५२ सालमा विवाह भई २ छोरी र एक छोराको जन्म भएको छ र जेठी छोरीले नागरिकता प्रमाणपत्र पाइसकेकी छिन् र सो सबै कुरा जाहेरवालीलाई समेत थाहा छ भनी यस अदालतमा आई बकपत्र गरिदिएको
पाइन्छ । त्यस्तै मौकामा कागज गर्ने मिठी भण्डारी, बाबुराम भण्डारी, रामबहादुर भण्डारी, पार्वती भण्डारीसमेतले घरमा जेठी श्रीमती तथा छोरा छोरी हुँदाहुँदै प्रतिवादी गोपालबहादुरले गीता बगालेलाई दोस्रो विवाह गरी पोखरातर्फ बस्दै आएका हुन् निजहरूले कहिले विवाह गरेका हुन् थाहा भएन भनी अधिकारप्राप्त अधिकारी एवं यस अदालतमा आई बकपत्र गर्दासमेत आ-आफ्नो बेहोरा लेखाएको पाइन्छ भने जाहेरवालीले अदालतमा आई बकपत्र गर्दा जाहेरीलाई समर्थन हुने गरी बकपत्र गरेको पाइन्छ । प्रतिवादीका साक्षी सुरेश कान्त जोशी, गीता थापासमेतले बकपत्र गर्दा प्रतिवादी गोपालबहादुर बगाले र गीता बगालेबिच १८ वर्ष पहिले विवाह भई छोरा छोरीको जन्म भई जन्मदर्ता तथा विवाह दर्ता मौकामा भई जेठी छोरीले नागरिकताको प्रमाणपत्रसमेत लिइसकेको हुँदा हाल प्रतिवादीहरूलाई बहुविवाहमा सजाय हुने होइन भनी लेखाएको पाइन्छ ।
५. मिसिल संलग्न मौकामा कागज गर्ने व्यक्ति, घटना विवरण कागजमा लेखाउने व्यक्ति, साक्षीहरूसमेतको भनाइ बेहोराबाट प्रतिवादीहरूले कुन मितिमा विवाह गरे भन्ने खुलाउन सकेको पाइँदैन भने जाहेरी दरखास्तमा समेत सो कुरा उल्लेख भएको पाइँदैन । केवल विवाह भएको कुरा मिति २०७०।४।२ गते थाहा भयो भन्ने मात्र उल्लेख गरेको
पाइन्छ । मिसिल संलग्न प्रतिवादीहरूको विवाह दर्ताको प्रमाणित प्रतिलिपिहरू हेर्दा यी प्रतिवादीहरूबिच मिति २०५२।१।२२ मा विवाह भई प्रतिवादी गीता बगालेले २०५५ सालमा नागरिकता प्रमाणपत्र लिँदा पति गोपालबहादुर बगाले कायम गरी लिएको पाइन्छ भने प्रतिवादीहरूका छोरा छोरीको जन्मदर्ताको प्रमाणित प्रतिलिपि हेर्दा प्रतिवादीहरूको छोरी पूजा थापाको मिति २०५३।८।२० मा, छोरा पुकार थापाको मिति २०५७।९।२० मा र छोरी प्रकृति थापाको मिति २०६०।७।२९ मा जन्म भएको देखिन्छ भने जिल्ला प्रशासन कार्यालय लमजुङमा मिति २०६१।९।५ गते भएको मिलापत्रमा प्रतिवादी गोपालबहादुर बगालेले मेरो जेठी श्रीमतीतर्फका छोराछोरीलाई विवाहको खर्च र पालन पोषणको लागिसमेत रू.१०००००।– (एक लाख) बुझाउने छु भनी यी प्रतिवादी गोपालबहादुर बगाले र जाहेरवालीले समेत सहीछाप गरेको पाइन्छ । सो मिलापत्रको कागजबाट पनि यी प्रतिवादी गोपालबहादुर बगालेले दोस्रो विवाह गरेको कुरा जाहेरवालीलाई जानकारी भइसकेको र निजहरूबिचको विवाद नेपाल सरकार मातहतको जिल्ला प्रशासन कार्यालय लमजुङमा पुगेको र त्यहाँ मिलापत्र हुँदा तथ्यगत बेहोरा खुलाएको पनि
देखिन्छ । यसरी यी प्रतिवादीहरूले विवाह गरेको र बच्चाहरू पनि जन्मिसकेको कुरालाई जाहेरवाला तथा स्थानीय समाजको जानकारीमा रहेको, छोरा छोरी जन्मिएर जन्मदर्तासमेत भइसकेको र जेठी छोरीले नागरिकता प्रमाणपत्रसमेत लिइसकेको देखिँदा लोग्नेले दोस्रो श्रीमती विवाह गरेको थाहा पाइन भन्ने जाहेरवालीको भनाइ तर्कसङ्गत देखिएन । कमल मोहन चापागाई वि. नेपाल सरकार भएको बहुविवाह मुद्दामा "वैवाहिक सम्बन्धलाई समाजले मान्यता प्रदान गरिसकेको, छोरा, छोरी जन्मिसकेको, तिनीहरूको जन्मदर्ता पनि गरिसकेको अवस्थामा पनि पहिलो पत्नी वा अनुसन्धान र मुद्दा गर्ने सरकारी निकायले थाहा नपाउनु भनेको सीमित हदम्यादसम्बन्धी कानूनी व्यवस्थाको बेवास्ता वा उपेक्षा हुन जाने" भनी तथा तारादेवी अधिकारीको जाहेरीले नेपाल सरकार वि. भोजबहादुर अधिकारीसमेत भएको बहुविवाह मुद्दा हदम्यादसम्बन्धी कानूनको उद्देश्य र आवश्यक्तातर्फ विचार गर्नु पनि जरूरी देखिन्छ । कुन काम वा क्रियालाई फौजदारी कानून भनी मान्नुपर्ने, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरिसक्नुपर्ने भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने कुरा हुन् । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने कुरा हो । यी सबै विधायिकी कार्यक्षेत्र (Legislative Function) भित्रका कुरा
हुन् । तर ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागु गर्नुपर्ने हुन्छ । बहुविवाहको क्रियालाई विहावारी महलले दण्डनीय फौजदारी कानूनको रूपमा परिभाषित गरी सो सम्बन्धमा अभियोग दाबी गर्ने वा मुद्दा गर्ने समयावधिको सीमा पनि सोही महलको ११ नं. ले निर्धारित गरेको छ । अर्थात् बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेको छ । यसमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाहको मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा असीमित वा खुल्ला हदम्यादको रूपमा परिणत वा परिभाषित गर्न मिल्दैन भनी हदम्यादको सम्बन्धमा व्याख्या भएको पाइन्छ ।
६. कुनै पनि व्यक्तिलाई कानूनले दिएको अधिकार वा सुविधालाई तथ्य ढाँटी दुरूपयोग गर्ने छुट हुँदैन । आफूलाई थाहा जानकारी भएको र नेपाल सरकार मातहतकै कार्यालयमै गई सम्बन्ध स्वीकार गरी मिलापत्र गरेको तथ्य ढाँटी लुकाई सरकारी संयन्त्रलाई क्रियाशील बनाउनु राज्यको स्रोत साधनको दुरूपयोग मान्नुपर्ने हुन्छ । यसरी प्रत्यर्थी प्रतिवादीहरूबिच २०५२ सालमा विवाह भई छोराछोरीहरूको जायजन्म भई निजहरूको जन्म दर्तासमेत भइसकेको तथा मिति २०६१/९/५ मा जिल्ला प्रशासन कार्यालयमै मिलापत्र गरी बालबालिकाको लालन पोषणको लागि रकम लिएको अवस्थामा मिति २०७०।४।२ मा प्रत्यर्थी प्रतिवादीले विवाह गरेको थाहा पाएको भनी प्रत्यर्थी प्रतिवादी गोपालबहादुर बगालेकी श्रीमती मधुमाया बगालेले दिएको जाहेरी दरखास्तबाट मुद्दाको सुरूवात भई दायर हुन आएको अभियोग मुलुकी ऐन, विहावारीको महलको ११ नं.बमोजिम हदम्यादभित्रको नभई हदम्याद नाघी दायर भएको देखिँदा हदम्यादका अभावमा अभियोग दाबी अ.बं. १८० नं.बमोजिम खारेज हुने ठहर्याएको सुरूको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसलालाई अन्यथा मान्न सकिएन ।
७. अब प्रस्तुत मुद्दामा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा आधार लिइएको दीपक पाण्डे वि. वादी नेपाल सरकार भएको बहुविवाह मुद्दामा भएको व्याख्या प्रस्तुत मुद्दामा आकर्षित हुन्छ हुँदैन भन्ने सम्बन्धमा समेत विचार हुनु आवश्यक देखिन्छ । बहुविवाहको क्रिया तत्कालीन कानूनी परिवेशमा ऐनका म्यादभित्र जाहेरी पर्न आएमा कारबाही भई दण्डनीय हुने भए पनि विवाहले कानूनी मान्यता पाई प्रस्तुत मुद्दामा जाहेरवालीसँग २०४१ सालमा विवाह भएको, २ छोरा एक छोरीको जन्म भएपछि २०५० सालदेखि जाहेरवाली माइतमा बस्दै आएको, २०५२ सालमा दोस्रो विवाह गरेको, दोस्रो पत्नीतर्फबाट २०५३ मा जेठी छोरी, २०५७ मा छोरा र २०६० मा कान्छी छोरीको समेत जन्मभएको र २०६१ सालमा जिल्ला प्रशासन कार्यालय लमजुङमा मिलापत्र गरी छोरा छोरीको लालन पालनको लागि रकम लिई सामाजिक र व्यावहारिक रूपमा विवाह स्वीकार गरी बसेको एवं सो कुराको जानकारी नेपाल सरकारको प्रशासन हेर्ने निकायलाई प्रस्ट रूपमा रहेको देखिएको छ भने उपर्युक्त मुद्दामा विवाहको जानकारी नेपाल सरकारको निकायले कहिले कसरी पाएको भन्ने सम्बन्धमा विवाद रहेको छ । यसरी समयको अन्तराल तथा व्यवहार आदिसमेतबाट दोस्रो विवाह स्वीकार गरी बसेको अवस्थासमेत तुलना गरी हेर्दा दुवै मुद्दाका तथ्यमा असमानता देखिएको हुँदा मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्दा लिइएको आधार प्रस्तुत मुद्दामा समेत ग्रहण गर्दा न्याय पर्न सक्ने देखिँदैन । तसर्थ, सुरू लमजुङ जिल्ला अदालतबाट मिति २०७१।३।११ मा भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०७१।१०।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.कुमार चुडाल
इजलास अधिकृत : सोनी श्रेष्ठ
इति संवत् २०७८ साल चैत्र १५ गते रोज ३ शुभम् ।