निर्णय नं. १५५४ - डाँका

निर्णय नं. १५५४ ने.का.प. २०३९ अङ्क ४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३८ सालको फौ.पु.नं. २९२
फैसला भएको मिति : २०३९।३।२४।५ मा
प्रतिवादी : जि.कपिलबस्तु गा.पं.धर्मपतिया बस्ने झिनक भन्ने रामऔतार अहिर समेत
विरुद्ध
वादी : केशवबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : डाँका
(१) बकपत्र गराउँदा मानिस सनाखत गराउने कुरा ऐनले मिल्ने देखिँदैन । बकपत्रकै सिलसिलामा अदालतबाट मानिस देखाएकोले चिनें भनेका कुरा अ.बं.१७३ नं.विपरीत कानूनी प्रकृया बाहिरको हुँदा त्यसलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. १३)
प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिवानन्द दास सरस
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :
२. २०३२।८।४।१ का रात सुती निदाएको अवस्थामा डाँकाहरु आई डाँका गर्न लाग्दा ब्यूँझेकोले निजहरुले बालेको टर्च बत्तीको उज्यालोले देवेन अहिर, कल्लु थारु, शिवनाथ अहिर, चरित्र अहिर, भेलई अहिर, राम टहल अहिर, झेनकु अहिर समेतलाई चिनें । डाँकाहरुले हल्ला गरे मारी दिन्छु भन्दा डरले सुती राखें । रु.१२११।–को धनमाल डाँका गरी लगेकोले पक्राउ गरी कानून बमोजिम सजाय गरी मेरो धनमालको बिगो पाउँ भन्ने समेत जाहेरी दर्खास्त ।
३. गत बुधवार हामीहरुले डाँका गर्ने सल्लाह भई भेलई अहिर, चरित्र अहिर, भूइला भन्ने राम टहल अहिर, शिवनाथ अहिर, कल्लु थारु र म समेत भई शुक्रबारको दिन भोजराजको घरमा रु.३५०।–को भाँडा चोरी गरी केशरबहादुरको घरमा डाँका गरेका हौं भन्ने समेत देवेन अहिरले प्रहरीमा गरेको कागज ।
४. गत मार्ग ४ गते देवेन भेलाई अहिर, कल्लु थारु, शिवनाथ अहिर, चरित्र, झेनकु अहिर र म समेत भई पहिला भोजराजको घरमा चोरी गरी त्यसपछि केशरबहादुरको घरमा डाँका गरेको हो । सवैको भागमा ५०।–५०।–रुपैयाँ परेको हो भन्ने राम टहल अहिर, कल्लु थारु, चरित्र अहिर, शिवनाथ अहिर समेतको पृथक पृथक कागज ।
५. देवेन अहिर, कल्लु थारु, चरित्र अहिर, राम टहल अहिर, शिवनाथ अहिरहरुले डाँका गरेको शंका लाग्छ भन्ने कोही र निजहरु सातैजनाले हल्ला गरिस भने मारी दिन्छु भन्ने धम्की दिई बन्दूक ताकी चक्कु छुरी देखाई मेरो लोग्नेलाई बिस्तारामा च्यापी दुवै बाकस लगे मुन्द्री समेत खोसी डाँकाहरु भागे भन्ने समेत चमेली दर्जिनी, देवरलाई च्यापी लेखिए बमोजिम डाँका गरे भन्ने झुनकी दर्जिनी, गुनबहादुर दर्जीसमेतका परिवारले बकेको सर्जिमिनमुचुल्का ।
६. पक्राउ परेका कल्लु थारु यस अघि डाँका मुद्दामा सजाय पाई सकेको भन्ने निजले बयानबाट देखिएकोले निज दोश्रा पटकमा र अरु अभियुक्तहरुलाई पहिला पटकमा चोरीको १४।४ नं.अनुसार सजाय हुने र फेला नपरेका भेलई अहिर, झिनकु अहिरलाई वारेन्ट जारी हुनु पर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. प्रहरीमा भएको कागज कुटपिट गरी गराएको हो मेरो राजिखुशिबाट गराएको होइन । रिस ईवीबाट जोहरी दिएका हुन । मैले जाहेरवालाको घरमा चोरी डाँका गरेको छैन । चरित्र अहिर समेतले किन पोले मलाई थाहा छैन भन्ने समेत देवेन अहिर, चरित्र अहिर, शिवनाथ अहिर र राम टहल अहिर । प्रतिवेदन साथ दाखिल हुन आएको तामाको आरी समेतको भाँडा र नगद रु.२०।–समेत कसको हो मेरो होइन मैले डाँका गरेको छैन भन्ने समेत कल्लु थारु, वारदातको दिन जगदेवको घरमा गएकोले मैले जाहेरी अनुसार डाँका गरेको होइन भन्ने समेत झिनकु भन्ने राम अवतार र मैले डाँका गरेको होइन भन्ने समेत भेलई अहिरको अदालतमा भएको पृथक पृथक बयान ।
८. प्रतिवादीहरुले डाँका गरेको देखें चिने भन्ने समेत जाहेरीमा किटानी साथ नाम खोली जाहेरी गरेको र देवेन अहिर, शिवनाथ अहिर चरित्र अहिर, कल्लु थारु राम टहल अहिर समेतले प्रहरीमा सावित भई बयान गरेको र जाहेरवालाकी श्रीमती झुनकी, भाइ बुहारी चमेली, गुणबहादुरका भनाई समेतबाट प्रतिवादीहरुले डाँका वारदात गरेकै रहेछन् भन्ने देखिन आउँछ र साथै भोजराजको जाहेरी परेको चोरी मुद्दामा सातैजना प्रतिवादीहरुले चोरी गरेको ठहरी फैसला भएकोले प्रतिवादीहरुले जाहेरीवालाको घरमा ०३३।८।४।६ का रात बिगो रु.१२११।–धनमाल डाँका गरेको ठर्हछ भन्ने समेत कपिलबस्तु जिल्ला अदालतको फैसला ।
९. डाँकाले बालेको टर्च बत्तिले चिने भन्ने कुरा समर्थन नभएकोलाई प्रमाण लिई डाँका ठहराएको चित्त बुझेन भन्ने समेत प्रतिवादीहरुको पुनरावेदन ।
१०. शुरु जिल्लाअदालतको इन्साफ मनासिव छ भन्नेसमेत पश्चिमाञ्चल क्षे.अदालतको फैसला।
११. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले दिएको निवेदनमा क्षेत्रीय अदालतले निर्णय गर्दा मिसिलमा रहेको प्रमाणको उचित मूल्याङ्कन गरेको नदेखिनुका साथै प्रमाण ऐन, २०३१ को दफा १८ को त्रुटि समेत गरेको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।
१२. पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस तथा विपक्षी तर्फका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देवले गर्नु भएको बहस समेत सुनियो ।
१३. यसमा निर्णय तर्फ हेर्दा पुनरावेदक प्रतिवादी देवन अहिर, शिवनाथ अहिर प्रहरीमा डाँका वारदात गरेकोमा सावित भई अदालतमा सो डाँका वारदात गरेकोमा इन्कार गरेको देखिन्छ । पुनरावेदक प्रतिवादी भेलाई अहिर र झिनक भन्ने राम अवतार अहिर डाँका वारदात गरेकोमा अदालतमा इन्कार रहेको पाइन्छ । प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाणबाट के कति समर्थीत छ भनी हेर्दा सो डाँका वारदात देख्ने भनेका सर्जमिनका व्यक्तिहरु चमेली, सुनबहादुर, झुनकीले डाँका वारदातमा चिनें भन्ने सर्जमिनमा लेखिए तापनि सो वारदात देख्ने जाहेरवालाको भाइबुहारीले चमेली दर्जिनीले अदालतमा बकपत्र गर्दा भेलई अहिर, राम अहिर, शिवनाथ अहिर, चरित्र अहिर, झिनकु अहिर, समेतको नाम मैले बताएको थिइँन । कल्लु समेत सर्जमिन हुँदा रोहवरमा आएको हुँदा औंल्याएर बताएको थिएँ, कल्लु थारुलाई चिनेको भनेको थिएँ । डाँकाहरुले मुखमा कालो पोती आएको नाम नजानेको, हाँसोबाट चिनेको भनेको छ । सरजमिनका व्यक्ति खुमबहादुरले डाँका गर्दा देखेको होइन, डाँका गर्दा देवेन अहिर १, चरित्र १, राम टहल १, शिवनाथ १, भागी गएका झिनक १, भेलई १, समेतको नाम जाहेरवालाले भने बमोजिम बताएको थिइँन, सरजमिनमा प्रहरीले पक्राउ गरी रोहवरमा राखेको हुँदा निजहरुको नाम लेखी दिएको हो । भागी गएको मानिस झिनक, भेलईको नाम पनि प्रहरीले नै लेखेका हुन् मैले भनी लेखाएको होइन भनेको देखिन्छ । जाहेरवालाको भाइ गुनबहादुर दर्जिले अदालतमा बकपत्र गर्दा डाँका पसी बाकसहरु लगेछन्, मैले थाहा पाइँन, चोरी डाँका गर्दा आईमाइले देखेका हुन् मैले देखेको होइन भनेको पाइन्छ । जाहेरवालाकै श्रीमती झुनकी दर्जिले बकपत्र गर्दा कल्लुले कालो पोतेको अरुले पोतेको थिएन । सरजमिनमा कल्लुको नाम बताएको थिएँ, अरु प्रतिवादीहरुको नाम भनेको थिइँन, नाम अरुले नै लेखाएका हुन् भनी भनेको छ । पुनरावेदक प्रतिवादीहरुलाई उपरोक्त चस्मदिद व्यक्तिहरुले अदालतमा बकपत्र गर्दा वारदातमा देखें चिनें भन्न सकेको पाइँदैन । चमेलीले सबै डाँकाले मुखमा कालो मसी लगाएका थिए, हाँस्दा चिनें भन्ने बकपत्र गरेको छ । तर सो बकाई निजको सरजमिनसँग मेल नखाने र कालो मसी लगाएका डाँकालाई हाँस्दा चिनें भन्ने निजको बकाई विस्वासनीय मान्न मिलेन । आफ्नो चिरपरिचित व्यक्तिलाई मात्र कालो मोसो लगाएको अवस्था हाँसी व्यवहारबाट चिन्हिने अवस्था पर्छ । तर, त्यस्तो चिरपरिचित थिए भन्ने निजको भनाई छैन। पुनरावेदक प्रतिवादीहरुलाई अदालतबाट देखाएर चिन्हे भनिएको छ । तर, त्यसरी बकपत्र गराउँदा मानिस सनाखत गराउने कुरा ऐनले मिल्ने देखिँदैन । बकपत्रकै सिलसिलामा अदालतबाट मानिस देखाएकोले चिनें भनेका कुरा अ.बं.१७३ नं.विपरीत कानूनी प्रकृया बाहिरको हुँदा त्यसलाई मान्यता दिन मिलेन । जाहेरवालाको बकपत्र हेर्दा सबै डाँकाहरुले कालो मोसो लगाई आएको भन्न सकेको छैन । वारदात देख्ने भनेका चमेली र जोहरवालाको बकाईमा एकरुपता देखिँदैन । यस स्थितिमा वारदात देख्ने चश्मदित सरजमिनका व्यक्तिहरुको बकाई परस्पर विरोधाभाष देखिँदा त्यस्तो बकाईलाई विश्वासनीय भन्न मिल्ने अवस्था रहेन । तसर्थ, पुनरावेदक प्रतिवादीहरुले डाँका वारदात गरेकै हो भनी ठहर गर्न तथ्ययुक्त सबूत प्रमाण बेगर नमिल्ने हुँदा पुनरावेदक प्रतिवादीहरु झिनकु भन्ने राम अवतार अहिर, भेलई अहिर, देवन अहिर र शिवनाथ अहिरले सफाई पाउने ठर्हछ ।
१४. उपरोक्त लेखिएका प्रतिवादीहरुले डाँका वारदात गरेको ठहराएको सुरुको इन्साफ सदर गरेको हदसम्म प.क्षे.अदालतको फैसला मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदकहरुको हकमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकोले सुरु कपिलवस्तु जिल्ला अदालतको ०३५।१२।५।१ को फैसलाले गर्ने गरेको देहाय बमोजिम कैद जरिवाना नलाग्ने भएकोले सो लगत कट्टा गरी दिनु भनी कपिलबस्तु जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु........................................................................१
जरिवाना कैद वर्ष
झिनकु भन्ने राम अवतार अहिर के १८१६।५० ०–६
भेलई अहिर के १८१६।५० ०–६
देवेन अहिर के १८१६।५० –६
शिवनाथ अहिर के १८१६।५० –६
कपिलबस्तु जि.अ.का फैसलाले विगा रु.१२११।–दामासाहीले भराउने गरेकोमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले देहायको प्रतिवादीबाट बिगो भरी भराउ गर्न परेन । निजहरुबाट भराउने गरेको लगत कट्टा गरी दिनु भनी कपिलबस्तु जि.अ.मा लेखी पठाउनु का.जि.अ.मा लगत दिनु........................................................................२
झिनकु भन्ने राम औतार अहिर १, देवेन अहिर १, भेलई अहिर १, शिवनाथ अहिर १
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३६।१२।३ को फैसला ले गर्ने गरेको देहाय बमोजिमको लगत कट्टा गरी दिनु भनी प.क्षे.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु................................३
जरिवाना कैद
झिनकु भन्ने राम औतार अहिर के १८१।६५ ७।६
भेलई अहिर के १८१।६५ ७।६
देवेन अहिर के १८१।६५ ७।६
शिवनाथ अहिर के १८१।६५ ७।६
पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३६।१२।३ का फैसलाले देहायका पुनरावेदकहरुलाई जनही रु.१८१।६५ जरिवाना र कैद बर्ष ७।६ का दरले गरेकोमा यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गर्दा दाखिल गरेको जरिवाना जम्मा रु.७२६।८० र कैद वापतको रु.१२९६।–मिति ०३७।३।९ मा काठमाडौं जिल्ला अदालतमा बुझाएको देखिँदा सो रुपैयाँ नलाग्ने भएकोले फिर्ता पाउँ भनी देहायका प्रतिवादीहरुको ऐनका म्याद भित्र दर्खास्त परे दस्तुर केही नलिई कैद बापत राखेको रु.१२९६।–धरौट रहेकोबाट र अरुको आम्दानीबाट बराबरका दरले फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु.........................................४
झिनकु भन्ने राम अवतार अहिर १, भेलई अहिर १, देवेन अहिर १, शिवनाथ अहिर १
नियम बमोजिम मिसिल बुझाई दिनु............................................५
म सहमत छु ।
न्या.धनेन्द्रबहादुर सिंह
इतिसम्वत् २०३९ साल आषाढ २४ गते रोज ५ शुभम्