निर्णय नं. १११२१ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय का.मु.प्र.न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
फैसला मिति: २०७९।२।१२
०७७-NF-०००१
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : हरेराम ढकालको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, साबिक इचङ्गुनारायण गा.वि.स. वडा नं. ६ (हाल नागार्जुन न.पा. वडा नं. २) वतन भएका पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक रञ्जनप्रसाद कोइरालासमेत
कर्तव्य ज्यानको कसुर गर्दाका समग्र तौरतरिका, वारदातमा प्रतिवादीको भूमिका, प्रतिवादीको कानूनी हैसियत एवं जिम्मेवारी, प्रमाण नष्ट गर्न गरिएका हरप्रयत्न एवं क्रियाकलापसमेतका आधार कारणबाट वारदात भवितव्य जस्तो देखिने नभई सुनियोजित जघन्य अपराध भएको देखिन आएकोले मुलुकी ऐन अ.बं. १८८ तथा प्रचलित फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को अवस्थाको रहेको नदेखिँदा निज प्रतिवादीलाई घटी सजाय गर्नुपर्ने स्थिति अवस्था नदेखिने ।
(प्रकरण नं. १८)
मुलुकी ऐन, अ.बं. १८८ नं. वा फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. को प्रयोग र प्रयुक्तता सम्बन्धमा भएको कानूनी व्यवस्था एवं यस अदालतका अभ्यासको रोहसमेतबाट प्रस्तुत मुद्दामा प्रतिवादीको पदीय हैसियत एवं दायित्व, निजले गरेको आपराधिक कार्यको समग्र परिस्थितिबाट निजउपर उदारभाव (linency) देखाउनुपर्ने अवस्था विद्यमान देखिँदैन । एवंप्रकारले अपवादात्मक (exception) व्यवस्थाको रूपमा आकर्षित हुने अ.बं. १८८ नं. बमोजिमको घटी सजाय निज प्रतिवादीलाई दिने हो भने फौजदारी मुद्दामा हुने निरूत्साहन (deterrent) दण्ड सिद्धान्त नै पराजित भई विधायिकाले ठुलो भरोसा र विश्वास गरी न्यायाधीशलाई प्रदान गरेको स्वविवेकीय अधिकार (discretionary power) को दुरूपयोग हुने प्रस्ट अवस्था देखिने ।
(प्रकरण नं. १९)
व्यक्तिको जीवन बाँच्न पाउने अधिकार (right to life) नै राज्यले सुरक्षाको जिम्मेवारी दिएको जिम्मेवार प्रहरी अधिकृतबाट दर्दनाक रूपमा समाप्त गरेको खास परिस्थितिसमेतका रोहमा नेपालको संविधानको धारा २१ ले अपराध पीडितलाई प्रदान गरेको मौलिक हक पीडित न्याय केन्द्रित (victim centered justice) भई सार्वजनिक स्वार्थ (public interest) को परिपूर्तितर्फ पनि विशेषरूपले हृदयंगम गरिनुपर्ने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्री
जाहेरवालाको तर्फबाट : उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भद्रप्रसाद नेपाल (स्वागत नेपाल)
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०६१, अङ्क ६, निर्णय नं. ७३९९
ने.का.प. २०६५, अङ्क ११, नि.नं. ८०३९
ने.का.प. २०६९, अङ्क ६, नि.नं. ८८५३
ने.का.प. २०६३, अङ्क ८, नि.नं. ७७५२
ने.का.प. २०७४, अङ्क ७, नि.नं. ९८३६
सम्बद्ध कानून :
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
न्याय प्रशासन ऐन, २०७३
सुरू तहमा फैसला गर्ने :
मा.न्यायाधीश श्री महम्मद जुनैद आजाद
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मुख्य न्या.श्री डा.आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे
पुनरावेदन अदालत पाटन
यस अदालतमा फैसला गर्ने :
सम्माननीय प्र.न्या.श्री चोलेन्द्रशम्शेर ज.ब.रा.
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला
न्या. कुमार चुडाल : यस अदालतको संयुक्त इजलासबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम पुनरावलोकनको अनुमति प्राप्त भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:-
तथ्य खण्ड
मेरी छोरी गीता ढकाल (कोइराला) को रञ्जनप्रसाद कोइरालासँग विवाह भएपछि रञ्जनप्रसाद कोइरालाले छोरीलाई हेला गरी कुटपिट गर्दै आए तापनि छोरीले सहेर बस्दै आएकी थिइन् । छोरीलाई दिएको दाइजो पेवा हत्याउनको लागि निजले काठमाडौं जिल्ला अदालतमा अंश चलन मुद्दासमेत गरी छोरीलाई मार्ने धाकधम्की दिँदै आएकोले जिउ ज्यानको सुरक्षाको लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा निवेदन दिएको थियो । छोरीलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिई छोरीसँग सम्बन्ध विच्छेद गर्न दबाब दिँदै आएकोमा मिति २०६८।९।२७ गते बिहान १० बजे छोरीको घरमा आई छोरीसँगै बसेको कान्छो छोरा आर्यन कोइरालालाई निजले लिई गएको अवस्थामा आज रञ्जनले मलाई घोरिएर हेरी गयो भनी छोरीले भनेकीले माइती घरमा आउन त भनी फोन गर्दा खुट्टा मर्किएकोले आउन सक्दिन भनेकी थिइन् । मिति २०६८।९।२८ गतेका दिनको ३-४ बजेतिर छोरीलाई फोन गर्दा स्वीच-अफ थियो । सोही दिन राति ८ बजे फोन गर्दा पनि मोबाइल स्वीच-अफ भएकोले भोलिपल्ट बिहान ११ बजे छोरीको घरमा जाँदा मूल गेटमा ताल्चा लगाइराखेको, सो दिन राति ८ बजेसम्म पनि फोन गर्दा स्वीच-अफ भएको, ऐ.३० गते बिहान छोरीको घरमा जाँदा मूल गेटमा ताला लगाएको पाइएकोले नजिकको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठमा समेत जानकारी गराई छोरीको घरमा काम गरी बस्ने गीता कटुवालसँग सोधपुछ गर्दा निजले मिति २०६८।९।२७ गते ३ बजे छोरी गीता ढकाल (कोइराला) को घरमा जाँदा मूल गेट खुल्लै रहेको, छोरी सुत्ने कोठामा जाँदा ढोका बन्द रहेकोले फर्की आएको र साँझ ७–८ बजे जिपजस्तो गाडी घरको मूल गेट खोली भान्सा कोठाको ढोकाछेउमा रोकिएको, केहीछिन डाङडुङ गरेको आवाज आएको सुनेको, त्यसपछि गाडी फर्की एकछिनपछि मूल गेटमा अडिएर गएको, भोलिपल्ट घरमा गएर हेर्दा मूल गेटमा ताल्चा लगाएको देखेँ भनेको र घटनास्थलको अवस्था हेर्दा छोरी गीता ढकाल (कोइराला) लाई रञ्जनप्रसाद कोइरालाले बेहोस बनाइराखेको र छोरीको सम्पत्ति खानको लागि बन्धक बनाइराखेको हुनसक्ने भएकोले निजलाई पक्राउ गरी मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलअन्तर्गत कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको हरेराम ढकालले मिति २०६८।१०।६ गते दिएको जाहेरी दरखास्त ।
का.जि., विष्णु बुढानीलकण्ठस्थित गीता ढकाल (कोइराला) को अढाई तले पक्की घर खानतलासी गर्दा गीता ढकाल (कोइराला) को नामको जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान १, दारी पालेको पञ्जाबी पुरूष र लेडिज संयुक्त बसी खिचेको फोटो थान १, तीन जना महिलाको संयुक्त फोटो थान १, महिला पुरूष भएको संयुक्त फोटो थान १, बाथरूममा दुई थान अन्डरवयरसमेत फेला परेको भन्ने बेहोराको खानतलासी एवं बरामदी मुचुल्का ।
मेरी छोरी गीता ढकाल (कोइराला) लाई रञ्जनप्रसाद कोइरालाले बन्धक बनाइराखेको हुनसक्ने भनी मिति २०६८।१०।६ मा महानगरीय प्रहरी परिसर हनुमानढोकामा जाहेरी दिएकोमा मिति २०६८।१०।८ गते छोरी गीता ढकाल (कोइराला) मृत अवस्थामा शिक्षण अस्पताल महाराजगन्जमा रहेको खबर प्राप्त भएकोले रञ्जनप्रसाद कोइरालाले कर्तव्य गरी लास जलाएकाले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कारबाही गरी अन्य को-को व्यक्तिहरू भई अपराध गरेका हुन् अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको हरेराम ढकालको मिति २०६८।१०।८ गतेको जाहेरी दरखास्त ।
का.जि., बाडभञ्ज्याङ गा.वि.स. वडा नं. ६ मा पर्ने नागढुङ्गा सडकमा नौबिसेबाट काठमाडौंतर्फ आउँदै गरेको रञ्जनप्रसाद कोइरालाले चलाएको बा. ८ च ५४०८ नं. को कार र निजलाई नियन्त्रणमा लिई गाडी खानतलासी गर्दा सलाइको बट्टा, सेतो प्लाष्टिक १२.५ मिटर, कण्डम थान ३ समेत फेला परी बरामद गरिएको भन्नेसमेत बेहोराको मिति २०६८।१०।८ गतेको गाडी खानतलासी एवं बरामदी मुचुल्का ।
मिति २०६८।९।२८ गते नौबिसेदेखि हेटौंडासम्म जाने त्रिभुवन राजपथमा पर्ने जिल्ला मकवानपुर टिष्टुङ गा.वि.स. वडा नं. ८ मेत्राङ भन्ने स्थानमा शरीरको आधाभन्दा बढी हिस्सा जलेको अवस्थामा लास फेला परेकोले पोष्टमार्टमको लागि जिल्ला अस्पताल मकवानपुरमा पठाएकोमा उक्त अस्पतालले पोष्टमार्टमका लागि त्रि.वि.वि. शिक्षण अस्पताल महाराजगन्जमा पठाएको भन्नेसमेत बेहोराको इलाका प्रहरी कार्यालय पालुङको पत्र ।
The remaining parts of body are from human being. They look from single and individual. The sex of the person is female. They are from adult female aged above 22 years and below 40 years (young age to middle age adult female). The stature cannot be ascertained as there is no single intact long bone present and the stature given in previous report from Hetauda Hospital i.e. 96.6cm cannot be taken as any approximated stature. All the changes present in recovered body parts are due to burn of a dead body and the cause of death cannot be ascertained. There are no signs ante-mortem burn. 4 cm long two pieces of left femur bone, pieces of uterus and left kidney are collected into two different containers without any preservative for necessary DNA analysis. They must be kept in cool condition in refrigerator. भन्ने बेहोराको फरेन्सिक मेडिसिन विभाग, महाराजगन्जको प्रतिवेदन ।
मकवानपुर जिल्ला, टिष्टुङ गा.वि.स. वडा नं.८ मेत्राङ भन्ने स्थानमा हड्डीका टुक्राहरू रहेका, एउटा हड्डीको टुक्रामा लेडिज घडीसमेत रहेको र आगोले डढेको, सो आगो लगाएको ठाउँदेखि १५ फिटसम्म डिजल बगेको देखिएको, आगो लगाएको ठाउँदेखि ३० फिटको दुरीमा मानिसको शरीरको बिच भागको अस्थिपञ्जर रहेको, सो अस्थिपञ्जरदेखि ३ फिट दुरीमा चिरेको काठको बाकल रहेको भन्नेसमेत बेहोराको मिति २०६८।९।२८ को लास जाँच प्रकृति मुचुल्का । सोही दिन सोही बेहोराको प्र.ह. कृष्ण ढकालको प्रतिवेदन मिसिल सामेल रहेको देखियो ।
टिष्टुङ गा.वि.स. को मेत्राङ भन्ने स्थानमा मिति २०६८।९।२७ गते लास जलाएको स्थानमा बा. ८ च ५४०८ नं. को कार रोकी सो कारमा आएका व्यक्ति लास जलेको ठाउँमा गम्भीर भई हेरेको र मासुको टुक्रा फेला परेको झाडीमा गई हेरी केही क्षणपछि उक्त कार लिई अगाडि बढेकोमा केही क्षणमा नै पुनः फर्की आएको हुँदा निजमाथि शंका लागी सोधपुछ गर्दा अलि आत्तिएजस्तो गरेकोले तपाइँको के काम छ भनी सोध्दा तपाइँहरू किन सोध्नुहुन्छ ? भनेपछि मसमेतले गाडीको चाबी निकाल्न खोज्दा निजले सशस्त्र प्रहरीको हाकिम हुँ भनी कार्डसमेत देखाई छाडिदिन अनुरोध गरेकोले निजको कार्ड हेरेपछि नाम रञ्जनप्रसाद कोइराला भन्ने थाहा पायौं । निजको गाडीमा ५/६ वटा सलाइको बट्टा, सेतो प्लाष्टिक तथा मिनरल वाटरको बोतलमा पेट्रोलसमेत देखेको थियौं भनी स्थानीयबासी सूर्यबहादुर दोङ, किरणमान बल र मंगल तामाङले इलाका प्रहरी कार्यालय, मकवानपुरमा गरेको कागजसहित सक्कल मिसिल कारबाहीको लागि पठाइएको भन्नेसमेत बेहोराको इलाका प्रहरी कार्यालय, पालुङको पत्र ।
लास जाँचको क्रममा मानव हड्डीको टुक्रासँगै बरामद भएको घडी मैले सिंगापुरबाट दुई थान घडी खरिद गरी ल्याएकोमा एउटा लेडिज घडी छोरी गीता ढकाल (कोइराला) लाई दिएको थिएँ । हाल देखाएको आगोले जली केही कालो भएको पहेँलो रंगको घडी मैले दिएको हो भनी मृतककी आमा हरिप्रिया ढकालले अनुसन्धानको क्रममा गरेकी सनाखत कागज ।
मेरी छोरी गीता ढकाल र रञ्जनप्रसाद कोइरालाबिच मागी विवाह भएको, निजहरूबाट दुई छोराको जन्म भएको, विवाह भएको ८।१० वर्षसम्म राम्रै सम्बन्ध थियो । त्यस्तैमा तारा रेग्मी भन्ने महिलालाई रखेल राखेकोले यसरी केटी राख्नुभएन भनी सम्झाउँदा म जेसुकै गरूँ तँलाई के को मतलब भन्ने गरेको भनी छोरी गीताले सुनाउने गर्थिन् । श्रीमान् श्रीमतीबिच विवाद भएपछि निज छोरी अलग बस्न थालेकी र रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाललाई प्रतिवादी बनाई अंश चलन मुद्दा दायर गरेको र गीता ढकालले रञ्जनप्रसाद कोइरालालाई प्रतिवादी बनाई माना चामल मुद्दा दायर गरेकी थिइन् । अंश चलन मुद्दा विचाराधीन रहेको र यसबिचमा श्रीमान् श्रीमतीबिच कुटपिटसमेत हुने गरेको भनी छोरीले भन्ने गरेकी थिइन् । मिति २०६८।९।२७ गतेका दिन अं. १२ बजे छोरी गीतालाई फोन गरी हालखबर बुझ्दा छोरा आर्यनलाई बाबु आएर लिएर गए, म एक्लै छु भनेकीले त्यसो भए यहाँ आऊ भनी बोलाउँदा खुट्टा मर्केको छ भनिन्, आज रञ्जनले मलाई निकै घोरिएर हेर्यो भनेकी थिइन् । त्यसपछि छोरीको मोबाइलमा फोन सम्पर्क गर्दा फोन स्वीच-अफ भएकोले सम्पर्क हुन सकेन । मिति २०६८।९।२९ गतेका दिन छोरीको घरमा काम गर्ने गीता कटुवालसँग फोन गर्दा २७ गते ३:३० बजेतिर सत्यनारायणको प्रसाद लिएर जाँदा छोरीको बेडरूमको ढोका लगाएकोले बोलाउँदा नबोलेकोले म आफ्नो घरमा गएँ । मैले दिदीले बोलाउनु हुन्छ कि भनी घरतर्फ हेर्दै कौसीमा काम गरिरहेँ । साँझ अं. ७:३० बजेतिर सेतो रंग भएको भ्यान जस्तो गाडी छोरीको घरमा आई गेटभित्र गएको, सो अवस्थामा अँध्यारो भएकोले मानिस चिन्न नसकेको, केही डाङडुङ गरेको आवाजसमेत सुनिएको र १०।१५ मिनेटपछि उक्त गाडी गेटबाहिर निस्की गएको भनी निजले बताएकोले थाहा पाएको हो । छोरीलाई रञ्जनप्रसाद कोइरालाले कर्तव्य गरी मकवानपुर जिल्लाको टिस्टुङ गा.वि.स. मा लगी जलाई नष्ट गरेका रहेछन् भन्नेसमेत बेहोराको हरिप्रिया ढकालले गरेको कागज ।
का.जि., विष्णु-बुढानीलकण्ठ गा.वि.स. वडा नं. ५ स्थित गीता ढकाल (कोइराला) को घरको दक्षिणतर्फ प्रवेश गर्ने ढोका तथा भान्सा कोठा, सोकोठाबाट भित्र प्रवेश गरी उत्तर पूर्वबाट माथिल्लो तलामा जाने भर्याङ, सो भर्याङबाट माथिल्लो तलामा गई दक्षिणतर्फको कोठा खोली हेर्दा दुईवटा बक्स पलङ रहेका, उक्त पलङहरूमा बिछ्यौना लगाएको, एउटा सिरानीको खोल नभएको, बेडमाथि रहेका सिरक ब्लाङ्केट केही छरिएको अवस्थामा रहेको, सोही कोठामा गीता ढकाल (कोइराला) लाई कर्तव्य गरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६८।९।२८ गतेका दिन बिहानै सडकमा जलेको मानिसको लास फालेको छ भन्ने सुनी गाउँका मानिसहरूसमेत भई हेर्न जाँदा झाडीमा मानिस जलाई बाँकी रहेको मासुको डल्लो देखिएको, लास जलाएको ठाउँमा डिजेल बगेको दाग, म्याटको टुक्रा तथा हड्डीमा लेडिज घडी फेला परेकोले महिलाको लास भएको यकिन भयो । सो लास मिति २०६८।९।२७ गते राति सोही स्थानमा जलाएको हुन सक्ने देखिएकोले हाम्रो गाउँमा कहाँबाट कस्को लास जलाइयो भनी हामी गाउँलेहरूलाई चासो भएकोले मिति २०६८।१०।७ गते साँझ म र मेरो श्रीमान् सूर्यबहादुर दोङ झाप्रेस्थित आफ्नो घरतर्फ फर्किरहेको अवस्थामा सो लास जलाएको स्थानमा बा. ८ च. ५४०८ नं. को गाडी रोकेको र एकजना मानिस गाडीबाट ओर्ली लास जलाएको स्थान तथा वरपरको झाडीमा पटक–पटक घुमिफिरी ओहोर दोहोर गरी हेरिरहेको देखी हामीलाई शंका लाग्यो । श्रीमान्ले छिमेकी मंगल तामाङलाई खबर गर्दा मंगल तामाङको साथमा किरणमान बलसमेत सो स्थानमा आए । हामीलाई देखेपछि घटनास्थल निरीक्षण गर्ने मानिस बा. ८ च ५४०८ नं. को गाडीमा गए । केही समयपछि पुनः फर्की सोही स्थानमा आई शंकास्पद गतिविधि देखाएकोले हामीले बाटो छेकी सोधपुछ गर्दा निजले आफूलाई सशस्त्र प्रहरी बलको हाकिम भने । सो सम्बन्धमा नजिकको प्रहरी कार्यालयमा जानकारी गरायौं । सो लास सम्बन्धमा निजै व्यक्तिलाई थाहा हुनुपर्छ भन्नेसमेत बेहोराको सुनिता दोङको कागज ।
लास जाँच मुचुल्कामा उल्लेख भएअनुसार मानव शरीरका बाँकी रहेका अवशेषहरू गीता ढकाल (कोइराला) लाई जलाउँदा बाँकी रहेका हुन् । बरामद केही जलेका घडी र रिङ पनि निज गीताको हो भन्ने बेहोराको प्रतिवादी रञ्जनप्रसाद कोइरालाको सनाखत कागज ।
डि.आई.जी. रञ्जन कोइराला मिति २०६८ साल भाद्र महिनामा चाइना तालिमको लागि जानुभएको र मिति २०६८।९।२१ गते उहाँ आउँदै हुनुहुन्छ, तिमी गाडी लिएर लिन जानु भनी तारा रेग्मीले भनेकोले अफिसको बा. १ झ ६२१३ नं. को गाडीमा बडी गार्ड स.प्र.ह. इन्द्र खत्रीलगायत २।३ जना साथीहरू तारा रेग्मी बस्ने गरेको रानीवनमा गई त्यहाँबाट निजसमेतलाई लिई बिहान ११ बजे एयरपोर्टमा गई साँझ अं.१७:३० बजे रञ्जन सर आउनुभएपछि गाडीमा चढाई तारा रेग्मीको कोठामा पुग्दा तिमीहरू अफिस जाओ भनेकोले निजहरूलाई त्यहीँ छोडी हामीहरू अफिस गयौँ । ऐ. २२ गते बिहान तारा मेमले बोलाएकीले गई बा. ६ च २८१४ नं. को गाडीमा रञ्जन सर र तारालाई का.जि. इचङ्गुको घरमा लगेँ । मिति २०६८।९।२७ गतेका बिहान अं. ७ बजेतिर रञ्जन सरको जेठो छोरा आयुषलाई टेनिस बल खेल्नको लागि बा. ६ च २८१४ नं. को कारमा राखी घरबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हल्चोकमा लगी छोडेको थिएँ । सोही दिन बिहान रञ्जनप्रसाद कोइराला सरले तेलको अभाव छ, पेट्रोल लिई घरमा राख्नु भन्नुभएकोले अं. ८.२० बजे का.जि., का.म.न.पा. स्वयम्भुस्थित पसलमा गई ३५।३५ लिटरका दुईवटा ग्यालेन खरिद गरी ५० लिटरको ग्यालेन घरमा नै भएकोले उक्त ५० लिटरको ग्यालेन स.प्र.ह. इन्द्र खत्रीले ल्याई तीन वटै ग्यालेनमा १२३ लिटर पेट्रोल अफिसको पेट्रोलपम्पबाट भरी बा. ६ च २८१४ नं. को गाडीमा लोड गरी रञ्जन सरको घरमा लगी राखेका थियौं । ३५।३५ लिटरको ग्यालेन र २०।२० लिटरको अरू २ ग्यालेनसमेत खरिद गरी ती जर्किनमा ५० लिटरको जर्किनबाट पेट्रोल भरी बा. १ झ ६२१३ नं. को गाडीमा राख्नु भन्नुभएकोले सो काम गरेको हुँ र अं. ९:३० बजे छोरा आयुषलाई अफिसबाट घरमा ल्याई छोडेको थिएँ । दिनको १ बजे आमा रमादेवी कोइरालालाई सपिङको लागि बा. १ झ ६२१३ नं. को गाडीमा राखी कालीमाटीमा लगी सपिङ गरी साँझ ४:३० बजे घरमा लगी छोडिदिएको थिएँ । साँझ अं.६:१५ बजेको समयमा रञ्जन सरले मलाई फोन गरी अफिसको गाडी लिएर महाराजगन्ज आइज भन्नुभएकोले गाडी लिई जाँदा सरले चोकदेखि केही वर आइज भनी पुनः फोन गर्नुभएकोले जाँदा भेट भएपछि तँ खाना खाएर यहीँ बस्दै गर् भनी मलाई केही पैसासमेत दिनु भई सरले आफैँ गाडी हाँकी एक्लै महाराजगन्ज चोकतर्फ जानुभयो । म सोही स्थानमै एक डेढ घण्टा बसी रोटी खाँदै गरेको अवस्थामा मलाई फोन गरी बसेको स्थानको विपरीत दिशामा गाडी लिई आउनु भई रोक्नुभएको र ड्राइभर सिट छाडिदिनु भई मलाई गाडी चलाउन दिनुभएकोले मैले गाडी चलाई हलचोक पेट्रोलपम्पमा तेल भर्न भनेकोले अं.३०/३५ लिटर डिजेल भरी थानकोटतर्फ हिँड भन्नु भएकोले गाडी हाँकी जाँदै गर्दा अं. ९:३० बजे खानीखोला क्रस गरी होटल रहेको स्थानमा गाडी रोक्न लगाई साथीको घरमा सुत्ने ठाउँ छैन, तँ यहीँ सुत् भन्नु भएकोले म त्यहीँ ओर्लिएको र सर एक्लै गाडी हाँकी लिई जानुभएको
हो । म होटेलमा सुतेँ । भोलिपल्ट बिहान करिब ३:३० बजे मलाई छोडेकै होटलमा आउनु भई सरले मलाई बोलाउनु भएकोले म होटेलबाट निस्की बाहिर आउँदा गाडी स्टार्टमै थियो । गाडीको सिट छोडी दिनुभयो । मैले गाडी हाँकी ल्याई सरकै घरमा छोडी म डेरा कोठामा गएको थिएँ । सर एवं तारा मेमको आदेशबमोजिम काम गरिरहेको र मिति २०६८।१०।७ गते साँझ आफ्नै डेरा कोठामा सुतिरहेको अवस्थामा तारा रेग्मीले मलाई फोन गर्नु भई सर कहाँ जानुभएको छ भन्नु भएको र मैले थाहा भएन, सरले बा. ८ च ५४०८ नं. को गाडी लिएर जानुभएको छ भनेको थिएँ । त्यसपछि सर कहाँ गएको छ, खोज्न जानुपर्छ गाडी लिएर आऊ, म पनि जान्छु भनी आमा रमादेवी कोइरालाले भन्नुभएकोले मैले सरकारी गाडी लिएर जाँदै गर्दा तारा रेग्मीले फोन गरी गाडी लिएर स्वयम्भु चोकमा आऊ भन्नु भएकोले स्वयम्भु चोकमा जाँदा तारा रेग्मीलाई भेटी उक्त गाडीमा ऋषि ढुंगेल, यानबहादुर शाही, तारा मेमको आफन्त केटा मानिससमेत बसी तारा रेग्मीले मुग्लिङतर्फ खोज्न जाउँ भनेकोले जाँदै गर्दा बाटोमा तारा रेग्मीसँग सर कहाँ कता हो भनी फोनमा कुरा भएको सुनेको र सर रामनगरमा भेटिएको भन्ने कुरा सुनेको थिएँ । मुग्लिङमा पुगेपछि तारा रेग्मीले निजको आफन्त केटा र यानबहादुर शाहीलाई ओर्ली बस्नु भनेकोले दुवैजना ओर्ली होटेलमा बसेका र हामी तीन जना नारायणगढतर्फ लाग्यौं । नारायणगढ चोक पुग्दा बिहानको राति ३:३० बजेको थियो । नारायणढ चोकदेखि दक्षिण किनारामा बा. ८ च ५४०८ नं. को गाडी रोकी राखेकोले सोही गाडीनजिक लगी रोकी तारा रेग्मी हाम्रो गाडीबाट ओर्ली तिमीहरू यहीँ बस भनी जानुभएको थियो । ऐ. ८ गते बिहान ५ बजे तारा रेग्मीले मलाई फोन गरी तिमीहरू गाडीमा तेल भरेर काठमाडौंतर्फ फर्की जाऊ भनेकोले काठमाडौंतर्फ आउँदै गर्दा मुग्लिङमा छोडेका दुई जनालाई गाडीमा राखी आउँदै थियौं । बैरेनीमा एक जना मानिस छ, लिएर जानु भनी रञ्जनप्रसाद कोइरालाले यानबहादुर शाहीको मोबाइलमा फोन गर्नुभएकोले बैरेनीमा पुगेपछि बा. ८ च. ५४०८ नं. को गाडी देखी सोही गाडीको पछाडि लगी गाडी रोकी तारा रेग्मी गाडीबाट ओर्ली मैले हाँकेको गाडीमा आई बस्नु भई छिटो जाउँ भन्नुभएकोले गाडी हाँकी काठमाडौं स्थित का.जि. इचङ्गुनारायणको घरमा लगी छोडेको हो । स.प्र.ह. रामकुमार गुरूङले भोलिपल्ट गाडी सफा गर्दा गाडीको पछाडि पेट्रोल राखिएको ग्यालेनहरू नभएको र अगाडिको बायाँतर्फको सिट म्याटसमेत नभएको भनी बताएकाले थाहा पाएको हो । चारथान पेट्रोल भरिएको ग्यालेन एवं म्याटसमेत गाडीमा नभएको र लास मुचुल्का भएको स्थानबाट जलेको म्याटको केही टुक्रा फेला परी आएकोले सो पेट्रोल तथा म्याटसमेत गीता ढकाल (कोइराला) को लास जलाउन प्रयोग गरेकोमा शंका लाग्छ भन्नेसमेत बेहोराको बुझिएका बा. १ झ ६२१३ नं. को गाडीका चालक स.प्र.ज. शंकर पौडेलले मिति २०६८।१०।१० मा गरेको कागज ।
मिति २०६८।९।२७ गते मलाई रञ्जनप्रसाद कोइराला सरले बोलाउनुभएको छ भनी यानबहादुर शाहीले फोन गरी तुरून्त घरमा आउनु भनेकोले १० बजेतिर रञ्जन सरको घरमा जाँदा बा. ६ च २८१४ नं. को गाडीमा डि.आई.जी रञ्जन सरले तिमी गाडीको पछाडि बस भन्नुभयो । म पछाडि बसेँ । दुवै छोरा गाडीको अगाडि सिटमा बसे, रञ्जन सरले गाडी हाँकी का.जि. विष्णु-बुढानीलकण्ठ पासीकोटस्थित गीता ढकाल (कोइराला) को घरमा पुग्यौं । नारायण गोपाल चोकदेखि केही पर बसुन्धरा चोकमा गाडी रोक्नु भई ब्राउन कलरको ज्याकेटबाट दुई बिटा रकम निकाली खल्तीमा राखी बाबुहरूलाई घरमा लगी जानु भन्नुभयो । मैले छोराहरूलाई घरमा लगी छोडेको
हो । मिति २०६८।९।२८ गते बिहान ८:३० बजे सरको घरमा गई बा. १ झ ६२१३ नं. को गाडी कार्यालयको सवारी शाखामा ल्याई सफा गर्दा पेट्रोलको अत्यधिक गन्ध आएको थियो । चालकको बायाँ साइडतर्फको खुट्टा राख्ने रबर म्याट नभएकोले सो कुरा इन्द्र खत्रीलाई भन्दा आफूलाई थाहा नभएको भनी बताएपछि अन्य गाडीको पुरानो सिट राखेँ । उक्त म्याट डि.आई.जी रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाल (कोइराला) लाई जलाउन प्रयोग गरेको हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका स.प्र.ह. रामकुमार गुरूङले मिति २०६८।१०।१० मा गरेको कागज ।
मिति २०६८।९।२८ गते मकवानपुर टिस्टुङबाट बरामद भई आएको गाडीको जलेको म्याटको टुक्रा, उक्त म्याटमा भएको लोगो र त्यस्तै प्रकारको नजलेको सग्लो म्याटमा भएको लोगो एउटै हो, देखाउँदा देखेँ चिनी सनाखत गरेँ भनी रामकुमार गुरूङले मिति २०६८।१०।१० मा गरेको सनाखत कागज ।
बा. १ झ ६२१३ नं. को गाडीमा खुट्टा राख्ने अगाडिको बायाँतर्फको म्याट सिट नभएको र लास जलाएको स्थानबाट बरामद भएको जली केही भाग रहेको म्याटको टुक्रा देखाउँदा देखेँ, सोही गाडीको म्याट हो भन्नेसमेत बेहोराको चालक शंकर पौडेलले मिति २०६८।१०।१० मा गरेको सनाखत कागज ।
म ५ वर्षअगाडिदेखि डि.आई.जी. रञ्जनप्रसाद कोइरालाको घरमा खाना पकाउने काम गर्दछु । सो घरमा आमा रमादेवी कोइराला, छोरा आयुष र आर्यन कोइराला, तारा रेग्मी नाम गरेकी महिला डि.आई.जी. रञ्जनसँग घरमा आउने, बस्ने, खाने गरी श्रीमान् श्रीमती जस्तो व्यवहार गर्दथे । विवाह भए नभएको मलाई थाहा भएन । मिति २०६८।९।२१ गते डि.आई.जी. रञ्जनप्रसाद कोइराला चाइनाबाट आई तारा रेग्मीको घरमा बसेको भन्ने थाहा पाएको हो । मिति २०६८।९।२७ गते बिहान आमा गीता ढकाल (कोइराला) सँग बस्दै आएका छोरा आर्यन कोइरालालाई रञ्जन सरले घरमा ल्याउनुभएको
थियो । मिति २०६८।१०।८ गते रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाल (कोइराला) लाई कर्तव्य गरी मारेकोले पक्राउ परेको थाहा पाएको हुँ भन्नेसमेत बेहोराको स.प्र.प. राजकुमार स्याङ्गतानले मिति २०६८।१०।१० मा गरेको कागज ।
म डि.आई.जी. रञ्जनप्रसाद कोइरालाको बडीगार्ड हुँ । मिति २०६८।९।२७ गतेका दिन सरलाई घरमै देखेको थिएँ । अफिसमा आई मिति २०६८।१०।१ गतेका दिन साँझ चालक शंकर पौडेलले गाडी हाँकी रञ्जन सरको घरमा जान लागेकोले म पनि सोही गाडीमा बसी जाँदा सरले गंगालाल अस्पतालबाट बोलाउनुभएको छ भनेकोले जाँदा सरलाई अस्पतालको इमरजेन्सी वार्डमा देखी भेट भई निजलाई सोही अस्पतालमा भर्ना गरेकोले शंकर र म कुरूवा बस्यौं । भर्ना भएको अवस्थामा मेरो मोबाइलबाट के कहाँ फोन गर्नुभयो थाहा भएन । मिति २०६८।१०।५ गते बिहान मलाई फोन गर्नु भई दाजु रमेश कोइरालाको घरमा गई फोटो ल्याई तारा मेमलाई दिनु भन्नुभएकोले गई फोटो ल्याई तारा मेमलाई दिएको हो । उक्त फोटोहरूमा सरदारजी र गीता ढकाल (कोइराला) सँगै बसेको र अन्य केटीहरू बसेको २।३ वटा फोटोहरू थियो । सोही दिन मलाई चिट्ठी बुझाएर आउनु भनी दिएको चिट्ठीहरू प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, लैंङ्गिक हिंसा विरूद्धको कार्यालय, महिला आयोग, सशस्त्र प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालयसमेतमा बुझाएको थिएँ । ऐ. ७ गतेका दिन आफ्नै कोठामा बसिरहेको थिएँ । सर हराउनुभयो रे भनी शंकर पौडेलले भनेकोले खोज्न जान भनी चालक शंकर पौडेल, यानबहादुर शाही, तारा रेग्मी र निजको आफन्त केटासमेत भई मुग्लिङतर्फ खोज्न जाउँ भन्नुभयो । गजुरी कटेपछि तारा रेग्मीले फोनमा कुरा गर्दा सर रामनगरमा भेटिनुभयो भन्ने सुनेको
हो । नारायणगढ चोक पूर्वतर्फ घरकै नजिक साइडमा बा. ८ च ५४०८ नं. को कार गाडी रोकिराखेको
थियो । सोही ठाउँमा तारा रेग्मीले गाडी रोक्न लगाई निज गाडीबाट ओर्ली तिमीहरू यहीँ सुत भनी निज तारा बा. ८ च ५४०८ नं. को गाडीमा जानुभएको थियो । हामी त्यहीँ सुत्यौँ । भोलिपल्ट बिहान ५ बजे शंकर पौडेलको मोबाइलमा फोन आई तिमीहरूले राति मुग्लिङमा छोडेका मानिसलाई लिई काठमाडौंतर्फ जानु भनेकोले निजहरूलाई समेत गाडीमा राखी काठमाडौंतर्फ आउँदै गर्दा बैरेनीमा एकजना मानिसलाई लिएर जानु भनी रञ्जन सरले यानबहादुर शाहीको मोबाइलमा फोन गर्नुभई बैरेनी कटेपछि सडकको छेउमा बा. ८ च ५४०८ नं. को गाडी रोकी राखेको थियो । सोही गाडीबाट तारा रेग्मी ओर्लिनु भई बा. १ झ ६२१३ नं. को गाडीमा चढी छिटो जाउँ भन्नुभएकोले काठमाडौंतर्फ आई नागढुङ्गा क्रस गर्दा अं. १० बजेको थियो होला । तारा रेग्मी, निजको आफन्त र यानबहादुर शाही स्वयम्भु घरमा गएका थिएँ । पछि डि.आई.जी. रञ्जन श्रीमतीको हत्या अभियोगमा पक्राउ परेको भन्ने सुनेको हो भन्नेसमेत बेहोराको ऋषिराम ढुंगेलले मिति २०६८।१०।१० मा गरेको कागज ।
२०६८ सालदेखि म स.प्र.ना.म.नि. रञ्जनप्रसाद कोइरालाको अंगरक्षक बसेको छु । निजकी श्रीमती गीता ढकाल (कोइराला) ले आफ्नो कान्छा छोरा आर्यन कोइरालालाई साथमा राखी का.जि. विष्णु-बुढानीलकण्ठ गा.वि.स. वडा नं. ५ मा बस्ने र डि.आई.जी. रञ्जन का.जि. इचङ्गुनारायण गा.वि.स. वडा नं. ६ मा बस्नु हुन्छ । डि.आई.जी. रञ्जनप्रसाद कोइराला तारा रेग्मीसँग घुमफिर गरी घरमा ल्याउने र कहिले तारा रेग्मीको का.जि. रानीबनमा रहेको डेरा कोठामा बस्ने गरी आउनु भएको, मिति २०६८।९।२७ गतेका दिन बिहान अं. ८ बजे स.प्र.ज. शंकर पौडेलले डि.आई.जी. सरलाई पेट्रोल चाहिएको छ, घरमा रहेको ५० लिटरको ग्यालेन लिएर सशस्त्र प्रहरी बल पेट्रोल पम्पमा लिई आउनु भनेकोले ग्यालेन लगी शंकर पौडेललाई दिएको हो । ३५।३५ लिटर र ५० लिटरको ग्यालेन घरमा लगी राखेको र २०।२० लिटरको ग्यालेन खरिद गरी ल्याउन आदेश भएकोले शंकर पौडेलले ग्यालेन खरिद गरी ल्याई ५० लिटरको ग्यालेनबाट २०।२० लिटर भरी बा. १ झ ६२१३ नं. को गाडीमा राख्न आदेश भएको छ भनेका थिएँ । मिति २०६८।१०।०७ गतेका दिन बिहान शंकर पौडेलले बा. १ झ ६२१३ नं. को गाडी लिई महाराजगन्जमा रमेश कोइरालाको घरमा आई छोराहरू आयुष र आर्यनलाई गाडीमा राखी बबरमहलमा आई अं. १२ बजे रेष्टुरेन्टमा खाजा खायौं । त्यसपछि छोराहरूलाई दाजु रमेश कोइरालाको घरमा पुर्याई आउनु भनी शंकर पौडेललाई भनेकोले शंकर पौडेलले छोराहरूलाई पुर्याए । त्यसपछि ज्ञानेश्वरमा रहेको रञ्जनप्रसाद कोइरालाको माइला दाजुको घरमा गयौं । उक्त घरमा रहेको बा. ८ च. ५४०८ नं. को गाडी निज रञ्जनप्रसाद कोइरालाले लिई एक्लै गएका र हामीलाई बा. १ झ ६२१३ नं. को गाडी लिई जानु भने । के कता गए थाहा भएन । ऐ. ८ गते डि.आई.जी. रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीता ढकाल (कोइराला) लाई मारी मकवानपुरको टिष्टुङमा लगी जलाएको भन्ने थाहा पाएँ भन्नेसमेत बेहोराको बुझिएका इन्द्रबहादुर खत्रीले गरेको मिति २०६८।१०।१० गतेको कागज ।
मिति २०६८।९।२१ गतेदेखि २०६८।१०।८ गतेसम्मको ९८१३२५६०००, ९८४१५२३५७४ र ९७४१०४३९९१ नं. को कल विवरण उपलब्ध गराइएको भन्नेसमेत बेहोराको महानगरीय प्रहरी अपराध महाशाखाको पत्र ।
रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाल (कोइराला) लाई मारी जिल्ला मकवानपुर टिष्टुङ गा.वि.स. वडा नं. ९ मेत्राङ भन्ने स्थानमा पुर्याई जलाई नष्ट गरेको भन्ने अपराधको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय टिष्टुङ मकवानपुरबाट उल्लिखित मेत्राङ भन्ने स्थानमा मानव शरीर जलेर बाँकी रहेका अवशेषहरू फेला पारी उक्त अवशेषहरूलाई पोष्टमार्टमको लागि फरेन्सिक मेडिसिन विभाग महाराजगन्जमा पठाएकोमा उक्त विभागले अवशेषहरू पोष्टमार्टमको क्रममा DNA परीक्षणको लागि निकालिएका नमुना, हरेराम ढकाल र निजकी श्रीमती हरिप्रिया ढकाललाई उपस्थित गराई DNA परीक्षणको लागि नमुना निकाली राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई लेखेको मिति २०६८।१०।१२ को पत्र ।
का.जि. इचङ्गुनारायण गा.वि.स. वडा नं. ६ को घर खानतलासी गर्दा ५० लिटरको केही कालो खैरो रंगको खाली ग्यालेन बरामद गरिएको भन्नेसमेत बेहोराको मिति २०६८।१०।१२ गतेको खानतलासी बरामदी मुचुल्का ।
बा. १ झ ६२१३ नं. को र बा. ८ च ५४०८ नं. को गाडी काठमाडौंबाहिर र भित्र आएको सवारी दर्ता किताबको फोटोकपी पठाइएको भन्नेसमेत बेहोराको महानगरीय प्रहरी प्रभाग थानकोटको मिति २०६८।१०।९ गतेको पत्र ।
मानिस खोजतलास गरी दोषीउपर कारबाही गरिपाउँ भन्ने बेहोराको महानगरीय प्रहरी परिसर हनुमानढोकालाई सम्बोधन गरेको, मेरो विरूद्धमा गरिएका उजुरीहरूबाट मेरो सामाजिक प्रतिष्ठा, नेपाल राज्य, नेपाल सरकारबाट सुम्पिएको जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने पद तथा भविष्यका मेरो सम्भावनाहरू सबैलाई क्षति पुर्याउने, बन्द गराउने तथा मानसिक यातना दिने उद्देश्य निहित भएको देखिन्छ । सत्य तथ्य छानबिन गरी दोषीउपर कारबाही गरिपाउन निवेदन पेस गरेको छु भनी बोधार्थमा प्रधानमन्त्री, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी आयुक्तको कार्यालय, राष्ट्रिय महिला आयोग र लैंगिक हिंसासम्बन्धी उजुरी गर्ने इकाइसमेतमा मिति २०६८।१०।५ गते रञ्जनप्रसाद कोइरालाले दिएको निवेदन ।
मिति २०६८।९।२७ गते बिहान मेरो पसलबाट ३५।३५ लिटरको दुई थान ग्यालेन खरिद गर्ने मानिस यिनै हुन् भन्नेसमेत बेहोराको का.जि. का.म.पा. वडा नं. १५ स्वयम्भुमा पसल गरी बस्ने देवेन्द्र पोखरेलले प्रतिवादी रञ्जन कोइरालाका चालक शंकर पौडेललाई चिनी गरिदिएको मिति २०६८।१०।१४ गतेको सनाखत कागज ।
मिति २०६८।९।२७ गते मेरो पसलबाट २०।२० लिटरको दुई थान सेतो ग्यालेन खरिद गर्ने व्यक्ति यिनै हुन् भनी का.जि.का.म.पा. वडा नं. १३ टंकेश्वरीमा पसल गरी बस्ने प्रदिप अधिकारीले प्रतिवादी रञ्जनप्रसाद कोइरालाका चालक शंकर पौडेललाई चिनी गरिदिएको मिति २०६८।१०।१४ गतेको सनाखत कागज ।
मिति २०६८।९।२७ गतेका दिन साँझ ८।९ बजेको समयमा निलो रंगको उच्च सरकारी अधिकृतले प्रयोग गर्ने जस्तो देखिने गाडीमा रातो बत्ती बाल्दै मेरो गेष्टहाउसमा आएर दुई कप चिया मागेकोले चिया दिएपछि एक कप चिया चालकले नै गाडीमा लगिदिएको र चालक फर्की आई होटलमा बसी चिया पिएको हो । तँ यही होटलमा बस्नु, म भोलि बिहान आउँछु भनी गाडी आफैँले हाँकी लिई गए । चालक होटलको भुइँतलामा रहेको कोठामा सुते । भोलिपल्ट बिहान कोही कसैलाई कुनै जानकारी नदिई निस्की गएका रहेछन् । हाल प्रहरीसाथ आएका व्यक्ति नै मेरो गेस्ट हाउसमा बसेका हुन् । रूमको भाडा र चियाको रकम भुक्तानी गरेका थिएनन् । निजको नाम शंकर पौडेल रहेछ, देखी चिनेँ भनी नवराज भोजनालय एण्ड गेष्टहाउसका सञ्चालिका निर्मला उप्रेतीले गरेको मिति २०६८।१०।१४ गतेको सनाखत कागज ।
मिति २०६८।०९।२८ गते लास जलाइएको स्थानमा मिति २०६८।१०।७ गतेका दिन साँझ बा. ८ च ५४०८ नं. को गाडी रोकी यताउता हेरिरहेको अवस्थामा फेला परेका मानिसलाई सोधपुछ गर्न लाग्दा जबरजस्ती जान लागेकोले हामीले गाडीको चाबी निकालेपछि आत्तिएर आफू डि.आई.जी. हुँ भनी रञ्जनप्रसाद कोइराला लेखेको परिचयपत्रसमेत देखाएका थिएँ । रातो गलामा मसिनो भुवा जस्तो भएको ज्याकेट, निलो जिन्स पाइन्ट, कान छोप्ने टोपी लगाएका व्यक्ति हाल देखाइएका मानिस हुन् । निजले श्रीमती गीता ढकाल (कोइराला) लाई कर्तव्य गरी जलाएको यकिन भयो भन्नेसमेत बेहोराको मंगलबहादुर तामाङ, किरणमान बल, सुनिता दोङ र सूर्यबहादुर दोङको एकै मिलानको मिति २०६८।१०।१५ गतेको सनाखत कागज ।
मिति २०६८।९।२७ गतेका दिन बिहान दाजुलाई विदेश पठाउन एयरपोर्ट गएको थिएँ । साँझ घरमा आउँदा कान्छो छोरा आर्यनलाई ल्याएका
रहेछन् । रञ्जन सर घरमा आउनुभएको थिएन । ऐ. २८ गते बिहान बा. १ झ ६२१३ नं. को गाडी घरमा नै थियो । मिति २०६८।१०।७ गते साँझ म सुतिरहेको थिएँ । चालक शंकर पौडेलले मेरो ९८४८२६७४०८ मा फोन गरी रञ्जन सर भागे, खोज्न जाउँ भनेकोले बा. १ झ ६२१३ नं. को गाडी लिएर आएका थिएँ । खोजी गर्नको लागि मुग्लिङतर्फ गयौं । तारा रेग्मीले रञ्जन सरसँग फोनमा कुरा गरिरहेकी थिइन् । रञ्जन सर रामनगरमा रहेको भनेपछि थाहा पाएको हो । म र तारा रेग्मीको आफन्त केटालाई मुग्लिङमा बस्नु भनेकोले हामी होटलमा बस्यौं । भोलिपल्ट बिहान चालक शंकर पौडेलले मलाई फोन गरी हामीलाई बाहिर निस्कनु भनेकोले निस्की १०/१५ मिनेटमै आइपुगी गाडीमा चढ्यौं । गाडीमा तारा रेग्मी र रञ्जन थिएनन् । मलेखु पुलमा आइपुग्दा रञ्जन सरले ९८४९९०६१०० नं. बाट मेरो ९८१४५३३६७६ नं. को मोबाइलमा फोन गरी कहाँ आइपुग्यौ भनेकोले मलेखु आउँदै छौं भन्दा बैरेनीमा एउटा मानिसलाई लिएर आउनु भन्नुभयो । बैरेनी आएपछि बा. ८ च ५४०८ नं. को गाडी पार्किङ गरी साइड लाइट बलिरहेको थियो । उक्त नं. को गाडीबाट तारा रेग्मी ओर्लिएर बा. १ झ ६२१३ नं. को गाडीमा चढ्नुभयो । त्यसपछि हामी काठमाडौं स्वयम्भु घरमा आयौं । डि. आई .जी. रञ्जन सर भने पछि-पछि आउँदै थिए । अं. ११ बजेतिर रञ्जन पक्राउ परेको सुनेको हो । निज रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीता ढकाल (कोइराला) लाई कर्तव्य गरेकोमा शंका लाग्छ भन्नेसमेत बेहोराको यानबहादुर शाहीको मिति २०६८।१०।१८ गतेको कागज ।
हरेराम ढकालकी छोरी गीता ढकाललाई २०५० सालमा विवाह गरी हामीहरूबाट दुई सन्तानको जायजन्म भइसकेको छ । जेठो छोरा आयुष र कान्छो छोरा आर्यन कोइराला हुन् । श्रीमती गीता ढकाल (कोइराला) सँग मेरो राजीखुसीले विवाह भएको होइन । आमा बाबुको करले गरेको हो । मलाई पुलिस मन पर्दैन भनी सामान्य खटपट भएकोले विगत १० वर्षदेखि हामीबिच अलग–अलग बस्ने कुरा भई निज श्रीमती विष्णु गा.वि.स. को घरमा र म का.जि. इचङ्गुनारायणको घरमा बस्दै आएको छु । मैले श्रीमती गीता ढकाल (कोइराला) लाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतसमक्ष दिएको अंशचलन मुद्दा विचाराधीन अवस्थामा छ । श्रीमतीले मलाई प्रतिवादी बनाई दिएको माना चामल मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मेरो तलब भत्ता रोक्का राख्न जानकारी गराइदिनेसम्बन्धी पत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालयमा पठाएको कुरा हाल मिसिल संलग्न अदालतको पत्र देखेँ । यसैबिच नेपाल सरकारको निर्णयानुसार चीनको बेइजिङमा नेसनल डिफेन्स कोर्सको लागि २०६८ साल भाद्र महिनामा गएर मिति २०६८।९।२१ गते नेपाल फर्की आएको थिएँ । फर्की आएपछि गीता ढकाल (कोइराला) सँग कुनै फोन सम्पर्क भेटघाट भएको थिएन । ऐ. २७ गतेका दिन बिहान अं. ७:३० बजेतिर गीता ढकाल (कोइराला) ले प्रयोग गर्ने ९७४१०४३९९१ नं. को मोबाइलबाट कान्छो छोरा आर्यन कोइरालाले मैले प्रयोग गर्ने ९८१३२५६००० नं. को मोबाइलमा फोन गरेकोले उक्त फोन जेठो छोरा आयुष कोइरालाले रिसिभ गरेको र निज आयुषले भाइले स्कुल जाडो बिदा भएको हुँदा मलाई लिन आउनु भनी खबर गरेको भनी जानकारी गराएपछि कान्छो छोरालाई लिनको लागि म, छोरा आयुष र चालक रामकुमार गुरूङसहित तीन जना गीता ढकाल (कोइराला) बस्दै आएको घरमा गई छोरा आर्यनलाई १० बजेतिर लिएर आयौं । गीतासँग भेट भएको थियो । तर कुनै गफगाफ भएन । मैले दुवै छोरालाई टेनिस खेल्नको लागि हल्चोकमा छोडी म सपिङ गर्न भाटभटेनी सुपर मार्केटमा गएँ । त्यहाँ सपिङ गर्दागर्दै गीताले फोन गरी सल्लाह गर्नु छ, तुरून्त घरमा आउनु भनेपछि म केही जरूरी काम होला भनी अं. १२ बजेतिर पुगेको थिएँ । म घरमा पुग्दा गीता भर्याङ चढ्ने ठाउँनेर घाम तापेर बसिरहेकी थिइन् । म घरमा पुग्नासाथ गीता ढकाल (कोइराला) ले मलाई व्यापार गर्नका लागि इन्डिया जानुपर्ने भो, चार पाँच लाख जति रूपैयाँ चाहियो भनिन्, मैले मसँग पैसा छैन भनी घरबाट निस्केर बाहिर जान खोज्दा गीताले मलाई रोक्दै मेरो ज्याकेट समातेर तान्दै विभिन्न गालीगलौजसमेत गर्न लागिन् । तानातानकै क्रममा हामीबिच हात हालाहाल भयो । यसैबिचमा म भर्याङ चढी गीता ढकाल (कोइराला) सुत्ने गरेको कोठामा गएँ । उनी मलाई गाली गलौज गर्दै सोही कोठामा आई झगडा गर्न थालिन् । सो कोठामा पनि हामीबिच हात हालाहाल र धकेलाधकेल भयो । हातपातकै क्रममा मैले गीतालाई धकेल्दा उनी कोठाकै भित्तामा बजारिँदा निजको टाउको भित्तामा ठोकिन पुग्यो । त्यसपछि उनी बोल्न चल्न नसकी अचेत भइन् । मैले नाटक गरेकी होली भन्ठानी बैठक कोठामा आई १०।१५ मिनेट बसेँ । त्यसपछि पुनः गीता पल्टेको ठाउँमा गई हेर्दा उनी सोही ठाउँमा पहिलेकै अवस्थामा पल्टिरहेकी थिइन् । त्यसपछि मैले उनलाई हल्लाई चलाउँदासमेत कुनै प्रतिक्रिया नजनाएपछि उनको श्वासप्रश्वाससमेत बन्द भइसकेको यकिन भई निजलाई बिस्तराको कुनापट्टि छाडी उनी सुत्ने कोठामा लक गरी चाबी बाहिर छोराले किताब राख्ने ठाउँनेर फाली म १ बजेतिर निस्केँ । म एकदमै आत्तिई विक्षिप्त भई गीताको लासलाई के गर्ने भनी सोची कुनै एकान्त स्थानमा लगी जलाई नष्ट गर्न उपयुक्त सम्झेँ । बेलुकाको अं. ६ बजेतिर चालक शंकर पौडेललाई फोन गरी बा.१ झ ६२१३ नं. को सरकारी प्राडो गाडी लिएर महाराजगन्ज चोकमा आउनु भनी बोलाएँ र बेलुकी ७ बजेतिर गाडी
ल्याए । मैले बसुन्धरातर्फबाट महाराजगन्ज नपुग्दै केही वरै निजलाई गाडी रोक्न लगाई यहीँ खाना खाँदै गर म केही क्षणमा फर्कन्छु भनी म गाडी लिएर गीता बस्ने गरेको घरमा गएँ । मैले गेट खोली घरभित्र गई गीताको लासलाई कम्मलले बेरी भान्सा कोठाकै ढोकाबाट बाहिर निकाली गाडीको पछाडि राखी ८ सवा ८ बजे मूल सडकमा आई शंकर पौडेललाई फोन गरेँ । मैले गाडी हाँकी चालकलाई छोडेको ठाउँमा पुगी म गाडीबाट ओर्ली ड्राइभरलाई गाडी चलाउन लगाएँ । सशस्त्र प्रहरीको पेट्रोल पम्पमा गई ३०।३५ लिटरजति डिजेल भर्न लगाई थानकोटतर्फ जाँदै गर्दा नागढुङ्गा चेकपोष्टमा ९ बजे पुग्यौं । मैले सो गाडीमा तीन चारवटा ग्यालेनमा पहिलेदेखि ल्याएकोले पेट्रोलले गीताको लासलाई जलाई नष्ट गर्ने योजना बनाएँ । लास जलाउने सुनसान र एकान्त ठाउँ जरूरी थियो । मैले खानीखोला पुगेपछि मेरो ड्राइभर शंकर पौडेललाई त्यहीँ ओर्लन लगाई तिमी यहीँ बस, म पछि तिमीलाई खबर गर्छु भनी कुनै निश्चित गन्तव्य र योजनाविना गाडी आफैँले चलाई नौबिसे हुँदै हेटौंडातर्फ अगाडि बढेँ । त्यसपछि एक डेढ घण्टा गाडी चलाई अगाडि बढेपछि सुनसानजस्तो ठाउँ देखी गाडी रोकेँ । मैले उक्त लासलाई सुनसान र सडकदेखि पर लैजान नसक्ने भएपछि उक्त लासलाई सडकछेउमा जलाई नष्ट गर्न उचित सम्झी सडकछेउमा राखी पेट्रोल लासमाथि खनाई आगोले जलाई फर्केको हुँ । खानीखोला आइपुगेपछि मैले ड्राइभर शंकरलाई बोलाई निज आएपछि शंकरलाई गाडी चलाउन दिई अ. ४:३० बजेतिर नागढुङ्गा क्रस गरी इचङ्गुनारायणको घरमा आएर गाडी अफिसमा राख्न पठाएको थिएँ । सो घटनामा अन्य कोही कसैको संलग्नता छैन । मेरो मात्र संलग्नता छ । मिति २०६८।१०।७ गतेका दिन घुमफिरको लागि बा. ८ च ५४०८ नं. को गाडीमा हेटौंडातर्फ जाँदै गर्दा मकवानपुर जिल्लाको टिष्टुङ गा.वि.स. स्थित मेत्राङ भन्ने स्थानमा स्थानीय मानिसहरूले रोकी सोधपुछ गरेपश्चात् प्रहरीलाई जिम्मा दिएपछि प्रहरीले मलाई छोडी म हेटौंडातर्फ गएँ भन्नेसमेत बेहोराको प्रतिवादी रञ्जनप्रसाद कोइरालाको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
श्रीमती गीता ढकाल (कोइराला) ले यस मन्त्रालयमा आवश्यक कानूनी कारबाही गरिपाउँ भनी दिएको निवेदनको छायाँकपी पठाइएको भन्नेसमेत बेहोराको गृह मन्त्रालय, प्रहरी प्रशासन शाखाको पत्र ।
मिति २०६८।९।२५ गते गीता ढकाल (कोइराला) को घरमा गएकोमा भोलिदेखि काम गर्न आउनु भन्नुभएकोले ऐ. २६ गते निजको घरमा गई कपडा धुने, तरकारी काट्ने काम गरी बसेँ । दिदी गीताले खुट्टा मर्किएको छ भन्नुहुन्थ्यो । ऐ. २७ गते बिहान १० बजे उहाँको घरमा जाँदा कान्छो छोरा आमासँगै थिए । मलाई काम देखाइदिनुभयो । म करेसाबारीतर्फ काम गर्न गएँ । सोही अवस्थामा कान्छो छोरालाई रञ्जनप्रसादले अङ्गालो हालेको देखेको थिएँ । मैले अन्दाजी १२ बजेतिर काम सकेपछि गीता कोइरालालाई भेट गर्न जाँदा निज आफ्नो कोठाबाहिर बरन्डामा बसी खुट्टा मालिस गर्दै हुनुहुन्थ्यो । छोरा तथा बाबुलाई देखिनँ । कुकुरलाई हड्डी भएको मासु किनेर ल्याइदिनु भनेर १०० दिनुभयो । मैले मासु ल्याई कहाँ राख्ने भन्दा भान्सा कोठामा राखिदिनु
भन्नुभयो । भोलिपल्ट गीताको घरमा जाँदा बाहिर गेटमा ताला लगाइराखेकोले बाहिर जानुभएको होला भन्ने सोची फर्की आएँ । पछि निज दिदीको घरमा प्रहरीसमेत आएको र दिदी गीतालाई निजकै श्रीमान् रञ्जनप्रसाद कोइरालाले अपहरण गरी कर्तव्य गरी मारेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको बुझिएकी सरस्वती परियारको कागज ।
म एक डेढ वर्षअगाडिदेखि गीता ढकाल (कोइराला) को घरमा घरायसी सरसफाइको काम गरी आएकी थिएँ । २०६७ सालको तिहारपछि गीता ढकाल (कोइराला) को जेठो छोरा बाबुसँग का.जि. स्वयम्भुमा बस्ने गरेको थिए । चाइनाबाट बाबु आएको भन्ने कुरा सानो छोराले आमालाई भनेका रहेछन् । मिति २०६८।९।२६ गतेका दिन दिदीले मलाई फोन गरी तपाइँ नआउने ? भन्दा मैले म पूजामा छु, आउन सक्दिनँ भनेकोले ऐ.२७ गतेका दिन दिउँसो दिदीलाई पूजाको प्रसाद पुर्याउन गएँ । भित्र गई दिदी दिदी भनी बोलाउँदा कुनै आवाज आएन । दिदी नबोलेपछि उहाँ सुत्ने कोठामा गई बोलाउँदासमेत नबोली ढोकामा फिट भएको हेण्डिल घुमाई खोल्न खोज्दा लक लगाएको रहेछ । त्यसपछि कराउँदै करेसाबारीतर्फ गएँ, कहीँकतै नदेखी फोन गर्दा फोन नउठेकोले म डेराकोठा
फर्केँ । मेरो डेरा कोठाबाट दिदी गीताको घरतर्फ हेर्दा भर्याङ चढ्ने प्यासेजको बरन्डामा पहिलाको सेतो पर्दा नदेखेको र पछि पर्दा लगाइसकेको देखेको थिएँ । साँझ अं.७:३० बजे दिदी गीताको घरअगाडि गाडीको आवाज सुनी हेर्दा ढोका खोली गाडी भित्र गयो । दिदीको आफन्त मानिस होला भन्ने सोचेँ । सो अवस्थामा लोडसेडिङ भएकोले अँध्यारो थियो । जिप गाडीको प्रस्ट रंग यकिन गर्न सकिनँ । घरको भान्सा कोठाअगाडि लसुन लगाएको स्थानमा गाडी रोकेको देखेँ । एकजना मानिस सानो लाइट बाली घरभित्र प्रवेश गरेकोसम्म देखेको र मानिस कस्तो थियो यकिन गर्न सकिनँ । १५।२० मिनेटपछि गेटमा गाडी रोकी ढोका बन्द गरेको आवाज सुनेँ । दिदी अस्पतालतर्फ जान लाग्नुभयो होला भनी सोचेँ । भोलिपल्ट २९ गते गीता ढकालको भाइ आई मलाई सोधेपछि प्रहरी आए । पछि बुझ्दै जाँदा दिदी गीतालाई निजकै श्रीमान् रञ्जनप्रसाद कोइरालाले कर्तव्य गरेको लासलाई मकवानपुर टिष्टुङ भन्ने स्थानमा लगी जलाएको थाहा पाएँ भन्नेसमेत बेहोराको बुझिएकी गीता कटुवालले गरेको कागज ।
यस कार्यालयमा डि.आई.जी. पदमा कार्यरत रञ्जनप्रसाद कोइराला चीनमा तालिमको लागि मिति २०६८।५।१६ गते जानुभएको थियो । निजलाई यस कार्यालयबाट बा.१ झ ६२१३ नं. को प्राडो गाडी र चालक तथा अंगरक्षक सुविधा स्वरूप उपलब्ध गराइएकोमा गाडी चालक स.प्र.ज. शंकर पौडेलले बुझेको, तालिमबाट बिदामा आएको कुरा निजले यस कार्यालयमा जानकारी नगराएको, विदेश तालिममा रहेको व्यक्ति बिदामा आउँदा सम्बन्धित कार्यालयलाई जानकारी गराउने वा नगराउने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था नरहेको हुँदा उक्त कुरा सम्बन्धित अधिकृतको विवेकमा भरपर्ने र बिदामा आएपछि रञ्जनप्रसाद कोइरालाको आदेशबमोजिम नै चालक शंकर पौडेलले मिति २०६८।९।२१ गते बिहान १० बजे निजलाई लिन उपलब्ध गराइएको गाडी लिई गएको, निजको जिम्मामा कुनै हातहतियार नरहेको साथै मिति २०६८।९।२७ गते चालक शंकर पौडेलले १२३ लिटर पेट्रोल रञ्जनप्रसाद कोइरालाको नाममा रहेको व्यक्तिगत खातामा जनाई लगेको कुपनबाट देखिएको भन्नेसमेत बेहोराको सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मिति २०६८।१०।२० गतेको पत्र ।
मिति २०६८।१०।७ गतेका दिन १५ बजे भाइ रञ्जनप्रसाद कोइरालालाई फोन गरी गीता ढकाल (कोइराला) हराएको सम्बन्धमा पत्रकार माझ कुरा राख्नुपर्यो भनी बानेश्वर चोकमा भेट भएपछि केही समयको लागि गाडी चाहियो भनेकोले बा. ८ च ५४०८ नं. को गाडी दिएको हुँ । निज गाडी लिएर कहाँ गए थाहा भएन । गाडी लगेपछि के कहाँ गयो भनी खोजी गर्दा फेला परेनन् । रातको १२ बजे भाइलाई फोन गर्दा फोन लाग्यो, बोल्दा केही लागु औषध खाए जस्तो बोली सुनी तिमी कहाँ छौ भन्दा म कहाँ छु, थाहा छैन भनेका थिएँ । उक्त गाडीमा फेला परेको सेतो प्लाष्टिक घरनजिक स्विमिङ पुल मासी कोठा निकाली काम गर्न भनी कामदारहरूलाई ल्याइराख्न अह्राएका थिए । निजहरूले नै ल्याई डिकीमा राखेका हुन् वा के हो सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको रविन्द्रप्रसाद कोइरालाले गरेको कागज ।
म का.जि. विष्णुबुढानीलकण्ठ गा.वि.स. पासीकोटमा आमा गीता ढकाल (कोइराला) सँगै बस्छु । दादा आयुष, बाबा, हजुरआमा स्वयम्भुको घरमा बस्नुहुन्छ, बाबा र ममीको झगडा विवाद हुने मलाई थाहा छैन । मिति २०६८।९।२५ गतेका दिन साँझ ७ बजे दादा आयुषलाई फोन गर्दा फोन बाबाले उठाउनुभएकोले बाबा चाइनाबाट आउनुभएको थाहा भयो । मैले बाबासँग कुरा गर्दा ममीले सुन्नुभएको थियो । बाबाले हेलो बेटा के छ भनी फोन
राख्नुभयो । ऐ. २७ गते बिहान अं.७.३० बजेतिर म सुतिरहेको थिएँ, दादाले गर्नुभएको फोन उठाउँदा तिमी यहाँ आउने होइन ? भन्नुभयो । मैले आमालाई सोध्छु अनि फोन गर्छु भनेँ । आमासँग सोध्दा जाउ न त भन्नुभएकोले दादालाई मलाई लिन आउनु भनेँ । बिहान १०:३० बजेतिर बाबा, दादा र चालक गाडी लिएर घरमा आउनुभयो । बाबासँग कुरा गरी बाबाले ल्याइदिएको कपडा लगाएँ । बाबा ममीको कुनै कुरा भएको सुनिनँ । १०।१५ मिनेटपछि म, दादा, बाबा सँगै गाडीमा स्वयम्भु घरमा गयौं । त्यसपछि केही समयपछि बाबा बाहिर निस्की जानुभएको थियो । के कहाँ जानुभयो थाहा भएन । सो दिन भेट पनि भएन । भोलिपल्ट बिहान बाबालाई देखेको हो । अरू मलाई थाहा भएन भन्नेसमेत बेहोराको आर्यन कोइरालाको कागज ।
मेरो बाबा र आमा पहिला सँगै रहँदा सामान्य विवाद हुने गरेको थियो । ५।६ वर्षअगाडिदेखि बाबा र ममी फरकफरक घरमा बस्दै आउनु भएको
थियो । म ७।८ महिनाअगाडिदेखि बाबासँग बस्दै आएको छु । ४।५ महिनाअगाडि बाबा चाइना जानुभएको
थियो । एक महिनाअगाडि चाइनाबाट फर्की घरमा आउनु भएर मिति २०६८।९।२७ गते बिहान ७:३० बजे भाइ आर्यनलाई फोन गरी स्वयम्भु घरमा आउने होइन भन्दा ममीसँग सोध्नुपर्छ भनेका थिए । केही समयपछि भाइले फोन गरी ममीले जाउ न त भन्नुभएको छ, लिन आउनु भनेकोले बाबा, चालक रामकुमार गुरूङ र म कारमा भाइलाई लिन अं. १०:३० तिर गयौँ । ममीसँग मेरो कुरा भएको थियो । बाबा र ममीको कुनै कुरा भएन । भाइलाई बाबाले ल्याइदिएको कपडा लगाइदिई बाबासहित फर्की घरमा आयौँ । अं. १० मिनेटपछि बाबा घरबाट बाहिर निस्की जानुभएको थियो । सो दिन साँझ आउनु भएन । भोलिपल्ट बिहान बाबालाई घरमा नै देखेको हो भन्नेसमेत बेहोराको आयुष कोइरालाको कागज ।
प्रतिवादी रञ्जनप्रसाद कोइरालाको श्रीमती गीता ढकाल (कोइराला) ले २०६७ सालमा रञ्जनप्रसाद कोइरालालाई आवश्यक कारबाही गरिपाउँ भनी दिएको उजुरी निवेदन दर्ता गरिएको अभिलेखमा नदेखिएको भए तापनि निज पीडित गीता ढकाल (कोइराला) स्वयं उपस्थित भई रञ्जनप्रसाद कोइरालाले आफूलाई बारम्बार कुटपिट गरी यातना दिएकोले शान्ति सुरक्षाको व्यवस्थाको लागि लैङ्गिक हिंसा विरूद्ध उजुरी व्यवस्थापन तथा अनुगमन इकाइ सल्लाहकार समूहका सदस्य माननीय सपना मल्ल प्रधानले रञ्जनप्रसाद कोइरालालाई बोलाई अब आइन्दा यस प्रकारको हरकत नगर्न र हानि नपुर्याउन सम्झाइबुझाइ गरी पठाएको भनी यस कार्यालयमा मौखिक जानकारी गराएको भन्नेसमेत बेहोराको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारको मिति २०६८।१०।२२ गतेको पत्र ।
गीता ढकाल (कोइराला) को हत्यामा तारा रेग्मीसमेतको संलग्नता रहेको कुरा खुल्न आएको हुँदा निज तारा रेग्मीसमेतलाई पनि पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको हरेराम ढकालको मिति २०६८।१०।२४ गतेको पूरक जाहेरी दरखास्त ।
छोरा रञ्जनप्रसाद कोइराला र बुहारी गीता ढकाल (कोइराला) एकआपसमा सगोलमा बस्न नसकी छुट्टाछुट्टै बस्दै आएका थिए । नाति आयुष कोइराला बाबु रञ्जनसँगै र कान्छो छोरा आमा गीतासँग बस्दै आएका थिए । मिति २०६८।९।२१ गते छोरा रञ्जन चाइनाबाट फर्केको र मैले २ दिनपछि मात्र भेटेकी हुँ । छोरा मिति २०६८।१०।१ गते बिरामी भएकोले गंगालाल अस्पताल लगी उपचार गरी भोलिपल्ट डिस्चार्ज भएका हुन् । मिति २०६८।१०।८ गते रञ्जनप्रसाद कोइरालाले बुहारी गीतालाई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ भएको भन्ने सुनेँ । निज छोराले २०६८।९।२७ गते नै गीता ढकाल (कोइराला) लाई कर्तव्य गरी मकवानपुर जिल्ला टिस्टुङ गा.वि.स. को मेत्राङ भन्ने ठाउँमा लगी जलाएको भन्ने सुनी थाहा पाएकी हुँ भन्ने बेहोराको रमादेवी कोइरालाको कागज ।
रञ्जनप्रसाद कोइराला र बुहारी गीता ढकाल कोइराला एकआपसमा सगोलमा बस्न नसकी बुहारी गीता का.जि. विष्णु गा.वि.स. को घरमा र छोरा रञ्जन का.जि. इचङ्गुनारायण गा.वि.स. को घरमा बस्ने गरेका थिए । निजहरूबिच अंश चलन तथा मानाचामलसम्बन्धी मुद्दा दर्ता भएको छ । यसै क्रममा बुहारी गीता ढकाल (कोइराला) लाई अपहरण गरी बेपत्ता पारेको भन्ने सम्बन्धमा बुहारीको बुबा हरेराम ढकालले हनुमानढोका प्रहरीमा किटानी जाहेरी दिएका रहेछन् । सो सम्बन्धमा दुवैथरी उपस्थित भई छलफल गरियो, समस्या टुङ्गो लागेन । मिति २०६८।१०।४ गतेका दिन भाइ रञ्जनसमेत गीता ढकाल (कोइराला) को घरमा प्रहरीले खानतलासी गर्दा फेला परेका गीता ढकालको फोटो खिची निकाली खोजतलासको लागि माग गरेको हुनाले निजको अंगरक्षकलाई दिएर पठाएको थिएँ । मिति २०६८।१०।७ गते राति भाइ रञ्जन घरमा र कसैको सम्पर्कमा नभएको थाहा पाएँ । मैले फोन गर्दा आफू मुग्लिङमा रहेको भनी बताएका थिए । सो कुरा तारा रेग्मीलाई फोन गरी बताएँ । निजलाई खोज्न तारा रेग्मीसमेत गइछिन् । भोलिपल्ट बिहान भाइ रञ्जनले बुहारी गीतालाई कर्तव्य गरेको अभियोगमा प्रहरीद्वारा पक्राउ परेको भन्ने समाचार माध्यमबाट थाहा
पाएँ । उक्त वारदातमा तारा रेग्मीको संलग्नता र भूमिका रहेको भन्ने मलाई थाहा भएन भन्नेसमेत बेहोराको रमेश कोइरालाको कागज ।
प्रतिवादी तारा रेग्मीलाई खोज तलास गर्दै जाँदा फेला परेकोले पक्राउ गरी दाखिला गरेका छौं भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
मैले पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद गरी काठमाडौंमै बसी व्यवसाय गर्न थालेपछि रञ्जनप्रसाद कोइरालासँग भेट भई एकआपसमा विवाह गर्ने कुरा भई हालसम्म निजसँगै बस्दै आएकी छु । रञ्जनप्रसाद कोइराला र निजकी श्रीमती गीता ढकाल (कोइराला) बिचको सम्बन्ध बिग्रिएकोले निजहरू एकआपसमा सगोलमा बस्न नसकी फरक-फरक घरमा बस्दै आएको थाहा छ । रञ्जनप्रसाद कोइराला तालिमको लागि चाइना गई मिति २०६८।९।२१ गते बिदा लिई आएकोले एयरपोर्टमा लिनको लागि म र चालक शंकर पौडेल गई ल्याई मेरै घरमा लगेकी थिएँ । मिति २०६८।९।२६ गते म मलेसिया गई मिति २०६८।१०।५ गते नेपाल फर्किएकी हुँ । घरमा आएपछि रञ्जनप्रसाद कोइरालाले गीता ढकाल हराएकी छे, कहाँ गइन् थाहा भएन भनेका थिए । मिति २०६८।१०।६ गते गीता ढकालको बाबु हरेराम ढकालले दिएको उजुरी निवेदन सम्बन्धमा छलफल गर्ने भनी हनुमानढोकामा म पनि आएकी
थिएँ । ऐ. ७ गते बिहान मेरो गाडी लिएर दिदी रमा भारती कहाँ जान्छु भनी रञ्जनप्रसाद कोइराला गएको र साँझ फोन गर्दा फोनको घण्टी जाने, फोन नउठाउने गरेको र उठे पनि गाडी चलेको जस्तो आवाज आउने गरेको थियो । के कहाँ गए होलान् भनी खोजी गर्नको लागि मेरो भाइ ईश्वर रेग्मीलाई साथ लिई रिङरोड चक्कर लगाई विभिन्न होटलमा गई खोज्दा पनि पत्ता नलागेपछि रमेश कोइरालाको घरमा गयौं । रमेश कोइरालाको फोनबाट रञ्जनप्रसाद कोइरालालाई फोन गरी कहाँ छौ भन्दा कुनै ठाउँ नबताएको र मैले फोन गर्दा मुग्लिङमा छु भनेको र नागढुङ्गा प्रहरीमा फोन गरी बा. ८ च ५४०८ नं. को कार बाहिर गएको छ छैन भनी फोनबाट जानकारी लिँदा गएको भन्ने थाहा पाई खोजी गर्न भनी चालक शंकर पौडेललाई सरकारी गाडी लिई स्वयम्भु चोकमा आउन भनेँ । म भाइ ईश्वर रेग्मीको मोटरसाइकलमा स्वयम्भु गएँ । मोटरसाइकल त्यहीँ छोडी भाइ, चालक, बडीगार्ड ऋषिराम पौडेलसमेत भई खोजी गर्न गयौं । रातको अं. १२ बजेको थियो होला, नागढुङ्गा हुँदै जाँदै गर्दा भाइ शंकर रेग्मीलाई चितवनमा फोन गरी तिमी बा.८ च ५४०८ नं. को गाडी खोजी गर्दै काठमाडौंतर्फ आऊ, हामी पनि आउँदै छौं भनेँ । नौबिसे कटेपछि भाइ शंकरले मलाई फोन गरी उक्त नं. को गाडी रामनगरमा भेटियो । गाडीमा भिनाजु बेहोस जस्तो, सारै बिरामी जस्तो देखिनुहुन्छ भनेकोले उपचारको लागि अस्पताल लैजाऊ भनेँ । भाइले अस्पतालमा लगी जाँच गराएपछि घरमा राखेको र मसमेत नारायणगढ माइती घरमा अं. ४ बजे पुगी रञ्जनसँग भेट भयो । मसँग गएका चालक बडीगार्डहरूलाई सुत्न पठाएँ । रञ्जनसँग कुरा गर्दा प्रस्ट बोली नफुट्ने केही नबोल्ने गरेकोले तपाइँले गीतालाई केही गर्नुभएको छ कि भनी सोध्दा निजले टाउको हल्लाएर हो भनी आँशु खसाली रोए । त्यसो हो भनेँ अब काठमाडौंमै जाउँ, जे जसो गर्नुपर्ने हो त्यहीँ गएर गर्नुपर्छ भनी भनेँ । त्यसपछि चालक शंकरलाई फोन गरी तिमीहरू गाडी लिएर काठमाडौंतर्फ फर्कनु भनी भाइ ईश्वरलाई तेल भर्न भनी रू. २०००।– छोडी मैले रञ्जनलाई बा. ८ च ५४०८ नं. को गाडीमा काठमाडौंतर्फ ल्याउँदै गर्दा बिच बाटोमा गाडी साइड लगाएँ । अब तिमीले छोराहरू र आमालाई हेर्नु, गीता मरी । म फँसे भनी छट्पटिने गरेकोले यस्तो कुरा अब नदोहोराउनु, म सुन्न चाहन्न भनी आउँदै गर्दा बैरेनी कटिसकेपछि निजले गाडी रोकी तिमी अर्को गाडीमा जाऊ, म पछि आउँछु भन्दा मैले सँगै जानुपर्छ भनी जिद्दी गर्दासमेत नमानी कसम खाई म जसरी भए पनि आउँछु भनेकोले चालक शंकरलाई फोन गरी तिमी कहाँ आउँदै छौ भनी फोन गर्दा हामी आउँदै छौं भनी केही समयपछि बा.१ झ ६२१३ नं. को गाडी लिई आइपुगे । म सोही गाडीमा आएँ । नागढुङ्गा क्रस गरी आउँदै गर्दा निज रञ्जनले मेरो गाडी पुलिसले रोक्यो भनेकोले राति टिपाएको नम्बर भएकोले प्रहरीले रोक्यो होला भन्ने सोचेँ । निजले फोन काटे । हामी स्वयम्भु घरमा गयौं । केही समयपछि डि.आई.जी. रञ्जन श्रीमती गीताको हत्या अभियोगमा पक्राउ भन्ने सञ्चार माध्यमबाट समेत सुनेकी हुँ । निजले गीता ढकालको हत्या गरेको भनिएको दिनमा म मलेसियामा रहेकोले कर्तव्य गर्नमा मेरो कुनै संलग्नता छैन । हरेराम ढकालले किन मलाई पछि किटानी जाहेरी दिनुभयो मलाई थाहा भएन भन्नेसमेतको प्रतिवादी तारा रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।१०।६ गतेका दिन छोरीको उपचारको लागि काठमाडौंमा आई दिदी तारा रेग्मीको घरमा बसेको थिएँ । मिति २०६८।१०।७ गतेका दिन साँझ भिनाजु रञ्जनप्रसाद कोइराला हराएकोले खोजी गर्न जानुपर्यो भनी मेरो मोटरसाइकलमा दिदी तारा रेग्मीलाई राखी काठमाडौं चक्रपथ रिङरोड घुमी, विभिन्न होटलहरूमा खोजी गर्यौं, फेला
परेनन् । रातको अं. १२ बजेतिर भिनाजु मुग्लिङतर्फ रहेको भन्ने दिदीबाट थाहा भएकोले खोजी गर्नको लागि दिदीले बा.१ झ ६२१३ नं. को गाडी मगाई स्वयम्भु चोकमा ल्याउनु भनेकोले हामी स्वयम्भु चोकमा
गयौं । त्यहाँ गाडी लिएर चालक शंकर पौडेल, यानबहादुर शाही र ऋषिराम ढुंगेल आएपछि हामी खोजी गर्न थानकोट नौबिसे हुँदै जाँदै गर्दा दिदीले शंकर रेग्मीलाई फोन गर्नुभएकोले भिनाजु रामनगरमा फेला पर्नुभयो रे भन्नुभयो । दिदीले यानबहादुर शाही र मलाई मुग्लिङमा बस्नु भन्नुभयो । हामी त्यहीँ
बस्यौं । भोलिपल्ट साँझ गाडी आयो । दिदी सो गाडीमा देखिनँ । हामी गाडी चढी काठमाडौं आउँदै गर्दा बैरेनीअगाडि सडकछेउमा बा.८ च ५४०८ नं. को गाडी रोकिएको, दिदी सडकछेउमा उभिरहनुभएको र भिनाजु गाडीभित्र देखेको थिएँ । दिदी हामी चढेको गाडीमा चढ्नुभयो । छिटो जाउँ भनी हामी काठमाडौं आयौं । थानकोटतर्फ आउँदै गर्दा नागढुङ्गामा गाडी रोकी प्रहरीले पक्राउ गरेको भनी दिदीले भनेकीले थाहा पाएको हो । हामी स्वयम्भु घरमा पुगी बसेका थियौं । केही समयपछि डि.आई.जी. रञ्जन श्रीमती गीताको हत्या अभियोगमा पक्राउ परेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको बुझिएका ईश्वर रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
मिति २०६८।१०।७ गतेको राति म घरमै थिएँ । दिदी ताराले फोन गरेर भिनाजु हराउनुभएको छ, बा. ८ च ५४०८ नं. को गाडी लिएर हिँड्नुभएको छ । खोजी गर्नको लागि मुग्लिङतर्फ आऊ, हामी काठमाडौंबाट आउँदै छौं भन्नुभएकोले म मोटरसाइकल लिई खोजी गर्नको लागि चितवन रामनगर आइपुग्दा रामनगरको सडक किनारामा बा. ८ च ५४०८ नं. को गाडी रोकी राखेको देखेँ र नजिक गई हेर्दा भिनाजुलाई देखेँ । गाडीको ढोका खोली हेर्दा बिरामी भए जस्तो
देखेँ । बोलाउँदा बोल्नुभएन । मैले गाडी हाँकी अस्पताल लगी जाँच गराउँदा केही रक्तचाप बढेको भनी डाक्टरले भनेको र यसमा केही डर मान्नु पर्दैन भनेकोले निजलाई मेरो घरमा लगी राखेको थिएँ । बिहान अं. ४ बजे दिदी पनि आइपुग्नुभयो । दिदी भिनाजुको के के कुरा भए मलाई थाहा भएन । निजहरू सरकारी गाडी लिएर गए । दिनको १२ बजे न्युजमा डि.आई.जी. रञ्जन श्रीमतीको हत्यामा पक्राउ परेको कुरा सञ्चार माध्यमबाट थाहा पाएँ भन्नेसमेत बेहोराको बुझिएका शंकर रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
करिब एक वर्षअगाडि रञ्जनप्रसाद कोइरालाले गीता ढकाल (कोइराला) लाई घरमा बस्न नदिई ताला लगाएको विषयमा जिज्ञासा राख्दा घरकै शत्रुले यस्तो कार्य गरेको हो । सहयोग गर्नुहोस् भनी सहयोगको अपेक्षा गरेकीले सोही दिन प्रहरीको सहयोगमा घर खोलिएको थियो । मिति २०६८।९।३० गतेका दिन गीताको घरअगाडि प्रहरी आई जम्मा भेला भएको देखी बुझ्दा गीता हराएकी छिन् भन्ने थाहा
भयो । मिति २०६८।१०।८ गते रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीतालाई कर्तव्य गरी मकवानपुर जिल्लाको टिष्टुङको जंगलमा लगी जलाएको भन्ने थाहा पाएँ । निजले श्रीमती गीता ढकाललाई कर्तव्य गरी जलाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको तारा थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीता ढकाललाई मिति २०६८।९।२७ गते कर्तव्य गरी मकवानपुर जिल्लाको टिष्टुङको जंगलमा लगी जलाएको भन्ने थाहा पाएँ । निजले श्रीमती गीता ढकाललाई कर्तव्य गरी जलाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको ज्वाला कुँवरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
गीता ढकाल (कोइराला) छोरा आर्यनलाई साथमा लिई का.जि. विष्णु गा.वि.स. वडा नं. ५ को घरमा बस्ने गरेकी थिइन् । श्रीमान् श्रीमतीबिचको सम्बन्ध राम्रो थिएन । निजहरूबिच अंशचलन र माना चामल मुद्दा काठमाडौं जिल्ला अदालतमा चलेको थाहा पाएको हुँ । मिति २०६८।९।२९ गते गीता ढकाल (कोइराला) हराएको भन्ने सुनेको र २०६८।१०।८ गते रञ्जनप्रसाद कोइराला श्रीमती गीता ढकाल (कोइराला) को हत्या अभियोगमा पक्राउ परेको भन्ने सुनी थाहा पाएँ । गीता ढकाललाई रञ्जनप्रसाद कोइरालाले मिति २०६८।९।२७ गते कर्तव्य गरी मकवानपुर जिल्लाको टिष्टुङ गा.वि.स. को जंगलमा लगी जलाएको भन्ने थाहा पाएँ । निजले श्रीमती गीता ढकाललाई कर्तव्य गरी मारी जलाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको सितु कार्की र डा. नारायण कुँवरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
दिदी भिनाजुको सम्बन्ध राम्रो थिएन । भिनाजु मिति २०६८।९।२१ गते चाइनाबाट नेपाल आएपश्चात्का केही दिनसम्म दिदी गीतासँग सम्पर्क भइरहेकोमा मिति २०६८।९।२८ गते फोन सम्पर्क नभएकोले ऐ. २९ गते दिदीको घरमा गएर हेर्दा गेटमा ताला लगाएको थियो । यसैक्रममा दिदीको घरमा काम गर्ने सँग भेट भई सोधीखोजी गर्दा निजले पनि घरमा नदेखेको, नभटेको, साँझ ७/८ बजेतिर जिप जस्तो गाडीभित्र पसेर बाहिर निस्केको देखेको भनेकोले ऐ.३० गते प्रहरीको सहयोगले ढोका खोली हेर्दा घरमा नभएको, बेडरूममा ताल्चा लगाएको
देखियो । त्यसपछि जाहेरी दिई खोजतलास गर्दा प्रतिवादीले कर्तव्य गरी शव मकवानपुरमा पुर्याई जलाएको भन्ने कुरा यकिन भयो । दिदी गीता ढकाल (कोइराला) लाई कर्तव्य गर्ने योजनामा मतियारको रूपमा तारा रेग्मीसमेत संलग्न छिन् भन्नेसमेत बेहोराको दीपक ढकालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
मिति २०६८।९।२८ गते बिहान यस कार्यालयअन्तर्गत जिल्ला मकवानपुर टिष्टुङ गा.वि.स. वडा नं. ८ त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा जलाइएको अवस्थामा मानिसको लास फेला परेकोले लास जाँचको प्रारम्भिक अनुसन्धान कार्य गरी अन्य कार्य जारी रहेकोमा मिति २०६८।१०।७ गते साँझ १९ बजेको समयमा उक्त स्थानमा गाडीसहित एकजना मानिस आई घटनास्थलको सूक्ष्म निगरानी गरिरहेको भन्ने स्थानीय मानिसहरूबाट सूचना प्राप्त भएकोले प्रहरी टोली खटिई जाँदा निगरानी गर्ने मानिस र निजले प्रयोग गरेको बा. ८ च ५४०८ नं. को गाडीसहित फेला पारी कार्यालयमा ल्याई सोधपुछ गर्दा निगरानी गर्ने भनिएका मानिस सशस्त्र प्रहरीको डि.आई.जी. रञ्जनप्रसाद कोइराला भएको र हेटौंडा हुँदै वीरगन्जतर्फ जान लागेको, दिसा लागेर दिसा गर्ने स्थान हेर्दा स्थानीय मानिसहरूले मलाई रोकी प्रहरी बोलाएका हुन् भनी घटनाप्रति अनभिज्ञता रहेको
बताए । सोही बेहोरा जिल्ला प्रहरी कार्यालय, हेटौंडाका प्रहरी उपरीक्षक श्याम खड्कासमेतलाई जानकारी गराएपछि डि.आई.जी. भए छाडिदिनु भन्ने आदेश भएकोले छोडिदिएको हो । निजकी श्रीमती गीता ढकाल (कोइराला) हराएको भन्ने सम्बन्धमा यस कार्यालयमा कुनै लिखित मौखिक जानकारी थिएन भन्नेसमेत बेहोराको इलाका प्रहरी कार्यालय, पालुङको घटना विवरण कागज ।
मैले मृतकका भाइ प्रदिप ढकाललाई मिति २०६८।९।२७ गते गीता ढकालको बारेमा भएको बेहोरा बताइसकेको छु भन्नेसमेत बेहोराको गीता कटुवालले महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठमा गरेको मिति २०६८।९।३० गतेको कागज ।
प्रतिवादी रञ्जनप्रसाद कोइरालाले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३ (३) नं. बमोजिमको कसुर अपराध गरेकाले निजलाई सोही महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादी तारा रेग्मीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १६ नं. बमोजिमको कसुर अपराध गरेकी हुँदा सोही महलको १६ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी ।
म ११ महिने नेसनल डिफेन्ड्स कोर्सको तालिम गर्न २०६८ साल भाद्र महिनामा चाइना गई मिति २०६८।०९।२१ गते बिदा लिई नेपालमा आउँदा तारा रेग्मी मलाई रिसिभ गर्न एयरपोर्टमा आएकी, सो २१ गतेदेखि २७ गतेसम्म घरमा मेरी आमा र बच्चासँग बसेको थिएँ । २७ गते छोरा आयुषले कान्छो छोरा आर्यनलाई विद्यालय छुट्टी भएकोले सँगै बस्ने कुरा गरेकोले भाइलाई लिन जाउँ भनेकोले बुढानीलकण्ठ गई छोराहरू, म र ड्राइभर करिब पौने घण्टामा बुढानीलकण्ठबाट फर्की भाटभटेनीमा सपिङ गरी आएका हौं । बुढानीलकण्ठको घरमा मैले गीता ढकाललाई देखिनँ । भाटभटेनीमा २७ गते १२ बजेदेखि ३ बजेसम्म सामान हेरी महाराजगन्जको नविनराज जोशीको रेस्टुरेन्टमा बसी नविन जोशी र मैले एक एक बोतल वियर पियौँ । त्यसपछि बेलुकीको अं ६:३० बजेतिर नविनराज जोशी र म आफ्नो घर स्वयम्भुमा गई बसी नविन र म इभिनिङवाकमा गई रातको ९:३० बजे नविन निजको घरमा गए, म आफ्नो घरमा गएँ । म चीनबाट घरमा आउँदा जानकारी दिन जरूरी नभएकोले जानकारी दिएको थिइनँ । मलाई गीता ढकाल (कोइराला) लाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएको हुँदा मिति २०६८।१०।७ गते ३ बजे निजको खोजीमा काठमाडौंबाट हेटौंडा हुँदै नारायणघाट जाने सिलसिलामा राति मकवानपुरको टिष्टुङ नजिक खुल्ला रोडमा मैले गाडी रोकी पिसाब फेरी अलि पर पुगेपछि गाउँले आई हाम्रो गाउँमा घटना घटेको छ भनी मलाई रोकी प्रहरी आएपछि म प्रहरीहरूसँगै आएको हुँ । मलाई स.प्र.ज. शंकर पौडेलसमेतले मिति २०६८।१०।७ गते खोज्न गएका हुन् । पेट्रोल किन्ने आदेश मैले दिएको होइन । बा. ८ च ५४०८ नं. को गाडी प्रहरीले बरामद गरेको हो । गीता र मेरोबिच यसै अदालतमा अंश मुद्दासमेत दायर भएको कारण ममाथि पोल गरेको हो । मैले गीता ढकाललाई कर्तव्य गरेको होइन । श्रीमती गीता ढकाल (कोइराला) र मेरो सम्बन्ध राम्रै थियो भन्ने बेहोराको प्रतिवादी रञ्जनप्रसाद कोइरालाले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
मैले प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग विवाह गरेको होइन । रञ्जन र निजकी श्रीमती गीता ढकालको सम्बन्ध राम्रो छैन भन्ने मलाई जानकारी पहिले नै थाहा थियो । गीता ढकाललाई कर्तव्य गर्नमा मेरो संलग्नता छैन । मिति २०६८।९।२६ गते मलेसिया गई माघ ५ गते आएकी हुँ । म मलेसियाबाट फर्केको रात रञ्जन मेरो घरमा आई म सँगै बसेका हुन् । रञ्जनप्रसाद कोइराला र म आधिकारिक लोग्ने स्वास्नी नभए पनि सँगै बस्ने गरेको हुँदा मेरो भाइहरूले रञ्जनलाई भिनाजु भनेका होलान् । मलाई रञ्जनले रखैल राखेको कारण गीतालाई मारेको भन्ने जाहेरी बेहोरा झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी तारा रेग्मीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीता ढकाल कोइरालालाई कर्तव्य गरी मारी लासलाई मकवानपुर, टिष्टुङ-९ मेत्राङ भन्ने स्थानमा पुर्याई आगोले जलाई नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा मृतकको जाँचको लागि सङ्कलन गरेको नमुना र मृतकसँग सम्बन्धित निजको पिता हरेराम ढकाल र आमा हरिप्रया ढकालको आवश्यक पर्ने रगतको नमुना निकाली DNA परीक्षणको लागि फरेन्सिक मेडिसिन विभाग महाराजगन्जमा पठाइएकोमा सो हस्पिटलबाट DNA परीक्षण प्रतिवेदन यसै पत्रसाथ संलग्न राखी पठाइएको छ भन्ने महानगरीय प्रहरी परिसर काठमाडौंको च.नं. ५९६१ मिति २०६८।१२।२ को पत्र ।
(१) प्रहरीमा गरेको कागज बेहोरा ठिक साँचो हो । लास जलाएको ठाउँमा म आफैँ गई देखेको हो । लास जलाएको ठाउँमा हातको औंला, खप्परको हड्डी, हातको घडी र झाडीपट्टि मेरूदण्डको भाग नजलेको मासु थियो । डिजेलको गन्ध आएको र रोडबाट नालीसम्म तरल पदार्थ बगेको थियो । सो स्थानमा म्याटसमेत थियो । लास जलाएको ठाउँमा यताउता गरेको र जाने फर्किनेसमेत गरेको हुँदा शंका लागी बा. ८ च ५२०४ नं. को गाडी रोकी सोधेका हौं । तपाइँ को हो भन्दा म प्रहरीको डि.आई.जी. हुँ भनी कार्ड देखाउनुभयो । मृतक लास रञ्जनप्रसाद कोइरालाको श्रीमती गीता ढकाल (कोइराला) को रहेको भन्ने DNA परीक्षणपछि मृतककै बुबाले भनेपछि थाहा भएको हो । सो घटना रञ्जनप्रसाद कोइरालाको कर्तव्यबाट भएको शंका लाग्दछ भनी सुनिता दोङ, सूर्यबहादुर दोङ, मंगलबहादुर मोक्तान र किरणमान बलले एकै बेहोरा मिलान हुने गरी गरेको बकपत्र ।
(२) मिति २०६८।१०।१८ को कागजको बेहोरा र सहीछाप मेरो हो । २०६८ साल माघ महिनातिर म इचङ्गुनारायणको रञ्जनप्रसाद कोइरालाको घरमा काम गर्थें । रञ्जनको श्रीमतीसँग राम्रो छैन भन्नेसम्म सुनेको
थिएँ । रञ्जन र गीता ढकाल छुट्टाछुट्टै घरमा बस्थे । चाइना तालिमबाट फर्किएपछि कहाँ बस्नुभयो थाहा भएन । भोलिपल्ट तारा रेग्मीसँग आउनुभएको थियो । रञ्जनप्रसाद कोइराला हराएपछि खोज्न गएको हो । खोज्न ड्राइभर शंकर पौडेल, बडीगार्ड ऋषिराम ढुंगेल, तारा रेग्मी र ताराको आफन्तसमेत नारायणघाटतर्फ गएका हौं । बिच बाटोमा भेटियो भन्ने फोन आयो । ताराको आफन्त र म त्यसपछि होटलमा बस्यौं । अरू
जानुभयो । भोलिपल्ट बिहान ड्राइभरले रोडमा निस्की बस्नु भनी फोन आएपछि रोडमा
बस्यौं । गाडी आएपछि हामी काठमाडौं
आयौं । मैले रञ्जनप्रसाद कोइरालालाई देखिनँ । रञ्जन र तारा रेग्मी श्रीमान् श्रीमतीको जस्तो व्यवहार थियो । काम बिग्रियो भने रञ्जनप्रसाद कोइराला रिसाउनुहुन्थ्यो । मैले रञ्जनप्रसाद कोइराला र गीता ढकालाई एक ठाउँमा देखेको नै छैन । झगडा भयो भएन थाहा भएन । रञ्जनको आमाले भनेकोले थाहा पाएको हुँ । पत्र पत्रिकामा समाचार आएपछि गीता ढकाललाई रञ्जनप्रसाद कोइरालाले कर्तव्य गरी मारेको विश्वास गरेको हुँ भनी स.प्र.ज. यानबहादुर शाहीले गरेको बकपत्र ।
(३) मिति २०६८।।१०।२७ मा गरेको कागजको बेहोरा र सहीछाप मेरो हो । प्रहरी कार्यालय इ.प्र.का. पालुङमा सूचना प्राप्त भएपछि प्र.नि. को टोलीसहित घटनास्थलमा गयौं । काम तामेली अरू साथीहरूबाट भयो । मेरो नाम काम तामेल गर्नेमा राखेको छैन । घटनास्थल गएको हुँ । कार्यालय प्रमुखबाट थाहा जानकारी पाएकोले रञ्जनप्रसाद कोइरालाले आफ्नै घरमा कर्तव्य गरी श्रीमतीलाई मारेको मैले सुनी थाहा पाएको हो भनी प्र.ज. जितेन्द्र महतोले गरेको बकपत्र ।
(४) मिति २०६८।९।२८ को घटनास्थल तथा लास जाँच मुचुल्का र मिति २०६८।१०।८ को खानतलासी मुचुल्कामा भएको सहीछाप र बेहोरा मसमेतको हो । घटनास्थलमा म्याट्रेसका जलेका टुक्रा, मान्छेको हड्डीको मसिना टुक्राहरू, पत्र पत्रिकाको मसिना टुक्राहरू थिए । घटनास्थलमा जलेको लेडिज घडी, हड्डीका टुक्राहरू र डिजेल जस्तो तरल पदार्थ बगेको थियो । घटनास्थलको ३० फिटपछाडि मेरूदण्डको हाड, काठको बाकल टुप्पोमा डढेको जस्तो अस्थिपञ्जर फाल्न प्रयोग भएको हो की जस्तो
लाग्थ्यो । मिति २०६८।१२।२७ को कागज बेहोरा र सहीछाप मेरो हो । घटनामा रञ्जनको संलग्नता हो होइन बताउन सक्दिनँ भनी प्रहरी हवल्दार कृष्ण ढकालले गरेको बकपत्र ।
(५) मिति २०६८।१०।२७ को घटना विवरण कागजको सहीछाप र बेहोरासमेत मेरो
हो । मिति २०६८।९।२८ गते बिहान ८:३० बजेतिर सडकछेउमा एउटा लास पोलिएको अवस्थामा छ भनी स्थानीयले फोन गरे । हामी घटनास्थलमा जाँदा सो ठाउँमा मानिसका हड्डीका साना साना टुक्रा, जलेको गाडीको म्याट्रेस र २० मिटर पर सडकको डिलमा पछाडिपट्टिको मेरूदण्डको मासुको भाग फेला पर्यो । हड्डी तथा मासुको भागलाई मुचुल्का बनाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मकवानपुर पठाइयो । त्यहाँ पोष्टमार्टम नहुने भएपछि माघ १ गते काठमाडौं शिक्षण अस्पताल महाराजगन्ज पठाइयो । माघ ७ गते बेलुकाको ७ बजेतिर एकजना मानिस शंकास्पद अवस्थामा हिँडेको छ भनी सूर्य दोङसहितका मानिसले खबर गरेपछि प्र.ना.नि. रामेश्वर राउतको कमान्डमा टोली खटाएँ । सोही स्थानबाट बा. ८ च ५४०८ नं. को कारमा आएका मानिस सशस्त्रका डि.आई.जी. रञ्जनप्रसाद कोइरालालाई लिएर टोली आयो । कार्यालयमा आएपछि परिचय पत्र हेरेँ अनि सोधे यो ठाउँमा किन आउनुभएको हो । हेटौंडा जान यही बाटो भएर आएको हुँ, मलाई स्थानीयले किन रोके थाहा भएन भनी भन्नुभयो । मैले पुनः प्रश्न गरी सर त्यही ठाउँमा किन रोकिनुभयो भन्दा ट्वाइलेट लागेर रोकिएको हो । त्यहाँ के भएको थियो र इन्सपेक्टर साहब भनी प्रश्न गर्नुभयो । मैले त्यहाँ महिलाको लास जलाएको अवस्थामा थियो । त्यसैले स्थानीय मानिसहरूले सोधपुछ गरेका हुन् भन्दा हो र भनेर आश्चर्य प्रकट गर्नुभयो । सो कुराको जानकारी जि.प्र.का. मा जानकारी गराउँदा प्रहरी प्रमुखले हामीसँग उहाँको विरूद्धका कुनै जानकारी छ भनी सोध्नुभयो । मैले छैन भनेपछि छाडिदिन भन्नुभएकोले छाडिदिएको र उहाँ हेटौंडातर्फ जानुभयो । भोलिपल्ट बिहान एसपी साहेबले फोन गरी हिजो कति नम्बरको गाडीमा रञ्जन आएका थिए भनी सोध्नुभयो । मैले नम्बर बताएपछि रञ्जनले आफ्नै श्रीमती अपहरण गरी मारेको भनी भन्ने समाचार आएको छ भन्नुभयो । तुरून्त खोजतलास गर्ने आदेश हुँदा खोजतलास हुँदा थानकोट चेकपोष्टमा गाडीसहित रञ्जनप्रसाद कोइराला पक्राउमा परेका हुन् । अन्य सबै अनुसन्धान काठमाडौं परिसरबाट भएको हो, सो सम्बन्धमा थाहा भएन । घटनास्थलमा भेटिएका दशीका सामान चिजवस्तुहरू बरामद गरी मुचुल्का बनाइएको छ भनी प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले सुरू अदालतमा गरेको बकपत्र ।
(६) मिति २०६८।११।३० मा केस नं. ०६८/०६९- DNA-१८ को परीक्षण प्रतिवेदन मसहितको विशेषज्ञ टोली समूहबाट तयार पारिएको हो । त्यसमा भएको बेहोरा र सहीछाप मसमेतको हो । परीक्षण STR DNA प्रोफाइलिङ प्रविधिबाट गरी प्राप्त नतिजाको आधारमा प्रतिवेदन दिएको हो । विस्तृत विवरण परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । नमुना १ र रक्तदाता A र B को परीक्षण नतिजा (DNA) प्रोफाइल तुलना गरी हेर्दा नमुना A को प्रोफाइल A र B सँग समानता पाइयो । नमुना १ को स्रोतको बाबु आमा र A र B बाहेकको अन्यको हुने सम्भावना (RPNE) तथ्याङ्क विश्लेषणको नतिजा नेपाली जनसंख्याको आधारमा
२×१०-१७ अर्थात् ०. पछि १६ वटा जिरो पछि २ हुन्छ । प्रतिवेदन पूर्ण निश्चिततामा आधारित छ । परीक्षण प्रतिवेदनमा नमुना १ को DNA प्रोफाइल र रक्तदाता A र B सँग तुलना गर्दा समानता पाएको कारणले रक्तादाता A र B बाबु आमाको भएको देखियो । DNA प्रोफाइल कुनै पनि व्यक्तिमा आमाको प्रोफाइल (ALL-ELE) आधी गुण समानता हुनुपर्ने र आधी गुण (ALL ELE) गुण बाबुसँग समानता हुनुपर्ने हुन्छ । सो नमुना १ को प्रोफाइल प्रस्टसँग नमुना नं.१ को आधी र नमुना B को आधी गुण समानता भएको प्रतिवेदनसँग संलग्न गरिएको टेबुल नं. १ (ALL ELE ANALYSIS तालिका) मा उल्लेख गरिएको छ । क्रम संख्या ४ र ५ मा उल्लेख भएको ALL ELE आमामा पनि ११, १२ र बाबुमा पनि ११, १२ भएपछि बच्चामा एक जनाबाट ११ गएको र अर्कोबाट १२ गएको देखिएकोले नमुनामा ११, १२ प्रोफाइल हुन गएको देखिन्छ । त्यस्तै १६, १६ आमामा र बाबुमा पनि १६, १६ भएबाट दुवैले १६ दिने भएको कारणले नमुनामा १६, १६ भएको
हो । परीक्षणको लागि Long Bone को टुक्रा ४ से.मी. लामो Bone Marrow प्राप्त भएको थियो । हड्डीभित्र Bone Marrow रहिरहन्छ । ताजा भए पनि सुकेको भए पनि परीक्षण गर्न सकिन्छ । एमोलोजिन मार्करबाट लिङ्क छुट्याउन परीक्षण गरिन्छ । DNA परीक्षण गर्दा AMPFLSTR Identifier मार्कर प्रयोग गरिएको हो । उक्त मार्करमा १५ वटा DNA मार्कर र एउटा एमेलोजिन गरी १६ वटा DNA KIT हो । यसको (१६ वटा मार्कर) को नतिजा प्रतिवेदनसँग संलग्न टेबुल नं. १ मा देखाइएको छ । त्यसबाट नमुना १ मा एमोलोजिन मार्करको नतिजा ×× देखाइएको छ । यसबाट उक्त नमुनाको स्रोत महिला रहेको प्रतिवेदनमा उल्लेख गरिएको हो । नमुना १ बाट नै DNA नतिजा प्राप्त भइसकेको हुनाले नमुना २ परीक्षण नगरिएको हो भन्नेसमेत एकै बेहोरा मिलान हुने गरी वरिष्ठ वैज्ञानिक अधिकृत दिनेशकुमार झा, विशेषज्ञ वैज्ञानिक जीवनप्रसाद रिजाल र विशेषज्ञ वैज्ञानिक मिनुशोभा तुलाधरले सुरू अदालतमा गरेको बकपत्र ।
(७) मिति २०६८।१०।१४ को कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । मिति २०६८।९।२७ गते साँझ ८/९ बजेतिर नौबिसे गा.वि.स. वडा नं. ७ सिम बजारमा रहेको नवराज भोजनालय एण्ड गेष्ट हाउसमा निलो रंगको सरकारी गाडी आई अगाडि रोकिई ड्राइभर मात्रै एकजना होटलमा
आए । बस्ने कोठा देखाए अर्को साथी अन्यत्रै बस्ने भने । राति १ बजेतिर अर्को साथीलाई बोलाई लगेछन् । हामीलाई थाहा भएन । बिहान उठ्दा कोठा खाली थियो । बा. १ झ ६२१३ नम्बरको गाडीमा आएका मानिसहरूले परिवारसहित खाजा खाएको हुँदा गाडी नम्बर थाहा भएको हो । अर्को साथी साथीकोमा जाने भने भनी सुरू अदालतमा निर्मला उप्रेतीले गरेको बकपत्र ।
(८) मिति २०६८।१०।९ को कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । २०६८ साल मङ्सिरमा रिता बहिनी अमेरिकाबाट आई दिदीको घरमा १ हप्ता बसी मिति २०६८।८।२८ मा अमेरिका फर्किने भएकोले किनमेल गर्न लाग्यौँ । गीता दिदीसँग मिति २०६८।९।२७ मा फोनमा कुरा भयो । दिदीले बहिनी रितालाई भिनाजुलाई फोन गर्नु भन्नुभएको थियो । भिनाजुलाई फोन गर्यौं फोन लागेन । एअरपोर्टबाट बहिनीले दिदीलाई फोन गर्दासमेत फोन स्वीच-अफ नै थियो । आमाले पनि पटकपटक गर्नुभयो फोन लागेन फोन स्वीच-अफ नै
थियो । दिदीलाई बहिनीले अमेरिका गई भनी सुनाइदिनु भनिनन् । २७ गते बिहान कान्छो छोरालाई लान रञ्जनप्रसाद कोइराला घरमा आएका साथमा जेठा छोरा पनि आएका थिए । घरमा काम गर्ने गीता कटुवाल आई दिदीलाई बोलाउँदासमेत दिदी बोल्नुभएन अस्पताल जानुभयो होला भनी फर्किएँ भनी फोन गरेको थियो भनी आमालाई सुनाएँ । त्यसपछि दिदीको घर बुढानीलकण्ठ जाँदा ताला लगाएको हुँदा बुबाले छोरी बेपत्ता भएको हुँदा घर खोली हेर्न प्रहरी ठानामा निवेदन दियौं । त्यहाँबाट हुँदैन भनेपछि घर खानतलासी गर्नको लागि महाराजगन्ज र हनुमान ढोकामा निवेदन दिई प्रहरी आई घर खोली हेर्दा कहीँ पनि दिदी भेटिनु
भएन । दुवै पक्षबाट दिदीको बारेमा छलफल गर्न हनुमानढोका जाँदा रञ्जनप्रसाद कोइरालाले दिदी घुम्न गएको होला आइहाल्छिन् भने तर दिदी जहाँ गए पनि हामीलाई फोन गर्नुहुन्थ्यो गर्नुभएन । रञ्जनप्रसाद कोइरालाले मारेको हुनुपर्छ भनी उजुरी दिँदा हनुमानढोकाले उजुरी लिएन । पछि बुझ्दै जाँदा रञ्जन कोइरालाले नै दिदीको हत्या गरेको थाहा भयो । तारा रेग्मी रञ्जनको रखैल श्रीमती हो । उसले समेत मेरो दिदीलाई बारम्बार धम्क्याउने गर्दथिन् भनी प्रदिप ढकालले सुरू अदालतमा गरेको बकपत्र ।
(९) घटना विवरण कागज गर्ने सितु कार्कीले मिति २०६८।१०।५ को खानतलासी तथा बरामदी मुचुल्का र मिति २०६८।१०।२६ मा भएको घटना विवरण कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाल कोइरालालाई कर्तव्य गरी मारेको भन्ने पत्रपत्रिका र टी.भी. बाट थाहा पाएको हुँ । समाजमा हल्ला भएको पनि सुनेको हुँ । अन्य स्रोत थाहा भएन भनी गरेको बकपत्र । त्यस्तै घटना विवरण कागज गर्ने ज्वाला कुँवरले मिति २०६८।१०।२६ को कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । घटनाको बारेमा पत्रपत्रिका, टि.भी., रेडियो र छरछिमेकसमेतबाट थाहा पाएको हुँ । अन्य कुरा मलाई थाहा छैन भनी गरेको बकपत्र, घटना विवरण कागज गर्ने अर्की गीता कटुवालले मिति २०६८।१०।२ को कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । प्रतिवादी रञ्जन र गीता ढकालबिच सम्बन्ध राम्रो थियो । घटनाको बारेमा मैले रेडियो टि.भी. बाट थाहा पाएको हुँ । म पूजाको प्रसाद पुर्याउन गीता ढकाल कोइरालाको घरमा गएकोमा गेटमा ताला लगाएको हुँदा गीता ढकाललाई फोन गर्दा फोन लाग्यो तर फोन उठेन । प्रतिवादी रञ्जनलाई परबाट मात्र देखेको हुँ । बोलचाल भएको छैन भनी गरेको बकपत्र । मौकामा कागज गर्ने प्रहरी जवान युगमाया श्रेष्ठले प्रतिवादी रञ्जनप्रसाद कोइराला डि.आइ.जी.को ड्राइभर शंकर पौडेलले कुपन काटी तेल भरिदेउ भनेको हुँदा ३५/३५ लिटरको २ वटा र ५० लिटरको १ वटा ग्यालेनमा तेल भरिदिएको हुँ । यति धेरै मात्राको कुपन मैले पहिलो पटक काटेको हो । साथीहरूले पनि काट्ने गरेको भनी भनेको सुनेको हुँ । अरू केही थाहा भएन भनी गरेको बकपत्र । त्यस्तै घटना विवरण कागज गर्ने दिया देवान (राई) ले मिति २०६८।१०।२६ को घटना विवरण कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । यो मुद्दाको बारेमा मलाई केही पनि थाहा
छैन । घटनाको बारेमा सञ्चार माध्यमबाट थाहा पाएको हो । गीता ढकाल कोइराला हराएको भन्ने पनि समाजबाट सुनेको हुँ, अरू केही थाहा छैन भनी गरेको बकपत्र । मौकामा कागज गर्ने स.प्र.ह. रामकुमार गुरूङले मिति २०६८।१०।१० को कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । मिति २०६८।९।२८ मा बा. १ झ ६२१३ नं. को गाडी सफा गर्दा पेट्रोलको गन्ध आएको थियो । सो गाडीको खुट्टा राख्ने रबर म्याट नभएकोले अर्को पुरानो गाडीको म्याट राखेको हो । पत्नीको हत्या गरेकोले रञ्जन पक्राउ परे भनी साथीबाट सुनेको हुँ । मिति २०६८।९।२ देखि रञ्जन सरको गाडी चलाउन तोकिएको र मिति २०६८।९।२२ देखि मात्र चिनेको हो । मिति २०६८।९।२७ गतेका दिन बिहान ९/१० बजे प्रतिवादी रञ्जनको घरमा पुगेँ । बा. ६ च २८१४ को कोरोला गाडीमा प्रतिवादी निजको जेठा छोरा र म बुढानीलकण्ठ गई कान्छो छोरालाई लिई घरबाट निस्कनुभएपछि महाराजगन्ज भाटभटेनीमा गई सामान किनी दुवै छोरालाई गैरीगाउँ स्थित घरमा पुर्याउनु भन्नु भएकोले घरमा पुर्याइदिएँ । बेलुका १८:३० बजेसम्म बोलावट हुन्छ भनी त्यहीँ बसेँ । बोलावट नभएपछि अफिस फर्की खाना खाई सुते । अरू केही थाहा भएन । मिति २०६८।९।२८ मा ड्युटीको लागि सरको घर गई बेलुकीसम्म बसे । साँझ अफिस फर्की आएँ भनी गरेको बकपत्र । त्यस्तै मिति २०६८।१०।१० मा कागज गर्ने प्रहरी जवान शंकर पौडेलले सो मितिमा भएको काजको बेहोरा र सहीछाप मेरो हो । मिति २०६४ साल कार्तिक, मङ्सिर महिनादेखि मलाई रञ्जन सरको ड्राइभरको रूपमा तोकिएको
हो । प्रतिवादी रञ्जन स्वयम्भुको घरमा र गीता ढकाल र २ बच्चा बुढानीलकण्ठको घरमा बस्नुहुन्छ । सर गीता ढकाल बस्ने घरमा हप्ता १५ दिनमा जानुहुन्थ्यो । सर २०६८ भदौतिर होला चाइना तालिममा गई मिति २०६८।९।२१ मा फर्कनुभयो । उहाँ आउने खबर तारा रेग्मीमार्फत थाहा पाएको
हुँ । मिति २०६८।९।२७ मा ३५/३५ लिटरको २ वटा र ५० लिटरको १ वटा जर्किनमा तेल भरेको हो । ७० लिटर तेल बा. १ ज ६२१३ नम्बरको गाडीमा बडीगार्ड इन्द्र खत्रीलाई रञ्जन सरले हाल्न लगाउनुभयो । ५० लिटर घरमा थियो त्यसलाई पनि २०/२० लिटरको २ वटा जर्किन किनेर ल्याई गाडीमा राखेको र बाँकी तेल घरमा राखेको हो । तेल सर्टेजको बेला साथी भाइलाई दिनको लागि जर्किनमा तेल लाने गरेको र सरको आदेशले लगेको हो । अरू बेला पेट्रोल पम्पमा नै गाडीमा तेल हालिन्थ्यो । गीता ढकाल कोइरालाको मृत्युको बारेमा मैले आँखाले देखेको छैन । पत्रपत्रिकाको समाचारले शंकासम्म गरेको
हुँ । अरू कुरा थाहा भएन भनी गरेको बकपत्र मिसिल सामेल रहेको ।
(१०) मिति २०६८।१०।८ मा छोरीलाई कर्तव्य गरी मारेको भनी प्रतिवादी रञ्जनप्रसाद कोइरालाउपर हनुमानढोकामा दिएको जाहेरी र मिति २०६८।१०।२४ को पूरक जाहेरी सोमा भएको बेहोरा र सहीछाप मेरो हो । मिति २०६८।१०।२७ गते दिउँसो १२ बजे श्रीमतीले छोरीलाई फोन गरी बोलेको थियो । त्यसपछि फोन स्वीच-अफ भयो । पटकपटक गर्दा पनि फोन लागेन । छोरा प्रदिप ढकाललाई हेर्न पठाएकोमा गेटमा नै ताला लगाएको
थियो । छोरीको घरमा काम गर्ने गीता कटुवालले पनि गीता ढकाल कोइराला घरमा नभएको मूल ढोकामा ताला लगाएको छ भन्ने खबर पाएको र छोरी बेपत्ता भएकोले प्रहरी प्रभाग बुढानीलकण्ठमा प्रहरी निरीक्षकलाई घरभित्रै थुनेको वा बेपत्ता भएको हो छानबिनको लागि अनुरोध गरेको र प्रहरी निरीक्षकसमेत छोरीको घरमा जाँदा ढोकामा ताला लगाएको अवस्था हुँदा ताला फोडी खान तलासी गर्न अनुरोध गरेँ । उहाँले रञ्जनप्रसाद कोइरालाको अनुपस्थितिमा खोल्न
मिल्दैन । उहाँलाई उपस्थित गराई खोल्ने व्यवस्था मिलाउँछौं भन्नुभयो । मिति २०६८।९।३० सम्म ताला खोल्ने व्यवस्था नहुँदा महाराजगन्ज प्रहरी कार्यालयमा छोरी गीताको घर खान तलासी गरिपाउँ भनी निवेदन दिएँ । हनुमानढोका प्रहरी कार्यालयबाट अधिकृत कर्मचारीहरूसमेत आई घर खानतलासी हुँदा घरभित्र छोरी फेला नपरेको र अघिको क्रियाकलापबाट रञ्जनप्रसाद कोइरालाउपर शंका लागी जाहेरी दिएको हुँ । रञ्जनले बाहिर तारा रेग्मी भन्ने केटी राखी बस्ने गरेको भनी छोरी गीताले भनेको र सोही विषयमा छोरीलाई रञ्जनले कुटपिट गर्ने गरेकोमा छोरीले नेपाल सरकारका विभिन्न सरकारी निकायमा निवेदनसमेत दिएकी थिइन् । त्यसैले रञ्जनप्रसाद कोइरालाले नै छोरी गीता ढकालको कर्तव्य गरी हत्यासमेत गरी मकवानपुरको टिष्टुङमा लगी जलाएको हुँदा रञ्जनलाई सजाय हुनुपर्छ भनी जाहेरवाला हरेराम ढकालले गरेको बकपत्र ।
(११) प्रहरीमा कागज गर्ने रविन्द्रप्रसाद कोइरालाले गीता ढकाल कोइरालाको मृत्युको सम्बन्धमा पत्रपत्रिकामार्फत थाहा पाएँ । मिति २०६९।१०।१ मा म पनि हनुमानढोका प्रहरी कार्यालयमा
गएँ । रञ्जनउपर चार्ज लगाइएको रहेछ । जाहेरवाला पनि आउनुभयो । गीता ढकालले पहिला पनि विभिन्न चार्जहरू लगाउने गरेको हुँदा सामान्य विषय मानेँ । त्यसपछि हनुमानढोकामा दुवै पक्ष मिली गीता ढकालको खोजी गर्ने सहमतिसमेत भएको थियो । भाइले गीतालाई खोज्न गाडी मागेको हुँदा मैले गाडी दिएको हो । मिति २०६८।१०।२३ को कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । भाइ बुहारीको सम्बन्ध राम्रो थिएन । त्यसै भएर अलगअलग बसेका हुन् भनी गरेको बकपत्र । मिति २०६८।१०।२५ मा भएको कागजको बेहोरामध्ये पाना ५ को अन्तिम हरफदेखि पाना ६ को हरफ ७ सम्मको बेहोरा मेरो होइन अरू बेहोरा र सहीछाप मेरो हो । रञ्जनले पूजामा आउँदा तारालाई साथी भनेर जानकारी गराएका
थिए । मिति २०६८।९।२७ का दिन भाइ रञ्जन चाइनाबाट भर्खर आएको भन्ने फोनमा कुरा भएको थियो । रञ्जनले गीता ढकाललाई मारेको भन्ने पत्रपत्रिकाको समाचारमा विश्वास नै लाग्दैन भनी रमेश कोइरालाले गरेको बकपत्र । त्यस्तै प्रहरीमा कागज गर्ने शंकर रेग्मीले मिति २०६८।१०।२६ को कागजको सहीछाप र बेहोरा मेरै हो । रञ्जन अनिदो भनेकोमा अत्तालिएको भनी लेखाएको र रञ्जनप्रसाद कोइरालालाई भिनाजुले चिनाउनुभयो भनेकोमा तारा रेग्मीले चिनाएको भनी लेखाएको बाहेक अरू सबै ठिक हो । रञ्जन भिनाजुलाई भेटेपछि दिदी ताराले कस्तो छ भन्नुभयो । अलिक अनिदो जस्तो देखिनुहुन्छ भनेकोले बाटोमा अस्पताल भए जचाएर लानु भनेको हुँदा अस्पताल लगी जचाउँदा डाक्टरले उहाँको प्रेसर सामान्य छ भनेको हुँदा घर लगेँ । उहाँको नर्मल व्यवहार नै थियो । घटनाको बारेमा टेलिभिजन पत्रपत्रिकामार्फत थाहा पाएको हुँ भनी गरेको बकपत्र । त्यस्तै प्रहरीमा कागज गर्ने ईश्वर रेग्मीले मिति २०६८।१०।२६ को कागजको सहीछाप मेरो हो । बेहोरा सबै मेरो होइन । छोरी जँचाउन काठमाडौं आएको र रञ्जनप्रसाद कोइरालाको घरमा नै गीता ढकाल हराएको बारेमा सुनेको हो । टि.भी. को ब्रेकिङ्ग न्युजबाट रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेको भन्ने टि.भी. हेरी थाहा पाएको हुँ । म गीता ढकाललाई चिन्दिन । रञ्जन खोज्न गएको हुँदा म पनि गएको हो । ककनी र नगरकोटतर्फको रिसोर्टहरूमा गीता ढकाल र पन्जाबीको फोटो देखाई खोजी गर्यौं भनी गरेको
बकपत्र । प्रहरीमा कागज गर्ने आयुष कोइरालाले प्रहरीसमक्षको कागजमा भएको सहीछाप मेरो हो । सबै बेहोरा मेरो होइन । आमा बाबुको बिचमा राति झगडा गर्नुहुन्थ्यो । Topics के हुन्थ्यो थाहा भएन । घटनाको बारेमा घरमा कुराकानी हुँदा र हजुरबुबा हरेराम ढकालले प्रहरीको अफिसमा लानुभएपछि थाहा पाएको हुँ भनी गरेको बकपत्र र प्रहरीमा कागज गर्ने आर्यन कोइरालाले मिति २०६८।१०।२३ को कागजमा भएको सहीछाप मेरो हो । सबै बेहोरा मेरो होइन । हाम्रो आफन्तबाहेक मैले नचिनेको १(एक) जना हप्तामा १/२ पटक आउनुहुन्थ्यो । मलाई चकलेट
दिनुहुन्थ्यो । म टि.भी. हेरी टि.भी. कोठामा बस्ने गर्थें । खाना सँगै खाने गरेका
थियौं । अङ्कलको नाम थाहा भएन । बाबा चाइनाबाट आएको दादाले भनेपछि थाहा पाएर तिमी पनि आउ भन्नुभयो । मैले आमालाई सोध्नुपर्छ भनेँ । आमालाई सोध्दा जाउ न त भन्नुभएकोले दादालाई फोन गरे । त्यसपछि तिमी तयार भई बस भनी दादाले
भन्नुभयो । दादा, बाबा र ड्राइभर दाइ आउनुभयो । बाबाले ल्याइदिनुभएको लुगा दादाले लगाई दिनुभयो । त्यसपछि गाडीमा बसी भाटभटेनी गयौ भनी सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६८।९।२७ गते साँझ ८. बजेको समयमा बा.१ झ ६२१३ नं. को गाडीमा मैले रञ्जनप्रसाद कोइरालाको लागि फुलट्याङ्की ५९ लिटर डिजेल भरेको हुँ भन्नेसमेत बेहोराको स.प्र.स.ह. सहदेव जैशीको बकपत्र ।
रञ्जनप्रसाद कोइरालाको घरमा ४ वर्षअघिदेखि काम गर्न बसेको हुँ । रञ्जनप्रसाद कोइराला र गीता ढकालको बिच के कस्तो सम्बन्ध थियो थाहा भएन । उहाँहरू कहिल्यै सँगै बसेको
देखिनँ । रञ्जन सरको घरमा तारा रेग्मी आउने गर्नुहुन्थ्यो । रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाल (कोइराला) लाई कर्तव्य गरी मारेको भनी घरमा प्रहरीहरू आएकाले थाहा पाएको भन्नेसमेत बेहोराको कागज गर्ने राजकुमार स्याङतानको बकपत्र ।
(१) घटना भयो भनिएको मिति २०६८।९।२७ को दिन म केवलको लाइन बनाउन रञ्जनप्रसाद कोइराला सरको घरमा ३:३० बजे पुगेको र केवलको तार बिग्रिएकोले अर्को तार अफिसबाट मगाई फेर्दा बेलुका ६:३० बजेको थियो । रञ्जनप्रसाद कोइराला सर पनि लाइन बनाउन स्वयम्भु हलचोकको गैह्री गाउँको घरमा सँगै हुनुहुन्थ्यो । बेलुका ६:३० बजेपछि चिया खान भन्नुभएकोले चिया खाई ७:०० बजे मात्रै हिँडेको हो । निजले श्रीमती हत्या गरेको भन्ने मलाई विश्वास लाग्दैन । मिति २०६८।२।२७ को दिन बेलुका ७:०० बजेसम्म रञ्जन सर केवलको लाइन बनाउन सँगै रहेको हुँदा उहाँले अभियोग दाबीको कसुर गरेको होइन । गीता ढकालको हत्या कसले गरे थाहा भएन भनी प्रतिवादी रञ्जनप्रसाद कोइरालाको साक्षी कल्याणराज गिरीले सुरू अदालतमा गरेको बकपत्र ।
(२) प्रतिवादी तारा रेग्मीको साक्षी विजेता लिम्बुले घटना भयो भनिएको समयमा तारा रेग्मी मलेसिया रहेको भनी मलाई फोन गरेकी र चाँडै नेपाल आउने भनेकी थिइन् । उनले कुनै कसुर अपराध नै नगरेको हुँदा अभियोग दाबीको कसुरमा सजाय हुनुपर्ने नै होइन भनी, अर्को साक्षी पार्वती खड्काले घटनाको समयमा तारा रेग्मी आफ्नो व्यवसायको सिलसिलामा मलेसिया जानुभएको भन्ने मैले चाइनामा Internet News बाट थाहा पाएको हुँ । म पनि सो समयमा चाइना गएको थिएँ । उनी सफल व्यवसायी, सामाजिक कार्यकर्ता, कर्मठ महिला भएको र उनले त्यस्तो अपराध गर्न नै सक्दिनन् । आरोपित कसुर अपराध नै नगरेको हुँदा उनीलाई सजाय हुनुपर्ने नै होइन भनी अर्का साक्षी दिपक भन्ने विश्वराम अधिकारीले म तारा रेग्मीलाई विगत १५/१६ वर्षअगाडिदेखि चिन्दछु । उनी राम्रो चालचलन भएकी समाजसेवी महिला हुन् । घटना भयो भनिएको समयमा उनी मलेसिया भएको हुँदा गीता ढकालको हत्यामा कुनै प्रकारको संलग्नता नै छैन । कसुर नै नगरेको हुँदा अभियोग दाबीको कसुरमा सजाय पाउनुपर्ने होइन भनी र अर्को साक्षी रमादेवी कोइरालाले तारा रेग्मी आफ्नो व्यवसाय गरी आएकी महिला हुन् । उनलाई म बिगत १५/१६ वर्षदेखि चिन्दछु । चालचलन राम्रो
छ । व्यवसायको सिलसिलामा मलेसिया भएको बेला घटना घटेको र गीता ढकाललाई मार्न उनीले सहयोग गर्नुपर्ने कुनै कारण नै छैन । पत्रपत्रिकाको कारण रञ्जनको प्रेमिका भएको भन्ने लेखेको आधारमा अभियोग लगाइएको हो । झुठ्ठा अभियोगको भरमा निजले सजाय पाउनुपर्ने होइन भनी सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी रञ्जनप्रसाद कोइरालाले अनुसन्धान अधिकारीसमक्ष पीडित पत्नी र आफूबिच सम्बन्ध सुमधुर नरहेको, वारदातका दिन रकम माग गर्दा हात हालाहाल भई निजलाई धकेल्दा भित्तामा ठोक्किई मुर्छित भई श्वासप्रश्वास नै बन्द भई मृत्यु भएको र मृत्युपश्चात् लास नष्ट गर्ने योजना बनाई पेट्रोल गाडीसमेतको व्यवस्था मिलाई गाडीमा राखी मृतक लासलाई मकवानपुरको मेत्राङ भन्ने स्थानमा पुर्याई पेट्रोल हाली जलाएको र त्यसपश्चात् घर फर्केको भनी गरेको साबिती बयान, सो साबिती बयान वारदातको स्वरूपसँग मेल खाने र विश्वसनीयसमेत देखिन आएकोले पीडित गीता ढकाल कोइरालालाई निजकै घरमा यिनै एक मात्र प्रतिवादीले कर्तव्य गरी मारी लासलाई मकवानपुर जिल्लाको मेत्राङ भन्ने स्थानमा पुर्याई जलाई नष्ट गर्ने कसुरमा यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाको संलग्नता रहेको यकिन हुन आएको हुँदा प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी तारा रेग्मीको हकमा निजलाई ज्यानसम्बन्धी महलको १६ नं. को षड्यन्त्र रहेको अभियोग वादीले प्रमाणित गर्न नसके पनि निज प्रतिवादी तारा रेग्मीको वारदातको अघिपछि सम्बन्ध रहेको पाइँदा अरू किसिमको मतलबीको भूमिका रहेको देखिँदा यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम एक वर्ष कैद हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०७१।१।७ को फैसला ।
जाहेरवाला हरेराम ढकालको जाहेरीमा हत्या मिति २०६८।१०।८ र सरकारी साक्षी सीतु कार्की, ज्वाला कुँवर तारा थापासमेतले मिति २०६८।१०।८ मा नै भएको भनी बकपत्र गरेकोमा म मिति २०६८।१०।७ मै पक्राउ परेकोमा कसरी हत्या गरे सो खुलाउन सकेका छैनन् । म प्रतिवादीको हात भाँचिई गम्भीर घाइते भएकोले कसरी हत्या गरी लास दबाए भन्ने स्पष्ट आधार खुलाउन नसकेको । २ वटा जाहेरीले शंका मात्र गरेको हुँदा शंकाको भरमा कसुरदार ठहर गर्न मिल्दैन । अस्थिपञ्जरको हाड परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान पठाइएकोमा विधि विज्ञानले तिघ्राको हाड परीक्षण गरी तिघ्राको हाड नै नपठाइएकोमा कसरी गीता ढकालको हो भनी प्रतिवेदन दियो । त्यो प्रतिवेदनलाई प्रमाणमा कसरी लिने । २ वटा बरामदी मुचुल्कामध्ये कुनलाई आधिकारिक भन्ने सन्देह रहेको र जाहेरवालाको षड्यन्त्रपूर्ण योजनाका आधारमा नाबालक बच्चाहरूलाई समेत साम्पत्तिक अधिकारबाट वञ्चित गराई एक छाक टार्नसमेत असमर्थ हुने गरी कसुरदार ठहर गर्ने क्रममा "ओहोदा" लाई आधार मानी सुरू अदालतबाट भएको फैसला न्यायोचित नहुँदा सुरू अदालतबाट भएको फैसला बदर गरी सफाइ पाउँ भन्ने जिकिरसहित प्रतिवादी रञ्जनप्रसाद कोइरालाको पुनरावेदन अदालत पाटनमा पेस भएको पुनरावेदन ।
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. मा अरू किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहनेलाई लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई ६ महिनादेखि ३ वर्षसम्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको छ । मलाई सुरू अदालतले ज्यानसम्बन्धी महलको १७(३) बमोजिमको कसुरदार ठहर्याउँदा मेरो अन्तरङ सम्बन्ध रहन आई वारदातअघि पछि प्रसस्त सम्बन्ध रहे भएकै कारण मात्र अभियुक्त ठहर्याउन मिल्दैन । प्रस्तुत वारदातमा मेरो अरू किसिमको भूमिका रहेको भन्ने आधार लिई भएको फैसला त्रुटिपूर्ण छ । के कस्तो मतलबी भूमिका रहेको भन्ने स्पष्ट प्रमाणबेगर कसुरदार कायम गरेको मिलेको छैन । मृतक गीता ढकालको ज्यान मार्नमा सहयोगी भई ज्यानसम्बन्धीको १७(३) नं. को भूमिका निर्वाह गरेको सप्रमाण पुष्टि गर्न सकेको छैन । आधार, कारण र औचित्यबेगर कसुरदार कायम गरेको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने जिकिरसहित प्रतिवादी तारा रेग्मीले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदन ।
प्रतिवादी तारा रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १६ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेकोमा ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय ठहर गरेको सुरू अदालतको फैसला त्रुटिपूर्ण छ । सो त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादी तारा रेग्मीलाई अभियोग माग दाबीबमोजिम हदैसम्म सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिरसहित वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पेस भएको पुनरावेदन ।
सुरू जिल्ला अदालतले तारा रेग्मीसँग धरौट माग गरेकोमा पुनरावेदन अदालतले थुनामा राख्ने आदेश गरेपश्चात् निवेदकले समर्पण गरी थुनामा गएको अवस्था देखिँदैन । जिल्ला अदालतबाट फैसला हुँदा कैद तोकिएकोमा अ.बं. १९४ नं. बमोजिमको सुविधा माग गर्नलाई पुर्पक्ष निमित्त थुनामा बस्नुपर्ने मुद्दामा त्यस्तो सुविधा प्राप्त हुन सक्ने अवस्था नदेखिएकोले पुनरावेदन अदालत पाटनको मिति २०७१।४।२३ को आदेश मिलेको नदेखिएकोले बदर गरिएको छ” भन्ने मिति २०७१।१०।२ मा यस अदालतबाट भएको आदेश ।
यसमा वादी नेपाल सरकार, प्रतिवादीहरू रञ्जनप्रसाद कोइराला र तारा रेग्मीको पुनरावेदन परेको देखिँदा उक्त पुनरावेदनपत्रहरू वादी प्रतिवादी एक अर्कालाई अ.बं. २०२ नं. को प्रयोजनार्थ सुनाउनु भन्ने मिति २०७१।८।९ मा पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।
(१) प्रतिवादी रञ्जनप्रसाद कोइराला र मृतक गीता ढकालबिच २०५० सालमा विवाह भई २ सन्तानको जायजन्म भएको, पति पत्नीका बिच सुमधुर सम्बन्ध नरहेको भन्ने अलग-अलग बसाइँबाट प्रमाणित हुन्छ । कुटपिट भएको भनी गीता ढकालले मिति २०६७।९।८ मा घा जाँच गराइपाउँ भनी राष्ट्रिय महिला आयोगसमक्ष समेत निवेदन दिएको कारणबाट अंश र मानाचामल मुद्दा दायर हुनु घटनापूर्वका विवादरहित तथ्यहरू हुन् । प्रतिवादी रञ्जन चाइना तालिममा गएकोमा मिति २०६८।९।२१ मा नेपाल फर्कंदा विमानस्थलमा पासपोर्टमा छाप नलगाएको, कार्यालयलाई जानकारी नगराएको, वारदातको दिन गीता ढकालको घरमा गई कान्छो छोरालाई लिई गएको, प्रहरीको पेट्रोल पम्पबाट १२३ लिटर पेट्रोल ड्राइभर शंकर पौडेलले ल्याएको, मिति २०६८।९।२८ मा मकवानपुर टिष्टुङ र मेत्राङ भन्ने स्थानमा महिलाको लास जलाएको जानकारी गाउँलेले प्रहरी कार्यालयलाई गराएको, अस्थिपञ्जर र घडीसमेतका वस्तु अनुसन्धानको लागि प्रहरीले लगेको, सोही स्थानमा २०६८।१०।७ गते बा. ८ च ५४१८ नं. को गाडीसहित रञ्जन भेटिएको, प्रहरीले छाडी मिति २०६८।१०।८ मा बिहान नागढुङ्गाबाट प्रतिवादी पक्राउ परेको कुरामा प्रतिवादीले विवाद गरेको देखिँदैन ।
(२) घटनास्थलमा फेला परेको अस्थिपञ्जर जाँचको लागि पठाइएकोमा गीता ढकालको बाबु हरेराम ढकाल र आमा हरिप्रिया ढकालको रगतको नमुनासँग तुलना गरी DNA परीक्षण हुँदा समानता देखिएको भन्ने परीक्षण प्रतिवेदनसमेतबाट अस्थिपञ्जर गीता ढकालकै रहेको, मृत्युपश्चात् जलाइएको भन्ने शंका गर्ने ठाउँ छैन । प्रतिवादी अदालतसमक्ष इन्कार रहे पनि अनुसन्धान अधिकारीसमक्ष साबित भएको पाइँदा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले गीता ढकाल कोइरालालाई घरमै कर्तव्य गरी मारी मकवानपुरको मेत्राङ भन्ने स्थानमा जलाई प्रमाण नष्ट गर्न खोजेको अवस्थासमेतलाई हेर्दा प्रतिवादी र मृतकका बिचमा भएको हात हालाहालको स्थितिमा घटेको सांयोगिक घटना नभई योजनापूर्वक गरिएको हत्या प्रमाणित हुन्छ । कानून कार्यान्वयन गर्ने निकायको उच्च अधिकारीबाट वारदात घटेको र प्रतिवादीले घटनाको यथार्थ कुरा नगरी निर्दोषिताको जिकिर गरेको हुँदा अ.बं. १८८ नं. आकर्षित हुनेसमेत नदेखिँदा प्रतिवादी रञ्जनप्रसाद कोइरालाको हकमा मिसिल संलग्न प्रमाणहरूबाट निजले आफ्नी श्रीमती गीता ढकाल (कोइराला) लाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।१।७ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अर्का प्रतिवादी तारा रेग्मीको हकमा काठमाडौं जिल्ला अदालतको उक्त मितिको फैसलाउपर निजले मिति २०७१।४।२३ मा अ.बं. १९४ नं. को सुविधा लिई यस अदालतमा पुनरावेदन गरेकोमा अ.बं. १९४ नं. को सुविधा दिने यस अदालतको आदेश सम्मानित सर्वोच्च अदालतको मिति २०७१।१०।२ को आदेशद्वारा बदर भएको र निजलाई धरौट तारेखमा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी निजलाई अ.बं. ११८ को देहाय (२) बमोजिम थुनामा राखी पुर्पक्ष गर्नु भन्ने यस अदालतको मिति २०६९।३।७ को आदेशपश्चात् निज प्रतिवादीले अदालतसमक्ष समर्पण गरी थुनामा बसेको नदेखिँदा निजको पुनरावेदन लाग्न सक्ने नभई सुरू काठमाडौं जिल्ला अदालतबाट निजलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय गर्ने गरी भएको फैसलालाई अन्यथा भन्नु परेन । सो हुँदा निजको पुनरावेदनको औचित्यमा प्रवेश गर्नु नपरेकोले उक्त पुनरावेदन खारेज हुने
ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदनको हकमा मिसिल प्रमाणबाट निज प्रतिवादी तारा रेग्मीले वारदातमा मुख्य भई षड्यन्त्र गरेको भन्ने पुष्टि हुनसकेको नपाइँदा सोतर्फको वादी नेपाल सरकारको पुनरावेदन जिकिर र अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी रञ्जनप्रसाद कोइरालाको पुनरावेदन जिकिरसमेत पुग्न सक्तैन भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७२।८।२३ को फैसला ।
पुनरावेदन अदालत पाटनबाट फैसला गर्दा वादी पक्षबाट प्रस्तुत गरिएको अभियोगपत्रमा उल्लिखित कपोलकल्पित र शंकास्पद प्रमाणहरूलाई ग्रहण गरिएका छन् । प्रस्तुत मुद्दामा मिसिल संलग्न कागज प्रमाणबाट मैले गीता ढकाल कोइरालाको मृत्यु गराएको भन्ने वस्तुनिष्ठ एवं खम्बिर प्रमाणले वादी पक्षले पुष्टि गर्न सकेको छैन । आरोपित कसुर अपराधको आपराधिक कार्य एवं आपराधिक मनसाय दुवैको स्वतन्त्र, भरपर्दो एवं तथ्यगत प्रमाणहरूबाट स्थापित एवं पुष्ट्याईं भएको छैन । फौजदारी अपराधमा अपराध भएको भन्ने तथ्य अर्थात् Corpus Delicti वादीले प्रमाणित गरी त्यसपछि मात्र अभियोग लगाएको पक्षले नै त्यस्तो अपराध गरेको भनी प्रमाणित गर्नुपर्ने
हुन्छ । प्रस्तुत मुद्दामा हातको हड्डीको DNA परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाएकोमा तिघ्राको हड्डी Famour Bone को DNA परीक्षण प्रतिवेदन बनाएको देखिन्छ । उक्त DNA परीक्षण प्रतिवेदनले गीता ढकाल कोइरालाको मृत्यु भएको र मेत्राङमा जलाएको भनिएको गीता ढकाल कोइराला नै हो भनी प्रमाणित गर्दैन । गीता ढकाल कोइरालाको मृत्यु भएको अकाट्य प्रमाणबाट पुष्टि नभएसम्म शंकाको भरमा म पुनरावेदकलाई दोषी करार गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।१।७ मा भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।८।२३ मा भएको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रञ्जनप्रसाद कोइरालाको यस अदालतमा दायर हुन आएको पुनरावेदन ।
प्रतिवादी तारा रेग्मी वारदातका दिन नेपालबाहिर विदेश भएको कुरामा विवाद छैन । वारदातभन्दा अघि दुवै जना सँगै बसेको भन्ने कुरा मिसिल प्रमाणबाटै स्पष्ट खुलेको, घटना हुनुअगाडि र घटना भएपश्चात् प्रतिवादी रञ्जनप्रसाद कोइरालाकोमा फोन सम्पर्क गरेको, हत्या पूर्व, हत्या गरिएको समय वरिपरि र हत्यापश्चात् पटकपटक फोन सम्पर्क गरेबाट मार्न पुन: योजना र सल्लाह सहमति गरेकोसमेत पुष्टि भइरहेको अवस्थामा प्रतिवादी तारा रेग्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १७ (३) नं. बमोजिम सजाय गर्ने गरेको फैसला नमिलेको हुँदा प्रतिवादी तारा रेग्मीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन ।
यसमा वारदात हुँदाका बखतको अवस्थालाई दृष्टिगत गर्दा निवेदकलाई भएको सजायको मात्रा विचारणीय देखिएकोले पुनरावेदन अदालत पाटनको मिति २०७२।८।२३ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिनु भन्ने यस अदालतको मिति २०७४।९।२३ को आदेश ।
यसमा प्रतिवादी रञ्जनप्रसाद कोइराला पुनरावेदक र नेपाल सरकार प्रत्यर्थी भएको मुद्दा नं. ०७२- CS-१९३७ को कर्तव्य ज्यान मुद्दामा मिति २०७४।९।२३ मा प्रत्यर्थी झिकाउने आदेश भइसकेको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी भएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) नं. को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।५।२६ को आदेश ।
मृतक गीता ढकाल (कोइराला) र पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालाबिच २०५० सालमा विवाह भई निजहरूबाट १४ वर्षका आयुष कोइराला र ११ वर्षका आर्यन कोइराला गरी दुई छोराहरूको जायजन्म भएपश्चात् निज छोराहरूको आमा गीता ढकाल (कोइराला) को मिति २०६८।९।२७ मा पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृत्यु भएको देखियो । मिसिल संलग्न प्रमाण कागजहरूबाट मृतक र पुनरावेदक प्रतिवादीबाट दुई छोराहरूको जायजन्म भएपछि निजहरूबिचको दाम्पत्य जीवन सुमधुर हुन नसकी दुवै जना एक अर्काबाट लामो समयदेखि अलगअलग घरमा बस्दै आएको अवस्थामा मिति २०६८।९।२७ गतेका दिन मृतक बस्ने घरमा प्रतिवादी रञ्जनप्रसाद कोइराला जाँदा मृतक श्रीमती गीता ढकालले व्यापारको लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुवै जनाबिच झै-झगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालाले गीता ढकाल कोइरालालाई धकेल्दा टाउको भित्तामा ठोकिई मृत्यु भएको, वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखिनुको साथै निजको मृत्युपश्चात् नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षा दीक्षालगायतका कार्यहरू अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपर्युक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ भन्ने बेहोराको यस अदालतको मिति २०७७।३।१५ को फैसला ।
प्रतिवादी रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीता ढकाललाई कर्तव्य गरी मारेको कसुर कायम भएको र सो कसुर गर्नमा प्रतिवादी तारा रेग्मीको सहयोगी भूमिका रहेको देखिन्छ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत जिम्मेवार व्यक्तिसमेत रहेका प्रतिवादी रञ्जनप्रसाद कोइरालाले पदको समेत दुरूपयोग गरी आफ्नै श्रीमतीलाई शारीरिक, मानसिक यातना दिँदै प्रताडित गराउँदै आएको भन्ने कुरा मृतक गीता ढकालले आफू जीवित छँदै दिएको निवेदन, सम्बन्धविच्छेद एवं अंश मुद्दा र तारा रेग्मीसँगको प्रेम सम्बन्धबाट खुलेको देखिएको छ । प्रेम सम्बन्धमा परी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले प्रतिवादी तारा रेग्मीको मिलेमतोमा आफ्नै श्रीमती गीता ढकाललाई कर्तव्य गरी मारी जलाई दबाई छिपाएको हो । मृतकलाई मार्नमा प्रतिवादीहरूका बिचमा सल्लाहसमेत भई ज्यान मार्ने कार्यमा पसेको अवस्थामा प्रतिवादी तारा रेग्मीलाई मतियार मात्रको कसुरदार ठहर गरेको र प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई निजको हकमा आकर्षित नै नहुने साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. लगाएको प्रथम दृष्टिमा नै त्रुटिपूर्ण छ । प्रतिवादीले मृतक गीता ढकाललाई घरमै कर्तव्य गरी लास दबाउन छिपाउनमा सरकारी (गाडी र तेल) साधन स्रोतको दुरूपयोग गरेका हुन् । अ.बं. १८८ नं. को प्रावधान आकर्षित हुनको लागि वारदात भवितव्यबाट घटित भएको प्रमाणित हुनुपर्दछ । सो अवस्थाको विद्यमानता देखिँदैन । मनसायपूर्वक हत्या गरेका र दबाएका हुन् । फैसलामा स्पष्ट रूपमा व्याख्या नै भएको छैन । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को प्रयोग हुन प्रतिवादीले कसुर स्वीकार गरेको हुनुपर्दछ । त्यस अवस्थामा मात्रै वारदातको परिस्थितिलाई विचार गरी घटी सजाय हुन सक्नेसम्म हो । प्रतिवादी रञ्जनप्रसाद कोइरालाले नै मृतक गीता ढकाललाई कर्तव्य गरी मारी भौतिक शरीर दबाउने निमिट्यान्न पार्नेसम्मका कार्य प्रतिवादीबाट भएको हुँदा निजले ऐ. ऐनको दफा १७क को सुविधा पाउन सक्ने अवस्था नै छैन । मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोगमा कम सजाय गर्ने आधार कारण खुल्नुपर्ने हुन्छ । सो तजबिजी अधिकारको प्रयोगका सम्बन्धमा (ने.का.प. २०६१, अङ्क ६ नि.नं. ७३९९) शान्ति वि.क. वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भएको हुँदा बदर भई प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई अभियोग दाबीबमोजिम हदैसम्म सजाय हुनुपर्दछ ।
प्रतिवादी तारा रेग्मीले मृतकलाई कर्तव्य गर्नमा मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई प्रस्तुत फैसलामा स्वीकार गरिएको पाइन्छ । प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग निजको घनिष्ट सम्बन्धका कारणबाट मृतकलाई कर्तव्य गर्ने कार्यमा दुवै प्रतिवादीहरूको सहमति भएको तथ्यबाट स्थापित छ । मूलतः मृतकलाई कर्तव्य गर्नुको कारण र जरिया भनेको यी प्रतिवादी तारा रेग्मीको अर्का प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग रहेको प्रेम सम्बन्ध नै देखिन्छ । प्रस्तुत फैसलामा समेत प्रकरण ८१ मा वारदातको दिन घटनाअघि र पछि प्रतिवादी तारा रेग्मीको अर्का प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग टेलिफोनमा कुरा भएको तथ्यलाई स्वीकार गरिएबाट घटनामा निजको संलग्नता सम्बन्धमा अकाट्य परिस्थितिजन्य प्रमाणसमेत सिर्जना भइरहेको छ । आफूहरू दुवैबिचको प्रेम सम्बन्धलाई साकार पार्ने उद्देश्यमा बाधकको रूपमा रहेकी मृतकलाई पञ्छाउनका लागि यी प्रतिवादी तारा रेग्मीले समेत आपराधिक षड्यन्त्र गरी दुवैको मिलेमतोमा मृतकलाई कर्तव्य गरी मारेको तथ्य मिसिल संलग्न सबुद, कागज एवं परिस्थितिजन्य प्रमाणबाट स्थापित भइरहेकोमा वारदातका षड्यन्त्रकारको रूपमा रहेकी निज प्रतिवादीका हकमा दाबी घटाई घटी सजाय गरेको प्रस्तुत फैसला सो हदसम्म त्रुटिपूर्ण
छ । प्रतिवादीहरूलाई सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त र कानूनसमेतको बर्खिलाप हुने गरी घटी सजाय गर्ने ठहर गरेको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावलोकनको निवेदन ।
प्रस्तुत विवादमा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले मौकामा साबित भई अदालतमा बयान गर्दा आरोपित कसुरलाई इन्कार गरी आफ्नो बेहोरा लेखाएको पाइयो । प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिँदैन । निज प्रतिवादीउपर आरोपित कसुर कायम भई सजायसमेत ठहर भएकोमा विवाद देखिएन । निजलाई भएको सजाय चर्को पर्न गई सजाय घटी हुने गरी साबिक मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. बमोजिम लगाएको राय सम्बन्धमा यसअघि यस अदालतबाट शान्ति वि.क. विरूद्ध नेपाल सरकार (ने.का.प. २०६१, अङ्क ६, नि.नं. ७३९९), नेपाल सरकार विरूद्ध जगत सदासमेत (ने.का.प. २०६३, अङ्क ८, नि.नं. ७७५२), नेपाल सरकार वि. शेरबहादुर बस्नेतसमेत (ने.का.प. २०७१, अङ्क ३ नि.नं. ९१३६) र केदार माझी विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०७४, अङ्क ७, नि.नं. ९८३६) मा प्रतिपादित सिद्धान्त प्रतिकूल पाइँदा ती सिद्धान्त एवं साबिक मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. बमोजिमको व्यवस्थासमेतलाई मध्यनजर गर्दै न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम यस अदालतको मिति २०७७।३।१५ को फैसला पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरिदिएको छ भन्ने बेहोराको यस अदालतको मिति २०७७।४।११ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्रीले प्रतिवादी रञ्जनप्रसाद कोइरालाले आफ्नै श्रीमती गीता ढकाललाई कर्तव्य गरी मारेको कसुर कायम भएको र सो कसुर गर्नमा प्रतिवादी तारा रेग्मीको सहयोगी भूमिका रहेको देखिन्छ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत जिम्मेवार व्यक्तिसमेत रहेका प्रतिवादी रञ्जनप्रसाद कोइरालाले पदको समेत दुरूपयोग गरी आफ्नै श्रीमतीलाई शारीरिक, मानसिक यातना दिँदै प्रताडित गराउँदै आएको भन्ने कुरा मृतक गीता ढकालले आफू जीवित छँदै दिएको निवेदन, सम्बन्धविच्छेद एवं अंश मुद्दा र तारा रेग्मीसँगको प्रेम सम्बन्धबाट खुलेको देखिएको छ । प्रेम सम्बन्धमा परी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले प्रतिवादी तारा रेग्मीको मिलेमतोमा आफ्नै श्रीमती गीता ढकाललाई कर्तव्य गरी मारी जलाइ दबाइ छिपाएको हो । मृतकलाई मार्नमा प्रतिवादीहरूका बिचमा सल्लाहसमेत भई ज्यान मार्ने कार्यमा पसेको अवस्थामा प्रतिवादी तारा रेग्मीलाई मतियार मात्रको कसुरदार ठहर गरेको र प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई निजको हकमा आकर्षित नै नहुने साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. लगाएको प्रथमदृष्टिमा नै त्रुटिपूर्ण छ । प्रतिवादीले मृतक गीता ढकाललाई घरमै कर्तव्य गरी मारी लास दबाउन छिपाउनमा सरकारी (गाडी र तेल) साधन स्रोतको दुरूपयोग गरेका
हुन् । अ.बं. १८८ नं. को प्रावधान आकर्षित हुनको लागि वारदात भवितव्यबाट घटित भएको प्रमाणित
हुनुपर्दछ । सो अवस्थाको विद्यमानता देखिँदैन । मनसायपूर्वक हत्या गरेका र दबाएका हुन् । घटी सजाय हुनुपर्ने भन्ने सम्बन्धमा फैसलामा स्पष्ट रूपमा व्याख्या नै भएको छैन । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को प्रयोग हुन प्रतिवादीले कसुर स्वीकार गरेको हुनुपर्दछ । त्यस अवस्थामा मात्रै वारदातको परिस्थितिलाई विचार गरी घटी सजाय हुन सक्नेसम्म हो । प्रतिवादी रञ्जनप्रसाद कोइरालाले नै मृतक गीता ढकाललाई कर्तव्य गरी मारी भौतिक शरीर दबाउने निमिट्यान्न पार्नेसम्मका कार्य प्रतिवादीबाट भएको हुँदा निजले ऐ. ऐनको दफा १७क को सुविधा पाउन सक्ने अवस्था नै छैन । मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोगमा कम सजाय गर्ने आधार कारण खुल्नुपर्ने हुन्छ । सो तजबिजी अधिकारको प्रयोगका सम्बन्धमा (ने.का.प. २०६१, अङ्क ६ नि.नं. ७३९९) शान्ति वि.क. वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भएको हुँदा बदर भई प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई अभियोग दाबीबमोजिम हदैसम्म सजाय हुनुपर्दछ ।
प्रतिवादी तारा रेग्मीले मृतकलाई कर्तव्य गर्नमा मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई प्रस्तुत फैसलामा स्वीकार गरिएको पाइन्छ । प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग निजको घनिष्ट सम्बन्धका कारणबाट मृतकलाई कर्तव्य गर्ने कार्यमा दुवै प्रतिवादीहरूको सहमति भएको तथ्यबाट स्थापित छ । मूलतः मृतकलाई कर्तव्य गर्नुको कारण र जरिया भनेको यी प्रतिवादी तारा रेग्मीको अर्का प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग रहेको प्रेम सम्बन्ध नै देखिन्छ । प्रस्तुत मिसिल संलग्न कागजातबाट वारदातको दिन घटनाअघि र पछि प्रतिवादी तारा रेग्मीको अर्का प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग टेलिफोनमा कुरा भएको तथ्यलाई स्वीकार गरिएबाट घटनामा निजको संलग्नता सम्बन्धमा अकाट्य परिस्थितिजन्य प्रमाणसमेत सिर्जना भइरहेको छ । आफूहरू दुवैबिचको प्रेम सम्बन्धलाई साकार पार्ने उद्देश्यमा बाधकको रूपमा रहेकी मृतकलाई पञ्छाउनका लागि यी प्रतिवादी तारा रेग्मीले समेत आपराधिक षड्यन्त्र गरी दुवैको मिलेमतोमा मृतकलाई कर्तव्य गरी मारेको तथ्य मिसिल संलग्न सबुद, कागज एवं परिस्थितिजन्य प्रमाणबाट स्थापित भइरहेकोमा वारदातका षड्यन्त्रकारको रूपमा रहेकी निज प्रतिवादीका हकमा दाबी घटाई घटी सजाय गरेको प्रस्तुत फैसला सो हदसम्म त्रुटिपूर्ण
छ । प्रतिवादीहरूलाई सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त र कानूनसमेतको बर्खिलाप हुने गरी घटी सजाय गर्ने ठहर गरेको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
त्यसैगरी जाहेरवालाको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई साबिक मुलुकी ऐन, अ.बं. १८८ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क लगाएको मिलेको छैन । निजलाई सजायमा छुट दिने गरी भएको यस अदालतको फैसला ने.का.प. २०७० अङ्क १० नि.नं. ९०६३ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । साथै प्रत्यर्थी प्रतिवादी रञ्जनप्रसाद कोइरालाको तर्फबाट नियुक्त विद्वान् कानून व्यवसायीलाई इजलासबाट पटक-पटक पुकार हुँदासमेत निज प्रतिवादी तथा निजको तर्फबाट कुनै पनि कानून व्यवसायी उपस्थित नहुनु भएको अवस्था रहेको छ ।
हेमराज ढकालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रञ्जनप्रसाद कोइराला र तारा रेग्मी भएको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले श्रीमती गीता ढकाल कोइरालालाई कर्तव्य गरी मारेको कसुरमा प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा ऐ. ऐनको १३(३) नं. बमोजिम सजाय हुन र प्रतिवादी तारा रेग्मीको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १६ नं. को कसुर अपराधमा सोही १६ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र प्रतिवादी तारा रेग्मीको हकमा ज्यानसम्बन्धीको १६ नं. को अभियोग दाबी वादी पक्षबाट प्रमाणित गर्न नसकेको हुँदा निजलाई ऐ. ऐनको १७(३) नं. बमोजिम १(एक) वर्ष कैद हुने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।१।७ मा फैसला भएको र सो फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।८।२३ मा भएको फैसलामा चित्त नबुझाई प्रतिवादी रञ्जनप्रसाद कोइरालाको र प्रतिवादी तारा रेग्मीलाई कम सजाय गरेको भनी वादी नेपाल सरकारको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट प्रतिवादी तारा रेग्मीलाई १(एक) वर्ष कैद सजाय गरेको हदसम्म फैसला सदर हुने र प्रतिवादी रञ्जनप्रसाद कोइरालाको हकमा निजलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. र १३ नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर गरी निजलाई कानूनबमोजिम सजाय गर्दा चर्को पर्न जाने भनी निजलाई मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा सजायको मकसद पूरा हुने भनी निज प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहरी यस अदालतबाट मिति २०७७।३।१५ मा फैसला भएको र सो फैसलामा चित्त नबुझाई उक्त फैसला पुनरावलोकन गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट निवेदन पर्न आएको र यस अदालतको पूर्ण इजलासबाट मिति २०७७।४।११ मा पुनरावलोकनको अनुमति प्रदान भई निर्णयार्थ पेस हुन आएको देखियो ।
यसमा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले आफ्नी श्रीमती गीता ढकाल कोइरालालाई कर्तव्य गरी मारी मृत शरीरलाई नष्ट पार्ने मनसायले प्रहरी कर्मचारीको हैसियतबाट पद र प्रतिष्ठाको दुरूपयोग गरी श्रीमतीको हत्या प्रकरणलाई ढाकछोप गर्न लागेकोसमेतका घटनाक्रमलाई हेर्दा गीता ढकालको हत्यामा निज प्रतिवादीको दूषित मनसायपूर्ण संलग्नता रहेको पुष्टि भएको भनी सुरू काठमाडौं जिल्ला अदालतले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको मिति २०७१।१।७ को फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।८।२३ को फैसलालाई सदर हुने ठहर्याएको यस अदालत संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसला स्वीकार गरी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले पुनरावलोकनको निवेदन दायर गरेको नदेखिँदा सो कसुर ठहर भएको सन्दर्भमा केही बोलिरहन परेन ।
उपर्युक्तानुसारको वादी नेपाल सरकारको पुनरावेदन, मुद्दाको समग्र तथ्य एवं प्रस्तुत भएको बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको विवेचना गरी न्यायिक निष्कर्षमा पुग्नुपर्ने देखिन्छ ।
(क) मुलुकी ऐन अ.बं. १८८ नं. को कानूनी व्यवस्था, यसको प्रयोग र प्रयुक्तताका अभ्यास र अवधारणाको आधारमा प्रस्तुत मुद्दामा उक्त अ.बं. १८८ नं. आकर्षित हुने हो होइन र प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम कम सजाय गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७७।३।१५ मा भएको फैसला मिलेको छ, छैन ?
(ख) प्रतिवादी तारा रेग्मीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. को अभियोग दाबीमा ऐ. ऐनको दफा १७ (३) बमोजिम १ (एक) वर्ष कैद गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर्याएको यस अदालत संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसला मिलेको छ, छैन ?
२. अब प्रथम प्रश्नतर्फ विचार गर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले आरोपित कसुर गरेको ठहर्याई अभियोग दाबीअनुसार सजाय हुने ठहर्याएको अवस्थामा साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय गर्दा चर्को पर्ने भनी सोही मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क बमोजिम ८ वर्ष ६ महिना कैद सजाय हुने भनी राय लगाएको यस अदालतको संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसला नमिलेको हुँदा उल्टी गरी प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई अभियोग दाबीअनुसार नै साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिनुपर्दछ भन्नेसमेत वादी नेपाल सरकारले पुनरावलोकन निवेदन जिकिर लिएको देखिन्छ ।
३. प्रतिवादी रञ्जनप्रसाद कोइरालाले कसुर गरेको ठहर्याई निजलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने ठहर्याएको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ठहर्याई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने भनी साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७(क) बमोजिम राय लगाई यस अदालत, संयुक्त इजलासबाट मिति २०७७।३।१५ मा फैसला भएको देखियो । साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग र प्रयुक्तताका सम्बन्धमा भएका कानूनी व्यवस्था, न्यायिक अभ्यास र अवधारणातर्फ हेर्दा, साबिक मुलुकी ऐन अ.बं. १८८ नं. को कानूनी व्यवस्थामा "ऐनले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्नो चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नुहुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ" भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै प्रकारले साबिक मुलुकी ऐनको उपर्युक्त व्यवस्थालाई निरन्तरता दिँदै हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को उपदफा (१) ले "प्रचलित कानूनबमोजिम जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसुर गरेको कुरामा अदालतमा साबिती भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबित साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिँदा त्यस्तो कसुर गर्दाको परिस्थितिलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खुलाई रायसहितको फैसला गर्न सक्ने छ" भन्ने उल्लेख गरेको पाइन्छ । प्रस्तुत कानूनका व्यवस्थाहरूले साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. एवं हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क का बनावटबाट स्पष्ट हुन्छ कि सामान्यतयाः देहायका अवस्थाहरू कुनै मुद्दामा विद्यमान रहेमा घटी सजाय गर्ने गरी राय व्यक्त गर्न सकिने देखिन्छ । जस्तै;
प्रचलित कानूनबमोजिम जन्मकैदको सजाय भएको प्रतिवादी हुनुपर्ने,
जन्मकैद हुने मुद्दामा सो मुद्दा विशेषको प्रकृति एवं परिस्थितिबाट जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिएको,
घटी सजाय गर्दा पनि न्यायको मक्सद पूर्ति हुने देखिएको,
साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम प्रतिवादी कसुरमा साबित रहेको नभए पनि र हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क बमोजिमको व्यवस्थानुसार कसुरदार कायम गरेको कुरामा अदालतमा साबित भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबित साँचो देखिएको ।
४. उपर्युक्त कानूनी व्यवस्थाका रोहबाट प्रस्तुत विवादलाई हेर्दा माथि वर्णित कर्तव्य ज्यानको वारदात मिति २०६८।९।२७ गते भएकोले तत्बखत प्रचलित रहेको मुलुकी ऐन, अ.बं. १८८ नं. एवं हाल प्रचलित कानूनले गरेको व्यवस्थाको सेरोफेरो र सान्दर्भिकताबाट विवेचना गर्नुपर्ने देखिन्छ । अतः उक्त अ.बं. १८८ नं. को कानूनी व्यवस्थाले जन्मकैदको सजाय भएकोमा अ.बं. १८८ नं. को प्रयोग गर्दा अमुक मुद्दाको खास प्रकृति, वारदात हुँदाका विशिष्ट परिस्थिति, परिवेश र मर्मसमेतलाई समग्रतामा हृदयंगम गर्दा जन्मकैदको सजाय गर्दा न्यायकर्तालाई चर्को पर्ने एवं घटी सजाय गर्दा न्यायको मक्सद पूर्ति हुने न्यायकर्तालाई लागेमा कम सजाय हुने गरी राय व्यक्त गर्न सक्ने देखिन आउँछ ।
५. हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क सँग करिब समरूपता राख्ने साबिक मुलुकी ऐन अ.बं. १८८ नं. को सम्बन्धमा सर्वोच्च अदालतले विभिन्न मुद्दाहरूमा न्यायिक निर्णय एवं अभ्याससमेत गरेको पाइन्छ । तत्सम्बन्धमा केही प्रतिनिधिमूलक दृष्टान्तहरू हेर्दा, शान्ति वि.क. वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६१, अङ्क ६ निर्णय नं. ७३९९) "दण्ड निर्धारणमा दण्डको प्रकृति र दण्डको हद दुवैको निर्धारण हुनुपर्ने हुन्छ । कुनै पनि देशले आफ्नो फौजदारी न्याय प्रशासनको खाका तयार गर्दा दण्डको उद्देश्यप्रति स्पष्ट हुनुको साथै दण्डनीति स्पष्ट हुनु अत्यावश्यक पर्दछ । सजाय तोक्ने मापक निश्चित हुनु न्यायिक दृष्टिले वाञ्छनीय मात्र नभएर संवैधानिक आवश्यकता पनि हो । समान स्थितिका अपराधीलाई समान अपराधको लागि बेग्लाबेग्लै किसिमले फरक सजाय तोक्नु संवैधानिक नहुने" एवं "राष्ट्रको नीतिको अभावमा न्यायपालिकाले नै विद्यमान दण्ड तोक्ने उपलब्ध विकल्पहरू र सजायको हदको चयन गर्दा समान अवस्थाका अपराधीहरूलाई समान प्रकृतिको दण्ड र समकक्षको हद तोक्ने दिशामा समान न्यायिक समझदारी बनाउनुपर्ने आवश्यकता देखिन आएको छ । तजबिजको प्रयोगलाई मार्गदर्शनद्वारा व्यवस्थित गर्नुपर्ने" समेत भनी न्यायिक विश्लेषण भएको
देखिन्छ । यस मुद्दामा भएको व्याख्यालाई दृष्टिगत गर्दा अ.बं. १८८ नं. मा प्रयुक्त सजाय तोक्दा तजबिजको अधिकार कसुरको प्रकृतिबमोजिम दण्ड विधिलाई मार्गदर्शक बनाउनुपर्ने भनी उल्लेख भएको देखिन्छ ।
६. त्यस्तै प्रकारले गोविन्दबहादुर कार्की वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६५, अङ्क ११ नि.नं. ८०३९) "Due Process पूरा र पालना गरी पुर्पक्ष गरिएको अभियुक्तको मुख हेरेर अ.बं. १८८ नं. प्रयोग गर्ने नभई सजाय घटाउँदाका विभिन्न कुराहरू विचार गर्नुपर्ने"... "अ.बं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग अपवाद हुने", ... "मुद्दामा सजाय घटाउनुपर्ने कारण र आधार चित्तमा के कसरी लाग्यो सो कुरा रायमा लेखिएमा मात्र माथिल्लो अदालतमा विचार गरिनसक्ने । सेना र प्रहरीजस्तो राष्ट्र र नागरिकको सुरक्षा गर्न हतियारसहित प्रदान गरेर राज्यले जिम्मेवारी प्रदान गरेको मानिसले मादक पदार्थ सेवन गरेर आफ्नो ओहदा पोसाक र पदको आडमा सरकारी कार्यको प्रयोगको लागि प्राप्त हतियार प्रयोग गरी एक सामान्य निशस्त्र नागरिकको हत्या गरेको जघन्य अपराधमा कैद सजायमा Leniency देखाउनुपर्ने कुनै कारण नहुने ।" समेत भनी अ.बं. १८८ नं. को प्रयोग सम्बन्धमा बृहत् विश्लेषण भएको पाइन्छ । उक्त फैसलामा "अ.बं. १८८ नं. अनुसार सजाय घटाउने भनेको विनाआधार र कारणको स्वविवेकीय अधिकार होइन । अ.बं. १८८ नं. लाई न्यायाधीशको स्वविवेकीय अधिकार सम्झनु गलत हो । न्यायिक काम कारबाही र न्यायिक प्रक्रियामा स्वेच्छाचारीपन र भेदभावकारी व्यवहार अर्थात् arbitrariness र Discrimination Treatment एवं कार्यको कुनै स्थान हुनु हुँदैन । एउटा व्यक्तिले आफ्नो जीवनको अधिकार गुमाएको अवस्थाको गम्भीर अपराधमा एक दिन मात्र कैद गरे पनि हुने र २० वर्ष कैद गरे पनि हुने गरी विधायिकाले कसरी यस्तो अनियन्त्रित स्वविवेकीय अधिकार न्यायाधीशलाई प्रदान गर्न सक्छ । यसरी अ.बं. १८८ नं. लाई न्यायाधीशको Discretionary Power भनेर सम्झनु हुँदैन" समेत भनी उक्त फैसलामा उद्धरण गरेको पाइन्छ ।
७. राममाया राई वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (संवत् २०६१ सालको फौ.पु.नं. ३२७०) "अपराध गर्नेले अपराध माफिकको सजाय पाउनुपर्छ । अ.बं. १८८ नं. को प्रयोग भनेको Exception र प्रयोग नगर्ने चाहिँ Rule को रूपमा लिनुपर्ने" "अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने भनेको Rarest of the rare case मा प्रयोग गर्ने व्यवस्था हो" भनी उल्लेख भएको पाइन्छ ।
८. त्यस्तै प्रकारले, वीरमान लुङ्गेली (मगर) वि. नेपाल सरकार (ने.का.प. २०६९, अङ्क ६ नि.नं. ८८५३) भएको कर्तव्य ज्यान मुद्दामा "अ.बं. १८८ नं. को प्रयोग गर्दा पनि केही न्यायिक आधार अवलम्बन गर्नुपर्ने हुन्छ । अन्यथा विधिकर्ताले ठुलो विश्वासका साथ न्यायकर्तालाई प्रदान गरेको यो तजबिजी अधिकारको सदुपयोग हुन नसक्ने ।"... र "चित्तमा लाग्ने भन्ने कुरा मनोगत हुन सक्दैन । सर्वप्रथम आधार र कारणको विश्लेषणबाट नै अ.बं. १८८ नं. को प्रयोग हुने वा नहुने निष्कर्ष निकाल्नु पर्दछ । न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु नै अ.बं. १८८ नं. का लागि पर्याप्त नहुने" भन्ने उल्लेख भएको पाइन्छ ।
९. नेपाल सरकार वि. जगत सदासमेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६३, अङ्क ८ नि.नं. ७७५२) "अ.बं. १८८ नं. बमोजिम सजाय घटाउँदा वा नघटाई हदैसम्मको सजाय तोक्दा किन हदैसम्मको सजाय गर्न परेको हो, कारणबिनाको परम्परागत कैद तोक्ने वा घटाउने प्रणालीको अन्त्य गरी अपराध गर्दाको परिस्थिति, तयारी, षड्यन्त्र, योजना, अभियुक्तको आपराधिक अभिलेख, अपराध गर्दाको बखतको अभियुक्तको सजगता, अपराध गरिसकेपछिको अभियुक्तको क्रियाकलाप, अभियुक्तको आपराधिक गिरोहसँगको संलग्नता एवं साँठगाँठ, अपराध सङ्गठित अपराध हो, होइन कतिको निर्ममतापूर्वक अपराध भएको हो, अपराध गर्दा प्रयोग गरिएको हातहतियार, साधन एवं उपकरण, अभियुक्तको उमेर, चरित्र, पीडितलाई पुगेको क्षति, पीडितको परिवारलाई पुगेको क्षति, क्षति अपूरणीय हो कि आदि विभिन्न कुराहरूलाई ध्यानमा राखेर अभियुक्तले अब पुनः अपराध गर्ने आँट र गल्ती नदोहोर्याउने भनी अपराध माफिकको उचित कैद सजाय तोक्नुपर्ने" भन्ने अ.बं. १८८ नं. को व्याख्या भएको देखिन्छ । एवं प्रकारले, केदार माझी वि. नेपाल सरकार (ने.का.प. २०७४, अङ्क ७, नि.नं. ९८३६) भएको कर्तव्य ज्यान मुद्दामा पनि "अ.बं. १८८ नं. मा उल्लिखित प्रावधानसमेतका आधारमा कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सामान्यतः अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याईं (Justification) गर्नुपर्ने" भनी अ.बं. १८८ नं. को प्रयोग र प्रयुक्तताबारे दिशानिर्देश गरेको पाइन्छ ।
१०. उपर्युक्त मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. को कानूनी व्यवस्थाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला एवं अभ्यासहरू हेर्दा, प्रचलित कानूनबमोजिम जन्मकैद गर्नुपर्ने मुद्दाका अभियुक्तलाई न्यायको रोहमा घटी सजाय गर्न उपयुक्त भएमा घटी सजाय तोक्नसक्ने देखिन आउँछ । तथापि यसरी घटी सजाय गर्न तत् मुद्दा विशेषको खास प्रकृति र चरित्र मननयोग्य र निर्णायक हुने हुनाले न्यायकर्ताले घटी सजाय गर्दा न्यायको मक्सद परिपूर्ति गर्नमा केन्द्रित हुनुपर्ने हुन्छ । साबिक मुलुकी ऐनको अ.बं. १८८ नं. मा प्रयुक्त "कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने" वा हाल प्रचलित फौजदारी (कसुर सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को जन्मकैदको सजाय दिँदा "न्यायको रोहमा बढी पर्ने भई" घटी सजाय गर्ने भन्ने अवस्था नै जन्मकैदको सजाय हुने प्रकृतिका मुद्दाहरूमा आकर्षित हुन आउँछ । जन्मकैदको सजाय हुने खास खास कसुर प्रचलित कानूनले व्यवस्था गरेको र कर्तव्य ज्यान सोमध्ये एक कसुर हो । कर्तव्य ज्यान कुनै व्यक्तिको जीवन बाँच्न पाउने अधिकार (Right to life) उपरकै सबैभन्दा गम्भीर कसुर हो । कर्तव्य ज्यानको कसुरबाट व्यक्तिको इहलीला नै समाप्त हुने र सो कार्यको असर निजको परिवार एवं समाजमा दीर्घकालीन, अपूरणीय र कारूणिकरूपमा रहन जाने हुन्छ । अतएवः माथि विवेचना गरिएझैं साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. को कानूनी बनावट एवं न्यायिक अभ्यास हेर्दा उक्त ऐनको प्रयोग गर्दा न्यायकर्तामा तत् कसुरको समग्र परिस्थितिको सजगता एवं जिम्मेवारीपूर्ण मूल्याङ्कनको दायित्व सुम्पिएको पाइन्छ ।
११. अब, प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क आकर्षित हुने भनी घटी सजाय ठहर गरेको फैसला मिले नमिलेको र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम हुने हो, होइन ? भन्ने सम्बन्धमा हेर्दा, प्रतिवादी रञ्जनप्रसाद कोइरालाले आफ्नै पत्नीको कर्तव्य ज्यानको घटना वारदात घटाउँदाका बखत सशस्त्र प्रहरी नायब महानिरीक्षकजस्तो स्वयं जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवार निकाय र पदमा आसीन रहेको
देखिन्छ । निज प्रतिवादीले यसै मुद्दामा प्रतिवादी तारा रेग्मीसँग आफ्नो पत्नी हुँदाहुँदै विवाह गर्ने गरी सम्बन्ध स्थापित गरी निजसँग बसोबास गरी आएको र निज प्रतिवादीको प्रतिवादी तारा रेग्मीसँगको सम्बन्धले घरायसी एवं पारिवारिक कलह बढ्नुका साथै सम्पूर्ण परिवार नै विश्रृङ्खलित एवं समस्यायुक्त भएको
देखिन्छ । यिनै जरियास्वरूप मृतक गीता ढकाल वादी भई यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाउपर माना चामल मुद्दा परेको, निजको तलब रोक्काको कारबाही चलाएको, मृतक गीता ढकाललाई प्रतिवादी बनाई निज प्रतिवादी रञ्जनप्रसाद कोइरालाले अंश चलन मुद्दा दायर गरेको समेतका प्रतिकूल पारिवारिक वातावरणका (Hostile Family Environment) अवस्थाहरू सिर्जित भएको देखिन्छ । मिसिल संलग्न कागजात बेहोराबाट मृतक गीता ढकाल र यी प्रतिवादी अलग-अलग स्थानमा बसी आएको र मृतक गीता ढकाल लामो समयदेखि निर्मम घरेलु हिंसा (Domestic Violence) को चपेटामा पिल्सिएको भन्ने निजले यी प्रतिवादीउपर प्रधानमन्त्री कार्यालयलगायतका निकायमा गरेका उजुरी निवेदन कारबाही भएकोबाट प्रस्ट देखिन्छ ।
१२. प्रतिवादी रञ्जनप्रसाद कोइराला र मृतक गीता ढकालबिच २०५० सालमा विवाह भई निजहरूबाट दुई सन्तान (छोराहरू) को जन्म भएको, यसैबिच प्रतिवादी रञ्जनप्रसाद कोइराला र निजको श्रीमती गीता कोइरालाबिच विवाद बढ्न गई दाम्पत्य सम्बन्ध सुमधुर रहन नसकी निजहरू अलग-अलग बस्ने गरेका, प्रतिवादी रञ्जनप्रसाद कोइरालाले श्रीमती मृतक गीता कोइरालालाई कुटपिट तथा यातना दिएको भनी गीता ढकालले मिति २०६७।९।८ मा घा-जाँच गराएकी, विवादकै विषयमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा समेत उजुरी दिएकी, निजहरूबिच विवाद बढ्दै गएपछि प्रतिवादी रञ्जनप्रसाद कोइरालाले काठमाडौं जिल्ला अदालतमा गीता ढकालउपर अंश मुद्दा र गीता ढकालले रञ्जनप्रसाद कोइरालाउपर माना चामल मुद्दा दायर गरी विचाराधीन रहेको भन्ने देखियो । प्रस्तुत सन्दर्भहरू वारदातपूर्वका विवादरहित तथ्यहरू रहेको देखिन्छ ।
१३. प्रतिवादी रञ्जनप्रसाद कोइरालाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतक गीताले व्यापार गर्न इण्डिया जान चार पाँच लाख रूपैयाँजति मागेकी, आफूसँग पैसा छैन भनी घरबाट निक्लेर जान खोज्दा गीताले ज्याकेट समाती तान्दै गाली गलौज गर्न थालेकी, तानातानको क्रममा हात हालाहाल भएको, हातपातको क्रममा निज गीतालाई धकेल्दा उनी कोठाकै भित्तामा बजारिन पुगेकी, निजको टाउको भित्तामा ठोक्किन पुगेको, त्यसपछि उनी बोल्न चल्न नसकी अचेत भएकी, मृतकलाई हल्लाई चलाउँदासमेत कुनै प्रतिक्रिया नजनाएपछि उनको श्वास-प्रश्वाससमेत बन्द भइसकेको यकिन भई निजलाई उनी पल्टेको ठाउँ विस्तराको कुनापट्टि छाडी उनी सुत्ने गरेको कोठाको ढोका बाहिरबाट लक गरी चाबी बाहिरपट्टि छोराले किताब राख्ने ठाउँनेर फाली निस्केको, त्यसपछि गीताको लास कतै एकान्त स्थानमा लगी जलाई नष्ट गर्न उपयुक्त सम्झी गाडीमा राखी घटनास्थल प्रकृति मुचुल्काबमोजिमको ठाउँमा गीताको लास गाडीबाट बाहिर निकाली सडकछेउमा पुर्याई पेट्रोल निकाली लासमाथि खन्याई आगो सल्काई जलाएकोसमेतको बेहोरा उल्लेख गरी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले अनुसन्धान अधिकृतसमक्ष बयान गरेको देखिन्छ ।
१४. मुद्दाको अनुसन्धानका सिलसिलामा प्राप्त तथ्यगत विवरणहरू हेर्दा मकवानपुरको मेत्राङ भन्ने स्थानमा जलाएको अवस्थामा फेला परेको अस्थिपञ्जर गीता ढकालको हो भन्ने अभियोग दाबी रहेकोमा सो अस्थिपञ्जरको विषयमा मिति २०६८।९।२८ मा मुचुल्का गर्ने प्र.ज. जीतेन्द्र महतो, प्र.ह. कृष्ण ढकाल, प्र.नि. डिल्लीप्रसाद मैनालीले बकपत्र गर्दासमेत मुचुल्का गरी अस्थिपञ्जर उठाई हेटौंडा अस्पताल पठाइएको भन्ने कुरा उल्लेख गरेका छन् भने जाँच गर्ने हेटौंडा अस्पतालको मिति २०६८।९।२८ को Autopsy Report हेर्दा उक्त अवशेषहरू महिलाको भएको भनी स्थापित अवस्थामा रहेको देखिएको र फरेन्सिक मेडिसिन विभागले प्रिजर्भ गरेका नमुनाबाट स्याम्पल (Sample) लिँदा गीता ढकालका बाबु हरेराम ढकाल र आमा हरिप्रिया ढकालको रगतको नमुनासँग तुलना गरी DNA परीक्षण गरिँदा डि.एन.ए. एमलोजेनिन (Amelogenin) को प्राप्त नतिजाअनुसार DNA प्रोफाइल मिलेको
देखिन्छ । साथै सो DNA परीक्षण गर्ने चिकित्सक विशेषज्ञहरू डा. मिनुशोभा तुलाधर, डा. दिनेशकुमार झा तथा डा. जीवन रिजालले अदालतमा आई आफ्नो रायलाई समर्थन गरी बकपत्रसमेत गरेका र अस्थिपञ्जरसँगै बरामद भएको घडी छोरी गीता ढकाललाई आफूले दिएको र बरामद भएको रिङ गीताको हो भन्ने हरिप्रिया ढकालको र घडी र रिङ गीता ढकालका हुन् भनी स्वयं रञ्जनप्रसाद कोइरालासमेतले सनाखत गरेको पनि पाइयो । यसरी उपर्युक्त तथ्यहरूबाट मृतक गीता ढकाललाई कर्तव्य गरी ज्यान लिएको वारदात स्थापित (Corpus Delecti) शंकारहित तवरबाट भएको मिसिलबाट देखिन्छ ।
१५. मृतकको मृत्युपश्चात् मृतकको लास गुपचुप गाडीमा राखी सुरूमा चालकलाई चलाउन लगाई राजधानीबाट खानीखोलामा पुगेर चालकलाई त्यहीँ छाडी त्यसपछि आफैँले गाडी चलाई टिष्टुङ पुर्याई रातको समयमा लासमा पेट्रोल खन्याई जलाई सोको होसियारीपूर्वक निगरानी राखी लास पूरा जले नजलेको हेर्न जाने क्रममा मिति २०६८।१०।७ गते बा. ८ च ५४१८ नं. को गाडीसहित प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई स्थानीयले भेटी रोकी स्थानीय प्रहरीमा जिम्मा लगाएकोसमेतका वारदातका दृश्यहरूका समग्र क्रियाहरूबाट निजको आपराधिक मनसाय स्पष्ट झल्किन्छ ।
१६. मृतक र प्रतिवादी रञ्जनप्रसाद कोइरालाबिच सम्बन्ध खराब भएको र लोग्ने स्वास्नी अलग-अलग बस्दै आएका भन्ने निज प्रतिवादी रञ्जनप्रसाद कोइरालाको बयान भनाइबाट देखिएको र निज प्रतिवादीकै भनाइबाट प्रतिवादी तारा रेग्मीसँग प्रेम सम्बन्ध भई निज प्रतिवादी तारा रेग्मी यी प्रतिवादी रञ्जन प्रसाद कोइरालासँगै रहने गरेको भन्ने निज प्रतिवादी तारा रेग्मीको बयान भनाइबाट पुष्टि भएको र माथि उल्लेख भएबमोजिम मृतकलाई यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले कुटपिटसमेत गर्ने गरेको, मृतकले निज विरूद्ध प्रधानमन्त्रीको कार्यालयसमेतमा निवेदन दिई कारबाहीसमेत भएको भन्ने देखिन आएको र मृतकले यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाउपर मानाचामल मुद्दा दायर गरी अदालतमा विचाराधीन रहेको निर्विवाद तथ्य रहेको देखिएको र विवाहित श्रीमती जीवित छँदै प्रतिवादी तारा रेग्मीसँग प्रेम सम्बन्ध राखी प्रतिवादीहरू दुई जना सँगै बस्ने गरेकोसमेत देखिन आउँछ । यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले छिमेकी राष्ट्र चीनमा भइरहेको तालिम छाडी मिति २०६८।९।२१ मा नेपाल आएका र मिति २०६८।९।२७ मा मृतकलाई मारेको देखिन आउँछ । सशस्त्र प्रहरीको डि.आई.जी. जस्तो उपल्लो तहका जिम्मेवार पदका व्यक्ति यी प्रतिवादीले आफू चीनबाट नेपाल आएको जानकारी कार्यरत रहेको कार्यालय वा मजकुर कार्यालयलाई नदिएबाट निजको वारदात गर्नमा लुप्त मनसाय निहित देखिन्छ । वारदातको कारण, पृष्ठभूमि, प्रतिवादीको कसुरमा संलग्नताको समग्र प्रकृतिको दृश्यले मृतकसँग धकेलाधकेल हुँदा मृतक भित्तामा ठोक्किन गई संयोगवश मृतकको मृत्यु भएको भन्ने निजको मौकाको बयान भनाइ माथि उल्लेख गरिएको निजको आपराधिक कार्यलाई नियाल्दा सत्य प्रतीत हुँदैन र प्रतिवादीको मौकाको बयान भनाइलाई मान्ने हो भने पनि धकेलाधकेलमा ठोक्किएर ढलेकी श्रीमतीलाई उठाई अस्पताल लानुपर्ने स्वाभाविक स्थिति देखिन्छ र आवेगयुक्त वारदात भएको भए उपल्लो तहका जिम्मेवार प्रहरी अधिकृत रहेका निज प्रतिवादीले कर्मचारी भएर पनि मृतकलाई बचाउन हरप्रयास गर्नुपर्ने स्वाभाविक अवस्था रहेकोमा निज प्रतिवादीले सो कुनै कार्य नगरी मृतकको लास दबाउन माथि उल्लेख गरिएझैं कार्य गरेबाट निज प्रतिवादीको जघन्य आपराधिक मनसाय उजागर भएको
देखिन्छ । प्रतिवादीले श्रीमतीको हत्या गरी मृत शरीरलाई दबाई प्रमाण नष्ट गरी अपराधबाट बच्नका लागि सरकारी स्रोत साधन (गाडी, तेल) को प्रयोग गरी प्रहरी कर्मचारीको उपल्लो ओहदाको दुरूपयोग गरी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले आफ्नी श्रीमती गीता ढकाल कोइरालालाई मनसायपूर्वक हत्या गरेको वारदात प्रमाणित भएको अवस्था छ । र यी प्रतिवादीले अभियोग दाबीअनुसार कसुर गरेको ठहर्याई सुरू जिल्ला अदालतले गरेको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ठहर्याएको यस अदालतको संयुक्त इजलासको फैसलालाई स्वीकार गरी बसेबाट निजको हकमा फैसला अन्तिम भइसकेको स्थिति छ ।
१७. मिति २०६८।९।२७ को वारदात हुनुपूर्व निज प्रतिवादी रञ्जनप्रसाद कोइराला नेपाल सरकारको निर्णयानुसार नेशनल डिफेन्स कोर्सका लागि चीनको बेजिङमा तालिममा गएका, तालिमबाट बिदामा आएको कुरा तालुक अड्डालाई जानकारी नगराएको, तालिममा बिदा लिएकै हो होइन यकिन प्रमाण निज प्रतिवादीले पेस नगरेकोसमेतको अवस्था देखिएको र निज चीनबाट मिति २०६८।९।२१ मा घर आएका र मिति २०६८।९।२७ मा वारदात भएको अवस्था छ भने निजले नै मृतकको हत्या गरी लासको पहिचान र प्रमाण नष्ट गर्न हरप्रयत्न गर्दै निजले मानिस खोजी गरिपाउँ भनी जिम्मेवार निकायमा निवेदन दिई अपराधबाट बच्न चलाखीपूर्ण जुक्तिसमेत लगाएको देखिन आउँछ । साथै, सशस्त्र प्रहरीको प्रहरी नायब महानिरीक्षक र एउटा वलिष्ठ पुरूष व्यक्तिले मृतकलाई मारी सो लास गायब गर्न पेट्रोलको व्यवस्था, गाडीको व्यवस्था, चालक एवं जिउ सुरक्षाकर्मी (Body Guard) को व्यवस्थापन, मृतकलाई लास जलाएको स्थलसम्म पुर्याउँदाका होसियारी एवं बन्दोबस्तीसमेत माथि वर्णित तमाम क्रियाहरू सुविचारित एवं सुव्यवस्थित तवरबाट सम्पन्न गर्ने हरयत्न गरेको देखिन्छ । उपर्युक्त तथ्यहरूबाट मृतकलाई मार्नमा निज प्रतिवादीको पूर्वरिसइवी (Malicious intent) पूर्वतयारी (Preparation), आपराधिक क्रिया (Actus Reus) का चरणहरू मालाकार कडीका रूपमा स्थापित भएका देखिन्छन् । साथै मृतकलाई मारिसकेपछि पनि लास गायब एवं प्रमाण नष्टका अधिकतम उपाय अवलम्बन गरेको पाइन्छ र मृतकसँग विवाद भई धकेलाधकेल हुँदा कोठाकै भित्तामा बजारिन पुगेकी, निजको टाउको भित्तामा ठोक्किन पुगेको, त्यसपछि उनी बोल्न चल्न नसकी अचेत भएकी, मृतकलाई हल्लाई चलाउँदासमेत कुनै प्रतिक्रिया नजनाएपछि उनको श्वास-प्रश्वाससमेत बन्द भई मृत्यु भएको भनी मौकामा बयान गर्ने यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाले अदालतमा बयान गर्दा आफूले मारेको होइन भनी कसुरमा पूर्ण इन्कार रहेको देखिन्छ ।
१८. निज प्रतिवादीले आफूले गरेको कर्तव्यज्यान कसुरको कृत्य गुम गर्न एवं प्रमाण नष्ट गर्न हर प्रयत्न र सीप प्रारम्भदेखि नै लगाएको देखिन्छ । माथि उल्लेख भएअनुसार आफूले नै मृतकलाई कर्तव्य गरी मारी लास दबाउन हर प्रयास गरिसकेपछि अपराध लुकाउने एवं सजायबाट बच्ने प्रयास स्वरूप मानिस खोजतलास गरी दोषीउपर कारबाही गरिपाउँ भन्ने बेहोराको निवेदन महानगरीय प्रहरी परिसर हनुमानढोकालाई दिई सरकारका अन्य निकायमा बोधार्थ दिएकोसमेत देखिन्छ । निज प्रतिवादीले अदालतसमक्ष उपस्थित भई बयान गर्दा मृतकलाई आफूले नमारेको भनी अभियोगमा इन्कार रही अदालतलाई न्याय सम्पादनमा सहयोग पुर्याएको देखिन आउँदैन । निज प्रतिवादीको माथि उल्लिखित कर्तव्यज्यानको कसुर गर्दाका समग्र तौरतरिका, वारदातमा प्रतिवादीको उल्लिखित भूमिका, प्रतिवादीको कानूनी हैसियत एवं जिम्मेवारी, प्रमाण नष्ट गर्न गरिएका हरप्रयत्न एवं क्रियाकलापसमेतका आधार कारणबाट वारदात भवितव्य जस्तो देखिने नभई सुनियोजित जघन्य अपराध भएको देखिन आएकोले प्रस्तुत मुद्दामा मुलुकी ऐन अ.बं. १८८ तथा प्रचलित फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को अवस्थाको गुञ्जायसै रहेको नदेखिँदा निज प्रतिवादीलाई घटी सजाय गर्नुपर्ने स्थिति अवस्था देखिँदैन ।
१९. यस्तो स्थितिमा मुलुकी ऐन, अ.बं. १८८ नं. वा फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. को प्रयोग र प्रयुक्तता सम्बन्धमा भएको कानूनी व्यवस्था एवं माथि उल्लिखित सर्वोच्च अदालतका अभ्यासको रोहसमेतबाट प्रस्तुत मुद्दामा यी प्रतिवादी रञ्जनप्रसाद कोइरालाको पदीय हैसियत एवं दायित्व, निजले गरेको आपराधिक कार्यको समग्रताका परिस्थितिबाट निजउपर उदारभाव (Linency) देखाउनुपर्ने अवस्था विद्यमान देखिँदैन । एवंप्रकारले अपवादात्मक (Exception) व्यवस्थाको रूपमा आकर्षित हुने अ.बं. १८८ नं. बमोजिमको घटी सजाय निज प्रतिवादीलाई दिने हो भने फौजदारी मुद्दामा हुने निरूत्साहन (Deterrent) दण्ड सिद्धान्त नै पराजित भई विधायिकाले ठुलो भरोसा र विश्वास गरी न्यायाधीशलाई प्रदान गरेको स्वविवेकीय अधिकार (Discretionary Power) को दुरूपयोग हुने प्रस्ट अवस्था देखिन आउँछ । माथि उल्लिखित वीरमान लुङ्गेली (मगर) वि. नेपाल सरकार (ने.का.प. २०६९, अङ्क ६, नि.नं. ८८५३) को कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलामा उल्लेख भएजस्तै न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु नै अ.बं. १८८ नं. का लागि पर्याप्त नहुने भनेजस्तै प्रस्तुत मुद्दामा पनि माथि वर्णित आधार कारणबाट निज प्रतिवादीलाई सजाय घटी गर्नुपर्ने गरी चित्तमा लाग्ने वस्तुगत आधार कारण (Objective reason) पुष्ट्याईं (Justification) केही देखिन आउँदैन ।
२०. साथै, सशस्त्र प्रहरी नायब महानिरीक्षक जस्तो जिम्मेवार पदाधिकारीलाई कारागार नियमावली, २०२० को नियम २९ बमोजिम कैदको सजाय छोट्याउने सम्बन्धमा समेत अत्यन्त सजगता र सार्वजनिक जवाफदेहिताको मनन गर्नुपर्ने
देखिन्छ । सो कानूनी व्यवस्थाको प्रयोग र कार्यविधिसमेत कारागारले अपनाउने हो । सो कानूनी व्यवस्थाको माध्यमबाट अदालतले सजाय घटाउने होइन र सजाय घटाउने आधारको रूपमा अदालतले प्रयोग गर्न पनि मिल्दैन । कारागारले समेत सो व्यवस्थाअनुसार सजाय घटाउन सिफारिस गर्दा असल चालचलनको वस्तुनिष्ठ आधार उल्लेख गर्नुपर्छ । सतही विश्लेषण गरी सजाय घटाउन सिफारिस गर्न मिल्दैन । कारागारका जेलरलाई दिइएको त्यस्तो महत्त्वपूर्ण अधिकारको प्रयोग होसियारी र सतर्कतापूर्वक गर्नुपर्छ र अन्तिम निर्णय गर्नुले पनि सो कुरामा गहन दृष्टि पुर्याउनुपर्छ । प्रस्तुत मुद्दामा व्यक्तिको जीवन बाँच्न पाउने अधिकार (Right to Life) नै राज्यले सुरक्षाको जिम्मेवारी दिएको जिम्मेवार प्रहरी अधिकृतबाट दर्दनाक रूपमा समाप्त गरेको खास परिस्थितिसमेतका रोहमा नेपालको संविधानको धारा २१ ले अपराध पीडितलाई प्रदान गरेको मौलिक हक पीडित न्याय केन्द्रित (Victim Centered Justice) भई सार्वजनिक स्वार्थ (Public Interest) को परिपूर्तितर्फ पनि प्रस्तुत मुद्दामा विशेषरूपले हृदयंगम गर्नुपर्ने पनि देखिन आउँछ ।
२१. अब दोस्रो प्रश्नका सम्बन्धमा अर्का प्रतिवादी तारा रेग्मीको हकमा विचार गर्दा निजउपर अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको १६ नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ. को १७ (३) नं. बमोजिम एक वर्ष कैदको सजाय गर्ने गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर सर्वोच्च अदालतमा परेको
देखिन्छ । सुरू जिल्ला अदालतले निजलाई कसुरमा मिलेमतो गरेको भनी ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम एक वर्ष कैद सजाय हुने ठहर्याएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई सदर हुने ठहर्याई यस अदालतको संयुक्त इजलासबाट मिति २०७७।३।१५ मा फैसला भएको देखिन्छ । निज प्रतिवादीको प्रतिवादी रञ्जनप्रसाद कोइरालासँग सम्बन्ध रहेको देखिए पनि वारदात मिति २०६८।९।२७ को अघिल्लो दिन निज मिति २०६८।९।२६ मा विदेश मलेसिया गई मिति २०६८।१०।५ मा नेपाल फर्केको भन्ने देखिएको र वारदातको दिन घटनाअघि र पछि टेलिफोनमा कुरा भएको भन्ने देखिए पनि सो फोन सम्पर्कमा वारदातसँग सम्बद्ध रहेको देखिने आधार अभियोजन पक्षले पेस गरेको नपाइएको र निज वारदातमा मुख्य भई षड्यन्त्र गर्ने व्यक्ति हुन् भन्ने पुष्टि हुने तथ्ययुक्त प्रमाण अभियोजन पक्षले पेस गर्न सकेको देखिँदैन । अतः प्रतिवादी तारा रेग्मीलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम एक वर्ष कैदको सजाय गर्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।१।७ को फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।८।२३ को फैसलालाई सदर हुने ठहर्याएको मिति २०७७।३।१५ को यस अदालतको संयुक्त इजलासको फैसला मिलेको देखिँदा अन्यथा भनिरहनुपर्ने अवस्था रहेन ।
२२. तसर्थ, माथि विवेचित आधार कारणसमेतबाट प्रतिवादी रञ्जनप्रसाद कोइरालाको कर्तव्यबाट मृतक गीता ढकालको मृत्यु भएको पुष्टि हुन आएको भनी निजलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।१।७ मा भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।८।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भनी प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क बमोजिम राय लगाई निज प्रतिवादीलाई ८ वर्ष ६ महिना कैद सजाय हुने ठहर्याएको यस अदालतको संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसला सो सजायको हदसम्म केही उल्टी भई साबिक मुलुकी ऐनमा भएको प्रावधानलाई कसुर गर्दाका बखत कायम रहेकोभन्दा सजाय निर्धारण हुँदा घटी सजाय हुने रहेछ भने घटी सजाय गर्नुपर्ने छ भनी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा कानूनी व्यवस्था भएको, त्यसै गरी कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि सर्वस्व हुने गरी सजाय गरिने छैन भनी मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा कानूनी व्यवस्था भएको र कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भनी केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(ख) मा कानूनी व्यवस्था भएको पाइँदा प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) मा भएको सर्वस्वको सजाय नहुने हुँदा निजलाई अभियोग दाबीको कसुरमा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. एवं फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२), केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(ख) बमोजिम निज प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई जन्मकैद २०(बिस) वर्ष कैद सजाय हुने ठहर्छ । अर्का प्रतिवादी तारा रेग्मीको हकमा ऐ. ऐनको ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम १(एक) वर्ष कैद हुने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।१।७ को फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।८।२३ को फैसला सदर गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसला सो हदसम्म मिलेको देखिँदा सदर हुने ठहर्छ । निजलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।१।७ को फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।८।२३ मा भएको फैसला सदर गरी प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को राय लगाई प्रतिवादीलाई ८ वर्ष ६ महिना कैद सजाय गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७७।३।१५ मा फैसला भएकोमा संयुक्त इजलासको उक्त रायसँग सहमत नभई यस अदालतको संयुक्त इजलासबाट प्रतिवादीलाई भएको सजायको हदसम्म केही उल्टी भई निज प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.समेत बमोजिम जन्मकैद (२० वर्ष) को सजाय गर्ने गरी यस अदालत पूर्ण इजलासबाट ठहर फैसला भएको हुँदा यस अदालत संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसलाले निज प्रतिवादी मिति २०६८।१०।८ देखि मिति २०७७।४।७ सम्म थुनामा बसी यस अदालतको संयुक्त इजलासको मिति २०७७।३।१५ को फैसलाले मिति २०७७।४।८ मा थुनामुक्त भएको देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको च.नं. ५५४५ मिति २०७९।२।१६ को पत्रबाट निज प्रतिवादी रञ्जनप्रसाद कोइराला मिति २०७९।२।१३ गते बेलुका १८:३० बजेको समयमा पुनः पक्राउ परेको भन्ने मिसिल संलग्न पत्रबाट देखिएको हुँदा सोही मितिबाट निजलाई ठहर भएको असुल हुन बाँकी कैद ११ वर्ष ६ महिना कैद असुल हुने गरी कैद म्याद ठेकी कैदी पुर्जी सम्बन्धित कारागार कार्यालयमार्फत प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई उपलब्ध गराइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालत तहसिल शाखामा लेखी पठाइदिनू............१
प्रस्तुत फैसलाको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयलाई र थुनामा रहेका प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई समेत फैसलाको जानकारी दिनू..........२
सरोकारवालाले फैसलाको नक्कल माग गरे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू...........३
प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.............................४
उक्त रायमा हामी सहमत छौं ।
का.मु.प्र.न्या.दीपककुमार कार्की
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत: लेखबहादुर कोइराला
इति संवत् २०७९ साल जेठ १२ गते रोज ५ शुभम् ।